निर्णय नं. ९२०५ - उत्प्रेषण/परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
फैसला मिति :- २०७०।८।१९।४
०६८–WO–१२७९
विषयः- उत्प्रेषण/परमादेश ।
निवेदक :- काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ घर भई हाल ललितपुर जिल्ला, ल.पु.उप.म.पा.वडा नं २ सानेपा बस्ने अनितादेवी शाही
विरूद्ध
विपक्षी : पुनरावेदन अदालत,पाटनसमेत
§ एउटै अदालतमा परेका दुई मुद्दाहरूमध्ये म्याद तामेल हुँदा एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने र अर्कोमा फेला नपर्ने हुन सक्तैन । बेरीतपूर्वक तामेल भएको बेपत्ते म्याद बदर गरी पुनः इतलायनामा म्याद दिने गरेको आदेश कानून र प्राकृतिक न्यायको सिद्धान्त अनुरूप भएको नै देखिने ।
(प्रकरण नं.८)
निवेदकका तर्फबाट :- विद्वान् अधिवक्ता वीरेन्द्र महर्जन
विपक्षीका तर्फबाट :- विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल
अवलम्बित नजिर :-
सम्बद्ध कानून :-
§ मुलुकी ऐन, अ.बं.११७, ११० नं.
§ जिल्ला अदालत नियमावली, २०५४ नियम २२
आदेश
न्या.गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :
उल्लिखित विपक्षीमध्ये विपक्षी नं. ३ मेरो जग्गा साबिक काठमाडौं जिल्ला कालिमाटी वडा नं. ८(ख) कि.नं. १२७ जग्गाको दक्षिणतर्फको सँधियार हुनुहुन्छ । मेरो नामको उक्त कित्ता जग्गाको दक्षिणतर्फ निज विपक्षी पुण्यप्रभादेवी बिष्टको नामको दर्ता रहेको कि.नं.१४७ तथा निजका एकापरिवारका छोरा रामहरि बिष्टको नाममा दर्ता रहेको कि.नं.१४६ को जग्गा रहेको छ । निज विपक्षी पुण्यप्रभादेवी तथा निजका छोरा रामहरि बिष्टसमेतले संयुक्तरूपमा म निवेदिकालाई विपक्षी बनाई पुनरावेदन अदालत, पाटनमा निषेधाज्ञाको निवेदन दर्ता गरेकोमा उक्त अदालतबाट निज विपक्षीहरूको रिट निवेदन खारेज भएपछि पुनः निज विपक्षीहरूले
काठमाडौं जिल्ला अदालतमा मिति २०६७।९।१६ मा म निवेदिकालाई विपक्षी बनाई खिचोला मेटाई बनाएको घर टहरा भत्काई पाउँ भनी दे.मि.नं. ४३७७ र ४३७६ नं. को दुई थान मुद्दा दर्ता गराउनुभएको रहेछ र सो मुद्दाहरूमध्ये विपक्षी पुण्यप्रभादेवी बिष्टका छोरा रामहरि बिष्ट वादी भई दर्ता गराउनुभएको दे.नं.४३७७ नं. को मुद्दाको म्याद मिति २०६८।२।१ मा मेरो नाममा तामेल भएको र सो मुद्दामा म निवेदिकाले म्यादभित्रै
प्रतिउत्तरपत्रसमेत जोडिई उक्त मुद्दामा पुर्पक्ष गर्दै आइरहेकी थिएँ भने विपक्षी नं.३ ले पनि मेरो नाममा सोही मितिमा सोही विषयको दे.नं ४३७६ नं. को मुद्दा दर्ता गराउनुभएको रहेछ । सो कुरा म निवेदिकालाई थाहा थिएन पछि नक्कल सारी हेर्दा थाहा भयो कि मलाई विपक्षी बनाई मुद्दा दर्ता गरी मेरो नामको म्याद मिति २०६७।१२।२ मा बेपत्ते तामेल भई मिति २०६८।३।१३ गोरखापत्रमा समेत सूचना प्रकाशित भई मेरो प्रतिउत्तर फिराउने म्यादसमेत गुज्रिसकेको रहेछ । सो कुरा थाहा पाएपछि मिति २०६८।१०।१७ मा उक्त मेरो नामको म्याद मुलुकी ऐन, अ.बं.११० नं. बमोजिमको प्रक्रिया पूरा नगरी मेरो वतनमा आउँदै नआई बेपते भएको हुँदा उक्त म्याद तथा गोरखापत्रमा प्रकाशित गरेको सूचनासमेत म निवेदिका अनपढ तथा पत्रिकामा मेरो पहुँचसमेत नभएको घरायसी कामकाजी महिला भएकाले उक्त सूचनासमेत बदर गरी मेरो नामको म्याद अड्डैबाट बुझी प्रतिउत्तरसमेत जोडी मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी निवेदन दर्ता गरेकोमा का.जि.अ.का स्रेस्तेदारबाट निवेदकले निवेदनमा उल्लेख गरेको वतनमा नै गोरखापत्रमा सूचना प्रकाशित भई सकिई मुद्दामा प्रमाणसमेत मुकरर भई सकेको देखिँदा माग अनुसारको म्याद बदर गर्न मिलेन भनी म्याद बदर नगरेको र सोउपर अं.बं. ६१ नं. बमोजिम निवेदन दर्ता गरेकोमा मिति २०६८।११।१९ मा उक्त मितिको स्रेस्तेदारको आदेश बदर गरी म निवेदिकालाई अड्डैबाट म्याद बुझ्न लगाई प्रतिउत्तरसमेत जोड्न लगाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न दिइराखेको अवस्थामा विपक्षी पुण्यप्रभादेवी पुनः उक्त आदेश बदरको लागि अ.बं.१७ नं. बमोजिम पुनरावेदन अदालत, पाटनमा गएकी र उक्त अदालतबाट मिति २०६९।१।२१ मा काठमाडौं जिल्ला अदालतको उक्त आदेश बदर गरेको र पुनरावेदन अदालतको उक्त आदेशले मेरो कानूनी हकमाथि आघात पुर्याएको र उक्त आदेश बदर गराउनको लागि अन्य उपचारको व्यवस्थासमेत नभएकाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) नं. बमोजिम यो निवेदन दर्ता गर्न आएकी छु ।
विपक्षीसमेतले म निवेदिकाउपर पुनरावेदन अदालत, पाटनमा यसअघि दर्ता गराउनुभएको निषेधाज्ञा मुद्दामा मेरो नाममा सोही वतनमा जारी भएको म्याद मेरो घर ठेगानामा आई रीतपूर्वकको तामेल हुने र सोही मुद्दासँगै एकैदिन दर्ता भएको निजको छोरा रामहरि बिष्टको मुद्दामा जारी भएको म्याद मेरो नाममा रीतपूर्वक तामेल हुने तर एकै दिन दर्ता भएको र एउटै अदालतबाट भएको तामेली म्याद बेपत्ते हुने कुरा स्वयम्मा अपत्यारिलो कुरा हो । यी कार्यहरूले विपक्षी पुण्यप्रभादेवीसमेतको मिलेमतोमा मलाई थाहा जानकारी नै नदिई एकतर्फी फैसला गराउने बद्नियतपूर्ण उद्देश्यले उक्त कार्य गरेको भन्ने कुरालाई पुष्टि गर्दछ । त्यसरी मेरो नाममा जारी भएको म्याद मेरो वतनमा आउदै नआई बेपत्ते तामेल गरेको हुँदा उक्त मिति २०६७।१२।२ को तामेली म्याद नै बेरीतपूर्वकको छ भन्ने कुरा प्रष्ट छ । साथै जिल्ला अदालत नियमावली, २०५२ को नियम २२(क) को व्यवस्था अ.बं.११० नं. को प्रक्रियाबाट तामेल हुन नसकेपछि मात्र कार्यान्वयन हुने हो ।
मेरो विरूद्धमा परेको मुद्दाको जानकारी नै मलाई नभई प्रतिवाद गर्नेसमेत मौका नदिएको कारण मलाई म्याद बुझाई प्रतिउत्तरसमेत जोडी मुद्दामा पुर्पक्ष गर्न दिनु भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।११।१९ मा आदेश गरी प्रतिउत्तर जोडिई तारिखमा बसी मुद्दाको पुर्पक्ष गर्दै आइरहेको अवस्थामा सो आदेशलाई बदर गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।२१ को आदेश प्राकृतिक न्यायको सिद्धान्तविपरीतको हुनुका साथै उक्त आदेशले म निवेदिकाको कानूनबमोजिम तारिखमा रही मुद्दा पुर्पक्ष गर्न पाउने कानूनी हकसमेत उल्लङ्घन भएकाले उक्त मिति २०६९।१।२१ को पुनरावेदन अदालत, पाटनको आदेश उत्प्रेषणको आदेशबाट बदर गरी काठमाडौं जिल्ला अदालतको मिति २०६८।११।१९ को आदेशबमोजिम प्रतिउत्तर जोडाइ तारिखमा बसी पुर्पक्ष गर्दै आइरहेको हुँदा सोही आदेशबमोजिम तारिखमा राखी पुर्पक्ष गर्न दिनु भनी काठमाडौं जिल्ला अदालतका नाममा परमादेशसमेत जारी गरिपाउँ । साथै उक्त काठमाडौं जिल्ला अदालतबाट २०६९।२।१२ देखि मेरो तारिख टुटाई एकतर्फीरूपमा नक्सा गर्नेलगायत प्रमाण बुझी मुद्दा फैसला गर्न लागेकाले यो रिट निवदेनको अन्तिम किनारा नलागेसम्मको लागि उक्त पुनरावेदन अदालतको आदेश कार्यान्वयन नगर्नु र काठमाडौ जिल्ला अदालतको उक्त मिति २०६८।११।१९ को आदेशबमोजिम तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु भनी सर्वोच्च अदालत नियमावलीको नियम ४१ बमोजिम अन्तरिम आदेशसमेत जारी गरिपाउँ भन्नेसमेत व्यहोराको रिट निवेदन दावी ।
यसमा के कसो भएको हो, निवदेकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी गर्नु नपर्ने आधार कारण भए यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ र २ ले महान्यायाधिवक्ताको कार्यालयमार्फत र विपक्षी नं. ३ ले आफैं वा आफ्नो प्रतिनिधि वा कानून व्यवसायीमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु ।
साथै रिट निवेदनमा निवेदकले अन्तरिम आदेशसमेत माग गरेको देखिँदा विपक्षीहरूसमेत राखी अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफल गर्न उपयुक्त हुने हुँदा अन्तरिम आदेश छलफलको लागि पेसी तोकी विपक्षीहरूलाई सूचना पठाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।३।२७ को आदेश ।
प्रतिवादी अनितादेवी शाहीले वादीले फिरादमा नै उल्लेख गरेको वतन उल्लेख गरी बेरीतको म्याद बदर गरी आफ्नो नामको म्याद अड्डैको रोहबरमा बुझी पाउँ भन्ने द.नं.१४९५५ को निवेदन मिति २०६८।१०।१७ दिई उक्त निवेदन स्रेस्तेदारसमक्ष पेस हुँदा निवेदकले निवेदनमा उल्लेख गरेको वतनमा नै गोरखापत्रमा सूचना प्रकाशित भैसकी मुद्दामा प्रमाण मुकररसमेत भैसकेको देखिँदा मागअनुसार म्याद बदर गर्न मिलेन कानूनबमोजिम गर्नु भनी मिति २०६८।१०।१७ मा आदेश भएकोमा सो आदेशउपर अ.बं.६१ नं. बमोजिम प्रतिवादीले दिएको निवेदन इजालाससमक्ष पेस हुँदा “प्रस्तुत मुद्दाको लगाउको यिनै वादीका छोरा रामहरि बिष्टले यिनै प्रतिवादीउपर दायर गरेको द.नं.०४३७७ को जग्गा खिचोला मुद्दामा यी प्रतिवादी निवेदकले ल.पु.जि., ल.पु.उप.म.न.पा. वडा नं.२ को वतनमा ललितपुर जिल्ला अदालतका तामेलदार सजन रानाले मिति २०६८।२।१ मा प्रतिवादीको घर वतनमा गई हातैमा म्याद तामेल गरी प्रतिवादीले प्रतिउत्तर फिराइ रूजु तारिखमा बसी मुद्दा पुर्पक्ष गरिरहेको देखिएकोमा प्रस्तुत मुद्दाको रोहबाट उक्त लगाउको मुद्दाका वादीको आमा पुण्यप्रभादेवी बिष्टले यिनै प्रतिवादीलाई उही वतन देखाई मुद्दा दायर गरेकोमा उनै तामेलदार कर्मचारीबाट बेपत्ते म्याद तामेल प्रतिवेदन पेस भई पत्रिकामा सूचना प्रकाशित गरेकोमा म्यादभित्र थाहा नपाई लगाउको मुद्दामा रूजु हाजिर भएको भनी प्रतिवादीले हाल थाहा पाएको भनी प्रतिउत्तर लिई आएकोमा यसलाई अनादर अस्वीकार गर्नुपर्ने कुनै कानूनी र तार्किक अवस्था नदेखिँदा स्रेस्तेदारबाट मिति २०६८।१०।१७ गते भएको आदेश बदर गरिदिएको छ । पुनः प्रतिवादीलाई हातैमा अड्डैबाट म्याद बुझाई प्रतिउत्तर दर्ता गरी नियमानुसार गर्नु होला” भनी यस अदालतबाट मिति २०६८।११।१९ मा आदेश भई विपक्षीको प्रतिउत्तर परी कारवाही भै रहेकोमा वादी पुण्यप्रभादेवी बिष्टले यस अदालतको मिति २०६८।११।१९ को आदेशउपर पुनरावेदन अदालत, पाटनमा अ.बं.१७ नं. बमोजिम निवेदन गर्दा यस अदालतको मिति २०६८।११।१९ को आदेश रीतपूर्वकको भएको मान्न मिलेन सो बेरीतको आदेश बदर गरिदिएको छ भनी २०६९।१।२१ मा पुनरावेदन अदालत, पाटनबाट भएको आदेशबमोजिम यी विपक्षीको तारिख टुटाई मुद्दाको कारवाही अगाडि बढाइएको हो । पुनरावेदन अदालत, पाटनको आदेशानुसारको कार्य गरेको हुँदा यस अदालतबाट विपक्षी निवेदकउपर कुनै अन्याययुक्त कार्य भए गरेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको काठमाडौं जिल्ला अदालतको लिखित जवाफ ।
यसमा यी निवेदकलाई विपक्षी बनाई पुण्यप्रभादेवी बिष्ट तथा रामहरि बिष्टले काठमाडौं जिल्ला अदालतमा दायर गरी कारवाहीमा रहेको दे.नं.४३७६ र ४३७७ नं. को खिचोला मेटाई घर भत्काई पाउँ भन्ने मुद्दामा निवेदकका नाउँमा तामेल भएको तामेली म्यादसमेतका कागजातको अध्ययन हुन आवश्यक देखिएकाले प्रस्तुत मुद्दामा अन्तरिम आदेशको छलफलको लागि दुबै पक्षलाई मिति २०६९।४।२२ को पेसी तोकी उक्त दिन इजलाससमक्ष देखाई फिर्ता लाने गरी उल्लिखित दे.नं. ४३७६ समेतका मिसिल काठमाडौं जिल्ला अदालतबाट झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।४।१६ को आदेश ।
यी रिट निवेदिकाउपर वादी रामहरि बिष्ट र पुण्यप्रभादेवी बिष्टले दिएको दुई अलगअलग मुद्दामध्ये वादी रामहरिले दिएको जग्गा खिचोला मुद्दामा जारी भएको इतलायनामा म्याद मिति २०६८।२।१ गते यी निवेदिका आफैँले बुझेको देखिन्छ भन्ने पुण्यप्रभा बिष्टले दिएको मुद्दामा मिति २०६७।१२।२ को इतलायनामा बेपत्ते तामेल भएको रहेछ । उक्त बेपत्ते तामेली म्याद हेर्दा निवेदिकाको बाबुको नाम पूरा नलेखिएको र
छोरी भन्ने शब्द पनि लेखिएको देखिँदैन ।
यसरी एउटै अदालतमा परेको दुई मुद्दामध्ये एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने र अर्कोमा फेला नपर्ने हुन सक्तैन । त्यसैकारण मिति २०६७।१२।२ को बेरीतपूर्वक तामेल भएको बेपत्ते म्याद बदर गरी
निवेदिकालाई पुनः इतलायनामा म्याद दिने गरेको काठमाडौं जिल्ला अदालतको मिति २०६८।११।१९।६ को आदेश कानूनबमोजिम भएको देखिन्छ । सो आदेशलाई बदर गर्ने गरेको पुनरावेदन अदालतको मिति २०६९।१।२१ को आदेश कानूनबमोजिम नभएकाले सो आदेश कार्यान्वयन नगर्नु र यी निवेदिकालाई वादी पुण्यप्रभादेवी बिष्टले दिएको जग्गा खिचोला मुद्दामा पूर्ववत् तारिखमा राखी कानूनबमोजिम कारवाही गर्नुहोला भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) अनुसार यो अन्तरिम आदेश जारी गरिदिएको छ । यसको सूचना विपक्षीहरूलाई दिनु भन्ने यस अदालतको मिति २०६९।४।२२ को आदेश ।
काठमाडौं जिल्ला अदालतबाट भएको बेरीतको आदेश बदर गरिपाउँ भनी खिचोलासमेत मुद्दामा निवेदक पुण्यप्रभा बिष्टले यस अदालतमा अ.बं. १७ नं. बमोजिम दिएको निवेदनको प्रतिवेदन नं. ०६८-RE-०३९९ मा दर्ता भई इजलाससमक्ष पेस हुँदा काठमाडौं जिल्ला अदालत के, यसमा प्रतिवादी अनितादेवीले प्रतिवाद गर्न मौका पाउँ भनी दिएको निवेदनमा लेखेको ठेगानामा नै प्रतिवाद गर्न आउनु भनी काठमाडौं जिल्ला अदालतबाट जारी भएको इतलायनामामा राष्ट्रिय सरकारी पत्रिका गोरखापत्रमा वादीको खर्चमा नै प्रकाशन भएको समेत देखिँदा त्यसलाई समेत ध्यानै नदिई सुरू म्याद बदर गर्ने गरेको त्यस अदालतको मिति २०६८।११।१९ को आदेश रीतपूर्वक भएको भन्न मिलेन, सो बेरीतको आदेश बदर गरिदिएको छ भनी मिति २०६९।१।२१ मा आदेश भएको यस अदालतमा रहेको प्रतिवेदन दर्ता रजिस्टरबाट देखिन्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको लिखित जवाफ ।
अदालती जीवित नियम अनुसार गोरखापत्रबाट सूचना जारी भएको म्यादमा नआई ८ महिनापछि गैरकानूनी बहाना बनाई प्रतिउत्तर दर्ता गरिपाउँ भन्ने निवेदन दर्ता गर्न अस्वीकार गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदारको आदेश कानून अनुसार भएकोमा अ.बं. ६१ नं. लगाई दिएको गैरकानूनी निवेदनबाट स्रेस्तेदारको आदेश बदर गरी पुनः म्याद थमाई प्रतिउत्तर लिने गरेको जिल्ला अदालतका न्यायाधीशज्यूको आदेश बेरीत हुँदा त्यसलाई बदर गर्ने गरेको पुनरावेदन अदालतबाट मिति २०६९।१।२१ मा भएको आदेश कानून अनुसार हुँदा त्यसलाई सदर गरी विपक्षीको गैरकानूनी रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको विपक्षी पुण्यप्रभा बिष्टको लिखित जवाफ ।
नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री वीरेन्द्र महर्जनले प्रतिवादीका नाउँको म्यादमा एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने अर्कोमा फेला नपर्ने गरी मिति २०६७।१२।२मा बेपत्ते तामेल भएको तामेली म्याद अ.बं.११० नं. विपरीत हुँदा बदरभागी छ । प्रतिवादीले सुनवाइको मौकाबाट वञ्चित हुने अवस्था छ । तसर्थ सुरू जिल्ला अदालतको मिति २०६८।११।१९ को आदेशमा प्रतिवादीलाई पुनः इतलायनामा दिने गरी भएको आदेश कानूनसम्मत छ । पुनरावेदन अदालत, पाटनले सो आदेशलाई बदर गरेको मिति २०६९।१।२१ को आदेश कानूनबमोजिम नभएकाले बदर गरिपाउँ भनी गर्नुभएको बहस तथा विपक्षीतर्फबाट उपस्थित विद्वान्् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले उल्लिखित वतनमा म्याद तामेल गर्दा बेपत्ते भई आएकोमा नियम अनुसार राष्ट्रिय पत्रिकामा प्रकाशित भएको म्याद कानूनसम्मत तामेली हुँदा सो म्याद बदर हुनुपर्ने होइन । रिट खारेज हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
पेस हुन आएको रिट निवेदन, विपक्षीहरूका लिखित जवाफसमेतका मिसिल संलग्न कागजात अध्ययन गरी कानून व्यवसायीबाट प्रस्तुत भएको बहस जिकिरसमेत मध्यनजर गरी यसमा मूलतः निवेदन मागबमोजिम आदेश जारी हुनुपर्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा विपक्षी पुण्यप्रभादेवी बिष्ट मेरो साविक का.जि. कालिमाटी वडा नं. ८(ख) कि.नं. १०९ र ११० क्षेत्रफल क्रमश: ०-५-० र ०-४-० हाल नगर १४ कि.नं. १२७ क्षेत्रफल २८६.६० वर्गमिटर जग्गाको दक्षिणतर्फको विपक्षीको नाममा दर्ता रहेको कि.नं. १४७ र निजका छोरा रामहरि बिष्टको नाममा दर्ता रहेको कि.नं. १४६ को जग्गा रहेकोछ । निज विपक्षीहरूले काठमाडौं जिल्ला अदालतमा मिति २०६७।९।१६ मा म निवेदिकालाई विपक्षी बनाई खिचोला मेटाई बनाएको घर भत्काई पाउँ भनी दुई थान मुद्दा
दर्ता गराउनुभएको रहेछ । सो मुद्दाहरूमध्ये विपक्षी पुण्यप्रभादेवीका छोरा रामहरि बिष्ट वादी भई दर्ता भएको द.नं. ४३७७ नं. को मुद्दाको म्याद मिति २०६८।२।१ मा मेरो नाममा तामेल भएको र प्रतिउत्तर दिई पुर्पक्ष गर्दै आइरहेकी थिएँ भने विपक्षी पुण्यप्रभाले पनि मेरा नाममा सोही मितिमा सोही विषयको द.नं.४३७६ नं. को मुद्दा दर्ता गराउनुभएको रहेछ । सो कुरा पछि थाहा हुन आयो । बुझ्दा मेरा नामको म्याद मिति २०६७।१२।२ मा बेपत्ते तामेल भै मिति २०६८।३।१३ मा गोरखापत्रमा समेत सूचना प्रकाशित भै मेरो प्रतिउत्तर फिराउने म्यादसमेत गुज्रिसकेको रहेछ । मेरो नाउँको म्याद अड्डैको तर्फबाट बुझी पाउँ र प्रतिउत्तर दर्ता गर्ने मौका
पाउँ भनी यी निवेदकले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदा स्रेस्तेदारबाट अस्वीकार गरी आदेश दिएउपर अ.बं.६१ नं. बमोजिम यी निवेदकको निवेदन पर्दा प्रतिवादीलाई हातैमा अड्डैबाट म्याद बुझाई प्रतिउत्तर दर्ता गर्नु दिनु भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६८।११।१९ को आदेश भएको देखिन्छ । सो आदेश बेरीतको हुँदा बदर गरिदिएको छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।२१ को आदेश रहेछ । सो आदेशउपर वैकल्पिक उपचारको व्यवस्था नहुँदा प्रस्तुत रिट निवेदन दर्ता भै पेस हुन आएको रहेछ ।
३. निवेदक अनितादेवी शाहीउपर पुण्यप्रभादेवी एवम् निजको छोरा रामहरि बिष्टले एकै मिति अर्थात मिति २०६७।९।१६ मा अलगअलग क्रमशः मुद्दा द.नं.४३७६ र ४३७७ को खिचोला मेटाई बनाएको घर
भत्काई पाउँ भनी काठमाडौं जिल्ला अदालतसमक्ष मुद्दा दायर भएको र दुबै मुद्दाहरूमा प्रतिवादी बनाइएकी अनितादेवी शाहीको नाम थर वतनमा गोविन्दबहादुरको छोरी का.जि.का.म.न.पा वडा नं. १३ को हाल ललितपुर उ.म.न.पा. वडा नं. २ सानेपा बस्ने अनितादेवी भनी उल्लेख भएको देखिन्छ ।
४. प्रस्तुत रिट निवेदन साथ पेस हुन आएको सुरू मिसिलमा रहेको म्याद तामेली हेर्दा मुद्दा नं. ४३७७ को रामहरि बिष्ट वादी भएको मुद्दामा मिति २०६८।२।१ मा म्याद तामेल हुँदा फिरादपत्रमा उल्लिखित भए अनुसार गोविन्दबहादुरको छोरी भनी फिरादमा उल्लिखित वतनमा तामेल हुँदा निज प्रतिवादी स्वयम्ले म्याद बुझेको देखिन्छ । तर अर्को मुद्दा नं. ४३७६ को पुण्यप्रभा बिष्ट वादी भएको मुद्दामा मिति २०६७।१२।२ मा म्याद तामेल हुँदा बाबुको नाम पूरा नलेखिएको र छोरी भन्ने पनि केही नखुलाएकोबाट उक्त म्याद बेपत्ते तामेली भएको देखिन्छ ।
५. म्याद तामेली सम्बन्धमा कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन, अ.बं. ११० नं. अनुसार म्याद तामेल गर्नुपर्ने व्यवस्था उल्लेख भएको र सो म्याद पठाउँदा अ.बं.१०७ नं. बमोजिम फिरादपत्र प्रतिउत्तरपत्र र पुनरावेदनमा जसका नाउँमा जारी हुने हो सो वतनका साथै बाबु आमा तथा पति पत्नीको नाम उल्लेख गर्नुपर्ने भनी उल्लेख भएको देखिन्छ । त्यस्तै जिल्ला अदालत नियमावली, २०५४ को नियम २२ मा समाह्वान इतलायनामा तामेल गराउने उल्लेख भएको, त्यस्तै २२ क. मा विद्युतीय माध्यमबाट पत्रिकामा सूचना प्रकाशन गरेर वा अन्य सरकारी अड्डा वा स्थानीय निकायसमेतबाट पनि म्यादतामेल हुनसक्ने उल्लेख भएको पाइन्छ । उल्लिखित नियम २२ क. को व्यवस्था अनुसार मुलुकी ऐन, अ.बं. ११० नं. बमोजिम तोकिएको प्रक्रियाबाट म्याद तामेल हुन नसकेमा जिल्ला अदालत नियमावली, २२क. बमोजिम तामेल भएको म्याद रीतपूर्वक तामेल भएको मानिने छ भनी उल्लेख भएको पाइन्छ ।
६. यसरी अदालती म्याद तामेल गर्ने कुरामा सर्वप्रथम मुलुकी ऐन, ११० नं. बमोजिमको प्रक्रियालाई प्राथमिकता दिई सो प्रक्रियाबाट तामेल नभएमा मात्र जिल्ला अदालत नियमावलीको प्रक्रिया अवलम्बन गर्नुपर्ने नियमको व्यवस्था देखिन्छ ।
७. माथि उल्लिखित विवादित म्याद हेर्दा यी निवेदिकाउपर वादी रामहरि बिष्ट र पुण्यप्रभादेवी बिष्टले दिएको दुई अलगअलग मुद्दामध्ये वादी रामहरिले दिएको जग्गा खिचोला मुद्दामा जारी भएको इतलायनामाको म्याद मिति २०६८।२।१ गते यी निवेदिका आफैँले बुझेको देखिन्छ भने पुण्यप्रभा बिष्टले दिएको मुद्दामा मिति २०६७।१२।२ को इतलायनामा बेपत्ते तामेल भएको रहेछ ।
८. यसरी एउटै अदालतमा परेका दुई मुद्दाहरूमध्ये म्याद तामेल हुँदा एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने र अर्कोमा फेला नपर्ने हुन सक्तैन । त्यसकारण मिति २०६७।१२।२ को बेरीतपूर्वक तामेल भएको बेपत्ते म्याद बदर गरी निवेदिकालाई पुनः इतलायनामा म्याद दिने गरेको काठमाडौं जिल्ला अदालतको २०६८।११।१९ को आदेश कानून र प्राकृतिक न्यायको सिद्धान्त अनुरूप भएको नै देखिन आउँछ । सो आदेशलाई बदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।२१ को आदेश कानूनबमोजिम भएको भनी मान्न मिल्ने देखिएन ।
९. तसर्थ निवेदिका विरूद्ध परेको मुद्दाको जानकारी नै निजलाई नभई प्रतिवाद गर्ने
मौकाबाट वञ्चित हुने भएको अवस्थामा प्रतिवादीलाई हातैमा अड्डैबाट म्याद बुझाई प्रतिउत्तर दर्ता गरी नियमानुसार गर्नु भन्ने सुरू काठमाडौं जिल्ला अदालतले मिति २०६८।११।१९ मा गरेको आदेश बदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।२१ को आदेश न्यायोचित एवम् कानून अनुसारको नदेखिँदा सो आदेश बदर गरिदिएको छ । अब निवेदकको मागदावी अनुसार निवेदक प्रतिवादी अनितादेवी शाहीलाई प्रतिवाद गर्ने अवसर प्रदान गरी तारिखमा राखी कानूनबमोजिम मुद्दामा सहभागी गराई कामकारवाही गर्नु गराउनु भनी काठमाडौं जिल्ला अदालतका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । विपक्षीलाई यस आदेशको जानकारी गराइ दिनू । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार रेकर्ड शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बैद्यनाथ उपाध्याय
इति संवत् २०७० साल मङ्सिर १९ गते रोज ४ शुभम् ।
इजलास अधिकृत : टेकराज जोशी