निर्णय नं. ४६१७ - उत्प्रेषण समेत

निर्णय नं. ४६१७ ने.का.प. २०४९ (ग) अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको रिट नं. ७७७
आदेश भएको मिति: २०४९।९।१२।१ मा
निवेदक : जि.सुनसरी जलपापुर वार्ड नं. ६ बस्ने नुरमहमद मियाँ
विरुद्ध
विपक्षी : जि.सुनसरी जलपापुर वार्ड नं. ५ बस्ने जमुद्दिन अन्सारीसमेत
विषय : उत्प्रेषण समेत
(१) एकपटक विवादको उठान गरेपछि आफ्नो हक कायम हुन नसकेकोमा चूप लागी अन्तिम भई बसेको निर्णय उपर पुनरावेदन नगरी बसी पुनः सोही विवाद उठाउन अ.बं. ८५ नं. ले निवेदकलाई अधिकार प्रदान नगर्ने ।
(प्रकरण नं. १३)
(२) एउटै विवाद जहिलेसुकै उठाउन अ.बं. ८५ नं. ले वर्जित गरेको ।
(प्रकरण नं. १३)
(३) विवादित जग्गामा मोहियानी हक भए विधिवत कायम गराई भूमिसम्बन्धी ऐन, २०३१ को अनुसूची ४ नं. बमोजिमको प्रमाणपत्र पनि लिनु पर्ने हो । निवेदकले त्यस्तो विधिवत मोही भई प्रमाणपत्र हासिल गरेको समेत उल्लेख गर्न सकेको पाइएन । अतः यस स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने अवस्था विद्यमान नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ।
(प्रकरण नं. १३)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी, विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
आदेश
न्या.रुद्रबहादुर सिंह
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. जि. सुनसरी जलपापुर गा.पं. वार्ड नं. ६(क) कि.नं. १२५ को ज.वि. ०–४–१२, कि.नं. १५९ को ज.वि. ०–४–१८, कि.नं. १६१ को ज.वि. ०–४–० का जग्गाहरुको जग्गाधनी जमुद्दिन अन्सारी र मोही मेरो पिता गर्भु मियाँ हुनुभएकोमा पिता स्वर्गवास हुनुभएको र ज.ध.ले पत्याउनु समेत भएको हुँदा मोही नामसारी गरी प्रमाणपत्र समेत पाउँ भन्ने समेत व्यहोराको मेरो माग दावी भूमिसुधार कार्यालय सुनसरीमा परेको थियो । नर महमदले म उपर दिएको मोही बेदखलीमा कारवाही गरी रहन नपर्ने तामेलीमा राखी दिने यस कार्यालयबाट २०३९।१०।१२ मा निर्णय भएको समेत हुँदा उजूरवालाले मेरो जग्गा कमाएको र मोही समेत होइनन् भन्ने समेत विपक्षीले प्रतिवाद गर्नु भएको थियो । मोही नामसारी हुने ठहराई भू.सु.का. सुनसरीबाट २०४५।५।२ मा निर्णय भएको थियो ।
३. उक्त फैसला उपर विपक्षीको कोशी अञ्चल अदालतमा पुनरावेदन परेकोमा वादीको दावी बमोजिम यही नामसारी गर्न अ.बं. ८५ नं. ले समेत दावी पुग्न सक्ने अवस्था नदेखिँदा प्रत्यर्थी वादीको दावी बमोजिम मोही नामसारी हुने ठहर्दैन, शुरु भूमिसुधार कार्यालयले गरेको निर्णय उल्टी हुने ठहर्छ भनियो । उक्त फैसला उपर मेरो पू.क्षे.अ. मा पुनरावेदन परेकोमा कोशी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भनी २०४७।३।५ मा फैसला भयो, नक्कल २०४७।४।४ मा प्राप्त भयो ।
४. मैले आफ्नो उजूरीसाथ विपक्षी जम्मुदिनले बाबुको मृत्यु पश्चात पत्याई आएको भनी पेश गरेको कुरा स्वीकारीएपछि उक्त भर्पाई अ.बं. ७८ नं. को प्रकृया पूरा गरिएको अवस्थामा अ.बं. २०९ नं. ले पुनरावेदन तहबाट त्यो कार्य पूरा नगरी समेत प्रतिकूल हुन गएको छ । कोशी अञ्चल अदालतबाट जग्गाधनीको प्रतिवाद भएको भनी अ.बं. ८५ नं. ले नामसारी नहुने भनी भएको फैसला उक्त कानुनको प्रतिकूल छ । मोहिया नामसारीको लागि परेको प्रस्तुत विवादको हुँदा नामसारी बेदखली अलग अलग मुद्दा हुन । मेरो पिताको मोही हक समाप्त भएको र लगत कट्टा भएको प्रमाण यो छ भनी विपक्षीले देखाउन सक्नु भएको छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गतको मुद्दा हुँदा १ नं. अनुसूचीको लगतबाट ०–५–० घरवारी हो, घरवास उठाउनु संविधानको धारा ११(२) को (घ)(ङ) को प्रतिकूल हुनु हो ।
५. विपक्षीले म समेत उपर विवादित यिनै ३ कित्ता जग्गामा लुटपिट गरे भनी दावी लिनु भएकोमा मेरो प्रतिवाद समेत परी म मोही भएको र २०४० सालको बाली बुझाएको भर्पाई समेत प्रमाण पेश गरी प्रतिवाद गरेपछि २०४४।१०।७ मा डिसमिस भई विपक्षलाई जरिवाना समेत भएको छ । अन्तिम भइरहेको फैसला समेतको प्रतिकूल हुने गरी मोही नामसारी नहुने भनी भएका फैसला बदरभागी रहेको छ ।
६. अतः उल्लेख गरिए बमोजिम विपक्षीहरु नेपालको संविधान धारा ९ मा नरही ऐ. धारा १०(१) र ११(२)(ङ) धारा १५ ले प्रदत्त हकमा समेत आघात पुग्न गएबाट उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरी अञ्चल तथा क्षेत्रीय अदालतका फैसलाहरु बदर गरी हक प्रचलन गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।
७. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४७।५।२८ को आदेश ।
८. यही वादीको बाबु गर्भु मियाँले साविक जग्गा दर्तावाला यही प्रतिवादीकी बाबु समेत उपर कारवाही चलाएको मोही बेदखली मुद्दामा तारेख छाडी बसे बापत तामेलीमा राख्ने भनी २०३२।१०।६ मा भू.सु.का. बाट भएको निर्णय र यही वादीले बाबु परलोक भएको दर्शाई मोही वेदखली गरे भन्ने उजूरी दिई कारवाही हुँदा मोहीको हक प्रमाणको अभाव आधार देखाई कारवाही गर्न नपर्ने भनी भू.सु.का. सुनसरीबाट २०३९।१०।२५ मा भएको निर्णय बदर गराउन सकेको नदेखिँदा एकपटक मुद्दामा हारी सकेको र आफ्नो बाबु साविकमा मोही भएको भन्ने जिकिर समर्थनमा मोही भएको प्रमाणिक सबूद गुजार्न सकेको समेत नदेखिँदा को.अं.अ.को फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासबाट मिति २०४७।३।५ मा फैसला भएको कानुन अनुरुप भएको निर्णय हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत पू.क्षे.अ. को लिखितजवाफ ।
९. मिसिल साथ पेश भएका भू.सु.का. सुनसरीको मोहीबाट हटक गरेको भन्ने पू.नं. १६४।१८५० को मिसिल, मोही बेदखली मुद्दाको नं. ७३४ को मिसिलबाट दावीमा उल्लेखित जग्गाको प्रत्यर्थीको बाबु गर्भु मियाँ मोही होइन । निजले नै मोहियानीको प्रमाण पाउन सकेको छैन भनी जग्गा धनीको प्रतिवाद भई दुवै मुद्दामा उजूरवालाको दावी पुगेको नभई एउटा खारेजी भएको र अर्को तामेलीमा राखेको सो निर्णय माथि कुनै उजूर नगरी विपक्षी वादी (निवेदक) चित्त बुझाई बसेकोले अब प्रस्तुत मुद्दा तर्फ उजूर दावी बमोजिम मोहियानी हक नामसारी गर्न अ.बं. ८५ नं. ले समेत दावी पुग्न सक्ने अवस्था नदेखिँदा प्रत्यर्थी वादीको दावी बमोजिम मोही नामसारी हुने ठहर्दैन, नामसारी हुने विपरीत देखिँदा उल्टी हुने ठहर्छ भनी मिति २०४५।१२।१ मा भएको फैसला न्यायसंगत देखिँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी कोशी अञ्चल अदालतको लिखितजवाफ ।
१०. मोही बेदखली गरे भन्ने उजूरी नै २०३९।१०।२५ मा कारवाही गर्न नपर्ने भनी निर्णय भइरहेकोमा आफ्नो बाबु साविकमा मोही भइरहेको प्रमाणिक सबूद गुजार्न सकेको देखिँदैन भन्ने समेत को.अं.अ. को फैसला मिलेको देखिँदा मनासिब ठहर्छ भनी कानुन अनुसार सबूद प्रमाणको मूल्यांकन गरी २ वटा अदालतबाट निर्णय भएकोलाई अनाधिकार फैसला भएको भन्न मिल्दैन । अधिकारयुक्त निकायबाट भए गरेको निर्णयलाई तथ्यमा प्रवेश गरी उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिल्दैन । २०३९।१०।२५ मा तामेलीमा रहेको मोही बेदखली मुद्दाको विवादको जग्गा र विपक्षीहरु बेगल हुन भनी जिकिर लिन सकेको पाइँदैन । फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाको नाउँको फिरादपत्र लिई सुन्न हुँदैन, लिएको भए पनि खारेज गरी दिनु पर्छ भन्ने बाध्यात्मक व्यवस्था छ । मोही बेदखली मुद्दा तामेलीमा राख्ने निर्णय अन्तिम भई बसेको स्थितिमा मोही नामसारी मुद्दाको परिणाम के हुने भन्ने सम्बन्धमा अ.बं. ८५ नं. ले नै निरोपण गरी मुद्दा दर्ता गरी कारवाही चलाई र सुनवाई गर्न हुँदैन भन्ने समेत कानुनी व्यवस्था अनुसार रिट निवेदकले दावी लिएको मोही नामसारी मुद्दालाई खारेज गर्ने गरेको फैसलामा कुनै पनि कानुनी त्रुटि छैन । २०४४।१०।७ मा डिसमिस भएको बाली लुटपिट मुद्दाको फैसलाले जग्गामा मोही स्थापित गर्ने अथवा गरेको प्रमाण पुग्न सक्ने कुरा हुँदैन । अतः भूमिसुधार अधिकारीको कानुन विपरीतको निर्णयलाई पुनरावेदन तहबाट कानुन र सबूद प्रमाणको मूल्यांकन गरी भएको फैसला उपर उत्प्रेषण समेतको आदेश जारी हुनु पर्ने होइन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी जम्मुदिन अन्सारीको लिखितजवाफ ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले मोही लगतको १ नं. अनुसूचीमा निवेदकको बाबुको नाममा मोही लगत कायम देखिन्छ । उक्त लगत कट्टा भएको छैन । यस्तो स्थितिमा मोही कायम नरहने वा.अं.अ. ८५ नं. को आकृष्ट हुन सक्दैन भन्ने अर्थ गर्न मिल्दैन भन्ने समेत र प्रत्यर्थी कार्यालयका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता अलि अकवर मिकरानी तथा प्रत्यर्थी जम्मुदिनका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले निवेदकको बाबुले मोही बेदखली मुद्दा २०३२।१०।१९ मा तामेलीमा रहेको छ । यिनै निवेदकले मोही बेदखली गरे भनी दिएको मुद्दा २०३९।१०।२५ मा तामेलीमा रहेको छ । यसरी अन्तिम निर्णयको परिणामले निवेदकको हक स्थापित नभएको हुँदा अ.बं. ८५ नं. आकृष्ट हुन्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१२. प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश हुनु पर्ने हो होइन भन्ने निर्णयतर्फ विचार गर्दा मोही लगत १ नं. अनुसूचीमा गोनर गनी जग्गा धनी भएको एउटा कित्ता ०–७–० निवेदकका बाबु गर्भु मियाँले कमाएको भनी लगत भरेको देखिन्छ । तर अघि ०३२ सालको मोही बेदखली मुद्दामा नै प्रत्यर्थीको बाबुले उक्त कुरा इन्कार गरेकोमा सो मुद्दा तामेलीमा रहेको देखियो । पुनः नूरमहमदले यसै मुद्दाको ३ कित्ता जग्गाको विवरण देखाई मोही बेदखली मुद्दा विपक्षी जमूद्दिन मियाँ उपर नै दिएकोमा भूमिसुधार कार्यालय सुनसरीले वादी दावीको जग्गाको मोहीको प्रमाणपत्र पेश गर्न नसकेकोले प्रमाणको अभावमा कारवाही गरी रहनु नपर्ने हुँदा तामेलीमा राखी दिने ठहराएकोमा निवेदक चुप लागी बसेको देखियो र पुनः यो मुद्दाको उजूरी निवेदन मिति २०४७।५।२५ मा दिएको देखियो ।
१३. एकपटक विवादको उठान गरेपछि आफ्नो हक कायम हुन नसकेकोमा चूप लागी अन्तिम भई बसेको निर्णय उपर पुनरावेदन नगरी बसी पुनः सोही विवाद उठाउन अ.बं. ८५ नं. ले निवेदकलाई अधिकार प्रदान गर्दैन । यसरी एउटै विवाद जहिलेसुकै उठाउन अ.बं. ८५ नं. ले बर्जित गरेको छ । साथै विवादित जग्गामा मोहियानी हक भए विधिवत कायम गराई भूमिसम्बन्धी ऐन, २०२१ को अनुसूची ४ नं. बमोजिमको प्रमाणपत्र पनि लिनु पर्ने हो । निवेदकले त्यस्तो विधिवत मोही भई प्रमाणपत्र हासिल गरेको समेत उल्लेख गर्न सकेको पाइएन । अतः यस स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने अवस्था विद्यमान नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०४९ साल पौष १२ गते रोज १ शुभम् ।