शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६४३ - उत्प्रेषण

भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १०

निर्णय नं. ४६४३    ने.का.प. २०४९ ()  अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०४७ सालको रिट नं. ६४९

आदेश भएको मिति: २०४९।१०।२६।२ मा

निवेदक      : जि.दोलखा भिरकोट गा.वि.स. वडा नं. ९ बस्ने निलप्रसाद काफ्ले

विरुद्ध

विपक्षी : ६ नं. नापी गोश्वारा ३ नं. नापी टोली दोलखा चरिकोटसमेत

विषय : उत्प्रेषण

(१)    कागज करकापबाट गराएको भन्ने निवेदन जिकिरको सम्बन्धमा सो कागज करकापबाट भएको हो वा होइन सबूद प्रमाण मूल्याड्ढन गरी निर्णय गर्नु पर्ने विषय भएको र त्यस्तो प्रमाणको मूल्याड्ढन गरी निर्णय गर्न रिट क्षेत्रबाट नमिल्ने हुँदा रिटनिवेदन खारेज हुने ।

(प्रकरण नं. १२)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान

प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी

आदेश

न्या.केशवप्रसाद उपाध्याय

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    म निवेदकको हक स्वामित्व निहीत मौजा भिरकोट जिम्वाल डिल्लीनाथ पाध्य जिम्माको पूर्व वादेको डिल, पश्चिम तेस्रो बाटो, दक्षिणकाली दह कीर्तिबहादुरको खेत, उत्तर सल्ले खोला यती चार किल्ला भित्रको विजन माना ।।१ लागेको माटो मुरी ।७ तिरो रु. ।३५ तिर्नु पर्ने भीर बारी भन्ने जग्गा भूमिसम्बन्धी नियम, २०२१ को नियम १८ द्वारा निर्दिष्ट जग्गावालाको हैसियतले आफ्नो परिवारको नाउँमा रहेको जग्गाको ७ नं. फाँटवारी पिता धर्मानन्दको नाउँमा दाखिल भएको भीर बारी भन्ने उक्त जग्गा म निवेदकको मिति २०२८।९।१७ को दर्खास्त मिति २०२८।९।१७ को नापी मुचुल्का र माल कार्यालय दोलखाको मिति २०३२।१२।६ को पर्चा बमोजिम म निवेदकको नाउँमा दर्ता भई हक स्वामित्व स्थापित भई प्रत्येक साल जोती भोगी निर्दिष्ट म्यादभित्र तिरो बुझाउँदै आएको थिएँ । सो सम्बन्धमा कुनै विवाद थिएन ।

३.    उक्त चार किल्ला भित्रको भीर बारी भन्ने जग्गा दोलखा जिल्लामा कित्ता नापी लागू भई हाल भीरकोट गाउँमा नाप नक्शा शुरु भएको क्रममा उल्लेखित ४ किल्ला भित्रको जग्गा नाप नक्शा हुँदा म निवेदक उपस्थित हुन नसके तापनि भिरकोट गा.वि.स. वडा नं. ८ को क्रमशः कि.नं. १, २८८, ३२ र २९४ गरी जम्मा ४ किल्ला कायम भई नाप नक्शा हुँदा, कि.नं. १, २८८ र २९४ मेरो आफ्नो नाउँमा उल्लेख भएको र कि.नं. ३२ बुटेन जनिई प्रत्यर्थी ६ नं. नापी गोश्वारा ३ नं. नापी टोलीबाट मिति २०४७।२।५ मा ७ दिने सूचना प्रकाशित भएको रहेछ । उक्त बुटेन जनिई सूचना प्रकाशित भएको कि.नं. ३२ जग्गा मेरो नाउँमा नाप नक्शा हुनु पर्नेमा बुटेन जनिएकोले निर्दिष्ट ७ दिनको म्याद अर्थात् मिति २०४७।२।११ बाट प्रत्यर्थी ६ नं. नापी गोश्वारा ३ नं. नापी टोली समक्ष उक्त कि.नं. ३२ को जग्गा मेरो नाउँमा दर्ता गरी पाउन सबूद प्रमाण सहितको निवेदनपत्र प्रस्तुत गरी कारवाहीयुक्त अवस्थामा रहेको थियो सो तोकिएको ७ दिने सूचनाको म्यादमा म निवेदक बाहेक अरु कसैको उजूरी परेको थिएन ।

४.    साविक दर्ता र ४ किल्ला भित्रको भीर बारीको बिजन र माटो मुरी मध्येबाट मेरो नाउँमा नाप नक्शा भएको कि.नं. १ र २८८ को जग्गाको सम्बन्धमा म निवेदक उपर दोलखा जिल्ला भिरकोट वार्ड नं. ९ बस्ने जनअधिकार सुरक्षा समितिका अध्यक्ष श्री हरीप्रसाद काफ्लेले उक्त जग्गाहरुलाई सार्वजनिक कायम गरी पाउँ भनी प्रत्यर्थी नापी टोली समक्ष उजूरी प्रस्तुत गरी कारवाही हुँदाको क्रममा निज हरीप्रसाद काफ्ले सार्वजनिक कायम गरी पाउँ भनी दावी लिएको अर्थात मेरो नाउँमा नापी भएको कि.नं. १ र २८८ को जग्गाको वास्तविकको सम्बन्धमा के कसो हो मिति २०४७।२।२९ गतेका दिन सरजमीन गरी लिई आउनु भन्ने प्रत्यर्थी ६ नं. नापी गोश्वारा ३ नं. नापी टोलीका ख.कृष्णबहादुर कार्कीलाई मिति २०४७।२।२८ को पत्रबाट खटाई सोको बोधार्थ पत्र निवेदकलाई समेत प्राप्त भएको थियो । सो बोधार्थपत्र अनुसार उल्लेखित कि.नं. १ र २८८ नं. को जग्गाको सम्बन्धमा सरजमीनको लागि बोधार्थपत्रमा तोकिएको मिति २०४७।२।२९ गते ५ बजे केही स्थानीय व्यक्तिहरु र म निवेदक समेत सरजमीन हुने जग्गामा उपस्थित हुन गयौं खटी आएको निज खरिदारले प्रत्यर्थी कृष्णप्रसाद काफ्ले र खड्गप्रसाद काफ्ले समेतका व्यक्तिहरु पनि सरजमीन हुने उक्त कि.नं. १ र २८८ को जग्गामा आई पुगी सकेका रहेछन् । प्रत्यर्थी ख.कृष्णबहादुर कार्कीले उपस्थित स्थानीय व्यक्तिहरुसंग कि.नं. १ र २८८ को जग्गा हरीप्रसादको उजूरी अनुसार सार्वजनिक हो ? वा म निवेदक निलप्रसादको हो भनी सोधनी गर्दा उक्त कि.नं. १ र २८८ को जग्गा म निवेदक निलप्रसादको दर्ताको जग्गा हो म निवेदककै नाउँमा दर्ता हुनुपर्दछ भनी भिरकोट गा.वि.स. वडा नं. ९ बस्ने दुर्गाप्रसाद काफ्ले समेत जवान १३ व्यक्तिहरुले एकै मिलानको सरजमीन व्यहोरा लेखी दिएका थिए सो सरजमीनको रोहवरमा म निवेदक समेतलाई राखी सही समेत गरेकी छु ।

५.    उल्लेखित सरजमीन सकी घर जान लाग्दा ख.कृष्णबहादुर कार्कीले रोकी प्रत्यर्थी खड्गप्रसाद, कृष्णप्रसाद र निज ख.कृष्णबहादुर कार्कीले पूर्व तयार गरेको एउटा कागजमा सही गर भन्नु भयो के व्यहोरा लेखिएको छ थाहा नपाई सही गर्दिन भनी म निवेदकले इन्कार गर्दा म एक हात नभएको अपाड्ड व्यक्तिलाई रातको समयमा धाक धम्की देखाई कि.नं. ३२ को जग्गाको दर्ता सम्बन्धी कारवाही छोडी दिन मन्जूर गरेको कागज हो तपाइले कुनै हालतमा कि.नं. ३२ को जग्गा छोडनु पर्दछ । यदि यस कागजमा सहिछाप गर्नु हुन्न भने तपाइको यो सरजमीन मुचल्का च्याती जे गर्नु पर्ने मलाई थाह छ भनी प्रत्यर्थी कृष्णप्रसाद र खड्गप्रसाद समेतको एक पक्षीय उक्सावटमा सहमति भई मलाई धाक धम्की र डर त्रास देखाई मेरो वैयक्तिक स्वतन्त्रता कुण्ठित हुने गरी मेरो इच्छा विपरीत उक्त कागजमा सही गर्न प्रत्यर्थी कृष्णबहादुरले दबाब दिएको र निज खरिदारको दवावलाई समर्थन गर्दै उक्त कागजमा सही गर्नैपर्छ भनी प्रत्यर्थी खड्गप्रसाद र कृष्णप्रसाद काफ्ले समेतले मलाई धाक धम्की दिई अनेक प्रकारको डर त्रास देखाएकोले आफूलाई थाहा जानकारी नभएको कागजको पुछारमा इच्छा विपरीत सही गर्न बाध्य हुनु पर्‍यो ।

६.    प्रत्यर्थी खरिदार कृष्णबहादुर कार्कीलाई मिति २०४७।२।२९ गते कि.नं. १ र २८८ को जग्गाको सम्बन्धमा स्थलगत सरजमीन गरी ल्याउन सम्मको काम तोकी पठाएको हो । निजले सो सरजमीन बाहेक अरु कुनै काम गर्न पाउने अधिकार निजलाई दिएको पत्रबाट देखिँदैन । यस स्थितिमा मेरो स्वतन्त्र रुपमा कारवाही चली रहेको कि.नं. ३२ को जग्गाको हकमा असर पर्ने काम काज गर्न पाउने अधिकार प्रत्यर्थीहरुलाई प्रत्याभूत भएको छैन । आफूलाई अधिकार नभएको विषयमा प्रत्यर्थी कृष्णबहादुर कार्कीले मलाई धाक धम्की र डर देखाई गैरकानुनी वैधता सर्वथा रहन सक्तैन मिति २०४७।२।३० गते सो कागज मेरो द.नं. १०३ मिति २०४७।२।११ को निवेदन बमोजिम कारवाही भइरहेको मिसिलमा संलग्न गरी सो कागजको आधारमा कथित दावी छोडेको व्यहोरा उल्लेख गरी मेरो कि.नं. ३२ को जग्गा दर्ता सम्बन्धी कारवाही रहेको मिसिल उक्त कानुनी वैधता रहित अधिकार नै नभएको व्यक्तिले इच्छा विपरीत गराएको कागजको कुनै छानबीन नै नगरी प्रत्यर्थी ३ नं. नापी टोली प्रमुखले सो इच्छा विपरीत गराएको कागजको आधारमा कि.नं. ३२ को जग्गा म निवेदकको माग बमोजिम दर्ता सम्बन्धी कारवाही गर्न नपर्ने भनी मिति २०४७।२।३० गते आदेश गरी तामेलीमा राखेको रहेछ । मलाई के कति व्यहोराको कागज गराएको रहेछ भनी प्रत्यर्थी नापी टोलीमा कागज गराएको भोलिपल्ट मिति २०४७।२।३० मा गई बुझ्दा केही जानकारी नदिई धेरै दिन आलटाल गरी मिति २०४७।३।२५ गतेका दिन मात्र उक्त तामेलीमा राख्ने गरी भएको मिति २०४६।२।३० को आदेशको नक्कल र जबरजस्ती गराएको कागजको नक्कल सारी लिई हेरे पछि मात्र प्रत्यर्थीहरुको अनाधिकृत कार्यबाट मेरो कि.नं. ३२ को जग्गा माथिको हकमा असर पर्ने कार्य भएको व्यहोरा अवगत भयो । प्रत्यर्थी ३ नं. नापी टोलीको ख.कृष्णबहादुर कार्कीले मलाई कुनै किसिमको कागज गराउन सक्ने अधिकार जग्गा नाप जाँच ऐन, २०१९ तथा नियमावलीले निर्दिष्ट गरेको छैन ।

७.    उक्त उल्लेखित प्रकरणहरुमा वर्णित तथ्य एवं कानुनी प्रावधानको आधारमा प्रत्यर्थीहरुबाट म निवेदकको वैयक्तिक स्वतन्त्रता र सम्पत्ति सम्बन्धी हकमा प्रत्यक्षतः असर पर्ने गरी जग्गा नाप जाँच ऐन, २०१९ तथा नियमावली र सर्वमान्य प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल उल्लेखित मिति २०४७।२।२९ गते गराएको कागज र सोही कागजको आधारमा नापी टोली प्रमुखले गरेको मिति २०४७।२।३० को आदेशबाट संविधानको धारा १०(१), १०(२), ११(२)(ङ) तथा १५ द्वारा प्रदत्त मौलिक हकबाट वञ्चित भएकोले सरजमीन स्थलमा गराएको उक्त मिति २०४७।२।२९ को कथित सनाखत कागज र सोही कागजको आधारमा दर्ता सम्बन्धी कारवाही तामेलीमा राख्ने २०४७।२।३० को आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी कि.नं. ३२ को जग्गा दर्ता सम्बन्धी कारवाही गरी दिनु भन्ने परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

८.    यसमा के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई प्राप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट भएका आदेश बमोजिम प्राप्त हुन आएका लिखितजवाफहरुको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

९.    म समेत भई पूर्व तयारी गरी कुनै किसिमको कागज निवेदकसंग गराएको छैन । सरजमीन भएको दिन सो स्थानमा म गएको छैन । सार्वजनिक जग्गा होला भनी गाउँलेहरुले सहमतिमा नापी टोली समक्ष निवेदन दिएको हो । त्यसपछि के कारवाही भयो थाहा छैन । निवेदककै रसिद तिरो भित्रको जग्गा हो भन्ने कुरा यकीन भएपछि कुनै चासो लिएको थिइन तसर्थ रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको एकै मिलानको कृष्णप्रसाद काफ्ले र खड्गप्रसाद काफ्लेको लिखितजवाफ ।

१०.    कि.नं. ३२ को जग्गा बुटेन भनी नापी भएकोमा निवेदक निलप्रसाद काफ्ले स्कूलको शिक्षक समेत कार्यरत हुनुभएका व्यक्ति आफैंले निवेदनबाट दावी गर्नु भई पछि पुनः स्वयं आफैं टोलीमा उपस्थित भई मिति २०४९।२।२९ गते मैले पेश गरेको प्रमाणको जग्गा कि.नं. १ र २८८ मेरो नाउँमा नापी भइसकेकोले कि.नं. ३२ को जग्गा मेरो निवेदनबाट कारवाही माग्न चाहन्न तामेलीमा राखी दिए मन्जूर छ भनी आफ्नो स्वेच्छाबाट टोलीमा दावी छाडी सक्नु भएको शिक्षक जस्तो व्यक्तिले मलाई डर धाक देखाई फिल्ड सरजमीनमा मिति २०४७।२।२९ गते राती करकाप गरी सहिछाप गराए भन्ने कुरा सरासर झुठ्ठा हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ३ नं. नापी टोली ६ नं. नापी गोश्वाराको लिखितजवाफ ।

११.    नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधानले विवादित जग्गामा मेरो पक्षको हक समाप्त हुने गरी डरधाक धम्की देखाई कागज गराउने अधिकार विपक्षीलाई छैन । साथै त्यस्तो अनाधिकार कागजको भरमा ६ नं. नापी गोश्वारा ३ नं. नापी टोलीबाट भएको निर्णय समेत त्रुटिपूर्ण हुँदा रिटनिवेदन माग बमोजिम गरी पाउँ भनी तथा प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानीले निवेदक स्वयंले विवादित जग्गाको दावी छोडी गरी दिएको सनाखत कागजका आधारमा भएको निर्णय त्रुटिपूर्ण भन्न मिल्दैन साथै निवेदकलाई करकाप पारी कुनै किसिमको कागज समेत नगराएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१२.   यसमा विवादित कि.नं. ३२ को जग्गा बुटेन जनिई नापी भएकोमा सो जग्गा तिरो भित्रको हुँदा दर्ता गरिपाउँ भनी रिट निवेदकले मिति २०४७।२।११ मा ३ नं. नापी टोली भिरकोट समक्ष निवदेन दिई कारवाही चलिरहेकोमा सो विवादित कि.नं. ३२ को सम्बन्धमा लिएको दावी छाडी सो सम्बन्धी कारवाही तामेलीमा राख्न मन्जूर छ भनी मिति २०४७।२।२९ मा सनाखत कागज गरेको र सोही सनाखत कागजको आधारमा निवेदकको ०४७।२।११ को निवेदन तामेलीमा राख्न ३ नं. नापी टोलीबाट पर्चा भएको देखिन्छ । मिति २०४७।२।२९ मा भएको कागज करकापबाट गराएको भन्ने निवेदन जिकिरको सम्बन्धमा सो कागज करकापबाट भएको हो वा होइन सबूद प्रमाण मूल्यांकन गरी निर्णय गर्नु पर्ने विषय भएको र त्यस्तो प्रमाणको मूल्यांकन गरी निर्णय गर्न रिट क्षेत्रबाट नमिल्ने हुँदा समेत प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिप्रसाद शर्मा

 

 

इति सम्वत् २०४९ साल माघ २६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु