शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६५८ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११

निर्णय नं. ४६५८    ने.का.प. २०४९ ()  अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

२०४७ सालको फौ.पु.नं. २६६

फैसला भएको मिति: २०४९।११।१४।५ मा

पुनरावेदक/वादी: माधवप्रसाद श्रेष्ठको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी : जि.सुनसरी धरान न.पं. वार्ड नं. १ बस्ने इश्वर श्रेष्ठसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)    अदालतमा कसूर स्वीकार गरेको देखिँदैन; सबै इन्कार छन् । अभियोग पुष्टीको लागि जाहेरवालाको जाहेरी र बीमला राइको कागजलाई मुख्य प्रमाण बनाएको देखिन आउँछ । निज दुवै अदालतमा आई बकपत्र गरेको पाइँदैन । जाहेरवालाले जाहेरीमा तथ्यसाथ खुलाउन नसकेको र विमला राइको प्रहरीमा भएको कागज हेर्दा दिनको ३ बजेको सिनेमा हेरी सकेपछि छाता चोकबाट बन्दना श्रेष्ठलाई प्रतिवादीहरुले लगेको र करणी गरेको भन्ने लेखाएकोमा मंसीर महीनामा ३ बजेको सिनेमा पछि अन्दाजी ६ बजे पूर्ण अँध्यारो हुने टाढाबाट करणी गरेको देखेको भन्ने कुरा पत्यारलायक भन्न सकिने र गुप्ताड्डको रौं यो यसको भनी किटान नभएको अवस्थामा प्रतिवादीका विरुद्धमा प्रमाणमा लगाउन नमिल्ने ।

(प्रकरण नं. २३)

(२)   शंकाको सुविधा अभियुक्तले नै पाउने ।

(प्रकरण नं. २३)

(१)                भरपर्दो एवं शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार ठहर्‍याउन न्याय कानुन कुनै दृष्टिले पनि नमिल्ने ।

(२)               (प्रकरण नं. २३)

पुनरावेदक, वादीतर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.मोहनप्रसाद शर्मा

१.     पू.क्षे.अ. बाट मिति २०४७।३।५ मा फैसला भए उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निर्णय यस प्रकार छ ।

२.    म घर छुट्टीमा बसेको अवस्था आज ०४१।७।२४।६ का दिनको अं. १३.१५ बजेको समयमा मसिना केटा केटीहरुले सुनाए अनुसार मेरो घरदेखि अं. ५०० गज फरक पश्चिम खहरे खोलाको नजिकमा हेर्न जाँदा मैले नचिने नजानेको नाम थर वतन थाहा नभएको अं. ३२ वर्ष जति उमेर भएकी टाउको उत्तर, खुट्टा दक्षिण पारी एकजना आइमाई मानिस मरी राखेको देखिएकोले भवितव्य या कर्तव्य के भई मरेको हो आवश्यक कारवाही हुन अनुरोध छ, भन्ने त्रि.वि.वि. सुरक्षा गार्ड दरबन्दी भई हाल छुट्टिमा बसेको प्र.ना.नि. देवेन्द्रनाथ वास्तोलाले ०४१।७।२४।६ मा प्रहरी थाना धरानमा चढाएको प्रतिवेदन ।

३.    मेरो जेठी श्रीमती पट्टीको बोली नआउने वर्ष २३ को बन्दना श्रेष्ठ बजारमा त्यस्तै खालका साथीहरुसंग आफू खुसी डुली हिंड्ने गरेकी, घरमा कहिले कहीं आउने र निज बुचुरी भन्ने विमला राई नाम गरेकी संग बस्ने गर्दथिन र मेरो छोरी बन्दनासंग हिंड्ने केटीहरुलाई रातको समयमा बाटो घाटो कुनै ठाउँमा भेट्यो भने धरान नगर पञ्चायत वार्ड नं. १ बस्ने नरेश नेपाल नाम गरेको व्यक्ति र निजका साथीहरुले मिली लोभ लालच देखाई फकाई यताउती लाने ल्याउने गर्दछन भन्ने कुरा मानिसहरुबाट सुन्दथे र मिति ०४१।७।२३ गते रात अं. ११ बजे समयमा ध.न.प. वार्ड नं. १३ जिरो प्वाइन्टमा बस्ने विमला राईले नरेश नेपाल र निजका साथीहरुले तानेर लगी अनैतिक काम बलात्कार गरेको कारणबाट मेरो छोरी बन्दना श्रेष्ठको मृत्यु भएको कुरा बताई थाहा भएकोले नरेश नेपाल समेतका व्यक्तिहरुलाई खोजतलास गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको माधवप्रसाद श्रेष्ठले ०४१।७।२६।१ मा प्रहरी थाना धरानमा चढाएको दर्खास्त ।

४.    साल महीना थाहा भएन आज भन्दा करीब १०११ दिन पहिले म र लाटी दिदी र मृतक बन्दना लाटी समेत ३ जना भई माथिल्लो सिनेमा हलमा सिनेमा हेरी बेलुकी घुम्दै छाता चोक आईपुग्दा नरेश नेपाल भन्ने केटा र अरु नचिने नजानेका ९, १० केटाहरुसंग भेट भई लाटी सो ठाउँबाट लक्ष्मी चोकतर्फ गइन म पनि पछि पछि गएँ लाटीलाई केटाहरुले खहरे खोलातर्फ लगी बाँस घारी नजिकमा लाटीलाई सुताई पहिले मुखमा केटाहरुले पालैसंग लिड्ड पसाई चुसाउन लगाए करणी समेत पालैसंग गरेको मैले बाँसघारी देखि केही परै लुकी बसी हेरी राखेको थिएँ, पहिले करणी नरेश नेपालले गरेको हो, सबैले करणी गरी गइसकेपछि म लाटी भएमा आउँदा चिसो थियो नउठेकोले मरे भन्ने सम्झी आफ्नो डेरामा आई लाटी दिदीलाई राती उठाई भने अरुलाई भनीन, देखाइएको चप्पल मृतकको हो बटुको कसको हो थाहा छैन भन्ने बिमला राईले ०४१।८।५।३ मा प्रहरीमा गरेको कागज ।

५.    सोधनी भए अनुसार बिमला राईलाई मैले गत दशैं भन्दा पहिले धनकुटे रोडको खहरे पुल छेउमा करणी गरेको छु । करणी गर्दा बिमला राईको मन्जूरी साथ गरेको हुँ करणी गर्न पहिले बर्माले मलाई बोलाई लगेका र करणी गरे बापत मैले बिमला राईलाई रुपैयाँ पैसा केही दिइन निजै वर्मा राइले दिएको हो वा होइन थाहा छैन र मृतक लाटी केटीलाई पनि पहिले कहिले कहीं मौका पारी फकाई करणी गर्ने गरेको थिएँ मर्नु भन्दा अगाडि २, ४ पटक करणी गरेको छु, लक्ष्मी चोकमा मृतक लाटी र बिमला राई समेतका केटीहरु थिए त्यस अवस्थामा ज्योती हुँमागाई, राजेन्द्र ढकाल इश्वर श्रेष्ठ मोहन भन्ने बर्माली, सुरेन्द्र भन्ने केटा समेत भई मृतक केटीलाई पिच्छा गर्दै तिनीहरुले केटीलाई करणी गर्ने उद्देश्यले प्रयासमा लागिरहेको थियो तिनीहरुको साथमा गइन, लाटी मरेकी राती मैले करणी गरेको होइन मारेको पनि होइन भन्ने नरेश नेपालले ०४१।८।५।३ मा प्रहरीमा गरेको कागज ।

६.    २०४१।७।२३ गते रात मृतक लाटीसंग भेटघाट भएको छैन निज लाटीलाई को को भई के कुन कारणले कस्ता परिबन्दबाट मारेको हो मलाई थाहा छैन भन्ने बर्माराज राईले ०४१।८।१४ मा प्रहरीमा गरेको कागज ।

७.    प्र.नरेश नेपाल समेतका व्यक्तिहरुको चरित्र खराब थियो भन्ने कुरा हालसम्म कुनै जानकारी छैन । मृतक वेश्यावृत्ति गरी हिंड्ने खालकी थिइन भन्ने सुनेको हुँ भन्ने अधिकांश व्यक्तिहरुको भनाई भएको ०४१।८।२२ को सरजमीन मुचुल्का कागज ।

८.    अपराधीहरुले बन्दना श्रेष्ठलाई पालैसंग जबरजस्ती करणी (बलात्कार) गरी निजको मुख बन्द गरेको कारणबाट निजको सास बन्द भई मृत्यु हुन गएको लास पोष्टमार्टम र संकलित कागजातबाट समेत देखिन आएकोले निजहरुले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. बमोजिमको अपराध गरेको देखिन आएकोले निज नरेश नेपाल, ज्योति हुमागायी, इश्वर श्रेष्ठ समेत ३ जनालाई सोही ऐनको १३ नं. को देहाय ३ अनुसार सजायँ हुन र निज ३ जना बाहेक अन्य अपराधीहरुलाई खुल्न आएका बखत कानुन बमोजिम कारवाही हुने गरी मिसिल र अभियुक्तलाई पेश गरिएको छ भन्ने ०४१।८।२२ को प्रहरी प्रतिवेदन ।

९.    मृतक बन्दना श्रेष्ठको ज्यान लिने सम्मको इविलाग वा मनसाय वा मार्ने सम्मको षडयन्त्र प्रतिवादी नरेश नेपाल समेतको थियो भन्ने कुरा कतैबाट देखिन नआएको र सामूहिक रुपमा पालैसंग करणी गर्दा निज बन्दनाको मृत्यु हुन गएकोले अघि देखि नै करणी लिनु दिनु गर्ने वेश्यालाई करणी गर्दा निज मर्ला नै भनी जानी जानी ज्यान लिएको भन्ने कुरा जाहेरी दर्खास्त प्रत्यक्षदर्शी बिमला राइको कागज सरजमीनको लेखाई शवपरिक्षण प्रतिवेदन लाश प्रकृति मुचुल्का र प्रतिवादी नरेश नेपाल समेतका व्यक्तिहरुको कागज समेतबाट पनि देखीन नआएकोले ज्यानसम्बन्धी महलको ६ नं. अनुसार भवितव्य भई निज बन्दना श्रेष्ठ मरेको देखिन आएकोले होस नपुर्‍याई वा हेलचेक्रयाई गरी जबरजस्ती करणी गर्दा भवितव्य परेको भन्न सकिने परिवन्द हुँदा ऐ.ऐ. को नं. ६ को देहाय २ अनुसार प्र.नरेश नेपाल समेत ९ जनालाई सजायँ गरी पाउन सादर अनुरोध छ भन्ने सरकारी वकील कार्यालय सुनसरीको ०४१।८।२९ को छुट्टै राय ।

१०.    ३।४ महीना अगाडि बिमला राई र लाटीलाई कुटेको थिएँ, मैले कुटेको इवीबाट यस्ता बयान गरेको होलिन् । निज बिमलालाई १ वर्ष देखि हिंडडुल गरेको देखेको हुँ म निर्दोष हुँदा अभियोगबाट सफाई पाउँ भन्ने प्र.नरेश नेपालले ०४१।९।१०।२ मा अदालतमा गरेको बयान कागज ।

११.    २०४१।७।२३ गते म काठमाडौंमा भई कार्तिक २८ गते धरान आइपुगेको हुँ । बिमला राई र मर्ने बन्दना श्रेष्ठलाई मैले चिनेको छैन र करणी गरी मारेको समेत होइन तसर्थ प्रहरी प्रतिवेदन बमोजिम मलाई यो अभियोग लाग्नु पर्ने होइन भन्ने प्र.इश्वर भन्ने इश्वरप्रसाद श्रेष्ठको ०४२।३।७।६ मा अदालतमा गरेको बयान कागज ।

१२.   मर्ने बन्दना श्रेष्ठ के भई मरीन र कसले मारे मलाई थाहा छैन । मैले करणी गरी मारेको नहुँदा प्रहरी अभियोगबाट सफाई पाउँ भन्ने प्र.ज्योति हुँमागाईले ०४२।३।१६ मा अदालतमा गरेको बयान कागज ।

१३.   ०४१।७।२३ गते म घरैमा बसेको छु मेरो नरेश नेपालसंग भेटघाट भएको छैन ज्योती हुँमागाई इश्वर श्रेष्ठलाई चिनेको छुइन । म अस्वस्थ अवस्थामा भएको व्यक्तिले करणी गरी ज्यान मार्ने काम नगरेको हुँदा प्रहरी अभियोगबाट समेत फुर्सद गरी पाउँ भन्ने प्र.मोहनकुमार तिमिल्सीनाले ०४३।८।११।४ मा अदालतमा गरेको बयान कागज ।

१४.   ०४१।७।२३ गते म कार्यालय बिदा भएकोले धरानबाट नरेश नेपालसंग भेडेटार गएका थियौं । बेलुका ८.९ बजे धरान आइपुगी नरेशले मलाई घरमा पुर्‍याई दियो र घरमा सुते, मृतक बन्दना श्रेष्ठलाई मैले चिनेको छैन करणी गरेको पनि होइन र मृत्यु गराएको समेत होइन प्रहरीमा मैले गरेको कागज ठीक छ भन्ने प्र.भोजराज रेग्मीले अदालतमा गरेको ०४३।८।१७ को बयान कागज ।

१५.   मैले प्रहरीमा गरेको अरु सबै ठीक छ दफा ८ मा लेखिएको व्यहोरा प्रहरीको डरधाकले गर्दा गरेको हुँ मृतक लाटी केटीलाई चिन्दिन निजलाई मैले करणी गरी मृत्यु गराएको होइन भन्ने प्र.धर्मराज राइले ०४३।८।२२ मा अदालतमा गरेको कागज ।

१६.    सबूद प्रमाणका अभावमा प्रतिवादीहरुले नै मृतकलाई करणी गरी हत्या गरेको ठहराउन नमिल्ने हुँदा दावी नपुग्ने ठहर्छ प्रतिवादीहरुले सम्पूर्ण अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४३।१०।८ को सुनसरी जिल्ला अदालतको फैसला ।

१७.   प्रतिवादीहरुले नै मृतक बन्दना श्रेष्ठलाई करणी गरी मारेको हुन भन्ने कुरा प्रमाणित हुन नआएको तथा आरोपित कसूर समर्थित हुने अन्य भरपर्दो सबूद प्रमाण वादी पक्षबाट पेश गर्न समेत नसकेको हुँदा यस्तो स्थितिमा शंकारहित ठोस प्रमाणको अभावमा शुरु अदालतले प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको ०४६।४।१८।४ को कोशी अञ्चल अदालत धरानको फैसला ।

१८.   मुलतवी रहेका फरार प्रतिवादीहरु बाहेक नरेश नेपाल समेतका प्रतिवादीहरुले प्रहरी तथा अदालतमा बयान गर्दा दावीको अभियोगमा पूर्णत इन्कार रही बयान गरेको देखिन्छ विमला राईले प्रहरीमा कागज गर्दा प्रतिवादीहरुले मृतक बन्दनालाई बाँसघारीमा लगी पालैसंग करणी गरेको मैले देखेकी हुँ भनी लेखाई दिएको भए तापनि वादी पक्षले निजलाई अदालतमा उपस्थित गराई दावीलाई खम्बीर गराउन सकेको देखिँदैन । नरेश नेपाल लगायतका प्रतिवादीहरुले मृतक बन्दनालाई पालैसंग करणी गरेको देखेको भनी निज बिमलाले भनेको भनी जाहेरीमा भन्न नसकेको र मृतकको पेटीकोटमा लागेको रगत तथा रौं समेतका जाँच भएको प्रतिवेदनबाट समेत प्रतिवादीको रौं नमिलेको भन्ने देखिएकोबाट मृतकलाई प्रतिवादीहरुले करणी गरी मारेको भन्ने तथ्य आधार प्रमाणबाट प्रमाणित हुने कुनै सबूद प्रमाण मिसिलबाट गुज्रन आएको नदेखिँदा प्रतिवादीहरुलाई वादीको अभियोगबाट सफाई दिने गरी गरेको शुरुको फैसला सदर गरेको को.अं.अ.को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत व्यहोराको २०४७।३।५ मा भएको पू.क्षे.अ. को फैसला ।

१९.    मृतक बन्दना श्रेष्ठलाई प्रतिवादीहरुले नै पालै पालो करणी गरी मारेको प्रष्ट देखिँदा देखिँदै प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको उक्त त्रुटिपूर्ण फैसलाहरु बदर गरी माग दावी बमोजिम सजायँ हुन अनुरोध छ भन्ने वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र।

२०.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी नरेश नेपालले अदालतमा इन्कारी बयान गरे पनि बिमला र बन्दनालाई कहीं चिनेको छैन भनी र कही चिनेको व्यहोराको बयान गरेकोले अधिकार प्राप्त अधिकारी समक्षको निजको सावितीको पुष्ट्याई हुने र निज प्रतिवादी नरेशको विर्य र रौं मिलेन भने पनि प्रतिवेदनबाट मनुष्यको रौं भने पछि र अन्य प्रतिवादीहरु समेत भएको भई प्रतिवादीहरुलाई सफाई दिएको मिलेको छैन । प्रहरी प्रतिवेदन माग दावी भए अनुसार मुलतवीमा रहेका राजेन्द्रकुमार हमाल र सुरेन्द्रकुमार श्रेष्ठ बाहेक अन्य प्रतिवादीहरुलाई सजायँ हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।

२१.   उक्त बहसलाई समेत दृष्टिगत गरी विचार गर्दा प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिएको मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।

२२.   यसमा मसिना केटाकेटीहरुले सुनाए अनुसार मेरो घर देखि अं. ५०० गज फरकमा खोलाको छेउमा मरी रहेको आइमाइको लाश फेला परेको छ कर्तव्य वा भवितव्य के हो ? कानुन बमोजिम हुन प्रतिवेदन पेश गरेको छु भन्ने प्र.ना.नि. देवेन्द्रनाथ वास्तोलाको प्रतिवेदनबाट प्रस्तुत मुद्दामा कारवाही चलेको देखिन्छ । मर्ने बन्दनाको पिता माधवप्रकाश श्रेष्ठको जाहेरी सम्बन्धमा भएको लाश जाँच प्रकृति मुचुल्का एवं शव परिक्षण प्रतिवेदनबाट समेत मर्ने बन्दनाको मृत्यु करणीको प्रतिफल कर्तव्यबाट भएको कुरामा विवाद देखिँदैन । वारेन्ट जारी हुने मुद्दामा अनुपस्थित हुनेका हकमा अ.बं. १९० नं. ले मुलतवी रहेको कानुनसंगत नै हुँदा त्यसतर्फ अरु विचार गरी रहनु परेन ।

२३.   अन्य प्रतिवादीहरुका हकमा कसूरदार हो होइन भन्नेतर्फ विचार गर्दा प्रतिवादीहरु मध्ये कसैले पनि अदालतमा कसूर स्वीकार गरेको देखिँदैन । सबै इन्कार छन् । अभियोग पुष्टीको लागि जाहेरवालाको जाहेरी र बिमला राइको कागजलाई मुख्य प्रमाण बनाएको देखिन आउँछ । निज दुवै अदालतमा आई बकपत्र गरेको पाइँदैन । जाहेरवालाले जाहेरीमा तथ्यसाथ खुलाउन नसकेको र विमला राइको प्रहरीमा भएको कागज हेर्दा दिनको ३ बजेको सिनेमा हेरी सकेपछि छाताचोकबाट बन्दना श्रेष्ठलाई प्रतिवादीहरुले लगेको र करणी गरेको भन्ने लेखाएकोमा मंसीर महीनामा ३ बजेको सिनेमा पछि अन्दाजी ६ बजे पूर्ण अँध्यारो हुने र टाढाबाट करणी गरेको देखेको भन्ने कुरा पत्यारलायक भन्न सकिने र गुप्ताड्डको रौं यो यसको भनी किटान नभएको अवस्थामा प्रतिवादीका विरुद्धमा प्रमाणमा लगाउन मिल्ने अवस्था पनि भएन । शंकाको सुविधा अभियुक्तले नै पाउने हुनाले सरकारी अधिवक्ताको बहस जिकिर अनुसार कहीं चिनेको भन्ने र कहीं नचिनेको भन्ने प्रतिवादी नरेशको भनाइले मात्र निजहरु कसूरदार नै हुन भन्न सकिने स्थिति देखिँदैन । प्रतिवादीहरुले आरोपित कसूर गरेकै हो भन्न सकिने भरपर्दो एवं शंकारहित सबूद मिसिलबाट देखिन आउँदैन । भरपर्दो एवं शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार ठहर्‍याउन न्याय कानुन कुनै दृष्टिले पनि मिल्न आउँदैन । तसर्थः आरोपित कसूरबाट प्रतिवादी नरेश नेपाल समेतलाई इन्साफ सदर दिने ठहराएको शुरु सुनसरी जि.अदालतको इन्साफ सदर गरेको को.अं.अ.को फैसला मनासिब ठहर्‍याएको पू.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । वादी श्री ५ को सरकार तर्फको पुनरावेदन जिकिर पुग्न सक्दैन । फायल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.उदयराज उपाध्याय

 

इति सम्वत् २०४९ साल फाल्गुण १४ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु