निर्णय नं. ८६२९ - काठ चोरी निकासी

ने.का.प. २०६८, अङ्क ६
निर्णय नं.८६२९
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
फौ.पु.इ.नं. ०६७– CF– ००२४
फैसला मितिः २०६८।३।३०।५
मुद्दा :– काठ चोरी निकासी ।
पुनरावेदक वादीः रेञ्जर विजयकुमार गुप्ता समेतको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही केरवानी गा.वि.स. वडा नं ६ बस्ने वेलबहादुर थापा मगर समेत
शुरु फैसला गर्ने :–
मा.जि.न्या.श्री रामेश्वरनाथ अमात्य
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री हरिबाबु भट्टराई
मा.न्या.श्री बमकुमार श्रेष्ठ
§ अवैध रुपमा वन पैदावर ओसार–पसार गर्ने कार्यमा सवारीधनी आफू संलग्न पनि नभएको वा अवैध वन पैदावर ओसार–पसार गर्ने निजको मनसाय पनि नभएको तथा आफ्नो सवारी साधन अवैध वन पैदावर ओसार–पसार गर्ने कार्यमा प्रयोग हुँदैछ भन्ने थाहा जानकारी पनि नभएको र त्यस्तो कार्यमा निजको अनुमति, मञ्जूरी वा सहमति रहेको पनि नदेखिएको अवस्थामा निजको सवारी साधन जफत हुनु न्याय वा औचित्य कुनै पनि दृष्टिबाट तर्कसंगत नहुने ।
(प्रकरण नं.८)
§ कानूनको व्याख्या गर्दा सर्वप्रथम कानूनमा प्रयोग भएका शब्द वा शब्दावलीले दिने सामान्य अर्थ सुस्पष्ट, व्यावहारिक, विवेकसम्मत् र न्यायपूर्ण भएसम्म सोही अर्थ ग्रहण गर्नुपर्दछ भन्ने कानून व्याख्याको सामान्य सिद्धान्त रहेको छ । तर कानूनको शाब्दिक व्याख्या गर्दा त्यस्तो तर्कपूर्ण, विवेकसंगत, व्यावहारिक एवं न्यायपूर्ण अर्थ ननिस्कने भएमा शाब्दिक व्याख्याको नियमलाई अनुशरण गर्नु उपयुक्त नहुने ।
§ “कसूर गरेको ठहरिएमा” भन्ने वाक्यांशको आशय वन ऐनअन्तर्गत घटेको कसूर वा वारदातसँग बरामद भएको बोझबाहक साधनको धनीको कुनै तादम्यता नै रहनु नपर्ने भनी व्याख्या गर्न नमिल्ने ।
§ साधनधनी स्वयंको संलग्नतामा वा निजको सहमति, स्वीकृति, मञ्जूरी वा जानकारीमा वन ऐनअन्तर्गतको कसूरमा बोझबाहक साधनको प्रयोग भएको ठहरिएमा त्यस्तो साधन जफत हुनु कानूनसम्मत मात्र नभई न्यायोचित र विवेकसम्मत समेत हुने ।
(प्रकरण नं.११)
पुनरावेदक वादी तर्फबाटः विद्वान् नायव महान्यायाधिवक्ता श्री राजनारायण पाठक तथा विद्वान् उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान् अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल
अवलम्बित नजीरः
अमान्य (Overrule) भएको नजीरः
§ नेकाप २०६६, अङ्क १०, नि.नं. ८२५४, पृष्ठ १७५१
सम्बद्ध कानूनः
§ अ.बं. १२४ नं.
§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख)
§ वन ऐन, २०४९ को दफा ६६
§ लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ र १८
फैसला
न्या.ज्ञानेन्द्रबहादुर कार्कीः यस अदालतको संयुक्त इजलासबाट पूर्व प्रतिपादित सिद्धान्तसँग सहमत हुन नसकेको भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्ने गरी संयुक्त इजलासबाट भएको आदेशानुसार पेश हुनआएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :–
मिति २०६०।४।२५ गते राति म १.०० बजेको समयमा प्राप्त सुराकअनुसार सुनवल ७ ज्यामिरे राजमार्ग ज्यामिरे गाउँभन्दा उत्तर, ज्यामिरे खोल्सी देखि दक्षिण, लोकेश्वर जाने बाटोभन्दा पूर्व ज्यामिरे आवादीदेखि पश्चिम यति चारकिल्लाभित्रको राष्ट्रिय वनमा सालका रुख ढाली टुक्रा बनाई ट्रेक्टरमा लोड गरी निकासी गर्न लाग्दा मद्दत जुटाई पक्राउ गर्न खोज्दा रातिको समय भएकोले ट्रेक्टरबाट गोलिया झार्दा झार्दै लु.१ त ५०१३ नं. को ट्रेक्टर तथा ट्रेक्टरमा लोड भएको कैंयौ सालको गोलिया बरामद गरियो । उक्त ट्रेक्टरमा लोड भएको कैयौं साल काठ चोरी निकासी गराउने काममा सुराकीको काम गर्ने जिल्ला रुपन्देही केरवानी ६ वस्ने रोकाबहादुर थापा मगर १ र निजले सुराकीको कार्यको लागि प्रयोग गरेको हिरो होन्डा स्प्लेन्डर लु.२ प. २६१ नं. को मोटरसाइकल, समेत घटनास्थलमा बरामद गरियो । हामीसँग हतियार नभएकोले रातिको समयमा अन्य अभियुक्तहरूलाई पक्राउ गर्न नसकिएको, पक्राउ परेका मानिस दशी प्रमाण, घटनास्थलका बरामदी मुचुल्का, दशी प्रमाणको भरपाई समेत यसै प्रतिवेदन साथ संलग्न राखी वन ऐन नियमअनुसार कारवाहीको लागि संयुक्त प्रतिवेदन पेश गरेका छौं भनी सुनवल रे.पो.का रेन्जर विजयकुमार गुप्ता समेत जना ११ ले वर्दघाट इलाका वन कार्यालयमा मिति २०६०।४।२६ गते पेश गरेको प्रतिवेदन ।
मिति २०६०।४।२५ गते राति अं.१.०० बजे घटनास्थलमा ट्रेक्टर, काठ, मोटरसाइकल र मानिस जवान १ पक्राउ भई बरामद भएको बरामदी मुचुल्का ।
बरामदी ट्रेक्टर, काठ मोटरसाइकल समेत सशस्त्र वन सुरक्षा क्याम्प वर्डरा नवलपरासीको रे.ह. गणेशबहादुर तामाङ्गले आफ्नो जिम्मा जमानीमा लिएको भरपाई कागज ।
तपाई समेतका कर्मचारीले मिति २०६०।४।२५ गते राति टुर गस्ती गर्दै जांदा सुनवलस्थित ज्यामिरे उत्तरतर्फको राष्ट्रिय वनमा साल काठ ट्रेक्टर, टाली र मोटरसाइकल सहित जिल्ला रुपन्देही केरवानी ६ बस्ने वेलबहादुर थापा मगरलाई पक्राउ गरी यस कार्यालयमा पेश गर्नु भएको द.नं. १८० को प्रतिवेदन सहितको कागजातहरू यसैसाथ छ । व्यहोरा सोही कागजातबाट अवगत गरी अनुसन्धान तहकीकात गरी वन ऐन नियमानुसार मुद्दा दायर गर्नु भन्ने वर्दघाट इलाका वन कार्यालय नवलपरासीको मिति २०६०।४।२६ को पत्रानुसार सुनवल रे. पोष्टका रेन्जर विजयकुमारलाई लेखेको पत्र ।
उक्त राति घटनास्थलमा पक्राउ भएका वेलबहादुर थापा मगरसँग मिति २०६०।४।२६ गते बयान गराउदा तेजु भन्ने बाहुनले मलाई रु.५००।– दिन्छु । नवलपरासी सुनवल ७ ज्यामिरेको वन जंगलमा इन्द्रबहादुर थापा मगरको लु.१.त ५०१३ नं. को ट्रेक्टर टाली काठ लिन गएको छ भन्ने कुरा तेजुले भनेको, उक्त नवलपरासीको जंगलमा सो ट्रेक्टरमा लोड काठ चोरी निकासी कार्यमा मेरो मोटरसाइकलमा तेजु बसी साथमा ज्यामिरे नवलपरासीमा आएको र मोटरसाइकलमा ओहर दोहर गरी आएका थिए । सो स्थानमा अर्को मानिस हरि कुँवर र भीम भन्ने बाहुन समेत जना २ पनि उक्त ट्रेक्टरको काठ चोरी निकासी गर्ने गराउने काममा त्यस ठाउँमा बसेका थिए । म बेलबहादुर थापा मगर र तेजु मोटरसाइकलमा ओहोर दोहोर गरी उक्त ट्रेक्टरको काठ चोरी निकासी गर्ने कार्यमा थियौं । वन कर्मचारीहरूदेखि तेजु हामफाली भागी गएर म बेलबहादुर थापा मगर पक्राउमा परें भन्ने कुरा निजले जि.वन कार्यालय न.प.मा गरेको बयान ।
तेजु शर्मा मेरो घरमा आई तेजबहादुर थापाको लु.१त ५०१३ नं. को ट्रेक्टर टालीमा नवलपरासी ज्यामिरेको जंगलबाट साल काठ ट्रेक्टरमा ल्याउनु छ रु.५००।– दिन्छु भनी निजले भनेकोले नवलपरासी ज्यामिरे जंगलमा काठ चोरी निकासी गर्ने काममा उक्त मितिको राति आएको थिएँ । उक्त रातीमा हरि कुँवर पनि सोही ठाउँमा उक्त ट्रेक्टरबाट काठ चोरी निकासी गर्ने कार्यमा बसेको थियो । वन कर्मचारी देखी म भीम पाण्डे र हरि कुँवर समेत भागेका थियौ । काठ काट्ने मानिसको नाम थर भने तेजु शर्मालाई नै थाहा होला र उक्त ट्रेक्टरबाट काठ चोरी निकासी भई रुपन्देही छोडकी रामनगर २ स्थित स–मिल मोति कुँवर कहाँ जानेवाला थियौं भन्ने तेजुले मलाई भनेकोले थाहा पाएको हुँ भन्ने समेत व्यहोराको मिति २०६०।४।२८ मा प्र. भीम पाण्डेले जिल्ला वन कार्यालय, न.प.मा गरेको बयान ।
मिति २०६०।४।२५ गते राति नवलपरासी ज्यामिरेको वन जंगलबाट साल काठ चोरी निकासी गर्नुछ ट्रेक्टर टाली दिनुस भनी तेजु शर्माले भनेकोले एक ट्रिप काठ बोक्न रु.२५००।– मा भाडा कबुल गराई मेरो लु.१ त ५०१३ को ट्रेक्टर चालक चित्रबहादुर बि.क. लाई भनी पठाएको थिएँ । अर्को दिन मिति २०६०।४।२६ गते मेरो ट्रेक्टर चालक बिहान घर आई ट्रेक्टर र काठ नवलपरासी ज्यामिरेको जंगलमा पक्राउ भयो । म भागी आएको भनी निज चित्रबहादुर बि.क.ले भनेको , काठ कसले काट्यो मलाई थाहा छैन । काठ कटाउने तेजु शर्माले हो । निजलाई नै काट्ने मानिस थाहा होला । काठ कहाँ जाने कुरा मलाई तेजु शर्माले नभनेकोले थाहा छैन भन्ने समेत व्यहोराको प्र.इन्द्रबहादुर थापाले मिति २०६०।४।२९ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६०।४।२५ गते राति अं. १.०० बजेको समयमा सुनवल ७ ज्यामिरे गाउँ राजमार्गको उत्तर जंगलमा ट्रेक्टर टालीबाट काठ चोरी निकासी गरेको अवस्थामा वन कर्मचारीहरू ट्रेक्टरलाई पिच्छा गर्दै जाँदा ट्रेक्टर चालक र अन्य मानिस भागी गएका लु.१ त ५०१३ नं. को ट्रेक्टर काठ बेलबहादुर थापा मगर १ र लु २ प २६१ नं. को हिरो होण्डा स्पेलेन्डर मोटरसाइकल समेत फेला पारी बरामद भएको अन्य को को थिए सो वारेमा पक्राउ परेका मानिसहरूबाट सोधेमा थाहा हुन्छ । काठ कहाँ जानेवाला थियो सो बारेमा मलाई थाहा छैन । यस बारेमा पक्राउमा परेका व्यक्तिहरूसँग सोधेमा थाहा हुनेछ भन्ने समेत व्यहोराकोसुनवल ७ ज्यामिरे गाउँ बस्ने उदय गुरुङ्गले मिति २०६०।५।२९ गते व्यहोरा उल्लेख गरेको तथा अन्य सरजमिनका मानिसहरूले पनि एउटै किसिमको व्यहोरा उल्लेख गरेको सर्जमिन मुचुल्का ।
मिति २०६०।४।२५ गतेको राति भीम पाण्डे, इन्द्रबहादुर थापा मगर, तेजु शर्मा, हरि कुँवर, ट्रेक्टर चालक चित्रबहादुर बि.क., तेजबहादुर थापा र मोतिबहादुर समेतको मिलोमतो र सहभागितामा अवैध रुपमा राष्ट्रिय वन जंगलबाट साल काठ ट्रेक्टरमा लोड गरी चोरी निकासी गर्दै गरेको अवस्थामा प्रतिवादीहरू पक्राउ भएका र अन्य जना ५ फरार भएका ट्रेक्टर काठ र मोटरसाइकल समेत बरामद गरिएको देखि रहेको र उक्त कार्यमा प्र.वेलबहादुर थापा मगरले उल्लिखित कसूरदारलाई प्रोत्साहन दिने र मिलोमतो काम गरेको देखिँदा प्रतिवादी भीम पाण्डे, इन्द्रबहादुर थापा, मोतिबहादुर क्षेत्री समेतले गरेको उल्लिखित कार्य वन ऐन २०४९ को दफा ४९ को देहाय (घ) र (ङ) को कसूर गरेको पुष्टि हुँदा निजहरू जना ७ लाई सोही ऐनको दफा ५०(१)(घ) को देहाय (४) बमोजिम बरामद साल काठ थान ६ को ६०.३२ क्यु फीटको विगो रु.१२०६४।– नोक्सानी समेत गरेबापत कारवाही एवं सजाय गरिपाउन, प्रतिवादीमध्येको वेलबहादुर थापा मगरलाई ऐे ऐनको दफा ५४ बमोजिम सजाय हुन, बरामद काठ साल ६०.३२ क्यू फीट ऐ. ऐनको दफा ५०(१)(घ) बमोजिम जफत गरिपाउन तथा बरामद लु.१ त ५०१३ नं. को ट्रेक्टर उक्त काठ ओसार–पसार गरेको ट्रेक्टरको हकमा रु.१०,०००।– भन्दा बढी विगो भएको सोही ऐनको दफा ६६ अनुसार जफत गरी पाउनका लागि प्र.वेलबहादुर, इन्द्रबहादुर र भीम पाण्डे समेतलाई यसै साथ पेश गरेको, फरार तेजु शर्मा, हरि कुँवर, चित्रबहादुर, तेजबहादुर, मोतिबहादुरलाई आदलतबाटै म्याद जारी गरी वन ऐन, २०४९ को दफा ४९ को (घ) र (ङ) को कसूरमा सोही ऐनको दफा ५०(१) (घ) (४) बमोजिम सजाय गरी पाउन अनुरोध छ भन्ने समेत व्यहोराको अभियोगपत्र ।
मिति २०६०।४।२५ गते राति ८।९ बजेतिर म खैरेनीमा नास्ता खाएर घर जादै गर्दा बाटोमा वन कर्मचारीले पक्राउ गरी ल्याएका हुन् किन पक्राउ गरे मलाई थाहा भएन । त्यहाँबाट पक्राउ गरी वनतिर लगि कुटपीट गरेका हुन । पछि बनबाट काठ चोरी ल्याएको भनी भनेका हुन् । सो चोरी कार्य गरेको होइन । मैले दावी अनुसार कुनै कसूर अपराध गरेको नहूँदा झूठा दावीबाट फुर्सद पाऊँ भन्ने प्र.बेलबहादुर थापाले शुरु अदालतमा गरेको बयान ।
२०६०।४।२५ गते दिन रात म बुटवल जेठानको घरमा बसेको थिएँ । चित्रबहादुरलाई ट्रेक्टर लिएर ढुङ्गा लिन पठाएको थिएँ । चित्रबहादुर मेरो ड्राइभर हो । उसले के कसो गरेको कुरा मलाई थाहा भएन । मैले वन पैदावार चोरी निकासी गरे गराएको होइन । मेरो उपरको दावी झूठा हो । झूठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्र.इन्द्रबहादुर थापाले शुरु अदालतमा गरेको बयान ।
मिति २०६०।४।२५ गते दिन रात म मेरै घरमा थिएँ । साँझ खैरेनी भन्ने ठाउँमा हरि कुँवर र वेलबहादुरसंग साढे ७ बजेतिर भेट भई मोटरसाइकलबाट त्यहीं साथीहरू छोडेर घर गएको हुँ । मलाई खैरेनी चौराहाबाट चिया दुकान र साहूको पसलबाट पक्राउ गरी ल्याएका हुन् । म सो दिन मेरै घरमा थिएँ । काठ चोरी निकासी गर्ने क्रममा म संलग्न छैन । घटना घटे नघटेको कुरा मलाई थाहा भएन । म निर्दोष हुनाले मेरा उपरको दावी झूठा हो । झूठा दावीबाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.भीम पाण्डेले शुरु अदालतमा गरेको बयान ।
मिति २०६०।४।२५ गतेका राति अं. १ बजेको समयमा म बृद्ध अवस्थाको मानिस हुँदा उक्त मिति र समयमा म घरमा नै सुतेको थिएँ । मेरा नाउँको लु. १ त ५०१३ नं. को ट्रेक्टरबाट मेरो समेत संलग्नतामा काठ चोरी गरे गराएको समेत होइन । मेरा उपरको दावी झूठा हुनाले झूठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.तेजबहादुर थापाले शुरु अदालतमा गरेको बयान ।
प्रतिवादी तेजु शर्मा, हरि कुँवर, चित्रबहादुर र मोतिबहादुर म्यादमा हाजिर नभई गुजारी बसेको ।
आदेशानुसार बरामदी मुचुल्काको निर्जला अर्याल, गोपाल रायमाझी, प्र. तेजबहादुरको साक्षी शेरबहादुर, बेलबहादुरको साक्षी कृष्णप्रसाद शर्माको बकपत्र भई मिसिल संलग्न रहेको ।
प्रतिवादीहरूको अदालतमा भएको ईन्कारी बयान, निजहरूको अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान स्वतन्त्र रुपमा कसूर गरेकोमा पुष्टि हुन नसकेको अवस्था तथा वादीका साक्षीहरूको वकपत्र भनाई समेतबाट प्रतिवादीहरू बेलबहादुर थापा मगर, भीम पाण्डे, तेजु शर्मा, हरि कुँवर, मोतीबहादुर, ट्याक्टर धनी तेजबहादुर तथा इन्द्रबहादुरले अभियोग माग दावीबाट सफाइ पाउने र प्रतिवादी भीम पाण्डेले तारेख गुजारेको देखिदा निजको धरौट जफत हुने तथा काठ र ट्रेक्टरबाट बरामद भएको र सो ट्रेक्टर चालक चित्रबहादुरले हाँकेको मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन आएको र निज चालक चित्रबहादुर फरार रहेको र आफ्नो निर्दोषिताको कुनै प्रमाण पनि पेश गर्न नसकेको कारण निज चालक चित्रबहादुरलाई वन ऐन २०४९ को दफा ५०(१) (घ) को देहाय ४ अनुसार विगोको दोब्बर जरीवाना गरी १ महिना कैद समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०६२।२।१२ को फैसला ।
प्रतिवादी वेलबहादुर थापा मगर र भीम पाण्डेको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयान, प्र. बेलबहादुर काठ बरामदी मुचुल्कामा रोहवरमा बसेका, बुझिएका गोपाल रायमाझीले अदालतमा आई गरेको बकपत्रको वास्तै नगरी प्रतिवादी तेजु शर्मा, हरि कुँवर, मोतिबहादुर राना अदालतबाट जारी भएको म्यादमा हाजिरै नभई बसेका र निजहरू उपर प्र. बेलबहादुर समेतले वारदातमा सहभागी भएको भनी उल्लेख गरेको बयान कागज, प्र. इन्द्रबहादुरले प्र. चित्रबहादुरलाई काठ लिन भनी आफ्नो ट्याक्टर सहित पठाएको भनी अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानको पनि विचारै नगरी फरार चित्रबहादुर बि.क.लाई अभियोग माग दावीबमोजिम सजाय नगरी र वन ऐन २०४९ को दफा ६६ को पनि विचारै नगरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा सच्याई इन्साफ दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी इन्द्रबहादुरको बयानको आधारमा फरारी प्रतिवादी चित्रबहादुरलाई सजाय भएको तथा अनुसन्धान अधिकारी समक्ष कसूर स्वीकार गर्नेलाई समेत सफाइ दिएको तथा अवैध काठ ओसार–पसार गर्ने ट्याक्टर जफत नगरेको शुरुको फैसला नमिली फरक पर्न सक्ने देखिदा छलफलको लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६२।९।१७ गतेको आदेश ।
यसमा प्रतिवादी भीम पाण्डे र इन्द्रबहादुर थापा समेतले कसूर गरेको ठहर गर्नु पर्नेमा सो नगरेको हदसम्म नवलपरासी जिल्ला अदालतबाट मिति २०६२।२।१२ मा भएको फैसला केही उल्टी भई निज प्रतिवादी भीम पाण्डे र इन्द्रबहादुर थापालाई समेत वन ऐन २०४९ को दफा ५०(१)(घ), (४) बमोजिम विगोको दोब्बर जरीवाना हुने ठहर्छ । सो वाहेक अन्य कुरामा शुरुको फैसला मिलेकै देखिदा वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत बुटवलको फैसला ।
प्रतिवादी तेजबहादुर थापा आफू उपरको कसूर स्वीकार गरी अदालतको म्यादमा समेत हाजिर नभई बसेको अवस्थामा निजलाई अभियोग दावीबाट सफाइ दिने गरी र वन ऐन २०४९ को दफा ६६ मा विगो रु.१०,०००।– भन्दा बढी मोलपर्ने अवैध वन पैदावार ओसार–पसार गर्न प्रयोग भएको सवारी साधन जफत गर्नुपर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था भएकोमा अवैध काठ ल्याउन प्रयोग भएको ट्याक्टर जफत नगरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएको हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरी बोझ बाहक ट्याक्टर समेत जफत गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा मुलुकी ऐन अ.वं. १२४ नं. ले तारिख गुजारी बसेका प्रतिवादीको धरौटी जफत नगरेको र अवैध काठ ढुवानी गर्ने ट्रक जफत नगर्ने गरेको तथा फरार रहेका प्रतिवादीहरूलाई समेत सफाइ दिने गरी भएको पुनरावेदन अदालत बुटवलको मिति ०६३।८।२३ को फैसला फरक पर्न सक्ने देखिंदा प्रत्यर्थी झिकाउनु भन्ने यस अदालतको आदेश ।
यसमा प्रतिवादी भीम पाण्डे र इन्द्रबहादुरलाई फैसलाको ठहर खण्डमा विगोको दोब्बर जरीवाना हुने उल्लेख गरी तपसील खण्डमा विगो रु.१२०६४। मात्र जरीवाना गर्ने उल्लेख भएको नमिलेको भन्ने पुनरावेदन जिकीरतर्फ विचार गर्दा प्रतिवादीहरूले ६०.३२ क्यु. फीटको विगो रु.१२०६४। नोक्सानी गरेको भन्ने अभियोग दावीबाट देखिन्छ । यी प्रतिवादीहरू मध्ये इन्द्रबहादुरले अदालतसमक्ष बयान गर्दा कसूरमा इन्कार रहेको भए पनि निजले काठ ओसार्न प्रयोग गरेको ट्रेक्टर चित्रबहादुरले हाँकी लगेको भन्ने तथ्यलाई स्वीकार गरेको देखिन्छ । अर्का प्रतिवादी भीम पाण्डेले पनि अदालतसमक्षको आफ्नो बयानमा कसूरमा इन्कार रहेको देखिन्छ । तर निजले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानमा चोरीको अवैध काठ ट्याक्टरमा लोड गरेको र वन कर्मचारीले देखेपछि भागेको भन्ने तथ्यलाई भने स्वीकार गरेको देखिन्छ । निजले उक्त व्यहोरा आफ्नो इच्छाविपरीत जवरजस्ती भन्न लगाएको भन्ने जिकीर पनि नलिएको र त्यस्तो तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको अवस्था पनि देखिंदैन । यस स्थितिमा यी प्रतिवादीहरूलाई कसूरदार कायम गरी विगोको दोब्बर जरीवाना गरी दुवै प्रतिवादीलाई आधा आधा जरीवाना असूलउपर गर्ने भनी गरेको पुनरावेदन अदालत बुटवलको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन ।
प्रतिवादी भीम पाण्डेको हकमा निजले शुरुमा तारिख गुजारेको अवस्थामा पूरै धरौटी जफत गर्नु पर्नेमा धरौटीबाट लागेको जरीवाना कट्टा गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने पुनरावेदन जिकीर सम्वन्धमा विचार गर्दा यी प्रतिवादीलाई शुरु जिल्ला अदालतवाट १५,०००।– धरौट माग गर्ने गरी मिति ०६०।५।१२ मा आदेश भएबमोजिम निजले धरौटी दाखिला गरी अदालतबाट तोकिएको समय र स्थानमा उपस्थित नभएमा उक्त धरौटी रकम जफत भएमा मञ्जूर छ भनी अ.वं. १२४क नं. बमोजिम कागज गरेको मिसिलबाट देखिन्छ । निजले शुरु नवलपरासी जिल्ला अदालतबाट मिति ०६०।७।२५ मा तोकी पाएको तारिख गुजारी बसेको मिसिलबाट देखिएको अवस्थामा निजले राखेको धरौटी अ.वं. १२४ नं. बमोजिम पूरै जफत गर्नु पर्नेमा सो नगरी निजलाई लागेको जरीवाना कट्टा गरी रु.३,३८६।– मात्र जफत गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी हुने ठहर्छ ।
जहाँसम्म वन ऐन २०४९ को दफा ६६ बमोजिम दश हजारभन्दा बढी मोल पर्ने अवैध वन पैदावार ओसार–पसार गर्न प्रयोग भएको वोझ वाहक सवारी साधन जफत गर्नु पर्नेमा सो नगरेको हदसम्म पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने पुनरावेदन जिकीर छ सो सम्वन्धमा विचार गर्दा पक्राउ परेको अवैध काठको साथमा लु.१ त ५०१३ नं. को ट्रेक्टर समेत बरामद भएको भन्नेमा विवाद देखिंदैन । उक्त ट्रेक्टर प्रतिवादी तेजबहादुरको नाउँमा दर्ता भएको भन्ने देखिन्छ । सो ट्रेक्टर, ट्रेक्टर धनी प्रतिवादी तेजबहादुरको मञ्जूरी तथा सहमतिले अवैध काठ ओसार–पसार गर्नमा प्रयोग भएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिंदैन । अर्कोतर्फ यी सवारीधनी तेजबहादुरले आरोपित कसूर गरेको मिसिल संलग्न सबूद प्रमाणबाट पुष्टि नभएको भनी निजले वादी दावीबाट सफाइ पाएको अवस्था समेत रहेको छ । कुनै पनि व्यक्तिको सम्पत्ति निजको मञ्जूरी विना वा निजलाई थाहा जानकारी नदिई वा एउटा प्रयोजनको लागि भनी लगेर अर्कै प्रयोजनको लागि कसैले प्रयोग गर्दछ भने त्यस्तो सम्पत्तिको धनीलाई आफ्नो सम्पत्तिवाट बञ्चित गर्ने गरी निर्णय गर्नु न्यायोचित देखिंदैन । यसरी सवारीधनीको जानकारी र अनुमति बिना नै ट्रेक्टर अवैध काठ ओसार–पसार गर्नमा प्रयोग भएको र यी ट्रेक्टरधनीउपर लागेको अवैध काठ ओसार–पसार गरेको भन्ने अभियोग प्रमाणित नभएको अवस्थामा निजको सवारी साधन जफत हुनुपर्छ भन्ने वादीको पुनरावेदन जिकीर मनासिव देखिएन ।
विद्वान् उपन्यायाधिवक्ताले बहसको क्रममा पेश गर्नु भएको पुनरावेदक वादी नेपाल सरकार विरुद्ध ताराप्रसाद देवकोटा समेत प्रत्यर्थी भएको (नेकाप २०६६, नि.नं.८२५४) मुद्दामा वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुन्छ भनी सवारीधनीको मञ्जूरी र सहमति विना पनि अवैध काठ ओसार–पसारमा सवारी साधन प्रयोग हुनु नै सो सवारी साधन जफत गर्न पर्याप्त आधार हुने भनी सवारी साधन जफत गर्ने यस अदालतको संयुक्त इजलासबाट मिति ०६६।६।२६ मा प्रतिपादित सिद्धान्तसँग यो इजलास सहमत हुन सकेन । तसर्थ, सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ (१) (ख) अनुसार प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।१०।४ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सम्पूर्ण मिसिल अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् नायव महान्यायाधिवक्ता श्री राजनारायण पाठक तथा विद्वान् उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले पुनरावेदक वादी नेपाल सरकार विरुद्ध ताराप्रसाद देवकोटा समेत प्रत्यर्थी प्रतिवादी भएको मुद्दा (नेकाप २०६६ नि.नं.८२५४) मा अवैध रुपमा वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य कार्यमा सवारी साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा सवारी साधन प्रयोग भएको तथ्य स्थापित हुनु नै त्यस्तो सवारी जफत हुने आधार बन्दछ भनी प्रतिपादित सिद्धान्त वन ऐन, २०४९ को दफा ६६ को शब्द र भावनाअनुकूल रहेको हुँदा उक्त सिद्धान्त सदर कायम हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादी बेलबहादुर थापा मगर र तेजबहादुर थापाका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेलले सवारीधनीको संलग्नता वा निजको सहमति, जानकारी वा मञ्जूरी समेत केही नभएको अवस्थामा जुनसुकै तबरबाट अवैध वन पैदावर ओसार–पसार गर्ने कार्यमा प्रयोग हुन पुगेको सवारी साधन स्वतः जफत हुने भनी पुनरावेदक वादी नेपाल सरकार विरुद्ध ताराप्रसाद देवकोटा समेत प्रत्यर्थी प्रतिवादी भएको मुद्दामा प्रतिपादित सिद्धान्त न्यायपूर्ण छैन भनी बहस गर्नुभयो ।
यसमा प्रतिवादीहरू भीम पाण्डे, इन्द्रबहादुर थापा मगर, तेजु शर्मा, हरि कुँवर, चित्रबहादुर वि.क., तेजबहादुर थापा र मोतिबहादुर क्षेत्रीलाई वन ऐन, २०४९ को दफा ४९ को देहाय (घ) र (ङ) को कसूरमा ऐ.को दफा ५०(१)(घ) को देहाय (४) बमोजिम र प्रतिवादी बेलबहादुर थापा मगरलाई उक्त ऐनको दफा ५४ बमोजिम सजाय गरी बरामद भएको लु.१ त ५०१३ नं. को ट्रयाक्टरसमेत ऐ. ऐनको दफा ६६ बमोजिम जफत गरिपाऊँ भन्ने अभियोग मागदावी रहेकोमा शुरु नवलपरासी जिल्ला अदालतबाट प्रतिवादीहरू बेलबहादुर थापा मगर, भीम पाण्डे, तेजु शर्मा, हरि कुँवर, मोतिबहादुर क्षेत्री, तेजबहादुर थापा र इन्द्रबहादुर थापालाई अभियोग मागदावीबाट सफाइ दिने र प्रतिवादी चित्रबहादुर वि.क. लाई अभियोग मागदावीबमोजिम वन ऐन, २०४९ को दफा ५०(१)(घ) को देहाय (४) बमोजिम सजाय गरी तारेख गुजार्ने प्रतिवादी भीम पाण्डेले राखेको धरौटसमेत जफत गर्ने गरी मिति २०६२।२।१२ मा फैसला भएको देखिन्छ ।
शुरु नवलपरासी जिल्ला अदालतको उक्त फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा पुनरावेदन अदालत बुटवलबाट प्रतिवादी भीम पाण्डे र इन्द्रबहादुर थापालाई अभियोग माग दावीबमोजिम कसूरदार ठहर गर्नुपर्नेमा नगरेको हदसम्म शुरु फैसला केही उल्टी गरी निज प्रतिवादीहरू भीम पाण्डे र इन्द्रबहादुर थापालाई वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम विगोको दोब्बर जरीवाना गर्ने र सोबाहेक बरामद ट्रयाक्टर जफत नगर्नेलगायतको शुरु फैसला सदर गर्ने ठहर गरी मिति २०६३।८।३ मा फैसला भएको देखिन्छ ।
२. पुनरावेदन अदालत बुटवलको उक्त फैसलामा प्रतिवादी भीम पाण्डे र इन्द्रबहादुर थापालाई विगोको दोब्बर जरीवाना गर्ने भनी ठहर खण्डमा उल्लेख गरे पनि तपसील खण्डमा सो नगरेको र प्रतिवादी भीम पाण्डेले तारेख गुजारेतर्फ धरौट रकम पूरै जफत गर्नुपर्नेमा सो जफत नगरी जरीवाना कट्टा गरेको तथा अवैध काठ ओसार–पसार गर्न प्रयोग गरेको सवारी साधन जफत नगरेको समेत मिलेको छैन भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन दायर भएको र निर्णयार्थ यस अदालतको संयुक्त इजलासमा पेश भएकोमा संयुक्त इजलासबाट शुरु अदालतमा तारेख गुजार्ने प्रतिवादी भीम पाण्डेको धरौटी रकम रु.१५०००।– अ.बं. १२४ नं. बमोजिम पूरै जफत गर्नुपर्नेमा नगरी निजलाई लागेको जरीवाना कट्टा गरी बाँकी रु.३३८६।– मात्र जफत गर्ने गरेको हदसम्म पुनरावेदन अदालत बुटवलको फैसला नमिलेको हुँदा सो हदसम्म उक्त फैसला केही उल्टी हुने ठहर्छ भन्ने ठहर फैसला भई अवैध वन पैदावर ओसार–पसार गर्ने कार्यमा प्रयोग भएको सवारी साधन जफत गर्ने सम्बन्धमा पुनरावेदक वादी नेपाल सरकार वि. ताराप्रसाद देवकोटासमेत भएको मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।६।२६ मा प्रतिपादन भएको सिद्धान्त (नेकाप २०६६, नि.नं. ८२५४) सँग सहमत हुन नसकेको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलाससमक्ष पेश गर्नु भनी भएको आदेशानुसार यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा बरामद भएको लु.१.त ५०१३ नं. को ट्रयाक्टर समेत जफत हुनुपर्दछ भन्ने पुनरावेदन जिकीरको सम्बन्धमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।१०।४ मा फैसला हुँदा “उक्त ट्रेक्टर प्रतिवादी तेजबहादुरको नाउँमा दर्ता भएको भन्ने देखिन्छ । सो ट्रेक्टर, ट्रेक्टर धनी प्रतिवादी तेजबहादुरको मञ्जूरी तथा सहमतिले अवैध काठ ओसार–पसार गर्नमा प्रयोग भएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिंदैन । अर्कोतर्फ यी सवारीधनी तेजबहादुरले आरोपित कसूर गरेको मिसिल संलग्न सबूद प्रमाणबाट पुष्टि नभएको भनी निजले वादी दावीबाट सफाइ पाएको अवस्था समेत रहेको छ । कुनै पनि व्यक्तिको सम्पत्ति निजको मञ्जूरी विना वा निजलाई थाहा जानकारी नदिई वा एउटा प्रयोजनको लागि भनी लगेर अर्कै प्रयोजनको लागि कसैले प्रयोग गर्दछ भने त्यस्तो सम्पत्तिको धनीलाई आफ्नो सम्पत्तिवाट बञ्चित गर्ने गरी निर्णय गर्नु न्यायोचित देखिंदैन । यसरी सवारीधनीको जानकारी र अनुमतिबिना नै ट्रेक्टर अवैध काठ ओसार–पसार गर्नमा प्रयोग भएको र यी ट्रेक्टर धनीउपर लागेको अवैध काठ ओसार–पसार गरेको भन्ने अभियोग प्रमाणित नभएको अवस्थामा निजको सवारी साधन जफत हुनु पर्छ भन्ने वादीको पुनरावेदन जिकीर मनासिव देखिएन । विद्वान् उपन्यायाधीवक्ताले बहसको क्रममा पेश गर्नु भएको पुनरावेदक वादी नेपाल सरकार विरुद्ध ताराप्रसाद देवकोटा समेत प्रत्यर्थी भएको (नेकाप २०६६, नि.नं.८२५४) मुद्दामा वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुन्छ भनी सवारीधनीको मञ्जूरी र सहमति विना पनि अवैध काठ ओसार–पसारमा सवारी साधन प्रयोग हुनु नै सो सवारी साधन जफत गर्न पर्याप्त आधार हुने भनी सवारी साधन जफत गर्ने यस अदालतको संयुक्त इजलासबाट मिति ०६६।६।२६ मा प्रतिपादित सिद्धान्तसँग यो इजलास सहमत हुन सकेन । तसर्थ, सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (ख) अनुसार प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेश गर्नु” भन्ने आदेश भई यस इजलाससमक्ष पेश हुनआएको अवस्था हुँदा यस अदालतको संयुक्त इजलासबाट नि.नं. ८२५४ को उक्त मुद्दामा प्रतिपादित सिद्धान्तमा केन्द्रीत भई सो सिद्धान्त कायम रहनसक्ने हो वा होइन भन्ने प्रश्न सम्म यस इजलासबाट निरोपण गर्नुपर्ने देखिन आएको छ ।
४. सोसम्बन्धमा सर्वप्रथम वन ऐन, २०४९ को दफा ६६ को प्रावधान अध्ययन गर्नु आवश्यक देखिन्छ । वन ऐन, २०४९ को दफा ६६ मा निम्न प्रावधान रहेको छ :–
बरामद भएको माल वस्तु जफत हुने : यो ऐनबमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा कसूरमा बरामद भएका सबै बोझबाहक, औजार, चौपाया र अन्य साधनहरू जफत हुनेछन् ।
तर विगो दशहजार रुपैयाँभन्दा कम्ती मोल पर्ने वन पैदावर लादी ल्याउने ट्रेक्टर, ट्रक, लहरी, मोटर र अन्य सवारी साधनको हकमा त्यस्तो सवारी साधन जफत नगरी उक्त कार्य गर्नेलाई अन्य दफाले हुने सजायमा दश हजार रुपैयाँसम्म थप सजाय हुनेछ ।
५. वन ऐन, २०४९ को दफा ६६ को उपरोक्त कानूनी प्रावधानको व्याख्या गर्दै पुनरावेदक वादी नेपाल सरकार र प्रत्यर्थी प्रतिवादी ताराप्रसाद देवकोटासमेत भएको सालको अवैध चिरान काठ ओसार–पसार मुद्दा (नेकाप २०६६, माघ, नि.नं. ८२५४, पृष्ठ १७५१) मा यस अदालतको संयुक्त इजलासबाट देहायबमोजिम सिद्धान्त प्रतिपादन भएको देखिन्छः–
वन पैदावर ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुन्छ । वन ऐन, २०४९ को दफा ६६ मा भएको व्यवस्था हेर्दा “यो ऐनबमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा कसूरमा बरामद भएको सबै बोझबाहक, औजार, चौपाया र अन्य साधनहरू जफत हुनेछन् तर विगो दश हजार रुपैयाँभन्दा कम्ती मोल पर्ने वन पैदावर लादी ल्याउने ट्रेक्टर, ट्रक, लहरी, मोटर र अन्य सवारी साधनको हकमा त्यस्तो सवारी साधन जफत नगरी उक्त कार्य गर्नेलाई अन्य दफाले हुने सजायमा दश हजार रुपैयाँसम्म थप सजाय हुनेछ” भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा विगो रु.६५,६७६।– कायम भएको र उक्त दफामा भएको व्यवस्थाबमोजिम रु.१०,०००।– भन्दा माथि विगो कायम भएपछि काठ ओसार–पसार गर्ने कार्यमा प्रयोग भएको सवारी साधन जफत गर्नुपर्ने हुन्छ । ऐनले नै रु.१०,०००।– भन्दा माथिको विगोमा प्रयोग भएको बोझबाहक साधन जफत गर्नुपर्ने व्यवस्था गरेकोले त्यसमा अदालतले स्वविवेक प्रयोग गरी जफत नहुने गरी ठहर गर्न मिल्दैन ।
६. यस अदालतको संयुक्त इजलासबाट प्रतिपादित उपरोक्त सिद्धान्त हेर्दा अवैध तवरबाट वन पैदावार ओसार–पसार गर्ने कार्यमा प्रयोग भएको सवारी साधन सम्बन्धित धनीको थाहा, जानकारी, मञ्जूरी वा सहमति वा संलग्नता विना नै जोसुकैले जुनसुकै तवरबाट प्रयोग गरेको भए पनि त्यस्तो सवारी साधनले ओसार–पसार गरेको वन पैदावर अवैध भएको तथ्य र सो वन पैदावारको विगो रु.१०,०००।– वा सोभन्दा बढी रहेको भन्ने दुईवटा तथ्य स्थापित भएपछि निरपेक्ष रुपमा त्यस्तो सवारी साधन जफत हुन्छ भनी वन ऐन, २०४९ को दफा ६६ को कानूनी व्यवस्थाको व्याख्या गरेको देखिन्छ । उक्त व्याख्या गर्दा संयुक्त इजलासले सवारी साधन प्रयोग गर्ने विषयमा सम्बन्धित सवारीधनीको संलग्नता, वा इच्छा, चाहना, मनसाय, सहमति वा स्वीकृति हुनु वा नहुनुको कुनै अर्थ नै नरहने उल्लेख गर्दै सम्बन्धित सवारीधनीको आपराधिक कार्य (Actus reus) र आपराधिक मष्तिस्क (Mens rea) विना नै निजउपर आपराधिक दायित्व सिर्जना गर्ने गरी फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत वन ऐन, २०४९ को दफा ६६ को उक्त प्रावधानको व्याख्या गरेको देखिन आउँछ ।
७. यस परिप्रेक्ष्यमा सम्बन्धित सवारीधनी वा सवारी साधन प्रयोगकर्ताको निर्दोषिता वा तथ्यगत अज्ञानता सन्निहित रहने केही शाश्वत अवस्थाहरूको प्रसंग उल्लेख गर्नु सान्दर्भिक देखिन्छ जसतर्फ संयुक्त इजलासको ध्यान पुग्न सकेको देखिन आउँदैन । त्यस्ता अवस्थाहरूमा सवारी साधन चोरी वा लुटपाट भई तेस्रो पक्षबाट गैरकानूनी कार्यमा प्रयोग हुनसक्ने अवस्था तथा सवारी साधन सार्वजनिक परिवहनको साधनको रुपमा प्रयोगमा रहेको अवस्था भई सवारीधनी एवं सवारी साधन जिम्मा लिने व्यक्तिको आपराधिक मनसाय नहुँदा नहुँदै पनि कुनै रुपमा सवारी साधनमा कानूननिषिद्ध बस्तु रहनसक्ने जस्ता अवस्थाहरू पर्न सक्तछन् ।
८. वन पैदावर अवैध रुपमा ओसार–पसार गर्ने कार्यमा सवारीधनी स्वयं संलग्न भएको अवस्थामा वा निज आफू संलग्न नभएको भए पनि आफ्नो सवारी साधनमा अवैध वन पैदावर ओसार–पसार हुँदैछ भन्ने थाहा पाई वा सो कुरा जानीजानी आफ्नो सवारी साधन प्रयोग गर्न दिएको अवस्थामा कानूनबमोजिम त्यस्तो सवारी साधन जफत हुनु तर्कसंगत हुनसक्छ । तर अवैध रुपमा वन पैदावर ओसार–पसार गर्ने कार्यमा सवारीधनी आफू संलग्न पनि नभएको वा अवैध वन पैदावर ओसार–पसार गर्ने निजको मनसाय पनि नभएको तथा आफ्नो सवारी साधन अवैध वन पैदावर ओसार–पसार गर्ने कार्यमा प्रयोग हुँदैछ भन्ने थाहा जानकारी पनि नभएको र त्यस्तो कार्यमा निजको अनुमति, मञ्जूरी वा सहमति रहेको पनि नदेखिएको अवस्थामा निजको सवारी साधन जफत हुनु न्याय वा औचित्य कुनै पनि दृष्टिबाट तर्कसंगत हुने देखिँदैन ।
९. वन ऐन, २०४९ ले अवैध रुपमा वन पैदावरको उपभोग, बिक्री वितरण, ओसार–पसार तथा निकासीलाई निषेध गरेजस्तै लागू पदार्थको अवैध उपभोग, बिक्री वितरण, ओसार–पसार तथा निकासीलाई निषेध गर्ने लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले पनि लागू औषधको ओसार–पसारमा प्रयोग भएको सवारी साधन जफत गर्ने सम्बन्धमा सवारीधनीको संलग्नता वा सहमति वा मञ्जूरी भएको तथ्य स्थापित हुनुपर्दछ भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । सोसम्बन्धमा उक्त ऐनको दफा १५ र १८ मा निम्न कानूनी व्यवस्था रहेको देखिन्छ :–
दफा १५ आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजायः कुनै घर, जग्गा वा सवारीको धनीले वा त्यसको भोगचलन गर्ने व्यक्तिले जानीजानी त्यस्तो घर, जग्गा वा सवारीमा दफा ४ अन्तर्गत निषेध गरिएको कुनै कार्य गर्न अनुमति दिएमा निजलाई छ महिनादेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरीवाना हुनेछ । घर, जग्गा वा सवारीधनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुन सक्नेछ ।
दफा १८ अपराधसित सम्बन्धित मालसामान जफत हुने : यस ऐनअन्तर्गत सजाय हुने अपराधसित सम्बन्धित सबै लागू औषध तथा त्यस्तो लागू औषध निर्माण वा उत्पादन गर्न प्रयोग गरिएका सबै मालसामान तथा यन्त्रहरू जफत हुनेछन् र त्यस्तो लागू औषध राखी ओसार–पसार गर्न प्रयोग गरिएका रेल तथा हवाइजहाजबाहेक जुनसुकै सवारीसमेत जफत हुनेछ ।
तर सो सवारी त्यस्तो अपराध गर्न प्रयोग गरिने वा गरिएको कुरा सवारीधनीलाई थाहा थिएन भन्ने कुराको प्रमाण निजले पेश गर्न सकेमा भने त्यस्तो सवारी जफत गरिने छैन ।
१०. त्यसैगरी प्रस्तुत मुद्दाको जस्तै विषयवस्तु समावेश भएको पुनरावेदक वादी नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी निरज सिंहसमेत भएको २०६५ सालको फौ.पु.नं. CR– ०००३ को वन पैदावर ओसार–पसार मुद्दामा यस अदालतको संयुक्त इजलासबाट “ट्रक धनी निरज सिंह पनि ट्रकमा सँग साथ नरहेको र ट्रकमा काठ ल्याउन भनी नअह्राएको अवस्थामा केवल भाडा लिने उद्देश्यले मात्र सवारी चालकले काठ धनीको अनुरोधमा भाडा लिई काठ ओसारी दिएको हुँदा... सवारीधनीलाई सजाय गर्न र निजको सवारी साधन वन ऐन, २०४९ को दफा ६६ अनुसार जफत गर्न मिल्ने देखिँदैन” भनी मिति २०६५।१०।२८ मा फैसला भइरहेको समेत देखिन्छ ।
११. कानूनको व्याख्या गर्दा सर्वप्रथम कानूनमा प्रयोग भएका शब्द वा शब्दावलीले दिने सामान्य अर्थ सुस्पष्ट, व्यावहारिक, विवेकसम्मत् र न्यायपूर्ण भएसम्म सोही अर्थ ग्रहण गर्नुपर्दछ भन्ने कानून व्याख्याको सामान्य सिद्धान्त रहेको छ । तर कानूनको शाब्दिक व्याख्या गर्दा त्यस्तो तर्कपूर्ण, विवेकसंगत, व्यावहारिक एवं न्यायपूर्ण अर्थ ननिस्कने भएमा शाब्दिक व्याख्याको नियमलाई अनुशरण गर्नु उपयुक्त हुँदैन । यस्तो अवस्थामा व्याख्याका स्वर्णिम नियम र दुष्कृतिसम्बन्धी नियम जस्ता अन्य नियमहरूको अवलम्बन गरी कानूनमा प्रयुक्त भाषा वा शब्दहरूको सन्दर्भ सुहाउँदो अर्थ निस्कने गरी व्याख्या गर्नुपर्दछ । वन ऐन, २०४९ को दफा ६६ मा भएको व्यवस्थाअनुसार उक्त ऐनबमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा बोझबाहक साधनहरू जफत हुने भन्ने देखिन्छ । “कसूर गरेको ठहरिएमा” भन्ने वाक्यांशको आशय उक्त ऐनअन्तर्गत घटेको कसूर वा वारदातसँग बरामद भएको बोझबाहक साधनको धनीको कुनै तादम्यता नै रहनु नपर्ने भनी व्याख्या गर्न मिल्दैन । दफा ६६ को संयोजन र शब्दावलीले बोझबाहक साधन जफत हुनका लागि साधनधनीको समेत उक्त ऐनअन्तर्गतको कसूरमा प्रत्यक्ष वा परोक्ष संलग्नताको अपेक्षा गरेकै देखिन्छ । यसकारण साधनधनी स्वयंको संलग्नतामा वा निजको सहमति, स्वीकृति, मञ्जूरी वा जानकारीमा उक्त ऐनअन्तर्गतको कसूरमा बोझबाहक साधनको प्रयोग भएको ठहरिएमा त्यस्तो साधन जफत हुनु कानूनसम्मत मात्र नभई न्यायोचित र विवेकसम्मत समेत हुने देखिन्छ ।
१२. अतः वन ऐन, २०४९ को दफा ६६ को कानूनी प्रावधानको व्याख्या गर्ने क्रममा “वन पैदावर ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुन्छ । वन ऐन, २०४९ को दफा ६६ मा भएको व्यवस्थाबमोजिम रु.१०,०००।– भन्दामाथि विगो कायम भएपछि काठ ओसार–पसार गर्ने कार्यमा प्रयोग भएको सवारी साधन जफत गर्नुपर्ने हुन्छ । ऐनले नै रु.१०,०००।– भन्दा माथिको विगोमा प्रयोग भएको बोझबाहक साधन जफत गर्नुपर्ने व्यवस्था गरेकोले त्यसमा अदालतले स्वविवेक प्रयोग गरी जफत नहुने गरी ठहर गर्न मिल्दैन” भनी नेकाप २०६६, माघ, पृष्ठ १७५१, नि.नं. ८२५४ को उपरोक्त मुद्दामा यस अदालतको संयुक्त इजलासले गरेको शाब्दिक व्याख्या फौजदारी न्यायको मान्य सिद्धान्त, प्रचलित अन्य कानूनमा रहेको समान सन्दर्भ र यस अदालतकै पूर्व निर्णयसमेतको प्रतिकूल भई तर्कपूर्ण, विवेकसम्मत र न्यायपूर्ण समेत देखिन नआएकोले उक्त सिद्धान्त कायम रहन नसक्ने हुँदा अमान्य (Overrule) गरिएको छ । अरु तपसीलबमोजिम गर्नू ।
तपसील
प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।१०।४ मा फैसला हुँदा प्रतिवादी भीम पाण्डेले मुद्दा पुर्पक्षको सिलसिलामा शुरु नवलपरासी जिल्ला अदालतमा राखेको धरौटी पूरै जफत गर्नुपर्नेमा नगरी निजलाई लागेको जरीवाना कट्टा गरी बाँकी रु.३३८६।– मात्र जफत गर्ने गरेको हदसम्म पुनरावेदन अदालत बुटवलको फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी हुने ठहर्छ भनी फैसला भएको देखिँदा पुनरावेदन अदालत बुटवलको मिति २०६३।८।३ को उक्त फैसलाको तपसील खण्डको दफा १ को लगत कायम रहन सक्दैन । तसर्थ धरौटीवापतको रु.१५,०००।– पूरै जफत गरी सदर स्याहा गर्नु र निज प्रतिवादी भीम पाण्डेलाई हुने ठहरेको जरीवाना रु.१२०६४।– को छुट्टै लगत कसी असूलउपर गर्नु भनी शुरु नवलपरासी जिल्ला अदालतमा लेखी पठाउनू ......................................................१
मिसिल नियमानुसार गरी बुझाइदिनू ............. २
उक्त रायमा हामी सहमत छौं ।
न्या.सुशीला कार्की
न्या.तर्कराज भटृ
इति संवत् २०६८ साल असार ३० गते रोज ५ शुभम्
इजलास अधिकृत : मातृकाप्रसाद आचार्य