निर्णय नं. ८५८७ - लिखत दर्ता बदर, दर्ता कायम

निर्णय नं. ८५८७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री कमलनारायण दास
संवत् २०६४ सालको दे.पु.नं. ०२०९
फैसला मितिः २०६७।१२।८।३
मुद्दाः– लिखत दर्ता बदर, दर्ता कायम ।
पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उ.म.प.न.पा. वडा नं. १४ बस्ने पशुपति सेन गुप्ता
विरुद्ध
पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग विराटनगर उ.म.प.न.पा. वडा नं. १३ घर भै हाल ऐ बरांगी गा.वि.स.वडा नं ९ बस्ने जगतमान प्रधान समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या श्री विनोदप्रसाद ढुंगेल
मा.न्या श्री सुरेन्द्रवीर सिँह बस्न्यात
§ लेनदेन व्यवहारको १० नं.ले अंशबण्डाको कानूनी प्रावधानहरूसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । कुनै अंशियार अर्को अंशियारको दुराशयका कारणबाट अंश हकबाट बञ्चित नहोस् भन्ने मूल मर्म नै लेनदेन व्यवहारको १० नं. को चुरो हो । लेनदेन व्यवहार को १० नं. ले आफूखुशी गर्न पाउने अरुको मञ्जूरी लिनु नपर्ने सम्पत्ति हस्तान्तरण भएकोमा त्यस्तो लिखत बदर नहुने प्रावधान आफूभित्र समाहित गरेको छ । यसै नम्बरले आफ्नो निजी आर्जनको सम्पत्तिलाई पनि आफूखुश गर्न पाउने वर्गमै समावेश गरेको पाइने ।
(प्रकरण नं.७)
§ लेनदेन व्यवहारको १० नं. का कानूनी प्रावधानभित्र पस्न उजूर आवश्यक पर्दछ । यस्तो उजूर गर्न सम्बन्धित लिखतमा साक्षी पनि नबसेको वा सम्पत्ति हस्तान्तरण गर्न छुट्टै मञ्जूरीको लिखत पनि नगरी दिएका एकाघरसँगका अंशियारलाई मात्र हक छ । यी दुई क्रिया उजूर अर्थात् फिराद गर्न सक्ने आधार हुन् । यी दुई क्रियामा संलग्न नरहेका एकाघरसँगका अंशियारले रजिष्ट्रेशन भएको १ वर्ष सम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गरेपछि सो हस्तान्तरणमा निजको मञ्जूरी थियो वा थिएन भनी हेरिनु पर्ने पृथक विषय हुने ।
(प्रकरण नं.८)
§ उजूर गर्न पाउने अधिकार र हस्तान्तरणको कार्यमा अन्य अंशियारको मञ्जूरी रहे नरहेको हेरिनु पर्ने दुई पृथक कुरा हुने ।
(प्रकरण नं.९)
§ हस्तान्तरणको क्रियामा मञ्जूरी रहे नरहेको प्रमाणद्वारा स्थापित हुने कुरा हो । हस्तान्तरण भएको लिखत बदरमा दावी नगर्ने अन्य अंशियारको सो क्रियामा स्वतः मञ्जूरी रहेको मानी निजहरूको खण्ड बदर हुन सक्दैन । यसबाट पनि हस्तान्तरित लिखतमा मञ्जूरी र नामञ्जूरीलाई प्रमाणको रोहमा स्वतन्त्र रुपले हेरिनु पर्ने ।
(प्रकरण नं.९)
§ लिखतमा साक्षी बस्नु वा मञ्जूरीको लिखत हुनुलाई सगोलको आफूखुश गर्न नपाउने सम्पत्ति हस्तान्तरण प्रक्रियामा मञ्जूरी रहेको प्रत्यक्ष प्रमाण हो भने यसका अतिरिक्त मञ्जूरी आचरण तथा अन्य प्रमाणबाट प्रदर्शित हुने कुरा पनि हो । सम्पत्ति हस्तान्तरण गरेर अर्को उपयुक्त सम्पत्ति आर्जन गरिएको र सम्पत्ति हस्तान्तरण गरेर कुनै पारिवारिक दायित्व पूरा गरिएको जस्ता कुरा प्रमाणबाट पुष्टि हुन्छ भने पनि यस्ता कार्यलाई मञ्जूरी नै मान्नु पर्ने भई लिखत बदर गर्नुपर्ने औचित्यको पुष्टि नहुने ।
§ लिखतमा साक्षी नबेसका वा मञ्जूरीको लिखत नगरेका अंशियारले सो हस्तान्तरणबाट सामूहिक लाभ आर्जन गरेकै देखिए पनि स्वतः निजहरूको खण्ड बदर गरिदिनु पर्दछ भन्नु यन्त्रिक कुरा हुने ।
(प्रकरण नं.१०)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री युवराज भण्डारी
प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ताहरू श्री हरिबहादुर बराल र विनोद शर्मा
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ लेनदेन व्यवहारको १० नं.
§ अ.वं. ८० नं.
§ अंशबण्डाका १८ र १९ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ख) अनुसार यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :—
पिता नोछेमानका ३ भाई छोराहरूमा जेठा प्रतिवादी कृष्णकुमारीका पति लोकमान महिला र कान्छा हामी फिरादी हौं । सगोलबाट आर्जन गरिएको सम्पत्ति दाजुका नाममा दर्ता रहेकोमा बण्डा नहुँदै दाजुको मृत्यु भएकोले सो सम्पत्ति भाउजूका नाममा नामसारी भएको थियो । हामीहरूको बाबु आमा अघि नै परलोक भएका र हामीहरूका बीचमा बण्डापत्र हुन बाँकी नै भएकोमा हामी फिरादीहरूको अंश हक लाग्ने सम्पत्ति हामीलाई थाहा जानकारी नदिई मिति २०५७।३।२८ मा र.नं. ९७६७ बाट दिने कृष्णकुमारी प्रधान र लिने पशुपति सेन गुप्ता भै मोरङ्ग हरैचा ८(ग) कि.नं १२ को ०—१७—१० ऐ वडा नं ८(क) कि.नं. ११८ को ०—७—१५ ऐ ८(ख) कि.नं. ३२९ को १—१४—० र ऐ ८(क) कि.नं. २९१ को ०—०—१४ जग्गा खरीद बिक्री गरी हाम्रो हक मेटाएकोले लेनदेन व्यवहारको १० नं., अ.वं. ८२ नं. बमोजिम फिराद गरेका छौँ । उक्त जग्गाको प्रतिवादीमध्येको पशुपति सेन गुप्ताका नाममा दर्ता भएको मध्येबाट ३ भागको २ भाग कि.नं. १२ को पश्चिमतर्फबाट कि.नं. ३२९ को पश्चिमतर्फबाट र कि.नं. ११८ र २९१ को पूर्वतर्फबाट लिखत दर्ता बदर गरी हामी फिरादीहरूका नाममा दर्ता कायम गरिपाऊँ भन्ने समेत व्यहोराको २०५७।४।२२ को फिराद दावी ।
विपक्षीहरूले नोछेमान प्रधानको छोरा हौं भने तापनि आफ्नो नाम जंगमान तुलाधर लेखिनुले प्रधानको छोरा तुलाधर हुन सक्तैन । त्यसमा पनि प्रतिवादी कृष्णकुमारीका पति लोकमानका पिता नोछेमान लेखिएको हुँदा कानूनअनुरूप दाजुभाइ हुन् भन्ने कुरा खुल्दैन । दुई जना फिरादीमध्ये को दाजु को भाई खुलाएको छैन । यी फिरादीको मूल पैत्रिक थलो कुन हो, कसरी जग्गा आर्जन भएको हो, लोकमानको मृत्युपछि एकलौटी जग्गा नामसारी हुन किन दिए र कसरी सगोलको सम्पत्ति भयो सो खुलाउन सकेको देखिँदैन । पैत्रिक सम्पत्तिबाट लोकमानका नाममा जग्गा आएको नभै म र मेरा परिवारको नामको जग्गा बिक्री गरी व्यवहार चलाउनु पर्ने भै स्व.लोकमान जग्गा खरीद बिक्रीको कारोवार गर्ने भएकोले मेरै भाई रघुपति सेनबाट २०३३।३।११ गते बकसपत्र पाई सोमध्ये बिक्री गरी बाँकी रहेको र मेरै छोरी लिपीसेनबाट २०५२।१।१० गते र नं. १५७९२ बाट राजीनामा गरी लिई विभिन्न व्यक्तिलाई बिक्री गरी कित्ता काट हुँदै बाँकी रहेका जग्गाहरू निज लोकमानको मृत्युपछि निजकी श्रीमती कृष्णकुमारीका नाममा नामसारी भै आएको जग्गा हो । बिक्री वितरणलाई सजिलोका लागि लोकमानका नाममा राखेको र बिक्री भएपछि हिसाव बुझाउदै आएका थिए । यसरी जग्गा खरीद बिक्री गर्दै आएका र मञ्जूरी नलिएको अवस्थामा निजहरू अंशियार भएको भए खोजी गर्नुपर्ने थियो । मेरो परिवारबाट आएको जग्गामध्ये २०४५।१।२० मा र.नं. ९७३७ बाट भीमकला मादेनलाई, २०४७।१२।४ मा र नं. ७४५९ बाट छलीकुमारी दनुवारलाई त्यस्तै पटकपटक नरवीर सार्की, रामदयाल दनुवार, खड्गबहादुर खड्का, हस्तबहादुर खड्का, विन्दादेवी पोखरेललाई बिक्री भएको जग्गामा यी फिरादीहरूको उजूर परेको छैन । त्यसकारण लेनदेन व्यवहारको १० नं., अंशबण्डाको महलको १८ नं. र सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबाट समेत मैले लिएको जग्गाको लिखत बदर हुने होइन भन्ने समेत व्यहोराको मिति २०५७।६।८ को प्रतिवादी पशुपति सेन गुप्ताको प्रतिउत्तर पत्र ।
प्रतिवादी कृष्णकुमारी प्रधानका नाममा म्याद जारी भै मिति २०५७।६।७।७ मा म्याद तामेल भएकोमा उक्त म्याद गुजारी प्रतिउत्तर नफिराई बसेको ।
आदेशानुसार दावीको जग्गाको र प्रतिवादीले प्रतिउत्तर साथ पेश गरेको राजीनामाको प्रतिलिपिबमोजिमका जग्गाको राजीनामा प्रतिलिपि मालपोत कार्यालयबाट झिकाई मिसिल संलग्न रहेका ।
आदेशानुसार वादीका साक्षी वसन्त घिमिरेको बकपत्र भै मिसिल सामेल रहेको ।
फिराद प्रतिउत्तरको व्यहोरा र मिसिलमा संलग्न रहेको प्रमाणबाट लिखत दर्ता बदर गरी दर्ता कायम गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु मोरङ्ग जिल्ला अदालतबाट मिति २०६०।५।२५ मा भएको फैसला ।
शुरु जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । हाम्रो समेत अंश हक लाग्ने जग्गा हाम्रो मञ्जूरी नलिई विपक्षीहरूले लिनु दिनु गरेको हुँदा दावीबमोजिम लिखत बदर गर्नु पर्नेमा वादी दावी नपुग्ने ठहर्याई शुरु जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावीबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा मिसिल संलग्न मिति २०६०।३।६ को गा.वि.स.कार्यालय वारंगीको नातासम्बन्धी सिफारिश पत्रको विवेचना नगरी भएको शुरु मोरङ्ग जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिँदा विपक्षीहरू झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६१।१।१३ को आदेश ।
प्रस्तुत मुद्दा यस अदालतको मिति २०६१।४।३१ का आदेशले मुलतवीमा रही मिति २०६२।११।१ का आदेशले मुलतवीबाट जागी पेश हुन आएको रहेछ ।
प्रस्तुत विषय लेनदेन व्यवहारको १० नं.को रहेतर्फ दुवै पक्षले अन्यथा जिकीर नलिएको र सोही महलअन्तर्गत प्रवेश गरिएकामा अंश लाग्ने नलाग्नेतर्फ मिति २०६३।३।२१ को अन्तिम भई बसेको अंश मुद्दाको फैसलाले अंशतर्फ निर्णायक विन्दुमा स्थीर रहेको देखिन्छ । यस स्थितिमा अंशियार मृतक दाजु लोकमानको नामको दावीका उक्त जग्गा मृतककी श्रीमती कृष्णकुमारीले नामसारी गराई प्रत्यर्थीलाई पुनरावेदकहरूको मञ्जूरी नलिई लिखत गरिदिएको प्रक्रिया मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. को प्रक्रियागत अवस्थाअनुरूप नरहेको स्थितिमा शुरु वादी दावीबमोजिम ३ (तीन) भागको २ (दुई) भाग लिखत दर्ता बदर गरी पुनरावेदक वादीका नाममा दर्ता कायम हुने ठहर गर्नुपर्नेमा अन्यथा गरी शुरु मोरङ्ग जिल्ला अदालतले मिति २०६०।५।२५ मा गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६४।२।२३ को फैसला ।
अंश मुद्दाको फैसलाले अघि परेको लिखत बदर मुद्दालाई असर पार्न मिल्दैन । स्व. लोकमानले बकस पाएको जग्गा विभिन्न समयमा विभिन्न व्यक्तिलाई हक हस्तान्तरण गरी सकेको अवस्था छ । त्यसमा विपक्षीले दावी गर्न सकेका छ्रैनन् । मृतकको नाउबाट दाता कृष्णकुमारीले नामसारी गराउँदा आफूलाई मात्र हकदार देखाएकोलाई विपक्षीले बदर गराउन नामसारी निर्णयउपर चुनौती दिन सकेको पाइँदैन । तसर्थ, लोकमानको शेषपछि हक खाने एकमात्र पत्नी रहेको, सम्बन्धित नगरपालिकाले अरु हकदार नभएको भनी सिफारिश गरेको पत्रको आधारमा निज लोकमानकी पत्नी कृष्णकुमारीको नाउँमा मालपोत कार्यालय मोरङ्ग बेलवारीबाट निर्णय भई नामसारी भएपश्चात् म पुनरावेदकले खरीद गरी लिएको जग्गा लोकमानले आफ्नो पालामा आर्जन गरेको तथ्य प्रष्ट भइरहेकोले स्व. लोकमानकी पत्नी कृष्णकुमारीले आफ्नो खुस गर्न पाउने सम्पत्ति हुँदा लिखत बदर गर्ने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरिपाऊँ भनी प्रतिवादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
यसमा लिखत बदर मुद्दा शुरु मोरङ्ग जिल्ला अदालतबाट मिति २०६०।५।२५ मा वादी दावी पुग्न नसक्ने ठहरी फैसला भएकोमा सो पूर्व वादी र कृष्णकुमारीबीच अंश मुद्दा दायर भएको भन्ने देखिन आउँदैन । प्रस्तुत लिखत बदर मुद्दाको फैसलामा बोलिएको अंशियारको विषयको परिणामलाई बिचार गरी पछि परेको अंश मुद्दाको फैसलालाई मुख्य आधार बनाई पुनरावेदन अदालत विराटनगरले वादी दावीबमोजिम लिखत बदर हुने ठहराई गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण हुन गई इन्साफमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि प्रत्यर्थीहरूलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१।५ गतेको आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितका सम्पूर्ण मिसिल कागजातहरूको अध्ययन गरियो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री युवराज भण्डारीले वादी जगतमान प्रधान र प्रतिवादी कृष्णकुमारीबीचको अंश मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरी शुरु मोरङ्ग जिल्ला अदालतबाट मिति २०६३।३।२१ मा भएको फैसला अन्तिम रहेको भन्ने आधार अवलम्बन गरी पुनरावेदन अदालत विराटनगरबाट लिखत बदर हुने भनी भएको फैसला त्रुटिपूर्ण छ । किनकी लिखत बदर मुद्दाको फैसला २०६०।५।२५ मा अगाडि नै भइसकेको अवस्था छ । जगतमान प्रधान कृष्णकुमारीको अंशमा दावी गर्ने अंशियार भएको प्रमाण विपक्षीहरूले देखाउन सकेका छैनन् । विपक्षीहरू जगतमान र जंगमानको थर नै अलग—अलग र वतन समेत भिन्नाभिन्नै देखिन्छ । विवादित जग्गा स्व. लोकमानले २०३३ सालमा बकसपत्रबाट पाएको हुँदा सो सम्पत्ति आफूखुशी गर्न पाउने सम्पत्ति भएको प्रष्ट हुन आउँछ । अंश मुद्दाले विवादित जग्गा बण्डा लाग्ने ठहर भएको छैन । तसर्थ, दावीको जग्गाको लिखत बदर हुने ठहराई भएको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरिपाऊँ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसै गरी प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र विद्वान अधिवक्ताहरू श्री हरिबहादुर बराल र विनोद शर्माले अंशियार दाजु स्व. लोकमानको नामको दावीका जग्गाहरू निजकी श्रीमती कृष्णकुमारीले नामसारी गराई प्रत्यर्थीलाई पुनरावेदकको मञ्जूरी नलिई लिखत गरिदिएको प्रक्रिया मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. को प्रक्रियागत अवस्थाअनुरूप नरहेको स्थितिमा शुरु वादी दावीबमोजिम ३ (तीन) भागको २ (दुई) भाग लिखत दर्ता बदर गरी वादीका नाउमा दर्ता कायम हुने ठहराई भएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिँदा सोही सदर हुनु पर्दछ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।
उपर्युक्त विद्वान कानून व्यवसायीहरूको बहस जिकीर समेत सुनी इन्साफतर्फ बिचार गर्दा पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिले नमिलेको के रहेछ र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
तत्ससम्बन्धमा हेर्दा दाजु लोकमान प्रधानका नाउँमा दर्ता कायमी कि.नं. १२, ११८, ३२९ र २९१ का जग्गाहरू हामीहरूको अंशबण्डा नहुँदै उक्त सगोलको सम्पत्ति विपक्षी भाउजू कृष्णकुमारीको नाउँमा नामसारी भएकोमा प्रत्यर्थीमध्येका पशुपति सेन गुप्तालाई मिति २०५७।३।२८मा राजीनामा पारित गरी दिएबाट सगोलको हाम्रो बण्डा लाग्ने उक्त सम्पत्तिको ३ भागको २ भाग लिखत बदर गरी हाम्रो नाउँमा दर्ता नामसारी कायम गरिपाऊँ भन्ने फिराद दावीमा प्रतिवादी कृष्णकुमारी प्रधानले प्रतिउत्तर फिराएको देखिँदैन भने प्रतिवादीमध्येका पशुपति सेन गुप्ताको प्रतिउत्तर जिकीरमा दावीको जग्गा स्व.लोकमानले मिति २०३३।३।११ मा बकसपत्रबाट प्राप्त गरेको आफूखुश गर्न पाउने निजी सम्पत्ति हो, पैतृक सम्पत्ति होइन भनी इन्कारी प्रतिउत्तर जिकीर लिएको पाइन्छ । शुरु मोरङ्ग जिल्ला अदालतबाट फैसला हुँदा वादी दावी पुग्न नसक्ने ठहराई भएको फैसलाउपर चित्त नबुझी वादीको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन पर्दा सो अदालतले शुरु फैसला उल्टी गरी वादी दावी पुग्न सक्ने ठहराई भएको इन्साफमा चित्त नबुझी प्रतिवादीको पुनरावेदन यस अदालतमा परी निर्णयार्थ पेश भएको देखिन्छ ।
२. निर्णयतर्फ बिचार गर्दा लोकमान प्रधानको मृत्यु मिति २०५४।७।२८ मा भएपश्चात निजकी श्रीमती कृष्णकुमारी प्रधानले विवादित कि.नं १२, ११८, ३२९ र २९१ का जग्गाहरू स्व.लोकमानको नाउँबाट मिति २०५७।३।२७ मा आफ्नो नाउँमा नामसारी गराई लिएको देखिन्छ । सो जग्गाहरू पैतृकसम्पत्ति भई अवण्डा जग्गाहरू भएकोले हाम्रो मञ्जूरी नलिई भाउजू प्रतिवादी कृष्णकुमारी प्रधानले प्रतिवादीमध्येका पशुपति सेन गुप्तालाई मिति २०५७।३।२८ मा राजीनामा पारित गरी दिएको हुँदा उक्त राजीनामाभित्रका जग्गाहरूमा हाम्रो हक लाग्ने जति लिखत र सोबमोजिम पशुपति सेन गुप्ताका नाउँमा दर्ता कायम भएको कि.नं. १२, ११८, ३२९ र २९१ का चार कित्ता जग्गाहरूको ३ भागको २ भाग बदर गरिपाऊँ भनी वादीहरू जगतमान र जंगमानको फिराद परेको देखिन्छ । प्रतिवादी पशुपति सेनले प्रधान र तुलाधर अलग अलग थरका व्यक्ति अंशियार हुन सक्तैनन् भन्ने जिकीर लिएको पाइन्छ ।
३. जिल्ला अदालतबाट लिखत बदर नहुने तथा पुनरावेदन अदालतबाट फिराद दावीअनुरूप खण्डे रुपमा लिखत बदर हुने फैसला भएको पाइन्छ । यस अदालतमा प्रतिवादी पक्षबाट परेको पुनरावेदनमा पछिबाट भएको अंश मुद्दाको फैसलालाई आधार लिन नमिल्ने भन्ने प्रश्नमा अ.वं. २०२ नं.अनुरूपको झगडिया झिकाउने आदेश भई प्रस्तुत मुद्दा यस अदालतमा विचराधीन हुन पुगेको छ ।
४. सर्वप्रथम, लिखत बदर मुद्दामा २०६०।५।२५ मा वादी दावी नपुग्ने ठहर भएपछि २०६०।१२।१८ मा यस मुद्दाका वादीहरूले यसै मुद्दाकी प्रतिवादीमध्येकी कृष्णकुमारी प्रधानलाई भाउजू नाता देखाई दायर गरेको अंश मुद्दामा २०६३।३।२१ मा नातालाई मान्यता दिई भएको अन्तिम फैसलालाई आधार लिन मिल्ने हो वा होइन भन्ने कानूनी प्रश्नको बिबेचना आवश्यक छ । यस कानूनी प्रश्नमा प्रवेश गर्नुपूर्व पुनरावेदन अदालतमा यो लिखत बदर मुद्दा उक्त अंश मुद्दा दायर भएको कारणले मुलतवी रही सोको फैसलापछि मुलतवी जागी प्रस्तुत फैसला भएको तथ्यले पनि विशेष महत्व राख्दछ ।
५. प्रस्तुत लेनदेन व्यवहारको १० नं. अंगाली दायर भएको लिखत बदर मुद्दामा दाता र फिरादी अंशियार हुन होइनन् भन्ने कुरा केन्द्रीय प्रश्नका रुपमा रहेको थियो । यसको निर्क्यौल गर्न यही मुद्दामा अ.वं. ८० नं. को प्रक्रिया अपनाई नाता सम्बन्धमा यकीन गर्न सकिन्थ्यो र प्रधान र तुलाधर अलग थर लेख्ने व्यक्ति दाजुभाइ हुन सक्ने नसक्ने प्रश्न उठेपछि निरोपण गर्नु पनि पर्दथ्यो । तर पुनरावेदन अदालतले यसै मुद्दामा कारवाही नउठाई अंश मुद्दालाई प्राथमिकता दिई त्यसैबाट यो प्रश्नको निरोपण हुने सम्झी प्रस्तुत मुद्दा मुलतवी राख्यो । यो आदेशमा यी पुनरावेदन पक्षले समेत चुनौती दिएको पाइएन । यस अवस्थामा अंश मुद्दाको फैसला प्रस्तुत लिखत बदर मुद्दा चल्दाचल्दै सिर्जना गर्न खोजिएको प्रमाण होइन । यो प्रक्रिया गुपचुप रुपमा आफ्ना दाता कृष्णकुमारी र वादीहरूले मिलेमतो गरी आफ्नो हकमा असर पार्न खोजिएका भन्ने लागेको भए यस मुद्दाका पुनरावेदकलाई सो वादीहरू तथा दाताको नाता र अंश खण्डलाई मान्यता दिइएको सो फैसला बिरूद्ध अ.वं. ८६ नं.को उपचार उपलब्ध थियो । अदालतबाट विधिसम्मत तरिकाबाट भएको फैसला केवल पछिबाट भएको भन्ने आधारमा यस मुद्दामा पुनरावेदन अदालतले आधार लिन मिल्दैनथ्यो भन्नु न्यायोचित हुँदैन । निश्चय नै कुनै मुद्दा चल्दाचल्दै प्रमाण खडा गर्ने दुराशयले गुपचुप रूपमा कुनै कार्य गरिन्छ भने त्यसको परिणामले चलिरहेको मुद्दामा प्रतिकूल असर पर्न सक्दैन । तर, प्रस्तुत मुद्दाका पुनरावेदकलाई समेत दाता र यस मुद्दाका वादीहरूबीच अंश मुद्दा चलेको र फैसला भएको मुलतवी रही जागेको यो मुद्दाको पक्ष भएबाट यथासमयमा जानकारी छ । आफूलाई प्रत्यक्ष प्रतिकूल असर पर्ने सो अंश मुद्दाको निर्णयलाई कुनै चुनौती दिइन्न भने अंश मुद्दाको फैसलाको परिणामलाई निजले स्वीकार्नु पर्ने हुन्छ । अदालतबाट न्यायिक प्रक्रिया अपनाई भएको फैसलालाई विधिवत् चुनौती नदिई अन्तिम भएर रहेको अवस्थामा त्यसको परिणामलाई सहज रुपमा स्वीकार्न यो अदालत समेत बाध्य छ ।
६. अंश मुद्दाको फैसला बाहेक स्वतन्त्र रूपमै हेर्दा पनि कृष्णकुमारी र वादीहरू बीच नाता सम्बन्ध नरहेको भनी प्रतिवादीले दर्शाएका आधारका रुपमा वादीहरू मध्ये एक जनाको थर तुलाधर लेखिनु र वतन अलग हुनु भन्ने रहेका छन् । एक जना प्रधान र अर्को तुलाधर थर लेख्ने वादीहरू आफूलाई दाजुभाइ मान्दछन् । उपनाम र संक्षिप्त नाम लेख्ने प्रचलनको व्यापकता पाइरहेको अवस्थामा कसले के थर लेख्यो भन्ने कुरा मुख्य कुरा नभई निजका पूर्वजको यकीन गरिनु नै न्यायोचित कुरा हो । पिताले शर्मा र उपाध्याय आदि लेख्ने गरेकोमा सन्तानले आफ्नो वास्तविक थर नै लेखे भन्दैमा तिनका बीच सम्बन्ध नरहेको अर्थ गर्न मिल्दैन । त्यस्तै कसैले बहादुर, प्रसाद र राज आदि मध्ये नाम लेखेनन् भन्दैमा त्यो व्यक्ति नै फरक हो भन्न मिल्दैन । सिफारिश र नागरिकतालगायतका प्रमाणले जंगमानलाई नोछेमानकै छोरा देखाई रहेको अवस्थामा अन्यथा अर्थ लगाउन मिल्दैन ।
७. दाता कृष्णकुमारी र वादी जगतमान र जंगमान अंशी कायम भइरहेको स्थितिमा लेनदेन व्यवहारको १० नं. को प्रयोग के कसरी हुने हो भन्ने अर्को सान्दर्भिक र मुख्य प्रश्न उपस्थित भएको छ । लेनदेन व्यवहारको १० नं.ले अंशबण्डाको कानूनी प्रावधानहरूसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । कुनै अंशियार अर्को अंशियारको दुराशयका कारणबाट अंश हकबाट बञ्चित नहोस् भन्ने मूल मर्म नै लेनदेन व्यवहारको १० नं. को चुरो हो । लेनदेन व्यवहार को १० नं. ले आफूखुशी गर्न पाउने अरुको मञ्जूरी लिनु नपर्ने सम्पत्ति हस्तान्तरण भएकोमा त्यस्तो लिखत बदर नहुने प्रावधान आफूभित्र समाहित गरेको छ । यसै नम्बरले आफ्नो निजी आर्जनको सम्पत्तिलाई पनि आफूखुश गर्न पाउने वर्गमै समावेश गरेको छ । के कस्ता सम्पत्ति निजी आर्जन तथा आफूखुश गर्न पाउने प्रकृतिका हुन भन्ने कुराको निरोपण अंशबण्डाका १८ र १९ नं. तथा स्त्री अंश धनका १,२ र ५ नं. का आधारमा गरिनु पर्ने हुन्छ ।
८. लेनदेन व्यवहारको १० नं. का कानूनी प्रावधानभित्र पस्न उजूर आवश्यक पर्दछ । यस्तो उजूर गर्न सम्बन्धित लिखतमा साक्षी पनि नवसेको वा सम्पत्ति हस्तान्तरण गर्न छुट्टै मञ्जूरीको लिखत पनि नगरी दिएका एकाघरसँगका अंशियारलाई मात्र हक छ । यी दुई क्रिया उजूर अर्थात् फिराद गर्न सक्ने आधार हुन् । यी दुई क्रियामा संलग्न नरहेका एकाघरसँगका अंशियारले रजिष्ट्रेशन भएको १ वर्ष सम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गरेपछि सो हस्तान्तरणमा निजको मञ्जूरी थियो वा थिएन भनी हेरिनु पर्ने पृथक विषय हो ।
९. उजूर गर्न पाउने अधिकार र हस्तान्तरणको कार्यमा अन्य अंशियारको मञ्जूरी रहे नरहेको हेरिनु पर्ने दुई पृथक कुरा हुन् । लेनदेन व्यवहारको १० नं. को संरचना हेर्दा, “... साक्षी पनि नवसेको र मञ्जूरीको लिखत पनि नभए मञ्जूर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्षसम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गर्यो र ...” भन्ने शब्दहरूपछि “निजको मञ्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ” भनी उल्लेख भएको पाइन्छ । साक्षी बस्ने वा मञ्जूरीको लिखत हुने अवस्था मात्र सगोलको आफूखुश गर्न नपाउने सम्पत्ति हस्तान्तरणका लागि मञ्जूरी मानिने विधिकर्ताको मनशाय भए ’र’ पछिको अन्य शब्दहरू आवश्यक पर्ने थिएनन् । ’र’ भन्ने शब्दले दुई पृथक कानूनी पूर्वावस्थालाई इंगित गर्दै दुबै खण्डको स्वतन्त्र न्यायिक परखको आवश्यकता दर्शाउछ । हस्तान्तरणको क्रियामा फिरादीको मञ्जूरी रहे नरहेको प्रमाणद्वारा स्थापित हुने कुरा हो । हस्तान्तरण भएको लिखत बदरमा दावी नगर्ने अन्य अंशियारको सो क्रियामा स्वतः मञ्जूरी रहेको मानी निजहरूको खण्ड बदर हुन सक्दैन । यसबाट पनि हस्तान्तरित लिखतमा फिरादीको मञ्जूरी र नामञ्जूरीलाई प्रमाणको रोहमा स्वतन्त्र रुपले हेरिनु पर्ने लेनदेन व्यवहारको १० नं.को मनसाय हो ।
१०. यसरी उजूरी परेपछि मञ्जूरीले नै हस्तान्तरण भएको हो होइन निरोपण गरिनु पर्ने दोस्रो चरणको व्यवस्था पनि समानान्तर रूपमा यसै कानूनले गरेको मान्नु पर्ने हुन्छ । उजूरी गर्नलाई तोकिएको अवस्था एउटा कुरा हो भने मञ्जूरी ठहरिनु नठहरिनु अर्को कुरा हो । सम्पत्ति हस्तान्तरण गरेर लाभ हासिल गर्ने र पछिबाट लिखतमा सही पनि छैन र मञ्जूरीको लिखत पनि छैन भनी लिखत बदरमा दावी गर्दैमा स्वतः निजको खण्ड बदर गरिदिनु पर्ने मनसाय लेनदेन व्यवहारको १० नं. को होइन । लिखतमा साक्षी बस्नु वा मञ्जूरीको लिखत हुनुलाई सगोलको आफूखुश गर्न नपाउने सम्पत्ति हस्तान्तरण प्रक्रियामा मञ्जूरी रहेको प्रत्यक्ष प्रमाण हो भने यसका अतिरिक्त मञ्जूरी आचरण तथा अन्य प्रमाणबाट प्रदर्शित हुने कुरा पनि हो । सम्पत्ति हस्तान्तरण गरेर अर्को उपयुक्त सम्पत्ति आर्जन गरिएको र सम्पत्ति हस्तान्तरण गरेर कुनै पारिवारिक दायित्व पूरा गरिएको जस्ता कुरा प्रमाणबाट पुष्टि हुन्छ भने पनि यस्ता कार्यलाई मञ्जूरी नै मान्नु पर्ने भई लिखत बदर गर्नुपर्ने औचित्यको पुष्टि हुँदैन । प्रस्तुत विवादमा वादीहरूको सम्पत्ति हस्तान्तरणमा प्रत्यक्ष वा परोक्ष सहमति रहेको तथा सो हस्तान्तरणको लाभ वादीहरूले पनि प्राप्त गरेको प्रतिउत्तर जिकीर रहेको पाइन्न । प्रमाणबाट वादीहरू पनि सो हतान्तरण क्रियाबाट लाभान्वित भएको देखिँदैन । लिखतमा साक्षी नबेसका वा मञ्जूरीको लिखत नगरेका अंशियारले सो हस्तान्तरणबाट सामूहिक लाभ आर्जन गरेकै देखिए पनि स्वतः निजहरूको खण्ड बदर गरिदिनु पर्दछ भन्नु यन्त्रिक कुरा हो । यस्तो मनसाय लेनदेन व्यवहारको १० नं.को होइन । वादीहरूले त्यो हस्तान्तरणको क्रियाबाट कुनै लाभ प्राप्त गरेको प्रतिवादीले भन्न नसकेको स्थिति छ । दाता भाउजूको प्रतिउत्तर नपर्नु एउटा शंकाको आधार हुन सक्ने भएपनि प्रतिवादी प्रत्यर्थीले नै जिकीर नलिएको प्रसंगतर्फ प्रवेश गर्न परेन । तसर्थ विवादित लिखत लेनदेन व्यवहारको १० नं.द्वारा वर्णित बदर हुने प्रकृतिमा पर्दछ ।
११. लिखत बदर गरिन आवश्यक देखिएको अवस्थामा त्यस लिखतमा समाविष्ठ प्रत्येक सम्पत्तिको प्रकृतिको विश्लेषण गरिन आवश्यक छ । हस्तान्तरित सम्पत्ति पैतृक रहेछ भने त्यो बदर गरिने वर्गमा पर्दछ । पति पिताको आर्जन पत्नी र सन्तानका लागि पैतृक सम्पत्तिकै वर्गमा पर्ने कानूनी मान्यता यस अदालतले स्थापित गरिसकेको भएबाट त्यसको पुनरावृत्ति आवश्यक भएन । अंश बण्डाँको १८ नं. को परिधिमा पर्ने सम्पत्ति पत्नी र सन्तान बाहेक अन्य अंशीलाई बण्डा गर्न कर नलाग्ने भएबाट यस्ता प्रकृतिमा पर्ने सम्पत्तिको हस्तान्तरणको लिखत बदर गर्न लेनदेन व्यवहारको १० नं.ले नै निषेध गरेको छ । यस कानूनी संरचनाका कसीमा दाताले हस्तान्तरण गरेका केही सम्पत्ति दाताको स्वर्गीय पतिका नाममा २०३३।३।११ मा आएका देखिन्छन् भने कुनै सम्पत्ति २०५२।१।१० मा आएको देखिन्छ ।
१२. मुलुकी ऐनको २०३३।९।२७ मा भएको सातौँ संशोधनले अंश बण्डाँको १८ नं. का माध्यमले निजी आर्जनको अवधारणा हाम्रो कानूनी प्रणालीले भित्राएको हो । सो पूर्वको आर्जन जे जसरी भएको भएपनि बण्डा लाग्ने प्रकृतिको सम्पत्ति हो भने सो पछिको सम्पत्तिका हकमा निजी आर्जनको अवधारणा लागू हुने देखिन्छ । लिखतमा समाविष्ठ कि.नं. १२ को आर्जन २०५२।१।१० मा भएको तथ्यमा विवाद देखिएन । यो पैतृक वा पैतृक सम्पत्तिबाट बढे बढाएको सम्पत्ति देखिन पनि आएन । तसर्थ यस कित्ताको जग्गा दाजु र भाईहरू बीच बण्डा गर्न कर लाग्ने प्रकृतिको नदेखिँदा यस कित्ताको हकमा लिखत बदर गरिरहन लेनदेन व्यवहारको १० नं.ले मिलेन । कि.नं. ११८,३२९ र २९१ का जग्गाहरू भने २०३३।३।११ मा कृष्णकुमारीका स्वर्गीय पति लोकमानका नाममा आएको देखिएबाट यी सम्पत्ति हस्तान्तरण हुँदा वादीहरूको लिखत तथा आचरणगत मञ्जूरीको अभाव देखिँदा यी तीन कित्ताका हकमा सम्म हस्तान्तरणको कार्य लेनदेन व्यवहारको १० नं. प्रतिकूल देखियो ।
१३. दाता कृष्णकुमारी प्रधानले स्व. लोकमानको २०५४।७।२८ मा मृत्यु भएपश्चात हकदारको हैसियतले आफ्नो नाउँमा मात्र मिति २०५७।३।२८ मा नामसारी गरेको कार्य चुनौती रहित हुँदा लिखत बदर हुनुपर्ने होइन भन्ने पुनरावेदक प्रतिवादीको जिकीर तर्फ हेर्दा सँगोलको सम्पत्ति कुनै एक अंशियारको नाममा नामसारी भएकै कारणबाट अन्य अंशियारको हक समाप्त भएको भनी निर्क्यौल निकाल्नु कानूनसम्मत देखिँदैन । साथै सो नामसारी प्रक्रियामा यी वादीहरूको संलग्नता रही हक परित्याग गर्ने कार्यमा सहमति जनाएको अवस्था पनि खुल्न आएको देखिएन । विवादित सम्पत्ति पैतृक सम्पत्ति नभएको भन्ने तर्फ हेर्दा दावीको सम्पत्ति प्रतिवादी कृष्णकुमारी प्रधानको नाउँमा स्व. लोकमानको नामबाट नामसारी भएकै कारणले पैतृक सम्पत्ति नभई कृष्णकुमारीले आफूखुश गर्न पाउने सम्पत्ति भन्न मिल्ने समेत देखिँदैन । मूलतः यी सम्पत्ति मुलुकी ऐन सातौँ संशोधनभन्दा पहिले अर्थात् २०३३।३।११ मा लोकमानका नाममा आएका हुन् ।
१४. तसर्थ, माथि बिवेचित आधार कारण र प्रमाणबाट स्व. लोकमान प्रधानको नामको दावीका कि.नं. १२ को जग्गा बाहेक कि.नं ११८, ३२९ र २९१ का जग्गाहरू स्व. लोकमान प्रधानकी श्रीमती कृष्णकुमारी प्रधानले नामसारी गराई प्रतिवादी पशुपति सेन गुप्तालाई यी वादीहरू जगतमान र जंगमानको मञ्जूरी नलिई राजीनामा गरिदिएको प्रक्रिया मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाअनुरूप नरहेको र कि.नं. १२ को जग्गाको हकमा प्रतिवादी पशुपति सेन गुप्तालाई राजीनामा गरेको प्रक्रिया कानूनसम्मत देखिदाँ सो बाहेकका तीन कित्ता जग्गाहरूको हकमा वादी दावीबमोजिम तीन भागको दुई भाग लिखत बदर गरी वादीहरूका नाउमा दर्ता कायम हुने ठहराई भएको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।२।२३ को फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने र कि.नं १२ को जग्गाको हक जतिको लिखत बदर नहुने ठहर्छ । सो ठहराई फैसला गर्नुपर्नेमा वादी दावीअनुसार दावीका सबै कित्ताका जग्गाहरूको लिखत बदर हुने ठहराई भएको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।२।२३ को फैसला केही उल्टी हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत विराटनगरको फैसला केही उल्टी भै दावीको दिने कृष्णकुमारी प्रधान र लिने पशुपति सेन गुप्ता भै मिति २०५७।३।२८ मा र.नं ९७६७ को पारित लिखत र सो लिखतबमोजिम प्रतिवादी पशुपति सेन गुप्ताका नाममा दर्ता कायम भएको जिल्ला मोरङ्ग हरेैचा गा.वि.स. वडा नं.८(ग) कि.नं १२ को जग्गाको लिखत बदर नहुने हुँदा सोबाहेकका दावीका ऐ वडा नं ८(क) कि.नं. ११८, ऐ वडा नं. ८(ख) कि.नं. ३२९ र ऐ वडा नं.८(क) कि.नं. २९१ समेतका ३ कित्ता जग्गाहरूको ३ भागको २ भाग लिखत दर्ता बदर भई वादीहरू जगतमान प्रधान र जंगमान प्रधानका नाउमा दर्ता कायम हुने ठहरेकोले सोबमोजिम गरिपाऊँ भनी वादीहरूको दरखास्त पर्न आए कानूनबमोजिम लिखत दर्ता बदर गरी निजहरूका नाउँमा दर्ता कायम गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी शुरु मोरङ्ग जिल्ला अदालतमा लेखी पठाई दिनू .... १
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ...२
उक्त रायमा सहमत छु ।
न्या.कमलनारायण दास
इति संवत् २०६७ साल चैत गते ८ रोज ३ शुभम्
इजलास अधिकृतः– परशुराम भट्टराई