निर्णय नं. १६५० - कर्तव्य ज्यान

निर्णय नं. १६५० ने.का.प. २०४० अङ्क ४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको फौ.पु.नं. ३८४
फैसला भएको मिति : २०३९।११।१९।५ मा
पुनरावेदक/वादी : पूर्णबहादुरको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : कालीकोट जि.बाखी सदराभक्त गलजेना गा.पं.वार्ड नं.४ वडासैनी बस्ने अनिपाल शाही समेत जवान ४ चार
मुद्दा : कर्तव्य ज्यान
(१) रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको भनिएको मर्नेको रगत भन्न नमिल्ने ।
(प्रकरण नं. २७)
पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कामनन्दप्रसाद देव
(साविक पेज नं. १५२)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. भाइ मनबहादुर शाहीलाई ०३१ सालमा चोरी गरेको भन्ने बात लगाई ०३२।६।१ गतेका दिन अभियुक्त ४ जनाले भाइ मनबहादुरलाई घट्टमा लगी चोरी गरेको बिगो माग्दा अहिले पैसा छैन पछि दिउँला भन्दा देवकृष्ण अधिकारी जमानी बसी त्यहाँबाट भाइ घरमा नआई ऐ.गतेका दिनमा रुखमा झुण्डी मरेको देखिएकोले अनिपाल शाही समेतको कर्तव्यबाट मरी झुण्ड्याई राखेको पूरा शंका लागी जाहेर गर्न आएको छु । कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोरा उल्लेख भएको पूर्णबहादुरको जाहेरी दरखास्त ।
२. रुइस भन्ने रुखको अं.२ इन्च गोलाइको हाङ्गा ६½ फिट उचाईमा धागोको पुरानो डोरीमा झुण्डिएको भुँईमा टेकी डोरीको सुर्के गाँठो पछाडि गर्दनमा अड्केको दाहिनेतिर नाइटो मुनी इँजारले छाला काटिएको भुँडी बाहिर निस्केको हड्डी देखिने देब्रे कानतिर छाला खुइलिएको टुप्पीतिर ½ इन्च गहिरो घाउ भएको सर्वाड्ड शरीरमा किरा परी निलडाम चिन्न नसकिने भन्ने समेत व्यहोरा भएको लासप्रकृति मुचुल्का ।
३. ०३२।५।३१ गते साझपख भाइ मोहन विरेलाई साथमा लिई वीरमल शाहीको घर हुँदै मनबहादुर शाहीको घरमा गई लिनुपर्ने रकमको टुंगो गरी वीरमल शाही समेत भई निजकै घरमा आई सुतेका हौं । भोलिपल्ट बिहान मनबहादुर शाही घट्टमा आएको थाहा पाई हामी दुवै भाइ आई घट्टको वरिपरीका घट्टेरी समेत भई निजैको कुरामा छलफल गरी २ विसौलीको पित्ले ताउला दिन्छु भनी कबोल गरेपछि घरमा गए मोहनवीर शाही साँझपख घर जान्छु भनी गए मनबहादुर शाहीलाई कसले मार्यो थाहा छैन म समेत भई मारेको हैन भन्ने समेत व्यहोराको अनिपाल शाहीको ठाडो कागज ।
४. ०३२।५।३१ गते राति दाइ जलबहादुर, म समेत धने रोकायाको घरमा रातभरि तास खेली भोलिपल्ट ०३२।६।१ गते बिहान अं.८ बजेतिर चुनी रोकायाको घट्टमा आउँदा अनिपाल। मीनबहादुर, महावीर, देवकृष्ण र प्र.पं.समेतले लेनदेनको कुरा गरेको सुनेको हुँ त्यस घट्टको खोलामा नुहाई घरतर्फ लागे मृतक मनबहादुरलाई कसैले मारेर झुण्डाएको हुनुपर्छ कसको कर्तव्यबाट मर्न गएको हो मलाई थाहा छैन भन्ने समेत व्यहोरा भएको लालबहादुर शाहीको ठाडो कागज ।
५. ०३२।५।३० गतेको रातमा धने रोकायाको घरभित्र बुढा गगने रोकाया, धने अधिकारी र म समेत भई रातभरि तास खेली अनिपाल ०३२।६।१ गते बिहान ९ बजेतिर धने रोकायाको घरमा खाना खाई (प्र.पं.समेत) घरमा गएको हुँ । साँझ ५ बजे वार्ड नं.१ रौपी भन्ने ठाउँमा गएको हुँ मलाई किन पोल गरे थाहा छैन । ०३१ साल माघमा भारत काशीमा गई ०३२ साल भाद्र २ गते मात्र घरमा आएको हुँ भन्ने समेत व्यहोरा भएको जलबहादुर शाहीको ठाडो कागज ।
६. ०३२।५।३१ गते साँझमा दाइ अनिपालसँग मर्ने मनबहादुरको लेनदेनको कुरा गर्नुभएको राति त्यही खाना खाई निजको दाइ वीरमल जमानी भई लेनदेनको कुरा टुङ्ग्याई वीरमलकै (साविक पेज नं. १५३) घरमा सुतेँ भोलिपल्ट बिहान मनबहादुर घट्टामा आएको थाहा पाई दाइ, अनिपाल, म र प्र.पं.समेतले लेनदेनको छलफल गरी साँझ घर गएको हुँ भन्ने समेत व्यहोराको मोहनवीर शाहीको ठाडो कागज ।
७. मर्ने मनबहादुरलाई अनिपाल शाही समेतका प्र.हरूले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने सरजमीनका वीरमल शाही र नकेशर शाही र लासप्रकृति मुचुल्काबाट निज मनबहादुरलाई मारी झुण्ड्याएको जस्तो देखिन्छ तर कसले मारी झुण्ड्याएको हो थाहा छैन भन्ने समेत सरजमीन मुचुल्का ।
८. ०३२।५।३१ गतेका दिनको रातमा मर्ने मनबहादुर अभियुक्तहरूकै साथमा रहेको अनिपाल शाहीले समेत पिछा गरेको मृतको टाउकोमा काटेको घाउ भएको हुँदा निज जना ५ भियुक्तहरूको षडयन्त्रबाट कर्तव्य गरी मारी झुण्ड्याएको देखिने हुँदा ज्यानसम्बन्धीको १३(३) (४) अनुसार अभियुक्त जना ४ लाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. मर्ने मनबहादुरसँग मेरो लिनुपर्ने हुँदा ०३२।५।३१ गते मनबहादुरसँग कुराकानी हुँदा सो दिन वीरमल शाहीको घरमा बास बसी ०३२।६।१ गते मनबहादुरको घट्टमा नै निजसँग सो कुरा भन्दा निजले देवकृष्णको सामुन्ने कुरा भई भात खाई मनबहादुर, देवकृष्ण, तिलबहादुर समेत घर गई भात खाई दिनभरि मेरो घट्टामा नै म बसेँ मनबहादुरसँग फेरि भेट भएन, मैले मारेको होइन कस–कसले मारे मलाई थाहा छैन म समेत उपरको पोल झुठ्ठा हो भन्ने समेत अनिपाल शाहीको बयान ।
१०. दाइ अनिपाल, म लालबहादुर घरमै थियौं दाइ जलबहादुर भर्खरै भारत तर्फबाट आएकोले र मर्ने मनबहादुर काका नाता पर्ने हो निजसँग कुनै रिसइवी थिएन । ०३२।६।१ गते माझ मेल गाउँ बस्ने गगने रोकायाको घरमा गई मृतकका दाजु वीरमल शाही समेतका ३ जना बसी म आफ्नै घरमा गएँ । म बस्ने घर र दाजुभाइ बस्ने घर टाढा फरक छ । प्रतिवेदन साथ दाखिल हुनआएको धोती देखेँ चिनेँ दाजु अनिपालको हो उक्त धोतीमा लागेको रगतको दाग जुकाले टोकेको रगत लागेको हो भन्ने दाजुबाट सुनेको हुँ भन्ने व्यहोरा समेत भएको मोहनवीर शाहीको बयान ।
११. ०३२।६।१ गतेको दिन म दिउँसो घरमै थिएँ, राति गाल्जेना गा.पं.अन्तरगत वार्ड नं.४ मा जभेला रोकाया वाँडा, धने रोकायाको घरमा तास खेली बसेका थियौँ त्यही रात भाइ लालबहादुर, गगने रोकाया, भीम बुढा गा.पं.स.घने अधिकारी थियो मर्ने मनबहादुरलाई कसले मारे थाहा छैन म समेत भई मारेको होइन भन्ने व्यहोरा समेत भएको जलबहादुर शाहीको बयान ।
१२. ०३२।६।२ गते दिउँसो १२ बजे मर्ने मनबहादुरको दाइ वीरमलको छोरा जगतेलाई डाडी माडी भन्ने ठाउँमा मेला हेर्न जाउँ भनी बोलाउन जाँदा जाहेरवालाले लास झुण्डी राखेको ठाउँमा बोलाउँदा लास झुण्डिएको ठाउँमा गएँ लासप्रकृति मुचुल्कामा लेखिए बमोजिम थियो । जाहेरवालालले कहाँ छन् भनी सोधे मैले घरैमा होलान भनेँ र लास देख्दा डर लागेकोले घर तिर गएको हँु भागेको होइन मृतक मनबहादुरको मृत्यु कर्तव्य वा के बाट भएको मलाई थाहा छैन भन्ने व्यहोरा समेत भएको लालबहादुर शाहीको बयान । (साविक पेज नं. १५४)
१३. ०३२।५।३० गतेका दिन वार्ड नं.८ वालाचौर गइरहेको अवस्थामा चुते रोकायाको घट्टमा मर्ने मनबहादुर अभियुक्त मोहनवीर समेतका मानिसहरू बसेका थिए मलाई बोलाउँदा म त्यहाँ पुगेँ। देवकृष्ण अधिकारी समेतका व्यक्ति थिए । अभियुक्तहरूको धनमाल चोरीको सम्बन्धमा घट्टमा बस्ने मानिसहरूले मलाई सुनाई मर्ने मनबहादुरसँग सोधेकोमा चोरी गरेमा सावित भएको छ र देवकृष्ण जमानी बसेको हो म कुलो बनाउने कामको हतारले वालाचौर गएको पर्सिपल्ट ०३९।६।१ गते मर्नेको आमा त्यही वालाचौर आई छोरा मनबहादुर तपाईंसँग आई बसेको अहिले झुण्डी मरेको फेला पर्यो भनी लास कुरुवा राखी जाहेर गर्न पठाएको छु । जाहेरीमा लेखिएका अभियुक्तहरू माथि शंका लाग्छ भन्ने समेत बलबहादुर शाहीको बयान ।
१४. ०३२ भदौ महीनामा चुते रोकायाको घट्टामा गहुँ पिस्न गएको अवस्थामा मर्ने मनबहादुर, लालबहादुर, अनिपाल शाही, चुते रोकाया, देवकृष्ण बसेका थिए चोरीको सामानको मोल माग्दै थिए मर्ने मनबहादुर अहिले छैन पछि दिउँला भन्दै थिए म घरतर्फ लागेँ अरू कुरा थाहा छैन भन्ने समेत तिलबहादुर शाहीको बयान ।
१५. मेरो घट्टाबाट घर गइसकेको अवस्थामा चुते रोकायाको घट्ट नजिक ठूलो ढुंगामा लालबहादुर, अनिपाल, मर्ने मनबहादुर कुरा गरिरहेको अवस्थामा म पुगेँ एकछिन बसेँ मनबहादुरले चोरी ल्याएको सामानको कुरा चल्दै थियो मर्ने मनबहादुरले अहिले छैन पछि दिउँला भन्दै थिए तिलबहादुर र म घरतर्फ गएँ भात खाई आउँदा उनीहरू त्यहाँ थिएनन् म राति घट्टको ज्याला माग्न त्यहीँ बसेँ र ती लालबहादुर त्यहीँ बाटो जाँदा कहाँ जान लाग्यौ भनी सोद्धा तास खेल्न जान्छु भनेका थिए । सायद आफ्नै गाउँबाट आएको होला भनी भोलिपल्ट मनबहादुर झुण्डी मरेको अवस्थामा फेला परेको हो कस्ले मारेको हो वा आफैंं झुण्डी मरेको हो थाहा छैन भन्ने समेत देवकृष्णको बयान ।
१६. मर्ने मनबहादुर, लालबहादुर, अनिपाल, देवकृष्ण, तिलबहादुर समेत मेरो घट्टको नजिक ढुंगामा बसी कुरा गर्दैरहेको अवस्थामा म त्यहाँ पुगेँ मनबहादुरले दिनुपर्ने पैसाको कुरा हुँदै थियो अहिले पैसा छैन पछि दिउँला भनी मनबहादुर भन्दै थिए म बिहानको खाना खान घरतर्फ गएँ खान खाई घट्टमा आउँदा त्यहाँ कोही थिएन म आफ्नै घट्टमा थिएँ त्यस दिनभर मनबहादुरलाई देखिँन, राति घरतर्फ गएँ भोलिपल्ट मनबहादुर झुण्डी मरेको भन्ने थाहा पाएको हुँ कसले मारे वा झुण्डी मारेको के हो मलाई थाहा छैन भन्ने समेत चुते रोकायाको बयान ।
१७. मृतक मनबहादुर ०३२।६।२ गते मरी रहेको अवस्थामा फेला परेकोले यही मितिमा मरेको हो भनी यकिन भन्न सक्दैन । चोरी गरेको कुरा घट्टामा गरिरहेका र देवकृष्ण जमानी भएको कुरा प्र.पं.बाट सुनेको हुनाले भाइ मनबहादुर झुण्डी मरेको हुनाले अभियुक्त उपर शंका लागी जाहेर गरेको हुँ भन्ने समेत जाहेरवाला पूर्णबहादुरको बयान ।
१८. प्रमाणको अभावमा शंकाको भरमा अभियुक्त अनिपाल शाही समेतले मर्ने मनबहादुरलाई कर्तव्य गरी (साविक पेज नं. १५५) ज्यान मारेको भन्नु न्यायोचित नदेखिएको हुँदा अभियुक्त अनिपाल शाही समेतका अभियुक्तले सफाई पाउने ठहर्छ भन्ने ०३४।३।२७ को जुम्ला मुगु तथा कालीकोट जि.अ.को फैसला ।
१९. उक्त जुम्ला मुगु तथा कालीकोट जिल्ला अदालतको फैसलामा प्रहरी प्रतिवेदन माग दावी बमोजिम अभियुक्त उपर सजाय हुनुपर्नेमा अभियुक्तहरूलाई सफाई दिने ठहराएको चित्त बुझेन भन्ने श्री ५ को सरकारतर्फबाट सु.प.क्षे.अ.मा ०३४ साल आश्विन महीनामा परेको पुनरावेदन रहेछ ।
२०. लासप्रकृति मुचल्काबाट कर्तव्य हो भन्ने देखिए पछि वादी दावा अनुसार सर्वप्रथम वारदात भएको हो होइन सो को निर्णय गरेको नदेखिएको साथै प्र.लालबहादुर शाहीलाई सरजमीनमा बस्ने वीरमल शाहीले भाइ मर्ने मनबहादुर मरेको देखी लासतिर आउँदा अं.४० गज टाढा खोलाबाट लालबहादुर आएको देखि बोलाउँदा दौडेर भाग्यो भनी लेखेकोले लालबहादुरले मलाई लास देख्दा डर लाग्यो घरतर्फ आएको भनी बयान गरेको निजको बयानको कुरासँग मिलेको नदेखिएकोले अभियुक्तहरूलाई सफाई दिएको शुरूको निर्णय मिलेको नदेखिँदा अ.बं.२०२ नं.र क्षे.अ.नि.२०३६ अनुसार विपक्षीहरूलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने सू.प.क्षे.अ.डिभिजनबेञ्चको ०३७।५।१७।२ को आदेश रहेछ ।
२१. तास खेल्ने भनेको भीमे बुढो र गगने रोकाया तथा सरजमीनका मानिसहरू र जाहेरवाला समेतलाई पुनः झिकाई पक्ष विपक्षीको रोहवरमा प्रमाण ऐनको रीत पुर्याई बकपत्र गराई पठाउनु भनी मिसिल र तारेखमा रहेका झगडीयालाई तारेख तोकी मिसिल सम्बन्धित अदालतमा पठाउनु भन्ने समेत सु.प.क्षे.अ.डिभिजनबेञ्चको ०३७।५।१७।२ को आदेश ।
२२. मर्ने मनबहादुरलाई कसैले कर्तव्य गरी मारे वा झुण्डी मरेको के हो थाहा छैन भन्ने कुलबहादुर शाही समेत सातजना र प्र.अनिपाल शाहीको कर्तव्यबाट मनबहादुर मर्न गएको शंका लाग्छ भन्ने रणकेशर र तिम्रो भाइ अनिपाल समेतले चोरी विषयमा धरपकड गरेको भन्ने चुत्ने रोकाया समेतले मर्ने मनबहादुरलाई अभियुक्त अनिपाल समेतले मारेको हो भन्ने थाहा पाएको हुँ भन्ने समेत पूर्णबहादुर शाही र अभियुक्त अनिपाल शाही समेतका चार भाइले लोग्ने मनबहादुरलाई मारी झुण्डाएका हुन भन्ने मर्नेको श्रीमती भक्तिनन्द समेतको बकपत्र ।
२३. बुझिएका सरजमीन समेत कसैले पनि प्र.हरूले नै कर्तव्य गरी मारेको हो वा के भई मरेको थाहा छैन भन्ने व्यहोरा लेखाएको र अभियुक्त प्र.अनिपाल शाही समेतका प्र.हरूले नै कर्तव्य गरी मनबहादुरलाई मारेको हो भन्ने ठोस सबूत प्रमाण मिसिल सामेल रहेको नदेखिँदा जाहेरीमा लेखिएको शंकाको भरमा ठहर गर्नु पनि शंकाको सुविधा प्रतिवादीहरूले नै पाउने हुँदा प्र.हरूले मर्ने मनबहादुरलाई कर्तव्य गरी मारेको नठहराई सफाई दिने गरेको शुरू जुम्ला मुगु तथा कालीकोट जि.अ.को फैसला मनासिव ठहर्छ श्री ५ को सरकारको पुनरावेदन पुग्न सक्दैन भन्ने (साविक पेज नं. १५६) समेत व्यहोरा भएको सु.प.क्षे.अ. ०३८।६।८।५ गतेको फैसला रहेछ ।
२४. उक्त सु.प.क्षे.अ.को फैसलामा प्रहरी प्रतिवेदन माग अनुसार अभियुक्तहरूलाई सजाय हुनुपर्नेमा सफाई दिने गरेको उक्त फैसलामा चित्त बुझेन भनी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्नआएको पुनरावेदनपत्र रहेछ ।
२५. यसमा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देवले लास जाँच मुचुल्काबाट कर्तव्य भएको देखिन्छ प्र.अनिपालको पटुकामा रगत लागेको फेला परेको छ । प्र.लालबहादुर लास देखेर भागेको देखिन्छ। कर्तव्यबाट मर्ने मनबहादुर घट्टामा गएकोमा विवाद छैन अतएव यी प्रतिवादीहरू लाई सफाई दिने ठहराएको सु.प.क्षे.अ.को इन्साफ मिलेको छैन । प्रहरी प्रतिवेदन दावी अनुसार यी प्रतिवादीहरूले सजाय पाउनु पर्छ भनी बहस गर्नुभयो ।
२६. यसमा जाहेरवाला र सरजमीनका मानिसहरूले मनबहादुर शाहीलाई प्रतिवादीहरूले नै कर्तव्य गरी मारेको हो भनी तथ्य साथ लेखी दिन नसकी शंकासम्म गरेको पाइन्छ ।
२७. बरामद भएको पटुकामा लागेको रगत जाँच भएको देखिन्न । प्रतिवादीले जुगाले टोकेको रगत भनेको पाइन्छ रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको मर्ने मनबहादुरको रगत भन्न मिल्दैन । तथ्ययुक्त प्रमाणको अभावमा केवल शंकाको आधारमा प्रहरी प्रतिवेदन बमोजिम यी प्रतिवादीहरूले मर्ने मनबहादुर शाहीलाई मारेको भन्न नमिल्ने, शंकाको सुविधा अभियुक्तहरूले पाउने हुँदा प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय होस भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । सफाई दिने ठहराएको शुरू जि.अ.को इन्साफ मनासिव ठहराएको सु.प.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०३९ साल फाल्गुण १९ गते रोज ५ शुभम् ।