शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५९९ - जबर्जस्ती करणी

भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक:

ने.का.प.२०६८, अङ्क ०४, निर्णय नं. ८५९९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

२०६४CR०४४१

फैसला मितिः २०६७।१०।१८।३

मुद्दा : जवरजस्ती करणी 

पुनरावेदक वादीः ककुमारीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी प्रतिवादीः भारत, पञ्जाव घर भई बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं. ५        सल्यानीबागमा डेरा गरी बस्ने हाल कारागार कार्यालय बाँकेमा कैदमा रहेका राजेन्द्रसिँह           सिख

           

शुरू फैसला गर्ने :

मा.जि.न्या.श्री प्रकाशराम मिश्र

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री विष्णुप्रसाद ढकाल

मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ

 

§  जवरजस्ती करणीको वारदात स्थापित हुन योनीको जाली च्यातिनै पर्ने पूर्वशर्त रहेको हुँदैन । कन्याजाली च्यातिएको अवस्थाले अपराध स्थापित गर्न थप पुष्टि गर्नेसम्म हो । करणी भएको यकीनसाथ भन्न नसकिने भन्ने शारीरिक परीक्षण प्रतिवेदनले उल्लेख गरेको देखिए पनि सो परीक्षण घटना घटेको १० दिनपछि भएको अवस्थामा सो प्रतिवेदनलाई मात्र निर्णयाधारको रूपमा ग्रहण गर्न नसकिने 

§  जाहेरी, जाहेरवालाको भनाई, पीडितको भनाई, बुझिएका मानिसहरूको भनाई समेत अन्य प्रमाणहरूले आपराधिक कार्यलाई स्थापित गरिरहेको अवस्थामा मनासिब समयभित्र नभएको परीक्षण प्रतिवेदनको राय अन्य प्रमाणहरूभन्दा भिन्न भएको अवस्थामा करणीको लक्षण नदेखिएको भन्ने परीक्षण प्रतिवेदन निर्णायक प्रमाणको रूपमा रहन नसक्ने 

(प्रकरण नं.५)

§  जवरस्ती करणीको अपराध र यसको उद्योगका बीचमा मनसाय र कार्यको दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको स्थितिलाई उद्योगको रूपमा चित्रित गरिएको छ । मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य गरेको हुँदैन । तसर्थ, यो चरणसम्म अपराधको उद्योगको प्रश्न उठ्दैन । तर त्यस्तो अपराध गर्न चाहने व्यक्तिले तयारीको चरणलाई पार गरी आपराधिक कार्य गरेको देखिएमा त्यो कार्य उद्योगसम्म मात्र सीमित रहेको मान्न नमिल्ने 

§  केवल पूर्ण अपराधको लागि परिभाषित आपराधिक कार्य स्थापित हुन नसकेमा त्यस्तो कार्यलाई मात्र सो अपराधको उद्योगको रूपमा ग्रहण गर्नुपर्ने 

§  आपराधिक कार्य भइसकेको तर पूर्णता नपाएको अवस्था भएमा मात्र त्यो उद्योग हुने हो । यदि त्यस्तो कार्यले पूर्णता पाएको अवस्था भएमा सो कार्यले पूर्ण अपराध नै स्थापित हुन जाने हुन्छ, यस्तो अवस्थालाई उद्योग मात्र मान्न नमिल्ने 

(प्रकरण नं.७)

§  एकान्त घर कोठामा लगी करणी गरेको तथ्य स्थापित भइरहेको अवस्थामा सो कार्यलाई उद्योग मात्र भएको भनी मान्न नमिल्ने । पीडितको योनीबाट रगत बग्नु, निजको कपडामा लाग्नु तथा यस कुराको पुष्टि सो अवस्थाका प्रत्यक्षदर्शीबाट हुनुबाट अपराधले पूर्णता पाएको स्वीकार गर्नुपर्ने 

(प्रकरण नं.९)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज बराल

प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री शान्ता सेढाई

अवलम्बित नजीरः

§  नेकाप २०६३, अङ्क ४, नि.नं ७६८२, पृ. ४६२

§  नेकाप २०६५, अङ्क १, नि.नं ७९२३, पृ. ११०

सम्बद्ध कानूनः

§  मुलुकी ऐन, जवरजस्ती करणीको महलको १ नं.३(२), १० नं.

 

फैसला

न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०६३।३।११ मा भएको फैसला दोहोर्‍याई पाऊँ भनी वादी नेपाल सरकारको तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०६४।६।१७ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छ :

यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४, अङ्क ९, नि.नं ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम जाहेरवाली पीडितको आमा र पीडितको नाम परिवर्तन गरी निजहरूको वास्तविक नाम सिलबन्दी गरी मिसिल सामेल गरिएको छ । सो सिलबन्दी खाम फैसलाको अभिन्न अङ्ग मानी अ.बं २१ नं बमोजिम तायदाती फारमको नमूनाको कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नु 

            मिति २०६०।१०।१९ गतेका दिनमा हामी घर परिवार घरमा नभएका अवस्थामा मेरी सुस्त मनस्थितिकी वर्ष १४ की छोरी खकुमारीलाई घर कोठामा बोलाई डर, धाक, धम्की दिई जवरजस्ती करणी गरेको रहेछन्, पछि म घर आइपुग्दा निज अलि अप्ठ्यारो गरी हिँडेकीले के कसो भयो भनी सोधपुछ गर्दा ठूला पापाले गरेको भनी जानकारी दिएपछि थाहा पाई जाहेर गर्न आएकी छु । निज जवरजस्ती करणी गर्ने राजेन्द्रसिँह सिखलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको खकुमारीको जाहेरी दरखास्त 

            जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं. ५ स्थित पूर्व केशव श्रेष्ठको घर पश्चिम मस्जिदको जमीन, उत्तर केशव श्रेष्ठको घर, दक्षिण गयाप्रसाद साहको घर यति चारकिल्ला बीचमा रहेको ईट्टाको देवाल, टिनले छाएको तीन कोठामा सुरजलाल भुजवाको घर कोठा भाडामा लिई बस्ने जाहेरवाली ककुमारीकी छोरी खकुमारीलाई सो घर कोठाको पूर्वपट्टि कोठामा कोही नभएको अवस्थामा प्रतिवादी राजेन्द्रसिँह सिखले मिति २०६०।१०।१९ गते जवरजस्ती करणी गरेको ठीक साँचो हो भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का 

            मिति २०६०।१०।१९ गतेका दिन म मेरो पसलमा एक्लै थिएँ । मेरो बुवा नाता पर्ने राजेन्द्रसिँह सिख आई घर कोठामा बोलाई विस्तरामा गएपछि निजले पैण्ट खोली जवरजस्ती करणी गरे, मैले कराउन खोज्दा मुख थुनिदिए । कसैलाई भने मारी दिन्छु भनेकोले हालसम्म कसैसँग भनिन, मलाई करणी गर्दा निजको छोरीले देखेकी थिइन् । निजबाट नै सो कुरा खुल्न पुगी मेरो आमाले थाहा पाई मलाई सोधपुछ गरेबाट मैले हाल मात्र आमालाई भनेकी हुँ भन्ने समेत व्यहोराको पीडित खकुमारीको कागज 

            मिति २०६०।१०।१९ गतेका दिन म मेरो काम गर्ने स्थान भेरी टैक्सटाइल रानी तलाउमा थिएँ, जाहेरवाली मेरो साली नाता पर्ने हुन् । निजले मसँग पैसा सापटी मागेकी र सो पैसा मैले नदिएका कारणले रिसइवी लिई मलाई फसाउने उद्देश्य लिई मेरो छोरी नाता पर्ने सुस्त मनस्थितिकी पीडितलाई माध्यम बनाएकी हुन् । मैले पीडितलाई कुनै किसिमको करणी गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्रसिँह सिखको बयान 

            मिति २०६०।१०।१९ गते म मेरो घरमा नै थिएँ । प्रतिवादी राजेन्द्रसिँह सिखले जाहेरवालीकी छोरीलाई जवरजस्ती करणी गरेको त देखिँन । पीडितले जाहेरीवालीलाई भनेपछि जाहेरवालीले पीडितसँग सोधपुछ गर्दा निज प्रतिवादी राजेन्द्रसिँह सिखले जवरजस्ती करणी गरेको भन्ने थाहा जानकारी पाऊँ । निज प्रतिवादी राजेन्द्रसिँह सिख राम्रो नैतिकता भएका मानिस होइनन् । निजको घर भारत भए पनि नेपालमा निर्वाह गरी नेपालगञ्ज नगरपालिका वडा नं. ५ सल्यानीवागमा बस्ने गर्दछन् भन्ने समेत व्यहोराको एकैमिलानको चन्द्रबहादुर राना समेतको घटनास्थल विवरण मुचुल्का 

            सुस्त मनस्थितिकी नाबालिका पीडितको कमजोरीको फाइदा उठाउँदै निजलाई डर, त्रास, समेत देखाई प्रतिवादी राजेन्द्रसिँह सिखले जवरजस्ती करणी गरेको देखिँदा निजलाई मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. विपरीत कसूरमा सोही महलको ३(२) नं. बमोजिम सजायको साथै ऐ. १० नं. बमोजिम आधा अंश समेत पीडितलाई भराई पाउने माग दावी गर्दै सक्कल मिसिलका साथै प्रतिवादी राजेन्द्रसिँह सिखलाई समेत यसै साथ प्रस्तुत गरिएको भन्ने समेत व्यहोराको अभियोग माग दावी 

            मेरो पीडित भनिएकी केटीको बुवा र आमासँग झगडा रिसइवी रहेको कारण उनीहरूले जाहेरी दिई सुस्त मनस्थितिको छोरीलाई सोहीबमोजिम कागज गराई रिसइवी साँध्न यसो गरेको हुन् । घटना विवरण कागज गर्ने मानिस जाहेरवालीका गफमेलका मानिसहरू हुन् । त्यसैले मलाई नचिने पनि चिने झैँ गरी झूठा आरोप लगाएका हुन् । निजहरूले मभन्दा पहिला पनि दुई जनालाई यस्तो आरोप लगाएका थिए । मैले अभियोग दावीबमोजिम जवरजस्ती करणी नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन, सफाइ पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्रसिँह सिखले अदालतमा गरेको बयान 

            मिति २०६०।१०।१९ गते प्रतिवादी राजेन्द्रसिँह सिखले मेरो मुख थुनेर कपडा खोलेर नेपालगञ्जस्थित सल्यानीवागको घरमा जवरजस्ती करणी गरेका हुन भन्ने समेत व्यहोराको पीडित खकुमारीले गरेको बकपत्र 

            मिति २०६०।११।१९ गते प्रतिवादीको श्रीमतीले प्रतिवादीलाई खाना पुर्‍याउन साथै जाऊँ भनेकाले प्रतिवादीले कपडा बुन्ने फैक्ट्रीमा निज प्रतिवादीको श्रीमतीको साथ गएकोले प्रतिवादीसँग दिनको १ बजे भेट भएको थियो । म ३ बजेसम्म फैक्ट्रीमा बसेको थिएँ । प्रतिवादीले पीडितलाई जवरजस्ती करणी गरेको थाहा भएन, देखिन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी पुष्पा के.सी ले गरेको बकपत्र 

            मिति २०६०।१०।१९ गते बेलुकी ४ बजेको समयमा जाहेरवालाको पसलमा पुग्दा निजले घरमा रोए, कराएको जस्तो सुनेर दोकानमा गएर पीडितको आमासँग के भयो भनी सोध्दा उहाँले मेरो छोरीलाई राजेन्द्रसिँह सिखले जवरजस्ती करणी गरेको भनेकाले केटीलाईं हेर्न जाँदा केटीको होस नरहेको र लुगा पनि खराब थियो । लुगामा रगत लागेको थियो भन्ने समेत व्यहोराको घटना विवरणका मानिस बनवारीलाल वैश्यले अदालतमा गरेको बकपत्र 

            मिति २०६०।१०।१९ गते प्रतिवादी राजेन्द्रसिँह सिखले भित्र तानी चुकुल लगाई मुख थुनी जवरजस्ती करणी गर्‍यो भनी मलाई छोरीले बताएकी थिइन् भन्ने समेत व्यहोराको जाहेरवाली ककुमारीको बकपत्र 

मिति २०६०।१०।१९ गते बिहान ८ देखि बेलुका ६ बजेसम्म प्रतिवादी राजेन्द्रसिँह सिख भेरी टैक्सटायलमा ड्यूटीमा हुनुहुन्थ्यो भन्ने समेत व्यहोराको बुझिएकी वर्ष १४ को सोनु सिँहले गरेको बकपत्र 

            राजेन्द्रसिँह सिखले पीडितलाई जवरजस्ती करणी गरेका हुन् । जवरजस्ती करणी भएको कुरा पीडित स्वयंले भनेपछि थाहा पाएकी हुँ भन्ने समेत व्यहोराको बुझिएकी वर्ष १३ की रक्षा बि.क.ले गरेको बकपत्र 

            प्रतिवादीले कारागार शाखा, बाँकेमार्फत् पुनरावेदन अदालत, नेपालगञ्जमा अ.वं. १७ नं. बमोजिमको निवेदन प्रस्तुत गरेकोमा सो निवेदनमा भएको आदेशानुसार बाँके जिल्ला अदालतबाट कैफियत प्रतिवेदन प्रस्तुत गरिएकोमा पुर्पक्ष निमित्त थुनामा राखेको मिति २०६०।११।२६ को आदेश परिवर्तन गरी रहन परेन भन्ने पुनरावेदन अदालतबाट मिति २०६१।२।८ को आदेशसहितको निवेदन र कैफियत प्रतिवेदन मिसिल संलग्न रहेको 

            जाहेरवाली आमाले वारदातपछि रगत बगिरहेको भनी उल्लेख गर्नुको साथै बनवारीलाल वैश्यले पनि वारदात भएको, रगत बगेको थियो भनी यस अदालतमा समेत पोली बकपत्र गरेको देखिन्छ । तर, निज प्रत्यक्षदर्शी समेत होइनन् । यस्तो अवस्थामा करणी गरेकै हुन् भन्ने प्रमाणित नभएता पनि आमा बावु नभएको मौकामा गई पीडितलाई पीडा पुर्‍याएको देखिँदा जवरजस्ती करणीको उद्योगसम्मको अवस्था देखिएकोले यी प्रतिवादी राजेन्द्रसिँह सिखलाई मुलुकी ऐन जवरजस्ती करणी महलको ५ नं.अनुसार उक्त ऐनको ३(२) नं. बमोजिम हुनसक्ने कैदको आधा ४(चार) वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरू बाँके जिल्ला अदालतको मिति २०६१।९।२१ को फैसला 

            वर्ष १४ की पीडितले प्रतिवादी ठूलोबुबा नाताका राजेन्द्रसिँह सिखले घरमा कोही नभएको मौका पारी कोठाभित्र लगी मुख थुनी कराउन नदिई जवरजस्ती करणी गरेको भनी अनुसन्धानको क्रममा र अदालतमा समेत उपस्थित भै बकपत्र गर्दा प्रतिवादीउपर किटानी गरेका छन् । जाहेरीलाई बुझिएका व्यक्तिहरूले समर्थन गरी अदालतमा बकपत्र गरेका छन् । पीडितको योनीबाट रगत बगेको र कपडामा लागेको भनी जाहेरवाला तथा बुझिएका बनवारीलाल वैश्यले अदालतमा बकपत्र गर्दा उल्लेख गरेका छन् । त्यस्तो अवस्थामा रगत बगेको कुरा प्रमाणित गराउन नसकेको भनी आत्मगत तर्कलाई आधार लिई प्रतिवादीलाई जवरजस्ती करणी कसूरमा सजाय नगरेको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा समेत कसूरमा इन्कार रही अन्यत्र रहेको जिकीर गरे पनि पुष्टि गर्न नसकेको र पीडितले अनाहकमा ठूलोबुबा साइनोका यी प्रतिवादीलाई पोल गर्नुपर्नेसम्मको कारण मिसिलबाट देखिन नआएको र अन्यथा पुष्टि हुन सकेको छैन । यस्तो अवस्थामा पीडितलाई घटनास्थलमा गई पीडा पुर्‍याएको भन्ने स्वीकार गर्दै शुरू निर्णयकर्ताले मिसिल कागजबाट जवरजस्ती करणी गरेको देखिएको अवस्था हुँदाहुँदै जवरजस्ती करणीको कसूरमा सजाय गर्नुपर्नेमा उद्योगसम्म ठहर्‍याएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादी राजेन्द्रसिँह सिखलाई शुरू अभियोगपत्र माग दावीबमोजिम सजाय गरी आधा अंश समेत पीडितलाई दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र 

            यसमा पीडितले अदालतमा उपस्थित भई बकपत्र गर्दा समेत प्रतिवादी राजेन्द्रसिँह सिखले मुख थुनी जवरजस्ती करणी गरेको भनी किटानीसाथ लेखाइदिएको र निजको योनीबाट रगत बगिरहेको भनी तत्काल देख्ने निजकी आमाको बकपत्र समेतबाट देखिएको अवस्थामा जवरजस्ती करणीको उद्योगमात्र ठहर गरेको शुरू बाँके जिल्ला अदालतको मिति २०६१।९।२१ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा नमिली फरक पर्नसक्ने देखिँदा प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६२।५।२१ गतेको आदेश 

            यसरी जाहेरवाला तथा पीडितले प्रतिवादी राजेन्द्रसिँह सिखले जवरजस्ती करणी गरेको हो भनी पोल गरी बकपत्र समेत गरेको र सो वारदातका विषयमा निजहरूले भनेको मौकामा सुनेको भन्ने बनवारीलाल वैश्य, रक्षा बि.क.आदिको बकपत्र भनाइ रहेको समेत देखिए पनि मिसिल सामेल रहेको भेरी अञ्चल अस्पतालबाट पठाएको पीडितको स्वास्थ्य जाँच परीक्षण प्रतिवेदनको फोटोकपी एवम् प्रयोगशालाको प्रतिवेदन व्यहोरासमेतको आधारबाट अभियोग दावीबमोजिम जवरजस्ती करणी नै भएको हो भन्ने कुराको तथ्ययुक्त रूपमा पुष्टि हुने अन्य ठोस एवं प्रत्यक्ष प्रमाण दिन गुजार्न सकेको नदेखिएको समेतको अवस्थामा प्रतिवादीले जवरजस्ती करणीको उद्योगसम्मको कसूर गरेको ठहर्‍याई निजलाई ४(चार) वर्ष कैद सजाय गर्ने गरी शुरू बाँके जिल्ला अदालतबाट मिति २०६१।९।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६३।३।११ को फैसला 

            मेरी वर्ष १४ की छोरी पसलमा एक्लै रहेकी, कोही नभएको मौकामा ठूलोबुबा भन्ने राजेन्द्रसिँह सिखले डर धाक देखाई करणी गरेको कुरा छोरीले भनेको भनी जाहेरी परेको, पीडितले मौकामा कागज गर्दा पसलमा एक्लै भएको अवस्थामा ठूलोबुबा राजेन्द्रसिँह सिखले भित्र विस्तारामा लगी मुख थुनी करणी गरेको र कसैलाई भने मारी दिन्छु भनेकाले डरले कसैलाई भनेकी थिइन । सानीआमाको छोरीलाई भनेकी थिएँ, पछि आमाले थाहा पाउनु भएको हो भनी लेखाई दिएकी र सो कुरा अदालतमा समेत उपस्थित भै बकपत्र गरी दिएकी छन् । बुझिएका मानिसहरू वनवारीलाल वैश्य र रक्षा वि.क. समेतले किटानी जाहेरी र पीडितको मौकाको कागजलाई पुष्टि हुने गरी बकपत्र गरिदिएको हुँदा सो बकपत्र व्यहोरा समेतलाई प्रमाण ऐन, २०३१ को दफा १०, दफा १८ बमोजिम प्रमाणमा लिई प्रतिवादी राजेन्द्रसिँह सिखले पीडितलाई जवरजस्ती करणी गरेको ठहर्‍याउनु पर्नेमा शुरू बाँके जिल्ला अदालतबाट जवरजस्ती करणीको उद्योगसम्म ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालत, नेपालगञ्जको फैसला प्रत्यक्ष प्रमाणलाई ग्रहण नगरी भएको र प्रमाण ऐन, २०३१ को दफा १०, दफा १८ एवम् दफा ५४ को प्रतिकूल भएको हुँदा उक्त फैसला सो हदसम्म त्रुटिपूर्ण भई बदरभागी छ । प्रतिवादी राजेन्द्रसिँहले १४ वर्षकी नाबालिकालाई जवरजस्ती करणी गरेको भनी छोरीको इज्जत, चरित्र एवं सुदूर भविष्यमा समेत असर पर्ने गरी आमाले किटानी गरी जाहेरी दिनु पर्ने अन्यथा कुनै कारण र अवस्था देखिँदैन भने आफ्नो शारीरिक कमजोरीको फाइदा उठाई प्रतिवादीले आफूलाई जवरजस्ती करणी गरेको भनी इज्जत र प्रतिष्ठामा समेत आँच आउने गरी मौकामा र अदालतसमक्ष आई पीडित नाबालिकाले किटानी बकपत्र गरेकोलाई सामान्य र स्वाभाविक अवस्था मान्न सकिने स्थिति छैन । एक सुस्त मनस्थितिको १४ वर्षे बालिकालाई पटकपटक डर, धाक, धम्की देखाई पीडितलाई शारीरिक तथा मानसिक असर पर्ने गरी प्रतिवादीले जवरजस्ती करणी गरेको कुरा पीडितको किटानी व्यहोरा, पीडितको योनीबाट रक्तश्राव भएको, योनी पाकेको भन्ने पुनः स्वास्थ्य परीक्षणबाट पुष्टि भएको र जवरजस्ती करणीको उद्योगमात्र गरेको र जवरजस्ती करणी गरेको भन्ने कुरा कहीँ कतैबाट खुल्न, देखिन नआएको भन्दै आत्मगत हिसावले प्रतिवादीले जवरजस्ती करणीको उद्योगमात्र गरेको ठहर्‍याएको शुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, नेपालगञ्जबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १०, दफा ५४, मुलुकी ऐन जवरजस्ती करणीको महलको ३(२) नं. र ५ नं. को गम्भीर कानूनी त्रुटि हुनुको साथै सम्मानीत अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएको हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादी राजेन्द्रसिँह सिखलाई अभियोग दावीबमोजिम सजाय गरी प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

            यसमा पीडितले अनुसन्धानको क्रममा तथा अदालतमा समेत प्रतिवादीउपर निजले जवरजस्ती करणी गरेको भनी बकपत्र समेत गरी किटानी लेखाई देखाई गरी रहेको र निजको स्वास्थ्य परीक्षण समेतबाट रक्तश्राव समेत भएको पुष्टि भै रहेको अवस्थामा पनि जवरजस्ती करणीको उद्योगसम्म गरेको ठहराएको शुरूको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत नेपालगञ्जको इन्साफमा सबूद प्रमाणको मूल्याङ्कन गलत ढंगले गरी प्रमाण ऐन, २०३१ को दफा ५४ मुलुकी ऐनको जवरजस्ती करणीको महलको १ र ३ नं. को कानूनको व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६४।६।१७ को आदेश 

            नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री योगराज बरालले पीडित १४ वर्षकी सुस्त मनस्थितिकी नाबालिकालाई कोही नभएको मौका पारी यी प्रतिवादी जवरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको छ । पीडितले मौकामा र अदालतमा उपस्थित भई बकपत्र गर्दा यी प्रतिवादीले विस्तरामा लगी मुख थुनी जवरजस्ती करणी गरेको र कसैलाई भने मारी दिन्छु भनी भनेको भन्ने व्यहोरा लेखाएकी छिन् । बुझिएका मानिसहरू वनवारीलाल वैश्य र रक्षा वि.क. समेतले जाहेरी तथा पीडितको भनाइलाई पुष्टि गर्ने गरी बकपत्र गरेको अवस्था छ । जाहेरी एवम् सोको व्यहोरालाई समर्थन गर्ने गरी भएका बकपत्रहरूलाई प्रमाणमा लिनुपर्ने प्रमाण ऐन, २०३१ को दफा १८ ले व्यवस्था गरेको छ । पीडितको योनीबाट रक्तश्राव भएको अवस्थामा शुरू जिल्ला अदालतले माग दावीबमोजिम जवरजस्ती करणी ठहर गर्नुपर्नेमा सो नठहराई करणीको उद्योगमात्र ठहराएको र शुरूको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको प्रमाण ऐन, २०३१ को दफा १०, १८, ५४ तथा जवरजस्ती करणीको महलको ३(२) नं. र ५ नं. समेतको गम्भीर कानूनी त्रुटि भएकोले उक्त फैसलालाई उल्टी गरी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरी निजको आधा अंश प्रतिवादीलाई भराई दिनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो 

            प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री शान्ता सेढाईले यी प्रतिवादीले अनुसन्धानको क्रममा तथा अदालतमा भएको बयानमा कसूर अभियोगमा पूर्णतः इन्कार रही बयान गरेको अवस्था छ । घटनाको प्रत्यक्षदर्शी कोही छैन, किटानी भनिएको जाहेरी भने सुनेको आधारमा दिइएको छ । पीडित भनिएकी बालिकाको बुवा आमासँग यी प्रतिवादीको रिसइवी रहेको कारण यी प्रतिवादीलाई फँसाउन सुस्त मनस्थिति भएकी छोरीलाई प्रयोग गरी जाहेरी दिएको अवस्था हुँदा जवरजस्ती करणीको उद्योगसम्म पनि ठहर हुन सक्ने अवस्था छैन । जाहेरी १० दिनपछि परेको र जाहेरवाली आमाले अदालतमा बकपत्र गर्दा बारदातपछि रगत बगिरहेको थियो भनी लेखाएको भए पनि निज प्रत्यक्षदर्शी नभएको अवस्थामा अभियोग दावी लिएकै आधारमा अपराध कायम हुन नसक्ने हुँदा पुनरावेदकको पुनरावेदन जिकीरबमोजिम यी प्रतिवादीलाई सजाय हुने अवस्था छैन भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो 

            मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी पुनरावेदक तथा प्रत्यर्थीको तर्फबाट प्रस्तुत भएका बहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०६३।३।११ मा भएको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

            २. निर्णयतर्फ विचार गर्दा मिति २०६०।१०।१९ गते घरमा कोही नभएको अवस्थामा १४ वर्षकी सुस्त मनस्थिति भएकी मेरो छोरीलाई कोठामा बोलाई डर, धाक, धम्की दिई राजेन्द्रसिँह सिखले जवरजस्ती कारणी गरेका रहेछन् । पछि म घरमा आइपुग्दा पीडित छोरी अप्ठेरो गरी हिँडेकाले सोधपुछ गर्दा थाहा भएकोले निजलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भनी पीडितकी आमाले दिएको जाहेरीको आधारबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखिन्छ । पीडितले अधिकारप्राप्त अधिकारी समक्ष कागज गर्दा उक्त वारदात मितिमा राजेन्द्रसिँह सिख घरमा आई घर कोठामा बोलाई जवरजस्ती करणी गरे, मैले कराउन खोज्दा मुख थुनिदिए, कसैलाई भने मारी दिन्छु भनी भनेकोले मैले कसैलाई भनिन भनी लेखाई दिएको देखिन्छ । प्रतिवादी राजेन्द्रसिँह सिखले अनुसन्धानको क्रममा भएको निजको बयानमा घटनामा इन्कार रही आफूले कसूर नगरेको, जाहेरवालीले पैसा सापटी मागेकोमा सापटी नदिएको कारणले फँसाउन जाहेरी दिएको भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिन्छ भने अनुसन्धानको क्रममा भएको घटनास्थल मुचुल्कामा प्रतिवादी राजेन्द्रसिँह सिखले मिति २०६०।१०।१९ मा जवरजस्ती करणी गरेको ठीक साँचो हो भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ 

३. यी प्रतिवादीले सुस्त मनस्थिति भएकी १४ वर्षकी नाबालिका पीडितलाई जवरजस्ती करणीको महलको १ नं. विपरीत जवरजस्ती करणीको कसूर गरेकोले सोही महलको ३(२) नं. बमोजिम सजायका साथै सोही महलको १० नं. बमोजिम आधा अंश समेत पीडितलाई भराई पाउन माग दावी लिई अभियोगपत्र दायर भएको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा आफूले कसूर नगरेको भनी अभियोग दावीमा पूर्ण इन्कार रही वयान गरेको देखिन्छ भने यी प्रतिवादीउपर जाहेरीवालीको किटानी जाहेरी भएको र सो जाहेरीलाई समर्थन हुने गरी निजले अदालतमा आई बकपत्र गरेको देखिन्छ । पीडितले अदालतमा आई गरेको बकपत्रमा आफूले अनुसन्धानको क्रममा व्यक्त गरेको भनाईलाई समर्थन हुने गरी अभियुक्तले जवरजस्ती करणी गरेको हो भनी निजको व्यहोरा लेखाई दिएको पाइन्छ । बुझिएका मानिसहरू वनवारीलाल वैश्य र रक्षा वि.क. ले अदालतमा आई बकपत्र गर्दा किटानी जाहेरी र पीडितको भनाईलाई समर्थन हुने गरी आफ्नो भनाई लेखाएको देखिएको छ 

            ४. पुनरावेदन अदालतबाट शुरू जिल्ला अदालतले प्रतिवादीले जवरजस्ती करणीको उद्योगसम्म गरेको ठहर गर्ने गरी भएको फैसलालाई सदर गर्ने गरी भएको फैसलामा निर्णयाधारको रूपमा उल्लिखित प्रमाणहरूको विवेचना एवं मूल्याङ्कन गरी भेरी अञ्चल अदालतबाट भएको स्वास्थ्य परीक्षणको प्रतिवेदनलाई उल्लेख गरेको देखिन्छ । मिसिल संलग्न भेरी अञ्चल अस्पतालबाट मिति २०६०।१०।२९ मा भएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा पीडितको योनीको जाली नच्यातिएको, कुनै संघर्षको चिन्ह हाल नपाइएको, शुक्रकीट नपाइएको भन्ने समेत आधारमा करणी भएको हो भनी यकीन साथ भन्न नसकिने भनी उल्लेख भएको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण गरी कन्याजाली नच्यातिएको भन्ने समेत व्यहोरा उल्लेख गरी सोसम्बन्धी प्रतिवेदन दिने चिकित्सकको अदालतमा बकपत्र भएको समेत मिसिलबाट देखिएको छैन । करणी आफैँमा गम्भीर प्रकृतिको अपराध भई प्रायः एकान्तस्थलमा घटित हुने प्रकृतिको अपराध भएको हुनाले त्यस्तो अपराध पुष्टि गर्न प्रत्यक्षदर्शी अभाव हुनु स्वाभाविक हो । प्रस्तुत मुद्दामा आपराधिक घटना घर कोठामा नै भएको देखिन्छ । पीडितको उमेर १४ वर्ष रहेको र निज मानसिक रूपमा सुस्त रहेकी समेत मिसिलबाट देखिएको छ । मानसिक रूपमा दुर्वल रहेको पीडित र त्यस्तो पीडितको अभिभावकले केवल प्रतिवादीलाई फसाउनकै लागि काल्पनिक वारदात खडा गरेको भन्ने प्रतिवादीको जिकीर भनाइलाई निजले पुष्टि गर्न सकेको देखिँदैन । प्रतिवादीको यस्तो भनाई आफैँमा विश्वासनीय समेत रहेको छैन 

५. प्रस्तुत मुद्दामा वारदात मिति २०६०।१०।१९ मा भएको देखिन्छ भने पीडित परीक्षण मिति २०६०।१०।२९ मा मात्र भएको देखिन्छ । वारदातभन्दा १० दिनपछि भएको परीक्षणमा करणीका संकेतहरू नदेखिनु स्वाभाविक हुन्छ । परीक्षण प्रतिवेदनमा पीडितको योनीको जाली नच्यातिएको भन्ने उल्लेख भएको देखिन्छ । जवरजस्ती करणीको वारदात स्थापित हुन योनीको जाली च्यातिनै पर्ने पूर्वशर्त रहेको हुँदैन । यस्तो कन्याजाली च्यातिएको अवस्थाले अपराध स्थापित गर्न थप पुष्टि गर्नेसम्म हो । करणी भएको यकीनसाथ भन्न नसकिने भन्ने शारीरिक परीक्षण प्रतिवेदनले उल्लेख गरेको देखिए पनि सो परीक्षण घटना घटेको १० दिनपछि भएको देखिएबाट सो प्रतिवेदनलाई मात्र निर्णयाधारको रूपमा ग्रहण गर्नसक्ने अवस्था देखिन आएन । जाहेरी, जाहेरवालाको भनाई, पीडितको भनाई, बुझिएका मानिसहरूको भनाई समेत अन्य प्रमाणहरूले आपराधिक कार्यलाई स्थापित गरिरहेको अवस्थामा मनासिब समयभित्र नभएको परीक्षण प्रतिवेदनको राय अन्य प्रमाणहरूभन्दा भिन्न भएको अवस्थामा अन्य प्रमाणहरूभन्दा भिन्न करणीको लक्षण नदेखिएको भन्ने परीक्षण प्रतिवेदन निर्णायक प्रमाणको रूपमा रहनसक्ने अवस्था देखिन आएन 

६. जवरजस्ती करणीको अपराधका तत्वहरू के के हुन वा यो अपराध स्थापित हुन के कस्ता मानव कार्यहरू भएको हुनुपर्दछ भन्ने सम्बन्धमा विचार गर्नुपर्ने अवस्था छ । प्रस्तुत मुद्दाको वारदात भएको मितिमा प्रचलित जवरजस्ती करणीको महलको १ नं मा भएको कानूनी व्यवस्था हेर्दा, “कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकीलाई उसको मञ्जूरी लिई वा नलिई जुनसुकै ब्यहोरासँग करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुशी बिना बेमञ्जूरीले जुनसुकै तरहसँग भए पनि जोरजुलम गरी वा डरधाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जवरजस्ती करणी ठहर्छभन्ने उल्लेख भएको पाइन्छ । सोह्र वर्ष मुनिकी बालिका वा कुनै स्वास्नी मानिसलाई उसको मञ्जूरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरे पनि जवरजस्ती करणी गरेको मानिने भन्ने उक्त कानूनी ब्यवस्थाअनुसार नाबालिकाको हकमा निजको मञ्जूरीबाट करणी भएमा पनि जवरजस्ती करणीको परिभाषाभित्र पर्न आउने देखिन्छ 

            ७. जवरजस्ती करणीको अपराध र यसको उद्योगका बीचमा मनसाय र कार्यको दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको स्थितिलाई उद्योगको रूपमा चित्रित गरिएको छ । मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य गरेको हुँदैन । तसर्थ, यो चरणसम्म अपराधको उद्योगको प्रश्न उठ्दैन । तर त्यस्तो अपराध गर्न चाहने व्यक्तिले तयारीको चरणलाई पार गरी आपराधिक कार्य गरेको देखिएमा त्यो कार्य उद्योगसम्म मात्र सीमित रहेको मान्न मिल्दैन । केवल पूर्ण अपराधको लागि परिभाषित आपराधिक कार्य स्थापित हुन नसकेमा त्यस्तो कार्यलाई मात्र सो अपराधको उद्योगको रूपमा ग्रहण गर्नु पर्दछ । मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. ले जवरजस्ती करणीको अपराधको परिभाषा गरेको र सोही महलको ५ नं. मा सो अपराधको उद्योगलाई समेत अपराधको रूपमा ग्रहरण गरी सोलाई समेत निषेध गरिएको देखिन्छ । यसबाट जवरजस्ती करणीको अपराध र यसको उद्योगको बीचमा रहेको भिन्नतालाई छुट्याउनको लागि अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य प्रारम्भ गरिसकेपछि सो आपराधिक कार्यले पूर्णता प्राप्त गरेको छ, छैन भन्ने आधारमा पूर्ण अपराध र सोको उद्योगलाई छुट्याउनु पर्ने हुन आउँछ । यदि आपराधिक कार्य भइसकेको तर पूर्णता नपाएको अवस्था भएमा मात्र त्यो उद्योग हुने हो । यदि त्यस्तो कार्यले पूर्णता पाएको अवस्था भएमा सो कार्यले पूर्ण अपराध नै स्थापित हुन जाने हुन्छ, यस्तो अवस्थालाई उद्योग मात्र मान्न मिल्दैन 

८. शुरूको फैसलाले जवरजस्ती करणीको उद्योगसम्म ठहर गरेकोमा पुनरावेदन अदालतले सोही फैसलालाई सदर गरेको देखिन्छ । प्रस्तुत मुद्दामा विवादित वारदातबाट जवरजस्ती करणीको अपराध स्थापित हुने हो वा सोको उद्योगसम्म कायम हुने हो भनी विचार गर्दा यस्तै प्रकृतिका मुद्दाहरूमा यस अदालतबाट जवरजस्ती करणीको अपराध कायम हुन आवश्यक हुने तत्वहरूका सम्बन्धमा विभिन्न सिद्घान्तहरू प्रतिपादन भएका पाइन्छन् । यसै सन्दर्भमा, “जवरजस्ती करणीको कसूर ठहर हुनका लागि लिङ्ग र योनीबीच सामान्य घर्षण मात्र पनि पर्याप्त हुने” (नेकाप २०६३, अङ्क ४, नि.नं ७६८२। पृष्ठ ४६२) प्रतिवादीको लिंगको पूर्ण प्रवेश र वीर्य योनीमा स्खलन नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडितउपर करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्यायसंगत नदेखिने” (नेकाप २०६५, अङ्क १, नि.नं ७९२३ पृष्ठ ११०) भनी सिद्घान्त प्रतिपादन भइरहेका देखिन्छ 

९. कस्तो अवस्थामा जवरजस्ती करणीको कसूर गरेको स्थापित हुन्छ भन्ने सम्बन्धमा प्रसिद्घ विधिशास्त्री मोदी (Jaising P. Modi) ले आफ्नो पुस्तक (Medical jurisprudence and Toxicology) को पन्ध्रौ संस्करणको पृष्ठ ३२८ मा उल्लेख गरेका छन् । यसमा भनिएको छ वीर्य स्खलनसहित वा रहित योनीको बाह्य भागभित्र आंशिक लिंग प्रवेश गर्नु वा गर्ने प्रयास गर्नु पनि कानूनी प्रयोजनको लागि जवरजस्ती करणी कायम हुन पर्याप्त हुन्छ(Partial penetration of penis within the labia major of the vulva or pudeudum with or without emission of semen or even an attempt at penetration is quite sufficient for the purpose of the Law) उनले अगाडि भनेका छन्पुरूषको लिंग स्त्रीको योनीको बाह्य भागमा छुनुमात्र पनि जवरजस्ती करणीको लागि पर्याप्त हुन्छ (If the penis touch the vulva, it is enough to constitute rape. page 335) । एक १४ वर्षीय अवोध नाबालिकाले आफूमाथि भएको क्रुर अमानवीय अपराधको बारेमा घटनाको यथार्थ चित्रण गरी मौकामा तथा अदालतमा समेत लेखाएकी देखिन्छ । निज पीडितको भनाइलाई अन्य स्वतन्त्र प्रमाणहरूले पुष्टि गरेको समेत देखिन्छ । यी प्रतिवादीले पीडितलाई एकान्त घर कोठामा लगी करणी गरेको तथ्य स्थापित भइरहेको अवस्थामा सो कार्यलाई उद्योगमात्र भएको भनी मान्न मिल्ने अवस्था देखिन आएन । पीडितको योनीबाट रगत बग्नु, निजको कपडामा लाग्नु तथा यस कुराको पुष्टि सो अवस्थाका प्रत्यक्षदर्शीबाट हुनुबाट अपराधले पूर्णता पाएको स्वीकार गर्नुपर्ने हुन्छ । पीडित अदालतमा उपस्थित भई बकपत्र गर्दा समेत प्रतिवादीले आफ्नो मुख थुनी कपडा खोलेर कसैलाई भनेमा मारिदिने धम्की दिएको कुरा व्यक्त गरेको पाइन्छ । सुस्त मनस्थितिकी १४ वर्षीय बालिकाको यो कथनलाई अन्य व्यक्तिको कथनले पुष्टि गरिरहेको छ । अर्की वर्ष १३ की रक्षा वि.क. ले समेत पीडित विरूद्ध अपराध भएको भनेकी छन् । जाहेरवाली आमाले पीडित अप्ठ्यारो गरी हिँडेको देखी सोधपुछ गर्दा अपराध खुलेको छ । यस्तो अवस्थालाई केवल जवरजस्ती करणीको उद्योगमात्र मान्न मिल्दैन 

            १०. तसर्थ, उल्लिखित विवेचित कारण र आधारबाट यी प्रतिवादीले पीडितलाई जवरजस्ती करणी गरेको देखिएको अवस्थामा प्रतिवादीले जवरजस्ती करणीको उद्योगसम्मको कसूर गरेको ठहर्‍याई निजलाई चार वर्ष कैद गर्ने ठहर गरेको शुरू बाँके जिल्ला अदालतको फैसलालाई उल्टी गरी जवरजस्ती करणी गरेको ठहर गर्नुपर्नेमा सो नगरी उक्त शुरूको फैसलालाई सदर गर्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६३।३।११ को फैसला नमिलेकोले उल्टी हुन्छ । यी प्रतिवादीले जवरजस्ती करणी गरेको ठहर्छ । सो ठहर्नाले निजलाई जवरजस्ती करणीको महलको ३ नं. को देहाय २ बमोजिम आठ वर्ष कैद हुने ठहर्छ । जवरजस्ती करणीको १० नं. बमोजिम पीडितलाई प्रतिवादीको आधा अंश सर्वस्व गरी भराइदिने समेत ठहर्छ । अरू तपसीलबमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी राजेन्द्रसिँह सिखलाई वर्ष ८(आठ) कैद हुने ठहरी फैसला भएकोले निज मिति २०६०।११।१२ देखि प्रहरी हिरासतमा रहेको र शुरू जिल्ला अदालतको फैसलाबमोजिम कारागार कार्यालय, बाँकेमा मिति २०६४।११।२२ सम्म कैदमा बसी थुनामुक्त भएको देखिएकोले निजले भुक्तान गर्नुपर्ने बाँकी कैदको अवधि ३।११।२० लगत कसी निजबाट असूलउपर गर्नु भनी शुरू बाँके जिल्ला अदालतमा लेखी पठाउनू––––––

            कानूनबमोजिम प्रतिवादी राजेन्द्रसिँह सिखको आधा अंश सर्वस्व गरी पीडित खकुमारीलाई भराई दिनु भनी शुरू बाँके जिल्ला अदालतमा लेखी पठाइदिनू ...२

            प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ––––३    

उक्त रायमा सहमत छु 

न्या.ताहिर अली अन्सारी

इति संवत् २०६७ साल माघ १८ गते रोज ३ शुभम्

इजलास अधिकृत : श्रीप्रकाश उप्रेती

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु