शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६२८ - कर्तव्य ज्यान

भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक:

निर्णय नं. १६२८     ने.का.प. २०४० अङ्क २

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३७ सालको फौ.सा.नं. १०३

फैसला भएको मिति : ०४०।२।८।१ मा

वादी : राजु गंगाईको जाहेरीले वादी श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : जि.मोरङ मधुमल्ला गा.पं.वडा नं.५ बस्ने नहकुल भन्ने रेवन्तबहादुर कार्की

मुद्दा : कर्तव्य ज्यान

(१)                सरजमीनको भनाई र बकपत्र समेत परस्पर बाझिएकोले यस्तो बकाइको आधारमा दोषी ठहराउन नमिल्ने ।

(प्रकरण नं. १९)

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     शुरू मोरङ जि.अ.ले प्र.नहकुल भन्ने रेवन्तबहादुर कार्कीलाई सफाई दिने ठहराई जाहेरी फैसला गरेकोमा पू.क्षे.अ.ले शुरू इन्साफ गल्ती ठहराई प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गरी साधक सदरको निमित्त सर्वोच्च अदालतमा जाहेर गरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ ।

२.    ०३२।१।१ का दिन गोविन्दपुर गा.पं.वडा नं.२ सुनवासी भन्ने ठाउँमा लोग्ने मेला हेर्नगएको सो मेलामा होहल्ला भएपछि भानिज विपतलाल गंगाई निजको आमा रेसो गंगाई र निजको पत्नी घतामति गंगाइनी केही अगाडि हिँडेका र म र मेरा परिवारहरू गोरुगाडीमा चढी केही पछि आएकोमा सो मेला देखि पश्चिम डेढ माइल जति फरक खयर घारी छेउ बाटो पुगेपछि नचिनेका ६ जना मानिस खयर घारीबाट निस्की भानिज विपतलाललाई घेरी १ जनाले भानिजको छातीमा जोडले छुरी प्रहार गर्दा निज घाइते भई लडी रहेको निजको आमा र पत्नी रोइरहेको देखी विपत लाललाई गोरुगाडीमा राखी घरतर्फ ल्याउँदा बाटोमम सोही चोटबाट विपतलालको मृत्यु भएकोले कर्तव्यवाला पत्ता लगाई कानुन बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त।

३.    मर्ने विपतलाल गंगाईको लासप्रकृति मुचुल्का पोष्टमार्टम भएको र देवीबहादुुर कार्की मेलामा घाइते भएको रिसले निजको भाइ नहकुल भन्ने रेवन्तबहादुर कार्कीले विपतलाललाई काटी मारेको भन्ने पत्ता लाग्न नआएकोले प्रतिवेदन गरेको छु भन्ने ०३२।४।२ को प्रहरी जवानको प्रतिवेदन ।

४.    मेरो भाइ नहकुल समेतका परिवार मेला हेर्न आएका दिन अन्दाजी ३ बजेको समयमा परिवारहरू घर लिई जान भनी घरतर्फ पठाई म मेलामै बसेकोमा मेलामा गन्जागोल भई मलाई समेत लाठ्ठीले लागी चोट परेकोले उपचार गर्न रंगेली ल्याएको हुँदा विपतलालई कसले मार्‍यो म भन्न सक्दिन नहकुलले काटी मारेकोे होइन (साविक पेज नं. ७१) भन्ने समेत देवीबहादुरको प्रहरीमा बयान ।

५.    नहकुल भन्ने रेवन्तबहादुर कार्कीलाई पक्राउ गरी ०३२।४।२३।६ मा दाखिल गरेको ।

६.    ०३२।१।१ मा मेलाबाट फिर्ता खयर घारीबाट निस्की मेरो लोग्ने विपतलाललाई खुकुरी प्रहारी गरी काटने मानिस यही देखाइएको हो त्यस अवस्था नाउँ गाउँ थाहा थिएन हाल सनाखत गराउँदा देखेँ चिनेँ यिनै मानिसले लोग्ने विपतलाललाई मारेको हो कानुन बमोजिम गरिपाउँ भन्ने विपतलालको पत्नी घटामती भन्ने शान्ति गंगाईले प्रहरीमा गरेको सनाखत कागज ।

७.    मेलाबाट फर्किदा खयर घारीबाट ५।६ जना मानिस निस्की १ जनाले विपतलाललाई खुकुरी प्रहार गरेको देखेको हुँ त्यस अवस्था नाउँ गाउँ थाहा थिएन तापनि हाल देखाइएका यिनै नहकुल भन्ने रेवन्तबहादुर हुन् हेरी चिन्हे निजले नै विपतलाललाई काटी मारेका हुन् भन्ने मौकामा देख्ने तेजनारायण सिंहले प्रहरीमा गरेको सनाखत कागज ।

८.    ०३२।१।१ मा म पनि मेलामा आएको थिएँ । दाजु देवीबहादुरले भाउजू र नानीहरूलाई लिई घर जा भनेकोले ३ बजे नै मेलाबाट सिँजुवा घरतर्फ गएको हुँ पछि मेलामा गण्डागोल भयो भन्ने सुनेको हुँ विपतलाललाई मैले कर्तव्य गरी मारेको होइन कसले मारे म जान्दिन निजसँग चिनाजानी र रिसइवी समेत थिएन भन्ने समेत व्यहोराको नहकुल भन्ने रेवन्तबहादुर कार्कीले प्रहरीमा गरेको कागज ।

९.    रेवन्तबहादुर कार्की मेलाबाट फर्की नसकेकोले निजै विपतलाललाई कर्तव्य गरी मारेकोमा शंका लाग्दैन कसले अपराध गरे थाहा छैन भन्ने समेत व्यहोराको भनाई भएको ०३२।५।१२ को र घटना हुँदाको अवस्थामा नाउँ गाउँ थाहा थिएन हाल देखाउँदा चिनेँ विपतलाललाई खुकुरी प्रहार गरी काट्ने यिनै देखाइएको नहकुल भन्ने रेवन्तबहादुर हुन् निजका कर्तव्यबाट विपतलाल मरेको हो भन्ने समेत केही सरजमीनका भनाई भएको ०३२।५।१३ को सरजमीन मुचुल्का ।

१०.    घटना हुँदाको मौकामा देख्न पर्ने विपतलालकी श्रीमती शान्ति गंगाइनी र तेजनारायणको कागजबाट विपतलाललाई नहकुल भन्ने रेवन्तबहादुर कार्कीले प्रहार गरेको खुकुरीको चोटबाट विपतलालको मृत्यु भएको देखिन आएकोले निज रेवन्तबहादुरले ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय हुन पेश गरेका छौं भन्ने स.स.ज.तथा स.स.अ.र प्रहरीको संयुक्त प्रतिवेदन ।

११.    ०३२।१।१ मा दाजु देवीबहादुर समेतका साथ मेलामा गई दिनको ३ बजे घर फिरेको हँु मेलामा म भएका बखत सम्म होहल्ला थिएन । मेलामा मानिस मरे अरे भन्ने ४ दिन पछि सुनेको हुँ मर्ने विपतलाललाई कसले मारे मलाई थाहा छैन । तेजनारायणसँग रिसइवी हुँदा झुठ्ठा पोल गरेका हुन् मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको नहकुल भन्ने रेवन्तबहादुर कार्कीको अदालतमा बयान ।

१२.   प्र.रेवन्तबहादुरको सनाखत कानुन बमोजिम नभएको र तेजनारायणको समेत लेखाई पत्यारलायक नदेखिएको मर्नेको पत्नी शान्ति गंगाईनीले प्रहरी र अदालतमा लेखाएको व्यहोरा फरक देखिएको अधिकांश सरजमीनले शंका लाग्दैन भनी लेखाएको, प्रतिवादीको साक्षीले सफाई दिई बकपत्र गरेको देखिँदा विपतलाललाई प्र.रेवन्तबहादुरले कर्तव्य गरी मारेको ठहर्दैन निजले सफाई पाउने हुँदा प्रहरी प्रतिवेदन बमोजिमको दावी पुग्न सक्तैन भन्ने शुरू मोरङ जिल्ला अदालतले ०३४।२।२३ मा गरेको जाहेरी फैसला ।

१३.   प्र.रेवन्तबहादुर कार्कीलाई सफाई दिने (साविक पेज नं. ७२) ठहराएको शुरूको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिम सजाय गरिपाउँ भन्ने वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन ।

१४.   प्र.रेवन्तबहादुरलाई पू.क्षे.अ.ले अ.बं.२०२ नं.बमोजिम झिकाई हाजिर भई ०३६।४।३० गतेको पेशी तारेख गुजारी बसेका रहेछन् ।

१५.   ०३२।१।१ मा राजु गंगाईको जाहेरी दरखास्तमा मेला देखि पश्चिम अन्दाजी डेढ माइल जति फरक खयर घारी छेउ बाटोमा पुगेपछि नचिनेका ६ जना मानिस खयर घारीबाट निस्की दौडदै आई भानिज विपतलाललाई घेरी १ जनाले खुकुरीले अगाडिबाट छातीमा जोडले प्रहार गरी विपतलाल घाइते भई लडी राखेकोमा भन्ने उल्लेख भएको र अदालतमा गरेको बकपत्रसँग मेल खाएकै छ । जाहेरी दरखास्तमा लेखेको कुराको विपरीत हुने गरी बकपत्र गरेको देखिँदैन साथै घटनास्थलमा उपस्थित रहेको मर्ने विपतलालको पत्नी शान्ति गंगाईनीले पनि काट्ने चिनेँ भन्ने लेखाएकी र सो बकपत्रलाई झुठ्ठा मान्नु पर्ने कुनै कारण देखिँदैन । विपतलाललाई रेवन्तबहादुरले काटी मारेको हो भन्ने कुरा वीरबहादुर राजवंशी र फटिचर भन्ने दशैं पासमान समेतको बकपत्रबाट समर्थन भएको देखिन्छ जुडिलाल साहु, जिवलाल साहु, हिरालाल गंगाई, फागु साहुतेली समेतले विपतलाललाई काटी सकेपछि हातमा रगत लागेको खुकुरी लिएका यी प्रतिवादीलाई देखेको भनी बकपत्र गरेबाट दावीलाई अरू पुष्ट्याँई गरेको प्रतिवादीले नै मृतकसँग कुनै रिसइवी नभएको भनी लेखाएको । त्यस्तो अवस्थामा मृतककी पत्नी शान्ति गंगाईले निज प्रतिवादी माथि झुठ्ठा पोल्नु पर्ने अवस्था देखिन नआएको चश्मदीद गवाहहरूको बकपत्र ठोस कारणको अभावमा अमान्य नहुने हुँदा निजहरूले गरेको किटानी बकपत्रको आधारमा प्र.नहकुल भन्ने रेवन्तबहादुर कार्कीले विपतलाललाई काटी मारेकै ठहर्छ । शुरू मोरङ जिल्ला अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने पू.क्षे.अ.ले २०३६।४।३० मा फैसला गरेको रहेछ ।

१६.    प्रस्तुत मुद्दामा सर्वोच्च अदालतमा साधकमा दर्ता भई बेञ्च समक्ष पेश हुँदा पू.क्षे.अ.को इन्साफ नमिलेको हुँदा अ.बं.२०२ नं.र सर्वोच्च अदालत नियमावली, २०२१ अनुसार छलफल गर्न सरकारी पक्षलाई झिकाउनु भन्ने स.अ.डिभिजनबेञ्चको मिति ०३९।१।८ को आदेश ।

१७.   पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका वैतनिक अधिवक्ता श्री कृपानन्द चौधरी समेतको बहस सुनी निर्णयतर्फ विचार गर्दा जन्मकैद गर्ने गरेको पू.क्षे.अ.को इन्साफ मनासिव छ या छैन निर्णय दिनुपर्ने हुनआएको छ ।

१८.   यसमा ०३२।१।२।३ को राजु गंगाईको जाहेरी दरखास्त हेर्दा सो जाहेरी दरखास्तमा प्रतिवादी नहकुल भन्ने रेवन्तबहादुर कार्कीको नाउँ उल्लेख भएको पाइन्न । ०३२।४।२ मा नहकुल भन्ने रेवन्तबहादुर कार्कीले विपतलाल गंगाईलाई खुकुरीले काटेको हो भन्ने कुरा बुझिएकोले भन्ने प्रहरी प्रतिवेदन परेको र सो प्रतिवेदन अनुसार ०३२।४।२३ मा निज रेवन्तबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी दाखिल गरेको देखिन्छ ।

१९.    ०३२।४।२३ मा मृतक विपतलाल गंगाईको श्रीमती घतामति भन्ने शान्ति गंगाईले मेरो लोग्ने विपतलाललाई खुकुरी प्रहार गरी मार्ने व्यक्ति यिनै हुन् मैले चिनँे पहिचान गरो भनी सनाखत कागज गरी दिए पनि उक्त कागज अ.बं.१७३ नं.बमोजिमको रीत नपुगेकोले त्यस्तो कागजलाई मान्यता दिन मिलेन । साथै शान्ति (साविक पेज नं. ७३) गंगाईको अदालतमा बकपत्र हुँदा निजलाई उक्त सनाखत कागज सुनाएको र त्यस्तो बकपत्रमा शान्ति गंगाईले मेरो लोग्नेलाई खुकुरीले काटी मार्ने यिनै प्रतिवादी रेवन्तबहादुर हो भनी भन्नसकेको पनि पाइन्न २०३२।१।२।३ को जाहेरी दरखास्त हेर्दा उक्त वारदातको अवस्थामा घटनास्थलमा मृतक विपतलालको आमा रेसो र पत्नी घतामती भन्ने शान्ति गंगाई मात्र देखिन्छ । जाहेरीवाला राजु गंगाई वारदात भएपछि निज मृतक विपतलालको आमा र पत्नी रोइरहेको अवस्थामा मात्र घटनास्थलमा पुगेको देखिनाले निज जाहेरवालाको अदालतमा भएको बकपत्रलाई भर पर्ने स्थिति छैन । प्रहरीले पक्राउ गरी प्रतिवादी रेवन्तबहादुर कार्कीलाई ल्याएपछि ०३२।५।१३ मा सरजमीन भएको र उक्त सरजमीनका मानिस वीरबहादुर राजवंशी, फटियार भन्ने दशैं पासमान, फागु साहु, जटिलाल साहु तेली र हिरालाल गंगाईले मतृक विपतलाललाई मार्ने यिनै प्रतिवादी रेवन्तबहादुर हुन भनी सरजमीनमा भन्नसकेको छैनन् । यी हिरालाल समेतले मारिने विपतलाललाई खुकुरीले काटेको देखेका छन् भनी जाहेरवालाले जाहेरी दरखास्तमा लेखेको देखिँदैन । यस्तो अवस्थामा विपतलाललाई मार्ने रेवन्तबहादुर हो निजलाई चिनो भन्ने निज हिरालाल समेतको बकाई विश्वसनीय देखिन्न । यसको अतिरिक्त अ.बं.१७३ नं.को रीत पुर्‍याई हिरालालबाट समेत सनाखत भएको छैन । निजहरूको सरजमीनको भनाई र बकपत्र समेत परस्पर बाझिएकोले यस्तो बकाईको आधारमा प्रतिवादी नहकुल भन्ने रेवन्तबहादुर कार्कीलाई दोषी ठहराउन नमिल्ने हुँदा प्रतिवादी रेवन्तबहादुर कार्कीले विपतलाल गंगाईलाई कर्तव्य गरी मारेको ठहर्दैन । पूर्वाञ्चल क्षेत्रीय अदालतले नहकुल भन्ने रेवन्तबहादुर कार्कीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ गल्ती हुँदा साधक तहबाट उल्टी हुने ठहर्छ सो उल्टी हुने ठहर्नाले पू.क्षे.अ.को ०३६।४।३० को फैसला बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको लगत काटी शुरू मोरङ जिल्ला अदालतले प्रतिवादी रेवन्तबहादुरलाई सफाई दिने ठहराएको लगत कायम राख्न मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु । मिसिल नियम बमोजिम बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल जेष्ठ ८ गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु