निर्णय नं. ७९९८ - कर्तव्य ज्यान ।

निर्णय नं.७९९८ ने.का.प. २०६५ अङ्क ८
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
दे.पु.ई.नं.–०६५–CF–००२७
दे.पु.ई.नं.–०६५–CF–००२८
फैसला मितिः २०६५।८।५।५
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला, टिष्टुङ गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा भिमफेदीमा थुनामा रहेको लोकबहादुर गोले
विरुद्ध
प्रत्यर्थी/वादीः सेराजुल हक मियाँ अन्सारीको जाहेरीले नेपाल सरकार
पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला, टिष्टुङ गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा भिमफेदीमा थुनामा रहेको मदन थिङ तामाङ
विरुद्ध
प्रत्यर्थी/वादीः सेराजुल हक मियाँ अन्सारीको जाहेरीले नेपाल सरकार
§ अ.वं. १८८ नं. को व्यवस्थाले भवितव्यको आशंका वा अपराध गरेको अवस्था समेतका आधारमा घटी सजाय हुनुपर्ने देखिएको अवस्था न्यायकर्ताले अनुभूत गर्ने विषय हुँदा यो नं. को व्यवस्था अधिकारको रुपमा रहने विषय नहुने ।
§ न्यायकर्ताले घटी सजाय हुनुपर्ने भनी अनुभूति गरेको अवस्थामा निश्चित आधारहरुको विद्यमानता अपरिहार्य देखिदा कानूनले नै कारण सहितको खुलासाको अपेक्षा राख्ने ।
(प्रकरण नं.५)
§ कसूरदारको उमेर कम हुनु मात्र घटी सजायका लागि आधार हुन नसक्ने ।
§ पूर्व योजना र तयारी सहित ज्यान मार्ने कार्य गरी त्यसपछि मृतकको साथमा रहेको नगद र कपडा समेत लुटी लैजाने समेतको कार्यमा संलग्न व्यक्तिहरुलाई अन्य व्यक्तिको उक्साहटमा मात्र त्यस्तो कार्य गरेको मानी घटी सजाय गर्नु अ.वं १८८ नं. को उद्देश्य विपरीत हुने।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री टेकबहादुर रावल र श्री यमुना भट्टराई
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौंडाको मिति २०६२।७।८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम मिति २०६३।२।४ मा प्रतिवादीहरुको पुनरावेदन परेको र यसै मुद्दामा साधकको रोहबाट मिति २०६२।९।२७ मा नै फैसला भई सकेको देखिँदा प्रतिवादीको पुनरावेदनको हकमा समान स्तरको संयुक्त इजलासले हेर्न नमिल्ने भई पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेश वमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
मिति २०६०।६।७ गते जि.म.टिष्टुङ ३ स्थित घट्टेखोला स्थित जंगलमा मानिसको कंकाल अस्थिपञ्जर फेला परेको भन्ने निवर्तमान अध्यक्ष अशोक लामाको जाहेरी ।
जि.म.टिष्टुङ ३ पूर्व घट्टेखोला पश्चिम मूल वाटो उत्तर जंगल दक्षिण अधेरी खोला यति ४ किल्ला भित्र रहेको छाला मासु सडी गली सकेको मानिस अस्थिरपञ्जर हाडखोर उत्तानो अवस्थामा रहेको भन्ने र तल कालो पेन्ट, कट्टु, गन्जि, सर्टसमेत फेला परी वरामद भएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति मुचुल्का ।
लाश सडी गली पोष्टमार्टम गर्न नमिल्ने भएको भन्ने मुचुल्का ।
मिति २०६०।६।७ गते जि.म.टिष्टुङ ३ मा पुरुष मानिसको जस्तो देखिने र लगाएको कपडा समेत भएको हाडखोर भेटिएको भन्ने हुलिया परिपत्र गरिएको सि.नं.२९७ को सञ्चार ।
कपडा बेच्न हिँड्ने मेरो दाजु वर्ष ३७ को इजाजुल हक अन्सारी हराएको थाहा पाएको र जि.म.टिष्टुङ ३ घट्टेखोला स्थित मानिसको हड्डी फेला परेको भन्ने थाहा पाएपछि घटनास्थलवाट ल्याएको कपडावाट मेरो दाजु इजाजुल हक मियाँ अन्सारीको हो भनी चिनी कर्तव्यवाट मारेको पूर्ण विश्वास लाग्यो भन्ने समेत व्यहोराको मेराजुल हक मियाँ अन्सारीको जाहेरी दरखास्त ।
म इजाजुल हक मियाँ अन्सारीलाई राम्ररी चिन्दछु । मेरो कपडा पसल नौविसेमा भएको हुनाले मेरो पसल मिति २०६०।४।२७ गते कपडा लिई हिडेको हो र नौखण्डे तर्फ गई कपडा वेची १०।१५ दिन मा फर्कन्छु भनेर गएको थियो । पछि नआएको हुँदा नौखण्डेमा आएर वुझ्दा निज २९ गते टिष्टुङ ३ र ५ मा कपडा वेच्न हिडेको खाना खाएको थाहा पाएको हुँदा पछि घटनास्थलमा भेटिएको कपडा चप्पलवाट निजलाई कर्तव्यगरी मारेको थाहा भयो भन्ने समेत व्यहोराको उमेशप्रसाद गुप्ताको कागज ।
पहिले देखि नै गाउँ घरमा डुली कपडा वेच्ने गरेको इजाजुल हक मियाँ अन्सारीलाई राम्ररी चिन्दछु र मिति ०६०।४।२९ गते निजले मेरो होटलमा विहानको खाना खाई वेलुका पनि खाना खान आउँछु भनि टिष्टुङ ३ र ५ तर्फ कपडा वेच्न गएका थिए । घटनास्थलमा फेला परेको कपडा निजैको हो, निजलाई कर्तव्यगरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सेतीमाया गोलेको कागज ।
मृतक इजाजुल हक मियाँ अन्सारी मिति २०६०।४।२८ गते मेरो घरमा सुती भोलिपल्ट विहान सेतीमायाको होटलमा खाना खाई गएका हुन्, पछि मिति २०६०।६।७ गते घटनास्थलमा भेटिएको मानिसको हड्डी साथै रहेको कपडा निजै इजाजुल हक मियाँ अन्सारीको हो भन्ने समेत व्यहोराको मंगलवहादुर दोङको कागज ।
कपडा वेच्न गएका इजाजुल हक मियाँ अन्सारी फर्की नआएको कारण र निज व्यापारी समेत भएकोले कपडा पैसा लिनको लागि अभियुक्तहरुले कर्तव्यगरी मारेको हुन् भन्ने घटनास्थल आसपासका मानिसहरुवाट बुझिन आएको भन्ने समेतको प्र.स.नि.धु्रवप्रसाद शर्मा समेतको प्रतिवेदन ।
इजाजुल हक मियाँ अन्सारीलाई विरसिं थिङ, मदन थिङ, जयवहादुर भोम्जन, लोकवहादुर गोले, वीरवहादुर गोले, सानुकान्छा गोले, समेतले धन माल लिन खानको लागि कर्तव्यगरी मारेको बुझिन आएको हुँदा कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.स.नि.ध्रुवप्रसाद शर्मा समेतको प्रतिवेदन
लोकवहादुर गोले, जयवहादुर भोम्जन, वीर सिंह थिङ मदन थिङलाई पक्राउगरी दाखेल गरेका छौ भन्ने प्र.स.नि.धु्रवप्रसाद शर्माको प्रतिवेदन ।
छिमेकी सानुकान्छा गोलेले मिति ०६०।४।२९ गते कपडा वेच्न आउने मदिसेलाई जंगलमा पुगेपछि काटेर कपडा पैसा लुट भनेको हुँदा र खुकुरी समेत मलाई दिएकोले म र मदन थिङ मदिसेको अगाडि पछाडि लाग्यौ र जयवहादुर भोम्जन केही अगाडि वीरवहादुर गोले केही पछाडि मानिस आउछन् कि भनि कुर्न वसेको हुँदा घट्टेखोला जंगल वाटोमा पुगेपछि पैसा माग्दा नदिएकोले मैले काटी मारेको हुँ र कपडा पैसा लिई गएका थियौ । कपडा वेची सिद्धियो, केही कपडा वीरवहादुर गोलेको विहेमा लगेको थियो, पछि पक्राउमा परियो भन्ने समेत व्यहोराको प्रतिवादी लोकवहादुर गोलेको वयान कागज ।
गाउँका सानोकान्छा गोलेले योजना वनाए अनुसार मिति २०६०।४।२९ गते कपडा वेच्न आउने मदिसेलाई जंगलमा पुगे पछि काटेर कपडा र पैसा लुटि लिनु पर्छ भनेको हुँदा उसैले दिएको खुकुरी लोकवहादुर गोलेले लिए, म र लोके मदिसेको साथैमा हिड्यौं । वीरवहादुर गोले र जयवहादुर भोम्जन अगाडि पछाडि मानिस हेर्न वाटोमा वसे । घट्टेखोला जंगलमा पुगेर पैसा माग्दा नदिएको हुँदा लोकेले लुकाई लगेको खुकुरीले पछाडिवाट टाउँकोमा हानी लडेपछि घाटी काटी साथमा भएको नगद रु.२०००।– र निजको साथमा भएको वेच्ने कपडाको पोको लिई गयौं, कपडा म र लोकेले वेचियो र केही कपडा वीरवहादुर गोलेलाई मैले दिएको हुँ । पछि काठमाडौंको ढुंगे अड्डामा पक्राउमा परियो, हामीले मारेको मानिस इजाजुल हक अन्सारी रहेछन् भन्ने समेतको प्रतिवादी मदन थिङंको वयान कागज ।
काठमाडौंमा वीरवहादुर गोले समेतका गाउँका दाजुभाई भेट भएकाले एउटै कोठामा वसियो, निज वीरवहादुर समेतले कपडा व्यापारी मदिसे मानिसलाई मारेर आएका हौं । मेरो भरखर विहे भएको छ हामीलाई प्रहरीले खोजी रहेका छन् अरे, मेरो ठाउँमा तिमी वसि देउँ, तिमीलाई म ६०,०००।– रुपैया दिउँला र घर समेत वनाई दिउला भनेको हुँदा प्रहरीले पक्राउ गर्न आउँदा वीरवहादुर गोले हो भनि सोद्धा मैले हुँ भनी वताए पछि म समेत पक्राउ परेको हुँ भन्ने समेत प्रतिवादी वीर सिं थिङको वयान कागज ।
मिति ०६०।४।२९ गतेका दिन लोकवहादुर गोले समेत ५ जना भएका अवस्थामा सानु कान्छा गोलेले कपडा वेच्ने मदिसे गाउँमा आएको छ, त्यसलाई काटेर कपडा,पैसा लुटौ भनेकोले सानुकान्छाको खुकुरी लिई पिछागरी हिड्यो । म सवैभन्दा अगाडि र वीरवहादुर गोले पछाडि मान्छे हेर्न वस्यो । लोकवहादुर र मदन कपडा व्यापारीको साथै गई घट्टेखोला जंगलमा मारी कपडा र पैसा लिई आएका रहेछन् भोलिपल्ट काठमाडौं गयौं, काठमाडौंको ढुङ्गेअड्डामा पक्राउ परियो भन्ने समेत व्यहोराको जयवहादुर भोम्जनको वयान कागज ।
प्रतिवादी वीरवहादुर गोलेको घर खान तलासी गर्दा दशथान कपडा फेला परी वरामद भए भन्ने मुचुल्का ।
घटनास्थलमा खोजतलास गर्दा खुकुरी फेला पर्यो भन्ने समेत व्यहोराको वरामदी मुचुल्का ।
कपडा व्यापारी पछि नाम थाहा भएका इजाजुल हक मियाँ अन्सारीलाई मेरो छोरा वीरवहादुर गोले समेतले कर्तव्यगरी मारेको भन्ने समेत व्यहोराको कान्छा गोलेको कागज ।
कपडा व्यापारी इजाजुल हक मियाँ अन्सारीलाई धनमाल लिन खानका लागि टिष्टुङ ५ वस्ने लोकवहादुर गोले, मदन थिङ, जयवहादुर भोम्जन, वीरवहादुर गोले, सानुकान्छा गोले र वीरसिं थिङसमेतले कर्तव्यगरी मारेको हुन् भन्ने समेत व्यहोराको मंगलवहादुर दोङको कागज ।
वरामद भै आएको खुकुरी र कपडा निज मृतक इजाजुल हक मियाँ अन्सारीको हो, देखाउँदा देख्यौ चिन्यौ भन्ने समेत व्यहोराको प्रतिवादी लोकवहादुर गोले समेतले गरी दिएको सनाखत कागज ।
मेरो पति इजाजुल हक मियाँ अन्सारी कपडा व्यापार गरी धादिङ नौविसे तर्फ वस्नु हुन्थ्यो र कपडा वेच्नु टिष्टुङतर्फ जानु भएको र फर्कि नआए पछि मानिसको हड्डी मात्र फेला परेको कपडावाट पतिको मृत्यु भएको खवर पाएँ । घटनास्थलवाट उठाएको कपडा चप्पल समेत देखाउँदा चिने । मेरो पति इजाजुल हक मियाँ अन्सारीको हो । पैसा कपडा लिनको लागि अभियुक्त लोकवहादुर गोले समेतले कर्तव्य गरी मारेको थाहा पाएँ भन्ने समेत व्यहोराको मृतकको श्रीमती सकिला खातुनको कागज ।
कपडा व्यापारी जि.वारा पुरैनिया गा.वि.स. वडा नं.९ वस्ने इजाजुल हक मियाँ अन्सारीलाई कपडा व्यापार गर्न टिष्टुङतर्फ गएका अवस्थामा पहिले देखिकै अपराधी कृयाकलाप भएका टिष्टुङ ५ वस्ने लोकवहादुर गोले समेतले पैसा कपडा लिन खानको लागि घट्टेखोला जंगलमा कर्तव्यगरी मारेको हुन् भन्ने समेत व्यहोराको वीरवहादुर गोले समेतका वुझिएका मानिसको कागज ।
प्रतिवादी लोकवहादुर गोलेले मृतकको टाउको र घाँटीमा प्रहार गरी मारी निजसंग भएको नगद र कपडा डाँकागरी लगी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.वमोजिम कसूर अपराध गरेको हुँदा निज प्रतिवादी लोकवहादुर गोलेलाई सोही महलको १३(१) नं.वमोजिम सजायगरी पाउन प्रतिवादी सानुकान्छा गोलेलाई वचन दिई ज्यान सम्बन्धी मलको १ नं.विपरीत १३(४) नं. वमोजिम कसूर अपराध गरेको देखिदा प्रतिवादी सानुकान्छा गोलेलाई सोही महलको १३(४) नं. वमोजिम सजाय गरी पाउन प्रतिवादी मदन थिङ, प्र.लोकवहादुर गोलेसंग मृतकको अगाडि पछाडि हिडेको र वारदात घटेको ठाउँमा गै मृतकलाई मार्न जिउमा हातहाली मार्नमा संयोग पारी मृतकसंग रहेको धन माल डाकासमेत गरी ज्यान सम्बन्धीको १ नं. विपरीत १३(४) नं.वमोजिम कसूर अपराध गरेको देखिदा निज प्रतिवादी मदन थिङलाई ज्यान सम्बन्धी महलको १३(४) नं. वमोजिम सजाय हुन र प्रतिवादी वीर सिं थिङले आफु वारदातमा संलग्न नभएको र वीरवहादुर गोलेको कसूर स्वीकार गरी पक्राउ भै आएको भनि वयान गरेतापनि मौखिक आश्वासनको भरमा कसैको ज्यान डाकाजस्तो अपराध स्वीकार्न नसक्ने । निज प्रतिवादी वीर सिं थिङ, वीरवहादुर गोले, र जयवहादुर भोम्जन समेतले घेरा दिने वाटो गौडा छेक्नेगरी मृतकलाई मार्न संयोग पारी दिई धनमालसमेत डाकागरी ज्यान सम्बन्धी महलको १ नं.विपरीत १७(२) नं.वमोजिम कसूर अपराध गरेकोले प्रतिवादीहरु वीर सिं थिङ, वीरवहादुर गोले र जयवहादुर भोम्जनलार्ई सोही महलको १७(२) नं.वमोजिम सजाय हुन साथै प्रतिवादी लोकवहादुर गोले, जयवहादुर भोम्जन, वीरवहादुर गोले, सानुकान्छा गोले, मदन सिं थिङ, वीर सि थिङ तामाङ्गसमेत ६ ले मृतकलाई मरी निजसंग भएको नगद र कपडागरी जम्मा ९,७७५।– मुल्य वरावरको धनमाल समेत डाकागरी लगी मुलुकी ऐन चोरीको १ नं.विपरीत ६ नं.वमोजिम कसूर अपराध गरेकोले निज प्रतिवादीहरु उपर सोही वमोजिम १४(४) वमोजिम सजायगरी डाका भएको धनमाल मध्ये रु.२७७५। मुल्य वरावरको कपडा वीरवहादुर गोलेको घरवाट वरामद भएकोले नपुग हुने विगो रु.७,०००।– प्रतिवादीहरुवाट मृतकका हकदार लाई सोही महलको २१ नं.वमोजिम दिलाई भराई पाउन र वरामद भएको कपडा मृतकका हकदारलाई फिर्ता दिई पाउँ । साथै फरार रहेका प्रतिवादीहरु सानुकान्छा गोले र वीरवहादुर गोलेलाई अदालतवाट वारेण्ट जारी गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।
म काठमाडौंमा काम गरी ढुंगे अड्डामा डेरागरी वसेको थिएँ, मिति २०६०।६।१० गते प्रतेवादी वीरवहादुर गोले मेरो कोठामा आई म लोकवहादुर गोले, जयवहादुर भोम्जन, मदन थिंङ भएर कपडा विक्री गरी हिड्ने मदिसेलाई माहाकांल भन्ने ठाउँको जंगलमा खुकुरीले हिर्काई मारेर आएको हो, वीरवहादुर गोले भन्ने व्यक्ती म हो भनि तिमीले भनि देउ सजाय पनि मेरो सट्टामा तिमी नै भोगी देउ, तिमीलाई रु.६०,०००।– दिन्छु गाउँमा गएर घरपनि वनाई दिन्छु भनि वीरवहादुर गोलेले मलाई भन्यो, मैले पैसा माग्दा तिमी निस्की आएपछि दिउला भन्यो । सोही राती मदन थिङसमेतलाई प्रहरी आई पक्राउ गरेको हो । मैले नाम ढाटी वीरवहादुर गोलेलाई वचाउन मेरो नाम वीरवहादुर गोले भनि दिएको हो । वीरवहादुर गोले छुटि गयो, उस्को नाममा म वीर सिं तामांग पक्राउ परी आएको हो, वीरवहादुर गोले म हुं भनी मैले वीरवहादुर गोलेलाई वचाउन म वीर सिं तामाङले भनेको हो, कानूनले जे सजाय हुन्छ होस भन्ने समेत व्यहोराको प्रतेवादी वीर सिं थिङ तामांगले अदालतमा गरेको वयान ।
मिति २०६० साल श्रावण २९ गते ४–५ वजेतिर सानुकान्छा गोलेले भने वमोजिम मैले घटना घटाउँदा मान्छे आउँछ कि भनि हेरी वसेको हूँ, मृतकलाई मारिसकेपछि वीरवहादुर गोलेले मान्छे मारी सक्यो, भाग भनि भनेकाले भागी जाँदा घटनास्थल भन्दा माथि लोकवहादुर गोले, वीरवहादुर गोले, मदन थिंगसंग भेट भयो । लोकवहादुर गोलेले मैले मृतकलाई मारी रु.२०००।– लिई आएको छु भनि ५–५ सयका दरले बाड्यौं, मैले पनि लिएँ । लोकवहादुर गोलेलाई सानुकान्छा गोलेले खुकुरी दिएको थियो । त्यस पछि हामी काठमाडौं तिनथानामा गै वसेकोमा म समेतलाई ०६०।६।१० गते प्रहरीले पक्राउ गरेको हो, मैले मृतकलाई मारेको होइन । नगद रु.५००।– मात्र लिएको हूं , अभियोग दावी साँचो हो । मलाई सजाय हुनुपर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी जयवहादुर भोम्जनले अदालतमा गरेको वयान ।
म काठमाडौंमा मिस्त्री काम गर्थे । गाउँमा श्रावण महिना २८ गते मेला लाग्ने भएकोले मेला हेर्न काठमाडौंवाट २७ गते घर आई मेला हेरी भोलिपल्ट ०६०।४।२९ गते दिउसो म जयवहादुर भोम्जन, मदन थिंङ, हामी गाउँकै सानुकान्छा गोलेसंग भेट भयो । निजले गाउँमा कपडा वेच्ने मदिसे आएको छ, मारी कपडा र पैसा समेत लुट्न हामीलाई भन्यो, निजले खुकुरी वोकी आएको रहेछ ,त्यो खुकुरी मलाई दियो, तिमीहरु गै मदिसेलाई मार म पछि आउछु भन्यो, म जयवहादुर, मदन थिङ, र वीरवहादुर मदिसे भए तर्फ गै घट्टेखोला भन्ने ठाउँमा पुगेपछि जयवहादुर अगाडि, वीरवहादुर पछाडि मान्छे आएको छ छैन भनी हेर्न वसे । म मदन सिं सँगै घट्टेखोला भन्ने ठाउँमा पुग्ने वित्तिकै मैले म संग भएको खुकुरीले मदिसेको पछाडिवाट टाउकोमा हानें र उ अगाडि वढ्न खोज्यो मृतकलाई मदन थिङले पछाडि धकेल्यो । मैले निजलाई पुनः एकपटक घाटीमा खुकुरी हानें मृतक खोल्सीमा लड्न पुग्यो । तत्कालै निजको मृत्यु भयो । मृतकको गोजी छाम्दा रु.२०००।– नगद रहेछ, झिकी जयवहादुर, मदन थिङ र वीरवहादुर भै ५०० का दरले बाँडी खुकुरी त्यही फाली मृतकले विक्रीगर्न भनि ल्याएको कपडा त्यही छोडी घर गयौ, पछि कपडा लिई काठमाडौं गएकोमा पछि प्रहरीले पक्राउ गरेका हुन् भन्ने समेत प्रतिवादी लोकवहादुर गोलेले अदालतमा गरेको बयान ।
मिति २०६०।४।२९ गते सानोकान्छा गोलेको वचन मानी म मदन थिङ, वीरवहादुर गोले, लोकवहादुर गोले समेत भै गाउँमा कपडा विक्री गर्न आएको मदिसेलाई मारी निजसंग भएको नगद रु.२०००।– तथा कपडा समेत लुटी लगेको हो । मृतकलाई मार्दा वीरवहादुर र जयवहादुर मानिस आउँछन भनि हेर्न वसे । लोकवहादुर गोलेले मृतकलाई पछाडिवाट खुकुरीले हान्यो, खुकुरी लागेपछि मदिसे अगाडि आयो । मैले धकेल्दा भिरवाट खस्यो र मर्यो । मृतकसंग भएको नगद रु.२०००।– हामी चारैजनाले रु.५००।– का दरले वाँडी लियौ, कपडा लिई काठमाडौं गएका हौं । हामीले मिली मृतकलाई मारी रकम कपडा समेत लुटी लगेको हुँदा अभियोग दावी वमोजिम सजाय पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी मदन थिङ तामांगले अदालतमा गरेको वयान ।
प्रतिवादी वीरवहादुर गोले र सानुकान्छा गोलेको नाउँमा यस अदालतवाट जारी भएको वारेण्ट सहितको ७० दिने म्यादी पुर्जि मिति २०६०।८।१२ मा तामेल भै सो म्यादमा हाजिर नभै म्याद गुजारी वसेका रहेछन् ।
मौकामा कागज गर्ने वीरवहादुर गोले, मंगलवहादुर दोङ, बुढा गोले, जाहेरवाला मेराजुल हक मियाँ अन्सारी समेतले अदालतमा गरेको पृथक पृथक वकपत्र ।
प्रतिवादी जयवहादुर भोम्जनका हकमा विचार गर्दा, मृतकलाई कर्तव्य गरी मार्दा मानिस हेर्ने कार्य गरेको र मृतकको धनमाल वाँडी खाएमा साविती रहेको देखिँदा निज प्रतिवादी जयवहादुर भोम्जनलाई ज्यान सम्बन्धी महलको १७( २) अनुसार ५ वर्ष कैद र मुलुकी ऐन चोरीको महलको १४(४) अनुसार कैद वर्ष ६ र विगोको डेढो रु.१४,६६३।५० जरिवाना समेत हुने ठहर्छ । प्रतेवादी लोकवहादुर गोलेले मृतकलाई खुकुरी प्रहार गरी प्रतिवादी मदन थिङले घाइते भै सकेको मृतकलाई धकेली भिरवाट लडाई मार्नमा सहयोग गरेको तथ्य प्रमाणित हुन आएकोले र मृतकको धनमाल समेत डाँका गरी लिए खाएको कुरा प्रमाणीत हुन आएकोले प्रतिवादी लोकवहादुर गोलेलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं.अनुसार सर्वश्व सहित जन्म कैद र चोरीको महलको १४(४) नं.अनुसार कैद वर्ष ६ र विगोको डेढो रु.१४,६६२।५० जरिवाना समेत हुने ठहर्छ । प्रतेवादी मदन थिङलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(४) नं.अनुसार जन्म कैद र चोरीको १४(४) नं.अनुसार कैद वर्ष ६ र विगोको डेढो रु.१४,६६२।५० जरिवाना समेत हुने ठहर्छ । प्रतिवादी लोकवहादुर गोले, जयवहादुर भोम्जन, मदन थिङ तामाङ समेतवाट मुलुकी ऐन चोरीको महलको २१ नं.अनुसार वरामद भएको धनमाल वाहेकको नपुग हुने विगो रु.७,०००।– मृतकका नजिकका हकदारले भरि पाउने ठहर्छ भन्ने समेत शुरु मकवानपुर जिल्ला अदालतको मिति २०६२।१२।२४ को फैसला ।
म कसूरमा सावित नरहेको एवं मलाई सानुकान्छा गोलेले उक्साई लगेको कुरा वयानमा उल्लेख गरेको छु, म कलिलो उमेरको मानिसले सो कुराको मतलव र परिणाम समेत नबुझेको अवस्थामा सजाय गर्न मिल्दैन, मेरो उमेर भर्खर १७ वर्ष मात्र पुरा भएको छ । यो उमेरमा कुनै पनि सहि र गलत कुरा छुट्याउने अवस्था समेत रहदैन यस्तो अवस्थामा मलाई मुलुकी ऐन अ.वं.१८८ नं.वमोजिम राय व्यक्तगरी कम सजाय हुनुपर्ने हो । सो तर्फ ध्यान नदिई मेरो उमेरको यो अवस्थालाई विचार गरी उक्त फैसला उल्टीगरी अभियोग दावी वमोजिमको सजाय नगरि कम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जयवहादुर भोम्जनको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन जिकिर ।
हामी पुनरावेदकहरुले मृतकलाई मार्नको लागि कार्य गरेको भनि साविती रहेको भन्ने आधारले अभियोग दावी वमोजिमको सजाय गर्नुपर्ने अवस्था छैन । वारदातको अवस्था हुँदा हाम्रो कलिलो उमेर रहेको र सो उमेरमा अज्ञानतावस कुनै कुराको जानकारी नहुने हुँदा त्यस्तो अवस्थामा समेत घटी सजाय नभै जन्मकैद ठहर्याएको शुरु मकवानपुर जिल्ला अदालतको फैसलामा हाम्रो चित्त वुझेन, र उक्त फैसला उल्टी गरी अ.वं.१८८ नं.वमोजिम न्यूनतम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको प्र. लोकवहादुर गोले र मदन थिङ तामांगको एकै मिलानको पुनरावेदन अदालत हेटौडामा परेको संयुक्त पुनरावेदन जिकिर ।
यसमा शुरु जिल्ला अदालतले प्र.लोकवहादुर गोलेलाई ज्यान सम्बन्धीको १३(१) नं. र चोरीको महलको १४(४) नं. वमोजिम र मदन थिङ तामाङलाई ज्यान सम्बन्धी महलको १३(४) नं. तथा मुलुकी ऐन चोरीको महलको १४(४) नं. प्र.जयवहादुर भोम्जनलाई ज्यान सम्बन्धी महलको १७(२) तथा चोरीको महलको १४(४) प्र. वीर सिं थिङलाई ज्यान सम्बन्धीको महलको २५ नं.वमोजिम सजाय गरेको र सानुकान्छा गोले र वीरवहादुर गोलेको हकमा अ.वं. १९० नं.अनुसार मुलतवी राख्ने गरेको फैसला मिलेकै देखियो । प्रतिवादी वीर सिं थिङ उपर ज्यान सम्बन्धी महलको १७(२) तथा चोरीको १ र ६ नं.को कसूर पुष्टि हुने अवस्था रहे भएको देखिदैन । निज प्र.को वयानवाट वीरवहादुर समेतका प्रतिवादीहरुले मृतकलाई मारी आएका हौं प्रहरीले खोजी गरेमा वीरवहादुर गोले मै हुँ भनी भन्नु र तिमीलाई ६०,०००।– र घर समेत वनाई दिउँला भनेको हुँदा मैले मै हुँ भनी वताए पछि पक्राउ परेको हुँ भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको र शुरु अदालतमा वयान गर्दा समेत सोही व्यहोरा उल्लेख गरेको वयान कागजवाट देखिन्छ । पक्राउ पर्नु अगावै जानकारी भए पनि मौकामा जाहेर गरी वसेको देखिदा ज्यान सम्बन्धीको २५ नं.अनुसार रु.२०।– जरिवाना गर्ने ठहर्याएको मिलेन भन्न सकिएन । तसर्थ शुरु मकवानपुर जिल्ला अदालतको मिति २०६१।१२।२४ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०६२।७।८ को फैसला ।
घटना हुँदाका वखत आफ्नो उमेर १६ वर्ष मात्र रहेको, सानुकान्छा गोलेको उक्साहटमा लागी कसूरमा संलग्न भएको, अदालती वन्दोवस्तको १८८ नं. मा घटी सजाय गर्न सक्ने कानूनी व्यवस्था भएको र आफूले मौकामा तथा अदालतमा कसूर अपराधमा सावित भई वयान गरेको अवस्था हुँदा घटी सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लोकबहादुर गोलेको पुनरावेदन पत्र ।
वारदात हुँदाको अवस्थामा आफ्नो उमेर १७ वर्ष मात्र रहेको, सानुकान्छा गोलेको उक्साहटमा लागी वारदातस्थलमा गएको र आफूले मृतकलाई मार्नका लागि समाएको वा हात हालेको अवस्था समेत नरहेको हुँदा ज्यान सम्बन्धी महलको १३(४) नं. वमोजिम नभै ऐ. १७ नं. वमोजिमको सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मदन थिङ तामाङको पुनरावेदन पत्र ।
यसमा मिति २०६२।९।२७ मा साधकको रोहबाट साधक सदर भएको देखियो । तर प्रतिवादीको पुनरावेदन मिति २०६३।२।४ मा मात्र पर्न आएकोले प्रस्तुत मुद्दा तथा लगाउको मुद्दा समेत नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६५।१।४ मा भएको आदेश ।
नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री टेकबहादुर रावल (वैतनिक वकिल) र श्री यमुना भट्टराई (काठमाडौं स्कूल अफ ल, बन्दी कानूनी सहायता क्लिनिक) ले पुनरावेदक/ प्रतिवादीहरु कलिलो उमेरका भै सानोकान्छा गोलेको उक्साहटमा परी निज सानो कान्छाले नै दिएको खुकुरीको प्रयोग गरी ज्यान मारेको अवस्था रहेको र निजहरु अपराध मनोवृत्तिका व्यक्ति नभएको हुँदा निजहरुलाई गरिएको सजाय चर्को पर्ने हुँदा कम सजाय गरिनु पर्छ भनी वहस जिकिर प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दामा यी प्रतिवादीहरु समेतले आरोपित कसूर गरेको ठहरी प्रतिवादी मध्येका लोकबहादुर गोलेको हकमा मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र अर्का प्रतिवादी मदन थिङको हकमा ऐ. १३(४) नं. वमोजिम जन्मकैदको सजाय हुने ठहर्याई भएको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उपर यी प्रतिवादीहरुको छुट्टाछुट्टै पुनरावेदन परेको देखिन्छ । प्रतिवादीहरुको पुनरावेदन पर्नु अघि नै पुनरावेदन अदालत हेटौंडाको फैसला उपर साधक जाँचका लागि पेश भई यस अदालतको संयुक्त इजलासबाट मिति २०६२।९।२७ मा नै साधक सदर हुने ठहरी फैसला भैसकेको कारणले गर्दा प्रस्तुत पुनरावेदनहरु समान स्तरको इजलासबाट हेर्न नमिल्ने भै संयुक्त इजलासबाट पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेश वमोजिम यस इजलास समक्ष पेश हुन आएको अवस्था हुँदा प्रथमतः साधकको रोहबाट भएको फैसलाको कानूनी हैसियत के हुने ? भन्ने सम्बन्धमा टुंगोमा पुगी तत्पश्चात् मात्र प्रस्तुत मुद्दामा शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिलेको के रहेछ ? भन्ने सम्बन्धमा निष्कर्षमा पुग्नु पर्ने देखिन्छ ।
२. अब, पहिलो प्रश्नमा विचार गर्दा न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) मा साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट हेरिनुपर्ने व्यवस्था भएको देखिन्छ । त्यसैगरी मुलुकी ऐन, अदालती वन्दोवस्तको २१५ नं. मा पनि साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत काटी सो मुद्दा पुनरावेदनको तहबाट हेर्नु पर्छ भन्ने व्यवस्था गरिएको देखिन्छ । यी दुबै कानूनी व्यवस्थाको अभिप्राय भनेको साधकको रोहबाट न्याय निरुपण भैसकेको भन्ने आधारमा कानून वमोजिम प्राप्त पुनरावेदकीय अधिकारलाई निस्तेज तुल्याउन नहुने भन्ने नै हो । साथै प्रस्तुत मुद्दामा जस्तै साधकको रोहबाट फैसला भएको अवस्था र प्रतिवादीको पुनरावेदन समेत परेको अवस्थामा यस अदालतको बृहत् पूर्ण इजलासबाट पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान अधिकार (Substantive Right) भएकोले साधकको रोहबाट फैसला भई सकेको भन्ने आधारमा त्यस्तो अधिकारलाई निष्प्रभावीतुल्य बनाउन नमिल्ने भनी प्रतिवादीको पुनरावेदन परेको अवस्थामा साधकको रोहबाट भएको फैसला स्वतः बदर हुने भनी (हिमाकुमारी भट्टराई विरुद्ध श्री ५ को सरकार, ने.का.प. २०५७, अंक १०/११, नि.नं.६९४३, पृष्ठ ७१२) सिद्धान्त कायम भैरहेको परिप्रेक्षमा प्रस्तुत मुद्दामा समेत यस अदालतको संयुक्त इजलासबाट साधकको रोहमा भएको मिति २०६२।९।२७ को फैसला यी पुनरावेदकहरुको हकमा स्वतः बदर हुन्छ ।
३. साधकको रोहबाट भएको यस अदालत संयुक्त इजलासको मिति २०६२।९।२७ को फैसला यी पुनरावेदक/ प्रतिवादीहरुको हकमा बदर भएको अवस्था हुँदा पुनरावेदक/प्रतिवादीहरुको पुनरावेदन जिकिर समेतलाई मध्यनजर राखी पुनरावेदक/ प्रतिवादीहरुलाई कसूरदार ठहर्याई गरेको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६२।७।८ को फैसला मिले नमिलेको के रहेछ ? भन्ने प्रश्नमा केन्द्रीत भै न्याय निरुपण गर्नुपर्ने भएको छ ।
४. प्रस्तुत मुद्दाको तथ्य अध्ययन गर्दा मृतक इजाजुल हक मियाँ अन्सारी घट्टेखोला स्थित जंगलमा पुग्ने वित्तिकै यी प्रतिवादीहरु मध्येका लोकबहादुर गोलेले मृतकको पछाडिवाट पहिलो पटक टाउकोमा खुकुरीले प्रहार गर्दा निज अगाडि बढ्न खोजेकोमा मदन थिङले पछाडि धकेलेका र तत्पश्चात् पुनः लोकबहादुरले दोस्रो पटक प्रहार गर्दा मृतक ढली तत्कालै मृत्यु भएको भनी गरेको वयान व्यहोरालाई अर्का प्रतिवादी मदन थिङले समेत समर्थन गरी वयान गरेको देखिन्छ । मृतकको मृत्यु पछि निजको साथमा रहेको नगद तथा कपडा समेत लुटी बाँडी लिएको भन्ने कुरालाई यी दुबै प्रतिवादीले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष समेत स्वीकार गरेको अवस्था देखिन्छ । प्रतिवादीहरुको साविती वयानलाई अन्य अभियुक्तहरुको कथन, घटनास्थलमा भेटिएको खुकुरीका साथै घटनास्थल तथा लाश प्रकृति मुचुल्का समेतका प्रमाणहरुले पुष्टी गरेको हुँदा त्यसतर्फ थप विवेचना गर्नुपर्ने अवस्था देखिएन ।
५. अब, पुनरावेदक प्रतिवादीहरुले पुनरावेदनपत्रमा लिएको जिकिरलाई हेर्दा लोकबहादुर गोलेले आफ्नो पुनरावेदन पत्रमा अन्य व्यक्तिको उक्साहटमा परी आफू कसूरमा संलग्न भएको, घटना हुँदाका वखत आफ्नो उमेर १६ वर्ष मात्र रहेको, अदालती वन्दोवस्तको १८८ नं. मा घटी सजाय गर्न सक्ने कानूनी व्यवस्था भएको र आफूले मौकामा तथा अदालतमा कसूर अपराधमा सावित भई वयान गरेको अवस्था समेत दर्शाई अ.वं. १८८ नं. वमोजिम घटी सजायको माग गरेको देखिन्छ भने अर्का प्रतिवादी मदन थिङले वारदात हुँदाको अवस्थामा आफ्नो उमेर १७ वर्ष मात्र रहेको, सानुकान्छा गोलेको उक्साहटमा लागी वारदातस्थलमा गएको र आफूले मृतकलाई मार्नका लागि समाएको वा हात हालेको अवस्था समेत नरहेको भन्दै आफूलाई ज्यान सम्बन्धीको १७ नं. वमोजिमको सजाय हुनुपर्ने भनी जिकिर लिएको देखिन्छ । साथै निजहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरुको वहस जिकिरमा पनि तिनै कारणहरु देखाई घटी सजायको जिकिर लिएको सन्दर्भमा विचार गर्दा अ.वं. १८८ नं. मा रहेको कानूनी व्यवस्थालाई हेर्नुपर्ने हुन्छ । उक्त नं. मा भनिएको छ– “ऐनले सर्वस्व सहित जन्म कैद वा जन्म कैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन वमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधन तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटी सजाय तोक्न हुन्छ” उल्लिखित कानूनी व्यवस्थाले भवितव्यको आशंका वा अपराध गरेको अवस्था समेतका आधारमा घटी सजाय हुनुपर्ने देखिएको अवस्थालाई इंगित गरेको देखिन्छ । ती दुबै अवस्था न्यायकर्ताले अनुभूत गर्ने विषय हो । अ.वं.१८८ नं. को व्यवस्था अधिकारको रुपमा रहने विषय पनि होइन । न्यायकर्ताले घटी सजाय हुनुपर्ने भनी अनुभूति गरेको अवस्थामा पनि निश्चित आधारहरुको विद्यमानता अपरिहार्य नै देखिन्छ, कानूनले नै कारण सहितको खुलासाको अपेक्षा गरेको छ ।
६. कसूरदारको उमेर कम हुनु मात्र घटी सजायका लागि आधार हुन सक्दैन । प्रस्तुत मुद्दामा भएको कसूरको प्रकृति र कसूर हुँदाको अवस्थालाई हेर्ने हो भने मृतक इजाजुल हक मियाँ अन्सारीलाई कर्तव्य गरी मार्ने पूर्व योजना सहित खुकुरी जस्तो जोखिमी हतियारको प्रयोग गरी ज्यान मारेको देखिन्छ । यी प्रतिवादीहरु कम उमेरका भै अन्य व्यक्तिको उक्साहटमा अपराध कार्यमा संलग्न भएका हुन् कि भन्नलाई गाउँमा वसी योजना बनाई घट्टेखोला जंगलसम्म पुगी निहत्था एक्लो व्यक्ति माथि पटक पटक खुकुरी प्रहार गरी मारेको देखिँदा त्यस्तो कार्यमा पुनरावेदक प्रतिवादीहरुको मनसाय तत्व विद्यमान थिएन भनी अनुमान समेत गर्न सकिँदैन । पूर्व योजना र तयारी सहित ज्यान मार्ने कार्य गरी त्यसपछि मृतकको साथमा रहेको नगद र कपडा समेत लुटी लैजाने समेतको कार्यमा संलग्न व्यक्तिहरुलाई अन्य व्यक्तिको उक्साहटमा मात्र त्यस्तो कार्य गरेको मानी घटी सजाय गर्नु अ.वं १८८ नं. को उद्देश्य विपरीत हुने हुँदा घटी सजाय गरिपाऊँ भन्ने पुनरावेदक प्रतिवादी लोकबहादुर गोलेको जिकिरसँग सहमत हुन सकिएन । अर्का प्रतिवादी मदन थिङले आफू वारदातस्थलमा उपस्थित सम्म भएको तर मृतकलाई मार्नका लागि समाउने वा हात हाल्ने कार्य नगरेको भनी पुनरावेदन पत्रमा लिएको जिकिरलाई अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत वयान गर्दा निज स्वयंले नै खण्डन गरेको र निजको वयान अन्य सम्बद्ध प्रमाणहरुबाट समेत समर्थित रहेको हुँदा निजको उक्त जिकिर तथा निजका कानून व्यवसायीको वहस जिकिरसँग पनि सहमत हुनसक्ने अवस्था देखिँदैन ।
तसर्थ यी प्रतिवादीहरुले मृतक इजाजुल हक मियाँ अन्सारीलाई कर्तव्यवाट मारी मृतकको साथबाट नगद रु.२,०००।– र अन्य कपडा समेत यी प्रतिवादीहरुले लुटी लगेको देखिएको सन्दर्भमा प्रतिवादीहरुमध्येका यी पुनरावेदक लोकबहादुर गोलेलाई ज्यान सम्बन्धीको महलको १३(१) नं. अनुसार सर्वस्व सहित जन्मकैद, अर्का पुनरावेदक प्रतिवादी मदन थिङ तामाङलाई ऐ. को १३(४) नं. अनुसार जन्मकैद र यी प्रतिवादीहरुलाई चोरीको १४(४) नं.अनुसार जनही कैद वर्ष ६ र विगोको डेढीले हुन आउने रु.१४,६६२।५० जरीवाना गरी तीनै जना प्रतिवादीबाट चोरीको २१ नं. वमोजिम नपुग विगो रु.७,०००।– मृतकका नजिकका नातेदारलाई भराइदिने ठहर्याई भएको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०६२।७।८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/ प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदकहरुलाई फैसलाको जानकारी दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.तपवहादुर मगर
न्या.ताहिरअलि अन्सारी
इति सम्बत् २०६५ साल मार्ग ५ गते रोज ५ शुभम्
इजलास अधिकृतः उमेश कोइराला