शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६३८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: असार अंक:

निर्णय नं. १६३८     ने.का.प. २०४० अङ्क ३

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

२०३९ सालको रिट नं. १८०६

आदेश भएको मिति : २०४०।३।९।५ मा

निवेदक      : जिल्ला रूपन्देही आनन्द वन गा.पं.वार्ड नं.३ शड्ढर नगर बस्ने प्रेमराज गुरुड्ड

विरूद्ध

विपक्षी : लुम्बिनी अञ्चलाधिश कार्यालय, बुटवल जिल्ला रूपन्देही बुटवल खस्यौली गा.पं.वार्ड नं.६      बस्ने देवनारायण गुरुड्ड

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ

(१)                जसले जबरजस्ती अनधिकृत रूपमा कागज गरायो भन्ने निवेदकको दावी छ उसैले सो कुरामा इन्कार रही लिखितजवाफ दिन्छ भने सो कागजको अस्तित्व छ भन्न मिल्ने कुरा नदेखिने ।   

(प्रकरण नं. ९)

निवेदकतर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना

विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

आदेश

न्या.धनेन्द्रबहादुर सिंह

१.     विपक्षी कार्यालयले गराएको ०३९।२।१३ को लिखत उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत निवेदन पर्नआएको छ । (साविक पेज नं. १०६)

२.    संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : विपक्षी देवनारायणले मेरो दिदी लक्ष्मीदेवीसँग विवाह गर्नुभएकोमा सम्बन्ध बिच्छेद गरी पाउन दिदीको फिराद परेको थियो । सोही रिसले देवनारायणले सुन र नगद सासूकहाँ नासो राखेको लगभग रू.१,२२,०००। नदिएकोले दिलाई पाउँ भनी २०३८ कार्तिक तिर ठाडो उजूरी दिई प्रहरीबाट मेरो आमा र अन्य परिवार समेतलाई बोलाई विपक्षी कार्यालयमा लगी अवैध रूपमा आमाबाट अन्दाजी ७२ हजार रूपैयाँ ०३८ पौष मसान्त सम्ममा बुझाउने गरी कागज गराइयो । मलाई रोहवरमा राखिएको भए पनि मैले त्यति महत्व दिइन । आमालाई ०३९।१।३ मा पक्राउ गरी प्रहरी कार्यालयमा थुनामा राखेकोले लुम्बिनी अञ्चल अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएको थिएँ । सो निवेदन यही जेठ १३ गते पेशी भएकोमा सोही दिन बिहानै मलाई पक्री प्रहरीले अञ्चलाधिश कार्यालयमा लगी रू.४०,०००। जेठ २० गते सम्म बुझाउनेछु भनी लेखिएको कागजमा सही गरायो निवेदन अञ्चल अदालतबाट खारेज गरिएछ । सोही दिन दिदी लक्ष्मीदेवीलाई पक्राउ गरी थुनामा राखिएको छ ।

३.    नासो धरौट लेनदेन सम्बन्धी मुद्दा मामिला हेर्ने अधिकार विपक्षी कार्यालयलाई छैन । उक्त २०३९।२।१३ गते जबरजस्ती गराएको कागज अ.बं.३५ नं.ले स्वतः बदरभागी छ । उक्त लिखतको नक्कल समेत नदिएकोले पेश गर्न सकिन । मैले तिर्न नपर्ने रूपैयाँ तिर्नुपर्ने गरी मलाई कागज गराएकोले र सो कागज बदर गराउन कानुनमा अन्य उपचार समेत नभएकोले निवेदन गर्नआएको छु । उत्प्रेषणको आदेश जारी गरी उक्त ०३९।२।१३ गते गराएको लिखत बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन ।

४.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्को ०३९।२।३१ को आदेश ।

५.    सासू रणकुमारी, श्रीमती लक्ष्मीदेवी, निवेदक प्रेमलाल र निजको भाइ (जो नेपाल प्रहरी फोर्समा नोकरी गर्दछ) उदयराज समेत ४ जना मिली मैले ब्रिटिश फौजमा काम गर्दा बचाई ल्याएको सवा उनानब्बे तोला जति सुनको गहना तथा रू.२३,०५०। जतिको नगद र अन्य धनमाल समेत गरी जम्मा पौने दुइलाख जतिको धनमाल पटकपटक गरी हात पारे मध्ये मैले नै सासू रणकुमारीलाई राख्नदिएको एक कलम तोला २०।।। जतिको सुनको गहना मैले वापस पाएको त्यस बाहेक अन्य ४२ तोलाको गहनामध्ये ३ थान गहना मैले राखेको छु भोलिसम्म ल्याई बुझाउँछु भनी उदयराजले २०३७।११।१० मा आफ्नै स्वहस्ताबाट भरपाई लेखी दिएकोमा सो बुझाउने त कता हो कता उल्टै तेस्रो कलम २६।। तोला सुनको गहना तथा रू.२३,०५०। को नगद र धनमाल समेत तिर्न नपरोस् भनी लक्ष्मीदेवीबाट २०३८ बैशाखमा म उपर सम्बन्ध बिच्छेद मुद्दा रूपन्देही जिल्ला अदालतमा पारे पराएछन् । यसमा सबै व्यहोरा खोली इन्कारी प्रतिउत्तर दिएकै छु । ०३७।११।१० को भरपाई समेत पेश गरेको छु । प्रशासनिक क्षेत्रबाट कारण पत्ता लगाउँदा वा वास्तविकता छिपाउन नसकी ०३९।२।१३ मा प्रेमराजले स्वीकार गरी कागज गरिदिएको सो कुरा निजको भाइ उदयराजले ०३७।११।१० मा लिखित रूपमा स्वीकार गरी भरपाई गरी दिइसकेको छ । सो भरपाई उपर कसैको उजूर परेको छैन । निवेदक पवित्र उद्देश्यले स्वच्छ अनुहार लिई अदालत समक्ष गएको नभई स्वयं कलंकित, दुष्ट चेहरा लिइआएको हुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी देवनारायण गुरुड्डको लिखितजवाफ ।

६.    मेरो श्रीमतीले माइतमा लगे राखेको सुन तोला ८९ मध्ये बाँकी रहेको सुन तोला ६८ र ४ आना असूल गरिपाउँ भनी देवनारायणको उजूरी पर्नआएकोमा सो विवाद जि.का.रूपन्देहीबाट मिलाइदिन गुरूङ समाज सुधार समितिलाई लेखिएकोमा समाजलाई नमानेको समेत (साविक पेज नं. १०७) बुझिएको र देवनारायणको मालसामान लक्ष्मीदेवीले माइतमा लगी राखेको हुँदा मर्का परेको महसूस गरी मिलाई दिने उद्देश्यबाट पञ्च भलादमी समेत राखी दुबै पक्षलाई बोलाई छलफल हुँदा देवनारायणले ६८ तोला ४ आना सुन पाउनेमा २८ तोला सुन बापत हुने मूल्य रू.७१,४००।२०३८ पौष मसान्तसम्ममा निवेदकको आमा रणकुमारी गुरुड्डले बुझाउने र बाँकी ४० तोला सुनको दावी देवनारायणले छोडी दिने शर्तमा मञ्जूर भई ०३८ मार्ग १ गते दुवै पक्ष मञ्जूर भई कागज गरेका छन् सो कागजमा पञ्च भलादमी समेतले सहिछाप गरेका छन् । निजहरूको बीचमा विवाद बढ्दै गएकोले हुलदड्डा भई अशान्ति हुने हुँदा शान्ति सुरक्षामा कारवाई गरिपाउँ भन्ने समेत प्रहरी थाना बुटवलबाट पत्र आएकोले बुझ्दा निजहरूलाई त्यतिकै छोडेमा शान्ति सुरक्षामा खलल पर्ने देखिएकोले रणकुमारी गुरुड्डलाई ०३९।१।५ तथा लक्ष्मीदेवीलाई ०३९।२।१३ देखि शान्ति सुरक्षा अन्तर्गत थुनामा राखिएको हो । विपक्षी प्रेमराजलाई ०३९।२।१३ गते प्रहरीले पक्री ल्याएको देखिँदैन र पक्री ल्याएकै नहुँदा उक्त मितिमा रू.४०,०००। को कागज गराउने भन्ने प्रश्न उठ्दैन । आफ्नो क्षेत्रमा शान्ति सुरक्षा राख्ने काम स्थानीय प्रशासकको हुँदा अनधिकृत उजूरी लिई हेरियो भन्ने दावी पनि पुग्न सक्तैन तसर्थ निवेदन जिकिर खारेज गरिपाउँ भन्ने समेत लुम्बिनी अञ्चलाधिशको कार्यालय बुटवलको लिखितजवाफ ।

७.    निवेदकतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुड्डानाले नासो धरौट सम्बन्धी मुद्दाको उजूरी लिएर हेर्ने अधिकार विपक्षी कार्यालयलाई छैन । तिर्नु बुझाउनु नै नपर्ने कुराको जबरजस्ती कागज गराएको सदर हुन सक्तैन तिर्नु बुझाउनु पर्ने भए अधिकार प्राप्त अदालत समक्ष उजूर गर्नुपर्ने थियो सो नभएबाट उक्त ०२९।२।१३ को कागज बदरभागी छ भन्ने समेत र विपक्षी कार्यालयबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले निवेदकले उल्लेख गरेको वारदात मितिमा निजलाई पक्री लगिएको नै छैन । यसरी निजलाई पक्रेर नै नलगेको हुँदा कागज गराउने भन्ने प्रश्नै उठ्दैन तसर्थ निवेदन खारेज हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

८.    प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपरेको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा २०३९।२।१३ गते बिहान मलाई प्रहरीद्वारा पक्री विपक्षी कार्यालयमा लगी रू.४०,०००। यही जेष्ठ २० गते सम्ममा बुझाउनेछु भन्ने व्यहोरा लेखिएको कागजमा अवैध र अनधिकृत तवरबाट जबरजस्ती सही गराइएको हुँदा उक्त ०३९।२।१३ गते भएको कागज बदर गरिपाउँ भन्ने समेत मुख्य निवेदनको जिकिर भएकोमा लुम्बिनी अञ्चलाधिशको कार्यालयको लिखितजवाफमा उक्त मितिमा निवेदकलाई पक्री ल्याएकै नहुँदा सो दिन रू.४०,०००। बुझाउने कागज गराउने भन्ने प्रश्नै उठ्दैन भन्ने उल्लेख गरेको देखिन्छ । यसबाट निवेदकको लेखाई बमोजिम रू.४०,०००। को लिखत गराएको भन्ने कुरामा अञ्चलाधिशको कार्यालयले अस्वीकार गरेको पाइन्छ । निवेदकको लेखाई बमोजिम अञ्चलाधिशको कार्यालयबाट त्यस्तो कागज गरेको भन्ने कुराको आधार निवेदकले दिनसकेको छैन प्रत्यर्थी देवनारायण गुरुड्डको लिखितजवाफमा निवेदक प्रेमराजले वास्तविकता छिपाउन नसकी २०३९।२।१३ मा स्वीकार गरी कागज गरिदिएको छ सो कुरा निजको भाइ उदयराजले ०३७।११।१० मा नै लिखित रूपमा स्वीकार गरी भरपाई समेत गरिदिएको छ जुन भरपाई उपर कसैको उजूर परेको छैन । २०३९।२।१३ को कागज बदर गराएर मेरो सम्पत्ति हडप्न खोजेको मात्र हो भन्ने समेत लेखिएको देखिन्छ । तर जसले जबरजस्ती अनधिकृत रूपमा कागज गरायो भन्ने निवेदकको दावी छ उसैले सो कुरामा इन्कार रही लिखितजवाफ दिन्छ भने सो रू.४०,०००। को कागजको अस्तित्व छ भन्न मिल्ने कुरा होइन । तसर्थ अस्तित्वहीन कागजबाट निवेदकको हकमा (साविक पेज नं. १०८) कुनै आघात परेको भन्न मिल्दैन । तसर्थ उपरोक्त कारणहरूबाट निवेदकको हक प्रचलन गराउन पर्ने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल आषाढ ९ गते रोज ५ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु