निर्णय नं. १६१८ - जालसाजी

निर्णय नं. १६१८ ने.का.प. २०४० अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको फौ.पु.नं. ३७५
फैसला भएको मिति : २०४०।१।१५।५ मा
पुनरावेदक/प्रतिवादी : भक्तपुर न.पं.वडा नं.९ चोछे टोल बस्ने विश्वनाथ फाजू
विरूद्ध
विपक्षी/वादी : भक्तपुर न.पं.वडा.नं.१५ क्ष्टाछे टोल बस्ने रामभक्त भुजु समेत
मुद्दा : जालसाजी
(१) जालसाजी भनी दावी लिनेले जालसाजीको सबूत प्रमाण दिनुपर्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल
(साविक पेज नं. २०)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. जिज्यूबाजे बहादुर सिंहका छोरा जेठा बाजे कुलबहादुर, कान्छा बाजे भीमलालका दुई सन्तान मध्ये हरिगोपाल अघि नै परलोक भइसकेका र ०३६।७।३० गते मर्ने विष्णुप्रसाद, हरिगोपाल र विष्णुप्रसादका स्वास्नी छोराछोरी कोही नभएकोले जेठा बाजे कुलबहादुर र बाबु रत्नबहादुर समेत परलोक भई हामी ४ छोरा मात्र मर्ने विष्णुप्रसादको हकवाला भतिजा बाँकी रहेको। निज विष्णुसँग मेरो नामसारी मुद्दाहरू परेकोबाट अचल जग्गा आधा म रामभक्तको नाउँमा र आधा विष्णुप्रसादको नाउँमा दर्ता दाखिल खारेज समेत भएको छ । हाल भत्किई पाताल भइरहेको घर समेत आधा ठहर भइराखेको फैसला खडा भएको छ । विपक्षी विश्वरामलाई हामी विष्णुप्रसादको भतिजाहरू हो भन्ने थाहाभएको कुरा निज विश्वरामसँग परेको लेनदेन बदर मुद्दाको प्रमाणबाट यकिन छ । विपक्षी विश्वराम र अन्यायवालाहरू समेत मिली विष्णुप्रसाद सिकिस्त बिरामी मरणासन्न अवस्था वा मरी सकेपछि के हो ? जालसाजबाट हामीहरूको हक मेटाउन खडा गरेको ०२६।७।३० गतेको मिति राखी विष्णुप्रसाद दिने र निज विश्वराम लिने गरी रू.१९०१। को बिगो खोली हालदेखिको बकसपत्रको कागज लेखी हामीहरूको अंशको पाताल भइराखेको घर पाताल भई हामी कोही छैन भनी भू.प्र.का.भ.पु.बाट ०२७।४।११।१ मा पास गराई लिएको सोही दिन थाहा भई नक्कल सारी हेर्दा जालसाजबाट कागज खडा गरिएको हुँदा सो कागज बदर गरी जालसाजी गरेमा सजाय गराई पाउँ भन्ने फिराद ।
२. म विष्णुप्रसाद, विश्वरामको सहोदर फुपूको छोरा अर्थात दाजु हुँ बृद्धा अवस्थामा रोगी समेत भएको हुँदा र तीन पुस्ताभित्रको हकदार समेत नभई मैले हेरचाह गरी विरामी हुँदा र परलोक भएको बखत पनि म विश्वरामले नै दागबत्ती काजक्रिया खर्च लगाई खाएको । दाजु विष्णुप्रसादले ऋण बापत हालदेखि खान पाउने गरी ०२३।१२।१९ मा बकसपत्र गरी दिएको सो बकसपत्र पास हुन पाएन फेरि जग्गाहरू छाडी घर पाताल मात्र ०२६।७।३० गतेमा हालैदेखिको बकसपत्र लेखक साक्षी र अन्तरसाक्षी भई विष्णुप्रसादले म विश्वरामलाई गरी दिएको बकसपत्र पनि पास हुन नपाउँदै निज विष्णु ०२६।८।५ मा परलोक भएबाट ३५ दिन भित्र दरखास्त दिई भू.प्र.का.भ.पु.बाट ०२७।४।११ मा पास भएको । त्यस उपर वादी समेतको हक नलाग्ने हुँदा वादी दावी बमोजिम हामीले जालसाजी लिखत खडा गरी गराई पास गरेको होइन भन्ने समेतको संयुक्त प्रतिउत्तर जिकिर ।
३. मर्ने विष्णुप्रसादको हकदार भन्ने निज परलोक भएको खबर वादीहरूबाट थाहा पाइकन पनि निजको काजक्रिया विश्वराम फाजूलाई गर्न लगाई वादीहरूले टोपी समेत नफुकाली जुठो नबारेको हुँदा झुठ्ठा दावी लिई नालेस गर्ने वादीहरूलाई नै सजाय गरी फुर्सत दिलाई पाउँ भन्ने व्यहाराको जगतलालको प्रतिउत्तर जिकिर ।
४. यसमा वादीको र विष्णुप्रसादको वादीहरू अंशियार भन्ने देखिएको, वादीहरूको हक लाग्ने होइन भन्ने सबूत प्रतिवादीले दिन नसकेको हुँदा ०२७।४।११ मा पारित भएको बकसपत्र वादीहरूको हक नलाग्ने आधा समेत एकलौटी भनी विष्णुप्रसादले विश्वरामलाई दिएको सम्म (साविक पेज नं. २१) जालसाजी ठहर्छ र समुच्चा जालसाजी भन्ने वादीहरूको दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरू भ.पु.जि.अदालतको फैसला ।
५. शुरू भ.पु.जि.अ.बाट एउटै लिखितमा आधामात्र जालसाजी ठहराई गरेको इन्साफमा चित्त बुझेन समुच्चै लिखत जालसाजी ठहराई हक इन्साफ पाउँ भन्ने रामभक्त समेतको पुनरावेदन जिकिर ।
६. शुरू अदालतबाट खारेज गर्न पर्ने मद्दामा आधा जालसाजी ठहराई गरेको फैसलामा मेरो सहमत नहुँदा शुरूको फैसला उल्टाई मेरो प्रतिवाद जिकिर बमोजिम लिखत सदर कायम राखी जालसाजी नठहराई प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्ने समेत प्र.विश्वराम फाजुको पुनरावेदन जिकिर ।
७. यसमा भ.पु.जि.अ.को फैसलाका बुँदा प्रमाण समेतबाट ०२६।७।३० मा विष्णुप्रसादले प्रतिवादी विश्वरामलाई लेखी दिई ०२७।४।११ मा रजिष्ट्रेशन पारित भएको बकसपत्रमा वादीहरूको हक लाग्ने आधा समेत एकलौटी हकको भनी विष्णुप्रसादले विश्वरामलाई लेखिदिएको सम्म जालसाजी ठहर्छ र समुच्चा लिखत भन्ने वादीहरूको दावी पुग्न सक्तैन भन्ने बागमती अञ्चल अदालतको फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन भनी पुनरावेदनको लागि ०३१।९।१५ मा म.क्षे.अ.मा विश्वरामको पुनरावेदन जिकिर ।
९. मूल बाजे बाहादुरसिंहका जेठा छोरातर्फका सन्तान वादी रामभक्तहरू र बहादुर सिंहका कान्छा छोरा भीमलालको छोरा विष्णुप्रसाद देखिन आयो । प्रमाणको निमित्त पेश भएको १९९७।२।२२ को फैसलाबाट वादी रामभक्त र प्रतिवादी विष्णुप्रसादको नाउँमा आधा– आधा दर्ता गर्ने गरी निर्णय भएको देखिएको र विवादको घर भत्की पाताल भएको घर जग्गा वादी प्रतिवादीहरूको एकलौटी आर्जन भएको र फैसलाबाट समेत आधा–आधा भई दर्ता भएको नदेखिएकोले पुर्खाकै पालको सम्पत्ति देखिन आएको सम्पत्तिमा वादीहरूको समेत हक लाग्ने घर पाताल सम्पूर्ण विष्णुप्रसादले विश्वरामलाई गरी दिएको ०२७।४।११ मा पारित भएको लिखत आधा सम्म जालसाजी ठहराएको शुरू भ.पु.जि.अ.को फैसला सदर गरेको बा.अं.अ.को फैसला मनासिव नै छ भनी म.क्षे.अ.ले ०३८।४।२७ मा फैसला गरेको रहेछ ।
१०. म.क्षे.अ.को फैसला त्रुटिपुर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी विश्वनाथ फाजुले दिनुभएको निवेदनमा उक्त १९९७।२।२२ मा भएको फैसलाको नक्कल हेर्दा यिनै रामभक्त वादी र विष्णुप्रसाद प्रतिवादी भएको जग्गा दर्ता बदर गरिपाउँ भन्ने मुद्दामा तिलकुमारीले यिनै वादीको बाबु रत्नबहादुर, विष्णुप्रसादको बाबु भीमलाललाई तिलकुमारीले शेषपछिको बकसपत्र गरी दिएको बकसपत्रको जग्गामा यी वादीको आधा हक देखिएकोले वादीको नाउँमा समेत दर्ता गरी दिने भन्ने निर्णय भएको देखिएबाट बकसपत्रमा दिएको जग्गामा मात्र आधा हक कायम गरेको उक्त १९९७।२।२२ को फैसला हुँदा हामी समेतको अंश हकको घर पाताल भन्ने दावी लिएकोमा उक्त फैसलाबाट आधा हक देखिएको भनी प्रस्तुत मुद्दामा गरेको निर्णयमा सो फैसलाको सही मूल्याड्ढन नभई त्रुटि (साविक पेज नं. २२) देखिएकोले त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भनी अनुमति प्राप्त भएको रहेछ । प्रतिवादी पुनरावेदक विश्वनाथ फाजुको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्लले वादीहरूले दावी गर्दा १९९७ सालमा भ.पु.जि.अ.बाट भएको फैसलालाई आधार बनाइएको देखिन्छ । तर उक्त फैसलाले वादी दावीको घर पातालमा आधी वादीहरूको हक कायम गरेको छैन । यस्तो अवस्थामा आधा हक वादीहरूको ठहराई आधी लिखत जालसाजी ठहराएको बा.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को निर्णय गल्ती छ भनी बहस प्रस्तुत गर्नुभयो ।
११. प्रस्तुत मुद्दामा वादीहरूको हक लाग्ने आधी समेत एकलौटी भनी विष्णुप्रसादले विश्वरामलाई लेखी दिएको सम्म जालसाजी ठहराई बा.अं.अ.बाट भएको फैसलालाई मनासिव ठहराएको म.क्षे.अ.को फैसला मनासिव वा गल्ती के हो ? निर्णय दिनुपर्ने हुनआएको छ ।
१२. यसमा वादीहरूले जालसाजीतर्फ दावी गर्दा हाल भत्किई पाताल भइरहेको घर पाताल जग्गालाई आधा मर्ने बिष्णुप्रसादको र आधा आफूहरूको ठहर भइराखेको फैसलालाई औंल्याउँदा त्यस्तो घर पाताल जग्गामा अपुताली तथा अंश नामसारी मुद्दाबाट जिती पाएको आधार दर्शाई आफ्नो हक भएकोमा त्यस्तो हक मेटाउने गरी ०२६।७।३० मा लिखत खडा गरी जालसाजी गरेको हुँदा त्यस्तो लिखत बदर गरी जालसाजी गरेतर्फ सजाय समेत गरिपाउँ भनी मूल रूपमा आफ्नो फिरादमा दावी लिएको पाइन्छ ।
१३. पूर्व पश्चिम लम्बाई हात ३८ फुट पूर्वपट्टीको उत्तर दक्षिण गज हात ११ फुट ६ इन्च पश्चिमपट्टिको पूर्व पश्चिम गज हात १५ फुट ७ इन्च माझखण्डमा उत्तर दक्षिण गज हात १९ फुट ७ इन्चको ६ इन्चको घर पाताल जग्गालाई विष्णुप्रसादले विश्वराम फाजुलाई ०२६।७।३० मा हालैदेखिको बकसपत्र गरी दिई उक्त बकसपत्र ०२७।४।११ मा रजिष्ट्रेशन पारित भएको देखिन्छ । वादीहरूको फिराद भनाई बमोजिम वादी रामभक्त प्रतिवादी विष्णुप्रसाद भएको १९९७ साल जेष्ठ २८ गते तत्कालिन भ.पु.अदालतबाट फैसला भएको जग्गा दर्ता बदर नामसारी मुद्दाबाट प्रस्तुत विवादको घर पाताल जग्गामा वादीहरूको आधा हक कायम भएको भन्ने पाइन्छ । तर वादी रामभक्त प्रतिवादी विष्णुप्रसाद भएको १९९७ जेष्ठ २८ गतेको तत्कालिन भ.पु.अदालतबाट फैसला भएको दर्ता बदर मुद्दाबाट प्रस्तुत विवादको घर पाताल जग्गामा वादीहरूको हक कायम भएको देखिन्न । वादीले भीमलाल यिनै वादीहरूको बाबु रत्नबहादुरलाई तिलकुमारीले १९६२ सालमा बकसपत्र गरी दिएको लिखतको आधारबाट उक्त घर पाताल जग्गामा आधा–आधा हक भएको हो भनी उक्त लिखत बेञ्च समक्ष देखाउनुभएकोमा उक्त बकसपत्रको आधारमा वादीले प्रस्तुत फिराद दावी गरेको नदेखिनुको अतिरिक्त उक्त बकसपत्रमा यी वादीहरूले आफ्नो फिरादमा उल्लेख सम्म पनि गरेको देखिन्न । १९६२ सालको बकसपत्रलाई हेर्दा उक्त बकसपत्रबाट वादीहरूको बाबुले आधा घरसम्म बकस पाएको देखिन्छ । तर प्रस्तुत मुद्दामा विवाद घरमा नभई घरपाताल जग्गामा छ । त्यस्तो घरपाताल जग्गा यही (साविक पेज नं. २३) बकस पाएको घर जग्गा हो भन्ने तर्फ कुनै सबूत प्रमाण वादीहरूबाट आएको छैन । १९६२ सालको लिखतमा घरको ४ किल्ला उल्लेख छैन । वादी विष्णुप्रसादले प्रतिवादीलाई बकसपत्र गरी दिएको घर पाताल जग्गाको चार किल्ला उल्लेख भएको पाइन्छ । जालसाजी भनी दावी लिनेले जालसाजीको सबूत प्रमाण दिनुपर्नेमा जालसाजीको कुनै सबूत वादीहरूबाट आउन सकेको छैन ठोस सबूत प्रमाणको अभावमा वादीले १९६२ सालमा पाएको घर हाल दावीको घरपाताल जग्गा नै हो भन्ने स्थितिरहेन । अतः एवं जालसाजी भन्ने वादी दावी पुग्नसक्तैन । वादी दावी झुठ्ठा ठहर्छ । वादीहरूको हक लाग्ने आधा समेत एकलौटी भनी विष्णुप्रसादले विश्वरामलाई लेखी दिएको सम्म जालसाजी ठहराएको बा.अं.अ.को इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को फैसला गल्ती ठहर्छ । तपसीलका कुरामा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
विश्वनाथ फाजूले इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी विश्वरामलाई विष्णुप्रसादले गरी दिएको बकसपत्र आधा सम्मको लिखत जालसाजी ठहराएको म.क्षे.अ.को २०३८।४।२७ को फैसला उल्टी हुँदा विश्वनाथ फाजूलाई म.क्षे.अ.ले गरेको जरिवाना रू.।२५। पच्चीस पैसा सर्वोच्च अदालतमा दाखिल गरेकोले सो रू.।२५। पैसा बा.अं.अ.ले ०३१।४।२३ को फैसला बमोजिम गरेको जरिवाना रू.।५० पैसा र शुरू भ.पु.जि.अ.ले ०२९।३।३१ को फैसला बमोजिम गरेको जरिवाना रू.५ समेत गरी जम्मा रू.५।७५ समेत सर्वोच्च अदालतको फैसला बमोजिम नलाग्ने हुँदा निज विश्वनाथ फाजूको ऐनको म्यादभित्र दरखास्त परे केही नलिई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु ..............................................१
वादी रामभक्त समेत के जालसाजी तर्फ वादी दावी नपुग्ने ठहरी फैसला भएकोले थैली रू.१९०१। देखिन्छ कीर्ते कागजको १० नं.ले जालसाजी ठहरे रू.४७५।२५ हुनेमा दण्डसजायको १८ नं.ले आधा सजाय हुनेमा उजूर गर्दाको अवस्थामा रिसइवी नदेखिँदा रू.३। तीन जरिवाना हुन्छ । देहायमा लेखिएको बराबरीका दरले वादीहरूबाट असूल गर्नु भनी का.जि.अ.त.मा लगत दिनु........................................................................२
रामभक्त भुजू के रू.१।, चन्द्रबहादुर के रू.१।, टिकालाल के रू.१।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल बैशाख १५ गते रोज ५ शुभम् ।