शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६२६ - उत्प्रेषण

भाग: ३४ साल: २०४९ महिना: पौस अंक:

निर्णय नं. ४६२६     ने.का.प. २०४९ ()  अङ्क ९

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४९ सालको रिट नम्बर २६११

आदेश भएको मिति: २०४९।९।१६।५ मा

निवेदक      : का.न.पा. वडा नं. ४ बस्ने उमा बराल

विरुद्ध

विपक्षी : ३ नं. नापी गोश्वारा, काठमाडौंसमेत

विषय : उत्प्रेषण

(१)    निवेदिकाको हक भोगको लिखत बमोजिम ३ नं. नापी गोश्वाराबाट नाप नक्शा भए नभएको भनी सबूद प्रमाण भिडाई निरोपण गर्ने विषयवस्तु रिट क्षेत्राधिकार बाहिरको कुरा भएको देखिने ।

(प्रकरण नं. ६)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री खिमलाल देवकोटा

आदेश

न्या.केदारनाथ उपाध्याय

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    काठमाडौं नगरपालिका वडा नं. ४ चण्डोलमा कि.नं. ४०१ र ४०२ का जग्गाहरुमा मिति २०४४।२।२८ मा नक्शा पास गरी घर निर्माण गरी बसोवास गर्दै आइरहेको, सो जग्गा भन्दा पश्चिम पट्टी विपक्षी मध्येका सूर्यलक्ष्मी श्रेष्ठले घर बनाउन नगरपालिकाबाट नक्शा पारीत गराई घर निर्माण गर्दा पारीत नक्शा बमोजिम घर नबनाई मेरा जग्गा समेत मिची घर बनाएतर्फ नक्शा प्रतिकूल बनाएको घर भत्काई पाउन नगरपालिकामा निवेदन दिई कारवाही भइरहेको हाल नापी हुँदा मेरा कि.नं. ४०१ र ४०२ कि.नं. १३८ कायम हुन आएका जग्गाको दक्षिणतर्फको मेरो जग्गालाई विपक्षी सूर्यलक्ष्मी श्रेष्ठले निजका साविक कि.नं. ४०० र ४०३ हाल कि.नं. १३९ मा समावेश भई नाप नक्शा हुन पर्नेमा बाटो भई नाप नक्शा भएकोले कि.नं. १३९ को मा समावेश गरी पाउँ भनी ३ नं. नापी गोश्वारामा मिति २०४८।१२।१० मा दिएको निवेदनमा प्रत्यर्थी नं. १ ले अमीन समेत खटाई सरजमीन समेत गरेको देखाई मिति २०४९।५।१९।६ मा उक्त मेरो जग्गाको दक्षिण तर्फको मैले आफ्नो जग्गामा जाने बाटो कायम गरेको जग्गालाई विपक्षी सूर्यलक्ष्मीले आफ्नो निज जग्गा देखाउने र विपक्षी ३ नं. नापी गोश्वाराले विपक्षी सूर्यलक्ष्मीकै जग्गा हो भनी कि.नं. १३९ मा समावेश गरी दिने निर्णय पर्चा गरेको रहेछ ।

३.    उक्त जग्गाहरु विपक्षी सूर्यलक्ष्मीले प्राप्त गर्नु भन्दा पहिला म निवेदकले हरिप्रसाद उपाध्यायसंग कि.नं. १५९ बाट हा.व. प्राप्त गरी कि.नं. २६० कायम गरिएको र सो मध्येबाट मैले ०० जग्गा सत्या शर्मालाई हा.व. गरी दिएबाट कित्ताकाट हुँदा कि.नं. ४०० र ४०३ कायम भएको विपक्षीका दातालाई कित्ताकाट गरी दिंदा मात्र विवादित जग्गालाई निजी बाटोको रुपमा नक्शामा उल्लेख गरिएको भए तापनि उक्त जग्गा मेरो निर्विवाद हक भोगको जग्गा भएकोमा विवाद छैन । विपक्षीका दातालाई सम्म मैले उक्त जग्गाबाट हिंड्न दिएको भए तापनि हक हस्तान्तरण गरी दिएको छैन । विपक्षीले मेरो जग्गालाई म नभएको अवस्थामा पहिला सार्वजनिक बाटो भनी नाप नक्शा गराई त्यसपछि बाटो होइन कि.नं. १३९ भित्र कै जग्गा हो भनी नक्शा समावेश गर्ने कार्य गैरकानुनी छ । उक्त जग्गा कि.नं. १३९ मा समावेश गरी दर्ता गर्ने निर्णय गर्दा मलाई समेत उपस्थित गराई आफ्नो प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्नेमा नगरेको प्राकृतिक न्यायको सिद्धान्त बर्खिलाप भएको छ । विपक्षी कार्यालयले सरजमीन बुझ्ने कार्य गरेको भए तापनि मलाई उपस्थित हुने जनाउ नदिएको साँध संधियारका मानिसहरु नबुझी अन्यत्र कै मानिसहरु बुझेको छ । उक्त कानुन विपरीतको निर्णयबाट मेरो संविधानको धारा १७ द्वारा प्राप्त सांपतिक हक कुण्ठित भएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिटनिवेदनपत्र ।

४.    नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खिमलाल देवकोटाले मेरो पक्षले आफ्नो घर जग्गामा जाने बाटोको रुपमा प्रयोग गर्दै आएको निवेदिकाकै हक भोगको जग्गालाई विपक्षी सूर्यलक्ष्मीले आफ्नो कि.नं. १३९ को जग्गामा समावेश गराई पाउँ भनी दिएको निवेदनको आधारमा विपक्षी नं. ३ नापी गोश्वाराबाट निवेदिकालाई बुझ्दै नबुझी विपक्षीको कि.नं. १३९ मा समावेश गरी दिने निर्णय पर्चा गरेको गैरकानुनी हुनुको साथै प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत हुँदा विपक्षीहरुबाट लिखितजवाफ मगाउने आदेश हुनुपर्छ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

५.    यसमा निवेदकको माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाउन पर्ने हो वा होइन भन्ने तर्फ निर्णय दिनु पर्ने हुन आयो ।

६.    निर्णयतर्फ विचार गर्दा यसमा निवेदिकाको हक भोगको लिखत बमोजिम ३ नं. नापी गोश्वाराबाट नाप नक्शा भए नभएको भनी सबूद प्रमाण भिडाई निरोपण गर्ने विषयवस्तु रिट क्षेत्राधिकार बाहिरको कुरा भएको देखिन्छ । साथै निवेदिकालाई बुझी निर्णय हुनु पर्ने सो नभएकोले ३ नं. नापी गोश्वाराबाट प्रकृयागत त्रुटि हुन गएको छ भन्ने समेत जिकिर भएकोमा अड्डामा रहेको श्रेस्ताबाट निवेदिकालाई समेत बुझी निर्णय दिनु पर्ने प्रत्यक्ष नदेखिएकोमा निजलाई के को आधारमा बुझ्नु पर्ने हो सो कुरा कतैबाट देखिँदैन । यस स्थितिमा ३ नं. नापी गोश्वाराबाट निवेदिकाको हकहितमा प्रतिकूल असर पर्ने गरी विपक्षी सूर्यलक्ष्मी श्रेष्ठको पक्षमा कुनै काम कुरा वा निर्णय भएको भए त्यस्तो दर्ता वा हक अधिकारका सम्बन्धमा नियमित तरीकाबाट नालेश उजूर गर्न पाउने उपचार समेत कानुनतः रहे भएको देखिन्छ । उपरोक्त कारणहरुबाट प्रस्तुत रिटनिवेदनमा लिखितजवाफ मगाई संलग्न पक्षलाई तारीखमा झुलाई राख्नु निरर्थक देखिएको हुँदा प्रस्तुत रिटनिवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०४९ साल पौष १६ गते रोज ५ शुभम् ।

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु