निर्णय नं. ६२१९ - कर्तव्यज्यान ।

निर्णय नं. ६२१९ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
२०५० सालको फौ.पु.नं. ७५६ फौ.सा.नं. २०९
फैसला मिति २०५३।२।७।२
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादी : जिल्ला सर्लाही भक्तपुर गा.वि.स. वडा नं. ७ घर भै हाल कारागार शाखा सर्लाहीमा थुनामा बस्ने रामअसिम महतो कोइरी
विरुद्ध
विपक्षी
वादी : फुलकुमारी महतोको जाहेरीले श्री ५ को सरकार
अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन प्रतिवादीले अदालतमा जे जस्तो झुठो कुरा पनि गर्न सक्ने परिप्रेक्ष्यमा निजहरुको इन्कारी बयानलाई मुद्दाको समुचित तथ्यसँग भिडाएर हेर्नु पर्ने ।
(प्र.नं. १८)
प्रहरीमा गरेको सावितीलाई बरामदी मुचुल्का समेतबाट समर्थित भएको स्थितिमा सो साविती र त्यसबाट स्वाभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने नै देखिने ।
(प्र.नं. १८)
पुनरावेदक तर्फबाट – विद्वान वैतनिक अधिवक्ता श्री मुरली पौडेल
विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ
अवलम्बित नजिर- ×
फैसला
न्या. केदारनाथ उपाध्याय- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
2. मेरो विवाह सुरेश महतोसँग २०४६ साल फाल्गुणमा भएको, २०४७।२।९ गते माइत जाँदा २०४७।२।१५ गते डम्बर बहादुरको मकैवारीमा दाजु मरी रहेको समाचार लिई देवर आएकोले हेर्न जाँदा पति सुरेश महतो मरी सकेको लास देखे ससुरा राम आशिष चरित्रहिन व्यक्ति भएको र पंजावबाट पैसा कमाई नल्याएको रीशमा कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत फुल कुमारीको जाहेरी दरखास्त ।
3. २०४७।२।१४ गतेका दिन विरेन्द्र बजारबाट चामल किनी श्रीमतीलाई घर पठाई ८ बजे तिर म पनि घर आउँदा छोरा सुरेशले पैसा मागी झगडा गरेको देखे । निज सुरेश पहिले देखि नै पैसा कमाई रक्सी खाने गर्दथ्यो । घरमा पैसा दिँदैन थियो । २०४६ सालमा पंजाव गएर आउँदा पैसा नदिएकोले वरावर झगडा भै रहेको थियो । त्यसदिन पैसा कमाए पनि ल्याईनस यहाँ पनि रक्सी मात्र खाई हिड्छस् भनी मैले एक थप्पड दिँदा मलाई आँखामा हिर्काएकोले रीस उठी फुलमा लाग्ने किरा मार्न ल्याएको औषधी श्रीमती पानी लिन गएको मौकामा पस्की राखेको सुरेशको भागमा हालि दिएको । अर्को छोरा रामविहारीले देखेकोले निजलाई चुप लागे भने । भात खाईन र सुरेश बाहिर बसेको अवस्था चक्कर लाग्यो भनी सुरेश आगनमा लडी छटपटाई मरेकोले श्रीमती आई पुग्दा सम्झाई गाउँका देवशरणलाई फसाउन लाश डम्बर बहादुरको मकैवारीमा राखेको भन्ने समेत प्र. रामअशिषले प्रहरीमा गरेको बयान ।
4. पतिको भनाई बमोजिम पतिले भातमा विषादी औषधी हाली सुरेशलाई मारी लास मकैवारीमा फालेको हो भन्ने समेत शिया देवीले प्रहरीमा गरेको बयान ।
5. भाई सुरेशलाई बाबुले खानामा विष हाली दिएको देखि किन यसो गरेको भन्दा रिसाई चुप लाग भनी गाली गरे सोही खाना खाएपछि भाई मरेका हुन् भन्ने रास विहारीले प्रहरीमा गरेको बयान ।
6. किटनाषक औषधी झोल समेत भएको ट्रिफाकाई २० भन्ने सिसी बरामद भने बरामदी मुचुल्का ।
7. राम आषिष खराव चरित्रका मानिस हुँदा निजकै घरपरिवारका मानिस भै विष खुवाई मृतक सुरेशलाई मारेको विश्वास लाग्छ भन्ने समेत सर्जमिन मुचुल्का ।
8. संकलित कागजातबाट आँखामा हिर्काएको तथा पैसा नदिएको समेत रिसमा मृतकलाई राम आशिषले विष हाली मारी फालेको प्रमाणित हुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(२) र मार्ने मतलवमा पसेका सियादेवी र रास विहारीलाई ऐ. का १७(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन अभियोग दावी ।
9. २०४७।२।१४ गते पति राम आशिष २, ३ बजे र म ५, ६ बजे तिर बजार गयौं । फर्कदा छोरा सुरेश बजार जाँदै थिएँ । बेलुका पति घर फर्किए तर छोरा आएनन् । भोलिपल्ट ४ बजे साँझतिर डम्बर बहादुरको मकैवारीमा छोराको लास फेला पर्यो । के भै मर्यो वा कसले मार्यो थाहा छैन । विष हाली मारे मराएको होइन । प्रहरीले आफुखुसी व्यहोरा लेखी सही गराएका हुन् भन्ने समेत शिया देवीले अदालतमा गरेको बयान ।
10. २०४७।२।१४ गते बिरामी हुँदा घर मै छु । दाजु र आमा बजार जाँदा भेट भएको भन्ने सुनेको हुँ । म समेत भै विष हाली मारी लास मकैवारीमा फालेको होइन । प्रहरीले कुटि साविति गराएका हुन् । दाजु सुरेशलाई के भै कसले मारे थाहा छैन भन्ने समेत व्यहोराको रास विहारीले अदालतमा गरेको बयान ।
11. २०४७।२।१४ गते राती मैले छोरालाई विष हाली मारेको होइन । मेरो छोरा विरे बजारबाट रक्सी खाई आई डम्बर बहादुरको बारीमा मरेको अवस्थामा ऐ. १५ गते पाईएको, प्रहरीले कुटपिट गरी डर धाक देखाई सही गराएको हो । गाउँको रिसइवीले सर्जमिनका शंका देखाएका हुन् । मैले तरकारीको किरा मार्ने विष ल्याई परालको टालमा राखेको छैन । बरामदी मुचुल्का झुठ्ठा हो । मैले कसूर नगरेको हुँदा सजाय हुन पर्ने होइन भन्ने समेत प्रतिवादी राम अशिषले अदालतमा गरेको बयान ।
12. प्रतिवादी राम अशिषलाई थुनामा र शियादेवी रासविहारीलाई तारेखमा राखी पुर्पक्ष गर्नु भन्ने २०४७।३।४ मा भएको स.जि.अ. को आदेश ।
13. किटनासक औषधी बयान बमोजिम परालको टालबाट बरामद भएको सर्जमिनले शंका देखिएको प्रहरीमा भएको बयान इच्छा विरुद्ध कुटी सावित गराएको भन्ने प्रमाणित हुन नआएको समेतबाट राम अशिषले मृतकलाई विष हाली मारेकोमा ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वश्व सहित जन्मकैद र अरुले सफाई पाउने ठहर्छ भन्ने समेत सर्लाही जिल्ला अदालतको २०४८।१०।२ को फैसला ।
14. मृतक छोरा पंजाबबाट आए पछि पैसा कमाई नल्याएको रिसइवी रहेको अवस्थामा रक्सी खान पैसा माग्दा रिस उठ्नु स्वभाविकै भएकोले थप्पड हिर्काउँदा छोराले पनि हिर्काए पछि प्रतिशोधको भावना राखी किटनासक औषधी हाली खान दिएको पुष्ट्याई रहेकोमा अदालतमा इन्कार रहने व्यक्तिले आफु निर्दोष भए निर्दोषिताको स्वतन्त्र प्रमाण पेश गरी कसूरबाट सफाई लिनु पर्नेमा त्यसको कुनै प्रमाण पेश गर्न नसकेको अवस्थामा प्रतिवादी राम अशिषलाई ज्यान सम्बन्धीको १३(२) नं. बमोजिम सजाय गरेको जिल्ला अदालत सर्लाहीको निर्णय मुनासिवै देखिँदा साधक सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको फैसला ।
15. प्रमाणहरु नकेलाई निर्दोष व्यक्तिलाई ज्यान जस्तो जघन्य अपराध मुद्दामा सर्वश्व सहित जन्मकैद ठहर गरेको पुनरावेदन अदालत जनकपुरको उक्त फैसला कानूनी त्रुटि पुर्ण भएकोले बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भनी प्रतिवादी राम अशिष महतो कोइरीको यस अदालतमा पुनरावेदन परेको रहेछ ।
16. यसमा मृतक र प्रतिवादी बाबु छोरा भएकोमा विवाद छैन । मृतकको मृत्यु विषको प्रयोगबाट भएको भन्ने लास जाँच प्रतिवेदन र लास जाँच प्रकृति मुचुल्काबाट समेत निश्चित हुन सकेको छैन । प्रहरीमा गरेको साविती बयान स्वतन्त्र प्रमाणबाट समुचित समेत नभएको स्थितिमा प्रतिवादी पुनरावेदकलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई र साधक नं. २०९ समेत साथै राखी पेश गर्नु भन्ने यस अदालतबाट मिति २०५२।१०।१ मा भएको आदेश ।
17. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएको विद्वान वैतनिक अधिवक्ता श्री मुरली पौडेलले पुनरावेदक प्रतिवादी मृतकको बुबा हुन् । पैसा नदिएको कारणबाट बाबुले छोरालाई विष खुवाई मारेको भन्ने विश्वास योग्य छैन । किनकी यति सानो कारणबाट बाबुले छोरालाई मार्यो भन्नु पत्यार लायक छैन । प्रतिवादीले प्रहरीमा गरेको सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको पनि देखिएन । अतः पुनरावेदक प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउनु पर्छ भनी र विपक्षी श्री ५ को सरकार तर्फबाट उपस्थित भएका विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठले विपक्षी प्रतिवादी प्रहरीमा पुर्ण साविती रहेको, बरामदी मुचुल्कालाई अन्यथा प्रमाणित गर्न नसकेको, बरामद भएको किटनासक औषधी निजले राखेको होइन भन्ने भनाईमा सत्यता नभएको साथै सुरु जिल्ला अदालतको फैसला उपर पुनरावेदन नगरी स्वीकार गरी बसेबाट निजले आरोपित कसूर गरेको भन्ने स्वतः प्रमाणित भएकोले उक्त फैसला बदर कायम हुनु पर्छ भनी बहस प्रस्तुत गर्नु भयो ।
18. यसमा पुनरावेदन अदालत जनकपुरको उक्त फैसला मिलेको छ छैन भनी निर्णय तर्फ विचार गर्दा जाहेरवाली मृतकको स्वास्नी र प्रतिवादी राम असिष महतो कोइरीको आफ्नै बुहारी भएकी, निजलाई आफ्नो ससुरा उपर पोल उजुर गरी जाहेरी दरखास्त दिनु पर्ने सम्मको कुनै कारण वा अवस्था देखिँदैन । सो जाहेरी अनुकुल नै निज प्रतिवादी राम असिष र निजका परिवारका अन्य सदस्य प्रतिवादीहरुले प्रहरीमा गरेको बयानको स्पष्टता र विस्तृत चित्रण एवं तदअनुकुल किरा मार्ने विषालु पदार्थ बरामद हुनु र सो पदार्थको वैज्ञानिक परीक्षणबाट समेत विषालु पदार्थ भएको प्रमाणित हुनु जस्ता कुराले प्रतिवादी राम आसिषले प्रहरीमा गरेको बयानको यथार्थतालाई स्थापित गरेको देखिन्छ । अदालतमा प्रतिवादी राम असिष र निजका परिवारका अन्य सदस्यहरुले प्रहरीमा भएको बयानलाई आफ्नो इच्छा विरुद्ध प्रहरीद्वारा गराएको भनिए पनि मिसिलबाट सो कुराको पुष्ट्याई हुन सकेको देखिँदैन । अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन प्रतिवादीले अदालतमा जे जस्तो झुठ्ठो कुरा पनि गर्न सक्ने परिप्रेक्ष्यमा निजहरुको इन्कारी बयानलाई मुद्दाको समुचित तथ्यसँग भिडाएर हेर्नु पर्ने हुन आउँछ । प्रहरीमा गरेको सावितिलाई बरामदी मुचुल्का समेतबाट समर्थित भएको स्थितिमा सो साविती र त्यसबाट स्वभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने नै देखिन्छ । अदालतमा आई बकपत्र गर्ने सेते सार्की र गोपाल दमाईले र्याल भेटिएको ठाउँमा मृतकको र्याल र शरीरबाट निस्केको अन्य पदार्थ समेत खान गएका झिंगा र किराहरु मरेको भनी बकपत्र गरेका छन् । निजहरुको बकपत्रमा उल्लिखित यस तथ्य सम्बन्धमा प्रतिवादी पक्षका कानून व्यवसायीले जिरह गरी अन्यथा मनाउन नसकेको मृतक सुरेश महतो विषको प्रयोगबाट मरेको तथ्य निर्विवाद रुपले प्रमाणित हुन आएको देखिन्छ । यस स्थितिमा प्रतिवादी राम असिष महतो कोइरीले प्रहरीमा गरेको साविति बयान आफ्नो स्वतन्त्र मन मस्तिस्कले गरेको होइन भन्ने नदेखिएकोले सर्लाही जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत जनकपुरले निज प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वश्व सहित जन्म कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी राम असिष महतो कोइरीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीको पुनरावेदनबाट उपरोक्त बमोजिम पुनरावेदन अदालत जनकपुरको इन्साफ जाँचिएकोले साधकको लगत कट्टा गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्बत् २०५३ साल जेष्ठ ७ गते रोज २ शुभम् ।