शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०२४ - उत्प्रेषण ।

भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक:

ने.का.प.२०५८     अङ्क ७/८

निर्णय न.७०२४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

संवत् २०५६ सालको रिट नं. ४३८५

आदेश मितिः २०५८।।१

 

विषयः उत्प्रेषण ।

 

रिट निवेदकः ललितपुर जिल्ला ल.पु.उप न.पा.वडा नं. १ कुमारी पाटी वस्ने गिलवहादुर वस्नेत।

विरुद्ध

विपक्षीः भूमिसुधार कार्यालय ललितपुर समेत ।

§  भूमि सम्बन्धी ऐन, २०२१ र नियम वमोजिम जग्गा वांडफांड सम्बन्धी निवेदन परेकोमा त्यस्तो निवेदन उजुरी दिने व्यक्ति मोही हुन सक्ने हो होइन भन्ने सवुद प्रमाण बुझि निर्णय गर्नुपर्ने कुरामा छोरीको जग्गामा वावु मोही हुन नसक्ने भनि विना आधार प्रमाण नै निर्णय गरेको देखियो । सर्वप्रथम सम्बन्धित पक्षहरुको मोहियानी तर्फ वयान तथा एकअर्काको सवुद प्रमाण दाखिल गर्न लगाई निरोपण गरी वावु छोरी नाताका पक्ष विपक्षीहरुको कानूनी स्थितिवाट मोही र जग्गाधनीको हैसियत कायम हुन नसक्ने भए सोही कुराको र अन्यथा सोही आधारमा जग्गा वांडफांड सम्बन्धी निर्णय गर्नुपर्ने देखिन्छ । मोहियानी हक वेहक सम्बन्धी भूमिसुधार अधिकारीले गरेको निर्णय उपर कानूनतः पुनरावेदन लाग्ने अवस्था समेत हुँदा कानून वमोजिम पुनरावेदनको म्याद दिई नियमित उपचारको प्रक्रियावाटै निरोपण हुने बिषय समेतमा कानून वमोजिमको कार्यविधि नअपनाई कानूनी उपचारको मार्ग समेत अवरुद्ध हुने गरि रिट निवेदकको जग्गा वांडफांड सम्बन्धी उजुरी एकाएक खारेज गरेको स्पष्टतः कार्यविधिगत त्रुटि देखिएकोले मिति २०५७।२।३२ को भूमिसुधार कार्यालय ललितपुरको निर्णय उत्प्रेषणको आदेशले वदर हुन

(प्र.नं. १०)

निवेदक तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विव्दान अधिवक्ता श्री ताराप्रकाश    पौडेल

विपक्षी तर्फबाटः विव्दान उपन्यायाधिवक्ता श्री दुर्गावन्धु अर्याल

अवलम्वित नजिरः

 

आदेश

न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

.    ललितपुर जिल्ला ल.पु.उप न.पा.वडा नं. १९ इखालखु तपोखरी स्थित कि.नं. ६३ को क्षेत्रफल ०­­ साविक ज.ध. ऐ. वडा नं. १९ वस्ने दुर्गादेवी श्रेष्ठ भएको जग्गा भू.सु. ऐन, २०२१ लागु हुँदाको अवस्था पूर्व नै जोती आएको जोताहा मोही हुं । साविक जग्गाधनी दुर्गा देवीले ऐ. वडा नं. २० वस्ने श्रीमती रुकुम कुमारी कार्कीलाई, रुकुम कुमारीले ऐ. वडा नं. १९ वस्ने चिनी भन्ने देवकुमारी वस्नेत क्षेत्रीलाई राजिनामा गरि दिंदा पनि जोताहा मोही म नै कायम भएको छ। मैले वर्षेनी वाली बुझाई भरपाई लिइ राखेको छु । जोताहा अस्थायी निस्सा पनि प्राप्त गरेको छु । फिल्ड वुकको जोताहा महलमा मेरै नाम उल्लेख छ । भूमि सम्बन्धी ऐन, २०२१ को (चौथो संशोधन) दफा २६(घ) वमोजिम जग्गा वांडफांडको लागि २०५६।९।८ मा भू.सु.का. ललितपुरमा निवेदन दिएकोमा कार्यालयले जग्गा वांडफांड नगरि मिति २०५७।२।३२ को निर्णयवाट मेरो निवेदन खारेज गर्यो ।

.    भूमि सम्बन्धी नियमावली, २०२१ को नियम वमोजिमको प्रक्रियाव्दारा अनुसूची १ वमोजिम मोहीको लगत तयार भै ऐ. अनुसूची बमोजिम जोत अस्थायी निस्सा प्राप्त गरेको छु। भूमिसुधार कार्यालय ललितपुरवाट ल.पु.उप न.पा.वडा नं. १९ को अनुसूची प्रकाशित भएको छैन । अड्डाले अनुसूची प्रकाशित नगरेमा मोही हक समाप्त हुन सक्दैन । मोहीको हैसियतले मैले प्राप्त गरेको जोत अस्थायी निस्सा नै मेरो मोही हकको बलियो प्रमाण हो, त्यसलाई अन्यथा सिद्ध गर्नलाई भू.सु.ऐन नियमले कुनै व्यवस्था गरेको छैन । कानून विपरीत निर्णय गर्न अधिकारीलाई छुट छैन । जोताहाको अस्थायी निस्सा भएको व्यक्तिलाई मोही हैन भन्न नमिल्ने भनि सर्वोच्च अदालत वुलेटिन वर्ष १, अंक , पृष्ठ मा नजिर कायम भैसकेको छ । ऐनको दफा २६(घ) वमोजिम जग्गा वांडफांडको लागि निवेदन परेको कारण अनुसन्धान कारवाहीका क्रममा कार्यालयवाट पछि झिकाइएको जग्गा भूमि प्रमाणपुर्जामा विपक्षीको खराव नियतवाट मोही छुट्याई लिएको पूर्जा मोहीको लागि खास मह्त्वको कुरा पनि हैन । किनकि मौजुदा कानूनी व्यवस्था अनुसार जग्गाधनीको श्रेस्ता मालपोत कार्यालयमा र मोहीको निस्सा मोहीकै साथमा हुन्छ र भूमिसुधार कार्यालयमा हुन्छ । जग्गाधनीको हक हस्तान्तरण प्रक्रियाव्दारा बिभिन्न व्यक्तिमा हस्तान्तरण हुन्छ भने मोहीको हक तत्कालको ऐन अनुसार विक्री हुने हक छैन । जग्गाधनी प्रमाणपुर्जामा मोहीको नाउं छुट्याउँदैमा मोही छुटने होइन, भूमिसुधार कार्यालयको रेकर्डवाट छुटेको हुनुपर्दछ । कानूनी प्रक्रिया विना मोही हकका रेकर्डहरु हटाउन कदापी सक्दैन । लिखतमा उल्लेख भै आएको मोहीको नाउं विना टिप्पणी, कानून निर्णयवाट हटाइ त्यसमा अर्कै व्यक्तिको नाउं भर्ने अधिकार मालपोत कार्यालयलाई छैन । हालका जग्गाधनी संग छोरी नाता पर्दैमा मेरो मोही हकमा असर पर्ने अवस्था भूमिसुधार ऐन नियममा कतै उल्लेख छैन । कुन कानूनले कहिले मेरो हक टुट्यो ? हकै हटाउने गरि के कस्तो उजुरी परि कस्तो टिप्प्णी उठ्यो, कुन निर्णयले म मोहीवाट हटें, उक्त कुरा मेरो विरुद्धमा भएको निर्णयमा कतै उल्लेख छैन । कानूनले निश्चित गरेको तरिका वाहेक अन्य तरिकावाट मोही हक समाप्त हुन्छ भन्न नमिल्ने भनि ने.का.प. २०४८, अंक , पृष्ठ १० मा प्रतिपादित नजिर विपरीत उक्त निर्णय भएको छ । विपक्षी कार्यालयले गरेको निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(ग), (घ), (ङ), (च) को विपरीत हुनाले गैरकानूनी वदरभागी छ ।

.    अतः माथि उल्लेखित कानूनी व्यहोरा तथ्य प्रमाणका आधारमा बिपक्षी भूमिसुधार कार्यालयको मिति २०५७।२।३२ को निर्णय नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अनुसार उत्प्रेषणको आदेशव्दारा वदर गरि उक्त जग्गा रिट निवदकको नाउंमा वांडफांड गरी सम्पूर्ण जग्गा मध्ये पूर्व तर्फवाट आधा जग्गा दिलाइ दिनु भनि विपक्षी भूमिसुधार कार्यालय, ललितपुरका नाउंमा परमादेश जारी गरी पाउं भन्ने समेत व्यहोराको रिट निवेदन पत्र ।

.    यसमा के कसो भएको हो ? माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुवाट १५ दिन भित्र लिखित जवाफ मगाई आइ सकेपछि वा अवधि नाघेपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतवाट मिति २०५७१ को आदेश ।

.    रिट निवेदक गिलवहादुर वस्नेत वावु र जग्गा खरिद लिने देव कुमारी वस्नेत छोरी भएको अवस्थामा तत्काल के कुन परिवन्दवाट जग्गाधनी दर्ता श्रेस्ता तथा ज.ध.प्र.पुर्जा तयार गर्दा मोही महलमा गिलवहादुर वस्नेतको नाम हटाइ देवकुमारीको नाम उल्लेख हुन गयो भन्ने व्यहोरा यस कार्यालयको मोठ श्रेस्तावाट खुल्न नआएको र निवेदकले तत्काल नै माग निवेदन समेत नगरी हाल आएर मात्र मोही महलमा आफ्नो नाम नभएको कुरा थाहा पाए भनि यस कार्यालयलाइ समेत बिपक्षी वनाई दिनु भएको झुठृा व्यहोराको निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको मालपोत कार्यालय, ललितपुरको लिखित जवाफ ।

.    भूमि सम्बन्धी ऐन, २०२१ को प्रारम्भ भएको मितिवाट सोही अवस्थामा उक्त जग्गाको लगत भरेको नभै वर्ष पछिको जोत अस्थायी निस्साको मिति देखिएको हुंदा त्यस्तो जो.अ.नि.लाई कानूनी मूर्तरुप दिन मिल्ने देखिदैन । निवेदकले वास्तविक जो.अ.निस्सा पाएको भए उसै वखत मोहीको स्थायी प्रमाणपत्र लिन सक्नु पर्ने सो समेत भए गरेको देखिएन । निवेदक वैधानिक मोही रहे भएको नदेखिएको र जग्गाधनी स्वयं आफ्नै छोरी भएकोले माग वमोजिम जग्गा वांडफांड गरि पाउं भन्ने दावी नै नपुग्ने ठहर भै यस कार्यालयवाट २०५७।२।३२ मा भएको निर्णय कानूनसम्मत भएकोले रिट निवेदन खारेज गरिपाउन सादर अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार कार्यालय ललितपुर समेतको लिखित जवाफ ।

.    कि.नं. ६३ को जग्गामा कोहि पनि मोही नभएको र हाल सम्म उक्त जग्गा निर्विवाद रुपमा भोग चलन गरी आएको छु । मोही कायम हुनको लागि भूमि सम्बन्धी ऐन नियममा निश्चित कानूनी प्रक्रियाहरुको व्यवस्था गरेको छ । विपक्षीले सो प्रक्रियाहरु पुरा गरेको छैन । कि.नं. ६३ को अनुसूची नं. वमोजिमको लगत प्रकाशन नभएको निवेदक स्वयंले स्विकार गरेको छ । निवेदकले पेश गरेको जोताहा अस्थायी निस्साको रेकर्ड भूमिसुधार कार्यालय, ललितपुरमा नभएको समेत अनुरोध गर्दछु । मिति २०२६ मा मैले तत्कालीन भूमि प्रशासन कार्यालयवाट कि.नं. ६३ को जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेको छु । हाल सम्म वदर भएको छैन । कानूनी प्रक्रिया अपनाई ज.ध.प्र.पूर्जा वदर तर्फ लाग्नु पर्नेमा रिट निवेदनवाट वदर गर्न मिल्ने होइन । मिति २०५७२२ को भूमिसुधार कार्यालय ललितपुरको निर्णय कानूनसम्मत भएकोले रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको चिनी देवी भन्ने देवकुमारी वस्नेतको लिखित जवाफ ।

.    नियम वमोजिम दैनिक पेशि सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फका विव्दान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विव्दान अधिवक्ता श्री तारा प्रकाश पौडेलले भूमि सम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनु पूर्व देखि विवादको कि.नं. ६३ को जग्गा निवदकले जोती कमाइ आएको हो । निवेदकले जोती आएवाट साविक जग्गाधनीवाट विभिन्न व्यक्तिलाई राजिनामा गरि हस्तान्तरण गरि दिंदा पनि मोही महल निवेदकको नाम उल्लेख भएको, नापीमा तयार भएको फिल्डवुकमा पनि मोहीमा रिट निवेदकको नाम नै लेखिएको, सोही आधार जोताहा अस्थायी निस्सा समेत पाएको छु । जोताहा अस्थायी निस्सा हाल कहि कतैवाट वदर भएको छैन । यसरी विद्यमान प्रमाणको मुल्यांकन नगरि वांडफांड गरि पाउं भन्ने निवेदन खारेज गर्ने गरेको मिति २०५७।२।३२ को भूमिसुधार कार्यालय, ललितपुरको निर्णय उत्प्रेषणको आदेशव्दारा वदर हुनुपर्दछ भनि र प्रत्यर्थी भूमिसुधार कार्यालय समेतको तर्फवाट उपस्थित विव्दान उप ­ न्यायाधिवक्ता श्री दुर्गावन्धु अर्यालले रिट निवदकले पाएको भनेको जोताहा अस्थायी निस्सा कानून वमोजिम भएको देखिदैन । किनकि सो जोताहा अस्थायी निस्साको रेकर्ड भूमिसुधार कार्यालय ललितपुरमा रहेको देखिदैन । तत्काल जोताहा अस्थायी निस्सा पाएको भए उसै वखत मोहीको स्थायी प्रमाणपत्र लिइ सक्नुपर्ने, सो भए गरेको नदेखिएको अवस्थामा भूमिसुधार कार्यालय, ललितपुरको निर्णय कानूनसंगत देखिंदा रिट निवेदन खारेज हुनुपर्दछ भनि वहस प्रस्तुत गर्नु भयो । विपक्षी चिनी भन्ने देवकुमारी तर्फका विव्दान अधिवक्ता श्री नरेन्द्र कुमार राईले कुनै जग्गाको मोही कायम हुनको लागि भूमि सम्बन्धी ऐन, २०२१ तथा भूमि सम्बन्धी नियमावली, २०२१ को निश्चित कानूनी प्रक्रियाहरु पुरा गर्नुपर्ने गरि व्यवस्था गरेको छ । निवेदकले यी कानूनी प्रक्रियाहरु पुरा गरेको छैन । निवेदकले वास्तविक जोताहा अस्थायी निस्सा पाएको भए कार्यालयमा रेकर्ड हुनुपर्नेमा रेकर्ड रहेको पनि देखिदैन । विपक्षीले विवादको जग्गा भोग चलन गरेको पनि छैन । देवकुमारीले नै भोग चलन गरिआएवाट विपक्षी भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५() अनुसार मोही कायम हुनै सक्दैनन । अतः वांडफांड गरि पाउं भन्ने निवेदन खारेज गरेको भूमिसुधार कार्यालय, ललितपुरको निर्णयवाट निवेदकको कुनै हक हनन नभएवाट रिट निवेदन खारेज होस भनि वहस प्रस्तुत गर्नु भयो ।

१०.    यसमा निर्णयतर्फ बिचार गर्दा रिट निवेदकले प्रत्यर्थी भूमिसुधार कार्यालय ललितपुरमा चिनी भन्ने देवकुमारी वस्नेत क्षेत्री जग्गाधनी भएको ललितपुर उप म.न.पा.वडा नं. १९ कि.न.. ६३ को जग्गाको आफु मोही भएको भनि जग्गा वांडफांड गरि पाउन उजुरी निवेदन दिएको देखिन्छ । निजको सो निवेदनमा विपक्षी भूमिसुधार कार्यालयवाट निवेदक र जग्गाधनी देवकुमारी वस्नेत वावु छोरी रहे भएको, छोरीको जग्गामा वावु मोही हुने कानूनी अवस्था नभएको भनि वादी दावी खारेज गरे उपर प्रस्तुत रिट निवेदन पर्न आएको देखिन्छ । भूमि सम्बन्धी ऐन, २०२१ र नियम वमोजिम जग्गा वांडफांड सम्बन्धी निवेदन परेकोमा त्यस्तो निवेदन उजुरी दिने व्यक्ति मोही हुन सक्ने हो होइन भन्ने सवुद प्रमाण बुझि निर्णय गर्नुपर्ने कुरामा छोरीको जग्गामा वावु मोही हुन नसक्ने भनि विना आधार प्रमाण नै निर्णय गरेको देखियो । सर्वप्रथम सम्बन्धित पक्षहरुको मोहियानी तर्फ वयान तथा एकअर्काको सवुद प्रमाण दाखिल गर्न लगाई निरोपण गरी वावु छोरी नाताका पक्ष विपक्षीहरुको कानूनी स्थितिवाट मोही र जग्गाधनीको हैसियत कायम हुन नसक्ने भए सोही कुराको र अन्यथा सोही आधारमा जग्गा वांडफांड सम्बन्धी निर्णय गर्नुपर्ने देखिन्छ । मोहियानी हक वेहक सम्बन्धी भूमिसुधार अधिकारीले गरेको निर्णय उपर कानूनतः पुनरावेदन लाग्ने अवस्था समेत हुँदा कानून वमोजिम पुनरावेदनको म्याद दिई नियमित उपचारको प्रक्रियावाटै निरोपण हुने बिषय समेतमा कानून वमोजिमको कार्यविधि नअपनाई कानूनी उपचारको मार्ग समेत अवरुद्ध हुने गरि रिट निवेदकको जग्गा वांडफांड सम्बन्धी उजुरी एकाएक खारेज गरेको स्पष्टतः कार्यविधिगत त्रुटि देखिएकोले मिति २०५७।२।३२ को भूमिसुधार कार्यालय ललितपुरको निर्णय उत्प्रेषणको आदेशले वदर हुन्छ । कानून वमोजिमको प्रक्रिया अपनाई निर्णय गर्नु भनि प्रत्यर्थी भूमिसुधार कार्यालय, ललितपुरको नाउंमा परमादेश समेत जारी हुने ठहर्छ । आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. मीनवहादुर रायमाझी

 

 

इति संवत् २०५८साल असार १ गते रोज शुभम ...................................

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु