शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: श्रावण अंक:

निर्णय नं. १६४६     ने.का.प. २०४० अङ्क ४

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३९ सालको रिट नम्बर १९०३

आदेश भएको मिति  : २०४०।४।१५।१ मा

निवेदक      : का.जि.न.पं.वडा नं.१ नक्साल डेरा गरी बस्ने तोमप्रसाद विमली

विरूद्ध

विपक्षी : केन्द्रीय प्रहरी विशेष अदालत मुकाम गृह मन्त्रालय समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)                अदालती बन्दोबस्तको ३५ नम्बर बमोजिम मुद्दा हेर्ने तथा निर्णय गर्ने निकाय नै अनधिकृत ठहरेकोमा परमादेशको आदेश जारी गर्ने अवस्था नदेखिने ।

(प्रकरण नं. १९)

निवेदकतर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

आदेश

न्या.बासुदेव शर्मा

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षी अञ्चल प्रहरी विशेष अदालतको मिति ०३८।५।११ को र केन्द्रीय प्रहरी विशेष अदालतको मिति ०३८।११।२७ को फैसला बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३९।५।२५ मा दर्ता भएको रहेछ ।

 

२.    संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रतिवेदन भनी म उपर रोग र शरीरको निर्वलताको झुठ्ठा बहाना गरी उर्दि नमानी कर्तव्य गर्न छाडेको भन्ने मुद्दा चलाई अञ्चल प्रहरी विशेष अदालतबाट मिति ०३८।५।११ मा ३ वर्ष ३ महीना कैदको सजाय उपर मेरो केन्द्रीय प्रहरी विशेष अदालत समक्ष पुनरावेदन पर्दा उक्त अदालतबाट मिति ०३८।११।२७ गते फैसला गरिँदा ८ महीना सजाय गरियो । तर मैले बयान दिँदा र पुनरावेदन दिँदाका जिकिरतर्फ कुनै तथ्ययुक्त खण्डन र कानुनी फैसला नगरिएको हुँदा उक्त विशेष अदालतहरूबाट भएको फैसला बदर गर्न अन्य उपाय नभएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत यस सम्मानित अदालतको असाधारण अधिकारक्षेत्रको शरण लिन आएको छु । थुनाबाट छुटकारा भएपछि आफ्नो घर तेह्रथुममा जाँदा धेरै ज्वरो आई विरामी परी विछ्यौनामा (साविक पेज नं. १३५) ३ महीना रहनु परेको र काठमाडौंमा औषधी गर्न आएको हाल मलाई केही सन्चो भएको हुँदा यस सम्मानित अदालतको शरण लिन आउँदा केही कागजातको संकलन गर्नु परेको र संकलन गर्दा केही समय व्यतीत भएको हुँदा समयमा नै यो निवेदन दिन आएको छु ।

३.    सर्वप्रथम विपक्षी विशेष अदालतले हदम्याद नाघी दायर भएको मुद्दा हेरी सजाय गर्न अधिकार छैन । प्रस्तुत मुद्दा प्रहरी ऐन, २०१२ को दफा ३६(ग)(२) को हदम्यादभित्रको छैन मलाई त्रिचन्द्र मिलटरी अस्पतालमा जचाउँदा कुनै रोग लागेको छैन भनी मिति ०३७।४।७ मा प्रतिवेदन प्राप्त भएपछि मिति ०३७।३।१८ र मिति ०३७।४।२५ देखि विदा लिएको भनी अञ्चल प्रहरी विशेष अदालतमा मिति ०३८।४।२५ मा प्रस्तुत भएकोबाट हदम्याद नघाई उजूरी गरेको प्रष्ट हुँदाहुँदै विपक्षी विशेष अदालतहरूबाट सजाय गरेको उक्त कानुनी व्यवस्थाको देखादेखी त्रुटि गरी फैसला गरेको छ ।

४.    यस्तो महत्वपूर्ण कुरा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई प्रतिवेदन दिई मुद्दा चलाउने अधिकार प्रदान छैन । अ.बं.८२ नं.ले हकदैया भएको व्यक्तिलाई मुद्दा दिने अधिकार भएको र उक्त मुद्दा श्री ५ सरकार वादी भई चल्ने मुद्दा नभएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौं अन्तर्गतको कर्मचारी म नभई जिल्ला प्रहरी कार्यालय बाजुराको कर्मचारी भएकोले जिल्ला प्रहरी कार्यालय काठमाडौंले चलाएको मुद्दा अ.बं.८२ नम्बरको प्रतिकूल छ ।

५.    म उपर एक प्रहरी फोर्सलाई भडकाउने उद्देश्य गरेको मुद्दा र प्रस्तुत रोग र शरीरको निर्वलताको झुठ्ठा बहाना गरी उर्दि नमानी कर्तव्य गर्न छाडेको भन्ने मुद्दा जुन एकअर्को मुद्दासँग सादृष्य छ । प्रहरी फोर्स भडकाउने मुद्दामा मैले सफाई पाएको छु । यस मुद्दामा मलाई सजाय गरेको अ.बं.७३ नम्बर प्रतिकूल समेत छ ।

६.    केन्द्रीय प्रहरी विशेष अदालतको फैसलामा त्रिचन्द्र मिलिटरी हस्पिटल डा.फौदराज थेवेको प्रमाणपत्रलाई उल्लेख गरी मलाई सजाय गरेको छ । प्रमाण ऐन, २०३१ को दफा १८ एवं दफा २३(छ) अनुसार विशेष अदालतमा आई उपस्थित नभएसम्म प्रमाणमा लिन नमिल्नेमा त्यस कानुनी व्यवस्थाको प्रतिकूल गई फैसला गरेको देखादेखी त्रुटिपूर्ण छ ।

७.    माथि प्रकरणहरूमा उल्लेख गरेको कुरामा प्रतिकूल असर नपर्ने गरी यो वैकल्पिक जिकिर गर्दछु कि श्री ५ को सरकार वादी नहुने प्रस्तुत मुद्दामा कानुन बमोजिम तोकिएको ढाँचामा अर्थात अ.बं.७६ नम्बर अनुसारको फिरादपत्र हुन पर्छ । यस मुद्दामा प्रतिवेदन सो अनुरूप छैन यो पनि स्पष्ट गर्न चाहन्छु कि विपक्षी जिल्ला प्रहरी कार्यालय समेतले म उपर पूर्वाग्रही बनी पूर्व निश्चित योजना गरी यो प्रस्तुत मुद्दा दायर गरेको व्यहोरा मैले बाजुरामा हाजिर हुन जाँदा हाजिर नगराउनु भनी मिति ०३७।४।२५ मा प्रहरी प्रधान कार्यालयले आकाशवाणीद्वारा निर्देशन पठाएकोबाट पनि प्रष्ट हुन्छ ।

८.    विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिड्डलबेञ्चको मिति २०३९।४।२७।१ को आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ निम्न प्रकार छन् :(साविक पेज नं. १३६)

९.    निवेदकको रोग र शरीरको निर्वलताको कारण झुठ्ठा बहाना गरी गैरहाजिर रहिरहेकै अवस्थामा प्र.नि.तोमप्रसाद विमली पक्राउ भई प्रहरी ऐन, २०१२ को (संशोधन सहित) दफा ३६(ग)(२) को म्यादभित्रै उक्त मुद्दा अञ्चल प्रहरी विशेष अदालतमा दायर गरेको र प्रहरी ऐन, २०१२ (संशोधन सहित) दफा ३३(क) देखि ३४ अन्तर्गतका कसूर गर्ने प्रहरी कर्मचारी उपर यसैले मुद्दा दायर गर्ने भन्ने खास व्यवस्था प्रहरी ऐनमा भएको नभए तापनि प्रहरी फोर्स भित्रको कुरामा प्रहरीकै सम्बन्धित कार्यालयलाई सरोकार पर्ने र प्रहरीकै परेको प्रतिवेदनको आधारबाट कारवाही चलाउने मुद्दा दायर गर्ने गरी आएको परम्परा समेत हुनाले निवेदक तोमप्रसाद विमलीको निवेदनमा यस कार्यालय उपर कुनै आदेश जारी हुनु नपर्ने हुँदा प्रस्तुत रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाडौं ।

१०.    प्रहरी ऐन अन्तर्गत प्रहरी कर्मचारीहरूले गरेको कार्यमा परेका मुद्दाहरूका निरोपण कानुन बमोजिम अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय प्रहरी विशेष अदालतलाई भएकोमा यस अदालतबाट मुद्दा किनारा भएको १ बर्ष भन्दा पछि आएर असाधारण अधिकारक्षेत्रको बाटो अपनाई निवेदकलाई रिट निवेदन दिने सर्वोच्च अदालतबाट प्रतिपादित विलम्बको सिद्धान्तहरूबाट समेत निवेदकको रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत अञ्चल प्रहरी विशेष अदालततर्फबाट अञ्चलाधिशको कार्यालय बागमती अञ्चल ।

११.    डाक्टरको प्रमाणपत्र अनुसार निज मिति ०३७।५।१ सम्म विरामी विदा बसेको देखिन्छ तत्पश्चात कुनै विदा सम्बन्धी प्रतिवेदन पनि नगरी लामो समयसम्म त्यसै बसेको देखिएको हुँदा सो पछि मात्र निजले रोग र शरीरको निर्वलताको झुठ्ठा बहाना गरी उर्दि नमानी कर्तव्य गर्न छाडेको मुद्दा अदालतमा दायर गरेको कानुन अनुकूल नै भएकाले यस अदालतबाट भएको फैसला ऐन कानुनको परिधिभित्र रहेर नै भए गरेको देखिन्छ । निवेदकको निवेदन जिकिर तथ्यहिन आधारहिन भएकोले रिट निवेदनपत्र खारेज हुन सादर अनुरोध गर्दछु भन्ने समेत अध्यक्ष केन्द्रीय प्रहरी विशेष अदालत ।

१२.   सार्वजनिक महत्वको जटिल कानुनी प्रश्नमा निर्णय दिनुपर्ने अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०२१ (संशोधन सहित) को नियम ३३ को खण्ड (घ) अनुसार फुलबेञ्चमा पेश गर्नु । हदम्याद सम्बन्धमा विवाद परेको मुद्दा प्रहरी ऐन, २०१२ को दफा ३४ को (ग)(घ) र (ट) को अभियोगमा दायर भएको र उक्त ऐनको दफा ३६(ग)(२) अनुसार १ बर्ष भित्र मुद्दा चलाउन पर्ने भन्ने व्यवस्था भएकोबाट मुद्दा चलाउनु पर्ने कारण परेको मितिबाट १ बर्ष भित्र मुुद्दा दायर गर्नु पर्ने देखिन्छ । दफा ३४ को खण्ड (ट) को पनि अभियोग लागेको हुनाले रिट निवेदकको जिकिर अनुसार ०३७।३।१८ अथवा ०३७।४।२५ वा केन्द्रीय प्रहरी विशेष अदालतको लिखितजवाफमा उल्लेख भएको ०३७।५।१ को मितिलाई मुद्दा गर्नुपर्ने कारण उपस्थित भएको कुन मिति कायम गर्नुपर्ने हो ?(साविक पेज नं. १३७)

१३.   मुद्दाको अभियुक्त यस रिट निवेदनका निवेदक तोमप्रसाद विमली अपराध गरेको भनिएको समयमा बाजुरा जिल्ला अन्तर्गतको प्रहरी कर्मचारी भएको निज माथि कारवाई गर्न पाउने अधिकारक्षेत्र उक्त जिल्लाको सम्बन्धित अधिकृतलाई हुन्छ अथवा प्रहरीको कर्मचारी भएको नाताले प्रहरी प्रधान कार्यालयको आदेशले काठमाडौं जिल्ला प्रहरी कार्यालयलाई पनि हुन्छ भन्ने डिभिजनबेञ्को मिति २०४० साल बैशाख २३ गते रोज ६ को आदेश ।

१४.   प्रस्तुत मुद्दा सार्वजनिक महत्वको जटिल कानुनी प्रश्नको निरोपणको लागि सम्म फुलबेञ्चमा पेश हुन आएकोले मुद्दामा प्रवेश गरी डिभिजनबेञ्चको निर्णय हुन बाँकी नै हुँदा प्रस्तुत मुद्दाको फुलबेञ्चको लगत कट्टा गरी डिभिजनबेञ्चको लगतमा दर्ता गरी कानुन बमोजिम गर्नु भन्ने फुलबेञ्चको मिति २०४०।३।२१।३ को आदेश ।

१५.   तारेखमा रहेका निवेदक तोमप्रसाद विमलीलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विपक्षी के.प्र.वि.अ.समेत तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस समेत सुनियो ।

१६.    यसमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ।

१७.   शुरू अञ्चल प्रहरी विशेष अदालत बागमती अञ्चल मुकाम अञ्चलाधिशको कार्यालयले निवेदक तोमप्रसाद विमलीलाई रोग र शरीरको निर्वलताको झुठ्ठा बहाना गरी उर्दि नमानी कर्तव्य गर्न छाडेको कसूरमा प्रहरी ऐन, २०१२ को दफा ३४ को देहाय (६) को कसूर ठहर्‍याएको मनासिव ठहर्छ तर सजाय ३ बर्ष र महीना ३ कसूरको मात्रा अनुसार केही चर्को देखिएकोले तजबिज सजाय कैद महीना ८(आठ) मात्र हुने ठहर्छ भन्ने समेत केन्द्रीय प्रहरी विशेष अदालतले मिति २०३८।११।२७।४ मा निर्णय गरेको पाइन्छ ।

१८.   निवेदक उपर एक प्रहरी फोर्सलाई भडकाउने उद्देश्य गरेको मुद्दा र प्रस्तुत रोग र शरीरको निर्वलताको झुठ्ठा बहाना गरी उर्दि नमानी कर्तव्य गर्न छाडेको भन्ने मुद्दा जुन अर्को मुद्दासँग सादृव्श्य छ । प्रहरी फोर्स भडकाउने मुद्दामा मैले सफाई पाएको छु । यस मुद्दामा मलाई सजाय गरेको अ.बं.७३ नम्बर प्रतिकूल समेत छ । केन्द्रीय प्रहरी विशेष अदालतको फैसलामा त्रिचन्द्र मिलटरी हस्पीटल र डा.फौदराज थेवेको प्रमाणपत्रलाई उल्लेख गरी मलाई सजाय गरेको छ । प्रमाण ऐन, २०३१ को दफा १८ एवं दफा २३(६) अनुसार विशेष अदालतमा आई उपस्थित नभएसम्म प्रमाणमा लिन नमिल्नेमा त्यस कानुनी व्यवस्थाको प्रतिकूल भई फैसला गरेको त्रूटिपूर्ण भएकोले विपक्षी विशेष अदालतको फैसला बदरभागी छ भन्ने समेत निवेदकको मुख्य जिकिर भएको देखिन्छ ।

१९.    २०४०।३।२१ गतेको फुलबेञ्चको निर्णयले बाजुरा अन्तर्गतको प्रहरी कर्मचारी सम्बन्धी मुद्दा बागमती अञ्चल प्रहरी विशेष अदालतले हेरे छिनेको अनधिकृत ठहर्छ भनी निर्णय गरेको पाइन्छ। अदालती बन्दोबस्तको ३५ नम्बर बमोजिम मुद्दा हेर्ने तथा निर्णय गर्ने निकाय नै अनधिकृत ठहरेकोमा परमादेशको आदेश जारी गर्ने अवस्था देखिएन । तसर्थ उत्प्रेषणको आदेश जारी गरी विपक्षी (साविक पेज नं. १३८) अञ्चल प्रहरी विशेषअदालतले मिति ०३८।५।११।५ मा र पुनरावेदन सुनी मिति ०३८।११।२७ मा निर्णय गर्ने केन्द्रीय प्रहरी विशेषअदालत समेतका निर्णयहरू उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल श्रावण १५ गते रोज १ शुभम् ।

 

(साविक पेज नं. १३९)

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु