निर्णय नं. १६१७ - लिखत बदर

निर्णय नं. १६१७ ने.का.प. २०४० अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३८ सालको दे.पु.नं. २२५
फैसला भएको मिति : २०३९।१२।१०।४ मा
पुनरावेदीका/वादी : बारा जिल्ला प्रगन्ना चेरवन्त सपही गा.पं.वडा नं.८ बस्ने पसपतिया थरुनीसमेत
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने शर्मानन्द थारु समेत
मुद्दा : लिखत बदर
(१) तिरो तिरान भई सगोलमा भोगी चर्ची आएको सम्पत्ति निजी आर्जनको भन्न मिलेन । (प्रकरण नं. १६)
पुनरावेदीकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. प्रस्तुत मुद्दा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्नअनुसार छ ।
२. विपक्षी बेचत चौधरीले हामीलाई थाहा खबर नदिई हाम्रो मञ्जूरी नलिई विपक्ष शर्मानन्द रायलाई (साविक पेज नं. १७) रू.१२०००। मा सपही गा.पं.वार्ड नं.८ को कि.नं.६९ को ०–८–० र कि.नं.५१ को ०–९–० समेत सम्पूर्ण १–१७–० जग्गा २०३०।८।१३ मा राजीनामा लेखिदिएको विपक्षी शर्मानन्दले रजिष्ट्रेशन पारित गराई पाउँ भनी नालेस गरी ०३१।८।२४ मा पारित गराई लिएको कुरा ०३१।११।२९ गते थाहा पाई फिराद गर्न आएको छु राजीनामा गरी दिएको ज.वि.१–१७–० मध्ये आधा ०–१८–१० मा पसपतियाको र ज.वि.०–१८–१० मध्ये विगाहा ०–९–५ मा कल्पितयाको हकको लिखत बदर गरी हामीहरूका नाउँमा दर्ता गरिपाउँ भन्ने समेत फिरादपत्र ।
३. वादीहरू र प्र.बेचत मिली जग्गा हात लगाउन फिराद गरेको हो, लिखत बदर हुनुपर्ने होइन भन्ने समेत शर्मानन्दको प्रतिउत्तर ।
४. प्रतिवादी बेचनले प्रतिउत्तर नफिराई शुरू म्याद गुजारी बसेको ।
५. पारित भएको मितिले ३५ दिन भित्र उजूरी नदेखिनाले वादीहरूको मञ्जूरी लिई बिक्री व्यवहार भएको मान्नु पर्ने स्थिति देखिँदा ४ खण्डको ३ खण्ड लिखित बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत बारा जिल्ला अदालतको ०३३।९।१२ को फैसला ।
६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन ।
७. पुर्खौली सम्पत्ति बेचबिखन भएको भन्ने सबूत प्रमाण पेश नभई वादी दावी अनुसार लिखत बदर गरी पाउन नसक्ने हुँदा शुरू जि.अ.बाट वादी दावी अनुसार लिखित बदर गरी पाउने ठहर्दैन भनी गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको २०३९।३।९।५ को फैसला ।
८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा अंशबण्डाको १९ नं.को विपरीत र लेनदेन व्यवहारको १० नं.को प्रत्यक्ष कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएकोछ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।१२।१०।५ को आदेश ।
९. नारायणी अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि नदेखिँदा केही परिवर्तन गर्नुपर्ने भएन। इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।२।६।२ को फैसला ।
१०. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा अंशबण्डाको १९ तथा लेनदेन व्यवहारको १० नं.समेतको त्रुटि भएको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।५।१७।४ को आदेश ।
११. पुनरावेदीकाहरूको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीहरू र प्र.बेचन सगोल भन्ने देखिन्छ । विवादको जग्गा सगोलको सम्पत्ति सबैको हक लाग्ने र विहारीको नामबाट प्र.बेचनको नाममा सरेको सम्पत्ति हो, वादीहरूको मञ्जूरी नलिई बिक्री गरेको वादीहरूको हक ४ भागको ३ भाग लिखित बदर हुनुपर्छ क्षेत्रीय अदालतको फैसला मिलेको छैन भन्ने समेत र विपक्षी शर्मानन्द तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले लिखित पारित भएकैअवस्था वादीहरूलाई थाहाभएको छ । पुर्खौली सम्पत्तिको प्रमाण केही छैन । निजी आर्जन होइन भन्ने वादीले (साविक पेज नं. १८) प्रमाण पुर्याउन पर्छ । वादी दावी नपुग्ने ठहराएको फैसला मिलेको छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१२. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१३. यसमा निर्णयतर्फ हेर्दा पितापूर्खाको सम्पत्ति विपक्षी बेचनका नाउँमा दर्ता राखी सगोलमा बसी भोगी आएकोमा त्यस्तो सगोलको कि.नं.५१।६९ को बिगाहा १–१७–० विपक्षी बेचनले शर्मानन्द रायलाई बिक्री गरी दिएकोले लेनदेन व्यवहारको १० नं.बमोजिम हाम्रो हक जति बदर गरिपाउँ भनी विपक्षी बेचनकी आमा पसपतिया थरुनी र बेचनकी श्रीमती कल्पितया थरुनीको फिराद परेकोमा विपक्षी शर्मानन्द रायले दावीको जग्गा व्यवहार चलाउन घरको मुख्य बेचनले बिक्री गरेको र त्यस्तो सम्पत्ति निजको निजी आर्जनको भनी प्रतिवाद गरेको पाइन्छ ।
१४. वादीहरू र प्रतिवादी बेचनका बीच अंश भएको छ भनी प्रतिवादी शर्मानन्दले भन्नसकेको र त्यसरी अंश वा मानो छुट्टिएको लिखत प्रमाणहरू दिनसकेको समेत देखिन्न । यस्तो अवस्थामा प्रतिवादी बेचन यी वादीहरूसँग सगोलमा रहेको मान्नु पर्ने देखिन्छ ।
१५. प्रमाण ऐन, २०३१ को दफा ६ (क) मा एकाघरसंगका अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ ।
१६. सगोलमा रहेको त्यस्तो सम्पत्तिलाई निजी आर्जनको हो भनी जिकिर लिनेले त्यसको सबूत प्रमाण दिनुपर्नेमा त्यसको कुनै सबूत प्रमाण विपक्षी शर्मानन्दले दिन नसकी दावीको सम्पत्ति अघि बिहारीको नामबाट तिरोभरो भएकोमा, बिहारी पछि उक्त सम्पत्ति प्र.बेचनबाट तिरो तिरान भई सगोलमा भोगी चर्ची आएको सम्पत्ति देखिँदा प्रतिवादी बेचनको निजी आर्जनको भन्न मिलेन ।
१७. लेनदेन व्यवहारको १० नं.मा “अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मञ्जूरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरसंगका अंशियार सबै साक्षी बसेका वा निजहरूले मञ्जूरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जूरीको लिखत पनि नभएर मञ्जूर नहुनेले रजिष्ट्रेशन भएको मितिले एकवर्ष सम्ममा थाहा पाएको पैंतीस दिन भित्र उजूर गर्यो र निजको मञ्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ” भन्ने समेत लेखिएको पाइन्छ ।
१८. विपक्षी प्रतिवादी मध्ये बेचन चौधरीले शर्मानन्द रायलाई २०३०।८।१३ मा राजीनामा गरी बिक्री गरी सो लिखत २०३१।८।२४ मा पारित भएको कुरा वादीहरूलाई मौकामा नै थाहाभएको कुराको प्रमाण प्रतिवादीले दिन नसेकेको र नक्कल सारेको मितिले ऐनको म्यादभित्रको फिराद हुँदा हदम्याद नाघेको भन्न मिलेन । अतः प्र.बेचनले विपक्षी प्रतिवादी शर्मानन्द रायलाई राजीनामा गरी मिति ०३१।८।२४ मा रजिष्ट्रेशन पास भएको जम्मा जग्गा बिगाहा १–१७–० मध्ये आधी ज.वि.०–८–१० वादी पसपतिको र बाँकी मध्ये ज.वि.०–९–५ वादी कल्पितयाको हकको भई वादी दावी बमोजिम सो हदसम्म उक्त लिखत बदर हुने र सो जम्मा ज.वि.१–१७–० मध्ये आधा ज.वि.०–१८–१० वादी पसपतियाका नाउँमा, (साविक पेज नं. १९) बाँकी ०–१८–१० मध्ये आधा ०–९–५ वादी कल्पितयाका नाउँमा दर्ता हुने समेत ठहर्छ ।
१९. वादी दावी पुग्न नसक्ने ठहराएको शुरू र नारायणी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
देहायका वादीहरूके फिराद गर्दा कोर्टफी रू.३०। अरू दस्तुर रू.१।३० शुरू उपर पुनरावेदन गर्दा राखेको कोर्टफी ४।५० अनुमतिद्वारा यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.४।५० समेत जम्मा रू.४०।३० चालीस रूपैयाँ तीसपैसा प्रतिवादी शर्मानन्द राय र वेचनबाट भराई पाउँ भनी निजहरूको जायजात देखाई वादीहरूको ऐनका म्यादभित्र दरखास्त परे दस्तुर केही नलिई वादीहरूलाई देहायका दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु...........................................................................................................................................१
वादी पसपतिया थारुनी के.रू.२६।८६ वादी कल्पितया थरुनी के.रू.१३।४४
माथि लेखिए बमोजिम ठहरेकोले सोही गा.पं.वार्ड नं.८ को कि.नं.६९ को ०–८–० र कि.नं.५१ को १–९–० समेत जम्मा ज.वि.१–१७–० मध्ये आधा ०–१८–१० वादी पसपतिया थरुनीका नाउँमा र ज.वि.०–१८–१० मध्ये ज.वि.०–९–५ वादी कल्पितया थरुनीका नाउँमा दर्ता गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखिपठाउन मिसिल शुरू जि.अ.मा पठाई दिनु.......................................................................................२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.........................................................................................................................३
उक्त रायमा म सहमत छु ।
न्या.धनेन्द्रबहादुर सिंह
इतिसम्वत् २०३९ साल चैत्र १० गते रोज ५ शुभम् ।