निर्णय नं. १६२१ - करकाप

निर्णय नं. १६२१ ने.का.प. २०४० अङ्क २
फुलबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३७ सालको फौ.फू.नं. ६
फैसला भएको मिति : २०४०।२।२०।६ मा
निवेदक/प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपञ्चायत वडा नं.१ बस्ने रामजीप्रसाद मैनाली समेत
विरूद्ध
विपक्षी/वादी : जिल्ला सर्लाही मलंगवा बस्ने रामअसिस साहु तेली
मुद्दा : करकाप
(१) साक्षीले देखेको कुरा नभनी सुनेका कुरा लेखिदिएकोले त्यस्तो सुनेको कुरा प्रमाण योग्य नहुने ।
(प्रकरण नं. २४)
निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी/वादीको तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान व.अ.श्री रमानन्दप्रसाद सिंह (साविक पेज नं. ३७)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३५।४।५।५ मा भएको इन्साफमा चित्त नबुझी प्रतिवादीहरूको न्यायिक समिति मार्फत निवेदन परी नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवार बाट बक्स भई आएका हुकुम प्रमांगी बमोजिम यस फुलबेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. तथ्य यस प्रकार छ : विपक्षी मध्येको हरिदासले सुर्यबहादुर समेत उपर दिएको चोरी मुद्दामा मैले चोरी गराएको भनी पोल गरेबाट मलाई पक्राउ गरी प्रहरी इन्स्पेक्टर कार्यालय मार्फत धर्मशाला ब्यारेकमा थुनामा रहेका अवस्था ०२७।८।१० गते १२।१ बजेको समय विपक्षीहरू आई लेखेको नेपाली कागज थान १ नलेखेको नेपाली सादा कागज २ समेत कागज थान ३ मा सहिछाप गर भने नमान्दा विपक्षी इन्स्पेक्टर भीमबहादुर र हे.कं.देवेन्द्रले लपेटाले गालामा र छडीले पाखुरा पिँडौलामा कुटपिट गरेबाट चोट सहन नसकी लेखेको नेपाली कागज थान १ मा र नलेखेको नेपाली कागज २ समेतको कागज थान ३ मा रामजीप्रसादले औंला समाती छाप मसी लगाई अभिनन्दनले दुई हातको बुढी औंला समाती छाप लगाई लिई सो कागज रामजीप्रसादले ई.भिमबहादुरलाई देखायो, त्यस पछि कसले लियो थाहा छैन मसँग करकापबाट गराई लिएको कागज बदर गरिपाउँ भन्नेसमेत रामअसिस साहु तेलीको फिराद ।
३. विपक्षीबाट कुनै किसिमले करकापसँग सही गराई लिएको छैन निजले मबाट रू.६७०८४। लिई मलंगवा डुमरियाको नं.४१२ को ।४।।।१ जग्गा र सो जग्गामा बनेको सिनेमा भवन र अन्य साधन समेत राजीनामा गरी दिएको लिखत समेतका अन्य मालसामान समेत ०२६।७।२९ मा चोरी भएकोले दरखास्त दिएकै छु । त्यसमा विपक्षीले रूपैयाँ लिई राजीनामा गरी दिएको छैन झुठ्ठा दरखास्त दिएको भनी बयान दिएको वादी लगायत अरू कारणीहरूले गरी दिएको केही कागज ०२६।१२।३ मा चोर मध्येकै रामबाबु भन्नेले हुलाकद्वारा यसै अदालतमा रजिष्ट्ररी गरी पठाएको छ मलाई लेखी दिएको बस्तु रजिष्ट्रेशन नहुँदै अरूसँग मिली आफ्नो थैलीलाई हानी हुने गरी किन करकापसँग सहिछाप गराउँथे वादी झुठ्ठा हो भन्ने समेत हरिदास मलको प्रतिउत्तर ।
४. ०२६।७।११ गते बिहान विपक्ष रामअसिस मकहाँ आई सिनेमा चलाउन असमर्थ हुँदा ६६०००। मा सिनेमा भवन र जग्गा समेत रामजीप्रसाद मैनालीलाई बिक्री गरी दिएँ लिखत तयार गरी दिनुपर्यो भनी बोलाउन गएकोले धनीको घर गई कागज लिनुदिनु गरी कागजमा सहिछाप भएको हो सो बाहेक अरू कुनै कागज गराएको र करकाप गरेको समेत छैन भन्ने समेत अभिनन्दन भन्ने सीताराम कायस्थको प्रतिउत्तर ।
५. विपक्षीसंग करकापबाट सही गराएको छैन सिनेमा सञ्चालन गर्न सकिन बिक्री गर्छु भनी भनेकाले ०२६।७।११ गते मोल रू.६६०००। मबाट गनी बुझी लिई हालको कि.नं.४ को ।४।।।१ जग्गा र सो जग्गामा भएको सिनेमा भवन र प्रोजेक्टर जेनेटर समेत राजीनामा अभिनन्दनले लेख्न लगाई सहिछाप गरी रीत (साविक पेज नं. ३८) पुर्याई मलाई दिनुभएको छ सोही सिनेमा भवन समेत मलाई राजीनामा दिनु भन्दा अगावै हरिदासलाई लिखत गरी दिएको भन्ने कुरा ०२६।७।२९ को रात हरिदास कहाँ चोरी भई सो चोरी सम्बन्धमा सरजमीन हुँदा थाहा हुनआयो हरिदासलाई गरी दिएको कागज चोर्नु चोराउनु र मसँगको व्यवहार करकाप भनी बदर गराउन सके आफूलाई लाभ हुने सम्झी झुठ्ठा उजूर गरेको हो भन्ने समेत प्र.रामजीप्रसादको प्रतिउत्तर ।
६. करकापसँग हामीले सही गराएको छैन हरिदासको चोरी सम्बन्धमा सुर्यबहादुर समेत पक्राउ हुँदा रू.१०००। दिन्छु हरिदासलाई गरी दिएको कागज चोरी ल्याउ भनी लोभ देखाएकोले चोरी गरेको हो भनी चोरहरूले बयान गरेबाट राम असिसलाई पक्राउ गरी सोध पुछ गर्दा सावित बयान केरी दिनु भनी भनेको सो बमोजिम नगरेको र प्रहरी अधिकृतलाई थाहा नदिई राति परिवारसँग भेट्न जान दिनु भनेको सो माग अनुसार सुविधा नदिएको हुँदा झुठ्ठा उजूर गरेको हो भन्ने समेत ई.भीमबहादुर र हे.कं.देवेन्द्रराजको प्रतिउत्तर ।
७. ०२६।७।११।२ को रू.६६१५१। को सकल लिखत देखे मलाई ०२६।८।१० का दिन करकापसँग सही गराएका ३ थान कागज मध्येको १ थान कागज यही हो लेखेको कागजमा सही गराएको यसै कागज हो भन्ने समेत वादी रामअसिस साहुतेलीको बयान ।
८. ०२६।७।११ को रू.६६१५१। को राजीनामा देखे किनार साक्षीमा रहेको हस्ताक्षर सही मेरै हो वादी भनाई बमोजिम करकापसँग कागज गरी दिएको हो भन्ने समेत रामध्यानको बयान ।
९. ०२६।७।११ को रू.६६१५१। को राजीनामा देखे म समेतका रोहवरमा रूपैयाँ बुझी लिई राजीनामा गरी दिएको र म साक्षी बसेको सद्दे साँचो हो करकापबाट गराई लिएको हैन भन्ने समेत महेन्द्रनाथको बयान ।
१०. वादी दावी पुग्न सक्तैन झुठ्ठा उजूर गरेको ठहर्छ भन्नेसमेत सर्लाही जिल्लाअदालतको फैसला।
११. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी रामअसिस साहु तेलीको पुनरावेदन ।
१२. प्र.ई.भीमबहादुर र हे.कं.देवेन्द्रराज उपाध्यायले वादीबाट करकापसँग कागज गराएको भन्न मिलेन, प्रतिवादी हरिदास मल बजाज, वकिल रामजी मैनाली अभिनन्दनदत्त कायस्थले ०२६।७।११।२ को रू.६६१५१। को राजीनामाको लिखत वादीबाट करकापसँग गराएको ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको फैसला ।
१३. सो फैसलामा ई.भीमबहादुर र हे.कं.देवेन्द्रराजलाई सफाई दिएकोमा चित्त बुझेन भन्ने समेत वादी रामअसिस साहुतेलीको र करकाप ठहराएकोमा चित्त बुझेन भन्ने समेत प्रतिवादी रामजीप्रसाद मैनाली हरिदासमल बजाज र अभिनन्दन भन्ने सीताराम कायस्थको पुनरावेदन ।
१४. साहु रामजीप्रसाद भएको लिखित करकाप ठहराएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको फैसला ।
१५. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा इन्साफ जाँच गरिपाउँ भन्ने समेत अभिनन्दन भन्ने सीताराम कायस्थ हरिदास बजाज र आÇना हकमा समेत (साविक पेज नं. ३९) रामजीप्रसाद मैनालीले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए क्षेत्रीय अदालतहरूबाट फैसला भएको ती मुद्दाहरूको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारको विशेष जाहेरी विभागबाट मिति ०३३।४।६ मा लेखी आएकोमा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।
१६. यसमा निर्णयतर्फ हेर्दा सिनेमा चलाउन असमर्थ हुँदा ६६०००।– मा सिनेमा भवन र जग्गा समेत रामजीप्रसाद मैनालीलाई राजीनामा गरी दिए कागज लेखी दिनु पर्यो भनेबाट लिनुदिनु भई कागज लेखी दिएको भन्ने समेत प्र.अभिनन्दन र सिनेमा सञ्चालन गर्न बुद्धि र हैसियतले सकिँन साहुको कर्जा पनि निकै भयो बिक्री गर्छु भनेबाट रू.६६०००। मा बिक्री गर्न मञ्जूर भएकोले राजीखुसीबाट लिनुदिनु भई राजीनामा सही गरी दिएको भन्ने समेत प्रतिवादी रामजीप्रसाद मैनालीको प्रतिउत्तर जिकिर देखियो ।
१७. सो प्रतिवादीहरूका जिकिर अनुसार करकाप गराएको छैन खुसिराजीबाट सिनेमा भवन समेत राजीनामा गरी लिएको भनेको रू.६६०००। को राजीनामा पेश हुनसकेको देखिएन । प्रतिवादी रामजीप्रसादबाट दाखिल भएको सिनेमा भवन समेतको २०२६।७।११ को राजीनामा लिखतमा रू.६६१५१। को देखिन आयो । प्रतिवादी रामजीप्रसादले वादीसँग रूपैयाँ दिई लिई शुद्ध व्यवहारबाट राजीनामा गराई लिएको भए, राजीनामा कागज आफ्नो साथमा रहेका व्यक्तिले यस मुद्दामा प्रतिवादी फिराउँदा लिनु दिनुभएको रकमको अंक फरक पर्नु पर्ने अवस्थै पनि नपर्ने । सद्दे साँचो व्यवहारबाट लिखत भएको भए नालिस गरी सो लिखत पास गराउन सक्नुपर्ने तर त्यस तर्फ नालिस दिई पास गराएको देखिन आएन । यही सिनेमा भवन समेत गितादेवीलाई वादीले राजीनामा गरी दिएको सो लिखत पास ठहरी पुनरावेदनको अनुमति नभई अन्तिम रूपमा रहेको देखिन्छ अतः जनकपुर अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएका बुँदा प्रमाण समेतबाट राजीखुसीले सो सिनेमा भवन समेत प्र.रामजीप्रसादका नाममा राजीनामा भएको रहेछ भन्न सकिने अवस्था देखिन आएन ।
१८. अतः प्रतिवादी हरदास मल बजाज, अभिनन्दनदत्त कायस्थ र रामजीप्रसाद मैनालीले समेत उक्त प्र.रामजीप्रसाद मैनाली धनी भएको ०२६।७।११ को रू.६६१५१। को राजीनामा लिखत वादीबाट करकापसँग गराएको ठहराई जनकपुर अञ्चल अदालतले गरेको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चले गरेको फैसला मनासिव छ । बक्स भई आएका हुकुम प्रमांगी बमोजिम इन्साफ जाँच निमित्त आएको हुँदा कसैलाई केही गर्नु परेन भन्ने मिति २०३५।४।५।५ को डिभिजनबेञ्चको फैसला ।
१९. यसमा प्रतिवादी निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले करकापको वारदात सशस्त्र प्रहरी रहेको धर्मशाला ब्यारेकमा भएको भन्ने फिरादीको भनाई छ र साथै फिरादीले इन्स्पेक्टर र हे.कं.समेतले करकापको कागज (साविक पेज नं. ४०) गराउन मद्दत सहयोग दिएको भन्नु हुन्छ तर इन्स्पेक्टर र हे.कं.ले करकाप गरेको नठहरी निजहरूले सर्वोच्च अदालत डिभिजनबेञ्चबाट समेत सफाई पाएकोले करकाप भएको भन्ने र करकाप गरिएको भनिएको वारदात स्थलको कुरा समेत मिल्न आएको छैन करकाप गरिएको भनिएको वारदात स्थलको कुरा समेत मिल्न आएको छैन करकाप गरिएको भनिएको लिखत हेरिएमा उक्त लिखतको शीर पुछारमा मात्र रेखात्मक ल्याप्चे सहिछाप नभई उक्त लिखतको बीचको केरमेटमा समेत रेखात्मक सहिछाप छ । उक्त लिखतको रेखात्मक सहिछापको साथ साथै रेखात्मक सहिछाप पनि छ उक्त रेखात्मक सहिछाप स्वभाविक किसिमको हुँदा डर त्रासमा करकापबाट लेखिएको भन्न मिल्दैन । वादीको फिराद लेख बमोजिम वादीका साक्षीहरूको बकाई देखिन्न । वादीले करकाप भएको कुरा मैले भनेर साक्षीहरूले थाहा पाए भन्नु हुन्छ तर निजका साक्षीहरूले करकाप भएको ठाउँमा नै हल्ला भएको सुने भन्छन् । लिखत पास गराउन प्रयास नगरेकै नाताबाट करकाप भयो भनी अनुमान गर्नमिल्दैन । उसमा पनि लिखतपास गराउने मेरो पक्षको ऐनको म्याद बाँकी नै छ । प्रतिउत्तर फिराउँदा रू.६६०००। को लिखत भएको भनी मेरो पक्षले प्रतिउत्तर फिराए तापनि सो को केही दिनमा नै रू.६६१५१। हुनुपर्नेमा रू.६६०००। भएछ भूल सच्याई पाउँ भनी निवेदन परेकै छ । लिखतको अन्तरसाक्षीहरूले व्यवहार सद्दे साँचो भनेकै छन् । अतएव करकाप ठहराएको डिभिजनबेञ्चको निर्णय मिलेको छैन भनी विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र वादीले करकापबाट दावीको लिखत तयार भएको भन्नु हुन्छ । त्यस्तो दावी प्रमाणित गर्ने भार वादीकै हो तर त्यसको सबूत वादीले दिन सक्नुभएको छैन । वादीका साक्षीहरूको करकाप भएको देखें भनी बकपत्र गर्नुभएको पाइन्छ । तर सो कुरा वादी आफैंंले भन्नसकेको छैन अतएव करकाप ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मिलेको छैन उक्त निर्णय बदर भई करकाप नठहराएको जिल्ला अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने र वादी विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंहले वारदातको दिनमा मेरो पक्ष चोरी मुद्दाको सन्दर्भमा प्रहरी हिरासतमा रहेको हुनाले उक्त कागज फिराद दावी अनुसार प्रहरी इन्स्पेक्टर समेतको सहयोग मद्दतबाट करकापबाट तयार भएको हो । त्यसरी करकापबाट भएको होइन भन्ने प्रमाण प्रतिवादीले दिनुपर्छ। प्रमाण ऐन, २०३१ को दफा ९ ले पनि सोही कुरा भन्छ । प्रतिवादीले शुरू प्रतिउत्तर दिँदा रू.६६०००। को कागज भएको भन्नु हुन्छ । साँचो व्यवहार भए सो अंक मिल्नु पर्ने । प्रतिउत्तर दिई सकेपछि उक्त अंक रू.६६०००। हजार होइन ६६१५१। भनी भूल सच्याउन निवेदन दिए पनि त्यसरी सच्याउने कानुन छैन । अदालतले लिखतको बीचमा परेको सहिछाप जँचाउदा सो वादीकै हो भनी विशेषज्ञबाट लेखी आएता पनि अदालतले आफ्नै तजबिजबाट त्यस्तो सपिछाप जचाउँन सकिने होइन । मेरो सहिछाप जचाँई पाउँ भनेको छैन । प्रतिवादीकै साक्षी सुलेमानको बकपत्रबाट समेत करकापबाट भएको होइन भनी भन्न नमिल्ने हुँदा करकाप ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मिलेको छ भन्ने समेत बहस गर्नुभयो । (साविक पेज नं. ४१)
२०. वादी दावी बमोजिम रामजीप्रसाद मैनाली हरिदास मल बजाज आनन्ददत्त कायस्थले दावीको लिखत वादीबाट करकाप ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मिलेको छ छैन सो को निर्णय दिनुपरेको छ । वादीको फिराद दावी हेर्दा वादीले करकापको वारदात प्रहरी धर्मशाला ब्यारेकमा भएको देखाई त्यस्तो करकाप गराउनमा इन्स्पेक्टर हे.कं.देवेन्द्र समेतको मद्दत सहयोग भएको कुरा दर्शाउनुभएको पाइन्छ तर इन्स्पेक्टर भीमबहादुर र हे.कं.देवेन्द्रले करकापको लिखत खडा गराउन किन मद्दत सहयोग दिन पर्ने हुनगएको हो त्यसको कुनै कारण र आधार वादीले फिरादपत्रमा खुलाउन सकेको पाइँदैन । प्र.ई.भीमबहादुर र हे.कं.देवेन्द्रराज उपाध्यायले करकापसँग कागज गराएको नठहरी निजहरूले सफाई पाउने ठहरी जनकपुर अञ्चल अदालतको इन्साफ म.क्षे.अ.बाट सदर भएको र सोही म.क्षे.अ.को इन्साफलाई स.अ.डिभिजनबेञ्चले सदर गरेको पाइन्छ । प्र.ई.भीमबहादुर र हे.कं.देवेन्द्रराजले करकाप गरेको नठहरेको र सो निर्णय अन्तिम रहेको अवस्थामा करकाप भए गरेको ठाउँ जुन फिरादीले आफ्नो फिरादमा प्रहरी धर्मशाला ब्यारेक भनी देखाउन भएको छ, सो ठाउँ नै मिल्न आएन । साथै प्रहरीको मद्दत सहयोगबिना प्रहरी ब्यारेक धर्मशालामा करकापबाट लिखत खडा हुनसक्ने स्थिति पनि देखिँदैन ।
२१. करकापको दावी जिकिर लिने वादीले करकापको सबूत पुर्याउनु पर्ने हो तर करकापको ठोस सबूत वादी पक्षबाट आएको छैन । करकापको सबूतको रूपमा वादीले आफ्नो बयान साक्षीहरूलाई औंल्याएको पाइन्छ । वादीले करकाप भएको कुरा मैले बताएबाट मेरा साक्षीहरूले थाहा पाए भन्नुभएको छ तर वादीका साक्षीहरूले करकाप भएको ठाउँमा हल्ला भई सो करकाप भएको देखेँ भनेका छन् । वादीका साक्षीहरूले करकापसँग कागज गराएको भने पनि ती कुराहरू वादीको भनाईसँग मेल नखाएकोले त्यस्ता साक्षीहरूको बकाईबाट वादी दावी समर्थित भएको भन्न मिल्दैन । करकाप भएको भनी पेश गरेको लिखत हेर्दा लिखतका बीचमा रेखात्मक सहिछाप देखिन्छ तर वादीले करकाप गरिएको भनेको लिखतको शीर र पुच्छारमा मात्र मेरो रेखात्मक सहिछाप लिए भन्नुभएको फिरादको व्यहोरासँग लिखतको रूप मिल्दैन । करकाप भएको भनिएको लिखतमा वादीको लेखात्मक सहिछाप पनि देखिन्छ । उक्त लेखात्मक सहिछाप स्वाभाविक किसिमको भएको पाइन्छ । करकाप परी मानसिक असन्तुलनको अवस्थामा वादीको उक्त लेखात्मक सही भए त्यस्तो सही धरमरिएको हुनुपर्छ । तर सो भएको देखिन्न । हस्ताक्षरको सही स्वाभाविक, शुद्ध तथा सफा देखिन्छ ।
२२. वादी प्रहरी हिरासतमा भएकोले करकापबाट भएको होइन भन्ने प्रमाण, प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादीले दिनुपर्छ भन्ने वादी विपक्षीतर्फका वरिष्ठ अधिवक्ताको भनाई भएकोमा प्रमाण ऐन, २०३१ को दफा ९ हेर्दा उक्त दफा ९ (क) ले मुद्दामा कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजको विरूद्ध प्रमाणमा लिन हुन्छ भन्दै सोही दफा ९ को उपदफा (२) को खण्ड (क) मा फौज्दारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भनी देहाय (२) मा निजलाई (साविक पेज नं. ४२) बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन भनी उल्लेख भएको हकमा प्रथमतः प्रस्तुत विवादको लिखत वादी प्रहरी हिरासतमा रहेकै अवस्थामा भएको भन्ने तथ्य सबूत प्रमाणबाट प्रमाणीत हुनआएको छैन ।
२३. दोश्रो कुरा प्रहरी हिरासतमा भएको त्यस्तो कागज निजको इच्छा विरूद्ध भएको भन्ने तथ्यमा सोझै पुग्न सकिँदैन । निजको इच्छा विरूद्ध उक्त कागज भएको भन्ने कुरा अदालतलाई विश्वास हुने प्रमाण हुनुपर्छ । प्रहरी हिरासतमा जुन चोरी मुद्दाको सिलसिलामा वादी हुनुहुन्छ उक्त मुद्दामा प्रहरी समक्ष सावित गराइएको भन्ने यहाँ विवाद छैन र सावित पनि हुनुहुन्न भने प्रहरीले बेसरोकारको मुद्दामा करकाप गर्न गराउनमा सरिक थियो भनी विश्वास गर्ने अवस्था समेत यहाँ भएन ।
२४. प्रतिवादीको साक्षी सुलेमानले देखेको कुरा नभनी प्र.रामजीप्रसाद मैनालीको नाउँमा कागज गराए भनी सुनेका कुरा लेखिदिएकोले त्यस्तो सुनेको कुरा प्रमाण योग्य हुँदैन । अतएवः माथि उल्लेख गरिएको बुँदा प्रमाणहरूबाट प्र.रामजीप्रसाद मैनाली धनी भएको ०२६।७।११ को रू.६६१५१। को राजीनामा लिखत करकाप भएको भन्ने दावी पुग्न सक्दैन । वादी दावी झुठ्ठा ठहराएको सर्लाही जिल्ला अ.को इन्साफ मनासिव ठहर्छ । उक्त राजीनामा लिखत वादीबाट करकापसँग गराएको भन्ने जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव ठहरिएको म.क्षे.अ.को निर्णय सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको समेत फैसलाहरू बदर हुने ठहर्छ । तपसीलका कलममा तपसील बमोजिम गर्नु ।
तपसील
मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३२।१२।३०।२ का फैसलाले देहायका प्रतिवादीहरूलाई देहायबमोजिम थप जरिवाना गर्ने गरेको दाखिल भएको भए फिर्ता दिन का.जि.अ.त.मा लगत दिनु............................................................................................................................१
हरिदास मल बजाजकै १२।५०, अभिनन्दन कायस्थ भन्ने सीताराम के १२।५०, रामजीप्रसाद मैनालीके १२।५०
शुरू सर्लाही जि.अदालतको ०२८।३।३१।५ को फैसलाले कायम गरेको लगतबमोजिम गर्नु गराउन भनी लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु....२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु..........................................................................................................................३
हामीहरू सहमत छौं ।
न्या.बासुदेव शर्मा, न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल जेष्ठ २० गते रोज ६ शुभम् । (साविक पेज नं. ४३)