निर्णय नं. १६६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १६६३ ने.का.प. २०४० अङ्क ६
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको रि.फु.नं. २८
आदेश भएको मिति : २०४०।६।१८।३ मा
निवेदक : का.जि.फर्पिङ स्वखेल गा.पं.वा.नं.८ वाँसवारी मकै पौवा वस्ने पार्वती खत्री
विरूद्ध
विपक्षी : ऐ.ऐ.वस्ने धने विष्ट भू.सू.कार्यालय काठमाडौं
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) ससुराको जग्गाको मोही भएको नाताले उक्त जग्गाको मोही सम्बन्धी हक मलाई प्राप्त हुनुपर्ने भन्ने जिकिर कानुनसंगत नदेखिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा, विद्वान स.अ.श्री भैरवप्रसाद लम्साल
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।६।८ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजको जुनाफमा परेको विन्तिपत्रमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई हेरी दिनु भन्ने बक्स भई आएको आदेश बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. निवेदकको का.जि.फर्पिङ सोखेल गा.पं.अन्तर्गत वडा कि.७ कि.नं.७ को बण्डापत्र बमोजिम मेरा भागमा परेको हालको कित्ताकाट हुँदा कि.नं.४८ को क्षेत्रफल ४–२–० को पोत रू.८।७५ तिरो लागेको जग्गाको जोताहा का.जि.फर्पिङ सोखेल गा.पं.वडा नं.८ बाँसबारी बस्ने मोही पद्मबहादुर खत्री कायम भएको थियो । उक्त जग्गा कमाई जोती आउने मोही २०२९ सालमा कालगतीले परलोक भएको र निजको पत्नी छोरा समेत कोही नभएकोले जोतपोत नै मेरै नाउँमा कायम गरिपाउँ भनी पञ्चायतको सिफारिश साथ भू.सु.का.काठमाडौंमा निवेदन गरेको थिएँ । भू.सु.का.बाट सरजमीन हुँदा निजकी श्रीमती तथा छोराहरू समेत नभएको र निज बुहारी र नातिले जोती कमाइआएको भन्ने व्यहोरा सरजमीन भइआएपछि भू.प्र.का.सर्जमिनबाट पनि बुहारी पार्वती र नाती रामकुमार खत्री हुन् भन्ने उल्लेख भइआएकोले सो व्यहोरा सत्य भएको हुँदा यसमा सहोदर बुहारी र नाती छँदाछँदैमा कोही पनि छैन (२३२) भनी ज.ध.का नाउँमा मोही लगत कट्टा गरी जोत हक समेत राख्न औचित्यपूर्ण नहुने हुँदा प्रस्तुत निवेदनबाट कारवाई गर्न नपरी तामेलीमा राखी दिने व्यहोरा मिति ०३५।४।२७ मा निर्णय भयो । उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी निवेदकले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन गरेकोमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३६।४।२८।२ मा निर्णय हुँदा भरपाई भनेको लिखतहरूलाई तहकिकातमा नल्याई उपेक्षा गरी गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी दिने ठहर्छ भनी पुनः कारवाईको लागि भू.सु.कार्यालय, काठमाडौंमा पठाइएकोमा भूमिसुधार कार्यालय काठमाडौंबाट रसीद भरपाई लेखिएको ढाँचामा नभएको भन्ने आधारमा मात्र भरपाई गरी दिएको होइन भन्न मिलेन र साविक मोही परलोक भएकोले निजको नाम सच्याई भरपाईबाट देखिएको पार्वती खत्रीलाई मोही कायम गरी श्रेस्ता भिडाउने ठहर्छ भनी ०३६।१२।२८।५ मा निर्णय भएको रहेछ ।
३. जग्गाको मोही पद्मबहादुर ०२९ सालमा परलोक भए देखि यता विपक्षीहरूले कहिले जग्गा जोतेको पनि छैन र मैले नै भोगचलन गरी जोती आएको छु । भूमिसम्बन्धी ऐनको दफा १ को (ग) मा पनि बुहारी र नातिलाई मोहियानी हक सर्ने तथा प्राप्ति हुने व्यवस्था गरेको पाइँदैन र सो ऐनको परिभाषा भित्र निज विपक्षीहरू पर्न आउँदैनन् र ऐनले नै त्यस कुराको व्यवस्था गरेको छैन । भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिम मोहीको मृत्यु पछि निजको पति, पत्नी वा छोराहरू मात्र जग्गाधनीले पत्याएको व्यक्ति मोही हुने कानुनी व्यवस्था भएको र सम्मानित सर्वोच्च अदालतबाट सन्दर्भमा प्रतिपादित सिद्धान्त पनि कायम भए गरेको छ भन्ने बुहारी र नाति मोही हुनसक्ने अवस्था आउँदैन । उक्त जग्गाको बाली बुझेको भरपाई भनी ०३४।११।१४ मा र ०३३।८।१५।३ मा मेरो दाजु सानु पद्मबहादुरले विपक्षहरूलाई रसीद गरी दिएको भनी निज विपक्षीहरूले बयानमा उल्लेख गरेको छ सो भरपाईमा मालपोत बापत बुझी लिएँ भन्ने बोली परेको हुँदा सो भरपाई कानुन बमोजिमको भरपाई भनी भन्न र मान्न मिलेन । अतः भू.सु.का.काठमाडौंको ०३६।१२।२८।५ को निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को २(ख) ग २६(१) दफा ३४(१)(२) सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको त्रुटि हुनुको साथै न्यायिक मनको प्रयोग भएन तसर्थ मोहीको लगत कट्टा गरी जोत पोत नै म निवेदकको नाउँमा गरी दिनुपर्नेमा नगरी विपक्षीलाई मोही कायम गरी दिने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदकको निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ झिकाइ पेशगर्नु भन्ने ०३७।२।१२।१ को सिड्डलबेञ्चको आदेश ।
५. विवादास्पद जग्गा नापी हुँदा का.जि.फर्पिङ बाँसबारीको पाटीमा पानी भरी खाने भनी जोताहाले फिल्डबूकमा लेखाएका र सोही कुरा निवेदकले निजका दाजु पद्मबहादुरले समेत मञ्जूर गरेको उक्त पानी हाल पनि त्यसको बाली कूत दिनपर्ने केवल मालपोत तिर्न (२३३) भनी रू.२०। मोहीसँग असूल गर्ने गरी आएको भन्ने भरपाईबाट स्पष्ट हुने, मोही भनी उल्लेख गरी मालपोत रू.२०। बुझेको भनी भरपाई गरी दिएपछि सोही भरपाईबाट पार्वतीलाई मोही कायम हुने गरी निर्णय गर्नु कानुन अनुरूप नै छ । तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने का.मु.भू.सु.अधिकारीको लिखितजवाफ रहेछ ।
६. उक्त जग्गा ससुरा, लोग्नेको पाला देखि कमाई घरबास गरी बसी सोको कूत निज विपक्षीको दाजुलाई बुझाई लिई जग्गा कमाई आएको कुनै खर खिचोला वादविवाद थिएन । यो विपक्षी निवेदकले आफ्नो दाजुभाइमा अंशबण्डा भयो भनी जग्गा झिक्ने मुराद लिई भू.प्र.का.मा उजूरी दिएकोमा जग्गा झिक्न नपाउने निर्णय भएको थियो । सो उपर सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा विपक्षी रामकुमार समेतलाई बाली कूत बुझी रसीद गरी दिइसकेको भए आफूले मोही सकार गरी सकेकोमा अन्यथा गर्न दिनु मनासिव नहुँदा त्यस्तो रसीद भरपाई भनेको लिखतहरूलाई तहकिकातमा नल्याई निर्णय गरेकोले सो निर्णय आदेश बदर हुने भन्ने डिभिजनबेञ्चको ०३६।४।२ मा आदेश भई मिसिल भू.सु.का.काठमाडौंमा गई कारवाही हुँदा पेश भइराखेको भरपाई रसीदहरू निज विपक्षी निवेदकलाई र निजको दाजुलाई समेत सुनाई देखाउँदा सद्दे साँचो हो र गरी दिएको हुँ भन्ने बयान गरेबाट भू.सु.का.काठमाडौंबाट सम्मानित सर्वोच्च अदालतको निर्णय समेतलाई ध्यानमा राखी कानुन बमोजिम नै मोही कायम गरी निर्णय भएकोलाई मेरो घरबास उठाउन दुःख दिन निवेदन गरेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने पार्वती खत्रीनी समेतको लिखितजवाफ ।
७. विवादको जग्गाको साविक मोही पद्मबहादुर ०२९ सालमा परलोक भएको कुरा दुवै पक्षले स्वीकार गरेकै छन् । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४(१) मा जग्गा कमाउन लिँदा दिँदा मोही र जग्गावालाको बीचमा तोकिएबमोजिमको लिखित कबुलीयत गर्नु पर्छ भन्ने व्यवस्था गरिएको देखिन्छ । यसबाट सो दफा ३४(१) बमोजिमको कबुलीयत गरी लिई दिई जग्गा कमाउने व्यक्ति मात्र मोही हुन सक्तछ । २०२९ सालमा जग्गा कमाउने पार्वती खत्रीनीले दफा ३४(१) बमोजिम कबुलीयत गरी जग्गा कमाउन लिएको भए मात्र निज मोही हुनसक्ने भरपाईका आधारमा मात्र मोही कायम हुनसक्ने अवस्था देखिँदैन । कबुलीयतको अभावमा मोही कायम गरेको भूमिसुधार कार्यालय काठमाडौंको निर्णय दफा ३४(१) को विपरीत भएको देखिँदा उत्प्रेषणको आदेश जारी गरी सो ०२६।१२।१८।५ मो निर्णय बदर गरी दिने ठहर्छ । जानकारीको लागि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी कार्यालयमा यो आदेश प्रतिलिपि पठाई नियमानुसार गरी मिसिल बुझाई दिनु भन्ने डिभिजनबेञ्चको ०३८।६।८।५ को आदेश ।
८. जग्गाधनी र जोताहाका बीच भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ बमोजिम कूत लिने दिने शर्तमा जग्गा कमाउन लिए दिएको देखिन आउँदैन । फिल्डबुकमा लेखिए अनुसार पाटीमा पानी भरी खुवाउनु पर्ने र (२३४) भरपाइमा लेखिए बमोजिम मालपोत सम्म बुझाई जग्गाको आयस्ता खाने गरी आएको देखिन्छ । निवेदिकाले पाटीमा पानी भरी जग्गाको आयस्ता खाने गरी आएको र क्षतीवालालाई मालपोत रकम सम्म बुझाई आएकोले मालपोतलाई कूतको संज्ञा दिन मिल्ने देखिँदैन । भूमिसम्बन्धी ऐनको दफा ३४ बमोजिम कबुलीयत नभएकोले ०३६।१२।२८।५ मा भूमिसुधार अधिकारी काठमाडौंले गरेको निर्णय कानुन अनुरूप भएन भनी पुस्तौं देखि चलन गरी आएका घरबारी समेत उठ्ने गरी सो निर्णय बदर हुने ठहराएको ०३८।६।८।५ को सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन भन्ने समेत न्यायिक समितिको पर्चा ।
९. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदन मिति ०४०।६।७।६ मा यस बेञ्च समक्ष पेश हुँदा निवेदिकातर्फका विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल तथा भू.सु.का.काठमाडौंतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा रिटनिवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माको बहस समेत सुनियो ।
१०. यसमा निर्णयतर्फ हेर्दा विवादको फर्पिङ गा.पं.वा.नं.७(क) को कि.नं.४८ को जग्गाको साविकदेखि कमाई आउने मोही पद्मबहादुर २०२९ सालमा परलोक भएको कुरामा कुनै विवाद देखिन्न । उक्त जग्गा मकै पौवामा पानी भरी मालपोत तिरी कमाई खाएको भन्ने निवेदिकाको कथन र सोही कुरा रिट निवेदकको दाजु सानो पद्मबहादुरले गरी दिएको ०३३।८।१५ को र ०३४।११।१४ को भरपाईबाट पनि देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(१) मा “मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ” भनी मोहीको परिभाषा गरिएबाट कुनै जग्गाको मोही हुनलाई कूत नै बुझाउनु पर्ने भन्ने नभई जुनसुकै शर्तमा कमाएमा पनि मोही हुनसक्ने देखियो सो अनुरूप साविक देखि मकै पौवामा पानी हाली मालपोत बापत केही रकम तिरी कमाई खाने निवेदिकाको ससुरा पद्मबहादुर विवादको जग्गाको मोही भएको स्पष्ट छ ।
११. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने भनिएबाट निवेदिका साविक मोही पद्मबहादुरको उक्त नाता भित्रको व्यक्ति नभई छोरा बुहारी भएको देखिन्छ । यसबाट ससुरा पद्मबहादुर विवादको जग्गाको मोही भएको नाताले उक्त जग्गाको मोही सम्बन्धी हक मलाई प्राप्त हुनुपर्ने भन्ने निवेदिकाको जिकिर कानुनसंगत देखिएन । भूमिसम्बन्धी ऐन, २०२१ लागू भइसकेपछि जग्गा कमाएको नाताले मोहियानी हक प्राप्त हुनलाई जग्गा कमाउन लिँदा दिँदा मोही र जग्गावालाको बीचमा तोकिएबमोजिमको लिखित कबुलीयत हुनुपर्ने अनिवार्यतालाई उक्त ऐनको दफा ३४(१) ले स्पष्ट गरेको छ । दफा (२३५) ३४(१) बमोजिमको लिखित कबुलीयत छ भनी निवेदिकाले भन्न तथा देखाउन सकेको देखिँदैन । तसर्थ जग्गाको मोहियानी हक प्राप्त हुने देखिँदैन ।
१२. विवादको जग्गामा घरबास गरी आएको भन्ने निवेदिकाको जिकिर तथा निजतर्फका विद्वान अधिवक्ताको बहस जिकिर भए तर्फ विचार गर्दा विवादको कि.नं.४८ को जग्गामा निवेदिकाको घरबास नभई कि.नं.४७ को जग्गामा मात्र निजको घरबास भएको देखिन्छ । यसबाट पनि विवादको कि.नं.४८ को जग्गामा निजको दावी कानुनसंगत देखिएन ।
१३. अतः उपर्युक्त कारणहरूबाट विवादको जग्गामा निवेदिकालाई मोही कायम गरेको भूमिसुधार कार्यालय काठमाडौं ०३६।१२।२८ को निर्णय त्रुटिपूर्ण देखिएको हुँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको डिभिजनबेञ्चको ०३८।६।८।५ को निर्णय मनासिव ठहर्छ ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय
१४. सर्वप्रथम विवादको का.जि.फर्पिङ स्वखेल गा.पं.वा.नं.७ को साविक कि.नं.७ को जग्गा रोपनी ८–२–० मा पाटीमा पानी भरी जग्गा कमाई खाने साविक मोही पद्मबहादुरलाई सो जग्गाको कानुन बमोजिमको मोही भनी बहुमतले स्वीकार गरेको हुँदा यस सन्दर्भमा अरू विवेचना गर्नु आवश्यक देखिन्न । साविक बमोजिम जग्गा कमाई आउने, मोही पद्मबहादुरको २०२९ सालमा परलोक भएको कुरा दुवै पक्षले स्वीकार गरेका छन् । निज परलोक भएपछि पनि निजको बुहारी निवेदिका पार्वती खत्रीले मोहीकै हैसियतले कमाई आएको २०३३ साल तथा ०३४ सालका माल पोत बुझी गरिदिएका भरपाईबाट स्पष्ट रूपले देखिन्छ । यस सन्दर्भमा उक्त ०३३ तथा ०३४ सालका रसीदको व्यहोरा तर्फ दृष्टि दिनु पनि मैले आवश्यक ठानेको छु । उक्त दुवै रसीदमा पार्वती खत्रीले जग्गा कमाई साविक बमोजिम पाटीमा पानी भरी आएको कुरा उल्लेख गर्दै पार्वती खत्रीलाई मोही भनी मालपोत बुझी भरपाई गरिदिएको देखिन्छ । यसकारण २०२९ सालमा मोही पद्मबहादुर परलोक भएपछि पनि निजको बुहारी निवेदिका पार्वती खत्रीलाई मोही स्वीकार गरी भरपाई गरी दिई निजले ०३४ साल सम्म निर्वाध रूपले विवादको जग्गा भोगचलन गरेकोमा ०३४।१२।६ मा मात्र रिट निवेदकले भूमिप्रशासन कार्यालयमा विवाद खडा गरी निवेदन दिएको देखिन्छ ।
१५. निवेदकलाई अधिकार प्राप्त हुनुभन्दा अगावै सो विषयवस्तुमा स्वामित्व वा आर्थिक स्वार्थ भएका व्यक्तिले आफ्नो स्वामित्व वा स्वार्थ रहेको अवस्थामा त्यस सम्बन्धमा व्यक्त गरेका कुरा पछि स्वामित्व वा आर्थिक स्वार्थ प्राप्त हुने व्यक्तिले व्यक्त गरेको मान्नु पर्ने व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ९(३)(ग) ले गरेको पाइन्छ । त्यस्तै गरी प्रस्तुत रिट (२३६) निवेदनमा रिट निवेदक धने विष्टलाई विवादको जग्गामा अंशबण्डा भई स्वामित्व प्राप्त हुनुभन्दा पहिले निजको दाजु सानु पद्मबहादुर विष्टले गरिदिएको भरपाईमा व्यक्त गरेको कुरालाई धने विष्टको इन्कारीले असर पार्न सक्ने देखिँदैन । यसको अलावा विवादको जग्गामा भूमिसम्बन्धी ऐनको दफा ३३ बमोजिम कूत बुझाउने शर्तमा कमाएको नभई सार्वजनिक स्थान पाटीमा पानी भरी खुवाई मालपोत बापत केही रकम सम्म बुझाई खाने शर्तमा निवेदिका समेतले जग्गा कमाई खाएको देखिएकोले मोहियानीमा जग्गा कमाउने अन्य मोहीहरूको भन्दा निवेदिकाको स्थिति केही भिन्न पनि देखिएको छ । यस स्थितिमा आएर भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) बमोजिमको कबुलीयत खोज्नु र सो नभएको कारणले कैयौं बर्ष देखि घर बनाई मोहियानीमा कमाई आएको जग्गाको मोहियानी हक समाप्त गर्नु मेरो दृष्टिमा कानुनले मिल्ने देखिँदैन ।
१६. अब विवादको जग्गामा मेरो घरबास छ भन्ने जिकिरको सन्दर्भमा विचार गर्दा विवादको स्वखेल पञ्चायत वा.नं.७ को कि.नं.७ को ८–२–० रोपनी जग्गा साविकमा एउटै कित्ता भई सो जग्गामा साविक देखि घर बास बनाई भोगी आएको कुरा मिसिल संलग्न भरपाई सरजमीन मुचुल्का एवं गाउँ पञ्चायतको पत्र समेतबाट देखिन्छ । रिट निवेदकको दाजु सानो पद्मबहादुरको भू.सु.का.काठमाडौंमा ०३६।११।८ मा भएको बयानमा साविकमा उक्त जग्गा ८–२–० हामीहरूको सगोल दर्ता जग्गा थियो उस बखत पानी हाले बापत ८–२–० को मालपोत रू.२०। मैले बुझी लिई भरपाई गरी दिएको ठीक हो पछि हामीहरूका बीच बण्डा हुँदा उक्त ८–२–० मध्ये ३–३–० मेरो भागमा परी उक्त जग्गा मालपोत रू.२०। मध्ये रू.९। मात्र मैले ०३४ सालको पौवामा पानी हाले बापतको रू.बुझी लिएको भनी लेखाएको भनी र ०३४।११।१४को भरपाईमा पनि जग्गा १ कित्ताको २ कित्ता अंशबण्डाबाट हुन आएकोले भनी आफ्नो कि.नं.४७ को जग्गाको मात्र मालपोत रकम बुझेको कुरा उल्लेख गरेकोबाट २०३३ साल पछि मात्र साविक कित्ता नं.७ को जग्गालाई कित्ताफोर गरी कि.नं.४७ र ४८ कायम देखिन्छ । रिट निवेदकको वारेसले निवेदन साथ पेश गरेको नक्सा ट्रेसमा कि.नं.४७ को जग्गामा घरबास देखिएकै छ । साविक बमोजिम एकै कित्ता गरी सो कित्तामा घरबास समेत बनाई भोगचलन गरी आएको जग्गामा पछि अंशियारहरू बीच अंशबण्डा भएपछि कित्ता फोर भई नयाँ कित्ता कायम हुँदैमा सो कित्तामा मोहियानी हक समाप्त गर्ने कार्य भूमिसम्बन्धी ऐन, २०२१ दफा २६(क) को कुनै प्रयोजन रहँदैन । यस दृष्टिले हाल कित्ता फोर भई साविकदेखि मोहीमा कमाई घरबाससमेत खडा गरी आएको जग्गामा दफा ३४(१) बमोजिमको कबुलीयत चाहिन्छ भन्नु औचित्यपूर्ण देखिँदैन ।
१७. अतः उपर्युक्त कारणहरूबाट घरबास खडा गरी जोती आउने मोहीलाई कायम गरी रिट निवेदकको दावी नपुग्ने गरेको भूमिसुधार कार्यालय, काठमाडौंको ०३६।१२।१८ को निर्णय कानुन अनुरूप नै देखिएको हुँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको डिभिजनबेञ्चको ०३८।६।२८।५ को निर्णय मिलेको छैन । बहुमतको रायसँग मेरो सहमति नभएकोले छुट्टै राय व्यक्त गरेको छु ।
न्या.हरगोविन्द सिंह
इतिसम्वत् २०४० साल आश्विन १८ गते रोज ३ शुभम् ।