शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६४५ - उत्प्रेषण मिश्रित परमादेश

भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १०

निर्णय नं. ४६४५    ने.का.प. २०४९ ()  अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४७ सालको रिट नं. ८५३

आदेश भएको मिति: २०४९।१०।१९।१ मा

निवेदक      : जगतप्रसाद शर्मा (गोतामे) का.न.पा. पकनाजोल

विरुद्ध

विपक्षी : गृहमन्त्रालय, श्री ५ को सरकार काठमाडौंसमेत

विषय : उत्प्रेषण मिश्रित परमादेश

(१)    निवेदक करीब ५० वर्ष उमेरको साबालक भएको फाइल संलग्न कागजातबाट देखिन्छ । तसर्थ निजलाई नाबालक छोरा मानी सौतेनी आमा उपर निज आश्रित भएको मान्न सकिने अवस्था नरहने ।

(प्रकरण नं. १५)

(२)   प्रहरी नियमावली, २०३३ को नियम १.२ को परिभाषा खण्ड (घ) भित्र नपर्ने साबालक सौतेनी छोरालाई ऐ.को नियम १०.४ बमोजिमको पारिवारिक निवृत्तिभरण प्राप्त हुन नसक्ने कानुनी व्यवस्था भइरहेको देखिँदा निवेदकलाई मृतक सौतेनी आमाको निवृत्तिभरण बापतको रकम प्राप्त हुन नसक्ने ।

(प्रकरण नं. १५)

निवेदकतर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी

आदेश

न्या.केदारनाथ उपाध्याय

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    म निवेदकका बाबु लक्ष्मीप्रसादका दुई श्रीमती मध्ये जेठी मनसादेवीबाट म समेत ३ जनाको जायजन्म भएको कान्छी आमा पवित्रादेवीबाट कुनै सन्तानको जायजन्म भएको थिएन, मसंग बसी मैले पालनपोषणा गरी आएको थिएँ । वहाँ प्रहरी सेवामा प्रहरी निरीक्षक भई काम गर्दा गर्दैका अवस्थामा २०४३।२।१७ मा कालगतीले परलोक हुनुभयो । कान्छी आमाको मृत्यु पछि निजको नाउँको सारा चल अचल सम्पत्ति सरकारी पेन्सन पट्टा निवृत्तिभरण समेतको सम्पूर्ण रकम मैले खानु भनी २०४३।७।१८ गते रजिष्ट्रेशन पास गरी अंश छोडपत्रको कागज मेरा दाजु भाइले कागज गरी दिनु भयो ।

३.    म बाहेक कुनै हकवाला नभएकोले निज कान्छी आमाले नोकरी अवधिमा संचित विदा औषधोपचारको खर्चको रकम तथा निवृत्तिभरणको रकम समेत दिलाई पाउँ भनी मैले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको थिएँ । उक्त कार्यालयबाट पनि उक्त रकमहरु मलाई दिनु भनी प्रहरी किताबखाना र सदर ट्राफिक कार्यालयमा २०४३।३।२५ मा लेखी गएको थियो । प्रहरी किताबखाना र सदर ट्राफिक कार्यालयमा बुझ्दा पकनाजोल बस्ने वासुदेव लामिछाने भन्ने व्यक्तिले निवृत्तिभरणको रकम आधा निजको छोराले पाउने पवित्रादेवीले इच्छाएको हुँदा पाउनुपर्छ भनी दावी गरेको रहेछ । महान्यायाधिवक्ताको कार्यालयमा राय मागी पठाएकोमा निवृत्तिभरणको रकम इच्छाइएको व्यक्तिले पाउने व्यवस्था नभएको राय दिइयो । म नै एकमात्र हकवाला भएको निश्चित भयो ।

४.    यसरी राय लेखी आइसकेपछि उक्त मेरो निवेदन सहितको फाइल गृहमन्त्रालयमा गएको र तुरुन्त रकम नपाएको हुनाले उक्त रकमहरु अविलम्ब पाउँ भनी मैले २०४३ साल कार्तिक महीनामा गृहमन्त्रालयमा निवेदन लेखी दिएकोमा स्व. पवित्रादेवीको संचित बिदा र उपचार खर्चको रकम निजको सौतेनी छोरा जगतप्रसादलाई भुक्तानी दिने र निवृत्तिभरणको रकमको सम्बन्धमा प्रहरी नियमावली, २०३३ को नियम १०.४ र १.२(घ) अनुसारको परिवार भित्र नपर्ने भएकोले पारिवारिक निवृत्तिभरणको रकम कसैलाई पनि दिन नमिल्ने भनी गृहमन्त्रालय प्रहरी कारागार शाखाबाट प्रहरी प्रधान कार्यालयलाई २०४३।८।२६।५ मा लेखी त्यसको बोधार्थ मलाई दिइएको थियो । उक्त पत्रानुसार संचित बिदा र उपचार खर्च बापतको रकम मैले प्राप्त गरी सकेको छु । कानुन तथा न्याय मन्त्रालयसंग राय मागी पठाइएकोमा पनि प्रहरी नियमावली, २०३३ को नियम २(घ) अनुसार परिभाषित परिवार भित्र सौतेनी छोरा उल्लेख नभएकोले मलाई निवृत्तिभरण दिन नमिल्ने भनी २०४७।४।३१ मा निर्णय भएको भनी शाखा अधिकृतबाट २०४७।५।१० गते लेखी केही दिन अगाडि मात्र मलाई जानकारी दिइयो ।

५.    प्रहरी नियमावली, २०३३ को नियम १०.४ मा कुनै प्रहरी कर्मचारी नोकरीमा छँदै मृत्यु भएमा मृतक कर्मचारीको परिवारलाई उपदान वा निवृत्तिभरण दिइने छ भनी लेखिएको छ । ऐ.नियमावलीको नियम २(घ) मा परिवार भन्नाले कर्मचारीको पति पत्नी, नावालक छोरा, अविवाहिता छोरी र आफैंले पालन पोषण गर्नु पर्ने आफ्नै आमा बाबु सौतेनी आमालाई सम्झनु पर्दछ भनी परिभाषा गरिएको छ । सौतेनी छोराले आमाको मृत्यु पछि निवृत्तिभरणको रकम पाउँछ पाउँदैन भन्ने बारे प्रहरी नियमावलीमा व्यवस्था गरिएको छैन । अन्य प्रचलित कानुनमा नलेखिएकोमा मुलुकी ऐनको भाग १ नं. ४ बमोजिम गर्नुपर्छ । मुलुकी ऐन अपुतालीको महलको २.६ नं. समेतले आमाको अपुताली छोराले पाउने व्यवस्था गरिएको छ । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) को परिभाषाबाट छोरा भन्नाले धर्मपुत्रलाई समेत जनाउने र सौतेनी छोरा पनि छोराको परिभाषा भित्र पर्ने निश्चित छ । अपुतालीको १० नं. ले आमाको अपुताली आफ्नै छोरा नभए सौतेनी छोराले पाउने निश्चित छ । अंशबण्डाको महल अनुसार पनि म बाहेक अरुले पाउन सक्ने प्रश्नै छैन ।

६.    प्रहरी नियमावलीको दफा २(घ) मा जति पनि नाता र अवस्था उल्लेख भएको छ, त्यसबाट मृतक माथि अति आश्रित र असहाय व्यक्तिहरुले पनि उक्त निवृत्तिभरणको रकम पावस भन्ने ऐनको उद्देश्य छ । प्रचलित ऐन बमोजिमका हकवालाले नपावस भन्ने अरु ऐनले बन्देज लगाएको छैन । निजामती कर्मचारी नियमावली अन्तर्गत म सरहको व्यक्तिले निवृत्तिभरण खान पाउने प्रहरी नियमावली अन्तर्गत खान नपाउने भनी भेदभाव गरिएको हुँदा संविधान प्रदत्त समानताको हक विपरीत छ । मैले निवृत्तिभरण नपाउने भएपछि उक्त रकम सरकार लाग्ने वा यसले पाउने भनी विपक्षीले भन्न लेख्न सकेको छैन । हकवाला भएकाको अपुताली श्री ५ को सरकार लाग्ने भनी भन्न अपुतालीको १७ नं. ले पनि मिल्दैन ।

७.    अतः कानुन विपरीत भेदभावपूर्ण र कलुषित निर्णय गरी नेपालको संविधानको धारा १०, ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त संवैधानिक हक हनन् गरेको हुनाले विपक्षीको अनधिकृत गैरकानुनी निर्णय बदर गरी कान्छी आमाको निवृत्तिभरण मलाई दिनु भन्ने विपक्षीको नाउँमा परमादेशको आदेश पनि जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

८.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

९.    स्वर्गीय प्रहरी निरीक्षक पवित्रादेवीको मृत्यु भएपछि निजको नाउँको संचित बिदा र उपचार खर्चको रकम निवेदक सौतेनी छोरा जगतप्रसादलाई नदिइएको र प्रहरी नियमावली, २०३३ को नियम १०.४ मा पारिवारिक निवृत्तिभरण र उपदान शीर्षक अन्तर्गतको उपनियम १ मा प्रहरी कर्मचारीको नोकरीमा छँदै अथवा आफूले निवृत्तिभरण पाउन थालेको ७ वर्ष नपुग्दै मृत्यु भएमा मृत कर्मचारीको परिवारलाई नियम १.२ बमोजिम वा १०.३ बमोजिम निवृत्तिभरण दिइनेछ भन्ने उल्लेख भएको र ऐ.नियमको नियम २(घ) मा परिवार भन्नाले प्रहरीको पति, पत्नी, नाबालक छोरा अविवाहित छोरी तथा आफैंले पालनपोषण गर्नु पर्ने आफ्नै बाबु आमा सौतेनी आमालाई सम्झनु पर्छ भन्ने भएको र सौताको छोरा परिवारको परिभाषा भित्र पर्न नआएकोले उक्त नियम अनुसार सौताको छोरा निवेदकलाई मृतकको परिवारले पाउने निवृत्तिभरण दिन नियमले मिल्ने नदेखिएकोले कानुन अनुसार मिति २०४७।४।३१ मा श्री ५ को सरकारको निर्णय भएकोले प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी गृहमन्त्रालयको लिखितजवाफ ।

१०.    स्व.म.प्र.नि.पवित्रादेवीको संचित विदा र उपचार खर्चको रकम जगतप्रसाद शर्मा गोतामेलाई भुक्तानी दिने र निवृत्तिभरणको रकमको सम्बन्धमा प्रहरी नियमावली, २०३३ को नियम १०(४) र नियम १.२(घ) अनुसार परिभाषित परिभाषामा कोही पनि निजको परिवार भित्र नपर्ने भएकोले पारिवारिक निवृत्तिभरणको रकम कसैलाई पनि दिन नमिल्ने भन्ने व्यहोराको श्री गृहमन्त्रालय प्रहरी कारागार शाखाको मिति ०४३।८।२६ को पत्रबाट लेखी आए अनुसार नै निज सम्बन्धमा यस कार्यालयबाट काम कारवाही भएको देखिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी प्रहरी प्रधान कार्यालयको लिखितजवाफ ।

११.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले मृतक सौतिनी आमा पवित्रादेवीको हक खाने निवेदक मात्र भएको कुरामा विवाद छैन । निवेदकका अन्य दाजुभाइले २०४३।७।१८ मा नै निवेदकलाई पवित्रादेवीको सम्पूर्ण हक खान स्वीकृति दिई सकेका छन् । सौतेनी आमाका कोही सन्तान नभई संग साथै एउटै परिवारमा बसी आएका निवेदकले निवृत्तिभरण बाहेकका अन्य सुविधा हासिल गरी सकेपछि निवृत्तिभरण दिइने प्रयोजनको लागि मात्र परिवार भित्र नपर्ने गरी अर्थ गर्न मिल्दैन । प्रहरी नियमावली बमोजिम परिवार भित्र पालनपोषण गर्नु पर्ने सौतेनी आमा समेत पर्ने देखिएपछि सौतेनी पट्टिका छोरा परिवार अन्तर्गत नपर्ने गरी अर्थ गरेको कानुनसंगत भएन । साथै समान स्थितिका अन्य व्यक्तिहरुलाई दिइएको सुविधा निवेदकले प्राप्त गर्न नसक्ने गरी अर्थ गर्न मिल्दैन । तसर्थ निवेदकलाई मृतक सौतेनी अमाको निवृत्तिभरण प्राप्त हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी गृहमन्त्रालय समेतका तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानीले प्रहरी नियमावलीमा सौतेनी छोरा परिवार भित्र पर्ने भनी उल्लेख छैन । त्यसमा पनि साबालक सौतेनी छोरो परिवार भित्र पर्ने अवस्था नभएको हुँदा निवेदकलाई निवृत्तिभरण प्राप्त गर्न नसक्ने देखिन्छ । कानुनी प्रावधान अनुरुप नै भए गरेको निर्णयबाट निवेदकको संवैधानिक हक हनन् भएको भन्न मिल्दैन । तसर्थ माग बमोजिम रिट जारी हुनु पर्ने होइन भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

१२.   प्रस्तुत निवेदनमा विद्वान वरिष्ठ अधिवक्ता तथा विद्वान सरकारी अधिवक्ताको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रहरी सेवामा रही प्रहरी निरीक्षक पदमा काम गर्दैको अवस्थामा २०४३।२।१७ गते कालगतिले परलोक हुनुभएकी मेरी सौतेनी आमा पवित्रादेवीको हक खाने म मात्र हकवाला हुँ भन्दै आमाको नोकरी अवधिमा संचित विदा औषधि उपचार खर्चको रकम तथा निवृत्तिभरणको रकम दिलाई पाउँ भनी प्रहरी प्रधान कार्यालयमा निवेदकले निवेदन दिएको भन्ने देखिन्छ । तत्पश्चात उपचार खर्च र संचित बिदा बापतको रकम प्राप्त गरेको र निवृत्तिभरणको रकमको सम्बन्धमा प्रहरी नियमावली, २०३३ को नियम १०.४ र १.२(घ) अनुसारको परिभाषा भित्र निजको परिवार भित्र नपर्ने भएकोले परिवारिक निवृत्तिभरण कसैलाई पनि दिन नमिल्ने भनी गृहमन्त्रालय प्रहरी किताबखानाबाट प्रहरी प्रधान कार्यालयलाई २०४३।८।२६ मा लेखिएको बोधार्थ यी निवेदकलाई प्राप्त भएको रहेछ । तदउप्रान्त पनि कारवाही हुँदा परिवार भित्र सौतेनी छोरा उल्लेख नभएको निर्णय भएको कुरा समेत मिति २०४७।५।१० मा निवेदकलाई गृहमन्त्रालयबाट जानकारी गराइएको देखिन्छ ।

१३.   यस पृष्ठभूमिमा निवेदकको मुख्य जिकिर कान्छी आमाको निवृत्तिभरण रकम म बाहेक कसैले नपाउने हुँदा मलाई समेत दिन नमिल्ने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी सो निवृत्तिभरण मलाई दिनु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने देखिन्छ । विपक्षीको लिखितजवाफमा सौताको छोरा निवेदकलाई मृतकको परिवारले पाउने निवृत्तिभरण दिन नियमले मिल्ने नदेखिएकोले कानुन अनुसार दिने निर्णय भएको हो भन्ने व्यहोरा उल्लिखित छ ।

१४.   यस सम्बन्धमा भएको कानुनी व्यवस्थालाई हेर्दा, प्रहरी नियमावली, २०३३ को नियम १.२ को परिभाषा खण्ड (घ) मा परिवार भन्नाले प्रहरी कर्मचारीको पति, पत्नी, नाबालक छोरा, अविवाहिता छोरी तथा आफैंले पालन पोषण गर्नु पर्ने आफ्नै बाबु, आमा, सौतेनी आमालाई सम्झनु पर्दछभन्ने लेखिएको पाइन्छ ।

१५.   निवेदकतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले उठाउनु भएको तर्क सौतेनी आमा र छोराको परस्परको सम्बन्धमा सौतेनी आमाले सौतेनी छोराको सम्बन्धमा जुन अधिकार प्राप्त गर्छिन् त्यस्तै अधिकार सौतेनी छोराले सौतेनी आमाको सम्बन्धमा पनि पाउने कुरा न्यायिक विवेकको लागि आकर्षक नरहेको होइन तथापी सौतेनी आमाको शेषपछि निजको निवृत्तिभरण सौतेनी पट्टिका छोराले प्राप्त गर्ने हो वा होइन भन्ने कुरा प्रस्तुत मुद्दामा निर्णायक प्रश्न रहेको देखिँदैन । वस्तुतः सौतेनी आमाको पालन पोषण सौतेनी छोराले गर्नु पर्ने गरी आश्रित रहेको वा नरहेको अथवा सौतेनी छोरा नाबालक भई परिणामतः सौतेनी आमाले पालन पोषण गर्नु पर्ने गरी निज उपर निर्भर रहे नरहेको भन्ने कुरा प्रासंगिक देखिन्छ । अर्थात् प्रस्तुत विवादको निरोपण सौतेनी छोरा नाबालक हुनु वा साबालक हुनुमा निर्भर हुन्छ । तसर्थ सौतेनी आमाको निवृत्तिभरण सौतेनी छोराले प्राप्त नै नगर्ने भन्ने प्रत्यर्थीको तर्क मान्न मिल्ने होइन । तथापी निवेदक करिब ५० वर्ष उमेरको साबालक भएको फाइल संलग्न कागजातबाट देखिन्छ । तसर्थ निजलाई नाबालक छोरा मानी सौतेनी आमा उपर निज आश्रित भएको मान्न सकिने अवस्था रहेन । सौतेनी छोरा उपर आश्रित सौतेनी आमा र सौतेनी आमाको हक दावी गर्ने नाबालक सौतेनी छोरा समान नाता सम्बन्धमा रही त्यस अवस्थाका सौतेनी आमा छोरा एउटै परिवार भए पनि साबालक छोरा परिवार भित्र पर्ने उपरोक्त नियमावलीको परिभाषाबाट देखिँदैन । परिणामतः प्रहरी नियमावली, २०३३ को नियम १०.४ बमोजिम पाउने पारिवारिक निवृत्तिभरणको हक साबालक सौतेनी छोरालाई प्राप्त हुने स्थिति नै रहेन । अर्थात् प्रहरी नियमावली, २०३३ को नियम १.२ को परिभाषा खण्ड (घ) भित्र नपर्ने साबालक सौतेनी छोरालाई ऐ.को नियम १०.४ बमोजिमको पारिवारिक निवृत्तिभरण प्राप्त हुन नसक्ने कानुनी व्यवस्था भइरहेको देखिँदा निवेदकलाई मृतक सौतेनी आमाको निवृत्तिभरण बापतको रकम प्राप्त हुन सक्ने देखिएन । अतः प्रस्तुत निवेदनमा प्रत्यर्थीहरुको काम कारवाहीबाट निवेदकको हकमा आघात परेको रहेछ भन्ने अवस्था विद्यमान नदेखिएकोले माग बमोजिमको आदेश जारी हुनु पर्ने अवस्था देखिएन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

 

इति सम्वत् २०४९ साल माघ १९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु