शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७२२ - लिखत बदर

भाग: २५ साल: २०४० महिना: मंसिर अंक:

निर्णय नं. १७२२     ने.का.प. २०४० अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको दे.पु.नं. ४४४

फैसला भएको मिति  : २०४०।८।९।६ मा

पुनरावेदक/वादी : वीरगञ्ज नगरपञ्चायत अन्तर्गत वडा नं.१३ बस्ने प्रेमबहादुर तामाङ समेत

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने धुर्वबहादुर तामाङसमेत

मुद्दा : लिखत बदर

(१)   बिक्री गरेको लिखतमा मेरो एकलौटी हकभोगको भनी लेखिएको देखिन्छ । सगोलको आर्जन भन्ने देखिन नआएको हुनाले पुनरावेदन जिकिर पुग्न नसक्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल

विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.धनेन्द्रबहादुर सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१२।१५ गतेको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ५ को ख अनुसार पुनरावेदनको अनुमति भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।

२.    म प्रेमबहादुर बाबु, विन्दुदेवी सौतेनी आमा र धु्रबबहादुर छोरा हो हामी सगोलमा बसी आएको अवस्थामा वीरगञ्ज पशुपति आदर्श नगर निर्माण समितिबाट किस्ता बन्दीमा जग्गा बिक्री गरेको कुरा थाहा भई घर बासको कित्ता नं. ४१८ को ज.वि. ०४३ मध्ये पूर्वतर्फबाट वीरगञ्ज बस्ने सिखादेवीले आधी जग्गा र पश्चिमतर्फबाट आधी ज.वि. ०११२१–½ एघार धुर साढे एक्काइस प्वाइन्ट जग्गा हामीले लिने गरी ०२३।१२।४ मा छोरा धु्रवबहादुरका नाउँबाट शुरू किस्ता दाखिल गरी त्यसपछि पटकपटक गरी किस्ता बुझाई मिति ०२७।८।२९ मा पूरा किस्ता भुक्तान गरिएको कोठा ३ र दक्षिणतर्फ बरण्डा सेप्टीक पाइखाना समेत बनाई विजुली धारा समेत लिई सगोलमा नै बसी भोग गरी आएको आजसम्म अंशबण्डा पनि भएको छैन सो घर जग्गा ८५,०००। हजारमा बिक्री गरे भन्ने सुनेबाट बुझ्दा विपक्ष छोरा धु्रबबहादुर तामाङले विपक्ष अमृतमान सिंह श्रेष्ठलाई रू.१,३०,०००। एक लाख तीस हजारमा ०३७।५।२५ गते र न.नं. ८८७ बाट रजिष्ट्रेशन पारित गरी दिएको ०३७।५।२७ गते नक्कल सारी लिई थाहा हुनआयो म प्रेमबहादुरको आर्जनको धु्रवबहादुरका नाउँमा किस्ता बन्दीबाट लिएको जग्गा घर हामीहरूको मञ्जूरी बेगर बिक्री गरेको सदर नहुने हुँदा फिराद गर्न आएको छु विपक्षीहरूको लिखतमा सिर्फ जग्गा मात्र लिई पास गरेको हुँदा उक्त लिखत बमोजिमको जग्गा मध्ये ३ खण्डको एक खण्ड पूर्वतर्फ धु्रवबहादुरको पर सारी पश्चिमतर्फबाट २ खण्ड जग्गा विगाहा ०४७–½ साढे सात धुर सैंतीस प्वाइन्ट लिखत दर्ता बदर भई सो जग्गा हामीहरूका नाउँमा दर्ता दाखिल गरी विपक्षबाट दिलाई भराई पाउने भन्ने समेत वादी प्रेमबहादुर विन्दुदेवीको संयुक्त फिरादपत्र रहेछ ।

३.    विपक्षहरू मेरो माता पिता र सौतेनी आमा हुनुहुन्छ । आमा स्वर्गीय भई सौतेनी आमा ल्याए पछि मलाई अनेक दुःख दिएको हुनाले घर दोकानबाट निस्की आफ्नो ज्ञान प्रयासबाट रूपैयाँ आर्जन गर्दै किस्ता बन्दीमा जग्गा लिई ०३७।५।२४ मा पारित गराई लिई उद्योग व्यवस्था    (४४६) गर्ने उद्देश्यबाट आफ्नो आर्जनको आफू खुशी गर्न पाउने जग्गा बिक्री गरेको हुँ लेनदेन व्यवहारको १० नं.अनुसार विपक्षहरूको मञ्जूरी लिई रहन नपर्ने बिक्री गरेको हुँ पिताको आर्जनबाट खरीद गरेको र घर समेत नबनेकोले आफ्नो हकको आफूखुस गर्न पाउने जग्गा बिक्री गरेको हुँदा फिराद दावी झुठ्ठा हो फिराद दावीबाट फुर्सत पाउँ भन्ने समेत धु्रवबहादुर तामाङको प्रतिउत्तरपत्र रहेछ ।

४.    प्रतिवादी गराएका धु्रवबहादुर तामाङले विपक्षसँग मिली प्रतिउत्तर दिने या नदिने साविती दिने जे गरे पनि मेरो हकमा असर नपरोस् विपक्षहरू मेरा दाता धु्रवबहादुर अंश नभएका एकाघरका अंशियार हुनुहुन्न कानुन बमोजिम अंश गर्नुपर्ने सम्पत्ति बण्डा गरी खती उपती आफ्नो गरी मानो छुट्टिई भिन्द भई विपक्षीहरू रानीघाट वीरगञ्जमा धु्रवबहादुर आदर्श नगरमा बसी आउनुभएको हो धु्रवबहादुरका एकाघरका पत्नी सुकुमाया र छोरा विजयकुमार साक्षी राखी लिखत पास गरी सबै राजीनामा गराई लिएको छु । ध्रुवबहादुरले ०३७।५।२६ मा छूट लिखत समेत गरी दिनु भई आफ्नो आर्जनको अरू कसैको हक नलाग्ने घर जग्गा सबै राजीनामा गरी दिएबाट मैले लिएको हुँदा लिखत दर्ता सदर कायम राखी पाउँ भन्ने समेत अमृतमान श्रेष्ठको प्रतिउत्तरपत्र रहेछ।

५.    धु्रवबहादुरले पञ्चायतबाट राजीनामा गरी लिएको निजी आर्जनको घर जग्गा हुँदा लेनदेन व्यवहारको १० नं.अनुसार आफूखुस गर्न पाउने भएकोले लिखत बदर दर्ता गरिपाउँ बदर भन्ने वादीको दावी पुग्न सक्दैन लिखत सदर ठहर्छ भन्ने समेत पर्सा जिल्ला अदालतको ०३८।३।१४।१ को फैसला रहेछ ।

६.    पर्सा जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रेमबहादुर समेतको नारायणी अञ्चल अदालतमा ०३८।४।८।५ मा परेको पुनरावेदन पत्र रहेछ ।

७.    मोल विगोबाट क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने भएकोले यस अदालतको लगतको लगत कट्टा गरी तारेखमा रहेका पक्षलाई तारेख तोकी मिसिल म.क्षे.अ.मा पठाई दिनु भन्ने नारायणी अञ्चल अदालतको आदेश ।

८.    नारायणी अञ्चल अदालतको आदेशानुसार सरी आई दर्ता भएको प्रस्तुत मुद्दामा प्रेमबहादुरको आर्जन वा सगोलको आर्जनबाट खरीद गरेको भन्ने कुनै सबूत वादीतर्फबाट गुज्रिन नआएको वादीले किस्ता बुझाएको समेत प्रमाण दिन नसकेको वीरगञ्ज नगरपञ्चायतबाट ध्रुबबहादुरले राजीनामा गराई लिई बिक्री गरेको प्रमाण कागजबाट देखिन आएकोले आफ्नो आर्जन आफूखुस गर्न पाउने अंशबण्डाको १८ नं.को व्यवस्था समेतबाट देखिँदा वादी दावी पुग्न नसक्ने ठहराएको पर्सा जिल्ला अदालतको फैसलामा मनासिव ठहर्छ भन्ने समेत म.क्षे.अ.को ०३८।१२।१५।१ को फैसला ।

९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा वादी दावी नपुग्ने ठहराएको म.क्षे.अ.को फैसलामा अंशबण्डाको १८ लेनदेन व्यवहारको १० नं. र (४४७) प्रमाण ऐन, २०३१ को दफा ६(क) को प्रत्यक्षतः गम्भीर कानुन त्रुटि भएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय समेतको हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत डिभिजनबेञ्चका ०३९।६।२७।४ को आदेश रहेछ ।

१०.    पुनरावेदकहरू तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गुरूप्रसाद बरालले वादीहरूको सगोलको सम्पत्तिबाट जग्गा खरीद बने बनाएको घर हुँदा वादीहरूको हकको लिखत बदर गर्नुपर्ने नगरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन भन्ने र विपक्षीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले आफ्नो आर्जनको सम्पत्ति प्रतिवादी अमृतमान सिंहले खरीद गरेको हो । वादीहरूको हक लाग्ने होइन क्षेत्रीय अदालतको निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

११.    यसमा निर्णयतर्फ हेर्दा म प्रेमबहादुरको आर्जनबाट छोरा धु्रबबहादुरका नाउँमा ०३७।५।२४ मा पारित गराई लिएको निजले अमृतमान सिंहलाई ०३७।५।२५ मा पारित गरी दिएकोले ३ खण्डको २ खण्ड लिखत दर्ता बदर गरिपाउँ भन्ने वादीको दावी देखिन्छ । तर सो जग्गा आफ्नो आर्जनबाट खरीद गरी बिक्री गरेको भन्ने प्रतिवादी धु्रबबहादुरको प्रतिउत्तर जिकिरमा उल्लेख भएको पाइन्छ ।

१२.   प्रतिवादी ध्रुबबहादुरले प्रतिवादी अमृतमान सिंहलाई बिक्री गरेको सो घर जग्गा वादी पे्रमबहादुरको आर्जनबाट र सगोलको आर्जनबाट खरीद गरेको हो भन्ने कुराको सबूत प्रमाण वादीले पेश गर्नसकेको पाइँदैन । सो जग्गा प्रतिवादी धु्रवबहादुरले वीरगञ्ज नगरपञ्चायतबाट खरीद गरी लिएकोले लिखतबाट वादीहरूको सगोलको सम्पत्तीबाट खरीद गरेको लेखिएको पनि देखिँदैन । प्रतिवादी अमृतमान सिंहलाई बिक्री गरेको लिखतमा मेरो एकलौटी हकभोगको भनी लेखिएको देखिन्छ । यसबाट पनि सगोलको आर्जन भन्ने देखिन नआएको हुनाले समेत पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी दावी पुग्न नसक्ने गरी शुरू पर्सा जिल्ला अदालतले गरेको इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर हुने ठहराई छिनेको इन्साफ मनासिव ठहर्छ। कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल मार्ग ९ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु