शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२०८ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।३।११।४

०६८-CR-०९१७

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/ प्रतिवादी : चक्रसिंह ठगुन्ना

विरूद्ध

प्रत्यर्थी/ वादी : मानसिंह ठगुन्नाको जाहेरीले नेपाल सरकार

 

§  मादक पदार्थ सेवन गरी उत्तेजित अवस्थामा वारदात स्थलमा उपस्थित रहेका यी प्रतिवादीले आफूले लगाएका कपडा खोली घटनास्थलमा यत्रतत्र फालेको अवस्थामा बरामद भएका र जन्तीमा आएका मानिसहरूले आफूलाई कुटपीट गरेका भन्ने निजको भनाइ रहेको देखिँदा प्रतिवादीको शरीरमा देखिएका चोटहरू हानेको चोट हो भनी यकिन गर्न नसकिने र सोही कारण आत्मरक्षाका लागि आफूले हतियार चलाएको भन्ने प्रतिवादीको भनाइ बचाउको आधार बन्न     नसक्ने ।

(प्रकरण नं.)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्वैतनिक अधिवक्ता श्रुतिकुमारी रेग्मी

प्रत्यर्थी/वादीको तर्फबाट :

अवलम्बित नजिर :

§  नेकाप २०५५, अङ्क ९, नि.नं. ६६०४, पृष्ठ ५४४

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ५ र १३()नं

§  मुलुकी ऐन, .बं १८८ नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री कविप्रसाद न्यौपाने           

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती

            मा.न्या.श्री कोमलनाथ शर्मा

 

फैसला

            न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍  ठहर यस प्रकार छ :

            मिति २०६७।११।५ गते जिल्ला दार्चुला, खार गा.वि.. वडा नं. ८ बस्ने मेरो सहोदर भान्जा भगतसिंह ठगुन्नाको विवाह भएको हुँदा निमन्त्रणामा भाइ जय रामसिंह ठगुन्नासमेतका व्यक्तिहरू गएका   थिए । सोही राति चक्रसिंह ठगुन्नासमेतका व्यक्तिहरूले विवाद गरी भाइ जयरामसिंह ठगुन्नालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाई भाइ जयरामसिंह ठगुन्नाको घटनास्थलमा मृत्यु भएकाले आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मानसिंह ठगुन्नाको जाहेरी दरखास्त ।

            जिल्ला दार्चुला, खार गा.वि.. वडा नं. ८ स्थित चार किल्ला खोलिएको पदमसिंह ठगुन्नाको पसलका उत्तरतर्फ पानी धाराको छेउमा जयरामसिंह ठगुन्नाको लास रहेको, लासमा रहेका कपडाहरू रगतले भिजी रगताम्य अवस्थामा रहेका, जयरामसिंह ठगुन्नाको घाँटीको बायाँ साइडमा १ इन्च चौडाई ३ इन्च गहिराई र  बायाँ हातको पाखुरामा समेत धारिलो हतियारको जस्तो घाउ भएको भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्का ।

            जिल्ला दार्चुला, खार गा.वि.. वडा नं ८ फेरागाउँ स्थित घटनास्थलमा फेला पारिएका कपडाहरू अनुसन्धानको सिलसिलामा खटिइएका प्रहरी अनुसन्धान अधिकृतको डोरले हामीहरूको रोहबरमा उठाई बरामद गरिएको भन्ने बरामदी मुचुल्का ।

            विवाह भएको घरको उत्तरतिर रहेको पदमसिंह ठगुन्नाको पसल घर रहेको ठाउँतिर हो हल्ला सुनी म पनि त्यसतर्फ गएकोमा मेरो बुबा जयराम सिंह ठगुन्नाको मुखमा रगत बगिरहेको र नाक फुटाउने गणेशसिंह ठगुन्ना कहाँ गए भनी खोजी गर्दै आएका थिए । चक्रसिंह ठगुन्ना रक्सीको अत्यधिक नशामा गई वीरेन्द्रसिंह ठगुन्ना र मेरो बुबासँग झगडा गर्न लाग्दा निज चक्रसिंह ठगुन्नाले मेरो बुबा जयरामसिंह ठगुन्नालाई हिर्काएका 

थिए । बुबाको शरीरबाट दुईहातले धारिलो हतियार छुरा निकाल्दा देखेकी थिएँ । त्यसपछि बुबाको शरीरबाट रगत बगी रगताम्य भई बुबा भुइँमा पल्टिएपछि मैले मेरो बुबालाई किन मारेको भन्दा मलाईसमेत २।३ थप्पड हिर्काएको थियो । मेरो बुबालाई धारिलो हतियार छुरा प्रहार गरी चक्रसिंह ठगुन्नाले नै मारेका हुन् भन्ने व्यहोराको प्रत्यक्षदर्शी मृतककी छोरी पशुपती ठगुन्नाले गरिदिएको घटना विवरण कागज ।

            जयरामसिंह ठगुन्नाको लासलाई जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाबाट पोष्टमार्टम गराउँदा मृत्युको कारणमा Probably hypovolumic shock due to rupture of left carotid artery and laceration of left lung लेखिएको परीक्षण प्रतिवेदन ।

            प्रतिवादी चक्रसिंह ठगुन्नाको हातमा र टाउकोमा काटिएको र वीरेन्द्रसिंह ठगुन्नाको मुखमा घाउ खत भएको भन्ने छुट्टाछुट्टै घाउ जाँच केश फाराम ।

            मिति २०६७।११।५ गते राति पदमसिंह ठगुन्नाको पसल अगाडिबाट हो हल्ला भए पश्चात मसमेत हो हल्ला भएको स्थानमा गई मामालाई को कसले कुटपीट गरेको भन्दा मामा जयरामसिंह ठगुन्नाको साथमा रहेका वीरेन्द्रसिंह ठगुन्नाले विड भएको धारिलो हतियारले मेरो टाउकोमा प्रहार गर्दा मैले छेक्न खोज्दा मेरो हातमा र टाउकोमा समेत लाग्न गई मेरो टाउको र हातबाट रगत बगी म रक्सीको नशामा भएकाले वीरेन्द्रसिंह ठगुन्नाको हातबाट धारिलो छुरा मैले खोसी वीरेन्द्रसिंह ठगुन्नालाई हिर्काउन खोज्दा अचानक जयरामसिंह ठगुन्नालाई लाग्न गई घाइते भई तत्काल घटनास्थलमा मृत्यु भएको थियो, सोही क्रममा मैले पशुपती ठगुन्नालाईसमेत २ थप्पड हिर्काएको थिएँ भन्ने व्यहोराको चक्रसिंह ठगुन्नाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            मिति २०६७।११।५ गते राति भगतसिंह ठगुन्नाको विवाह थियो । रातिको समयमा पदमसिंह ठगुन्नाको पसलको माथिल्लो तलामा होहल्ला हुँदा म पनि गएको   थिएँ । गणेश सिंह ठगुन्नासँग मृतक जयरामसिंह ठगुन्नासमेतका व्यक्तिहरूको वाद विवाद भइरहेको थियो । मैले दुबैलाई सम्झाउने उद्देश्यले अलगअलग गर्न खोज्दा वीरेन्द्रसिंह ठगुन्नाले मलाईसमेत कुटपीट गर्न लाग्दा रमेशसिंह ठगुन्नाले मलाई र गणेशसिंह ठगुन्नालाई घरबाहिर लगेपछि गणेशसिंह ठगुन्ना र म आ-आफ्नो घर गई सुतेका थियौं । चक्रसिंह ठगुन्नाले जयरामसिंह ठगुन्नालाई धारिलो छुरा प्रहार गरी जयरामसिंह ठगुन्नाको घटनास्थलमा नै मृत्यु भएको छ भन्ने कुरा सुनी घटनास्थलमा आएको थिएँ भन्ने नारायणसिंह धामीको कागज ।

            मेरो घर पसलको माथिल्लो तलामा मिति २०६७।११।५ गते जयरामसिंह ठगुन्नासमेतका व्यक्तिहरू बसेको अवस्था गणेशसिंह ठगुन्नाले वाद विवाद गरी जयरामसिंह ठगुन्नाको नाकमा लागी रगत बगेपश्चात जयरामसिंह ठगुन्ना गणेशसिंह ठगुन्नालाई खोज्दै आउँदा चक्रसिंह ठगुन्नाले धारिलो हतियार छुरा प्रहार गरी जयरामसिंह ठगुन्नाको मृत्यु भएको हो भन्ने कुरा तत्काल घटनास्थलमा रहेकी मृतककी छोरी पशुपती ठगुन्नासमेतबाट सुनी थाहा पाएको थिएँ भन्ने व्यहोराको पदमसिंह ठगुन्नाको घटना विवरण कागज ।

            मिति २०६७।११।५ गते जिल्ला दार्चुला, खार गा.वि.. वडा नं. ८ बस्ने भगत सिंह

ठगुन्नाको विवाहको निमन्त्रणामा मृतक जयरामसिंह ठगुन्नासमेत आएका थिए । नाचगान खेल्ने काम भइरहेको अवस्थामा प्रतिवादी चक्रसिंह ठगुन्नाले वीरेन्द्रसिंह ठगुन्नासँग झगडा गर्दा रक्सीको नशामा चक्रसिंह ठगुन्नाले वीरेन्द्रसिंह ठगुन्नासँग झगडा गर्दा रक्सीको नशामा चक्रसिंह ठगुन्नाले धारिलो हतियार प्रहार गरी जयरामसिंह ठगुन्नालाई लाग्न गई चक्रसिंह ठगुन्नाकै प्रहारबाट जयरामसिंह ठगुन्नाको मृत्यु भएको थियो भन्ने व्यहोराको कृष्णसिंह ठगुन्नासमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

            प्रतिवादी चक्रसिंह ठगुन्नाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान, प्रत्यक्षदर्शी वीरेन्द्रसिंह ठगुन्ना, मृतककी छोरी पशुपती ठगुन्नासमेतका मानिसहरूको कागजात प्रमाणबाट यी प्रतिवादी चक्रसिंह ठगुन्ना कै हातबाट धारिलो हतियार प्रयोग गरी जयरामसिंह ठगुन्नाको मृत्युभएको हुँदा प्रतिवादी चक्रसिंह ठगुन्नाले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ नं. विपरीत कसुर भएको हुँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोग  मागदावी ।

            वीरेन्द्र ठगुन्नाले मलाई चक्कुले हानेकाले मेरो टाउको र हातमा चोट लागेको छ, निजको साथमा रहेको चक्कु खोसी वीरेन्द्र ठगुन्नालाई हान्न खोज्दा जयरामसिंह ठगुन्ना बीचमा आएकाले जयरामसिंह ठगुन्नालाई लागेको रहेछ । तत्काल मेरो टाउकोमा समेत रगत बगी रहेकाले थाहा भएन, पछि मलाई घरमा लगेका रहेछन् । घरमा गएपछि मेरो चोटले जयरामसिंह ठगुन्नाको मृत्यु भएको रहेछ भन्ने थाहा भयो भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रसिंह ठगुन्नाले अदालतमा गरेको बयान ।

            जाहेरवाला मानसिंह ठगुन्नालगायत अनुसन्धानको क्रममा बुझिएका वीरेन्द्रसिंह ठगुन्ना, रमेशबहादुर ठगुन्नासमेतका साक्षीहरूले गरेको बकपत्र मिसिल संलग्न रहेको ।

            प्रतिवादी चक्रसिंह ठगुन्नाको चक्कु प्रहारबाटै जयरामसिंह ठगुन्नाको मृत्यु भएको तथ्य मिसिल संलग्न प्रतिवादीको बयान, प्रत्यक्षदर्शी साक्षीहरूको बकपत्रसमेतबाट प्रमाणित भएको हुँदा प्रतिवादी चक्रसिंह ठगुन्नाको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ नं. विपरीतको हुँदा प्रतिवादी चक्रसिंह ठगुन्नालाई ऐ. ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भन्ने दार्चुला जिल्ला अदालतको मिति २०६८।२।२३ को फैसला ।

            रातको समय भिन्नै समूहबीच चलेको साङ्घातिक आक्रमण र विवादका बीच अकस्मात म पनि पुग्न गएको र ममाथि भएको आक्रमणलाई बेवास्ता गर्दै अस्वाभाविक दशी प्रमाण रहेको भनी कसुरदार ठहर गरेको अन्यायपूर्ण हुँदा आक्रमणकारी वीरेन्द्रको हातबाट हतियार खोस्नु, प्रतिकार गर्नु कसुर अपराध परिभाषित नहुने हुँदा दार्चुला जिल्ला अदालतले मलाई हदैसम्म सजाय गरेको फैसला उल्टी गरी सफाइ पाउँ भन्ने चक्रसिंह ठगुन्नाको पुनरावेदन अदालत, महेन्द्रनगरमा दायर गरेको पुनरावेदनपत्र ।

            मिसिल संलग्न तथ्य प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी चक्रसिंह ठगुन्नाले जयरामसिंह ठगुन्नालाई चक्कु प्रहार गरी कर्तव्य गरी मारेको पुष्टि भएको अवस्था देखिँदा प्रतिवादी चक्रसिंह ठगुन्नालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहराई दार्चुला जिल्ला अदालतबाट मिति २०६८।२।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६८।८।४ को फैसला ।

            जयरामसिंह ठगुन्नाको मृत्यु मैले कर्तव्य गरी भएको नभई अकस्मात भवितव्य परी भएको हो । मृतकसँग मेरो कुनै रिसइबि वा प्रतिशोध लिनुपर्ने कुनै अवस्था कारण थिएन, छैन । मेरो शरीरमा लागेका घाउ चोट के कसरी लागेका हुन् भन्ने मेरो बयानको व्यहोरालाई समग्रतामा विश्लेषण नै नगरी भएको फैसला त्रुटिपूर्ण छ । घटनाको कारकतत्त्व म होइन, मृतकसँग मेरो कुनै बोलचाल झैझगडा केही भएको होइन, वीरेन्द्र सिंह ठगुन्नाले मलाई साङ्घातिक प्रहार गर्दा मैले हतियार खोसी आत्मरक्षार्थ बचाउ गर्ने क्रममा अकस्मात जयराम बीचमा पर्न गई चोट लाग्न गएको तथ्य प्रष्ट भएको छ । वीरेन्द्रको प्रहारबाट बचाउ गर्न पाउने आत्मरक्षाको अधिकारलाई कानूनले मान्यता प्रदान गरेको छ । त्यस्तो सुविधाबाट मैले बञ्चित हुनुपर्ने कुनै कारण हुन सक्तैन । हुलमा मलाई अकारण घायल पारेको हुनाले बचावट गर्ने क्रममा लाग्न गएको चोटलाई कर्तव्यको परिभाषा गरी मलाई कठोर दण्ड सजाय गर्ने गरी दार्चुला जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने पुनरावेदन अदालत, महेन्द्रनगरको त्रुटिपूर्ण फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रसिंह ठगुन्नाको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

            नियमबमोजिम पेसीसूचीमा चढी निर्णयार्थ इजलासमसक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान्वैतनिक अधिवक्ता श्री श्रुतिकुमारी रेग्मीले प्रतिवादी चक्रसिंहको जयरामसिंहसँग कुनै पूर्व रिसइबि झै झगडा नरहेको, वीरेन्द्र सिंह ठगुन्नाले विनाकारण निजलाई चक्कुले प्रहार गरी घाइते बनाएपछि निजकै चक्कु खोसी आत्मरक्षाका लागि वीरेन्द्रलाई प्रहार गर्दा अचानक जयराम बीचमा आई निजलाई चोट लाग्न गएको अवस्थामा कानूनन् भवितव्यको स्थिति हुँदा हुँदै तथ्य प्रमाणको सूक्ष्मरूपमा विश्लेषण नगरी भएको प्रस्तुत फैसला न्यायको रोहमा उचित छैन । आपराधिक मनसायविपरीत घटन गएको प्रस्तुत वारदातमा प्रतिवादीको संलग्नता केवल आत्मरक्षाको कारण आफ्नो बचाउ गर्ने कार्यमा मात्र सिमित रहेको हुँदा सुरू जिल्ला अदालत र पुनरावेदन अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला अन्यायपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सफाइ हुनुपर्छ भन्नेसमेतले गर्नुभएको बहस जिकिर सुनी मिसिल संलग्न कागज प्रमाणहरू अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६८।८।४ को फैसला मिलेको छ छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।

            . निर्णयतर्फ विचार गर्दा मिति २०६७।११।५ गते प्रतिवादी चक्रसिंह ठगुन्नाले धारिलो हतियार चक्कु प्रहार गरी जयराम सिंह ठगुन्नाको हत्या गरेको हुँदा प्रतिवादी चक्रसिंह ठगुन्नालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ नं. विपरीतको कसुरमा ऐ. को १३() नं. बमोजिम सजाय गरी पाउन मागदावी लिई अभियोगपत्र दायर भएकोमा प्रतिवादी चक्रसिंह ठगुन्ना अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दासमेत आफूले प्रहार गरेको चक्कुको चोटको कारणबाट नै जयरामसिंह ठगुन्नाको मृत्यु भएको हो भन्ने तथ्यमा साबित रहेका, जाहेरवालालगायत वारदातका प्रत्यक्षदर्शी मानिसहरूले गरिदिएको बकपत्रसमेतका आधार प्रमाणहरू ग्रहण गरी प्रतिवादी चक्रसिंह ठगुन्नाउपर मागदावीबमोजिम ज्यानसम्बन्धीको महलको १३() नं. अनुसार सजाय गर्ने गरेको दार्चुला जिल्ला अदालतको फैसला सदर गर्ने पुनरावेदन अदालत, महेन्द्रनगरको फैसलाउपर प्रतिवादी चक्रसिंह ठगुन्नाको प्रस्तुत पुनरावेदनपत्र दर्ता हुन आएको देखियो ।

            . यसमा मिति २०६७।११।५ गते रातको १:३० बजेको समयमा जिल्ला दार्चुला, खारा गा.वि.. वडा नं. ८ स्थित सुन्डमुन्ड भन्ने स्थानमा पदमसिंह ठगुन्नाको घरभित्र बसिरहेको अवस्थामा गणेशसिंह ठगुन्नाले जयरामसिंह ठगुन्नासँग विवाद गरी मुक्काले हानी जयरामसिंह ठगुन्नाको मुखबाट रगत निकालेको, नारायणसिंह धामीले वीरेन्द्रसिंह ठगुन्नालाई कुटपीट गरी घर बाहिर गएका, जयरामसिंह ठगुन्ना र वीरेन्द्रसिंह ठगुन्ना घरबाहिर निस्कँदा चक्रसिंह ठगुन्नाले वीरेन्द्रसिंह ठगुन्नाको घाँटी समाती २।३ मुक्का हानेको, जयरामसिंह ठगुन्नाले छुट्याउन खोज्दा अचानक चक्रसिंह ठगुन्नाले छुरी निकाली जयरामसिंह ठगुन्नालाई हानी मारेका र मृतकको छोरी पशुपतीलाई समेत २।३ थप्पड हिर्काई घर गएका भन्नेसमेत व्यहोराको मृतकका दाजु मानसिंह ठगुन्नाको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको रहेछ ।

            . घटनास्थलमा जयरामसिंह ठगुन्नाको घाँटीको बायाँतर्फ १ इन्च लम्बाई ३ इञ्च गहिराइको धारिलो हतियारको चोट, बायाँ हातको पाखुरामा समेत हतियारको जस्तो चोट लागी मृत अवस्थामा फेला परेको, लासको वरिपरि लत्ताकपडाहरू यत्रतत्र छरिएको भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्का र जयरामसिंह ठगुन्नाको रक्तबाहिनी नली काटिएको कारण अत्यधिक रक्तश्राव भई रक्त अल्पता र दायाँतर्फको फोक्सोमा चोट लागेको कारण (Probably hyporolemic shock due to rupture of left carotid artery and laceration of left lung.) मृत्यु भएको भन्ने जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाको शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण खुली आएको देखिन्छ । पक्राउ प्रतिवादी चक्रसिंह ठगुन्नाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा वारदातस्थलमा वीरेन्द्रसिंह ठगुन्नाले मलाई हिर्काएको हुँदा निजको हातमा रहेको चक्कु खोसी आवेशमा वीरेन्द्रसिंह ठगुन्नालाई हान्न खोज्दा जयरामसिंह ठगुन्नाले वीरेन्द्रसिंहलाई छेक्न आएका र जयरामसिंह ठगुन्नाको घाँटी र पाखुरामा सोही चक्कुको चोट लाग्न गई घटनास्थलमा नै निजको मृत्यु भएको हो भन्नेसमेतले बयान गरेका छन् भने अदालतसमक्ष समेत आफूले चक्कु प्रहार गरेको चोट कै कारण जयरामसिंह ठगुन्नाको मृत्यु भएको तथ्यलाई स्वीकार गरेको देखिन्छ ।

            . मिसिलसंलग्न तथ्य प्रमाणहरूको विश्लेषण गरी हेर्दा मौकाको किटानी जाहेरी दरखास्त, घटनास्थल तथा लास जाँच मुचुल्का, शवपरीक्षण प्रतिवेदन, प्रतिवादीको बयान अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको भनाइसमेतका आधार प्रमाणहरूबाट जयरामसिंह ठगुन्नाको मिति २०६७।११।५ गते रातको अं. :३० बजेको समयमा कर्तव्यबाट मृत्यु भएको तथ्य स्थापित भएको छ । अब उक्त कर्तव्यको वारदातमा संलग्न व्यक्तिका सम्बन्धमा हेर्दा वारदातका प्रत्यक्षदर्शी साक्षीहरू पशुपती ठगुन्ना, वीरेन्द्रसिंह ठगुन्ना, मानसिंह ठगुन्नालगायतका व्यक्तिहरूको मौकाको कागज र अदालतसमक्षको बकपत्रसमेतमा प्रतिवादी चक्रसिंह ठगुन्नाले धारिलो हतियार चक्कु प्रहार गरेको चोटको कारण नै जयरामसिंह ठगुन्नाको मृत्यु भएको व्यहोरा लेखाइ दिएका छन् ।

. प्रतिवादी चक्रसिंहले आफूलाई वीरेन्द्रसिंहले चक्कुले हिर्काई चोट लागेको र सोही चक्कु खोसी निज वीरेन्द्रलाई हान्न लाग्दा बीचमा जयरामसिंह आएको कारण जयरामलाई चोट लाग्न पुगी निजको मृत्यु भएको हो, जयरामलाई चोट प्रहार गर्नुपर्ने कुनै कारण  थिएन । भवितव्यको कारण भएको प्रस्तुत वारदातलाई कर्तव्य ज्यान जस्तो जघन्य अपराध परिभाषित गरी दण्ड सजाय गर्न मिल्ने होइन भन्नेसमेत व्यहोराको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं ले भवितव्यका सम्बन्धमा "ज्यानलिने इबिलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भनी परिभाषित गरेको

देखिन्छ । उक्त कानूनी व्यवस्था अनुसार भवितव्यको वारदात स्थापित हुन निम्न २ तत्त्वको विद्यमानता अनिवार्य देखिनुपर्दछः

(ज्यान लिने इबिलाग वा मनसाय नभएको,

() आफूले गरेको कार्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था ।

           

. उल्लिखित तत्त्वहरूमध्ये प्रतिवादी चक्रसिंह ठगुन्नाको जयरामसिंहलाई मार्नुपर्ने सम्मको पूर्व रिसइबि रहेको भन्ने मिसिल संलग्न तथ्यहरूबाट कहीँ कतै नदेखिए तापनि चक्कु जस्तो जोखिमी हतियारले प्रहार गर्दा मानिस मर्नसक्छ भन्ने मान्यरूपमा अनुमान गर्न सकिने अवस्थाका विपरीत प्रतिवादी चक्रसिंह ठगुन्नाले जयरामको घाँटी जस्तो शरीरको संवेदनशील अङ्गमा छुरी प्रहार गरेको तथ्यमा विवाद नरहेको हुँदा प्रतिवादीको त्यस्तो कार्यलाई भवितव्य हो भनी अर्थ गर्न सकिने अवस्था रहेन । यसै प्रकृतिको नरबहादुर राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुधारमान राई भएको कर्तव्यज्यान मुद्दा (नेकाप २०५५, अङ्क ९, नि.नं. ६६०४, पृष्ठ ५४४) मा "एउटालाई हान्छु भनी प्रहार गर्दा अर्कोलाई लागी त्यसैको जरियाबाट घाइतेको मृत्यु हुन्छ भने पनि प्रहार गर्ने व्यक्तिलाई कर्तव्यको दोषी मान्नुपर्दछ किनभने छुरी जस्तो घातक हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी प्रहारकर्तालाई भएकै सम्झन पर्ने" भनी यसै अदालतबाट व्याख्या भएको देखिँदा भवितव्यबाट जयरामको मृत्यु भएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । अर्कोतर्फ आत्मरक्षाको लागि वीरेन्द्रलाई चक्कु प्रहार गर्दा जयरामसिंहलाई लागेको भन्ने प्रतिवादीको जिकिर सम्बन्धमा हेर्दा यी प्रतिवादीले वीरेन्द्रसिंह ठगुन्नालाई घाँटी समाती २/३ मुक्का हानी लडाएपछि जयरामसिंह ठगुन्ना बचाउका लागि जाँदा चक्रसिंहले चक्कु प्रहार गरी लडाएको भन्ने प्रत्यक्षदर्शी निजै वीरेन्द्रसिंह ठगुन्ना, पशुपती ठगुन्नासमेतको भनाइ रहेको र सो तथ्यलाई यी प्रतिवादी चक्रसिंहले समेत अन्यथा भन्न सकेको देखिएन । वीरेन्द्रसिंह ठगुन्नाले प्रतिवादीलाई चक्कु प्रहार गरी घाइते बनाएको र त्यसको बचाउका लागि वीरेन्द्रसिंहबाट चक्कु खोसी निजैलाई हान्न खोज्दा जयरामलाई लागेको भन्ने प्रतिवादीको भनाइलाई मिसिल संलग्न स्वतन्त्र प्रमाणहरूबाट समर्थित हुन सकेको देखिँदैन । प्रतिवादीको टाउको तथा हातमा लागेको चोट निज वीरेन्द्रसिंहले प्रहार गरेको चोट नै हो भनी यकिन हुन सकेको देखिँदैन । वारदात स्थलमा उपस्थित भई कागज गर्ने कुनै पनि मानिसहरूले वीरेन्द्रसिंहले चक्रसिंहलाई चक्कु प्रहार गरेका हुन भनी लेखाउन सकेको अवस्था देखिँदैन । मादक पदार्थ सेवन गरी उत्तेजित अवस्थामा वारदात स्थलमा उपस्थित रहेका यी प्रतिवादीले आफूले लगाएका कपडा खोली घटनास्थलमा यत्रतत्र फालेको अवस्थामा बरामद भएका र जन्तीमा आएका मानिसहरूले आफूलाई कुटपीट गरेका भन्ने निजको भनाइ रहेको देखिँदा प्रतिवादीको शरीरमा देखिएका चोटहरू वीरेन्द्रसिंह ठगुन्नाले नै हानेको चोट हो भनी यकिन गर्न नसकिने र सोही कारण आत्मरक्षाका लागि आफूले हतियार चलाएको भन्ने प्रतिवादीको भनाइ बचाउको आधार बन्न सक्ने अवस्थासमेत देखिन आएन ।

            . अतः माथि प्रकरणमा विवेचना गरिएका आधार प्रमाणहरूबाट यी प्रतिवादी चक्रसिंह ठगुन्नाले चक्कु प्रहार गरी घाइते भएका जयरामसिंह ठगुन्नाको सोही चोट पीरबाटै मृत्यु भएको तथ्य स्थापित भएको हुँदा निज प्रतिवादी चक्रसिंह ठगुन्नालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी दार्चुला जिल्ला अदालतबाट मिति २०६८।२।२३ मा भएको फैसला सदर गर्ने पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६८।८।४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तर प्रस्तुत वारदातका यी प्रतिवादी चक्रसिंह ठगुन्ना र मृतक जयरामसिंह ठगुन्ना मामा भानिज नातागोताका मानिसहरू रहेका र जयरामसिंहसँग प्रतिवादीको पूर्व रिसइबि वा वैमनस्यता रहेको भन्ने मिसिल संलग्न कुनै पनि तथ्य प्रमाणहरूबाट खुल्न आएको देखिएको छैन । जयरामसिंह र यी प्रतिवादी नाता सम्बन्धका मानिसको वैवाहिक समारोहमा संलग्न भई मादक पदार्थ सेवन गरी उत्तेजित अवस्थामा रहेका, वारदातको जरिया यी प्रतिवादी चक्रसिंह ठगुन्नासँग नभई गणेशसिंह ठगुन्ना, नारायणसिंह धामीको कारण जयरामसिंह ठगुन्नाको नाक मुखबाट रगत आई सिर्जना भएको देखिन्छ । प्रतिवादीले बयान गर्दा जयरामलाई नै मार्छु भनी चक्कु प्रहार नगरेको वीरेन्द्रसिंहलाई हान्न खोज्दा अचानक जयरामलाई लाग्न पुगेको  भनी लेखाएका छन् भने प्रतिवादीले जयरायलाई मार्ने नै नियतले चक्कु हानेको हो भनी जाहेरवालालगायतका मानिसहरूले किटानी गर्न सकेको अवस्था देखिँदैन । मिसिल संलग्न तथ्य प्रमाणहरूलाई मध्यनजर राखी प्रतिवादी चक्रसिंह ठगुन्नालाई ऐनबमोजिम हुने सजाय गर्दा चर्को पर्न जाने देखिएकाले मुलुकी ऐन, .बं १८८ नं. बमोजिम कैद घटाई सजाय गर्नु मनासिब हुँदा प्रतिवादी चक्रसिंह ठगुन्नालाई १२ वर्ष कैद हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन, अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिए अनुसार प्रतिवादी चक्रसिंह ठगुन्नालाई ज्यानसम्बन्धीको महलको १३() नं अनुसार सजाय भै अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद हुने ठहरेकाले निज मिति २०६७।११।६ देखि थुनामा रहेको देखिँदा निजलाई मिति २०७९।११।५ सम्म थुनामा राखी मिति २०७९।११।६ मा थुनाबाट मुक्त गरिदिनु भनी कारागार शाखा, दार्चुलामा लेखी पठाइदिनु भनी दार्चुला जिल्ला अदालतमा लेखी पठाइदिनू --

माथि ठहर खण्डमा लेखिए अनुसार प्रतिवादी चक्रसिंह ठगुन्नालाई कैद वर्ष १२ हुने ठहर भएकाले सुरू जिल्ला अदालतको फैसलाको तपसिल खण्ड २ मा उल्लेख भएअनुसारको सर्वस्व गरिरहनु नपरेकोले सर्वस्वको लगत कट्टा गरी दिनु भनी सुरू दार्चुला जिल्ला अदालतमा लेखी पठाइ दिनू -------------------

प्रस्तुत पुनरावेदन दर्ताको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू -------------

 

उक्त रायमा सहमत छु ।

न्या. बैद्यनाथ उपाध्याय

 

इति संवत्२०७१ साल असार ११ गते रोज ४ शुभम् ।

इजलास अधिकृतः केशवप्रसाद घिमिरे

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु