शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२४९ - धर्मपूत्र लिखत बदर

भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक:

निर्णय नं. ६२४९  ने.का.प. २०५३ अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

२०५१ सालको दे.पु.नं........... २०९६

फैसला मितिः २०५३।१।१८।३

 

मुद्दाः धर्मपुत्र लिखत वदर ।

 

पुनरावेदक

वादीः  का.जि.का.न.पा. वडा नं. २३ ओमवहाल वस्ने स्व. बलराम भक्त माथेमाकी पत्नी वर्ष ५५       की दुर्गा देवी भन्ने शुभद्रा माथेमा ।

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः ऐ.वार्ड नं. २८ नघलटोल वस्ने रमादेवी राजभण्डारी ।

ऐ.ऐ. वस्ने निर्मल शशी राजभण्डारी ।

ऐ.ऐ. वस्ने सुरज राम राजभण्डारी ।

 

§  धर्मपुत्र राख्दा धर्म पुत्र लिनेले छुटृी भिन्न भै वसेकी पत्नीवाट मन्जुरी लिनु पर्ने अन्यथा

धर्मपुत्र राखेको रितपुर्वक नहुने भन्ने कानूनी व्यवस्था रहे भएको  नपाइने ।                   (प्र.नं. १४)

§  केवल फिराद लेखाईवाट मात्र असर परेको भन्ने भनाई कानून संगत नहुने ।   

  (प्र.नं.१५)

 

पुनरावेदक वादी तर्फवाटः

      विद्वान अधिवक्ता श्री हरिहर दहाल ।

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

      विद्वान वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद पन्त       

      विद्वान अधिवक्ता श्री पन्नामान तूलाधर

अबलम्बित नजीरः

फैसला

      न्या. कृष्णकुमार वर्माः तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) बमोजिम अनुमती प्रदान नगर्ने आदेश उपर ऐ. ऐनको दफा १३(५) वमोजिम यस अदालतमा अनुमतीको लागि परेको निवेदनमा पुनरावेदनको अनुमती प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

      २. सरदार हरिभक्त माथेमाका कान्छी पत्नीवाट मेरो ससूरा काजी नारायण भक्त माथेमाका द्ध छोरामा माहिला वल राम भक्त माथेमाको म कान्छी श्रीमती हूं । जेठी पत्नीवाट विवाहिता दूई छोरी छन् । पति २०४२ सालमा परलोक हुनु भयो । मेरो स्वर्गिय, पतीको हांगाका देवरहरु सीताराम भक्त, जयराम भक्त जिवित छन् । मेरो सन्तान छोरा समेत छैनन् । मलाई खान लाउन नदिएको कारणले अंश मुद्दा परेकोमा २०३८।९।१७ मा लोग्ने स्वास्नी बीच मिलापत्र भइ रहेको छ। यसरी मेरो छोरा नभएको अवस्थामा विपक्षी रमादेवी लगायतले श्री सम्पति हात पार्ने हेतूले मलाई थाहा नदिई निजको जेठो छोरा सुरज राम राजभण्डारीलाई २०३९।३।३० मा धर्मपुत्रको लिखत गरिदिएको २०४२।११।२६ मा नक्कल सारी हेर्दा थाहा पाएं । उक्त कथित धर्मपुत्रको लिखत मेरो कानूनी हक मेट्न खोजेको भई धर्मपुत्रको १ नं. समेतको विपरित छ । धर्मपुत्रको १ नं. मा उल्लेखित प्राथमिकता क्रमलाई उल्लघंन गरी एकै वाजेका सन्तानमा परशूराम भक्तका छोराहरु मध्ये धर्मपुत्र दिन भाउजूले ईन्कार गर्नु भएको भन्ने कुराको प्रमाण  छैन । पंचायतलाई लिखतमा साक्षी राखिएको छैन । यसरी विपक्षी सुरज राम एवं निज विपक्षी सुरजरामको पिता निर्मल शशी र आमा रमादेवी साक्षी राखी कपोलकल्पित व्यहोरा वनाई विपक्षी सुरज रामलाई धर्मपुत्र वनाउन पारित लिखत रितपुर्वकको नहुनुको साथै धर्मपुत्रको १ नं. कानून विपरितको हुंदा  उक्त मिति २०३९।३।३० को धर्मपुत्र लिखत वदर गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको दूर्गा देवी भन्ने शूभद्रा माथेमाको फिराद दावी ।

      ३. धर्मपुत्रको १ नं. मा धर्मपुत्र राख्दा सन्तान नभएको श्रीमतीको मन्जूरी लिनुपर्छ भनी उल्लेख छैन । लोग्ने जीवित हुंदा  फिराद दिन नसकेको धर्मपुत्रको १३ नं. को म्याद नाघी फिराद परेको छ । निज लोग्ने संग अंश भाग लिई ०३८।९।१७ मा मिलापत्र गरी वसेकी हूँ । विपक्षको लोग्नेले म र मेरो भाइहरु निज राम धिरज राम समेत जना ३ लाई ०३७।८।५ मा शेषपछि मेरो हकको सम्पति खानु भनी दिएको शेषपछिको वक्सपत्रको लिखत वदर गरी पाउं भनी दिएको जालसाजी मुद्दामा समेत वक्सपत्र कायम राखी मिलापत्र गरी सकेको हुंदा  विपक्षीले हक मेटियो भनी दावी गर्न पाउने कुनै कानून छैन । कानूनी रीत पुगेको धर्मपुत्रको लिखत वदर हुन नसक्ने हुंदा  विपक्षको दावी नलाग्ने गरी झुटृा ठहराई पाउं भन्ने समेत व्यहोराको प्रतिवादि सुरज रामभक्त माथेमाको प्रतिउत्तर ।

      ४. म निर्मल शशीको ससूरा तथा म रमादेवीको पिताजी वलराम भक्त माथेमा हून् । निज वावूले मेरा छोरा सुरज राम, निरज राम, धिरज रामलाई सेवा टहल इत्यादि गरी आएकोले शेषपछि वांकी रहेको सम्पति खानु भनी २०३७।८।५ मा शेषपछिको वक्सपत्र गरी दिनु भएको थियो । विपक्षीले कान्छी श्रीमती हुं भनी २ भागको १ भाग अंश छुट्याई पाउं भनी र माथि उल्लेख भएको शेष पछिको वक्सपत्र वदर गरी पाउं भन्ने जालसाजी समेतका मुद्दा दिएकोमा २०३७।८।७ मा शेष पछिको वक्सपत्र कायम राखी ०३८।९।१७ मा मिलापत्र गरेकोले निज पिताजीको वांकी सम्पत्तिमा विपक्षको हक लाग्ने अवस्था छैन । विपक्षीले जो लिनुपर्ने अंश लिइ छुट्टै वसेको भन्ने फिरादमा लेखेको ठेगाना वाटै प्रष्टै छ । धर्मपुत्रको १ नं. वमोजिम दिनू पर्ने व्यक्तिहरुले धर्मपुत्र राख्न नदिएको भन्ने कुरा धर्मपुत्रको लिखतमा नै उल्लेख छ । सो धर्म पुत्र पारित गर्न विपक्षीको मन्जूरी लिनुपर्ने भन्ने धर्मपुत्रको कानूनमा नलेखेको र विपक्षको लोग्ने वलराम भक्त माथेमाको मृत्यु भै सकेपछि थाहा पाएको भनी झुठ्ठा मुद्दा गरी हामीलाई दु:ख दिएमा विपक्षीलाई नै सजाय गरी दावी झुठ्ठा ठहराई फूर्सद गराई पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरु रमा देवी राजभण्डारी र निर्मल शशी राजभण्डारीको संयुक्त प्रतिउत्तर जिकिर ।

      ५. यसमा वादी छुटिृई वसको देखिएको छुटिृई गएर वसेको वादीलाई सोधपुछ गर्नु पर्ने वा मंजूरी लिएर धर्मपुत्र राख्नू पर्ने भन्ने कुरा धर्मपुत्रको १ नं. ले व्यवस्था नगरेको, दोश्रो संपति सम्वन्धमा शेष पछिको वक्सपत्र भै सकेकोमा निजले संपुर्ण दावी छाडी मिलापत्र गरेको देखिंदा प्रस्तुत मुद्दामा निजको हकदैया नै नदेखिंदा प्रस्तुत मुद्दा अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०४५।३।२८।३ को फैसला।

      ६. मेरो वादी दावी खारेज गर्ने गरी गरेको काठमाडौं जिल्ला अदालतको मिति २०४५।३।२८ को उक्त फैसलामा चित्त नवूझेकोले पुनरावेदन गरेको छु । का.जि.अ. को फैसला त्रुटिपुर्ण हुंदा  वदर गरी वादि दावी वमोजिम इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको वादीको तत्कालिन वागमती अंचल अदालतमा परेको पुनरावेदन ।

      ७. आफ्नु अंश भाग लिई वसेको यी वादी र शेषपछिको वक्सपत्र लाइ जालसाजीमा दावी छोडी मिलापत्र गरेपछि पुनः धर्मपुत्रको लिखत वदर गराई पाउने यी वादीको हकाधिकार रहेको भन्न मिल्ने देखिन आएन । यसर्थ शुरुवाट खारेज गर्ने गरी भएको निर्णय मूनासिव ठहर्छ भन्ने समेत व्यहोराको तत्कालिन वागमती अंचल अदालतको मिति २०४५।११।१७।३ को फैसला ।

      ८. वागमती अंचल अदालतवाट भएको निर्णयमा न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधन सहितको दफा १३(४) को खण्ड (ख) (ग) र (घ) समेतका प्रश्नहरुमा प्रत्यक्षतः त्रुटि भएको हुंदा  पुनरावेदनको अनुमती पाउं भन्ने व्यहोराको वादीको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतमा परेको  निवेदन ।

      ९. शुरु जिल्ला अदालतले खारेज हुने ठहर्‍याएकोलाई सदर गरेको वागमती अंचल अदालतको फैसलामा कानूनी त्रुटि नदेखिंदा निवेदक वादीको माग वमोजिम पुनरावेदनको अनुमती प्रदान गर्न मिलेन भन्ने समेत व्यहोराको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।१०।१०।३ को आदेश ।

      १०. मध्यमान्चल क्षेत्रीय अदालतले पुनरावेदनको अनुमती प्रदान नगर्ने गरी गरेको आदेशमा प्रत्यक्षत त्रुटि भएकोले न्याय प्रशासन ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) र (ग) का प्रश्नमा प्रत्यक्षतः त्रुटि भएकोले ऐ.को उपदफा (७) को अधिनमा रही पुनरावेदनको अनुमती पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।

      ११. यस्मा यसै लगाउको नि.नं. ५८२ को निवेदनमा पुनरावेदनको अनुमती प्रदान गरीएकोले प्रस्तुत निवेदनमा पनि पुनरावेदनको अनुमती प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।२।१८।४ को आदेश ।

      १२. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी दुर्गादेवी भन्ने शुभद्रा माथेमाको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दहालले मेरो पक्षको पति बलराम भक्त माथेमाले २०३९।३।३० मा विपक्षी सुरजरामलाई धर्मपुत्र राखेको कुरा नक्कल सारी थाहा पाएको मितिले २ वर्ष भित्र नालेश गर्न आएकोले दावी धर्मपुत्रको १३ नं. को हदम्याद भित्रै परेको छ । लोग्नेले गैर कानूनी रुपमा धर्मपुत्र राखेकोमा त्यसलाई मैले पनि ग्रहण गर्नु परेको हुंदा  सो वदर गराउन आएको छु । ऐनमा रोलक्रमका मानिसहरुले धर्मपुत्र राख्न नदिए वा, लिखत पनि नगरी दिएमा गा.वि.स. वा न.पा. को सदस्य वा प्रतिनिधीलाई साक्षी राखी धर्मपुत्रको लिखत हुनु पर्नेमा सो नभै वडा समितिको एक तर्फी सिफारिसका भरमा राखिएको धर्मपुत्रको लिखतमा विधि प्रकृयाको त्रुटि भएको छ । धर्मपुत्र राख्नका लागि पहिलो रोलक्रमका सन्तानहरु नै उपलव्ध छन् । विपक्षीहरुलाइ गरी दिएको वक्सत्रको लिखतमा मेरो पक्षको अहित देखाएको छैन । धर्मपुत्र राख्दा मेरो पक्षलाई जानकारी नदिई गलत तवरवाट राखिएको, मेरो पक्षलाई पतिको जीवनकाल सम्म थाहा थिएन, पतिको काजकृया पनि मेरो पक्षले नै गरेको हो विपक्षीले होइन तसर्थ धर्मपुत्रको १ नं. विपरित गरिएको उक्त धर्मपुत्रको लिखत वदर हुन पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादी निर्मल शशी र रमादेवी राजभण्डारीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तूलाधरले यी पुनरावेदक वादीले २०३८।९।१७ मा मुद्दा मिलापत्र गरि अंश लिइ लोग्नेसंग अलग वसेकी हुन्, लोग्ने वलरामले मेरो पक्षका छोराहरुलाई दिएको शेष पछिको वक्सपत्रलाई कायमै राखि मिलापत्र गरेको आधारमा पनि निजले विवादित धर्मपुत्रको लिखत वदर गराउन पाउने अवस्था छैन । धर्मपुत्रको १३ नं. को हदम्याद नाघी पर्न आएको फिराद दावी नै खारेज योग्य भएकोले शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको तत्कालिन वागमती अंचल अदालतको फैसला सदर हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादी सुरजराम राजभण्डारीका तर्फवाट उपस्थित विद्वान वरिष्ट अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले धर्मपुत्रको १ नं. अनुसार धर्मपुत्र वस्नेका वावू आमा सित माग्दा नदिए स्थानीय निकायलाई साक्षी राख्ने व्यवस्था छ । साक्षी राख्ने व्यवस्था फरक नपरोस भन्ने उद्देश्यले राखिएको हो । झूटृा नहोस भनेर वडा समितिले सिफारिश दिएको समेत आधारमा धर्मपुत्रको लिखत रजिष्ट्रेशन भएको छ, प्रस्तुत मुद्दामा एक हांगाका विष्णू राज आउनू पर्ने सूभद्रा आउन मिल्दैन । धर्मपुत्र राख्दा कान्छी श्रीमतीको जस्को मंजूरी लिनुपर्ने कुनै औचित्य नै छैन, हकदैया नै नभएकोले फिराद खारेज गर्ने फैसला मिलेको छ। हदम्याद समेत नाघी फिराद परेको छ । प्रस्तुत फिराद खारेज गर्ने गरेको फैसला मिलेकै हुंदा  सदर हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको वहस समेत सूनियो ।

      १३. आज निर्णय सूनाउन पेश भएको प्रस्तुत मुद्दामा दूवै थरी कानून व्यवसायीहरुले गर्नु भएको जिकिर तथा मिसिल अध्ययन गरी प्रस्तुत मुद्दामा फिराद खारेज गर्ने गरी शुरु का.जि.अ.ले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनू पर्ने देखिन आयो ।

      १४. निर्णय तर्फ विचार गर्दा मलाइ थाहा नदिई पति वलराम भक्तले धर्मपुत्रको १ नं. विपरित विपक्षी प्रतिवादि सुरजरामलाई मिति २०३९।३।३० मा लिखत गरी धर्मपुत्र राखेको वदर गरी पाउं भन्ने फिराद दावी र विपक्षी वादी आफ्नो लोग्ने वलरामसंग अंश भाग लिई धर्मपुत्र लिखत हुनु पुर्व नै मिति २०३८।९।१० मा नै भिन्न वसेकी हून् धर्मपुत्रको १ नं. मा धर्मपुत्र राख्दा सन्तान नभएको स्वास्नीको मन्जूरी लिनुपर्ने अवस्था नभएको र विपक्षीले लोग्ने जिवित हुंदा  फिराद गर्न नसकेकोले हकदैया र हदम्यादको अभावमा फिराद खारेज भागी छ भन्ने समेतको प्रतिउत्तर जिकिर देखिन्छ । यी पुनरावेदक वादी शुभद्रा देवी धर्मपुत्र राख्ने स्व.वलराम भक्त माथेमाको पत्नी हुन भन्नेमा विवाद देखिदैन तापनि निज पति संग छुटृी भिन्न भै अलग वसेको भन्ने कुरा यी नै पुनरावेदक वादी र निजका पति वलराम भक्त प्रतिवादि भएको अंश मुद्दामा मिति २०३९।८।१७ मा भएको मिलापत्रवाट देखिन आउंछ । धर्मपुत्र राख्दा धर्मपुत्र लिनेले छुटृी भिन्न भै वसेको पत्नीवाट मन्जूरी लिनुपर्ने अन्यथा धर्मपुत्र राखेको रितपुर्वक नहुने भन्ने कानूनी व्यवस्था रहे भएको पाइन्न । छोरा  नभएका विष्णुरामले विवादित धर्मपुत्रको लिखतलाई अन्यथा भन्न सकिने स्थिति पनि छैन ।

      १५. धर्मपुत्र, राख्ने यी वलराम भक्तले यी प्रत्यर्थी प्रतिवादी सुरज राम समेतलाई आफ्नो भएको श्री सम्पति शेष पछिको वक्सपत्र गरी दिएको लिखत जालसाजी घोषित गरी वदर गरी पाउं भनी यी पुनरावेदकले दिएको जालसाजी मुद्दामा समेत उक्त शेष पछिको लिखत सदर रहने गरी वा वादी दावी छोडी यी पुनरावेदिका वादी शुभद्राले मिति २०३८।९।१७ मा नै मिलापत्र गरेको प्रमाणको लागि आएको उक्त मुद्दाको मिसिलवाट देखिन आउंछ । जिवित छंदै वलराम भक्तले राखेको धर्मपुत्रको लिखतवाट यी पुनरावेदक वादीको दावी वमोजिम निज पुनरावेदक वादीलाई के कस्तो असर परेको हो भन्न सकेको पनि छैन । केवल फिराद लेखाईवाट मात्र असर परेको भन्ने भनाई कानून संगत नभई निजको  फिराद गर्न हकदैया कै अभाव देखिएको हुनाले प्रस्तुत फिराद खारेज गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको तत्कालिन वागमती अंचल अदालतको मिति २०४५।११।१७ को फैसला र अनुमती प्रदान नगर्ने गरेको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको आदेश समेत मिलेकै दखिंदा मनासिव  ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानूसार गरी वुझाई दिनु ।

 

उपरोक्त रायमा सहमत छु ।

 

न्या.केशव प्रसाद उपाध्याय

 

इति सम्व्त २०५३ साल वैशाख १८ गते रोज ३ शुभम् ........ ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु