निर्णय नं. १७०६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

निर्णय नं. १७०६ ने.का.प. २०४० अङ्क ७
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको दे.फु.नं. ५५६
फैसला भएको मिति : २०४०।५।२०।२ मा
निवेदक/वादी : जि.नवलपरासी गा.पं.वा.नं. ८ परासी बजार बस्ने हरी केशवलाल दास
विरूद्ध
विपक्षी/प्रतिवादी : जि.नवलपरासी कावास्वती गा.पं.वार्ड नं.४ बस्ने रामनाथ पराजुली
मुद्दा : दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ
(१) वादीलाई राजीनामा गराई दिएको जग्गा प्रतिवादीलाई सट्टापट्टा गरी दिएको देखिन आएकोले वादी दावी बमोजिमको सट्टापट्टाको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने ।
(प्रकरण नं. १५)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
१. पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३९।४।१९।३ को फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी ०३९।५।१५।३ मा परेको निवेदनपत्रमा ०४०।३।१।४ मा अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।
२. ऐति कुमाल्नीलाई घरसारमा रू.८०७५। बुझाई ऐतिका नाउँमा दर्ता भएको विष्णुनगर मौजाको १४–८–६ मध्ये कि.नं.३४ को २–०–० छोडपत्र (३८२) राजीनामा गरी पारित गरी दिएकोबाट यस अदालतमा फिराद दिएकोमा पारित नहुने ठहरी फैसला भए पनि मेरो लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परी प.क्षे.अ.समेतबाट मैले जिती पाएको जग्गा भोगचलन गरी आएकोमा हाल उक्त जग्गा सर्भेमा कावास्वती गा.पं.वडा नं.४(क) नक्सा भित्रको कि.नं.४९ मा परिणत भई २–३–१८ कायम भएको जग्गालाई विपक्षीले ऐतिसँग मिली सट्टापट्टा गरी भरतपुर भू.प्र.का.चितवनबाट पारित गराई दा.खा. समेत गराएकोले उक्त मेरो ऐतिबाट गराई लिएको राजीनामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत जिती पाएको मेरो हक हुनआएको उक्त जग्गा विपक्षीले सट्टापट्टा गरी दा.खा. समेत गराएकोले लिखत सट्टापट्टा र दर्ता बदर गरी मेरो नाउँमा दा.खा. समेत गरिपाउँ भन्ने समेत व्यहोराको वादी दावी रहेछ ।
३. वादी दावी बमोजिम दर्ता लिखत बदर हुनुपर्ने होइन अञ्चल तथा जिल्ला अदालत नियमावली, ०३४ ले फिरादपत्रमा खुलाउनु पर्ने बाध्यता छ वादीले स्त्री अंश धन र अपुतालीको बोली परेतापनि स्त्री अंश धनको कुन नं. र अपुतालीको कुन दफा अन्तर्गत माग गरिएको हो सो कुरा खोल्न नसकेकोले वादीको दावी लाग्न नसक्ने स्पष्ट छ । अ.बं.७३ नं. ले उही मानिसको नाउँमा एकपटक नालिस दिए हुनेमा सो नगरी पहिले दिएको नालिशको रूप विचार गरी मात्र सो मुद्दाको रूपबाट अरू कुरामा पछि नालिस दिने नियत लिई वादीलाई सो वादीमा छुटको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत नहुने गरी व्यवस्था गरेको छ । वादीले बदर गरिपाउँ भनी दावी गरेको लिखत जालसाजी हो भनी नालेस गर्नुभएको छ सो लिखत बदर गारउन चाहेको भए वादीले जालसाजी साथै लिखत बदर पनि अ.बं.७३ नं अनुकूल एकै साथमा दावी गर्नु पर्ने थियो वादीले गर्नुभएको केही नजीर वादी दावाको आधारमा कानुन उपर उदघोषित होइनन् त्यसो हुँदा विषयांतरका केही नजीरको उल्लेखले मात्र वादीको दावा खंभीर भई मेरो लिखत दर्ता बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ ।
४. जालसाजी र लिखत बदर देवानी र फौजदारी भई अलग अलग उजूर दायर हुनुपर्ने र कानुनले तोकिएको कोर्टफी रही मुद्दा दायर भएकोबाट ७३ नं. प्रतिकुल भन्न मिलेन । वादीले ऐतिबाट लिएको जग्गा र प्र.रामनाथले लिएको जग्गा बेगल भएतर्फ विवाद नभई वादीले प्रतिवादी ऐतिबाट राजीनामा पारित मुद्दा परी प्र.ऐतिको वारेस भई प्र.रामनाथले पैरवीमा रहेको समेत देखिनाले वादीले ऐतिबाट राजीनामा लिएको जग्गाको लिखत ०२६।१।१६ मा पनि ०२६।७।२० मा मुद्दा दायर भइसकेपछि ०३२।१२।१९ मा प्र.रामनाथले सट्टापट्टा पारित गरी लिएको देखिन आयो साथै उक्त राजीनामा वादी हरी केशवको पारित हुने ठहरी क्षेत्रीय अदालतबाट समेत निर्णय भएको र सो अनुसार पास समेत भएको देखिनाले लेनदेन व्यवहारका २८ नं.ले अघिल्लोले हक छुटाई लिएको भए पछिल्लाले जुनसुकै व्यहोराले लेखाई दिएको भए पनि अघिल्लाले नै पाउछ भन्ने उल्लेख भए मुताविक वादीबाट अघिल्लो लिखत पारित हुने मुद्दा दायर भइसकेपछि मुद्दा चल्दाचल्दै पछि प्रतिवादीले (३८३) सट्टापट्टा लिएको लिखतबाट देखिन्न । वादीको राजीनामा पारित तर्फ मुद्दा चल्दाचल्दै बीचमा खडा भएको सट्टापट्टा कानुनले मान्यता हुने देखिएन र सो अनुसार कानुन प्रतिकूल भएको लिखतको आधारमा भएको दर्ता पनि कानुन अनुरूप नदेखिँदा वादी दावी मुताविक लिखत सट्टापट्टा र सो आधारमा दा.खा. भएको दर्ता समेत बदर हुने ठहर्छ वादीमा उपरोक्त जग्गा दा.खा. गरिपाउँ भन्ने तर्फ कोर्टफी रहेको नदेखिनाले त्यसतर्फ इन्साफ हुनुपर्ने नदेखिँदा कानुनबमोजिम गर्ने समेत ठहर्छ भन्ने समेत नवलपरासी जिल्ला अदालतको ०३६।१।२।१ को फैसला रहेछ ।
५. विपक्षीले जुन कि.नं.को जग्गा राजीनामा गराई लिनुभएको छ त्यसैमा मात्र विपक्षीको दावी लाग्न सक्ने हुन्छ पञ्चायत वडा नं.र मौजा नखुलेको कि.नं.३४ को जग्गा राजीनामा गराई लिनेले कावास्वती गा.पं.वार्ड नं.४(क) को कि.नं.४९ को जग्गामा दावी गर्न नपाउने हुँदा जिल्ला अदालतको फैसला इन्साफ नमिलेको हुनाले सो बदर गरी मेरो लिखत दर्ता समेत कायम सदर राखी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन रहेछ ।
६. अदालतमा मुद्दा चल्दाचल्दै सो मुद्दालाई प्रतिकूल असर पार्ने गरी सट्टापट्टा लिनुदिनु गरेको व्यवहारलाई मान्यता दिन सकिएन सट्टापट्टाको लिखत कायम रहनु पर्ने भन्ने जिकिर स्वीकार हुनसक्दैन तसर्थ जिल्ला अदालतको इन्साफ मनासिव छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत प.क्षे.अ.सिड्डलबेञ्चको ०३६।१२।७।५ को फैसला रहेछ ।
७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी रामनाथले दिएको निवेदनमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट पुनरावेदनको अनुमति प्राप्त भएको रहेछ ।
८. एउटै लगाउको मुद्दाहरू मध्ये लिखत बदर मुद्दा सिड्डलबेञ्चबाट र जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दा डिभिजनबेञ्चबाट निर्णय भएको देखियो । मिति ०३६।१२।५ मा क्षेत्रीय अदालतमा संशोधन सहितको नियमावली गजेटमा निस्केको र प्रस्तुत मुद्दा ०३६।१२।६ मा निर्णय भएको रहेछ सो संशोधित नियमावली बमोजिम प्रस्तुत मुद्दा डिभिजनबेञ्चबाट निर्णय गर्नुपर्नेमा सिड्डलबेञ्चबाट हेरी छिनेको अधिकारक्षेत्रात्मक त्रुटि भएकोले उक्त सिड्डलबेञ्चको फैसला अमान्य देखियो अब कानुनबमोजिम गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।१०।९।६ को फैसला रहेछ ।
९. वादी दावीको राजीनामा लिखतमा नवलपुर विष्णुनगर जि.ऋषिराम अधिकारी क्षेत्रीका तालुकदारी भित्रको कि.नं.३४ को जग्गा विगाहा १४–३–१ मध्ये ज.वि. २६ । राजीनामाबाट लिएको भन्ने उल्लेख छ भन्ने उता पुनरावेदक प्रतिवादी रामनाथ पराजुलीको प्रतिउत्तर पुनरावेदन जिकिरमा वादी दावीको कि.नं.३४ को जग्गा सट्टापट्टामा लिएको होइन र सर्भे कि.नं.४९ को जग्गा बिगाहा २३–१८ को जग्गा सट्टापट्टा गरी लिएको हुँदा वादी दावीको जग्गा मेरो सट्टापट्टा पास (३८४) समेतको जग्गा होइन र वादी दावी अनुसार मेरो सर्भे कि.नं.४९ को जग्गा दर्ता बदर गरी निजको नाउँमा दर्ता गरी पाउने होइन भन्ने समेत व्यहोरा भई जि.अ.बाट दर्ता बदर गरी पाउने गरी ठहराई गरेको फैसला उल्टी बदर हुन पर्ने हो भन्ने जिकिर रहेछ । वादीले लगत नकल भनी प्रमाण निमित्त पेश भएको कागजमा जि.ऋषिराम अधिकारी क्षेत्रीको नाउँ जनिएको नदेखिएको तिरो रू.१०४। लागेको भन्ने व्यहोरा समेत निजको राजीनामा लिखतमा उल्लेख भएको व्यहोरा अंग पुगी उल्लेख भएको देखिँदैन सर्भे नापी कार्यालयबाट सो विवाद उठेको गाउँको नापी २०२५।१२।२।२४ मा शुरू भई ०२६।१।६ मा नापी कार्य सम्पन्न भएको उल्लेख भएको कुरा ज.ध. प्रमाण पूर्जाबाट देखिएको छ र उक्त वादीले ०२६।१।२६।२ मा मात्र राजीनामा गराई लिएको छ भन्न सो राजीनामा लिखतमा हाल सर्भे कित्ता नम्बर उल्लेख गर्नुपर्ने सोही जग्गा नाप जाँच ऐन, २०१९ मा कानुनी व्यवस्था भएको पाइन्छ कारण नापी दर्ता भए पनि नयाँ श्रेस्ता कायम हुने र मान्नु पर्ने स्वतः स्पष्ट छ । यसरी कानुनी बाटो छाडी वादीले गराएको राजीनामा लिखतमा उल्लेख भएको कि.नं.३४ को जग्गा कुन कित्ता हो भनी खोजी भिडाउने अवस्था यो दर्ता बदर मुद्दामा कानुनी व्यवस्था देखा पर्दैन वादीले राजीनामामा लेखाई लिएको कि.नं.३४ को जग्गा प्रतिवादीको सर्भे कि.नं.४९ सित भिड्न नआई कित्ता नै फरक परेको र वादीले यसै प्रतिवादी उपर यसै विषयलाई लिएर जालसाजीबाट सट्टापट्टाको लिखत पास गरे पनि दावी गरेको सो जालसाजी मुद्दामा वादी दावी नठहरी फैसला भएको उपर वादीको पुनरावेदन समेत नपरी चुप लागी बसेको कारणबाट समेत वादी दावी पुग्न सक्दैन तसर्थ नवलपरासी जिल्ला अदालतबाट वादी दावामा प्र.को नाउँमा सर्भे कि.नं.४९ को जग्गाको दर्ता बदर गरी पाउने ठहराई भएको फैसला कानुनी त्रुटि देखिएकोले बदर भई उल्टी हुने ठहर्छ र पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३९।४।१९।३ को फैसला रहेछ।
१०. फैसलामा बढी शब्द परेकोले संशोधन गरिपाउँ भन्ने समेत व्यहोराको रामनाथ पराजुलीले प.क्षे.अ.मा दिएको निवेदनपत्रमा यसमा यस अदालत डिभिजनबेञ्चको ०३९।४।१९।३ को फैसला ठहर खण्डको पेटबोलीमा लेखिएको ज.ध. प्रमाण पूर्जा भन्ने शब्दहरूको सट्टा बेञ्च समक्ष पुनरावेदकको विद्वान अधिवक्ताले देखाएको नक्सा ट्रेसको प्रतिलिपि भन्ने वाक्यांश राखी सोही खण्डको अन्तिम लाइनमा भएको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने वाक्यांश झिकी न्या.प्र.सु. ऐन, ०३१ को दफा १२ को खण्ड (ख) बमोजिम संशोधन गरी यो आदेश गरी दिएको छ भन्ने प.क्षे.अ.डिभिजनबेञ्चको ०३९।५।११।६ को आदेश रहेछ ।
११. मेरो राजीनामा लिखतका कि.नं.३४ र प्र.रामनाथले सट्टापट्टा गराई लिएको कि.नं.४९ को जग्गा भिड्न नआई कि.नं.भिडन नआएकोले भन्ने प.क्षे.अ.को त्रुटिपूर्ण छ किनकी जग्गा खिचोला मुद्दामा प.क्षे.अ.कै फैसलाले दुवै कित्ता नम्बरको जग्गा एउटै हो (३८५) भनी ठहर भएको छ भन्ने हाल यस मुद्दामा कसरी किन फरक पर्यो अलग अलग जग्गा देखियो के प्रमाणबाट त्यस्तो देखियो फैसलाबाट खुल्दैन जग्गा खिचोला मुद्दामा भएको नक्साबाट दुवै एउटै जग्गा रहेको प्रमाणित छ विपक्षी ऐतिकै हाल सर्भे अनुसारको जग्गा दर्ता पूर्जा र फिल्डबुकमा समेत सा.कि.नं.३४ को हाल कि.नं.४९ रहेको प्रष्ट देखिन्छ । यस्तो श्रेस्ता प्रमाणबाट दुवै कि.नं.को जग्गा एउटै रहेकोलाई हाल नं. र सा.नं.कै आधारमा जग्गा भिड्दैन भन्ने ठहर म.क्षे.अ.बाट प्रमाणको श्रेस्तालाई प्रमाण लगाउन इन्कार गरिएको विषय सार्वजनिक महत्वको हुनआएको छ, पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी हरि केशवलाल दासको निवेदनपत्र, पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारी सिंहले ०२६।१।१६ को मेरो लिखत पास हुने ठहराई ०३३।३।४ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई ०३३।९।३० मा राजीनामा पास भएको सो लिखतमा रामनाथ साजी र मुद्दामा वारेस पनि भएको थियो तसर्थ लिखत पारित मुद्दा चलेको थियो सोही जग्गा प्रतिवादीले ०३२।१२।१९ मा सट्टापट्टा गरी लिएको २० गते पास पनि भएकोमा जग्गामा खिचोला गरेपछि निज ४ मुद्दा परेको एक जग्गा खिचोला (२) दर्ता लिखतबदर (३) जालसाजी (४) लाई लुटपिट दर्ता बदर खिचोलामा प्रतिवादीको र जालसाजीमा वादीको पुनरावेदन परेको । लिखत पारित मुद्दा पर्दा विवादित जग्गाको कि.नं.३४ र सर्भे हुँदा कि.नं.४९ बाट भएको हो तसर्थ अर्को जग्गा भनी प्रश्न उठ्नै सक्तैन । भू.प्र.का.नवलपरासीबाट साविक ३४ नं.को हाल ४९ नं. भएको भनी जवाफ समेत दिएको हदम्याद सम्बन्धमा लेनदेन व्यवहारको २७ नं. अघिल्लाले हक छुटाई लिएकोमा पछिल्लाको हक नहुने र जग्गा मिच्नेको १८ नं.र जग्गा पजनीको १७ नं.को म्याद २ वर्षको म्याद भित्र उजूर गरेको कानुनसंगत हो भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१२. विपक्षी प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले ०३२।१२।१९ गते सट्टापट्टाको लिखत भएको ०३४।१२।२।४ मा लिखत दर्ता बदर र जग्गा खिचोला मुद्दा दायर भएका । जग्गा मिच्नेको १८ नं.र जग्गा पजनीको १७ नं.अन्तर्गत २ वर्षको म्यादमा परेको र सट्टापट्टाको लिखतलाई बदर गराउने लेनदेन व्यवहारको ३६ नं.अन्तर्गत ६ महीना भित्र उजूर गर्नुपर्ने वादीले ०२६ सालमा लिखत गराएको त्यसमा पञ्चायत वार्ड नं.समेत छैन कि.नं.३४ अनुसार मोठ खडा नभएको हुनाले सोही कित्ता नं.बाट जग्गा पक्डन नसक्ने । वादीले लिएकोमा घटी जग्गा छ मैले लिएको लिखतमा बढी जग्गा छ, वादीको लिखत पास हुँदा ऐतिका नाममा जग्गा पनि छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको ।
१३. मुख्यतः पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१४. यसमा सर्वप्रथम बहसको सिलसिलामा (३८६) उठेको हदम्याद सम्बन्धी प्रश्नमा विचार गर्नुपर्ने देखिन्छ । प्रतिवादी रामनाथ पराजुलीका तर्फबाट विद्वान अधिवक्ताले प्रस्तुत मुद्दामा सट्टापट्टाको लिखत बदर गरिपाउँ भन्ने वादीको दावी भएकोले लेनदेन व्यवहारको ३६ नं.मा व्यवस्था गरे अनुसारको म्याद भित्र फिराद हुनुपर्नेमा सो नभएकोले वादी दावी खारेज हुनुपर्छ भन्ने तर्क प्रस्तुत गर्नुभएको छ र यसको समर्थनमा ०३८ सालको दे.पु.नं. २९७ पुरन महत्व समेत विपक्षी टिकाराम महत्व भएको लिखत बदर हक कायम मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३९।५।८ मा भएको फैसला नजीरको रूपमा बेञ्च समक्ष देखाउनु भयो उक्त निर्णय हेर्दा लेनदेन व्यवहारको ३६ नं.मा भएको व्यवस्था अनुरूप मुख्य मालिकले नै सट्टापट्टा गरेको सन्र्दभमा परेको मुद्दाको विषयवस्तु देखिन आएको छ प्रस्तुत मुद्दा त्यस्तो नभई हरि केशवलालले यतिबाट राजीनामा गराई लिएको जग्गा बारे मुख्य मालिकले सट्टापट्टा गरेको सम्बन्धमा फिराद दावी भएको देखिन नआई तेस्रो व्यक्ति अर्थात प्रस्तुत मुद्दाको प्रतिवादी रामनाथ पराजुलीले यतिबाट सट्टापट्टा गरिलिएको विषयमा मुद्दा परेको देखिन्छ तसर्थ प्रस्तुत मुद्दामा उपरोक्त नजीर स्वरूप प्रस्तुत गरिएको निर्णय लागू हुनसक्ने देखिएन तसर्थ वादी दावी कानुनबमोजिम हदम्याद भित्रै पर्नआएको देखिन्छ ।
१५. ऐति कुमालनीबाट राजीनामा गराई लिएको जग्गा प्रतिवादीले सट्टापट्टा गराई लिएकोमा सो लिखत दर्ता बदर गरी दर्ता गरिपाउँ भन्ने वादी दावी भएकोमा वादीले राजीनामा लेखाई लिएको कि.नं.३४ को प्रतिवादीको सर्भे कि.नं.४९ भिडिन नआई कित्ता नै फरक परेको र वादीले एकै प्रतिवादी उपर यसै विषयलाई लिएर जालसाजबाट सट्टापट्टाको लिखत पास गरे भनी दावी गरेको सो जालसाजी मुद्दामा वादी दावी नठहरी फैसला भएको उपर वादीको पुनरावेदन नपरेको समेत कारणबाट दावी पुग्न सक्दैन भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको छ छैन त्यस तर्फ हेर्दा वादीले ऐतिकुमारी कुमालनीबाट गराई लिएको जग्गा प्रतिवादीले आफ्नो सट्टापट्टामा गरी लिएको होइन । प्रतिवादीले आफ्नो प्रतिउत्तरमा केही पनि जिकिर नलिएकोबाट प्रथमतः वादीले लिएको जिकिर अर्थात एउटै जग्गा हो भनी वादीले लिएको जिकिरलाई प्रतिवादीले आफ्नो प्रत्युत्तरमा एउटै जग्गा होइन भनी जिकिर नलिएकोमा वादी जिकिर अनुसार एउटै जग्गा हो भनी प्रतिवादीले स्वीकार गरेको मान्नु पर्ने हुनआउँछ दोश्रो वादीले कि.नं.३४ को जग्गा राजीनामा गराई लिएको र सोही जग्गा सर्भे कि.नं.४९ हुनआएको मिसिल संलग्न भू.प्र.का.नवलपरासीबाट प.क्षे.अ.लाई दिएको च.नं. १७४ को पत्र र क्षेत्रीय किताब उतार ०२७ देखि ०२५ सम्मका लगत समेतका कागजात र वादी तर्फबाट यस बेञ्च समक्ष पेश भएको विभिन्न प्रमाणित कागजातबाट देखिन आएकोले माथि उल्लेख भएझैं एक त प्रतिवादीले एउटै जग्गा होइन भनी खण्डन सम्म पनि नगरेको दोस्रो माथि उल्लेख भएका विभिन्न कागजातबाट एउटै जग्गा देखिन आएकोले एउटै जग्गा होइन भनी प्रतिवादीतर्फका (३८७) विद्वान अधिवक्ताको जिकिर तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला तर्क र तथ्ययुक्त देखिन्न । वादीलाई राजीनामा गराई दिएको जग्गा प्रतिवादीलाई सट्टापट्टा गरी दिएको देखिन आएकोले वादी दावी बमोजिम ०३२।१२।१९ को सट्टापट्टाको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले वादी हरिकेशवलालबाट प्रतिवादी रामनाथलाई भराउने गरेको कोर्टफी रू.३१। मा अब सो बमोजिम गर्नु परेन सो फैसला लेखिएको लगत काटी दिनु भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउनु भनी का.जि.अ.मा लगत दिनु............................................................................................................................१
पुनरावेदक वादी हरि केशबलाल के निजले यस अदालतमा पुनरावेदन गर्दा मिति ०४०।३।१७ मा राखेको कोर्टफी रू.४।५० र शुरूमा फिरादपत्र दर्ता गर्दा ०३४।१०।२५।३ मा न.प.जि.अ.मा अरू दस्तूर र राखेको कोर्टफी समेत रु.३१। समेत जम्मा रू.३५।५० कानुनका म्याद भित्र प्रतिवादीको यस सरहको जेथा देखाई भराई पाउँ भनी दरखास्त परे प्रतिवादी रामनाथबाट वादी हरिकेशवलाललाई भराई दिनु भनी नवलपरासी जिल्ला अदालतमा लेखी पठाउनु भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउनु ऐ.मा ऐ.....................................................................२
मिसिल नियमानुसार गरी बुझाई दिनु.............................................................................................................................३
म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४० साल भाद्र २० गते रोज २ शुभम् ।