निर्णय नं. ६२३१ - परमादेश लगायत उपयूक्त आदेश जारी गरी पाउं ।

निर्णय नं. ६२३१ ने.का.प. ०५३ अङ्क ७
संयूक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
संवत् २०५२ सालको रिट नं. ... २७७९
आदेश मिति : २०५२।७।२१।४
विषयः परमादेश लगायत उपयूक्त आदेश जारी गरी पाउं ।
निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ वस्ने काशी दाहाल ।
बिरुद्ध
प्रत्यर्थीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय ।
यूवा तथा खेलकूद संस्कृति मन्त्रालय ।
पुरातत्व विभाग ।
लुम्विनी विकास कोष ।
लुम्विनी विकास परीयोजना ।
§ मायादेवी मन्दीरको पुनः निर्माण योजना अनुसार उत्खनन् र अन्वेषणवाट मायादेवीको पुरानो वनौट पत्ता लगाई सोही अनुरुप पुनः निर्माण गरिने भन्ने रहेको देखिन्छ । मायादेवी मन्दीर स्थित पिपलको बृक्ष प्राचिन स्मारक रहेको भन्ने कुराको निवेदकले प्रमाण दिन सकेको देखिन्न । त्यस्तै पिपलको बृक्ष मुनी नै भगवान गौतम वुद्धको जन्म भएको हो भन्ने कुराको प्रमाण आउन सकेको पनि छैन । लिखित जवाफवाट निवेदकको भनाईलाई अस्विकार गरी गौतम वुद्धको जन्म सालको बृक्ष अशोक तथा पलासको बृक्ष मुनी भएको ऐतिहासिक तथ्य्हरु छ भनिएको छ । यस अदालतको असाधारण अधिकार क्षेत्रका प्रयोगव्दारा प्रमाण बुझि यस ऐतिहासिक तथ्यको विवादको निपटरा गर्ने अवस्था भएन ।
(प्र.नं. १७)
§ प्राचिन स्मारक संरक्षण ऐन, ०१३ वमोजिमको कुरामा सोही ऐनवमोजिम हुने कुरा हो । पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संरक्षण नष्ट हुन दिएको छैन । र बृक्षकाटी व्यापार गरेको छैन । पुरातात्विक वस्तुहरु समेतको संरक्षण गरी राखेका छौं भन्ने प्रत्यर्थीहरुको कथन छ । योजना अनुसार अन्वेषण तथा निर्माण कार्यका सिलसिलामा माया देवीको मन्दीरका मुर्ति अस्थाई रुपमा अर्को ठाउंमा राखिएको भन्ने कुराले खराव नियतवाट अन्यत्र सारीएको भन्ने पनि देखिन आएन । निवेदकले यो यस्तो पुरातात्विक र ऐतिहासिक वस्तु यसरी नष्ट गरीयो भनी ठोस प्रमाणका आधारमा जिकिर लिन सकेको पाइएन । पत्रिकामा लेखिएको कुराका आधारमा वास्तविकता र यर्थाथता जान्ने तर्फ प्रयास नै नगरी सोही समाचारको आधारमा मात्र यस अदालतको असाधारण अधिकार क्षेत्र अन्र्तगत प्राचिन स्मारकको रुपमा रहेको बृक्ष काटी नासी अवैध रुपमा व्यापार गरेकोले छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने निवेदकको जिकिर र पुरातात्विक प्राचिन वस्तुको संरक्षण नभएकोले संरक्षण गर्दै विकास कार्य गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने समेत निवेदन जिकिर स्विकार योग्य नदेखिने।
(प्र.नं. १७)
§ नेपाल अधिराज्यको संविधान, ०४७ को धारा १६ ले प्रत्येक नागरिकलाई सार्वजनिक महत्वको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी मौलिक हकको प्रत्याभुति गरेको छ । महान विभूति गौतम वुद्धको जन्मस्थल लुम्विनीको विकास निर्माणको क्रममा जन्मस्थल स्थित मायादेवीका मन्दीरको पुनः निर्माणको सिलसिलामा भएको उत्खनन् र अन्वेषणको कार्य सार्वजनिक महत्व तथा चासोको विषय रही आएको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक महत्वको स्थल हूनाको साथै र यसप्रति गहिरो धार्मिक भावनात्मक सम्वन्ध पनि रहि आएको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी स्थित मायादेवी मन्दिरमा अवस्थित पिपलको वृक्षले मायादेवी मन्दिरको भौतिक स्थितिमा गांसिएर जन्मस्थलको एक हिस्साको रुपमा पहिचान राख्दै आएको छ भन्ने धारणा रहेको अवस्थामा जन्मस्थल प्रतिरहेको दृष्टिकोण तथा गहिरो भावनात्मक सम्वन्ध हुर्किएको र जरा गाडदै फिजाउंदै गएको यस वृक्ष प्रति पनि हुन जानूलाई स्वभाविक मान्न सकिन्छ । पिपलको रुख काटी हटाइएको छ भन्ने कुरामा विवाद छैन । यस्तो वृक्ष हटाउने र मायादेवी मन्दिरमा रहेका मुर्तिहरु सारिने कार्य संवेदनशिल हुन जाने र चासो लिईनु अस्वभाविक पनि देखिंदैन । यस्तो अवस्थामा सार्वजनिक महत्वको मायादेवी मन्दिर पुनः निर्माणको क्रममा मन्दिरमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्व राख्ने वस्तुहरु हटाउन र पिपल वृक्ष काटी हटाउन परेको कार्यको पछाडी रहेको कारण तथा अवस्थावारे जानकारी राख्ने कुरा सार्वजनिक सरोकार कै विषय हुंदा निवेदक समेतका नेपाली नागरीकलाई जानकारीको लागी सूचना माग्ने तथा पाउने हक नभएको भन्न मिलेन ।
(प्र.नं. १८)
§ लिखित जवाफमा सूचना प्रवाह पटक पटक गरेको भनेतापनि त्यस्को प्रमाण दिन नसकेकाले सूचना प्रवाह गरेका भनी माग्न नमिल्ने हुंदा निवेदन माग वमोजिम मायादेवी मन्दिरका मुर्तिहरु सार्नू परेको तथा पिपलको वृक्ष काटी हटाउनु परेको कारण सहित वास्तविक सूचना सार्वजनिक रुपमा प्रवाह गर्नु भन्ने श्री ५ को सरकार पुरातत्व विभाग लुम्विनी विकास कोषका नाउंमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) वमोजिम परमादेश जारी हुने ।
(प्र.नं. १८)
निवेदक तर्फवाटः
विद्वान अधिवक्ताद्वय श्री प्रकाशमणी शर्मा तथा विद्वान अधिवक्ता श्री अम्विका प्रसाद कोईराला ।
विपक्षी तर्फवाटः
विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल ।
विद्वान सरकारी अधिवक्ता श्री वलराम के.सी. ।
अवलम्वित नजीरः
आदेश
न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. नेपालको विभुति एसियाका ज्योती विश्वका शान्तिदुत गौतम वुद्धको जन्मस्थल लुम्विनी क्षेत्रको विकास र पुनः निर्माणका नाउंमा गौतम वुद्ध जन्मेको लुम्विनीको ऐतिहासिक पवित्र विशाल वृक्ष काटी मासी अवैध व्यापार गरिएको र त्यस क्षेत्रको अन्य पुरातात्विक महत्वका वस्तुहरु समेत लोप गर्ने समेतका कार्यहरु हुन गएको तथ्यहरु प्रकाशमा आएकोले र निवेदकको स्थलगत निरीक्षणवाट पनि यसै निवेदनको प्रकरण खण्डमा पेश गरेको फोटोको चित्र नं. (१) मा देखिएको ऐतिहासिक वृक्ष हाल काटी मासिएको समेत देखिंदा यी विषयहरु सार्वजनिक महत्व तथा सार्वजनिक सरोकार र चासोको भएकोले लुम्विनी क्षेत्रको विकास र निर्माणका नाउंमा ऐतिहासिक तथा पुरातात्विक महत्वका बस्तुहरुको विनास नगरी ऐतिहासिक तथा पुरातावित्क बस्तुहरुको संरक्षण गर्दै लुम्विनी क्षेत्रको विकास तथा पुनः निर्माण गर्नु गराउनु भन्ने प्रत्यर्र्थीहरुका नाउंमा उपयूक्त आदेश जारी गर्न नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६,२,८८(२) र सर्वोच्च अदालतवाट सुर्य प्रसाद शर्मा ढूङेल विरुद्ध वन तथा भु (संरक्षण मन्त्रालय समेत (नि.मि. २०५२।७।१४) को मूद्दामा प्रतिपादित सिद्धान्त समेतको आधारमा सम्मानित अदालत समक्ष निवेदन गर्न आएको छुं ।
३. नेपाल भौगोलिक दृष्टिकोणले सानो आर्थिक दृष्टिकोणले विपन्न भएपनि आफ्नो संस्कृति र पूर्खाको गौरवपुर्ण इतिहासले गर्दा विश्व मानचित्रमा नेपालको महत्वपुर्ण स्थान रहेको कुरामा कुनै विवाद छैन, हाम्रा संस्कृति सम्पदा प्राचिन स्मारक, पुरातात्विक वस्तुहरुको संरक्षण र सम्वर्धन गरी पूर्खाको गौरवपुर्ण इतिहासलाई अक्षुण्ण रुपमा जंचाई राख्नू आज नेपालका प्रत्येक सन्ततीको कर्तव्य र दायित्व रहेको छ । नेपाललाई विश्व समक्ष परिचित गराई नेपालको इज्जत प्रतिष्ठा बढाउने विभिन्न प्रसिद्ध कुरा मध्ये वुद्धको जन्मस्थल लुम्विनी पनि एक महत्वपुर्ण पक्ष हो । लुम्विनीको पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संरक्षण र संवर्धन गर्दै लुम्विनी क्षेत्रको विकास गर्नु प्रत्यर्थीहरुको जिम्मेवारीपुर्ण कर्तव्य तथा दायित्व रहेको छ ।
४. आजभन्दा करीव २६१९ वर्ष अगाडि अर्थात इशापुर्व ६२३ वैशाख पुर्णिमाका दिन तत्कालिन कपिलवस्तु राज्यका शाक्यवंशका राजा सुद्धोधन कि रानी मायादेवीलाई व्यथा लागि लुम्विनी कुन्जको विशाल वृक्ष (जुन हाल काटिएको) मा राजकुमार सिद्धार्थको जन्म भएको ऐतिहासिक तथ्यहरु स्थापित छन । मौर्य सम्राट अशोकले इशापुर्व २५५ मा कनकमुनी वुद्धको जन्मभुमीमा तीर्थ यात्रागरी लुम्विनीमा शाक्यमुनी गौतमवुद्ध जन्मेका थिए भनी ढुङ्गाको शिला स्तम्भ निर्माण गरेको तथ्य र चिनियायात्री फाहियान र हुयानसाङले क्रमशः पाचौं शताव्दी र सातौं शताव्दीमा लुम्विनीको भ्रमण गरी यही शिला स्तम्भ (अशोक स्तम्भ) भएको ठाउंमा नै गौतम वुद्धको जन्मस्थल हो भन्ने कुराको उल्लेख गरी वुद्ध जन्मेको जन्मस्थलमा रहेको विशाल वृक्षको वर्णन समेत गरी तत्काल प्रकाशित गरिएको ग्रन्थ समेतका आधारमा गौतमवुद्धको जन्मस्थल नेपालको हालको रुपन्देही जिल्ला स्थित लुम्विनी तथा उनको राज्य कपिलवस्तु दरवार तिलौराकोटमा रहेको थियो भन्ने कुरा विभिन्न तथ्यगत प्रमाणहरुवाट स्थापित हुंदाहुंदै पनि भारतीय केही पुरातत्वविद्को हवाला दिदैं भारतीय पक्षवाट वुद्धको तत्कालीन कपिलवस्तु भारत उतरप्रदेशको वस्ती जिल्ला अन्तर्गत “पिपरहवे” भन्ने ठाउं हो भन्ने समेतका मिथ्या कुराहरुको श्रृजना गरी ऐतिहासिक स्थापित तथ्यहरुलाई विखण्डित गर्ने दूष्प्रयासहरु केही समय देखि भएतापनि विश्व समुदायको मान्यता र ऐतिहासिक स्थापित तथ्यगत कुराहरुका आधारमा राजा सूद्धोधनको तत्कालीन कपिलवस्तु राज्य नेपालको हालको कपिलवस्तु क्षेत्र र राजा सुद्धोधनको दरवार कपिलवस्तु जिल्लामा अवस्थित तिलौराकोट हो भन्ने कुरा निर्विवाद तथ्य हो।
५. वुद्धको जन्मस्थल र उनको जिवनसंग सम्वन्धित ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण र संवर्धन गर्नु आवश्यकीय कुरा हो । तर लुम्बिनी क्षेत्रको विकासको नाउंमा पुरातात्विक कुराहरुको विनास र ऐतिहासिक वस्तुहरुको लोप गर्न नहुने तर्फपनि त्यतिकै सजग र सचेष्ट हुनु पर्दछ । केही समय देखि लुम्बिनी क्षेत्रको विकासको नाउमा ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु नास्ने मास्ने लोप गर्ने अवैध व्यापार गर्ने जस्ता कार्यहरु हुन गएकोले सम्बन्धित सवै चिन्तित वन्न पूगेका छन् । राष्ट्रपूकार साप्ताहिक पत्रिका वर्ष २६ अंक २१ (२०५२ पूष १२) मा गौतम बूद्ध र लुम्बिनी शिर्षकमा “लुम्बिनीको हालको दूरावस्थाको चित्रण गरिएको छ । यसै गरी साप्ताहिक नेपाल जागरण वर्ष ४ अंक १० (माघ ८, २०५२) मा” लुम्बिनी क्षेत्रको असूरक्षा विनाशको चाप भन्ने शिर्षकमा समेत समाचार प्रकाशित भएको छ ।
६. गौतमवुद्धसंग सम्वन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा क्षेत्रहरुका संरक्षण गर्न प्रत्यर्थीहरुको विशेष ध्यान दिनुपर्नेमा त्यसतर्फ संवेदनशिल नभएकोले प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा १० ले प्राचिन स्मारकलाई नष्ट गरेमा भत्काएमा, हराएमा, परिवर्तन गरेमा, विरुप पारेमा संजाय समेत हुने व्यवस्था भईरहेको गौतमवुद्ध जन्मिएको वृक्ष ऐतिहासिक दृष्टिकोणले उक्त ऐनको दफा २(क) को परिभाषा अनुसार “प्राचिन स्मारक” को रुपमा रहेको हुंदा ऐतिहासिक वृक्ष काटी नासी अवैध रुपमा व्यापार भएको तथ्यहरु प्रकाशमा आएको देखिंदा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्नु गराउनु भनी श्री ५ को सरकार को नाउंमा आदेश पाउं त्यस्तै लुम्विनी क्षेत्रको विकाश र निर्माण गर्दा प्राचिन स्मारक र पुरातात्विक वस्तुहरुको संरक्षण गर्दै विकाश निर्माणका कार्यहरु गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाउंमा आदेश जारी के कति कारणले के कस्को के कुन मितिको के कस्तो निर्णयवाट गौतमवुद्धको जन्मिएको ऐतिहासिक वृक्षलाई काटी नष्ट गरिएको हो । सार्वजनिक सरोकारको विषय बनेकोले सर्वसाधारण जनताको जानकारीको लागी वास्तविक सूचना प्रवाह गर्नु गराउनु भनी श्री ५ को सरकारको नाउंमा आदेश जारी गरी पाउं भन्ने समेत व्यहोराको रिट निवेदन ।
७. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिम आदेश किन जारी हुन नपर्ने हो? १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी प्रत्यर्थीहरुका नाउंमा म्याद जारी गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५२।११।२ को आदेश ।
८. विपक्षीले रिट निवेदनमा उठाएको विषय श्री ५ को सरकार (कार्य विभाजन) नियमावली, २०४७ अनुसार यूवा खेलकूद तथा संस्कृति मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने हो । मन्त्रिपरिषद सचिवालयलाई विपक्षी वनाउनु पर्ने कुनै आधार नै नहुंदा रिट निवेदन खारेजभागी छ खारेज गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालयको लिखित जवाफ ।
९. २६ फे्रबूअरी १९९४ मा भगवान गौतमवुद्धको जन्मस्थलको रुपमा रहेको मायादेवी मन्दिर उत्खनन् तथा संरक्षण गर्ने सम्वन्धमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुको वैठक वसेको थियो । सो वैठकले मायादेवी मन्दिरको उत्खनन् गरी पुरानो स्ट्क्चर पत्ता लगाउन सिफारीश गरेको थियो । यस प्रयोजनको निमित उक्त मन्दिरलाई पुर्ण रुपमा पिपलको रुखका जराले ढाकेकोले मन्दिर जीर्ण भएको हुंदा मन्दिर अरु विग्रन नदिन सो रुखका जराहरु काट्न छाट्न पनि उक्त वैठकले सुझाव दिएको तथा सिफारीश गरेको थियो । यसै सुझावको आधारमा उक्त मन्दिरको उत्खनन् र पुरानो स्ट्क्चर पत्ता लगाउन पिपलका जराहरु काटिएका हुन । उत्खनन् कार्यको सिलसिलामा बढि ठाउं खोल्न आवश्यक भएकोले उक्त रुख काटिएको हो ।
१०. रिट निवेदकले रिट निवेदनको प्रकरण २ मा उल्लेख गर्नु भए झै भगवान वुद्ध जन्म भएको रुख त्यो होइन । वौद्ध धार्मिक ग्रन्थहरुमा भगवान गौतमवुद्धको जन्म साल वृक्षको फेदमा भएको कुरा उल्लेख छ । पिपल वृक्षको फेदमा होईन । सामान्यतया रुख २६ सय वर्षसम्म जिवित रहन पनि सक्तैन । उक्त रुख मायादेवीको मन्दिरमा उभिएर मन्दिरलाई नै नोक्सान पुर्याउंदै आएको थियो । मायादेवी मन्दीर भन्दा सो रुख महत्वपुर्ण हुन पनि सक्तैन । अतः मायादेवी मन्दिरलाई अझ विनास हुन नदिन उक्त पिपल वृक्ष काटिएको हुंदा रिट निवेदन खारेज गरी पाउन सम्मानित अदालत समक्ष विनम्र अनुरोध गर्दछु भन्ने पुरातत्व विभागको लिखित जवाफ ।
११. गंभीर त्रुटि भएको देखाउन सकेकोमा वाहेक अधिकार प्राप्त निकायव्दारा कानून वमोजिम भएको काम कारवाहीका सम्वन्धमा साधारणतया रिट लाग्ने नै होईन । निराधार कुरामा गरेको विपक्षीको रिट निवेदन प्रथम दृष्टि मै खारेजभागी छ ।
१२. भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनी क्षेत्रको विकास गर्ने लक्ष्य राखेर नै यस लुम्विनी विकास कोषको स्थापना हुन गएको हो । लुम्विनी क्षेत्रको विकासको लागी योजना तयार गरी विकास र पुन:निमार्णको कार्य संचालन गर्न पाउने अधिकार लुम्विनी विकास कोष ऐन, २०४२ ले यस लुम्विनी विकास कोषलाई प्रदान गरेकै छ । जुन कुरालाई विपक्षी स्वयंले पनि स्वीकार गर्नु भएकै छ । यसै अनुरुप लुम्विनी स्थित मायादेवी मन्दिरको उत्खनन् र जिर्णोद्वार गर्ने सम्वन्धमा सन् १९९० सेटेम्वर ४ तारीखका दिन यस लुम्विनी विकास कोष र (जापान वौद्ध संघ) जापान बुद्धिष्ट फेडरेशनका वीच संझौता सम्पन्न भएको थियो । सो अनुसार सो सम्वन्धमा योजना तयार पारी प्रथम चरणमा मायादेवीको मन्दिरको अन्वेषणवाट उत्खनन् पुरा गरी प्रतिवेदन पेश भएपछि नेपाल, भारत, जापान, श्रीलंका, थाईल्याण्ड, पाकिस्तान, म्यानमारका विशेषज्ञहरुको गोष्ठी गर्ने र सो गोष्ठीले दिएको सुझाव र सिफारीश वमोजिम दोश्रो चरणको उत्खनन् जिर्णोद्वार सम्भार सम्वर्धन गर्ने एवं संभव भएसम्म पिपलका वोटको वातावरणीय महत्वलाई ध्यानमा राखी उक्त वोटलाई यथास्थानमा कायमै राख्ने मायादेवी मन्दिर जिर्णोद्वार आयोजनाको योजना रहेको थियो । सो योजना अनुरुप पहिलो चरणको अन्वेषणात्मक उत्खनन् हुंदा मन्दिरभित्र पस्ने प्रवेशव्दार माथि र मन्दिर भित्रको भित्ता एवं मन्दिर वाहिर पर्ने चारैतिर पिपलको वोटको जरा नराम्रो संग फैलिने गएको कारण मन्दिरको कक्ष भित्रको भित्ता समेत क्षतविक्षत पार्नाको साथै उक्त पिपलको जरा मन्दिरको ८/१० मिटर पश्चिममा रहेको अशोक स्तम्भ तिर समेत फैलिई उक्त स्तम्भलाई नोक्सान पुर्याउने प्रचुर संभावना भएको कारण उक्त पिपलकोवोट नहटाइए सम्म मायादेवीको मन्दिर र अशोक स्तम्भको संरक्षण पनि हुन नसक्ने एवं उत्खनन् र जिर्णोद्धारको कार्य पनि हुन नसक्ने स्थिति प्रकट भएकोले सन् १९९४ फेव्रुअरी २६ का दिन वसेको विभिन्न देशका विशेषज्ञको गोष्ठीवाट अशोक स्तम्भ र मायादेवीको मन्दिरलाई कुनै क्षति नहुने गरी उक्त पिपलको वोट हटाउने सिफारीश गर्ने निर्णय भए वमोजिम उक्त पिपलको रुख काटी हटाइएको हो । मायादेवी मन्दिर र अशोक स्तम्भलाई क्षतिग्रस्त हुन नदिन र सो को संरक्षणको खातिर असल नियतवाटै उक्त रुख काटिएको हो । उक्त रुख काट्नै पर्ने वाध्यता आईपरेको कारणवाट नै सो रुख काटिन गएको हो । कुनै कारण नै नभई सो रुख काटिएको होइन । विपक्षीले रिट निवेदनमा उल्लेख गरेको कुनै पनि त्रुटि संवन्धित कारवाहीमा विद्यमान छैन ।
१३. विपक्षीले रिट निवेदनमा उक्त पिपलको वृक्षमा गौतमवुद्धको जन्म भएको भन्ने उल्लेख गर्नु भएको नभै साल, अशोक, अथवा पलासको वृक्षमुनि भएको भन्नेकुरा सम्पुर्ण ऐतिहासिक तथ्यवाट स्थापित भईसकेको विषय हो । त्यसमा पनि उक्त पिपलको वृक्ष केवल ७०।७५ वर्षको मात्र रहेको भन्ने वन विशेषज्ञवाट पनि यकिन भई राखेको छ । यसैले गौतमवुद्ध जन्मेको रुख काटियो भन्ने विपक्षीको कथनमा कुनै सत्यता नरहेको सूस्पष्ट छ । उक्त पिपलको रुख काटी मासी विदेशमा अवैध व्यापार गरेको भन्ने विपक्षीको जिकिर मिथ्या हो हामीवाट त्यस्तो कुनै पनि किसिमका अवैध व्यापार भए गरेको छैन । तसर्थ आदेश जारी हुन सक्ने आधार छैन । त्यस क्षेत्रका सम्पुर्ण पुरातात्विक एवं ऐतिहासिक वस्तुहरु संरक्षण गरी राखिएको छ । त्यस्ता पुरातात्विक वस्तुहरु लोप तथा नष्ट हुन दिइएको छैन र लोप तथा नष्ट गरिएको पनि छैन । गौतमवुद्धको जन्मस्थलको विकास र निमार्ण गर्ने उद्देश्यवाट स्थापित यस संस्थाले आफुले सो सम्वन्धमा पुरा गर्नु पर्ने जिम्मेवारी एवं दायित्व पुरा गर्दै आएको छ । सो क्षेत्रको विकास र पुरातात्विक वस्तुहरुको संरक्षण गर्न हामी प्रत्यर्थी सदासजग र सचेत छौं । विपक्षीको निवेदन वास्तविक तथ्यमा आधारीत छैन । विपक्षी आफैले देखि जानी बुझी थाहा पाएको आधारमा रिट गरेको नभई एक दुई पत्रिकामा प्रकाशित निराधार समाचारका आधारमा सार्वजनिक सरोकारको विषय बनाई दायर गरेको विपक्षीको रिट निवेदन प्रष्ट नै खारेजभागी छ । लुम्विनी क्षेत्रको विकास र पूर्नःनिर्माणको क्रममा गौतमवुद्धको जन्मस्थल र जिवनसंग सम्वन्धित कुनै पनि ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको विनास गरिएको छैन । सो वस्तुहरुको पुरापुर सूरक्षा एवं संरक्षण गर्दै सो क्षेत्रको विकास तथा पुनः निर्माण गरिंदै आएको छ । लुम्विनीको मौलिकता नष्ट हुने कुनै कार्य गरिएको छैन । विकासको नाउंमा ऐतिहासिक वस्तुहरु नास्ने लोप गर्ने गरियो भन्ने विपक्षीको जिकिर मिथ्या हो ।
१४. अन्य व्यक्ति वा पक्षवाट जे जस्ता कुराको प्रचार गरिए पनि बूद्धको जन्म लुम्विनी भएको कुरामा कुनै विवाद छैन । जुन कुरा ऐतिहासिक तथ्यवाट निर्विवाद रुपमा स्थापित एवं प्रमाणित भई सकेको छ । विपक्षीले रिट निवेदनमा उल्लेख गरेको राष्ट्रपुकार र नेपाल जागरण साप्ताहिकको समाचारमा कुनै पनि सत्यता छैन । मायादेवीको मन्दिरको जिर्णोद्वार र संरक्षणको लागि मायादेवीको मन्दिरमा रहेको मुर्ति अस्थायी रुपमा अर्को भवनमा सारिएको मात्र हो । त्यहांको कुनै पनि ऐतिहासिक तथा पुरातात्विक वस्तु हराएको छैन । रुख काट्नु परेको कारण र सो रुख काट्ने वारे भएको निर्णयवारे यथार्थ कुरा खूलाई पटक पटक विभिन्न पत्रिका मार्फत सर्व साधारणलाई जानकारी गराई सकेको नै हुंदा निवेदकको माग वमोजिम कुनै आदेश जारी हुनपर्ने अवस्था र आधार छैन । प्रस्तुत विषय रिट क्षेत्रवाट हेरिन सकिने विषय पनि नहुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको लुम्विनी विकाश कोष समेतको लिखित जवाफ ।
१५. नियम वमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फवाट उपस्थित विव्दान अधिवक्ताद्वय श्री प्रकाशमणि शर्मा तथा श्री अम्विका प्रसाद कोइरालाले गौतमवुद्धको जन्मस्थल लुम्विनी सार्वजनिक महत्व तथा सार्वजनिक चासोको विषय भएको प्रत्यर्थीहरुको लुम्विनी क्षेत्रको विकासको नाउंमा ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयहरुको विनाश गरेको सो कुरालाई विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचारले पनि पुष्टी गरेको छ । मायादेवीको मन्दिर नजिक रहेको पिपल रुख काटी पात तथा टुक्राहरु वेच्न थालेको सुनिएको समेत हुंदा लुम्विनी क्षेत्रको विकास र निर्माण गर्दा प्राचिन स्मारक पुरातत्व वस्तुहरुको संरक्षण गर्दै विकाश निर्माणका कार्यहरु गर्नु गराउनु ऐतिहासिक वृक्ष अवैध रुपमा काटी नास्नेलाई कारवाही गर्न र के कति कारणले ऐतिहासिक पिपलको वृक्ष काटी नासेको हो सार्वजनिक सरोकारको विषय बनेकोले सो को सूचना प्रवाह गर्नु भनी विपक्षीहरुका नाउंमा आदेश जारी होस भन्ने समेत वहस प्रस्तुत गर्नुभयो । त्यस्तै लुम्विनी विकास कोषको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेलले आफ्नो वहस प्रस्तुत गर्दै लुम्विनी विकाश कोषलाई लुम्बिनी विकाश कोष ऐन,२०४२ ले लुम्विनी क्षेत्रका विकासको लागि अधिकार दिएको छ । १९९० सेप्टेम्वर ४ मा जापान वृटिश फेडरेसन तथा लुम्विनी विकास कोष विच लुम्विनी क्षेत्रको विकाशको लागि संझौता भएको विशेषज्ञहरुको गोष्ठी समेत गरी संभव भए सम्मका पिपलका रुख यथावत राख्ने काम भएको तर मायादेवी मन्दिरको उत्खनन् गरी पुरानो स्ट्क्चर पत्ता लगाउन सिफारीश गरेको सो प्रयोजनका लागि उक्त मन्दिरलाई पुर्ण रुपमा अरु विग्रन नदिन उक्त रुखको जराहरु काटन छाटन पनि वैठकले सुझाव दिएको थियो र यसै सुझावको आधारमा पिपलको जराहरु र वढी ठाउं खोल्न आवश्यक भएकोले रुख काटिएको हो । पिपलका पात तथा हांगाहरु काटी बेचेको भन्ने झुठो हो रिट निवेदकले पत्रिकामा प्रकाशित कुराको आधारमा रिट निवेदन दिएको देखिंदा रिट निवेदन खारेजभागी छ । भनी उल्लेख गर्नु भयो भने प्रत्यर्थी श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेतका तर्फवाट उपस्थित विव्दान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी.ले सार्वजनिक सरोकारको विषय मात्र भएर भएन, त्यसमा संवैधानिक वा कानूनी प्रश्न समावेश भएको हुनुपर्दछ । निवेदकले सो देखाउन सकेको छैन । सार्वजनिक महत्वको कुराको सूचना पाउने हकका लागि प्रथमतः सम्वन्धित ठाउंमा जानू पर्ने निवेदक र त्यसरी सूचना प्राप्त गर्नको लागि गएको देखिंदैन। तसर्थ रिट निवेदन खारेजभागी छ भन्ने समेत वहस जिकिर प्रस्तुत गर्नुभयो ।
१६. यस्मा उल्लेखित वहसहरु समेतलाई ध्यानमा राखी मिसिल अध्ययन गरी हेर्दा प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा १० ले प्राचिन स्मारकलाई नष्ट गरेमा भत्काएमा हराएमा परिवर्तन गरेमा विरुप पारेमा सजाय समेत हुने व्यवस्था भईरहेको अवस्थामा गौतम वुद्ध जन्मिएको वृक्ष ऐतिहासिक दृष्टिकोणले समेत उक्त ऐनको दफा २ (क) को परिभाषा अनुसार प्राचिन स्मारकको रुपमा रहेको हुंदा उक्त ऐतिहासिक वृक्ष काटन नहुनेमा सो वृक्ष काटी नासी अवैध रुपमा व्यापार भएको भन्ने तथ्यहरु प्रकाशमा आएको देखिंदा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्नु गराउनु र के कति कारणले के कस्को के कुन मितिको के कस्तो निर्णयवाट उक्त ऐतिहासिक वृक्षलाई काटी नष्ट गरिएको हो । सार्वजनिक सरोकारको विषय वनेकोले सर्वसाधारण जनताको जानकारीका लागि वास्तविक सूचना प्रवाह गर्नु गराउनु भनी श्री ५ को सरकारका नाउंमा आदेश जारी गरी पाउं भन्ने रिट निवेदनमा जिकिर लिनूका साथै लुम्विनी विकास कोष ऐन, ण्द्धद्द ले लुम्विनी विकासको लागि गूरु योजना तयार गरी कार्य संचालन गर्ने अधिकार प्रदान गरेको भए पनि लुम्विनी क्षेत्रको विकास र निर्माणका नाउंमा ऐतिहासिक महत्वका पुरातात्विक वस्तुहरुलाई नष्ट गर्ने, परिवर्तन गर्ने विनास र स्वरुप नै परिवर्तन गर्ने अधिकार भएको भन्न नमिल्ने हुंदा लुम्विनी क्षेत्रको विकास र निर्माण गर्दा प्राचीन स्मारक र पुरातात्विक वस्तुहरुको संरक्षण गर्दै विकास निर्माणका कार्यहरु गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाउंमा आदेश जारी गरी पाउं भनी जिकिर लिई नेपाल अधिराज्यको संविधान २०४७ को धारा १६,२३ ८८(२) र सर्वोच्च अदालतवाट सुर्य प्रसाद शर्मा ढुंगेल विरुद्ध वन तथा भु संरक्षण मन्त्रालयमा समेतको मूद्दामा प्रतिपादित सिद्धान्त समेतका आधारमा प्रस्तुत रिट निवेदन परेको देखियो । गौतम वुद्धको जन्मस्थानको लुम्बिनी स्थित मायादेवीको मन्दीर उत्खनन् तथा संरक्षण गर्ने सम्बन्धमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुको बैठक वसी मायादेवी मन्दिरको उत्खनन् गरी पुरानो स्ट्क्चर पत्ता लगाउन सिफारीश गरेकोले उक्त मन्दिरलाई पुर्णरुपमा पिपलको रुखको जराले ढाकेकोले मन्दिर जिर्ण भएको हुंदा मन्दिरलाई अरु विग्रन नदिन सो रुखका जराहरु काट्न छाट्न पनि सुझाव दिएको सिफारिश गरेको हूनाले मन्दिरको उत्खनन् गर्न र पुरानो स्ट्रक्चर पत्ता लगाउन पिपलका जराहरु काटीएको र उत्खनन् कार्यको सिलसिलामा वढी ठाउं खोल्न आवश्यक भएकाले रुख काटिएको हो निवेदकले उल्लेख गरे झै भगवान वुद्ध जन्म भएको रुख होइन । रुख मायादेवीको मन्दीरमा उभिएर मन्दिरलार्ई नै नोक्सानी पुर्याउदै आएको मायादेवी मन्दिरलाई अझ विनास हुन नदिन उक्त पिपल वृक्ष काटिएको हो । रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत पुरातत्व विभागको लिखितजवाफ रहेको छ । अधिकार प्राप्त निकायद्वारा कानून वमोजिम काम कारवाही भएको छ । भगवान गौतम वुद्धको जन्मस्थल लुम्विनी क्षेत्रको विकासको लागी योजना तयार गरी विकास र पुनःनिर्माणको कार्य संचालन गर्न पाउने अधिकार लुम्विनी विकास कोष ऐन, ण्द्धद्द ले यस लुम्विनी विकास कोषलार्ई रहेको कुरालार्ई निवेदनमा स्विकार गरिएको छ । लुम्विनी विकास कोष र (जापान वौद्ध संघ) जापान वुद्धिष्ट फेडरेशनको बीच सन् १९९० सेप्टेम्वर ४ का दिन भएको संझौता अनुसार यस सम्वन्धमा गुरुयोजना तयार पारी प्रथम चरणमा मायादेवी मन्दिरको अन्वेषणात्मक उत्खनन् पुरा गरी प्रतिवेदन पेश भएपछि नेपाल, भारत, जापात श्रीलंका, थाइल्याण्ड, पाकिस्तान, म्यानमारका विशेषज्ञहरुको गोष्ठीले दिएको सुझाव र सिफारिस वमोजिम दोश्रो चरणको उत्खनन् र जिर्णोद्धार संम्भार सम्वर्धन गर्ने एवं संभव भएसम्म पिपलको वोटको वातावरणीय महत्वलार्ई ध्यानमा राखी उक्त वोटलार्ई यथास्थान मै कायम राख्ने योजना रहेको थियो । योजना अनुरुप उत्खनन् हुंदा पिपलको जरा मन्दिरको ८,१० मिटर पश्चिममा रहेको अशोक स्तम्भ तिर समेत फैलिई उक्त स्तम्भलार्ई नोक्सान पुर्याउने प्रचुर संभावना भएको कारण पिपलको वोट नहटाई योजना अनुरुप कार्य हुन समेत नसक्ने अवस्था भई १९९४ फ्रेब्रुअरी २६ मा विभिन्न देशका विशेषज्ञहरुको गोष्ठीवाट पिपलको वोट हटाउने, सिफारिश गर्ने निर्णय भए वमोजिम असल नियतले वाध्यतावश हटाइएको हो । गौतम वुद्धको जन्म पिपलको वोट मुनी भएको होइन । पिपलको वोट काटी मासी विदेशमा अवैध व्यापार गरेको भन्ने कुरा मिथ्या हो । यस क्षेत्रको संपुर्ण पुरातात्विक एवं ऐतिहासिक वस्तुहरु संरक्षण गरी राखिएको छ । त्यसप्रति सदा सजग र सचेत छौं । ऐतिहासिक र पुरातात्विक वस्तुहरुको संरक्षण गर्दै सो क्षेत्रको विकास र पुनः निर्माण गरिदै आएको छ । रिट निवेदनमा उल्लेखित पत्रिकाहरुमा प्रकाशित समाचारहरु सदस्यतामा आधारित छैन । मायादेवी मन्दिरको जिर्णोव्दार र संरक्षणको लागी माया देवीको मन्दिरमा रहेका मुर्ति अस्थाई रुपमा अर्को भवनमा सारीएको मात्र हो । प्राचिन स्मारक संरक्षण ऐन, ०१३ को दफा १० आकर्षित हुने अवस्था पनि छैन । असल नियतले गरेको काम कुरालाई ऐ.ऐनको दफा १८ ले वचाउ समेत प्रदान गरेको छ । रुख काट्नु परेको कारण र सो रुख काट्ने वारे भएको निर्णयवारे यथार्थ कुरा खुलार्ई पटक पटक विभिन्न पत्रिका मार्फत सर्वसाधारणमा जानकारी गराई सकिएको हुंदा समेत माग वमोजिम आदेश जारी हुन नपर्ने साथै यो कानूनी त्रूटी भनी नऔल्याइएको र प्रस्तुत विषय रिट क्षेत्रवाट हेरिन सक्ने विषय पनि नहुंदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत व्यहोराको लुम्विनी विकास योजना तथा लुम्विनी विकास कोषको लिखित जवाफ देखिन्छ ।
१७. अब माग वमोजिमको आदेश जारी हुनु पर्ने नपर्ने के हो निर्णय तर्फ विचार गर्दा लुम्विनी विकास कोष ऐन, ०४२ द्वारा स्थापित लुम्विनी विकाश कोष अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था रहेको र यो संस्थाको व्यवस्था लुम्विनीको विकास गर्ने लक्ष्य र आदर्शलार्ई वढी प्रभावकारी वनाउने श्री ५ को सरकारको कटिवद्धतालार्ई विश्व जन समक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्विनी विकास योजनालार्ई वढि समन्वयात्मक र सूचारुरुपले संचालन गर्न भएको देखिन्छ । ऐनको दफा ६ मा “कोषको उद्देश्य अन्तर्गत देहाय (क) मा योजनाको निमित्त नेपाल अधिराज्यभित्र वा वाहिर कुनै क्षेत्रवाट नगदी जिन्सी वा अन्य कुनै प्रकारको सहायता उपलव्ध गर्ने गराउने रहेको देखिन्छ भने देहाय (२) मा कोषको उद्देश्य प्राप्तिका लागि अन्य आवश्यक काम गर्ने गराउने रहेको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी क्षेत्रको विकासको क्रममा लुम्विनी स्थित मायादेवी मन्दीरको पुनः निर्माणको लागी उत्खनन् र जिर्णोव्दार गर्ने कुराका सम्वन्धमा ४ सेप्टेम्वर १९९० मा लुम्विनी विकास कोष र जापान वुद्धिष्ट फेडरेशनका बीच संझौता भै त्यसपछि पनि पटक पटक संझौताका केही कुराहरुमा संशोधन संझौंताहरु भएको देखिन्छ । योजना अनुरुप मायादेवी मन्दिरको पुरानो वनौटका अन्वेषणात्मक उत्खनन् गर्ने क्रममा मायादेवी मन्दिर स्थित पिपलको वृक्ष हटाउनु पर्ने कुरामा सिद्धान्ततः पिपल रुख कायम नै राख्ने तर पुरातात्विक र मन्दीरको सूरक्षाको दृष्टिकोणवाट हटाउनु पर्ने भएमा लुम्विनी विकास कोषको जवाफदेहीमा हटाइने छ भन्ने ३० सेप्टेम्वर १९९२ मा संझौता भए अनुसार २६ फेव्रुअरी १९९४ मा विशेषज्ञहरुको वैठकको सुझाव र सिफारिश भइ रुख हटाएको भन्ने लिखित जवाफवाट देखिनूका साथै संझौताको फोटो प्रतिलिपिहरुवाट पनि देखियो । मायादेवी मन्दीरको पुनः निर्माण योजना अनुसार उत्खनन् र अन्वेषणवाट मायादेवीको पुरानो वनौट पत्ता लगाई सोही अनुरुप पुनः निर्माण गरिने भन्ने रहेको देखिन्छ । मायादेवी मन्दीर स्थित पिपलको बृक्ष प्राचिन स्मारक रहेको भन्ने कुराको निवेदकले प्रमाण दिन सकेको देखिन्न । त्यस्तै पिपलको बृक्ष मुनी नै भगवान गौतम वुद्धको जन्म भएको हो भन्ने कुराको प्रमाण आउन सकेको पनि छैन । लिखित जवाफवाट निवेदकको भनाईलार्ई अस्विकार गरी गौतम वुद्धको जन्म सालको बृक्ष अशोक तथा पलासको बृक्ष मुनी भएको ऐतिहासिक तथ्य्हरु छ भनिएको छ । यस अदालतको असाधारण अधिकार क्षेत्रका प्रयोगव्दारा प्रमाण बुझि यस ऐतिहासिक तथ्यको विवादको निपटरा गर्ने अवस्था भएन । प्राचिन स्मारक संरक्षण ऐन, ०१३ वमोजिमको कुरामा सोही ऐन वमोजिम हुने कुरा हो । पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संरक्षण नष्ट हुन दिएको छैन । र बृक्षकाटी व्यापार गरेको छैन । पुरातात्विक वस्तुहरु समेतको संरक्षण गरी राखेका छौं भन्ने प्रत्यर्थीहरुको कथन छ । योजना अनुसार अन्वेषण तथा निर्माण कार्यका सिलसिलामा माया देवीको मन्दीरका मुर्ति अस्थाई रुपमा अर्को ठाउंमा राखिएको भन्ने कुराले खराव नियतवाट अन्यत्र सारीएको भन्ने पनि देखिन आएन । निवेदकले यो यस्तो पुरातात्विक र ऐतिहासिक वस्तु यसरी नष्ट गरीयो भनी ठोस प्रमाणका आधारमा जिकिर लिन सकेको पाइएन । पत्रिकामा लेखिएको कुराका आधारमा वास्तविकता र यर्थाथता जान्ने तर्फ प्रयास नै नगरी सोही समाचारको आधारमा मात्र यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत प्राचिन स्मारकको रुपमा रहेको बृक्ष काटी नासी अवैध रुपमा व्यापार गरेकोले छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने निवेदकको जिकिर र पुरातात्विक प्राचिन वस्तुको संरक्षण नभएकोले संरक्षण गर्दै विकास कार्य गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने समेत निवेदन जिकिर स्विकार योग्य देखिएन ।
१८. जहांसम्म रिट निवेदनको प्रकरण ४ मा उल्लेखित समाचारमा उठाइएको प्रश्नहरुको सम्वन्धमा वास्तविक सूचना प्रवाह गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने निवेदनको माग छ । नेपाल अधिराज्यको संविधान, ०४७ को धारा १६ ले प्रत्येक नागरिकलार्ई सार्वजनिक महत्वको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी मौलिक हकको प्रत्याभुति गरेको छ । महान विभुति गौतम वुद्धको जन्मस्थल लुम्विनीको विकास निर्माणको क्रममा जन्मस्थल स्थित मायादेवीका मन्दिरको पुनः निर्माणको सिलसिलामा भएको उत्खनन् र अन्वेषणको कार्य सार्वजनिक महत्व तथा चासोको विषय रही आएको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक महत्वको स्थल हुनाको साथै र यस प्रति गहिरो धार्मिक भावनात्मक सम्वन्ध पनि रहि आएको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी स्थित मायादेवी मन्दिरमा अवस्थित पिपलको वृक्षको मायादेवी मन्दीरको भौतिक स्थितिमा गांसिएर जन्मस्थलको एक हिस्साको रुपमा पहिचान राख्दै आएको छ भन्ने धारणा रहेको अवस्थामा जन्मस्थल प्रतिरहेको दृष्टिकोण तथा गहिरो भावनात्मक सम्वन्ध हुर्किएको र जरा गाडदै फिजाउदै गएको यस वृक्ष प्रति पनि हुन जानूलार्ई स्वभाविक मान्न सकिन्छ । पिपलको रुख काटी हटाइएको छ भन्ने कुरामा विवाद छैन । यस्तो वृक्ष हटाउने र मायादेवी मन्दिरमा रहेका मुर्तिहरु सारिने कार्य संवेदनशिल हुन जाने र चासो लिईनू अस्वभाविक पनि देखिंदैन । यस्तो अवस्थामा सार्वजनिक महत्वको मायादेवी मन्दीर पुनः निर्माणको क्रममा मन्दिरमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्व राख्ने वस्तुहरु हटाउन र पिपल वृक्ष काटी हटाउन परेको कार्यको पछाडी रहेको कारण तथा अवस्थावारे जानकारी राख्ने कुरा सार्वजनिक सरोकार कै विषय हुंदा निवेदक समेतका नेपाली नागरिकलार्ई जानकारीको लागी सूचना माग्ने तथा पाउने हक नभएको भन्न मिलेन । तसर्थ लिखित जवाफमा सूचना प्रवाह पटक पटक गरेको भनेतापनि त्यस्को प्रमाण दिन नसकेकाले सूचना प्रवाह गरेका भनी माग्न नमिल्ने हुंदा निवेदन माग वमोजिम मायादेवी मन्दिरका मुर्तिहरु सार्नू परेको तथा पिपलको वृक्ष काटी हटाउनु परेको कारण सहित वास्तविक सूचना सार्वजनिक रुपमा प्रवाह गर्नु भन्ने श्री ५ को सरकार पुरातत्व विभाग लुम्विनी विकास कोषका नाउंमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) वमोजिम परमादेश जारी हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
प्र.न्या. सुरेन्द्र प्रसाद सिंह
ईति सम्वत २०५३ साल कार्तिक २१ गते रोज ४ शुभम्