निर्णय नं. १७१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १७१७ ने.का.प. २०४० अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३९ सालको रिट नं. १४७३
आदेश भएको मिति : २०४०।८।१९।२ मा
निवेदक : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वार्ड नं.१ बस्ने लक्ष्मीनारायण न्हुछे श्रेष्ठ
विरूद्ध
विपक्षी : ऐ.ऐ.गा.पं.वार्ड नं.१ बस्ने तुइसिं फसी श्रेष्ठ समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) न्यायिक निर्णय गर्नुपर्ने अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री राजन ढुड्डाना
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली
आदेश
न्या.धनेन्द्र्रबहादुर सिंह
१. मिति ०३९।११।६ को भू.सु.का.भक्तपुरको निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ ।
२. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : मेरा नाउँमा भक्तपुर माल कार्यालयको मोठ श्रेस्ता लगतमा दर्ता भएको श्री महेन्द्र अन्तलिंगेश्वर दधिकोट पञ्चायत वार्ड नं.८(ख) कि.नं.१८५५ को १–५–० को जग्गाधनी म निवेदक र मोही विपक्षी जनिएकोमा विपक्षीले बाली नबुझाई ०३८ सालको बालीमा भू.सु.का.भक्तपुरमा मेरो फिराद परेको र मैले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा दिएको बिन्तिपत्रमा भू.सं. ऐन, २०२१ को दफा २९(१) बमोजिम मोहीले बाली नबुझाएकोले बाली भराई जग्गाबाट निष्काशन समेत गरिपाउँ भनी दिएको बिन्तिपत्रमा कानुनबमोजिम गर्नु गराउनु भन्ने हु.प्र. बक्स भई सो कागज आएपछि मात्र मुद्दा छिन्नु भनी भनेकोमा त्यसको वास्तै नगरी भू.सं. ऐन दफा २९(१) ले तोकिएको अधिकारीले मोहीलाई निष्काशन गर्न आदेश दिनसक्ने छ भन्ने व्यवस्था भएको निष्काशन गर्नसक्ने आदेश दिनसक्नेछ भन्ने तजबिजी अधिकार हो । तजबिजी अधिकार भए पनि निष्काशन हुने नहुने कुराको आधार देखाउन पर्ने भनी ऐ.उल्लेखित निर्णयबाट प्रतिपादित भएको छ । निष्काशन गर्न पर्छ भन्ने कानुनी किटान नभएको र तजबिजी अधिकार भएको देखिएको हुँदा वादी दावीको कूत (४३१) प्रतिवादीले बुझाएको छैन अड्डैमा बुझाउन तयार छु भनी प्रतिवादीले स्वीकार समेत गरेको हुँदा वादीले कूत भराई पाउने ठहर्छ । मोही निष्काशन तर्फ तजबिजी अधिकार भएकोले मोहीले आफ्नो सत्य कुरा लेखी दिएकोले एक चोटिलाई मोही निष्काशन नहुने ठहर्छ भनी मिति ०३९।११।६ मा विपक्षी कार्यालयबाट निर्णय भयो ।
३. उक्त निर्णयमा अ.बं.१८४(क) को विपरीत हुनुको साथै विपक्षी कार्यालयबाट तजबिजी अधिकार भनी फैसला गर्नु भएकोमा तजबिजी अधिकार भए तापनि न्यायिक तरीकाले न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निश्चित ठहरमा पुग्नु पर्नेमा आधार नै नदेखाई निष्कर्षमा पुगिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरीकाले निर्णय भएको भनी भन्न मिल्दैन उक्त फैसला बदर हुनुपर्छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति ०३९।१२।१७ को सिड्डलबेञ्चको आदेश रहेछ ।
५. भू.सं. ऐन, २०२१ को दफा २९(१) अनुसार निष्काशन गर्न आदेश दिनसक्ने छ भन्ने वाक्यांश सम्बन्धित अधिकारीको तजबिजी अधिकार हो भन्ने कुरामा विवाद छैन । यो अधिकारको प्रयोग सबूत प्रमाणको मूल्याड्ढन गरी न्यायिक तरीकाले गरिएको छैन भन्ने अवस्था प्रस्तुत मुद्दामा देखिन नआउने हुनाले रिट खारेज गरिपाउँ भन्ने समेतको तुइसिं फसी श्रेष्ठको लिखितजवाफ रहेछ ।
६. वादी लक्ष्मीनारायणले बाली पाउने ठहर्छ मोही निष्काशन तर्फ तजबिजी अधिकार भएको र मोहीले आफ्नो सत्य कुरा लेखी दिएको हुँदा मोही निष्काशन नहुने गरी भू.सं. ऐन नियमको परिधिमा रही यस कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि छैन रिट खारेज गरिपाउँ भन्ने समेतको भूमिसुधार शाखा भक्तपुरको लिखितजवाफ रहेछ ।
७. निवेदकतर्फबाट रहनुभएका विद्वान वैतनिक अधिवक्ता श्री राजन ढुड्डानाले मोही निष्काशन नगर्ने गरेकोमा कुनै आधार खुलाएको छैन । रिट जारी हुनुपर्छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र तुईसिं फसि श्रेष्ठतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीले मोहीले सत्य कुरा लेखी दिएको भन्दै मोही निष्काशन नहुने गरेकोमा आधार नखुलेको भन्न मिल्दैन रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा वादी दावीको कूत प्रतिवादीले बुझाएको छैन अड्डाबाट नै बुझाई पाउँ बुझाउन तयार छु भनी प्रतिवाद स्वीकार गरेको हुँदा कूत वादीले विपक्षीसँग पाउने ठहर्छ । मोही निष्काशनतर्फ तजबिजी अधिकार भएकोले र मोहीले आफ्नो सत्य कुरा लेखी दिएको यो एक चोटिलाई मोही निष्काशन नहुने (४३२) गरी वादी दावी अनुसार कूत पाउने ठहर्छ भनी प्रत्यर्थी भू.सु.शाखा भक्तपुरले निर्णय गरेको देखिन्छ ।
१०. न्यायिक निर्णय गर्नुपर्ने अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निर्णय गर्नुपर्ने हुन्छ । प्रस्तुत विषयमा मोही निष्काशन नहुने भनी गरेको निर्णयमा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निर्णय गरेको देखिँदैन । सबूत प्रमाणको मूल्याड्ढन नगरी कुनै आधार नदेखाई न्यायिक मनको प्रयोग नगरी प्रत्यर्थी भूमिसुधार शाखा भक्तपुरले यो एकचोटीलाई मोही निष्काशन नहुने भनी गरेको मिति ०३९।११।६ को निर्णय त्रुटिपूर्ण देखिन आयो।
११. निवेदक काशीराम राजवंशी विरूद्ध भूमिप्रशासन कार्यालय मोरड्ड समेत भएको ०३१ सालको रि.फु.नं. ४५ को रिट निवेदनमा न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरीकाले गर्नुपर्छ । न्यायिक निर्णय गर्ने अधिकारीले सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई कुनै निश्चित ठहरमा पुग्नु पर्छ आधार नै नदेखाई कुनै निष्कर्षमा पुगिन्छ भन्ने त्यस्तो निर्णयलाई न्यायिक तरीकाले निर्णय गरेको भन्न नमिल्ने भनी सर्वोच्च अदालत फुलबेञ्चबाट मिति ०३३।९।२४ मा निर्णय भई सिद्धान्त प्रतिपादित भइराखेको पनि देखिन्छ ।
१२. अतः उपरोक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार शाखा भक्तपुरको मिति २०३९।११।६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुनबमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४० साल मार्ग १९ गते रोज २ शुभम् ।