शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६३० - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

भाग: ५३ साल: २०६८ महिना: असोज अंक:

ने.का.प. २०६८,           अङ्क ६

निर्णय नं. ८६३०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत् २०६२ सालको फौ.पु.नं.३६१७, ३६८४, ३६८५, ३६८६ र ३६८७

फैसला मितिः २०६८।५।२१।४

मुद्दा :गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको 

पुनरावेदक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः पर्सा जिल्ला सिर्सिया ३ घर भै काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल बुलबुले बस्ने, शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष रामाज्ञा चतुर्वेदी समेत

 

पुनरावेदक प्रतिवादीः रामाज्ञा चतुर्वेदीको श्रीमती जिल्ला पर्सा, सिर्सिया गा.वि.स.वडा नं. ३ घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल बुलबुले    बस्ने बर्ष ४९ की आशा चतुर्वेदी

विरुद्ध

प्रत्यर्थी वादीः अख्तियार दुरुपपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ       घिमिरेको प्रतिवेदनले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः पर्सा जिल्ला सिर्सिया गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ७ चावहिल बुलबुले बस्ने बर्ष ५५ को रामाज्ञा चतुर्वेदी

विरुद्ध

प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः रामाज्ञा चतुर्वेदीको छोरा हाल संयुक्त राज्य अमेरिकामा अध्ययनरत       जिल्ला पर्सा गा.वि.स. सिर्सिया वडा नं ३ घर भै काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.७ चावहिल बुलबुले बस्ने अभिषेक चतुर्वेदीको अधिकृत वारिस ऐ. बस्ने रामाज्ञा चतुर्वेदी

विरुद्ध

प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः रामाज्ञा चतुर्वेदीको छोरी भारत कर्नाटकको मेङ्गलोर स्थित मणिपाल कलेजमा अध्यनरत जिल्ल्ला पर्सा सिर्सिया गा.वि.स. वडा नं. ३ घर भई काठमाडौं    जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल बुलबुले बस्ने वर्ष २४ की सुश्री    अदिती चतुर्वेदी

विरुद्ध

प्रत्यर्थी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

विशेष अदालत, काठमाडौं

अध्यक्ष श्री गोबिन्दप्रसाद पराजुली

सदस्य श्री रणबहादुर वम

सदस्य श्री भूपध्वज अधिकारी

 

§  जुन सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो त्यस्तो सम्पत्ति आर्जन गर्दा हालको मूल्य तिरिने नभई तत्काल प्रचलित मूल्य नै लगानी भएको हुन्छ । तत्समयको आयस्रोतका आधारमा आर्जित सम्पत्तिको स्रोत पुष्टि भए नभएको कुरालाई नै ऐनले कानूनी र गैरकानूनी आर्जन छुट्याउने मापदण्ड मानेको हुँदा त्यस्तो सम्पत्ति आर्जन गर्दा स्रोत कति थियो र कति लगानी गरेको हो भन्ने कुराबाटै कसूर निर्धारण हुने र विगो कायम गर्नुपर्ने 

(प्रकरण नं.१५)

§  अभियोग दावीमा स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा किटान नभएको अवस्थामा अदालतले न्यायिक विवेक प्रयोग गरी त्यस्तो वर्गीकरण गर्नुको विकल्प नभएकोले सो कुरामा प्रश्न उठाउनु उचित हुन नसक्ने 

(प्रकरण नं.१९)

§  अनुसन्धानको प्रक्रियामा रहन गएका भनिएका र सम्बन्धित अदालतबाट मौकैमा सुपरिवेक्षण भएका प्राविधिक प्रकृतिका अति सूक्ष्म विषयहरूलाई जुनसुकै तहसम्म उठाइएकै कारणबाट मुद्दाको विषयवस्तुभित्र अन्तर्निहीत रहेका मुख्य कानूनी र तथ्यगत प्रश्नहरू ओझेलमा परेको वा तिनको सान्दर्भिकता कम भएको सम्झन र अर्थ गर्न नमिल्ने 

§  बकसपत्रबाट सम्पत्ति प्राप्त गर्न सामान्यतया बकसपत्र पाउनेले दातालाई निजको व्यवहारमा कुनै तरहले सहयोग पुर्‍याएको वा सेवा गरी रिझाएको हुनु पर्ने स्थिति र अवस्थाको विद्यमानता अपरिहार्य हुने 

(प्रकरण नं. ३७)

§  देवानी मुद्दामा सम्पत्ति हस्तान्तरणको क्रियाबाट कसैको हक गए नगएको कुरालाई मुख्य रुपमा हेर्ने गरिन्छ । साथै सम्पत्ति प्राप्त गर्ने कुरामा प्राप्तकर्ताको निजी ज्ञान, सीप वा प्रयासले सो सम्पत्ति प्राप्त गरेको हो, होइन र अन्य कसैलाई बण्डा गर्नुपर्ने नपर्ने विषयमा सम्म निर्णय निरोपण हुने गर्दछ । तर बकसपत्र प्राप्त गर्ने कार्य कानूनविपरीत हुँदैन भन्ने कुराको आडमा गैरकानूनी आर्जनलाई लुकाउने माध्यमको रुपमा यस्तो व्यवहारलाई सदैब मान्यता दिइनु पर्दछ भन्ने तर्क न्यायोचित हुन नसक्ने 

(प्रकरण नं. ३९)

§  विगत लामो अवधिको कृषि आयको दावी लिइएको स्थितिमा प्रतिवादीका के कुन जग्गामा के कुन सालमा के कस्तो प्रकृतिको बाली लगाइएको थियो, त्यसबाट के कति परिमाणमा उब्जनी भएको थियो र निजले सोबापत के कति रकम प्राप्त गरेको हो भन्ने कुरा हाल आएर ठोस रुपमा यकीन गर्ने कार्य सजिलो नभए तापनि स्रोत देखिन्छ भने त्यसबाट आय प्राप्त हुने कुरालाई सहजै इन्कार गर्न न्यायोचित नहुने 

(प्रकरण नं. ४२)

§  न्यायिक प्रक्रियामा प्रमाण बुझ्ने तथा प्राप्त प्रमाण ग्रहण गर्ने सम्बन्धमा निश्चित् कानूनी आधार र न्यायिक मापदण्डहरू रहेका छन् । त्यसको विपरीत जुनसुकै प्रक्रियाबाट मिसिलमा समावेश हुन आएका कुरालाई प्रमाणको रुपमा मान्न र त्यसको आधारमा कुनै पनि न्यायिक निष्कर्षमा पुग्न सम्भव नहुने 

(प्रकरण नं. ४४)

§  शपथपत्रको माध्यमबाट विदेशमा सम्पत्ति पाएको भनी जिकीर लिने पक्षले त्यस्तो सम्पत्ति आफ्नो मुलुकमा के कुन मितिमा, के कुन माध्यमबाट आएको, जम्मा भएको, सटही भएको हो सो सबै कुराको कारोवार (Transaction) प्रमाणित हुने आधारसहित पुष्टि गर्नुपर्ने 

(प्रकरण नं. ५१)

§  अमूर्त रुपमा कसैलाई उच्च जीवनशैली बिताएको भनी आरोप लगाउनु मात्र पर्याप्त हुँदैन । यस्तो आरोप प्रमाणित हुनका लागि निश्चित वस्तुगत आधारहरूको उपस्थिति पनि अपरिहार्य हुन्छ भन्ने कुरामा विमति हुन सक्दैन 

(प्रकरण नं. ५४)

§  गैरकानूनी आर्जन वा भ्रष्टाचारको सन्दर्भमा उच्च जीवन यापन गरेको भन्ने प्रश्न उठ्छ भने निःसन्देह रुपमा त्यसको प्रत्यक्ष सम्बन्ध अन्य कुरामा भन्दा मौद्रिक वा आर्थिक गतिविधि वा क्रियाकलापसँग जोडिएको भौतिक विषयसँग रहेको मान्नु पर्ने 

§  अस्वाभाविक तथा उच्च जीवनस्तर यापन गरेको भनी ऐनमा प्रयुक्त भएको उक्त वाक्यांशले कुनै राष्ट्रसेवकले प्राप्त गर्ने वैध आयस्रोतको तुलनामा अमिल्दो वा नसुहाउने तथा धान्न नसक्ने जीवनस्तर यापन गर्ने वा गरेको कुरालाई ईंगित गरेको सम्झनु पर्ने 

(प्रकरण नं. ५५)

§  हाल साथमा नरहेको (Non-possession) भन्नेसम्मकै आधारमा विगतमा अस्तित्व प्रमाणित भई राष्ट्रसेवको आयको तुलनामा अमिल्दो र अस्वाभाविक तथा निजको जीवनस्तर उच्च बनाउने स्रोतहरूको खोजी गर्न नमिल्ने 

(प्रकरण नं. ५९)

§  कर फर्छ्यौट वा लगतकट्टा प्रयोजनको लागि मौकामा कर कार्यालयमा पेश गरेको विवरण मौजुद हुँदाहुँदै सोको विपरीत हुने गरी पछिबाट पेश गरिएका लेजर वा वासलातबमोजिमको कारोवारको अङ्कलाई मान्यता दिन नमिल्ने 

(प्रकरण नं. ७६)

§  खाताको रकम ब्याजबापतको भएकोले त्यसको स्रोत दिनुपर्ने होइन भनी जिकीर लिनको लागि त्यसको मूलधन बैध थियो भन्ने तथ्य पुष्टि गर्न सक्नुपर्ने हुन्छ । तत्काल खातामा नरहेको कारणले मूलधनउपर दावी भएन भन्दैमा ब्याज स्वतः बैध भएको भनी अर्थ गर्न नमिल्ने 

(प्रकरण नं. १००)

 

पुनरावेदक वादीतर्फबाटः सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल

प्रत्यर्थी प्रतिवादीतर्फबाटः वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताहरू श्री केशवप्रसाद भट्टराई, श्री कृष्णप्रसाद सापकोटा र श्री शंकरकुमार श्रेष्ठ

अवलम्बित नजीरः

§  नेकाप २०६६, नि.नं.८२००, पृ.१२६६

§  नेकाप २०६७, नि.नं.८४५२, पृ. १४४५

§  नेकाप २०६७, नि.नं.८५१९, पृ. २००७

सम्बद्ध कानूनः

§  नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४

§  नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४

§  अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०४८ को दफा १६(२), (३), (४), (५)

§  अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १३

§  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), १४क., १५ र १६ग.

§  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१),(२), २४ र ४७

§  आर्थिक ऐन, २०५८ को दफा १०, ४२(१) र (३),

§  दान बकसको १ नं.

§  लेनदेन व्यवहारको १० नं.

§  अंशबण्डा महलको १८ नं.

 

आदेश

            प्र.न्या.खिलराज रेग्मीः विशेष अदालत काठमाडौंको मिति २०६१।१०।८ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम वादी र प्रतिवादी दुवै पक्षको तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

उजूरी वा जानकारीको व्यहोरा

एन.सी.सी.एन.का तत्कालीन महाप्रवन्धक रामाज्ञा चतुर्वेदीले गैरकानूनी तवरले आफ्नो हैसियतभन्दा अत्याधीक बढी सम्पत्ति आर्जन गरी सो सम्पत्ति लुकाउने छिपाउने र कृत्रिम माध्यमबाट सो सम्पत्तिको स्रोत खडा गर्ने कार्य गरिरहेको र तत्काल निजको चल अचल सम्पत्तिका सम्बन्धमा तलासी लिई अग्रिम कारवाही नगरे सम्पत्ति पछि फेला पार्न नसकिने भनी विभिन्न स्रोतबाट जानकारी हुन आएपछि आवश्यक कारवाही गर्न तोकआदेश भई अनुसन्धान शुरु गरिएको 

प्रारम्भिक छानबीन

            विभिन्न स्रोतबाट प्राप्त भएको सूचनाको आधारमा कानूनबमोजिम खानतलासी लिनेलगायतका अन्य आवश्यक कार्य गर्ने भन्ने मिति २०५९।७।८ को आदेशानुसार खानतलासी लिई मुचुल्कामा उल्लेख भएबमोजिम नगद, गरगहना र कागजाताहरू बरामद गरिएको छ । सूचना संकलन गर्ने क्रममा निज एवं निजका परिवारहरूका नाममा रहेको बैंक खाताहरू रोक्का राख्ने, निजहरूका विभिन्न जिल्लाहरूमा रहेका घर जग्गाको वेचविखन, नामसारी इत्यादि रोक्का राखिएको र बैंक स्टेटमेण्टहरू समेत मगाउने कार्यहरू भएको थियो । निजहरूको नाममा रहेको नेपाल बैंक लिमिटेड, बैंकिङ्ग अफीस काठमाडौंमा रहेको लकर खोली गरगहनाहरू आयोगले कव्जामा लिएर छानबीन गरिएको छ 

रामाज्ञा चतुर्वेदी तथा निजको परिवारका नाउँमा रहेको चल अचल सम्पत्तिको विवरणः

            हाल निजसँग नेपालभित्र रहेको खुद सम्पत्ति रु.५,९९,८५,९७०।०९ र सेवामा प्रवेश गरेपश्चात् आर्जन गरेको कुल चल अचल सम्पत्ति रु.७,७१,६५,५७३।२९

 

रामाज्ञा चतुर्वेदीले अनुसन्धानको क्रममा गरेको बयान

            सम्झना भएसम्म विदेशमा कुनै खाता र लकर छैन, नेपालमा नेपाल बैक लिमिटेड नयाँ सडक, भूगोलपार्कमा नं. ६५२१८, एस.वी.आई. बैंक दरवारमार्गमा नं. ०१५३००१९१६, रा.वा.बैंक विशालनगरमा नं. ४६४२४, हिमालय बैंक न्यरोडमा नं. १५५३३ जे, ओ खाताहरू रहेको छ । नेपाल एस.बी.आई. बैंक काठमाडौंमा मिति २०५८।४।२ मा जम्मा भएको रु.१,१०,०००।को स्रोतमा कृषिजन्य आय, तलवभत्ता आदिको रकम र मिति २०५९।११।१६ मा रु.३२,०००। जम्मा भएको स्रोतमा भारतीय जीवन बीमाबाट पाएको रकमहरू हुन् । उक्त बैंकबाट निकालिएको रकम रु.१ लाख सम्झना भएसम्म बच्चाहरूको पढाई खर्च र घरायसी प्रयोजनको लागि झिकी घर खर्चहरूमा प्रयोग गरेको हो । नेपाल बैंक लिमिटेड, काठमाडौं शाखामा बचत हि.नं.६५८१८ मा मिति २०५४।५।११ देखि २०५८।७।३ सम्म रु.४७ हजारभन्दा माथिका रकमहरू विभिन्न मितिमा (रु.१०,७०,०७६।२५) जम्मा भएको स्रोत सम्बन्धमा सम्झना भएसम्म मेरो श्रीमती आशा चतुर्वेदीले आ.व.२०४४।०४५ मा कमला कार्पेटमा २५ प्रतिशत लगानी गरेकोमा सोबाट प्राप्त मुनाफाको रकम, पैतृक सम्पत्ति, कृषिजन्य आय, जग्गा भाडा, घर भाडा र गाउँघरमा लगानी गरेको रकमबाट प्राप्त लाभ एवं मुद्दतीको ब्याज तथा स्त्रीधनबाट प्राप्त रकमहरू राखिएका हुन् 

            नेपाल बैंक लिमिटेड काठमाडौंबाट बिभिन्न मितिमा निकालिएको कुल रु.१५,४०,०००।मध्ये रु.२ लाख श्रीमती आशा चतुर्वेदीको नाममा वहुअरी२ कि.नं. २१३ को क्षेत्रफल ० ।।। जग्गा खरीद गर्न र श्रीमती आशा चतुर्वेदीको हिमालयन बैंक वीरगञ्जमा जम्मा गर्न, घरायसी प्रयोजन एवं अध्ययनरत छोरी अदितीको पढाई एवं निर्वाह खर्चबापत पटकपटक गरी पठाएको हुनु पर्दछ 

            नेपाल मेडिकल कलेजमा रु.३०,००,०००।लगानी गरेको शेयरको सम्बन्धमा कृषिजन्य आय र चावहिलको घरभाडा, तलवभत्ता, भ्रमणभत्ता, जग्गा भाडा एवं माछापालन, तरकारी विक्री, आँपका रुखहरू विक्री, श्रीमती आशा चतुर्वेदीले कृषि विकास बैंक चावहिलबाट झिकेको रकम, कृषि विकास बैक न्यूरोड र हिमालयन बैंक वीरगञ्ज खाताबाट झिकेको रकम तथा वीरगञ्ज उपमहानगरपालिका८ वस्ने अभयकुमार सर्राफबाट रु.११,५०,०००। ऋण लिई लगानी गरेको हो । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगानी गरेको शेयर सम्बन्धमा आफ्नी श्रीमती आशा चतुर्वेदीको नाममा हिमालयन बैंक वीरगञ्जमा रहेको बचत खाताबाट झिकिएको रकमबाट रु.५,००,०००।र सोही बैंक खाताबाट रु.२५,००,०००।गरी रु.३०,००,०००।लगानी गरेको हो । शिखर पेन्टस्‌को रु.५,००,०००।को शेयरमा पत्नी आशा चतुर्वेदीको नाममा कृषि विकास बैक न्यूरोड शाखामा रहेको बचत खाताको रकम, श्रीपुर वीरगञ्जको जग्गामा रहेका सिसौ, आँप, लिचीका रुखहरू बिक्री गरेको रकम र अन्य स्रोतबाट लगानी गरेको हो 

            छोरा रितेशलाई अमेरिकाको टेक्सास ए. एण्ड एम. विश्वविद्यालयमा वार्षिक ट्यूशन र शुल्क गरी अमेरिकी डलर ८९५०.०० लाग्ने गरेको र दुई वर्षको अवधिमा अन्दाजी २३,०००.०० अमेरिकी डलर पठाएको हुनुपर्छ । ट्यूशन तथा केही निर्वाह खर्च हामी अभिभावकले दिएको हो । निर्वाह खर्चबापतको रकम पटकपटक श्रीमती आशा चतुर्वेदीको नेपाल बैंक लिमिटेड न्यूरोड खाता नं.६२३००५ बाट झिकेर करीव ७,००,०००। र बाँकी हाम्रो विभिन्न स्रोत कृषिजन्य आय, व्यवसाय, गाउँघरमा लगानी गरेको रकम र सोबाट बढेबढाएको आम्दानी, वीरगञ्ज श्रीपुरको घर भाडा एवं बैंकमा लगानी गरी प्राप्त गरेको ब्याज रकम समेत मध्येबाट पठाएको हुनु पर्दछ । छोरा अभिषेक अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा निजी खर्चमा पढिरहेका छन् । कलेज शुल्क र निर्वाह खर्च मासिक औसत रु.४,८००।लाग्ने तथा स्रोत हामी अभिभावक नै भएको, हाम्रो कृषिजन्य आय, तलवभत्ता, भ्रमणभत्ता, वैठकभत्ता आदि बचत रकममध्येबाट पढाई खर्च व्यहोरिएको हो । छोरी अदिती मणिपाल मेडिकल कलेजमा निजी खर्चमा अध्ययनरत रहेको र एक वर्षको भा.रु.१,७६,०००।र दोस्रो वर्षमा भा.रु.१,७५,०००।तथा निर्वाह खर्च प्रति महिना अन्दाजी औसत भा.रु.२,५००।पठाउनु पर्ने र यो रकम हामी अभिभावकले नै विभिन्न स्रोतबाट बचत भएको रकममध्येबाट पठाउने गरेको हो 

            छोरी अदितीको नाममा रु.३,४५,०००।मा आशा चतुर्वेदीको नेपाल बैंक लि.न्यूरोडको खाताबाट झिकिएको रकममध्येबाट गाडी खरीद गरिएको हो । श्रीमती आशा चतुर्वेदीको नामको चावहिल स्थित घर २०४१ सालमा शुरु भई २०४३ सालमा सम्पन्न भएको र निर्माण लागत रु.५,५०,०००।सगोलको परिवारको कृषिजन्य आम्दानीबाट भएको बचत रकम, स्व.आमा यशोदादेवीले दिएको, आफ्नो तलवभत्ता, योजनाभत्ता आदिबाट भएको बचत एवं श्रीमती आशा चतुर्वेदीको दाइजो, टिकाटालोबाट प्राप्त रकम, कृषिजन्य आय समेतबाट निर्माण भएको हो 

            कमलेश तिवारीलाई दिएको ऋण रु.७ लाख कमला कार्पेटको मुनाफामध्येबाट र कृषिजन्य आयबाट दिएको र निज साडुभाई भएको तथा निजलाई दिएको रकम फिर्ता भैसकेको तथा सोही रकम हिमालयन बैंक वीरगञ्जको खाता नं.००७१००९ मा जम्मा गरेको । आफ्नो र आफ्नो परिवारको नाममा रहेको विभिन्न जिल्लाको घर जग्गाहरू अंशबण्डा हुँदा प्राप्त जग्गाहरू, विभिन्न व्यक्तिहरूबाट प्राप्त बकसपत्रहरू एवं कुनै कुनै खरीद भएको हो 

कमला कार्पेटमा श्रीमती आशा चतुर्वेदीको २५ प्रतिशत साझेदारी रहेको र भैरहवा वडा नं.८ को कि.नं.१६३६ को जग्गा धितो राखी रु.३,५६,०००।ऋण लिई सोमध्ये रु.३,५०,०००।कमला कार्पेटमा लगानी गरेको हो । उद्योगले आर्जन गरेको मुनाफामध्ये श्रीमती आशा चतुर्वेदीको भागको रकम अन्दाजी रु.३७/३८ लाख प्राप्त गरेको । यसमध्ये कृषि विकास बैंक, पुतली सडकको साँवा र ब्याज चुक्ता गरेको । आ.व. २०४६/०४७ देखि २०५४/०५५ को मुनाफा २६,१०,०००।तथा २०५५।०५६ र २०५६।०५७ भित्र मौज्दात रहेको गलैचा बिक्री एवं कारखाना सामान विक्रीबाट रु.७,००,०००।प्राप्त गरेकोमा आ.व.२०५२।०५३ देखि घाटा भई २०५३ साउनदेखि गलैचाको उत्पादन बन्द गरी फेक्ट्री समेत बन्द गरिसकेको र मौज्दात रहेको गलैचा बिक्री भैसकेको छ 

आयका स्रोतहरूमा तलवभत्ता, विदेश भ्रमण, कृषिआय लगानी, आदि उल्लेख गरेकोमा सो शीर्षकहरूमा सेवा प्रवेश गरेपछि हालसम्ममा भएको आम्दानी, पत्नीको दाइजो १,७३,७५०।–, बुवाको देहान्त पश्चात् मुमाबाट पाएको २०३३ देखि २०४५ सम्म रु.१९,४०,०००।–, अंशबण्डा हुँदा घरसारमै प्राप्त रु.११,००,०००।–, अंशबण्डापश्चात् कृषिजन्य आयबाट रु.१७,३०,०००।–, कमला कार्पेटबाट रु.३३,००,०००।–, श्रीमती आशा चतुर्वेदीले आफ्नो माइतबाट विभिन्न रुपमा पाएको रु.२२,००,०००।–, भारतमा बस्ने अम्बिका तिवारीबाट बकस पाएको रु.१३ लाख २०४८ सालदेखि अधिकतम् ब्याजमा लगाउँदा आएको ३१,८०,०००।–, अंशबण्डा पछि काकी राजपतीदेवीले दिनु भएको रु.१५ लाख २०४९ सालदेखि विभिन्न बैंक तथा गाउँमा लगानी गर्दा हुन आएको रु.३५,००,०००।–, बीमा पोलिसीबाट प्राप्त रु.१,००,०००।–, रितेश चतुर्वेदीको पारिश्रमिक रु.१,६०,०००।–, म लगायत मेरा परिवारको सदस्यहरूका नाममा विभिन्न बैंकहरूमा गरेको लगानीबाट आएको ब्याज (२०३३ देखि) ४०,००,०००।–, वीरगञ्ज बस्ने श्री अभयकुमार सर्राफबाट लिएको ऋण ११,५०,०००।–, भारतीय बीमा पोलिसीबाट आएको रु.३२,०००।–, जग्गा भाडामा दिएबापत पाएको रकम रु.८,०३,२८०।–, कृषिजन्य आम्दानी रु.१५,६०,०००।–, घर भाडाबाट रु.१०,७६,२५०।तलवभत्ताबापत प्राप्त रु.२४,५८,०००।–, विदेश भ्रमणबाट प्राप्त रु.२,००,०००।–, खेत बिक्रीबाट रु.३,२८,०००।समेतको जम्मा रु.२,९०,७५,०८०।र यू.एस. डलर २,१००।प्राप्त भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी रामाज्ञा चतुर्वेदीले अनुसन्धानको क्रममा गरेको बयान 

 

आशा चतुर्वेदीले अनुसन्धानको क्रममा गरेको बयानः

            कृषि विकास बैक वानेश्वरमा बचत हिसाव नं.१४०२१० को खाता रहेको र लगभग रु.१३,०००।जति हुनसक्ने तथा सो खाता बन्द भइसकेको, कृषि विकास बैक नयाँसडकको खातामा रु.२३,०००।जति हुन सक्छ । हिमालयन बैंक वीरगञ्जको खाता र नेपाल बैंक लि. काठमाडौंमा कति रकम छ सम्झना भएन । नेपाल बैंक लि. काठमाडौंमा जम्मा भएका रकमहरू विवाह हुंदाको दाइजो पेवा, स्वर्गीय सासूले दिनु भएको रु.२० लाख, अंशबण्डा हुँदा घरसारमा पाएको करीव रु.१२ लाख र आमाबाट पाएको भा.रु.८ लाख र कृषि आयबाट आएको आम्दानीको स्रोतको हो । नेपाल बैंक लिमिटेड काठमाडौंमा जम्मा भएको रकमबाट वहुअरी गा.वि.स.मा रु.२ लाखको जग्गा र चपली भद्रकाली गा.वि.स.मा रु.३,०६,०००। मा जग्गा किनेको, उक्त दुवै जग्गा खरीद गर्दा रजिष्ट्रेशन फी समेतको रु.५,५६,०००। भएको छ । उक्त खर्च बाहेक नेपाल राष्ट्र बैंकको रु.२० लाखको ऋणपत्र खरीद गरेको, छोरा रितेशलाई अमेरिका पठाउन रु.७ लाखको ड्राफ्ट नेपाल राष्ट्र बैंक मार्फत् वनाएको, उक्त नेपाल बैंकबाटै निकालेको रकमबाट रु.४ लाख बराबरको खर्च चावहिलको घर थप्न वनाउँनमा लागेको छ । विदेशी बैंकमा खाता रहेको नरहेको बारे मेरो र छोरा अभिषेकको नाममा युनाइटेड बैंक अफ इण्डियामा खाता र लकर थियो, जुन बन्द भइसकेको छ । छोरी अदितीका नाममा मणिपालमा खाता छ , अरुको हकमा मलाई थाहा छैन । राजेन्द्र अग्रवाललाई चिन्दिन निजको नाममा २२।७।२००२ मा रु.६,००,०००।को चेक काटिएको सम्बन्धमा अहिले सम्झना भएन । कृषि विकास बैकको नयाँ सडकमा विभिन्न मितिमा रु.१४,९५,०००।राखेको रकमको स्रोतहरू माथि उल्लेख भएबमोजिम नै रहेको र रु.१४,९५,०००।को खर्चको हकमा गृहिणी भएको नाताले हिसाव किताव राखेको छैन 

हिमालयन बैंकको वीरगञ्ज शाखामा जम्मा गरेको रकमको हकमा वहिनीज्वाईबाट फिर्ता पाएको रु.७ लाख, नेपाल राष्ट्र बैंकको रु.२० लाखको ऋणपत्र वेची आएको रकम र अन्य विभिन्न बैंकबाट निकालिएको रकम समेत रु.६१,५०,०००।राखेको, सो रकममध्येबाट रामगढवाको जग्गा खरीद गरेको, औषधि उपचारमा रु.५ लाख खर्च गरेको, स्वयं आयकर घोषणा गर्दा रु.१२ लाख तिरेको, छोरा छोरीको नेपाल तथा विदेश बैकमा रहेको खाताको रकमको हकमा एस.वी.आई. बैंक नेपालमा रहेको रकम छोरी अदितीको आफ्नै विभिन्न स्रोतबाट आएको रकम मध्येको हो, छोरी अदितीको पढाई वारे कलेज कोर्ष वाहेक उसको निर्वाह खर्च ७/८ लाख जति पठाएको छ र अरुहरूको पढाई एवं खर्च वारे मेरो श्रीमानलाई थाहा छ । आफ्नो र छोराको युनाइटेड बैंक अफ इण्डियामा रहेको रकमका हकमा दान दक्षिणा, टिकाटालो, उपहार, सहयोग एवं गाउँघरमा लगानी गरेको रकमबाट आएको ब्याज समेत जम्मा गरेको हो भन्ने व्यहोराको प्रतिवादी आशा चतुर्वेदीले अनुुसन्धानको क्रममा गरेको

बयान कागज 

 

स्रोत खुलेको स्थापित भएको सम्पत्तिको विवरण :

क्र.स.

स्वामित्ववाला र सम्बन्धित व्यक्तिको नाम

सम्पत्तिको विवरण

रकम रु.

आशा चतुर्वेदी

तालिका नं. ३ को सि.नं. १ का.जि.का.म.न.पा. वडा नं. ७ ग कि.नं. ५० को जग्गा मात्र

४९,६२,५००।

रामाज्ञा चतुर्वेदी

तालिका नं. ४ को क्र.सं. ३ र ४ बमोजिमको बैंक मौज्दात

,२६,७०७।९०

रामाज्ञा चतुर्वेदी

अभिषेक चतुर्वेदी, अदिती चतुर्वेदीलाई भारतमा पढाउँदाको खर्च तालिका नं. १० क्र.सं. २ र ३

,९०,४००।

 

 

जम्मा

६१,७९,६०७।९०

 

 

स्रोत खुलेको सम्पत्तिको विश्लेषणः

            आशा चतुर्वेदीको नाममा खरीद गरेको जग्गाको स्रोतको विषयमा रामाज्ञा चतुर्वेदीको बयान कथनमा आफ्नो पारिवारिक पृष्ठभूमिका कारण विवाहको समयमा ससुरालीतर्फबाट प्राप्त भएको नगदले विवाह खर्च जुटाई केही रकम बचत भएको थियो, सोही रकमले का.जि.का.म.न.पा. वडा नं.७ (ग) कि.नं.५० को जग्गा खरीद गरेको भनी उल्लेख गरेकोमा विवाह गर्दाको खर्च कटाई बचत भएको आम्दानीबाट खरीद गरेको भन्ने निजको भनाइ मान्न सक्ने कारण, आधार र अवस्था देखिदैन । २०३२ सालमा विवाह गर्दा ससुरालीबाट प्राप्त गरेको नगद सम्पत्तिले विवाह गरेको ५ वर्षपछि २०३७ सालमा जग्गा खरीद गरेको भन्ने निजको जिकीरमा विश्वास गर्ने आधार समेत पाइएन । तर रामाज्ञा चतुर्वेदीले २०३२ सालदेखि एन.सी.सी.एन.को असिष्टेण्ट इन्जिनियर पदबाट सेवा शुरु गरेको र खरीद गर्दाको समय २०३७ साल रहेको हुँदा सो समयसम्म छोरा/छोरीहरूको पढाईका लागि खर्च गर्नुपर्ने स्थिति नदेखिएकोले साधारणतया कर्मचारीले काठमाडौंमा एउटा घडेरी खरीद गर्न चाहना राख्ने तथा ५ वर्ष अवधिभित्रको तलव/भत्ताबाट बचत भएको रकम र आफन्तहरूले सरसापटमा दिएको केही रकम र घरबाट सहयोग लिई खरीद गरेको हुन सक्ने अवस्था, कारण र आधार भएकोले २०३७ सालमा लिई हाल मूल्याङ्कन भएको रु.४९,६२,५००। बराबरको उक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिको रुपमा लिइएको छ 

रामाज्ञा चतुर्वेदीले नेशनल कन्सक्ट्रक्शन कम्पनी नेपाल, नेपाल आयल निगम र शाही नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थाहरूको संस्था प्रमुखको हैसियतले पटक/पटक वैदेशिक यात्रा गरेको देखिएकोले वैदेशिक यात्रा गर्दा बचत रहेको परिवर्त्य वैदेशिक मुद्रालाई हिमालयन बैंकमा रहेको अमेरिकी डलर २,१००.०० को प्रति डलर विनिमय दर रु.७७।७५ ले हुने रु.१,६३,२७५। रकमलाई स्रोत खुलेको सम्पत्तिको रुपमा गणना गरिएको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक मुख्य शाखा कार्यालयमा रहेको बैंक मौज्दात रु.६३,४३२।९० को रकम शाही नेपाल वायुसेवा निगममा कार्यरत् रहेको समयमा निजको तलवभत्ताबापत जम्मा भएकोले उक्त दुवै बैंकहरूमा रहेको जम्मा रु.२,२६,७०७।९० बैंक मौज्दातलाई स्रोत खुलेको सम्पत्तिको रुपमा गणना गरिएको छ 

छोरी अदितीलाई निजी खर्चमा मणिपाल कलेज बेङ्लोरमा वि.डी.एस. पढाउंदा लागेको खर्च भा.रु.४,३९,०००।को हुने ने.रु.७,०२,४००।र छोरा अभिषेक चतुर्वेदीलाई अल इण्डिया मेडिकल इन्स्टिच्यूटमा छात्रवृत्तिमा पढ्दा निर्वाह खर्चमा लागेको खर्च भा.रु.१,८०,०००।को हुने ने.रु.२,८८,०००।रकम समेत जम्मा रु.९,९०,४००।रकमको स्रोतको सम्बन्धमा रामाज्ञा चतुर्वेदीको जिल्ला पर्सा, सिर्सिया गा.वि.स.मा ४१५१४ विगाहा ससाना टुक्रा टुक्रा र विभिन्न स्थानमा छरिएका जग्गा पैतृक सम्पत्तिको रुपमा प्राप्त गरेको देखिएको छ । निजका छोराछोरी भारतीय विश्वविद्यालयअन्तर्गत उच्च शिक्षा हासिल गरिरहेको कुरा प्राप्त कागजातबाट देखिदा र निजहरूको खर्चिलो अध्ययनका लागि प्रतिवादी रामाज्ञा चतुर्वेदीले मासिक रुपमा पाउने गरेको निश्चित् पारिश्रमिक र नगन्य मात्रामा रहेको कृषि आय मात्र पर्याप्त नहुने कुरालाई समेत मनन् गर्दा उक्त रकम समेत निजहरूको अध्ययनका अवस्थामा खर्च भइसकेको हुन सक्ने देखिएकोले सो रकमको सम्बन्धमा दावीमा उल्लेख गरिएको छैन 

 

 

 

 

स्रोत नखुलेको सम्पत्तिको विवरण (तालिका नं.१३) :

क्र. सं

तालिका नं ३ को सि. न.

स्वामित्ववालाको नाम

सम्पत्तिको विवरण

स्रोत नखुलेको सम्पत्ति रकम रु.

जम्मा रकम रु.

 

आशा चतुर्वेदी

का.जि.,का.म.न.पा. वडा नं. ७ ग. कि.नं. ५० मा बनेको घर मात्र

२८,०२,८४३।४१

२८,०२,८४३।४१

,

रितेश चतुर्वेदी

पर्सा, श्रीपुर वडा नं. ६ कि.नं. ८१४ र ८१७ को जग्गा र घर

,३०,०००।,१५,००,०००।२०,७१,५१३।२८

,३८,०१,५१३।२८

अदिती चतुर्वेदी

जि.पर्सा, नौतन गा.वि.स. वडा नं. ६ क कि.नं. १६१ को जग्गा

,००,०००।

,००,०००।

,

रितेश चतुर्वेदी

पर्सा, श्रीपुर गा.वि.स. वडा नं. ६ को कि.नं. ९१० र ९११ को जग्गा

,५०,०००।

,५०,०००।

१०,००,०००।

,

रामाज्ञा चतुर्वेदी

पर्सा, श्रीपुर गा.वि.स. वडा नं. ६ कि.नं. ९०१ र ९०२ को जग्गा

,००,०००।

९०,०००।

,९०,०००।

, १०, ११, १२

अभिषेक चतुर्वेदी

का.जि. धापासी गा.वि.स. वडा नं. ८(क) कि.नं. ८७०, ८७५,८७३,८६७ को जग्गा

,००,०००।

,७५,०००।

,००,०००।

१३,००,०००।

२८,७५,०००।

१३

आशा चतुर्वेदी

का.जि. चपली भद्रकाली गा.वि.स. वडा नं. ५ ख को कि.नं. ४४२, ४४६ को जग्गा

,३१,२५०।

१०,६८,७५०।

१८,००,०००।

१४

आशा चतुर्वेदी

जि.पर्सा वहुअरी २ को कि.नं. २११ र ११२ को जग्गा

,००,०००।

,००,०००।

,००,०००।

१५

रामाज्ञा चतुर्वेदी

जि.पर्सा, सिर्सिया ७ को कि.नं. २१७ को जग्गा

४०,०००।

४०,०००।

१०

१६

रामाज्ञा चतुर्वेदी

जि. पर्सा सिर्सिया गा.वि.स. वडा नं.१ को. कि.नं. ४१२ को जग्गा

,२५,०००।

,२५,०००।

११

१७

रामाज्ञा चतुर्वेदी

जि पर्सा, सिर्सिंया गा.वि.स. वडा नं. ७, कि.नं. २१६ को जग्गा

४०,०००।

४०,०००।

१२

१८

रामाज्ञा चतुर्वेदी

जि.पर्सा वैरियाबिर्ता ७ को कि.नं. २१७ को जग्गा

,३६,०००।

,३६,०००।

१३

१९

रामाज्ञा चतुर्वेदी

जि. पर्सा वैरियाबिर्ता ७ को कि.नं. ३५५ र ३५६ को जग्गा

४०,०००।

४०,०००।

८०,०००।

१४

२०

रामाज्ञा चतुर्वेदी

जि. पर्सा वैरियाबिर्ता ७ को कि.नं. ३५७ को जग्गा

१०,०००।

१०,०००।

१५

२१

रामाज्ञा चतुर्वेदी जीवन सिंह

रिता चालीसे

राजेन्द्र दाहाल

का.जि. सुन्ताखान वालुवा वडा नं. ६(क) कि.नं. २ को जग्गा

,२८,२०३।१२

,२८,२०३।१२

१६

२२

आशा चतुर्वेदी

जि. पर्सा रामगढवा गा.वि.स.वडा नं. ४ को कि.नं. ६२८ को जग्गा

,२०,०००।

,२०,०००।

१७

२३

रामाज्ञा चतुर्वेदी

जि. पर्सा रामगढवा गा.वि.स.वडा नं.४ को कि.नं. ३२ को जग्गा

५२,६०,०००।

५२,६०,०००।

१८

२४, २५

रामाज्ञा चतुर्वेदी

जि.पर्सा रामगढवा गा.वि.स. वडा नं. ४ कि.नं. ७१९, ७२०

,१०,०००।

,५०,०००।

,६०,०००।

१९

२६, २७

रामाज्ञा चतुर्वेदी

जि. पर्सा रामगढवा गा.वि.स. वडा नं. ७ को कि.नं. ११० र श्रीपुर गा.वि.स.वडा नं. ६ को कि.नं. ७४१ को जग्गा

,००,०००।

,००,०००।

,००,०००।

२०

२८

रितेश चतुर्वेदी र दीपेन्दनाथ टण्डन

का.जि.का.म.न.पा. वडा नं. ३५ कि.नं. ६५ र का.म.न.पा.वडा नं. ७ ख को कि.नं. ७९१ को जग्गा

१५,५३,९०६।२५

 ८४,३७५।

१६,३८,२८१।२५

२१

२९

रितेश चतुर्वेदी

जि. पर्सा वहुअर्वाभाठा गा.वि.स. वडा नं. ७ को कि.नं. १३० को जग्गा

,००,०००।

,००,०००।

२२

३०

अभिषेक चतुर्वेदी

जि. चितवन भरतपुर न.पा. वडा नं. ६ को कि.नं. ३६९ को जग्गा

१९,५०,०००।

१९,५०,०००।

२३

३१

रामाज्ञा चतुर्वेदी र वीरेन्द्रनाथ टण्डन

का.जि. का.म.न.पा.का साविक वडा नं. ७(ख) को कि.नं. १९६, १९७, १९८, १९९, २०१, २०३, २०४, २०५, २०६, २०७, २०८, २२१, २२२ को कित्ताबाट हाल का.जि.का. म. न.पा. ३५को कि.नं. ५१ र ६४ कायम हुन आएको जग्गा

,०३,१२५।

१०,९४,५३१।२५

११,९७,६५६।२५

२४

३२

आशा चतुर्वेदी

वीरेन्द्रनाथ टण्डन

माला यादव

निर्मला लाभ

जि. चितवन कल्याणपुर गा.वि.स. वडा नं.३ को कि.नं. ८६० र ८६२ को जग्गा

,९३,७५०।

,९३,७५०।

२५

३३

आशा चतुर्वेदी

जि. पर्सा सिरसिया गा.वि.स. वडा नं.१ को कि.नं. ३१९ को जग्गा

,२५,०००।

,२५,०००।

२६

३४

आशा चतुर्वेदी

जि. रुपन्देही, भैरहवा न.पा. ८(क) को कि.नं. १६३६ को जग्गा

४९,९०,०००।

४९,९०,०००।

२७

३५

रामाज्ञा चतुर्वेदी

जि.पर्सा वहुअरीभाठा गा.वि.स. वडा नं. ७ को कि.नं. ५६० को जग्गा

२०,००,०००।

२०,००,०००।

२८

३६

रामाज्ञा चतुर्वेदी

जि. मकवानपुर हेटौंडा न.पा. वडा नं. ९ को कि.नं. ४७७ र १०५१ को जग्गा

,५०,०००।

,५०,०००।

२९

३७

आशा चतुर्वेदी

जि.पर्सा वहुअरी गा.वि.स.वडा नं. २ कि.नं. २१३ को जग्गा

,७५,०००।

,७५,०००।

३०

 

रामाज्ञा चतुर्वेदी

तालिका नं. ४ को क्र.सं. १ र २

८९,७८८।९९

८९,७८८।९९

३१

 

आशा चतुर्वेदी अभिषेक चतुर्वेदी

अदिती चतुर्वेदी

 

तालिका नं. ४ को क्र.सं. ६, , , १० र ११ बमोजिमको बैंक मौजदात

१२,३६,८६६।६८

१२,३६,८६६।६८

३२

 

रामाज्ञा चतुर्वेदी

घरबाट बरामद भएको नगद रु.

,१३,०००।

,१३,०००।

३३

 

अभिषेक चतुर्वेदी

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को खरीद गरेको शेयर

३०,००,०००।

३०,००,०००।

३४

 

रामाज्ञा चतुर्वेदी

नेपाल मेडिकल कलेज, काठमाडौँको खरीद गरेको शेयर

३०,००,०००।

३०,००,०००।

३५

 

,,

शिखर पेन्टस प्रा.लि., काठमाडौँको खरीद गरेको शेयर

,००,०००।

,००,०००।

३६

 

अभिषेक चतुर्वेदी

रामाज्ञा चतुर्वेदी

स्टेट बैंक अफ इण्डिया, अन्सारीनगर, नईदिल्लीमा जम्मा गरेको भा.रु.६०,८९,८५२।०० को हुने रु.

९७,४३,७६३।२०

९७,४३,७६३।२०

३७

 

अभिषेक चतुर्वेदी

युनाइटेड बैंक अफ इण्डिया लाजपदनगर, नईदिल्लीमा जम्मा गरेको भा.रु.१४,६२,५००।को हुने ने.रु.

२३,४०,०००।

२३,४०,०००।

३८

 

आशा चतुर्वेदी

युनाइटेड बैंक अफ इण्डिया लाजपदनगर, नईदिल्लीमा जम्मा गरेको भा.रु.१५,०१,०००।को हुने ने.रु.

२४,०१,६००।

२४,०१,६००।

३९

 

आशा चतुर्वेदी

बैंक लकरबाट वरामद भएका सुनका गहनाहरू

,२३,८५९।२१

,२३,८५९।२१

४०

 

रितेश चतुर्वेदी

अमेरिकाको टेक्ससमा सन् २००० देखि २००२ सम्म अध्ययन गराउँदाको अमेरिकी डलर २३,०००.०० को औसत प्रति १ डलर को रु.७४।०८ ले हुने ने.रु.

१७,०३,८४०।

१७,०३,८४०।

४१

 

रामाज्ञा चतुर्वेदी

रामाज्ञा चतुर्वेदीले कमलेश तिवारीलाई चलन चल्तीको ब्याज लिई ऋण सापट दिएको रु.

,००,०००।

,००,०००।

४२

 

अदिती चतुर्वेदी

अदिती चतुर्वेदीका नाममा दर्ता रहेको वा. २ च ५२७६ को मारुती गाडीको बयानबमोजिमको मूल्य रु.

,४५,०००।

,४५,०००।

 

 

 

जम्मा

,०९,८५,९६५।३९

,०९,८५,९६५।३९

 

 

स्रोत नखुलेको सम्पत्तिको विश्लेषणः

 

श्रीमती आशा चतुर्वेदीको नाममा कायम रहेको जि रुपन्देही भैरहवा न. पा. वडा नं. ८ (क) कि.नं.१६३६ को क्षे.फ.०१२ को जग्गा मिति २०४०।४।१९ मा खरीद भएको देखिन्छ । स्रोतको रुपमा २०३२ सालमा विवाहमा भा.रु.२,२५,०००।दाइजो पाएकोमध्येबाट भा.रु.१,००,०००।विवाह खर्च भएको र बँकी रहन गएको रकमबाट सो जग्गा खरीद गरेको भनी निजका पति रामाज्ञा चतुर्वेदीले बयानमा उल्लेख गरेका छन् । २०३२ सालमा विवाहमा आफूले दाइजो पाएको रकम बचत रहेको र सोही बचत रकमबाट ८ वर्ष पछि अर्थात् २०४० सालमा आएर सो जग्गा खरीद गरेको भन्ने कथन पत्याउन सकिने अवस्था छैन । सो जग्गा खरीद गर्दाको अवस्थामा रामाज्ञा चतुर्वेदी एन.सी.सी.एन. अन्तर्गत लुम्बिनी योजना भैरहवाको योजना प्रमुखमा कार्यरत् रहेको र उक्त योजनामा काम गर्दा गैरकानूनी रुपमा आर्जन गरेको रकमबाट सो जग्गा खरीद गरेको कुरा निर्विवाद रुपमा स्थापित भएको छ । तसर्थ हालको मूल्याङ्कन अनुसार रु.४९,९०,०००।मूल्यको उपरोक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिको रुपमा मान्ने अवस्था छैन 

प्रतिवादी रामाज्ञा चतुर्वेदीले मिति २०४९।६।२५ देखि २०५१।११।३० सम्ममा हालको मूल्याङ्कन अनुसार रु.२,४२,७६,७४७।६५ निम्न अनुसारका जग्गाहरू खरीद गरेको र त्यसमा पनि निज पहिलो पटक नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल लि. (एन. सी. सी. एन.) को महाप्रबन्धक भएको मिति २०५०।४।१ देखि २०५१।११।३० सम्म अर्थात् १ वर्ष ७ महिनाको अवधिमा मात्र हाल मूल्याङ्कन भएको रु.२,२६,३८,४६६।४० बराबरको देहायका जग्गाहरू खरीद र घर निर्माण गरेको कुरा पुष्टि हुन आएको छ :

क्रमसंख्या १५ मा उल्लिखित जि. काठमाडौं सुन्तखान वालुवा गा.वि.स. वडा नं. ६ (क) को कि.नं.२ क्षेत्रफल ८० रोपनी जग्गा (हाल मूल्याङ्कित रु.१,२८,२०३।१२) रामाज्ञा चतुर्वेदी, जीवन सिंह, रिता चालिसे र राजेन्द्र दाहालको नाममा मिति २०५१।१।१५ मा खरीद गरेको देखिन्छ । सो जग्गाको खरीद गरेको स्रोतमा कमला कार्पेट इण्डष्ट्रीजको मुनाफाबाट खरीद गरेको बयान कथनमा उल्लेख गरेको,

क्रमसंख्या २० मा उल्लिखित जि.काठमाडौं महानगरपालिका हाल वडा नं. ३५ कि.नं. ६५ को क्षेत्रफल २३ रोपनी, र वडा नं. ७(ख) कि.नं.७९१ को क्षेत्रफल ०० को जग्गा (हाल मूल्याङ्कित रु.१६,३८,२८१।२५ दामासाहीले) दीपेन्द्रनाथ टण्डन र रामाज्ञा चतुर्वेदीको छोरा रितेश चतुर्वेदीको नाममा मिति २०४९।६।२६ मा खरीद गरेको देखिन्छ । सो जग्गाहरू खरीद गरेको स्रोतमा २०४९।५।२१ देखि २०४९।६।२५ मा कमला कार्पेट इण्डष्ट्रीजको मुनाफा रकम मध्येबाट व्यहोरिएको बयानमा उल्लेख गरेको,

क्रमसंख्या २७ मा उल्लिखित, जि.पर्सा, वहुअरी भाठा गा.वि.स. वडा नं.७ कि.नं.५६० क्षेत्रफल ०१५१६ विगाहा जग्गा (हाल मूल्याङ्कित रु.२०,००,०००।–) रामाज्ञा चतुर्वेदीको नाममा मिति २०५१।२।८ मा खरीद गरेको देखिन्छ । सोको खरीद स्रोतको रुपमा कमला कार्पेट इण्डष्ट्रिजबाट आ.व.२०५०।०५१ को प्राप्त मुनाफा रकममध्येबाट खरीद गरिएको भन्ने बयानमा उल्लेख गरिएको,

क्रमसंख्या २४ मा उल्लिखित जि. चितवन, कल्याणपुर गा.वि.स. वडा नं.३ को कि.नं.८६० र ८६२ को क्षेत्रफल ०१३५ विगाहा जग्गा (हाल मूल्याङ्कित रु.९,९३,७५०।दामासाहीले) कमला कार्पेट र आशा चतुर्वेदी, वीरेन्द्रनाथ टण्डन, माला यादव, निर्मला लाभको नाममा मिति २०५१।३।२७ मा खरीद गरेको देखिन्छ । सोको खरीद स्रोतको रुपमा कमला कार्पेट इण्डष्ट्रिजको पूँजीबाट सम्पत्तिको रुपमा जग्गा खरीद गरेको र कमला कार्पेटमा आफ्नी पत्नी आशा चतुर्वेदीको २५ प्रतिशत साझेदारी भएको र साझेदारी लगानीको स्रोतको रुपमा आशा चतुर्वेदीको नाममा भैरहवा वडा नं.८ को कित्ता नं.१६३६ को जग्गा मिति २०४५।१।१४ मा कृषि विकास बैंक, पुतली सडक शाखामा धितो राखी रु.३,५६,०००।०० ऋण उठाई सो मध्ये रु.३,५०,०००।लगानी गरेको भनी बयान कथनमा उल्लेख भएको देखिन्छ 

            यसरी हेर्दा उल्लिखित हालको मूल्याङ्कन रु.४७,६०,२३४।३७ का उपरोक्त जग्गाहरू निजले कमला कार्पेट इण्डष्ट्रिजको मुनाफा र पूँजीबाट खरीद गरेको भने तापनि लगानी रकम हेर्दा भैरहवा स्थित उपरोक्त जग्गा धितो राखी प्राप्त ऋणबाट कमला कार्पेटमा लगानी गरेको कुरा बयान कथनमा उल्लेख गरेको तर भैरहवामा रहेको उपरोक्त जग्गा नै स्रोत नखुलेको सम्पत्ति देखिएको हुँदा त्यसरी स्रोत नखुलेको सम्पत्ति धितो राखी प्राप्त ऋणबाट गरिएको शेयर लगानी र सो लगानीको प्राप्त विवादास्पद मुनाफाबाट खरीद गरिएको वा बढेबढाएको जग्गाहरू पनि अवैध नै हुने हुँदा उल्लिखित जग्गाहरू स्रोत नखुलेको सम्पत्तिको रुपमा दावी लिइएको छ 

रामाज्ञा चतुर्वेदीका छोराहरू रितेश चतुर्वेदी, अभिषेक चतुर्वेदी, तथा छोरी अदिती चतुर्वेदीको नाममा रहेको क्र.सं. २, मा उल्लिखित जि. पर्सा, श्रीपुर गा.वि.स. वडा नं. ६ कित्ता नं.८१४ र ८१७ को क्षे.फ.०।।। विगाहा जग्गा (हाल मूल्याङ्कित रु.१,३८,०१,५१३।२८), १०१५१३ विगाहा, क्र.सं.६ जि.काठमाडौं धापासी गा.वि.स. वडा नं. ८(क) कि.नं.८७०, ८७५, ८७३, ८६७ जम्मा क्षे.फ.०१४२ रोपनी जग्गा (हाल मूल्याङ्कित रु.२८,७५,०००।–) तथा क्र.सं. २२ जि. चितवन, भरतपुर नगरपालिका वडा नं.६ कित्ता नं. ३६९ क्षे.फ.०४ विगाहा जग्गा (हाल मूल्याङ्कित रु.१९,५०,०००।–), क्र.सं.३ जि. पर्सा नौतन गा.वि.स. वडा नं. ६(क) कि.नं.१६१ को क्षे.फ. ०।।। जग्गा (हाल मूल्याङ्कित रु.५,००,०००।–) क्रमशः मिति २०५१।३।२ तथा २०५१।९।१ र २०५१।९।१९ मा क्रमशः प्रशान्त सम्शेर, प्रल्हाद शेरचन र देवेन्द्रकुमार, पञ्चकन्या तेलमील (तेजप्रसाद भटृराई) र रामहरि शर्माबाट बकस पाएको र बकस दिने व्यक्तिहरूसँग मित्रतापूर्ण पारिवारिक सम्बन्ध रहेको तथा सेवा, घर व्यवहार, भैपरी आएको कार्यमा सहयोग पुर्‍याई रिझाए बापत आफ्ना छोराछोरीले उल्लिखित व्यक्तिहरूबाट बकस पाएको कुरा रामाज्ञा चतुर्वेदीले बयानमा उल्लेख गरेको देखिन्छ । यसरी बयानमा उल्लिखित कुरा र नेपालको पारिवारिक संरचना एवं सम्बन्धलाई केलाउँदा बकस दिने र बकस लिने बीच प्रत्यक्ष रुपमा कुनै सम्बन्ध देखिदैन भने अर्का तिर अध्ययनमा रहेका छोराछोरीहरूले कसरी र कुन कुन समयमा के कस्तो कार्य गरी बकस पत्र दाताहरूलाई रिझाए सो स्पष्ट छैन । सो अवधिमा निज एन.सी.सी.एन. कम्पनीको महाप्रबन्धक पदमा कार्यरत् रहेको र सोही अवधिमा गैरकानूनी रुपमा आर्जित रकमबाट खरीद गरेको र सो लुकाउने, छिपाउने मनसायले हालैको बकस पत्रको लिखत तयार गरेको कुरा देखिन आएको हुँदा हाल मूल्याङ्कित रु.१,९१,२६,५१३।२८ का जग्गाहरूलाई वैधानिक स्रोत नखुलेको सम्पत्तिको रुपमा पाइएको छ 

क्रमसंख्या ५ मा उल्लिखित रामाज्ञा चतुर्वेदीको नाममा कायम रहेको श्रीपुर गा.वि.स.वडा नं.६ को कि.नं.९०१ को क्षे.फ.०१५१२ विगाहा र ९०२ को क्षे.फ.०४ विगाहा जग्गा मिति २०५१।९।२१ मा खरीद गरेको देखिन्छ । स्रोतको रुपमा कल्याणी साहलाई आफ्नो केही जग्गा दिई सटृापटृाको रुपमा प्राप्त भएको भनी निजले बयानमा उल्लेख गरे तापनि कल्याणी साहबाट के कति सटृापटृा गरेको हो त्यसको कुनै लिखत प्रमाण पनि नभएको र सटृा दिएको सम्पत्ति के हो सोको स्रोत के हो सोको प्रमाण समेत पेश नगरेको हुँदा हालको मूल्याङ्कनअनुसार रु.३,९०,०००।पर्ने उल्लिखित जग्गाहरूको वैधानिक स्रोत खुल्न सकेको छैन 

यसरी उल्लिखित जग्गाहरू एन.सी.सी.एन.को प्रवन्धक र महाप्रबन्धक पदमा कार्यरत् रहेको अवधिमा खरीद गरेको देखिन्छ । ती पदहरूमा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा रकम आर्जन गरी हाल मूल्याङ्कन भएको कुल २,४२,७६,७४७।६५ बराबरको घर तथा जग्गा खरीद गरेको देखिँदा उल्लिखित घर तथा जग्गाहरूलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा लिइएको छ 

प्रतिवादी रामाज्ञा चतुर्वेदी दोस्रो पटक मिति (२०५५।१०।२० देखि २०५७।१२।२२ सम्म) एन.सी.सी.एन.को महाप्रबन्धक भएको अवस्थामा रकम रु.२१,११,०००।मूल्य बराबरको निम्नअनुसारका जग्गाहरू खरीद गरेको देखिन्छ :

क्रमसंख्या ७ मा उल्लिखित का.जि.चपली भद्रकाली गा.वि.स. वडा नं.५ को कि.नं.४४२ र ४४६ को क्रमशः क्षे. फ. १० र ११२० रोपनी जग्गा (हाल मूल्याङ्कित रु.१८,००,०००।–) मिति २०५६।११।१६ मा राजीनामाको लिखत गरी लिएको,

क्रमसंख्या २९ को जि.पर्सा वहुअरी गा.वि.स. वडा नं.२ को कि.नं. २१३ को क्षे.फ.०।।। रोपनी जग्गा (हाल मूल्याङ्कित रु.१,७५,०००।–) मिति २०५६।११।८ मा राजीनामाकै लिखतबाट निजकी पत्नी श्रीमती आशा चतुर्वेदीका नाममा पास गरी लिएको देखिन्छ 

उल्लिखित जग्गाहरू कुन आयस्रोतबाट खरीद गरी लिएको हो भन्ने सन्दर्भमा निजहरूको बयान हुँदा ती जग्गा बैंकमा जम्मा गरिएका रकमहरू झिकी खरीद गरेको भन्ने जवाफ रहेको र बैंकमा उक्त रकम के कसरी जम्मा हुन आएका हुन् भनी प्रश्न गर्दा सासूबाट आएको, जग्गाको आय, अंशबण्डाका अवस्थामा पाएको, कृषि आयबाट जम्मा हुन आएको भन्ने जवाफ दिइएको छ 

प्रतिवादी रामाज्ञा चतुर्वेदी र निजको पत्नीले अंशबापत करीव ४१५१४ विगाहा जग्गा मात्र पाएको देखिन्छ । स्वयंले कृषि कार्य नगरेको र बयानमा उल्लेख गरेको सो आय कुन समयदेखि कुन समयसम्मको कृषिजन्य आय हो सो समेत केही कुरा नखुलाई केवल कृषिजन्य आय बैंकमा जम्मा भएको र त्यसैबाट लाखौं मूल्य पर्ने जग्गा खरीद गरेको भन्ने भनाइमा कुनै सत्यता र तालमेल देखिदैन 

क्रमसंख्या १२ को पर्सा जिल्ला वैरियाबिर्ता गा.वि.स.वडा नं.७ को कि.नं.२१७ को क्षे.फ. ०१६.५ जग्गा (हाल मूल्याङ्कित रु.१,३६,०००।–) मिति २०५७।३।१४ मा निज रामाज्ञा चतुर्वेदीले गोविन्दलाल के.सी.बाट आफ्नै नाममा हालैको बकसपत्रको लिखत गरी लिएको देखिन्छ । जि. पर्सा सिर्सिया गा. वि. स. वाड नं.७ को कि.नं.२१७ को जग्गा रामाज्ञा चतुर्वेदीले मिति २०५६।१।१५ मा आफ्नै दाजु राम सिंहासन चौवेबाट हालैको बकसपत्रबाट प्राप्त गरेको देखिन्छ । सामान्य नागरिकको जीवनयापन गरिरहेको दाजुले रामाज्ञा चतुर्वेदी जस्तो सरकारी संस्थानको महाप्रबन्धक रही रहेको भाइलाई बकस गरी जग्गा दिनुपर्ने युक्तिसंगत कारण र औचित्य नदेखिएबाट पहिले उक्त सम्पत्ति दाजुका नाममा खरीद गरी पछि निजबाट आफ्नो नाममा सारेको देखिएबाट हालको मूल्याङ्कनबमोजिम रु.४०,०००।पर्न सक्ने सो जग्गा स्रोत नखुलेको सम्पत्ति देखिएको छ 

मिति २०५२।१।२४ देखि २०५२।११।१६ सम्म करीव ११ महिनाको अवधिमा रु.२२,१०,०००।को निम्नअनुसारको जग्गा खरीद गरेको देखिन्छ भने मिति २०५२।१।२४ देखि २०५२।४।२३ सम्मको २ महिनाको अवधिमा मात्र रु.२२,००,०००।मूल्य पर्ने ५ कित्ता जग्गा खरीद गरेको देखिन्छ जुन निम्नानुसार छन् :

क्रमसंख्या ८ मा उल्लिखित जि.पर्सा वहुअरी गा.वि.स. वडा.नं.२ का कि.नं.२११ र २१२ को क्रमशःक्षे.फ.०।।। र ०।।। को जग्गा (हाल मूल्याङ्कित रु.८,००,०००।–) मिति २०५२।२।२१ मा निजको पत्नी आशादेवी चतुर्वेदीका नाममा कुनै पारिवारिक सम्बन्ध नै नरहेको व्यक्तिहरू चन्द्रावतीदेवी कोइरी र शम्भुप्रसाद मानन्धरबाट हालैको बकसपत्रको लिखत गरी लिएको देखिन्छ । साथै एन.सी.सी.एन.को महाप्रवन्धक पदमा कार्यरत् व्यक्तिको श्रीमतीले बकस दिने व्यक्तिहरूको सेवा सुश्रुषा गरेको भन्ने कुरामा कुनै विश्वसनीयता देखिदैन । रामाज्ञा चतुर्वेदीले पदमा रही गैरकानूनी रुपमा आर्जन गरेको रकमबाट जग्गा खरीद गरेको कुरालाई ढाकछोप गर्न मात्र हालैको बकसपत्रको लिखत गरी जग्गा खरीद गरेको हुँदा सो जग्गाहरूलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा लिइएको छ 

रितेश चतुर्वेदीको नामको क्र.सं.४ मा रहेका श्रीपुर गा.वि.स. वडा नं.६ को कि.नं.९१० र ९११ को क्रमशः क्षे.फ.०१५ र ०५ विगाहा जग्गाहरू (हाल मूल्याङ्कित रु.१०,००,०००।–) मिति २०५२।४।९ र १० मा खरीद गरेको र स्रोतको रुपमा श्रीमती आशा चतुर्वेदीको नाममा श्रीपुर गा.वि.स. वडा नं.८ मा रहेको जग्गा कि.नं.४९२, ५१४ र ५१५ बिक्री गर्दा आएको रकममध्येबाट खरीद गरेको भनी रामाज्ञा चतुर्वेदीले बयानमा उल्लेख गरेको देखिन्छ । तर बिक्री गरिएको भनिएको जग्गा आशा चतुर्वेदीको नाममा कसरी प्राप्त हुन आएको थियो सोको विवरण पेश नगरेकोले स्रोत नै वैधानिक नदेखिएको हुँदा सो जग्गालाई स्रोत खुलेको मान्न सकिने अवस्था देखिदैन 

रितेश चतुर्वेदीकै नाममा रहेको क्र.सं.२१ मा उल्लिखित वहुअर्वा भाठा गा.वि.स. वडा नं.७ को कि.नं.१३० को क्षे.फ.०० विगाहा जग्गा (हाल मूल्याङ्कित रु.४,००,०००।–) मिति २०५२।४।२३ मा खरीद गरेको देखिन्छ । सो जग्गा प्रतिवादी रामाज्ञा चतुर्वेदीले कृषिजन्य आयमध्येबाट खरीद भएको भनी बयानमा उल्लेख गरेको देखिन्छ । कृषिजन्य आय कुन सालको के कति आय थियो र कति खर्च भई के कति बचत भएको रकममध्येबाट खरीद गरेको हो, सोको तथ्यगत विवरणसहित सोलाई पुष्टि गर्ने कागज प्रमाण समेत पेश हुन नआएकोले स्रोत नखुलेको सम्पत्तिको रुपमा पाइएको छ 

प्रतिवादी रामाज्ञा चतुर्वेदीको नाममा रहेको क्र.सं. १४ को वैरियाबिर्ता गा.वि.स. वार्ड.नं.७ को कि.नं.३५७ को क्षे.फ.०१० विगाहा जग्गा (हाल मूल्याङ्कित रु.१०,०००।–) मिति २०५२।११।१६ मा खरीद गरेको देखिन्छ । निजले बयान गर्दा अंशबाट पैतृक रुपमा पाएको भनी उल्लेख गरे तापनि पेश हुन आएको बण्डापत्रलगायतका कुनै पनि कागजातबाट सो जग्गा पैतृक हो भन्ने कुरा पुष्टि नहुँदा सोलाई स्रोत खुलेको सम्पत्तिको रुपमा मान्न मिल्ने देखिएन 

यस प्रकार हालको मूल्याङ्कनअनुसार रु.२२,१०,०००।मूल्य पर्ने उपरोक्त जग्गा आफ्नो र आफ्ना परिवारका नाममा आउन सीमित मासिक पारिश्रमिक पाउने सरकारी संस्थानको सेवामा रहेको व्यक्तिका लागि स्वभाविक देखिदैन । अचल सम्पत्तिको स्रोत उल्लेख गर्ने क्रममा जतिसुकै पैतृक सम्पत्तिको आय वा कृषिजन्य आय भने पनि ती सवै कुराहरू गैरकानूनी सम्पत्तिलाई वैध हो भनी देखाउन खोजिएको असफल प्रयास मात्र हो । तसर्थ, सबै सम्पत्तिलाई वैधानिक स्रोत नखुलेको सम्पत्तिको रुपमा दावीमा लिइएको छ 

मिति २०४८।२।३० देखि २०५०।३।२१ अवधिमा मात्र हालको मूल्याङ्कनअनुसार रु.७३,०७,६५६।२५ पर्ने निम्न अनुसारका जग्गाहरू रामाज्ञा चतुर्वेदीले बकस पत्रको लिखत गरी खरीद गरेको देखिन्छ :

क्रमसंख्या १७ मा उल्लिखित हालको मूल्य रु.५२,६०,०००।पर्ने जि. पर्सा, रामगढवा गा.वि.स. वडा नं.४ को कि.नं.३२ को क्षे.फ.१० विगाहा जग्गा मिति २०४८।२।३० मा रामाज्ञा चतुर्वेदीले हालैको बकसपत्रको लिखत गरी लिएको देखिन्छ । वेसरोकार व्यक्ति महमद मियाँ अन्सारीबाट बकस प्राप्तकर्ता र बकसदाताका बीच बकस लिनु दिनुपर्ने कारण र औचित्य देखिंदैन । सो जग्गा प्राप्त गर्दा हालैको बकस पत्र भन्ने व्यहोरा भएको लिखत र बकसदाताले स्वामित्व हस्तान्तरण गर्दा बकस भने पनि निजहरू बीच खरीद बिक्री भएको स्पष्ट हुन्छ । सो जग्गा खरीद गर्दा बुझाएको मूल्यको वैधानिक स्रोत उल्लेख गर्न नसेकेको हुँदा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको छ 

क्रमसंख्या २३ मा उल्लिखित का.जि.का.म.न.पा.वडा नं.३५ को कि.नं.५१ र ६४ का क्षे.फ. ११३३ रोपनी जग्गाहरूको हालको मूल्याङ्कन रु.२३,९५,३१२।५० भएकोमा उक्त जग्गा रामाज्ञा चतुर्वेदी र वीरेन्द्रनाथ टण्डनको नामको रहेको हुँदा सो मूल्याङ्कन रकमलाई २ भाग लगाई १ भाग निज रामाज्ञा चतुर्वेदीको हिस्सामा राख्दा रु.११,९७,६५६।२५ हुन आउँछ । निजहरूले मिति २०४९।७।५ देखि २०४९।१०।१५ सम्म विभिन्न मितिमा कृष्णदेवी साँय, राजमान वाँडे, भक्तबहादुर दुगु, जगतबहादुर प्रजापती, कृष्णबहादुर प्रजापती, ज्यानबहादुर प्रजापती, तुइसीं दुगु, ध्रुवप्रसाद ढुंगाना, कमला ढुंगाना, रामेश्वरी ढुंगाना र काजीबहादुर तकोबाट बकसपत्र पाएको निजको बयान र लिखतबाट देखिन्छ । बकस दिने व्यक्तिहरू र बकस प्राप्त गर्नेहरू बीच कुनै प्रकारको सम्बन्ध रहेको पाइदैन । आफू कार्यरत् रहेको पदको पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आय आर्जन गरेको रकम लुकाउने, छिपाउने र रजिष्ट्रेशन दस्तूर थोरै बुझाउने मनसायले बकसको लिखत मात्र गरेको कुरा स्पष्ट हुन आएको छ । यसरी खरीद भएका जग्गाको वैधानिक स्रोत खुल्न सकेको छैन 

क्रमसंख्या २८ मा उल्लिखित जिल्ला मकवानपुर हेटौंडा न.पा. वडा नं.९ को कि.नं.४७७ र १०५१ को क्षे.फ. क्रमशः०१४.५ र ०१६ विगाहा जग्गा रामाज्ञा चतुर्वेदीको नाममा मिति २०५०।३।२१ मा श्रीमती पुष्पादेवी महत क्षेत्रीबाट बकस पाएको भनी बयान गरेको र लिखतबाट देखिए तापनि बकस दिने र पाउने बीच कुनै प्रकारको सम्बन्ध देखिदैन । सरकारी कम्पनीको प्रवन्धक जस्तो उच्च तहमा कार्यरत् व्यक्तिलाई वर्ष ३३ की महिलाले दानपुण्य गर्नुपर्ने कुनै कारण समेत नदेखिएको हुँदा सो जग्गाको पारीत लिखतमा हालैको बकसपत्र भनी लेखिए पनि सो जग्गा खरीद गरेको नै पुष्टि हुन्छ । तसर्थ हालको मूल्याङ्कित रु.८,५०,०००।को सो जग्गालाई स्रोत नखुलेको सम्पत्तिको रुपमा लिइएको छ 

क्रमसंख्या १० मा उल्लिखित जि.पर्सा सिर्सिया गा.वि.स.वडा नं. १ को कि. नं. ४१२ को क्षे.फ.०१६ विगाहा र क्रमसंख्या २५ मा उल्लिखित जि. पर्सा, सिर्सिया गा.वि.स. वडा नं.१ को कि.नं.३१९ को क्षे.फ.०१६ विगाहा जग्गाहरू क्रमशः रामाज्ञा चतुर्वेदी र श्रीमती आशा चतुर्वेदीका नाममा कायम रहेको र ती जग्गाहरू एउटै मिति २०४५।४।२३ मा खरीद गरेको देखिन्छ । जग्गा खरीदको स्रोतका रुपमा रामाज्ञा चतुर्वेदीले बयान गर्दा सगोलको सम्पत्तिबाट खरीद गरेको भनी बयानमा उल्लेख गरे तापनि मिति २०४६।४।१६ मा निजहरूको दाजुभाइ बीच भएको अंशबण्डामा सो जग्गाको कहिंकतै उल्लेख नहुनुबाट निजको सो बयान सरासर झूठो देखिएको छ । उल्लिखित जग्गाहरूको हालको मूल्याङ्कन क्रमशः रु.१,२५,०००।र १,२५,०००।गरी जम्मा रु.२,५०,०००।को उपरोक्त जग्गाहरूलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा दावीमा समावेश गरिएको छ 

क्रमसंख्या ११ मा उल्लिखित जि. पर्सा, सिर्सिया गा.वि.स. वडा नं. ७ को कि.नं. २१६ को क्षे.फ. ०१७ जग्गा रामाज्ञा चतुर्वेदीको नाममा मिति २०५०।३।१६ मा दाजु रामाधार चतुर्वेदीबाट खरीद गरेको भनी निजले बयानमा उल्लेख गरेको र स्रोतको रुपमा कुनै कुरा उल्लेख नगरेबाट सो स्रोत नखुलेको प्रष्ट नै हुन्छ । सो अवधिमा निज एन.सी.सी.एन. अन्तरगत यान्त्रिक बिभागको कार्य सञ्चालन गर्नको साथै योजना प्रवन्धक रहदा गैरकानूनी रुपमा आय आर्जन गरी खरीद गरेको देखिँदा हाल मूल्याङ्कन भएको रु.४०,०००।को सो जग्गालाई स्रोत नखुलेको सम्पत्तिको रुपमा लिइएको छ 

क्रमसंख्या १३ मा उल्लिखित जि.पर्सा वैरियाबिर्ता गा.वि.स. वडा नं. ७ कि.नं. ३५५ र ३५६ को क्रमशः क्षे.फ.०० र ०० जग्गा मिति २०५२।१।२४ र २०५२।१।२५ मा क्रमशः आफ्नै दाजु रामसिंहसन चौवे र भाई रामअयोध्या चतुर्वेदीबाट रामाज्ञा चतुर्वेदीले हालैको बकसपत्र लिखत गरी लिएको देखिन्छ । यस सम्बन्धमा मिति २०४६ सालमा अंशबण्डा भई सकेको र सो अंशबण्डा पछि रामाज्ञा चतुर्वेदीका दाजुभाइहरूले आफ्नो सामान्य जीवन यापन गरिरहेको र रामाज्ञा चतुर्वेदीले दाजु भाइहरूलाई कुनै आर्थिक सहयोग नगरेको अवस्थामा सरकारी संस्थानको प्रबन्धकको हैसियतमा पुगी सकेको व्यक्तिलाई दाजु भाइले जग्गा बकस गरी दिनुपर्ने कुनै आधार र अवस्था देखिन्न । हाल मूल्याङ्कन भएको रु.८०,०००।को उपरोक्त जग्गाहरूलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा दावी लिएको छ 

क्रमसंख्या १६ मा उल्लिखित आशा चतुर्वेदीको नाममा कायम रहेको रामगढवा गा.वि.स. वडा नं.४ को कि.नं.६२८ को क्षे.फ.०४.५ जग्गा मिति २०५८।२।३० मा खरीद गरेको र जग्गा खरीद गर्दाको स्रोतको वारेमा निजकै बयान कथनमा आशा चतुर्वेदीको हिमालयन बैक वीरगञ्ज शाखास्थित खातामा रहेको रकम झिकी खरीद गरेको भनी उल्लेख गरेको देखिन्छ । तर निजले सो बैंकमा जम्मा गरेको रकमको स्रोत खुलाउन नसकेको हुँदा उक्त रकम समेत झिकी सो रकममध्येबाट लगानी गरी जग्गा खरीद गरेको देखिएको हुँदा उक्त जग्गाको हाल मूल्याङ्कन भएको रु.१,२०,०००।०० लाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्रमसंख्या १८ मा उल्लिखित रामाज्ञा चतुर्वेदीको नाममा कायम रहेको रामगढवा गा.वि.स. वडा नं.४ कि.नं. ७१९ र ७२० को क्रमशः क्षे.फ.०७ र ०० जग्गा मिति २०५८।६।९ मा खरीद गरेको देखिन्छ । सो जग्गा खरीद गर्दाको आयस्रोतका सम्बन्धमा निज रामाज्ञा चतुर्वेदीले बयान गर्दा कृषिजन्य आय, विदेश भ्रमणबाट आएको आम्दानी, गाउँघरमा लगानी गरेको रकमबाट बढेबढाएको, घर भाडा, तलव आदिको बचतबाट भएको भनेको भए तापनि कुन क्षेत्रबाट कति बचत भएको स्पष्ट नखुलाई हचुवाका भरमा दिएको बयान पत्यारिलो र औचित्यपूर्ण नदेखिनुको साथै सो अवधिमा निज एन.सी.सी.एन.को प्रबन्धक पदमा रहेको र सो पदमा रहँदा पदीय दुरुपयोग गरी आर्जन गरेको रकमबाट जग्गा खरीद गरेको देखिदा हाल मूल्याङ्कन भएको रु.७,६०,०००।को सो जग्गालाई स्रोत नखुलेको सम्पत्तिको रुपमा दावी लिइएको छ 

क्रमसंख्या १९ मा उल्लिखित जि. पर्सा रामगढवा वडा नं.७ को कि.नं.११० को जग्गा र सोही जिल्लास्थित श्रीपुर गा.वि.स. वडा नं.६ को कि.नं.७४१ को क्षे.फ.०५ र ०० जग्गा मिति २०४८।३।४ मा खरीद गरेको देखिन्छ । एकै दिन हाल मूल्य रु.५,००,०००।पर्ने ती जग्गाहरू खरीद गरेको स्रोत सम्बन्धमा प्रश्न गर्दा निजले कृषि आयबाट खरीद गरेको भन्ने जवाफ दिएको भए पनि उक्त जग्गा प्राप्त गर्दाको समयलाई विचार गर्दा निज रामाज्ञा चतुर्वेदी तत्काल सिनियर रेसिडेन्सियल इन्जिनियर भई निजलाई कोहलपुर महाकाली राजमार्ग योजनाको योजना प्रवन्धकको रुपमा खटाएको एवं निजलाई ववइ वियरकम ब्रिज योजना र भादा पुल योजनाको समेत कार्य सञ्चालन गर्ने गरी तोकिएको अवस्था देखिँदा निजले पाएको पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपमा प्राप्त सम्पत्तिबाट ती जग्गाहरू खरीद गरेको प्रष्ट देखिएकोले ती जग्गाहरूलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावी लिइएको छ 

रामाज्ञा चतुर्वेदीको पैतृक सम्पत्तिबाट प्राप्त भएको जग्गाको कृषि उपजको के कति खपत वा उपभोग गरी के कति बचत भयो सो समेत उल्लेख नभएको, निज रामाज्ञा चतुर्वेदीले २०३२ सालदेखि श्री ५ को सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थामा प्रवेश गरेदेखि हालसम्म अविछिन्न रुपले सेवामै रहेको, आफू र आफ्ना परिवारले कृषकको हैसियतले खेतीपातीको जग्गामा अहोरात्र बसी खेतीको काम गर्ने कुरा बयान कथनमा कतै पनि उल्लेख नभएको अबस्थामा निजले अत्यन्त सरलताका साथ फलफूल बिक्री गरी, आँपको रुख बिक्री गरी तथा अन्नपात बिक्री गरी प्रशस्त आय आर्जन हुने भनी देखाउन खोजेका सबै कुरामा कुनै तार्किक आधार र तथ्यगत अवस्था नरही आफ्नो अपराध लुकाउन रचिएको झूठा कुराहरू मात्र हुन् भन्ने देखिन्छ 

क्रमसंख्या १ मा उल्लिखित श्रीमती आशा चतुर्वेदीको नाममा कायम भएको का.जि.का.म.न.पा. वडा नं. ७ग को कि.नं. ५० को मिति २०३७।२।३ मा खरीद गरेको जग्गामा २०४१ देखि २०४३ सालसम्ममा घर निर्माण भएको कुरा रामाज्ञा चतुर्वेदीको बयानमा देखिन्छ । सो घर के कुन आयस्रोत खर्च गरी बनाइएको भन्ने सम्बन्धमा सोधनी गर्दा प्र. रामाज्ञा चतुर्वेदीले रु.५,५०,०००।खर्च भएको र सो खर्चमध्ये रु.३,००,०००।सगोल परिवारको कृषि आम्दानीबाट आमाले दिनु भएको रकम र बाँकी रु.२,५०,०००।आफ्नो तलव, भत्ता आदि र श्रीमती आशा चतुर्वेदीको दाइजो, टिकाटालोबाट र कृषिजन्य आयबाट प्राप्त रकमबाट खर्च भएको भनी उल्लेख गरेको पाइन्छ । निजले आमाबाट पाएको भनिएको रु.३,००,०००।रकम २०३३ सालमा रु.१,२५,०००।पाएको भन्दै २०४१ सालसम्ममा रु.३,००,०००।भएको भन्ने व्यहोरा उल्लेख गरिएको बयानबाट देखिन्छ । तर २०४६।४।१९ मा निजहरूको अंशबण्डा हुँदा आफ्ना भागमा धेरैवटा टुक्राटुक्री कित्ता जोड्दा जम्मा ५ विगाहाभन्दा केही कठृा र धुर मात्र पाउने व्यक्तिले २०३३ सालमा नै रु.१,२५,०००।पाएको सो पछि क्रमशः सालैपिच्छे सोही क्रममा त्यो बेलाको त्यति ठूलो रकम पाएको भनी पत्याउन सकिने अवस्था छैन 

            त्यस बेलाको रु.२,५०,०००।रकमलाई फेरि कृषिजन्य आय देखाई बयान लेख्दै अरु स्रोतमा तलवभत्ताको बचत र टिकाटालोबाट पाएको रकम भनी उल्लेख गर्नु आफैमा हास्यास्पद देखिन्छ । त्यसमा पनि करीव ४ वर्षअघि मात्र निजले आफ्ना विभिन्न आयस्रोतबाट जग्गा खरीद गरेकोलाई लुकाउन छिपाउन २०३२ सालमा दाइजो पाएको सम्पत्तिबाट खरीद गरेको भनी उल्लेख गर्नुले निजको बयानमा कुनै सत्यता नरहेको अझ प्रष्ट हुन्छ । यस प्रकार निजले उल्लेख गरेको स्रोतलाई स्थापित गर्ने आधार नदेखिएकोले हालको मूल्याङ्कित रु.२८,०२,८४३।४१ को सो घरलाई स्रोत नखुलेको सम्पत्तिबाट निर्माण भएको हुँदा दावीमा लिइएको छ 

 

नेपालको बैंक खाता

क्रमसंख्या ३० मा उल्लिखित रामाज्ञा चतुर्वेदीको नामको नेपाल एस.वि.आइ बैक (खाता नं. ०१५३१००१९१६) मा स्रोत खुल्न नसकेको रु.१,४२,०००।–, नेपाल बैंक लिमिटेड बैकिङ्ग अफीस धर्मपथ (खाता नं.६५८१८) मा रहेको स्रोत खुल्न नसकेको तथा अस्वाभाविक परिमाणको रकम रु.२०,४७,५७३।जम्मा गरेको देखिएको छ । तिनीहरूको जम्मा हुने स्रोत सम्बन्धमा निजले बयान गर्दा कृषिजन्य आय, तलवभत्ता आदिबाट जम्मा भएको भनी बयान गरेको हुँदा सो कथन पत्यार लायक देखिंदैन । यसरी ती खाताहरूमा रहेको जम्मा रकम रु.८९,७८८।९९ स्रोत नखुलेको सम्पत्ति देखिएकोले दावीमा लिइएको छ 

            क्रमसंख्या ३१ मा उल्लिखित विभिन्न बैंकहरूमा रामाज्ञा चतुर्वेदीका परिवारका सदस्यहरू मध्ये श्रीमती, छोरा र छोरीका नाममा रहेको कुल रु.१२,३६,८६६।६८ बैंक मौज्दातलाई स्रोत नखुलेको हुँदा ती सम्पत्तिलाई देहायबमोजिम दावीमा लिइएको छ :

आशा चतुर्वेदीको नाममा नेपाल बैंक लिमिटेड धर्मपथ, काठमाडौं खाता नं.८४५२१५० र कृषि विकास बैक, वत्तीसपुतली खाता नं.१४०२१० खातामा जम्मा गरेको जम्मा रु.८८,७६६।६० मौज्दात रहेको देखिएको छ । निजले बयान गर्दा स्वर्गीय सासूले दिनु भएको रकम, कृषि आय, अंशबण्डा हुँदा प्राप्त गरेको भनी बयानमा उल्लेख गरेको देखिन्छ । तर ती दुवै बैंक खाताहरूमा अपत्यारिलो र अस्वाभाविक परिमाणको रकम क्रमशः रु.६६,१५,४३०।३४ (बन्द गरेको खाता नं.६२३००५० मा जम्मा गरेको) र रु.८,९५,०००।पटकपटक जम्मा भएको देखिएकोले ती खाताहरूमा रहेको जम्मा रु.८८,७६६।६० बैंक मौज्दातलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावी लिइएको छ । सम्पत्ति न्यायिक जाँचबुझ आयोग गठन हुंदा साथै आशा चतुर्वेदीले नेपाल बैंक लिमिटेड काठमाडौंमा मिति २०५९।१।२४ मा खाता नं.६२३००५० बन्द गरी सोही मितिमा खाता नं.८४५२१५० नयाँ खाता खोलेबाट आफ्नो अपराध लुकाउने प्रयास गरेको देखिन्छ 

त्यसैगरी हिमालयन बैंक, शाखा कार्यालय वीरगञ्ज स्थित आशा चतुर्वेदीको खाता नं. १३१४० J. मा रहेको रु.७४,९६१।३६ रकम रामाज्ञा चतुर्वेदीको छोरा अभिषेक चतुर्वेदीको नाममा मिति २०५०।९।१९ मा खरीद गरेको रु.१,३५,७१,५१३।२८ मूल्यको घरजग्गा समेतको नै स्रोत नखुलेकोले दावीमा लिएको हुँदा सो घर वहालमा लगाई भाडा बापत उक्त बैंक खातामा जम्मा भएको रु.७४,९६१।३६ रकमलाई स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाएको सम्पत्ति देखिएको हुँदा दावीमा लिइएको छ 

त्यसैगरी कृषि विकास बैक चावहिलस्थित अभिषेक चर्तुवेदीको नामको खाता नं.२७२७१६ मा रु.५०,१०८।२४ मौज्दात रहेको देखिएको छ । उक्त बैंकबाट पटकपटक गरी अस्वाभाविक परिमाणको रु.१६,७५,०००।रकम जम्मा भएको देखिन्छ । सो रकमवारे प्र. रामाज्ञा चतुर्वेदीले केही उल्लेख गर्न नसकेको तर निजकी पत्नी आशा चतुर्वेदीले सो रकम परिवारको विभिन्न स्रोतबाट आएको भनी बयान गरेको भए पनि के कुन स्रोतबाट आएको हो सो स्पष्ट गरेको छैन । त्यसैले उक्त खातामा रहेको रु.५०,१०८।२४ मौज्दात रकमलाई स्रोत नखुलेको सम्पत्ति देखिएको हुँदा दावीमा लिइएको छ 

एभरेष्ट बैंक, शाखा कार्यालय न्यूरोडस्थित अदिती चतुर्वेदीको नामको खाता नं.०२७६७ मा रहेको रु.१०,२३,०३०।४८ मौज्दात रकमको विषयमा छोरीको दक्षिणा आदिबाट जम्मा भएको भनी रामाज्ञा चतुर्वेदीले बयान कथनमा उल्लेख गरेको देखिन्छ । तर त्यत्ति ठूलो परिमाणको रकम केवल दान दक्षिणाबाट जम्मा हुन सक्ने कुरामा सत्यता रहेको पाइदैन । उक्त बैंक खातामा रहेको बैंक मौज्दात रु.१०,२३,०३०।४८ लाई स्रोत नखुलेको सम्पत्तिको रुपमा लिई दावी गरिएको छ 

क्रमसंख्या ३२ मा उल्लिखित रामाज्ञा चतुर्वेदीको घरमा वरामद भएको रु.१,१३,०००।रकमको स्रोत खुल्न नसकेको हुँदा स्रोत नखुलेको सम्पत्तिमा दावीको रुपमा लिइएको छ 

 

शेयर

क्रमसंख्या ३३ मा उल्लिखित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा रु.३०,००,०००।शेयर श्रीमती आशा चतुर्वेदीको नाममा रहेको हिमालयन बैंक, वीरगञ्जबाट झिकेको रकमबाट लगानी गरेको भनी बयानमा उल्लेख गरेको पाइन्छ तर श्रीमती आशा चतुर्वेदीको नाममा रहेको हिमालयन बैक वीरगञ्जमा एकै दिन (२०५७।४।२ मा) रु.६८,५०,०००।जम्मा गरेको रकम मध्ये रु.२५,००,०००।मिति २०५८।५।१५ मा चेक मार्फत् शेयर खरीदका लागि भुक्तानी गरेको देखिन्छ । उक्त रु.६८,५०,०००।०० रकमको नै स्रोत खुल्न आएको छैन । निजको बयानमा ऋणपत्रको कुरा उल्लेख भएको तर सो ऋणपत्र कहिले र कुन स्रोतबाट शेयर खरीद गर्न बैंक चेक मार्फत् रु.२५ लाख भुक्तानी दिएको अतिरिक्त थप रु.५ लाख शेयर खरीद गरेको रकमको समेत स्रोत खुल्न सकेको छैन 

हिमालयन बैंक वीरगञ्ज, शाखामा जम्मा गरेको रकमको सन्दर्भमा कुन कुन बैंकबाट झिकिएको हो सो समेत कुनै कुरा स्पष्टसँग उल्लेख हुन नआएकोले हिमालयन बैंक वीरगञ्जमा जम्मा हुन गएको रकम रु.६८,५०,०००।आफैमा स्रोत खुल्न सक्तैन 

यस प्रकार कुन स्रोतबाट प्राप्त रकम कमा जम्मा गरिएको हो सो प्रमाणित गर्ने आधारभूत सवूद प्रमाण सहित पेश हुनु पर्नेमा सो नगरी बैंकबाट रकम झिकी भुक्तानी गरिएको भन्नु नै स्रोत खुल्न नसकेको स्पष्ट हुन्छ । विद्यार्थी अवस्थामा रहेको छोरो अभिषेकको नाममा शेयर खरीद गरेको समयमा निज रामाज्ञा चतुर्वेदी एन.सी.सी.एन.को उच्च ओहदामा रहेको देखिन्छ । सोही पदमा रही पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आय आर्जन गरी प्राप्त आयबाट सो शेयर लगानी भएको रकमको स्रोत नखुलेको हुँदा उक्त शेयरलाई दावीमा लिइएको छ 

क्रमसंख्या ३४ मा उल्लिखित नेपाल मेडिकल कलेजमा रु.३०,००,०००।लगानी गरेको शेयरको स्रोतका सम्बन्धमा निजको बयान हुँदा निजले कृषिजन्य आय, घरभाडा, तलव, भत्ता, भ्रमण भत्ता, आँपका रुखहरू बिक्री तथा श्रीमतीको नाममा हिमालयन बैंकमा रहेको मौज्दातबाट रु.१०,००,०००।समेत रकम झिकी लगानी गरेको उल्लेख गरेको छ । सो रकम बैकमा जम्मा गर्दाको वैधानिक स्रोत समेत पेश गर्न नसकेको हुँदा उक्त शेयर लगानीको स्रोतका सम्बन्धमा कुनै वैधानिकता देखिदैन । यस्तो लगानी गरेको रकम पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जित रकम नै भएको कुरा देखिन आएको हुँदा उक्त रु.३०,००,०००।बराबरको शेयरलाई दावीमा लिइएको छ 

क्रमसंख्या ३५ मा उल्लिखित शिखर पेन्टस्‌मा रु.५,००,०००।को शेयर खरीदको स्रोतका सम्बन्धमा रुख विक्रीबाट रु.२,५०,०००।–, कमला कार्पेटबाट रु.१ लाख, कृषिजन्य आयबाट रु.१ लाख र श्रीमतीको बैंक खाताबाट रु.५०,०००।उल्लेख गरेकोमा रुख कहिले र कसलाई बिक्री गरेको हो सो कुराको कुनै प्रमाण पेश हुन सकेको छैन र यस सम्बन्धी कुनै प्रमाण आउन सकेको पनि छैन । सो पेन्टस्‌मा लगानी गरिएको अर्को स्रोतको रुपमा कमला कार्पेटको आय भनी बयानमा उल्लेख भए पनि निज रामाज्ञा चतुर्वेदीको बयानको क्रममा कमला कार्पेट २०५३ सालदेखि नै बन्द गरेको भनी उल्लेख गरेको देखिन्छ । त्यसमा पनि कमला कार्पेट स्थापना गर्दाको स्रोत नै अवैधानिक रहेको स्थितिमा सोबाट बढेबढाएको सम्पत्ति वैधानिक सम्पत्ति हुन सक्ने देखिदैन । त्यसै गरी अर्को स्रोतको रुपमा निजले कृषिजन्य आय भनेको पाइन्छ सो पुष्टि हुन आएको देखिदैन । स्रोतलाई पुष्ट्याई गर्ने कागजात प्रमाण पेश नभई बयानलाई मात्र आधार र प्रमाण मान्न नसकिने हुँदा रु.५,००,०००।बराबरका शेयर स्रोत नखुलेको सम्पत्तिको रुपमा दावी लिइएको छ 

 

भारतीय बैंक खातामा रहेको रकम

क्रमसंख्या ३६ मा उल्लिखित भारतको नयाँदिल्ली, अन्सारीनगर स्थित स्टेट बैंक अफ इण्डियाको (खाता नं.०११९०/०४५८९३) शाखा कार्यालयमा रामाज्ञा चतुर्वेदी र अभिषेक चतुर्वेदीको नाममा रहेको खातामा मिति १९९७, अक्टुवर २१ देखि २००२ नोभेम्वर २० सम्म भा.रु.६०,८९,८५२।०० जम्मा भएको देखिएको छ । उक्त खातामा जम्मा भएको रकममध्ये मिति २०५५।१।९ देखि २०५८।१०।२९ सम्ममा नेपाल अधिराज्यमा दर्ता भएको नेपाल एस.वी.आइ.बैंक दरवारमार्ग शाखा कार्यालयबाट मात्र भा.रु.३५,३४,०००।०० रामाज्ञा चतुर्वेदीले र अन्य व्यक्तिहरूले ड्राफ्ट गरी पठाएको तथ्य नेपाल एस.बि.आई. बैंक लि.को सन् २०//२००३ को पत्रबाट यकीन भएको छ । तसर्थ उक्त खातामा जम्मा भएको भा.रु.६०,८९,८५२।ले हुने ने.रु.९७,४३,७६३।२० लाई स्रोत नखुलेको सम्पत्तिका रुपमा गणना गरी दावी लिइएको छ 

क्रमसंख्या ३७ मा उल्लिखित भारतको युनाइटेड बैंक अफ इण्डिया, लाजपदनगर, नयाँदिल्लीस्थित (खाता नं. एस.वी.२९३२४५) अभिषेक चतुर्वेदीको नामको खातामा सन् २००२।४।११ देखि २००२।४।१७ सम्म भा.रु.१४,६२,५००।–(ने.रु.२३,४०,०००।–)जम्मा गरी मिति २००२।११।६ मा खाता बन्द गरेको सम्बन्धमा अभिषेक चतुर्वेदी आयोगमा उपस्थित भई बयान गरी प्रतिवाद गर्ने मौका हुँदाहुँदै पनि निजले उक्त अवसरलाई उपयोग समेत नगरेको तथा निजले वावु रामाज्ञा चतुर्वेदीलाई आयोगले अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएपश्चात् बैंक खातामा रहेको सम्पूर्ण रकम झिकी खाता बन्द गरेको देखिएको छ । तसर्थ, अभिषेक चतुर्वेदीको खातामा जम्मा भएको भा.रु.१४,६२,५००।ले हुने ने.रु.२३,४०,०००।रकमलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा गणना गरी दावीमा लिइएको छ 

क्रमसंख्या ३८ मा उल्लिखित भारतको युनाइटेड बैंक अफ इण्डिया, लाजपदनगर, नयाँदिल्लीस्थित (खाता नं. एस. वी. २९३२६१) आशा चतुर्वेदीको नामको खातामा सन् २००२।४।१५ देखि २००२।४।१७ सम्म जम्मा ३ (तीन) दिनभित्रमा भा.रु.१५,०१,०००।जम्मा गरी सन् २००२।११।६ अर्थात् रामाज्ञा चतुर्वेदीलाई हिरासतमा राखिएपछि खाता बन्द गरेको सम्बन्धमा निजले उक्त रकम आफ्ना माइतीले दिएको दाइजो भएकोले बैंकमा राखेको तर पछि बैंकबाट झिकी माइतीलाई नै फिर्ता दिएको भनी बयान कथनमा उल्लेख गरेको भए तापनि सो भनाइमा कुनै सत्यता रहेको देखिदैन । रामाज्ञा चतुर्वेदीलाई आयोगले अदालतको अनुमति लिई हिरासतमा राखेपछि बैंक खातामा रहेको सम्पूर्ण रकम झिकी खाताबन्द गरेको देखिँदा उक्त खातामा जम्मा भएको भा.रु.१५,०१,०००।ले हुने ने.रु.२४,०१,६००।रकमलाई स्रोत नखुलेको सम्पत्तिको रुपमा दावी लिइएको छ 

 

लकरबाट बरामद गरगहना

क्रमसंख्या ३९ मा उल्लिखित निजहरूको घरमा खानतलासी लिएको अवस्थामा करीव २० तोला जतिका सुनका गहना पाइएको र ती सवैलाई दावीमा नलिई स्वाभाविक रुपमा माइतबाट पाएको र घरबाट दिएको हुनसक्ने मानी छोडिएको छ । त्यसैगरी आशा चतुर्वेदीले मित्रराष्ट्र भारतको नयाँदिल्लीस्थित युनाइटेड बैंक अफ इण्डिया लाजपतनगरमा बैंक लकर समेत रहेको कुरा निजले बयान गरेको तथ्यलाई समेत दृष्टिगत गर्दा नेपाल बैंक लिमिटेडको लकरबाट बरामद भएका रु.३,२३,८५९।२१ मूल्य बराबरका गहनाहरू स्रोत नखुलेको सम्पत्तिको रुपमा लिइएको छ 

 

रितेश चतुर्वेदीको अध्ययन खर्च

क्रमसंख्या ४० मा उल्लिखित ३ (तीन) जना छोराछोरीमध्ये रितेश चतुर्वेदीलाई संयुक्त राज्य अमेरिकामा पढाउँदा अमेरिकी डलर २३,०००।खर्च पठाएको कुरा निजले बयान कथनमा उल्लेख गरेको र उक्त रकमको स्रोतको विषयमा रामाज्ञा चतुर्वेदीले श्रीमती आशा चतुर्वेदीका नामको ने.बै.लि. न्यूरोड बैक खाताबाट करीव रु.७,००,०००।०० र बाँकी हाम्रो विभिन्न स्रोत, कृषिजन्य आय व्यवसाय, गाउँघरमा लगानी गरेको रकम र सोबाट बढेबढाएको आम्दानी, वीरगञ्ज श्रीपुरको घरभाडा एवं बैंकमा लगानी गरी प्राप्त गरेको ब्याज रकम समेतबाट पठाएको भनी बयान गरेको भएपनि उक्त बैंक खाताको रकमको स्रोत नै खुलेको नहुँदा रु.२३,०००।अमेरिकी डलरको औसत प्रति १ डलरको औसत सटही दर रु.७४।०८ ले हुने ने.रु.१७,०३,८४०।को स्रोत खुल्न नआएकोले स्रोत नखुलेको सम्पत्तिको रुपमा गणना गरी दावीमा लिइएको छ 

 

ऋण सापटी

क्रमसंख्या ४१ मा उल्लिखित रामाज्ञा चतुर्वेदीले कमलेश तिवारीलाई मिति २०५२।१।२२ मा चलन चल्तीको ब्याजमा रु.७,००,०००।ऋण सापटी दिएको रकमको कपाली तमसुक निजको घरबाट बरामद भएको हुँदा उक्त रकम हालसम्म पनि लगानीमा रही रहेको देखिएको छ । उक्त रकमको स्रोत खुल्न सकेको छैन र कपाली तमसुक रामाज्ञा चतुर्वेदीले सुरक्षित साथ आफैसँग राखेको हुँदा उक्त रु.७,००,०००।०० को विषयमा राखेको भनाइमा सत्यता रहेको देखिएन 

मारुती गाडी

क्रमसंख्या ४२ मा उल्लिखित रामाज्ञा चतुर्वेदीकी छोरी अदिती चतुर्वेदीको नाममा दर्ता रहेको वा. ३ च. ५२७६ को गाडी मिति २०५७।५।१२ मा खरीद गरेको स्रोतको विषयमा रामाज्ञा चतुर्वेदीले बयान कथनमा नेपाल बैंक लि.मा जम्मा गरेको खाताबाट झिकी खरीद गरेको भनी उल्लेख गरेको तर बैंक खातामा जम्मा गरेको रकम आफैं स्रोत हुन नसक्ने र सोको स्रोत के हो सो केही उल्लेख गरेको नदेखिएकोले बयानबमोजिम लागत मूल्य रु.३,४५,०००।लार्ई स्रोत नखुलेको सम्पत्तिको रुपमा गणना गरी दावीमा लिइएको छ 

सरकारले सुम्पेको महत्वपूर्ण सार्वजनिक जिम्मेवारी र जवाफदेहीका उच्च पदहरूको दुरुपयोग गरी भ्रष्टाचारलाई संस्थागत गर्ने निज चतुर्वेदीले सार्वजनिक सेवाको कार्यकालमा हिमालयन बैंक, वीरगञ्जमा एकै दिनमा रु.६८,५०,०००।सम्म रकम श्रीमतीको नाउँमा जम्मा गराएको, ६५ लाख रुपैयाभन्दा बढीको शेयर खरीद गरेको, आफू स्वयं र छोरा अभिषेक चतुर्वेदीका नाउँमा एस.बी.आई.बैंक, नयाँदिल्लीमा २०५४।६।८ देखि यता भा.रु.६०,८९,८५२।—(ने.रु. ९७,४३,७६२।२०) जम्मा गरेको, श्रीमती आशा चतुर्वेदी र छोराको नाउँमा युनाइटेड बैंक अफ इण्डिया नयाँदिल्लीमा २०५९ सालमा मात्रै भा.रु.२९,६३,५००।— (ने.रु.४७,४१,६००।—) जम्मा गरी आयोगबाट कारवाई शुरु गरिएपछि रकम झिकी खाता शून्य गरेको, छोरा रितेश चतुर्वेदीलाई निजकै बयानअनुसार रु.२३,०००।अमेरिकी डलरको खर्चमा अमेरिकाको टेक्सासमा निजी खर्चमा अध्ययन गराएको, साथै नेपाल स्थित बैंकहरूमा करीव रु.१६ लाख मौज्दात रहेका सम्पत्तिको स्रोत खुलाउन सकेको देखिदैन । यसरी २०५० सालपछि निजले गैरकानूनी रुपमा रु.२ करोड ३७ लाख बराबरको तरल सम्पत्ति (नगद, शेयर, सुन आदि समेत) जोडेको पाइन्छ 

 

माग दावी

उल्लिखित तथ्य विवरणको मूल्याङ्कन समेतका आधारमा प्रतिवादी रामाज्ञा चतुर्वेदीको तालिका नं. १३ मा उल्लिखित स्रोत नखुलेको अस्वाभाविक सम्पत्ति गैरकानूनी आर्जन हो भन्ने निर्विवाद निष्कर्ष निस्कन्छ । स्रोत खुल्ने वैध आम्दानीको अनुपातसँग अमिल्दो र अस्वँभाविक उच्च जीवनस्तर देखाउने सम्पत्ति भ्रष्टाचारजन्य क्रियाकलापको परिणाम हो । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले अनुमानित कसूरसम्बन्धी व्यवस्था गरी दफा १६(ग) ले जफतसम्बन्धी तथा दफा ७(२) ले दण्ड सजाय सम्बन्धी व्यवस्था गरेकोमा सोही कानूनी व्यवस्था एवं अवधारणालाई अझ बढी प्रभावकारी र क्रियात्मक बनाउने उद्देश्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले यस्ता सम्पत्तिहरू गैरकानूनी रुपमा आर्जन गरेको मान्दै ऐ. ऐनको दफा २०(२) र दफा ४७ समेतले जफत समेतका दण्डनीय प्रावधानको व्यवस्था गरेका हुँदा निजले आर्जन गरेको सम्पत्ति र यापन गरिरहेको जीवनशैलीको अन्तर सम्बन्धको तथ्यपरक विश्लेषण गर्दा उपरोक्त उल्लेख भएबमोजिम स्वाभाविक आम्दानीका स्रोतसँग प्रतिवादीहरूको अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनशैली रहे भएको स्थापित भएको र निजको वैधानिक आय तथा वर्तमान समयमा देखिएको निजको आर्थिक हैसियतबीच विरोधाभाष रहेको र सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्त समेतका आधारमा प्रतिवादीहरूका हालैका बकसपत्रहरूद्वारा आर्जित सम्पत्ति यस आरोप पत्रका माथिल्ला प्रकरणहरूमा दावी लिइएअनुरूप खरीद हो भन्ने स्पष्ट हुँदा गैरकानूनी रुपमा आर्जित कुल सम्पत्तिमध्ये छोरा रितेश चतुर्वेदीलाई संयुक्त राज्य अमेरिकामा अध्ययन गराउदा भएको खर्च अमेरिकी डलर रु.२३,०००।०० बराबर हुन आउने ने.रु.१७,०३,८४०।र भारतस्थित विभिन्न वाणिज्य बैकहरूमा जम्मा गरी हाल लुकाई छिपाई सकेको भा.रु.९०,५३,३५२।को हुन आउने ने.रु.१,४४,८५,३६२।२० गरी जम्मा रु.१,६१,८९,२०३।२० बरावरको सम्पत्ति पनि निज रामाज्ञा चतुर्वेदीको गैरकानूनी आर्जन नै हुँदा सो समेत विगो कायम गरी जरीवाना जफतका हकमा माग गरिएको तथा स्रोत खुलेको तथा अन्य सम्पत्तिबाट यो विगो बराबरको सम्पत्ति जफत हुन र सोबाट नपुग देखिएमा कानूनबमोजिम हुन र स्रोत खुल्न नसकेको हालसम्म प्राप्त सम्पत्तिको मूल्याङ्कन गराई तदनुरुप नगद र शेयर आदि चल सम्पत्तिलाई जे जस्तो रुपमा छ सोही मूल्यमा दावी लिइएको छ 

            अतः प्रतिवादी रामाज्ञा चतुर्वेदी र छोरा अभिषेक चतुर्वेदी एवं आशा चतुर्वेदीका नाममा रहेको विदेशी मुलुक भारतमा लुकाई छिपाई राखेको रकमका साथै एक छोरालाई संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा दिलाउदाको खर्च समेतको कुल आर्जित सम्पत्ति रु.७,७१,६५,५७३।२९ बराबरको चलअचल सम्पत्तिमध्ये रु.६,९१,८२,५३५।७९ बराबरको चलअचल सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम प्रतिवादी रामाज्ञा चतुर्वेदीले गैरकानूनी रुपमा आर्जन गरेको उल्लिखित आधार प्रमाणबाट पुष्टि हुन आएकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) को सान्दर्भिकता तथा साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र दफा १५ अनुसार कसूर भई त्यसैलाई निरन्तरता प्रदान गरिएको प्रचलित नेपाल कानून भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम प्रतिवादी रामाज्ञा चतुर्वेदीले कसूर गरेको देखिन आयो । सो सम्पत्ति निज प्रतिवादी रामाज्ञा चतुर्वेदीले आफ्नी पत्नी आशा चतुर्वेदी, छोराहरू रितेश चतुर्वेदी, अभिषेक चतुर्वेदी र छोरी अदिती चतुर्वेदीका नाममा राखेकोले निज रामाज्ञा चतुर्वेदीको सम्पत्ति तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), दफा १५ तथा १६ग. हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा ऐ दफा २०(२) बमोजिम रु.६,९१,८२,५३५।७९ विगोबमोजिम जरीवाना गरी हदैसम्म कैद र निजको गैरकानूनी रुपमा आर्जित तालिका नं.१३ मा उल्लिखित चलअचल सम्पत्ति जफत गरी प्रतिवादी रामाज्ञा चतुर्वेदी नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल लि., नेपाल आयल निगम लिमिटेड र शाही नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थाहरूको क्रमशः महाप्रवन्धक, कार्यकारी निर्देशक र कार्यकारी अध्यक्षको रुपमा प्रमुख पदाधिकारी भए रहेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क.र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत गरिपाऊँ 

साथै प्रतिवादी श्रीमती आशा चतुर्वेदी, छोराहरू रितेश चतुर्वेदी, अभिषेक चतुर्वेदी र छोरी अदिती चतुर्वेदीका नाममा रहेका सोही तालिका नं. १३ मा उल्लिखित अवैध आर्जनको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा दफा १६ग. हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत हुने हुँदा यसका निमित्त ऐ ऐनको दफा ३० बमोजिम कारबाही भई यो सम्पत्ति जफत गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र 

 

विशेष अदालततर्फको कारवाही

 

प्रतिवादी रामाज्ञा चतुर्वेदीको बयानः

मैले कानूनको पालना गरी संस्थानको हितमा मात्र कार्य गरेको हुँ । कुनै किसिमको भ्रष्टाचार गरेको छैन । मैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने दावी पूर्वाग्रहपूर्ण छ । मैले २०३२ साल मंसिरदेखि नोकरीमा प्रवेश गरेदेखि हालसम्म भएको आम्दानी, ससुरालीबाट पाएको दाइजो रकम, पेवा, टिकाटालो दक्षिणाको रकम, वर्षेनि हुने कृषि आम्दानीको रकम, मेरो श्रीमती आशा चतुर्वेदीले ऊनी गलैंचा उत्पादन एवं निर्यातमूलक उद्योगमा साझेदार भै प्राप्त मुनाफा, विभिन्न इष्टमित्रहरूबाट प्राप्त रकम, बागबगैचा, रुख विरुवा बिक्री गरी प्राप्त रकम, देश विदेश भ्रमणबाट बचत भएको रकम, छोरा रितेशको पारिश्रमिक, माछापालन, घरभाडा जग्गा भाडा, जग्गा बिक्री तथा ब्याजमा लगानी गरेका रकम तथा सोबाट बढेबढाएको सम्पत्ति मेरो आर्थिक स्रोतका मुहानहरू हुन् 

मेरो विवाहको बेला नगद भा.रु.२,२५,०००।–, सुनको गहना ३७ तोला, चांदी ३५ तोला पाएकोमा विवाहमा रु.१ लाख खर्च भै भा.रु.१,२५,०००।को ने.रु.१,७३,७५०।बचत भएको थियो । २०५२ सालमा मेरो आमा यशोदादेवीबाट मेरो श्रीमती आशा चतुर्वेदीलाई १७ तोला सुनको गहना प्राप्त भएको थियो । मेरो पिता स्वर्गे भएपश्चात् २०३२।१२।६ मा हामी परिवारमा मानो छुट्टिएको लिखत खडा गरी आआफ्नो व्यवहार छुट्टाछुट्टै रााखिएकोमा मेरो पैतृक सम्पत्ति आमा यशोदादेवीसँगै रहेकोले मेरो अंश भागमा परेको जग्गाको कृषिजन्य आय एवं अन्य स्रोतबाट प्राप्त भएको आम्दानी २०३३ सालदेखि २०४५ सालसम्म रु.१९,४०,०००।आमाबाट प्राप्त गरेको छु । २०४६ साल साउन १९ मा भएको अशंबण्डाको केही दिन अगाडि तत्कालीन सगोल परिवारबाट चल सम्पत्ति रु.११,००,०००।–, श्रीमतीले दाइजोमा पाएको सम्पूर्ण धनमाल तथा निजसँग रहेको सुनको विभिन्न गहना ३७ तोला, चाँदीको गहना ३५ तोला, विवाह पूर्व तिलकमा पाएको सम्पूर्ण भांडा वर्तनहरू, काठको कडीहरू थान २५, पटरी थान २५ साखुको खम्वा थान २, छोराहरूको पढाई खर्च तथा विवाह खर्च समेत पाएको छु । सो घरसारको चल सम्पत्ति बण्डाको लिखत पेश गरेको छु । २०४६ सालमा भएको अंशबण्डा पछि २०४६ सालदेखि २०५८ सालसम्म मेरो अंशको जग्गाबाट तथा पछि हामीले प्राप्त गरेको र जोडेको थप जग्गामध्येबाट रु.१७,३०,०००।आम्दानी भएको छ । २०४६ सालको अंशबण्डाबाट स्व.माता यशोदादेवी र काकी राजपतीदेवीको संयुक्त नाममा रहेको वैरियाबिर्ता वार्ड नं. ९ कि.नं.६९, १३७, ११०, १३०, १७५, १३१ तथा सिसवा वडा नं.९ को कि.नं.३४६ समेतको जम्मा क्षे.फ.३१६० जग्गा रहेको र उहांहरूको सम्पूर्ण रेखदेख, खानपान, तीर्थपूजा एवं औषधि उपचार हामीबाट हुंदै आएकोले उक्त जग्गाहरूबाट २०४७ सालदेखि हालसम्म भएको आम्दानी आधी मोहीलाई दिई बाँकी रु.६,८४,०००।आय प्राप्त भएको छ । मेरो श्रीमतीले कृषि विकास बैंकबाट २०४५ सालमा रु.३,५६,०००।ऋण लिई रु.३,५०,०००।कमला कार्पेट इन्डष्ट्रिजमा लगानी गरी २५ प्रतिशतको साझेदार भएको र उक्त उद्योगले ऊनी गलैचाको उत्पादन, विदेशमा निर्यात तथा बिक्री वितरण गरी २०४५ सालदेखि २०५७ साल सम्ममा कृषि विकास बैंकको सावाँब्याज भुक्तानी गरी आ.व. ०४५।०४६ मा रु.१,२१,०००।–, २०४६।४७ मा रु.२,३०,०००।–, २०४७।४८ मा रु.१,५०,०००।–, २०४८।४९ मा रु.३,७०,०००।–, २०४९।५० मा रु.७,२५,०००।–, २०५०।५१ मा रु.२,२५,०००।–, २०५१।५२ मा रु.६,१०,०००।–, २०५४।५५ मा रु.३,००,०००।मुनाफा प्राप्त गरेको र २०५५।५६ र ०५६।५७ मा मौज्दात गलैंचा बिक्री र कारखानाको सरसामान विक्रीबाट प्राप्त रकममध्ये रु.७,००,०००।पाएका हौं 

मेरो श्रीमती आशा चतुर्वेदीले आफ्ना माईतीतर्फ नातेदारहरूबाट पाएको दानदक्षिणा, टिकाटालो, व्रतवन्ध, विवाह, समारोहमा पाएको बक्सिस र त्यसैगरी ससुराली तर्फबाट सासू, काकी सासूहरू, जेठ जेठानीहरू, भतिजाहरूको व्रतवन्ध विवाह समारोह आदिमा पाएको बक्सिस रकमलाई गाउँघरमा अधिकतम् ब्याजदरमा लगानी गरी बढेबढाएको रकमको आम्दानी रु.२२,००,०००।–, मामा अम्बिका तिवारीबाट पाएको भा.रु.९,००,०००।अर्थात् ने.रु.१३,००,०००।२०४७ सालदेखि नै विभिन्न बैंकहरू तथा गाउँघरमा अधिकतम् ब्याजमा लगानी गरी बढेबढाएको रकमको आम्दानी रु.३१,००,०००।भएको । मामाले शपथपत्र गरिदिनु भएको प्रमाणको लिखत पेश गरेको छु । मेरो काकी राजपतीदेवी कम समयमानै विधवा भै हाम्रो परिवारसँग वस्नु भएको र उहांको बुवा हरिनारायण तिवारीबाट प्राप्त गर्नु भएको नगद रु.१५,००,०००।उहांको रेखदेख खानपान हामीले गर्दै आएकोले काकी राजपतीदेवी र म रामाज्ञाबीच २०४९।४।१० मा शर्तनामा लिखत भई उक्त रु.१५ लाख दिनु भएको र सो रकम विभिन्न बैंकहरू तथा गाउँघरमा लगानी गरी बढेबढाएको आम्दानी रु.३५,००,०००।हो । मेरो सासू चन्द्रावती देवीले मेरो वच्चाहरूको उच्च शिक्षाको लागि ०५६ मंसिरदेखि ०५७ भाद्रसम्म सहयोगस्वरुप पटकपटक गरी भा.रु.७,५०,०००।अर्थात् ने.रु.१२,००,०००।शपथपत्र गरिदिनु भएको छ । मेरो नाममा राष्ट्रिय बीमा संस्थान जीवन बीमा पोलिसीबाट करीव रु.१,००,०००।प्राप्त गरेको छु । मेरो छोरा रितेश चतुर्वेदी भारतको वैङलोरमा जुलाई १९९० देखि जुन २००० सम्म कार्यरत् रही भा.रु.१,००,०००।पारिश्रमिक प्राप्त गरेको छ 

२०३३ सालदेखिनै विभिन्न स्रोतबाट आएको आम्दानीलाई मेरो परिवारको नाममा विभिन्न बैंकहरूमा मुद्दती र बचत खातामा राखेको रकमको ब्याज मात्र रु.४० लाख जति आएको हुनु पर्दछ, स्टेटमेन्ट मसँग छैन । वीरगञ्ज निवासी अभयकुमार सर्राफबाट नेपाल मेडिकल कलेजमा लगानी गर्नको लागि तमसुक लेखी ऋण लिएको रकम रु.११,५०,०००।प्रमाणको लागि ०५७।११।१४ को तमसुकको प्रतिलिपि पेश गरेको छु । भारतीय जीवन बीमा रक्सौलबाट मेरो नाममा रहेको बीमा पोलिसीबापत भा.रु.२०,०००।को ने.रु.३२,०००।प्राप्त गरी नेपाल एस.वि.आईं. बैंक दरवार मार्गमा मिति २०५९।३।५ मा आफ्नो खातामा जम्मा गरेको छु । मेरो श्रीमती आशा चतुर्वेदीको नाममा रहेको नेपालगञ्ज वाड नं.८(ख) स्थित कि.नं.३३७, ३३९ को क्षे.फ.०८ जग्गा तरकारी उत्पादनको लागि जुगलाल भन्ने जगता थारुलाई प्रतिकठ्ठा प्रति महिना रु.३००।को दरले भाडामा दिई २०३८ सालदेखि ०५२ सालसम्म १५ वर्षको रु.१,२९,६००।प्राप्त गरेको प्रमाणको हकमा ०३८।२।५ को सम्झौताको प्रतिलिपि पेश छ । रुपन्देही भैरहवा वार्ड नं.८ मा मेरो श्रीमतीको नाममा रहेको कि.नं.१६३६ क्षे.फ.०१२ को जग्गा थमन सिंहलाई प्रति कठ्ठा प्रति महिना रु.४००।का दरले भाडामा दिएको २०४१ सालदेखि ०५१ सालसम्म रु.३,३०,०००।प्रमाणको लागि सम्झौता लिखतको प्रतिलिपि पेश गरेको छु । छोरी अदिती चतुर्वेदीको नाममा रहेको पर्सा, नौतनवा वार्ड नं.६ को कि.नं.१६१ को जग्गा ट्रकको वर्कसप राख्न ठाकुर शर्मा लोहारलाई रु.५००।प्रति महिनाको दरले ०५२ सालदेखि ०५८ सालसम्म भाडामा दिएको जम्मा रु.३६,०००।प्राप्त भएको शर्तनामा कागजको प्रतिलिपि पेश गरेको छु । श्रीमती आशा चतुर्वेदीको नाममा रहेको पर्सा वहुअरी वार्ड नं.२ कि.नं.२११, २१२ को जग्गा प्रति महिना रु.१,०००।को दरले ठाकुर शर्मा लोहारलाई भाडामा दिएको ०५२ सालदेखि ०५८ सालसम्म ६ वर्षको रु.७२,०००।भएको शर्तनामा कागजको प्रतिलिपि पेश गरेको छु । श्रीमती आशा चतुर्वेदीको नाममा रहेको पर्सा वहुअरी वार्ड नं.२ कि.नं.२१३ को जग्गा खेतीको लागि ठाकुर शर्मालाई प्रति महिना ५००।का दरले २ वर्षको लागि दिएको रु.१२,०००।भएको प्रमाण पेश गरेको छु । मेरो नाउँमा रहेको हेटौडा वार्ड नं.८ को कि.नं.४४७ र १०५१ को जग्गा शैलेस कार्कीलाई प्रति महिना रु.७००।मा कृषिको लागि ०५१ देखि ०५७ सम्म ७ वर्ष भाडामा दिई रु.५८,८००।प्राप्त भएको । अभिषेक चतुर्वेदीको नाममा रहेको चितवन भरतपुर वार्ड नं.६ कि.नं. ३६९ को जग्गा वाजे भन्ने व्यक्तिलाई मौखिक आधारमा ०५२ देखी ०५७ सम्म ६ वर्षको लागि प्रति महिना रु.६००।का दरले भाडामा दिएको रु.५०,४००।आम्दानी भएको थियो । रितेश चतुर्वेदी र दीपेन्द्र टण्डनको संयुक्त नाउँमा रहेको का.जि.का.म.न.पा.वडा नं.७(ख) कि.नं.२०९, २२३, २२४, ७९१ तथा रामाज्ञा चतुर्वेदी र वीरेन्द्रनाथ टण्डनको संयुक्त नाउँमा रहेको का.म.न.पा. वार्ड नं.७(ख) कि.नं.१८७, १९६, १९८, १९९, २०१, २०३, २०४, २०५, २०६,२०७, २०८, २२१, २२२ को जग्गाहरू सानो दाई भन्ने व्यक्तिलाई कृषिको लागि ०५० देखि ०५७ सम्म दिएको र रु.९६,०००।प्राप्त भएकोमा मेरो भागमा रु.४८,०००।प्राप्त भएको । पर्सा श्रीपुर ६ को कि.नं. ८१४ र ८१७ को जग्गाभित्र करीव ३ कठ्ठामा रहेको पोखरीमा माछा पालन गरी बिक्री वितरण गरेको र सोही जग्गामा रहेको आँपको फल, लिचीको फल एवं अन्य तरकारी विक्रीबाट ०५१ देखी ०५५ सम्म आम्दानी रु.३ लाख भएको । यसै जग्गामा रहेको सिसौको रुखहरू, आँपको रुखहरू, लिचीको रुखहरू आ.व. २०५५।५६ मा यज्ञानन्द पुरी हस्ते बिक्री गरी रु.२,४०,०००।प्राप्त भएको कागजको प्रतिलिपि यसैसाथ पेश गरेको छु 

जिल्ला पर्सा, वैरियाबिर्ता वार्ड नं.७ कि.नं.२१५, २१६, ३५३ को जग्गाको आँप विक्रीबाट ०४७ सालदेखि ०५५ साल सम्ममा रु.१,६०,०००।आम्दानी भएको र आँपका रुखहरू ०५४।५५ मा बिक्री गरी रु.२,६०,०००।प्राप्त भएको लिखतको प्रलिलिपी साथै पेश गरेको छु । जिल्ला पर्सा सिर्सिया वार्ड नं. १ मा मेरो नाउँमा रहेको कि.नं.४२ को जग्गामा रहेको आँप, लिची, कटहर ०४७ देखि ०५७ सम्म फुलेना पण्डितलाई बिक्री गरी रु.३,५०,०००।प्राप्त भएको, लिखत कागजको प्रतिलिपि पेश गरेको छु साथै बिजु आँपको रुख, बाँस, मौवाको रुखहरू बिक्री गरी रु.२,५०,०००।प्राप्त भएको मिति ०५८।१।२ को लिखत कागजको प्रतिलिपि पेश गरेको छु 

काठमाडौं जिल्ला का.म.न.पा. वार्ड नं.७ चावहिल मा २०४३ सालमा घर निर्माण लगतै प्रो.सामर्थबहादुर सिंहलाई करीव १८ महिना जति रु.७,०००।प्रति महिनाको दरले घरभाडा लगाई रु.१,२६,०००।प्राप्त भएको हो । लिखत प्रमाण छैन । सोही घरमा आ.व. ०५२।५३ देखि ०५३।५४ सम्म करीव १५ महिना जति वच्चाहरूको संरक्षणसम्बन्धी क्ष्ल्न्इ बहिनी फाउण्डेसनलाई रु.११ हजार प्रति महिनाका दरले घरभाडामा दिई प्राप्त भएको रु.१,६५,०००।मध्ये कर कार्यालय क्षेत्र नं. १ मा १५ प्रतिशत कर तिरेको र बाँकी आम्दानी रु.१,४०,२५०।भएको छ । छोरा रितेश चतुर्वेदीको नाममा रहेको श्रीपुर वडा नं. ६ को घर जग्गा २०५१ सालदेखि ०५३ सालसम्म उप्रेती केमिकल इण्डष्ट्रिजलाई रु.१० हजारप्रति महिनाको दरले करीव २१ महिना जति भाडामा दिएबापत रु.२,१०,०००।प्राप्त भएको छ । यसै घर जग्गा ०५५ देखी ५ वर्षको लागि करार गरी भाडामा दिएको र चार वर्षको प्राप्त भाडा रु.६ लाख रहेको छ । सो सम्बन्धमा ६ अगष्ट १९९८ को करार प्रतिलिपि यसैसाथ पेश गरेको छु 

२०३२ साल मंसिरदेखि ०५० असारसम्म विभिन्न पदमा रही सेवा गरेबापत प्राप्त तलव, योजना भत्ता, ओभरटाईम भत्ता र अन्य भत्ताहरू एवं अन्य सुविधाबाट १७ वर्षमा पाएको करीव रु.६,१२,०००।–, ०५०।४।१ देखी ०५९।७।८ सम्म पटकपटक गरी महाप्रवन्धक भएदेखि ९ वर्षमा करीव १२,९६,०००।–, २०३२ देखी ०५९ सम्म स्वदेशभित्रै आयोजना आदिमा तथा भारत भ्रमणबाट भएको बचत करीव रु.३,००,०००।–, विभिन्न कार्यालयमा विभिन पदमा रहँदा पाएको वैठक भत्ता तथा अन्य भत्ताहरू बाट भएको आम्दानी करीव रु.२,५०,०००। । अफीसको कामले सन् १९८५ मा दक्षिण कोरिया जाँदा बचत भएको रु.५०,०००।–, सन् १९९० मा इजरायल जाँदा बचत रु.५०,०००।सन् १९९७ मा जापान र चिन जाँदा बचत भएको डलरबाट उपयोगी सामान र सुन खरीद गरी बिक्री गरी आएको रकम र सन् २००० मा श्रीलंका जाँदा बचत भएको रकम गरी रु.१,००,०००।प्राप्त भएको RNAC को कार्यकारी अध्यक्ष भै निगमको विदेशस्थित कार्यालयको निरीक्षण भ्रमण तथा अन्य अफीसियल भ्रमणहरू गरेको र सन् २००२ मा बैंकक जाँदा बचत भएको यू.एस.डलर ३२०।–, सन् २००२ मा अमेरिका भ्रमणबाट बचत यू.एस.डलर १०८०।–, सन् २००२ मा दुवही भ्रमणबाट बचत भएको यू.एस.डलर ३६०।–, सन् २००२ मा हङकङ भ्रमणमा बचत भएको यू.एस.डलर २२५।–, सांघाई भ्रमणबाट बचत यू्.एस. डलर १५०।गरी जम्मा यू.एस.डलर २११५।बचत भएको सोमध्ये यू.एस. डलर २१००।११ अक्टुवर २००२ मा हिमालयन बैंक लिमिटेड न्यूरोड शाखामा खाता खोली ट्राभलर चेक जम्मा गरेको हुँ 

जिल्ला बाँके नेपालगञ्ज वार्ड नं.८ (ख) कि.नं.३३७ र ३३९ को जग्गा ०५७।७।१२ मा बिक्री गरी प्राप्त भएको रु.१,८६,०००।को प्रमाणको प्रतिलिपि पेश गरेको छु । जिल्ला पर्सा श्रीपुर वार्ड नं.८ मा रहेको आशा चतुर्वेदीको नामको कि.नं. ४९१, ५१४, ५१५ को जग्गा ०५२ सालमा बिक्री भई प्राप्त रु.१,४२,५००।, यसको लिखत प्रतिलिपि पेश गरको छु । यिनै मेरा आफ्नो कानूनी वैध स्रोतहरू रहेको व्यहोरा अनुरोध गर्दछु 

मेरो अचल सम्पत्ति तथा घरको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वाभाविक मूल्याङ्कन गरेको छ । घर निर्माण भएको समय र अवस्थालाई विचार नगरी बढी मूल्याङ्कन गरेको छ । जग्गा खरीद गर्दाको अवस्था किसिम र मोललाई विचार गरिएको छैन । मा.पो.का.ले हक हस्तान्तरण गर्दा राखेको मूल्यलाई कायम गर्नुपर्नेमा नगरी अस्वाभाविक तरिकाले मूल्याङ्कन गरिएको छ 

कृषि विकास बैंक वानेश्वर, वत्तिसपुतली शाखामा श्रीमती आशा चतुर्वेदीको नाउँमा रहेको खाता मलाई कारवाही गर्नुपूर्व नै बन्द भइसकेको हुनाले उक्त खातामा रहेको रु.२०,६९०।२० दावीमा सामेल हुने रकम होइन । अदिती चतुर्वेदीको नाममा रहेको विभिन्न इष्टमित्रबाट टिकाटालो, दानदक्षिणाको रुपमा प्राप्त गरी बचत गरेर करीव १० लाख खातामा जम्मा गरेको हुनु पर्दछ । बैंक मौज्दात विवरण ठीक छ । मेरो वैध स्रोतको हो, दावीबाट हटाई पाऊँ । आरोप पत्रको पाना नं. ३, , ५ मा देखाईएको तालिकाको विवरण सम्बन्धमा सि.नं.१ मा देखाईएको जग्गाको मूल्य विपक्षीले रु.४९,६२,५००।राखेकोमा उक्त जग्गा खरीद गर्दा मेरो रु.८०,०००।मात्र परेको र रकम दाइजो पेवाको स्रोतको हो । यसैमा बनेको घरको मूल्याङ्कन २८,०२,८४३।उल्लेख गरे पनि उक्त घर वनाउँदा रु.९,५०,०००।मात्र परेको छ । सि.नं. २, ३ र ४ मा उल्लिखित जग्गा र सि.नं.३ मा भएको घर समेतमा मेरो पैसा परेको छैन, ती सवै बकसपत्रबाट प्राप्त हुन् र सि.नं.५ र ६ को जग्गा खरीदगर्दा मेरो रु.१,१५,०००।मात्र परेको छ । सि.नं. ७ र ८ मा उल्लिखित जग्गा श्रीमती इन्दिरादेवी नेपालबाट निजको साविक कित्ता २३७ मध्येबाट रु.२०,०००।मा खरीद गरी मेरो नाममा कायम भएको कि.नं.३८९ कल्याणी शाहसँग सट्टापट्टा भई कायम हुन आएको कि.नं.९०१ र ९०२ हो । सि.नं.९, १०, ११, १२ का जग्गा देवेन्द्रकुमार र प्रल्हाद शेरचनबाट ०५१ सालमा बकस पत्रबाट प्राप्त भएको हो । सि.नं.१३ को कि.नं.४४२ जग्गाको रु.१,२१,८७५।र कि.नं.४४६ को जग्गा रु.१,७८,१२५।खरीद गरेको हो । कि.नं.२११ र २१२ को जग्गा ०५२ सालमा चन्द्रादेवी र शम्भुप्रसाद मानन्धरबाट बकसपत्र प्राप्त भएको हो । सि.नं.१५ को जग्गा दाजु राम सिंहासन चौवेबाट ०५७ सालमा बकस पाएको हो । सिन.१६ को जग्गा १६ हजारमा, सिनं.१७ को जग्गा रु.५,०००।मा खरीद हो । सि.नं.१८ को जग्गा ०५७ मा गोविन्दलाल के.सी. बाट बकस पाएको हो । सि.नं. १९ को कि.नं.३५५ को जग्गा दाजु राम सिंहासन र कि.नं.३५६ को जग्गा भाई राम अयोध्याबाट ०५२ सालमा बकस प्राप्त भएको हो । सि.नं.२० को जग्गा पैतृक हो । सि.नं.२१ को जग्गा ४ जनाको संयुक्त भई मरो भागमा रु.५५,६२५।मात्र परेको छ । सि.नं.२२ को जग्गा खरीद जग्गा हो । सि.नं.२३ को जग्गा मोहमदमियाँ अन्सारीबाट बकस प्राप्त हो । सि.नं.२४ र २५ को जग्गा खरीदबाट हो । सि.नं.२६ को जग्गा सुरज शाहबाट बकस पाएको हो । सि.नं.२७ को जग्गा रु.५,०००।मा खरीद भएको हो । सि.नं.२८ को जग्गा साझेदारीमा खरीद भई हाम्रो भागमा रु.१,५९,२३५।पर्न आउँछ । सि.नं.२९ को जग्गा ६ हजारमा खरीद जग्गा हो । सि.नं.३० को जग्गा तेजप्रसाद भट्टराईबाट र सि.नं.३१ को जग्गा श्रीमती कृष्णदेवी समेतबाट बकस पाएको जग्गाहरू हो । सि.नं.३२ को जग्गा कमला कार्पेटले खरीद गरेको हो । मेरो भागमा रु.१,६५,६२५।पर्न आउंछ । सि.नं.३३ को जग्गा रु.१२ हजारमा खरीद हो । सि.नं.३४ को जग्गा दाइजो पेवाबाट रु.३५ हजारमा खरीद जग्गा हो । सि.नं.३५ को जग्गा कमला कार्पेटको आ.व.०४९।५० को मुनाफाबाट खरीद भएको हो । सि.नं.३६ को जग्गा श्रीमती पूण्यदेवीबाट बकस पाएको हो । सि.नं.३७ को जग्गा खरीद भएको हो । मेरो राजीनामाबाट प्राप्त जग्गा राजीनामा गराई लिंदा र घर निर्माण गर्दा परलमूल्य रु.३६,०१,४८५।मात्र हुन आउंछ । उक्त परल मूल्यलाई मान्यता नदिई विपक्षी आयोगले अस्वाभाविक रुपमा रु.२,२५,६०,५७७।७८ मागदावी लिई रु.१,८९,५९,०९२।७४ बढी दावी लिएको ले सो रकम माग दावीमा समावेश हुने होइन । त्यस्तै मेरो र परिवारको सदस्यहरूको नाममा बकसपत्रबाट प्राप्त भएको घर जग्गाहरूलाई कानूनको मान्यताविपरीत खरीदको संज्ञा दिई दावी गरेको रु.२,७८,९०,१६९।५३ समेत मागदावीबाट कटाई पाउँ 

छोरा अभिषेकको नामबाट SBI बैंक न्यू दिल्लीमा खाता खोलिँदा संरक्षकको नाताले मेरो नाम समावेश गरी २१।१०।१९९७ मा भा.रु.८५,०००।नगद राखी खाता खोलिएको हो । पछि २२।४।१९९८ मा भा.रु.२० लाखको ड्राफ्ट पठाएको हो । उक्त खातामा ड्राफ्ट, जम्मा रकम र ब्याज समेत गरी भा.रु.४०,८९,८५२।को मात्र कारोवार भएको हो । भा.रु.६०,८९,८५२।को होइन । हाल सो खातामा रकम नभई खाता बन्द भइसकेकोले विपक्षीको मागदावी बाट उक्त रकम कट्टा गरिपाऊँ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा छोरा अभिषेक चतुर्वेदीको नाममा रु.३० लाखको शेयर खरीद मैले माथि उल्लेख गरेका विभिन्न स्रोतहरू तथा बैंकबाट झिकिएको रकमबाट गरेको हो । छोरी अदितीको नाममा खरीद भएको सेकेण्ड ह्याण्ड मारुती कार मेरो श्रीमती आशाको ने.बैं.लि.न्यूरोड शाखाको खाताबाट रकम झिकी खरीद गरिएको हो । मेरो केटाकेटीलाई पढाउँदा लागेको खर्च रु.२६,९०,०००।–, अचल सम्पत्ति रु.३६,०१,४८५।–, बैंक व्यालेन्स सम्पत्ति रु.१६,४६,३६३।५७, शेयरको लगानी रु.६५,००,०००।–, ऋण रकम रु.७,००,०००।गरी जम्मा मेरो रु.१,५१,३७,८४८।५७ मात्र हुन्छ यो रकम मेरो सम्पत्ति हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भनेको जस्तो रु.७,७१,६५,५७३।२९ सम्पत्ति मसँग नभएकोले हुँदै नभएको सम्पत्ति आफै मूल्याङ्कन गरी बढी सम्पत्ति देखाउने दुष्प्रयास गरेको मात्र देखिन्छ । मिति ०५७।४।२ मा एकै दिनमा हिमालयन बैंक वीरगञ्जमा २ वटा भौचरमार्फत् रु.६८ लाख ५० हजार जम्मा भएको सम्बन्धमा सोमध्ये ७ लाख मेरो साडुभाई कमलेश तिवारीले फिर्ता गरेको रकम, करीव १३ लाख रुपैयां श्रीमतीको नाममा ने.वै.लि.न्यूरोड काठमाडौंबाट झिकिएको रकम, मेरो नाममा सोही बैंकमा रहेको रकममध्येबाट ०५५।१२।१६ देखि ०५६।१२।७ सम्म झिकिएको रकममध्येबाट रु.१३,४०,०००।तथा श्रीमतीको नाममा नेपाल राष्ट्र बैंकको ऋणपत्र विक्रीको रु.२१ लाख र बाँकी अन्य बैंकहरूबाट झिकिएका रकम हुन् । भारतमा रु.६० लाख पठाएको भन्ने कथन झूठा हो । भा.रु.२० लाख पठाएको हो । सो रकम मामा अम्बिका तिवारीबाट ०४६ सालमा सहयोग स्वरुप प्राप्त रकमबाट बढेबढाएको रकम समेतबाट पठाएको हो 

अकूत सम्पत्ति कमाई उच्चस्तरको जीवन निर्वाह गरी भ्रष्टाचार निवारण ऐनको प्रतिकूल कार्य गरेको भन्नेतर्फ कुनैपनि सम्पत्तिको स्रोत, सम्पत्ति खरीद, प्राप्त गर्दाको अवस्था हेर्नु पर्दछ । साथै सो सम्पत्तिको मोल वा प्राप्त गर्दाको किसिमलाई पनि हेर्नु पर्दछ । मेरो सम्पत्ति कानूनबमोजिम नै प्राप्त गरेको सम्पत्ति हो । मेरो हैसियतको तुलनामा उच्च जीवन निर्वाह समेत नगरेको हुँदा आरोप तथ्यहीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको दावीअनुसारको कसूर मैले गरेको छैन । मैले गैरमाध्यमबाट सम्पत्ति आर्जन गरेको पनि छैन । मेरो धेरै सम्पत्ति जग्गाहरू बकसपत्रबाट प्राप्त भएको छ । बकसपत्रबाट प्राप्त गरेको जग्गालाई खरीद गरी लिएको भनी दावी लिइएको छ । दाइजो पेवाबाट खरीद भएको सम्पूर्ण जग्गाहरूको पञ्चकिर्ते मोल गरी गराई अचल सम्पत्ति प्राप्त गर्दाको अवस्था तथा किसिम केही पनि विचार नगरी ऐन नियम कानूनको पालना नगरी भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्ने परिभाषाभित्र पारी अभियोग दायर गरेकोले दावी झूठो छ । मेरो विरुद्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कुनै आरोप लाग्न सक्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामाज्ञा चतुर्वेदीले विशेष अदालतसमक्ष गरेको बयान 

 

आशा चतुर्वेदीको बयान

मेरो विवाह सन् १९७६ मा भएको र विवाहको समयमा माइतीबाट पाएको नगद भा.रु.२,२५,०००।मध्ये लगभग एकलाख विवाहमा खर्च भई बाँकी रहेको भा.रु.१,२५,०००।को ने.रु.१,७३,७५०।मसँग रही बढेबढाएको हो । सासू यशोदादेवीले सगोलको परिवारबाट ०३३ सालदेखि ०४५ सालसम्म दिनुभएको करीव रु.२०,००,०००।–, २०४६ सालमा तत्कालीन सगोल परिवारमा अंशबण्डाको बखत चल सम्पत्ति घरसारमा श्रीमान्‌ले पाउनु भएको रु.११,००,०००।–, २०४६ सालदेखि २०५८ सालसम्म अंशको जग्गा तथा हामीले जोडेको जग्गाबाट वर्षेनी भएको कृषिजन्य आम्दानीबाट आएको रकम रु.१७,३०,०००।कमला कार्पेट इन्डष्ट्रिजबाट मेरो भागमा आएको मुनाफा रकम करीव रु.३५,००,०००।श्रीमान्‌को मामा अम्बिका तिवारीबाट श्रीमान्‌ले पाउनु भएको भा.रु.९,००,०००।–, काकी सासू राजपतीदेवीबाट श्रीमान्‌ले पाउनु भएको रकम रु.१५,००,०००।–, मेरी आमा चन्द्रावतीदेवीले सहयोगस्वरुप दिनु भएको भा.रु.७,५०,०००।–, वगैंचाको फल आँप विक्रीबाट आएको रकम, माछापालनबाट आएको रकम, बगैंचामा भएको रुखहरू विक्रीबाट आएको रकम, घरभाडाको रकम, जग्गाहरू विक्रीबाट आएको रकम, शपथपत्रबाट प्राप्त भएको रकम, श्रीमान्‌को तलवभत्ता आदिबाट बचत भएको रकम र मेरो स्त्रीधन, दान दक्षिणा एवं पेवाको रकम आदिलाई गाउँघरमा अधिकतम् ब्याजदरमा लगानी गरी बढेबढाएको साथै विभिन्न बैंकहरूमा बचत तथा मुद्दतीमा लगानी गरी बढेबढाएको हो । चावहिलमा वनेको घर जम्मा ९,५०,०००।मा वनेको हो । २०४१ सालमा उक्त घर निर्माणको लागि मेरा पति रामाज्ञा चतुर्वेदीको आमाले दिनु भएको रु.३,००,०००।सगोलको कृषिजन्य आय तथा पतिको तलवभत्ता आदिबाट भएको बचत एवं मेरो दान दक्षिणा, टिकाटालो, दाइजो पेवा समेत बाट रु.२,५०,०००।र नेपाल बैंक लिमिटेड भूगोलपार्कबाट झिकिएको रु.४,००,०००।बाट बनेको हो । का.जि.चपली भद्रकाली गा.वि.स.वडा नं. ५ कि.नं. ४४२ को जग्गा रु.१,२१,८७५।मा र कि.नं. ४४६ को जग्गा रु.१,७८,१२५।मा खरीद भएको हो । स्रोतको हकमा सासू यशोदादेवीबाट सगोलको कृषि आयबाट प्राप्त रकम, काकी राजपती देवीबाट प्राप्त सहयोग रकम, कमला कार्पेट उद्योगबाट आएको मुनाफा समेतबाट खरीद भएको हो । पर्सा जिल्ला वहुअरी गा.वि.स. वडा नं. २ कि.नं.२११ को जग्गा श्रीमती चन्द्रावतीदेवीबाट बकस पाएको, कि.नं.२१२ को जग्गा शम्भुप्रसाद मानन्धरबाट बकस पाएको, रामगढवा गा.वि.स. वडा नं.४ कि.नं.६२८ को जग्गा ०५८ सालमा रु.२,४५,०००।मा खरीद गरेकी हुँ । स्रोतको हकमा वैनीज्वाई कमलेश तिवारीले लिनु भएको ऋण रु.७,००,०००।फिर्ता गर्नु भएको रकम, नेपालराष्ट्र बैंकको ऋणपत्रको विक्रीबाट आएको रु.२,००,०००।–, पतिको नामको नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट झिकिएको रु.१४,००,०००।–, मेरो नाममा नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट झिकिएको रु.१३,००,०००।र मेरो श्रीमानका नाममा अन्य बैंकहरूबाट झिकिएको रकम गरी रु.६८,५०,०००।हिमालयन बैंक वीरगञ्जमा बचत खाता खोली जम्मा गरेको र सोही खाताबाट झिकिएको रकम रु.३,५०,०००।मध्येबाट सो जग्गा खरीद गरिएको हो । चितवन कल्याणपुर गा.वि.स.वडा नं.३ कि.नं. ८६० र ८६२ को जग्गा कमला कार्पेट इण्डष्ट्रिजले आफ्नो पूँजिबाट खरीद गरेको हो । मेरो भागमा रु.१,६५,६२५।पर्न आउँछ । पर्सा जिल्ला सिर्सिया गा.वि.स.वडा नं. १ कि.नं. ३१९ को जग्गा रु.१२,०००।मा ०४५ सालमा सगोल परिवारको कृषिजन्य आम्दानीबाट खरीद भएको हो । वहुअरी गा.वि.स. वडा नं. २ कि.नं.२१३ को जग्गा रु.२,००,०००।मा खरीद भएको स्रोतको हकमा पतिको नाममा ने.वै.लि.न्यूरोडको बचत खाताबाट झिकिएको रकम रु.५,००,०००।मध्येबाट खरीद भएको हो । रुपन्देही जिल्ला भैरहवा नगरपालिका वडा नं. ८ कि.नं १६३६ को जग्गा २०४० सालमा रु.३५,०००।मा दाइजोको रकमबाट बढेबढाएको रकममध्येबाट खरीद भएको हो 

कृषि विकास बैंक वत्तीसपुतलीमा देखाइएको बैंक मैज्दात नरहेकोले सो लेखिएको रकम झूठा हो । क्र.सं.९ मा देखाइएको हिमालयन बैंक वीरगञ्जमा देखाईएको बैंक मौज्दात ठीक हो । भारतको यूनाईटेड बैंक अफ इण्डिया, लाजपदनगर नयाँदिल्लीमा मेरो नाममा रहेको खातामा जम्मा भएको रकम मेरो माईती भारतबाट वाल्यकालदेखी समय समयमा पाएको दानदक्षिणा, ससुरालबाट पाएको नगद उपहार मैले आफ्नो माइतीमा अधिकतम् ब्याजमा लगानी गरी बढेबढाएको रकम, मैले आमाबाट पाएको रकम साथै मेरो आमासँग रहेको स्त्रीधन समेत मलाई भा.रु.३० लाख दिनुभएको हो । सोमध्ये भा.रु.१५ लाख उपरोक्तानुसार खाता खोली राखेको र बांकी भा.रु.छोरा अभिषेकलाई दिएकी हुं । मेरी आमा चन्द्रावतीदेवीले सन् २००२।४।६ मा शपथपत्र गरिदिनु भएको कागजात यसैसाथ पेश गरेकी छु । बैंक लकरबाट वरामद भएका सुनका गहनाहरू विवाहको बखत माईतीबाट पाएको र पछि मेरो सासू स्वर्गीय यशोदादेवीबाट समेत पाएका गहनाहरू हुन्, जुन मेरो वैध सम्पत्ति हो । सो सम्पत्तिमा जफत मागदावी लिनुपर्ने होइन । मैले मेरो आयको स्वयं आयकर घोषणा गरी रु.१ करोड २० लाखको हुने कर रु.१२ लाख सरकारलाई राजस्व तिरेकी छु 

मैले कृषि विकास बैंक पुतली सडक शाखाबाट रु.३,५६,०००।ऋण लिई कमला कार्पेटमा रु.३,५०,०००।लगानी गरी उनी गलैंचा उत्पादन, विदेशमा निर्यात गरी आ.व. ०४५।४६ देखि ०५६।५७ सम्ममा उद्योगले आर्जन गरेको मुनाफामध्ये करीव ३५/३६ लाख मुनाफा आफ्नो भागमा पाएकी हुँ । मेरो नाममा रहेको सम्पत्ति वैध आर्जनबाट कमाएको र बढेबढाएको हुनाले जफत हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी आशा चतुर्वेदीले विशेष अदालतमा गरेको बयान 

 

थुनछेकको आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्र.रामाज्ञा चतुर्वेदीबाट विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम रु.३,७५,००,०००।नगद धरौट वा सो बापत आरोप पत्रमा दावी लिएको सम्पत्ति वाहेक जेथा जमानत दिए लिई तारेखमा राखी र दिन नसके कानूनबमोजिमको सिधा खान पाउने गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्ने समेत व्यहोराको विशेष अदालतबाट मिति २०५९।११।१२ मा भएको आदेश 

 

अभिषेक चतुर्वेदीको बयान

            मेरो नाममा रहेको काठमाडौं जिल्ला धापासी गा.वि.स. वडा नं. ८क. कि.नं.८७०, ८७५, ८७३, ८६७ का जग्गाहरू देवेन्द्रकुमार गौचन र श्री इन्द्रबहादुर शेरचनबाट रिझाएबापत बकस पाएको हुँ । चितवन जिल्ला भरतपुर न.पा.वडा नं.६ को कि.नं. ३६९ को ०० जग्गा पञ्चकन्या तेल मिल प्रा.लि.को मिति २०५१।८।२५ को निर्णयअनुसार श्री तेजबहादुर भट्टराईलाई रिझाएबापत बकस पाएको हुँ । मेरो दिल्लीस्थित एस.बी.आई.बैंकमा रहेको खातामा मेरो वावुको नाम संरक्षकको हैसियतले मात्र रहेको हो । पिताले पढाइ खर्चबापत समय समयमा नगद तथा ड्राफ्टद्वारा पठाउनु भएको रकम समेत उक्त खातामा जम्मा भएको हो । पिताले मिति २५।४।१९९८ मा ड्राफ्टद्वारा पठाउनु भएको भा.रु.२०,००,०००।मध्येबाट नै ४ वटा मुद्धती खातामा जम्मा गरेको हो । सोबाट भा.रु.१२,७०,९२४।ब्याज प्राप्त भएको थियो र बचत खाताबाट प्राप्त ब्याज रु.१२,९९३।समेत गरी जम्मा भा.रु.३२,८३,९१७।प्राप्त भएको थियो । पिताले मिति २५।४।१९९८ मा भा.रु.२०,००,०००।विभिन्न मितिमा ड्राफ्टद्वारा भा.रु.१,६०,०००।–, विभिन्न मितिमा नगद भा.रु.६,४५,९३४।समेत गरी जम्मा भा.रु.२८,०५,९३४।मात्र पठाउनु भएको थियो । आयोगले दावी गरेको भा.रु.६०,८९,८५२।को कारोवार गलत हो 

            त्यस्तै अर्को खाताको सम्बन्धमा मेरो आमा आशा चतुर्वेदीले हजुरआमाबाट पाएको भा.रु.३०,००,०००।मध्येबाट दिनु भएको भा.रु.१५,००,०००।जति मैले बचत खाता नं.३२९३२४५ मा जम्मा गरेको हो । उक्त रकम आमाले आफ्नी आमाबाट ६ अप्रिल २००२ मा बैध रुपमा प्राप्त गरी मलाई दिएबाट उक्त रकम बैध हो । मेरा नाउँमा कृषि विकास बैंक चावहिलमा रहेको बचत खातामा रहेको रकम आमा आशा चतुर्वेदीले कमला कार्पेटमा साझेदार रहेबाट उक्त उद्योगबाट प्राप्त मुनाफा रकममध्येबाट र हजुर आमाले आमालाई पटकपटक दिनु भएको रकम उक्त खातामा रहेको हो । सोमध्ये बाँकी मौज्दात रु.५०,१०८। । सो मेरो बैध रकम हो । ओम हस्पीटल एण्ड रिसर्च सेन्टरको मेरो नाउँमा रहेको ३०,००० कित्ता शेयर पिताले खरीद गरी दिनु भएको हो सो खरीद गर्दाको रकम पारिवारिक आयस्रोतको बैध रकम हो, जफत हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र.अभिषेक चतुर्वेदीको विशेष अदालतमा भएको बयान 

 

अदिती चतुर्वेदीको बयान

मेरा नाउँमा रहेको पर्सा जिल्ला नौतन गा.वि.स. वडा नं.६ कि.नं.१६१ मा रहेको जग्गा श्री रामहरि शर्माले बकस दिनु भएको हो । मेरा नाउँमा एभरेष्ट बैंक न्यूरोडमा रहेको बचत खाता नं.०२७२६ मा मिति २०५४।४।१४ मा मैले जम्मा गरेको रकम रु.१०,००,०००।र सोको ब्याज समेत गरी बैंक मौज्दात जम्मा रकम रु.१०,२३,०३०।मेरो वाल्यकालदेखि नै ठुलो बुवा, ठूलीआमाहरू लगायतका परिवारका मान्यजनहरूले टिकाटालो, भाईटिका, विवाह ब्रतबन्ध आदि उत्सवमा पाएको दान दक्षिणा, माता पिताले लगानी गरी दिनु भएको र सोहीबाट बढेबढाएको बैध रकम हो । मेरो नाममा रहेको सेकेण्ड हेण्ड मारुती कार पिताले परिवारको बैध आम्दानीबाट मिति २०५१।१२।७ मा रु.३,४५,०००।मा खरीद गरी दिनु भएको हो । यो सब जफत हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी अदिती चतुर्वेदीको विशेष अदालतमा भएको बयान 

     

साक्षी बकपत्र लगायतका अन्य कारवाही

            प्रतिवादी रितेश चतुर्वेदी विशेष अदालतबाट मिति २०५९।११।२२ मा जारी भएको म्यादमा हाजिर नभै शुरु म्यादै गुजारी वसेका रहेछन् 

            प्रतिवादी रामाज्ञा चतुर्वेदीका साक्षी फुलेना पण्डित, यज्ञानन्द पुरी, गोपालप्रसाद कुर्मी, प्र.आशा चतुर्वेदीका साक्षी रामचन्द्र चतुर्वेदी, अमरेश शुक्ल, सतिष पाण्डे तथा वादी नेपाल सरकारका साक्षी नवराज प्याकुरेल, जागेश्वर महासेठ, जयन्तकुमार राजवंशी तथा गणेशप्रसाद पाठकको बकपत्र सम्पन्न भै मिसिल सामेल रहेको 

            मैले मिति २०५७।११।१४ गतेका दिन तमसुक बनाई रामाज्ञा चतुर्वेदीलाई रु.११,५०,०००।रुपैयाँ ऋण दिएको थिएँ । उक्त रकम मैले वहांकी श्रीमती आशा चतुर्वेदी हस्ते मिति २०५८ पुस २६ गते बुझी लिई कागज फट्टा गरी कागज पनि वहाँलाई नै फिर्ता दिएको छु भन्ने समेत व्यहोराको अ.वं.१३९ नं. बमोजिम बुझिएका अभयकुमार सर्राफले गरेको बयान 

विशेष अदालतको ठहर

प्रतिवादी रामाज्ञा चतुर्वेदीले सार्वजनिक जवाफदेहीको पदमा रहेका बखत आफ्नो आम्दानीको बैध स्रोतको अनुपातमा नमिल्दो गरी सम्पत्ति आर्जन गरी आफ्नो र परिवारका सदस्यको नाममा राखी भ्रष्टाचारको कसूर गरेको भन्ने अभियोग दावी भएकोमा निजले सो कसूर गरेका हुन् होइनन् भन्ने सम्बन्धमा निजको र परिवारका नाउँको सम्पत्तिको स्वरुप, परिमाण, दातासँगको नाता सम्बन्ध, दाताको हैसियत आदि कुरा ती सँग सम्बद्ध परिस्थितिजन्य प्रमाण समेतको मूल्याङ्कन र विवेचना गरी निस्कर्षमा पुग्नुपर्ने हुँदा सम्पत्ति जफत प्रयोजनको लागि प्रतिवादी बनाइएका आशा चतुर्वेदी, रितेश चतुर्वेदी, अभिषेक र अदितीका हकमा समेत अनुमानको सिद्धान्त लागू हुने होइन भन्न मिलेन 

            भ्रष्टाचार निवारण ऐन, २०१७ ले राष्ट्र सेवकको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति आर्जन गरेको देखिएमा र निजले सन्तोषजनक सबूद दिन सकेमा बाहेक निजले रिसवत लिएको अनुमान गर्ने गरी कसूर मानेको थियो भने हालको भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० मा ‘‘गैरकानूनी रुपमा आर्जन गरेको मानिनेभन्ने शीर्षकमा कुनै राष्ट्रसेवकको साथमा अमिल्दो र अस्वाभाविक सम्पत्ति देखिन आएमा सो सम्पत्तिको स्रोत निजले प्रमाणित गर्नु पर्दछ, प्रमाणित गर्न नसकेमा गैरकानूनी रुपमा आर्जन गरेको मानिनेछ भनिएबाट साविक ऐनको दफा १५ र हालको ऐनको दफा २० को संरचनालाई दृष्टिगत गरी वादी पक्षले प्र.रामाज्ञा चतुर्वेदीउपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ समेत र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसूर अभियोगमा दफा २०(२) र २४ अन्तर्गतको सजाय समेतको माग दावी लिई मुद्दा दायर गरिएको परिप्रेक्ष्यमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२), १५ र १६(ग) अन्तर्गतको दावी समेत लिइयो भन्ने आधारमा मात्र सम्पूर्ण अभियोग दावी नै कानूनप्रतिकूल खारेजभागी छ भन्न मिल्दैन 

            पश्चात्दर्शी असर सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ मिति २०५९।३।५ देखि लागू भएको हुँदा सोभन्दा अघि आर्जित सम्पत्तिको हकमा यो ऐनको प्रावधान लागू गर्न मिल्ने नमिल्ने सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० लाई समग्रमा हेर्दा राष्ट्रसेवक वा सर्वाजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा रहँदाको अवस्थाको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो, अस्वाभाविक र अत्याधिक सम्पत्ति आर्जन गरेको देखिएमा कारवाही गर्ने उद्देश्य राखेको देखिन्छ भने दफा २०(१) ले ऐन लागू भएपछि आर्जित सम्पत्तिको मात्र कानूनी स्रोत खोजिने भनी सीमित गरेको देखिदैन । यसरी सार्वजनीक पद धारण गरेको राष्ट्रसेवकको साथमा रहेको सम्पत्ति के कसरी आर्जित हो भनी बैध र स्वाभाविक आय आर्जनको स्रोत हेरिने, गैरकानूनी रुपमा आर्जन गरेको होइन, बैध रुपमै आर्जित हो भनी सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने गरी प्रमाणको भार प्रतिवादी मै रहने कानूनी प्रावधानअनुरूप आय आर्जनको स्रोत खोज्नुबाट पश्चातर्शी असर पर्छ भन्न मिल्दैन 

            हदम्यादतर्फ बिचार गर्दा प्र.रामाज्ञा चतुर्वेदी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा बहाल रहेकै अवस्थामा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ अन्तर्गतको कसूरको अभियोगमा कारवाही प्रारम्भ भै निज उपर २०५९।१०।२९ मा प्रस्तुत मुद्दा दायर भएको देखिएको र मुलतः उक्त ऐनको दफा २०(१) ले राष्ट्रसेवकको साथमा रहेको हालको सम्पत्तिको यथार्थ स्थितिलाई हेरी कारवाही गर्ने र कसूर आरोपित गर्ने अभिप्राय राखेको देखिएको परिप्रेक्ष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १३ (२) अन्तर्गतको हदम्यादभित्रै प्रस्तुत मुद्दा दायर गरेको मान्नुपर्ने हुन्छ 

            प्रतिवादी रामाज्ञा चतुर्वेदी पटकपटक एन.सि.सि.एन. को महाप्रवन्धक, आयल निगमको कार्यकारी निर्देशक र मुद्दा दायर हुँदाका अवस्थासम्म नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा रही काम गरेको कुरा निजले स्वीकार गरेको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ क र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ मा सार्वजनिक संस्थाको प्रमुख, महाप्रवन्धक वा सो सरहको पदाधिकारीले भ्रष्टाचारको कसूर गरेको ठहरेमा निजलाई त्यस्तो कसूरमा हुने सजायमा थप सजाय हुने व्यवस्था भएकोले निज विशेष जिम्मेवारीको महाप्रवन्धक, कार्यकारी निर्देशक र कार्यकारी अध्यक्ष रहेको अवस्थामा थप सजाय हुन सक्दैन भन्न मिलेन 

प्रतिवादी रामाज्ञा चतुर्वेदी राष्ट्रसेवकको रुपमा सार्वजनिक पदमा वहाल रहेको अवधिमा निजले आर्जन गरी आफू र आफ्ना एकाघर सगोलका परिवार अन्य प्रतिवादीहरूका नाउँमा रहेभएको आर्जन गर्दाको अवस्थाको मूल्यअनुसार रु.५२,२८,२९१। को घरजग्गा, बैंक मौज्दात र नगद गरी रु.१६,४५,६७३।३७, शेयर लगानी रु.६५,००,०००।, रु.३,४५,०००। को मारुती गाडी, रु.३,२३,८५९।२१ का सुनका गहना, छोरा छोरीलाई विदेशमा पढाउदाको खर्च रु.२६,९४,२४०। र लुकाए छिपाएको रु.९०,७१,०९४।४० समेत गरी (बढेबढाएको बाहेक) जम्मा रु.२,५८,०८,१५७।९८ को चलअचल सम्पत्ति आर्जन गरेको देखिन्छ भने सोही अवधिमा प्रतिवादीको तलवभत्ता, कृषि, कमला कार्पेटलगायत पैतृक स्रोत समेतबाट मौद्रीक आय रु.६३,६०,३४२।०४ र पेवा दाइजो, दान दक्षिणा एवं बकसबाट रु.३,६८,१८९।६९ गरी जम्मा रु.६७,२८,५३१।७३ सम्मको स्रोत पुष्टि हुन आउछ । त्यसैले प्रतिवादीले कुल आर्जन गरेको सम्पत्तिको विगो रु.२,५८,०८,१५७।९८ बाट स्रोत खुलेको सम्पत्तिको विगो रु.६७,२८,५३१।७३ कटाउदा बाँकी विगो रु.१,९०,७९,६२६।२५ को सम्पत्तिको स्रोत पुष्टि भएको पाइदैन 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ ले स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति समेत जफत हुने व्यवस्था गरेको पाइन्छ । आरोप पत्रमा प्रतिवादी आशा चतुर्वेदीका नाउँको काठमाडौं चावहिलको कि.नं.५० को जग्गा, रामाज्ञा चतुर्वेदीका नाउँको राष्ट्रिय वाणिज्य बैक मुख्य शाखा र हिमालयन बैंकको खाताको मौज्दात रु.२,२६,७०७।९० र अभिषेक तथा अदिती चतुर्वेदीलाई भारतमा पढाउदाको खर्च रु.९,९०,४००। लाई स्रोत खुलेको सम्पत्ति मानेको छ । सो वाहेक प्रतिवादीहरूका नाउँको बाँकी चल अचल सम्पत्ति, छोरा रितेश चतुर्वेदीलाई अमेरिकामा पढाउदाको खर्च र लुकाए छिपाएको रकममध्ये स्रोत खुलेको र नखुलेको अलगअलग नछुट्याई स्रोत खुलेको र नखुलेको सम्पत्तिको विगोसम्म छुट्याई दावी गरेको देखिन्छ 

प्रतिवादीहरूका नाउँमा रहेको सम्पत्तिमध्ये स्रोत खुलेको सम्पत्ति कुन हो र नखुलेको सम्पत्ति कुन हो भनी छुटयाउने निश्चित आधार नभएको अवस्थामा न्यायिक विवेकको आधारमा छुट्याउनु पर्ने हुन आउँछ । सम्पत्ति आर्जन गर्दाको अवस्थामा देखिएको वैध आयस्रोत, वैध आयस्रोत बाट आर्जन हुन सक्ने सम्पत्तिको किसिम, प्रकृति, त्यसको आवश्यकता र मात्रा एवं खर्चको प्रकार समेतलाई दृष्टिगत गरी न्यायिक विवेकको आधारमा छुट्याउदा स्रोत पुष्टि भएको मौद्रिक आयतर्फ प्रतिवादी आशा चतुर्वेदीको नाउँको काठमाडौं महानगर पालिका वडा न. ७(ग) कि.नं.५०को रु.१०,३०,०००। को घरजग्गा, निजकै नाउँको भैरहवा नगरपालिका वडा नं. ८(क) कि.नं.१६३६ को रु.३५,०००। जग्गा, चितवन कल्याणपुर गाउविकास समिति वडा नं. ३ को कि.नं.८६० र ८६२ को जग्गामध्ये चार भागको एक भागले हुने रु.१,६५,६२५। को जग्गा, निजैका नाउँको नेपाल बैक लि.काठमाडौं अफीसको खाता नं. ८४५२१५० को मौज्दात रकम रु.६८,०७६।४० मध्ये रु.२८,८३५।१४, प्रतिवादी रितेश चतुर्वेदीका नाउँको पर्सा श्रीपुर गाउँ विकास समिति वडा नं.६ को कि.नं.८१४, ८१७, ९१० र ९११ को रु.९,२१,९३४। का घरजग्गा, प्रतिवादी अदिती चतुर्वेदीका नाउँको वा २ च ५२७६ को रु.३,४५,०००। को मारुती गाडी, प्रतिवादी रामाज्ञा चतुर्वेदीका नाउँको राष्ट्रिय वाणिज्य बैंक मुख्य शाखा र हिमालयन बैंकको खाताको मौज्दात रु.२,२६,७०७।९०, निजैका नाउँको नेपाल मेडिकल कलेज काडमाडौंको रु.३०,००,०००। को शेयरमध्ये रु.३,००,०००। को शेयर कित्ता ३०००, निजैका नाउँको शिखर पेन्टस् प्रा.लि.काठमाडौंको रु.५,००,०००। को शेयर, प्रतिवादीको घरबाट वरामद भएको नगद रु.१,१३,०००।, प्रतिवादी अभिषेक, अदिती र रितेश चतुर्वेदीलाई अमेरिका तथा भारतमा पढाउँदाको खर्च रु.२६,९४,२४०। समेत गरी जम्मा रु.६३,६०,३४२।०४ को र पेवा दाइजो, दान दक्षिणा एवं बकसतर्फ बैकको लकरबाट वरामद भएका रु.३,२३,८५९।२१ का सुनका गहना, प्रतिवादी रामाज्ञा चतुर्वेदीका नाउँको पर्सा सिर्सिया ७ को कि.नं.२१७, पर्सा वैरियाबिर्ता ७ को कि.नं.३५५ र ३५६ को गरी रु.२१,३००। को जग्गा र प्रतिवादी अदिती चतुर्वेदीका नाउँको एभरेष्ट बैंक न्यूरोडको खाता नं ०२७६७ को मौज्दात रु.१०,२३,०३०।४८ मध्ये रु.२३,०३०।४८ समेत गरी कुल जम्मा रु.६७,२८,५३१।७३ र सोबाट बढेबढाएको सम्पत्तिको सम्म स्रोत पुष्टि भएको देखिन्छ 

सो वाहेकका प्रतिवादी अदिती चतुर्वेदीका नाउँको पर्सा नौतन गा.वि.स वडा नं.६ को कि.नं. १६१ को जग्गा, प्रतिवादी रितेश चतुर्वेदीका नाउँको का.म.पा वडा नं.३५ को कि.नं.६५को जग्गा र वडा नं.७ को कि.नं. ७९१को जग्गामध्ये निजको आधा भाग हिस्साको जग्गा, निजकै नाउँको पर्सा वहुअर्वाभाठा गा.वि.स वडा नं.७ को किंनं १३० को जग्गा, प्रतिवादी रामाज्ञा चतुर्वेदीका नाउँको पर्सा श्रीपुर गा.वि.स. वडा नं.६ को कि.नं.९०१ र ९०२ को जग्गा, पर्सा सिर्सिया गा.वि.स.वडा नं.१ को कि.नं.४१२ को जग्गा, सोही गा.वि.स. वडा नं.७ को कि.नं.२१६ को जग्गा र काठमाडौं सुन्ताखान वालुवा गा.वि.स वडा नं.६(क) कि.नं.२ को जग्गा मध्ये निजको भाग हिस्साको ४ भागको १ भाग जग्गा, पर्सा रामगडवा गा.वि.स वडा नं.४ को कि.नं.३२, ७१९, ७२० र वडा नं.७ को कि.नं.११० र पर्सा श्रीपुर गा.वि.स. वडा नं.६ को कि.नं.७४१ को जग्गा, काठमाडौं का.म. पा. वडा नं.३५ को कि.नं.५१ र ६४ को जग्गा मध्ये निजको भाग हिस्साको आधा जग्गा, पर्सा वहुअर्वा भाठा गा.वि.स वडा नं.७ को कि.नं.५६० को जग्गा, मकवानपुर हेटौडा नगरपालिकाको वडा नं.९ को कि.नं.४७७ र १०५१ को जग्गा, पर्सा वैरियाबिर्ता वडा नं.७ को कि.नं.२१७ को जग्गा, प्रतिवादी अभिषेक चतुर्वेदीका नाउँको काठमाडौं धापासी गा.वि.स वडा नं.८(क) को किनै ८७०, ८७५, ८७३ र ८६७ को जग्गा, चितवन भरतपुर नगरपालिका वडा नं.६ को कि.नं.३६९ को जग्गा, प्रतिवादी आशा चतुर्वेदीका नाउँको काठमाडौं चपलि भद्रकाली गा.वि.स वडा नं ५(ख) को कि.नं.४४२ र ४४६ को जग्गा, पर्सा वहुअरी गा.वि.स वडा नं.२ को कि.नं.२११ र २१२ को जग्गा, पर्सा रामगडवा गा.वि.स वडान ४ को कि.नं.६२८ को जग्गा, पर्सा सिर्सिया गा.वि.स वडा नं.१ को कि.नं.३१९ को जग्गा र पर्सा वहुअरी गा.वि.स वाड नं. २ को कि.नं.२१३ को जग्गा, प्रतिवादी अभिषेक चतुर्वेदीका नाउँको ओम हस्पीटलको रु.३०,००,०००। को ३०,०००। कित्ता शेयर, प्रतिवादी रामाज्ञा चतुर्वेदीका नाउँको नेपाल मेडिकल कलेज काठमाडौंको रु.३०,००,०००। को ३०,०००। कित्ता शेयरमध्ये रु.२७,००,०००। को २७,००० कित्ता शेयर, प्रतिवादी अदिती चतुर्वेदीका नाउँको एभरेष्ट बैंक न्यूरोडको खाता नं. ०२७६७ को मौज्दात रु.१०,२३,०३०।४८ मध्ये रु.१०,००,०००। ,प्रतिवादी रामाज्ञा चतुर्वेदीका नाउँको नेपाल एस.बि.आई. बैकको खाता नं.०१५३१००१९१६ को मौज्दात रु.५७,६६१।६५ र नेपाल बैंक लिमिटेड धर्मपथको खातानं ६५८१८ को मैज्दात रु.३२,१२७।३४, प्रतिवादी आशा चतुर्वेदीका नाउँको नेपाल बैक लिमिटेड काठमाडौं अफीसको खाता नं. ८४५२१५० को मौज्दात रु.६८,०७६।४० मध्ये रु.३९,२४१।२६, निजकै नाउँको हिमालयन बैंक वीरगञ्जको खाता नं. १३१४०व को मौज्दात रु.७४,९६१।३६, प्रतिवादी अभिषेक चतुर्वेदीका नाउँको कृषि विकास बैक चावहिलको खाता नं. २७२७१६ को मौज्दात रु.५०,१०८।२४, भारतीय बैकहरूबाट झिकी लुकाई छिपाई राखेको रु.९०,७१,०९४।४० समेत गरी जम्मा विगो रु.१,९०,७९,६२६।२५ को र सोबाट बढेबढाएको सम्पत्तिको स्रोत पुष्टि गर्न सकेको पाइएन 

अतः उल्लिखित आधार कारण र मिसिल संलग्न सबूद प्रमाणहरूबाट प्रतिवादी रामाज्ञा चतुर्वेदीले राष्ट्रसेवकको रुपमा सार्वजनिक पद धारण गरेको अवधिमा आर्जन गरी आफ्नो र आफ्ना श्रीमती तथा छोराछोरीका नाउँमा राखेको आरोप पत्रमा उल्लिखित सम्पूर्ण चल अचल सम्पत्ति निजले आर्जन गरेको समयको मूल्यका आधारमा हुन आउने जम्मा रु.२,५८,०८,१५७।९८ को चल अचल सम्पत्तिमध्ये जम्मा रु.६७,२८,५३१।७३ को मात्र स्रोत खुलेको पुष्टि हुन आएको हुँदा सो बाहेक स्रोत खुलेको पुष्टि हुन नसकेको रु.१,९०,७९,६२६।२५ को चल अचल सम्पत्ति आरोप पत्र माग दावीबमोजिम प्रतिवादी रामाज्ञा चतुर्वेदीले गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसूर गरेको ठहर्छ । सो ठहर्नाले स्रोत खुलेको पुष्टि हुन आएको उपरोक्तबमोजिमको चल अचल सम्पत्ति बाहेक स्रोत पुष्टि हुन नसकेको भनी माथि विश्लेषण गरिएका चल अचल सम्पत्ति, भारत स्थित एस.बि.आई. बैंक र यूनाइटेड बैंक अफ इन्डियामा खोलिएका खाताहरूमा जम्मा भै पछि खाता बन्द गरी लुकाए छिपाएको जम्मा रु.९०,७१,०९४।४० समेतको चल अचल सम्पत्ति र सोबाट बढे वढाएको सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ बमोजिम जफत हुन्छ । साथै निज प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार विगोबमोजिम रु.१,९०,७९,६२६।२५ जरीवाना र १ वर्ष कैद तथा उक्त ऐनको दफा २४ बमोजिम १ वर्ष थप कैद समेत जम्मा २ वर्ष कैद हुन्छ । कानूनबमोजिम जफत हुने गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिमध्ये विदेश भारतस्थित बैंकहरूमा राखेको रु.९०,७१,०९४।४० र सोबाट बढेबढाएको (ब्याज) रु.२०,५४,२६७।२० समेत जम्मा रु.१,११,२५,३६१।६० बैंकबाट निकाली लुकाई छिपाइ राखेको पुष्टि भएको हुँदा सो रकम प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्ति समेतबाट कानूनबमोजिम गरी भराउने ठहर्छ भन्ने समेत व्यहोराको विशेष अदालत काठमाडौंको मिति २०६१।१०।८ को फैसला 

 

वादी पक्षको पुनरावेदनपत्र

विगोको अङ्क कायम गर्ने सम्बन्धमा :

विशेष अदालतले सम्पत्ति आर्जन गर्दाको समयको मूल्यलाई आधार मानी विगो कायम गरेको मिलेको छैन । किनभने गैरकानूनी आर्जनको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति जफत हुने ऐनको प्रावधान रहेको र आर्जन गर्दाको मूल्यलाई मात्र विगो मान्दा बढेबढाएको सानो अंशबाटमात्र जरीवाना तिर्न पुग्ने भै गैरकानूनी आर्जनको बिगोको परिमाण बराबर दण्ड गर्ने कानूनको उद्देश्य पराजीत हुने हुँदा हालको मूल्यलाई कायम गर्नु कानूनसंगत हुन जान्छ त्यसैले हालको मूल्यलाई आधार मानी विगो कायम गरी तदनुकूल सजाय गरिपाऊँ 

           

खेतिपातिबाट हुने आय गणना सम्बन्धमा :

आफू र आफ्नो परिवार कृषि कार्यमा नरहेको, प्रतिवादीले मोही नभएको जग्गाबाट मोहीबाट प्राप्त गर्न सक्ने आयको दोब्बर मुख्य बालीबापत र हिँउदे बालीबापत थप आय समेत प्राप्त गर्नसक्ने अनुमान गरी कृषि आयको अङ्क कायम गरेको, त्यस्तै बगैंचा, माछा पोखरीको वार्षिक आय भनी कायम गरेको अङ्क तर्कसंगत नभै अनुमानका आधारमा कायम गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गतको कसूर सम्बन्धी मुद्दामा प्रतिवादीको बैध आय र निजको सम्पूर्ण सम्पत्तिको बीचको अन्तरलाई आरोप पत्रमा स्पष्ट पारिएको अवस्थामा प्रतिवादीले पुष्टि गर्नुपर्नेमा अदालतले स्वयंले अनुमान गरी आय कायम गरेको त्रुटिपूर्ण हुँदा सो बदर गरिपाऊँ 

 

सगोलमा रहँदाको कृषि आय सम्बन्धमा :

अंशबण्डा हुनुअघि सगोल परिवारले खर्च गरी बचाएको चल अचल सम्पत्ति अंशबण्डा हुँदा सो आय समेत निजको भाग बण्डामा परी सकेको मान्नु कानूनसम्मत र व्यवहारसम्मत कुरा हो । तर विषेश अदालतले २०३८ सालअघिको कृषि उब्जनीको दर भाउ समेत २०३८ को सरह अनुमान गरी सगोलमा रहँदाको आय प्रतिवादीले पृथक रुपमा प्राप्त गरेको भनी आयमा समावेश गरेको सम्पूर्ण परिवारको व्यवहार र अंशबण्डाको कानूनी आधारलाई उल्लघंन गरी त्रुटिपूर्ण फैसला गरेकोले बदर गरिपाऊँ 

 

बैध आय आर्जन र सम्पत्तिको सम्बन्धमा :

प्रतिवादीले बिभिन्न पदमा काम गर्दाको अवधिमा आर्जन गरेको रकम र सोही अवधिमा आर्जन गरेको सम्पत्तिसँग तुलना गरी आरोप पत्रमा स्रोत खुले नखुलेको यकीन विश्लेषण गरी छुट्याएकोमा अदालतले प्रतिवादीको समग्र अवधिको आयस्रोतको अङ्क कायम गरी गोमलटोल किसिमबाट आयस्रोत पुष्टि भएको भनी ठहर गरेको तथ्यगत विष्लेषणबाट पुष्टि हुन नसकेको हुँदा आरोप पत्रमा उल्लेख गरिएबमोजिमको सम्पत्तिलाई गैरकानूनी आर्जनको कायम गरिपाऊँ 

 

कमला कार्पेटको आय सम्बन्धमा :

जग्गा धितो राखी प्राप्त गरेको रकम कमला कार्पेटमा लगानी गरेकोमा धितो राखेको उक्त कि.नं. १६३६ को जग्गाको नै बैध स्रोत नखुलेको हुँदा अवैध आयको लगानीबाट बैध आय प्राप्त गरेको भन्न मिल्ने देखिदैन । त्यस्तै कर कार्यालयमा पेस भएका कागजातको आय अङ्क कमला कार्पेटले घोषणसम्म गरेको भएपनि सो आय कहिले र कुन तरिकाबाट प्राप्त भएको भन्ने प्रमाण नभएको अवस्थामा प्रतिवादीले पूरा गर्न नसकेको दायित्व स्वयं अदालतले पूर्ती गर्न मिल्दैन । त्यसैले कमला कार्पेटको आय कानूनसम्मत नहुनाले बदर गरिपाऊँ 

 

दाजुभाइबाट बकसपत्रको लिखत बनाई प्राप्त गरेको जग्गा सम्बन्धमा :

रामाज्ञा चतुर्वेदी सरकारी संस्थानको उच्च ओहदामा रही आर्थिक र शैक्षिक स्थितिमा समेत सम्पन्न रहेको अवस्थामा त्यस्तो आर्थिक सम्पन्नता नभएका दाजुभाइले दान बकस दिनुको कारण नभएकोले सो सम्पत्ति खरीद गरेको हो । त्यसैले आरोप पत्रको तालिका नं. १३ को क्र.सं. १२, १३ मा उल्लेख भएको. कि. नं. २१७, ३५५, ३५६ का जग्गा बिना मूल्य प्राप्त गरेको भन्ने ठहरको तार्किक र कानूनी आधार समेत उल्लेख छैन । यस्तो ब्यवहारलाई मान्यता दिने हो भने गैरकानूनी आर्जनलाई बैध देखाउने प्रबृति वढ्न सक्छ । त्यसैले सो त्रुटिपूर्ण फैसला बदर गरी दावीबमोजिम गरिपाऊँ 

 

जग्गाको खरीद मूल्य सम्बन्धमा :

गैरकानूनी आयबाट सम्पत्ति खरीद गर्नेले आफ्नो बैधानिक आयले पुष्टि हुन सक्नेसम्म वा न्यूनतम् रकममात्र थैली राखी लिखत तयार गर्ने गर्दछ । सो गरेर लिखत पारीत गर्दा लाग्ने दस्तूर बढी तिर्नुपर्ने तथा आयस्रोत पुष्टि गर्नुपर्ने दुवै दायित्वबाट बच्ने उद्देश्य राखिएको हुन्छ । सम्पत्ति खरीद गर्दा वा खरीद गर्नुभन्दा निकट पहिले ठूलो परिमाणमा रकम बैंकबाट झिकिएको र सम्पत्ति खरीद गरेपछि वा अघि सो रकम अन्यत्र प्रयोग भएको पुष्टि नभएको अवस्था हुँदा बैंकबाट झिकिएको रकम त्यस्तो सम्पत्ति खरीद गर्न प्रयोग गरिएको मान्नु पर्ने भई बैंकबाट झिकिएको रकम नै अवैध हुँदा लिखत मूल्यलाई अकाट्य मान्न मिल्दैन । त्यसैले आरोप पत्रको तालिका नं. १३ को क्रं.सं १३, २२, २३, र २७ मा उल्लेख गरिएका जग्गाको मूल्य बढि कायम गर्नुपर्नेमा घटी कायम गरेको त्रुटिपूर्ण छ 

 

लकरमा पाइएका गहनाका सम्बन्धमा :

प्रतिवादीको घरबाट बरामद भएको २० तोला बराबरका सुनका गहना दाइजो पेवाको हुन सक्ने भनी निजकै जिम्मा दिइसकेको अवस्थामा लकरमा पाइएको रु.३,२३,८६९।२१ मूल्यका गहनालाई बिना आधार बैध सम्पत्तिमा समावेश गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी ति गहनालाई माग दावीबमोजिम स्रोत नखुलेको गैरकानूनी आर्जनको कायम गरी वादी दावीबमोजिम गरिपाऊँ 

 

प्रत्यक्ष त्रुटि गरिएको सम्बन्धमा :

आशा चतुर्वेदीका नामको काठमाडौं ७ ग. कि.नं. ५० को जग्गासम्मलाई स्रोत खुलेको मानी अन्य चल अचल सम्पत्ति अबैध आर्जनको भनी माग दावीमा स्पष्ट हुँदाहुँदै फैसलामा काठमाडौंको उक्त जग्गामा बनेको घर र प्र. रितेशका नामको पर्सा श्रीपुरको कि. नं. ८१४ र ८१७ को घर जग्गा र निजकै नामको ऐ.कि.नं. ९१० र ९११ को जग्गालाई स्रोत खुलेको सम्पत्ति भनी आरोप पत्र दायर भएको भन्ने उल्लेख गरी तथ्यगत प्रत्यक्ष त्रुटि गरी भएको फैसला आफैँमा त्रुटिपूर्ण छ । त्यस्तै बैंकमा रहेका अन्य नगद मौज्दातको स्रोत पुष्टि नभएको अवस्थामा अनुमानका आधारमा बैध स्रोत मानिएको हुँदा सो त्रुटिपूर्ण भै बदरभागी छ 

अतः विशेष अदालतबाट २०६१।१०।८ मा भएको फैसलाउपरोक्त कारणबाट त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोप पत्रमा उल्लेख गरिएबमोजिम प्रतिवादीहरूलाई अभियोग माग दावीअनुसार सजाय गरी गैरकानूनी आर्जनको सम्पत्ति जफत गरीपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदनपत्र 

 

प्रतिवादी आशा चतुर्वेदीको पुनरावेदन पत्र

कानूनी प्रश्नः

संयुक्त राज्य अमेरिकामा अध्ययनरत प्रतिवादी रितेश चतुर्वेदी भनी आरोप पत्रमै उल्लेख भएको र बिदेशमा रहेको व्यक्तिलाई ३० दिन सम्मको म्याद पठाउनु पर्नेमा १५ दिने म्याद पठाई तामेल गरेको हुँदा उक्त समाव्हान विशेष अदालत ऐन, २०५९ को दफा १०(१) को प्रतिकूल रहेको छ । कानूनबमोजिमको म्याद तामेल नभएको कारणले विशेष अदालत काठमाडौंबाट भएको प्रस्तुत फैसलाअनुसार छोरा प्र. रितेश चतुर्वेदीका नामको सम्पत्ति जफत गर्ने गरी भएको फैसला बदरभागी छ 

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ लाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६५(२) ले खारेज गरेको छ । खारेज भैसकेको ऐनको कसूरमा सोही ऐनको सजायको मागदावी लिइएको आरोप पत्र कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ङ) एवं नेकाप २०२९, नि.नं.७११, पृ.३८५ मा प्रकाशित श्री ५ को सरकार विरुद्ध बेदप्रसाद लोहनी समेतको मुद्दामा प्रतिपादित नजीर सिद्धान्त समेतको विपरीत प्रस्तुत मुद्दा चल्न नसक्नेमा मुद्दा चली पश्चातदर्शी असर दिई भएको फैसला कानूनी सिद्धान्तको विपरीत रहेको हुँदा उक्त फैसला खारेज गरिपाऊँ 

विशेष अदालतले सार्वजनिक पदधारण गर्ने मुख्य प्रतिवादी रामाज्ञा चतुर्वेदीको हकमा आकृष्ट हुने आर्जन भएको सम्पत्तिको वैध स्रोत प्रमाणित गर्न नसके अवैध आर्जन अनुमान गर्नेप्रमाणको भारको सिद्धान्त निजको परिवार म समेतका सबै सदस्यका हकमा लागू हुने होइन । म समेतका प्रतिवादीहरूको हक भोग तथा नाउँमा रहेका अंशबण्डाका १८ नं. बमोजिम निजी सम्पत्तिको वैधता कानूनले स्वतः अनुमान गर्ने भएकाले ती सम्पत्तिहरू मुख्य प्रतिवादीको अवैध सम्पत्तिबाट आर्जन भएको भनी वादी पक्षले प्रमाणित गर्न सकेको छैन । यसरी मुलुकी ऐन अंशबण्डाको १८ नं., स्त्री अंशधनको १।५ नं., दान बकसको १ नं. समेतको सम्पत्तिसम्बन्धी नेपालको प्रचलित कानूनी व्यवस्था, सिद्धान्त, स्थापित परम्परा एवं मान्यता समेतको विपरीत विशेष अदालतले फैसला गरेको हुँदा बदर गरिपाऊँ 

त्यस्तै भ्रष्टाचार निवारण ऐन, २०१७ लागू हुँदाका बखत (२०५९।३।४ सम्म) म समेतका परिवारका सदस्यहरूको निजी आर्जनको सम्पत्ति तथा हाम्रो अंश हक लाग्ने सगोलको आर्जनको सम्बन्धमा गैर राष्ट्रसेवकको हैसियतले हाम्रो हकमा उक्त ऐनको दफा १५ लागू गर्न मिल्दैन । त्यसरी मिति २०५९।३।५ देखि लागू भएको भ्र.नि ऐन, २०५९ को दफा २० को कानूनी व्यवस्था सो मितिअघिको म समेतको निजी आर्जनको सम्पत्तिको हकमा अतीतप्रभावी कानूनको रुपमा समेत आकृष्ट हुन सक्दैन 

दाइजो (तिलक) र सोबाट आर्जित जग्गा बिक्रीबाट प्राप्त आयको सन्दर्भमा :

म पुनरावेदकले आयोग तथा अदालतमा बयान गर्दा विवाहको बेला पाएको दाइजो (तिलक) भा.रु.२ लाख २५ हजारमध्ये बाँकी रहेको भा.रु.१,२५,०००।को हुने रु.१,७३,७५०।लाई विशेष अदालतले स्वीकार गरी स्रोत खुलेको सम्पत्तिमा गणना गरेको छ । २०३२ सालमा पाएको दाइजो (तिलक) को रकममध्ये बाँकी १,७३,७५०।लाई २०३३ सालदेखि नै बैंकमा लगानी गरी तत्काल समदर ७ प्रतिशतले ब्याज प्राप्त गरी बढेबढाएका स्रोत समेतबाट नेपालगञ्ज ८ ख को कि.नं.३३७ र ३३९, काठमाडौं ७ को कि.नं. ५०, भैरहवा ८(क) को कि.नं. १६३६, श्रीपुर ८ को कि.नं. ५१४,५१५ जग्गा खरीद गरेकोमा नेपालगञ्जको कि.नं. ३३७, ३३९ चावहिलको कि.नं. ५० र भैरहवाको १६३६ को जग्गालाई विशेष अदालतले मान्यता दिएको तर सोही दाइजोको स्रोतबाट नै खरीद गरेको श्रीपुर ८ को कि.नं. ५१४ र ५१५ तथा कृषिजन्य आयबाट खरीद भएको श्रीपुर ८ को कि.नं. ४९१ को जग्गालाई आयस्रोत नखुलेको सम्पत्ति भनी सो बिक्रीबाट आएको रकमलाई बैध आयको मान्यता दिएको छैन । तसर्थ श्रीपुरको कि.नं.५१४,५१५ र ४९१ का जग्गाहरू बिक्रीबाट प्राप्त रु.१,४२,५००।र नेपालगञ्जको कि.नं. ३३७ र ३३९ को बिक्रीबाट प्राप्त रु.१,८६,०००।मध्येबाट १,६८,०००।मात्र स्रोतमा लिइएकोले छूट हुन गएको रु.१८,०००।समेत रु.१,६०,५००।लाई बैध आयस्रोतमा समावेश गरिपाऊँ 

टिकाटालो दान दक्षिणाको सन्दर्भमा :

सामाजिक परम्परा रीतिअनुरूप मैले बाल्यकालदेखि नै माइतीतर्फबाट पाएको स्त्री धन, दान दक्षिणा, टिकाटालो, ब्रतवन्ध, विवाह समारोहमा पाएको बक्सिस भा.रु.१,१५,००० को हुने रु.१,५९,८५० र विवाहपश्चात् माइती तथा ससुरालीतर्फबाट पाएको बक्सिस रु.४३,०००।समेत रु.२,०२,८५०।लाई २०३३ सालदेखि नै २५ प्रतिशत ब्याजदरमा गाउँघरमा लगानी गरी सो बाट बढेबढाएको तालिका अनुसारको रु.२२,१९,१५६।पुनरावेदिकाको निजी वैध आम्दानी भएकोलाई बिना कुनै वस्तुनिष्ट आधार प्रमाण मेरो आयमा नलिई केवल रु.१,५०,०००।सम्म दान दक्षिणाको रकम कायम गरी सो रकमबाट गहना खरीद गरेको अनुमान गरी २०३२ सालमा मैले विवाहमा पाएको र २०५२ सालमा सासूले दिनु भएको हाल रु.३,२३,८५९।३१ का गहनाहरूलाई दान दक्षिणाको भनी आयमा कायम गरेको छैन । सो गहना दाइजो तथा आमाबाट प्राप्त भएको भन्ने तथ्य पति रामाज्ञाले सम्पत्ति जाँचबुझ आयोगमा २०५९।१।२६ मा दिएको विवरण र मेरा साक्षीहरूले अदालतमा गरेको बकपत्र समेतले प्रमाणित गरेको छ । तसर्थ विशेष अदालतले टिकाटालो, दान दक्षिणाको रकम र सोबाट बढेबढाएको रु.२२,१९,१५६।रकममध्ये मात्र रु.१,५०,०००।मानी अमान्य गरेको रु.२०,६९,१५६।लाई समेत वैध आयमा समावेश गरिपाऊँ 

 

जग्गा भाडाको सन्दर्भमा :

म पुनरावेदकले जिकीर लिएका सबै जग्गाहरू बैध आर्जनबाट आर्जित गरेका र कानूनबमोजिम बकसमा पाएका जग्गाहरू मैले करारनामा गरी जग्गा भाडामा दिएको र भाडाबापत पाएको आम्दानी रु.५,४३,६००।रहेकोमा नेपालगञ्जको कि.नं.३३७ र ३३९ र भैरहवाको कि.नं. १६३६ को भाडामा दिएको जग्गाको विशेष अदालतले क्रमशः रु.८,६९४।र १८,९४८।६० कृषि आय कायम गरेको छ । ब्यापारिक प्रयोजन तथा व्यवसायिक तरकारी खेती गर्नको लागि जग्गाहरू भाडामा दिएको र करारबमोजिम रकम प्राप्त गरेको अवस्थामा विशेष अदालतले आफूखुशी कृषि आयस्ता कायम गरेको त्रुटिपूर्ण हुँदा जग्गा भाडा बापतको पूरै आय रु.५,४३,६००।पुनरावेदकको आयस्रोतमा गणना गरिपाऊँ 

 

काठमाडौं चावहिलको घर भाडा सम्बन्धमा :

 मेरो नामको चावहिलको घर प्रोफेसर सामर्थबहादुर सिंह र आइ.एन.जि.ओ.बाहिनी फाउन्डेशनलाई भाडामा दिएबापत घर भाडा रु.२,६६,२५०।प्राप्त गरेकोमा विशेष अदालतले रु.१,२६,००० लाई मात्र मान्यता दिएको छ । बाहिनी फाउन्डेशनलाई करार गरी दिएको भाडा बापत प्राप्त रकमको कर कार्यालय क्षेत्र नं. १ मा १५ प्रतिशत कर बुझाएको अवस्थामा समेत मान्यता नदिएको हुँदा उक्त आइ.एन.जि.ओ. बाट प्राप्त घर भाडा बापतको रु.१,४०,२५०। लाई समेत घरभाडाको आयस्रोतमा समावेश गरिपाऊँ 

 

कमला कार्पेटको आयस्रोत र सोबाट आर्जित सम्पत्तिको सन्दर्भमा :

कमला कार्पेटले आ.व. २०४५।४६ देखि २०५४।५५ सम्म जम्मा रु.१,३४,१५,१४६।६३ वास्तविक आय गरेको लेखा परीक्षण भएको वासलात बाट पुष्टि भएको छ । सो मुनाफा रकममध्येबाट र उद्योग बन्द हुँदा बाँकी रहेको पूँजी, मौज्दात गलैँचा र कारखानाको सेड, काठको तानहरू एवं अन्य मालसामान बिक्री समेतबाट आएको रकममध्येबाट अनुसूची क. मा उल्लिखित रु.३९,१७,४२६।विभिन्न मितिमा चेक तथा नगद समेतबाट मैले प्राप्त गरेकोमा विशेष अदालतले रु.१४,३६,४२२।६९ मात्र आय मानेको छ । तसर्थ मिसिल संलग्न अनुसूची १७ अनुसारको मुनाफा रकम रु.३९,१७,४२६।मा रु.१४,३६,४२२।घटाउँदा छूट भएको रु.२४,८१,००३।३१ समेत वैध आयमा समावेश गरिपाऊँ 

 

विशेष अदालतले कमला कार्पेटको व्यवसायबाट

(कमला कार्पेटकै नाउँको चितवन कल्याणपुरको कि.नं. ८६० र ८६२ बाहेक) मुनाफा प्राप्त गरेको भनेको छ । तर सो मुनाफा रकममध्येबाट रु.२,७४,९६०।लगानी गरी खरीद गरेको का.जि.का.म.पा.वडा नं. ३५ को कि.नं.६५ र वडा नं. ७ (ख) को कि.नं. ७९१, सुन्ताखाना वालुवा ६ को कि.नं. २ तथा पर्सा बहुअर्वा भाठा ७ को कि.नं. ५६० को स्वतः स्रोत खुलेको सम्पत्ति कायम हुनेमा अवैध स्रोतबाट खरीद नभएको भनी त्रुटिपूर्ण फैसला गरेको छ । त्यसैले उक्त जग्गाको हुने मोल रु.२,७४,९६०।समेत स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

 

काठमाडौं चावहिलको घरको मूल्याङ्कन सम्बन्धमा :

चावहिलको घर २०४१।४२ सालमा रु.५,५०,०००।लागतमा निर्माण भएको र ०५७ सालमा आवश्यक सुधार तथा मर्मतमा ४ लाख खर्च भएकोले Maintenance ले Structural Addition लाई नजनाउँने भई १६ वर्ष पुरानो घरमा मर्मत सुधार आवश्यक हुँदा मर्मत सुधारको खर्चलाई जोडी कुल लागत कायम गर्न मिल्दैन । त्यसैले सोको वास्तविक मूल्य कायम गरिपाऊँ 

 

आमा चन्द्रावतीदेबीबाट बच्चाहरूको उच्च शिक्षाको लागि सहयोगस्वरुप प्राप्त रकमको सन्दर्भमा :

मेरी आमा चन्द्रावतीदेवीले आफ्ना नाति नातिनीहरूको (पुनरावेदकको छोराछोरी) उच्च शिक्षाको लागि पटकपटक २०५६ मंसिरदेखि २०५७ भदौसम्म भा.रु.७ लाखको हुने रु.१२ लाख मलाई दिनु भएको थियो । २०००।८।७ को शपथपत्र तथा मेरा साक्षीको बकपत्र समेतले सो तथ्य पुष्टि गरेको अवस्थामा मेरो आयमा नजोडेकोले उक्त रु.१२ लाख वैध आयस्रोतबाट प्राप्त सम्पत्तिमा समावेश गरिपाऊँ 

 

बैंक ब्याजबाट भएको आय सन्दर्भमा :

२०३३ सालदेखि २०४९ असोज मसान्तसम्मको अवधिमा मेरो विभिन्न वैध आयस्रोत दाइजो (तिलक) दान दक्षिणा, दाइजो पेवा, कृषिजन्य आय, घरभाडा जग्गा भाडा, कमला कार्पेटबाट प्राप्त रकम, जग्गा बिक्री, माता चन्द्रावतीबाट उच्च शिक्षाको लागि प्राप्त रकम, मेरो विभिन्न बैंकहरूमा रहेका बचत तथा मुद्दती खाताबाट प्राप्त ब्याज सम्बन्धित बैंकको स्टेटमेन्टमा आधारित संलग्न अनुसूचीको रु.२६,५२,६८१।०७ मध्ये रु.१६,६३,२१५।१८ ब्याज पुष्टि भैरहेको छ । २०३३ देखि २०४७ सम्मको आयस्रोतबाट बढेबढाएको आम्दानी विभिन्न बैंकमा लगानी भएको मिसिल संलग्न नगद प्रवाह (Cash flow) विवरण अनुसूची १८ बमोजिम सरदर ७ प्रतिशतका दरले रु.१,५४,१८७।८३ समेत प्राप्त भएकोले रु.१८,१७,४०३।०१ आय पुष्टि भएकोमा सोलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

 

सगोल परिवारको २३ विगाहा पैतृक जग्गाको कृषि आयमध्येबाट खरीद भएको जग्गाहरूको सन्दर्भमाः

विशेष अदालतले २०३३ देखि २०४५ सालसम्म सगोलको पैतृक जग्गाबाट कृषिजन्य आय आर्जन भएको मानेको अवस्था हुँदा सोही अवधिमा मेरा नाउँको कि.नं. ४९१ र ३१९ का जग्गा रु.९३,०००।मा खरीद भएको स्पष्ट प्रमाणित भएकोले उल्लिखित जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

 

बकसपत्रबाट प्राप्त सम्पत्तिको सन्दर्भमा :

मैले पर्सा बहुअरी २ को कि.नं. २११ र २१२ का जगगाहरू सम्बन्धित दातालाई रिझगुण गरेबापत दान बकससम्बन्धी कानूनबमोजिम मेरो निजी हकको सम्पत्तिको रुपमा प्राप्त गरेकी हुँ । यसरी कानूनबमोजिम प्राप्त गरेको बकसपत्रलाई मनोगत कथनको आधारमा खरीद बिक्री हो भनी ठहर गर्नु सर्वथा गैरकानूनी हुँदा बकसपत्रबाट प्राप्त जग्गा अंशबण्डाको १८ नं. बमोजिम मेरो निजी सम्पत्ति हो । बकसपत्रबाट प्राप्त सम्पत्तिलाई खरीदको अनुमान गर्न भ्रष्टाचार निवारण ऐन, २०५९ समेतमा कुनै कानूनी व्यवस्था नभएको हुँदा उक्त फैसला त्रुटिपूर्ण छ 

 

UBI मा रहेको खाताको सन्दर्भमा :

युनाइटेड बैंक अफ इन्डियामा मेरो नामको खातामा भा.रु.१५,०१,०००।र छोरा अभिषेकको नाममा भा.रु.१४,६२,५००।समेत भा रु.२९,६३,५००।को हुने रु.४७,४१,६००।का सम्बन्धमा मूल प्रतिवादी पति रामाज्ञालाई कुनै जानकारी, सम्बन्ध र संलग्नता समेत नभएको भनी बयान गरेको र वादी स्वयंले पनि सो रकम नेपालबाट गएको भनी दावी लिएको छैन । उक्त रकम आमा चन्द्रावतीदेबीले २००२।४।६ मा शपथपत्रमार्फत् भा.रु.३० लाख म छोरी आशालाई दिई भारतकै UBI बैंकमा खाता खोली राखेको, पटकपटक पिताको उपचार समेतमा उक्त रकम झिकी खाता नै बन्द भैसकेको अवस्थामा अस्तित्वमा नरहेको ४७,४१,६००।को थप विगो भराउने र जरीवाना समेत गरेको फैसला गैरकानूनी एवं अन्यायपूर्ण हुँदा बदर गरिपाऊँ 

 

ने.बै.लि.को लकरबाट बरामद भएको गरगहनाका सन्दर्भमा

मलाई विवाहको बेलामा २ मार्च १९७६ (१९ फागुन २०३२) मा दिएको दाइजो नगद भा.रु.२,२५,०००।–, सुनका गहना ३७ तोला, चाँदीका गहना ३५ तोला प्राप्त भएको, बाबु जनार्दन मिश्रले गरिदिनुभएको १९७६ मार्च ४ को कबुलियतनामाबाट पुष्टि भएकोमा नगद भा.रु.२,२५,०००।मध्ये खर्च भै बाँकी भा.रु.१,२५,०००।को हुने रु.१,७३,७५०।लाई विशेष अदालतले स्रोत खुलेको सम्पत्तिमा समावेश गरी सोही लिखतमा उल्लिखित गर गहनालाई आय स्वीकार नगरी भएको फैसला वस्तुनिष्ठ नभई त्रुटिपूर्ण छ । त्यस्तै सासू यशोदादेवीले १७ तोला सुनका गहना ०५२ सालमा दिनु भएको थियो । ती गहनाहरूको बनावट डिजाइन समेतबाट पुरानो तथा स्वाभाविक परिमाणका रहेका छन् । ती गहनाहरू पतिको कुनै पनि आयबाट खरीद गरेको होइन । कुनै ठोस आधार र सबूद प्रमाण विना अनुमानको भरमा टिकाटालोको रकम रु.१,५०,०००।बाट खरीद गरिएको भनी विशेष अदालतबाट भएको फैसला सबूद प्रमाणको रोहमा बदरभागी रहेको छ 

 

बैंक खाताहरूको सम्बन्धमा :

            मेरा नामको ने.बै.लि. धर्मपथको खातामा रहेको रु.६८,०७६।४० को स्रोतमा कृषिजन्य आय, कमला कार्पेटको मुनाफा, अंशबण्डा हुँदा घरसारमा पाएको रकम, घरभाडा, फलफूल बिक्री, माछा बिक्री आदिको रकमलाई जम्मा गरेको भनेकोमा उल्लिखित स्रोतबाट आयआर्जन भएको भनी सैद्धान्तिक रुपमा मानेपछि उक्त रकममध्ये बिना कुनै मापदण्ड रु.३९,२४१।२६ मात्रै वैध मान्ने गरी फैसला भएकोले पूरै व्यालेन्स रु.६८,०७६।४० लाई वैध स्रोत कायम गरिपाऊँ । त्यस्तै हिमालयन बैंक वीरगञ्जको मेरो नामको खाताबाट झिकीएको रकम मध्ये रु.३५,०००।बाट खाता खोलिएकोमा सेन्टजेभियर्स स्कूलले भाडाबापत जम्मा गरेको रकम र ब्याज समेत गरी रु.७४,९६१।३६ रहेको बैंक स्टेटमेन्टबाट प्रमाणित भएकोमा अदालतले घर भाडाको स्रोत स्वीकार गरेको अवस्थामा सो स्रोतबाट आएको रकममध्ये ब्यालेन्स रहेको रु.७४,१०८।२४ लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

शेयर तथा जग्गा खरीदको सन्दर्भमा :

            कमलेश तिवारीबाट ऋण फिर्ता गरेको ७ लाखबाट नै मेरो नाउँको हिमालयन बैंक वीरगञ्जको खाता नं. ००७१०० मा २०५७।४।२ मा खाता खोलिएको तथ्य विशेष अदालतले स्वीकारेको छ । बाँकी रकम २०५५।१२।१० देखि २०५७।३।२९ सम्ममा पति रामाज्ञाका नाउँको ने.बै.लि.न्यूरोडको खाताबाट रु.१३,४०,०००।–, मेरा नाउँको सोही बैंकको खाताबाट रु.१३,६०,०००।–, मेरा नाउँको कृषि विकास बैंक चावहिलको खाताबाट १७,००,०००।तथा म र पतिका नाउँका विभिन्न बैंकहरूबाट झिकिएको रकम र कमला कार्पेटबाट प्राप्त रकम तथा छोरा रितेशले दिएको रकम समेत घरमा नगद जम्मा पार्दै राखेको रु.७९ लाख मध्येबाट बहुअरी २ को कि नं. २१३, चपली भद्रकालीको कि.नं.४४२ र ४४६ तथा रामगढवाको कि.नं. ६२८ का जग्गा खरीद गरेको र सोही अवधिमा छोरी अदितीका नाममा सेकेण्ड हेण्ड मारुती कार खरीद गरेको हो । पति रामाज्ञाको नाममा शिखर पेन्टसको शेयर खरीदको तथा छोरा रितेषलाई पढाई खर्च पठाएको समावेश छ । बाँकी रहेको रु.६२,९०,०००।मध्ये ६१,५०,०००।मैले नगदै ०५७।४।२ मा वीरगञ्ज हिमालयन बैंकमा जम्मा गरेको अनुसूची (ख) मा उल्लिखित विवरण तथा बैंक स्टेटमेन्टहरू तथा ०६१।९।२८ मा वहसनोट साथ पेश भएको ५४ पानाको नगद प्रवाह (Cash flow)अनुसूची १८ समेतबाट पुष्टि भई रहेको छ । तसर्थ अभिषेकका नामको ओम हस्पिटलको रु.३० लाखको शेयर सोही बैंकबाट झिकीएको बैध स्रोतबाट खरीद गरेको प्रमाणित रहेकाले उक्त शेयरलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

 

VDIS सम्बन्धमा :

मैले आर्थिक ऐन, २०५८ को दफा ४२(१), (२) र (३) बमोजिम कमला कार्पेट र घरभाडा आदि समेतबाट आर्जित सम्पत्तिलाई घोषणा गरी रु.१२ लाख कर तिरेको (रसिद मिसिल संलग्न छ) बाट जम्मा सम्पत्तिमध्ये १ करोड २० लाखको सम्पत्तिको स्रोत कुनै पनि प्रयोजनका लागि खोज्न उक्त दफा ४२ (३) को कानूनी व्यवस्थाले निषेध गरेको छ । यस्तो अवस्थामा त्यसरी घोषित सम्पत्तिको स्रोतको बारेमा राज्यको कुनै अंगबाट छानबीन गर्न प्रमाण ऐन, २०३१ को दफा ३४ र Doctrine of Promissory Estoppel समेतले नमिल्ने हुँदा उक्त १ करोड २० लाख बराबरको सम्पत्ति वैध रहेको स्पष्ट छ । यसको बावजूद उक्त UDIS योजनाको अवधि समाप्त भएको करीव ७ महिनापछि आएको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई सिरानी हाली अगावै भए गरेको काम क्रियालाई असर पार्न नसक्ने कानूनी सिद्धान्तको प्रतिकूल अन्यथा भनी भएको फैसला बदरभागी छ 

            अतः माथि उल्लिखित म पुनरावेदकले लिएको जिकीर र विवेचना तथा पेश गरेको सबूद प्रमाणको आधारमा मेरो दाइजो (तिलक) टीकोटालो, दान दक्षिणा, जग्गा भाडा, घरभाडा, जग्गा बिक्री, कमला कार्पेट, माता चन्द्रावतीबाट आएको सहयोग, विभिन्न बैंक खातामा रहेको लगानीबाट प्राप्त ब्याज आदिको स्रोतबाट प्राप्त कुल आय रु.१ करोड १५ लाख २२ हजार ८४ पैसा ९९ र सो आयबाट भएको खर्च रु.१ करोड १० लाख ७९ हजार ७ सय ६६ पैसा ७२ तथा बाँकी रहेको ब्यालेन्स रु.४,४२,३१८।८७ को विवरण अनुसूची (ग) आयव्यय विवरणमा पेश गरेकी छु 

            यसरी, सम्पत्तिको स्रोत तथा सम्पत्तिको योगफलबीच स्पष्ट रुपमा तादाम्यता रही आफूसँग रहेको सम्पत्तिको योगफलभन्दा आय बढी (सरप्लस) भएकोले आय र बचतबीच तादम्यता रहेको पुष्टि भइरहेको छ । तसर्थ स्रोत खुलेको र नखुलेको सम्पत्ति कुन कुन हो भनी छुट्याउने निश्चित् कानूनी आधार र न्यायिक मापदण्ड नभएको तथ्य स्वीकार गर्दै हचुवाको भरमा शुरु अदालतले मेरो र मेरा परिवारका सदस्य समेतको बयान, साक्षीहरूको बकपत्र र प्रमाणको रुपमा पेश गरिएका लिखत प्रमाणहरू तथा विभिन्न बैध स्रोतबाट पारीत खरीद गरिएको चल अचल सम्पत्तिको तथ्यगत सबूद प्रमाणको मूल्याङ्कन नगरी केवल अनुमानको भरमा केही चल अचल सम्पत्तिलाई अबैध ठहर गरिएकोले आफ्नो विविध स्रोतबाट आर्जन गरेको सम्पत्तिको विवरण उपरोक्तानुसार पेश गरिएकोमा बैध स्रोतबाट आर्जन गरेको सम्पत्ति विवरण माथि बिचार गरी वैयक्तिक सम्पत्तिको आय, आयस्रोत तथा कुल सम्पत्तिको हिसाव निर्धारणको मान्य एवं न्यायोचित मापदण्ड कायम गरी म पुनरावेदक एवं मेरा परिवारका सदस्यहरूको नामको सम्पूर्ण चलअचल सम्पत्ति बैध ठहराई मिति २०६१।१०।८ को फैसला बदर गरी गैरकानूनी आरोपबाट पूर्ण सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी आशा चतुर्वेदीको पुनरावेदनपत्र 

 

प्रतिवादी रामाज्ञा चतुर्वेदीको पुनरावेदन जिकीर :

कानूनी प्रश्नहरूका सम्बन्धमाः

मुलुकी ऐन अंशबण्डाको १८ नं तथा स्त्री धनको ४ नं.ले निजी सम्पत्तिको अस्तित्वलाई कानूनी मान्यता एवं संरक्षण प्रदान गरेको अवस्थामा सार्वजनिक पद धारण गर्ने कर्मचारीहरूका हकमा लागू हुने अनुमानको सिद्धान्त स्वतः निजका गैर कर्मचारी परिवार सदस्यका हकमा लागू गर्ने गरी अदालतले कानून संशोधन गर्न मिल्दैन । वादी पक्षले निर्विवाद एवं स्वतन्त्र प्रमाणबाट गैरकर्मचारी परिवार सदस्यका नाममा रहेको सम्पत्ति सार्वजनिक पद धारण गर्ने कर्मचारी म पुनरावेदकको आर्जनको अवैध सम्पत्ति नै हो भनी निश्चित् सबूद प्रमाण पेश गरी प्रमाणित गर्न सक्नुपर्नेमा सो गर्न सकेको छैन । यस सम्बन्धमा भारतीय सर्वोच्च न्यायालयबाट सार्वजनिक पद धारण गर्ने व्यक्तिले परिवारको सदस्य वा अन्य कुनै व्यक्तिका नाममा अवैध आर्जनको सम्पत्ति लुकाई छिपाई राखेको छ भनी आरोप लगाउने वादीले नै अकाट्य प्रमाण पेश गर्नुपर्ने भन्ने सिद्धान्तको प्रतिपादन गरेको प्रस्तुत मुद्दाका सन्दर्भमा अनुकरणीय देखी विशेष अदालतसमक्ष प्रस्तुत गरेकोमा सोको कुनै विवेचना नगरी भएको फैसला गैरकानूनी भै बदरभागी छ 

मुख्य प्रतिवादी रामाज्ञा चतुर्वेदीउपर वादीले दावी गरेको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), १५, १६ को कानून मिति २०५९।३।५ अघि आर्जन गरेको सम्पत्तिका सम्बन्धमा आकृष्ट हुन सक्दैन । किनभने भ्रष्टाचार निवारण ऐन, २०१७ लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६५ (२)ले मिति २०५९।३।५ देखि खारेज गरिसकेको छ । त्यस्तै नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ को कानूनी व्यवस्थाले समेत साविक ऐन अन्तर्गत आरोप लाग्न सक्दैन । तसर्थ भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको आरोप स्वतः खारेजभागी हुँदा विशेष अदालतको २०६१।१०।८ को फैसलाले गरेको यस सम्बन्धी कानूनी व्याख्या गम्भीर रुपमा त्रुटिपूर्ण भै बदरभागी छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गतको कसूरको अनुसन्धान तहकीकात वादी पक्षबाट भएको छैन । उक्त ऐनको दफा १५ आफैं कसूर र सजाय तोक्ने कानून होइन । मिति २०५९।३।५ अघि बहाल रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको कसूर कायम गर्ने तर सो मितिदेखि मात्र लागू भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० समेत अन्तर्गतको कानून प्रयोग गरी सजाय हुने गरी भएको उक्त फैसला देखादेखी गैरकानूनी छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को कमीकमजोरी तथा दोषको निराकरण गर्नकै लागि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मिति २०५९।३।५ देखि मात्र पश्चात र्शी रुपमा लागू भएकोले सो मितिभन्दा अघिको मितिदेखि लागू हुने गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा नयाँ ऐनको दफा २० (१) (२) लाई जवर्जस्ती सन्निहीत गर्ने गरी भएको फैसला बदरभागी छ 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क. बमोजिम मुद्दा दायर गर्ने हदम्यादको दृष्टिकोणबाट हेर्दा समेत साविक ऐन बहाल रहेको अवधिभित्र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२),१५,१६ग. अथवा १४क. अन्तर्गतको कुनै अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अन्तर्गत समेत मुख्य प्रतिवादी रामाज्ञा चतुर्वेदीका विरुद्धमा कुनै जाहेरी वा उजूरी परी तत्सम्बन्धमा कुनै अनुसन्धान शुरु गरी २०५९।३।५ भित्र मुद्दा दायर हुन सकेको पाईदैन । त्यसैले आरोप पत्र हदम्यादको अभावमा खारेजभागी छ 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० ले सो दफा प्रारम्भ हुदाका बखत सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले ६० दिनभित्र र त्यसपछि हरेक आ.व.मा सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था गरेर दफा २० सँग दफा ५० को कानूनी सम्बन्ध अन्योन्याश्रित भएकोले अन्यथा अर्थ गरी सो दफाको कानूनी संरक्षणबाट मलाई ठाडै बञ्चित गरी हिरासतमा राखी अनुसन्धान गरेकोबाट सम्पत्तिको वैधानिक स्रोत पेश गर्ने कानूनी हकबाट समेत वंञ्चित गरेको तथा उक्त दफाहरूको व्याख्यामा पूर्णतः त्रुटि गरेको छ 

भ्रष्टाचार निवारण ऐन, २०५९, मिति २०५९।३।५ देखि लागू भएकोले सोभन्दा पछि आर्जन गरेको सम्पत्तिको बैध स्रोत प्रमाणित गर्नुपर्ने कानूनी दायित्वसम्म प्रतिवादीउपर रहन्छ । सो अघि आर्जित सम्पत्तिको हकमा उक्त ऐनको प्रावधान आकृष्ट हुन सक्दैन र लागू गर्न पनि मिल्दैन । स्वयं विधिकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० लगायतका अन्य कुनैपनि दफाको कानूनलाई अतीतप्रभावी (Retrospective effect) नबनाई दफा ५० ले तोकेको म्यादपछि मात्र दफा २० को कारवाही प्रारम्भ हुनेगरी भविष्यसूचक (Prospective) कानून बनाको हुँदा साविक ऐन लागू भैरहेको बखतको कामकारवाहीलाई समेट्न नमिल्ने गरी पछि फर्काएर कारवाही गर्न मिल्दैन 

२०५९।३।५ अघि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० तथा ५० ले गरेको जस्तो सम्पत्ति विवरण पेश गर्नुपर्ने बाध्यात्मक एवं दण्डनीय कानूनी व्यवस्था लागू नरहेको हुँदा पुनरावेदकले आफ्नो पैतृक, निजी एवं सगोल परिवारको आर्जनको सम्पत्ति सालवसाली हरहिसावको अभिलेख राख्ने र प्रमाणित गराउने वाध्यता नभएको अवस्थामा वादी तथा विशेष अदालतले बिना आधार काल्पनिक आधारमा पुनरावेदक र पुनरावेदकको परिवार समेतका सम्पत्तिको मूल्याङ्कन गरेर स्रोत देखाउन नसकेको भनी बैध सम्पत्तिलाई अवैध मानी अस्पष्ट र अन्यायपूर्ण व्याख्या गरी त्रुटिपूर्ण फैसला गरेको हुँदा न्यायिक व्याख्या गरिपाऊँ 

 

तलब भत्ता र सोबाट आर्जित सम्पत्ति सन्दर्भमा :

फैसलामा पुनरावेदकको तलब भत्ता, दैनिक भ्रमण भत्ता र अन्य सुबिधा समेत गरी रु.२६,२६,५१६।४५ मात्र कायम गरेको छ । वादी स्वयंले एन.सि.सि.एन.को पत्रमा उल्लिखित रु.१,२९,००६।लाई शत प्रतिशत मान्यता दिई स्रोत खुलेको सम्पत्तिमा गणना गरेकोमा विशेष अदालतले भ्रमण भत्ताको ७० प्रतिशतसम्म बचत भएको भनी छुटाएको रु.३,७९,४८१।७५ मा ३० प्रतिशतले हुने रु.१,१३,८४४।५३ कट्टी गरिएको फैसला कानूनसंगत नहुँदा भ्रमण भत्ताको र रकमले मान्यता पाउने निर्विवाद छ 

बैंकक, अमेरिका, दुवई, हङ्गकङ्ग, संघाई मात्रको भ्रमणबाट यू.एस.डलर २१०० बचत भएको भनी जिकीर लिएको थिएँ । तर भारतको दिल्ली, बम्बई, कलकत्ता, वेगंलोर कार्यलय तथा नेपालभित्रै अनेकौं कार्यालयको पटकपटक गरेको भ्रमणबापतको कुल भुक्तानी रु.५,०४,०४४।३७ लिएको भन्ने कुरा शाही नेपाल बायुसेवा निगमको पत्रबाट नै प्रमाणित भैरहेकोमा यू.एस डलर २१०० को हुने रु.१,६३,२७५।लाई मात्र मान्यता दिई बाँकी रकमलाई नमानिएकोले सो रकम घटाउँदा हुन आउने रु.३,४०,७६९।३७ लाई पुनरावेदकको आयमा समावेश गरिपाऊँ 

            त्यस्तै नेपाल आयल निगमको पत्रमा दैनिक भत्ताको महलमा स्पष्टरुपमा रु.१,३८,१८५।१२ उल्लेख रहेकोमा विशेष अदालतले रु.१,३४,७४८।१२ मात्र गणना गरेकोले रु.३,४३७।छूट हुन गएकोले त्यसलाई आय कायम गरिपाऊँ 

विशेष अदालत आफैले तलब भत्ताबाट बैध आय भएको मान्यता दिए तापनि सोही तलब भत्ताको आयस्रोत मध्येको रु.३१,०००।बाट खरीद भएका श्रीपुर, ६ का कि. नं. ९०१ र ९०२, सिर्सिया ७ को कि.नं. २१६ तथा बहुअरीभाठा ७ को कि.नं. १३० लाई मान्यता नदिएको न्यायसंगत नहुँदा मान्यता दिई उक्त जग्गाहरूलाई मेरो तलवभत्ताको स्रोतमध्येबाट नै खरीद गरिएको बैध कायम गरिपाऊँ 

 

कमला कार्पेटको आयस्रोत र सोबाट आर्जित सम्पत्ति सन्दर्भमा :

मेरो श्रीमती आशा चतुर्वेदी कमला कार्पेटको साझेदार रहेकी र सो उद्योगबाट बैध आर्जन गरेको फैसलामा स्वीकारिएको छ । आ.व. २०४५।४६ देखि २०५४।५५ सम्म सो उद्योगले जम्मा रु.१,३४,१५,१४६।६३ खुद नाफा गरेको लेखा परीक्षणको वासलातमा उल्लिखित बिदेश निर्यात रकम, निर्यात गर्दाको प्रतीतपत्र, प्रज्ञापनपत्र, इन्भ्वाइस, एलो पेपर तथा बैंकको क्रेडिट नोट समेतका आधारबाट पुष्टि भएको छ । सो नाफा भएको रकम र उद्योगमा रहेको मौज्दात पूँजी, गलैंचाको बिक्री, कारखानाको सेड र तानहरू एवं अन्य मालसामान बिक्री समेतबाट विभिन्न मितिमा चेक र नगद समेतबाट जम्मा रु.३९,१७,४२६।प्राप्त भएको सप्रमाण जिकीर लिइएको छ । सम्बन्धित बैंकको स्टेटमेन्ट नझिकाइ आन्तरिक राजस्व क्षेत्र नं. १ ले दिएको विवरणका आधारमा रु.१७, ८६,४४२।६९ मात्र आय मानी उद्योगमा लगानी गर्न लिएको ऋण रु.३,५०,०००,लाई समेत आयमा नजोडी, घटाई बाँकी रु.१४,३६,४२२।लाई मात्र आय मानेको फैसला तथ्यमा आधारित छैन । छूट भएको रु.२४,८१,००३।३१ समेत बैध आयमा समावेश गरिपाऊँ 

 

आमा यशोदादेवी र काकी राजपतीदेवीको जग्गाको कृषि आम्दानीको सन्दर्भमा :

मिति २०३२।१२।६ मा मानो छुट्टिए पनि म र श्रीमती आशाले निजहरूको सोही सालदेखि नै स्याहार संभार रेखदेख पालनपोषण, तिर्थब्रत, पूजा एवं उपचार समेत गरेकोले अंशबण्डाबाट निजहरूले पाएको संयुक्त नाउँको ३१६० जग्गाको रु.३०,०००।प्रति विगाहा आम्दानी हुने हुँदा आधा रु.१५,००० प्रति विगाहाका दरले सम्बन्धित मोहीले १२ वर्षमा रु.६,८४,०००।मलाई बुझाएको कुरालाई मेरो साक्षी समेतले पुष्टि हुने गरी बकपत्र गरिदिएको अवस्थामा विशेष अदालतले बैध आयमा समावेश नगरेकाले समावेश गरिपाऊँ 

 

कृषि उत्पादन र सोको आम्दानीबाट आर्जित सम्पत्तिको सन्दर्भमा :

            २०४६।४।१९ मा पारीत बण्डापत्रबाट मैले ४१५१४ जग्गा पाई त्यसमध्येको सिर्सिया १ को ०१५ जग्गाको आँपको पूरै बगैंचा मेरो भागमा परेको छ । सोही पैतृक सम्पत्तिमध्ये बैरियाबिर्ता ७ को कि.नं. २१५,२१६,३५३ को ०० जग्गामा आँप बगैंचा रहेको पूर्जाबाट देखिएको छ । पैतृक सम्पत्ति, कृषि आय, तलवका साथै कमला कार्पेटको मुनाफाबाट खरीद गरेका जग्गाहरूबाट २०४६ देखि २०५८ सम्ममा खर्च कटाई रु.१७,३०,००० कृषि आय प्राप्त गरेकोमा विशेष अदालतले रु.६,८२,८३३। मात्र कायम गरेको गैरकानूनी छ । उक्त जग्गाहरू नारायणी सिँचाई कमाण्ड क्षेत्रभित्र पर्ने भई सिंचाई सुबिधा भएकाले वर्षे २ बाली तथा नगदे बाली समेत हुने र म जग्गाधनी आफैंले निरन्तर खेती लगाएको भनी लिएको जिकीरलाई मेरो साक्षीहरूको बकपत्र र सम्बन्धित गाउँ विकास समितिले प्रमाणित गरिदिएको अवस्थामा त्यसलाई मान्यता नदिएको हुँदा कृषि आयको पूरै रकम रु.१७,३०,००० कायम गरिपाऊँ । त्यस्तै सोही कृषिजन्य आय मध्येबाट रु.१२,५०० मा खरीद गरेको श्रीपुर ६ को कि.न.७४१ को जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समावेश नगरेकोले समावेश गरिपाऊँ 

प्र.रितेशका नामको श्रीपुर ६ को कि.नं. ८१४ र ८१७ को ०११० जग्गाघर कम्पाउण्डभित्र ०० मा रहेको पोखरीमा २०५१ सालदेखि २०५५ साल सम्म ५ वर्षको माछा पालन उल्लिखित जग्गामा रहेको आँप तथा लिचीको फल बिक्रीबाट एवं ब्यवसायिक रुपमा उत्पादित तरकारी बिक्रीबाट समेत रु.तीन लाख आय आर्जन भएको तथ्यलाई मेरा साक्षीहरूको बकपत्रले पुष्टि गरेको र सोलाई वादीले कुनै खण्डन एवं जिकीर नगरेको अवस्थामा हचुवाको भरमा माछा बिक्रीको रु.७५ हजार कायम गरेको फैसला त्रुटिपूर्ण हुंदा पुनरावेदन जिकीर समेतबमोजिम रु.३ लाख नै कायम गरी बैध सम्पत्तिमा समावेश गरिपाउ 

 

बगैंचाको फलफूल बिक्रीबाट प्राप्त आम्दानीको सन्दर्भ्रमा :

पर्सा, सिर्सिया कि. नं. ४२ को ०१५ जग्गामा रहेको आँप, लीची र कटहरको फल फुलेना पण्डितलाई घरसारमा लिखत गरी बिक्री गरेबाट २०४६ सालदेखि २०५७ सालसम्म रु.३,५०,०००।आएको छ । वैरियाबिर्ता ७ को कि.नं.२१५,२१६ र ३५३ को ०५ मा रहेको आँपको बगैंचाको फल यज्ञानन्द पुरीलाई घरसारको लिखतबाट बिक्री गरी ०४६ देखि ०५४ सम्म रु.१,६०,०००।समेत जम्मा रु.५,१०,०००।आय भएको कुरा स्वयं खरीदकर्ता तथा अन्य साक्षीले सो कुरालाई समर्थन गरी बकपत्र गरेकोबाट प्रमाणित हुँदाहुँदै सम्पूर्ण बाग बगैंचाको कृषि आय रु.८४,३३६।कायम गरेको न्यायोचित छैन । तसर्थ फलफूल विक्रीबाट प्राप्त रकम रु.५,१०,०००।लाई वैध स्रोतमा समावेश गरिपाऊँ 

बगैचाको रुखसहित काठ बिक्रीबाट प्राप्त आम्दानीको सन्दर्भमा :

श्रीपुर बैरिया बिर्ता र सिर्सियाको बगैचाको आँप लिची र सिसौका रुख बिक्रीबाट रु.७,५०,०००।प्राप्त गरेको भन्ने पुनरावेदकको जिकीरलाई खरीदकर्तासँग भएको बिक्रीनामाको कागज, स्वयं खरीदकर्ता तथा अन्य साक्षीको बकपत्र समेतले पुष्टि गरिरहेकोमा अन्यत्र जिल्लामा निकासी गरे जस्तो ठानी वन कार्यालयबाट छोडपूर्जी लिनुपर्ने भनी सो आयलाई मान्यता नदिई भएको फैसला अन्यायपूर्ण भई बदरभागी छ । उल्लिखित रुख बिक्रीबाट प्राप्त रु.७,५०,०००।लाई बैध आयस्रोत गणना गरिपाऊँ 

 

सगोल परिवारको २३ विगाहा पैतृक जग्गाको कृषि आयबाट आर्जित सम्पत्तिको सन्दर्भमा :

मिति २०३२।१२।६ मा लिखत खडा गरी मानो छुट्टिएपछि मेरो अंशको, आमाको अंशको र काकीको अंशको आयस्ता समेत २०३३ सालदेखि २०४५ सालसम्म १३ वर्षको आम्दानी रु.१९,४०,०००।आमाले दिनु भएको भनी पुनरावेदकले जिकीर लिएकोमा उक्त रकम पाएको यथार्थलाई गलत व्याख्या गरी उक्त अवधिको कृषि आय रु.३,०६,८४०।कायम गरेको फैसला न्याय र कानूनसंगत नहुँदा वास्तविक उत्पादन परिमाण र भूमीसुधार कार्यालय पर्साको न्यूनतम् कुतवालीको मूल्यका आधारमा पूरै रकम रु.१९,४०,०००।पुनरावेदकको आयस्रोत कायम गरिपाऊँ । त्यस्तै २०३३ देखि ४५ सम्मको अवधिमा पैतृक सम्पत्ति कृषि आयबाट प्राप्त उक्त रकममध्येबाट रु.१,०९,०००।मा तत्तत् मितिमा खरीद भएको पर्सा श्रीपुर ८ को कि.नं. ४९१, पर्सा श्रीर्सिया १ को कि.नं. ४१२ र ३१९ को जग्गालाई समेत बैध आयमा समावेश गरिपाऊँ 

 

बण्डापत्रबाट प्राप्त नगद रु.११ लाखको सन्दर्भमा :

            मिति २०४६।४।१९ मा बण्डापत्र पारीत हुनु ५ दिनअघि २०४६।४।१४ मा चल सम्पत्तिको घरसारमा बण्डा गर्दा नगद रु.११ लाख मेरो भागमा परेको घरायसी बण्डापत्रबाट स्पष्ट छ । सो तथ्यलाई अंशियारमध्येका रामचन्द्र चतुर्वेदी समेतका साक्षीले बकपत्रद्वारा पुष्टि गरिदिएका छन । चल सम्पत्ति बण्डा गर्दा लिखत पारीत गर्नुपर्ने वाध्यता नभएको र घरसारमै तिजोरीमा राखेको रकम बैंकमा नराखेको आधारमा विशेष अदालतले मान्यता नदिएको नमिलेको हुँदा उक्त रु.११ लाखलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

 

घर भाडा सम्बन्धमा :

प्र.आशाको नाउँको चावहिलको घर र रितेशको श्रीपुरको घर व्यक्ति र संस्थालाई भाडामा दिएबापत रु.१०,७४,३७०।प्राप्त भएकोमा विशेष अदालतले रु.७,२४,०८०।मात्र स्रोत खुलेको आय कायम गरी बहिनी फाउण्डेशन र उप्रेती केमिकल संस्था भएको हुँदा संस्थासँग घर भाडा लिँदादिँदा करार गरेको नदेखिएको भनी रु.३,५०,२५०।लाई मान्यता दिएको छैन । उक्त संस्थाहरूसँग करार गरेको तर ९ वर्षपछि उक्त कागजात फेला नपरेकोले कर कार्यालय र सम्बन्धित संस्था बुझिपाऊँ भनी जिकीर लिएकोमा बुझ्दै नबुझी उक्त रकमलाई घरभाडामा कायम नगरेको हुँदा उक्त रु.३,५०,२५०।लाई घरभाडाको बैध आयस्रोतमा समावेश गरिपाऊँ 

 

मामा अम्बिका तिवारीबाट सहयोगस्वरुप प्राप्त रकमको सन्दर्भमा :

भारत विहार बस्ने मामा अम्बिका तिवारीसँग म र मेरो श्रीमतीको विशेष आदरभाव रहेकाले सेवा गरेबापत २०४६ सालमा शपथपत्रमार्फत् भा.रु.९,००,०००। (ने.रु.१३ लाख) पाएकोमा २०४७ सालदेखि नै सो रकम २५ प्रतिशत ब्याजमा गाउँघरमा लगानी गरी बढेबढाएको रु.३१,०१,७५७।लाई मान्यता नदिएकोले मान्यता दिलाइ पाऊँ 

 

काकी राजपतीदेबीबाट प्राप्त रकमको सन्दर्भमा :

      मिति २०४९।४।१० को सर्तनामाको लिखतबाट काकी राजपतीको स्याहार सुसार, पालन पोषण, तिर्थ ब्रत गराउने शर्तमा मैले काकीबाट रु.१५ लाख घरसारमा प्राप्त गरी सो रकमलाई गाउँघरमा २५ प्रतिशतका दरले लगानी गरी बढेबढाएको समेत गरी रु.३५,१७,९६८।आर्जन गरेको कुरा उक्त लिखत र मेरो साक्षीहरूको बकपत्रबाट पुष्टि भएकोमा विशेष अदालतले आय नमानेकोले प्रतिवादीको आयमा समावेश गरिपाऊँ 

 

चन्द्रावतीदेबीबाट बच्चाहरूको उच्च शिक्षाको लागि सहयोगस्वरुप प्राप्त रकमको सन्दर्भमा :

मेरी सासू चन्द्रावतीदेबीबाट आफ्ना नाति नातिनीहरूको (पुनरावेदकको छोरा छोरी) उच्च शिक्षाको लागि पटकपटक गरी २०५६ मंसिरदेखि २०५७ भदौसम्म भा.रु.७,५०,०००।को ने.रु.१२ लाख आफ्नी छोरी प्र.आशालाई मिति २०००।८।७ को शपथपत्रमार्फत् दिएकोमा सो शपथपत्र पेश गरिएको र उक्त कुरा प्र.आशाका साक्षीले अदालतमा बकपत्र गरी पुष्टि गरिदिएको तथ्य र प्रमाणलाई वादीले ठोस खण्डन समेत गर्न नसकेको अवस्थामा उक्त रकमलाई पुनरावेदकको आयमा जोड्नु पर्नेमा नजोडी भएको फैसला प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उक्त रु.१२ लाखलाई स्रोत खुलेको बैध सम्पत्तिमा समावेश गरिपाऊँ 

अभयकुमार सर्राफबाट लिएको ऋणको सम्बन्धमा :

अभयकुमार सर्राफबाट मिति २०५७।११।१४ मा तमसुक गरी लिएको ऋण रु.११ लाख ५० हजार मध्ये १० लाखबाट नेपाल मेडिकल कलेज काठमाडौंको शेयर खरीद गरेको तथ्य २०५७।१२।१ को रसिदबाट देखिन्छ । त्यसलाई स्वयम् अभयकुमारको अदालतको बकपत्रले पुष्टि गरेको छ । यसरी सो ऋणमध्ये रु.१० लाखको नेपाल मेडिकल कलेजको शेयर खरीद गरेको तथ्यलाई विशेष अदालतले मान्यता नदिएको हुँदा ऋण लिएको जम्मा रकम रु.११ लाख ५० हजारलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

 

बैंक ब्याजबाट प्राप्त आयको सन्दर्भमा :

२०३३ सालदेखि २०५९ साल असोज मसान्तसम्मको अवधिमा म पुनरावेदक समेतको विभिन्न बैध आयस्रोत दाइजो (तिलक), तलबभत्ता, दानदक्षिणा, दाइजो पेवा, अंशबण्डाबाट प्राप्त नगद, कृषिजन्य आय, घर भाडा, जग्गा भाडा, कमला कार्पेटबाट प्राप्त रकम, फलफूल बिक्री, बगैँचाको रुख बिक्री, माछा पालन, जग्गा बिक्री, सासू चन्द्रावतीबाट बच्चाको उच्च शिक्षाको लागि प्राप्त रकम, रितेशले वेङ्गलोरमा नोकरी गरी प्राप्त गरेको रकम आदिबाट आएको बैध आयस्रोतलाई म पुनरावेदक, श्रीमती आशा र छोराछारीको नाममा विभिन्न बैंकमा रहेको बचत तथा मुद्दती खातामा गरेको लगानी समेतबाट प्राप्त कुल ब्याज रु.४५,६९,७९३।मध्ये रु.२६,५२,६८१।०७ रकम ब्याजबापत प्राप्त गरेको बिभिन्न बैंकहरूको स्टेटमेन्टले नै पुष्टि गरेको छ । २०३३ देखि २०४७ सम्म बिभिन्न आयस्रोतबाट बढेबढाएको आम्दानीलाई बैंकमा लगानी गरी रु.१९,१७,११२।ब्याज प्राप्त भएको प्रष्ट छ । निकै पुरानो अवधिको भएकाले बैंक स्टेटमेन्ट उपलब्ध हुन नसकेकोले मिसिल सामेल नगद प्रवाह विवरण अनुसूची १८ लाई प्रमाण लगाई पाऊँ 

प्रतिवादी आशा चतुर्वेदीको टिकाटालो दान दक्षिणाको सन्दर्भमा :

पुनरावेदककी पत्नी प्र.आशा चतुर्वेदीले माइतीतर्फबाट बाल्यकालदेखि पाएको स्त्री धन, दान दक्षिणा, बक्सिस समेत भा.रु.१,१५,०००।को हुने रु.१,५९,८५०।र हाम्रो विवाहपश्चात् माइतीतर्फका आफन्त र पतिघरतर्फका नातेदारहरूबाट पाएको बक्सिस रु.४३,०००।समेत जम्मा रु.२,०२,८५०।लाई २०३३ सालदेखि नै २५ प्रतिशत ब्याजदरमा गाउँघरमा लगानी गरी बढेबढाएको र सालबसाली पाएको दान दक्षिणा रकम समेत गरी रु.२२,१९,१५६।निज आशा चतुर्वेदीको बैध निजी आम्दानी भएकोमा विशेष अदालतले मान्यता नदिई बिना आधार दान दक्षिणा रकम रु.१,५०,००० हुन सक्ने अनुमान गरेको छ । २०३२ सालमा विवाहको बेलामा दाइजोमा पाएको र २०५२ सालमा माता यशोदादेवीले दिनुभएको गरगहनालाई हालको मूल्याङ्कन गरी हुन आएको रु.३,२३,८५९।३१ लाई उक्त दान दक्षिणाबाट खरीद गरेको भनी फैसला गरेको मिलेको छैन । यसबाट अमान्य गरिएको रु.२०,६९,१५६।लाई समेत बैध आयस्रोतमा समावेश गरिपाऊँ 

जग्गा विक्रीबाट प्राप्त आयको सन्दर्भमाः

प्र.आशा चतुर्वेदीले नेपालगञ्ज ८ को कि.नं. ३३७, ३३९, श्रीपुर ८ को कि.नं.४९१, ५१४ र ५१५ का जग्गा बिक्री गरी रु.३,२८,५००।प्राप्त गरेकोमा विशेष अदालतले नेपालगञ्जको जग्गा बिक्री गरेको तथ्यलाई मात्र मान्यता दिई श्रीपुरको जग्गा २०४१ सालभन्दापछि खरीद गरेको हुँदा स्रोत नै पुष्टि नभएको भनी रु.१,४२,५००।लाई बैध आयमा लिएको छैन । विवाहमा आएको दाइजो रकममध्ये बाँकी रहेको रु.१,७३,७५०।बाट नेपालगञ्ज, चावहिल, भैरहवाको जग्गा खरीद भएको र बाँकी दाइजो पेवाको रकममध्येबाट श्रीपुर ८ को कि.नं.५१४,५१५ तथा बैध कृषि आयमध्येबाट ४९१, को जग्गा खरीद गरेको हो । ती जग्गाको राजीनामा लिखतमा नै जग्गा खरीदको स्रोत दाइजो पेवा भएको स्पष्ट उल्लेख भएको छ । बैध स्रोत प्रयोग भइ खरीद भएका उक्त जग्गाहरूको बिक्रीबाट प्राप्त रकम रु.१,४२,५०० र नेपालगञ्जको जग्गा बिक्रीबाट प्राप्त रु.१,८६,००० मध्ये रु.१,६८,००० मात्र लिएबाट छूट हुन गएको रु.१८,०००। समेत रु.१,६०,५०० लाई बैध आयस्रोतमा समावेश गरिपाऊँ 

प्र. अदिती चतुर्वेदीको टिकाटालो, दान दक्षिणाको सन्दर्भमा :

प्र अदिती चतुर्वेदीले एभरेष्ट बैंक न्यूरोड शाखामा रहेको ब्यालेन्स रु.१०,२३,०२३।वाल्यकालदेखि नै परिवारका मान्यजनहरूबाट दानदक्षिणा समेतबाट पाएको र सोबाट बढेबढाएको रकम जम्मा गरेको हो भनी बयान गरेकी छन् । मिसिल संलग्न बैंक स्टेटमेन्टअनुसार रकम झिक्ने र राख्ने शैली स्वाभाविक रहेकोमा साँवा रु.१० लाखलाई मान्यता नदिई सो रकमबाट प्राप्त ब्याज रु.२३,०३०।४८ लाई मात्र बिना आधार मान्यता दिएको हुँदा साँवा ब्याज समेतको जम्मा रु.१०,२३,०३०।४८ लाई नै स्रोत खुलेको बैध सम्पत्तिमा समावेश गरिपाऊँ 

बकसपत्रबाट प्राप्त सम्पत्तिको सन्दर्भमा :

स्वयम् वादी पक्षंले नै मिति २०६०।६।७ मा भूमिसुधार तथा व्यवस्था विभागलाई पत्र लेखी सोधनी गरेकोमा उक्त विभागले मिति २०६०।६।९ मा ‘‘कारोवारको दृष्टिमा राजीनामाबाट पारीत भएको लिखतबाट प्राप्त सम्पत्ति कानूनतः खरीद गरेको र बकसद्वारा प्राप्त सम्पत्ति कानूनतः रिझाएबापत बकसस्वरुप प्राप्त हुनेभनी आधिकारिक रुपमा पत्र लेखी स्पष्ट गरेको छ । म पुनरावेदक, मेरी श्रीमती तथा छोरा छोरी समेतले सम्बन्धित दातालाई रिझगुण गरेबापत प्राप्त गरेको बकसपत्रको सम्पत्ति अंशबण्डाको १८ नं ले समेत प्राप्त गर्नेको निजी आर्जनको वैध सम्पत्ति हुने प्रष्ट छ । बकसपत्रबाट प्राप्त उक्त सम्पत्तिलाई म पुनरावेदककै अवैध सम्पत्ति हो भनी अंशबण्डाको १८ नं., दान बकसको १ नं., स्त्री अंशधनको १ र ५ नं. समेतको विपरीत उक्त सम्पत्तिलाई खरीदविक्री भन्ने संज्ञा दिई विशेष अदालतले गरेको फैसला नेकाप २०५९, अङ्क ५, ६ पृष्ठ २५४ समेतमा प्रतिपादित नाजिरहरू समेतको प्रतिकूल हुँदा बदरभागी छ । त्यस्तै रितेशले रिझगुणबापत प्रशान्त समशेरबाट पर्सा, श्रीपुर ६ को कि.नं. ८१४ र ८१७ को ०११० विगाहा घरजग्गा बकस पाएको भनी लिखत नै प्रमाणको रुपमा पेश गर्दा पनि खरीदको संज्ञा दिइएको छ । निजले आफ्नो व्यक्तिगत हैसियतबाट अंशबण्डाको १८ नं. बमोजिम आर्जित गरेको सम्पत्तिलाई खरीद गरेको भनी वैध स्रोतबाट रु.८,०६,९३४।घटाइएको समेत त्रुटिपूर्ण छ 

 

प्र.आशा चतुर्वेदीका नाउँको चावहिलको घरको मूल्याङ्कन सन्दर्भमा :

काठमाडौं, चावहिल ७ को श्रीमती आशाको नामको जग्गामा २०४१।४२ सालमा घर बनाउँदा रु.५,५०,०००।लागेको र २०५७ सालमा मर्मत गर्दा रु.४ लाख लागेकोमा दुवै जोडी रु.९,५०,०००।कायम गरेको विशेष अदालतको फैसला मिलेको छैन । किनभने १६ वर्षपछि मर्मत सुधार गर्नुपर्ने स्वाभाविकता देखिएको हुँदा मर्मत सुधारको खर्च समेत लागत मूल्यमा समावेश गर्न मिल्दैन 

 

प्र. अभिषेकका नामको भारतीय बैंकमा रहेको खाताका सन्दर्भमा :

AIIMs NEW DELHI मा M.B.B.S. मा अध्ययनरत छोरा अभिषेकको नामको खाता नं.०११९०/०४५८९५ मा रहेको रकम क्रमशः खर्च हुँदै २२ नोभेम्वर २००२ मा खाता बन्द भै मौज्दात शून्य रहेको छ । प्र. अभिषेककै बयानबाट मिति २०५४।७।५ देखि २०५९।८।६ सम्म विभिन्न मितिमा भा.रु.२८,०५,९३४।१९ ड्राफ्ट र नगदमार्फत् अध्ययन, निर्वाह र उपचारका लागि पठाएको भन्ने देखिन्छ । सो रकमको स्रोतका हकमा मामा अम्बिका तिवारीबाट २०४७ सालमा प्राप्त भा.रु.९ लाखलाई गाँउघरमा लगानी गरी बढेबढाएको रकममध्येबाट रु.३१ लाख र अन्य आयबाट बाँकी १ लाख समेत ३२ लाखको हुने भा.रु.२० लाख एस.बि.आई.बैंक काठमाडौंबाट ड्राफ्ट मार्फत् पठाएको र बाँकी भा.रु.८,०५,९३४।१२ विभिन्न मितिमा विभिन्न बैधानिक स्रोतबाट आएको रकम ड्राफ्ट र नगद गरी पठाइएको थियो । सोही रकममध्येको भा.रु.२० लाखबाट भा.रु.५ लाख दरका चारवटा मुद्दती खातामा राखिएको र सोबाट ब्याजबापत प्राप्त भा.रु.१२,८३,९१७।८१ समेत जोड्दा जम्मा भा.रु.४०,८९,८५२।भएको हो । मूलधन भा.रु.२८,०५,९३४।१९ भित्रै छोरा अभिषेक र छोरी अदितीको पढाई खर्च परिसकेकोमा आयोगले अदितीको पढाई खर्च भा.रु.४,३९,०००।र अभिषेकको पढाई खर्च भा.रु.१,८०,०००।समेत जम्मा भा.रु.६,१९,०००।को दावी त्रुटिपूर्ण ढंगबाट दोहोरो रुपमा गरेको स्पष्ट छ । विशेष अदालतले पनि भा.रु.६,१९,०००।को हुने रु.९,९०,४००।गाभी छोरा छोरीको पढाई खर्च शीर्षकमा रु.२६,९४,२४०।कायम गरेको छ । रितेशको पारिश्रमिकको भा.रु.१ लाख, आशाको नाउँको हिमालयन बैंक वीरगञ्जमा नगद राखिएकोमा भारतमा पाएको पारिश्रमिक भारतकै बैंकमा राखिएको भनी फैसला गर्न मिल्ने होइन । नेपालको कानूनबमोजिम एस. वि.आई. बैंकमार्फत् ड्राफ्टबाट पठाएको रकम खर्च भै खातामा मौज्दात नील भैसकेपछि पनि अस्तित्वमा नभएको विगोलाई दावी लिएको स्वतः गैरकानूनी छ । आरोप पत्रको तालिका नं. ४ मा बैंकमा रहेको ब्यालेन्सलाई मात्र विगो दावी गरी कारोवारको रकमलाई दावी गरिएको छैन भने तालिका ५ मा भारतको बैंकमा राखेको रकमलाई पनि कारोवारको रकममा दावी गरिएकोमा विशेष अदालतले त्यही दोहोरो मापदण्डलार्ई अंगीकार गरी अस्तित्वमा नरहेको रकमलाई लुकाई छिपाई राखेको भनी जरीवाना एवं ब्याज समेतको विगो भराउने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ 

 

प्र.आशा र अभिषेकका नामको यू.वि.आई. मा रहेको खाताको सन्दर्भमा :

United Bank of India मा प्र. आशा र प्र. अभिषेकका नामको खाताहरूमा जम्मा भएको भा.रु.२९,६३,५०० को हुने ने.रु.४७,४१,६००।का बारेमा मलाई कुनै जानकारी नै छैन । सासू चन्द्रावतीदेबीले शपथपत्रमार्फत् २००२।४।६ मा रु.३० लाख भा.रु.छोरी आशालाई दिएको कुरा स्वीकार भएको छ । उक्त रकम नै बैंकमा राखेको र पछि सो सम्पूर्ण रकम पिताको औषधि उपचार समेतको लागि आमाको इच्छाअनुसार दिई हाल मौज्दात नै नरहेको प्रतिवादीहरूको अदालतको बयान र साक्षीहरूको बकपत्र समेतबाट पुष्टि भैरहेकोमा पनि विशेष अदालतले अस्तित्वमा नरहेको रु.४७,४१,६००।को थप विगो भराउने र जरीवाना गर्ने समेत गरेको फैसला गैरकानूनी एवं अन्यायपूर्ण हुँदा बदर गरिपाऊँ 

 

लकरबाट बरामद गर गहनाको सन्दर्भमा :

विवाहको बेला दाइजोमा तिलक पाएको भा.रु.२,२५,०००।मध्ये खर्च भई बाँकी भा.रु.१,२५,०००।को हुने रु.१,७३,७५०।लाई विशेष अदालतले स्रोत खुलेको सम्पत्तिमा समावेश गरेको छ । तर सोही लिखतमा उल्लिखित विवाहमा पाएको गरगहनालाई मान्यता दिएको छैन । सम्पत्ति जाँचबुझ आयोगमा मैले २०५९।१।२६ मा पेस गरेको सम्पत्ति विवरणमा विवाहमा भा.रु.२,२५,०००।–, सुन ३७ तोला, चाँदी ३५ तोला र ५२ सालमा आमाले दिनुभएको १७ तोला सुन समेत उल्लेख गरेको हुँदा उक्त गरगहनाहरू मेरो कुनैपनि आयबाट खरीद गरेको नहुँदा अनुमानको आधारमा टिकाटालोको रकम रु.१,५०,००० बाट खरीद गरिएको हो भनी विशेष अदालतबाट भएको फैसला विद्यमान सबूद प्रमाणको रोहमा बदरभागी छ 

 

बैंक खातातर्फ :

मेरो एस.बि.आई. बैंक दरवारमार्गमा रहेको बचत खातामा कृषि आय, तलवभत्ता आदिको रकमबाट रु.१,१०,००० र भारतीय जीवन बीमाबाट प्राप्त भा.रु.२० हजारको हुने रु.३२,०००।समेत जम्मा भएकोमा तलबभत्ता, कृषि आय, बीमाको स्रोतलाई अदालतले मान्यता दिएपनि सोही बैध स्रोतको रकममध्येको रु.५७,६६१।६५ लाई बैधता नदिएको फैसला त्रुटिपूर्ण छ । त्यस्तै पुनरावेदकको नामको नेपाल बैंक लि. धर्मपथको बचत खाता नं ६५८१८ मा कमला कार्पेटको मुनाफा, कृषि आय, घरजग्गा भाडा, गाउँ घरमा लगानी गरेको रकमबाट प्राप्त भएको ब्याज, बैंकको ब्याज र अन्य बैंकहरूबाट झिकिएको रकम समेत जम्मा भएको भनी बयान गरेकोमा उल्लिखित स्रोतलाई विशेष अदालतले मान्यता दिए पनि सोही स्रोतबाट जम्मा भएको रकममध्येको ब्यालेन्स रु.३२,१२७।३४ लाई बैधता नदिएको हुँदा एस.बि.आई. बैंकको मौज्दात समेत जम्मा रु.८९,७८८।९९ ब्यालेन्स रकमलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

प्र.आशा चतुर्वेदीका नामको ने.बै.लि. धर्मपथको खातामा कृषि आय, कमला कार्पेटको मुनाफा, अंशबण्डा हुँदा पाएको रकम, गाउँघरमा लगानी गरेको रकमबाट प्राप्त रकम, घरभाडा, रुख, माछा, फलफूल बिक्री आदिबाट प्राप्त रकम जम्मा गरेकोमा ब्यालेन्स रहेको रकम रु.६८,०७६।४० मध्ये रु.३९,२४१।२६ लाई मात्र मान्यता दिएको फैसला त्रुटिपूर्ण छ । आशाकै नामको हिमालयन बैंक वीरगञ्जमा अन्य बैंकबाट झिकिएको रु.३५,०००। मध्येबाट खाता खोलिएको हो । सेन्टजेभियर्स स्कूलले पटकपटक दिएको भाडा समेतको रकम सोही खातामा जम्मा भई रु.७४,९६१।३६ भएको भन्ने बैंक स्टेटमेण्ट समेतबाट प्रमाणित छ । त्यस्तो वैधानिक स्रोतबाट जम्मा भएको रकमबाट ब्यालेन्स रहेको ७४,१०८।२४ लाई अवैध मानिएको फैसला त्रुटिपूर्ण छ 

प्र अभिषेक चतुर्वेदीका नामको कृषि विकास बैंक चावहिलको खातामा कमला कार्पेटको मुनाफा, हजुरआमा चन्द्रावतीले उच्च शिक्षाको लागि दिएको रकमबाट जम्मा भएको रकममध्ये ब्यालेन्स रु.५०,१०८।२४ लाई प्रस्तुत प्रमाणका विपरीत अदालतले अवैध मानेको छ । तर कमला कार्पेटको मुनाफा समेतको स्रोतलाई स्वीकार गरी सोही स्रोतबाट प्राप्त उक्त रकमलाई मान्यता नदिएको हुँदा उक्त रु.५०,१०८।२४ लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

शेयर तथा जग्गा खरीदको सन्दर्भमा :

प्रतिवादी अभिषेक चतुर्वेदीका नाउँको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको शेयर रु.३० लाख मा खरीद भएको हो । त्यसको स्रोत आशा चतुर्वेदीका नामको हिमालयन बैंक वीरगञ्जको खातामा रहेको रु.६८,५०,०००।मध्येको हो । बैध स्रोतबाट खरीद गरेको ओम अस्पिटलको ३० लाखको शेयर र कि.नं. २१३, ४४२, ४४६ र ६२८ का जग्गाहरूलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ । मेरा नाउँको नेपाल मेडिकल कलेजको रु.३० लाखको शेयर खरीदको स्रोतमा तलवभत्ता, कृषि आय, घरभाडा, जग्गा भाडा, माछा पालन, आँपको रुख बिक्री, विभिन्न बैंकबाट झिकिएको रकम र अभयकुमार सर्राफबाट लिएको ऋणमध्येबाट खरीद गरेकोमा ३ लाख बराबरको ३ हजार शेयरलाई बिना आधार बैध मानी सोही स्रोतबाट खरीद भएको बाँकी शेयर अवैध ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा ३० लाख बराबरको ३० हजार शेयरलाई नै स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

त्यस्तै मेरा नामको शिखर पेन्ट्सको रु.५ लाखको सम्पूर्ण शेयरलाई विशेष अदालतले बैध मानी स्रोत खुलेको सम्पत्तिमा गणना गरेकोबाट बयानमा उल्लिखित उक्त शेयर खरीदको स्रोतले समेत बैधता पाएको स्पष्ट छ । बयानमा उक्त शेयरको स्रोतमा आशादेबीको कृषि विकास बैंक न्यूरोडको १०२९२२ नं.को खाताको रकम, श्रीपुरको घरजग्गा, कि.नं. ८१४ र ८१७ मा रहेका रुख बिक्रीबाट आएको स्रोत समेत बैध रहेको पुष्टि स्वयं अदालतले गरेर पनि सोही खाताको रकम र श्रीपुरको घरजग्गा र रुख बिक्रीको आयलाई मान्यता नदिएको फैसला त्रुटिपूर्ण एवं बिरोधाभासपूर्ण छ 

 

छोराछोरीको पढाई खर्चको सन्दर्भमा :

प्र.अभिषेक र प्र. अदितीको अध्ययन खर्च क्रमश २,८८,०००।र रु.७,०२,४००।गरी जम्मा रु.९,९०,४००।–, छोरा प्र.अभिषेकको नामको एस.वि.आइ.बैंक दिल्लीमा रहेको खाताको भा.रु.२८,०५,९३४।१९ रकमभित्रबाट नै ब्यहोरिएकोले आरोप पत्रको तालिका नं. १० मा उल्लिखित अभिषेक र अदितीको पढाई खर्चसमेत रु.९,९०,४००।दोहोरो पारी दावी गरेको स्पष्ट हुँदा दोहोरोरुपमा दावी लिएको रु.९,९०,४००।कुल अध्ययन खर्चको रु.२६,१०,९५०।०८ बाट घटाई हुने रु.१६,२०,५५०।०८ मात्र छोराछोरीको पढाइमा खर्चको रुपमा लिनुपर्ने निर्विवाद छ 

 

जग्गा भाडाको आयको सन्दर्भमा :

पुनरावेदकले बैध स्रोतबाट खरीद गरेका र बकस पाएका जग्गाहरू समेत भाडामा दिई मिसिल सामेल अनुसूची ४ बमोजिम रु.७,२९,६००।बहाल प्राप्त गरेकोमा नेपालगञ्जको कि.नं. ३३७ र ३३९ र भैरहवाको कि.नं. १६३६ को भाडामा दिएको जग्गालाई विशेष अदालतले बैध माने तापनि भाडामा दिएको सम्झौताहरूलाई मान्यता नदिई सो जग्गाहरूको क्रमश रु.८,६९४।र रु.१८,९४८।६० कृषि आयस्तासम्म कायम गरेको छ । करार ऐनअन्तर्गत भएको लिखतलाई मान्यता नदिई जग्गाभाडा कायम नगरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त जग्गाको पूरै भाडा रु.७,२९,६००।लाई बैध आयस्रोतमा गणना गरिपाऊँ 

 

CDIS सम्बन्धमा :

आर्थिक ऐन, २०५८ को दफा ४२ (१) (२) (३) बमोजिम प्रत्येक नागरिकलाई आफ्नो करयोग्य सम्पत्तिको मूल्याङ्कन एवं स्वयं कर घोषणा (VDIS) गरी सोको १० प्रतिशतले हुने रकम कर तिरेमा त्यस्तो घोषित सम्पत्तिको स्रोत कुनैपनि प्रयोजनका लागि छानबीन गरिने छैन भनी दिएको कबूलबमोजिम प्र. आशा चतुर्वेदीले कमला कार्पेट समेतबाट आर्जित सम्पत्तिलाई घोषणा गरी रु.१२ लाख कर तिरेको (रसिद मिसिल संलग्न छ) बाट जम्मा सम्पत्ति मध्ये रु.१ करोड २० लाखको सम्पत्तिको स्रोत खोज्न उक्त दफा ४२(३) को कानूनी व्यवस्थाले निषेध गरेकोमा वादी तथा शुरु अदालतले यसलाई मान्यता नदिई गरेको फैसला सरासर गैरकानूनी भई बदरभागी हुँदा कुल सम्पत्तिमध्ये रु.१ करोड २० लाख बाहेक गरी बाँकी सम्पत्तिको हकमा मात्र प्रस्तुत जिकीर तथा प्रमाण बमोजिम मूल्याङ्कन गरिपाऊँ 

 

अन्य विविध जिकीरका सन्दर्भमा :

विशेष अदालतले आफैँले बैध मानेका आयस्रोतहरू दाइजो (तिलक), तलबभत्ता, कृषि, कमला कार्पेट, घरभाडा आदिबाट प्राप्त आर्जनमध्येबाट निश्चित मितिमा निश्चित् स्रोतबाट खरीद भएको अचल सम्पत्तिलाई मान्यता नदिई मिति २०५३।४।१ भन्दा पछिबाट खर्च भएका नेपाल मेडिकल कलेजको रु.३ लाखको शेयर, छोराछोरीको पढाई खर्च रु.२६,९४,२४०।–, शिखर पेन्ट्सको रु.५ लाखको शेयर, रु.३,४५,०००।को सेकेन्ड हेण्ड मारुती कार, घरबाट बरामद भएको रु.१,१३,००० लकरबाट बरामद सुनका गहना, (२०३२ सालमा विवाहमा पाएको र आमाले दिएको) हालको मूल्य ३,२३,८५९।२१ समेत गरी जम्मा रु.४२,७६,०९९।२१ सम्पत्तिलाई तजविजी तथा मनोगत एवं आधारहिन तरिकाबाट बैध मान्यता दिएको छ । २०३२ देखि ०५९ सालसम्म वैध आयबाट प्राप्त चल सम्पत्तिबाट सोही अवधिमा जोड्दै आएको अचल सम्पत्तिलाई मान्यता नदिई अमुक चल सम्पत्ति वैध र अमुक अचल सम्पत्ति अवैध भनी भएको फैसला बदर गरिपाऊँ 

२०३२ सालदेखिको वैध आय २०५९ सालसम्म २०३२ सालकै मूल्यमा रहिरहने नहुँदा अचल सम्पत्तिमा लगानी भएको बाहेकको अन्य चल सम्पत्ति गाउँघर तथा विभिन्न बैंकहरूमा लगानी गरी बढेबढाएको ब्याजलाई मान्यता दिएको छैन । के कुन सम्पत्ति स्रोत खुलेको र के कुन सम्पत्ति स्रोत नखुलेको भनी स्पष्ट रुपमा दावी नलिएकोमा अदालत आफैले वादीको स्थान ग्रहण गरी गरेको फैसला नेकाप २०४२, पृष्ठ ४१८, नि.नं. २३५० मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल छ । यसरी शंकाकै भरमा हचुवा मूल्याङ्कनका आधारमा अवैध सम्पत्ति कायम गरी कसूरदार ठहर्‍याएको फैसला कानूनी र न्यायिक सिद्धान्तको ठाडै प्रतिकूल भै बदरभागी छ 

अतः माथि लिइएको जिकीर र विवेचनाबमोजिम म प्रतिवादी समेतलाई विभिन्न स्रोतहरूबाट २०३२ साल मंसिरदेखि २०५९ कात्तिकसम्म जम्मा रु.३,३७,५८,१७७।८३ आय प्राप्त भएको र सम्पत्तिको स्रोत तथा सम्पत्तिको योगफलबीच स्पष्ट रुपमा तादम्यता रही आफूसँग रहेको सम्पत्तिको योगफलभन्दा आय बढी (सरप्लस) भएको कुरा संलग्न कागजातको आधारमा पुष्टि भैरहेको हुँदा न्यायिक मूल्याङ्कन गरी शुरु फैसला बदर गरिपाऊँ 

साथै स्रोत खुलेको र नखुलेको सम्पत्ति यकीन छुट्याउने निश्चित आधार, कानूनी वा न्यायिक मापदण्ड नभएको तथ्य स्वीकार गर्दै हचुवाको भरमा शुरु अदालतले मेरो र मेरा परिवारका सदस्य समेतको बयान, साक्षीहरूको बकपत्र र प्रमाणको रुपमा पेश गरिएका लिखत प्रमाणहरू तथा बिभिन्न बैध स्रोतबाट खरीद गरिएका चल अचल सम्पत्तिको तथ्यगत सबूद प्रमाणको मूल्याङ्कन नगरी केवल अनुमानको भरमा केही चल अचल सम्पत्तिलाई बैध ठहर गरी बाँकी बिभिन्न किसिमको चल अचल सम्पत्तिलाई अबैध गरिएकोले म पुनरावेदक समेतमाथि साह्रै अन्याय परेको कारण आफ्नो विविध बैध स्रोतबाट आर्जन गरेको सम्पत्ति विवरण माथि बिचार गरी बैयक्तिक सम्पत्तिको आय, आयस्रोत तथा कुल सम्पत्तिको हिसाव निर्धारणको मान्य एवं न्यायोचित् मापदण्ड कायम गरी म पुनरावेदक एवं मेरा परिवारका सदस्यका नामको सम्पूर्ण चलअचल सम्पत्ति बैध ठहर्‍याई गैरकानूनी आरोपबाट पूर्ण सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामाज्ञा चतुर्वेदीको पुनरावेदन पत्र 

 

प्रतिवादी अभिषेक चतुर्वेदीको पुनरावेदन जिकीर :

मिति २०५९।३।५ देखि लागू भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कानूनी व्यवस्था सो मितिअघि म समेतको निजी आर्जनको सम्पत्तिको हकमा अतित प्रभावी कानूनको रुपमा आकृष्ट हुन सक्दैन । सम्बन्धित दाताहरूलाई रिजगुण गरेबापत दान बकसको कानूनबमोजिम मेरो निजी हकको सम्पत्तिको रुपमा काठमाडौं धापासी ८ (क) कि.न. ८७०, ८७५,८७३, ८६७, र चितवन, भरतपुर न.पा. वडा नं. ६ को कि.नं. ३६९ को जग्गा बकसपत्रबाट प्राप्त गरेकोमा बकसपत्रलाई खरीद बिक्रीको संज्ञा दिन मिल्दैन । प्रचलित नेपाल कानूनबमोजिम पाएको बकसलाई खरीदको भन्ने कुनै प्रमाण पेश हुन सकेको छैन । बकस पाएको सम्पत्तिलाई खरीदको भनी अनुमान गर्न कुन कानूनले मिल्ने हो विशेष अदालतको फैसलामा समेत नखुलाएको हुँदा उक्त फैसला बदरभागी छ । मैले बकस पाएको भरतपुरको कि.नं.३६९ को जग्गामा ब्यापारिक प्रयोजन तथा व्यावसायिक तरकारी खेती समेत गर्न भाडामा दिएको र करारअनुसार प्राप्त रु.४३,२०० लाई मान्यता नदिएकोले उक्त रकम पूरै पुनरावेदकको आयमा गणना गरिपाऊँ 

मेरो नामको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको ३० लाखको शेयरको स्रोतको सम्बन्धमा आमा आशा चतुर्वेदीका नामको हिमालयन बैंक वीरगञ्जको खातामा रहेको रकम रु.६८,५०,००० मध्येबाट खरीद गरेको हो । सोको यथार्थ स्रोत सम्बन्धित बैंकको स्टेटमेन्ट समेतबाट पुष्टि भैरहेकोले उक्त रु.३० लाखको शेयरलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

कृषि विकास बैंक चावहिलको मेरो नामको खातामा रहेको रकम आमा आशाले कमला कार्पेटको मुनाफामध्येबाट दिएको र हजुरआमा चन्द्रावतीले हामीहरूको उच्च शिक्षाको लागि दिनुभएको रकम समेत जम्मा भई ब्यालेन्स रहेको रकम भएकोले उक्त रु.५०,१०८।२४ लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ 

मेरा नाउँको एस.बि.आई. बैंक नयाँदिल्लीको खाताको रकम विभिन्न मितिमा पिता रामाज्ञाले ड्राफ्ट तथा नगद समेत गरी भा.रु.२८,०५,९३४।१९ पठाई दिनु भै जम्मा भएकोमा सोमध्ये २० लाख बाट भा.रु.५ लाखका दरले ४ वटा मुद्दती खाता खोलिएको र त्यसबाट प्राप्त ब्याज भा.रु.१२,८३,९१७।८१ समेत जोड्दा जम्मा भा.रु.४०,८९,८५२ मात्र पिताबाट पाएको पुष्टि हुन्छ । उक्त रकम खर्च भै मौज्दात शून्य भै खाता समेत बन्द भैसकेको छ । बन्द भैसकेको खाताको मौज्दात शून्य रही विगो नै अस्तित्वमा नरहेको स्थितिमा खाताको रकम लुकाई छिपाई राखेको भनी कारोवारलाई आधार लिई जरीवाना एवं ब्याज समेतको विगो भराउने गरी गरिएको फैसला त्रुटिपूर्ण छ 

त्यस्तै मेरा नामको यू.वि.आइ. बैंकमा रहेको भा.रु.१४,६२,५००। को हुने रु.२३,४०,०००। का बारेमा मूल प्रतिवादी रामाज्ञालाई कुनै जानकारी छैन । उक्त रकम निजले नपठाएको र वादी स्वयंले पनि उक्त रकम नेपालबाट गएको भन्न सकेको छैन । उक्त रकम भारतकै मेरी हजुरआमा चन्द्रावतीले शपथपत्रमार्फत् भा.रु.३० लाख माता आशालाई दिएकोमध्येबाट मलाई राख्न दिनुभएको हो । पछि सो रकम हजुरबुवाको उपचार समेतका लागि पटकपटक झिकी खर्च भै खाता बन्द भैसकेको छ । मैले गरेको बयान र अन्य सबूदप्रमाण समेतबाट सो कुरा प्रमाणित भैरहेको अवस्थामा विशेष अदालतले आधारहिन ढंगबाट अस्तित्वमानै नरहेको कथित भा.रु.१४,६२,५००। को हुने रु.२३,४०,०००। को थप बिगो भराउने र जरीवाना समेत गरेको फैसला गैरकानूनी तथा अन्यायपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अभिषेक चतुर्वेदीको पुनरावेदन पत्र 

 

प्रतिवादी अदिती चतुर्वेदीको पुनरावेदन जिकीर :

विशेष अदालतले सार्वजनिक पद धारण गर्ने मुख्य प्रतिवादीका हकमा आकृष्ट हुने ‘‘आर्जन भएको सम्पत्तिको वैध स्रोत प्रमाणित गर्न नसके अवैध आर्जन अनुमान गर्नेप्रमाणको भारको सिद्धान्त निजका परिवारका सदस्यहरू म समेतउपर समान रुपमा अवलम्वन गरेको फैसला त्रुटिपूर्ण छ । म समेतका प्रतिवादीको हकभोग तथा नाउँमा रहेका अंशबण्डाको १८ नं. बमोजिम निजी सम्पत्तिको वैधता कानूनले स्वतः अनुमान गर्ने भएकोले ती सम्पत्ति मुख्य प्रतिवादीको आर्जनको भनी अकाट्य रुपमा वादीले पुष्टि गर्नुपर्नेमा नगरेको अवस्थामा पनि अवैध अनुमान गरी गरेको फैसला अंशबण्डाको १८ नं., स्त्री अंशधनको १।५, दान बकसको १ नं. समेतको सम्पत्तिसम्बन्धी नेपाल कानून, स्थापित परम्परा, सिद्धान्त एवं मान्यता समेतको विपरीत छ । त्यस्तै मिति २०५९।३।५ देखि लागू भएको भ्रष्टाचार निवारण ऐन, २०५९ सोभन्दाअघिको म समेतको निजी आर्जनको सम्पत्तिको हकमा अतीतप्रभावी कानूनको रुपमा आकृष्ट हुन सक्दैन 

मैले पर्सा, नौतवना ६(क) कि. नं. १६१ को जग्गा सम्बन्धित दातालाई रिझगुण गरेबापत बकसपत्र सम्बन्धी कानूनी व्यवस्थाबमोजिम मेरो निजी हकको रुपमा प्राप्त गरेकोमा विशेष अदालतले राजीनामा सरहको खरीदबिक्री मानेको मिलेको छैन । दातालाई रिझगुण गरेबापत पाएको बकसपत्रको जग्गालाई बिना आधार प्रमाण खरीदको भन्न कुन कानूनले मिल्ने हो फैसलामा उल्लेख गरिएको छैन । साथै फौजदारी कसूरमा अदालतलाई प्रमाण र सजायको कानून सिर्जना गर्ने अधिकार समेत हुँदैन 

जग्गा भाडाको सम्बन्धमा मेरा नामको कानूनबमोजिम बकसपत्रबाट प्राप्त पर्सा बहुअरीको कि.नं १६१ को जग्गा प्रतिमहिना रु.५०० का दरले ६ वर्षको हुने रु.३६,०००। मा भाडा लगाई प्राप्त गरेको रकम समेत उल्लेख भएको करारनामा समेतलाई विशेष अदालतले मान्यता नदिई सो जग्गाको आफूखुशी आयस्ता कायम गरेको त्रुटिपूर्ण हुँदा जग्गा भाडाबापतको पूरै आय रु.३६,०००। पुनरावेदकको आयस्रोतमा गणना गरिपाऊँ 

मेरा नामको एभरेष्ट बैंकमा रहेको खाताको ब्याज समेत जम्मा रु.१०,२३,०२३।नितान्त दानदक्षिणबाट प्राप्त वैध आर्जनको रकम हो भनी बयानमा स्पष्ट जिकीर लिएकी छु । बाल्यकालदेखि नै घर मावली समेतका मान्यजनहरूबाट विभिन्न अवसरमा प्राप्त दानदक्षिणा, टिकाटालो उपहार समेतको रकम, मातापिताले लगानी गरिदिनु भई बढेबढाएको रकम एभरेष्ट बैंकमा जम्मा गरेको हो । उक्त बैंकमा विभिन्न मितिमा रकम जम्मा गरेको विवरण सो बैंकको स्टेटमेन्ट समेतबाट प्रमाणित भैरहेको छ । खातामा रकम जम्मा गर्ने र झिक्ने प्रक्रिया स्वाभाभिक रहेको पुष्टि भएको अवस्थामा मनोगत ढंगबाट बचत खातामा प्राप्त ब्याजलाई मात्र वैध कायम गरेको न्यायसंगत छैन । तसर्थ, उक्त बैंकमा रहेको सम्पूर्ण साँवाब्याज समेतको रकम रु.१०,२३,०३०।४८ लाई वैध स्रोतको सम्पत्तिमा कायम गरी इन्साफ पाऊँ भन्ने समेत प्रतिवादी अदिती चतुर्वेदीको पुनरावेदन पत्र 

 

यस अदालतबाट भएका आदेशहरू

यसमा प्रस्तुत मुद्दाको अनुसन्धान तहकीकातको क्रममा विदेशमा विदेशी मुद्रामा खाता रहेको भनी विदेशी विनिमय अपचलन मुद्दा पनि चलेको भन्ने देखियो । यसरी एक प्रकारले एउटै जरीयाबाट उठान भई लगाउ जस्तो देखिएको कारणले उक्त विदेशी विनिमय अपचलन मुद्दा समेत साथै राखी प्रस्तुत मुद्दा ५ वर्ष पुरानो भई फौजदारी प्यानलमा परेकोले नियमबमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६७।२।९ मा भएको आदेश 

यसमा वादी पक्ष र प्रतिवादी पक्षबाट दोहोरो पुनरावेदन परेको देखिँदा प्रतिवादी पक्षको पुनरावेदन पत्रको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिने र वादी पक्षको पुनरावेदन पत्रको जानकारी प्रतिवादी पक्षलाई गराई लगाउको संवत् २०६३ सालको रिट नं. ०८६६ र ०४०६ तथा संवत् २०६५ सालको फौ.पु.नं.५३७ को मुद्दा साथै राखी नियमबमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६७।११।९ मा भएको आदेश 

नियमबमोजिम यस इजलाससमक्ष पेश हुन आई मिति २०६८।१।२०, २०६८।२।४, २०६८।२।२५, २०६८।३।७, २०६८।३।१५ र २०६८।३।२२ का दिनहरूमा सुनुवाई भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादी पक्षका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस जिकीरको सारसंक्षेप देहायबमोजिम रहेको छ :

 

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलः

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली,२०५९ को नियम २० मा आयोगले आवश्यकता अनुसार अनुसन्धान अधिकृत तोक्न सक्ने व्यवस्था रहेको छ । प्रतिवादी रामाज्ञा चतुर्वेदीको सम्बन्धमा शुरुमा अनुसन्धान अधिकृत तोकिएका गणेशमान मानन्धर अनुसन्धान तहकीकातको कारवाही नसकिँदै उमेरको कारणबाट अवकाशमा परेकोले नियमको उक्त व्यवस्थाबमोजिम चेतनाथ घिमिरेलाई तोकिई निजले नै अभियोगपत्र दायर गरेको कामकारवाहीमा कुनै त्रुटि छैन 

पुनरावेदक प्रतिवादीले उठाएका कानूनी प्रश्नहरूका सम्बन्धमा ईश्वर पोखरेल, अधिवक्ता प्रकाशमणि शर्मा र चिरञ्जिवी वाग्लेको मुद्दामा सम्मानीत अदालतबाट व्याख्या भै एक निश्चित् न्यायिक सिद्धान्त स्थापित भैसकेको हुँदा प्रस्तुत मुद्दाबाट थप व्याख्या र विश्लेषण गरिरहनु पर्ने अवस्था छैन 

साविकको आयकर ऐन, २०३१ र हालको आयकर ऐन, २०५८ मा आयको परिभाषा दिइएको छ । उक्त ऐनको दफा २ को खण्ड (ज) मा रोजगारी, व्यवसाय र लगानीबाट प्राप्त आयलाई आय मान्नुपर्ने भन्ने उल्लेख छ । प्रचलित कानूनमा दिइएको उक्त परिभाषाबमोजिम आय के हो भन्ने बारेमा अस्पष्टता हुनुपर्ने अवस्था छैन 

आशा चतुर्वेदीका नामको का.जि.चावहिलको कि.नं.५० को जग्गासम्मलाई आयस्रोत पुष्टि भएको सम्पत्ति मानी दावी नलिइएकोमा सो जग्गामा बनेको घरलाई समेत वैध स्रोतभित्रको ठहर्‍याएको विशेष अदालतको फैसला त्रुटिपूर्ण छ । त्यसैगरी वीरगञ्जको घर खरीदको स्रोत नै पुष्टि नभएको अवस्थामा उक्त दुवै घरको घरभाडालाई मान्यता दिन मिल्दैन 

प्रतिवादीहरूले बकसबाट पाएका जग्गाहरू करीव १७ लाख मूल्यका छन् । बकसपत्र दिने व्यक्तिहरू हकवाला हुन् भन्ने देखिएको छैन । यो यसरी निजहरूलाई रिझाएर उक्त सम्पत्ति बकस पाएको भनी प्रतिवादीको तर्फबाट विवेकसम्मत आधार पेश हुन सकेको छैन । यस्तो स्थितिमा भ्रष्टाचारबाट गरेको आर्जन लुकाउनलाई बकसपत्रका नामबाट सम्पत्ति खरीद भएको स्पष्ट छ 

प्रतिवादीले २०३२ सालदेखि २०५९ सालसम्म प्राप्त गरेको तलवभत्ताको रकमलाई विशेष अदालतले मान्यता दिएकै छ । केवल दैनिक भ्रमणभत्ताबापत प्राप्त भएको रकमबाट ७० प्रतिशतसम्म बचत हुन सक्ने भनी ३० प्रतिशत कट्टा गरिएको छ । दैनिक भ्रमणभत्ताको सम्पूर्ण रकम नै बचत हुन्छ भन्नु विवेकसम्मत हुँदैन । भ्रमणभत्ता बाहेक अन्य स्रोतबाट कट्टा गरेको भन्ने पुनरावेदन जिकीर नहुँदा सो सम्बन्धमा भएको विशेष अदालतको फैसला मनासिब छ 

कमला कार्पेट घरेलु उद्योगका रुपमा स्थापित उद्योग हो । २०४५ सालमा स्थापना भएको उक्त उद्योगमा गरिएको लगानीको स्रोत नै खुल्न सकेको छैन । त्यस्तै आयको अङ्कसम्म घोषणा गरिएको भए पनि के कसरी आय प्राप्त भएको भन्ने प्रमाण छैन । उद्योगको सञ्चालक शेयरहोल्डरले नियमित कार्य सञ्चालन गर्नका लागि पनि रकम बुझी लिने हुँदा त्यस्तो रकम मुनाफाबापतकै हो भनी यकीन गर्न मिल्दैन 

प्रतिवादी र निजको परिवारको श्रमले अंशबाट प्राप्त भएको जग्गामा खेती गरेको अवस्था छैन । जागिरको सन्दर्भमा बाहिर बसेर नियमित खेती किसानी गर्न सम्भव पनि हुँदैन । कृषि कार्यमा लगानी नहुने र सीधै आम्दानीमात्र हुन्छ भन्न मिल्दैन । मोही लागेको जग्गामा जस्तै मल, वीउ र श्रमको आवश्यकता पर्ने हुँदा मोही लागेको जग्गाको दोब्बर कृषि आय कायम गरेको फैसला अन्यथा छैन । २०४६ सालभन्दा अघिको सगोलको कृषि आय प्रतिवादीलाई प्राप्त हुने अवस्था छैन । आमा र काकीको जग्गाको कृषि आयस्ता पनि प्रतिवादीलाई दिएको भन्ने जिकीर विश्वसनीय छैन । आँपको वगैँचा र रुख विक्रीको ठोस प्रमाण गुजार्न नसकेकोले त्यसलाई मान्यता दिन मिल्दैन । रुख बिक्री गरिएको भन्ने कुरा प्रमाणित हुन प्रचलित वन ऐन र नियमबमोजिम स्वीकृति लिएको तथा छोडपूर्जी भएको हुनुपर्छ 

साथमा छैन तर जीवनस्तर उच्च देखिन्छ भने त्यसैको लागि खर्च भएको मान्नु पर्दछ । जीवनस्तर बढाउन खर्च गरेको पनि स्रोतमा गणना गरिनु पर्दछ । आम्दानीको तुलनामा जीवनशैली उच्च भएको आधारमा अनुमानित कसूरमा मुद्दा चलाइने हुँदा आफ्नो सम्पत्तिका सम्बन्धमा प्रतिवादीले स्रोत पुष्टि गर्नु पर्दछ । स्रोत पुष्टि गर्न नसकेको अवस्थामा कसूर गरेको ठहरिन्छ । स्वेतग्रिवी अपराधमा सजिलै प्रमाण उपलब्ध हुँदैनन् । प्रतिवादीले प्रमाण नष्ट गर्ने वा मिलाउने हरसम्भव प्रयास गरेको हुन सक्दछ । त्यसतर्फ पनि इजलासले ध्यान पुर्‍याउनु पर्दछ 

भारतीय बैंकमा भा.रु.२० लाखभन्दा बढी रकम ड्राफ्ट मार्फत् र ८ लाख नगद र अन्य व्यहोराबाट पठाएको कुरा प्रतिवादीले नै स्वीकार गरेका छन् । सो रकमको स्रोत पुष्टि गर्न सक्नु पर्दछ । त्यसैगरी ६५ लाखभन्दा बढीको शेयर खरीद भएको छ । त्यसको पनि स्रोत पुष्टि हुनु पर्दछ । भारतमा रहेको नातेदारले दिएको भनिएको रकमको कारोवार पनि देखिनु पर्दछ । त्यति ठूलो रकम बैंकिङ प्रणालीभन्दा बाहिरबाट नेपाल आएको मान्न सकिँदैन । त्यसैले कारोवारले पुष्टि नगरेको शपथपत्रलाई मान्यता दिन सकिँदैन 

VDIS कर प्रयोजनका लागि हो । कर प्रयोजनका लागि स्रोत प्रमाणित गर्नु पर्दैन भन्ने मान्यता हो । तर अन्य अपराधजन्य कार्यका सम्बन्धमा पनि VDIS तिरेपछि उन्मुक्ति पाउँछ भन्ने होइन । यो विषय इश्वर पोखरेललगायतको मुद्दामा निरुपण भैसकेको हुँदा थप व्याख्या गर्नुपर्ने अवस्था छैन 

राष्ट्रसेवक रहेका प्रतिवादीले जागिर अवधिमा प्राप्त गर्ने सीमित पारिश्रमिक र कृषि आयबाट करोडौं मूल्य बराबरका घर जग्गा जोड्न, शेयर खरीद गर्न, छोराछोरीलाई ठूलो रकम खर्च गरी पढाउने तथा स्वदेश तथा विदेशका बैंकमा अस्वभाविक रुपमा ठूलो रकम जम्मा गर्न सक्ने अवस्था नभएको र प्रतिवादीका साथमा रहेको उक्त चलअचल सम्पत्तिको स्रोत प्रतिवादीले पुष्टि गर्न नसकेको हुँदा निजलाई अभियोग दावीबमोजिम सजाय गर्नुपर्नेमा विशेष अदालतबाट दावीभन्दा घटी सजाय गरेको नमिलेको हुँदा शुरु अभियोग दावी र पुनरावेदन जिकरीबमोजिम कसूर र सजाय ठहर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । साथै विद्वान सहन्यायाधिवक्ताले लिखित बहसनोट समेत पेश गर्नु भएको रहेछ 

 

पुनरावेदक प्रतिवादीहरूका तर्फबाट अधिवक्ता केशवप्रसाद भट्टराई

शुरुमा राप्ती पुलका सम्बन्धमा जानकारी लिन भनी बोलाई हिरासतमा राखी पटकपटक म्याद थप गरिएकोमा पछिबाट अकूत सम्पत्ति आर्जन गरेको भन्ने सम्बन्धमा अनुसन्धान भयो । प्रतिवादीको बयान लिने लगायतका सम्पूर्ण कार्य अनुसन्धान अधिकृत गणेशमान मानन्धरबाट भएकोमा पछि चेतनाथ घिमिरेबाट मुद्दा चलाउने कार्य गरियो । चेतनाथ घिमिरेलाई आयोगले अनुसन्धान अधिकृत तोकेकै छैन । अनुसन्धान प्रक्रिया fair नभएकोले मुद्दाको दायरी नै त्रुटिपूर्ण छ 

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को निरन्तरता हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० हो भनी वर्तमान ऐन लागू हुनुभन्दा अघिको स्रोतका सम्बन्धमा मुद्दा चलाइएको छ । जुन तत्काल बहाल रहेको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४ समेतको संवैधानिक व्यवस्थाबाट मिल्दैन । साविक दफा ३ बमोजिम अभियोग दावी नै लिइएको छैन । हदम्यादको प्रश्न पनि उपस्थित भएको छ 

आयोगले प्रतिवादीको वास्तविक सम्पत्तिभन्दा बढी मूल्याङ्कन गरी अभियोग दावी लिएको छ । अभियोग दावीमा आयस्रोत पुष्टि भएको भनी मानिएको अङ्कलाई समेत अदालतले घटाएको छ । यसबाट अदालतले दावीभन्दा बाहिर गएर फैसला गरेको मान्नु पर्ने अवस्था छ 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम साथमा रहेको सम्पत्तिको मात्र स्रोत खोजी गर्न मिल्छ । साथमा रहँदै नरहेको सम्पत्तिका सम्बन्धमा स्रोत माग्न मिल्दैन । अभियोग लगाउँदाका बखत भारतीय बैंकमा रकम मौज्दात नै छैन । मौज्दात नै नरहेको रकमलाई दावी गरी जफत गर्न र स्रोत खुलेको सम्पत्तिबाट विगो भराउन मिल्दैन । छोराछोरीलाई पढाउन रकम पठाएको कुरा प्रतिवादीले स्वीकार गरे पनि भारतमा खाता खोलिएको सम्बन्धमा निजलाई कुनै जानकारी छैन । सो कार्यमा निजको संलग्नता समेत छैन । एकातर्फ खाताको रकमलाई पनि जोडिएको छ भने अर्कातर्फ छोराछोरी पढाउन भएको खर्चलाई पनि जोडिएको छ । यसबाट दोहोरो पारी दावी लिएको प्रष्ट छ । प्रतिवादी आशाले माइतीले दिएको रकम यूनाइटेड बैंक अफ इण्डियाको बैंक खातामा जम्मा गरेको भन्ने बयान गरी सोको प्रमाणस्वरुप शपथपत्र समेतका प्रमाण पेश गरेको अवस्था छ । नेपालबाट उक्त खातामा रकम गएको प्रमाण वादी पक्षले दिन सकेको छैन 

विशेष अदालतको फैसला सतही छ । फैसलाको पृष्ठ ५५ मा स्रोत खुलेको र नखुलेको सम्पत्ति छुट्याउने आधार वादी पक्षबाट पेश हुन नसकेको भनी न्यायिक विवेकका आधारमा छुट्याउनु पर्ने भनिएको छ । तर पृष्ठ ४९ मा नै सम्पत्तिको हैसियत सम्बन्धमा विश्लेषण गरिएको छ । तलवभत्ता, कमला कार्पेट, दाइजो, तिलक र टिकाटाला, घरभाडा तथा कृषि आय समेतलाई मान्यता दिइएको छ । तर सो आयबाट खरीद भएका सम्पत्तिलाई मानिएको छैन । सालबसाली रुपमा आय र व्ययको विश्लेषण हुन सकेको छैन । बकसपत्रबाट प्राप्त सम्पत्तिमध्ये केहीलाई मान्यता दिई अधिकांशलाई अवैध भनिएको छ । चिरञ्जिवी वाग्लेको मुद्दामा बकस पाएको जग्गालाई पनि खरीद गरेको भनेको कारणबाट स्रोत पुष्टि गर्नुपर्ने भनिएको हो । प्रस्तुत मुद्दामा त्यस्तो अवस्था छैन । बकसपत्रबाट लिएको जग्गामा दाताले रकम पाएको देखिनु पर्दछ । रिझबापत बकसपत्र दिन र लिन मिल्ने कानूनी व्यवस्था हुँदा रकम लगानी भएको भनी मान्न मिल्दैन । अतः विशेष अदालतको फैसला उल्टी भई प्रतिवादीहरूले सफाइ पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो 

 

पुनरावेदक प्रतिवादीहरूका तर्फबाट अधिवक्ता शंकरकुमार श्रेष्ठः

प्रतिवादी रितेश चतुर्वेदीको सम्पत्ति पनि जफत भएको छ । निजको तर्फबाट पुनरावेदन परेको छैन । निजलाई पनि सुनुवाईको मौका दिनुपर्ने भएको हुँदा झिकाइनु पर्दछ । अनुसन्धान स्वच्छ भएको भन्ने कुरामा प्रतिवादी विश्वस्त हुन सकेको अवस्था छैन । रामाज्ञा चतुर्वेदी बाहेकका अन्य चार जना प्रतिवादीहरूले के कसूर गरेको भन्ने फैसलामा उल्लेख छैन । के कारणबाट निजहरूको सम्पत्ति जफत भएको हो भन्ने प्रष्ट छैन । प्रतिवादीहरूले लिएको जिकीर र दिएको प्रमाणहरूको खण्डन नगरी भएको फैसला त्रुटिपूर्ण छ । मुलुकी ऐन दानबकसको महल र स्त्री अंशधनको महलअन्तर्गत लिइएको जिकीरको कुनै खण्डन फैसलामा छैन । मुद्दा चलाउने निर्णय गरिसकेपछि पनि सम्पत्ति मूल्याङ्कनको कार्य गरिएको विरोधाभाषपूर्ण छ । स्रोतको सम्बन्धमा परीक्षण नगरी न्यायिक विवेक प्रयोग गर्न मिल्दैन Multinational identity भएका व्यक्ति पनि प्रतिवादी छन् । आशा चतुर्वेदीको माइती भारतमा हो । उनले माइतीबाट सम्पत्ति प्राप्त गरेको प्रमाण दिएकी छन् । त्यस्तो सम्पत्तिको सही विश्लेषण हुन सकेको छैन । प्रतिवादीको साथमा रहेभएको सम्पत्तिको सम्बन्धमा मात्र मूल्याङ्कन हुन सक्दछ । नभएको सम्पत्तिलाई विगो कायम गरी वैध सम्पत्तिबाट जफत र जरीवाना गर्न मिल्दैन भन्ने समेत बहस गर्नुभयो 

 

पुनरावेदक प्रतिवादीहरूका तर्फबाट अधिवक्ता कृष्णप्रसाद सापकोटाः

प्रस्तुत मुद्दामा उठेका केही कानूनी प्रश्नहरूको निरुपण ईश्वर पोखरेल र चिरञ्जिवी वाग्लेको मुद्दामा भए तापनि पूर्ण छैन । ऐनले जति कुरालाई अपराध मानेको छ त्यतिमात्र अपराध हुन सक्दछ । अदालत आफैंले अपराधको घोषणा गर्न सक्दैन । भ्रष्टाचार निवारण ऐनको दफा २०(१) को कसूर कायम हुन प्रथमतः सम्पत्तिको (Passession) देखिनु पर्दछ । त्यसपछि त्यस्तो सम्पत्तिसँग प्रतिवादीको सम्बन्ध पनि कायम हुनु पर्दछ । सम्पत्तिको अवस्थिति बाहेकको अवस्थामा उक्त दफा २०(१) लाग्न सक्दैन । भारतीय अपराध ऐनको दफा ५(१)(e) ले पनि सम्पत्तिको उपस्थितिलाई नै मुख्य आधार मानेको छ । भारतीय सर्वोच्च अदालतबाट समेत यसै आधारलाई मान्यता दिई निर्णय भएका दृष्टान्त रहेका छन् 

राष्ट्रसेवकको जीवनशैली उच्च हो होइन भन्ने देखिने वस्तुनिष्ट आधार हुनु पर्दछ । त्यसको लागि भौतिक चिजवस्तुको उपस्थिति अनिवार्य हुन्छ । भौतिक चिजवस्तुको अभावमा अन्य तर्कको आधारमा अमिल्दो जीवनशैली भएको मान्न मिल्दैन । कस्तो सम्पत्तिलाई स्रोतयुक्त र कस्तो सम्पत्तिलाई स्रोतविहीन मान्ने भन्ने कुनै कानूनी आधार अवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मा उल्लेख छैन । अदालतमा गोलमटोल रुपमा दावी लिइएका कारण अनुसन्धान अधिकारीले गर्ने उक्त कार्य अदालतबाट गर्नुपर्ने भएको छ । त्यसै कारणबाट मुद्दामा थप जटिलता उत्पन्न भै विशेष अदालतलाई वास्तविक न्याय निरुपण गर्न समस्या भएको हो 

स्रोत खुलाउनु पर्छ भन्ने कानून २०५९ सालमा आएको छ तर सोभन्दाअघिको सम्पत्तिको स्रोत देखाउ भन्न कसरी मिल्छ । एउटा निश्चित् अवधिको स्रोत दिन सकिएला तर सम्पूर्ण नोकरी अवधिको स्रोत दिन सम्भव समेत हुँदैन । भारतीय सन्दर्भमा पछिल्लो १० वर्षको अवधिको स्रोत माग्नु न्यायोचित हुने व्याख्या भएको कुरालाई दृष्टान्तको रुपमा लिइनु पर्दछ 

अभियोगपत्रको तालिका नं. १२ मा स्रोत खुलेको सम्पत्ति र तालिका १३ मा स्रोत नखुलेको सम्पत्तिका बारेमा उल्लेख भएको छ । स्रोत नखुलेको भनिएको सम्पत्तिमा बकसपत्रबाट प्राप्त सम्पत्तिलाई पनि जोडिएको छ । बकसपत्रबाट प्राप्त हुने सम्पत्तिमा लगानी नपर्ने हुँदा स्रोत प्रमाणित गर्नु पर्दैन । छोराछोरीलाई पढाउँदा अगावै भैसकेको खर्च प्रतिवादीको साथमा नरहेकोले दफा २०(१) बमोजिम सम्पत्तिमा पर्दैन । चावहिलको घर निर्माण र मर्मत समेतको लागि ९,५०,०००। खर्च भएको भन्ने भए पनि शहरी विकास विभागको मूल्याङ्कन अनुसार रु.५,५९,०००। मात्र लागत भन्ने देखिएको छ । पर्सा राम गढवाको कि.नं.६२८, ७१९ र ७२० को जग्गाका सम्बन्धमा अभियोगपत्रमा दावी लिइएको रकमभन्दा अदालतले बढी विगो कायम गरेको फैसला त्रुटिपूर्ण छ । त्यस्तै चितवन कल्याणपुरको कि.नं.८६० र ८६२ को जग्गाको मूल्याङ्कनका सम्बन्धमा लिइएको अभियोग दावी र अदालतको ठहर दुवै त्रुटिपूर्ण रहेको छ । उक्त जग्गा कमला कार्पेटको आयबाट चारजना साझेदारहरूको नाममा खरीद भएकोले प्रतिवादी रामाज्ञाले स्रोत पुष्टि गर्नुपर्ने होइन । पर्सा सिर्सियाको कि.नं.२१३ को जग्गाको सम्बन्धमा अभियोगमा लिइएको दावीभन्दा अदालतले बढी विगो कायम गरेकोले सो समेत त्रुटिपूर्ण रहेको छ 

रामाज्ञा चतुर्वेदीको नेपाल एस.बि.आई.बैंकमा रहेको रकममध्ये ७ हजारभन्दा बढी ब्याज रकम हो, नेपाल बैंक लि.को पूरै रकम ब्याज मात्र हो, अदितीको एभरेष्ट बैंकमा रहेको १० लाखभन्दा बढी अर्थात् २३ हजार पनि ब्याज रकम नै हो । ब्याजको स्रोत प्रमाणित गर्नु पर्दैन । मूलधनमा दावी नगरिएका रकमका हकमा ब्याजमा दावी लिनै मिल्दैन । अभिषेकको नाउँमा एस.बि.आई.बैंक इण्डियामा करीव ४० लाख भा.रु.को कारोवार भएको अवस्था भए पनि पढाई खर्चका लागि सो रकम पठाएको हो । अध्ययन खर्चतर्फ छुट्टै दावी भएको हुँदा सोही रकमलाई दुवैतर्फ गणना गरिएबाट दोहोरो पर्न गएको छ । खाताको रकमलाई मानिएको खण्डमा पनि अध्ययन खर्च घटाइनु पर्दछ । त्यसै गरी यूनाइटेड बैंक अफ इण्डियाको अभिषेक र आशा चतुर्वेदीका नाउँको खातामा रहेको भनिएको रकम नेपालबाट गएको भन्ने प्रमाण छैन । प्रतिवादी रामाज्ञाले सो रकम पठाएको पनि होइन । आशाका माइतीतर्फबाट प्राप्त रकम सो खाताहरूमा जम्मा भएको हो । अभियोग पेश गर्नु अगावै उक्त खाताहरू बन्द भैसकेका छन् । अभियोग लगाउनुभन्दा अघि मौज्दात शून्य भएका वा बन्द गरिएका नेपाली खाताका सम्बन्धमा दावी नलिइएकोले भारतीय बैंकका खाताहरूका सम्बन्धमा दावी लिएको विरोधाभाषपूर्ण छ । खर्च भै अभियोग पेश गर्ने समयमा खाता नै बन्द भएको हुँदा Non Possession सम्पत्तिलाई आयमा गणना गरेको मिलेको छैन । दाइजो पेवाबाट प्राप्त भएको गरगहनालाई स्रोतमा गणना गरेको त्रुटिपूर्ण छ । सो गहना प्राप्त गर्नको लागि प्रतिवादीको लगानी परेको छैन 

२००० सालको बण्डापत्र र खरिदी समेतबाट प्रतिवादीका बाबुले १६ विगाहा जग्गा पाएकोमा बढेबढाएको समेत गरी २०४६ सालमा २३ विगाहा जग्गा सात अंशियारबीच बण्डा भएको छ । कृषि आय कायम गर्ने आधार भूमि सम्बन्धी ऐन हुन सक्दैन । सम्बन्धित गा.वि.स. र कृषि विकास कार्यालयले स्थानीय वस्तुस्थिति समेतको मूल्याङ्कनबाट खुलाई दिएको उब्जनीको आयलाई नै कायम गरिनु पर्दछ । आयोग स्वयम्‌ले कृषि आयका सम्बन्धमा फरकफरक मापदण्ड अवलम्बन गर्ने गरेको छ 

बण्डापत्र समेतका लिखत प्रमाणबाट काकी राजपतीदेवी र आमा यशोदादेवी प्रतिवादी रामाज्ञा चतुर्वेदीकै साथमा बस्ने तथा निजहरूको पालन पोषण निजले गर्ने भन्ने उल्लेख भएको छ । सो बमोजिम निजहरूको पालनपोषण लगायतको सम्पूर्ण कार्य प्रतिवादीबाट भएको अवस्था पनि छ । सोही कारणबाट आमा र काकीको भागमा परेको जग्गाको कृषि आयस्ता पनि प्रतिवादीले पाएको भनी लिएको जिकीरलाई विशेष अदालतले मान्यता नदिएको त्रुटिपूर्ण छ 

प्रतिवादीको अंशभागमा परेका जग्गामा आँपको बगैचा र माछा पोखरी समेत रहेको कुरा जग्गाधनी प्रमाणपूर्जाबाटै प्रमाणित छ । आँप बिक्री र माछा विक्रीबाट भएको आम्दानीको प्रमाण सहित बयान गरेकोमा विशेष अदालतले वगैचा भएको जग्गाको समेत सामान्य कृषि आय कायम गरेको त्रुटिपूर्ण छ । साथै वगैंचाको रुख बिक्रीबाट भएको आयलाई पनि मानिएन । स्थानीय रुपमा काठ बिक्री गरेको प्रमाण पेश भएकोमा छोडपूर्जी नभएको भन्ने आधारमा मान्यता नदिएको त्रुटिपूर्ण छ 

प्रतिवादीको तलबभत्ताबापत विशेष अदालतले घटी आय कायम गरेको मिलेको छैन । भ्रमणभत्ताबापत ७० प्रतिशत मात्र कायम गरिएको छ । स्वदेशमा हुने भ्रमणमा खर्च नहुने हुदा ३० प्रतिशत कट्टा गर्न मिल्दैन । शा.ने.वा.नि.बाट भ्रमणभत्ताबापत करीव रु.५०,४४४। पाएकोमा एक लाख ६३ हजारलाई मात्र अदालतले मानेको छ । यो रकम घटाउने आधार छैन । बयानमा उल्लेख गरेको २१०० डलर तीन देशको भ्रमण गर्दा पाएको रकम हो । सोही संस्थानबाट लुगाभत्ताबापत १८ हजार प्राप्त भएकोलाई पनि मान्यता दिइएन । त्यसै गरी सञ्चयकोषबाट लिइएको ऋण रकमलाई पनि गणना गरिएन । लिखतले प्रमाणित हुन्छ भने छुटेको भन्दैमा हाल कायम गर्न नमिल्ने कारण छैन 

भाडामा लगाइएका जग्गाहरूको पनि प्रमाणसहित भाडाबापत प्राप्त आयको बयान जिकीर गरिएकोमा मान्यता दिइएन । भैरहवा र नेपालगञ्जको भाडामा दिएको जग्गाको समेत कृषि आय कायम गरेको मिलेको छैन । घरभाडातर्फ करीव रु.१०,७४,३७०। को जिकीर लिइएकोमा ७,२४,०८०। लाई मात्र मान्यता दिइयो 

काकी राजपतीले २०४९ सालको घरसारको लिखतबाट प्रतिवादीलाई १५ लाख दिएको प्रमाण पेश भएको छ । सो रकम निजका बाबु हरिनारायणले निजलाई दिएका हुन् । आशा चतुर्वेदीको आमा चन्द्रवतीले केटाकेटीको भरणपोषण र शिक्षादिक्षाको लागि ७ लाख ५० हजार दिएकी छन् । मामा अम्बिका तिवारीले सहयोगस्वरुप नौ लाख दिएका छन् । शपथपत्र समेतका लिखतबाट सो तथ्य प्रमाणित हुँदाहुँदै त्यसलाई मानिएन 

कमला कार्पेट गलैंचा निर्यात समेत गर्ने उद्देश्यका साथ २०४४ सालमा घरेलु उद्योगका रुपमा स्थापना भै २०४५ सालदेखि काम शुरु भएको हो । आशा चतुर्वेदीले २०४५ सालमा २५ प्रतिशत अर्थात् ३ लाख पचास हजार लगानी गरेको हो । घरेलु उद्योगलाई कर छूट भएकोले आय विवरण कर कार्यालयमा पेश गर्नुपर्ने अवस्था थिएन । निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको व्यवस्थापन गर्ने प्रयोजनका लागि मात्र निर्यातको विवरण पेश गरिएको हो । कर कार्यालयमा पेश भएको निर्यातको अङ्कलाई विशेष अदालतले पनि मानेकै छ । तर उक्त उद्योगले निर्यात बाहेक स्थानीय रुपमा पनि कारोवार गरेको छ । त्यसबाट प्राप्त आयव्यय र मुनाफाको विवरण खुल्ने हरेक सालको वासलात, लेजर र क्यासबुक प्रमाणस्वरुप पेश भएको छ । हरेक सालको हिसावकितावको लेखा परीक्षण भएको छ । त्यस्तो प्रमाणलाई मान्यता नदिनुपर्ने कुनै कारण छैन । कम्पनीको आयबाटै ऋण तिरिएको हुँदा ऋण कट्टा गरी आय दिएको पनि मिलेको छैन । प्रतिवादीको बयान जिकीरबमोजिमकै आय कायम हुनु पर्दछ 

जग्गा विक्रीबाट प्राप्त रु.३,२८,५००। आयमध्ये एक लाख साठी हजारलाई विशेष अदालतले मान्यता दिएको छैन । आशा चतुर्वेदीको दाइजोबाट खरीद भएको जग्गालाई पनि मानेन । दाइजोबापत रकम प्राप्त भएको कुरालाई मान्ने तर त्यसबाट खरीद भएकोलाई नमान्न मिल्दैन 

अभयकुमार सर्राफबाट २०५७ सालमा ११ लाख ५० हजार सापटी लिई त्यसैबाट नेपाल मेडिकल कलेजको शेयर खरीद गरेको हो । उक्त ऋण मुद्दा नचल्दै चुक्ता भैसकेको भन्ने आधार लिई त्यसतर्फ विचार गर्नु नपर्ने निर्णयाधार त्रुटिपूर्ण छ । बीमाबाट प्राप्त भएको आयलाई आधामात्र मान्यता दिइएको पनि मिलेको छैन 

हुँदै नभएको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम जफत गर्ने भन्ने फैसला त्रुटिपूर्ण छ । अतः प्रतिवादीको आय र सम्पत्तिबीच सामाञ्जस्यता रहेको हुँदा कसूर ठहर गरेको विशेष अदालतको फैसला उल्टी भई अभियोग दावीबाट सफाइ पाउनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो 

 

पुनरावेदक प्रतिवादीका तर्फबाटै वरिष्ठ अधिवक्ता हरिहर दाहाल

प्रतिवादी रामाज्ञालाई विना कारण थुनामा राखी सोही अवधिमा प्रतिवादी आशा चतुर्वेदीको बयान लिने कार्य भयो । मूल अभियुक्तको बयान नलिइ अन्य व्यक्तिको बयान लिई प्रमाण सिर्जना गरियो । प्रतिवादीलाई जसरी भएपनि कारवाही गर्छु भन्ने पूर्वाग्रह राखी अनुसन्धान गरिएको हुँदा अनुसन्धान तहकीकात नै स्वच्छ छैन 

विशेष अदालतको फैसलाउपर वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको छ । सम्पत्तिको मूल्याङ्कन सालबसाली रुपमा हुनु पर्नेमा गोलमटोल रुपमा गरिएको मिलेन भन्ने कुरामा दुवै पुनरावेदनमा मुख मिलेको छ । सम्पत्ति खरीद गर्दाको अवस्थामा प्रतिवादीको आयस्रोत के कति थियो भन्ने हेरिनु पर्दथ्यो, अन्तिम र एकमुष्ट आयका आधारमा विश्लेषण गर्न मिल्दैन भन्ने वादीको पुनरावेदन जिकीर छ । प्रतिवादीको पुनरावेदन जिकीर पनि त्यही छ । खरीद गरिएका सम्पत्तिमा तलबभत्ता, कृषि आय, दाइजो पेवा, कमला कार्पेटको मुनाफा आदि प्रयोग भएको भन्ने प्रतिवादीहरूको जिकीर छ । त्यसको लागि कुन साल कुन स्रोतबाट कति आय भएको हो र कति रकमको सम्पत्ति खरीद भएको छ भन्ने प्रष्ट विश्लेषण हुन आवश्यक छ । भारतीय बैंकहरूमा मौज्दात नै नरहेको रकमलाई सम्पत्ति मानी विगो कायम गरिएको मिलेको छैन । न्यायिक विवेकका आधारमा स्रोत खुलेको र नखुलेको सम्पत्तिको विश्लेषण गरिएको भन्ने फैसलामा उल्लेख भए पनि न्यायिक विवेक प्रयोग हुन सकेको छैन 

प्रतिवादीहरूले केही सम्पत्ति बकसपत्रबाट प्राप्त गरेको अवस्था छ । अंशियारबाट प्राप्त गरेको ३ कित्ता जग्गाको बकसपत्रलाई विशेष अदालतले पनि मानेकै छ । तर अन्य व्यक्तिबाट बकसपत्रबाट पाएकोलाई खरीदी मानिएको मिलेको छैन । मुलुकी ऐन, स्त्री अंशधनको १, , ५ र अंशबण्डाको १८ नं. बमोजिम प्राप्त गरेको सम्पत्तिलाई आफूखुश गर्न पाउने सम्पत्तिको रुपमा लिइने गरेको छ । निजी ज्ञान, सीप र प्रयासबाट यस्तो सम्पत्ति प्राप्त हुने हुँदा बण्डा गर्न कर नलाग्ने भन्ने सम्बन्धमा सम्मानीत अदालतबाट सिद्धान्त प्रतिपादन भै एक निश्चित् न्यायिक मान्यता कायम भएको छ । यस्तो अवस्थामा बकसपत्रबाट प्राप्त भएका सम्पत्तिको स्रोत खोज्न मिल्दैन । छोरा, श्रीमतीले बकसपत्र पाउने कुरामा बाबुको कुनै योगदान हुँदैन । दातालाई रिझाएबापत प्राप्त हुने त्यस्तो बकसपत्रलाई अवैध भन्न मिल्दैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले अस्वभाविक रुपमा दान बकस दिने कुरालाई मात्र कसूरअन्तर्गत समावेश गरको हुँदा बकस प्राप्त गर्ने विषय गैरकानूनी हुन सक्दैन । त्यसैले बकसपत्र लिने र दिने कार्यबीचको अन्तरका सम्बन्धमा प्रष्ट व्याख्या आउनु पर्दछ 

चिरञ्जिवी वाग्लेको मुद्दामा बकसपत्रबाट पाएको सम्पत्तिलाई पनि खरिदी हो भनी प्रतिवादीको बयानमा उल्लेख भएको आधारमा स्रोत पुष्टि गर्नुपर्ने व्याख्या आएको हो । तर प्रस्तुत मुद्दामा त्यस्तो अवस्था छैन । त्यसैले सो मुद्दाको व्याख्या प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । विशेष अदालतको फैसला बदर भई पुनरावेदक प्रतिवादीले सफाइ पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो 

साथै पुनरावेदक प्रतिवादीहरूको तर्फबाट बहस गर्नु हुने विद्वान वरिष्ठ अधिवक्ता तथा विद्वान अधिवक्ताहरूले लिखित बहसनोट समेत पेश गर्नु भएको रहेछ 

आज निर्णय सुनाउँन तारेख तोकिएको प्रस्तुत मुद्दामा पक्ष विपक्षका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको उपरोक्त बहस जिकीर मनन् गरी पेश हुन आएको लिखित बहसनोटलगायत पुनरावेदनसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा मुख्यतः देहायका प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन आएको छ :

१.     ऐनको पश्चात्दर्शी असर, हदम्याद, स्वयंकर घोषणा तथा विगो कायम र स्रोत खुले नखुलेको सम्पत्तिका सम्बन्धमा यकीन दावी नभएको अवस्थामा अभियोग स्थापित हुन नसक्ने भनी उठाइएका कानूनी प्रश्नहरूका सम्बन्धमा विशेष अदालतको फैसलामा समुचित व्याख्या हुन सकेको छ , छैन र व्याख्या गरिएकोमा पनि सो मिलेको छ, छैन ?

२.    प्रस्तुत मुद्दाको अनुसन्धान तहकीकातको कामकारवाहीमा प्रक्रियागत त्रुटि भएको वा रीतपूर्वक भएको छ , छैन ?

३.    आयको वैधानिकता जाँचिने प्रस्तुत मुद्दामा बकसपत्रबाट प्राप्त गरिएको भनिएका सम्पत्तिको वैधानिकता के कस्तो हुने हो र त्यसको प्राप्तीको आधार र स्रोत खुलाउनु पर्ने नपर्ने के हो ?

४.    कृषि आय निर्धारण गर्ने न्यायोचित मापदण्ड के हुन सक्दछ ?

५.    भारतमा भएको भनिएका शपथपत्र (Affidavit) प्रमाणमा ग्रहण गर्न मिल्छ वा मिल्दैन र शपथपत्रलाई कारोवार (Transaction) ले समर्थन गरेको हुनुपर्छ वा पर्दैन ?

६.    आयका तुलनामा अमिल्दो तथा उच्च जीवनयापन गरेको भन्ने आरोपको सन्दर्भमा विगतमा गरिएका प्रमाणित भएका खर्च एवम् बैंक खाताको कारोवारलाई आधार मानी हाल मौज्दात नरहेको (Non-possession) सम्पत्ति वा रकमका सम्बन्धमा दावी लिन मिल्छ वा मिल्दैन ?

७.    पुनरावेदक प्रतिवादीको स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा विशेष अदालतबाट गरिएको विश्लेषणमा कुनै त्रुटि रहेको देखिन्छ वा देखिदैन ?

८.    विशेष अदालतको फैसला मिलेको छ, छैन र पुनरावेदक वादी तथा प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो वा होइन ?

२. निर्णय दिनुपर्ने हुन आएको उपरोक्त पहिलो प्रश्नका सम्बन्धमा विचार गर्दा खास गरी पुनरावेदक प्रतिवादीले विशेष अदालतमा बयान गर्दाको अवस्थादेखि नै साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को अनुमानीत कसूर र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने कानूनी व्यवस्थाहरू फरकफरक हुन्, भ्रष्टाचार निवारण ऐन, २०१७ लाई भ्रष्टाचार निवारण ऐन, २०५९ ले खारेज गरिसकेको हुँदा साविक ऐनको दफा १५ लाई वर्तमान ऐनको दफा २० ले निरन्तरता दिएको मान्न मिल्दैन, मिति २०५९।३।४ देखि लागू भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कानूनी व्यवस्थाका आधारमा सोभन्दा अघिको सम्पत्तिको स्रोत खोजी गर्नु कानूनसम्मत हुँदैन, खारेज भैसकेको भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत लिएको दावी उक्त ऐनको दफा २४ समेतको विपरीत हदम्यादविहीन छ भन्ने समेत जिकीर लिएको देखिन्छ । पुनरावेदक प्रतिवादीको उक्त जिकीरका सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० साविक ऐनको दफा १५ को निरन्तरता हो भन्ने निष्कर्षमा विशेष अदालत पुगेको देखिन आउँछ । शुरुमा लिएको उक्त जिकीरलाई पुनरावेदक प्रतिवादीहरूले यस अदालतसमक्षको पुनरावेदन पत्रमा पुनः उठाएको अवस्था छ भने पुनरावेदक प्रतिवादीहरूका तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीहरूले पनि सो कानूनी प्रश्नमा यस अदालतबाट व्याख्या हुन आवश्यक छ भन्ने बहस जिकीर प्रस्तुत गर्नुका साथै लिखित बहसनोटमा समेत सो विषयमा जोड दिएको अवस्था छ 

३. वस्तुतः प्रस्तुत पुनरावेदनमा उठाइएको जस्तै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को कानूनी व्यवस्थाको निरन्तरता हाल बहाल रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० हो, होइन भन्ने समान कानूनी प्रश्न उठेको पुनरावेदक/वादी नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी ईश्वरप्रसाद पोखरेल समेत भएको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा यस अदालतको ५ सदस्यीय पूर्ण इजलासबाट सो कानूनी प्रश्नको निरुपण भैसकेको देखिन आउँछ । उक्त मुद्दामा अन्य कुराका अतिरिक्त हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को व्यवस्था साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को निरन्तरता हो र यी दुवै प्रावधान विधायिकाले समान उद्देश्य पूर्तिका लागि राखिएका एकै प्रकृतिका हुन्भन्ने समेत व्याख्या (नेकाप २०६६, नि.नं.८२००, पृष्ठ १२६६) भएको देखिन्छ । सोही मुद्दामा प्रतिपादन भएको सिद्धान्तलाई अंगाल्दै यस अदालतको मसहितको संयुक्त इजलासबाट पुनरावेदक/वादी नेपाल सरकार विरुद्ध चिरञ्जिवी वाग्ले समेत प्रत्यर्थी/प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को व्यवस्था साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को निरन्तरता हो भन्ने आधारमा प्रतिवादी चिरञ्जिवी वाग्लेले आफू तथा आफ्नो परिवारको नाममा गैरकानूनी सम्पत्ति राखी भ्रष्टाचार गरेको ठहर्‍याई सजाय भएको (नेकाप २०६७, नि.नं ८५१९, पृष्ठ २००७) स्थिति रहेको पाइन्छ । साथै अनुमानीत कसूरसम्बन्धी सो व्यवस्था राष्ट्रसेवकका परिवारको हकमा समेत आकर्षित हुने भन्ने व्याख्या समेत सो मुद्दामा भैसकेको हुँदा प्रतिवादीहरूले सो सम्बन्धमा लिएको जिकीरका सम्बन्धमा अरु विचार गरिहरनु पर्ने अवस्था छैन 

४. यस प्रकार एकै प्रकृतिका मुद्दाहरूको सन्दर्भमा यस अदालतको पूर्ण र संयुक्त इजलासबाट पटकपटक भएका उपरोक्त व्याख्या र प्रतिपादित सिद्धान्तहरूले एक निश्चित् न्यायिक मान्यता स्थापित गरिसकेको अवस्था हुँदा सोही कानूनी प्रश्नका सम्बन्धमा प्रस्तुत पुनरावेदन जिकरीबमोजिम अरु व्याख्या र विश्लेषण गरिरहनु पर्ने अवस्था नहुँदा सोतर्फ लिइएको जिकीरसँग सहमत हुन सकिएन 

५. जहाँसम्म अभियोगपत्रमा खारेज भैसकेको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), १४क., १५ र १६ग. समेत अनुसार लिइएको दावी दफा २४ को हदम्याद नघाई परेको भन्ने पुनरावेदन जिकीर छ वादी पक्षले हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१), (२), २४ र ४७ तथा साविक ऐनका केही दफाहरूको उल्लेखन गरी अभियोग दावी लिएको देखिए तापनि विशेष अदालतबाट साविकको कानूनी व्यवस्थाबमोजिम पुनरावेदक प्रतिवादीलाई कसूर र सजाय ठहर भएको देखिँदैन । विशेष अदालतको फैसला हेर्दा प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसूर ठहर भई सोही दफा २० को उपदफा (२) बमोजिम विगोअनुसार जरीवाना, कैद वर्ष एक र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्नुका साथै दफा २४ बमोजिम थप एक वर्ष कैद तथा दफा ४७ बमोजिम गैरकानूनी रुपमा गरेको आर्जनबाट बढेबढाएको तथा लुकाए छिपाएको सम्पत्ति समेत जफत हुने ठहर भएको देखिन आउँछ । पुनरावेदक प्रतिवादी शाही नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा रहेकै बखत प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भै अभियोग पेश भएको देखिँदा साविक ऐनको हदम्यादका सम्बन्धमा पुनरावेदक प्रतिवादीले लिएको पुनरावेदन जिकीरको समेत सान्दर्भिकता रहेको देखिएन 

६. यसका साथै स्वयंकर घोषणामार्फत् कर तिरिसकेको र त्यसरी कर तिरेको सम्पत्तिका सम्बन्धमा अन्य कुनै कानूनबमोजिम छानबीन नहुने तथा स्रोत नखोजिने भन्ने प्रतिवद्धता स्वयंकर घोषणा गर्दाको सूचनामा राज्यको तर्फबाट व्यक्त भैसकेको हुँदा VDIS तिरेको सम्पत्तिलाई बैध सम्पत्तिको मान्यता दिनु पर्नेमा नदिएको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने पनि पुनरावेदन जिकीर रहेको देखिन्छ 

७. पुनरावेदक प्रतिवादीले आधार लिएको स्वयंकर घोषणा सम्बन्धी आर्थिक ऐन, २०५८ को दफा १० अन्तर्गतको अनुसूची६ को दफा ४२ को उपदफा (१) र (३) को व्यवस्था नै संविधानसँग बाझिएकोले अमान्य घोषित गरिपाऊँ भनी दायर भएको निवेदक जनहित संरक्षणमञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा विरुद्ध मन्त्रिपरिषद् सचिवालय समेत भएको संवत् २०५९ सालको रिट नं. ८४ को निवेदनमा VDIS सम्बन्धी यस्तो खालको नीतिगत व्यवस्थाबाट संविधानको धारा ९८(१) अनुसारको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारलाई संकुचित र नियन्त्रित गरेको भन्न नसकिनेभनी यस अदालतको विशेष इजलासबाट मिति २०६०।२।१ मा निर्णय भै स्वयंकर घोषणामार्फत् कर तिरेकै भरमा त्यस्तो सम्पत्तिको स्रोत खोज्न र भ्रष्टाचारमा मुद्दा चलाउन बाधा नपर्ने भन्ने व्याख्या स्थापित भएको अवस्था छ 

८. त्यसैगरी निवेदक अधिवक्ता कमलेश द्विवेदी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको रिट नं. ०६५–WS–००१९ को निवेदनमा मिति २०६५।६।३ को नेपाल राजपत्रमा प्रकाशित स्वयंकर घोषणासम्बन्धी सूचना नेपालको अन्तरिम संविधान, २०६३ को विभिन्न व्यवस्थाहरूसँग बाझिएको भन्ने समेत जिकीर लिइएकोमा यस अदालतको विशेष इजलासबाट सो सूचित आदेशको दफा ३४ अमान्य र बदर घोषित गर्दै सार्वजनिक पदमा बसी वा सार्वजनिक पदमा नबसेकाहरूले पनि अनुचित कार्य वा भ्रष्टाचार गरी गैरकानूनी रुपले सम्पत्ति आर्जन गरी त्यसैबाट दश प्रतिशत कर तिर्ने व्यक्तिको सम्पत्तिको स्रोतबारे छानबीन गर्न वा मुद्दा चलाउन नपाउने हो भने सार्वजनिक पदमा रही भ्रष्टाचार गर्नेलाई प्रोत्साहन मिल्ने मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संविधान र प्रचलित कानूनबमोजिम प्रदत्त क्षेत्राधिकार कटौती भई सो निकायको कामकारवाहीमा अनुचित हस्तक्षेपको अवस्था सिर्जना हुन पुग्नेभन्ने समेत सिद्धान्त प्रतिपादन भएको (नेकाप २०६७ नि.नं.८४५२, पृष्ठ १४४५) देखिन आउँछ 

९. पुनरावेदक प्रतिवादीले लिएको VDIS सम्बन्धी जिकीर माथि उद्धृत गरिएका नेपाल सरकार विरुद्ध इश्वरप्रसाद पोखरेल र नेपाल सरकार विरुद्ध चिरञ्जिवी वाग्ले समेत प्रतिवादी भएका भ्रष्टाचार मुद्दाहरूमा पनि उठाएको देखिन्छ । ईश्वरप्रसाद पोखरेल समेत प्रतिवादी भएको मुद्दामा यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तलाई अनुशरण गर्दै चिरञ्जिवी वाग्ले समेत प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा स्वयंकर घोषणामार्फत् दश प्रतिशत कर तिरेको आधारमा त्यस्तो सम्पत्तिको स्रोत खोज्न नमिल्ने भन्ने जिकीरलाई खारेज गर्दै यस अदालतबाट आर्थिक ऐनले आयकर प्रयोजनका लागि गरेको व्यवस्था र त्यसरी आयकर तिरेको अवस्थामा स्वयं घोषणा गरिएको सम्पत्तिको स्रोतको बारेमा कुनै पनि प्रयोजनको लागि छानबीन नगरिने भनिएको कुरालाई आधार बनाई आयकर बाहेक अन्य कुनै पनि प्रयोजनका लागि समेत सम्पत्तिको स्रोत खोज्न नसकिने गरी विस्तार गर्न नसकिनेभन्ने समेत व्याख्या भएको (नेकाप २०६७ नि.नं.८५१९, पृष्ठ २००७) देखिएको छ 

१०. उपरोक्त रिट निवेदन र मुद्दाहरूको रोहबाट यस अदालतको पूर्ण, विशेष र संयुक्त इजलासहरूबाट भएका विश्लेषण र प्रतिपादित सिद्धान्तहरूबाट यस विषयमा पनि एक निश्चित न्यायिक मान्यता र सिद्धान्त स्थापित भैरहेको अवस्था देखिन आएकोले VDIS तिरेको सम्पत्तिको स्रोत खोजी गर्न नमिल्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन 

११. त्यस्तै वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्रमा सम्पत्ति मूल्याङ्कनका सम्बन्धमा विशेष अदालतबाट ग्रहण गरिएको आधार ऐनको दफा २० को प्रतिकूल भएको भन्ने जिकीर लिइएको पाइयो । गैरकानूनी आर्जन र सोबाट बढेबढाएको सम्पत्ति जफत हुने ऐनको प्रावधानको पृष्ठभूमिमा सम्पत्ति प्राप्त गर्दाको मूल्यलाई आधार मान्दा हाल त्यसबाट बढेबढाएको सानो अंशले मात्र जरीवाना तिर्न पुग्ने भै गैरकानूनी आर्जनको विगोको परिमाण बराबर दण्ड गर्ने कानूनको उद्देश्य पराजीत हुने हुँदा हालको मूल्यका आधारमा विगो कायम गरिपाऊँ भन्ने समेत वादी नेपाल सरकारको पुनरावेदन पत्रमा जिकीर लिएको पाइन्छ 

१२. यस परिप्रेक्ष्यमा सम्पत्तिको मूल्याङ्कनको आधार सम्पत्ति प्राप्त गर्दाको मूल्यलाई मान्नु पर्ने हो वा सोबाट बढेबढाएको अभियोग पेश गर्दाको अवस्थाको कायम हुने हो भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्न आएको छ । यस सम्बन्धमा न्यायोचित निष्कर्षमा पुग्नको लागि भ्रष्टाचार निवारण ऐन, २०५९ को कानूनी व्यवस्थाहरू दृष्टिगत गर्नु प्रासंगिक हुन आउँछ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने कसूर सम्बन्धी व्यवस्था ऐनको दफा २०(१) मा भएको छ भने सो कसूरबापत हुने सजायसम्बन्धी व्यवस्था दफा २०(२) मा भएको देखिन्छ । दफा २०(१) मा उल्लेख भएका अन्य व्यवस्थाहरूको अतिरिक्त अन्तिम वाक्यांशमा “...त्यस्तो सम्पत्ति केकस्तो स्रोतबाट प्राप्त गरेको हो भन्ने कुरा निजले प्रमाणित गर्नुपर्नेछ र नगरेमा त्यस्तो सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको मानिनेछभन्ने उल्लेख भएको देखिएबाट स्रोत पुष्टि गर्न नसकेको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको मानिने कानूनी व्यवस्था गरिएको प्रष्ट हुन आउँछ । त्यसै गरी सजाय सम्बन्धमा भएको दफा २०(२) को व्यवस्था हेर्दा कुनै राष्ट्रसेवकले दफा २०(१) बमोजिम गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको विगोअनुसार दुई वर्षसम्म कैद र बिगोबमोजिम जरीवाना गरी त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्तिसमेत जफत गरिनेछभन्ने उल्लेख भएको देखिन्छ । कसूरका सम्बन्धमा गरिएको दफा २०(१) र सजायका सम्बन्धमा गरिएको दफा २०(२) को दुवै कानूनी व्यवस्थाले स्रोत पुष्टि नभएको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको विगोलाई नै कसूर र सजायको आधार मानेको देखिँदा गैरकानूनी आर्जनबाट बढेबढाएको सम्पत्तिलाई पनि गैरकानूनी आर्जनको विगो कायम गरी सजाय गर्न मिल्ने अभिप्राय राखेको देखिन आउँदैन 

१३. उपरोक्त कानूनी व्यवस्थासँग अन्तरप्रभावी ऐनको दफा ४७ को व्यवस्थालाई पनि यस परिप्रेक्ष्यमा हेरिनु सान्दर्भिक हुन आउँछ । वादी पक्षले अभियोगमा दावी लिएको उक्त दफा ४७ मा सम्पत्ति जफत सम्बन्धी कानूनी व्यवस्था रहेको पाइन्छ । दफा ४७ को मूल व्यहोरामा कुनै व्यक्तिले यो ऐन वा प्रचलित कानूनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरी आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरु कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछभन्ने समेत उल्लेख भएको देखिन्छ 

१४. उपरोक्त कानूनी व्यवस्थाहरूको अध्ययनबाट भ्रष्टाचारजन्य कार्यबाट आर्जन गरेको गैरकानूनी सम्पत्तिको विगो कायम गर्ने र जफत गर्ने सम्बन्धमा ऐनले पृथकपृथक मापदण्ड अवलम्बन गरेको देखियो । गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको विगोसम्म कायम गरी सजाय गर्ने तथा बढेबढाएको सम्पत्तिलाई आर्जन गरेको विगो कायम नगरी जफत मात्र गर्ने विधायिकाको मनसाय रहेको कुरा उपरोक्त दफा २० र ४७ को कानूनी व्यवस्थाबाट स्पष्ट हुन आएको छ । पुनरावेदक वादी पक्षको पुनरावेदन जिकीरबमोजिम बढेबढाएको सम्पत्तिको पनि विगो कायम गर्ने ऐनको उद्देश्य रहेको भए दफा २० बाट सो कुरालाई बाहेक गर्नुपर्ने र बढेबढाएको सम्पत्ति जफत हुने विषय दफा ४७ मा छुट्टै समावेश गर्नुपर्नाको कुनै विवेकसम्मत र मनासिब अधार देखिँदैन 

१५. औचित्यका आधारमा हेर्ने हो भने पनि जुन सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो त्यस्तो सम्पत्ति आर्जन गर्दा हालको मूल्य तिरिने नभई तत्काल प्रचलित मूल्य नै लगानी भएको हुन्छ । प्रतिवादीको तत्समयको आयस्रोतका आधारमा आर्जित सम्पत्तिको स्रोत पुष्टि भए नभएको कुरालाई नै ऐनले कानूनी र गैरकानूनी आर्जन छुट्याउने मापदण्ड मानेको हुँदा त्यस्तो सम्पत्ति आर्जन गर्दा प्रतिवादीको स्रोत कति थियो र कति लगानी गरेको हो भन्ने कुराबाटै कसूर निर्धारण हुने र विगो कायम गर्नुपर्ने पनि हुन्छ । त्यसको लागि वादी पक्षले अन्यथा प्रमाणित गरेमा बाहेक कारोवारको लिखतमा उल्लिखित मूल्य वा तत्काल प्रचलित दरभाउलाई नै सम्पत्तिको मूल्य कायम गर्ने आधार बनाउँनु न्यायोचित हुन आउँछ । यस्तै प्रकृतिको प्रश्न उठाइएको माथि उद्धृत नेपाल सरकार विरुद्ध चिरञ्जिवी वाग्ले समेत भएको भ्रष्टाचार मुद्दामा पनि अनुसन्धानको क्रममा गरिएको मूल्याङ्कनको आधारमा नभई लिखत मूल्यको आधारमा नै विगो कायम गरी एक प्रकारको मापदण्ड (नेकाप २०६७, नि.नं.८५१९) कायम भएको देखिन्छ 

१६. उपरोक्त कानूनी विश्लेषण र प्रतिपादित सिद्धान्त समेतको आधारमा हालको मूल्यलाई आधार मानी विगो कायम गर्नुपर्ने भन्ने वादी पक्षको पुनरावेदन जिकीर आधारहिन देखिन आएकोले लिखत मूल्य र तत्कालीन कारोवार मूल्यलाई आधारमानी विगो कायम गरेको विशेष अदालतको फैसला अन्यथा देखिन आएन 

            १७. स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा निश्चित दावी नभएको अवस्थामा विशेष अदालतले न्यायिक विवेकको आधार भनी स्रोत खुलेको र नखुलेको सम्पत्ति छुट्याई गरेको फैसला ऐनको दफा २०(१) प्रतिकूल रहेको छ भन्ने पनि प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको पाइन्छ । स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा अभियोगमा उल्लेख नभएपछि दावी नै प्रमाणित हुन सक्दैन भन्ने पनि प्रतिवादी पक्षका कानून व्यवसायीहरूको बहस जिकीर रहेको छ । त्यस्तै प्रतिवादीको आय र आर्जनको प्रष्ट विश्लेषण नगरी गोलमटोलरुपमा विवेचना गरेको भन्ने वादी पक्षको पुनरावेदनमा समेत उल्लेख गरेको देखियो 

१८. मिति २०३२ साल मंसिर देखि २०५९।७।८ सम्मलाई मूल्याङ्कन अवधि (Check Period) मानी अभियोगपत्र दायर भएको छ । तर उक्त अवधिमध्ये कुन कुन वर्ष प्रतिवादीको आयस्रोत कति थियो र के कति सम्पत्ति आर्जन भएको थियो भन्ने कुरा तुलनात्मक रुपमा प्रष्ट देखिने नगद प्रवाह सूची वादी पक्षले अभियोगपत्र साथ समावेश गर्न नसकी प्रतिवादीको साथमा रहेको सम्पत्ति, सो अवधिमा निजको आयस्रोत र आयस्रोतबाट नखाम्ने सम्पत्ति सम्मको गोलमटोल विश्लेषण पेश गरेको देखिन्छ । यस प्रकार प्रतिवादीको प्रत्येक वर्षको आम्दानी र खर्चको तुलनात्मक विवरणसहित निश्चित् र किटानी दावी लिनु पर्ने दायित्व भएको पुनरावेदक वादी पक्ष स्वयंले सो कार्य गर्न नसकेको अवस्थामा अदालतको फैसलामा त्यस प्रकारको विश्लेषण आउन सकेन भनी जिकीर लिनु जिम्मेवारीपूर्ण तर्क हुन सक्दैन । वादी पक्षले त्यस हिसावले दावी लिन नसकेको र प्रतिवादीले अदालतमा बयान गर्दा समेत प्रत्येक वर्षको निजको आयस्रोत र खर्चको प्रष्ट चित्रण उल्लेख गर्न नसकेको अवस्थामा मुद्दाका पक्षहरूको कमी कमजोरीको कारणबाट सिर्जित परिस्थितिको दोष अदालतलाई लगाउनु न्यायोचित हुँदैन । वादी प्रतिवादी पक्षबाट पेश भएका तथ्य एवम् प्रमाणहरूको विवेचना विश्लेषण गर्ने बाहेक अदालत आफैंले तथ्यको उत्खनन् गर्दैन । यसै सन्दर्भमा प्रतिवादीको कुल सम्पत्ति र कुल आय तथा खर्चको सम्बन्धमा विशेष अदालतले विश्लेषण गरेको र सो विश्लेषणका सम्बन्धमा यस अदालतले प्रस्तुत पुनरावेदनको रोहबाट हेर्ने अवस्था बाँकी नै रहेको हुँदा प्रतिवादीहरूको पुनरावेदन जिकीर उचित देखिँदैन 

            १९. त्यसमा पनि प्रतिवादीको जाँच अवधिको वैध आय कति हो र निजले सो अवधिमा के कति सम्पत्ति आर्जन गरेका छन् तथा बैध आय र आर्जनका बीच के कति समानता वा अन्तर रहेको छ भन्ने कुराको निष्कर्ष नै दफा २०(१) बमोजिम कसूर ठहर गर्नका लागि पर्याप्त आधार हुने भै सो विश्लेषणबाट दफा २०(२) बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको विगो समेत यकीन हुने अवस्था रहने देखिन्छ । त्यसैले स्रोत खुलेको र नखुलेको सम्पत्तिको किटानी नहुँदैमा अभियोग दावी नै स्थापित हुन नसक्ने भन्ने प्रतिवादी पक्षको पुनरावेदन जिकीर आधारहिन देखियो । वस्तुतः गैरकानूनी आर्जन तथा सोबाट बढेबढाएको सम्पत्ति जफत गर्नुपर्ने ऐनको दफा २०(२) र ४७ को कानूनी व्यवस्थाको प्रयोजनका लागिसम्म स्रोत खुलेको र नखुलेको सम्पत्ति निश्चित गर्नुपर्ने हुन आउँछ । अभियोग दावीमा स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा किटान नभएको अवस्थामा अदालतले न्यायिक विवेक प्रयोग गरी त्यस्तो वर्गीकरण गर्नुको विकल्प नभएकोले सो कुरामा प्रश्न उठाउनु उचित हुन सक्दैन 

२०. अब, मुद्दाको अनुसन्धान तहकीकातमा प्रक्रियागत त्रुटि भएको वा रीतपूर्वक नभएको भन्ने दोस्रो प्रश्नका बारेमा विचार गर्नुपर्ने हुन आएको छ । प्रतिवादीहरूको पुनरावेदनपत्रमा अनुसन्धान वेरीतको भएको भन्ने जिकीर लिन सकेको पाइँदैन । अपितु प्रतिवादीका तर्फबाट बहस गर्नु हुने प्राय सबै कानून व्यवसायीहरूले यस विषयलाई बहसको क्रममा महत्वका साथ उठाउनु भएको छ । खासगरी राप्ती पुलको विषयबाट अनुसन्धान कारवाही उठान गरी पटकपटक म्याद थप गरिएकोमा गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी मुद्दा दायर गरिएको, प्रतिवादीहरूको बयानलगायतका कामकारवाही अनुसन्धान अधिकृत गणेशमान मानन्धरबाट भएकोमा चेतनाथ घिमिरेबाट मुद्दा दायर गरिएको, मुख्य प्रतिवादी रामाज्ञा चतुर्वेदीको बयान नलिई लामो समयसम्म हिरासतमा राखी पहिले प्रतिवादी आशा चतुर्वेदीको बयान गराइएको, मिति २०५९।१०।२० मा नै मुद्दा चलाउने निर्णय गरिएकोमा त्यसपछि पनि बुझ्ने कार्य जारी राखेकोबाट अनुसन्धान तहकीकात स्वच्छ नभएको भन्ने समेतका प्रश्नहरू उठाइएका छन् 

२१. वस्तुतः स्वच्छ सुनुवाईको हकलाई फौजदारी मुद्दामा विशेष महत्व दिई सम्मान गर्ने गरिन्छ । तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४ र नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ मा यस विषयलाई मौलिक हककै रुपमा स्थान दिइएको पनि छ । स्वच्छ सुनुवाई अन्तर्गत मुख्यतः पूर्व सुनुवाई, सुनुवाइ र सुनुवाइपश्चात् समेत गरी तीन चरणहरू समेटिएका हुन्छन् । खास गरी पूर्व सुनुवाईको चरणमा पक्राउ गर्दा पक्राउ गर्नुपर्ने आधार कारण सहितको जानकारी दिनुपर्ने, कानून व्यवसायीसँग परामर्श गर्न दिइने, यातना दिन नहुने र पक्राउ गरेको २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरी निजकोे आदेशबाट मात्र हिरासतमा राख्नु पर्ने आदि विषयहरू पर्दछन् 

२२. पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई राप्ती पुल निर्माणको क्रममा अनियमितता भएको भन्ने सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरेको देखिए पनि सोही अनुसन्धानको क्रममा प्राप्त तथ्य, जानकारी समेतका आधारमा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने विषयमा अनुसन्धान केन्द्रित भएको देखिन आउँछ । प्रतिवादीलाई हिरासतमा लिने क्रममा दिइएको पक्राउ पूर्जिमा राप्ती पुलको विषयका अतिरिक्त गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएको भन्ने प्रष्ट उल्लेख भएको देखिन्छ । साथै अदालतमा पटकपटक म्याद थप गर्दा पनि उपरोक्त दुवै विषयहरू उल्लेख भएको देखिन आउँछ 

२३. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को परिच्छेद४ अन्तर्गत दफा १३ मा भ्रष्टाचार सम्बन्धी उजूरी, दफा १४ मा प्रारम्भिक छानबीन र दफा १६ मा अभियुक्तलाई थुनामा राख्ने कार्यविधिहरूका बारेमा उल्लेख भएको देखिन्छ । त्यसैगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद३ मा भ्रष्टाचारको कसूरको अनुसन्धान, तहकीकात र मुद्दा दायरीसम्बन्धी कार्यविधिहरू अभिनिश्चित् गरिएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २५ मा कुनै पनि व्यक्तिले भ्रष्टाचार गरेको छ वा गर्न लागेको छ भन्ने कुरा कुनै सूचना वा स्रोत वा कसैको उजूरीबाट अनुसन्धान अधिकारीले जानकारी पाएमा तत्सम्बन्धमा आवश्यक अनुसन्धान तहकीकात तथा अन्य कारवाही गर्नेछभन्ने उल्लेख भएको देखिएबाट अनुसन्धान अधिकारीले जुनसुकै व्यहोराबाट यस विषयमा जानकारी लिन सक्ने देखिन्छ । राप्ती पुलको विषयबाट अनुसन्धान प्रारम्भ भएको देखिए तापनि तहकीकातको क्रममा प्रतिवादीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने देखिन आई अनुसन्धान अधिकारीबाट त्यसै विषयमा अनुसन्धान अघि बढाएको र त्यसरी अनुसन्धान अघि बढाउन कानूनले रोक लगाएको पनि देखिँदैन । अनुसन्धानको क्रममा प्रतिवादीसँग लिइएको बयान हेर्दा राप्ती पुलको विषयमा नभई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने विषयमा नै प्रश्नहरू सोधी जवाफ लिइएको पाइन्छ । यसबाट प्रतिवादीले अभियोग लगाइएको विषयमा अनुसन्धानको क्रममा आफ्नो सफाइ पेश गर्ने पर्याप्त अवसर नपाएको भन्ने देखिँदैन 

२४. त्यसै गरी शुरुमा तोकिएको अनुसन्धान अधिकारी गणेशमान मानन्धरले अवकाश पाएको कारणबाट चेतनाथ घिमिरेले अनुसन्धान अधिकारीको हैसियतले अभियोजनको कार्य गरेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १३ मा आयोगले कुनै विषयमा अनुसन्धान तहकीकात गर्न तोकिदिएको अनुसन्धान अधिकृतले आफूलाई तोकिएको काम कुनै कारणबस सम्पन्न गर्न नसकेमा, नभ्याएमा वा निजबाट सो काम सम्पन्न हुन नसक्ने भएमा सो काम अर्को अनुसन्धान अधिकृतबाट अनुसन्धान गराउन पर्ने भएमा आयोगले अर्को अनुसन्धान अधिकृत तोकी पुनः अनुसन्धान तहकीकात गराउन वा साविकको अनुसन्धान अधिकृतले सम्पन्न गर्न बाँकी रहेको कार्य सम्पन्न गराउन सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । पहिले तोकिएको अनुसन्धान अधिकृत अवकाश भएको स्थितिमा आयोगबाट उक्त कानूनी प्रावधानअनुरूप चेतनाथ घिमिरेबाट बाँकी काम सम्पन्न भै अभियोजन गरिएको कामकारवाहीमा कुनै कानूनी वा प्रक्रियात्मक त्रुटि विद्यमान रहेको देखिएन 

२५. त्यसमा पनि अनुसन्धान तहकीकातको क्रममा भए गरेका कामकारवाही वा प्रक्रियाका सम्बन्धमा अदालतसमक्ष म्याद थप गर्दाका बखत प्रश्न उठाउन पाइने र सम्बन्धित अदालत स्वयम्‌बाट पनि यस सम्बन्धमा न्यायिक सुपरिवेक्षण हुने गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा (२) मा भ्रष्टाचारको आरोपमा कारवाही चलाएको व्यक्तिलाई थुनामा राखी तहकीकात जारी राख्नु पर्ने अवस्था भएमा पक्राउ गरेको २४ घण्टाभित्र अदालतमा पेश गर्नुपर्ने र त्यसरी अनुमति माग्दा थुनामै राख्नुपर्ने कारण, बयान भैसकेको भए सोको व्यहोरा समेत प्रष्ट उल्लेख गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसरी अदालतमा उपस्थित गराइएको व्यक्तिले आफ्नो शारीरिक जाँचको लागि निवेदन दिन सक्ने व्यवस्था उपदफा (३) मा गरिएको पाइन्छ भने आफू थुनामा रहनु नपर्ने कारण आधार खोली अदालतसमक्ष निवेदन गर्न दिन सक्ने व्यवस्था उपदफा (५) मा भएको पाइन्छ । म्याद थपको अनुमति मागिएको विषयमा अदालतले सम्बन्धित कागजातहरू हेरी तहकीकात सन्तोषजनक रुपमा भए नभएको विचार गरी सन्तोषजनक रुपमा तहकीकात भइरहेको देखिएमा एकपटकमा एक महिनामा नबढ्ने गरी बढीमा छ महिनासम्म थुनामा राख्ने अनुमति दिन सक्ने व्यवस्था उपदफा (४) मा रहेको पाइन्छ । उपरोक्त कानूनी व्यवस्थाहरूले अनुसन्धानको प्रक्रियालाई न्यायिक सुपरिवेक्षणमा राखी अनुसन्धानको क्रममा हुन जाने प्रक्रियात्मक त्रुटि वा वेरीत विरुद्ध न्यायिक उपचार तथा सुपरिवेक्षणको मार्ग प्रशस्त गरिरहेको देखिँदा सामान्यतया अनुसन्धानको क्रममा उठ्न सक्ने र उठाइनु पर्ने प्रश्नहरू मौकामा नै उठाइनु वा हेरिनु वाञ्छनीय हुन्छ 

२६. प्रस्तुत मुद्दामा उपरोक्त कानूनी व्यवस्थाबमोजिम प्रतिवादीले म्याद थप गर्दाका बखत आफूलाई थुनामा नराखी अनुसन्धान तहकीकात गर्नुपर्ने कुरा उल्लेख गरी अदालतमा निवेदन दिएको देखिए तापनि हाल यस अदालतमा उठाएको जस्तो विषयहरू उठाएको देखिँदैन । प्रमाणहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कब्जामा रहेको हुँदा आफूले नष्ट गर्ने अवस्था नरहेकाले हिरासतमा राखेर अनुसन्धान गर्नु नपर्ने भन्नेसम्मका जिकीरहरू लिएको देखिन्छ । पुनरावेदक प्रतिवादीले म्याद थपको क्रममा दिएको निवेदनमा विशेष अदालतले प्रतिवादीका कानून ब्यवसायीहरूको बहस समेत सुनी म्याद थपको अनुमति दिएको देखिएकोले अनुसन्धानको क्रममा उठेका र उठाइएका विषयहरूलाई विशेष अदालतले तत्समयमा नै सम्बोधन गरेको देखिन आउँछ 

२७. यस परिप्रेक्ष्यमा विशेष अदालतबाट फैसला भई हाल सो उपरको पुनरावेदनमा सुनुवाई हुने अन्तिम अवस्थामा आएर त्यस प्रकारका प्रारम्भीक प्रश्नहरू उठाउनु कानूनसम्मत तथा न्यायिक प्रक्रियाको दृष्टिकोणबाट पनि उचित, सुविधाजनक र व्यावहारिक हुने देखिँदैन । अनुसन्धानको प्रक्रियामा रहन गएका भनिएका र सम्बन्धित अदालतबाट मौकैमा सुपरिवेक्षण भएका प्राविधिक प्रकृतिका अति सूक्ष्म विषयहरूलाई जुनसुकै तहसम्म उठाइएकै कारणबाट मुद्दाको विषयवस्तुभित्र अन्तर्निहीतरहेका मुख्य कानूनी र तथ्यगत प्रश्नहरू ओझेलमा परेको वा तिनको सान्दर्भिकता कम भएको सम्झन र अर्थ गर्न नमिल्ने हुँदा विद्वान कानून व्यवसायीहरूको उपरोक्त बहस जिकीरसँग सहमत हुन सकिएन 

२८. आयको वैधानिकता जाँचिने प्रस्तुत मुद्दामा बकसपत्रबाट पाएको भनिएको सम्पत्तिको वैधानिकता के कस्तो हुने हो र त्यसको स्रोत प्राप्तिको आधार र स्रोत खुलाउनु पर्ने नपर्ने के हो भन्ने प्रश्न पनि प्रस्तुत मुद्दामा उपस्थित हुन आएको छ । प्रतिवादीहरूको पुनरावेदन तथा पुनरावेदक प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूले बहसको क्रममा निजी ज्ञान, सीप र प्रयासबाट दातालाई रिझाएबापत् बकस पत्रको माध्यमबाट सम्पत्ति प्राप्त हुने, त्यसरी सम्पत्ति प्राप्त गर्दा कुनै लगानी नपर्ने, अंशलगायतका मुद्दाहरूमा बकसपत्रबाट प्राप्त सम्पत्ति त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिको आफूखुश गर्न पाउने निजी सम्पत्ति मानी बण्डा नलाग्ने सिद्धान्त प्रतिपादन भएको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) मा समेत बकसपत्र प्राप्त गरेको कुरालाई नभई आफ्नो हैसियतभन्दा बढी दान बकस दिएको सम्पत्तिको मात्र स्रोत पुष्टि गर्नुपर्ने कानूनी व्यवस्था भएको हुँदा बकसपत्रको माध्यमबाट प्राप्त गरेको सम्पत्तिको स्रोत पुष्टि नभएको भनी अवैध ठहर्‍याएको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने जिकीर लिएको पाइन्छ । प्रतिवादी तथा निजका परिवारका सदस्यहरूले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति अस्वाभाविक देखिएको, बकसपत्र दिने र पाउने व्यक्तिहरूका बीचमा कुनै नाता र सम्बन्ध रहेको नदेखिएको, कतिपय बकसपत्रमा अबैध आर्जनलाई लुकाउने नियतले बकसपत्रको माध्यमबाट सम्पत्ति प्राप्त गरेको हुँदा त्यसको स्रोत प्रतिवादीले पुष्टि गर्न सक्नुपर्नेमा प्रतिवादीबाट सो हुन सकेको छैन । त्यसैले केहीलाई वैध र केहीलाई अवैध आर्जन ठहर्‍याएको विशेष अदालतको फैसला नमिलेको हुँदा प्रतिवादीले पाएको बकसपत्रको सबै सम्पत्तिलाई अबैध ठहर गर्नुपर्नेमा सो नगरेको हदसम्म विशेष अदालतको फैसला नमिलेकोले उल्टी हुनुपर्छ भन्ने समेत वादी पक्षको पुनरावेदन जिकीर रहेको देखिन्छ 

२९. उपरोक्त जिकीरहरूका सन्दर्भमा बकसपत्रबाट सम्पत्ति प्राप्त हुने कानूनी व्यवस्था र यसको व्यावहारिक पक्ष एवम् गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने प्रस्तुत मुद्दामा त्यसको सान्दर्भिकतालगायतका प्रश्नहरूमा विश्लेषण हुनु वाञ्छनीय देखिन आएको छ 

३०. दान बकसका सम्बन्धमा सारभूत कानूनी व्यवस्था मुलुकी ऐन, दान बकसको महलअन्तर्गत समावेश भएको पाइन्छ । यस महलमा समानान्तर रुपमा प्रयुक्त भएका दान र बकस भन्ने दुई शब्दावलीको अर्थ एकै हो वा फरक हो भन्ने सम्बन्धमा केही उल्लेख भएको नदेखिए तापनि ती शब्दहरूले एकै विषयलाई जनाउँको अवस्था होइन । दान भन्ने शब्दको सम्बन्ध धार्मिक मूल्य र मान्यतासँग अन्योन्याश्रित रहेको छ । खास गरी दाताले आफ्नो धार्मिक मान्यताअनुरूप पुण्य कमाउने अभिप्रायबाट आफ्नो सम्पत्ति दान दिने प्रचलन नेपाली समाजमा विद्यमान रही आएकोले यसलाई त्यही अर्थमा बुझ्न सकिन्छ । तथापि बकसपत्रको सन्दर्भ केही फरक रहेको छ । सेवा सुश्रुसा वा अन्य तरिकाबाट कसैको व्यवहारमा सहयोग पुर्‍याई रिझाएबापत बकसपत्रको माध्यमबाट सम्पत्ति दिने प्रचलन रहेको पाइन्छ । यसरी हेर्दा दान पाउने व्यक्तिले दाताप्रति कुनै दायित्व बहन गरेको वा गर्नुपर्ने स्थिति नहुने भई दाताको धार्मिक विश्वास परिपूर्तिको लागि निस्वार्थ रुपमा दान दिने र प्राप्त गर्ने क्रिया हुन्छ । तर बकसपत्रबाट सम्पत्ति प्राप्त गर्न सामान्यतया बकसपत्र पाउनेले दातालाई निजको व्यवहारमा कुनै तरहले सहयोग पुर्‍याएको वा सेवा गरी रिझाएको हुनु पर्ने स्थिति र अवस्थाको विद्यमानता अपरिहार्य हुन्छ । त्यसैगरी सम्पत्ति बकस दिनसक्ने दाताको हैसियत, बकसपत्र पाउनेको दातासँगको पारिवारिक, नाता र अन्य सम्बन्ध तथा व्यवहारिक पक्ष पनि बकसपत्रको अवधारणा अन्तर्गत स्वतः समेटिएको हुन्छ 

३१. दान बकसको महल अन्तर्गत १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ । सोबमोजिम दान वा बकस गरिदिँदा हकवालालाई बकस भनी र अरुलाई दान वा बकस जुन व्यहोराले दिए पनि हुन्छ । आफ्नो खुश गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरूको मञ्जूरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिन हुँदैनभन्ने उल्लेख भएको देखिन्छ । दान बकस लिने दिने सम्बन्धमा प्रचलित नेपाल कानूनमा भएको सारवान व्यवस्था यही नै हो । उपरोक्त कानूनी व्यवस्थाको अध्ययनबाट आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस जुनसुकै व्यहोराले दिन सकिने, हकवालालाई बकसपत्र भनी दिन पाइने र हकवाला बाहेकका अरु व्यक्तिलाई दान वा बकस जुन व्यहोराले दिए पनि हुने भन्ने सरल र सीधा अर्थ अभिव्यक्त भैरहेको पाइन्छ 

३२. मुलुकी ऐन अंशबण्डाको महलको १८ नं. मा अन्य कुराका अतिरिक्त कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको आर्जन वा सम्पत्ति आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउने र बण्डा लाग्दैन भन्ने समेत उल्लेख भएको देखिन्छ । यसबाट दान बकसको १ नं. को सीधा अन्तरसम्बन्ध अंशबण्डाको १८ नं. सँग रहेको देखिन आउँछ । खास गरी दान वा बकस पाएको सम्पत्ति प्राप्त गर्नेको निजी मानिने हुँदा आफूखुश गर्न पाउने र अन्य अंशियारलाई बण्डा नलाग्ने भन्ने व्यवस्थासम्म उक्त १८ नं. ले गरेको पाइन्छ । त्यसै गरी लेनदेन व्यवहारको १० नं. ले आफूखुश गर्न पाउने सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा एकाघर सगोलका अंशियारको मञ्जूरी नचाहिने व्यवस्था गरेको हुँदा दान वा बकस पाएको सम्पत्ति उपभोग गर्ने कुरामा त्यस्तो सम्पत्ति प्राप्त गर्नेलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको देखिन्छ । यस अदालतबाट अंशबण्डाको १८ नं. र लेनदेन व्यवहारको १० नं. मा रहेको उपरोक्त कानूनी व्यवस्थाको सोही अनुरूप व्याख्या हुँदै आएकोबाट बकसपत्रबाट प्राप्त सम्पत्ति बकस पाउनेको निजी आर्जनको सम्पत्ति मानिने भई अन्य अंशियारलाई बण्डा नलाग्ने तथा आफूखुश गर्न पाउने भन्ने न्यायिक मान्यता स्थापित भएको पाइन्छ । उपरोक्त कानूनी व्यवस्था र न्यायिक व्याख्याबाट हालसम्म विकसित भएको आधिकारिक विधिशास्त्रीय अवधारणा यही नै हो 

३३. तर प्रस्तुत मुद्दामा बकसपत्रमार्फत् प्राप्त गरिएका सम्पत्तिहरू बण्डा लाग्ने नलाग्ने वा आफूखुश गर्न पाउने हो, होइन भन्ने विषय समावेश भएको नहुँदा सो पक्षको सान्दर्भिकता प्रस्तुत मुद्दामा रहेन । पुनरावेदक प्रतिवादीले सार्वजनिक पदमा रहँदा गैरकानूनी तवरले आर्जन गरेको सम्पत्ति लुकाई त्यसलाई वैधानिकता दिने उद्देश्यबाट बकसपत्रको माध्यमबाट आफू तथा परिवारका सदस्यहरूका नाममा अस्वाभाविक रुपमा सम्पत्ति प्राप्त गरेको हुँदा त्यसको स्रोत प्रतिवादीले पुष्टि गर्नु पर्दछ भन्ने वादी पक्षको मुख्य जिकीर भै सो नै प्रस्तुत मुद्दाको विवादको मुख्य विषयवस्तु रहेको देखिन्छ । उक्त दावीको कानूनी आधार स्वरुप भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को उल्लेखन भएको पाइन्छ । उक्त दफा २० कुनै खास घटनालाई भ्रष्टाचारको कसूरको रुपमा परिभाषित गर्ने कानून नभई सम्पत्ति विवरण अमिल्दो वा अस्वाभाविक देखिएको वा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थिति र अवस्था समेतबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने अनुमानित कसूर सम्बन्धी कानूनी व्यवस्था भएकोले सो कानूनी व्यवस्थाबमोजिम लिइएको अनुमानित दावीलाई खण्डन गर्नुपर्ने दायित्व वा प्रमाणको भार स्वतः प्रतिवादीउपर रहने देखिन्छ 

३४. पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदी तथा निजका परिवारका सदस्यका नाममा रहेका घर जग्गामध्ये लिखत मूल्य रु.१७,८६,३०६।५० का घरजग्गा बकसपत्रबाट प्राप्त भएको र त्यसको स्रोत प्रतिवादीले पुष्टि गर्न नसकेकोले अवैध मानिनु पर्ने भन्ने वादी पक्षको अभियोग दावी रहेको देखिन्छ । बकसपत्रबाट प्राप्त गरेको उपरोक्त घरजग्गामध्ये पर्सा वैरियाबिर्ता कि.नं.३५५ र सिर्सियाको कि.नं.२१७ को जग्गा रामसिंहासन चौवे र पर्सा वैरियाबिर्ताको कि.नं.३५६ को जग्गा रामअयोध्या चतुर्वेदीबाट प्राप्त गरेको र निजहरू प्रतिवादीका दाजुभाइ नाताका व्यक्ति भएको हुँदा लिखत मूल्य रु.२१,३००। बराबरका उपरोक्त जग्गा बाहेकका अन्य लिखत मूल्य रु.१७,६५,००६।५० का घरजग्गाको स्रोत पुष्टि नभएको भन्ने विशेष अदालतको ठहर रहेको छ । दाजुभाइहरू बीच रहेको आपसी व्यवहार र सम्बन्धका कारण बकस दिनसक्ने कुरा अस्वाभाविक नहुँदा त्यसलाई मान्यता नदिनुपर्ने कुनै कारण छैन । दाजुभाइहरू खेती किसानी गर्ने सामान्य व्यक्ति भएको र पुनरावेदक प्रतिवादी रामाज्ञा जागिरे भएकोले दाजुभाइहरूले निजलाई बकस दिएको अस्वाभाविक छ भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको देखिए पनि दाजुभाइबीच हुनसक्ने आपसी व्यवहारका विविध पक्षहरूलाई दृष्टिगत नगरी हचुवा रुपमा त्यस्तो व्यवहारलाई गैरकानूनी सम्पत्ति लुकाउने उद्देश्यबाट नै गरिएको होला भनी अनुमान गर्नु न्यायोचित हुँदैन । तसर्थ उपरोक्त तीन कित्ता जग्गाका सम्बन्धमा विशेष अदालतबाट भएको विश्लेषण मनासिब देखिएकोले उक्त जग्गाहरू पनि प्रतिवादीले नगद तिरी खरीद गरेको मान्नुपर्ने हुँदा त्यसको स्रोत पुष्टि गर्नु पर्दछ भन्ने वादी पक्षको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन 

३५. अब सो बाहेक लिखत मूल्य रु.१७,६५,००६।५० का उनाउँ व्यक्तिबाट पुनरावेदक प्रतिवादीहरूले बकसपत्रको माध्यमबाट प्राप्त गरेका जग्गाको सम्बन्धमा विचार गर्दा कुनै सम्बन्ध नै नभएका व्यक्तिहरूबाट पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदी तथा निजको परिवारका सदस्यहरूले अस्वाभाविक रुपमा बकसपत्रको माध्यमबाट ठूलो परिमाणमा सम्पत्ति प्राप्त गरेको देखिन्छ । गैरकानूनी आर्जन लुकाउन त्यसरी बकसपत्रको माध्यमबाट सम्पत्ति प्राप्त गरिएको हो भन्ने फौजदारी अभियोग लिइएको अवस्था हुँदा सो सम्बन्धमा न्यायिक परीक्षण गरी निष्कर्षमा पुग्नु नै पर्ने हुन्छ । जो सुकैबाट, जति पनि र जहिलेसुकै बकस पत्रबाट सम्पत्ति प्राप्त गरेकै कारणले त्यसलाई स्वतः वैध सम्पत्तिको मान्यता दिने र त्यसको स्रोत खोज्नै मिल्दैन भन्ने तर्क गर्ने हो भने बकस पत्र सम्बन्धी कानूनी व्यवस्था गैरकानूनी आर्जन लुकाउने वा ढाकछोप गर्ने माध्यमको रुपमा परिणत हुन पुग्ने र गैरकानूनी आर्जन गरेको मानिने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कानूनी व्यवस्था पराजीत हुन पुग्ने देखिन्छ । एउटा कानूनको व्याख्या गर्दा अर्को कानूनको व्यवस्था निष्किृय हुने अर्थ निकाल्न मिल्दैन । मुलुकी ऐनमा रहेको दानबकस सम्बन्धी कानूनी व्यवस्था बकसपत्र लिने दिने कार्यविधि व्यवस्थित गर्ने प्रावधान हुन् । के कति सम्पत्ति के कसरी बकस पत्र दिने वा कुनै पनि व्यवहार बकस पत्र हो वा होइन भन्ने कुराको सीधा र सोझो जवाफ उक्त कानूनमा पाउन सकिएला । परन्तु गैरकानूनी आर्जन लुकाउन बकस पत्रमार्फत् सम्पत्ति प्राप्त गरिएको भन्ने प्रश्न उठ्छ भने त्यसको निरोपण मुलुकी ऐन दान बकसको महलबाट खोज्न नसकिने हुँदा उक्त प्रश्नको हल भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) कै परिधिभित्र रही खोजी गर्नु सान्दर्भिक र कानूनसम्मत हुन जान्छ 

३६. प्रतिवादी रामाज्ञा चतुर्वेदीले दाजुभाइबाट बकस पाएको भनिएका उपरोक्त जग्गा बाहेक छोरा रितेश चतुर्वेदीले पर्सा, श्रीपुर वडा नं.६ कि.नं.८१४ र ८१७ को घरजग्गा, छोरा अभिषेक चतुर्वेदीले का.जि.धापासी गा.वि.स.वडा नं.८(क) कि.नं.८७०, ८७५, ८७३ र ८६७ को जग्गा र चितवन भरतपुर न.पा.वडा नं. ६ को कि.नं.३६९ को जग्गा तथा छोरी अदितीले पर्सा नौतन गा.वि.स.वडा नं.६(क) कि.नं.१६१ को जग्गा बकसपत्र लिखतबाट क्रमशः प्रशान्त सम्शेर ज.व.रा, प्रल्हाद शेरचन र देवेन्द्रकुमार, पञ्चकन्या तेलमील(तेजप्रसाद भट्टराई) तथा रामहरि शर्मा समेतबाट प्राप्त गरेको देखिएको छ । उल्लिखित जग्गामध्ये रामहरि शर्माबाट पर्सा नौतनको कि.नं.१६१ को जग्गा बकस लिएको लिखतमा अदिती चतुर्वेदीको उमेर १३ वर्ष उल्लेख भएको देखिन्छ । अपितु सो बकसपत्र लिखतको कैफियत महल हेर्दा तपाई बकस पाउनेले मेरो भैपरी आएको काम काज सेवा टहल औषधि उपचार समेत गरी मलाई रिझाएकोले सोही रिझबापत बकसपत्र दिएको भन्ने उल्लेख भएको देखिन आउँछ । माइती मावलीदेखि घर परिवारसम्म घरानिया र खान्दानी भएको जिकीर लिने इन्जिनियर जस्तो व्यक्तिको १३ वर्षको विद्यालय पढ्ने छोरीले कुनै नाता सम्बन्ध नै नभएको काठमाडौंमा बस्ने ७२ वर्षको रामहरि शर्मालाई उपरोक्त व्यहोराले सहयोग गरी रिझाउन सक्ने कुनै विवेकसम्मत र विश्वासप्रद आधार नभएकोले लिखतमा उल्लेख भएको व्यहोराले स्वाभाविक स्थितिको चित्रण गरेको मान्न सकिँदैन । त्यसै गरी चितवनको भरतपुर जस्तो महत्वपूर्ण स्थानको राजमार्गसँग जोडिएको कि.नं.३६९ को घर सहितको मूल्यवान जग्गा पञ्चकन्या तेलमील प्रा.लि.बाट तत्काल वर्ष १७ का प्रतिवादी अभिषेक चतुर्वेदीले बकस पाएको देखिन्छ । तेलमील प्रा.लि.जस्तो कानूनी व्यक्तिलाई रिझाएको भन्ने कुरा स्वयम्‌मा अपत्यारिलो र आधारहिन देखिन आउँछ 

            ३७. त्यसै गरी प्रतिवादीको श्रीमती पुनरावेदक प्रतिवादीमध्येकै आशा चतुर्वेदीले पर्सा, बहुअरी वडा नं.२ कि.नं.२११ र २१२ को जग्गा बकसपत्र लिखतबाट प्राप्त गरेको देखिन्छ । उक्त जग्गा बकसपत्र लिखत गरीदिने दाताहरू क्रमशः चन्द्रावतिदेवी कोइरी र शम्भुप्रसाद मानन्धरसँग प्रतिवादीको कुनै पारिवारिक र नाता सम्बन्ध भएको तथा यो यस व्यहोराले निजको व्यवहारमा सघाउ पुर्‍याई रिझाए बापत बकस पाएको भन्ने पुनरावेदनमा जिकीर लिन सकेको पाइदैन । आफूलाई प्रतिष्ठित र उच्च घरानाकी छोरी बुहारी भएको तथा माइतीबाट मात्र लाखौं रुपैयाँ दाइजो पेवा पाएको भनी जिकीर लिने निज प्रतिवादीले उनाउँ व्यक्तिको व्यवहारमा सहयोग पुर्‍याइ रिझाउनु पर्नेसम्मको आधार र अवस्था नहुँदा आशा चतुर्वेदीले पाएको भनिएको उपरोक्त बकसपत्रको ब्यवहार समेत यथार्थमा बकसपत्र नै हो भन्ने कुरा विश्वसनीय देखिन आउँदैन 

३८. साथै पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले पर्सा वैरियाबिर्ता वडा नं.७ को कि.नं.२१७, रामगढवा वडा नं.४ कि.नं.३२, ऐजन वडा नं.७ कि.नं.११०, का.जि.का.म.न.पा.वडा नं.७(ख) कि.नं.१९६, १९७, १९८, १९९, २०१, २०३, २०४, २०५, २०६, २०७, २०८, २२१ र २२२ (हाल काठमाडौं उपत्यका नगर विकास समितिबाट सोधभर्ना पाई कायम ऐजन वडा नं.३५ कि.नं.६४ र ५१को आधा) तथा मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका वडा नं. ९ कि.नं.४७७ र १०५१ का जग्गाहरू विभिन्न व्यक्तिहरूबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको देखिन्छ । उपरोक्तबमोजिम लिखत भएका काठमाडौं र हेटौंडा लगायत शहरी क्षेत्रका महत्वपूर्ण जग्गा पुनरावेदक प्रतिवादीलाई बकसपत्र दिने व्यक्तिसँग निजको कुनै पारिवारिक वा नाता सम्बन्ध भएको भन्ने निजको पुनरावेदन जिकीर छैन । साथै २०३२ सालदेखि नै सार्वजनिक जिम्मेवारीको पदमा रहेको तथा आफ्नो पारिवारिक हैसियत राम्रो भएको जिकीर लिने व्यक्ति पुनरावेदक प्रतिवादीले कुनै सम्बन्ध समेत नरहेका उपरोक्त बकसपत्र दाताहरूलाई के कसरी सहयोग गरी रिझाएबापत बकस पाएको हो भन्ने कुराको विश्वसनीय आधार यस अदालतसमक्षको पुनरावेदन पत्रमा समेत उल्लेख गर्न सकेको पाइँदैन 

३९. यस प्रकार सार्वजनिक जिम्मेवारीको पदमा रही प्रतिवादीले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने नियतले बकसपत्रको माध्यमबाट आफू तथा श्रीमती र छोरा छोरीको नाममा सम्पत्ति खरीद गरेको भन्ने अभियोग लागि विशेष अदालतबाट समेत सो दावी ठहर भएको अवस्थामा उक्त कुराको तथ्ययुक्त र खण्डन सहितको ठोस आधार पुनरावेदनपत्रमा उल्लेख गर्नु पर्नेमा सो गर्न सकेको पाइएन । राजीनामा वा बकसपत्र सम्पत्ति हस्तान्तरणको माध्यमसम्म हो । कानूनले दिन पाउने हदसम्म राजीनामा वा बकसपत्र जुनसुकै व्यहोराले हक हस्तान्तरण गर्नु कानूनसम्मत हुन्छ । देवानी मुद्दामा सम्पत्ति हस्तान्तरणको क्रियाबाट कसैको हक गए नगएको कुरालाई मुख्य रुपमा हेर्ने गरिन्छ । साथै सम्पत्ति प्राप्त गर्ने कुरामा प्राप्तकर्ताको निजी ज्ञान, सीप वा प्रयासले सो सम्पत्ति प्राप्त गरेको हो, होइन र अन्य कसैलाई बण्डा गर्नुपर्ने नपर्ने विषयमासम्म निर्णय निरोपण हुने गर्दछ । तर बकसपत्र प्राप्त गर्ने कार्य कानूनविपरीत हुँदैन भन्ने कुराको आडमा गैरकानूनी आर्जनलाई लुकाउने माध्यमको रुपमा यस्तो व्यवहारलाई सदैब मान्यता दिइनु पर्दछ भन्ने तर्क पनि न्यायोचित हुन सक्दैन । अतः पुनरावेदक प्रतिवादीहरूले उनाउँ व्यक्तिहरूबाट बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गराई लिएका उपरोक्त जग्गाहरू यथार्थमा बकस पत्र प्राप्त गरेको नभै मूल्य तिरी खरीद गरेको हुँदा सोको स्रोत खुलाउनु पर्दछ भन्ने विशेष अदालतको निष्कर्षलाई अन्यथा भन्न मिल्ने देखिएन 

            ४०. अब कृषि आय निर्धारण गर्ने न्यायोचित मापदण्ड के हुन सक्दछ भन्ने अर्को प्रश्नका सम्बन्धमा विश्लेषण गर्नुपर्ने हुन आएको छ । मिति २०४६।४।१९ को पारीत बण्डापत्रबाट पुनरावेदक प्रतिवादीले पर्सा जिल्ला अन्तर्गतको ज.वि.४१५१४ जग्गा पैतृक सम्पत्तिको रुपमा प्राप्त गरेको भन्ने तथ्यमा कुनै विवाद भएको पाइँदैन । मिति २०३२।१२।६ मा घरसारमा खडा भएको मानो छुट्टिएको लिखतबाट प्रतिवादी रामाज्ञा चतुर्वेदी चुलोमानो छुट्टिएको भन्ने जिकीर लिएको पाइन्छ । मानो छुट्टिएपछि बण्डा पत्र नहुँदासम्म अर्थात् २०३३ सालदेखि २०४५ सालसम्म सगोलको कृषि आयबाट रु.१९,४०,०००। तथा बण्डा छुट्टिएपछि २०४६ सालदेखि २०५८ सालसम्म रु.१७,३०,०००। कृषि आय प्राप्त गरेको जिल्ला कृषि विकास कार्यालय पर्साको सिफारिशबमोजिम प्रमाणित भएकोले उपरोक्त कृषि आयलाई मान्यता दिनुपर्नेमा भूमिसम्बन्धी ऐनको आधार लिई घटी कृषि आय कायम गरेको विशेष अदालतको फैसला नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको छ । प्रति विगाहा वार्षिक २० हजारसम्म कृषि आय हुने भन्ने तथ्यलाई अन्य मुद्दाहरूमा पनि स्वीकार गरिएको तथा कृषि उब्जनीका सम्बन्धमा सम्बन्धित कृषि विकास कार्यालयको सिफारिश आधिकारिक हुने हुँदा मोही र जग्गाधनी बीचको कुत निर्धारणका सम्बन्धमा भूमिसम्बन्धी ऐनले निर्धारण गरेको मापदण्डलाई आधार लिन नहुने भन्ने पुनरावेदक प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूले बहसको क्रममा जिकीर लिनु भएको छ । विशेष अदालतले सगोलको र छुट्टी भिन्न भएपछिका स्रोत खुलेका जग्गाको कृषि आय पैतृक मौद्रिक आय तथा जग्गा बिक्रीबाट प्राप्त गरेको रकम समेत गरी जम्मा रु.१३,५८,४७२।९० लाई स्रोत खुलेको सम्पत्तिको रुपमा मान्यता दिएको देखिन्छ 

४१. सरकारी स्वामित्वको संस्थानमा नोकरी गर्ने प्रतिवादी घरजग्गा भएको स्थानभन्दा बाहिर बस्ने गरेकाले निज आफैंले खेती गरी जिकीर लिएबमोजिमको कृषि आय प्राप्त गर्न नसक्ने हुँदा कृषिबाट भएको आर्जनबाट छोराछोरीलाई भारतमा पढाउन खर्च भएको हुनसक्ने मानी आरोप पत्र पेश गरिएकोमा छुट्टै कृषि आय कायम गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको देखिन आउँछ 

            ४२. पुनरावेदक प्रतिवादीले २०३३ सालदेखि २०५८ सालसम्मको कृषि आयको जिकीर लिएको देखिन्छ । विगत लामो अवधिको कृषि आयको दावी लिइएको यस स्थितिमा प्रतिवादीका के कुन जग्गामा के कुन सालमा के कस्तो प्रकृतिको बाली लगाइएको थियो, त्यसबाट के कति परिमाणमा उब्जनी भएको थियो र निजले सोबापत के कति रकम प्राप्त गरेको हो भन्ने कुरा हाल आएर ठोस रुपमा यकीन गर्ने कार्य निश्चय पनि सजिलो छैन । अपितु स्रोत देखिन्छ भने त्यसबाट आय प्राप्त हुने कुरालाई सहजै इन्कार गर्न न्यायोचित नहुने हुँदा यस विषयलाई विवेकसम्मत निष्कर्षमा पुर्‍याउनै पर्ने हुन्छ 

            ४३. कृषि आयको जिकीर लिइएका प्रतिवादीहरूका नाउँ दर्ताका जग्गाको बालीका सम्बन्धमा प्रत्येक साल रीतपूर्वक मुचुल्का खडा गरी बाली यकीन गर्न सकिएको भए सो कुरा सबैभन्दा आधिकारिक र वस्तुनिष्ठ हुन सक्थ्यो । सो अवस्था नभएकोले यस विषयमा गरिने सबै तर्क अनुमानमा आधारित हुने निश्चित छ । त्यसैले कृषि आयका सम्बन्धमा सबैभन्दा विश्वसनीय र आधिकारिक निष्कर्षमा पुग्न सकिने आधार तय गर्नु आवश्यक देखिन्छ, जसबाट मात्रै यस सम्बन्धमा रहन जाने अन्यौलताको न्यायिक समाधान हुन सक्दछ । पुनरावेदक प्रतिवादीले जिकीर लिए जस्तो अमुक मुद्दामा प्रति विगाहा यति कृषि आयलाई मान्यता दिइएको छ भन्ने कुरा तथ्यगत मात्रै हुन सक्दछ । के कुन दावी र जिकीरको सन्दर्भमा के कुन आधारमा त्यस्तो दावी लिइएको थियो के कस्तो कानूनी र तथ्यगत आधारमा अदालतले त्यसलाई मान्यता दिएको थियो भन्ने कुरा प्रष्ट हुने फैसला लगायतका प्रमाण प्रतिवादी पक्षबाट आउन सकेको छैन । केवल मौखिक जिकीरलाई भर गरी निष्कर्षमा पुग्न सकिने हुँदैन 

            ४४. पुनरावेदक प्रतिवादीले कृषि आयको जिकीरको समर्थनमा सम्बन्धित गा.वि.स.को सिफारिश र जिल्ला कृषि विकास कार्यालयको सिफारिश प्रमाणको रुपमा पेश गरेको अवस्था छ । तर सिफारिशकर्ता ती निकायहरूले प्रतिवादीको जग्गाको स्थलगत वस्तुस्थिति बुझी त्यसमा लगाइएको बालीको परिमाण यकीन गरी ठोस आधार सहित उक्त सिफारिश दिएको भन्ने आधार र अवस्था देखिँदैन । गा.वि.स.को सिफारिशमा उक्त जग्गाहरू नारायणी सिंचाई क्षेत्रअन्तर्गत पर्ने हुँदा वार्षिक तीन बालीसम्म लाग्न सक्ने भन्ने कुरालाई सिफारिशको आधार बनाएको देखिन्छ । त्यसै गरी जिल्ला कृषि विकास कार्यालयले दुई बाली र नगदेबाली समेत तीन बाली हुने गरेको र पर्सा जिल्लामा विगत वर्षहरूमा लगाइएको बालीको प्रतिहेक्टर उत्पादकत्व र औसत बजार मूल्यलाई आधार बनाई सिफारिश गरेको भन्ने पाइन्छ । त्यसमा पनि गा.वि.स. र कृषि विकास कार्यालयसँग उब्जनी विवरण माग्ने गरी विशेष अदालत वा यस अदालतबाट कुनै आदेश भएको अवस्था नभै प्रतिवादीले निजी तवरमा त्यस्ता सिफारिश पत्र बनाई ल्याएको देखिन्छ । त्यसरी व्यक्तिगत मागको आधारमा दिइएका भनिएका सिफारिशहरूलाई न्यायिक परीक्षण नगरी सीधै मान्यता दिनुपर्ने भन्ने प्रतिवादी पक्षको जिकीर पनि उचित देखिँदैन । न्यायिक प्रक्रियामा प्रमाण बुझ्ने तथा प्राप्त प्रमाण ग्रहण गर्ने सम्बन्धमा निश्चित कानूनी आधार र न्यायिक मापदण्डहरू रहेका छन् । त्यसको विपरीत जुनसुकै प्रक्रियाबाट मिसिलमा समावेश हुन आएका कुरालाई प्रमाणको रुपमा मान्न र त्यसको आधारमा कुनै पनि न्यायिक निष्कर्षमा पुग्न सम्भव हुँदैन । त्यसैले प्रतिवादीको व्यक्तिगत प्रयासमा निजलाई दिएको भनिएको उक्त सिफारिशलाई कुनै परीक्षण विना अदालतले सीधै प्रमाणको रुपमा स्वीकार गर्नुपर्ने बाध्यता छैन भने कानूनी रुपमा प्रमाणमा ग्रहण गर्न मिल्ने आधार समेत देखिँदैन 

            ४५. यस परिप्रेक्ष्यमा कृषि आय निर्धारण गर्ने कानूनी आधार के हुन सक्दछ भन्ने सम्बन्धमा विचार गर्नुपर्ने हुन्छ । खास गरी विशेष अदालतले भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम कुत प्रयोजनका लागि निर्धारण गरिएको उब्जनी तथा सालबसाली रुपमा तोकिएको मूल्यलाई प्रतिवादीको जग्गाको कृषि आय कायम गर्ने मापदण्ड बनाएको देखिएकोले त्यस सम्बन्धमा विश्लेषण गर्नु प्रासंगिक हुन आएको छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३३ मा कुत सम्बन्धी कानूनी व्यवस्था भै उक्त दफा तथा सोबमोजिमको सूचित आदेशमा कुन प्रकृतिको जग्गा कमाउने मोहीले के कति कुत बुझाउनु पर्ने भन्ने कुराहरू उल्लेख भएको देखिन आउँछ । खास गरी मुख्य बार्षिक उब्जनीको आधामा नबढ्ने गरी मोही लागेको जग्गाको कुत जग्गाधनीलाई प्राप्त हुने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसरी कुत निर्धारण गर्दा सो जग्गामा मोहीको तर्फबाट पर्न जाने श्रम, मल, बीउ लगायतका लगानी समेतलाई विचार गरी बचत हुने खुद आयलाई कुत प्रयोजनको लागि कायम गरिएको अनुमान गर्नुपर्ने हुन्छ । त्यसरी प्राप्त हुने खुद कृषि आयबाट श्रम गर्ने मोहीलाई आधा र सम्बन्धित जग्गाको धनीलाई आधा कृषि आय बाँडिने भन्ने नै भूमि सम्बन्धी ऐनको उद्देश्य र भावना रहेको देखिन आउँछ 

            ४६. उपरोक्त कानूनी व्यवस्थाका आधारमा मोही लागेको जग्गाको कृषि आय निर्धारण गर्दा भूमि सम्बन्धी ऐनबमोजिम कुत प्रयोजनका लागि तोकिएको उब्जनीको आधारलाई अवलम्बन गरिनु कानूनसम्मत र न्यायोचित हुने देखिन आउँछ । त्यसै गरी जग्गाधनीले नै जग्गा कमाएको भन्ने जिकीर रहेको अवस्थामा समेत कृषि उत्पादनको क्रममा मल, बीउ श्रमलगायतका हुन जाने उपरोक्त मनासिब खर्चहरू कटाई मुख्य बार्षिक उब्जनीबापत कुत प्रयोजनका लागि तोकिएको उब्जनीको दोब्बर खुद आय निर्धारण गर्नु उचित र विवेकसम्मत हुने देखिन्छ । साथै सिंचाई आदिको सुविधा भएको र एकभन्दा बढी बाली लाग्ने जग्गाका सम्बन्धमा कुत प्रयोजनका लागि तोकिएको मुख्य बार्षिक उब्जनीको आधा हिउँदे बालीबापत खुद आय निर्धारण गर्नु न्यायोचित हुने देखिँदा सोहीबमोजिम नै प्रतिवादीको जग्गाको कृषि आयस्ता निर्धारण गरेको विशेष अदालतको निष्कर्ष मनासिब देखियो 

४७. भारतमा भएको भनिएका शपथपत्र (Affidavit) प्रमाणमा ग्रहण गर्न मिल्छ वा मिल्दैन र शपथपत्रलाई कारोवार (Transaction) ले समर्थन गरेको हुनुपर्छ वा पर्दैन भन्ने प्रश्न पनि प्रस्तुत मुद्दामा उठाइएको छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट भारतमा भएको भनिएका विभिन्न मितिका शपथ पत्र प्रमाण स्वरुप पेश भएको देखिन्छ 

४८. प्रथमतः पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीका मामा अम्बिका तिवारीले पूर्वी चम्पारण, मोतिहारीका लेख्य प्रमाणक एच.भि.पाठक समक्ष २९ अप्रिल १९८९ मा गरिदिएको भनिएको पेश भएको शपथपत्र हेर्दा कथा वाचकको रुपमा काम गर्दा अकूत धनदौलत प्राप्त भएको र रामाज्ञा चतुर्वेदीको सेवा टहलबाट खुशी भएकोले भा.रु.९,००,०००। दिएको भन्ने उल्लेख भएको देखिन्छ । साथै उक्त रकम नेपाल लैजान कुनै कानूनी अड्चन नआवोस र जरुरत पर्दा सबूदको रुपमा काम आउन सकोस् भनी सो शपथपत्र गरिदिएको भन्ने समेत उल्लेख भएको देखिन आउँछ 

४९. त्यसै गरी पुनरावेदक प्रतिवादी आशा चतुर्वेदीकी आमा चन्द्रवतीले पश्चिम चम्पारण, वेतियाका लेख्य प्रमाणक नलिनी रञ्जनसमक्ष मिति ७ अगष्ट २००० मा निजलाई गरिदिएको भनेको शपथपत्रमा विभिन्न मितिमा गरी रु.७,५०,०००। बच्चा (नाति) को उच्च शिक्षाको लागि दिएको भन्ने उल्लेख भएको देखिन्छ । छोरी आशा चतुर्वेदी नेपालको निवासी भएकोले कुनै प्रकारको हैरानी (दिक्कत) नहोस् भनी उक्त शपथपत्र बनाइदिएको भन्ने समेतको व्यहोरा पनि सो लिखतमा परेको देखिन आउँछ 

५०. साथै प्रतिवादी आशा चतुर्वेदीको आमा चन्द्रावतीदेवीले सन् २००२।४।६ मा निजलाई रु.३०,००,०००। दिएको भन्ने व्यहोराको शपथपत्र पेश भएको देखिन्छ । नलिनी रञ्जन, नोटरी पब्लिक, वेतिया पश्चिम चम्पारण समक्ष भएको भनिएको सो शपथपत्रमा छोरी आशा चतुर्वेदीलाई माइतीबाट समय समयमा नगद उपहार दिएको, साथै एक विगाहा ६ कठ्ठा जग्गा दिएकोमा सो बिक्री गर्दा आएको रकम तथा सोबाट बढेबढाएको समेत गरी उक्त रकम दिएको भन्ने देखिन्छ । सोही रकम यूनाइटेड बैंक अफ इण्डियामा आशा चतुर्वेदी र अभिषेक चतुर्वेदीको नाममा खाता खोली जम्मा गरिएको भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर छ । शपथ पत्रबाट पाई भारतकै बैंक खातामा जम्मा गरेको भनिएको यस प्रकारको खास जिकीरका सम्बन्धमा बैंक खाताको मौज्दात नरहेको रकमको विश्लेषण गर्ने क्रममा पृथक रुपमा विवेचना गरिने नै छ 

५१. तर कारोवारलगायतका अन्य आधारबाट समेत शपथपत्रको व्यहोरा पुष्टि भएको छ भन्ने जिकीर लिन नसकी केवल शपथपत्र पेश गरेकै भरमा स्वतः स्रोत पुष्टि भएको मान्न मिल्दैन । वस्तुतः शपथ पत्रबमोजिम सम्पत्ति प्राप्त भएको भन्ने जिकीर लिएर मात्र पुग्दैन, त्यसको लागि त्यस्तो जिकीर लिनेले नै त्यसरी पाएको भनिएको सम्पत्तिको भौतिक अवस्थिति वा अस्तित्व पनि देखाउन वा प्रमाणित गर्न सक्नु पर्दछ । अझ शपथपत्रको माध्यमबाट विदेशमा सम्पत्ति पाएको भनी जिकीर लिने पक्षले त्यस्तो सम्पत्ति आफ्नो मुलुकमा के कुन मितिमा, के कुन माध्यमबाट आएको, जम्मा भएको, सटही भएको हो सो सबै कुराको कारोवार (Transaction) प्रमाणित हुने आधार सहित पुष्टि गर्नुपर्ने हुन्छ । त्यति ठूलो रकम अन्य प्रक्रियाबाट नेपाल ल्याएको भन्ने कुरा स्वाभाविक मान्न नसकिने हुँदा बैंकिङ्ग वा वित्तीय प्रणाली लगायतका औपचारिक माध्यमबाट रकम ल्याइएको प्रमाणित हुनु वाञ्छनीय हुन्छ । अतः अन्य तथ्य वा कारोवारबाट समर्थित नभएको शपथपत्रको स्रोतलाई मान्यता दिन मिल्ने स्थिति हुँदैन 

५२. अब आयको तुलनामा अमिल्दो तथा उच्च जीवन यापन गरेको भन्ने आरोपको सन्दर्भमा विभिन्न शीर्षक अन्तर्गत विगतमा खर्च भएका र बैंक खाताको कारोवारलाई आधार मानी हाल मौज्दात नरहेको (Non-possession) रकमका सम्बन्धमा दावी लिन मिल्छ वा मिल्दैन भन्ने प्रश्नका सम्बन्धमा विवेचना गर्नुपर्ने हुन आएको छ । छोराछोरीको अध्ययनमा भएको भनिएको खर्च हाल मौज्दात रहेको सम्पत्ति होइन । खर्च भएर गैसकेको यस्तो विषयमा हाल दावी लिन मिल्दैन । नेपालतर्फ बैंक खातामा मौज्दात बाँकी नरहेको रकमका सम्बन्धमा दावी नलिइएको तर भारततर्फ त्यस्तै अवस्थामा रहेको खाताको सम्बन्धमा दावी लिइएको परस्पर विरोधाभाषपूर्ण रहेको, आशा चतुर्वेदी र अभिषेक चतुर्वेदीका नाउँको यूनाइटेड बैंक अफ इण्डियाको खातामा जम्मा भएको भा.रु.२९,६३,५००। को हुने ने.रु.४७,४१,६००। रकम निजहरूको आमा तथा हजुरआमाले सन् २००२।४।६ को शपथपत्रबाट दिएको रकम हुँदा रामाज्ञाको लगानी परेको छैन, त्यसमा पनि सो रकम पिताकै औषधोपचार आदिमा खर्च भैसकेको छ, अभिषेक चतुर्वेदीका नाउँमा स्टेट बैंक अफ इण्डियाको खातामा रहेको भनिएको साँवा भा.रु.२८,०५,९३४।१९ पिता रामाज्ञाले पठाएको रकम हो, त्यसमा भा.रु.१२,८३,९७१।८१ ब्याज प्राप्त भई जम्मा भा.रु.४०,८९,८५२। भएको हो, सो रकममध्ये केही रकम पढाइमा खर्च भैसकेको बाँकी रकम पनि हाल नरही मौज्दात शून्य हुँदा दावी लिन मिल्दैन भन्ने समेत पुनरावेदन जिकीर रहेको देखिन्छ । आयको तुलनामा अमिल्दो र उच्च जीवन यापन गरेको कार्यलाई ऐनको दफा २०(१) ले अनुमानीत कसूरअन्तर्गत समावेश गरेको हुँदा जीवनस्तर उच्च बनाउँन विगतमा भएका खर्च वा लगानीलाई छूट दिन मिल्दैन भन्ने वादी पक्षका तर्फका विद्वान सहन्यायाधिवक्ता र उच्च जीवन यापन गरेको भन्ने आरोपमात्र लगाएर हुँदैन यो वस्तुनिष्ट रुपमा प्रमाणित पनि हुनु पर्दछ, भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को निरन्तरता भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) लाई मान्ने हो भने साथमा रहेको सम्पत्तिका सम्बन्धमा मात्र दावी लिन मिल्छ, छोराछोरीको अध्ययनमा खर्च भएको तथा बन्द भैसकेको बैंक खाताको रकममा दावी लिई जफत हुने ठहर्‍याएको विशेष अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने समेत पुनरावेदक प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूको बहस जिकीर रहेको पाइन्छ 

५३. पुनरावेदक प्रतिवादी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर गरेको भन्ने अभियोग दावी रहेको छ । उक्त दफाले राष्ट्रसेवकले पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएको तथा मनासिब कारण बिना अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको समेतलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने अनुमानित कसूरसम्बन्धी व्यवस्था गरेको देखिन्छ । यस प्रकार मनासिब कारण बिना अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको कुरालाई पनि सो दफा अन्तर्गत कसूर कायम गर्ने आधारका रुपमा लिएको देखिएकोले यस विषयमा प्रष्ट हुनु वाञ्छनीय देखिएको छ 

५४. वस्तुतः अमूर्त रुपमा कसैलाई उच्च जीवनशैली बिताएको भनी आरोप लगाउनु मात्र पर्याप्त हुँदैन । यस्तो आरोप प्रमाणित हुनका लागि निश्चित वस्तुगत आधारहरूको उपस्थिति पनि अपरिहार्य हुन्छ भन्ने कुरामा विमति हुन सक्दैन । त्यस्ता आधारहरू के के हुन् भन्ने सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ लगायत प्रचलित नेपाल कानूनमा कुनै निश्चित परिभाषा वा व्याख्या नभएको स्थितिमा व्यक्तिको जीवनस्तर उच्च बनाउँनको लागि के कस्ता तत्वहरूले निर्णायक भूमिका खेलेको हुन्छ भन्ने कुराको आधारबाट नै यस विषयको व्याख्या गर्नुपर्ने वा निष्कर्षमा पुग्नु पर्ने हुन्छ 

५५. उच्च शैलीको जीवन यापन गर्ने कुराको विभिन्न दृष्टिकोणबाट विभिन्न अर्थ वा मान्यता रहन सक्दछ । यसका नैतिक, भौतिक आदि विभिन्न पक्षहरू रहेका हुन सक्दछन् । अपितु गैरकानूनी आर्जन वा भ्रष्टाचारको सन्दर्भमा उच्च जीवन यापन गरेको भन्ने प्रश्न उठ्छ भने निःसन्देह रुपमा त्यसको प्रत्यक्ष सम्बन्ध अन्य कुरामाभन्दा मौद्रिक वा आर्थिक गतिविधि वा क्रियाकलापसँग जोडिएको भौतिक विषयसँग रहेको मान्नु पर्ने हुन्छ । त्यसैले अस्वाभाविक तथा उच्च जीवनस्तर यापन गरेको भनी ऐनमा प्रयुक्त भएको उक्त वाक्यांशले कुनै राष्ट्रसेवकले प्राप्त गर्ने वैध आयस्रोतको तुलनामा अमिल्दो वा नसुहाउने तथा धान्न नसक्ने जीवनस्तर यापन गर्ने वा गरेको कुरालाई ईंगित गरेको सम्झनु पर्ने हुन आउँछ 

५६. खास गरी कुनै पनि राष्ट्रसेबकसँग रहेको चल अचल सम्पत्ति, निजले शिक्षा स्वास्थ्य आदिमा गरेको लगानी, सार्वजनिक जवाफदेहीताको पदमा रहँदा गरेको आर्थिक कारोवार, विभिन्न प्रकृतिका खर्च, रहनसहन आदि तत्वहरूको समष्टिमा नै उच्च जीवनशैलीको मापन गर्नुपर्ने हुन आउँछ । एकै पटक कसैको पनि जीवनस्तर उच्च हुने वा भएको भन्ने कुरा स्वाभाविक मान्न सकिदैन । विगतमा गरिएको विभिन्न प्रकृतिका स्रोत साधनको लगानी वा खर्चको परिणामस्वरुप नै उच्च जीवनस्तर हासिल हुने कुरा अनुमान गर्नु स्वाभाविक हुन्छ । त्यसैले उच्च जीवन यापन गर्ने क्रममा विगतमा अस्वाभाविक रुपमा खर्च गरिएको देखिन्छ भने हाल विद्यमान नरहेकै कारणबाट त्यस्तो खर्च वा लगानीको स्रोत प्रमाणित गर्नु पर्दैन भन्ने अर्थ गर्दा उच्च जीवन यापन गरेको कुरालाई गैरकानूनी आर्जनको आधारका रुपमा लिइएको ऐनको व्यवस्था नै निश्क्रिय बन्न जाने हुन्छ 

५७. पुनरावेदक प्रतिवादीले तीन जना छोराछोरीलाई विदेशमा राखेर प्राविधिक विषयमा उच्च अध्ययन गराएको देखिन्छ । त्यसको लागि उल्लेख्य रकम खर्च भएको तथ्यलाई निजको अदालतसमक्ष भएको बयान तथा यस अदालतसमक्ष पेश गरेको पुनरावेदन पत्रमा समेत स्वीकार गरिएको छ । विगतमा गरेको सो खर्चको परिणामस्वरुप पुनरावेदक प्रतिवादीका तीनैजना छोराछोरी हाल डाक्टर र इञ्जिनियर बनेको भन्ने देखिन्छ । छोराछोरीको शिक्षादिक्षामा ठूलो रकम खर्च गरी उच्च शिक्षा दिलाउने वा डाक्टर, इन्जिनियर बनाउने कुराले उच्च जीवन यापनकै अवस्थालाई चित्रण गर्ने हुँदा खर्च भएर गैसकेको भन्ने आधारमा मात्र निजहरूलाई उच्च अध्ययन गराउँदा लागेको खर्चको स्रोत प्रमाणित गर्न नपर्ने भन्न मिल्ने नदेखिँदा अध्ययन खर्चको स्रोत प्रतिवादीले पुष्टि गर्नुपर्ने हुन्छ भनी विशेष अदालतबाट भएको विश्लेषण अन्यथा देखिन आउँदैन । 

५८. त्यसै गरी भारतीय बैंक खाताका सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले ड्राफ्टमार्फत् नेपालबाट पठाएको भा.रु.२८,००,०००। रकमबाटै स्टेट बैंक अफ इण्डियामा रामाज्ञा चतुर्वेदी संरक्षक भै अभिषेक चतुर्वेदीका नाममा खाता खोलिएको र सोही खाताको रकम अभिषेक चतुर्वेदीले मिति २५ अप्रिल १९९८ मा भा.रु.पाँचलाखका दरले चारवटा मुद्दति खातामा सारेको भन्ने कुरालाई प्रतिवादीहरूको यस अदालतसमक्षको पुनरावेदन पत्रमा समेत स्वीकार गरिएको छ । उक्त खाता पुनरावेदक प्रतिवादीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा मिति २०५९।७।८मा हिरासतमा लिएपछि मिति ६ नोभेम्बर २००२ मा सम्पूर्ण रकम निकाली बन्द गरेको देखिएको छ । अनुसन्धान प्रारम्भ भएपछि खाताको रकम निकाली मौज्दात शून्य पारिएको देखिए तापनि उक्त रकमको अस्तित्व प्रमाणित हुन आएको अवस्था छ । त्यसैले अनुसन्धान प्रारम्भ भएपछि खाताबाट निकालेको उक्त रकमको स्रोत प्रतिवादीसँग माग्न नमिल्ने वा निजले दिन नपर्ने भन्न मिल्दैन । साथै प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई हिरासतमा लिई भ्रष्टाचार मुद्दाको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाही प्रारम्भ भैसकेपछि एकै पटक त्यति ठूलो रकम निकालेको देखिँदा भ्रष्टाचारको कारवाहीबाट बच्ने र गैरकानूनी आर्जन लुकाउने नियतबाटै सो रकम निकालेको मान्नुपर्ने देखिन आउँछ 

५९. अतः हाल साथमा नरहेको (Non-possession) भन्नेसम्मकै आधारमा विगतमा अस्तित्व प्रमाणित भई राष्ट्रसेवको आयको तुलनामा अमिल्दो र अस्वाभाविक तथा निजको जीवनस्तर उच्च बनाउने स्रोतहरूको खोजी गर्न नमिल्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकीर आधारहिन देखिन आउँछ 

६०. त्यस्तै श्रीमती आशा चतुर्वेदी र छोरा अभिषेक चतुर्वेदीको नाउँमा भारतको यूनाइटेड बैंकमा खाता खोलिएको सम्बन्धमा पति/पिता रामाज्ञाको कुनै संलग्नता नरहेकोले निजलाई जानकारी नभएको भन्ने प्रतिवादीहरू आशा चतुर्वेदी र अभिषेक चतुर्वेदीको पुनरावेदन जिकीर रहेको देखिन्छ । अभिषेक चतुर्वेदीको नाउँमा मिति २००२।४।११ देखि मिति २००२।४।१७ सम्म भा.रु.१४,६२,५००। र आशा चतुर्वेदीका नाउँमा मिति २००२।४।१५ देखि मिति २००२।४।१७ सम्म भा.रु.१५,०१,०००। जम्मा भएको देखिएको छ । प्रतिवादी आशा चतुर्वेदीको माइती भारतमै भएको र विवाहलगायतमा प्राप्त जग्गा तथा माइतीबाट समय समयमा प्राप्त रकमबाट आमा चन्द्रवतीले मिति २००२।४।६ को शपथपत्रमार्फत् दिएको भा.रु.३०,००,०००। मध्येबाटै सो खाताहरू खोलिएको र आशा चतुर्वेदीका पिताको उपचार लगायतमा सो रकम खर्च भई हाल मौज्दात शून्य रहेको भन्ने निजको बयानमा उल्लेख भएको देखिन्छ । शपथ पत्रको मिति र खाता खोलिएको मितिका सम्बन्धमा सामञ्जस्यता देखिएको पनि छ । अनुमान बाहेक उक्त खातामा जम्मा गरिएको रकम रामाज्ञा चतुर्वेदीको आर्जनको हो भन्ने र नेपालबाटै गएको थियो भन्ने कुराको कुनै ठोस प्रमाण पुनरावेदक वादी पक्षबाट पेश हुन सकेको पाइदैन । सोही खाताको रकमका सम्बन्धमा आशा चतुर्वेदीले विदेशमा खाता खोली विदेशी विनिमय अपचलन गरेको भनी दायर भएको मुद्दामा पुनरावेदन अदालत पाटनबाट मिति २०६३।९।३ मा भएको फैसलामा उक्त रकम प्रतिवादी आशा चतुर्वेदीले भारतमा रहेको आफ्नो माइतीबाट प्राप्त गरेकोमा कुनै विवाद देखिएन भन्ने समेत विश्लेषण भएको देखिन्छ । उक्त बैंक खातामा रहेको रकम प्राप्त गरेको स्रोतका सम्बन्धमा पुनरावेदन अदालत पाटनको फैसलामा सो निर्णयाधार उल्लेख भर्ई राष्ट्रबैंकको स्वीकृति विना खाता खोलेको भनी सजाय समेत गरेको देखिन्छ । सजाय गरेको विषयमा चित्त नबुझाई प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखिए पनि उक्त खाताको रकम प्राप्त भएको स्रोतका सम्बन्धमा फैसलामा गरिएको उक्त विश्लेषण गलत भएको भनी वादी पक्षको पुनरावेदन परेको देखिन आउँदैन । त्यसैले फैसलामा उल्लेख भएको सो व्यहोरालाई वादी पक्षले स्वीकार गरेको मान्नु पर्ने हुन्छ भनी पुनरावेदक प्रतिवादी पक्षले लिएको जिकीर अन्यथा देखिन आउँदैन 

६१. यस प्रकार अभियोग पेश गर्दा खातामा मौज्दात नरहेको र स्रोतका सम्बन्धमा वादी पक्षको यकीन दावी हुन नसकेको सो रकम प्रतिवादी रामाज्ञा चतुर्वेदीले सार्वजनिक जवाफदेहीको पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको रकममध्येकै हो भन्ने अनुमान गरी विगो कायम तथा जरीवाना गरेको र बैध स्रोतबाट उक्त विगो जफत गर्ने गरी विशेष अदालतबाट भएको फैसला सो हदसम्म मिलेकोे देखिएन । माइतीतर्फबाट पाएको र अभियोग पेश गर्नु अगावै पिताको उपचार लगायतमा खर्च भैसकेको भन्ने जिकीर हुँदा उक्त रकमलाई प्रतिवादीको आयस्रोतका रुपमा लिनु पर्नेसम्मको अवस्था र स्थिति देखिन आएन 

६२. अतः यस शीर्षकबाट आशा चतुर्वेदी र अभिषेक चतुर्वेदीको नाउँमा भारतको यूनाइटेड बैंकमा रहेको भनिएको क्रमश भा.रु.१५,०१,०००। भा.रु.१४,६२,५००। समेत जम्मा भा.रु.२९,६३,५००। को हुने ने.रु.४७,४१,६००। प्रतिवादी रामाज्ञा चतुर्वेदीको आर्जनमा गणना गरेको विशेष अदालतको विश्लेषण मिलेको देखिँदैन । यसरी अभिषेक चतुर्वेदीको नाउँमा स्टेट बैंक अफ इण्डियामा रहेको बैंक खाताबाट भा.रु.२८,०५,९३४।१९ बाट रितेश चतुर्वेदीले पारिश्रमिकबापत पाएको भा.रु.१,००,०००। कम गर्दा हुन आउने ने.रु.४३,२९,४९४।४० सम्म यस शीर्षकअन्र्तगत प्रतिवादीको स्रोत खुलाउनु पर्ने आर्जित सम्पत्तिको रुपमा समावेश गर्नुपर्ने देखियो 

६२. अब, पुनरावेदक प्रतिवादीको सम्पत्तिका सम्बन्धमा विशेष अदालतबाट गरिएको अन्य तथ्यगत विश्लेषणमा कुनै त्रुटि रहेको देखिन्छ वा देखिदैन भन्ने निर्णय दिनुपर्ने हुन आएको अर्को प्रश्नका सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । यस सम्बन्धमा अभियोगपत्र हेर्दा अनुसन्धानको क्रममा गरिएको मूल्याङ्कनका आधारमा प्रतिवादीको कुल आर्जित सम्पत्ति रु.७,७१,६५,५७३।२९ मध्ये रु.७९,८३,०३७।५० बराबर सम्पत्तिको स्रोत पुष्टि भएको र रु.६,९१,८२,५३५।७९ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएकोले स्रोत पुष्टि नभएको सो सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको भनी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा सोही उपदफा (२) बमोजिम सजाय भई दफा ४७ बमोजिम जफत समेतको दावी लिइएको देखिन्छ 

६४. अपितु विशेष अदालतबाट पुनरावेदक प्रतिवादीहरूका नाउँमा रहेको भनिएको सम्पत्ति आर्जन गर्दाको समयको मूल्यका आधारमा मूल्याङ्कन गरी जम्मा रु.२,५८,०८,१५७।९८ बराबरको चल अचल सम्पत्ति रहेको निष्कर्षमा पुगी त्यसमध्ये रु.६७,२८,५३१।७३ बराबरको सम्पत्तिको मात्र स्रोत पुष्टि भएको र बाँकी रु.१,९०,७९,६२६।२५ को स्रोत पुष्टि हुन नसकेको भनी स्रोत पुष्टि नभएको उक्त सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको मानी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर ठहर गरी दफा २०(२) बमोजिम सजाय तथा दफा ४७ बमोजिम गैरकानूनी आर्जन तथा सोबाट बढेबढाएको सम्पत्ति जफत हुने समेत फैसला भएको देखिन्छ 

६५. अभियोग दावीमा नै प्रतिवादीको साथमा रहेको जम्मा रु.७९,८३,०३७।५० बराबरको चल अचल सम्पत्तिको स्रोत खुलेको भनिएकोमा विशेष अदालतले जम्मा रु.६७,२८,५३१।७३ बराबर सम्पत्तिको मात्र स्रोत खुलेको भनी दावीभन्दा पनि कम सम्पत्ति स्रोत खुलेको मानेको त्रुटिपूर्ण रहेको भन्ने पनि पुनरावेदक प्रतिवादी पक्षका कानून व्यवसायीहरूको बहस जिकीर रहेको छ । घरजग्गाको मूल्याङ्कनका सम्बन्धमा पछिबाट मूल्याङ्कन कायम गर्न नमिल्ने भई आर्जन गर्दाको मूल्याङ्कनलाई नै आधार मान्नुपर्ने भन्ने सम्बन्धमा माथि अलग्गै प्रकरणमा विश्लेषण भैसकेको छ । वादी पक्षले अनुसन्धान मितिको मूल्याङ्कनका आधारमा दावी लिएकोमा विशेष अदालतले सम्पत्ति प्राप्त गर्दाको लिखत मूल्य तथा मूल्याङ्कनलाई आधार लिएको हुँदा स्रोत खुलेको र नखुलेको दुवै प्रकृतिको सम्पत्तिको मूल्याङ्कन उल्लेख्य रुपमा कम हुन जानु स्वाभाविक देखिन्छ । सम्पत्ति मूल्याङ्कनका सम्बन्धमा अवलम्बन गरिएको उपरोक्त फरकफरक मापदण्डका कारणबाट विशेष अदालतबाट प्रतिवादीको कुल आर्जित सम्पत्ति तथा स्रोत पुष्टि भएको सम्पत्ति दुबैको मूल्याङ्कन कम भई अभियोगपत्रमा स्रोत पुष्टि भएको भनी स्वीकार गरिएकोभन्दा पनि कम सम्पत्तिको स्रोत पुष्टि भएको भन्ने ठहर हुन पुगेको देखियो । अपितु सो आधार प्रतिवादीको कुल सम्पत्तिको मूल्याङ्कनका सम्बन्धमा समेत समान रुपमा लागू गरेको देखिएको हुँदा सम्पत्ति मूल्याङ्कनका सम्बन्धमा अवलम्बन गरिएको मापदण्डको कारणबाट पर्न आएको सो भिन्नतालाई अन्यथा भन्न मिल्ने अवस्था नभएकोले यस सम्बन्धमा लिइएको जिकीरसँग सहमत हुन सकिएन 

६६. यस स्थितिमा प्रतिवादीको सम्पत्तिका सम्बन्धमा लिएको अभियोग दावी र प्रतिवादीको बयान जिकीरको परिप्रेक्ष्यमा विशेष अदालतबाट गरिएको तथ्यगत विश्लेषण ठीक भए नभएको सम्बन्धमा वादी र प्रतिवादीहरूको पुनरावेदन जिकीरको सन्दर्भबाट हेर्नु पर्ने हुन आएको छ 

६७. पुनरावेदक प्रतिवादी सार्वजनिक संस्थानको विभिन्न जिम्मेवारीमा रही कार्य गरेको व्यक्ति हुँदा निजको मुख्य आम्दानीको स्रोत सेवा अवधिमा निजले तलबभत्ता आदिबाट प्राप्त गरेको रकम नै हो भन्नेमा विवाद हुन सक्दैन । अभियोगपत्र हेर्दा प्रतिवादी रामाज्ञा चतुर्वेदीले तलवभत्ता र दैनिक भ्रमणभत्ता लगायतबाट कुल रु.२०,३०,१३७।५० प्राप्त गरेको भनी सो सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिका रुपमा उल्लेख गरेको देखिन्छ । प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा २०३२ साल मंसिरदेखि २०५० असारसम्म विभिन्न पदमा रही सेवा गरेबापत प्राप्त तलव, योजना भत्ता, ओभरटाईम भत्ता र अन्य भत्ताहरू एवं अन्य सुविधाबाट १७ वर्षमा पाएको रु.६,१२,०००।–, ०५०।४।१ देखि ०५९।७।८ सम्म पटकपटक गरी महाप्रवन्धक भएदेखि ९ वर्षमा रु.१२,९६,०००।–, २०३२ देखी ०५९ सम्म स्वदेशभित्रै आयोजना आदिमा तथा भारत भ्रमणबाट भएको बचत करीव रु.३,००,०००।–, विभिन्न कार्यालयमा विभिन पदमा रहँदा पाएको वैठक भत्ता तथा अन्य भत्ताहरू बाट भएको आम्दानी करीव रु.२,५०,०००।–, सन् १९८५ माँ दक्षिण कोरिया जाँदा बचत भएको रु.५०,०००।–, सन् १९९० मा इजरायल जाँदा बचत रु.५०,०००।–, सन् १९९७ मा जापान र चीन जाँदा बचत भएको डलरबाट उपयोगी सामान र सुन खरीद गरी बिक्री गरी आएको रकम र सन् २००० मा श्रीलंका जादा बचत भएको रकम गरी रु.१,००,०००।तथा RNAC को कार्यकारी अध्यक्ष भै निगमको विदेशस्थित कार्यालयको निरीक्षण भ्रमण तथा अन्य अफिसियल भ्रमणको क्रममा सन् २००२ मा बैंकक जाँदा बचत भएको यू.एस.डलर ३२०।–, सन् २००२ मा अमेरिका भ्रमणबाट बचत यू.एस.डलर १०८०।–, सन् २००२ मा दुवही भ्रमणबाट बचत भएको यू.एस.डलर ३६०।–, सन् २००२ मा हङकङ भ्रमणमा बचत भएको यू.एस.डलर २२५।–, सांघाई भ्रमणबाट बचत यू्.एस. डलर १५०।गरी जम्मा यू.एस.डलर २११५।बचत भएको सोमध्ये यू.एस. डलर २१००।११ अक्टुवर २००२ मा हिमालयन बैंक लिमिटेड न्यूरोड शाखामा खाता खोली जम्मा गरेको भन्ने समेत उल्लेख गरेको देखिन आउँछ । पुनरावेदक प्रतिवादीले विशेष अदालतसमक्षको बयानमा तलब भत्ता लगायतबाट जम्मा रु.२८,२१,२७५। प्राप्त गरेको भन्ने जिकीर लिएकोमा विशेष अदालतबाट पुनरावेदक प्रतिवादीले तलब भत्ता समेतको विभिन्न शीर्षकबाट रु.२६,२६,५१६।४५ सम्म प्राप्त गरेको भन्ने ठहर भएको पाइन्छ 

६८. तलवभत्ताको सम्बन्धमा विशेष अदालतबाट निर्धारण गरिएको स्रोतका सम्बन्धमा प्रतिवादीको पुनरावेदनमा दैनिक भ्रमण भत्ताबापत प्राप्त रकममध्ये ७० प्रतिशत मात्र बचत भएको मानी ३० प्रतिशतले हुने रु.१,१३,८४४।५३ कट्टी गरिएको नमिलेको, शा.ने.वा.नि.मा कार्यरत् रहँदा विदेश भ्रमणबापत रु.५,०४,०४४।३७ प्राप्त गरेकोमा रु.१,६३,२७५। लाई मात्र मान्यता दिइएकोले रु.३,४०,७६९।३७ लाई आयमा समावेश गरिनु पर्ने तथा नेपाल आयल निगमबाट दैनिक भ्रमण भत्ताबापत रु.१,३८,१८५।१२ प्राप्त भएकोमा रु.१,३४,७४८।१२ लाई मात्र मान्यता दिई रु.३,४३७। छूट हुन गएकोले सो रकमलाई पनि आयमा समावेश गरिपाऊँ भन्ने समेत जिकीर लिएको देखिन्छ । यस प्रकार प्रतिवादीले विशेष अदालतबाट ठहर भएको तलवभत्ताबापतको रु.२६,२६,५१६।४५ रकममा रु.४,५८,०५०।९० थप हुनुपर्ने भन्ने पुनरावेदन जिकीर लिएको पाइयो । विशेष अदालतले ठहर गरेको तलवभत्ताको रकममा पुनरावेदनमा जिकीर लिएबमोजिमको रकम जोड्दा रु.३०,८४,५६७।३५ हुने देखिन्छ जुन रकम प्रतिवादीले शुरु बयानमा उल्लेख गरेको रु.२८,२१,२७५। भन्दा रु.२,६३,२९२।३५ ले बढी हुने देखिन्छ । फौजदारी मुद्दामा प्रतिवादीले अदालतसमक्ष गर्ने बयान प्रतिउत्तर सरह हुने भएको हुँदा बयानमा लिएका जिकीर परिवर्तन हुने गरी पुनरावेदन तहमा थप कुराको जिकीर लिन मिल्दैन 

६९. जहाँसम्म दैनिक भ्रमण भत्ताबापतको रकमलाई शत् प्रतिशत नै मान्यता दिनु पर्नेमा ७० प्रतिशतलाई मान्यता दिई ३० प्रतिशत रकम कटृा गरेको मिलेको छैन भन्ने पुनरावेदन जिकीर छ सो सम्बन्धमा विचार गर्दा भ्रमण भत्ता कार्यरत् कार्यालयभन्दा बाहिर जानु पर्ने अवस्थामा भ्रमण अवधिको खाने बस्ने लगायतका दैनिक खर्च व्यहोर्ने प्रयोजनबाट दिइने रकम हो । भ्रमण भत्ताबापत प्राप्त हुने त्यस्तो रकमको केही अंश बचत हुने अनुमान गर्न सकिने भए तापनि सिद्धान्ततः दैनिक भ्रमण भत्ताको रकम भ्रमणका क्रममा खर्च हुने रकम हो । परन्तु के कुन प्रकारको भ्रमणमा के कति प्रतिशत यस्तो भत्ताको रकम खर्च हुन्छ र कति बचत हुन्छ भनी सबै अवस्थामा लागू हुने गणितीय मापदण्ड कायम गर्न सजिलो छैन । भ्रमणको प्रकृति, भ्रमण गर्न गएको स्थान, भ्रमणमा जाने व्यक्तिको खर्च गर्ने आदत आदि कुराहरूबाट के कति रकम खर्च हुन्छ र कति बचत हुन्छ भनी निर्धारण गर्न सकिने हुन सक्दछ । अपितु उपरोक्त व्यवहारिक कुराहरूको न्यायिक परीक्षण गरी निष्कर्षमा पुग्न असम्भव हुने हुँदा यस सम्बन्धमा कुनै न्यायोचित मापदण्ड निर्धारण गर्नु अन्यथा हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तै प्रकृतिका मुद्दामा दैनिक भ्रमण भत्ताबापतको रकमको ७० प्रतिशतसम्म बचत हुने भनी दावी प्रस्तुत गर्ने गरेको भन्ने समेत बहसमा उठाइएका कुरालाई विशेष अदालतले दृष्टान्तको रुपमा लिँदै ३० प्रतिशत रकम खर्च हुने न्यायिक अनुमान गरेको देखिन्छ । दैनिक भ्रमण भत्ताबापत पाउने रकम यो यस आधारमा खर्च हुँदैन शतप्रतिशत नै बचत हुन्छ भन्ने आधार प्रस्तुत नभएको स्थितिमा विशेष अदालतको उक्त न्यायोचित अनुमानलाई अन्यथा भन्नु पर्ने कुनै कारण देखिन आउँदैन 

७०. खास गरी शाही नेपाल वायु सेवा निगमको मिति २०६०।९।९ को पत्रबाट प्रतिवादीले विदेश भ्रमण बापत रु.५,०४,०४४।३७ प्राप्त गरेको देखिनेमा विशेष अदालतले हिमालयन बैंकमा जम्मा गरेको अमेरिकी डलर २१०० को हुने ने.रु.१,६३,२७५। लाई मात्र मान्यता दिई रु.३,४०,७६९।३७ लाई आयमा समावेश नगरेको हुँदा फैसला त्रुटिपूर्ण रहेको छ भन्ने जिकीर लिएको पाइन्छ । परन्तु पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले विशेष अदालतमा गरेको बयान हेर्दा शा.ने.वा.नि.मा कार्यरत् रहँदा विभिन्न मुलुकको भ्रमण गर्दा प्राप्त भएको दैनिक भ्रमण भत्ताबाट अमेरिकी डलर २१,०००। बचत भएको भनी स्पष्टसँग उल्लेख गरेको देखिन्छ । भ्रमणभत्ताबापत प्राप्त गरेको र बचत भएको रकम समेत खुलाई बयान भएको देखिँदा हाल आएर बयानको विपरीत प्राप्त भएजति सबै रकम बचत भएको भनी जिकीर लिन मिल्दैन । विदेश भ्रमण गरेबापत प्राप्त भएको दैनिक भ्रमण भत्ताको रकममध्ये अमेरिकी डलर २१००। मात्र बचत भएको हो भनी प्रतिवादीले अदालतसमक्षको बयानमा स्वीकार गरेको हुँदा विशेष अदालतले सोही रकमलाई प्रतिवादीको आयस्रोतमा गणना गरेको अन्यथा देखिएन । भ्रमण भत्ताबाट प्राप्त हुने सबै रकम बचत हुन्छ भन्ने अनुमान गर्न मिल्दैन । पाएको रकमबाट जति रकम बचत भएको हो त्यतिमात्र प्रतिवादीको आयस्रोत हुन्छ । शा.ने.वा.नि.मा कार्यरत् रहँदा विदेश भ्रमण बापत प्राप्त रकममध्येबाट रु.१,६३,२७५। बचत भएको भनी स्वयम् प्रतिवादीले बयानमा स्वीकार गरेको र सो रकम स्रोत खुलेको रकममध्येको हो भनी अभियोगमा दावी समेत लिएको नदेखिएको हुँदा शुरु अदालतमा बयान गर्दा आफैंले लिएको जिकीरविपरीत यस अदालतको पुनरावेदन पत्रमा शा.ने.वा.नि.को पत्रबमोजिमको पूरै रु.५,०४,०४४। आय कायम हुनु पर्ने भनी लिएको जिकीर आधारहिन देखियो 

७१. त्यसै गरी आयल निगमको मिति २०६०।९।२ को पत्रबाट दैनिक भ्रमणभत्ताको महलमा रु.१,३८,१८५।१२ प्राप्त गरेको भन्ने उल्लेख भएकोमा रु.१,३४,७४८।१२ मात्र गणना गरेकोले रु.३,४३७। कम उल्लेख गरी फैसलामा प्रत्यक्ष त्रुटि भएको भन्ने समेत पुनरावेदन जिकीर लिएको देखिन्छ । सो सम्बन्धमा शुरु मिसिल संलग्न नेपाल आयल निगमको उक्त मिति २०६०।९।२ को पत्र हेर्दा प्रतिवादी रामाज्ञा चतुर्वेदीले स्वेदश तथा विदेशमा भ्रमण गर्दा भ्रमण भत्ताबापत रु.१,३८,१८५।१२ प्राप्त गरेको भन्ने उल्लेख भएको देखिएकोले रु.३,४३७। को हिसाव फरक पर्न गएको देखियो । उक्त छूट हुन गएको रु.३,४३७। को ३० प्रतिशत कटाउँदा हुन आउने रु.२,४०५।९० सो शीर्षक अन्तर्गत प्रतिवादीको आयमा थप हुनुपर्ने देखिएको छ 

७२. यसरी हेर्दा पुनरावेदक प्रतिवादीले तलब भत्ता शीर्षकमा विशेष अदालतले कायम गरेको रु.२६,२६,५१६।४५ मा उपरोक्तबमोजिम छूट हुन गएको रु.रु.२,४०५।९० सम्म पाउने देखिएकोले सो रकम जोड्दा जम्मा रु.२६,२८,९२२।३५ आय प्राप्त हुने देखिन आयो । प्रतिवादीको पुनरावेदन जिकीरभन्दा बाहिर गई निजतर्फका कानून व्यवसायीहरूले पेश गरेको लिखित बहसनोटमा औषधोपचार खर्च, लुगा भत्ता आदिको समेत जिकीर गरेको देखिए पनि स्वयम् पक्षले जिकीर नलिएको कुरामा बहस नोटमा उल्लेख भएको विषयतर्फ विचार गरिरहन आवश्यक देखिएन 

७३. अब कमला कार्पेटको आयका सम्बन्धमा विशेष अदालतले गरेको विश्लेषण र कायम गरेको आय नमिल्ने भन्ने पुनरावेदन जिकीरका सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । कमला कार्पेटको मुनाफाका सम्बन्धमा पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले करीव ३४ लाख प्राप्त भएको भन्ने बयान गरेको देखिन्छ भने प्रतिवादी आशा चतुर्वेदीले ३५ लाख प्राप्त भएको भनी अदालतसमक्ष बयान गरेको देखिन आउँछ । यसअघि सम्पत्ति जाँचबुझ न्यायिक आयोग समक्ष पेश गरेको विवरणमा सो उद्योगको मुनाफा ३३ लाख उल्लेख गरेको देखिएको छ । उक्त उद्योगले कर कार्यालयमा पेश गरेको आय विवरणलाई आधार लिई अन्तिम मौज्दात बिक्री समेत गरी प्रतिवादीहरूले सो उद्योगबाट रु.१७,८६,४४२।६९ प्राप्त गरेकोमा उद्योगमा लगानी गर्न कृषि विकास बैंकबाट ऋण लिएको रु.३,५०,०००। कटाउँदा जम्मा रु.१४,३६,४२२।६९ आय प्राप्त गरेको भन्ने विशेष अदालतको ठहर निष्कर्ष रहेको पाइन्छ । निर्यातबाट प्राप्त हुने विदेशी मुद्रा व्यवस्थापनको लागि निर्यातको विवरणमात्र कर कार्यालयमा पेश गरिएको हो । निर्यातमूलक घरेलु उद्योगले सात वर्षसम्म कर तिर्न नपर्ने कानूनी व्यवस्था रहेको कारण आन्तरिक रुपमा बिक्री गरेको विवरण पेश गरिएको थिएन । उद्योगको लेखा परीक्षण भएको वासलात, लेजर, क्यासबुक आदिबाट रु.३९,१७,४२६। मुनाफा प्राप्त गरेको हुँदा सोही बमोजिम आय कायम गरिपाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको पाइन्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर हेर्दा आशा चतुर्वेदीका नाउँको भैरहवाको कि.नं.१६३६ को जग्गा धितो राखी सो उद्योगमा लगानी गरेको र उक्त जग्गा खरीद गरेको स्रोत नै बैध नहुँदा उद्योगको आयलाई बैध मान्न मिल्दैन, कर कार्यालयमा विवरणसम्म पेश गरेको भए पनि के कसरी आय प्राप्त गरेको भन्ने प्रष्ट नभएको हुँदा कमला कार्पेटतर्फको आयलाई मान्यता दिएको विशेष अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने जिकीर लिएको देखिन्छ 

७४. कमला कार्पेट उद्योग मिति २०४४।१२।१८ मा घरेलु तथा ग्रामीण उद्योग विभागमा घरेलु उद्योगको रुपमा वीरेन्द्रनाथ टण्डन र माला यादव दुई जना साझेदार रहने गरी दर्ता भएको देखिएको छ । उद्योग स्थापना हुँदाको मुख्य उद्देश्य बिभिन्न साइजको बुट्टा र गलैचा उत्पादन गर्ने रहेको देखिन्छ । मिति २०४५।१।९ को निर्णयानुसार प्रतिवादीमध्येको आशा चतुर्वेदी तथा निर्मला लाभ पनि साझेदार कायम भएको पाइन्छ । मिति २०४९।१।१८ को निर्णयानुसार सो उद्योगलाई निर्यातमूलक उद्योगको हैसियत समेत दिइएको देखिन्छ 

७५. कमला कार्पेटमा लगानी गर्दा धितो राखेको कि.नं.१६३६ को जग्गाको स्रोत नखुलेको र कर कार्यालयमा पेस भएका कागजातबाट आय अङ्क घोषणासम्म गरेको भएपनि कहिले र कुन तरिकाबाट सो आय प्राप्त भएको भन्ने प्रमाण नभएकाले कमला कार्पेटको आयलाई मान्यता दिन नमिल्ने भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको छ । तर के कति कारणबाट उक्त जग्गा खरीदको स्रोत पुष्टि नभएको हो भन्ने सम्बन्धमा पुनरावेदन पत्रमा ठोस आधार उल्लेख गर्न सकेको पाइदैन । विशेष अदालतले प्रतिवादीको आय र सम्पत्तिको विश्लेषण गरी आशा चतुर्वेदीका नाउँको उक्त कि.नं.१६३६ लाई स्रोत खुलेको आर्जनभित्रको सम्पत्तिका रुपमा मान्यता प्रदान गरेको देखिँदा सो जग्गा धितो राखी उक्त उद्योगमा गरेको लगानीलाई अन्यथा भन्न मिल्ने अवस्था देखिँदैन । त्यस्तै घरेलु उद्योगको रुपमा स्थापना भएको उक्त उद्योगलाई निश्चित् अवधिसम्म कर नलाग्ने तत्कालीन औद्योगिक व्यवसाय ऐन, २०३८ समेतको कानूनी व्यवस्था रहेको सन्दर्भमा आयकरको लगत कटृाको प्रयोजनको लागि उद्योगले मौकामा सम्बन्धित कर कार्यालय समक्ष पेश गरेको आय विवरणलाई हाल आएर मान्यता दिन नमिल्ने कुनै कारण नदेखिएकोले पुनरावेदक वादी पक्षको पुनरावेदन जिकीरसँग सहमत हुनसक्ने स्थिति भएन 

७६. बैदेशिक मुद्रा व्यवस्थापनको लागि निर्याततर्फको विवरणमात्र कर कार्यालयमा पेश गरेको हो, कर छूट हुने हुँदा आय विवरण पेश गर्नुपर्ने दायित्व नै थिएन, त्यसैले लेखा परीक्षण भएको उद्योगको स्रेस्ताबमोजिमको मुनाफा रकमलाई प्रतिवादीको आयमा गणना गरिनु पर्दछ भन्ने प्रतिवादीको पुनरावेदन जिकीरका सम्बन्धमा विचार गर्दा २०४९ सालदेखि मात्र कमला कार्पेट इण्डष्ट्रिजको उद्देश्यमा निर्यातमूलक भन्ने थप भएको पाइन्छ । शुरुमा उक्त उद्योग गलैचा उत्पादन र बुट्टा बनाउने लक्ष्यसहित स्थापना भएको देखिन्छ । कर कार्यालयमा आ.व.२०४५।०४६ सालदेखि सालबसाली रुपमा पेश गरेको विवरणमा निर्याततर्फको आय मात्र पेश गरेको भन्ने कुरा उल्लेख नभई विद्युत, टेलिफोन, प्रशासनिक लगायत उद्योगका सम्पूर्ण खर्च समेत देखाई उत्पादन र बिक्रीबाट प्राप्त कुल आय, कुल खर्च, खुद मुनाफा र बाँकी रहेको मौज्दात आदिको विवरण समेत उल्लेख भएकोले उक्त विवरण निर्यातको मात्र हो भनी मान्न सकिने आधार देखिँदैन । साझेदारी उद्योगको नाममा रहेको बैंक खाताबाट साझेदार सञ्चालकहरूले विभिन्न उद्देश्य वा उद्योगकै नियमित कार्य सञ्चालनका लागि रकम निकाल्ने कार्य स्वाभाविक हुने हुँदा मुनाफा बापत रकम झिकिएको भन्ने व्यहोरा उल्लेख भएको अवस्थामा बाहेक उद्योगको खाताबाट सञ्चालक साझेदार समेत रहेकी प्रतिवादी आशा चतुर्वेदीले निकालेको सम्पूर्ण रकम मुनाफाबापतको हो भनी अनुमान गर्न मिल्ने अवस्था हुँदैन । त्यसमा पनि प्रतिवादीले दावी लिएबमोजिमको मुनाफा रकम साझेदारहरू बीच बाँडफाँड भएको भन्ने कुराको कुनै निर्णय वा आधिकारिक लिखत पुनरावेदक प्रतिवादी पक्षबाट दिन वा गुजार्न सकेको पनि पाइदैन । आफूले कर फर्छ्यौट गर्नुपर्ने दायित्व भएका अवस्थामा कम आय देखाई सम्पत्तिको स्रोत देखाउनु पर्ने अवस्थामा बढी आय देखाइएबाट त्यस्तो भनाइमा विश्वास गर्न सकिँदैन । त्यसैले कर फर्छ्यौट वा लगतकट्टा प्रयोजनको लागि मौकामा कर कार्यालयमा पेश गरेको विवरण मौजुद हुँदाहुँदै सोको विपरीत हुने गरी पछिबाट पेश गरिएका लेजर वा वासलातबमोजिमको कारोवारको अङ्कलाई मान्यता दिन नमिल्ने हुँदा कर कार्यालयमा पेश भएको विवरणका आधारमा रु.१४,३६,४२२।६९ आय कायम गरेको विशेष अदालतको फैसला मनासिब देखियो 

७७. त्यसै गरी कृषि आयतर्फ जिकीर लिइएबमोजिम आय नदिई कम आय कायम गरेको विशेष अदालतको फैसला नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको छ । साथै कृषि समेतबाट प्राप्त गरेको सीमित आयबाट छोराछोरीलाई भारतमा पढाउँदाको खर्च व्यहोरिएको भन्ने अभियोग दावी भएकोमा कृषि तर्फको अलग्गै आय कायम गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको पाइन्छ । कृषि आय निर्धारण गर्ने न्यायोचित मापदण्ड भूमि सम्बन्धी ऐनबमोजिम कुत प्रयोजनका लागि निर्धारण गरिएको मापदण्ड नै हो भन्ने सम्बन्धमा माथि विस्तृत रुपमा विश्लेषण भैसकेको हुँदा सोको पुनरावृत्ति गरिरहन आवश्यक भएन । सोही आधारमा विशेष अदालतबाट प्रतिवादीले पैतृक जग्गाबाट २०३२ सालदेखि २०४५ सालसम्म रु.३,०६,८४०।, तथा अंशबण्डा भएपछिको अन्य स्रोत खुलेको जग्गा समेतको रु.७,२४,२९६।९० कृषि आय प्राप्त गरेको भन्ने विश्लेषण भएको देखिन आउँछ । प्रतिवादीको उपरोक्तबमोजिमको पैतृक सम्पत्तिमा विवाद नभएको र सो जग्गाहरूमा खेतिपाती लगाइएकै थिएन भन्ने वादी पक्षको जिकीर छैन । त्यसैले सम्पत्ति छ भने त्यसबाट आय प्राप्त हुने कुरा स्वाभाविक भएकोले कृषि आय कायम गरेको मिलेन भन्ने वादी पक्षको पुनरावेदन जिकीर समेत आधारहिन देखिन आउँछ 

७८. त्यसैगरी फलफूल, माछा र बगैंचाको काठ बिक्रीबाट क्रमशः रु.५,१०,०००।, ,००,०००। र ७,५०,०००। आय प्राप्त भएकोमा विशेष अदालतले हचुवा रुपमा बागबगैंचाको रु.८४,३३६।, माछा बिक्रीतर्फको रु.७५,०००। आय कायम गरी रुख बिक्रीको आय नै नदिएको हुँदा उपरोक्तबमोजिम आय कायम गरिनु पर्दछ भन्ने पनि प्रतिवादीको पुनरावेदन जिकीर रहेको देखिन्छ । बागबगैंचा र माछा पालनतर्फ विशेष अदालतबाट दिइएको आयका सम्बन्धमा वादी पक्षको पुनरावेदन पत्रमा कुनै जिकीर रहेको नपाइएकोले त्यस सम्बन्धमा विचार गर्नु परेन 

७९. जहाँसम्म उपरोक्त शीर्षकहरूमा बयान जिकरीबमोजिमको आय पाउनु पर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको छ, सोको समर्थनमा पर्सा वैरियाबिर्ताअन्तर्गतको कि.नं.२१५, २१६ र ३५३ तथा सिर्सियाको कि.नं.४२ मा जग्गाको स्रेस्ता तथा बण्डापत्रमा नै वगैँचा जनिएको भन्ने जिकीर गरिएको पाइन्छ । परन्तु वगैंचा भनिएको उक्त जग्गाको हालको वास्तविक अवस्थिति चित्रण हुने गरी प्रतिवादीले जिकीर लिन सकेको पाइदैन । उक्त जग्गामा के कुन समयमा लगाएका के कुन जातका फलफूलका रुखहरू थिए, के कुन समयसम्म उत्पादन दिए, त्यसबाट के कति उत्पादकत्व हुन सक्ने अवस्था थियो र त्यसबाट सालवसाली यो यति आम्दानी प्राप्त भएको हो भन्ने कुराको स्पष्ट आधारसहित जिकीर नभएको स्थितिमा केवल बयानमा उल्लेख गरेकै भरमा सोबमोजिमको आय नै प्राप्त भएको होला भनी मान्न सकिने आधार देखिएन । प्रतिवादीले निश्चित् अवधिको फलफूलको आयस्ता दावी गरी सो पश्चात् रुखहरू काटी बिक्री गरेको भनी काठ विक्रीको जिकीर लिएकोबाट हाल फलफूलका रुखको कुनै अवस्थिति नै नदेखिएको अवस्थामा पुनरावेदक प्रतिवादीको जिकरीबमोजिम आय प्राप्त भएको थियो होला भन्ने कुराको अनुमान गरी निष्कर्षमा पुग्न झनै असम्भव देखिन आएको छ । त्यस्तै अवस्था फलफूलका रुख विक्रीका सम्बन्धमा लिइएको पुनरावेदन जिकीरका सन्दर्भमा पनि देखिन्छ । रुख काट्नको लागि सम्बन्धित बन कार्यालयबाट इजाजत वा निकासीको लागि छोडपूर्जी लिएको भन्ने जिकीर लिई त्यसको प्रमाण गुजार्न प्रतिवादीले सकेको देखिदैन । फुलेना पण्डित तथा यज्ञानन्द पुरीलाई फलफूल तथा रुख बिक्री गरिएको भन्ने जिकीर लिई घरसारको विक्रीनामा कागज पेश गरेको देखिए तापनि पाँच र सात वर्षपछिसम्मको फलफूल खरीद गर्ने गरी अगाडिनै भएका कागजहरू विश्वसनीय देखिन आउँदैन । त्यस्तो कागज जुनसुकै बखत तयार गर्न सकिने अवस्थाको भएको र परस्पर मिलेमतोमा खडा गर्न सकिने प्रकृतिको हुँदा सम्बन्धित व्यक्तिहरू बीचको निजी विवादमा बाहेक प्रस्तुत मुद्दामा त्यस्ता कागजलाई मान्यता दिन मिल्ने हुँदैन । त्यसैले उपरोक्त जग्गाहरूबाट सामान्य कृषि आयको दोब्बर अर्थात् रु.८४,३३६। आय प्राप्त गरेको भन्ने विशेष अदालतको निर्णयाधार मनासिब नै देखिन आउँछ 

८०. त्यस्तै पर्सा श्रीपुरको कि.नं. ८१४ र ८१७ को घरजग्गामध्ये करीव ३ कठ्ठामा पोखरी रहेको भन्ने कुरा प्रतिवादीकै बयानमा उल्लेख भएको देखिन्छ । तर उक्त पोखरीमा व्यावसायिक रुपमा यो यस जातको यति परिमाणमा माछा पालन गरिएको र त्यसबाट यो यति आय प्राप्त भएको थियो भन्ने कुराको निश्चित् आधार बयानमा उल्लेख गर्न सकेको देखिन आउँदैन । माछा बिक्रीको आय दावी गरिएको २०५१ देखि २०५५ सम्म प्रतिवादी तथा निजको परिवार उक्त स्थानमा बसेको भन्ने पनि देखिन नआएकोले प्रत्यक्ष निगरानी र रेखदेखमा माछा पालन गर्न सम्भव समेत देखिएको छैन । यसरी माछा बिक्री समेतबाट तीन लाख प्राप्त गरेको भन्ने पुनरावेदन जिकीर प्रमाणित हुन नसकेको र पोखरीको अवस्थिति देखिएको अवस्थामा सामान्य तरिकाले माछापालन गर्दा प्रतिकठ्ठा वार्षिक रु.५,०००। आम्दानी हुनसक्ने अनुमान गरी तीन कठ्ठा पोखरीको माछा बिक्रीबाट पाँच वर्षमा रु.७५,०००। आय प्राप्त भएको भन्ने विशेष अदालतको निष्कर्ष मनासिब देखिएकोले रु.३,००,०००। आय पाउनु पर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन 

८१. त्यसैगरी पैतृक सम्पत्तिबाट प्राप्त मौद्रिक आयको रुपमा पुनरावेदक प्रतिवादीले रु.११,००,०००। प्राप्त गरेको भन्ने जिकीर लिएको देखिन्छ । मिति २०४६।४।१४ को घरसारको चल बण्डा गरिएको लिखतबाट सो रकम दावी गरेकोले घरसारमा त्यति ठूलो रकम राख्न सम्भव नभएको भन्ने समेत आधार ग्रहण गर्दै विशेष अदालतले उक्त जिकीरलाई मान्यता दिएको देखिँदैन । चार दिनपछि अचल सम्पत्ति बण्डा गरिएको लिखतमा चल सम्पत्ति घरसारमा बण्डा गरिएको भन्ने उल्लेख भएको र उक्त कागजबाट बण्डा पाउने अंशियारमध्येकै दाजु रामचन्द्र चतुर्वेदीले लिखत व्यहोरालाई समर्थन गरी अदालतसमक्ष बकपत्र गरेको अवस्था हुँदाहुँदै उक्त रकमलाई मान्यता नदिएको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने प्रतिवादीको यस अदालतसमक्षको पुनरावेदन जिकीर रहेको छ 

८२. वस्तुतः मिति २०४६।४।१४ मा उक्त घरसारको चल बण्डा गरिएको लिखत भएको चारदिन पछि अचल सम्पत्ति बण्डा गरी प्रतिवादी समेतका अंशियारहरू बीच सम्पन्न भएको मिति २०४६।४।१९ को पारीत बण्डापत्रमा पनि चल सम्पत्ति घरसारमै लिई दिइसकेको भन्ने उल्लेख भएको देखिन्छ । यसअघि मिति २०३२।१२।६ को घरसारको मानो छुटिृएको कागजमा पनि चल अचल पछि बण्डा गर्ने गरी चुल्हो मानो छुटिृएको व्यहोरा उल्लेख भएको पाइन्छ । यसबाट मानो छुट्टिदा चल सम्पत्ति समेत बण्डा गरेको नदेखिएको र चल सम्पत्ति घरसारमा बुझेको कुरालाई पारीत बण्डापत्रले समर्थन गरेको मान्नुपर्ने हुन्छ । २३ विगाहा जग्गा भएको संयुक्त परिवारमा कुनै चल सम्पत्ति नै थिएन होला भन्ने अनुमान गरी चल बण्डाको जिकीरलाई पूर्णरुपमा अस्वीकार गर्नु पनि न्यायोचित हुन सक्दैन । अर्कोतर्फ सो लिखतमा उल्लेख भएबमोजिमकै रकम प्रतिवादी रामाज्ञा चतुर्वेदीले प्राप्त गरेको होला भनी अनुमान गर्दा पनि सार्वजनिक जिम्मेवारीको पदमा रही गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने सम्बन्धमा लागेको आरोप विरुद्ध प्रमाण सिर्जना गर्नकै लागि पछिबाट घरसारमा त्यस्तो कागज बनाउँन सक्ने अवस्था रहन जानेतर्फ समेत विचार पुर्‍याउनु पर्ने हुन आउँछ 

८३. उक्त घरसारको लिखतबाट रु.२८,७५,०००। नगद सात अंशियारहरू बीच बण्डा गरेको भन्ने उल्लेख भएको देखिन्छ । सो रकम सबै अंशियारहरूलाई समान रुपमा बराबर भाग लगाई बाँडेको भन्ने पनि देखिँदैन । पुनरावेदक प्रतिवादीको काकी राजपतीदेवीले सबैभन्दा कम रु.७५,०००। पाएको देखिन्छ भने पुनरावेदक रामाज्ञा तथा निजका भाई राम अयोध्या चतुर्वेदीले सबैभन्दा बढी जनही रु.११,००,०००। का दरले प्राप्त गरेको भन्ने देखिन्छ । बाँकी अंशियारहरू मध्ये रामचन्द्र र राम सिंहासनले जनही रु.१,५०,०००। तथा रामाधारले रु.२,००,०००। प्राप्त गरेको देखाइएको छ । छोराछोरीको पढाइ र विवाह खर्चलाई ध्यानमा राखी अंशियारपिच्छे चल बण्डामा विभेद गरिएको भन्ने कारण उल्लेख भएको छ । सगोलमा बस्दा सगोलको आय आर्जन सबैले उपभोग गर्ने र बण्डा हुँदा बाँकी रहेको सबै अंशियारले बराबर बाँडने अंशबण्डा सम्बन्धी परम्परागत मान्यता र ब्यवहार हो । जीउनी राखेको अवस्थामा बाहेक अंशियारहरू बीच जियजियैको अंश गर्नुपर्ने अंशबण्डाको १ नं. को कानूनी व्यवस्था रहेको तथा पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीको आर्थिक अवस्था समेतको सन्दर्भमा सगोलको नगद घटीबढी पारी बण्डा गरेको भन्ने कुरा स्वाभाविक र विश्वसनीय देखिन नआएकोले लिखतमा उल्लिखित कुल रकमलाई तत्काल कायम रहेका सात अंशियारलाई बराबर भाग लगाउँदा प्रतिवादी रामाज्ञाको भागमा पर्न आउने रकमसम्म निजले पाएको मान्नु न्यायोचित हुने देखिन्छ । उक्त लिखतबाट बण्डा गरिएको रु.२८,७५,०००। सात अंशियारले बराबर पाएको अनुमान गर्दा एकजना अंशियारको भागमा रु.४,१०,७१४।२८ पर्ने देखिँदा सोही बराबर पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले पाएको मान्नु पर्ने हुन्छ । अतः उक्त शीर्षकबाट प्रतिवादीले रु.४,१०,७१४।२८ प्राप्त गरेकोले पैतृक सम्पत्तिबाट प्राप्त आयमा रु.४,१०,७१४।२८ थप हुने देखियो 

८४. पुनरावेदक प्रतिवादीले आमा यशोदादेवी र काकी राजपतीदेवीको अंश भागमा परेको ज.वि.३१६० जग्गाको सरदर प्रति वर्ष प्रतिविगाहा रु.३०,०००। कृषि आय हुने, मोही लागेको हुँदा सोको आधा अर्थात् रु.१५,०००। का दरले मोहीले बुझाएको २०४७ देखि २०५८ सालसम्मको रु.६,८४,०००। कृषि आय निजहरूले प्रतिवादीलाई नै दिएकोमा विशेष अदालतले सो आयलाई नमानेकोले त्यसलाई आयमा गणना गरिपाऊँ भन्ने पनि पुनरावेदन जिकीर लिएको देखिन्छ । उक्त जिकीरको समर्थनमा २०३२ सालमा मानो छुट्टिएको अवस्थादेखि नै आमा र काकीलाई प्रतिवादीको परिवारबाट स्याहार सुसार गरी रेखदेख, पालन पोषण, तीर्थ ब्रत पूजा आजा एवम् औषधि उपचार गर्दै आएको भन्ने आधार प्रस्तुत गरेको अवस्था छ । आमा सरहकी काकी राजपतीदेवी पुनरावेदक रामाज्ञासँगै रहेको भन्ने पनि निजतर्फका कानून व्यवसायीहरूको बहस जिकीर रहेको देखिन्छ 

८५. पुनरावेदक प्रतिवादीहरूको उक्त पुनरावेदन जिकीरका सम्बन्धमा मिसिल संलग्न मिति २०३२।१२।६ को मानो छुट्टिएको भनिएको घरसारको कागज हेर्दा राजपतीदेवी र यशोदादेवीको भागको कृषि आयस्ता प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई दिने भन्ने कुरा उल्लेख भएको देखिँदैन । त्यसै गरी मिति २०४६।४।१९ को पारीत अंशबण्डाको लिखतमा पनि हामी राजपतीदेवी र जसोदादेवीको नाउँमा संयुक्त दर्ता रहेको जग्गामा हाम्रो शेषपछि नित्य काज क्रिया सदगद् गरी पाँच जना दाजुभाइले बराबर लिनु खानुभन्ने व्यहोरा परेको देखिन आएबाट निजहरूको अंशभागमा परेको जग्गाको आयस्ता प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई मात्र दिने कुनै उद्देश्य राखेको देखिन आउँदैन । यशोदादेवीको २०५३ सालमै मृत्यु भैसकेको र राजपतीदेवी अद्यापिसम्म जीवित रहेको देखिन्छ । काकी राजपतीदेवीको जग्गाको आयस्ता पाएको र निजको पालण पोषण र संरक्षकत्व आफूमा रहेको भन्ने जिकीर लिने पुनरावेदक प्रतिवादीले विशेष अदालतमा गरेको बयानमा निजलाई परिवारको सदस्यको रुपमा उल्लेख गर्न नसकी श्रीमती आशा, छोरा रितेश र अभिषेक तथा छोरी अदितीलाई मात्र परिवारका सदस्यका रुपमा देखाएको पाइएबाट पनि पुनरावेदन जिकीर प्रतीतलायक देखिन आउँदैन 

८६. मोही लागेको उपरोक्त जग्गाबाट प्राप्त हुने कृषि आयस्ता दुई जना बृद्धाहरूको दान पुण्य, औषधोपचार लगायतको जीवन निर्वाहमा खर्च हुने कुरा स्वाभाविक अनुमानको विषय हुने देखिन्छ । अपितु कृषि आयबाट केही बचत नै भएको मानिएको अवस्थामा पनि त्यस्तो बचत अन्य छोराहरूलाई नदिई आर्थिक अवस्था राम्रो भएको भनिएका यी पुनरावेदक प्रतिवादीलाई नै दिनुपर्ने र दिएको अवस्था प्रमाणित हुने आधार र कारण नहुँदा सो सम्बन्धमा लिइएको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन 

८७. आशा चतुर्वेदीका नाउँमा काठमाडौं चावहिल कि.नं.५० को जग्गामा रहेको घर तथा रितेश चतुर्वेदीका नाउँको पर्सा श्रीपुरको कि.नं.८१४ र ८१७ को घरजग्गाको घर भाडाबाट रु.१०,७४,३७०। प्राप्त भएकोमा विशेष अदालतले रु.७,२४,०८०। लाई मान्यता दिएकोले रु.३,५०,२५०। थप हुनु पर्दछ भन्ने समेत पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको देखिन्छ । विशेष अदालतले घरभाडाबाट प्रतिवादीले प्राप्त गरेको मानेको उपरोक्त रकमका विषयमा वादी पक्षको पुनरावेदन पत्रमा कुनै जिकीर लिएको नपाइए पनि उपरोक्त घरजग्गाहरू स्रोत नखुलेको सम्पत्ति भन्ने अभियोग दावी रहेकोमा स्रोत खुलेको ठहर गरेको विशेष अदालतको फैसलामा प्रत्यक्ष त्रुटि रहेको भन्ने जिकीर लिएको देखिन आउँछ । तलबभत्ताबापत प्रतिवादीले प्राप्त गरेको रकमलाई निजको वैध आयस्रोत मानी अभियोग दायर भएको तथा आयस्रोतका अन्य प्रमाणहरूबाट उपरोक्त घरजग्गा प्रतिवादीको स्रोत खुलेको सम्पत्तिभित्र पर्ने देखिएको भन्ने समेत आधार ग्रहण गरी घर भाडाबापतको उपरोक्त रकमलाई विशेष अदालतले वैध आय मानेको देखिन्छ 

८८. बहिनी फाउण्डेशन र उप्रेती केमिकल्स नामक संस्थालाई भाडामा दिएको भनी प्रतिवादीको बयानमा उल्लिखित उपरोक्तबमोजिमको रकमलाई विशेष अदालतले मान्यता नदिनु पर्नाको कारण उक्त संस्थाहरूलाई घरभाडामा दिएको लिखित सम्झौता प्रमाणस्वरुप पेश हुन नसकेको भन्ने उल्लेख भएको पाइन्छ । त्यसै गरी घरबहाल कर तिरेको भन्ने जिकीर लिए पनि सोको प्रमाण पेश गर्न सकेको देखिँदैन । विशेष अदालतले ग्रहण गरेको उपरोक्त आधार खण्डन हुने गरी उक्त संस्थाहरूलाई घर भाडामा दिएको कुरा पुष्टि हुने कुनै तथ्ययुक्त सबूद प्रमाण प्रतिवादीले यस अदालतसमक्षको पुनरावेदनमा समेत पेश गर्न सकेको नपाइएकोले पुनरावेदन जिकीरका भरमा मात्र थप आय दिन मिल्ने देखिएन । त्यसैले घर भाडा बापत विशेष अदालतले गरेको विश्लेषणमा कुनै त्रुटि विद्यमान रहेको पाइएन 

८९. यसका साथै प्रतिवादीले विवाहमा दाइजो (तिलक) स्वरुप प्राप्त गरेको रकमबाट बचत भएको भनिएको रु.१,७३,७५०। लाई विशेष अदालतले स्रोत खुलेको सम्पत्तिका रुपमा लिएउपर वादी पक्षको पुनरावेदनमा कुनै जिकीर लिएको देखिन नआएकोले त्यस सम्बन्धमा थप विचार गर्नुपर्ने अवस्था देखिँदैन । भारतीय जीवन विमाबाट भा.रु.२०,०००। को हुने ने.रु.३२,०००। र राष्ट्रिय बीमा संस्थानबाट बीमाबापत रु.५०,१००। पाएकोमा सोको आधा रु.४१,१००। लाई मान्यता दिएकोले पूरै रकमलाई स्रोत खुलेको सम्पत्तिका रुपमा लिनु पर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको देखिन्छ । बीमा अवधि भुक्तान भएपछि प्रिमियमको दोब्बरसम्म भुक्तानी पाउन सक्ने अनुमानमा आधारित भई आधा रकमलाई मान्यता दिएको विशेष अदालतको फैसला अन्यथा देखिन आउँदैन । तसर्थ उपरोक्त शीर्षकहरूबाट जम्मा रु.२,१४,८५०। प्रतिवादीको आयमा समावेश गरेको विशेष अदालतको फैसला मिलेकै देखिन्छ 

९०. मामा अम्बिका तिवारीबाट सहयोगस्वरुप २०४६ सालमा प्राप्त गरेको भनिएको भा.रु.९,००,०००। लाई २०४७ सालदेखि नै २५ प्रतिशत ब्याजदरमा लगानी गरी आर्जन भएको रु.३१,०१,७५५। तथा सासू चन्द्रावतीबाट बच्चाहरूको उच्च शिक्षाको लागि २०५६ मंसिरदेखि २०५७ भाद्रसम्म प्राप्त गरेको भा.रु.७,५०,०००। को हुने ने.रु.१२,००,०००। लाई विशेष अदालतले मान्यता नदिएकोले त्यसलाई पनि प्रतिवादीको वैध आयमा समावेश गरिनु पर्ने भन्ने पनि पुनरावेदन जिकीर रहेको छ । उक्त लिखतबमोजिमको रकम नेपालमा आएको भन्ने तथ्य पुनरावेदक प्रतिवादीबाट स्थापित गर्न सकेको अवस्था देखिँदैन । भारत चम्पारण जिल्लामा बस्ने आमा चन्द्रवतीदेवी र मामा अम्बिका तिवारीबाट पाएको भनिएका क्रमशः भारतीय रुपैँया ७ लाख पचास हजार र नौ लाख रुपैयाँ यो यस प्रक्रियाबाट नेपालमा ल्याएको, जम्मा गरेको र खर्च गरेको भनी प्रतिवादीले प्रष्ट र किटान साथ भन्न र देखाउन सक्नु पर्दछ । सो रकमहरूबाट गरिएको खर्चका सम्बन्धमा जसरी पुनरावेदक प्रतिवादी पक्षबाट जिकीर लिइएको छ त्यसरी नै लिखत भएदेखि खर्च हुनु अघिसम्मको सो रकमको कारोवार (Transaction) पनि प्रमाणित गर्न सक्नु पर्दछ । त्यति ठूलो रकम भारतबाट नेपालमा ल्याउँदा पुनरावेदक प्रतिवादीहरूले सँगसाथमा राखेर ल्याएको होला भनी अनुमान गर्नु स्वाभाविक हुँदैन । त्यसैले भारतमा प्राप्त भएको भनिएको उक्त रकम बैंकिङ्गलगायत अन्य वित्तीय प्रणालीबाट नेपाल आएको, सटही गरेको, जम्मा भएको लगायतको स्थिति र अवस्था प्रष्ट रुपमा देखिनु अपरिहार्य हुन्छ । सोको अभावमा शपथपत्र पेश गरेको एकमात्र आधारमा प्रतिवादीहरूले उक्त रकम प्राप्त गरेको हो भन्ने न्यायिक निष्कर्षमा पुग्न सम्भव हुँदैन । उपरोक्तबमोजिम कारोवार भएको तथ्य प्रमाणित हुनसक्ने जिकीर प्रतिवादीहरूको यस अदालतसमक्षको पुनरावेदन पत्रमा समेत उल्लेख भएको नदेखिएको हुँदा त्यसलाई मान्यता नदिएको विशेष अदालतको फैसला अन्यथा देखिएन । आशा चतुर्वेदी र अभिषेक चतुर्वेदीका नाउँमा यूनाइटेड बैंक अफ इण्डियाको खाताका सम्बन्धमा सो रकमलाई प्रतिवादी रामाज्ञा चतुर्वेदीको आयमा समावेश गर्नु नपर्ने भनी तथा शपथपत्रमार्फत् पाएको भनिएका उपरोक्त रकमहरूलाई मान्यता दिन नमिल्ने भन्ने सम्बन्धमा माथि पृथक रुपमा विश्लेषण भैसकेकोले त्यस सम्बन्धमा अरु विचार गरी रहन पर्ने अवस्था भएन 

९१. त्यसैगरी प्रतिवादीले विभिन्न जग्गाहरू भाडामा लगाई जम्मा रु.७,२९,६००। आय प्राप्त गरेकोमा विशेष अदालतले त्यसलाई मान्यता नदिएकोले आयमा समावेश हुनुपर्ने भन्ने जिकीर लिएको देखिन्छ । जग्गा भाडामा दिएको भनी घरसारमा बनाइएका पेश भएका केही लिखतहरू समेत अस्वाभाविक देखिएको हुँदा विशेष अदालतबाट भाडा माग गरिएका जग्गाको कृषि आयसम्म कायम गरेको देखिन्छ । विशेष अदालतको विश्लेषणविपरीत जग्गा भाडाबाट आय प्राप्त भएको ठोस र विश्वसनीय आधार पुनरावेदक प्रतिवादीले यस अदालतको पुनरावेदन पत्रमा समेत लिन सकेको नपाइएको हुँदा जग्गा भाडाको सम्बन्धमा लिइएको जिकीर आधारहिन देखियो 

९२. काकी राजपतीदेवीले मिति २०४९।४।१० को शर्तनामाको लिखतबाट दिएको रु.१५,००,०००। सोही बेलादेखि गाउँघरमा २५ प्रतिशत ब्याजदरमा लगानी गरी प्राप्त भएको रु.३५,१७,९६८। लाई विशेष अदालतले मान्यता नदिएकोले स्रोत खुलेको सम्पत्तिमा गणना हुनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको देखिन्छ । उक्त रकम राजपतीदेवीसँग रहन सक्ने आधारका रुपमा निजका पिता हरिनारायण तिवारीको कुनै सन्तान नभएको, अन्य दुई छोरीलाई जग्गा नै दिएको र राजपतीलाई घरसारमा नगदै सो रकम दिएको भन्ने जिकीर लिइएको छ । त्यस्तै राजपतीले सो रकम प्रतिवादीलाई दिनुपर्ने कारणमा निजको रेखदेख, खानपीन, सेवा सुश्रुसा, तीर्थ ब्रत, औषधि उपचार आदि प्रतिवादीले गरेको भन्ने जिकीर लिइएको छ । प्रथमतः पन्ध्र लाख रुपैयाँ राजपतीदेवीका बाबुले घरसारमा दिएको भन्ने जिकीर पुष्टि हुने कुनै प्रमाण छैन । राजपतीदेवीसँग सो रकम रहन सक्ने अवस्था र आधार स्थापित नभएको स्थितिमा निजले त्यति ठूलो रकम प्रतिवादीलाई दिएको जिकीर स्वतः खण्डित हुने हुँदा काकी र भतिजाको मिलेमतोमा जुनसुकै बखत खडा गर्न सकिने प्रकृतिको त्यस्तो घरसारको कागजका आधारमा प्रतिवादीले जिकीर लिएबमोजिमको रकम प्राप्त गरेको निष्कर्षमा पुग्न मिल्ने हुँदैन । त्यसैले प्रतिवादीको यसतर्फको पुनरावेदन जिकीर आधारहिन देखियो 

९३. अभयकुमार सर्राफबाट मिति २०५७।११।१४ मा ऋणस्वरुप लिएको रु.११,५०,०००। लाई विशेष अदालतले मान्यता नदिएकोले त्यसलाई पनि प्रतिवादीको वैध आयका रुपमा लिइनु पर्दछ भन्ने पनि पुनरावेदन जिकीर रहेको देखिन्छ । उपरोक्त ऋण प्रस्तुत मुद्दा दायर हुनु पूर्व मिति २०५८।९।२६ मा नै तिरी सकेको भन्ने निज अभयकुमार सर्राफको बकपत्रबाट खुल्न आएको अवस्था छ । ऋण तिर्नको लागि समेत आर्थिक दायित्व पर्ने नै हुँदा मुद्दा चल्नु अगावै तिरिसकेको ऋणलाई आयस्रोतमा गणना गर्नुपर्ने कुनै विवेकसम्मत आधार नदेखिँदा सो रकमलाई आयस्रोतमा लिनुपर्ने भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन 

९४. २०३३ सालदेखि २०५९ असोज मसान्तसम्म विभिन्न स्रोतबाट प्राप्त बैध रकम लगानी गरी रु.४५,६९,७९३। ब्याज प्राप्त भएकोमा विशेष अदालतले त्यसलाई स्रोतमा नलिएकोले स्रोत कायम हुनु पर्ने भन्ने प्रतिवादीको पुनरावेदनमा जिकीर लिइएको पाइन्छ । ब्याज प्राप्त हुने मूल स्रोतको रुपमा शपथपत्र मार्फत् प्राप्त गरिएका भनिएका रकम, दाइजो पेवा, टिकाटालो आदिबाट प्राप्त रकम, कृषि र तलब भत्ताबाट प्राप्त आय, राजपतीदेवीबाट घरसारमा प्राप्त गरेको भनिएको रकमसमेतलाई प्रस्तुत गर्न खोजिएको छ । शपथ पत्र एवम् घरसारको लिखतबाट प्राप्त गरेको भनिएका रकमलाई मान्यता दिन नमिल्ने भन्ने सम्बन्धमा माथि विवेचना भैसकेको छ । तलबभत्ता, कृषि लगायतका बैध स्रोतबाट प्राप्त रकम दैनिक खर्चमा पनि खर्च भएर जाने कुरा स्वाभाविक नै हुँदा सम्पूर्ण रकम शुरुदेखि अन्त्यसम्म बैंकमा जम्मा भएको र पुनरावेदकले जिकीर लिए जस्तो अस्वाभाविक परिमाणको ब्याज प्राप्त गरेको मान्न सकिने हुँदैन । ब्याज दावी गर्नेले मूलधनको स्रोत पुष्टि गर्न सक्नु पर्ने हुन्छ । सबै मूलधन अर्थात् लगानीको स्रोत नदेखाई ब्याजबापत रु.४५,६९,७९३। प्राप्त भएको भनी लिइएको जिकीर स्वतः आधारहिन देखिएकोले त्यस सम्बन्धमा थप विचार गरिरहन आवश्यक भएन 

९५. प्रतिवादी आशा चतुर्वेदीले बाल्यकालदेखि नै माइतीबाट स्त्रीधन, दान दक्षिणा, टिकाटालो, विभिन्न समारोहमा पाएको बक्सिस समेत गरी जम्मा रु.२,०२,८५८। प्राप्त गरेकोमा २०३३ सालदेखि २५ प्रतिशत ब्याजदरमा लगानी गरी बढेबढाएको समेत रु.२२,१९,१५६। भएकोमा विशेष अदालतले रु.१,५०,०००। लाई मात्र मान्यता दिई सो रकमबाट लकरबाट बरामद भएको रु.३,२३,८५९।३१ गहना खरीद भएको ठहर गरेको त्रुटिपूर्ण छ । दाइजो (तिलक) बापत प्राप्त भएको रकमलाई मान्यता दिएपछि गर गहनालाई मान्यता नदिनुपर्ने कुनै कारण छैन । त्यसैले मान्यता नदिएको रु.२०,६९,१५६। रकमलाई पनि आयमा गणना गरिपाऊँ भन्ने पुनरावेदन जिकीर लिएको देखिन्छ । त्यसै गरी प्रतिवादीको घरबाट बरामद भएका करीव २० तोला बराबरका सुनका गरगहना दाइजो पेवाको हुन सक्ने भनी निजकै जिम्मा दिइएकोमा लकरबाट बरामद भएका रु.३,२३,८५९।३१ पर्ने गहनालाई विना आधार बैध सम्पत्तिमा समावेश गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाऊँ भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको पाइन्छ 

९६. कुनै प्रमाणबाट पुष्टि हुन नसकेको टिकाटालो समेतबाट उपरोक्तबमोजिम उल्लेख्य रुपमा बचत हुनसक्ने रकम प्राप्त भएको भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर प्रथम दृष्टिमा नै आधारहिन देखिएकोले त्यसतर्फ थप विचार गरिरहन आवश्यक देखिँदैन । प्रतिवादीहरूको घरबाट बरामद भएको गरगहनालाई विवाहलगायत विभिन्न पैतृक स्रोतबाट प्राप्त भएको अनुमान गरी स्वयम् वादी पक्षले दावी नलिएको अवस्थामा बैंक लकरमा फेला परेका उपरोक्त मूल्यका गरगहनालाई पनि दाइजोकै मान्नु पर्ने भन्ने जिकीर समेत ग्रहणयोग्य हुन सक्दैन । त्यसैले दान दक्षिणा, टिकाटालो समेतबाट समय समयमा प्राप्त हुने सानोतिनो रकमलाई महिलाले गहना जोड्न प्रयोग गरेको अनुमान गरी लकरबाट बरामद भएका गहना टिकाटालोबाट पाएको रु.१,५०,०००। बाट खरीद भएको विशेष अदालतको ठहर मनासिब नै देखिन्छ 

९७. पुनरावेदक प्रतिवादी आशा चतुर्वेदीका नाउँको नेपालगञ्जको जग्गा विक्रीको आयलाई विशेष अदालतले मान्यता दिएको तर दाइजो पेवाबाट खरीद भएको भनी लिखतमै उल्लेख भएका पर्सा श्रीपुरका कि.नं. ४९१, ५१४ र५१५ का जग्गा बिक्रीबाट प्राप्त रु.१,४२,५००। लाई मान्यता नदिएको हुँदा सो रकमलाई आयमा समावेश गर्नुपर्ने भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको छ । साथै नेपालगञ्जको कि.नं. ३३७ र ३३९ को जग्गा बिक्रीबाट रु.१,८६,०००। प्राप्त भएको लिखतबाटै देखिनेमा विशेष अदालतले रु.१,६८,०००। मात्र आय कायम गरेको हुँदा छूट भएको रु.१८,०००। लाई आयमा समावेश गरिनु पर्ने भन्ने पनि जिकीर रहेको पाइन्छ । लिखतमा दाइजो पेवा उल्लेख गर्दैमा दाइजो पेवाबाटै खरीद भएको अनुमान गर्न मिल्ने हुँदैन । अपितु दाइजो पेवाको जिकीर लिनेले सोको प्रमाण पनि गुजार्न सक्नुपर्ने हुन्छ । पुनरावेदक प्रतिवादीले दाइजो पेवाबाट प्राप्त गरेको भनिएको रकमलाई पनि विशेष अदालतले स्रोतका रुपमा अलग्गै शीर्षकमा मान्यता दिएको र प्रतिवादीको आयस्रोत तथा निजसँग रहेको सम्पत्तिबीचको सम्बन्धका बारेमा समेत विश्लेषण भएको स्थितिमा गोश्वारा रुपमा लिइएको पुनरावेदन जिकीरलाई स्वीकार गर्न मिल्ने अवस्था रहँदैन । त्यसैले उपरोक्त जग्गा खरीदको स्रोत पुनरावेदक प्रतिवादीहरूले ठोस र वस्तुनिष्ठ प्रमाणद्वारा पुष्टि नगर्दासम्म जग्गा बिक्रीबाट प्राप्त आय पनि वैध स्रोत हुन नसक्ने हुँदा त्यसलाई मान्यता नदिएको विशेष अदालतको फैसला अन्यथा देखिएन । त्यस्तै २०३७ सालमा नेपालगञ्जको जग्गा रु.१८,०००। मा खरीद गरेको देखिएको भनी खरीद गरेको रकम कटाई सो जग्गा बिक्रीबाट प्राप्त आयलाई वैध आयका रुपमा समावेश गरेको पनि न्यायोचित नै देखिन आएको छ 

९८. त्यसै गरी पुनरावेदक प्रतिवादीमध्येको अदिती चतुर्वेदीले टिकाटालो आदिबाट पाएको रकम सानैदेखि जम्मा गरी लगानी समेतबाट बढेबढाएको रु.१०,००,०००। एभरेष्ट बैंक न्यूरोड शाखामा जम्मा गरेको र सो रकमबाट प्राप्त ब्याज रु.२३,०३०।४८ समेत जम्मा रु.१०,२३,०३०।४८ खातामा रहेकोमा ब्याजबाट प्राप्त रकमसम्मलाई टिकाटालोको मानी अन्य रकमलाई मान्यता नदिएको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेकोले उक्त खातामा रहेको पूरै रकमलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ भन्ने पुनरावेदन जिकीर रहेको देखिन्छ । वस्तुतः टिकाटालोबाट दश लाख रुपैयाँ प्राप्त गरेको भन्ने जिकीर नै विश्वसनीय देखिँदैन । उक्त खातामा एकपटक रु.१,५०,०००। र अर्को पटक रु.८,५०,०००। गरी १० लाख रुपैयाँ जम्मा भएको भन्ने तथ्यलाई यस अदालतसमक्षको पुनरावेदन पत्रमा नै स्वीकार गरिएको छ । बैंक खातामा एकै पटक त्यति ठूलो परिमाणमा रकम जम्मा भएको उपरोक्त प्रवृत्तिबाट पनि अविवाहित छोरीले विभिन्न चाडवाड, समारोह आदिमा टिकाटालोबाट प्राप्त गर्ने सानोतिनो दान दक्षिणा रकम जम्मा हुने स्वाभाविक प्रबृत्तिलाई जनाउँदैन । त्यसैले सो बैंक खातामा रहेको रु.२३,०३०।४८ सम्मलाई निजको टिकाटालोबाट प्राप्त भएको ठहर गरेको विशेष अदालतको फैसला मनासिब नै देखिन्छ 

९९. अब पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदी तथा निजका परिवारका सदस्यका नाममा बकस पत्र एवम् राजीनामाबाट प्राप्त गरिएका घरजग्गाको विश्लेषणका सम्बन्धमा विशेष अदालतबाट भएको फैसला नमिलेको भन्ने पुनरावेदन जिकीरका सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । पुनरावेदकले जाँच अवधिभित्र लिखत मूल्यअनुसार बकसपत्रबाट रु.१७,६५,००६।५ र राजीनामाबाट रु.१९,८१,३४९।५० गरी कुल रु.३७,४६,३५६। मूल्य बराबरको जग्गा हक हस्तान्तरण गराई लिएको भन्ने विशेष अदालतको विश्लेषण रहेको छ । त्यस्तै विशेष अदालतले आशा चतुर्वेदीका नामको काठमाडौं चावहिलको कि.नं.५० को जग्गामा रहेको घर निर्माण तथा सुधारमा रु.९,५०,०००। खर्च भएको तथा रितेश चतुर्वेदीका नाउँको पर्सा श्रीपुरको कि.नं.८१४ र ८१७ को घरको लिखतबमोजिमको खरीद मूल्य रु.५,३१,९३४। कायम गरिएको देखिन्छ । बकस पत्रबाट प्राप्त गरिएका घरजग्गाहरूमा आफ्नो आर्जन नपरेको भन्ने प्रतिवादी र दाजुभाइबाट बकस पाएको तीन कित्ता जग्गालाई पनि खरीद मान्नुपर्ने र लिखत मूल्यलाई नभई अनुसन्धानको क्रममा भएको मूल्याङ्कनका आधारमा घरजग्गाको विगो कायम हुनु पर्ने भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको देखिए तापनि लिखतमा उल्लेख भएबमोजिम उपरोक्त मूल्यका घर जग्गाहरू प्राप्त गरेको भन्ने तथ्यमा कुनै विवाद भएको पाइँदैन । काठमाडौंको घर निर्माण र मर्मत सुधारमा रु.९,५०,०००। खर्च भएको भन्ने तथ्य स्वीकार गरी पुनरावेदक प्रतिवादीले अदालतसमक्ष बयान गरेको देखिँदा घर मर्मतमा खर्च भएको रु.४,००,०००। लाई खर्चमा समावेश गर्न मिल्ने होइन भनी लिएको जिकीर आधारहिन देखियो । त्यस्तै उक्त घर निर्माण भएको कि.नं.५० को जग्गालाई सम्म स्रोत पुष्टि भएको सम्पत्तिका रुपमा दावीमा उल्लेख गरिएकोमा घरको समेत स्रोत पुष्टि भएको भन्ने विशेष अदालतको फैसला नमिलेको भन्ने वादी पक्षको पुनरावेदन जिकीर रहेको देखिए तापनि प्रतिवादीको बैध आयस्रोतभित्रै उक्त घर निर्माणको खर्चलाई समावेश गरी विशेष अदालतबाट भएको विश्लेषणमा कुनै त्रुटि रहेको देखिँदैन 

बकसपत्रबाट प्राप्त घर जग्गा एवम् सम्पत्ति मूल्याङ्कनका सम्बन्धमा माथि अलग्गै विश्लेषण भैसकेको हुँदा उपरोक्त विश्लेषणका आधारमा घरजग्गालगायतको अचल सम्पत्ति प्राप्त गर्नमा भएको कुल खर्च रु.५२,२८,२९१। कायम गरेको विशेष अदालतको निर्णयमा कुनै त्रुटि रहेको पाइएन 

१००. नेपालमा रहेको बैंक खातातर्फ पुनरावेदक रामाज्ञा चतुवेर्दीका नाउँमा एस.बि.आई. बैंक दरवारमार्गमा रहेको बचत खाताको रु.५७,६६१।६५ र नेपाल बैंक लि. धर्मपथको रु.३२,१२७।३४, लाई मान्यता नदिएको, आशा चतुर्वेदीका नामको ने.बै.लि. धर्मपथको खाताको रु.६८,०७६।४० मध्ये रु.३९,२४१।२६ र हिमालयन बैंक वीरगञ्जको रु.७४,९६१।३६ लाई मान्यता नदिएको, अभिषेक चतुर्वेदीका नामको कृषि विकास बैंक चावहिलको रु.५०,१०८।२४ अवैध मानेको विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकोले उपरोक्त खातामा रहेको सम्पूर्ण रकमलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिपाऊँ भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको देखिन्छ । पुनरावेदन जिकीरको समर्थनमा सो रकमहरू कृषि आय, तलवभत्ता, कमला कार्पेटको मुनाफा, बिमा पोलिसी, गाउँघरमा लगानी गरेको रकमको ब्याज समेतका बैध आय अन्तर्गतको भएकोले स्रोत खुलेको सम्पत्तिको रुपमा लिइनु पर्ने भन्ने आधार प्रस्तुत गर्न खोजेको पाइन्छ । पुनरावेदक प्रतिवादीहरूले जिकीर लिएका उपरोक्त तलवभत्ता लगायतका आयस्रोतका सम्बन्धमा अलग्गै विश्लेषण भई विभिन्न शीर्षकअन्तर्गत बैध मानिएको हदसम्मको आयलाई विशेष अदालतले मान्यता दिएकै देखिन्छ । विशेष अदालतले बिभिन्न शीर्षकअन्तर्गत कायम गरेको प्रतिवादीको स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा लिइएको पुनरावेदन जिकीरका सम्बन्धमा पृथकपृथक विश्लेषण भैसकेको, सोही विश्लेषणबाट सो तथ्य यकीन हुने नै भएकोले यस सम्बन्धमा थप विचार गरी रहन आवश्यक देखिँदैन । बैंक खाताको मूलधनका सम्बन्धमा दावी नलिएकोले हाल बैंक खातामा रहेको रकम ब्याज मात्र भएको हुँदा पनि यसलाई अवैध मान्न नमिल्ने भन्ने पुनरावेदक प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूको बहस जिकीर र लिखित बहसनोटमा उल्लेख भएको पाइन्छ । अभियोग दायर गर्दाका बखत खातामा मौज्दात देखिएको रकमका सम्बन्धमा दावी भएको हुँदा मौज्दात रकम बैध स्रोतबाट आएको हो भन्ने प्रमाणित गर्नुपर्ने दायित्व प्रतिवादीहरू उपर नै रहन्छ । खाताको रकम ब्याजबापतको भएकोले त्यसको स्रोत दिनुपर्ने होइन भनी जिकीर लिनको लागि त्यसको मूलधन बैध थियो भन्ने तथ्य पुष्टि गर्न सक्नुपर्ने हुन्छ । तत्काल खातामा नरहेको कारणले मूलधनउपर दावी भएन भन्दैमा ब्याज स्वतः बैध भएको भनी अर्थ गर्न मिल्दैन । त्यसमा पनि प्रतिवादीले पुनरावेदन पत्रमा प्रष्ट रुपमा जिकीर नै लिन नसकेको सो विषयमा कानून व्यवसायीको बहस र लिखित बहसनोटमा लिएको अतिरिक्त जिकीरका आधारमा बहसनोट साथ पेश भएका बैंक स्टेटमेण्टहरू केलाई थप विश्लेषण गरिरहन आवश्यक देखिँदैन 

१०१. पुनरावेदक प्रतिवादीहरूले निजहरूका नाउँमा रहेको रु.५७,००,०००। मूल्य बराबरको शेयरलाई विशेष अदालतले स्रोत नखुलेको ठहर गरेउपर समेत चित्त नबुझाई यस अदालतसमक्षको पुनरावेदनपत्रमा जिकीर लिएको देखिन आउँछ । अभिषेक चतुर्वेदीका नाउँको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको शेयर रु.३० लाखको शेयर खरीदको स्रोत आशा चतुर्वेदीका नामको हिमालयन बैंक वीरगञ्जको खातामा रहेको रु.६८,५०,०००।मध्येको रकम भएको र रामाज्ञा चतुर्वेदीका नाउँको नेपाल मेडिकल कलेजको रु.३० लाखको शेयर तलवभत्ता, कृषि आय, घरभाडा, जग्गा भाडा, माछा पालन, आँपको रुख बिक्री, विभिन्न बैंकबाट झिकिएको रकम र अभयकुमार सर्राफबाट लिएको ऋण भएकोले स्रोत खुलेको सम्पत्तिमा समावेश गरिनु पर्ने भन्ने आधार प्रस्तुत भएको देखिन्छ 

१०२. अभिषेक चतुर्वेदीका नाउँको ओम हस्पिटलको शेयर आशा चतुर्वेदीका नाउँमा वीरगञ्ज स्थित हिमालय बैंकमा रहेको रु.६८,५०,०००। रकममध्येबाट खरीद भएको भन्ने आधार दिन खोजेको भए तापनि सो बैंक खाताको रकमको स्रोत पुष्टि गर्न सकेको पार्इंदैन । आशा चतुर्वेदीका नामको उक्त बैंक खातामा एकै दिन त्यति ठूलो रकम जम्मा भएकोमा सो रकम काठमाडौं स्थित विभिन्न बैंक खाताहरूबाट झिकी जम्मा गरेको भन्ने भनाइ रहेको देखिए पनि एउटा बैंकबाट अर्कोमा रकमान्तर गर्दैमा त्यस्तो रकमको स्रोत पुष्टि भएको मान्न मिल्दैन । यसबाट उल्टै प्रतिवादीहरूको सम्पत्ति लुकाउने पूर्व तयारी र नियोजित योजना रहेको देखिन आउँछ । त्यस्तै बैंक खातामा उपरोक्तबमोजिमको रकम मौज्दात रहँदा रहँदै अन्य व्यक्तिसँग ऋण लिनु पर्ने अवस्था विश्वसनीय नदेखिएको हुँदा अभयकुमार सर्राफसँग ऋण लिई शेयर खरीद गरेको भन्ने जिकीर समेत विश्वासनीय देखिन आउँदैन । त्यसैले शेयर खरीदको स्रोत पुष्टि हुने अवस्था देखिन आउँदैन 

१०३. छोराछोरीको पढाई खर्च रु.२६,१०,९५०। मात्र भएकोमा विशेष अदालतले रु.२६,९४,२४०। कायम गरेको त्रुटिपूर्ण रहेको तथा प्र.अभिषेक र प्र. अदितीको अध्ययन खर्च जम्मा रु.९,९०,४००।–, छोरा प्र.अभिषेकको नामको एस.वि.आइ. बैंक दिल्लीमा रहेको खाताको भा.रु.२८,०५,९३४।१९ रकमभित्रबाट नै व्यहोरिएकोले सो रकम दोहरो पारी दावी गरेको हुँदा दोहोरो रुपमा दावी लिएको रु.९,९०,४००।कुल अध्ययन खर्चमा घटाई रु.१६,२०,५५०।०८ लाई मात्र छोराछोरीको पढाइमा भएको खर्चको रुपमा लिनुपर्ने भन्ने पनि प्रतिवादीको पुनरावेदन जिकीर रहेको छ । अपितु उक्त बैंक खातामा नेपाल एस.बि.आई. बैंकमार्फत् गएको कुल रकम तथा भएको कारोवार र प्रतिवादीलाई हिरासतमा लिएपछि झिकिएको रकम समेतलाई दृष्टिगत गर्दा उपरोक्त भा.रु.२८,०५,९३४।१९ बाटै छोराछोरीको पढाइ खर्च ब्यहोरिएको भन्ने अवस्था नदेखिएकाले सोतर्फको पुनरावदेन जिकीर पुग्न सक्दैन 

त्यस्तै रितेश चतुर्वेदीलाई अमेरिकामा पढाउन पटकपटक गरी अमेरिकी डलर २३,०००। पठाएको हो भनी प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा नै स्वीकार गरेको देखिन्छ । अभियोजन पक्षले सो रकमलाई नेपाल राष्ट्र बैंकबाट प्रकाशित बुलेटिनबमोजिम औसत रु.७४।०८ का दरले हिसाव गरी रु.१७,०३,८४०। कायम गरी दावी लिएको देखिन्छ । यस स्थितिमा दावीबमोजिम नै पढाइ खर्चको रकम निर्धारण गरेको विशेष अदालतको फैसला अन्यथा देखिन आउँदैन 

मारुती गाडी तथा प्रतिवादी रितेश चतुर्वेदीले भारतमा काम गरी प्राप्त गरेको भनेको पारिश्रमिक रकम समेतका केही विषयहरूमा वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन पत्रमा कुनै जिकीर रहेको नपाइएकोले जिकीर नभएको विषयमा यस अदालतबाट अन्यथा बोली रहनु परेन 

१०४. विशेष अदालतको फैसलाका सम्बन्धमा गरिएको उपरोक्त तथ्यगत विवेचनाबाट पुनरावेदक प्रतिवादी आशा चतुर्वेदीको माइतीबाट प्राप्त भै निजको र अभिषेक चतुर्वेदीका नाउँमा यूनाइटेड बैंक अफ इण्डियामा तत्काल खाता खोली राखिएको भन्ने प्रतिवादीहरूको जिकीर भएको क्रमशः भा.रु.१५,०१,०००। र १४,६२,५००। को हुने रु.४७,४१,६००। नेपालबाट गएको भन्ने वादी पक्षले प्रमाणित गर्न सकेको नदेखिएको र अभियोग पेश हुनु अगावै झिकी पिताको उपचारलगायतको काममा खर्च गरेको भन्ने जिकीर रहेको परिप्रेक्ष्यमा उक्त रकमलाई प्रतिवादी रामाज्ञा चतुर्वेदीको आर्जनमा गणना गर्न नमिल्ने भएको हुँदा विशेष अदालतले सो रकम समेत समावेश गरी कायम गरेको प्रतिवादीको कुल आर्जन रु.२,५८,०८,१५७।९८ मा सो रकम घटाउँदा प्रतिवादीको जम्मा आर्जित सम्पत्ति रु.२,१०,६६,५५७।९८ सम्म कायम हुने देखियो । त्यस्तै विशेष अदालतले मिति २०४६।४।१४ को चल बण्डा गरेको घरसारको बण्डापत्रलाई मान्यता दिन नमिल्ने भनी गरेको विश्लेषण नमिली सो शीर्षकमा पुनरावेदक प्रतिवादीको रु.४,१०,७१४।३० आय कायम हुने तथा नेपाल आयल निगममा कार्यरत् रहँदा भ्रमणभत्ताबापत पाएको रकममा छूट हुन गएको रु.२,४०५।९० समेत निजको आयमा समावेश गर्नुपर्ने देखिएकोले विशेष अदालतले वैध स्रोत पुष्टि भएको ठहर गरेको सम्पत्ति रु.६७,२८,५३१।७३ मा उपरोक्त वैध स्रोतअन्तर्गतका रकमहरू समावेश गर्दा जम्मा वैध स्रोत पुष्टि भएको सम्पत्ति रु.७१,४१,६५१।९३ कायम हुने देखिन आयो 

उपरोक्त तथ्यगत विवेचनाबाट प्रतिवादीले जाँच अवधिमा आर्जन गरिएको स्रोत खुलाउनु पर्ने जम्मा आर्जित सम्पत्ति देहायबमोजिम रहेको पाइयो :

 

सम्पत्तिको विवरण         लागत मूल्य 

घरजग्गा                 रु.५२,२८,२९१।

बैंक मौज्दात र नगद       रु.१६,४५,६७३।३७

शेयर                    रु.६५,००,०००।

मारुती गाडी               रु.३,४५,०००।

सुनका गहना              रु.३,२३,८५९।२१

छोराछोरी विदेशमा पढाउँदा गरेको खर्च     रु.२६,९४,२४०।

विदेशमा लुकाई छिपाई राखेको रु.४३,२९,४९४।४०

 

कैफियतः आशा चतुर्वेदी र अभिषेकका नाउँको यूनाइटेड बैंक अफ इण्डियाको बैक खाताबाट झिकिएको भनिएको रु.४७,४१,६००।माइतीबाट प्राप्त भै पिताको उपचार लगायतमा खर्च भैसकेको भन्ने देखिएबाट प्र.रामाज्ञाको सम्पत्तिमा समावेश नगरिएको । साथै रितेशको पारिश्रमिक रु.१,६०,०००।समेत घटाइएको 

जम्मा                   रु.२,१०,६६,५५७।९८

 

त्यस्तै पुनरावेदक प्रतिवादीले जाँच अवधिमा विभिन्न स्रोतबाट प्राप्त गरेको वैधानिक आय देहायबमोजिम रहेको देखिन आयो :

 

आयस्रोतको शीर्षक                     प्राप्त रकम

तलब भत्ता                            रु.२६,२८,९२२।३५

कमला कार्पेट                         रु.१४,३६,४२२।६९

कृषि आय (सगोलको मौद्रिक आय र

जग्गा बिक्री समेत)                    रु.१३,५८,४७२।९०

अंशबण्डा हुँदा पाएको नगद              रु.४,१०,७१४।३०

दाइजो (तिलक) र बीमा                 रु.२,१४,८५०।

पेवा, दाइजो दान दक्षिणा, बक्सिस् समेत    रु.३,६८,१८९।६९

घरभाडा      रु.७,२४,०८०।

                कुल आय            रु. ७१,४१,६५१।९३

 

१०५. उपरोक्त तथ्यगत विश्लेषणबाट जाँच अवधिमा प्रतिवादीको जम्मा आर्जित सम्पत्ति रु.२,१०,६६,५५७।९८ भएकोमा रु.७१,४१,६५१।९३ को मात्र वैध स्रोत पुष्टि भई रु.१,३९,२४,९०६।०५ बराबरको आर्जित सम्पत्ति पुनरावेदक प्रतिवादीको वैध आयस्रोतभन्दा बढी देखिन आएको छ । अर्थात् प्रतिवादीको वैध आयस्रोतभन्दा बढी हुन आएको रु.१,३९,२४,९०६।०५ बराबर सम्पत्तिको स्रोत पुष्टि हुन सकेको देखिएन 

१०६. यस परिप्रेक्ष्यमा माथि विभिन्न चरणमा गरिएको कानूनी एवं तथ्यगत विश्लेषणबाट प्रतिवादीको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई रु.१,३९,२४,९०६।०५ बराबर सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्ने निष्कर्षमा यो अदालत पुगेको छ । तसर्थ पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर अपराध गरेको तथ्य शंकारहित तवरबाट पुष्टि हुन आएकोले कसूर ठहर गरेको विशेष अदालतको फैसला मनासिब नै देखिन आयो 

१०७. अब के कुन सम्पत्तिको स्रोत पुष्टि भएको छ र के कुन सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो भन्ने सम्बन्धमा विचार गर्दा के कुन सम्पत्ति के कुन वर्गमा पर्ने हो भन्ने कुरा यकीन गर्नुपर्ने हुन आएको छ । प्रतिवादीको २०५० सालसम्मको सम्पत्ति प्राप्त गर्ने प्रबृत्तिभन्दा सो मिति पश्चात् सम्पत्ति प्राप्त गर्ने प्रबृत्तिमा बढी अस्वाभाविकता देखिन आएको छ । प्रतिवादीको वैध आयस्रोतको तुलनामा २०५० सम्ममा आर्जन गरिएका सम्पत्तिमा खासै असमाञ्जस्यता देखिन आउँदैन । शहरी क्षेत्रका जग्गाजमीन जोड्नेदेखि, उल्लेख्य रुपमा शेयर खरीद गर्ने, बिदेशी बैंकमा रकम जम्मा गर्ने र छोराछोरीको उच्च शिक्षाका लागि पनि जाँच अवधिको पछिल्लो खण्डमा खर्च भएको देखिन्छ । पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदी विभिन्न संस्थानको महाप्रवन्धक र कार्यकारी निर्देशक जस्तो जिम्मेवार पदमा कार्यरत् रहेको सोही पछिल्लो अवधिमा नै निजले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी आर्जन गरेको भन्ने विश्लेषणसहित अभियोगपत्र दायर भएको परिप्रेक्ष्यमा यस इजलासबाट माथि गरिएको विश्लेषण समेतका आधारमा मिति २०४६।४।१४ को चल बण्डाबाट पुनरावेदक प्रतिवादीले प्राप्त गरेको नगद रकम तथा २०४६ देखि २०५२ सालसम्म कमला कार्पेटको तर्फबाट प्राप्त गरेको मुनाफा समेतलाई दृष्टिगत गर्दा सो अवधिभित्र बकस तथा राजीनामाबाट खरीद गरेका अधिकांश जग्गाहरूको समेत स्रोत खुल्न आउने अवस्था देखिएको छ । प्रतिवादीको सालवसाली आय र गरिएको खर्चको तुलनात्मक रुपमा विश्लेषण गरी स्रोत खुलेको र नखुलेको सम्पत्ति यकीन गर्नुपर्नेमा विशेष अदालतबाट सो नगरेको भन्ने वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन पत्रमा जिकीर लिइएको कुरालाई दृष्टिगत गर्दा निश्चित आयस्रोत प्राप्त भएको देखिएको समयमा आर्जन गरिएका सम्पत्तिलाई हचुवाको भरमा स्रोत नखुलेको सम्पत्तिका रुपमा समावेश गर्नु न्यायोचित हुने देखिँदैन । त्यसैले स्रोत नखुलेको सम्पत्तिका सम्बन्धमा विशेष अदालतबाट गरिएको विश्लेषणमा केही भिन्नता आउने देखिएको छ 

१०८. उपरोक्त विश्लेषणबाट पुनरावेदक प्रतिवादीले पछिल्लो अवधिमा जोडेको सम्पत्ति तथा विभिन्न शीर्षक अन्तर्गत गरेका खर्चहरू नै अस्वाभाविक देखिई स्रोत पुष्टि हुने अवस्था नदेखिएकोले सो आधारमा पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको रु.१,३९,२४,९०६।०५ बराबरको सम्पत्ति के कुन हो भन्ने सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । सो दृष्टिकोणबाट हेर्दा, पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीका नाउँमा रहेको नेपाल मेडिकल कलेजको रु.३०,००,०००। र शिखर पेन्टसको रु.५,००,०००। तथा पुनरावेदक प्रतिवादी अभिषेक चतुर्वेदीका नामको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को रु.३०,००,०००। समेत जम्मा रु.६५,००,०००। को शेयर, अभिषेक चतुर्वेदीका नाममा स्टेट बैंक अफ इण्डियाको खातामा रहेका प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएपछि खाताबाट झिकी लुकाई छिपाई राखेको भा.रु.२८,०५,९३४।१९ मा रितेश चतुर्वेदीको पारिश्रमिकबापतको रकम भा.रु.१,००,०००। को रु.१,६०,०००। घटाउँदा हुने ने.रु.४३,२९,४९४।४०, रितेश चतुर्वेदीलाई संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा अध्ययन गराउँदा पठाएको अमेरिकी डलर २३,०००। को हुने ने.रु.१७,०३,८४०। मध्ये स्रोत खुल्न आउने रु.३,२७,७६२।८० घटाउँदा हुने रु.१३,७६,०७७।२०, अभियोगपत्रमा स्रोत खुलेको भनी उल्लेख भएको बैंक खाताको रकम बाहेक प्रतिवादी रामाज्ञा चतुर्वेदीको नामको नेपाल एस.बि.आई.बैंक र ने.बैं.लि.को बैंक खातामा रहेको क्रमश रु.५७,६६१।६५ र ३२,१२७।३४, अदिती चतुर्वेदीका नामको एभरेष्ट बैंकको खातामा रहेको रकममध्ये रु.१०,००,०००।, आशा चतुर्वेदीका नाममा हिमालयन बैंक वीरगञ्जको खाताको रु.७४,९६१।३६ र निजकै नामको नेपाल बैंक लिमिटेडको खाताको रकममध्ये रु.३९,२४१।२६, अभिषेक चतुर्वेदीका नाउँमा कृषि विकास बैंक चावहिलमा रहेको खाताको रकम रु.५०,१०८।२४ समेत गरी बैंक खातामा रहेको जम्मा रु.१२,५४,०९९।८५ तथा पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीका नामको पर्सा रामगढवा गा.वि.स. वडा नं.४ को कि.नं. ७२० (लिखत मूल्य रु.३,००,०००।) जग्गा प्रतिवादी रितेश चतुर्वेदीका नामको का.जि.का.म.पा.वडा नं.३५ कि.नं.६५ को क्षे.फ.रो.२३ तथा ऐजन वडा नं.७ ख.कि.नं.७९१ को क्षे.फ.रो.०१ जग्गामध्ये निजको भाग हिस्सामा पर्ने आधाको (लिखत मूल्य रु.१,५९,२३४।५०) र निजकै नामको पर्सा बहुअर्वाभाठा गा.वि.स.वडा नं.७ कि.नं.१३० को ज.वि.०० (लिखत मूल्य रु.६,०००।) समेत लिखत मूल्य रु.४,६५,२३४।५० को जग्गा समेतको जम्मा रु.१,३९,२४,९०६।०५ चल अचल सम्पत्तिको स्रोत पुष्टि भएको नदेखिँदा गैरकानूनी रुपमा आर्जन गरेको मान्नु पर्ने हुन आयो । सो वाहेक पुनरावेदक प्रतिवादीहरूका नाउँमा रहेको अन्य सम्पत्ति वैध आयभित्रको भै स्रोत खुलेको देखिएकोले त्यस सम्बन्धमा अरु विवेचना गरिरहन आवश्यक देखिएन 

१०९. तसर्थ उल्लिखित कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्त र तथ्य एवम् प्रमाणहरूको विश्लेषण समेतको आधार कारणबाट प्रतिवादी रामाज्ञा चतुर्वेदीले रु.१,९०,७९,६२६।२५ को चलअचल सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसूर गरेको ठहरेकोले स्रोत पुष्टि हुन नसकेको उक्त चल अचल सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ बमोजिम जफत भई दफा २०(२) अनुसार विगोबमोजिम रु.१,९०,७९,६२६।२५ जरीवाना र १ वर्ष कैद तथा दफा २४ बमोजिम १ वर्ष थप कैद समेत जम्मा २ वर्ष कैद भई विदेश भारतस्थित बैंकहरूमा राखेको रु.९०,७१,०९४।४० र सोबाट बढेबढाएको (ब्याज) रु.२०,५४,२६७।२० समेत जम्मा रु.१,११,२५,३६१।६० बैंकबाट निकाली लुकाई छिपाई राखेको रकम प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्ति समेतबाट भराउने ठहर्छ भनी विशेष अदालत काठमाडौंबाट मिति २०६१।१०।८ मा भएको फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले जम्मा विगो रु.१,३९,२४,९०६।०५ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसूर गरेको देखिँदा निजलाई सोही दफा २० को उपदफा (२) बमोजिम कैद वर्ष ०।९ (नौ महिना) र ऐजन दफा २४ बमोजिम थप कैद वर्ष ०।९ (नौ महिना) समेत जम्मा कैद वर्ष १।६ (एक वर्ष छ महिना) तथा विगोबमोजिम जरीवाना तथा गैरकानूनी रुपमा आर्जन गरेको विगो रु.१,३९,२४,९०६।०५ बराबरको सम्पत्ति जफत भई दफा ४७ बमोजिम सो बाट बढेबढाएको सम्पत्ति समेत जफत हुने ठहर्छ । साथै पुनरावेदक प्रतिवादीले प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएपछि स्टेट बैंक अफ इण्डियाबाट झिकी लुकाई छिपाई राखेको भा.रु.२८,०५,९३४।१९ मा रितेशको पारिश्रमिकबापत पाएको भा.रु.१,००,०००।घटाउँदा हुने भा.रु.२७,०५,९३४।१९ को हुने ने.रु.४३,२९,४९४।४० तथा सोबाट बढेबढाएको ब्याज भा.रु.१२,८३,९१७।को हुने ने.रु.२०,५४,२६७।२० र छोरा रितेश चतुर्वेदीलाई संयुक्त राज्य अमेरिकामा पढाउनको लागि खर्च भएको अमेरिकी डलर २३,०००।को हुने ने.रु.१७,०३,८४०।, बाट स्रोत खुल्न आएको रु.३,२७,७६२।८० घटाउँदा हुने रु.१३,७६,०७७।२०, समेत जम्मा रु.७७,५९,८३८।८० जफत हुने हुँदा सो रकम प्रतिवादीको अन्य बैध स्रोतबाट भरिभराउ गर्नू । प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको र आरोपित कसूरबाट पूर्णरुपमा सफाइ पाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नु 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम विशेष अदालतको फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई १।६ (एक वर्ष छ महिना) कैद हुने ठहर भएको हुँदा विशेष अदालतको फैसलाको तपसील खण्ड १ कायम नरहने भई निज मिति २०५९।७।८ देखि अनुसन्धानको क्रममा हिरासतमा रही मिति २०५९।११।१३ मा विशेष अदालतमा जेथा जमानत राखी तारेखमा रहेको देखिँदा ठहर भएको कैद सजायमा हिरासतमा रहेको उक्त अबधि ०।४।५ (चार महिना पाँच दिन) कटाई बाँकी कैदको लगत कसी कानूनबमोजिम असूल गर्नु गराउनु भनी प्रस्तुत फैसलाको प्रतिलिपि सहित काठमाडौं जिल्ला अदालतमा लगत दिनू ...........१

विशेष अदालत काठमाडौंको फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई रु.१,३९,२४,९०६।०५ जरीवाना हुने ठहर भएको हुँदा विशेष अदालतको तपसील खण्ड कायम नरहने भई यस अदालतको फैसलाबमोजिम निजलाई लागेको जरीवाना रु.१,३९,२४,९०६।०५ बुझाएपछि तथा उपरोक्तबमोजिम निजलाई लागेको कैद असूल भएपछि धरौटबापत दिएको जेथा जमानत फुकुवा गरिदिनु र नबुझाउ विशेष अदालतको मिति २०५९।११।१२ का आदेशबमोजिम धरौटबापत दिएको जेथाजमानत समेतबाट कानूनबमोजिम गरी असूलउपर गर्न जेथा जमानतको विवरणसहित काठमाडौं जिल्ला अदालतमा लगत दिनू ............२

विशेष अदालतको फैसला केही उल्टी भै पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीले निजको छोरा अभिषेक चतुर्वेदीका नाउँमा स्टेट बैंक अफ इण्डियाबाट निकाली लुकाई छिपाइ राखेको तथा रितेश चतुर्वेदीको पढाइमा खर्च भएमध्येको रकममध्ये स्रोत नखुलेको समेत जम्मा रु.रु.७७,५९,८३८।८० जफत हुने हुँदा प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्ति समेतबाट भरिभराउ हुने ठहरी फैसला भएकोले सो फैसलाको तपसील खण्ड ३ बमोजिम गर्नु नपरी यस अदालतको फैसलाबमोजिम निजले लुकाएको तथा पढाईमा खर्च गरेको ठहर भएको रु.७७,५९,८३८।८० निजको स्रोत खुलेको अन्य सम्पत्ति एवं जमानत दिएको सम्पत्ति समेतबाट कानूनबमोजिम असूलउपर गरी सर्वसञ्चित कोषमा दाखिल गर्न रोक्का यथावतै राखी काठमाडौं जिल्ला अदालतमा लगत दिनू ....३

विशेष अदालतको फैसला केही उल्टी भएकोले सो फैसलाको तपसील खण्ड ४ कायम रहन नसक्ने भएको हुँदा माथि इन्साफ खण्डमा लेखिएबमोजिम निम्न लिखित प्रतिवादीहरूका नाममा रहेका निम्नबमोजिमको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ अनुसार जफत हुने ठहर भएकोले कानूनबमोजिम लिलाम तथा बिक्री गरी सर्वसञ्चित कोषमा दाखिल गर्न सम्पत्ति रहे भएको सम्बन्धित जिल्ला अदालतहरूमा लगत दिनू ...........................४

(क)   प्रतिवादी रामाज्ञा चतुर्वेदीका नामको पर्सा रामगढवा गा.वि.स. वडा नं.४ को कि.नं. ७२० ज.वि. ०० को जग्गा 

(ख)   प्रतिवादी रितेश चतुर्वेदीका नामको का.जि.का.म.पा.वडा नं.३५ कि.नं.६५को क्षे.फ.रो.२३ तथा ऐजन वडा नं. ७ख.कि.नं.७९१ को क्षे.फ.रो.०१ जग्गामध्ये निजको भाग हिस्सामा पर्ने आधा जग्गा 

(ग)   प्रतिवादी रितेश चतुर्वेदीका नामको पर्सा बहुअर्वाभाठा गा.वि.स.वडा नं.७ कि.नं.१३० को ज.वि.०० जग्गा 

            निम्न प्रतिवादीहरूका नाममा रहेका देहायबमोजिमको बैंक व्यालेन्स जफत हुने ठहरी फैसला भएकाले सो रकमका साथै त्यसबाट बढेबढाएको रकम समेत जफत गरी सर्व सञ्चित कोषमा दाखिल गर्नू ......... ५

क)    प्रतिवादी अदिती चतुर्वेदीको नामको एभरेष्ट बैंक न्यूरोडको खाता नं. ०२७६७ मा रहेको रु.१०,२३,०३०।४८ मध्ये रु.१०,००,०००।

(ख)   प्र.रामाज्ञा चतुर्वेदीका नाउँको नेपाल एस.बि.आई. बैंकको खाता नं. ०१५३१००१९१६ मा रहेको व्यालेन्स रु.५७,६६१।६५

(ग)   प्र.रामाज्ञा चतुर्वेदीका नाउँको नेपाल बैंक लि.को खाता नं. ६५८१८ मा रहेको व्यालेन्स रु.३२,१२७।३४

(घ)   प्र.आशा चतुर्वेदीका नाउँको नेपाल बैंक लिमिटेड काठमाडौं अफीसको खाता नं. ८४५२१५० मा रहेको व्यालेन्स रु.६८,०६७।४० मध्ये रु.३९,२४१।२६

(ङ)   प्र. आशा चतुर्वेदीका नाउँको हिमालयन बैंक वीरगञ्जको खाता नं. १३१४०व मा रहेको व्यालेन्स रु.७४,९६१।३६

(च)   प्र. अभिषेक चतुर्वेदीका नाउँको कृषि विकास बैंक चावहिलको खाता नं. २७२७१६ मा रहेको व्यालेन्स रु.५०,१०८।२४

निम्न लिखित प्रतिवादीहरूका नाममा खरीद भएका निम्न लिखित संस्थाहरूको निम्नाङ्कित शेयर जफत हुने ठहरी फैसला भएकोले उक्त शेयर र सोबाट बढेबढाएको सम्पत्ति समेत कानूनबमोजिम जफत गरी सर्वसञ्चित कोषमा दाखिल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनू .....६

क) प्रतिवादी रामाज्ञा चतुर्वेदीको नाउँको नेपाल मेडिकल कलेजको रु.३०,००,०००।बराबरको ३०,००० कित्ता शेयर 

(ख) प्रतिवादी अभिषेक चतुर्वेदीको नाउँको ओम हस्पिटल एण्ड रिसर्च सेण्टरको रु.३०,००,०००।बराबरको ३०,००० कित्ता शेयर 

(ग) प्रतिवादी रामाज्ञा चतुर्वेदीको शिखर पेन्टस्‌को रु.५,००,०००। बराबरको ५,००० कित्ता शेयर 

पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदीलाई प्रस्तुत फैसलाबमोजिम लागेको कैद, जरीवाना र निजले लुकाई छिपाई राखेको तथा खर्च गरेको ठहर भएको रु.७७,५९,८३८।८० समेतका रकमहरू निजको स्रोत खुलेको सम्पत्तिबाट असूलउपर भएपछि विशेष अदालतबाट रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ भनी प्रतिवादीको दरखास्त परे फुकुवा गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु भनी विशेष अदालत काठमाडौंमा लेखी पठाउनू .................................... ७

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू..............८

 

उक्त रायमा म सहमत छु 

 

न्या.सुशीला कार्की

 

इति संवत् २०६८ साल भदौ २१ गते रोज ४ शुभम् .. 

इजलास अधिकृतः नारायण सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु