शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६३७ - अंगभंग

भाग: ५३ साल: २०६८ महिना: असोज अंक:

ने.का.प. २०६८,           अङ्क ६

निर्णय नं.८६३७

 

सर्वोच्च अदालत, संयुक्त इजालस

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

२०६४–CR–००१८, ०३१३

फैसला मितिः २०६८।२।२४।३

मुद्दा :अंगभंग 

 

पुनरावेदक वादीः असर्फीलाल साह तेलीको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला बारा, प्रष्टोका गा.वि.स. वडा नं. ५ बस्ने बैजनाथ साह तेली समेत

 

पुनरावेदक प्रतिवादीः जिल्ला बारा, प्रष्टोका गा.वि.स. वडा नं. ३ बस्ने श्रमु भन्ने शम्भु साह कानु समेत

विरुद्ध

प्रत्यर्थी वादीः असर्फीलाल साह तेलीको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री अजयराज उपाध्याय

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री उद्धबप्रसाद बासकोटा

मा.न्या.श्री गौरीबहादुर कार्की

 

§  फौजदारी कानून र न्यायको एउटा महत्वपूर्ण उद्देश्य भनेको कसूरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसूरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र देखिनु हुँदैन । कसूरको मात्रा र गाम्भीर्यताअनुसार दण्ड पाएको अनुभूति गरी पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने 

(प्रकरण नं.६)

§  ऐन कानूनले कैदको सजाय कसूरदारहरू बीच दामासाही हुने भनी स्पष्ट नभनेको अवस्थामा दामासाही गर्नु तर्क एवं न्यायपूर्ण देखिदैन । यदि एक व्यक्तिले गर्ने कसूर अपराधमा निजलाई हुने दण्ड सजाय नै सामूहिक रुपमा अपराध गर्ने व्यक्तिलाई तोकी दण्ड सजाय कसूरदारहरूका बीच दामासाही गरी तोक्ने हो भने एक्लैले गरेको भए हुने सजायभन्दा औसतमा कम सजाय हुन गई सजायको प्रभाव न्यून हुन जाने 

§  एक व्यक्तिले गर्ने अपराधभन्दा एकभन्दा बढी व्यक्तिहरू मिली सामूहिक तबरले गरिने अपराधमा कसूरको मात्रा र गुरुत्व बढी हुने हुँदा कसूरदारलाई दिइने कैदको सजायमा ऐनले कसूरदारहरूका बीच दामासाही हुने भनी स्पष्ट व्यवस्था गरेको अवस्थामा बाहेक कसूरदारहरूलाई कैदको सजाय गर्दा दामासाही नगरी जनही गर्नु न्यायोचित हुने 

(प्रकरण नं.८)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

पुनरावेदन प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता मनमोहन तिमिल्सिना

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन कुटपीटको महलको १, , ,

 

फैसला

न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

            यसमा विपक्षी बैजनाथ र सत्येन्द्र समेतले अबैध रुपमा भित्र्याएका काठहरू प्रहरी र सेनाबाट छापा मारिएकोमा सो बारे जानकारी हामीले नै दिएको होला भनी अनुमान गरी रिसइवी लिई राखेका रहेछन् । मिति २०५९।४।१० गते बेलुका म बजार जाँदा विपक्षीहरूले देखी योजना बनाई ६ बजेको समयमा फर्की आउँदा मलाई घेराहाली बैजनाथको आदेशले बाँसको लठ्ठी, फाइट मुक्काले म असर्फीलालको दाहिने हात २ टुक्रा अंगभंग हुने गरी, दाँत टुट्ने गरी, टाउको फुट्ने गरी तथा शरीर भरी घाउ चोट पुग्ने गरी कुटपीट गरेको र म विक्रम वीरगञ्जबाट आउने क्रममा विपक्षीले म विक्रम समेतलाई घेराहाली पछाडिबाट टाउकोको बीच जोडले बाँसको लठ्ठीले हानि गम्भीर घाउचोट पुर्‍याउनुको साथै जिउभरी कुटपीट गरी घाउ, खत पुर्‍याएकोमा घा जाँच गराई पाउँन म असर्फी कुटपीट अंगभंगको चोटले सनाखत गर्न असमर्थ हुँदा ऐनको म्यादमा नालेस गर्ने नै हुँदा अंगभंग समेतको चोटपटक गराई पाऊँ भन्ने असर्फीलाल साह तेलीको हकमा तथा आफ्नो हकमा समेत विक्रमप्रसाद साह तेलीको मिति २०५९।४।१२ को निवेदन (दरखास्त) 

            यसमा बैजनाथ र निजका छोरा सत्येन्द्रले अबैध सिसौ, सतीसाल साँखु ल्याई आफ्नो समिलमा चिरान गरी राखेको कुरा थाहापाई सेना र प्रहरीले छापा मारेकोमा म असर्फीलालले सुराक दिएको भनी सोच बनाउदै आएका र बदला लिने सोच राखी आएकोमा मिति २०५९।४।१० गते बेलुकी ६.३० बजे म कलैया बजारबाट सामान किनमेल गरी प्रष्टोका बजार हुँदै घर जान लाग्दा सुनर सहनीको गोठघर अगाडि पुग्दा लुकीछिपी बसेका विपक्षीहरू एक्कासी अगाडि आई घेरा हाली यसयसले यस यसै ठाउँमा कुटपीट गरेको भन्न नसकीने गरी सबै उत्तेजित भै लात, लपेटा, थप्पड, मुड्की समेत तथा बाँसको लठ्ठी, फाटा समेतले कठोर पूर्वक दाँत तोडी, हात भाँचि अंगभंग गराई अब मर्छ भन्ने कुरा गर्दै भागी उम्की गएपश्चात् तत्काल भतिजो विक्रम वीरगञ्जबाट आई मलाई चिन्तित अवस्थामा देखी भागी रहेका अपराधीहरूसँग सोद्धा, बुझ्दा तँ असर्फीलाललाई मद्दत गर्ने भन्दै निर्ममता पूर्वक विक्रम समेतलाई कुटपीट गरेकोमा गाउँलेको सहयोगमा कलैया आई औषधि गराउँदा विक्रमको हालत राम्रो भएको र मेरो अंगभंगको औषधोपचार त्याहाँ हुन नसक्ने कुरा चिकित्सकहरूले भनेकाले एम्बुलेन्समा हाली तत्काल उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उचार गराउँदा पनि हात भाँची अंगभंग भएकोले अंगभंग गराएकोमा सजाय गरिपाऊँ भन्ने जाहेरवालाको जाहेरी दरखास्त 

            वारदात मिति समयमा असर्फीलाललाई बैजनाथ, सत्येन्द्र, शम्भु, मुनी, नरेश, अशोक साह, गुगुल साह, मकरध्वज साह, प्रदीप साह समेत भई फाइट, बाँसको लठ्ठी समेतले कुटपीट गरेको मैले देखेको हुँ र सो कुटाइबाट निजको दाहिने हात भाँचिएको देखी तत्काल घट्नास्थल पुगेका जाहेरवालाको भतिजो विक्रम साहले प्रतिवादीहरूसँग सोधपुछ गर्दा निजलाई पनि कुटपीट गरी भागेको देखेको हुँ भनी व्यहोरा लेखाएका रामेश्वर महतो, आसमन राउत, बैजनाथ साह समेतका प्रतिवादीहरूले जाहेरवाला असर्फी साहलाई चारैतिरबाट घेराहाली जथाभावी कुटपीट गरेको देखेको हुँ सो कुटाईबाट जाहेरवालाको दाहिने हात भाँची अंगभंग भएको हो सोही स्थानमा जाहेरवालाको भतिजो विक्रम समेतलाई उल्लिखित प्रतिवादीहरूले कुटपीट गरेको भन्ने व्यहोराको राजेन्द्र खाँ, रुपलाल साह र मिति २०५९।४।१० गते बिहान ६ बजेको समयमा वीरगञ्ज गई सोही दिनको बेलुकी १९.३० बजेको समयमा घट्नास्थल आइपुग्दा मेरो काका असर्फीलाललाई प्रतिवादी बैजनाथ, सत्येन्द्र, सम्भुसाह, मुनी सहनी, नरेश साह, अशोक साह, गुगुल साह, मकरध्वज साह, प्रदीप साह समेत भई जथाभावी रुपले कुटपीट गरी निज काकाको दाहिने हात समेत भाँची सिरियस अवस्थामा देखी मैले प्रतिवादीहरूसँग यस्तो किन गरेको भनी सोधपुछ गर्दा उल्टै बैजनाथ साह समेतले मलाई कुटपीट गरेको हो भन्ने व्यहोराको विक्रम साह तेली समेतले मिति २०५९।७।५ मा प्रहरीमा गरेको कागज 

            प्रतिवादी बैजनाथ साह समेत मिली पीडित असर्फीलाल साहलाई कुटपीट गरी अंगभंग गरेको देखिँदा प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन कुटपीटको महलको १ तथा २ नं. अनुसारको कसूर अपराध देखिन आएकोले कुटपीटको ६ नं. बमोजिमको सजाय गरिपाऊँ भन्ने मागदावी भएको अभियोग दावी 

            म मिति २०५९।४।१० मा दिनरात आफ्नो गाउँघरमा नभई जितपुर भवानीपुर वडा नं. ३ मा मेरो भाइ सन्तलाल साहको नाउँदर्ताको ०६ जग्गामा पक्की घर निर्माण भैरहेको हुँदा सो घर निर्माण कार्यको लागि मिति २०५९।४।८ मा गई ऐ.११ गते घर फर्की आएको हुँदा अभियोग दावी झूठ्ठा हो । जाहेरवाला धारामा लडी निजको हात भाँचिएको कुरा सुनी थाहा पाएको अंगभंग हुने गरी कुटपीट गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मकरध्वजप्रसाद साह तेलीले शुरु अदालतमा गरेको बयान 

            अभियोग दावीअनुसार जाहेरवालालाई कुटपीट गरी अंगभंग गरेको छैन । म उपरको अभियोग दावी झूठ्ठा हो । मिति २०५९।४।१० गतेको दिनको ३ बजे २ जना मजदुरको साथ इनर्वासीरा गा.वि.स. मा भएको खेतमा धानबालीमा मल हाल्न गएको थिएँ र ७ बजेको समयमा घर फर्की आएँ भोली पल्ट जाहेरवाला धारामा लडी हात समेत भाँची चोटपटक लागेको भन्ने सुने । म निर्दोष हुँदा म उपरको अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको मुनी सहनीले शुरु अदलातमा गरेको बयान 

            वारदात मिति र समयमा म आफ्नो प्रष्टोका बजारको किराना पसलमा छु जाहेरवालाललाई अंगभंग हुने गरी कसैले कुटपीट गरेको छैन । अभियोग दावीबमोजिम कसूर नगरेको हुँदा म निर्दोष हुँदा अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने प्रतिवादी नरेशसाह तेलीले शुरु अदालतमा गरेको बयान 

            वारदात मिति, गते म गाउँघरमा नभई ससुराली इटीयाही गा.वि.स. मा थिएँ । मिति २०५९।४।९ गते साँझ ससुराली गई ५ दिन पछि आफ्नो घर फर्की आएको हुँदा जाहेरवालालाई कुटपीट गरी अंगभंग गरेको होइन । मलाई सजाय हुनुपर्ने होइन । जाहेरवाला धारामा लडी हात भाँचिएको सुनेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी शम्भुसाह कानूले अदालतमा गरेको बयान 

            अभियोग दावीअनुसारको अंगभंग समेत हुने गरी कुटपीट गरेको छैन अतः मलाई सजाय हुनुपर्ने होइन म ३।४ वर्षदेखि पेन्टिङको काममा पोखरामा नदिपुर भन्ने ठाउँमा डेरा लिई बसेको छु । यही लक्ष्मी पूजाको दिन घर आएको हुँदा मिति २०५९।१०।११ गते घर आई हाजिर हुन आएको छु । मैले अभियोग दावीअनुसारको अंगभंग हुने गरी कुटपीट नगरेको हुँदा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको गुगुल साह तेलीले शुरु अदालतमा गरेको बयान 

            मेरो चिरानबाट अबैध काठ बरामद भएको छैन । म मिति २०५९।४।१० गते बिहान खानपिन गरी टेक्टर खराब भएकोमा सो टेक्टर बनाउ भनी वीरगञ्ज मुरली चौकमा अजय मिस्त्रीसँग टेक्टर बनाउँदा बनाउँदै रात परेकोले त्यही मिस्त्रीको ग्यारेजमा बसी भोलिपल्ट टेक्टर लिई आएको हुँ । उक्त समयमा म वीरगञ्जमा हुँदा मैले अंगभंगको अभियोग गरेको छैन । मिति २०५९।४।११ गते टेक्टर बनाइ घर आउँदा जाहेरवाला धारामा लडी चोटपटक लागेको र हात भाँचिएको सुनेको हुँ विक्रम साहलाई कसरी चोटपटक लाग्यो सो थाहा भएन । म निर्दोष छु अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेतको बैजनाथ साह तेलीले शुरु अदालतमा गरेको बयान 

            अभियोग दावीबमोजिमको कसूर अपराध गरेको छैन मिति २०५९।४।१० गते बिहान खानपिन गरी म तथा बाबु बैजनाथ टेक्टर बनाउन मुरलीचौक वीरगञ्ज गई टेक्टर बनाउँदा रात परेकोले राति ग्यारेजमै बसी भोलिपल्ट टेक्टर हाँकी घर आएको हुँदा वारदात मिति, समयमा म गाउँघरमा नहुँदा मैले कसूर अपराध गरेको छैन म निर्दोष हुँदा झूठ्ठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सत्येन्द्रसाह तेलीले शुरु अदालतमा गरेको बयान 

            उक्त मिति, समयमा म गाउँघरमा नभई काठमाडौँबाट कालीमाटिमा, टंकेश्वर टोलमा डेरा घरमा हुँदा मैले जाहेरवालालाई अंगभंग हुने गरी कुटपीट गरेको छैन म उपरको अभियोग दावी झूठ्ठा हो । म पेन्टिङको काम गर्ने हुँदा २ वर्षदेखि नरेश सहनी र मुनीलाला चौधरीको डेरामा बसेको हुँ । काठमाडौँबाट १ महिना अघि घरमा आउँदा जाहेरवाला धारामा लडी हात भाँचिएको भन्ने सुनेर थाहा पाएको हुँदा जाहेरवालालाई कसैले पनि कुटपीट गरेको छैन अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी प्रदीप साह तेलीले शुरु अदालतमा गरेको बयान 

            मैले अभियोग दावीबमोजिम जाहेरवालालाई अंगभंग हुने गरी कुटपीट गरेको छैन । म उक्त मिति समयमा प्रष्टोका बजारमा भएको आफ्नो पसलमा छु । जाहेरवाला धारामा लडी चोटपटक लागी हात भाँचिएको कुरा सोही मिति र बजे पसलमा बसेको बेला ग्राहकहरूबाट सुनेको हुँ । मैले कसूर अपराध गरेको नहुँदा मलाई सजाय हुनु पर्ने होइन । निर्दोष हुँदा सफाइ पाऊँ भन्ने समेत व्यहोराको शुरु अदालतमा प्रतिवादी अशोक साह कानूले गरेको बयान 

            प्रतिवादी बैजनाथको साक्षी मुरलीसाह, अशोक साहको साक्षी जयमंगल महरा, प्रदीपको साक्षी रामचन्द्र सहनी, सरकारी गवाह पीडित विक्रमप्रसाद, जाहेरवाला असर्फीलाल साह तेली, प्रहरीमा कागज गर्ने आसमन राउत अहिर, प्रतिवादी सत्येन्द्र साहको साक्षी रामानन्द सहनी, सम्भु साहको साक्षी राजेन्द्र साह कानु, मुनी सहनीको साक्षी प्रमोदसाह कानू, नरेश साहको साक्षी शम्भुसाह तेली, मकरध्वजको साक्षी मनोजप्रसाद साह तेली, वस्तुस्थिति मुचुल्काको मानिस राजेन्द्र खाँ थारु र रुपलाल साह तेली, प्रतिवादी गुगुल साह तेलीको साक्षी, रामबाबु महतो धानुकले वकपत्र गरेको 

            यी प्रतिवादीहरूबाटै वादी दावीबमोजिमको कसूर अपराध गरेको देखिई दावीअनुसार सजायतर्फ विचार गर्दा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको मेडिकल वार्डले परीक्षण गरी राय प्रतिवेदनबाट निजको दायाँहातको भाँचिएको हड्डी हालसम्म राम्रोसँग जोडी नसकिएको देखिएकाले हालको अवस्थामा काम गर्न असमर्थ देखिन्छ भन्ने उल्लेख भएको देखिँदा कुटपीटको ६ नं. बमोजिम उक्त चिकित्सकको राय प्रतिवेदन समेतको आधार प्रमाणबाट वादीको अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई जनही २(दुई) वर्ष कैद हुने ठहराई भएको शुरु बारा जिल्ला अदालतको मिति २०६२।३।१ को फैसला 

            उक्त फैसलामा मेरो चित्त बुझेन । कुटपीटको २ नं. को कानूनी व्यवस्थालाई हेर्दा कुटपीट गर्दा मेरुदण्ड, डंडाल्नु, हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अंगभंग हुने ठहर्छ भनी उल्लेख भएको पाइन्छ । जाहेरवालाको दाहिने हात वा हातको जोर्नी भाँचिएको नभई पाखुराको हात फ्याक्चर मात्र भएको भन्ने घा जाँच केश फाराम तथा अड्डाको फैसलामा समेत स्वीकार भएबाट कुटपीटको परिभाषा भित्रनै नपर्ने कुराका सन्दर्भमा कुटपीटको २ नं. अनुसार म समेतले कसूर गरेको ठहर्‍याई ऐ. ६ नं. बमोजिम २ वर्ष कैद हुने ठहर्ने गरी भएको उक्त फैसला कानूनसंगत नहुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाउने ठहराई सुपथ न्याय इन्साफ पाऊँ भन्ने पुनरावेदक प्रदीप साह, श्रमु भन्ने शम्भुसाह कानू, बैजनाथ साह, सत्येन्द्रप्रसाद साह, नरेश साह तेली, अशोक साह तेली, गुगुल साह तेली, मकरध्वज साह तेली, मुनीसहनी गोढी समेतको एकै मिलानको अलगअलग पुनरावेदन जिकीर 

            जाहेरी तथा देख्ने भनिएका साक्षीको व्यहोरा समेतबाट प्रतिवादीमध्ये सबैका हातमा लाठी नरहेकोमा पनि सबै प्रतिवादीहरूलाई कुटपीटको ६ नं. बमोजिम जनही २ वर्ष कैद गर्ने गरेको शुरु फैसला फरक पर्न सक्ने देखिँदा छलफल निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पेशीको सूचना पुनरावेदन सरकारी वकिल कार्यालय हेटौंडालाई दिई नियमानुसार पेश गर्नु भन्ने मिति २०६३।२।२५ को आदेश 

            वादी नेपाल सरकारलाई शुरुले पुनरावेदन म्याद दिएको नदेखिएकोले फैसलाको नक्कलसाथ पुनरावेदन सरकारी वकिल कार्यालय हेटौंडालाई अ.वं. १९३ नं. प्रयोजनार्थको लागि जानकारी दिई पुनरावेदन परे वा गुजारे पछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६३।३।२२ को आदेश 

            प्रस्तुत मुद्दामा मुलुकी ऐन कुटपीटको महलको २ नं. मा भएको कानूनी व्यवस्था मुताविक कुटपीट अंगभंगको वारदात गरेको रहेछ भन्ने प्रमाणित भएको छ । पीडित जाहेरवालाको हात भाँचिएको, हड्डी हालसम्म राम्रोसँग जोडी नसकिएको देखिएकोले हालको अवस्थामा काम गर्न असमर्थ देखिन्छ भनी नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको पत्रबाट समेत देखिँदा उक्त हात हालसम्म निको नभई हातले काम दिन नसक्ने रहेछ भन्ने मान्नु पर्ने हुन्छ । कुटपीटको महलको ६ नं. मा भएको कानूनी व्यवस्थाअनुसार प्रतिवादीहरूलाई जनही ४।४ वर्ष कैद र रू.२५००।जरीवाना गरिनु पर्नेमा सोबमोजिम नगरी आत्मपरक तवरबाट निज प्रतिवादीहरूलाई जनही २।२ वर्ष कैद सजाय गरिएको फैसला त्रुटिपूर्ण देखिँदा सो फैसला बदर गरी उक्त कानूनी व्यवस्थाबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन जिकीर 

            अस्पतालको पछिल्लो प्रतिवेदनअनुसार जाहेरवालाको फ्याक्चर भएको हातपूर्ण रुपमा बेकम्मा भई काम नलाग्ने भन्ने नदेखिई राम्रोसँग जोडी नसकिई हालको अवस्थामा काम गर्न असमर्थ भन्ने देखिएकोले महादेव यादवको मुद्दामा समेत प्रतिपादित सिद्धान्तअनुरूप कुटपीटको महलको २ र ६ नं. को अंगभंगको कसूर कायम गर्न मिल्ने देखिएन । अतः यस्तो अवस्थामा अंभगंगको खत बाहेकको कुटपीटको महलको ७ नं. बमोजिमको कसूर कायम गरी दुई हजार जरीवाना र ६ महिना कैद गर्नुपर्नेमा ऐ. महलको ६ नं.बमोजिम २ वर्ष कैद गरेको बारा जिल्ला अदालतको फैसला नमिलेकोले सो हदसम्म केही उल्टी भै प्रतिवादीहरू सबैलाई दामासाहीले कैद र जरीवाना समेत हुने ठहर्छ भनी पनुरावेदन अदालत हेटौंडाबाट मिति २०६३।७।३०।४ मा भएको फैसला 

            पीडित जाहेरवालाको दायाँ हातको कुहिनाभन्दामाथि Humerus भन्ने हड्डी प्रतिवादीहरूको कुटपीटबाट भाँचिएर अंगभंग भई हालसम्म बेकम्मा पारिदिएको तथ्य नारायणी उपक्षेत्रीय अस्पताल पर्साको जाँच प्रतिवेदनबाट देखिई रहेको अवस्थामा समेत कुटपीटको महलको २ नं., ६ नं. को कानूनी व्यवस्था एवं सम्मानीत अदालतबाट प्रतिपादित नजीर समेतको प्रतिकूल हुने गरी प्रतिवादीहरूलाई कुटपीटको महलको ७ नं. प्रयोग गरी कम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला त्यस हदसम्म बदर गरी यी सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन 

            जाहेरवालाको दाहिने हात भाँचिएको घा जाँच फाराम र एक्सरे रिपोर्टबाट देखिएता पनि हाम्रो कारणबाट भएको भन्ने कुरा मिसिल सामेल प्रमाणबाट प्रमाणित हुन सकेको छैन । पुनरावेदन अदालत हेटौंडाको फैसलाले कुटपीटको महलको ७ नं. अनुसार हामी पुनरावेदकहरूलाई सजाय गरेबाट वारदात कुटपीटको महलको २ नं. अनुसारको नभएको स्पष्ट देखिएको अवस्थामा यो मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ अन्तर्गतको नभएकोले दफा २७ को कानूनी व्यवस्था अनुसार सरोकारवालाले सकार गरी साधारण कुटपीटतर्फ कारवाही चलाउनु पर्ने देखिएकोले पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी हामीलाई सफाइ दिइयोस भनी प्रतिवादीहरूको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र 

            यसमा जाहेरवाला असर्फीलाल यादवको दाहिने हात पूर्ण रुपमा काम लाग्ने भन्ने डाक्टरको Medical Report बाट नदेखिएको अवस्थामा कुटपीटको ६ नं.को कसूर कायम नगरी कुटपीटको ७ नं. कसूर कायम गरेको तथा उक्त नम्बरअनुसार कसूर सजाय भएका प्रतिवादीहरूलाई सजाय गर्दा पनि दामासाहीले गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला फरक पर्न सक्ने देखिँदा पुनरावेदन नगर्ने प्रतिवादी प्रदीपलाललाई छलफलको लागि अ.वं. २०२ नं. बमोजिम झिकाउनु र यसै साथ पेश भएको यसै लगाउको फौ.पु.नं. ०३१३ मा प्रतिवादी प्रदीपलाल बाहेक अन्य प्रतिवादीको पुनरावेदन परेको देखिँदा सो पुनरावेदनको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गरी पेश गर्नु भनी यस अदालतबाट मिति २०६७।८।५ मा भएको आदेश 

            नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठीले पीडित जाहेरवाला असर्फीलाल साहको मिति २०६१।५।३० को एक्सरे र दायाँ हातको परीक्षण गरी हेर्दा निजको दायाँ हातको भाँचिएको हड्डी राम्रोसँग जोडी नसकिएको देखिएकोले हालको अवस्थामा काम गर्न असमर्थ देखिन्छ भनी नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति वीरगञ्जको मेडिकल वोर्डले राय प्रतिवेदन दिइ रहेको अवस्थामा मिसिल संलग्न प्रमाणको मूल्याङ्कन नगरी कुटपीटको महलको ७ नं. बमोजिम प्रतिवादीहरूलाई कम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी र पुनरावेदन प्रतिवादीहरूका तर्फबाट विद्वान अधिवक्ता मनमोहन तिमिल्सिनाले पीडितलाई यी पुनरावेदक प्रतिवादीहरूले कुटपीट गरी हात भाँची अंगभंग गरेको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट प्रमाणित हुन नसकेको एकातर्फ छ भने अर्कोतर्फ कुटपीटको महलको ७ नं. को कसूर मानी सोहीबमोजिम पुनरावेदक प्रतिवादीहरूलाई सजाय गरेपछि सो वारदात सरकारी मुद्दा सम्बन्धी ऐन, २०४८ को अनूसूची १ अन्तर्गतको नहुँदा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी प्रतिवादीहरूले सफाइ पाउन पर्छ भनी बहस गर्नुभयो 

            माथि उल्लिखित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ? वादी एवं प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

            २. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू बैजनाथ साह समेत मिली पीडित जाहेरवाला असर्फीलाल साहलाई कुटपीट गरी अंगभंग गरेको देखिँदा प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन कुटपीटको महलको १ तथा २ नं. अनुसारको कसूर अपराध हुँदा प्रतिवादीहरूलाई ऐ.को ६ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी देखिन्छ । प्रतिवादीहरू सबैजना मौकामा पक्राउ वा फेला नपरेका र निजहरू अदालतमा उपस्थित भई बयान गर्दा आरोपित कसूरमा पूर्णत इन्कार रहेको पाइन्छ । शुरु वारा जिल्ला अदालतले प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम जनही दुई वर्ष कैद हुने गरी गरेको फैसला केही उल्टी गरी प्रतिवादीहरूले कुटपीटको महलको ७ नं. बमोजिमको कसूर गरेको भनी निजहरूलाई दामासाहीले दुई हजार जरीवाना र ६ महिना कैद गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको देखिन्छ । सो उपर वादी एवं प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको अवस्था छ 

            ३. प्रतिवादीहरू सबै जना मौकामा पक्राउ नपरेको अवस्था छ । निजहरूले अदालतमा उपस्थित भई आरोपित कसूरमा इन्कार रही बयान गरेका भएपनि पीडित जाहेवाला असर्फीलाल साह तेलीले जाहेरी दिँदा बैजनाथ साह तेलीको समीलमा लुकाई राखेका अवैध काठहरू सुरक्षाकर्मीले बरामद गरेको र सो कार्यमा मैले पोल उजूर गरेको भनी बैजनाथ साह तेली समेतका नौ जना प्रतिवादीहरूले सोही रिसइवीले मलाई लात, मुक्का, बाँसको लाठी समेतले कुटपीट गरी मेरो दाहिने हातको हाड समेत भाँची अंगभंग गराएको भनी किटानी जाहेरी दिएको देखिन्छ । निजले अदालतसमक्ष उपस्थित भई वकपत्र गर्दा समेत मिति २०५९।४।१० गते साँझ ६ बजेको समयमा कलैया बजारबाट प्रष्टोका बजार तीर जाँदै गर्दा लुकीछिपी बसेका बैजनाथ साह तेली समेतका प्रतिवादीहरूले आफूलाई कुटपीट गरेको भनी मौकाको जाहेरी व्यहोरालाई समर्थन गर्दै आफ्नो भनाई लेखाई दिएको पाइन्छ । त्यसैगरी मौकामा कागज गर्ने र घट्नाबाट पीडित भनिएका प्रत्यक्षदर्शी साक्षी विक्रमप्रसाद साह तेलीले पनि यीनै प्रतिवादीहरूले नै जाहेरवाला पीडित असर्फीलाललाई कुटपीट गरेका हुन भनी अदालतमा वकपत्र गरी दिएको अवस्था छ 

            ४. पीडित असर्फीलालको दायाँ हातको ह्युमरस हड्डी भाँचिएको (Fracture of Right Humerus bone) तथ्य निजको घा जाँच केश फारामबाट देखिएको छ । त्यसै गरी निज असर्फीलाल साहको मिति २०६१।५।३० को एक्सरे र दायाँ हातको परीक्षण गरी हेर्दा निजको दायाँ हातको भाँचिएको हड्डी (Right Humerus) हालसम्म राम्रोसँग जोडी नसकिएको देखिएकोले हालको अवस्थामा काम गर्न असमर्थ देखिन्छ र भविष्यमा अप्रेशन (उपचार) भएको अवस्थामा काम गर्न सक्ने पनि देखिन्छ भनी नारयणी उपक्षेत्रीय अस्पताल विकास समितिको मिति २०६१।६।४ च.नं. ३५६ को पत्रद्वारा लेखी आएको समेत पाइन्छ । यसबाट चिकित्सकहरूले जाँच गरेको अवस्थामा पीडितको भाँचिएको भनिएको हातले काम गर्न असमर्थ रहेको भन्ने देखिएको र अर्कोतर्फ भविष्यमा उपचार भएको अवस्थामा काम गर्नसक्ने भनी उक्त अस्पतालका अर्थोपेडिक सर्जनहरू रहनु भएको मेडिकल वोर्डले राय दिएको पनि देखिन्छ । यस्तो अवस्थामा चिकिल्सकहरूले जाँच गर्दाको अवस्थामा पीडितको भाँचिएको हात राम्रोसँग जोडी नसकेकोले त्यस समयसम्म मिति २०६१।६।४) निजको हात काम गर्न असमर्थ भए पनि हालको अवस्थामा निजको सो हातले काम गर्न असमर्थ रहेको भन्ने वस्तुनिष्ठ, ठोस एवं निश्चयात्मक प्रमाण पेश गरी वादी पक्षले प्रमाणित गराउन सकेको छैन 

            ५. मिसिल संलग्न उल्लिखित प्रमाणहरूबाट प्रतिवादीहरूले कुटपीट गरी पीडित जाहेरवालाको दाहिने हात भाँची (Right Humerus) मुलुकी ऐन कुटपीटको २ नं.अनुसारको कसूर गरेको निर्विवाद रुपमा पुष्टि हुन आएको र निजको सो हात आजको मितिसम्म पनि काम गर्न असमर्थ भएको भन्ने तथ्य प्रमाणित हुन नआएको अवस्थामा कुटपीटको महलको ६ नं. अनुसार प्रतिवादीहरूलाई २ वर्ष कैदको सजाय गर्नु पर्नेमा ऐ. को २ र ६ नं. को अंगभंगको कसूर कायम गर्न नमिल्ने भनी ऐ.को ७ नं. बमोजिमको कसूर कायम गरी प्रतिवादीहरूलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको देखिएन 

६. अब दुई वा सो भन्दा बढी व्यक्तिहरू मिली कुटपीट गरेको अवस्थामा कुटपीटको महलको ६ नं. अनुसार प्रतिवादीहरूलाई सजाय गर्दा जनही हुने हो वा दामासाहीले सजाय गर्नुपर्ने हो भनी हेर्दा फौजदारी कानून र न्यायको एउटा महत्वपूर्ण उद्देश्य भनेको कसूरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसूरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र देखिनु हुँदैन । कसूरको मात्रा र गाम्भीर्यताअनुसार निजले दण्ड पाएको अनुभूति गरी निजमा पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने हुन्छ । यसबाट कसूरदारले पुनः त्यस्तै कसूर गर्ने आँट वा साहस नगरोस् र समाजका अन्य सदस्यहरूमा पनि कसूरदारले पाएको सजायबाट त्यस्तो कसूर गर्न नहुने रहेछ भनी भयको स्थिति सिर्जना होस् 

७. निश्चय नै एक जना व्यक्तिले गर्ने अपराधभन्दा सामूहिक रुपमा गठजोड एवं षडयन्त्र गरी एकभन्दा बढी व्यक्तिहरूले संगठित रुपमा गर्ने अपराध घातक र गम्भीर हुन्छ र यसले समाजमा पार्ने प्रभाव र असर पनि अधिक हुन्छ । तसर्थ कुनै कसूर एक जना व्यक्तिले गर्दा निजलाई जुन दण्ड सजाय दिइन्छ सोही कसूर एकभन्दा बढी व्यक्तिहरू मिलेर सामूहिक रुपमा गर्दछन भने कसूरको मात्रा र गुरुत्व झन बढेर जाने हुन्छ । त्यसैले पछिल्लो समयमा निर्मित कानूनहरूले दण्ड निर्धारण गर्दा सामूहिक किसिमले गर्ने अपराधमा समूह तर्फ थप सजायको व्यवस्था समेत गरेको पाइन्छ 

८. यस्तो स्थितिमा ऐन कानूनले कैदको सजाय कसूरदारहरू बीच दामासाही हुने भनी स्पष्ट नभनेको अवस्थामा दामासाही गर्नु तर्क एवं न्यायपूर्ण देखिदैन । यदि एक व्यक्तिले गर्ने कसूर अपराधमा निजलाई हुने दण्ड सजाय नै सामूहिक रुपमा अपराध गर्ने व्यक्तिलाई तोकी दण्ड सजाय कसूरदारहरूका बीच दामासाही गरी तोक्ने हो भने एक्लैले गरेको भए हुने सजायभन्दा औसतमा कम सजाय हुन गई सजायको प्रभाव न्यून हुन जाने अवस्था रहन्छ । त्यसबाट फौजदारी कानून र न्यायको उद्देश्य नै पराजीत हुन पुग्छ । यसै सन्दर्भमा यस अदालतको पूर्ण इजलासबाट पुनरावेदक/वादी नेपाल सरकार प्रत्यर्थी/प्रतिवादी दीपक भट्टराई समेत भएको संवत् २०६२ सालको फौ.पु.इ.नं. ३१ को अवैध रुपमा लकडी ओसारपसार मुद्दामा (फैसला मिति २०६४।५।२०)फौजदारी मुद्दामा कसूरदारलाई सजाय गर्नुको उद्देश्य अपराधको रोकथाम र नियन्त्रण गर्नु पनि हो ........ कसूर गरेबापत ऐनको स्पष्ट व्यवस्था बेगर कसूरदारलाई कैद सजाय दामासाही गर्ने हो भने फौजदारी न्यायको उद्देश्य पराजीत हुन पुग्दछ । फौजदारी कानूनको उद्देश्य कुनै पनि तरहले कसूरदारलाई दण्ड दिई अपराध नियन्त्रण वा रोकथाम गर्नु नै हो । एकभन्दा बढी कसूरदार भएमा कैद सजाय दामासाही गरी संगठित अपराधलाई प्रश्रय दिनु फौजदारी न्यायको मान्यता विपरीत हुन जान्छभनी नजीर सिद्धान्त प्रतिपादन भएको पाइन्छ । अतएव एक व्यक्तिले गर्ने अपराधभन्दा एकभन्दा बढी व्यक्तिहरू मिली सामूहिक तबरले गरिने अपराधमा कसूरको मात्रा र गुरुत्व बढी हुने हुँदा कसूरदारलाई दिइने कैदको सजायमा ऐनले कसूरदारहरूका बीच दामासाही हुने भनी स्पष्ट व्यवस्था गरेको अवस्थामा बाहेक कसूरदारहरूलाई कैदको सजाय गर्दा दामासाही नगरी जनही गर्नु न्यायोचित हुने देखिन्छ 

            ९. अतः माथि गरिएको विवेचनाबाट प्रतिवादीहरूले पीडित जाहेरवाला असर्फीलाल साह तेलीलाई कुटपीट गरी निजको दायाँ हात (Right Humerus) भाँची मुलुकी ऐन, कुटपीटको महलको २ नं. अन्तर्गतको कसूर गरेको निर्विवाद रुपमा पुष्टि भएको र चिकित्सकहरूले जाँच गर्दाको अवस्थामा पीडितको भाँचिएको हातको हड्डी अझै राम्रोसँग जोडीई नसकेकोले हालको अवस्थामा (मिति २०६१।६।४) काम गर्न असमर्थ भएको भनी प्रतिवेदन दिएको भएपनि आजको मितिसम्म काम गर्न असमर्थ भन्ने प्रमाणित हुन नआएको र चिकित्सकहरूले सोही प्रतिवेदनमा उपचार भएमा भविष्यमा सो खत निको भई काम लाग्न सक्ने राय दिएको देखिएको हुँदा ऐ कुटपीटको महलको ६ नं. बमोजिम प्रतिवादीहरू बैजनाथ साह तेली, सत्येन्द्र साह तेली, श्रमु भन्ने शम्भु साह कानू, मुनी सहनी गोढी, नरेश साह तेली, अशोक साह कानू, गुगुल साह तेली, मकरध्वज साह तेली र प्रदीप साह तेलीलाई जनही दुई वर्ष कैदको सजाय हुने ठहर्छ । सो नगरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्यस हदसम्म नमिलेको हुँदा केही उल्टी हुन्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नू 

 

 

तपसील

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी भै प्रतिवादीहरूलाई कुटपीटको महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद सजाय हुने ठहरेकाले देहायका प्रतिवादीहरूका नाममा देहायबमोजिमको लगत कसी पहिले थुनामा बसेको अवधि कटाई बाँकी कैद असूलउपर गर्नु भनी शुरु वारा जिल्ला अदालतमा लेखी पठाउनू ............ १

प्रतिवादी बैजनाथ साह तेली के कैद वर्ष दुई ..... २।०।०

प्रतिवादी सत्येन्द्र साह तेली के कैद वर्ष दुई .... २।०।०

प्रतिवादी श्रमु भन्ने शम्भु साह कानु के कैद वर्ष दुई .. २।०।०

प्रतिवादी मुनी सहनी गोढी के कैद वर्ष दुई ..... २।०।०

प्रतिवादी नरेश साह तेली के कैद वर्ष दुई ....... २।०।०

प्रतिवादी अशोक साह कानु के कैद वर्ष दुई .........२।०।०

प्रतिवादी गुगुल साह तेली के कैद वर्ष दुई .......२।०।०

प्रतिवादी मकरध्वज साह तेली के कैद वर्ष दुई .....२।०।०

प्रतिवादी प्रदीप साह तेली के कैद वर्ष दुई ......२।०।०

पुनरावेदक प्रतिवादीहरूलाई लागेको कैद असूलउपर भएपछि यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी एवं जेथा जमानी फिर्ता एवं फुकुवा गरी दिनु भनी सम्बन्धित अदालतमा लेखी पठाउनू ....१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ....१

 

उक्त रायमा सहमत छु 

 

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०६८ साल जेठ २४ गते रोज ३ शुभम् .

इजलास अधिकृतःपुष्पराज थपलिया

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु