निर्णय नं. १६७५ - खिचोला मिटाई पाउँ

निर्णय नं. १६७५ ने.का.प. २०४० अङ्क ६
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको दे.बि.नं. १७७
फैसला भएको मिति : २०४०।५।१२।१ मा
निवेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२६ ईटुम्बहाल ताहाननी बस्ने मोतीरत्न तुलाधर
विरूद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने जुजुभाई महर्जन
मुद्दा : खिचोला मिटाई पाउँ
(१) वादीको पाताल जग्गा र सोमा रहेको किलास समेत ८ फुट ९ इन्च वादीको हुनुपर्ने हुँदा झगडा जनिएको न.नं. ५ मा पश्चिमतर्फबाट २ इन्च वादीको हुने र बाँकी १ फुटमा वादी दावी नपुग्ने ।
(प्रकरण नं. १४)
निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्ड
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. म.क्षेत्रीय अदालतको इन्साफ जाँची पाउँ भन्ने निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. का.जि.का.न.पं.वडा नं.१२ ताहननीको म बसिआएको घर एकलौटी हकभोगको पर्खाल घर जग्गा समेत म आफैंले भोगचलन गरी आएको ०३२।११।१० गते बिहान १० बजे पाताल जग्गामा किलासको ईटा उप्काउन लागेकोले मेरो किलास नभत्काउनुहोस भन्दा नगरपञ्चायतमा नक्सा दरखास्त दिइसकेको छु भनी खिचोला गर्नुभयो । नगरपञ्चायतमा दिएको दर्खास्तमा पश्चिमतर्फ आफ्नै किलास र चोकमा जाने साझा बाटो भनी लेखी दरखास्त दिई हुँदै नभएको बाटो छ भनी लेखी पूर्व आफ्नो किलास पश्चिम आफ्नै घर उत्तर साझा चोक दक्षिण साझा चोक पूर्व पश्चिम लम्बाई ८ फुट ९ (२७७) ईन्च उत्तर दक्षिण चौडाई ८ फुट ११ ईन्चीको उक्त पाताल जग्गामा घर बनाउन लाग्दा घर बनाउन नदिई खिचोला गरेकोले फिराद गर्न आएको छु । २००४।१२।३१ मा म्यूनिसिपल्टी नक्सा मुद्दा फाँटबाट पाएको नक्सा पूर्जा छँदाछँदै खिचोला गरेको खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको जुजुभाईको फिरादपत्र ।
३. का.न.पं.१२ वडा अन्तर्गत ईटुम्बहालको पश्चिमतर्फको मेरो किलासमा हो श्रावण महीनामा भत्की सो ठाउँ बस्ने देवनारायणको बर्ष ८ को छोरा पुरिई टोल छिमेकले बालक झिकी चोट लागी बेहोस भएकोले हस्पिटल लाँदा राष्ट्रिय सम्बाद समितिको ०३२।४।१२ को खबरबाट प्रष्ट हुन्छ र बाटो मेरो भन्ने प्रष्ट छ । सो गाह्रो बनाउँदा का.न.पं.मा उजूर गर्दा सँधियारको उजूर नपरेबाट उक्त किलास मेरो भन्ने र पूर्व पश्चिम लम्बाई फुट ८–९” उत्तर दक्षिण चौडाई फुट ८–१११/६ को पाताल जग्गा मेरो भोगचलनको सार्वजनिक बाटो हो भन्ने कुरा सरजमीनबाट प्रष्ट हुनेछ । का.न.पं.बाट ०४।१२।३१ गते नक्सा गरी विपक्षीले बनाएको भए आजसम्म घर बनाई सक्नुपर्ने थियो र प्रमाण कागज समेत पेश गर्न सक्नुपर्ने थियो । सो नसकेकोबाट विपक्षीले पाताल जग्गा भनेकोमा सार्वजनिक जग्गा कायम गरिपाउँ भन्ने समेत मोतीरत्नको प्रतिउत्तर ।
४. वादी लेख मुताविक पूर्व किल्लामा किलास गाह्रो थियो भनी कुनै सबूत गुजार्न नआएबाट हाल न.नं.को गाह्रोमा खिचोला गरे भन्ने वादीको दावी पुग्दैन । न.नं.६ को वादीको घर पाताल जग्गालाई प्रतिवादीले सार्वजनिक बाटो भनी खिचोला गरेको भन्ने समेत का.जि.अ.को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. ०३५।८।४ को तारेख पुनरावेदक जुजुभाईले गुजारी बसेकोले मुद्दा डिसमिस हुने ठहर्छ भन्ने बा.अं.अ.को फैसला ।
७. तारेख थामी दिनु भन्ने हु.प्र.बक्साई डिसमिस हुँदाका बखत रुजु रहेका पक्षहरूलाई झिकाई मुद्दा दर्ता गर्नु भन्ने बा.अं.अ.को आदेश ।
८. दावी गरिएको घर पाताल किलास वादीकै हो भन्ने सम्बन्धित प्रमाण नजुटेकोले विवादग्रस्त किलास प्रतिवादीकै हो । शुरूले वादी दावी पुग्न नसक्ने ठहर्याएको इन्साफ ठीक छ भन्ने समेत बा.अं.अ.को फैसला ।
९. पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा अनुमति प्रदान गरिएको छ भन्ने म.क्षे.अ.सिंगलबेञ्चको आदेश ।
१०. फिरादपत्रमा ८ फुट ९ इन्च जग्गा किलास भएको भन्ने दावी भएको पाइन्छ । प्रतिवादीले मिसिल संलग्न रहेका नक्सा मुचुल्काको ५ नं.को झगडा परेको किलास मेरो हो भन्ने कुनै सबूत दिन गुजार्न सकेको देखिएन । वादीले पेश गरेको बेञ्च समक्ष समेत देखाइएको २००४।१२।३१।२ मा म्यूनिसिपल्टीबाट घर बनाउन (२७८) पाएको नक्सा पूर्जासाथको नक्सामा देखाइएको पूर्व साँध वादीकै किलास लेखिएको देखिन आयो । नक्सामा लम्बाई ८ फुट ९ इन्च लेखिएको र पूर्व साँधमा वादीको किलास लेखिएकोले ८ फुट ९ इन्चको पाताल जग्गा भित्री किलास रहेको नभई किलास छुट्टै रहेको र किलास वादीकै भएको कुरा प्रमाणित हुन आएकोले नक्सामा झगडा परेको नक्सा नं.५ को किलास वादीकै हकको देखिँदा प्रतिवादीले मेरो हो भनी जिकिर लिएकोले खिचोला गरेको ठहर्छ । शुरूको इन्साफ मनासिव ठहर्याएको बा.अं.अ.को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी हुन्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।
११. मिति ०३५।६।८ मा भएको नक्साबाट न.नं.५ को किलासमा झगडा जनिएको र न.नं.६ वादीको पाताल भइरहेको जमीन भन्ने नक्सामा जनिएको देखिन्छ । वादीले फिराद दावी गर्दा मेरो पूर्व पश्चिमको जग्गा लम्बाई ८ फुट ९ इन्चको भनेको पाइन्छ । नक्साबाट न.नं.६ को जग्गा ८ फुट ७ इन्चको रहेकोमा विवाद देखिन्न । यस स्थितिमा वादी दावी अनुसार २ इन्चसम्म नपुग देखिएकोमा न.नं.५ को १ फुट २ इन्च समुच्चा किलास वादीको ठहराई प्रतिवादीले खिचोला गरेको भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहराएको इन्साफ मिलेको नदेखिएकोले छलफलको लागि अ.बं.२०२ नं.र सर्वोच्च अदालत नियमावली बमोजिम पेश गर्नु भन्ने ०३९।१२।५ को डिभिजनबेञ्चको आदेश ।
१२. नियम बमोजिम इन्साफ जाँचको निमित्त पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक प्रतिवादीका वा.पुष्पावती तुलाधर विपक्षी वादी जुजुभाइ महर्जनलाई रोहवरमा रखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाङ्गको बहस समेत सुनी क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपरेको छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा वादीले फिराद दिँदा पाताल जग्गा र सो मा रहेको किलास ८ फुट ९ इन्च लामो लेखेको पाइन्छ ।
१४. ०३५।६।८ मा भएको नक्साबाट न.नं.६ वादीको पाताल जग्गा भनी जनिई नापीमा ८ फुट ७ इन्च देखाएको छ । त्यसबाट वादीको पाताल जग्गा र सोमा किलास समेत ८ फुट ९ इन्च हुनुपर्ने हुँदा झगडा जनिई न.नं.५ मा पश्चिमतर्फबाट २ इन्च वादीको हुने र बाँकी १ फुटमा वादी दावी नपुग्ने तर त्यसमा प्रतिवादीको हक ठहर्छ, अतएव वादी दावी अनुसार न.नं. ५ को १ फुट २ इन्च समुच्चा किलास वादीको ठहराई प्रतिवादीले खिचोला ठहर्याएको क्षेत्रीय अदालतको फैसला केही उल्टो हुन्छ । इन्साफ जाँचमा आएकोले कोर्टफी तर्फ केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल भाद्र १२ गते रोज १ शुभम् ।