शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६५० - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११

निर्णय नं. ४६५०    ने.का.प. २०४९ ()  अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

२०४६ सालको फौ.पु.नं. ३६६

फैसला भएको मिति : २०४९।११।६।४ मा

पुनरावेदक/वादी: ढुल्की जैसिनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी: जि.दैलेख बडलम्जी गा.पं. वा.नं. ७ बस्ने काले कामीसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)    प्रहरी हिरासतमा गराइएको केवल बयानको आधारमा सजायँ गर्न नमिल्ने ।

(प्रकरण नं. ३५)

(२)   तत्काल उठेको रिस थाम्न नसकी लाठीले हिर्काएबाट मृत्यु भएको देखिंदा प्र.लाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद गर्ने गरी गरेको क्षे.अ. को इन्साफ मनासिब देखिने ।

(प्रकरण नं. ३५)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान का.मु. उप सरकारी न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक

प्रतिवादी/विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको २०४६।७।२३ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ ।

२.    मेरो बाबु प्रसाराम जैसीको लिमुडखाडा भन्ने ठाउँमा गाई भैंसीको गोठ भएको र २०४२ साल मार्ग २२ गतेको दिन गाई भैंसी चराई बेलुका गोठमा बाँधी आएकी थिएँ, ऐ.२३ गतेको विहान अं.९ बजेको समयमा गाई भैंसी फुकाउन गोठमा जाँदा भैंसीको पाडोलाई बाँधेको दाम्लो फुकाई अं. २५ वर्षको नचिनेको लोग्ने मानिस घाँटीमा दाम्लो लगाई झुण्डी मरेकोले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने ढुल्की जैसीनीको जाहेरी दर्खास्त ।

३.    २०४२।८।२२ गतेको दिन मेरै गाउँमा लालमणी, चन्द्रमणी, रत्ने, नरे, सार्की कामी, छोटेलाल, डल्लो, नाउटो, मोते, लालसिंगे कामी र कालोकामी समेतले मेरो लोग्ने समेतलाई चोर भनी दिनभर बाँधी मेरै घरमा राखेको र निज लोग्ने सेते सो दिन साँझ भाग्दाका अवस्थामा निजहरुले लखेटी लगेका हुन्, मेरो लोग्ने सेतेलाई कर्तव्य गरी कालो कामी समेतका ११ जनाले मारेकोमा विश्वास लाग्छ भनी लोग्ने सेते कामीको लास समेत पदम कमेनीले सनाखत गरी दिएको कागज ।

४.    २०४२।८।२५ गते भएको लाश प्रकृति मुचुल्का ।

५.    २०४२।८।२२ गतेका दिन चोर सेते पक्राउ भएको सुनी म पनि गएको थिएँ चोरीको विषयमा छलफल चलिरहेको थियो सो दिन साँझ सेते भागेपछि म समेत समात्न गएको थिएँ, को कसले कुटपिट गरे ठेगान भएन मैले कुटपिट गरिन सेते मरेपछि लाश लगी गोठभित्र झुण्ड्याएका हुन् भन्ने समेत व्यहोराको नरेकामी, लालसिंगे कामी समेतले प्रहरीमा बेग्ला बेग्लै गरेको बयान कागज ।

६.    २०४२।८।२२ गतेका दिन धान चोरीमा सेते पक्राउ भएको सुनी म पनि गएको थिएँ । सेतेलाई डोरीले बाँधेका थिए । चोरी सम्बन्धमा छलफल भयो, सेते साँझमा भागेपछि मसमेत पिछा गर्दै गएको थिएँ, खोला माथि सालघारीमा फेला पारी सबैले कुटपिट गर्दा मैले पनि एक थप्पड हानेको हुँ भन्ने सार्की कामी, चोर सेतेलाई खोला माथि फेलापारी सबैले कुटपिट गर्दा मरेको हो, मैले पनि १, २ थप्पड हानेको हुँ, मेरो हातबाट सेते मरेको होइन कालोकामी समेतको हातबाट मरेको हो भन्ने नाउटो कामीले प्रहरीमा गरेको बेग्लाबेग्लै बयान कागज ।

७.    २०४२।८।२२ गतेका दिन धान चोरीमा सेते पक्राउभएको सुनी म पनि गएको थिएँ । सेतेलाई डोरीले बाँधेका थिए, चोरी सम्बन्धमा छलफल भयो, सेते साँझ भागेपछि मसमेत पिछा गर्दै गएको थिएँ खोलामाथि सल्लाघारीमा फेला पारी सबैले कुटपिट गर्दा मैले पनि एक थप्पड हानेको हुँ मेरो हातबाट सेते मरेको होइन कालोकामी समेतको हातबाट मरेको हो भन्ने समेत छोटेलाल कामीले प्रहरीमा गरेको बयान कागज ।

८.    २०४२।८।२२ गतेका दिन धान चोरीमा सेते पक्राउ परी डोरीले बाँधेको थिएँ, सेतेलाई मैले हाने मारेको होइन, प्रधानपञ्चलाई भेटी घरतर्फ आएको हुँ भन्ने व्यहोराको डल्लो कामी, चन्द्रमणी सुनार, रत्ने कामी समेत जना ३ ले प्रहरीमा गरेको बेग्ला बेग्लै बयान कागज ।

९.    कालो कामी समेत जना ११ ले सेते भाग्दाको अवस्थामा लखेटेका थिए यिनैको कर्तव्यबाट सेते विटालुको मृत्यु भएको शंका लाग्छ भनी मनबहादुर समेत जना १० र अन्य सरजमीनका मानिसले को कसको कर्तव्यबाट सेतेको मृत्यु भएको हो भन्न सक्दैनौ भनी लेखी लेखाई दिएको सरजमीन मुचुल्का ।

१०.    २०४२।८।२२ गतेको साँझ ७.३० बजेको समयमा सेते भागेपछि पिछा गर्दै जाँदा साल सल्लाको डाँडा भएको सालको रुखनिर फेला पारी कालो कामी समेतका ११ जनाले लात मुक्का लठ्ठीले कुटपिट गर्दा सोही ठाउँमा सेतेको मृत्यु भएको संकलित सबूद प्रमाणबाट सिद्ध हुन आएकोले धान मकै चोरी गरेको कारणबाट कालोकामी समेत ११ जनाले रिसको आवेसमा कुटपिट गरेको प्रमाणित हुँदा कालो कामी समेत जना ११ लाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

११.    २०४२ साल मंसीर २० गते म कालापार अलमुडाबाट घरमा आएको हुँ कालो कामीको घरमा चोरी भएको सुनेको थिएँ, सेते विटालुलाई म समेत भई मारेको होइन निजलाई मार्ने को को हुन मलाई थाहा छैन भन्ने सार्की कामीले अदालतमा गरेको बयान ।

१२.   सेते घर्तीको र मेरो पहिला पनि रिसइवी हुनका साथै २०४२।८।२२ गते धान पराल चोरी गरेकोले निजलाई पक्राउ गरी प्रधानपञ्च तथा प्रहरीलाई बोलाई छलफल गर्दा सेते भागेपछि दौडदै जाँदा नमालुम कसको गोठ नजिक पुगेपछि लौरीले हानेको मारेको हुँ मारेपछि गोठभित्र लगी झुण्ड्याई दिएको हुँ सेते विटालुलाई मार्नमा म बाहेक अरु कोही मानिस सहमति छैन भन्ने प्रतिवादी कालो कामीले अदालतमा गरेको बयान ।

१३.   २०४२।८।२२ गतेका दिन करे कामीको छोराको विवाहमा ल्याएको भाडावर्तन बुझाउन जाँदा सेतेको घर अगाडि प्रधानपंच समेतका मानिस जम्मा भएको र त्यहाँ गई बुझ्दा सेते बिटालु मरेको भन्ने थाहा पाएको हुँ सेते विटालुलाई मैले समेत कर्तव्य गरी मारेको हैन भन्ने छोटेलाल कामीले अदालतमा गरेको बयान ।

१४.   २०४२।८।२२ गते दिनको अं. ४ बजे म बडलम्जी गा.पं. वा.नं. ७ बस्ने मास्टर टिकाराम उपाध्यायले मेरो धान ल्याइदिनु भनेकोले मास्टरको धान लिन ज्यामिरखाडा भन्ने खेतमा गई धान लिई मास्टरको घरमा फाली सो बेलुकी अं. ७ बजेतिर म मेरो घरमा आई पुगी म मेरै घरमा सुतेको हुँ, सेते विटालुलाई कसले मारे थाहा छैन भन्ने डल्लो कामीले अदालतमा गरेको बयान ।

१५.   २०४२।८।२२ गतेको दिन सेते विटालुले कालो कामीको घरमा पराल चोरी गरेछ सोही कारणले निजको घरमा सेतेलाई पक्राउ गरेको थाहापाएको थिएँ, प्रधानपंचसमेतका मानिस जम्मा भई निजलाई पछि के कसो गरे मलाई थाहा भएन ऐ.२४ गते सेते विटालु मरेको कुरा सुनेको हुँ भन्नेसमेत लालमनी कामीले अदालतमा गरेको बयान ।

१६.    २०४२।८।२२ गतेको दिन कालो कामीले धान चोरी गरी चोर फेला परेको भनी हल्ला गर्दा मेरो पनि धान चोरी भएकोले म पनि सेते विटालुको घरमा गएको थिएँ सो समयमा प्रधानपंच समेतका मानिस जम्मा भई छलफल गरी रहेका थिए, सेते विटालुलाई मैले कर्तव्य गरी मारेको होइन भन्ने चन्द्रमणीले अदालतमा गरेको बयान ।

१७.   २०४२।८।२२ गतेको दिन रात म आफ्नो घरमा छु, कालो कामीको घरबाट धान चोरी गर्ने निज सेते विटालुलाई पक्राउ गरी चोर पक्रियो भन्ने कुराको हल्ला हुँदा म पनि सेते विटालुको घरमा गएको थिएँ, पछि म सो रात करे सुनारको छोराको विवाह हुँदा उही विवाहमा बसेको छु मैले सेते विटालुलाई कर्तव्य गरी मारेको होइन कसले मारे थाहा छैन भन्ने नाउटो कामीले अदालतमा गरेको बयान ।

१८.   २०४२।८।२२ गतेको दिन रात म आफ्नै घरमा बसेको छु, मैले सेते विटालुलाई मारेको होइन, को कसको कर्तव्यबाट सेते विटालुको मृत्यु भएको हो मलाई थाहा छैन भन्ने समेत नरे कामीको अदालतमा गरेको बयान ।

१९.    मर्ने सेते विटालुलाई कसले कर्तव्य गरी मारे वा के भएर मर्न गएको हो मलाई थाहा छैन भन्ने समेत रत्ने कामीले अदालतमा गरेको बयान ।

२०.   २०४२।८।२२ गतेका दिन लाटुपाध्याको आतर भन्ने खेतमा दाई हाल्ने काममा गएको थिएँ, सेते बिटालु के भई मरेको हो मलाई थाहा छैन । कुटपिटको डरले प्रहरीमा बयान कागज गरी दिएको हुँ आफ्नो राजीखुसीले गरेको होइन भन्ने लालसिंगे टमाटा कामीले अदालतमा गरेको बयान ।

२१.   २०४२।८।२२ गते सेते विटालु मरेको छ भन्ने हल्ला मात्र सुनेको हुँ, निजलाई कसले कर्तव्य गरी मारेका हुन् थाहा छैन, सो दिन रात म आफ्नै घरमा छु, प्रहरीले मेरो बयान पढी बांची नसुनाई सहिछाप गराएका हुन् भन्ने मोते टमाटा कामीले अदालतमा गरेको बयान ।

२२.   मर्ने सेते विटालुलाई प्रतिवादी मध्येका कालो कामी, लालमनी कामी, मोते कामी, नरेकामी लालसिंगे कामी, सार्के कामी, नाउले कामी, छोटेलाल कामी समेतका ८ जना प्रतिवादीहरुले मिति ०४२।८।२२ गते बेलुकी सेते विटालु कामी भागी जाँदा लखेटी कुहरे खोला माथि सालघारीमा कुटपिट गरी मारी प्रसाराम जैसीको गोठमा झुण्ड्याई राखेको देखिन आएकोले निज ८ जना प्रतिवादीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. ले जनही १० वर्ष कैद हुने ठहर्छ । प्रतिवादी मध्येका डल्लो कामी, रत्ने कामी, चन्द्रमनी कामीका हकमा निजहरु प्रहरी तथा अदालतमा कसूर गरेमा इन्कार रहेका र तिलकबहादुर बुढा, प्र.पं. जयबहादुर शाही, टिकाराम जैसी समेत सेतेलाई लखेट्दै गएका र तत्कालै फर्की आएका भनी लेखाई दिएको देखिँदा अन्य प्रतिवादीले प्रहरीमा बयान गर्दा पोल गरेको आधारबाट मात्र कसूरदार ठहर्‍याउन नमिल्ने भई सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु दैलेख जिल्ला अदालतको फैसला ।

२३.   शुरु दैलेख जि.अ.को फैसला कानुनसंगत नहुँदा उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको २०४४।१।४ मा सार्के कामी समेत जना ७ ले भेरी अं.अ.मा गरेको संयुक्त पुनरावेदनपत्र ।

२४.   कालो कामी समेत ११ जना प्रतिवादीहरु उपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजायँ हुन माग दावी लिएकोमा कालो कामी समेत जना ८ लाई माग दावी नै नलिएको ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैदको सजायँ गरी दैलेख जिल्ला अदालतबाट भएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी कालो कामी समेत जना ८ तथा सफाई पाएका डल्लो कामी समेत जना ३ लाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको २०४४।२।१२ मा वादी श्री ५ को सरकारको तर्फबाट अञ्चल सरकारी वकील कार्यालयले भेरी अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

२५.   लाश प्रकृति मुचुल्काबाट सांघातिक हतियार प्रयोग गरी सांघातिक चोटपटक लागेको देखिन नआएको र मृतकलाई लाठीले प्रहार गर्दा मृतक सेते मर्न गएको देखिएको कारण प्रमाणबाट शुरु जिल्ला अदालतले प्रतिवादी वादी कालो कामीलाई ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैदको सजायँ तोकेको मनासिब भई वादी पक्षको पुनरावेदन जिकिर नपुग्ने ठहर्छ । कालो कामीले मृतकलाई मारेकोमा प्रहरी र अदालत समक्ष सावित भई बयान गरेको र अन्य पुनरावेदक प्रतिवादी सार्के कामी समेत जना ७ को हकमा निजहरुले अदालत समक्ष पूर्ण इन्कार रही बयान गरेको र प्रत्यक्षदर्शी साक्षी सबूद प्रमाण समेतको अभावमा ज्यान जस्तो जघन्य अपराधमा यिनै प्रतिवादीहरु समेत संलग्न थिए भनी ठहर्‍याउन न्यायसंगत नहुँदा शुरु दैलेख जिल्ला अदालतले निजहरुलाई सफाई दिनु पर्नेमा ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजायँ गर्ने गरेको लालमणि कामी, मोते कामी, नरे कामी, लालसिंह कामी, सार्की कामी, नाउले कामी, छोटेलाल कामी समेत जना ७ को हकमा शुरुको इन्साफ उल्टी भई सफाई पाउने ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतबाट मिति २०४४।२।१२ मा भएको पुनरावेदन फैसला ।

२६.   शुरु जिल्ला अदालतबाट कालो कामीलाई ज्यानसम्बन्धीको १४ नं. ले सजायँ गर्ने गरेको फैसला सदर गर्ने गरी अन्य प्रतिवादीलाई सफाई दिई भेरी अञ्चल अदालतबाट भएको फैसला कानुन प्रतिकूल हुँदा उक्त फैसला बदर गरी मु. ऐन, ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट म.प.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

२७.   कालो कामी एक्लैले मृतकलाई मारी लाश झुण्ड्याउने अवस्था लाश प्रकृति मुचुल्काबाट नदेखिएको र लालमणि समेत प्रतिवादीहरुमध्ये नाउले र सार्की कामीले थप्पड हिर्काएमा प्रहरीमा सावित रहेको र लालमणि समेतले पालो पालो गरी कुटी झुण्ड्याएको मिसिलबाट देखिन आएकोले अञ्चल अदालतबाट निजहरुलाई सफाई दिएको फरक पर्न जाने हुँदा कालो कामी बाहेकका प्रतिवादीहरुलाई अ.बं. २०२ नं. र क्षे.अ.नि. बमोजिम झिकाई पेश गर्नु भन्ने म.प.क्षे.अ. बाट भएको २०४५।८।१२ को आदेश ।

२८.   कालो कामीलाई ज्यानसम्बन्धीको १४ नं. को कसूरमा १० वर्ष मात्र सजायँ गर्ने गरेको भेरी अञ्चल अदालतको फैसला नमिली फरक पर्ने देखिँदा निजलाई अ.बं. २०२ नं. अनुसार झिकाउन थुनामा रहेको कारागार मार्फत म्याद तामेल गरी नियम बमोजिम पेश गर्नु भन्ने म.प.क्षे.अ. बाट २०४६।३।५ मा भएको आदेश ।

२९.   प्रतिवादी कालो कामीले अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष बयान गर्दा मृतक सेते बिटालुलाई कर्तव्य गरी मारी झुण्ड्याएको हुँ भनी बयान गरेको देखिन्छ । अदालतमा बयान गर्ने अन्य प्रतिवादीहरु कसूरमा इन्कार रहेका, मृतककी पत्नीले काले कामी बाहेकका प्रतिवादीलाई मारेकोमा शंकासम्म पनि नदेखाएकी, कालो कामी बाहेकका अन्य प्रतिवादीहरुले कर्तव्य गरी मारेको हो भन्न सक्ने कुनै प्रमाण वादी पक्षबाट गुजार्न नसकेको समेतबाट मृतकलाई निजकै घरमा पंच भलाद्मी समेतले बाँधी राखेको अवस्थामा फुकाए पछि भागेकोले निजलाई समात्ने क्रममा तत्काल उठेको रिसबाट प्र.काले कामीले मृतकलाई लाठीले प्रहार गर्दा मृत्यु हुन गएको देखिनाले ज्यानसम्बन्धीको १४ नं. अनुसार प्र.काले कामीलाई १० वर्ष कैद हुने र अन्य प्रतिवादीले सफाई पाउने ठहर्‍याएको भेरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.प.क्षे.अ.बाट भएको २०४६।७।२३।४ को फैसला ।

३०.   प्र.कालो कामीले प्रहरीमा बयान गर्दा आफू बाहेक अन्य प्रतिवादी पनि वारदातमा सम्मिलित भएको कुरा व्यक्त गरेको छ । लाश प्रकृति मुचुल्कामा देखिएका विविध चोटबाट पनि धेरै जनाको सांघातिक आक्रमणबाट मृतक सेते मरेको निर्विवाद छ । मृतककी श्रीमती पदमा कमेनीले मौकामा कागत गर्दा अन्य प्रतिवादी उपर किटानीसाथ मृतक सेतेलाई कर्तव्य गरेको कुरा व्यक्त गरेकी छन् । निजको अदालतमा गरेको बकपत्रलाई मात्र आधार बनाउन तर्कसंगत हुँदैन । अन्य प्रतिवादीको प्रहरीमा भएको बयान, घटनास्थल प्रकृति, मृतकको शरीरमा लागेका असंख्य चोटहरु समेतको आधारमा प्र.कालो कामीले मात्र नभई अन्य प्रतिवादीहरु समेत भई कर्तव्य गरी मारेको कुरा प्रमाणित हुँदाहुँदै प्र.काले कामीलाई मात्र ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद गरी अरु प्रतिवादीलाई सफाई दिने गरी गरेको इन्साफ त्रुटिपूर्ण छ । धेरै जनाको प्रहारबाट मृतकको मृत्यु भएको कुरा पुष्टी भएकोलाई मान्यता नदिएकोले उल्लेखित प्रतिवादीहरुकै सामूहिक कुटपिबाट मृतक सेतेको मृत्यु भएकोले क्षेत्रीय अदालतको फैसला बदर गरी सबै प्रतिवादीहरुलाई दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

३१.   मृतक सेतेको शरीरमा अनेकौं घा चोट देखिएको हुँदा निजको मृत्यु शरीरमा भएका घा चोटको समष्टी प्रभावबाट भएको मान्नु पर्छ । प्रहरीमा काले कामी बाहेकका अन्य प्रतिवादीहरुले निजहरु समेत ११ जनाले कुटी मारेको भन्ने स्वीकारोक्ति गरेको तथ्य शरीरका असंख्य चोट पटकबाट पुष्टी हुन्छ । अतएवं सफाई पाउने प्र.हरुलाई पूर्णत सफाई दिएको र तत्काल उठेको आवेशमा सेतेको हत्या नगरी लखेट्दै गई कुटी मारेको स्थितिमा ज्यानसम्बन्धीको १४ नं. को प्रयोग गरी सजायँ गरेको समेत म.प.क्षे.अ.को इन्साफ नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षीहरुलाई झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति ०४८।९।७।१ को आदेश ।

३२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका का.मु. उपसरकारी न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठकले सफाई पाउने प्रतिवादीहरुले प्रहरीमा बयान गर्दा सेते कामीलाई मार्न सरिक भएको कुरा व्यक्त गरेको, मृतकको शरीरमा असंख्य घा चोट रहेको कुरा लाश जाँच प्रतिवेदनबाट देखिई रहेको तथा मृतककी श्रीमतीले मौकामा अन्य प्रतिवादीहरु समेत भई मारेको भनी कागज गरी राखेको अवस्थाबाट काले कामीलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष मात्र सजायँ गरेको तथा अन्य प्रतिवादीहरुलाई सफाई दिएको फैसला मिलेको छैन । अन्य प्रतिवादीहरु समेत भई मारेको हुँदा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजायँ हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।

३३.   प्रतिवादी मोते कामी र नरे कामीको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले मृतक सेतेको शरीरमा लागेका चोट पटक धेरै जना प्रतिवादीले गरेको प्रहारबाट लागेको हो भन्ने कुनै युक्तियुक्त प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । मृतक तथा यी प्रतिवादी बीच कुनै रिसइवी रहे भएको समेत देखिएको छैन । मृतककी श्रीमती पदमा कमेनीले अदालतमा बकपत्र गर्दा काले कामीले मात्र प्रहार गरी मारेको कुरा व्यक्त गरेबाट मृतककी श्रीमतीको कुरामा विवादको गुन्जाइस छैन । यी प्रतिवादीहरु मृतकलाई मार्नमा सरिक भएको मिसिल प्रमाणबाट देखिन आएको छैन । तसर्थः प्र.मोते कामी तथा नरेकामीलाई सफाई दिने गरी गरेको फैसला मिलेकै छ भनी बहस प्रस्तुत गर्नु भयो ।

३४.   प्रस्तुत मुद्दामा प्र.काले कामीलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजायँ गरेको तथा अन्य प्रतिवादीलाई सफाई दिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

३५.   पेश हुन आएको मिसिल अध्ययन गरी दुवै तर्फको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा मृतक सेते कामीको शरीरमा रहेका चोट पटकबाट निजको मृत्यु, कर्तव्यबाट भएको भन्ने कुरामा विवाद देखिएन । के कस्को कर्तव्यबाट मृत्यु हुन गएको तर्फ हेर्दा प्र.काले कामीले अदालतमा बयान गर्दा मैले निजलाई मारेको भनी स्वीकार गरेको तथा अन्य प्रतिवादीले आफू कर्तव्यमा सरीक नभएको भनी इन्कारी बयान गरेको देखिन्छ । मृतककी श्रीमती पदमा कमेनीले अदालत समक्ष बकपत्र गर्दा काले कामीले मारेको अन्य प्रतिवादी मार्नमा सरिक नभएको कुरा व्यक्त गरी राखेको देखिन्छ । प्रतिवादीको बयान, मृतककी श्रीमती तथा साक्षीहरुको बकपत्रमा व्यक्त भएका कुरालाई नकार्न सकिने अन्य सबूद प्रमाण पेश हुन सकेको पाइएन । मृतकको शरीरमा लागेको चोट पटक धेरै व्यक्तिको प्रहारबाट लागेको भन्न सक्ने कुनै सबूद प्रमाण मिसिलबाट देखिन नआएकोप्रहरी हिरासतमा गराइएको केवल बयानको आधारमा सजायँ गर्न नमिल्ने समेतबाट काले कामी बाहेकका अन्य प्रतिवादीलाई सफाई दिने गरी गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । अब प्र.काले कामीलाई दिएको सजायँतर्फ विचार गर्दा मृतक सेते र प्र.काले कामी बीच मार्ने सम्मको कुनै रिसइवी रहे भएको देखिँदैन । पञ्च भलाद्मी समेत भई बाँधेको सेते कामीलाई फुकाई दिएपछि लखेट्दै जाँदा लौराले हिर्काएर मारेको र मैले लगी झुण्ड्याएको हुँ भनी अदालत समक्ष प्र.काले कामीले दिएको बयानबाट निजले तत्काल उठेको रिस थाम्न नसकी लाठीले हिर्काएबाट सेतेको मृत्यु भएको देखिँदा प्र.काले कामीलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद गर्ने गरी गरेको क्षे.अ. को इन्साफ मनासिब देखिन्छ । तसर्थः पुनरावेदन जिकिर पुग्न सक्तैन । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

 

इति सम्वत् २०४९ साल फाल्गुण ६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु