निर्णय नं. ४६३७ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ४६३७ ने.का.प. २०४९ (ग) अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
सम्वत् २०४७ सालको रिट नं. ७६२
आदेश भएको मिति: २०४९।१०।५।२ मा
निवेदक : जि.झापा तोपगाछी गा.पं. वा.नं. ३ बस्ने लिलाकुमार श्रेष्ठ
विरुद्ध
विपक्षी : श्री ५ को सरकार, प्रेस सूचना विभागसमेत
विषय : उत्प्रेषणयुक्त परमादेश
(१) लोकसेवा आयोगद्वारा प्रत्यायोजित अधिकार विपरीत विज्ञापन भएको कुरामा विवाद नरहेपछि त्यस्तो विज्ञापन र सिफारिशको आधारमा गर्ने गरेको नियुक्ति कानुनसम्मत नभएपछि त्यस्तो वेरीतको सिफारिश र नियुक्ति समेत कानुन अनुरुप भएको भनी स्वीकार गर्न नमिल्ने ।
(प्रकरण नं. २२)
(२) कानुन अनुरुप भए गरेको काम कारवाहीबाट निवेदकको नियुक्ति बदर गर्ने निर्णय भएको देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिने ।
(प्रकरण नं. २२)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ
आदेश
न्या.रुद्रबहादुर सिंह
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. जि.झापा तोपगाछी गा.पं. घर भई तत्काल ल्याब ब्वाई पदमा बहाल रहँदासम्म उक्त पदमा जिम्मेवारीपूर्वक आफ्नो दायित्व बहन गर्ने म निवेदक नेपालको नागरिक समेत हुँ । विपक्षी १ नं. मा सम्बन्धित ल्याब ब्वाइको रुपमा कार्य गर्नु पूर्व पनि ३ वर्षसम्म पाको न्यू रोड स्थित फोटो फ्रिक्वेन्सीमा काम गरे पश्चात नै विपक्षी नं. १ कहाँ २०४४।११।२५ देखि २०४५।५।२४ तक र २०४५।६।९ देखि २०४५।१२।१८ तक २ पटक ६।६ महीनाको अस्थायी नियुक्ति पाई काम गरेको कुरा संलग्न प्रमाण समेतले पुष्टि गर्ने नै छ ।
३. यसै बीच २०४५।११।२८ मा लोकसेवा आयोगद्वारा अधिकार प्रत्यायोजन भएको भनी गो.प. मा प्रकाशित सूचनामा रा.प.अ.तृ. (प्राविधिक) ल्याब ब्वाइको न्यूनतम योग्यता सहितको आवश्यकता र वान्छनीय योग्यता समेत तोकी प्रकाशित सूचना मुताविक नै म निवेदक समेतले विपक्षी नं. १ मा आवश्यक योग्यता सहितको निवेदन दिई अन्तर्वातामा समेत सफल भई २०४६।२।२२ मा नियुक्ति दिने निर्णयानुसार स्थायी नियुक्ति पाई विपक्षी नं. १ मा कार्यरत थिएँ ।
४. यस बीच विपक्षी नं. ४ (जो सोही पदको प्रत्यर्थी उम्मेदवार समेत थिए) को कस्तो व्यहोराको निवेदन विपक्षी नं. २ मा परेको थियो, मलाई थाहा हुने कुरा भएन । विपक्षी नं. २ ले मैले पेश गरेको प्रमाण दिने फोटो फ्रिक्वेन्सीको सिफारिशलाई आदेशले मान्यता नदिएकोले नियुक्ति गरेको बदर गरी पुनः विज्ञापन गर्ने भनी लेखी आएको राय अनुसार विपक्षी नं. १ को २०४६।१२।१६ को निर्णय बमोजिम म निवेदकको उक्त नियुक्ति बदर गरिएकोमा विपक्षी नं. ३ ले समेत विपक्षी नं. २ को निर्णय मनासिब रहेको जानकारी दिए पश्चात बाध्य भई अन्य उपचारको अभावमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी उपस्थित भएको छु ।
५. विपक्षी नं. २ को राय अनुसार भएको विपक्षी नं. १ को २०४६।१२।१६ को निर्णय निम्न अनुसार रहेको छ । आयोगको कार्यविधि क्षेत्र नियम तथा सिद्धान्त मुताविक नभएको हुँदा श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको पत्रानुसार र नि.से. ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (च) बमोजिम उक्त पदमा नियुक्ति गरेको बदर गरी पुनः विज्ञापन गर्ने भनी लो.से.आ. म.क्षे.का.बाट २०४६।९।१३ मा लेखी आएको व्यहोरा पेश हुँदा लो.से.आ.को राय अनुसार नियुक्ति बदर गरी २०४६।१२।१६ मा निर्णय भए अनुसार तपाइको नियुक्ति बदर भएको व्यहोरा सूचित गरिएको ।
६. प्रथमतः निवेदकलाई २०४६।२।२२ मा ल्याब ब्वाई पदमा स्थायी नियुक्ति गर्ने निर्णय गरिएको थियो जुन समयमा म निवेदकलाई प्रस्तावित गरिएको ऐनको दफाको व्यवस्था नै भएको थिएन । निवेदकले स्थायी नियुक्ति पाइसकेपछि मात्र दफासम्म गरिएको उक्त व्यवस्थाले म निवेदकलाई असर पार्नु पर्ने होइन । नि.से.नि. को दफा ६(१) को (ख) म माथि आकर्षित गर्दाकै अवस्थामा पनि म निवेदकको नियुक्ति निर्धारित प्रकृया र शर्त पूरा नगरी भएको छ भनी ठोस वस्तुगत कारणहरु देखाई यी २ प्रकृया शर्तहरु पूरा गर्नु पर्ने नगरेको भनी वस्तुगत आधारमा दिइएको हुनुपर्छ सो को अभावमा केवल ऐनको दफा मात्र उल्लेख गरेको आधारमा उक्त दफाको प्रयोग म माथि हुन नसक्ने हुँदा विपक्षीको निर्णय बदरभागी छ ।
७. विपक्षी नं. २ बाट भएको निरीक्षण टोलीले म निवेदकले पेश गरेको फोटो फ्रिक्वेन्सीको सिफारिशलाई कुन त्यस्तो वस्तुगत कारण पर्यो जसको आधारमा उक्त सिफारिशलाई मान्यता दिन मिलेन । मैले ३ वर्षसम्म काम गरेको अनुभवलाई सिफारिश र प्रमाणित गर्ने फर्मको विश्वसनीयता र प्रमाणिकताको प्रश्नमा उक्त फर्म श्री ५ को सरकार उद्योग विभागबाट दर्ता भई २०३८ साल देखि सेवारत छ त्यस्तो फर्मले दिएको सिफारिशलाई मान्यता दिन मिलेन भनी मनोगत आधारमा भनेको त्रुटिपूर्ण छ । योग्यताको सवालमा निवेदक अष्टम कक्षा मात्र नभई एस.एल.सी. पास गरेको प्रमाणपत्र पेश गरेको छु । सम्बन्धित विषयमा २ वर्ष कामको अनुभव भनिएकोमा ३ वर्षको अनुभव पेश गरेको छु । अनुभवको प्रमाण पेश गरेकै आधारमा २ पटकसम्म गरी १ वर्ष सोही पदमा नियुक्ति पाई काम गरेको छु ।
८. विज्ञापनमा उल्लेखित न्यूनतम योग्यता पुष्टी गरिसकेको र सो आधारलाई एकपटक ग्रहण समेत गरी परीक्षाफल प्रकाशित गरी नियुक्ति समेत दिइसकेकोमा सिफारिश नै नगर्ने नियुक्ति समेत नगर्ने विपक्षी नं. २ बाट नियुक्ति बदर गरी पुनः विज्ञापन गर्ने राय पेश भएको आधारमा नियुक्ति बदर गर्दै भएको मिति २०४६।१२।१६ को निर्णय र त्यसलाई सदर गर्दै मिति २०४७।४।१९ मा दिइएको विपक्षी नं. २ को जानकारी पत्र त्रुटिपूर्ण छ ।
९. अतः उपरोक्त त्रुटिपूर्ण निर्णयले संविधानको धारा १०(१), ११(२)(ङ), १५ द्वारा प्रत्याभूत हकमा आघात परेको हुँदा उत्प्रेषणयुक्त परमादेशको आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।
१०. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
११. यस आयोगबाट प्रत्यायोजित अधिकार प्रयोग गरी प्रेस सूचना विभागले रिक्त रा.प.अ.तृ. (प्राविधिक) ल्याब ब्वाई पद संख्या एकका लागि गरेको पदपूर्तिको कारवाही सम्बन्धमा आयोगद्वारा निरीक्षण हुँदा उक्त प्रेस सूचना विभागको विज्ञापन नं. २०४५।४६(२) अनुसार दर्खास्त आव्हान गर्दा आयोगबाट निर्धारित योग्यतामा फरक पारी विज्ञापन गरेको एवं आयोगले मान्यता नै नदिएको योग्यता र सीप परीक्षण परिषद्को शीप परीक्षामा उत्तिर्ण नभएको उम्मेदवारलाई छनौट गर्न आयोगले तोके मुताविक अंक गणना समेत गरेको नदेखिँदा रिट निवेदकले उक्त पदमा पाउनु भएको नियुक्ति बदर गर्न कानुन अनुसार कारवाही भएको ।
१२. उक्त ल्याब ब्वाई पदका लागि रिट निवेदकले दर्खास्त साथ पेश गर्नु भएको प्रमाणपत्रको स्तर समेत निर्धारण नभएको हुँदा अनुभव सम्बन्धी सो प्रमाणलाई यस आयोगको प.सं.नि.नं. ८(८८१) ०४३ मिति २०४३।११।१२ र प.सं.नि.नि. २(७६२) ०४३ मिति ०४३।४।१६ का पत्रहरु अनुसार पनि मान्यता दिन नमिल्ने हुँदा मान्यता नदिएको ।
१३. उपयुक्त ल्याब ब्बाई पदमा उम्मेदवारहरुको तालीम र अनुभव बापत अड्ढ गणना गर्दा यस आयोगको पदपूर्ति निर्देशिका, ०३८ (संशोधन सहित) को अनुसूची मुताविक गर्नु पर्नेमा सो गरेको समेत उक्त पदपूर्ति निरीक्षणका सिलसिलामा नदेखिँदा लोकसेवा आयोग (कार्यविधि) नियमहरु, २०२७ तथा पदपूर्ति सिद्धान्त मुताविक र निजामती सेवा ऐन, २०१३ (संशोधन सहित) को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (च) मुताविक यस आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट उक्त नियुक्ति बदरको कारवाही भएको र यस आयोगबाट समर्थन भएको हो ।
१४. तसर्थ उक्त काम कारवाहीबाट रिट निवेदकको संवैधानिक हक समेत हनन् भएको नहुँदा यस आयोग र यस आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयलाई विपक्षी बनाइएको हदसम्म रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी लोकसेवा आयोगका सचिवको र सोही व्यहोराको प्रत्यर्थी लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको लिखितजवाफ ।
१५. यस विभागको दैनिक कार्यमा बाधा परेकोले रिक्त रहेको रा.प.अ.तृ.प्रा. पदमा विपक्षी लिलाकुमार श्रेष्ठलाई मिति २०४४।११।२५ देखि २०४५।५।२४ र २०४५।६।१९ देखि २०४५।१२।१८ तक अस्थायी नियुक्ति दिई कामकाज लगाइएको । सो पद स्थायी गर्ने सिलासिलामा २०४६।११।२६ गतेको गो.प. मा विज्ञापन प्रकाशित भएको र सो विज्ञापनमा आवश्यक न्यूनतम योग्यता सम्बन्धित विषयको तालीम प्राप्त वा अष्टम कक्षा उत्तीर्ण भई सम्बन्धित काममा दुई वर्षको अनुभव प्राप्त भन्ने उल्लेख भएको थियो ।
१६. विज्ञापन अनुसार धर्मप्रसाद लामिछाने, लिलाकुमार श्रेष्ठ, साधुराम पण्डित क्षेत्री, मोहन र श्यामनाथ भट्टराई समेतको दर्खास्त पर्न आई अन्तर्वार्तामा समेत सम्मिलित भई अन्तर्वार्ताबाट सर्वश्री लिलाकुमार श्रेष्ठ र वैकल्पिक उम्मेदवार श्री श्यामनाथ भट्टराईलाई राख्ने गरी मिति २०४६।१।१४ मा सूचना प्रकाशित भएको थियो । उक्त उम्मेदवारमध्ये धर्मप्रसाद लामिछानेले फोटोग्राफी डिप्लोमा बनारश भारतबाट पास गरेको सर्टिफिकेट पेश गरेको र लिलाकुमार श्रेष्ठ समेतका अरु सबै उम्मेदवारले स्थानीय विभिन्न फोटो स्टुडियोबाट अनुभव हासिल गरेको भन्ने अनुभवको प्रमाणपत्र पेश गरेका थिए । लोकसेवा आयोगद्वारा निर्धारित आवश्यक न्यूनतम योग्यता श्रीधर्मप्रसाद लामिछाने बाहेक अरु कसैको नपुगेको तर तत्कालिन अन्तर्वार्ता बोर्डले भने लिलाकुमार श्रेष्ठलाई सफल उम्मेदवारमा छानेकोले १ वर्षको परिक्षणकालमा रहने गरी मिति २०४६।२।२२ का निर्णयानुसार स्थायी नियुक्ति दिइएको ।
१७. लो.से.आ.को नियमित निरीक्षण कार्यक्रम अनुसार यस विभागमा भए गरेको नियुक्ति सम्बन्धी सम्पूर्ण कागजात छानबीन गर्दा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम रिक्त पदपूर्ति गर्ने निर्देशिका, २०३८ (संशोधित) को अनुसूची ७ को दफा २(च) र आयोगको मिति २०४३।४।१६ र २०४३।४।१२।३ को पत्रानुसार बिलकुलै मान्यता नभएकोले धर्मप्रसाद बाहेक सबै उम्मेदवारको तालिमको प्रमाणपत्र निजी संस्थाहरुले दिएको सिफारिश पेश गरेकोले दर्खास्त नै अस्वीकृत गर्नु पर्ने थियो । योग्यता पुगेका उम्मेदवारको छनौट भई नियुक्ति पाएको भन्न नसकिने आयोगको नीति एवं सिद्धान्त प्रतिकूल काम कारवाही भए गरेको देखिन्छ । यसरी माग गरिएको योग्यतामा भिन्नता देखिनु तालिम र अनुभब बापतको अंक आयोगले तोकिदिए अनुसार पनि नदिनु र आयोगबाट मान्यता नै नभएको आयोगको कार्यविधि ऐन, नियम तथा सिद्धान्त मुताविक नि.से.ऐन, २०१३ (संशोधित) को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (च) बमोजिम उपर्युक्त पदमा गरिएको नियुक्ति बदर गरी पुनः आयोगको नीति नियम एवं सिद्धान्त मुताविक पदपूर्ति गरी सो को जानकारी यस निर्देशनालयलाई दिने समेतको व्यहोराको मिति २०४६।९।१२ को निर्णयानुसार अनुरोध गरिन्छ भन्ने समेत लो.से.आ. मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय उजूरी निरीक्षण एवं सुपरिवेक्षण शाखाको मिति २०४६।९।१३ को पत्रबाट समेत लेखी आएको । तत्पश्चात कारवाही हुँदा यस विभागलाई २०४६।१२।१४ मा प्राप्त बोधार्थपत्र समेत प्राप्त हुन आएपछि लिलाकुमार श्रेष्ठको नियुक्ति मिति २०४६।१२।१६ देखि बदर गरी सम्बन्धित व्यक्तिलाई सूचना दिइएको हुँदा यस विभागको नाउँमा आदेश जारी हुनु नपर्ने व्यहोरा अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रत्यर्थी श्री ५ को सरकार प्रेस सूचना विभागको तर्फबाट पर्न आएको लिखितजवाफ ।
१८. प्रेस सूचना विभागमा रिक्त रहेको रा.प.अ.तृ.प्रा. पद एक स्थायी रुपमा पूर्ति गर्ने सिलसिलामा २०४५।११।२६ गतेको गोरखापत्रमा विज्ञापन प्रकाशित भएको र सो विज्ञापन बमोजिमको मेरो योग्यता पुग्ने भएकोले रीतपूर्वकको दर्खास्त दिएको थिएँ । अन्तर्वार्तामा सर्वश्री लिलाकुमार श्रेष्ठ र वैकल्पिक उम्मेदवारमाा श्यामनाथ भट्टराइको नाम मिति २०४६।१।१४ मा प्रकाशित भएको थियो । लो.से.आ.बाट निर्धारित योग्यता मेरो मात्र पुगेको अन्य कुनै कदर नगरी योग्यता नपुगेको व्यक्तिहरुलाई सफल उमेदवारको रुपमा नामावली प्रकाशित गरी लिलाकुमार श्रेष्ठलाई नियुक्ति दिइएको थियो । योग्यता पुगेको उम्मेदवार छानेको भन्न नमिल्ने हुँदा नियुक्ति बदर गर्नु भनी लो.से.आ. म.क्षे.का.बाट प्रेस सूचना विभागमा मिति २०४६।९।१३ मा लेखी आए अनुसार प्रेस सूचना विभागबाट निज लिलाकुमार श्रेष्ठको नियुक्ति बदर गरिएको थियो । यसरी निवेदक विपक्षी लिलाकुमार श्रेष्ठ आफ्नो योग्यताको अभावमा लो.से.आ.को निरीक्षणबाट नियुक्ति बदरमा परेका हुन । मैले नियुक्ति पाउँछु कि भनी विपक्षीले मलाई समेत विपक्षी बनाई झुठ्ठा रिटनिवेदन दिएको हुँदा खारेज गरी सो पदमा मलाई कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी धर्मप्रसाद लामिछानेको लिखितजवाफ ।
१९. नियमानुसार पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अग्नी खरेलले निवेदकले रीतपूर्वकको दर्खास्त दिई सफल भएका हुन । निजको अनुभवको जुन प्रमाणपत्रको आधारमा पहिला सोही संस्थामा अस्थायी नियुक्ति पाई काम गरेका थिए । सोही अनुभवको प्रमाणपत्रको आधारमा हाल पनि सिफारिश भएको हो । न्यूनतम अष्टम कक्षा उत्तीर्ण भन्ने शैक्षिक योग्यताको हकमा निवेदकले एस.एल.सी. सम्मको अध्ययन पूरा गरेका छन् । प्रत्यर्थी प्रेस सूचना विभागको विज्ञापन र सिफारिश अनुसार नियुक्ति दिइसके पछि संस्थाले गल्ती गर्छ भने त्यसको दोष निवेदकले लिन नसक्ने र त्यो गलत कार्यको शिकार निवेदकलाई बनाउनु पर्ने पनि होइन । साथै स्तरनिर्धारण गर्ने निकायको सम्बन्धमा विज्ञापन समेत मौन छ । नि.से.नि. का दफा ६.१(च) निवेदकको सम्बन्धमा आकर्षित हुँदैन । निवेदकलाई परीक्षणकालको अवधिमा हटाइने अवस्थाले हटाइएको होइन । अतः निवेदकको नियुक्ति बदर गरिएको त्रुटिपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
२०. प्रत्यर्थी लो.से.आ. समेतका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले कुनै निकायबाट गैरकानुनी क्रियाकलाप हुन्छ भने त्यसलाई समर्थन गर्न मिल्दैन । लो.से.आ.को नीति नियम अनुरुप विज्ञापन सूचना नभएको कुरामा लो.से.आ. को सहमति छ । गलत कार्यबाट भएको गलत सिफारिशलाई मान्यता दिइरहन मिल्दैन । लो.से.आ. को नीति अनुरुप नभएको कुरामा सो निकायले निरीक्षण गरी देखाए पछि त्यसैलाई मान्नु पर्छ । प्रस्तुत नियुक्ति नीति नियम अनुरुप निर्धारित प्रकृयाबाट भएको छैन । लो.से.आ.को नियन्त्रण गर्न सक्ने अवस्था अनुरुप भए गरेको कार्य समेत हुँदा गैरकानुनी वा त्रुटिपूर्ण मान्न मिल्दैन । साथै निवेदकलाई परीक्षण कालकै अवधिमा हटाइएको समेत हुँदा यो रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
२१. आज निर्णय सुनाउने तारेख तोकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने अवस्था छ छैन हेरी निर्णय दिनुपर्ने हुन आयो ।
२२. यसमा निर्णयतर्फ विचार गर्दा प्रेस सूचना विभागमा रिक्त रहेको रा.प.अ. तृतीय (प्राविधिक) ल्याब ब्वाई पदको लागि विज्ञापन प्रकाशित भएको र सो विज्ञापन अनुसार निवेदक सहितका उम्मेदवारहरुको दर्खास्त परी निवेदक लिलाकुमार श्रेष्ठको नाम सिफारिश भएको कुरामा विवाद देखिएन । निवेदकले नियुक्ति पाइसकेपछि लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम रिक्त पदपूर्ति गर्ने निर्देशिका, (संशोधन सहित) २०३८ को अनुसूची ७ को दफा २(च) र आयोगको मिति २०४३।४।१२ र २०४३।४।१६ को पत्रानुसार नभएको भन्ने लोकसेवा आयोगको निरीक्षणबाट देखिएको भन्ने र प्रत्यर्थी प्रेस सूचना विभागले पनि सो पत्रानुसार समेत निवेदकलाई दिएको नियुक्ति बदर गरेको भन्ने प्रेस सूचना विभागको लिखितजवाफको व्यहोराबाट समेत देखिन्छ । लोकसेवा आयोग (कार्यविधि) ऐन, २०२० लोकसेवा आयोगका (कार्यविधि) नियमहरु, २०२७ तथा पदपूर्ति सिद्धान्त मुताविक समेत उक्त नियुक्ति बदर गर्ने कारवाही भई लोकसेवा आयोगको समर्थन भएको भन्ने प्रत्यर्थी लोकसेवा आयोगको जवाफ भएको र निवेदकले उक्त विज्ञापनद्वारा भएको नियुक्तिलाई लोकसेवा आयोगको निर्देशानुसार कानुनसम्मत छ भन्न सकेको पनि पाइएन । निवेदकले प्राप्त गरेको अनुभवको प्रमाणपत्र समेत लोकसेवा आयोगबाट निर्धारित प्रकृया अनुरुपको नभएको भन्ने र त्यस्तो प्रमाणपत्रलाई २०४३।११।१२ र २०४३।४।१६ का पत्रहरु अनुसार पनि मान्यता दिन नमिल्ने भन्ने उल्लेख भइरहेको पाइन्छ । तसर्थ लोकसेवा आयोगद्वारा प्रत्यायोजित अधिकार विपरीत विज्ञापन भएको कुरामा विवाद नरहेपछि त्यस्तो विज्ञापन र सिफारिशको आधारमा गर्ने गरेको नियुक्ति कानुनसम्मत नभएपछि त्यस्तो बेरीतको सिफारिश र नियुक्ति समेत कानुन अनुरुप भएको भनी स्वीकार गर्न मिल्दैन । लोकसेवा आयोगबाट निवेदकलाई नियुक्ति दिइएको पदको सूचना प्रकाशित हुनु पूर्व नै प्रत्यायोजित अधिकार नीति नियम आदि छँदा छँदै सो अनुरुप विज्ञापन र सिफारिश नभई भएका काम कारवाहीलाई मान्यता दिने हो भने भइरहेका नियमहरुको परिपालना बेगर भएका निर्णयबाट त्यस्ता नीति नियम निरर्थक हुने हुन्छन् । अतः मान्यता प्राप्त स्वीकृत नीति नियम विपरीत प्रकाशित सूचनाका आधारमा भए गरेका काम कारवाही समेत कायम रही रहन नसक्ने हुँदा निवेदकलाई दिइएको नियुक्ति बदर गर्ने कारवाही चलाई प्रेस सूचना विभागबाट बदर गरिएको काम कारवाही समेतमा कानुनी त्रुटि गरेको भनी मान्न मिलेन । अतः प्रस्तुत मुद्दामा कानुन अनुरुप भए गरेको काम कारवाहीबाट निवेदकको नियुक्ति बदर गर्ने निर्णय भएको देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था देखिएन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केशवप्रसाद उपाध्याय
इति सम्वत् २०४९ साल माघ ५ गते रोज २ शुभम् ।