निर्णय नं. ७०२८ - झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको ।

ने.का.प.२०५८ अङ्क ७/८
निर्णय न.७०२८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
सम्बत २०५३ सालको फौ.पु.नं.१४०२
फैसला मितिः २०५८।३।४।२
मुद्दाः झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको ।
पुनराबेदक
वादीः प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागको पत्रले श्री ५ को सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिबादीःजिल्ला पर्सा सुर्जाहा गा.बि.स.वडा नं. १ बस्ने दिनानाथ प्रसाद साह समेत
§ अरुणकुमार यादवको नामको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र काठमाडौंमा डेरा गरी बस्ने भारत दिल्ली निवासी अमित बंशलको डेराबाट बरामद भई सो नागरिकतामा टाँसेको फोटो निज अमितको हो भनि घर धनिले लेखाई दिएको, अरुण कुमार नाम गरेको व्यक्ति अदालतमा उपस्थित हुन नसकेको, निज हाल कहाँ छ सो समेत प्रतिबादीहरुले देखाउन खुलाउन नसकेको एंव छटु राउतको जेठा छोरा राम प्रसादले अरुण कुमार नाम गरेको कुनै भाई छैन भनि जिल्ला प्रहरी कार्यालयमा गई निबेदन दिई सनाखत समेत गरेबाट सो नागरिकता प्राप्त गर्न दिएको दरखास्तमा टाँसेको फोटो छटु राउतको छोराको नभई भारत दिल्ली निवासी अमित बंशल नाम बताउने व्यक्तिको हो भन्ने कुरा उल्लेखित प्रमाण कागजबाट देखिन आएबाट प्रतिबादीहरुले झुठ्ठा बिवरण देखाइ गैर नेपाली नागरिकलाई नेपाली नागरिकता प्रमाण पत्र दिलाउन सिफारिशका साथै सनाखत समेत गरी नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसुर गरेको प्रमाणित हुन आयो ।
§ प्रतिबादी दिनानाथ बिद्याकान्तले प्र.अरुण कुमारलाई सिफारिश गरि नागरिकता दिलाएकोमा साबित छन छटुको जेठा छोरा राम प्रसादले दिएको मिति २०५०।८।२३ को निबेदनमा अरुण कुमार नाम गरेको छोरा छैन भनि उल्लेख गरेको कुरा निजले सनाखत गरेको अंश मुद्दामा बादी राम प्रसादले आफनो फिरादमा घ भाइ मात्र रहेकोले ३ बण्डाको १ बण्डा अंश पाउँ भनि २०५० सालमा दिएको अंश मुद्दामा अरुण कुमारलाई अंशियार नदेखिएकोमा पछि मिलापत्र गर्दा बिदेश गएको छ भनि सगोलमा रहने गरी मिलापत्र गरेको र मुद्दा परे पछि बनाएको प्रमाण देखिन्छ । नागरिकताको प्रमाण पत्र नागरिकको हैसियत चिन्ह (Status Symbol) भएकोमा प्रतिबादीहरुले सम्बन्धित व्यक्ति कै भनाइमा लागि सिफारिश गरी झुठ्ठा बिवरण दिएको समेत देखिंदा प्रतिबादीहरुले कसुर गरेको ठहर्याउनु पर्नेमा पुनराबेदन अदालत हेटौडाले सफाइ दिएको नमिलेकोले उल्टी हुन] ।
(प्र.नं. २९ र ३०)
पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री भरतमणि खनाल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताव्दय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः पुनराबेदन अदालत हेटौंडाको मिति २०५३।३।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. शशि बस्नेतको नाममा बनेको का.न.पा.१ ज्ञानेश्वरको घरमा भारत दिल्ली घर र अमित बंशल नाम बताउने एकिन नाम थर वतन नखुलेको व्यक्तिले २०५० साल जेष्ठ महिना देखि घर बन्द गरी बेपत्ता भएको हाल सम्म कुनै खबर समेत नभएको हुँदा मेरो घरमा भएको निज व्यक्तिको सामानहरु हटाइ घर खाली गराइ पाउँ भन्ने शशि बस्नेतको पति दिपक बस्नेतको निबेदन पर्न आएकोले जि.प्र.का.काठमाडौंको च.नं. ८५९ मिति ०५०।४।२८ को प्राप्त आदेश पत्रानुसारको घर खाली गराउने सिलसिलामा अन्य सामान लगायत जिल्ला कार्यालय पर्साबाट मिति २०४९।११।२२ मा अरुणकुमार यादवको नाउँमा जारी भएको ना.प्र.नं. ९१५५१६७१ को नागरिकता प्रमाणपत्र फेला परेको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
३. भारत दिल्ली घर भै अमित बंशल नाम बताउने एकिन नाम थर वतन नखुलेको काठमाडौं ज्ञानेश्वरमा डेरा गरी बस्ने भारतीय नागरिकले अरुण यादवको नाउँबाट जिल्ला प्रशासन कार्यालय, बीरगन्जबाट नेपालको नागरिकता लिएको भेटिएको हुँदा प्रचलित ऐन बमोजिम कार्यवाहीको लागि अरुणकुमार यादवको नाउँको नागरिकता तथा बरामदी मुचुल्का कार्यवाहीको लागि पठाइएको छ भन्ने समेत व्यहोराको मिति २०५०।७।१७ को प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागको पत्र ।
४. अरुण कुमार यादव भन्ने व्यक्तिले नागरिकता प्राप्त गर्दा पेश गरेको सक्कल अनुसूची फाराम न.१ पठाइएको भन्ने मिति २०५०।८।८ को पत्र साथ प्राप्त जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरेको फाराम हेर्दा अरुणकुमार यादवले सुर्जाहा गा.बि.स.वडा नं.१ बस्ने छठु राउत अहिरको छोरा बनी अनुसूचि फाराम नं.१ भरेको र उक्त फाराममा नाम लेखि फोटो टाँसेको व्यक्तिलाई म राम्रो चिन्दछु भनि सोही सुर्जाहा गा.बि.स.का सदस्य दिनानाथप्रसाद र अध्यक्ष बिद्याकान्त पाण्डेले सिफारिश गरेको र निबेदक अरुणकुमार यादव मेरो एकासगोलको कान्छो भाई हुन निजलाई नागरिकता प्रमाणपत्र नं.दिएमा फरक छैन भन्ने सक्कल फाराम ।
५. बिद्याकान्त पाण्डे र दिनानाथप्रसादलाई पक्राउ गरी दाखिल गरेका छौ भन्ने समेत व्यहोराको प्र.ना.नि.द्वय चन्द्रबहादुर तामाङ र तिर्थराज सिग्देलको प्रतिबेदन ।
६. श्रीमती शशि बस्नेतले अमितकुमार बँशललाई मासिक रु.२०,०००। का दरले घर भाडामा दिने लिने गरी मिति २०४९।१२।७ मा गरेको सम्झौता पत्रको फोटोकपी ।
७. निज अरुणकुमारले मलाई नेपाली नागरिकताको प्रमाणपत्रको आवशयक्ता पर्यो । तपाइले सिफारिश गरी दिनु भनि भनेकाले छटु राउतको छोरा हो भनि बिश्वासमा पारी मैले सिफारिश गरी दिएको हो । नागरिकताको प्रमाणपत्रमा भएको व्यक्तिको फोटो निज अरुण कुमारको हो । नागरिकता बिवरण फाराममा भएको दस्तखत र हस्ताक्षर मेरो हो । देखे चिनें हाल अरुण कुमार कहां छ मलाई थाहा छैन भन्ने दिनानाथप्रसाद साहले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
८. २०४९ साल मार्ग महिनामा मलाई नागरिकताको प्रमाणपत्र चाहियो सिफारिश गरी दिनु भनि अरुणकुमार यादव म भएको ठाउँमा आइ भन्नु भएको र मैले निजको दाजुहरु रामप्रसाद, रामबालक र लोरीकलाई सोध्दा यो हाम्रो कान्छो भाइ हो, १७।१८ बर्ष अगाडि देखि बाहिर तिर नै रही बसिआएको र हालसाल आफ्नो घरमा आएको हो भनेकाले बिश्वासमा परि सिफारिश गरेको, निजको अरुण कुमारको नाममा सो गा.बि.स.मा कुनै जग्गा जमिन छैन भन्ने समेत व्यहोराको प्र.बिद्याकान्त पाण्डेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
९. रामबालक राउतलाई खोजतलास गर्दा फेला पर्न नसकेको भन्ने प्र.ह.प्रेम शर्माको प्रतिबेदन ।
१०. अरुणकुमार यादव भन्ने व्यक्ति हाम्रो भाइ होइनन्, अरुण कुमारलाई हाम्रो बाबु छटु राउतको कान्छो छोरा भनि बिद्याकान्त पाण्डे र दिनानाथले झुठ्ठा सिफारिश गरी दिएका हुन । मेरो भाई अनपढ भएकोले झुक्यानमा पारी अरुणकुमारलाई भाइ हुन भनि बनाएको हुनु पर्छ भन्ने छटु राउतको छोरा रामप्रसादले गरि दिएको कागज ।
११. अरुणकुमार यादव भन्ने व्यक्ति छटु राउतको कान्छो छोरा हो । निजलाई सदस्य दिनानाथ र अध्यक्ष बिद्याकान्तले झुठ्ठा बिवरण पेश गरी नागरिकता दिलाएको होइन भन्ने समेत व्यहोराको सर्जमिनका शम्भु यादव समेत ७ जना व्यक्ति र अरुणकुमार छटु राउतका छोरा होइन छटु राउतको तीन भाइ मात्र छोरा हुन निज अरुणकुमार कहांको व्यक्तिको थाहा छैन भन्ने समेत व्यहोराको सर्जमिन कै बीरेन्द्र पाण्डेको भनाइ भएको सर्जमिन मुचुल्का ।
१२. अरुणकुमार यादव नाम देखिएको नागरिकता प्रमाणपत्रमा देखाएका मानिसलाई देखे चिने । निज २०४९ साल चैत्र देखि मेरो घरमा परिवार सहित बसेका थिए । निजले आफूलाई भारत दिल्ली निवासी भनेका हुन । मेरो घरमा बस्दा निज अमित बंशलको नामले चिनिएका थिए । निज भारतीय नागरिक हो भन्ने समेत व्यहोराको घरधनी शशि बस्नेत र निजको पति दिपक बस्नेतले गरेको सनाखत कागज ।
१३. आफ्नो गाउँ घरमा नजन्मेको मानिसलाई धेरै बर्ष पहिले मृत्यु भैसकेको छटु राउतको कान्छो छोरा हो भनि भारतीय नागरिक अमित बंशललाई जानी बुझिकन भुठृा बिवरण दिई अरुणकुमार यादवलाई बिद्याकान्त पाण्डे र दिनानाथ प्रसादले झुठ्ठा सिफारिश गरी दिएका र हुदै नभएको व्यक्तिलाई मेरो कान्छो भाइ हो भनि झुठ्ठा सनाखत गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नं. ९१५५१६७१ को नागरिकताको प्रमाणपत्र दिलाई नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसूर गरेको प्रमाणित भएकोले फरार रहेको व्यक्तिलाई अदालतबाटै झिकाई सबै प्रतिबादीहरुलाई नेपाल नागरिकता ऐन, २०२० को दफा १५ बमोजिम सजाय गरी पाउ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दाबी ।
१४. निज अरुण कुमार २०४९ साल जेष्ठ महिनामा सुर्जाहर गा.बि.स.मा आएका हुन । निजको दाजु रामबालक राउत म समक्ष आई मेरो नागरिकता बनाइ दिनु पर्यो भनेकोबाट मैले स्थानीय मानिसहरुसंग सोधपुछ गरी वडा सदस्य नाताले चिने जानेको छु भनि नागरिकता दिने बिषयमा सिफारिश गरी दिएको हुं भन्ने समेत व्यहोराको प्रतिबादी दिनानाथप्रसादले अदालत समक्ष गरेको बयान ।
१५. मैले दाबी बमोजिम अरुणकुमार यादवलाई झुठा बिवरण दिलाई सिफारिश गरी नागरिकता दिलाएको होइन, निज अरुणकुमार यादव नेपाली नागरिक नै हुन । निज अरुणकुमार गाउघरमा आई बसि सके पछि निजको नागरिकता बनाउनु छ सिफारिश गरी दिनुस भनि गांउ घरका मानिसहरु र निजका दाजु भाइहरुले मलाई आग्रह गरेकोले निजको आवेदन फाराममा वडा सदस्य दिनानाथ प्रसादले पनि सिफारिश गरी दिएकोले मैले पनि सिफारिश गरी दिएको हुं भन्ने समेत व्यहोराको प्रतिबादी बिद्याकान्त पाण्डेले अदालत समक्ष गरेको बयान ।
१६. मेरो पिता छटु राउत अहिरको ४ जना छोराहरुमा जेठा रामप्रसाद राउत माहिलो रामबालक राउत, साहिलो लोरिक राउत र कान्छो अरुण कुमार यादव हुन । निज सुर्जाहा गा.बि.स.वडा नं.१ को सदस्य दिनानाथ प्रसाद र गा.बि.स.का अध्यक्ष बिद्याकान्त पाण्डे समेत समक्ष गई निजहरुकै सिफारिशको आधारमा निज अरुण कुमार यादवले नागरिकता प्राप्त गरेको हो भन्ने समेत व्यहोराको प्र.रामबालक राउतले अदालत समक्ष गरेको बयान ।
१७. बादी पक्षको गवा रामप्रसाद राउत र वीरेन्द्र पाण्डेले गरेको बकपत्र, प्रतिबादी बिद्याकान्त र रामबालक राउत अहिरको साक्षी शम्भु यादव, प्र.दिनानाथ प्रसादको साक्षी चन्द्रीकाप्रसाद, प्र.रामबालक राउतको साक्षी नागिना राउत कंकर, प्र.दिनानाथ प्रसादको साक्षी आनन्द कुमार दिग्वेदीले गरेको बकपत्र ।
१८. अरुणकुमार यादवको नागरिकता फोटोसंग मिल्ने अन्य तीनवटा फोटोको मानिसलाई नागरिकता सिफारिश गर्ने प्रमाणित गर्ने र अरुणकुमारका दाजु भनिएका व्यक्ति समेत चिन्न इन्कार गरेको समेतका कारणबाट ना.प्र. प.नं. ९१५५१६७१ बाट नागरिकता लिने व्यक्ति अरुणकुमार यादव छटु राउतको छोरा हो भनि भन्न मिलेन । त्यसकारण छटु राउतको छोरा नै नभएको व्यक्तिलाई हो भनि प्रमाणित गरि दिने र सिफारिश समेत गर्ने व्यक्तिलाई नेपाल नागरिकता ऐन, २०२० को दफा १५ अनुसार प्रत्येकलाई ५ महिना १५ दिन कैद र १०।१० हजार रुपैया जरिवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतबाट भएको फैसला ।
१९. अरुणकुमार नेपालको नागरिक भएको र निज छटु राउतको छोरा भएको भन्ने तथ्य मिसिल संलग्न प्रत्येक साक्षी प्रमाणबाट शत प्रतिशत रुपमा शंकारहित तबरबाट प्रमाणित भएको हुँदा हामी निरअपराध व्यक्तिलाई दण्ड सजाय गर्ने गरी भएको फैसला पुर्णतया त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी झुठा आरोपबाट फुर्सद दिलाई पाउँ भन्ने व्यहोराको पुनराबेदक दिनानाथ प्रसाद साह र बिद्याकान्त पाण्डेले पुनराबेदन अदालत हेटौडामा दायर गरेको पुनराबेदन पत्र ।
२०. अरुणकुमार नेपालको नागरिक भएको र निज छटु राउतको छोरा भएको भन्ने तथ्य संलग्न प्रमाणबाट प्रमाणित भएको अवस्थामा हामी निरअपराध व्यक्तिलाई दण्ड सजाय गर्ने गरी भएको फैसला पूर्णतया त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी प्रहरी प्रतिबेदनमा लगाइएको झुठा आरोपबाट फुर्सद पाउ भन्ने समेत व्यहोराको रामबालक राउत अहिरको पुनराबेदन पत्र ।
२१. नागरिकता प्रमाणपत्र नं. ९१५५१६७१ बाट नागरिकता लिने भनिएका अरुण कुमार यादवलाई अ.बं.१३९ नं.बमोजिम बुझ्दैनबुझी गरेको शुरु पर्सा जिल्ला अदालतको निर्णय फरक पर्न सक्ने देखिदा अ.बं.२०२ नं.बमोजिम बिपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने पुनराबेदन अदालत हेटौडाको आदेश ।
२२. नागरिकता प्रमाणपत्र लिने मुख्य व्यक्ति अरुण कुमार यादवलाई अभियोग दाबी लिई प्रतिबादी कायम गरेको नदेखिएको, नेपाल नागरिकता ऐन, ०२० को दफा २० बमोजिम नागरिकता प्रमाणपत्र बदर गरेको नदेखिएको साथै उल्लेखित सबुद प्रमाणबाट अरुणकुमार यादव छटु राउतको छोरा होइन भन्न सकिने न्यायसम्मत आधार नहुँदा शुरु पर्सा जिल्ला अदालतको फैसला मिलेको नदेखिनाले उल्टी हुन्छ । पुनराबेदक प्रतिबादीले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनराबेदन अदालत हेटौडाको २०५३।३।५ को फैसला ।
२३. उक्त फैसलामा चित्त बुझेन । मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिबादीहरुले आरोपित कसूर गरेको स्पष्टरुपमा प्रमाणित हुदाहुदै पनि उक्त प्रमाणको बिवेचना नै नगरी निजहरुलाई सफाइ दिएको पुनराबेदन अदालत हेटौडाको फैसला बदर गरी निजहरुलाई शुरु अभियोग पत्र माग दाबी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको श्री ५ को सरकारको पुनराबेदन पत्र ।
२४. यसमा बिवादास्पद नागरिकताको प्रमाणपत्र लिने अरुण कुमार यादव नेपाली नागरिक छटु राउतको जेठो छोरा रामप्रसाद अहिर र माहिलो रामबालकको परस्पर अमिल्दो विपरीत भनाइ र झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको बारेमा कारवाही शुरु भए पछि निजहरु बीच अंश मुद्दा चली अरुणकुमार समेत ४ अंशियार रहेको भनि मिलापत्र गरी प्रमाण सृजना भएकोबाट पनि सकिने अवस्था देखिदैन । यसका अतिरिक्त घरधनी शशि बस्नेत समेतको सनाखत बयानबाट आफ्नो घरमा डेरा गरी बस्ने भारतीय अमित बंशलको बरामद भएको निजको फोटोहरु र अरुणकुमारको नागरिकतामा लागेको फोटो एउटै हो भन्ने देखिएको अवस्था छ । अरुणकुमार प्रतिबादी रामबालककै भाइ भएको भए निजलाई अ.बं.१३९ नं. बमोजिम बुझिदा उपस्थित हुन सकेको समेत देखिएन । तसर्थ उल्लेखित आधारहरु समेतबाट नागरिकता ऐन, २०२० को दफा १५ बमोजिमको अभियोगमा दफा १० बमोजिम नभएको भन्ने समेत आधार लिई प्रतिबादीहरुलाई सफाइ दिएको पुनराबेदन अदालत हेटौडाको ०५३।३।५ को फैसला फरक पर्ने देखिंदा अ.बं.२०२ नं.बमोजिम छलफलको लागि प्रत्यर्थीहरुलाई झिकाई आए पछि नियमानुसार पेश गर्नु भन्ने मिति ०५७।६।३० को आदेश ।
२५. नियम बमोजिम आजको दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनराबेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनराबेदक बादी श्री ५ को सरकारको तर्फबाट बिद्वान उपन्यायाधिवक्ता श्री भरतमणि खनालले बरामद भएको नागरिकता प्रमाणपत्र अमित बंशलको डेराबाट बरामद भएको छ । जसको नामबाट नागरिकता बनाएको हो निज अरुण कुमारलाई अदालतमा उपस्थित गराउन सकेको छैन, हुंदै नभएको व्यक्ति खडा गरी झुठ्ठा बिवरण पेश गरी नागरिकता प्रमाणपत्र बनाएको अवस्थामा प्रतिबादीहरुलाई सफाइ दिएको मिलेन भनि गर्नु भएको बहस तथा प्रत्यर्थी तर्फबाट बिद्वान अधिवक्ता श्री हरिहर दाहाल र श्री युवराज भण्डारीले अंश मुद्दाबाट चार अंशियार कायम भई अरुण कुमार, छटु राउतको कान्छो छोरा देखिएको अवस्थामा अमित बंशलले नै अरुण कुमारको. नामबाट नागरिकता लिएको भनि बादी पक्षबाट सबुद प्रमाण पेश गर्न सकेको देखिदैन । बास्तबिक व्यक्तिले नै नागरिकता प्राप्त गरेको छ भनि गर्नु भएको बहस समेत सुनि हेर्दा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिबादीहरुलाई सफाइ दिने ठहराई गरेको पुनराबेदन अदालत हेटौडाको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२६. निर्णय तर्फ बिचार गर्दा, काठमाडौं ज्ञानेश्वरका शशि बस्नेतको घरमा डेरा गरी बस्ने भारत दिल्ली घर भै अमित बँशल नाम बताउने नाम नखुलेका भारतीय नागरिकले अरुण यादवको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको भेटिएको हुंदा आवश्यक कारवाहीको लागि नागरिकता प्रमाणपत्र समेत पठाइएको छ भन्ने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागको पत्रबाट अनुसन्धान प्रारम्भ भई भारतीय नागरिक अमित बंशललाई जानी बुझि नेपाली नागरिकता दिलाउने झुठ्ठा सिफारिश गर्ने सुर्जाहा गा.बि.स.का सदस्य दिनानाथ प्रसाद, अध्यक्ष बिद्याकान्त पाण्डे र हुदै नभएको व्यक्तिलाई मेरो भाइ हो भनि रामबालक राउतले झुठ्ठा सनाखत गरि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाई नेपाल नागरिकता ऐन, ०२० को दफा १५ को कसूर गरेकोले सो दफा बमोजिम सजाय हुन अभियोग माग दाबी भएकोमा शुरु पर्सा जिल्ला अदालतले प्रतिबादीहरुलाई अभियोग दाबी बमोजिम सजाय हुने ठहर्याइ गरेको फैसला उल्टी गरी प्रतिबादीहरुलाई सफाइ दिएको पुनराबेदन अदालत हेटौडाको फैसला उपर बादी श्री ५ को सरकारको प्रस्तुत पुनराबेदन परेको देखिन्छ ।
२७. जिल्ला पर्सा सुर्जाहा गा.बि.स.वडा नं.१ बस्ने छटु राउत अहिरको छोरा अरुण कुमार यादवको नाममा जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०४९।११।२२ मा ना.प्र.नं.९१५५१६७१ को नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको र सो नागरिकता प्रमाणपत्र काठमाडौं महानगरपालिका वडा नं.१ को शशि बस्नेतको घरमा डेरा गरी बस्ने अमित बंशल नाम बताउने यकिन नाम थर नखुलेको भारतीय नागरिकको कोठाबाट मिति २०५०।४।२९ मा बरामद भएमा बिवाद देखिदैन । सो नागरिकता प्राप्त गर्ने क्रममा नागरिकताको लागि भरिएको जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको दरखास्त फाराममा नागरिकता लिनेको नाम अरुणकुमार यादव बाबुको नाम छटु राउत अहिर वतन पर्सा जिल्ला गा.बि.स.सुर्जाहा वडा नं.१ उल्लेख भई निज अरुणकुमार यादव छटु राउतको छोरा हो । निजलाई राम्ररी चिन्दछु भनि सुर्जाहा गा.बि.स.का सदस्यको हैसियतले दिनानाथप्रसाद साह र गा.बि.स.का अध्यक्षको हैसियतले बिद्याकान्त पाण्डेले सिफारिश गरी दरखास्तको पछाडि निज अरुणकुमार यादव मेरो कान्छो भाइ हो भनि रामबालक राउतले र अध्यक्ष बिद्याकान्त पाण्डेले अरुणकुमार छटु राउत अहिरको कान्छो छोरा हुन निजलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएमा कुनै फरक पर्ने छैन भनि पुनः मिति ०४९।११।२२ मा सनाखत गरेको आधारमा सोही मितिमा नागरिकता प्रमाणपत्र जारी गरेको देखिन्छ । नागरिकता प्राप्त गर्ने व्यक्ति अरुण कुमार यादव सुर्जाहा गा.बि.स.वडा नं.१ बस्ने छटु राउतको छोरा नभई भारतीय नागरिक अमित बंशल हो भन्ने बादी श्री ५ को सरकारको पुनराबेदन जिकिरतर्फ बिचार गर्दा, नेपाली नागरिकता प्रमाणपत्र काठमाडौं ज्ञानेश्वरका शशि बस्नेतको घरमा डेरा गरी बस्ने अमित बंशलको कोठाबाट बरामद भएको कारण प्रतिबादीहरुले देखाउन सकेको पाइदैन । प्रतिबादी दिनानाथ र बिद्याकान्तले प्र.अरुणलाई सिफारिश गरी नागरिकता दिलाएकोमा कसूरमा साबित छन। उल्लेखित नागरिकता सम्बन्धमा अनुसन्धान प्रारम्भ भए पछि नागरिकता प्राप्त गर्ने व्यक्तिले आफनो बाबु देखाएका छटु राउतको जेठा छोरा रामप्रसाद अहिरले जिल्ला प्रहरी कार्यालय, पर्सामा मिति २०५०।८।२३ मा हाम्रो पिता छटु राउत अहिरको हामी तीन जना छोराहरु बाहेक अरुणप्रसाद यादव छोरा होइन, झुठ्ठा जालसाजी कुरा हो भनि स्वयं आफै उपस्थित भई निबेदन दिई सो निबेदन सनाखत समेत गरेको मिसिलबाट देखिन्छ । त्यस्तै अनुसन्धान प्रारम्भ भए पछि नै निजले पर्सा जिल्ला अदालतमा दर्ता गरेको अंश मुद्दाको फिरादमा पिता छटु राउतको तीन भाइ मात्र छोरा रहेको भनि उल्लेख भएको पाइन्छ । नागरिकता प्राप्त गर्ने अरुणकुमार छटु राउतको छोरा भए हाल निज कहां छन सो कुरा निजका दाजु रामप्रसाद, रामबालक समेतले देखाउन सक्नुपर्ने देखाउन सकेको पाइदैन । नागरिकता प्राप्त गर्ने भनेका व्यक्ति अरुण कुमार यादव पर्सा जिल्ला सुर्जाहा गा.बि.स.वडा नं.१ बस्ने छटु राउतको छोरा भए निजलाई प्रतिबादीहरुले अदालतमा उपस्थित गराउन सक्नुपर्ने उपस्थित गराउन सकेको देखिदैन ।
२८. बरामद भएको नेपाली नागरिकता प्रमाणपत्रमा टाँसिएको फोटो र सो साथ बरामद भएको अन्य फोटोहरु मेरो घरमा बस्ने भारत दिल्ली निवासी भनिएका अमित बंशल नामका व्यक्तिको हो भनि निज डेरा गरी बस्ने घरधनी दिपक बस्नेत र निजको श्रीमती शशि बस्नेतले मिति २०५०।२।२५ मा सनाखत कागज समेत गरेको देखिन्छ ।
२९. यसरी अरुणकुमार यादवको नामको नेपाली नागरिकताको सक्कल प्रमाणपत्र काठमाडौंमा डेरा गरी बस्ने भारत दिल्ली निवासी अमित बंशलको डेराबाट बरामद भई सो नागरिकतामा टांसेको फोटो निज अमितको हो भनि घरधनीले लेखाई दिएको, अरुणकुमार नाम गरेको व्यक्ति अदालतमा उपस्थित हुन नसकेको, निज हाल कहां छ सो समेत प्रतिबादीहरुले देखाउन खुलाउन नसकेको एंव छटु राउतको जेठा छोरा रामप्रसादले अरुणकुमार नाम गरेको कुनै भाई छैन भनि जिल्ला प्रहरी कार्यालयमा गई निबेदन दिई सनाखत समेत गरेबाट सो नागरिकता प्राप्त गर्न दिएको दरखास्तमा टांसेको फोटो छटु राउतको छोराको नभई भारत दिल्ली निवासी अमित बंशल नाम बताउने व्यक्तिको हो भन्ने कुरा उल्लेखित प्रमाण कागजबाट देखिन आएबाट प्रतिबादीहरुले झुठ्ठा बिवरण देखाइ गैर नेपाली नागरिकलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाउन सिफारिशका साथै सनाखत समेत गरी नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसूर गरेको प्रमाणित हुन आयो ।
३०. प्रतिबादी दिनानाथ र बिद्याकान्तले प्र.अरुणकुमारलाई सिफारिश गरि नागरिकता दिलाएकोमा साबित छन । छटुको जेठा छोरा रामप्रसादले दिएको मिति २०५०।८।२३ को निबेदनमा अरुण कुमार नाम गरेको छोरा छैन भनि उल्लेख गरेको कुरा निजले सनाखत गरेको अंश मुद्दामा बादी रामप्रसादले आफनो फिरादमा ३ भाइ मात्र रहेकोले ३ बण्डाको १ बण्डा अंश पाउं भनि २०५० सालमा दिएको अंश मुद्दामा अरुण कुमारलाई अंशियार नदेखिएकोमा पछि मिलापत्र गर्दा बिदेश गएको छ भनि सगोलमा रहने गरी मिलापत्र गरेको र मुद्दा परे पछि बनाएको प्रमाण देखिन्छ । नागरिकताको प्रमाणपत्र नागरिकको हैसियत चिन्ह (Status Symbol) भएकोमा प्रतिबादीहरुले सम्बन्धित व्यक्ति कै भनाइमा लागि सिफारिश गरी झुठ्ठा बिवरण दिएको समेत देखिंदा प्रतिबादीहरुले कसूर गरेको ठहर्याउनु पर्नेमा पुनराबेदन अदालत हेटौडाले सफाइ दिएको नमिलेकोले उल्टी हुन्छ । शुरु पर्सा जिल्ला अदालतले प्रतिबादीहरुलाई कैद र जरिवाना गर्ने गरेको इन्साफ मुनासिब ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिबादीहरुलाई जनही ६ महिना १५ दिन कैद र रु.१०,०००। (दश हजार) जरिवाना हुने ठहरेकोमा प्रतिबादीहरुको कैद भुक्तान भई जरिवाना समेत असुल भैसकेको भन्ने मिसिलबाट देखिएकोले लगत राख्न परेन ............................... १
मिसिल नियमानुसार गरी बुझाई दिनु .............................................२
उक्त रायमा सहमत छु ।
न्या.भैरवप्रसाद लम्साल
इति सम्बत २०५८ साल असार ४ गते रोज २ शुभमः.........................