शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६३६ - उत्प्रेषणयुक्त परमादेश

भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १०

निर्णय नं. ४६३६     ने.का.प. २०४९ ()  अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

सम्वत् २०४७ सालको रिट नं. १२५५

आदेश भएको मिति: २०४९।७।१९।१ मा

निवेदक      : श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ कन्सर्नको प्रो. निदेश श्रेष्ठ

विरुद्ध

विपक्षी : श्री माननीय अर्थ मन्त्री, श्री ५ को सरकार अर्थमन्त्रालयसमेत

विषय : उत्प्रेषणयुक्त परमादेश

(१)    अतिरिक्त भन्सार महसूल छूट दिइएको सूचना अनुसारको सूची भित्र स्पष्ट रुपमा माल वस्तुहरुको नाम तोकिएको र स्टेशनरी सामान वा डुब्लिकेटिड्ड पेपर भनी किटान गरिएको शीर्षक अन्तर्गत बेस पेपर भन्ने नदेखिएको र उल्लेख नभएको शीर्षक अतिरिक्त भंसार महसूल नलाग्ने वस्तुको सूचीमा पर्न सक्ने भन्न नमिल्ने । अतिरिक्त भन्सार महसूल छूट दिइने भनी तोकिएका स्टेशनरी सामान यथास्थितिमै प्रयोग हुन सक्ने हुनुपर्ने ।

(प्रकरण नं. ११)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ

आदेश

न्या.रुद्रबहादुर सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    निवेदक प्रबन्ध संचालक रहेको अशोका कार्वन एण्ड एलाइट इण्डष्ट्रिज प्रा.लि. नामक उद्योगले कार्वोनाइजिङ बेस पेपर समेत मित्र राष्ट्र भारतबाट आयात गरी उद्योगको संचालन गरी आएकोमा नेपाल भारतको व्यापार तथा पारवहन सन्धी हुन नसकी उद्योग संचालनको लागि बाधा पुगी रहेबाट श्री ५ को सरकार वाणिज्य विभागबाट भएको बोलकवोल प्रथा अन्तर्गत श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ कन्सर्न नामक आफ्नै फर्मको नाउँबाट रु. २,५०,०००।मूल्य बराबरको कार्वन पेपर बनाउने लेख्ने छाप्ने कोटिङ गर्ने मसी तथा कागजहरु समेत आयात गर्न पाउने आयात इजाजत पत्र प्राप्त भए अनुसार मित्रराष्ट्र अष्ट्रियामा बनेको जमेनी मार्फत कार्वोनाइजिङ बेस पेपर आयात गरेको थिएँ ।

३.    उक्त आयात गरेको सामान विपक्ष वीरगंज भन्सार कार्यालयमा आई पुगेबाट श्री ५ को सरकारको नीति अनुरुप लेख्ने छाप्ने कागजमा अतिरिक्त भन्सार लाग्ने होइन भनी अनुरोध गर्दा भन्सार विभाग बुझी आएपछि हुने गरी हाल अतिरिक्त भन्सार महसूल धरौटी राखी भंसार छुटाई माल लान सक्ने गरी मिति २०४६।८।५ मा अतिरिक्त भंसार महसूल रु. ८७,४४३।०३ र भन्सार महसूल तथा बिक्री कर समेत गरी जम्मा रु. १,४३,६५४।७७ बुझाएँ । सोही दिन विपक्ष भन्सार कार्यालयले विपक्ष भन्सार विभागको महसूल वर्गीकरण शाखालाई सो द्विविधा सम्बन्धमा निर्देशन पाउन अनुरोध समेत गरिएको थियो ।

४.    मैले पनि विपक्ष अर्थ सचिवज्यूमा निवेदन दिएकोमा विपक्ष भन्सार विभागले २०४६।९।१३ को पत्रबाट अर्थ मन्त्रालयमा दिएको निवेदन सम्बन्धमा मिति २०४६।८।२२ को यस विभागको निर्णय अनुसार कार्वोनाइजिङ बेस पेपरमा अतिरिक्त भन्सार महसूल छूट नभएको व्यहोरा वीरगंज भन्सार कार्यालयमा लेखी गएको हुँदा जानकारीको लागि अनुरोध गरिन्छ भन्ने पत्र बुझाइयो । धरौटी राखेको अतिरिक्त भन्सार महसूल फिर्ता पाउँ भनी निवेदन दिएकोमा पनि विभागले सो छूट दिन नमिल्ने व्यहोरा मनासिब भएको भनी २०४६।११।२६ मा निर्णय भएको व्यहोरा अनुरोध गर्दछु भन्ने समेत २०४६।११।२९ को बोधार्थ पत्र बुझाइयो । निर्णयहरुको नक्कल दिइएन ।

५.    श्री ५ को सरकारद्वारा प्रकाशित नेपाल राजपत्र खण्ड ३९ अतिरिक्तांक १८(ख) मिति २०४६।३।२६ को भाग ३ दफा २ मा देहायका माल वस्तुहरुको पैठारीमा अतिरिक्त भन्सार महसूल लाग्ने छैन भनी ७२ किसिमका मालमा अतिरिक्त भन्सार छूट दिइएको मध्ये (५) नं. मा लेख्ने र छाप्ने कागज (२६) नं. मा लेख्ने छाप्ने मसी र (३०) नं. मा स्टेशनरी सामान भन्ने छ र मैले पैठारी गरिएको माल कार्बन पेपर बनाउने कार्वोनाइजिङ बेस पेपर भएको र सो मा अतिरिक्त भन्सार महसूल छूट पाउने र सो कागजमा लेखी छापी कार्बन पेपर तयार हुने भई लेख्ने छाप्ने अन्तर्गत समेत पर्न आउने स्पष्ट छ । तयारी अवस्थाको कार्बनमा संकेत नं. ४८१३ ले अतिरिक्त भन्सार महसूल छूट पाइरहेको छ । अतिरिक्त भंसार महसूल लाग्ने गरिएको बदरभागी छ ।

६.    तसर्थ संविधानको धारा १०(१), ११(२)(ङ) र १५ द्वारा प्रदत्त हकमा आघात पुर्‍याई विपक्ष विभागले २०४६।८।२२ मा गरेको निर्णय, विपक्ष मन्त्रालयले २०४६।११।२६ मा गरेको निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी मैले धरौटी राखेको अतिरिक्त भन्सार महसूल रु. ८७,४४२।०३ मलाई फिर्ता दिनु भनी विपक्ष भन्सार कार्यालय समेतका नाउँमा परमादेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

७.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

८.    विपक्षी आयात कर्ताले पैठारी गरेको सामान लेख्ने छाप्ने कागज लेख्ने छाप्ने मसी, स्टेशनरी सामान नभई कार्वोन पेपर बनाउने काममा प्रयोग हुने कार्वोनाइजिङ बेस पेपर भएको र आर्थिक ऐनमा अतिरिक्त भन्सार महसूल छूट भएको ७२ किसिमका सामान भित्र नपरी आर्थिक ऐन, २०४६ सालको संकेत नं. ४८१३ मा १५% भंसार महसूल र सो मा ३५% अतिरिक्त भंसार महसूल लाग्ने व्यवस्था भएको । भंसार महसूल छूट भित्र समाविष्ट नभएको सामानमा छूट दिने प्रश्न नै आउँदैन । श्री ५ को सरकारबाट मिति २०४६।११।२६ मा निर्णय भै विपक्षी आयातकर्ताले पैठारी गरेको सामानमा अतिरिक्त भन्सार महसूल छूट दिन नमिल्ने भन्ने भएबाट समेत निवेदकको कुनै अधिकार हनन् भएको छैन । रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत एकै व्यहोराको प्रत्यर्थी अर्थ मन्त्रालय, प्रत्यर्थी अर्थ सचिव, प्रत्यर्थी भंसार विभाग र प्रत्यर्थी वीरगंज भंसार कार्यालयको छुट्टा छुट्टै लिखितजवाफ ।

९.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले कार्वोनाइजिङ बेस पेपर कार्वन पेपर बनाइने वस्तु हुँदा त्यसलाई अतिरिक्त भंसार महसूल लिन मिल्ने होइन । स्टेशनरी सामान अन्तर्गत नै पर्ने हुँदा प्रत्यर्थीहरुबाट गरिएको कारवाही कानुनसंगत छैन भन्ने तथा प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले आर्थिक ऐनमा अतिरिक्त भन्सार छूट भएको ७२ किसिमका सामानभित्र निवेदकले आयात गरेको वस्तु नपर्ने हुँदा तत्सम्बन्धी भएका कारवाहीहरु कानुनसंगत रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१०.    आज निर्णय सुनाउने तारेख तोकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा, निवेदकले आयात इजाजतपत्र प्राप्त गरी कार्वोनाइजिङ बेस पेपर आयात गरेको कुरामा विवाद देखिँदैन । उक्त आयातित वस्तुमा अतिरिक्त भंसार महसूल नलाग्ने स्टेशनरी सामान हुँदा प्रत्यर्थी वीरगंज भंसार कार्यालयबाट अतिरिक्त भंसार महसूल लिइएको र अन्य प्रत्यर्थीबाट सो लिने कार्यलाई समर्थन गरेको समेत श्री ५ को सरकारद्वारा राजपत्रमा प्रकाशित सूचना विपरीत समेत हुँदा गैरकानुनी भयो भन्ने निवेदकको मुख्य जिकिर देखिन्छ । प्रत्यर्थीहरुको लिखितजवाफमा कार्वोनाईजिङ बेस पेपर भन्ने वस्तु श्री ५ को सरकारद्वारा अतिरिक्त भंसार महसूल नलाग्ने भनी छूट दिइएका सामान भित्र नपर्ने जिकिर लिएको पाइन्छ ।

११.    अब निवेदकले आयात गरेको वस्तु स्टेशनरी सामान हो होइन श्री ५ को सरकारद्वारा अतिरिक्त भंसार महसूल छूट दिइएका मालसामान अन्तर्गत पर्छ पर्दैन भन्ने कुरामा नै विवाद देखियो । तत्सम्बन्धमा श्री ५ को सरकारद्वारा प्रकाशित खण्ड ३९ अतिरिक्तांक १८(ख) नेपाल राजपत्र भाग ३ मिति २०४६।३।२६ को सूचना हेर्दा देहायका माल वस्तुहरुको पैठारीमा अतिरिक्त भंसार महसूल लाग्ने छैन भनी विभिन्न ७२ वटा माल वस्तुको सूची दिइएको पाइन्छ । अतिरिक्त भंसार महसूल छूट दिइएका उपरोक्त सूचना अनुसारको सूची भित्र स्पष्ट रुपमा माल वस्तुहरुको नाम तोकिएको र स्टेशनरी सामान वा डुब्लिकेटिङ पेपर भनी किटान गरिएको शीर्षक अन्तर्गत वेस पेपर भन्ने नलेखिएको र उल्लेख नभएको शीर्षक अतिरिक्त भंसार महसूल नलाग्ने वस्तुको सूचीमा पर्न सक्ने भन्न मिलेन । अतिरिक्त भंसार महसूल छूट दिइने भनी तोकिएका स्टेशनरी सामान यथास्थिति मै प्रयोग हुन सक्ने हुनु पर्ने हुन्छ । कार्वन पेपर बनाउने बेस पेपर उक्त सूचीमा परेको पनि नदेखिने र सो लाई स्टेशनरी भनी मान्न सामानको यथास्थितिमा प्रयोग गरिन सकिने प्रकृतिको समेत नदेखिँदा उक्त कार्वोनाईजिङ बेस पेपरमा अतिरिक्त भन्सार महसूल छूट दिन पर्ने सूची भित्रको स्टेशनरी सामान भनी मान्यता दिन, नेपाल राजपत्रको उपरोक्त सूचना भित्र समावेश नरहेको हुँदा मिलेन । अतः प्रत्यर्थीहरुको काम कारवाहीबाट निवेदकको कानुन बमोजिमको हकहितमा असर परेको मान्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.मोहनप्रसाद शर्मा

 

 

इति सम्वत् २०४९ साल कार्तिक १९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु