शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७०२ - आयकर (०३३–०३४)

भाग: २५ साल: २०४० महिना: कार्तिक अंक:

निर्णय नं. १७०२     ने.का.प. २०४० अङ्क ७

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको फौ.पु.नं. ४५०

फैसला भएको मिति :      २०४०।७।१४।२ मा

निवेदक      : श्री हरदेव सिंह बनारसी सिंह फर्म जनकपुरधामको प्रोप्राईटर हरदेव सिंह

विरूद्ध

विपक्षी : कर कार्यालय जनकपुरधाम

मुद्दा : आयकर (०३३०३४)

(१)   तथ्ययुक्त आधार बेगरको कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार बनाई १४,०००००। चौध लाखको सुर्ति बिक्री कायम गरी खूद आय कायम गरेको कर अधिकृतको निर्णय मिलेको नदेखिने ।

      खुद आए नै यकिन गर्नुपर्ने विषय भएकोले कर अधिकृतको निर्णय उपर परेको पुनरावेदनबाट भएको फैसलाहरूमा केही हिस्सा सदर वा केही हिस्सा बदर गर्न सकिने स्थिति नरहने ।     

 (प्रकरण नं. १३)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशिल कुमार सिंन्हा

विपक्षीतर्फबाट       : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

फैसला

न्या.धनेन्द्र्रबहादुर सिंह

१.     आयकर मुद्दामा पुनरावेदन गर्न अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदन गर्न अनुमति प्राप्त भई प्रस्तुत हुनआएको मुद्दाको संक्षिप्त तथ्य निम्न अनुसार छ, आ.ब. ०३३।०३४ दिपावली व्यापारबाट खर्च समेत कट्टा गरी १५,४५०। खूद आय भएको व्यहोरा उल्लेख गरी कर कार्यालय जनकपुरमा ०३४।११।२९ मा पेश गरेको आएको विवरण रहेछ ।

२.    आ.ब. ०३३।०३४ मन अन्दाजी सूर्ति रू.८,००,०००। खरीद होला अर्थात शिव बिँडी फैक्ट्रीबाट रू.४६,०००। खुद्रा रू.२,०००। पाएको छु । शुरू मौजात रू.५०,००० र अन्तिम स्टक रू.६०,०००। जति होला बिक्रीमा ३५ प्रतिशत मुनाफा गरेको हुँ यस आ.ब. मा आफ्नो पूँजी रू.३,००,०००। लगाएको छु भन्ने समेत व्यहोराको ०३५।४।२२ को करदाताको बयान ।

३.    यस फर्मले सिराह तथा धनुषा गाउँ क्षेत्रबाट किसानहरू सँग खरीद गरी सूर्ति धुलो बनाई बिँडी फैक्ट्रीहरूलाई थोक स्तरमा बिक्री गर्ने र केही बिँडी फैक्ट्रीहरूको माल खरीद गरी चुर कुलो बनाई दिई कमिशन प्राप्त गर्ने गरेको रहेछ । सो सम्बन्धमा गोप्य तवरबाट बुझ्दा यस फर्मले यस आ.ब. रू.१४,००,०००। को सूर्ति बिक्री गरेको र सो को अतिरिक्त विभिन्न बिँडी फैक्ट्रीबाट रू.४८,०००। जति कमिशन पनि प्राप्त गरेको अनुमान गरी पेश गरेको छु भन्ने समेत व्यहोराको ०३५।११।२२ को कर निरीक्षकको गोप्य प्रतिवेदन रहेछ ।

४.    तपाईको आ.ब. ०३३।०३४ को दिपावलीको पेश भएको विवरणलाई पुष्टि गर्ने हिसाब किताव छैन भनी बयानमा उल्लेख गर्नुभएको हुँदा आयकर ऐन, ०३३ को दफा ३३ (२) बमोजिम यथा समय न्यायोचित तवरबाट खूद आय रू.१,८८,०००। कायम भएकोले सोमा लाग्ने कर रू.६२,३००। र म्यादभित्र विवरण पेश नगरेको बापत जरिवाना रू.५। समेत रु.६२,३०५ आएकर निर्धारण आदेश प्राप्त भएको ३५ दिन भित्र ने.रा.बैंक दाखिल गर्नुहोला भन्नेसमेत व्यहोराको ०३५।१२।२२ को करकार्यालय जनकपुरको कर निर्धारण आदेश रहेछ । कुन आधारमा कुल आम्दानी रू.१,८८,०००। कायम गरिएको हो सो को कुनै आधार प्रमाण खुलाउनु नभएकोले आयकर नियम २०२० को नियम ११(२) विपरीत हुनको साथै अ.बं.नं. १८५ समेतको विपरीत छ । आयकर ऐन, ०३१ को दफा ३३(१) बमोजिम आयकर निर्धारण गर्दा ऐनको ३३(१) को आधारहरू संलग्न गरी ३३(५) बमोजिमको मौका दिनुपर्नेमा सो समेत अपनाइएको छैन । विना आधार रू.१४,००,०००। को कारोवार कायम गरी व्यापार तर्फको १,४०,०००। र आढत तर्फको ४८,०००। समावेश गरी कूल आम्दानी कायम गरिएको छ । विगत आ.ब. सरह ७५ प्रतिशतले खूद आय कायम नगरी १०५ प्रतिशतले कूल आम्दानी कायम गरिएको छ र मेरो बयानमा समेत उल्लेख गरेको छु । अतः उक्त कर निर्धारण आदेश बदर गरिपाउँ भन्ने समेतको राजस्व न्यायाधीकरणमा चढाएको पुनरावेदन जिकिर रहेछ । (३७१)

५.    बिक्री अंकको १०५ खूद आय कायम गरेको कुनै तथ्य आधारबाट प्रमाणित हुन नआएकोले गत वर्ष सरह नै बिक्री अंक रू.१४,००,०००। मा ७.२५ ले हुने रू.१,०१,५००। र कमिशन बापत प्राप्त रू.४,८००। समेत जम्मा रू.१४,९५,०००। खूद आय कायम हुने ठहर्छ । बिक्री अंक बढी कायम गर्‍यो र कमिशनमा छूट खर्च कट्टा गरिएन भन्ने हकमा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेतको राजस्व न्यायाधीकरणको फैसला रहेछ ।

६.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी दिएको निवेदनमा मध्यमाञ्चल क्षे.अदालत सिड्डलबेञ्चबाट अनुमति प्राप्त भई पुनरावेदन दर्ता भएको रहेछ ।

७.    कर अधिकृतले आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम कर निरीक्षकको प्रतिवेदन समेतलाई आधार बनाई बिक्री अंक रू.१४ लाख कायम गरेको सो बिक्री अंक ७.२५ प्रतिशतले हुने रू.१,०१,५००। खूद आय कायम गरेको मनासिवै देखिन आयो कमिशन बापत प्राप्त रू.४८,०००। मा पुनरावेदकको पनि सहमति रहेको र सो कमिशन प्राप्त गर्ने करदातालाई कुनै खर्च व्यहोर्नु पर्दैन भन्न मनासिव नभएको न्यायोचित अनुमानबाट आय रकम कायम भएपछि सो कमिशन आर्जन भएको न्यायोचित खर्च मिन्हा दिनुपर्ने नै देखिँदा सो कमिशन रू.४,८००। खूद आयमा समावेश गरेको शुरू राजस्व न्यायाधीकरणको फैसला मिलेको नदेखिएकोले त्यति हदसम्म फैसला गल्ती हुने ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

८.    उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानुनी त्रुटि भएको पुनरावेदन गर्न अनुमति पाउँ भनी हरदेव सिंहको निवेदनमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने समेतको सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।६।६।४ को आदेश रहेछ ।

९.    पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले सूर्ति बिक्री रू.८ लाख भएको होला भनी बयान गरेको छ । रू.१४ लाख बिक्री कायम गरेको आधार कुनै छैन त्यसकारण खूद आय कायम गरेको मिलेको छैन भन्ने समेत र विपक्षीतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले न्यायोचित अनुमानबाट खूद आय कायम गरेको मिलेको छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१०.    प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपरेको छ ।

११.    यसमा निर्णयतर्फ हेर्दा पुनरावेदक करदातालाई आ.वं. ०३३।०३४ दिपावलीको व्यापारीक मुनाफा तर्फ रू.१,४०,०००। र कमिशन रू.४८,०००। समेत जम्मा रू.१,८८,०००। खूद आय कायम गर्ने कर अधिकृतबाट ०३५।११।२२ मा निर्णय गर्दा कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार लिएको देखिन्छ । सो प्रतिवेदनमा गोप्य बुझ्दा सो फर्मले यस वर्षमा रू.१४,००,०००। को सूर्ति बिक्री गरेको र विभिन्न बिँडी फैक्ट्रीबाट रू.४८,०००। जति कमिशन प्राप्त गरेको हुनुपर्छ भन्ने धारणा भएको भन्ने उल्लेख भएको पाइन्छ ।

१२.   तत्काल प्रचलित आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (४) मा कर अधिकृतले उपदफा (३७२) (२) बमोजिम न्यायोचित अनुमानद्वारा खूद आय निर्धारण गर्दा सकभर देहायको आधारलाई ध्यानमा राख्नु पर्ने छ भन्दै देहाय (क) मा कर निरीक्षक वा अरू कसैको तथ्यपूर्ण ठहरिएको गोप्य प्रतिवेदन भन्ने उल्लेख भएको देखिन्छ ।

१३.   त्यसबाट तथ्यपूर्ण ठहरिएको कर निरिक्षणको गोप्य प्रतिवेदनको आधारमा कर अधिकृतले न्यायोचित अनुमानद्वारा खूद आय निर्धारण गर्नसक्ने हुन्छ । तर प्रस्तुत विषयमा कर अधिकृतले खूद आय कायम गर्दा लिएको कर निरीक्षकको गोप्य प्रतिवेदनमा १४,००,०००। चौध लाखको सूर्ति बिक्री गरेको भन्ने तथ्ययुक्त आधार के थियो सो कुरा खूद आय कायम गरेको निर्णयमा उल्लेख भएको पाइँदैन । त्यसप्रकार रू.१४,००,०००। युक्त आधार कर निरीक्षकको गोप्य प्रतिवेदनबाट पनि देखिँदैन । तसर्थ त्यस्तो तथ्ययुक्त आधार बेगरको कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार बनाई रू.१४,००,०००। चौध लाखको सूर्ति बिक्री कायम गरी खूद आय कायम गरेको कर अधिकृतको निर्णय मिलेको देखिएन । यस स्थितिमा खूद आय नै यकिन गर्नुपर्ने विषय भएकोले कर अधिकृतको निर्णय उपर परेको पुनरावेदनबाट भएको फैसलाहरूमा केही हिस्सा सदर वा केही हिस्सा बदर गर्न सकिने स्थिति रहँदैन । तसर्थ राजस्व न्यायाधीकरण काठमाडौंको मिति ०३६।१२।२८ को र मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।१०।१८ को फैसलाहरू मिलेको नदेखिँदा सो फैसलाहरू बदर हुने ठहर्छ । पुनः कानुनबमोजिम कर निर्धारण गर्नु भनी मिसिल कर कार्यालय जनकपुरमा पठाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्दप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल कार्तिक १४ गते रोज २ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु