शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०२९ - निर्वाचन बदर ।

भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक:

ने.का.प.२०५८     अङ्क ७/८

निर्णय न.७०२९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत २०५७ सालको सं.पु.नं. ......१३

सम्वत २०५७ सालको सं.पु.नं. ........१२

फैसला मितिः २०५८।२४

 

मुद्दा :निर्वाचन बदर ।

 

पुनरावेदक

प्रतिवादीः नुवाकोट जिल्ला थानापती गा.वि.स.वडा नं. स्थाई ठेगाना भई ऐ. जिल्ला निर्वाचन   क्षेत्र नं .१ बाट २०५६ सालको प्रतिनिधीसभामा सदस्यको निर्वाचनमा निर्वाचित   प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रकाश लोहनी

बिरुद्ध

विपक्षीः नुवाकोट जिल्ला थानासिङ्ग गा.वि.स.वडा नं. स्थायी ठेगाना भई ऐ.जिल्ला निर्वाचन   क्षेत्र १ बाट २०५६ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा  उम्मेदवार भई निकटतम   प्रतिद्वन्दी रहनु भएका डा. प्रकाशचन्द्र लोहनी हाल का.जि.का.म.न.पा.वडा नं. धुम्वाराही

 

पुनरावेदक

प्रतिवादीः नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. घर भै नुवाकोट क्षेत्र नम्वर १ को     प्रतिनिधीसभाका उम्मेदवार ध्रुवप्रसाद अधिकारी

बिरुद्ध

विपक्षी

वादीः ऐ.ऐ.को उम्मेदवार डा.प्रकाशचन्द्र लोहनी    

 

§  सम्वन्धित जिल्ला न्यायाधिवक्ता वा नीज नभएको अबस्थामा जिल्ला न्यायाधिवक्ता भै काम गर्ने ब्यक्ति मार्फत उजुरी पत्र दर्ता गरी पठाउनु पर्नेमा सो बमोजिम प्रस्तुत उजुरी पत्र दर्ता भै आएको देखिएन । सो ऐनको दफा २८ मा यो ऐन बमोजिम दिइने उजुरी पत्र कानूनको रीत पुगेको नदेखिएमा कुनै कारवाही नहुने ब्यबस्था रहेको समेत देखिएवाट प्रस्तुत उजुरी पत्र निर्वाचन अदालतबाट प्रचलित कानून बमोजिम दर्ता भै हेरी कारवाही किनारा गरेको भन्न मिलेन।

§  उजुरी दावी बमोजिम मतगणना गर्दा उपरोक्त उल्लेख भए बमोजिम अनियमित र गैरकानूनी तरिकाले मतगणना गरेको भए प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा ११५ र १२० बमोजिम मतगणना समाप्त भएका मुचुल्का फाराम तथा तालीका समेतमा सो कुराको कैफियत जनाई सहिछाप गरेको भनि उजुरी पत्रमा निजको भनाई समेत भएको नदेखिदा मौकामा दिएको लिखित निवेदन निर्वाचन अधिकृतले लिन इन्कार गरेको भन्ने उजुरीकर्ताको कथन पुष्टि हुन आएको देखिएन ।

(प्र.नं. २७ र २८)

§  दोहोर्‍याई मतगणना गर्दा सम्पूर्ण उम्मेदवारहरुको सहमतिबाट समान अबस्था रहेकोमा सबै उम्मेदवारको मतपत्र सदर हुने भनि निर्वाचन अधिकृतवाट सदर गरी सदर मत पत्रहरुका सम्वन्धमा उजुरकर्ता आफू समेत विवन्धीत हुनु भएको स्पष्ट छ । त्यस्तो मतपत्रहरु समेत दोहर्‍याई मतगणना गरीएको र निर्वाचन अदालतलको फैसला हेर्दा दोहोर्‍याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्र नोटीसमा लिई राखेको निर्णय गर्दाको अबस्थामा सो नोटीसमा लिइएका मतपत्रहरु सदर वदर गरेको देखियो । त्यसरी दोहोर्‍याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्रलाई नोटीसमा लिई सदर वदर गर्न सकिने प्रचलित कानूनमा कुनै ब्यबस्था रहेको समेत पाइदैन । यस्तो कानूनी ब्यबस्थाको अभावमा नोटीसमा लिने भनि मतपत्र सदर बदर गर्ने गरेको निर्वाचन अदालत पाटन ललितपुरको निर्णय कानून सम्मत भन्न नमिलेबाट जिल्ला न्यायाधीवक्ता मार्फत उजुरी गर्नुपर्नेमा निर्वाचन अधिकृत मार्फत उजुरी दिइएको प्रकृया एवं निर्वाचन अदालतबाट गरेको निर्णय प्रकृयामा विवादग्रस्त मतहरु नोटीसमा लिएको र सो मध्ये सदर वदर गर्ने कार्य भएकोमा दोहोर्‍याई मतगणना गर्दा त्यसरी मतपत्रलाई नोटीसमा लिने र सदर वदर गर्ने कानूनी ब्यबस्था स्पष्ट नभएको स्थितिमा निर्वाचन अदालत पाटनको निर्णय फरक पर्ने भनि छलफलको लागि विपक्षी झिकाउने आदेश गर्ने इजलाससित असहमत हुनु पर्ने अवस्था र कारण नदेखिएवाट समेत उपरोक्त प्रकरणहरुमा उल्लेखित आधार कारणवाट निर्वाचन अधिकृत नुवाकोट क्षेत्र न. १ वाट पुनरावेदक राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषीत गरेको निर्वाचन परिणामलाई बदर गरी प्रत्यर्थी उजुरकर्ता प्रकाशचन्द्र लोहनलिाई विजयी घोषित गर्ने गरेको निर्वाचन अदालत पाटनको मिति ०५७।३।१३ को फैसला त्रुटीपूर्ण देखिदा वदर हुने ।

(प्र.नं. ३०)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ताहरु श्री कृष्णप्रसाद भण्डारी, श्री वासुदेव ढंगाना, विव्दान अविवक्ताहरु श्री शंभु थपा, श्री हरिप्रसाद उप्रेति, श्री हरिकृष्ण कार्की, श्री यूवराज संग्रौला, श्री श्यामप्रसाद पाण्डे र श्री टिकाराम भटृराई

विपक्षी वादी तर्फबाटः

अवलम्वित नजिरः                                                         

 

फैसला

            न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः निर्वाचन अदालत पाटनको मिति ०५७।३।१३ को फैसला उपर निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २२(२) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

            .    नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं.१ को २०५६ साल बैशाख २० गते सम्पन्न आम निर्वाचनको ०५६।२।३ गते साँझ ५:०० बजेबाट शुरु भएको मतगणना कार्यमा निर्वाचन आयोगको मिति ०५६।१।२८ को निर्देशन पत्र, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ६४ मा वर्णित अवस्थाका मतपत्रहरु तथा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा १०९ मा वर्णित अवस्थाका मतपत्रहरु बदर गर्ने सर्वदलिय सहमति भएकोमा गणना गर्दै जाँदा सो को प्रतिकूल गरी म उजुरवालाले प्राप्त गरेको असंख्य, अकाट्य र निर्विवाद रुपमा सदर रहेको मतपत्रलाई बदर गर्ने र मेरा प्रतिद्वन्दी मध्येका विपक्षी एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीको किमार्थ पनि सदर नहुने मतपत्रलाई पनि वदर नगर्नुहोस् भनि निर्वाचन अधिकृतलाई भन्दा कुनै सुनुवाई नगरी मतगणनाको कार्य सञ्चालन गरियो । कतिपय मैले प्राप्त गरेको मतलाई पनि विपक्षी एमालेका उम्मेदवारले प्राप्त गरेको भनि जवरजस्ती गरी पक्षपातको पराकाष्ठा नघाएको हुँदा मैले प्रतिनिधिसभा सदस्य ऐन, २०४७ को दफा ६५(१) तथा निर्वाचन निर्देशिका, २०५५ को दफा ११६ बमोजिम पूनः मतगणना गरी पाउँ भनि लिखित निवेदन दिदा विपक्षी निर्वाचन अधिकृतले सो को कुनै वास्ता नगर्नुको अलावा निवेदन दर्ता समेत गर्न इन्कार गर्नुभयो । गणना भई सकेका मतपत्रहरु मध्ये सदर मतपत्र र बदर मतपत्र अलग अलग खाममा वन्द गरी आफ्नो र उम्मेदवार वा निजको प्रतिनिधिको लाहाछाप लगाउनु पर्ने निर्वाचन निर्देशका, २०५५ को दफा १११ को समेत ठाडो उल्लंघन गरियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ६४ को देहाय (क), (ख), (ग), (घ), (छ), (झ), (ञ) र (ठ) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०५५ को दफा १०९ को देहाय (क), (ख), (ग), (घ), (छ), (ज), (झ), (ञ), (ट), (ठ), (ड) बमोजिम कानूनतः बदर हुने मतपत्रहरु एमाले उम्मेदवार लगायत अन्य उम्मेदवारहरुले प्राप्त गरेको त्यस्तो मतपत्रलाई हाकाहाकी सदर र म उजुरवालाले प्राप्त गरेको त्यस्तो मतपत्रलाई बदर गरी गणना गरियो । निर्वाचन आयोगले मिति ०५६।१।२८ मा पठाएको निर्देशनमा उल्लेखित वदर हुने भनिएका मतपत्रहरु समेत म उजुरवालाको मात्र वदर गरी एमाले उम्मेदवारको त्यस्ता मतपत्रहरु सदर गरियो । विपक्षी एमाले उम्मेदवारको एक पटक गणना भै सकेको मतपत्रहरु पुनः गणना गर्ने मतपत्रको चाङमा घुसाई दोहोरो गणना गरियो । प्रत्येक मतदान केन्द्रका बदर मत हेर्दा पनि म उजुरवालाको मतपत्रहरु बढी मात्रामा बदर गरिएको प्रष्ट देखिने नै छ । निर्वाचन निर्देशिका, २०५५ को दफा ११९ तथा १२० मा मतगणना समाप्त भएको मुचुल्का र मतगणना तालिका निर्देशिकाको फाराम नं. ५७५८ बमोजिम तयार गरिएको हुन्छ । सम्मानीत अदालतवाट उक्त तालिका झिकाई हेरेमा प्रत्येक मतदान केन्द्रमा खसेको मत, सदर मत, वदर मत तथा उम्मेदवारले प्राप्त गरेको मतको हिसाव दुरुस्त नमिली प्रत्येक मतदान केन्द्रमा करिव २० मत देखि ० मत सम्मको हिसाव तल माथि रहेको छ । त्यसै गरी थानापति मतदान केन्द्रमा जम्मा १६६२ मत, जिलिङ्ग (क), (ख) केन्द्रमा २५४८ मत, सूर्यमती केन्द्रमा १४३१ मत र वेलकोट (क)(ख) मतदान केन्द्रमा ३०९६ समेत कुल ८७३७ मत खसेको भन्ने मतदान हुँदाको अवस्थाको अभिलेखवाट देखिएको छ भने उल्लेखित मतदान केन्द्रलाई मतगणना गर्दाको अबस्थामा दुई वटा मतदान केन्द्रको मतपत्र एकै ठाउँमा खन्याई गणना गर्नुपर्ने भै थानापति र जिलिङ्ग  (ख) मतदान केन्द्रका गणना गर्दा २७८० मत, वेलकोट (क) र सूर्यमती मतदान केन्द्रको गणना गर्दा १११ मत र जिलिङ्ग (क) र वेलकोट (ख) मतदान केन्द्रको गणना गर्दा २९८५ मत समेत कूल ,८७६ मतगणना गरिएको निर्वाचनको अभिलेख कागजातवाट देखिएको छ । यसो हुनुको मुल कारण विपक्षी एमाले उम्मेदवारले प्राप्त गरेको गणना भै सकेको मतपत्रहरु मिसाई दोहोरो गणना गरेको कारणवाट भएको हो । यस प्रकार सम्पन्न भएको मतगणना परिणाम मिति ०५६ मा प्रकाशित गर्दा सो क्षेत्रको कुल मतदाता संख्या ६८,३१६ जम्मा खसेको मत सदर मत संख्या ३८,९४९ वदर मत संख्या १,३५४ देखिनुको अलावा म उजुरवालालाई क्रमसंख्या मा राखि मैले प्राप्त गरेको मत संख्या ११,७७१ र विपक्षी मध्येका ने.क.पा. एमाले तर्फवाट उम्मेदवार हुने राजेन्द्रप्रकाश लोहनीलाई क्रमसंख्या १ मा राखी निजले प्राप्त गरेको मतसंख्या ११७८६ देखाई कुल १ मतले मात्र म उजुरवाला पराजित भएको भन्ने निर्वाचन परिणामको घोषणा गरेको र मैले निर्वाचन परिणाम घोषणा हुनु पूर्व नै पुनः मतगणना गरी पाउँ भनि लिखित निवेदन दिंदा समेत निवेदन लिन समेत इन्कार गरी मलाई घोर अन्याय गरी पराजित गरी विपक्षी एमालेका उम्मेदवार निज राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषित गरेको र सो वारेमा मुख्य निर्वाचन अधिकृतज्यूलाई समेत भएको यथार्थ ब्यहोरा अवगत गराउँदा कुनै वास्ता नगरी सकारात्मक जवाफ समेत नदिएकोले विपक्षी एमालेका उम्मेदवारलाई विजय घोषित गरेको मितिले कारण परी निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २६() तथा निर्वाचन निर्देशिका, २०५५ को दफा ४२ को निर्दिष्ट म्याद दिन ३५ भित्रै ऐ.को दफा १० बमोजिम निर्वाचन अधिकृतको कार्यालय मार्फत सम्मानीत अदालत समक्ष यो उजुरी पत्र लिई शरणागत भएको छु । अतः विपक्षी मध्येको निर्वाचन अधिकृत तथा एमालेका उम्मेदवार निज राजेन्द्रप्रकाश लोहनी विच एक आपसमा मिलेमतो गरी मतगणना प्रारम्भ गरे देखि निर्वाचन परिणाम घोषणा गर्दासम्म मलाई जसरी भए पनि पराजित गर्ने, गराउने सुनियोजित षडयन्त्र गरी म उजुरवालाले प्राप्त गरेको असंख्य वैध मतलाई बदर र विपक्षी एमालेका उम्मेदवारको कानून बमोजिमको ठाडै वदर हुने मतलाई समेत सदर गरेको, विपक्षी एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीको गणना भई सकेको मतलाई छुट्याई लाहा छाप सहितको खाम वन्दी नगरी त्यस मध्येवाट करिव २०० जति मतपत्र अर्को मतदान केन्द्रको मतपत्रमा घुसाई मिसाई दोहोर्‍याई गणना गरेको, मैले प्राप्त गरेको मतलाई समेत विपक्षी एमालेका उम्मेदवारले प्राप्त गरेको भनि गणना गरेको समेत कारणवाट विजयी घोषित हुन नै नसक्ने विपक्षी एमालेका उम्मेदवार निज राजेन्द्रप्रकाश लोहनीलाई म उजुरवालाको भन्दा केवल १५ मतको झिनो अन्तरबाट सुनियोजित तथा गैह्र कानूनी रुपले विजयी भएको भनि घोषणा गरेको हुँदा उल्लेखित नु.जि.निर्वाचन क्षेत्र नं.१ को सम्पन्न निर्वाचनसंग सम्बन्धीत सम्पूर्ण सदर तथा बदर समेतका मतपत्रहरु लगायतका निर्वाचन संग सम्बन्धीत अभिलेख कागजातहरु विपक्षी निर्वाचन अधिकृतको कार्यालय,नुवाकोटमा अद्यापी सुरक्षित रहेको हुँदा सम्मानीत अदालतबाट उल्लेखित मतपत्रहरु सहितको सम्पुर्ण अभिलेख कागजातहरु झिकाई निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २०(१) बमोजिम सम्मानीत अदालतवाटै म उजुरवालाको रोहवरमा सदर तथा वदर मतपत्रको समेत न्यायीक निरोपण गरी दोहोर्‍याई मतगणना समेत गरी विपक्षी एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषित गरेका निर्वाचन परिणाम वदर गरी म उजुरवालालाई विजयी घोषित गरी पाउँ भन्ने समेत ब्यहोराको डा.प्रकाशचन्द्र लोहनीको उजुरी ।

.    यसमा प्रस्तुत निर्वाचन वदर मुद्दाका प्रतिवादीहरुका नाममा संक्षिप्त कार्यविधि ऐन,२०द्दड बमोजिम दिने समाब्हान जारी गरी प्रतिउत्तर परेपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत ब्यहोराको ०५६२४ को आदेश ।

            .    उजुरवाला उम्मेदवार भएको नुवाकोट क्षेत्र नं.१ मा सम्पन्न भएको निर्वाचन मतगणनाको परिणाम मिति ०५६ मा प्रकाशित गर्दा सो क्षेत्रको कुल मतदाता संख्या ६८, जम्मा खसेको मत ,, सदर मतसंख्या ३८,९४९ बदर मतसंख्या १३५४ देखिनुको अलावा म उजुरवालालाई क्रमसंख्या मा राखी मैले प्राप्त गरेको मत संख्या ११,७७१ र विपक्षी मध्येको ने.क.पा.(एमाले) तर्फवाट उम्मदवार हुने राजेन्द्रप्रकाश लोहनीलाई क्रमसंख्या १ मा राखि निजले प्राप्त गरेको मतसंख्या ११७८६ देखाई कुल १५ मतले मात्र म उजुरवाला पराजित भएको भन्ने निर्वाचन परिणामको घोषणा गरेको र मैले पूनः मतगणना गरी पाउँ भन्ने लिखित निवेदन दिदाँ समेत निवेदन लिन समेत इन्कार गरी विपक्षीलाई विजय घोषित गरेको र सो वारेमा मुख्य निर्वाचन अधिकृतज्यूलाई समेत भएको यथार्थ ब्यहोरा अवगत गराउँदा कुनै वास्ता नगरी सकारात्मक जवाफ समेत नदिएको भन्ने सम्बन्धमा उजुरवालाले माथि उल्लेखित ब्यहोरा अनुसार पुनः मतगणना गरी पाउँ भनि निवेदन दिएको भन्ने कुराको कुनै जानकारी प्राप्त नभएको र मुख्य निर्वाचन अधिकृत समक्ष मतगणना सम्बन्धमा कोही कसैले कुनै निवेदन समेत नदिएको र मौखिक कुरा समेत कोही कसैवाट नभनेको हुँदा उजुरवालाको उल्लेखित मुख्य निर्वाचन अधिकृतले कुनै वास्ता नगरेको भन्ने उजुरी झुठ्ठा हुँदा खारेज गरी पाउँ भन्ने समेत ब्यहोराको विपक्षी मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुकाम नुवाकोटको प्रतिउत्तर पत्र ।

            .    मैले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०४७, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५, निर्वाचन आयोग ऐन,२०४७ तथा निर्वाचन (अपराध र सजाँय) ऐन,२०४७ एवं निर्वाचन आयोगद्वारा दिइएको निर्देशन अनुरुप निर्वाचन अधिकृतको हैसियतले गर्नुपर्ने कानूनी कर्तब्यहरुको पूर्ण रुपमा परिपालना गरी उक्त क्षेत्रको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं धाधलीरहित रुपमा गरी गराई मतगणना गराउँदा सवैभन्दा बढी मत प्राप्त गर्ने ने.क.पा.(एमाले) का उम्मेदवार राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषीत गरेको र मैले कानूनद्वारा निदिृष्ट गरिएका कार्यहरु अर्थात वदर हुने मतपत्रलाई सदर र सदर हुने मतपत्रलाई वदर गरेको भए तत्काल विपक्षी उजुरीकर्ताले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०४७ को दफा ६५ बमोजिम म निर्वाचन अधिकृत समक्ष लिखित निवेदन दिनु पर्नेमा निजले सो लिखित निवेदन दिन सक्नु भएको छैन । अतः उजुरीकर्ताले दिएको उजुरी निवेदन खारेज गरी पाउन सम्मानीत अदालत समक्ष यो प्रतिउत्तर पत्र पेश गरेको छु भन्ने समेत ब्यहोराको विपक्षी नु.जि.निर्वाचन क्षेत्र नं.१ को निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृत बद्रिप्रसाद ओलीको संयुक्त प्रतिउत्तर पत्र ।

            .    कारण सहित निर्वाचन अधिकृत समक्ष पूनः मतगणनाका लागी विपक्षीले निवेदन नदिनु भएको कुरा विपक्षी स्वयंले आफ्नो उजुरी पत्रमा उल्लेख गर्नु भएको  छ । बदर हुने मतपत्रहरु म प्रतिउत्तरवालाका सदर गरेको र विपक्षीको चाँही वदर गरेको भन्ने विलकुल झुठ्ठा कथन उल्लेख गर्नु भएको छ । थानापती, जिलिङ्ग (क) र (ख), सूर्यमती, वेलकोट (क) र (ख) केन्द्रमा खसेको भन्दा १३ मत बढी गणना गरेको भनि विपक्षीले भनेको कुरा स्थापित हुने ठोस आधार विपक्षीले देखाउन सक्नु भएको छैन । गणना भै सकेको मतहरुलाई मिसाई दोहोरो गणना गरेको भन्ने उजुरी कथन विलकुल मनोगत छ । अतः यो यो मतदान केन्द्रका यति यति ऐन तथा निर्देशिका र निर्देशनमा उल्लेख गरिएका बदर हुने भनिएका मतपत्र मध्ये यस्तो किसिमको मतपत्रलाई म प्रतिउत्तरवालाको सदर गरिएको र विपक्षीको यो यस्तो किसिमको सदर हुने मतपत्रलाई वदर गरिएको भनि उजुरीमा उल्लेख गर्न नसकी हचुवा आधारमा आफ्नो असंख्य सदर मतलाई वदर गरिएको र प्रतिउत्तरवालाको वदर मतलाई सदर गरिएको भन्ने तथा यो यो मतदान केन्द्रका गणना गरी सकिएका मतपत्रलाई पनि पछि गणना गर्नको लागि छुट्याईएको चाङमा मिसाई दोहोरो गणना गरेको भन्न नसकी हचुवा आधारमा गणना गरी सकिएको मतपत्रहरुलाई दोहोर्‍याई मतगणना गर्न सकिने अबस्था निर्वाचन (अपराध र सजाँय) ऐन,२०४७ को दफा २० अनुसार रहदैन , तसर्थ विपक्षीको अनिश्चित एवं भ्रामक उजुरी दावी खारेज गरी पाउँ भन्ने समेत ब्यहोरा विपक्षी राजेन्द्रप्रकाश लोहनीको प्रतिउत्तर पत्र ।

            .    विपक्षी उजुरवालाले प्राप्त गरेको असंख्य, अकाट्य र निर्विवाद रुपमा सदर हुने मतपत्रलाई बदर गर्ने र विजयी घोषित भएका राजेन्द्रप्रकाश लोहनीको वदरयोग्य मतलाई सदर गरिएको भन्ने जिकिर समेत आँशिक रुपमा सही हो । वस्तुतः मैले समेत प्राप्त गरेको किमार्थ पनि वदर नहुने मतपत्रलाई वदर गरिएको तथ्य मेरो समेत सदर तथा वदर मतपत्रहरुलाई सम्मानीत अदालतवाट झिकाई हेरिएमा समेत मेरो प्रतिवाद जिकिर पुष्टि हुने ब्यहोरा विनम्र निवेदन गर्दछु । अतः वर्णित तथ्यका आधारमा मेरो समेत सदर तथा वदर मतपत्रलाई केलाई हेरी उजुरी दावी बमोजिम निर्वाचन परिणाम वदर गरी मलाई नै विजयी घोषित गरी पाउँ भन्ने समेत ब्यहोराको विपक्षी ध्रुवप्रसाद अधिकारीको प्रतिउत्तर पत्र ।

            .    विपक्षी ने.क.पा.(माले) का उम्मेदवार तोयानाथ थपलीयाको नाउँमा यस अदालतवाट जारी भएको (सात) दिने समाव्हान म्याद रीतपूर्वक तामेल भै म्याद भित्र निजको प्रतिउत्तर नपरेको ।

            .    यसमा नुवाकोट क्षेत्र नं.१ को मिति ०५६।१।२० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन संग सम्बन्धीत सम्पूर्ण कागजातहरु जहाँ छ त्यहाँवाट झिकाई प्राप्त भएपछि पेशीको सूचना पुनरावेदन सरकारी वकिल कार्यालय पाटनलाई दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५६ को आदेश ।

            १०.    यसमा उजुरवाला र विपक्षीका साक्षीहरुको रीतपूर्वकको वकपत्र गराई नियमानुसार पेश गर्नु भन्ने समेत ब्यहोराको ०५६।१०।१ को पुनरावेदन अदालत पाटनको आदेश ।

            ११.    रा.प्र.पा.लाई जितेकोबाट हराउने काम स्वयं मतदान अधिकृतले नै गर्नु भएको सत्य र तथ्य ब्यहोरा सम्मानीत अदालतले पूनः मतपत्र गिन्ती गरी हेरिएमा यथार्थ हुने नै छ । जहाँसम्म उजुरीको सवाल छ मौखिक मैले दोहोर्‍याएर गनिनु पर्छ भन्दा स्वयं निर्वाचन अधिकृत नै विपक्षी भएको वखत सुनुवाई हुने काम सम्भव नै  भएन । जव एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीलाई १५ मतले विजयी घोषित गरिन लागियो । मैले दोवारा मतगणनाको दरखास्त फाराम भरी दस्तखत गरी उहाँलाई दिदाँ सिधै ईन्कार गर्नुभयो । तत्पश्चात मतगणनाको परिणाम अन्य सर्जमिन मुचुल्का समेतका कागजातहरुमा रा.प्र.पा.को तर्फवाट वसेका हामी प्रतिनिधिले कही कतै दस्तखत नगरी मौखिक विरोध जनाई यस निर्वाचन अधिकृतवाट हाम्रो सदर मतलाई वदर गरी एमालेको वदर मतलाई सदर गरी अर्को मत पेटिकावाट २०० जति मत निकाली पुनः गिन्ती गराउनु भएको हामीलाई आपतिजनक छ यसको न्याय माग्न सम्मानीत अदालत छेउ जानेछौ भनि आयौं भन्ने समेत ब्यहोराको वादीका साक्षी शेरबहादुर खत्रीले गरेको वकपत्र ।

            १२.   मतगणना भै रहेको वखत मतगणनामा रहनु भएका एमाले समर्थक ब्यक्तिहरु भित्र वाहिर गर्दा उहाँहरुले वाहिर परिणाम सुन्न बसेका मानिसहरुको भिडमा यस पटकको चुनावमा हामी विजयी हुने भयौ । कारण रा.प्र.पा.का केही सदर मत पनि स्वयं निर्वाचन अधिकृतले वदर गरी दिएका छन् भने एमालेका वदर मत पनि सदर गरी गनी दिएका छन् त्यति मात्र नभै गणना भैसकेको एमालेको करिव २०० मतगणना गर्न बाँकी एमालेको मतमा मिसाई गनिएको छ भनि भनेको सुनियो । भित्र होहल्ला भएको पनि सुनियो । रा.प्र.पा.का मतगणना प्रतिनिधिहरु वाहिर आई मतगणना पूर्ण धाँधली भएको छ । हामीले सही नगरीकन वाहिर आयौं भनि भन्नुभयो । त्यसैले नु.जि.क्षेत्र नं.१ को मतगणना पुनः गनी गनाई तथ्य इन्साफ गरी पाउँ भन्ने समेत ब्यहोराको वादीका साक्षी अणबहादुर प्याकुरेलको वकपत्र ।

            १३.   २०५६ साल जेष्ठ गते वेलुकी वजे तिर अहिलेको निर्वाचन ऐन, नियम अनुसार मतगणना प्रकृया हामी सवैको समझदारीमा शुरुभयो र मतगणना गर्दा कुनै त्यस्ता विवादहरु भैm झगडा नभएको देखे । म प्रथमपटक मतगणनामा संलग्न भएको र मतगणनामा त्रिपक्षीय प्रतिस्पर्धा शुरु देखि नै अन्त्य सम्म रहेको देखे । मतगणनाको बेलामा डा. लोहनीका प्रतिनिधिहरु र ध्रुवजीका प्रतिनिधीहरु, एमालेका प्रतिनिधिहरु र साथमा हामी अरु प्रतिनिधि सहित आपसी कुराकानी गर्ने सौहार्दतासंग वस्यौ र अन्तिम क्षण सम्म यो प्रकृया चलिरह्यो । धाँधलीरहित र निष्पक्ष मतगणना भएको छ भन्ने समेत ब्यहोराको प्र.राजेन्द्रप्रकाश लोहनीका साक्षी अच्युत पाण्डेले गरेको बकपत्र ।

            .   म ने.क.पा.एमालेका तत्कालिन उम्मेदवारको मतगणना प्रतिनिधिको रुपमा २०५६। गते मतगणना शुरु देखि अन्तिम विजय घोषणा हुँदा सम्म मतगणनामा सहभागी भएको थिए । मतगणना सर्वदलिय सहमतीको र कानूनको दायरा भित्र रही मतगणना भएको हो । वादीका प्रतिनिधिहरुले राजेन्द्रप्रकाश लोहनी विजयी हुने देखेपछि मतगणनाको पछिल्लो मुचुल्कामा सही गर्नु भएको छैन । घोषणा हुँदा राजेन्द्रप्रकाश लोहनी १५ मतले विजयी भएको ठिक साँचो हो,रा.प्र.पा.का प्रतिनिधि वाहेक अन्य सवै उम्मेदवारको प्रतिनिधिहरुले निर्वाचन परिणाममा समेत सही गरेका छन् भन्ने समेत ब्यहोराको प्रतिवादी राजेन्द्रप्रकाश लोहनीका साक्षी राजेन्द्र रमण खनालले गरेको बकपत्र ।

            १५.   उजुरी ब्यहोरा एवं विपक्षीहरुको प्रतिजिकिर समेतलाई ध्यानमा राखि निर्वाचन (अपराध र सजाँय) ऐन,२०४७ को दफा २०(१) बमोजिम दोहोर्‍याई मतगणना गर्न मिल्ने हो वा होइन ? भन्ने सम्वन्धमा विचार गर्ने क्रममा यस अदालत उक्त दफा २० को सक्नेछभन्ने शव्द समेतवाट प्रदत्त दोहोर्‍याई मतगणना गर्न सक्ने स्वविवेकीय अधिकार प्रयोग गर्न वाध्य नभएको र ठोस एवं वस्तुगत आधारको विद्यमानता भएमा मात्र यस्तो अधिकारको प्रयोग हुन सक्ने भन्ने विपक्षी तर्फका विद्वान अधिवक्ताहरुको वहस जिकिरसंग सहमत हुँदै सर्वप्रथम प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ६५(१) र प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा ११६ हेर्दा मतगणना समाप्त हुनु भन्दा पहिले वा मतगणना समाप्त भएपछि निर्वाचन परिणामको घोषणा हुनु भन्दा पहिले उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले केही वा सवै मतपत्र दोहोर्‍याई गन्ती गराउन चाहेमा कारण समेत खुलाई तत्काल निर्वाचन अधिकृतलाई निवेदन दिन सक्ने ब्यबस्था गरेको पाइयो । उक्त दफा ६५(१) र दफा ११६ मा पनि सक्नेछभन्ने शब्द प्रयोग भएकोले पूनः मतगणना गर्न निवेदन दिने वा नदिने भन्ने सम्बन्धीत उम्मेदवार वा निजको प्रतिनिधिको स्वेच्छामा भर पर्ने भएकोले त्यस्तो निवेदन दिने भनि वाध्य गराउन नमिल्ने भएको र त्यसरी निवेदन नदिएकै कारणवाट निर्वाचन अदालतमा दोहोर्‍याई मतगणना गर्नुपर्ने आधार समेत खुलाई उक्त दफा २० अन्तर्गत उजुरी दिन नपाउने गरी प्रचलित कानूनले रोक लगाएको समेत नदेखिएको स्थिति एकातिर छ भने अर्कोतर्फ प्रस्तुत उजुरी ब्यहोराको पेटवोली भित्र प्रवेश गरी हेर्दा प्रकरण नं. मा दफा ६५(१) र दफा ११६ बमोजिम पुनः मतगणना गरी पाउँ भनि लिखित निवेदन दिदाँ विपक्षी निर्वाचन अधिकृतले सो को कुनै वास्ता नगर्नुका अलावा निवेदन दर्ता समेत गर्न ईन्कार गर्नु भएको र प्रकरण नं. ११() मा मतगणना कार्य निष्पक्ष नभएकोले दोहोर्‍याई मतगणना गरी पाउन निवेदन दिदाँ समेत कुनै वास्ता नगरेको कारणवाट मेरो प्रतिनिधिले सूर्यमती, वेलकोट मतदान केन्द्रको मतगणना समाप्तीको मुचुल्कामा समेत सहिछाप नगरेको भन्ने समेत उल्लेख भएको पाइयो । उजुरवालाको साक्षी शेरबहादुर खत्रीले त्यसरी निवेदन दिएको पुष्टि हुने गरी दोहोरो मतगणनाको दरखास्त उजुरी दिदाँ लिन इन्कार गरेको भन्ने समेत ब्यहोराको पुनरावेदन अदालतमा वकपत्र गरेको देखियो । वेलकोट र सुर्यमती समेतको फाराम नं. ० हेर्दा पनि उजुरवाला वा निजको प्रतिनिधिको सही नभएकोबाट समेत उक्त ब्यहोरा समर्थीत भएको मान्नु पर्ने भयो । तसर्थ मतगणना हुँदा समय मै पूनः मतगणनाको लागि निवेदन उजुरवाला वा निजको प्रतिनिधिले दिएकै थिएन भन्ने विपक्षीहरुको जिकिर बयान संग सहमत हुन सकिएन । अतः उक्त दफा ६५(१) र दफा ११६ बमोजिम निवेदन नदिएको भन्ने एकिन गरी प्रस्तुत उजुरी दायर गर्ने हकाधिकारवाट उजुरवालालाई वन्चित गर्न मिलेन । एक भन्दा बढी मतदान केन्द्रका मतपत्रहरु मध्ये प्रचुर मात्रामा मतपत्रहरु सदर हुने वदर र वदर हुने सदर गर्दै लगातार मतगणनाको कार्य भई तत्कालै निर्वाचन परिणाम समेत घोषणा हुँदा यो यो मतदान केन्द्रको यो यस्तो यति मतपत्रहरु वदर हुनेलाई सदर र सदर हुनेलाई वदर गरेको भनि किटान साथ मतपत्र संख्या ठम्याउन सहज नहुने भएको र उजुरवालालाई फा.नं. ४४, १ र ० को नक्कल उपलब्ध नभएको स्थितिमा समेत खसेको मत भन्दा गणना भएको मत बढी देखाउनका साथै कुल मतदाता संख्या जम्मा खसेको मत सदर र वदर मतको किटानी संख्या समेत उल्लेख गरी उजुरी प्रस्तुत गरेको अवस्था समेतलाई विचार गर्दा किटानी केन्द्र र मतपत्रहरु उजुरीमा उल्लेख नभएको भन्ने विपक्षी तर्फको तर्क जिकिरलाई गौण मान्नु पर्ने भयो । त्यस्तै सदर मतलाई वदर र वदर मतलाई सदर गरेको भन्ने उजुरी ब्यहोराको पुष्टि ने.का.का उम्मेदवारको प्रतिजिकिर समेतवाट भई रहेकै देखिन आयो । विभिन्न केन्द्रहरुको फाराम नं. ० हेर्दा एउटा फाराममा मतदान केन्द्रको नाम, गा.वि.स.को नाम,सदर मत, वदर मत र गणनाको समय नजनाएको महेन्द्र मा.वि. थानसिंको फाराममा सदर मत र वदर मत, मतदान संख्या र समय उल्लेख नभएको,मदनपुर वालुवा भन्ज्याङ्ग (क) र दुई पिपल गा.वि.स.भवन (क) को फाराममा सदर मत उल्लेख नभएको र वदर मत १७५ उल्लेख भएको, दुई पिपले (ख) र वालुवा भन्ज्याङ्ग (ख) को मतगणना फाराममा र वेलकोट (क) र सूर्यमतीको फाराममा उजुरवाला वा निजको प्रतिनिधिको सही नभएको, ओखरपौवा (क) र चतुरालेको फाराममा खसेको मत, सदर मत, वदर मतको संख्या उल्लेख नभएको, जिलिङ्ग (क) वेलकोट (ख) को फाराममा खसेको मत, सदर मत र वदर मत उल्लेख नभएको र सो मा उजुरवालाको वा निजको प्रतिनिधिको सही नभएको पाइयो, तसर्थ निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २०(१) बमोजिम सर्वप्रथम उजुरवालाले आफ्नो उजुरीको प्रकरण नं. मा खसेको मत, सदर मत समेत उल्लेख गरेको, जिलिङ्ग (क) (ख) सूर्यमती र थानापति मतदान केन्द्रहरुका मतपत्रहरु दोहोर्‍याई हेर्ने मनासिव भै सो मतपत्रहरु खोली हेर्दा उजुरवाला र विपक्षी मध्येका एमाले एवं नेपाली कांग्रेसका उम्मेदवारहरु समेतको सदर भनिएका मतहरु मध्ये केही मतहरु विचारणीय अबस्थाको देखिन आयो ।

            .    अव अन्य बाँकी मतदान केन्द्रहरुका मतपत्रहरु दोहोर्‍याई गणना गर्नुपर्ने हो वा होइन ? भन्ने सम्वन्धमा विचार गर्ने क्रममा उजुरवाला तर्फका विद्वान अधिवक्ताहरुले मतगणनाको अबस्थामा सदर गरिएका मतपत्रहरु मध्ये सोही समयमा वदर गरिएको मतपत्रहरु भन्दा बढी बदर गर्नुपर्ने स्थिति एकातिर विद्यमान देखियो भने अर्कोतर्फ उक्त दफा २० अन्तर्गत मतदान केन्द्रहरुको तीन स्थानको दोहोर्‍याई मत गन्ती गरी हेरी सकेपछि अन्य बाँकी मतदान केन्द्रहरुको पनि मतगणना गर्नुपर्ने हुन्छ । केही मतदान केन्द्रको मत दोहोर्‍याई गणना गर्ने र अन्य बाँकी मतदान केन्द्रको दोहोर्‍याई मतगणना नगर्दा उक्त दफा प्रतिकूल हुन्छ भनि विपक्षी एमालेको उम्मेदवार तर्फका विद्वान अधिवक्ताहरुले त्यसरी तीन स्थानको मतगणना गर्दा निर्वाचन परिणाममा कुनै तात्विक असर नपर्ने देखिए पछि अन्य मतदान केन्द्रहरुको मतगणना गर्न आवश्यक नै नभएको भनि भएको वहस समेत सुनि तत्सम्बन्धमा विचार गर्दा सम्बन्धीत पक्षका वारेस एवं कानून ब्यबसायी लगायतका ब्यक्तिहरुको उपस्थितीमा इजलासवाट थानापती र जिलिङ्ग(ख) वेलकोट (क) र सूर्यमती एवं जिलिङ्ग (क) र वेलकोट (ख) मतदान केन्द्रहरुको दोहोर्‍याई मतगणना गरी गराई हेर्दा जिलिङ्ग (क) र वेलकोट (ख) मतदान केन्द्रका सूर्यको सदर मतपत्रहरुमा एक थान हलो चिन्हमा स्वस्तीक चिन्ह लागेको मतपत्र र जिलिङ्ग (ख) र थानापति मतदान केन्द्रको सूर्यको सदर मतपत्रहरुमा नै एक थान रुख चिन्हमा स्वस्तीक चिन्ह लागेको मतपत्र पाईनुका अतिरिक्त सवै उम्मेदवारहरुको सदर मतपत्रहरु मध्ये विचारणीय देखिएका मतपत्रहरुको संख्या एवं निर्वाचन (अपराध तथा सजाँय) ऐन, २०४७ को दफा २०(१) र दफा द्द१(१) समेतलाई ध्यानमा राखी हेर्दा अन्य मतगणना गर्न बाँकी मतदान केन्द्रहरु समेतको मतपत्रहरु दोहोर्‍याई गणना गर्न मनासिवै भएकोले मतगणना गर्न बाँकी अन्य मतदान केन्द्रहरुको मतपत्रहरु दोहोर्‍याई गणना गर्न आगामी २०५७ साल जेष्ठ ३२ गते वुधवारका दिन विहान (नौं) वजेको तारेख तोकी नियममानुसार गर्नु भन्ने समेत ब्यहोराको मिति ०५७० को पुनरावेदन अदालत पाटनको आदेश ।

.   दोहोर्‍याई मतगणना गर्दाको परिणाम अनुसार सूर्य चिन्ह र हलो चिन्हको कूल प्राप्त मत क्रमशः ११७८३ र ११७७२ देखिएकोमा सूर्य चिन्ह को र हलो चिन्हको नोटिसमा रहेको मतहरु क्रमशः २९८२९० लाई कूल प्राप्त मत ११७८३ र ११७७२ मा घटाउँदा मत परिणाम सूर्य चिन्हमा ११४८५ र हलो चिन्हमा ११४८२ देखिन आयो । सूर्य चिन्हको चाङबाट हलो चिन्हको मत भेटिएको हुँदा सूर्य चिन्हमा चार मत घट्ने हलो चिन्हमा मत बढ्ने भएकोले मत परिणाम सूर्य चिन्हमा ११४८१ र हलो चिन्हमा ११४८९ देखिन आयो । त्यस्तै गरी हलो चिन्हको चाङबाट सूर्य चिन्हको (दुई) मत भेटिएको हुँदा सूर्य चिन्हमा दुई मत बढी हलो चिन्हमा दुई मत घटी भएकाले अव मत परिणाम सूर्य चिन्हमा ११४८३ र हलोमा ११४८४ देखिन आयो । सूर्य चिन्हको चाङबाट एक मत रुख चिन्हको देखिन आउँदा सूर्य चिन्हमा एक मत घटी रुख चिन्हमा एक मत बढ्ने देखिन आयो । तसर्थ सूर्य चिन्हमा जम्मा मत ११४८२ देखियो । फेरी जोतेको हलोको चाङबाट सूर्य चिन्हको १ मत फेला परी सूर्य चिन्हमा एक मतको बृद्धि भई जोतेको हलो चिन्हमा एक मत घटेको देखियो । अव सूर्य चिन्हको कुलमत ११४८३ देखिन आयो । तसर्थ हलो चिन्हले प्राप्त गरेको कुल मत ११४८४ भन्दा सूर्य चिन्हले प्राप्त गरेको कुल मत ११४८३, १(एक) मतले कम भै हलो चिन्हले १ मत बढी पाएको पाइयो । वास्तवमा माथि उल्लेख भए बमोजिम सूर्य चिन्हको ४ मत घटी र हलो चिन्हको ४ मत बढी भएकोलाई स्वीकार वा अस्वीकार गर्दा वा यसरी हलो चिन्हको १ मत बढी र सूर्य चिन्हको १ मत घटी देखिदा सो बाट निर्वाचन परिणाममा पर्ने असरमा तात्वीक भिन्नता पर्न सक्दैन । यस दृष्टिबाट पनि हलो चिन्हले विजय हासिल गरेको भन्दा कुनै अत्युक्ति नहोला । तसर्थ निर्वाचन अधिकृतले उजुरवालाले जम्मा ११७७१ मत र विपक्षी मध्येका एमालेका उम्मेदवारले ११७८६ मत प्राप्त गरी १५ मतले विपक्षी राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषित गरेको निर्वाचन परिणाम यथावत कायम राख्न मनासिव भएन ।  उजुरवाला डा. प्रकाशचन्द्र लोहनीले प्राप्त गरेको कूल मत संख्या ११४८४ विपक्षी मध्येका राजेन्द्रप्रकाश लोहनीले प्राप्त गरेको कूल मत संख्या ११४८३ भन्दा १ (एक) मतपत्र वढी पाएको देखिन आएकोले निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २०(१) बमोजिम एमाले उम्मेदवार राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषित गरेको निर्वाचन परिणाम वदर गरी उजुरवाला डा. प्रकाशचन्द्र लोहनी विजयी घोषित हुने ठहर्छ भन्ने समेत ब्यहोराको निर्वाचन अदालत पाटन ललितपुर मुकाम पुनरावेदन अदालत पाटनको मिति ०५७।३।१३ को फैसला ।

            .   निर्वाचन अदालत पाटनको उक्त फैसलामा चित्त बुझेन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ६५(१), प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०५५ को दफा ११६ ले मतगणना समाप्त नहुँदै सम्वन्धित उम्मेदवार वा निजको प्रतिनिधिले गणनामा चित्त नबुझे तत्कालै निर्वाचन अधिकृत समक्ष दोहोर्‍याई मतगणना गरी पाउँ भनी उजुरी दिन सक्ने कानूनी ब्यबस्था भएकोमा विपक्षीले तत्काल निवेदन दर्ता नगराएको तथ्य उजुरीमा नै उल्लेख छ । तत्काल उजूर दिन सकिने यो कानूनी ब्यबस्थालाई विधायिकाले निरर्थक रुपमा राखेको अनुमान गरी त्यसको औचित्यता तर्फ प्रवेश नै नगरी उक्त कानूनी ब्यबस्थाको आत्मनिष्ठ ब्याख्या गरी दोहोर्‍याई मतगणना गर्ने गरी गरेको आदेश र सो आधारमा भएको फैसला त्रुटीपूर्ण छ । विपक्षी उजुरकर्ताले आफ्नो उजुरीको प्रकरण ११(ट) मा स्पष्ट रुपले निजले वटा मतदान केन्द्र सूर्यमती र वेलकोटको मतगणना मुचुल्कामा आफूले हस्ताक्षर नगरेको भनि उल्लेख गरेवाट सो वाहेकका बाँकी मतदान केन्द्रको मतगणनाको परिणाममा विपक्षीको पनि सहमती रहेको स्पष्ट हुँदा हुँदै वादीले दावी नै नगरेका अन्य मतदान केन्द्रको समेत दोहोर्‍याई मतगणना गर्ने आदेश विवन्धनको सिद्धान्त विपरीत वादी दावी भन्दा वाहिर गएर गरिएको छ । निर्वाचन अदालतले दोहोर्‍याई गणना गर्न सक्ने अबस्था देखेको खण्डमा पनि त्यस्तो आदेश गर्दा वा गणना गर्दा निर्वाचन सम्वन्धी ऐन कानून तथा निर्देशिका र अन्य प्रचलित कानूनको परिधि भित्र रहेर गर्नुपर्ने हुन्छ तर प्रस्तुत मुद्दामा निर्वाचन अदालतले सुनुवाईको प्रारम्भिक चरण देखि नै उपरोक्त प्रक्रियाको अवलम्वन गरेको छैन ।

            .    मुठाका मुठा सुर्य छाप लागेका गणना गरी सकेका मतपत्रहरु गणना गर्न बाँकी मतपत्रमा मिसाई गणना गरेको, जिलिङ्ग, सूर्यमती र वेलकोट मतदान केन्द्रको मतपत्रमा १३ मत बढी देखिएको, एकै प्रकृतिका मत मध्ये सूर्यको हकमा सदर र हलोको हकमा बदर गरेको भन्ने मूख्य वटा उजुरीको माग दावी रहेकोमा दोहोर्‍याई मतगणना गर्दा वादी दावी अनुरुपका एउटै पनि आधार प्रमाणित हुन नसकेको अवस्थामा उक्त मतगणना कानून बमोजिम नै भएको प्रमाणित भएकोमा वादी दावी भन्दा वाहिर गई अदालत स्वयंले उजुरकर्ताको स्थान ग्रहण गरी साविकमा उजुरकर्ता र प्रत्यर्थी लगायत सवै उम्मेदवारहरुले सदर गर्न सहमती जनाएका कानून बमोजिमका सदर मतपत्रहरुलाई पनि गैरकानूनी रुपले वदर गरिएकोले उक्त फैसलामा गम्भीर कानूनी त्रुटि रहेको छ । साथै सूर्य चिन्हले भन्दा हलो चिन्हले १ मत बढी प्राप्त गरेको भन्ने गलत छ । बस्तुनिष्ठ भै हिसाव गर्दा विपक्षी उजूरवालाले भन्दा पुनरावेदकले मत बढी प्राप्त गरिरहेको अबस्थामा बढी मत प्राप्त गरेको ब्यक्तिलाई हराई कम मत प्राप्त गरेको ब्यक्ति विपक्षीलाई विजयी घोषित गरिएको छ । दोहोर्‍याई मतगणना गरे पश्चात त्यस क्षेत्रका समुच्चा उम्मेदवारहरुले प्राप्त गरेका मतहरुको वास्तविक परिणाम घोषणा गर्नुपर्ने वाध्यात्मक कानूनी ब्यबस्थाको परिपालना नगरी गरिएको फैसला त्रुटिपूर्ण छ । नोटीसमा राख्ने भन्ने पद्दती, प्रक्रिया कुनै पनि कानूनी ब्यबस्थाले अवलम्वन गरेको छैन । अतः दोहोर्‍याई मतगणना गरी विपक्षीलाई विजयी बनाउने गरी भएको निर्वाचन अदालत पाटनको फैसला उल्टी गरी म पुनरावेदकलाई निर्वाचन आयोगले विजयी घोषणा गरेको परिणाम सदर गरी न्यायिक इन्साफ पाउँ भन्ने समेत ब्यहोराको पुनरावेदक मध्येको राजेन्द्रप्रकाश लोहनीको पुनरावेदन पत्र ।

            २०.   निर्वाचन अदालत पाटन ललितपुरवाट मिति ०५७।३।१३ मा भएको फैसला उल्टाई वदर गरी पुनः निर्वाचन गर्ने गरी फैसला गरी पाउँ भन्ने समेतको पुनरावेदक प्रतिवादी मध्येको ध्रुवप्रसाद अधिकारीको पुनरावेदन पत्र ।

            १.   यसमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ६५ ले निर्वाचन क्षेत्रको मतगणना समाप्त भएपछि निर्वाचन परिणाम घोषणा हुनु अगावै उम्मेदवार वा निजका प्रतिनिधिले केही वा सवै मतपत्र दोहोर्‍याई गन्ती गराई पाउँ भनि तत्काल कारण सहित लिखित निवेदन दिन सक्ने ब्यबस्था भएकोमा मौकामै त्यसरी लिखित निवेदन माग भएको देखिएन ।

            २२.   निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा ५२() को प्रयोजनको लागि मिति २०५५।११।२४ को राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्ला न्यायाधिवक्ता मार्फत उजुरी गर्नुपर्नेमा सिधै निर्वाचन अधिकृत समक्ष उजूरी दिएको प्रकृया मिलेको पनि देखिएन । साथै निर्वाचन विशेष अदालतवाट निर्णय गर्दा र निर्णय गर्ने प्रकृयामा केही विवादग्रस्त मतहरु नोटिसमा लिएको, सो मध्ये सदर वदर गर्ने कार्य भएकोमा त्यसरी मतपत्रलाई नोटिसमा लिने र सदर वदर गर्ने कानूनी ब्यबस्था स्पष्ट नभएको स्थितीमा भएको निर्वाचन विशेष अदालत पाटनको निर्णय फरक पर्ने देखिदा अ.वं. २० नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि विवादको विषय समेतको महत्वलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दालाई अग्राधिकार दिई सं.पु.नं. १२ समेत साथै पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति ०५७२८ मा भएको आदेश ।

            २३.   प्रत्यर्थी उजुरकर्ता यस अदालतवाट तारेखमा उपस्थित हुनु भनि जारी भएको सूचना म्यादमा उपस्थित नभई सो म्यादै गुजारी बसेको मिसिल संलग्न निजका नाउँको तामेलीवाट देखिन्छ ।

            २४.   नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पूनरावेदन सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरीयो ।

            २५.   यसमा निर्वाचन अधिकृत र एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनी एक आपसमा मिलोमतो गरी मतगणना प्रारम्भ भए देखि निर्वाचन परिणाम घोषणा गर्दा सम्म जसरी भए पनि मलाई पराजित गर्ने गराउने सुनियोजित षडयन्त्र गरी म उजुरवालाले प्राप्त गरेको असंख्य मतलाई वदर र विपक्षी एमालेका उम्मेदवारको ठाडै वदर हुने मतलाई समेत सदर गरेको, निजको गणना भैसकेको मतलाई छुट्याई लाहाछाप समेतका खामवन्दी नगरी त्यसमध्येवाट करीव २०० जति मतपत्र अर्को मतदान केन्द्रको मतपत्रमा घुसाई मिसाई दोहोर्‍याई गणना गरेको, मैले प्राप्त गरेको मतलाई समेत विपक्षी एमालेका उम्मेदवारले प्राप्त गरेको भनि गणना गरेको कारणवाट विजयी घोषित हुन नै नसक्ने एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीलाई सुनीयोजित तथा गैरकानूनी रुपले १५ मतको झिनो अन्तरवाट विजय भएको भनि घोषणा गरेको हुँदा दोहोर्‍याई मतगणना गरी एमालेका उम्मेदवार राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषित गरेको निर्वाचन परिणाम वदर गरी म उजुरवालालाई विजयी घोषित गरी पाउँ भन्ने समेत डा. प्रकाशचन्द्र लोहनीको मुख्य उजुरी दावी, मतगणना सम्वन्धमा कोही कसैले कुनै निवेदन नदिएको र मौखिक कुरा समेत कसैले नभनेको हुँदा मुख्य निर्वाचन अधिकृत समेतले वास्ता नगरेको भन्ने उजुरवालाको उजुरी झुठ्ठा हुँदा खारेज गरी पाउँ भन्ने समेत मुख्य निर्वाचन अधिकृतको प्रतिउत्तर, कानूनद्वारा निषेध गरिएका कार्यहरु अर्थात वदर हुने मतपत्रलाई सदर र सदर हुने मतपत्रलाई वदर गरेको भए तत्काल विपक्षी उजुरकर्ताले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०४७ को दफा ६५ बमोजिम लिखित निवेदन दिनु पर्नेमा त्यस्तो लिखित निवेदन दिन सक्नु भएको छैन । तसर्थ उजुरी निवेदन खारेज गरी पाउँ भन्ने समेत निर्वाचन अधिकृतको तथा कारण सहित निर्वाचन अधिकृत समक्ष पुनः मतगणनाका लागि विपक्षीले निवेदन नदिनु भएको कुरा विपक्षी स्वयंले आफ्नो उजुरीमा उल्लेख गर्नु भएको छ । वदर हुने मतहरु म प्रतिउत्तरवालाको सदर गरेको विपक्षी उजुरवालाको चाही वदर भनि दिएको उजुरी दावी तथा गणना भै सकेको मतपत्रहरु मिसाई दोहोरो गणना गरेको भन्ने उजुरी कथन समेत मनोगत एवं झुठ्ठा हुन् । विपक्षीको अनिश्चित एवं भ्रामक उजुरी दावी खारेज गरी पाउँ भन्ने समेत ब्यहोराको राजेन्द्रप्रकाश लोहनीको प्रतीउत्तर तथा मेरो समेत सदर तथा वदर मत पत्रलाई केलाई नहेरी घोषणा गरेको निर्वाचन परिणाम वदर गरीपाउँ भन्ने समेत ब्यहोराको विपक्षी ध्रुवप्रसाद अधिकारीको प्रतीउत्तर जिकीर भएकोमा निर्वाचन अधिकृतले मिति २०५६। मा घोषणा गरेको निर्वाचन परिणाम वदर गरी उजुरवाला डा.प्रकाशचन्द्र लोहनीलाई विजयी घोषीत गर्ने गरेको निर्वाचन अदालत पाटन ललितपुरको मिति ०५७।३।१३ को फैसला उपर चित्त नबुझी प्रतीवादी राजेन्द्रप्रकाश लोहनी तथा ध्रुवप्रसाद अधिकारीको पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ताहरु क्रमशः श्री कृष्णप्रसाद भण्डारी, श्री वासुदेव ढुङ्गाना, एवं अधिवक्ताहरु श्री शम्भु थापा, श्री हरीप्रसाद उप्रेती, श्री हरिकृष्ण कार्की, श्री युवराज संग्रौला, श्री श्यामप्रसाद पाण्डे र श्री टिकाराम भट्टराईले कानूनले उपचार प्रदान गर्दा अपनाउनु पर्ने निश्चित कार्यविधी तोकेको हुन्छ । त्यस्तो कार्यविधिको उल्लंघन गर्नु हुदैन । विपक्षीको प्रस्तुत उजुरी निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा ५२() बमोजिम तोकीएको अधिकारी मार्फत दिनु पर्नेमा सो बमोजिम दिएको छैन । कानूनको रीत पुर्‍याई दिएको उजुरी पत्रमा कारवाही गरीने छैन भनि ऐ.ऐनको दफा २८ मा प्रष्ट कानूनी ब्यबस्था रहेको छ । विपक्षी उजुरकर्ताले थोरै मतबाट पराजित भएको भनि परेको उजुरी तथ्यगत आधार र प्रमाण वेगर संस्थापित सिद्धान्त र कानूनको प्रतिकूल छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ६५(१) बमोजिम निर्वाचन परिणाम घोषणा हुनु पूर्व सबै वा केही मतपत्रहरु दोहोर्‍याई गन्ति गराई पाउँ भनि कारण समेत खुलाई तत्काल निर्वाचन अधिकृत समक्ष निवेदन गरेको भनि उजुरवालाले भन्न सक्नु भएको छैन । मतपत्र वदर हुनेलाई सदर गरिएको र सदर हुनेलाई वदर गरीएको भनिएको वाहेक कस्तो खालको आफ्नो छाप लागेको मतलाई वदर गरीएको भनि उल्लेख गर्न नसकेको र कुन चाँही मतदान केन्द्रका गणना गरी सकिएका मतपत्रलाई गणना गर्दै गरिएको चाङमा मिसाई गणना गरीएको हो सो समेत उल्लेख गर्न नसक्नुले उजुरवालाको कथन अनिश्चीत एवं निराधार हो भन्ने स्पष्ट छ । दोहोर्‍याई मतगणना गर्नु अघि निर्वाचन अदालतले उजुरकर्ताको दावी प्रमाणित भएको छ वा छैन ? गम्भरीतापूर्वक हेरीनु पर्ने थियो । सो गरेको छैन । विपक्षीको उजुरी कथन बमोजिमको दावी हाम्रो पक्षको मतगणना गर्दाको क्रममा उजुरवालाले प्राप्त गरेको असंख्य मतलाई बदर गरेको भन्ने कुरा निर्वाचन अदालतले वदर भएको मतपत्रहरुको चाङमा एउटा पनि सदर मतपत्र नभेटीएको भनि निर्वाचन अदालतको फैसला वाटै देखिएको छ । उजुरी कथनको अर्को दावी हाम्रो पक्षको गणना भैसकेको मतलाई गणना गर्दै गरेकोमा मिसाई गणना गरीएको भन्ने भएतापनि दोहोर्‍याई मतगणना गर्दाको क्रममा मिसाएर गणना गरेको वा मुठाका मुठा अथवा २०० मतपत्र सूर्यको चाङमा नभेटिएबाट खण्डीत भएको छ । साथै हाम्रो पक्षको वदर हुने मतलाई सदर गरीएको भन्ने कुरा पनि सम्पूर्ण उम्मेदवारका समान अबस्थामा रहेका सदर मतलाई मात्र पुनरावेदकको पनि सदर गरीएको भन्ने पुष्टि भएवाट उजुरी दावी झुठ्ठा हो भन्ने स्पष्ट भएको छ । निर्वाचन अदालतलाई निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २०() ले मतगणना गर्ने अधिकार प्रदान गरेको छ । त्यसरी मतगणना गर्ने सम्वन्धमा छुट्टै कानूनी प्रकृया कुनै पनि ऐन कानूनले नतोकेको अबस्थामा मतगणना सम्बन्धी प्रकृया आफैले निर्धारण गर्न पाउने गरी कुनै कानूनले निर्वाचन अदालतलाई अधिकार प्रदान गरेको छैन । निर्वाचन अदालतले दोहोर्‍याई मतगणना गर्ने सम्वन्धमा कानूनले तोकेको कुनै पनि प्रकृयाको अबलम्वन गरेको छैन । सो अदालतको मतगणना सम्बन्धी आदेश तथा निर्णय ऐन नियम र निर्देशिकाले गरेको लगातार मतगणना गर्नुपर्ने भन्ने ब्यबस्थाको समेत प्रतिकूल छ । दोहोर्‍याई मतपत्र गणना गर्दा मतपत्रहरु नोटीसमा राख्ने कार्य कुन कानून र सिद्धान्तको आधारमा गरीएको हो ? भन्ने प्रश्नका सम्बन्धमा उक्त निर्वाचन अदालतको फैसलामा अभिब्यक्त भएको समेत देखिदैन । यसरी निर्वाचन अदालतले मतगणना सम्बन्धी भैरहेको कानूनी प्रकृया अबलम्बन नगरी कानूनले नोटीसमा राख्ने ब्यबस्था नै नगरेको अबस्थामा र पहिले नै वदर मत छुट्याउनु पर्ने कानूनी ब्यबस्था हुँदा हुँदै भैरहेको कानूनी ब्यबस्था पालन नगरी नोटीसमा राख्ने र अन्त्यमा वदर गर्ने कार्य प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्देशिका र मान्य सिद्धान्तको प्रतिकूल रहेको  छ । विपक्षी उजुरकर्ताले सबै उम्मेदवार विच भएको सर्वपक्षीय सहमतीका आधारमा सदर गरिएको मतलाई पनि वदर गर्ने निर्णय गरी उजुरकर्ताको दावी भन्दा वाहिर गई निर्वाचन अदालतले गरेको निर्णय त्रुटीपूर्ण छ । दोहोर्‍याई मतगणना गर्ने निर्वाचन अदालतले फैसलामा घोषणा गरे अनुरुप पनि वास्तविक हिसाव गर्दा विपक्षी उजुरकर्ताको भन्दा मत बढी भै पुनरावेदक नै विजयी भएको देखिन आउने हुँदा विपक्षी प्रकाशचन्द्र लोहनीको भन्दा पुनरावेदकको १ मत घटी देखिएको भनि विपक्षीलाई विजयी घोषित गरीएको मिति ०५७।३।१३ को फैसला बदर हुने स्पष्ट छ भन्ने समेत जिकीर लिई प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।

            २६.   आज निर्णय सुनाउन तोकिएको तारेखमा उपरोक्त बमोजिम विद्वान कानून ब्यबसायीहरुले प्रस्तुत गर्नुभएको वहस जिकीरलाई समेत दृष्टिगत गरी निर्वाचन अदालत पाटनको मिति ०५७।३।१३ को फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदन जीकीर पुग्न सक्ने हो होइन ? भन्ने विषयमा नै निर्णय दिनु पर्ने हुन आएको प्रस्तुत मुद्दामा यस इजलास समक्ष निर्णयार्थ मुख्यत निम्न प्रश्नहरु तर्फ विचार गर्नुपर्ने हुन आएको छ :

१.     उजुरी कर्ताले निर्वाचन अदालत समक्ष कानूनले तोकेको प्रकृया अनुरुप उजुरी पत्र दायर गरेको छ, छैन ?

.    निर्वाचन अदालतबाट के कस्तो अबस्थामा दोहोर्‍याई मतगणना गर्न सकिने हो ? दोहोर्‍याई मतगणना गर्दा सो सम्बन्धमा भएका कानूनी कार्यविधि पालना गर्नु पर्छ कि पर्दैन ? र मतगणना गर्दा मतपत्रहरु नोटीसमा लिन वा राख्न मिल्ने हो, होइन ?

.    मौकामा सर्वदलीय सहमतीबाट समान अबस्थामा रहेका सवै उम्मेदवारका सदर हुने भनि निर्वाचन अधिकृतबाट सदर गरिएका मतपत्रहरु निर्वाचन अदालत वाट वदर गर्न मिल्छ कि मिल्दैन ?

२७.   प्रथमतः कानून बमोजिम उपचार प्राप्तिका लागी अदालतमा प्रवेश गर्न निश्चित कार्यविधि वा प्रकृया अवलम्बन गर्नुपर्ने भनि सम्वन्धित कानूनमा कार्यविधि तोकिएको अबस्थामा त्यस्तो कानून बमोजिमको प्रकृया वाध्यात्मक रुपमा पालना गर्नुपर्ने हुन्छ । यसरी कानूनले तोकेको प्रकृया पूरा नगरी दर्ता हुन आएको उजूरी ग्रहण गरी अदालतवाट भएको सम्पूर्ण काम कारवाही प्रारम्भ देखि नै शुन्य हुन जाने स्पष्ट छ । प्रत्यर्थी उजुरवालाले निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २५() तथा २६(१) समेतका आधारमा सोही ऐनको दफा २०(१) बमोजिमको दावा लिई प्रस्तुत उजुरी पत्र दिएको देखिन्छ । उक्त ऐनमा भएको कानूनी ब्यबस्था अवलोकन गर्दा सो ऐनको दफा २०(१) अनुसार पर्ने उजुरी ऐनको दफा २५() बमोजिम निर्वाचन आयोगवाट तोकिएको अधिकृत मार्फत निर्वाचन अदालतमा दिन सकिने कानूनी ब्यबस्था रहेको देखिन्छ । निर्वाचन अदालत समक्ष उजुरकर्ताले दिएको प्रस्तुत उजुरी पत्र सोही ऐनको दफा २६(१) को हदम्याद भित्र दर्ता गर्न आएको भनि उक्त निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २५() अनुसार निर्वाचन आयोगवाट तोकिएको अधिकृत र नेपाल राजपत्र भाग , खण्ड , अतिरिक्ताङ्क ठद्ध मिति ०५५।११।२४ मा प्रकाशित निर्वाचन आयोगको सूचना नं. मा उल्लेख भए बमोजिम सम्वन्धित जिल्ला न्यायाधिवक्ता वा नीज नभएको अबस्थामा जिल्ला न्यायाधिवक्ता भै काम गर्ने ब्यक्ति मार्फत उजुरी पत्र दर्ता गरी पठाउनु पर्नेमा सो बमोजिम प्रस्तुत उजुरी पत्र दर्ता भै आएको देखिएन । सो ऐनको दफा २८ मा यो ऐन बमोजिम दिइने उजुरी पत्र कानूनको रीत पुगेको नदेखिएमा कुनै कारवाही नहुने ब्यबस्था रहेको समेत देखिएवाट प्रस्तुत उजुरी पत्र निर्वाचन अदालतबाट प्रचलित कानून बमोजिम दर्ता भै हेरी कारवाही किनारा गरेको भन्न मिलेन।

            २८.   प्रत्यर्थी उजुरकर्ताको उजुरी पत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०४७ को दफा ६४ मा उल्लेखित व्यवस्थाका कानूनतः बदर हुने मतपत्रहरु तथा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०५५ को दफा १०९ मा वर्णित बदर गर्नुपर्ने अवस्थाका मतपत्रहरु तथा निर्वाचन आयोगवाट ०५६।१।२८ मा भएको निर्देशनमा बदर गर्नुपर्ने भनि उल्लेखित किसिमका मतपत्रहरु विपक्षी एमालेका उम्मेदवारले प्राप्त गरेको त्यस्तो मतपत्रहरुलाई सदर गरेको र मैले प्राप्त गरेको त्यस्तो मतपत्रहरुलाई बदर हुने भनि असमान ब्यबहार गरेको, गणना भै सकेका मतपत्रहरु अलग अलग खाममा बन्द गरी निर्वाचन अधिकृतले आफ्नो र उम्मेदवार वा नीजको प्रतिनिधि समेतको सहि गराई लाहाछाप लगाउनु पर्नेमा सो नगरी मतगणना स्थलमा मुठाका मुठा त्यस्ता मतपत्रहरु त्यसै राखि त्यस्ता मतपत्रहरु विपक्षी एमालेका उम्मेदवारले प्राप्त गरेको भनि दोहोरो गणना गरेको निर्देशिकाको दफा ११५ उल्लंघन गरेको भन्ने समेत प्रत्यर्थी उजुरकर्ताको उजुरी दावी छ । त्यस्तो उजुरी दावी सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०४७ को दफा ६५(१) बमोजिम निर्वाचन क्षेत्रको मतगणना समाप्त नहुँदै वा समाप्त भएपछि निर्वाचन परिणाम घोषणा हुनुभन्दा पहिले सम्बन्धीत निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधी वा मतगणना प्रतिनिधिले केही वा सवै मतपत्र दोहोर्‍याई गन्ती गराई पाउँ भनि तत्काल निर्वाचन अधिकृत समक्ष कारण सहित निवेदन दिन सक्नेछ भन्ने र ऐ.को उपदफा () मा त्यस्तो निवेदन पर्न आएमा निर्वाचन अधिकृतले तत्कालै दर्ता गरी दोहोर्‍याई मतगणना गर्नुपर्ने देखिएमा दोहोर्‍याई मतगणना गर्न सक्नेछ भन्ने तथा उक्त ऐनको उपदफा () मा दोहोर्‍याई मतगणना गर्नु नपर्ने भएमा सोही ब्यहोराको निर्णय गरी सो स्थानमा उपस्थित रहेका नीज उम्मेदवारका प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई निर्वाचनको परिणाम घोषणा गर्नु भन्दा पहिले सो निर्णयको सूचना दिनु पर्ने ब्यबस्था रहेको पाइन्छ । त्यसरी पूनः मतगणनाको लागि प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०५५ को दफा ११६ ले तोकेको फाराम नं. ५४ बमोजिमका निवेदन दाखिल हुन आएमा निर्वाचन अधिकृतले सो निवेदन तत्काल दर्ता गरी फाराम नं. ५५ बमोजिमको मुचुल्का तयार गरी आफ्नो निवेदन दिने उम्मेदवार वा नीजको प्रतिनिधि मतगणना स्थलमा उपस्थित अन्य उम्मेदवार वा नीजको प्रतिनिधी समेतको सहीछाप गराई पूनः मतगणना गर्नुपर्ने निर्देशिकाको दफा ११ मा समेत कार्यविधि तोकेको पाइन्छ । प्रत्यर्थी उजुरकर्ताले निर्वाचन परिणाम घोषणा हुनु पूर्व मतगणना गरी पाउँ भनि लिखित निवेदन दिएको, निर्वाचन अधिकृतले त्यस्तो उजुरी लिन इन्कार गरेको भनि उजुरी दावी लिनु भएको छ । सो सम्बन्धमा निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत समेतको लिखित जवाफबाट उजुरकर्ताले त्यस्तो उजुरी निवेदन दिन ल्याएको र मौखिक रुपमा सम्म पनि त्यस्तो कुरा कसैले नभनेको भन्ने देखिन्छ । उजुरी दावी बमोजिम मतगणना गर्दा उपरोक्त उल्लेख भए बमोजिम अनियमित र गैरकानूनी तरिकाले मतगणना गरेको भए प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा ११५ र १२० बमोजिम मतगणना समाप्त भएका मुचुल्का फाराम तथा तालीका समेतमा सो कुराको कैफियत जनाई सहिछाप गरेको भनि उजुरी पत्रमा निजको भनाई समेत भएको नदेखिदा मौकामा दिएको लिखित निवेदन निर्वाचन अधिकृतले लिन इन्कार गरेको भन्ने उजुरीकर्ताको कथन पुष्टि हुन आएको देखिएन ।

            २९.   अन्तिम मतदान गरीएको सूर्यमति र वेलकोट मतदान केन्द्रको मतगणना समाप्तीको मुचुल्कामा कैफियत जनाएको र निर्वाचन अधिकृत समक्ष मौकामा उजुरी दिएको भन्ने उजुरकर्ताको सप्रमाण दावी रहेको समेत देखिदैन । उक्त सूर्यमति र वेलकोट मतदान केन्द्रको मतगणना समाप्तीको मुचुल्कामा सही नगरेको, उजुरवाला उम्मेदवार आफूले वैध तरीकाले वहुमत पाएको, बदर हुने मतपत्र बदर नगरेको, बदर नहुने मतपत्र बदर गरेका, कानून बमोजिम सदर हुने मतपत्र सदर नगरेको भनि निर्वाचन (अपराध र सजाँय) ऐन, २०४७ को दफा २०(१) अन्तर्गत दावी लिई निर्वाचन अदालत समक्ष परेको प्रस्तुत उजुरीमा उक्त दफा बमोजिम निर्वाचन अदालतले सोही दफाको उप दफा () बमोजिम दोहोर्‍याई मतगणना गर्न सक्ने भएतापनि उजुरकर्ताले सूर्यमति र वेलकोट मतदान केन्द्रको मतगणना समाप्तिको मुचुल्कामा सहि नगरेको भनेको वाहेक निज उजुरकर्ताले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०४७ र प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०५५ बमोजिम मतगणना मुचुल्कामा कैफियत नजनाई स्वीकारी सहिछाप गरी सकेको स्थितिमा सो मतपत्रहरुका सम्वन्धमा उठाएको विवादमा निर्वाचन अदालतले तथ्ययुक्त आधार प्रमाण वेगर कानून बमोजिम मतगणना गरी सिलवन्दी गरी राखिएका मतपत्रहरु समेत खोली पूनः मतगणना गरेको कानून सम्मत भएको भनि मान्न मिलेन । उपरोक्त उल्लेखित सूर्यमति र वेलकोट समेतको र अन्य मतदान केन्द्रको समेत दोहोर्‍याई मतगणना गर्दा निर्वाचन अदालतलाई कानूनद्वारा छुट्टै प्रकृया अपनाउन पाउने कार्यविधि तोकेको पाइदैन तथा त्यसरी दोहोर्‍याई मतगणना गर्दा निर्वाचन अदालत आफू स्वयंले प्रकृया निर्धारण गर्न पाउने कानूनले अधिकार प्रदान गरेको समेत देखिदैन । निर्वाचन अदालतले दोहोर्‍याई मतगणना गर्ने सम्वन्धमा मिति ०५७० को आदेश बमोजिम ०५७३२ को तारेख तोकी दिएको र सो दिन नभ्याएको भनि पूनः ०५७ को लागी तारेख तोकी पठाई तत्पश्चात ०५७।३।१३ मा निर्वाचन परिणामको घोषणा गर्ने निर्णय गरेको देखिन्छ । निर्वाचनको मतगणना गर्दा सामान्यतया लगातार गणना गर्नुपर्ने सिद्धान्त रहेको पाइन्छ । कुनै विशेष कारण परि त्यस्तो मतगणना कार्य विचैमा रोक्नु पर्ने भएमा कानूनले तोकेको कार्यविधि र प्रकृया अपनाई रोक्नु पर्ने हुन्छ । तर निर्वाचन अदालत पाटनले त्यस्तो प्रकृया अवलम्वन गरेको अबस्था मिसीलबाट देखिएन । यसवाट दोहोर्‍याई मतगणना गर्ने सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, ४७ र प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ बमोजिम तोकेको प्रकृया पालन गरेको भन्ने मिसिलवाट देखिन  आएन ।

०.   दोहोर्‍याई मतगणना गर्दा सम्पूर्ण उम्मेदवारहरुको सहमतिबाट समान अबस्था रहेकोमा सबै उम्मेदवारको मतपत्र सदर हुने भनि निर्वाचन अधिकृतवाट सदर गरी सदर मत पत्रहरुका सम्वन्धमा उजुरकर्ता आफू समेत विवन्धीत हुनु भएको स्पष्ट छ । त्यस्तो मतपत्रहरु समेत दोहर्‍याई मतगणना गरीएको र निर्वाचन अदालतलको फैसला हेर्दा दोहोर्‍याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्र नोटीसमा लिई राखेको निर्णय गर्दाको अबस्थामा सो नोटीसमा लिइएका मतपत्रहरु सदर वदर गरेको देखियो । त्यसरी दोहोर्‍याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्रलाई नोटीसमा लिई सदर वदर गर्न सकिने प्रचलित कानूनमा कुनै ब्यबस्था रहेको समेत पाइदैन । यस्तो कानूनी ब्यबस्थाको अभावमा नोटीसमा लिने भनि मतपत्र सदर बदर गर्ने गरेको निर्वाचन अदालत पाटन ललितपुरको निर्णय कानून सम्मत भन्न नमिलेबाट जिल्ला न्यायाधीवक्ता मार्फत उजुरी गर्नुपर्नेमा निर्वाचन अधिकृत मार्फत उजुरी दिइएको प्रकृया एवं निर्वाचन अदालतबाट गरेको निर्णय प्रकृयामा विवादग्रस्त मतहरु नोटीसमा लिएको र सो मध्ये सदर वदर गर्ने कार्य भएकोमा दोहोर्‍याई मतगणना गर्दा त्यसरी मतपत्रलाई नोटीसमा लिने र सदर वदर गर्ने कानूनी ब्यबस्था स्पष्ट नभएको स्थितिमा निर्वाचन अदालत पाटनको निर्णय फरक पर्ने भनि छलफलको लागि विपक्षी झिकाउने आदेश गर्ने इजलाससित असहमत हुनु पर्ने अवस्था र कारण नदेखिएवाट समेत उपरोक्त प्रकरणहरुमा उल्लेखित आधार कारणवाट निर्वाचन अधिकृत नुवाकोट क्षेत्र न. १ वाट पुनरावेदक राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषीत गरेको निर्वाचन परिणामलाई बदर गरी प्रत्यर्थी उजुरकर्ता प्रकाशचन्द्र लोहनलिाई विजयी घोषित गर्ने गरेको निर्वाचन अदालत पाटनको मिति ०५७।३।१३ को फैसला त्रुटीपूर्ण देखिदा वदर हुने ठहर्छ । पुनरावेदक प्र. ध्रुवप्रसाद अधिकारीको पुनरावेदन तर्फ विचार गर्दा माथि उल्लेख भएका आधार बुँदाबाट निजले सम्पूर्ण निर्वाचन नै  वदर गरी पाउँ भन्ने लिएको पुनरावेदक जिकीर पुग्न सक्दैन । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

                       

 

माथि इन्साफ खण्डमा लेखिए बमोजिम निर्वाचन अधिकृत नुवाकोट क्षेत्र नं.१ बाट पुनरावेदक राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषीत गरेको निर्वाचन परिणामलाई बदर गरी प्रत्यर्थी उजुरकर्ता डा. प्रकाशचन्द्र लोहनीलाई विजयी घोषीत गर्ने गरेको निर्वाचन अदालत पाटन ललितपुरको मिति २०५७।।१३ को फैसला बदर हुने ठहरेकोले प्रत्यर्थी उजुरवाला डा. प्रकाशचन्द्र लोहनीले उजुरी दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोटमा मिति ०५६।१ मा राखेको धरौटी रु १,०००।– (एक हजार रुपैयाँ) निजलाई फिर्ता दिनु पर्ने नहुँदा सो को जनाउ मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोटमा पठाई दिनु ...... १

 

माथि इन्साफ खण्डमा लेखिए बमोजिम निर्वाचन अदालत पाटनको मिति २०५७।।१३ को फैसला बदर हुने ठहरेकोले यो फैसलाको एक एक प्रति प्रतिलिपी साथै राखी फैसलाको जनाउ निर्वाचन आयोग र संसद सचिवालयलाई अबिलम्ब दिनु .... १

दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ..... १

                                                                                                           

उक्त रायमा सहमत छु ।

 

न्या. केदारनाथ आचार्य

 

इति २०५८ साल श्रावण २४ गते रोज ४ शुभम् ........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु