निर्णय नं. १६३६ - अंश

निर्णय नं. १६३६ ने.का.प. २०४० अङ्क ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको दे.पु.नं. ३३०
फैसला भएको मिति : ०३९।६।१८।२ मा
पुनरावेदक/वादी : का.जि.न.पं.वा.नं.३० ज्याठाटोल बस्ने डवाङ ग्यालछेन
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.घर भई न.पं.१८।६८५ हाल का.न.पं.वा.नं.१७ क्षेत्रपाटी बस्ने छिरिङ फिम्जो
मुद्दा : अंश
(१) वादी अंशियार हो भन्ने कुरामा विवाद नभएको र वादीले अंश पाइसकेको भन्ने कुराको प्रमाण प्रतिवादीले गुजार्न नसक्नुको अतिरिक्त मिसिल सामेल रहेको नेपाली दुःख निवारण कल्याण कोष, ल्हासाको मिति २०३६।३।१४ र चिन स्वशासित प्रदेश तिब्वतको (साविक पेज नं. ९८) परराष्ट्र मन्त्रालयको जुन २८, १९७९ को पत्रहरूबाट वादीले अंश पाइसकेको भन्ने प्रमाणित भएको भन्न पनि मिल्दैन साथै प्रतिवादी जिकिर अनुसार वादीलाई अंशबाट वञ्चित गराउन अंशबण्डाको ९ नं.को अवस्था अर्थात मुडिई विजया होम गरेको भन्ने तथ्ययुक्त किटान प्रमाण हुनुपर्ने ।
(प्रकरण नं. १०)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
फैसला
न्या.बासुदेव शर्मा
१. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार सर्वोच्च अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर त्रुटि भएको आधारमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार रहेछ :
२. पिता सोनाम कैलर र आमा छेमलाबाट विपक्षी छिरिङ्ग फिम्जो, म र एक बहिनी भएकोमा बहिनी विवाह भइसकेको र पिताको स्वर्गबास भएपछि पिताले आर्जन गर्नुभएको सम्पत्ति र हामीले कमाएको समेत विपक्षी दाज्युको जिम्मामा भएकोले अंश छुट्याई माग्दा मिति ०३५।१।२३ गते जो गर्नु पर्छ गर भन्ने जवाफ दिएकाले विपक्षीसँग भएको सम्पत्तिको तायदाती लिई मेरो अंश छुट्याई पाउँ भन्ने समेत दवाङ ग्लाहछेनको फिरादपत्र रहेछ ।
३. चुजे दस्तूर तिरी बस्ने गरी विपक्षीलाई ०७ सालमा तिब्वतस्थित ल्हासाले म्यूगुम्वाङवया धार्चमा विपक्षीलाई लामा भिक्षु बनाई राखेकोमा ०१५ सालमा निज १६ बर्ष पुगेपछि गुम्वाको नियम बमोजिम ठूलो दर्जा दिई धेरै पैसा खर्च गरिएको थियो । जन्मभरि भिन्न भई बस्न सक्ने गरी चाहिएको सरसामानहरू समेत दिइएको थियो । विपक्षी भिक्षु भइसकेको हुँदा अंशबण्डाको ९ नं.ले पनि अंशमा दावी नपुग्ने हु“दा वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र रहेछ ।
४. वादीबाट रू.५०१८। को र प्रतिवादीबाट दाइजोको रू.१०,०००। बैंकमा डिपोजिट भएको ऋणधनको हकमा अचल घर ल्हासामा भएको हुँदा नेपालको बण्डा नलाग्ने र अरू ऋणधनका हकमा दिनुपर्ने ९०,०००। लिनुपर्ने रू.८९,६९०। को तायदाती रहेछ ।
५. वादीले आफ्नो अंश अघि बुझी लिई गुम्बामा भिक्षु बनिसकेको देखिएको हुँदा एकपटक आफ्नो अंश लिई आफूखुस गरी सकेपछि पुनः यो प्रतिवादी दाज्युले अंश भोग्दै आएको भन्ने वादीको फिराद पुग्न सक्तैन भन्ने समेत शुरू जि.अ.को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको क्षेत्रीय अदालतमा पुनरावदेन परेको ।
७. सन् १९५० देखि १९५९ सम्म डवाङ गेल्छेन ड्रेपुङ गुम्वाका ङार्पा ढाँचामा भिक्षु वनु छुन्जे पदवी लिई गुरु साम्वे ग्याछोसँग बसेको थिए । त्यस बेलाको प्रचलनानुसार भिक्षु बन्न ठूलो रकम लाग्ने भएको, भिक्षु बन्न चाहनेले आफ्नो अंशको रकम त्यसको लागि खर्च गर्ने चलन भएको व्यहोराको पत्र नेपाली दुःख निवारण कल्याण कोष ल्हासाको मिति ०३६।३।१४ को पत्र र चिनको स्वशासित प्रदेश तिब्बतको परराष्ट्र (साविक पेज नं. ९९) मामलासम्बन्धी कार्यालयको १९७९ जुन २८ को पत्रमा पनि ड्वाङ गेल्छेन सन् १९५० देखि १९५९ सम्म ड्रेपुङ गुम्वामा भिक्षु भएर बसेको व्यहोरा प्रमाणित गरेको पत्र पाइएकोले अंशको प्रमाण लाग्ने नै हुँदा उक्त प्रमाणबाट वादी भिक्षु भइसकेको देखिन आएकोले भिक्षु बन्नु नै भौतिक दृष्टिकोंणले पारवारिक हक दायित्व छाडी विजया होम गर्नुपर्ने हुँदा मुडिई विजया होम गरी सकेपछि अंशबाट वञ्चित हुने र भेषधारी बनी अंशबाट वञ्चित भइसकेपछि पुनः गृहास्थाश्रम प्रवेश गर्नेले अंश पाउने कानुनी व्यवस्था भएको पनि नपाइएकोले वादीको दावी नपुग्ने ठहर्याएको शुरूको इन्साफ मनासिव छ भन्ने समेत क्षेत्रीय अदालतको फैसला रहेछ ।
८. क्षेत्रीय अदालतको उक्त फैसला सर्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले निवेदन दिएकोमा विजया होम गरेको भन्ने सबूत प्रतिवादीबाट आउन नसकेको अवस्थामा अंश पाउँदैन भनी ठहर गर्नु अंशबण्डाको ९ नं.को त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालतबाट मिति ०३८।५।१७।४ मा आदेश भएको रहेछ ।
९. तारेखमा रहेका पुनरावेदकको वा.कुष्णचन्द्र र विपक्षी छिरिङ्ग फिम्जोलाई रोहवरमा राखी पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरको बहस समेत सुनियो ।
१०. क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ त्यसतर्फ विचार गर्दा, यसमा वादी डवाङ्ग ग्यालछेन अंशियार हो भन्ने कुरामा विवाद नदेखिएको र वादीले अंश पाइसकेको भन्ने कुराको प्रमाण प्रतिवादीले गुजार्न नसक्नुको अतिरित्त मिसिल सामेल रहेको नेपाली दुःख निवारण कल्याण कोष, ल्हासाको मिति ०३६।३।१४ र चीन स्वशासित प्रदेश तिब्बतको परराष्ट्र मन्त्रालयको जुन २८–१९७९ को पत्रहरूबाट वादीले अंश पाइसकेको भन्ने प्रमाणित भएको भन्न पनि मिल्दैन साथै प्रतिवादी जिकिर अनुसार वादीलाई अंशबाट वञ्चित गराउन अंशबण्डाको ९ नं.को अवस्था अर्थात् मुडिई विजया होम गरेको भन्ने तथ्ययुक्त किटानी प्रमाण हुनुपर्नेमा त्यस्तो प्रमाण मिसिलबाट देखिन आउँदैन ।
११. तसर्थ मुलुकी ऐन अंशबण्डाको ९ नं.को त्रुटिपूर्ण व्याख्या गरी वादीले अंश नपाउने ठहर्याएको शुरू जिल्ला अदालतको निर्णय मनासिव ठहर्याएको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । पक्षहरूद्वारा तायदाती पेश गरिराखेको देखिएकोले वादी दावी बमोजिम बण्डा छुट्याई दिनु भनी पक्षहरूलाई तारेख तोकी मिसिल जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०३९ साल आश्विन १८ गते रोज २ शुभम् ।