निर्णय नं. १६४९ - करकाप

निर्णय नं. १६४९ ने.का.प. २०४० अङ्क ४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३८ सालको फौ.वि.नं. ८४
फैसला भएको मिति : २०३९।११।४।४ मा
निवेदक/प्रतिवादी : कपिलवस्तु गा.पं.रंगपूर वा.नं.३ मौजे सानो सेमेरी बस्ने लदुर मुसलमान समेत
विरूद्ध
विपक्षी/वादी : परसाहिमा गा.पं.अन्तर्गत वा.नं.७ सानो सेमरी बस्ने नबलकिशोर तिवारी
मुद्दा : करकाप
(१) लेखक साक्षीलाई अदालतबाट बोलाएकोमा निज उपस्थित नभएकै कारणले व्यवहार सद्दे रहेनछ भनी निष्कर्षमा पुग्ने स्थिति नहुने ।
(प्रकरण नं. २१)
निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
वादी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज (साविक पेज नं. १४६) बिहारीप्रसाद सिंह
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ दोहोर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार रहेछ ।
२. ३१ साल फाल्गुण २६ गते अनारुल्लाको घरमा अन्दाजी बिहान ८।। बजेतिर अन्यायी मध्ये हरिहरले मलाई चल्न चटपटाउन नपाउने गरी दुवै हात र कम्मर कुमारेले समाते पछि अनारुल्लाले आफ्नो कमीजको जेवबाट छाँया अक्षर लेखेको राजीनामा फाराम दुइप्रति झिकी दुवै हातको सहिछाप गराउँ भन्दा ऋिषीरामले गाजल भएको कजरौटा झिकी मेरो दुवै औंठामा लाउन लगाउँदा करायो भने कुनामा रहेको भाला, बर्छा, लाठ्ठीले खतम गर्छौं भनेकाले ज्यानको डरले करकापमा परी कोठामा कुनै कुरामा नलेखिएको दायाँ बाँया २ ठाउँमा र पुछारमा ल्याप्चे सहिछाप गरी अनारुल्लाले दिएको फाउन्टेन कलमले औंठा छाप मुनिबाट अक्षले लेखी सहिछाप गरी चुपचाप घर जा भने पछि घर गई अदालतको शरण लिनआएको छु । अन्यायीहरूले आफ्नो नाउँमा वा परिवार नाताका नाउँमा राजीनामा खडा गर्नुभएकोले जालसाजीमा सजाय गरिपाउँ भन्ने समेत ०३१।१२।५।२ को फिरादपत्र ।
३. ०३१ साल फाल्गुण २६ गते मेरो घरमा कुनै प्रतिवादीहरू र वादी आएका थिएनन् र मैले वादीबाट कुनै कागज सहिछाप गराएको होइन । वादीको दावी झुठ्ठा बनावटी हो । वादीले भाइ वेतुल्लाह मुसलमानसँग रू.५४,२००। घरसारमा बुझी लिई आफ्नो दर्ता हकको जि.कपिलवस्तु गा.पं.७।८ मध्ये बिगाहा ९–३–१ जग्गा ०३१।५।१६।१ मा घरसारको राजीनामा गरी दिनुभएकोमा म्यादभित्र पारित गरी नदिएकोमा पारित गराई पाउँ भनी भाइ बैतुल्लाहले यो वादी उपर मुद्दा दिई यसै अदालतमा मुद्दा चलिरहेछ । वादीले मेरा भाइ वेतुल्लाहलाई उक्त ०३१।५।१६।१ मा गरी दिनुभएको राजीनामामा वादीले पहिले लेखात्मक सहिछाप गरी पछि रेखात्मक सहिछाप गरेकोमा भनेको तर फिरादमा भने ल्याप्चे सहिछाप पछि कलमले सहिछाप गरेको भन्ने दावी परेकाले उक्त भाइ वेतुल्लाहको राजीनामाको कागजको सम्बन्धमा वादीको दावी नभएकोले वादीले अ.बं.३८ कीर्ते कागजको ३ नं.समेतलाई आधार देखाई कीर्ते कागजको १० नं.बमोजिमको सजायको माग गरेको हुँदा ती ऐनहरू भिन्न अवस्थामा प्रस्तुत हुने भएकोले यस्तो फिराद खारेज हुनुपर्ने भन्ने समेत ०३२।१।४ को अनारुल्ला मुसलमानको प्रतिउत्तरपत्र ।
४. २०३१ साल फाल्गुण २६ गतेका दिन हामीहरू अनारुल्लाको घरमा गएका छैनौं । ऋिषीरामले वादीलाई बोलाई ल्याएको पनि होइन र हामीले करकाप जालसाजी गरी कागज सहिछाप गराएको नहुँदा दावी झुठ्ठा हो भन्ने समेत ०३२।२।४।१ को राम हरिहर तिवारी समेतजना ४ को संयुक्त प्रतिउत्तर ।
५. मिति ०३१।५।१६ को जग्गा बिगाहा ९–३–१ को रू.५४,२००। को सक्कल राजीनामालाई प्रतिवादीहरूले मलाई करकापसँग गराएको राजीनामा मैले गरेको सहिछाप र ल्याप्चे त्यही हो फरक छैन देखाएको राजीनामा मरो राजीखुशीबाट गरेको होइन करकापबाट गराएको (साविक पेज नं. १४७) हो भन्नेसमेत ०३२।७।५।४ को वादी नवलकिशोरको सनाखतकागज ।
६. प्रतिवादीले दाखिल गरेको ०३१।५।१६।१ को रू.५४,२००। देखिएको राजीनामा लिखतमा रेखात्मक भन्दा लेखात्मक सही पहिले भएको हात कम्मर समाई डर त्रास देखाई कागज गराएको भन्ने दावी भएको तर ठीक ठीक स्थानमा सहिछापहरू गरेको देखिएको लिखत सनाखत गराउँदा वादीले त्यसमा भएको सहिछाप मेरो हो भनी स्वीकार गरेको र प्रतिवादीका साक्षी जवान ४ ले लिखत करकापबाट गराएको होइन भनी तथ्य साथ बकपत्र गरी दिएको देखिन आएकोले उपरोक्त प्रमाण परिबन्दबाट लिखत जालसाजीतर्फ कीर्ते कागजको ३ नं.को परिभाषा भित्र पर्न नआएकोले जालसाजी तर्फ खारेज हुने र करकाप गरेको भन्ने सबूत गुर्जान नसकेकोले करकापसँग कागज गराएको भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत ०३३।१।२४।५ को कपिलवस्तु जिल्ला अदालतको फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको ०३३।२।२२।६ को पुनरावेदन ।
८. ०३१ साल भाद्र १६ गतेको उक्त राजीनामा लिखतमा बापत घर खर्च लेखिएको हुनाले कुनै चाड पर्व नपर्ने भाद्र महीनामा त्यत्रो ठूलो धनराशी खर्च गर्न लिएको भन्न स्वभाविक नदेखिएको अघिको कर्जा तिर्न लिएको भन्ने प्रमाण सहित प्रतिवादीहरूले जिकिर लिन नसकेको फारम दिनेको ७ नं.फाँटवारी भन्ने महलमा हदबन्दी भन्दा बढी जग्गा छैन भनी सहिछाप गर्ने भन्नेमा पनि प्रतिवादीको सहिछाप नभएको र ज.ध.प्र पूर्जी तिरो तिरेको रसीद समेत लिखत साथ हुन पर्ने सो पनि संलग्न भएको नदेखिएको राजीनामाको जग्गाको चौहद्दी समेत खुलाएको नदेखिएको लिखत साक्षीको सही खाली जनाउको तर यसै लगाएको लिखत पारित मुद्दाको लिखतमा खुलाएको, कैफियतमा दाखिल भएको लिखतमा अर्कै लिपीबाट अबढुल्लाहको हकमा सहिछाप भए जस्तो देखिन आएबाट सच्चा व्यवहार ठहर गर्न उपरोक्त प्रमाणहरूबाट नमिल्ने भई वादी दावी झुठ्ठा ठहर्याएको शुरू क.ब.जि.अ.को इन्साफ नमिलेको हुँदा अ.बं.२०२ नं.बमोजिम विपक्षीलाई झिकाउने भन्ने समेत क्षेत्रीय अदालतको मिति ०३४।११।१०।३ को आदेश ।
९. नाहर मुसलमानले लिखतको अंक लेखाए तापनि सो रकम वादीले लिए पाएको देखेको हुँ भन्न र राम बरठा मालीले रूपैयाँको याद भएन भनी गरेको बकपत्रबाट रूपैयाँ लिनुदिनु गरी व्यवहार भएको भन्ने प्रत्यर्थीहरूको प्रतिउत्तर जिकिर झुठ्ठा देखिन आएको दे.पु.नं. २३५ को रजिष्ट्रेशन पास मुद्दाको वादी वेतुल्ला मुसलमानले ०३१।५।१६।१ को रू.५४,२००। को घरसारको सक्कल लिखत साथ पेश गरेकोमा लेखक साक्षी अब्दुल्लाह मुसलमान भन्ने सही नभएको करकाप मुद्दामा पेश गरेको सोही ०३१।५।१६।१ को सक्कल लिखतमा लेखिएको लेखक साक्षीको अभावमा मुद्दामा असर पर्न जाने सम्झी पछिबाट लेखक साक्षीमा अब्दुल्लाह मुसलमान लेखिएको किनारामा सही अब्दुलाह भनी लेखिएको अक्षरको लिपि र टाँका सामान्य आँखाबाट हेर्दा पनि सो लिखितमा लेखिएको (साविक पेज नं. १४८) श्री देखि सम्मको अक्षर र स्वयं अब्दुल्लाह मुसलमान भन्ने अक्षरसँग पनि भिड्न मिल्न नआई स्पष्ट फरक देखिएबाट ०३१।५।१६।१ को रू.५४,२००। को लिखत लिखतका साक्षीहरूकै रोहवरमा रूपैयाँ लिनुदिनु गरी कारणीमा नवलकिशोर तिवारीले लेखात्मक र रेखात्मक सही गरेको भन्ने नि.नं.९४ डि.बे.ने.का.प.०१७ को हरिदत्त पाध्याय वि.चन्द्रकान्त पाध्याय भएको करकाप मुद्दामा भएको निर्णयको आधारमा र प्रतिवादी अनारुल्लाको साक्षी नोहर मुसलमान समेतको बकपत्रको अलावा कपिलवस्तु जिल्ला अदालतबाट ०३१।१२।१४ मा लेखक साक्षीको सही नभएको भन्ने व्यहोराको कैफियत जनाई वापस गरिएको सक्कल लिखत करकाप मुद्दामा लेखक साक्षीमा लिखतको हस्ताक्षर लेखसँग नै फरक पर्ने गरी अब्दुल्लाह मु.भन्ने सही भएको देखिन आएबाट नमिल्ने स्पष्ट देखिएबाट फिराद दावी अनुसार ०३१।११।२६ मा करकापबाट सादा फाराम कागजमा पुनरावेदकको सहिछाप गराएपछि सोही करकापसँग सहिछाप गराई लिएको सादा राजीनामा फाराममा वैतुल्लाह मुसलमानलाई धनीमा राखी ०३१।५।१६।१ को मिति राखी राजीनामा खडा गरिएको रहेछ भन्ने तथ्य कुरा उल्लेख गरिएको पुनरावेदक वादीबाट पेश भएको जग्गाधनी दर्ता प्रमाणपूर्जाबाट कि.नं.१० मा भाग ०–२–१८ जग्गा भएकोमा राजीनामा लिखतमा कित्ता नं.१० को किल्ला देखि जग्गाको क्षेत्रफलमा १–२–१८ लेखिएको देखिन आएबाट जग्गाको क्षेत्रफलमा समेत फरक पर्नआएको कारण समेतबाट लिखत सद्धे हो भन्न मिलेन । पुनरावेदक वादी नवलकिशोर तिवारीको फिरादपत्रमा दावी गर्दा करकापसँग गराएको भनी लिखतमा लागेको हस्ताक्षर सही र ल्याप्चे सहिछापको व्यहोरा ०३२।७।५।४ मा ०३१।५।१६।१ को लिखत सुनाई बयान गराउँदा फरक पर्नआएको भन्ने युक्ती समेतलाई भए गरेको ल्याप्चे सहिछापहरू हुनुपर्ने ठाउँमा स्वभाविक रूपमा भएको देखिँदा ०३१।५।१६।१ को लिखत सद्दे ठहर्छ भन्ने क.ब.जि.अ.को फैसला गल्ती देखिन आएकोले अनारुल्लाह मुसलमान राम हरिहर तिवारी कुमारे चमार ऋषीराम पासी समेत जवान ४ ले पुनरावेदकको दावी बमोजिम ०३१।११।२६ मा सादा राजीनामा फारामको कागजमा करकापसँग सहिछाप गरी गराई करकापसँग गराइएको कागजमा ०३१।५।१६।१ को मितिलाई खडा गरेको लिखतका करकाप ठहर्छ भन्ने समेत प.क्षे.अ.को ०३५।५।११।१ को फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन भनी सर्वोच्च अदालतबाट इन्साफ जाँची दोहर्याई दिने आदेश बक्स पाउँ भनी निवेदन परे बमोजिम दोहोर्याई हेरी दिने गरी श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई पेश हुन आएकोमा वादी दावीलाई निजका साक्षीहरूले समर्थन गरेको नदेखिएको र वेतुरुल्लाह मुसलमानलाई बुझ्दै नबुझी करकाप ठहर्याएको प.क्षे.अ.को निर्णयसँग सहमत नहुँदा अ.बं.२०२ नं.बमोजिम वादी नवलकिशोर तिवारीलाई झिकाई पेश गर्नु भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०३९।९।४।१ को आदेशानुसार पेश हुनआएको रहेछ ।
११. निवेदक प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले वादीले जालसाजीमा दावी गरेको यस्तोमा करकाप ठहर्याउन मिल्दैन करकाप (साविक पेज नं. १४९) भएको भन्ने वादीले सोको प्रमाण पुर्याउन सकेको छैन वादीको करकापको भनाइलाई निजका साक्षीहरूले वादीको भनाई अनुसार पुष्टि गरेको छैनन् वादीको भनाई लिखितबाट नै खण्डित हुन्छ । वादीले आफ्नो फिरादमा अघि रेखात्मक सहिछाप लगायो र त्यस भन्दा मुनि रेखात्मक सहिछाप लगायो भन्नु हुन्छ तर सो कुरा लिखतबाट प्रमाणित हुँदैन । लिखतमा अघि रेखात्मक सहिछाप छ र सो भन्दा मुनी लेखात्मक सहिछाप छ । क्षेत्रीय अदालतको फैसला बुँदा मिल्दो छैन । कि.नं.१० को क्षेत्रफल मिलेको छैन भन्ने क्षेत्रीय अदालतको भनाई छ तर भू.प्र.का.बाट मगाइएको जवाफबाट श्रेस्ता अनुसार कि.नं.१० मा १–२–१८ देखिएकोले क्षेत्रीय अदालतको तर्क गलत छ । लिखतका फडके साक्षीहरूले राजीनामा लिखत भएको कुरालाई स्वीकार गरेकै छन् । रजिष्ट्रेशनको अनुसार रसीद र जग्गाधनी प्रमाणपूर्जा लिखत पास गराउने अवस्थामा राख्नु पर्ने हो । घरसारको लिखतमा रसीद र जग्गाधनी प्रमाणपूर्जा सुम्पिन पर्छ भन्न मिल्दैन । रसीद र ज.ध.प्र.पूर्जा नसुम्पिएको नाताले लिखत पारित हुँदैन भन्न मिल्दैन । वादीले भन्दा वादीका साक्षीहरूले बढी कुरा लेखिदिएकोले नि.नं.४०१ हरदेव राउत वि. राउरतन साहू भएको करकाप मुद्दामा प्रतिपादित भएको सिद्धान्तअनुसार वादीको साक्षीको बकाई विश्वासनीय भन्न नमिल्ने हुँदा करकाप ठहर्याएको क्षेत्रीय अदालतको फैसला मिलेको देखिँदैन । करकाप नठहर्याएको शुरू जिल्ला अदालतको इन्साफ मनासिव ठहर्नु पर्छ भनी बहस गर्नुभयो ।
१२. वादी विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान व.अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले मेरो पक्ष सम्पन्न छ र त्यस्तो व्यक्तिले जग्गा बिक्री गरेको पनि होइन । लिखत फडके साक्षीहरूले रूपैयाँ लिएको देख्यौं भन्नसकेका छैनन् । लेखक साक्षी अबदुल्ला अदालतबाट बोलाउँदा आएको छैन । लिखित पारित गरिपाउँ भनी पेश गरेको राजीनामा अघि अबदुल्ला लेखक साक्षीको नाम छैन, पछि निजको नाम भरिएको उक्त राजीनामा लिखत उल्लेख भएको कैफियतबाट देखिन्छ । त्यस्तो लिखतलाई सद्धे व्यवहारको भन्न मिल्दैन । अवदुल्लाको सहिछाप नक्कली हो । लिखतको प्रकृति हेर्दा रू.५४,२००। अंक र अक्षर दुवै प्रकारले लेखिनु पर्नेमा अक्षर मात्र लेखिएको पूरा छैन काटिएको छ । लाइन भन्दा बढी लेखिन जाला भनी अधुरै अंक लेखियो मेरा पक्षको करकाप मुद्दा परेपछि विपक्षीको लिखत पारित गरिपाउँ भन्ने मुद्दा परेको छ । लिखतका अनुसारबाटै करकाप देखिएकोले लिखत करकाप ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिव हुनुपर्छ भनी बहस गर्नुभयो ।
१३. तारेखमा रहेका दुवै पक्षको वारिसलाई रोहवरमा राखी दुवै पक्षतर्फबाट उपस्थित हुनुभएका विद्वान व.अधिवक्ताहरूको बहस सुनी निर्णय सुनाउने तारेख तोकी पेश हुनआएको प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले गरेको फैसला मिलेको छ छैन सो को निर्णय दिनुपरेको छ ।
१४. यसमा फौजदारी मुद्दामा अभियोग कसूर प्रमाणित गर्ने भार वादीकै हुन्छ भनी प्रमाण ऐनको दफा २५ मा कानुन व्यवस्था भएको पाइन्छ ।
१५. सो सन्दर्भमा वादीको करकाप मुद्दामा परेको फिराद दावी हेर्दा करकापमा परी सहिछाप गरी (साविक पेज नं. १५०) दिएपछि चुपचाप आफ्नो घरमा फर्की आए, प्रमाणमा लेखिएको मानिसलाई सबै घटना विवरण सुनाई दुवै औंठामा लागेको कालो समेत देखाए भन्ने लेखिएको पाइयो तर प्रमाणमा उल्लेख गरिएको वादीको साक्षी रोजन मुसलमानले वादीले भने बमोजिम करकाप भएको वादीको मुखबाट वादीको गाउँ सानो सेमरीमा सुने भनी भनिएकोमा परसोहियामा निज त्यहाँ रहेको अवस्थामा हल्ला भएको सुनी त्यहाँ जाँदा वादीलाई प्र.अनरुल्ला समेत भई करकापसाथ सही गराएको भन्ने लेखिएको पाइन्छ र सोही बमोजिम करकाप साथ कागज गराएको कुरा मलाई वादीले परसोहियामा भने भनी भालु चमारले भनेको पाइन्छ । जवकी वादीले उक्त कुरा निजको साक्षी भालु चमारलाई आफ्नो गाउँ सानो सेमरीमा भनेको भन्ने देखिन्छ ।
१६. यसप्रकार वादीको भनाई र वादीकै साक्षीको बकाइमा मेल खाएको देखिँदैन ।
१७. करकापमा पर्ने व्यक्तिले आफूलाई करकाप हुँदा कस्तो अवस्थामा लिखतमा सहिछाप भए गरेको थियो सो कुरा स्पष्ट रूपले निजको जानकारीमा आउने कुरा हो तर त्यसो नभई वादीले आफ्नो फिरादमा पहिले औंठाको सहिछाप गराए र औंठा लागेको मुनी दुवै ठाउँमा लेखी सहिछाप गराए भन्नुभएको पाइन्छ तर २०३१ साल भाद्र १६ गतेको करकापमा परेको भन्ने सक्कल लिखत हेर्दा अघि लेखात्मक सहिछाप भई सो मुनि रेखात्मक सहिछाप भएको देखिँदा करकापबाट सही भएको भन्ने वादीको भनाई लिखतले खण्डित गरेको छ भन्नुपर्ने स्थिति छ ।
१८. सक्कल लिखतमा रहेको वादीको लेखात्मक सहिछाप हेर्दा उक्त लेखात्मक हस्ताक्षर सहिछाप स्वभाविक किसिमको देखिन्छ । करकापबाट भएको लेखात्मक सहिछापमा अस्वभाविकको हुन्छ तर सो कुरा सक्कल लिखतमा परेको लेखात्मक सहिछापबाट देखिन्न ।
१९. लिखत साक्षी जाहेर मुसलमान र रामशरणले उक्त राजीनामा लिखत राजीखुशीबाट भएको भनी बयान गरेको पाइन्छ । कति रूपैयाँ लिखत भएको हो सो कुरा बकपत्रमा खुलेकैले रूपैयाँ लिनुदिनु भएन भन्ने तर्क निकाल्ने अवस्था पर्दैन । राजीनामामा उल्लिखित कि.नं.१० को १–२–१८ जग्गा रहेको दर्ता श्रेस्ताबाट देखिनाले राजीनामामा उल्लेख भएको १–२–१८ बढी लेखियो अथवा श्रेस्ता अनुसार रहेन भन्ने स्थिति पनि रहेन ।
२०. विवादास्पद राजीनामा घरायसी हुँदा तिरो तिरेको रसीद र जग्गाधनी प्रमाणपूर्जा उक्त लिखत साथ नरहन पनि सक्छ । तिरो तिरेको रसीद र जग्गाधनी प्रमाणपूर्जा नरहेको कारणबाट लिखत पास हुन नसक्ने होइन र त्यतिकै कारणबाट करकाप भएको अनुमान गर्ने अवस्था पनि पर्दैन ।
२१. लेखक साक्षी अबदुल्लालाई अदालतबाट बोलाएकोमा निज उपस्थित भएको पाइन्न । निज उपस्थित नभएकै कारणले व्यवहार सद्दे रहेनछ भनी निष्कर्षमा पुग्ने स्थिति हुँदैन ।
२२. अतएव करकाप भएको भएको भन्ने वादी दावी सबूत प्रमाणबाट समर्थित नभएको र लिखतको रूपबाट पनि करकाप भएको नदेखिनाले करकाप ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेन । करकापसँग कागज गराए (साविक पेज नं. १५१) भन्ने वादी दावी नपुग्ने ठहर्याएको कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम करकाप गरेको नठहर्याएको जिल्ला अदालतको इन्साफ मनासिव ठहरी करकाप ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहरेकोले देहायका प्रतिवादीलाई क्षेत्रीय अदालतबाट करकापमा गर्ने गरेको देहाय अनुसारका जरिवाना असूल भएको भए फिर्ता दिने असूल भएको नभए सो लगत काटी दिनु भनी का.जि.अ.मार्फत शुरू जि.अ.कपिलवस्तुलाई लेखी पठाउनु...............................१
प्र.अनरुल्ला मुसलमान के रू.२५।–, प्र.रामहरि तिवारी के रू.२५।, प्र.कुमारे चमार के रू.२५।–, प्र.ऋिषीराम पासी के रू.२५।–
शुरू जि.अ.कपिलवस्तुको फैसलाले झुठ्ठा उजूर गरे बापत वादी नवलकिशोरलाई जरिवाना रू.१००। लाग्ने गरेकोलाई करकाप ठहर्याई क्षे.अ.ले सो जरिवाना नलाग्ने गरेकोमा सो लगत कट्टा गरी शुरू जि.अ.को लगत बमोजिम गर्नु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०३९ साल फाल्गुण ४ गते रोज ४ शुभम् ।