शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२११ - गैंडाको खाग ओसार पसार

भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।४।१८।१

०७०-MS-०००५

 

मुद्दा : गैंडाको खाग ओसार पसार ।

 

पुनरावेदन/प्रतिवादी: प्रकाश बुढासमेत    

विरूद्ध

विपक्षी/वादी : . श्यामदेव यादवसमेतको जाहेरीले नेपाल सरकार

 

§  प्रतिवादीहरू हालसम्म पनि पक्राउ परेका अवस्था नहुँदा निज प्रतिवादीहरू कहाँ छन्भन्ने सम्म पनि सुरू अनुसन्धान अधिकारी र मुद्दा हेर्ने निकायले यकिन गर्न नसकी बिना आधार र कारण मुद्दा दायरसम्म गरेको देखिएकाले निजहरूको हकमा कसुर स्थापित हुन सक्ने अवस्था नहुँदा निज प्रतिवादीहरू भूपेन्द्र शाही र पेमा लामाले आरोपित कसुरको दायित्वबाट उन्मुक्ति पाउने नै देखिने ।

(प्रकरण नं. )

§  दशीको रूपमा बरामदी गैंडाको खाग गैंडाको सक्कली खाग होइन भनी विशेषज्ञले दिएको राय सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा संलग्न प्रतिवादीहरूमध्ये निजहरूको परस्पर बयान र संलग्नताको आधारमा हेर्दा मुख्य आरोपी देखिएका प्रकाश बुढा र दानसिंह चैसिरले बरामदी खागलाई मौकामा सक्कली होइन भनी जिकिर लिन सकेको नपाइने ।

§  आफूले प्राप्त गरको सो सामानलाई अनुपम  वस्तुको रूपमा स्वीकार गरी अन्तिम अवस्थासम्म ओसार पसार र कारोबारको प्रयास गरेको देखिने ।

§  बरामदी खागलाई नक्कली हो भनी सजायबाट उन्मुक्ति पाउँन मौकामा जिकिर लिन सकेको पाइँदैन । पछि खागको परीक्षण हुँदा खाग नक्कली हो भनिए तापनि विशेषज्ञको बन्द सवालबाट भएको बकपत्र हेर्दा निजलाई जिरह हुन सकेको अवस्था नदेखिएको र गैंडाको खाग नक्कली हो कि ? भन्ने बयानको क्रममा प्रश्न उठेपछि मुद्दा हेर्ने अधिकारी वन अधिकृतको इजलासबाट जाँच गर्न पठाउने विधिवत्कुनै आदेश नभई प्रतिवादीहरू स्वयम्ले जाँच गराई पाउँ भन्ने निवेदनको आधारमा बीचैबाट जाँच गर्न पठाएको देखिने ।

§  प्रतिवादीहरूले गैंडाको खाग सक्कली खागको रूपमा अवैध कारोबारको कार्य गरेको परिप्रेक्ष्यमा पछि आएर एउटा निवेदनको भरमा जाँच गराउने माग गरेको देखिँदा त्यसमा विवन्धनको सिद्धान्तसमेत आकर्षित हुन सक्ने अवस्था हुँदा, सो जाँच परीक्षणलाई विवादरहित रूपमा स्वीकार गर्न सकिने अवस्था नदेखिने ।

(प्रकरण नं. )

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्अधिवक्ता टीकाराम भट्टराई

प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान्‍  उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा २६

                                                                       

सुरू तहमा फैसला गर्ने :

            वन अधिकृत श्री देवीप्रसाद कोइराला

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री देवेन्द्रगोपाल श्रेष्ठ                               

 

फैसला

न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ८ को उपदफा ४ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍  ठहर यस प्रकार छः-

            मिति २०६६।५।५ गतेका दिन जिल्ला वन कार्यालय, दार्चुला र जिल्ला प्रहरी कार्यालय, दार्चुलाको संयुक्त गस्ती टोलीले जिल्ला दार्चुला, भगवती गा.वि.. वडा नं. २ डुङरी बस्ने दानसिंह चैसिरले खलङ्गा बजारमा हिमालय लज सञ्चालन गरी बसी रहेको हिमालय लजको पहिलो तलाको उत्तर पूर्व कुनाको कोठाको दक्षिण पश्चिम कुनामा रहेको स्टिल दराजको तल्लो खानामा खानतलासी गर्ने क्रममा नैनसिंह ठगुन्नाको नीलो झोलाभित्र कालो पोलिथिनमा प्याक गरी राखेको एकसिङे् गैंडाको खाग बरामद गरिएको । खागको अवैध कारोबारमा संलग्न देखिएका नैन सिंह ठगुन्ना र निजका नातेदार तथा हिमालय लजका सञ्चालक दानसिंह चैसिर गरी जना २ लाई पक्राउ गरी बरामदी मालवस्तुलाई यसै साथ पेस गरेको छु । निजउपर कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने श्यामदेव यादवसमेतका कर्मचारीहरूको जाहेरी ।

            मिति २०६६।५।५ गतेका दिन जिल्ला वन कार्यालय, दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त गस्ती टोलीले जिल्ला दार्चुला, भगवती गा.वि.. वडा नं. २ डुङरी बस्ने दानसिंह चौसिरले खलङ्गा ५ बजारमा सञ्चालन गरेको हिमालय लजको पहिलो तलाको उत्तर पूर्व पट्टीको कुनाको कोठाको दक्षिण पश्चिम कुनामा रहेको स्टिल दराजको तल्लो खानामा खानतलासी गर्दाका बखत खाटमा बसिरहेका जिल्ला दार्चुला, धाप गा.वि.. वडा नं. ५ बस्ने नैन सिंह ठगुन्नाले नीलो झोला मेरो हो नचलाउनु होस् भन्दा शङ्का लागी सो झोलासमेत खोली खानतलासी गर्दा झोलाभित्र लुकाई छिपाई राखेको एकसिङे् गैंडाको खाग १ को लम्बाई ९.६ इन्च बीचको मोटाई ११ इन्च, तल्लो भागको मोटाई २०.१ इन्च, जरामुनी खाल्टो परेको र किनार फुटेको खाल्टोको लम्बाई ३x३ इन्च र गहिराई १.२५ इन्च तथा खागको तौल ५२५ ग्रामको गैंडाको खाग बरामद गरिएको भन्ने बरामदी मुचुल्का ।

            म नेपाली सेनामा कार्यरत छु । हाल म भैरहवा नं. २ गण लेस नायक पदमा कार्यरत छु । मेरो धाप गा.वि.. वडा नं. ५ घर भएकाले म ४० दिन घर विदामा आएको हुँ, खलङ्गा ५ मा हिमालय होटल सञ्चालन गरी बस्ने मेरो साला हो । उक्त हिमालय लजमा म बसेको कोठामा खानतलासी गर्दा मेरो पनि झोला रहेकोले मैले मेरो झोला हो भनेको हुँ । पछि त्यसैमा खाग भेटियो सो बारेमा मलाई थाहा छैन भन्नेसमेत व्यहोराको नैन सिंह ठगुन्नाले अनुसन्धानका क्रममा गरेको  बयान ।

            मेरो होटलमा वन कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले खानतलासी गर्दा मेरो होटलको कोठामा स्टिल दराजमा राखिएको झोलामा कपडाभित्र गैंडाको खाग बरामद भएको हो । मेरो होटलमा बसेका नैन सिंह ठगुन्ना मेरो भिनाजु हो । प्रकाश भन्ने एकजना ठेकेदार ३,४ वर्ष पहिले मेरो होटलमा लगभग १६ दिन बसेर गयो । पछि ऊ आएन । पछि खोलेर हेर्दा केही कपडा र गैंडाको खाग जस्तो वस्तु भेटियो भन्नेसमेत व्यहोराको दानसिंह चैसिरले अनुसन्धानका क्रममा गरेको बयान ।

            मिति २०६६।५।५ गतेका दिन हिमालय लजमा खानतलासी गर्दा सो लजबाट एकसिङे् गैंडाको खाग निस्केको हो । निज दानसिंह चैसिर र निजका भिनाजु नैन सिंह ठगुन्नालाई पक्राउ गरी अनुसन्धान तहकिकातको लागि ल्याएको छ । मैले २०५८ सालमा दानसिंह चैसिरलाई वार्षिक रू.६०,०००।- दिने गरी मौखिक सहमति भई भाडामा दिएको हुँ । निजको चाल चलन ठीकै थियो । हाल लोभमा लागेर खागको काम गरेको हुन सक्छ । निज र निजको नातेदार एकसिङे् गैंडाको खागमा पक्राउ परेको छ भनी सुनेको हुँ । अरू केही थाहा छैन भन्ने घर धनी किशन सिंह ठगुन्नाले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

            हिमालय होटल सञ्चालन गरी बस्ने दानसिंह चैसिरको होटेलको कोठाबाट स्टिल दराजमा छिपाई राखेको एकसिङे् गैंडाको खाग बरामद गरी दानसिंह चैसिर र धाप ५ बस्ने नैन सिंह ठगुन्नालाई वन कर्मचारीले पक्राउ गरेको भन्ने सुनेका हौं भन्ने खलङ्गा २ बस्ने कृष्णदेव भट्टसमेतले गरिदिएको सर्जमिन मुचुल्का ।

            नैन सिंह ठगुन्नाले मेरो झोला हो भनी देखाएको झोलाबाट खाग बरामद भएकोमा निज साबित देखिन्छन्भने होटल सञ्चालक दानसिंह चैसिरले सञ्चालन गरेको हिमालय लजको कोठाको दराजबाट खाग बरामद भएको तथ्यमा निज पनि साबित रहेको पाइएको र दानसिंह चैसिरको बयानमा उक्त बरामद खाग ३।४ वर्ष पहिले प्रकाश भन्ने ठेकेदारले ल्याएको भन्ने भनाइबाट दानसिंह चैसिर, नैन सिंह ठगुन्ना तथा प्रकाशसमेतले बिनाइजाजत एकसिङे् गैंडाको खाग ओसार पसार गरेको पुष्टि हुन आएको हुँदा निजहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६() अनुसार तीनै जनालाई जनही रू. ,००,००।- जरिवाना र १५ वर्ष कैद सजाय गरी बरामद खाग जफत गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६६।५।१५ मा दायर हुन आएको अभियोगपत्र ।

            मिति २०६६।५।४ गते मेरो भिनाजु नैन सिंह ठगुन्ना मकहाँ बस्न आउनुभएको हो । उहाँ

५ गते बिहान भैरहवा जान लाग्दा पत्रिकाको गाडीमा सिट नपाइ सो दिन पनि मकहाँ बसेका हुन् । उहाँ नेपाली सेनाको प्युठ दर्जामा भैरहवामा कार्यरत छन् । प्रकाश नाम गरेको एक जना ठेकेदार तीन चार वर्ष पहिले मेरो होटेलमा १६ दिन बसी गएका हुन् । हाल खाग बरामद भएको झोला उसैको थियो । उनले झोला छाडेर मालिकार्जुन मन्दिरमा पूजा गरेर आउँछु भनी गएका थिए । त्यसपछि उनी फर्केनन् । आठ महिनापछि झोला खोली हेर्दा झोलाभित्र केही कपडा र गैंडाको खाग भेटियो त्यो खाग त्यही प्रकाश भन्ने प्रकाश बुढाले ल्याएको हो । उसको ठेगाना सल्यान जिल्ला, सग्रही गाउँ र माझकाडा गाउँ हो भनी भनेको थियो । निजले मेरो होटलमा खाना खाएको ३५००।- पनि तिरेको छैन । मेरो भिनाजुले किन त्यसो भन्नुभएको हो मलाई थाहा भएन । सोही कोठामा भिनाजुको झोला पनि भएको हुनाले हुन सक्छ गैंडाको खाग लुकाई छिपाई राखेको मेरो अज्ञानताको कारण यस्तो हुन गएको हो भन्नेसमेत व्यहोराको दानसिंह चैसिरले जिल्ला वन अधिकृतसमक्ष गरेको बयान ।

            म जिल्ला दार्चुला, धाप गा.वि.. वडा नं. ५ मा बस्छु । म नेपाली सेनाको २ नं. ग्यारेजन गण भैरहवा ब्यारेकको प्युठ लेस नायक पदमा कार्यरत छु । म ४५ दिन घर बिदामा आएको थिएँ । मिति २०६६।५।५ गतेका दिन हिमालय होटेलमा बसेका बखत वन कर्मचारी र प्रहरीसमेतको टोलीले खानतलासी गर्दा म सुत्ने कोठाको स्टिल दराजबाट गैंडाको एक थान खाग बरामद हुँदाको बखत म कोठामा थिएँ । सोही कारण हिमालय होटलका सञ्चालक मेरो नातेदार (साला) दानसिंह चैसिर र मलाई पक्राउ गरी ल्याएका हुन् । झोलाको विषयमा त्यहाँ मेरो पनि एउटा झोला थियो त्यसैले मेरो झोला भनेको थिएँ तर त्यसै झोलाबाट खाग बरामद भयो मेरो झोलामा खाग कसरी आयो मलाई थाहा छैन भन्नेसमेत व्यहोराको नैन सिंह ठगुन्नाले जिल्ला वन अधिकृतसमक्ष गरेको बयान ।

            प्रकाश ठेकेदारले नै झोला मलाई दिएर गएको हो । फर्केर आएपछि तपाईंलाई रूपैयाँ दिन्छु भनेका र पछि झोला खोलेर हेर्दा खाग भेटिएको र मैले कुनै निकायमा जानकारी गराइन भन्नेसमेत व्यहोराको जिल्ला वन अधिकृतसमक्ष प्रतिवादी दान सिह चैसिरले गरेको ततिम्बा बयान ।

            मैले दान सिह चैसिरको होटलमा खाग सहितको झोला छोडेको होइन । उसको लजमा खाग कहाँबाट आयो मलाई थाहा छैन । म २०६० सालतिर कञ्चनपुरमा होटेल सञ्चालन गरी बसेको थिएँ । त्यस क्रममा जयलक्ष्मी होटल सञ्चालक भूपेन्द्र शाही र काठमाडौं बस्ने पेमा लामासँग खागसम्बन्धी कुराकानी भएको थियो । पछि दार्चुलाका प्रेम पालले सो खाग हेरी खाग दार्चुला पुर्याउन पर्यो भनी खाग पुर्याए बापत रू.१५०००-२०००० दिन्छु भनेका हुनाले खाग मैले दार्चुला पुर्याएँ । दार्चुलामा खाग लगी प्रेम पाललाई दिएको थिएँ । दानसिंह चैसिरसित पहिले चिनजान थियो । निजको लजमा बसेको थिएँ भन्नेसमेत व्यहोराको प्रकाश बुढाले अनुसन्धानका क्रममा गरेको बयान ।

            महेन्द्रनगर कञ्चनपुरबाट भूपेन्द्र शाहीबाट ल्याएर दार्चुला खलङ्गा ४ को प्रेमबहादुर पाललाई एकसिङे् गैंडाको खाग दिएको भन्ने प्रकाश बुढाको साबिती बयान र दानसिंह चैसिरको ततिम्बा बयानबाट बुझिन आएकाले एकसिङे् गैंडाको खाग ओसार पसार गरेको पुष्टि हुन आएको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६() अनुसार प्रकाश बुढा र फरार रहेका भूपेन्द्र शाही, पेमा लामा र प्रेम पालसमेतलाई जनही रू.,००,०००।- जरिवाना र १५ वर्ष सम्म कैद सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६६।६।१ मा दायर हुन आएको अभियोगपत्र ।

            निज प्रकाश बुढालाई म चिन्दिन । निजसँग मेरो कहिल्यै भेटघाट पनि भएको छैन । निजलाई न कुनै खाग दिएँ न त कुनै रूपैयाँ दिएको हुँ । निज प्रकाश बुढाले पहिला गोकुलेश्वर खलङ्गा बाटोमा पेटी ठेकेदारको रूपमा काम गर्दा सायद मलाई चिनेको होला । यस मुद्दामा प्रतिवादीमध्ये दानसिंह चैसिरको खलङ्गा स्थित होटलमा खानपिन गर्न जान्थे । निजलाई राम्ररी चिन्दछु । नैन सिंह ठगुन्ना पनि धापको भएकाले नामसम्म सुनेको हुँ । बाँकी प्रतिवादी भूपेन्द्र शाही र पेमा लामालाई चिन्दिन । खाग बरामद भएको दिन म जडीबुटी व्यापारको सिलसिलामा कञ्चनपुर गएको थिएँ । पछि फर्की आउँदा उक्त घटना सुनेको हुँ भन्नेसमेत व्यहोराको प्रेमबहादुर पालले अनुसन्धानका क्रममा गरेको बयान ।

            आफूले प्रकाश बुढालाई नचिनेको र उक्त खाग ओसार पसारमा आफ्नो संलग्नता मिलोमतो नरहेको भनी इन्कारी बयान गरे तापनि प्रकाश बुढाको किटानी बयानबाट उक्त खाग ओसार पसारमा प्रेमबहादुर पालको पनि संलग्नता रहेको देखिन आएको हुँदा निजसमेतलाई जनही रू.,००,०००।- जरिवाना र १५ वर्षसम्म कैद सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।३।३२ मा दायर हुन आएको अभियोगपत्र ।

            म प्रकाश बुढालाई चिन्दिन । निजले मलाई कुनै खाग दिएको होइन । हिमालय लजबाट बरामद भएको खाग सम्बन्धमा मलाई कुनै थाहा छैन । प्रतिवादी प्रकाश बुढाले मेरो नाम किटानी गरी गरेको बयान झुट्ठा हो । उक्त प्रतिवादीहरूमध्ये नैन सिंह ठगुन्ना धापको भएकाले नामसम्म सुनेको हुँ । अन्य भूपेन्द्र शाही र पेमा लामालाई चिन्दिन । उक्त खाग बरामद भएको मुद्दामा मेरो कुनै संलग्नता सहयोग जानकारीसम्म पनि छैन भन्ने प्रतिवादी प्रेम पालले जिल्ला वन कार्यालयमा गरेको बयान ।

            प्रेम पालसँग महेन्द्रनगरमा भएको सल्लाह अनुसार प्रतिवादी भूपेन्द्र शाहीसँग खाग बुझी दार्चुला खलङ्गा कारागार नजिक रहेको प्रेमबहादुर पालको घरमा निजलाई दिई म हिमालय लजमा बसेको हुँ । ६।७ दिनपछि यो खाग नक्कली हो जहाँबाट ल्याएको हो त्यहीँ फाली दे भनेर उक्त खाग मलाई फिर्ता गरी दिए । पछि उक्त खाग बोक्न मलाई डर लाग्यो र मैले बसेको हिमालय लजका सञ्चालक दान

सिंह चैसिरलाई यो राखी दे भनी म गइहालेँ । निजले सो अरू झोलामा राखी मेरो हो भनेको होला । केही दिनपछि मेरो बैतडीबाट काममा लगाएको लेवरहरूले फोन गर्न लागेकाले म बैतडी गइहालेँ । प्रेमबहादुरले मलाई चिन्दिन भनी गरेको बयान झुट्ठा हो । बरामद भएको खाग प्रेमबहादुर पाललाई दिएको र पछि निजबाट फिर्ता भई आफैँले पुर्याएको हो । मैले प्रतिवादी दानसिंह चैसिरले बयान गर्दा मेरो नाम पोलेर मलाई फसाएकाले ऊ पनि फसोस्भनेर भनेको हो भन्ने प्रकाश बुढाले जिल्ला वन कार्यालयमा गरेको बयान ।

            प्रतिवादी प्रकाश बुढाले गोकुलेश्वर दार्चुला सडक खण्डमा पेटी ठेकदारको रूपमा काम गर्दादेखि चिनेको होला । निजले कसरी किटानी गर्यो मलाई थाहा छैन । निजलाई चिन्दिन कहिले पनि भेटघाट भएको छैन । मैले निजबाट खाग लिएको छैन र रूपैयाँ पनि दिएको छैन । मेरो नाम किटानी गरी बयान गरेको निजलाई नै थाहा होला । घनिष्ट चिनजान लेनदेन कुनै किसिमको रिसइबि पनि थिएन भन्ने प्रतिवादी प्रेमबहादुर पालले जिल्ला वन कार्यालयमा गरेको ततिम्बा बयान ।

            जिल्ला वन कार्यालय, दार्चुलाले बरामद गैंडाको खाग परीक्षण गरिदिने भनी विधि विज्ञान प्रयोगशाला, ललितपुरमा पठाएकोमा उक्त प्रयोगशालाबाट शङ्कित गैंडाको खाग भनिएको वस्तु गैंडाको खाग होइन भन्ने परीक्षण प्रतिवेदन प्राप्त भई मिसिल सामेल रहेको ।

            सुरू जाहेरी प्रतिवेदन, खानतलासी मुचुल्का, सर्जमिन मुचुल्काका मानिसहरूको भनाइ, अनुसन्धान अधिकारी तथा यस कार्यालयमा गरेको साबिती बयानसमेतबाट अभियुक्त दानसिंह चैसिर र नैन सिंह ठगुन्नाले अवैध तवरले एकसिङे् गैंडाको खाग ओसार पसार गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९ विपरीत दफा २६ बमोजिमको कसुर अपराध गरेकाले निजहरूलाई सोही ऐनको दफा २६() बमोजिम जनही रू. ५०,०००।- जरिवाना र कैद वर्ष १० हुने र प्रतिवादीमध्येका प्रकाश बुढा र प्रेमबहादुर पालको हकमा निजहरूले अनुसन्धान अधिकारी र यस कार्यालयमा गरेको साबिती बयान अनुसार एक अर्कालाई मिलेमतो नभएको भन्ने जिकिर गरे तापनि प्रतिवादी प्रकाश बुढाले प्रतिवादी प्रेमबहादुर पाललाई किटानी बयान गरे अनुसार निजहरूको प्रतिवादी दानसिंह चैसिरसँग

मिलमतो नभएको भन्ने कुनै ठोस वस्तुनिष्ठ आधार मिसिल प्रमाणबाट नदेखिएको हुँदा, निजहरूले समेत सोही ऐनको दफा २६()बमोजिमको कसुर अपराध गरेको देखिँदा, निजहरूलाई जनही रू ५००००।- जरिवाना र कैद वर्ष १० हुने ठहर्छ र प्रकाश बुढाको किटानी बयान अनुसार भूपेन्द्र शाही र पेमा लामासमेत संलग्न रहेको भन्ने सम्बन्धमा निजहरूको नाममा पठाइएको समाह्वान म्यादसमेत गुजारी बसेकाले निजहरूको हकमा पछि फेला परेका बखत ऐ. ऐनको दफा २६() बमोजिम जनही रू. ५००००।- जरिवाना र १० वर्ष कैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको जिल्ला वन कार्यालय, दार्चुलाबाट भएको मिति २०६८।३।३० को फैसला ।

            बरामद वस्तु एकसिङे् गैंडाको खाग नै नभएको भनी स्वयम्‍ ‍ वन कार्यालय अर्थात वादी पक्षबाट नै सङ्कलन गरिएको मिति २०६६।११।१७ को विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनबाट विशेषज्ञको राय शङ्कारहित र निर्विवादरूपमा पुष्टि भै रहेको अवस्थामा आफूखुसी ऐनको दफा लगाई सजाय गरेको सुरू फैसला गैरकानूनी हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रकाश बुढाको पुनरावेदन अदालत, महेन्द्रनगरमा परेको पुनरावेदनपत्र ।

            बरामद वस्तु गैंडाको खाग वा ओखेटोपहार नभएको कुरा वादी पक्ष र फैसला गर्ने निकायबाट संकलित प्रमाणहरूले पुष्टि गरी रहेको छ । जुन वस्तुलाई गैंडाको खाग भनियो त्यसको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट परीक्षण हुँदा गैंडाको खाग भनिएको वस्तु गैंडाको खाग होइन भन्ने प्रमाण मिसिल संलग्न रहेको छ । फैसला गर्दा त्यसको उल्लेखसम्म नगरी अधिकतम्कैद जरिवाना गर्ने गरी भएको सुरू फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू नैन सिंह ठगुन्ना, दानसिंह चैसिर र प्रेमबहादुर पालको पुनरावेदन अदालत, महेन्द्रनगरमा परेको संयुक्त पुनरावेदनपत्र ।

            यसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको २०६७।११।१७ को पत्रसाथ संलग्न परीक्षण प्रतिवेदनमा गैंडाको खाग नभएको भनी उल्लेख भएको स्थितिमा पुनरावेदकलाई आरोपित कसुरबमोजिम सजाय गर्ने गरी भएको जिल्ला वन कार्यालय, दार्चुलाको २०६८।३।३० को निर्णय विचारणीय हुँदा अ.बं. २०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने मिति २०६८।७।२२ मा पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको आदेश ।

            यसमा पुनरावेदकहरूका तर्फबाट कानून व्यवसायीहरू र पुनरावेदन सरकारी वकिल कार्यालय, महेन्द्रनगरबाट लिखित बहसनोट दाखिल गराई पेस गर्नु भनी मिति २०६८।९।५ मा भएका आदेशानुसार लिखित बहसनोटहरू पेस भई मिसिल सामेल  रहेका ।

            यसमा प्रस्तुत मुद्दामा गैंडाको खाग भनिएको वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जिल्ला वन कार्यालय, दार्चुलाबाट परीक्षण गर्न पठाएकोमा सो गैंडाको खाग भनिएको वस्तु परीक्षण गरी राय व्यक्त गर्ने विशेषज्ञलाई प्रमाण ऐन, २०३१ को दफा ५२ को प्रयोजनको लागि बकपत्र गराउनुपर्ने अवस्था देखिँदा, काठमाडौं जिल्ला अदालतमा बन्दसवाल जारी गरी पठाई काठमाडौं जिल्ला अदालतमार्फत बकपत्र गराउनु । साथै विशेषज्ञलाई जिरह गर्न चाहेमा जिरहका लागि काठमाडौं जिल्ला अदालतमा आफ्नो कानून व्यवसायी पठाउनु भनी थुनामा रहेका प्रतिवादीहरूलाई निजहरू थुनामा रहेको जिल्ला कारागार कार्यालय, दार्चुलामा जनाउ दिनु र वादी पक्ष पुनरावेदन सरकारी वकिल कार्यालय, महेन्द्रनगरलाई पनि सोको जानकारी दिई विशेषज्ञको बकपत्र सम्पन्न भई आएपछि निमयानुसार पेस गर्नु भन्ने मिति २०६८।१०।३ को यस अदालतको आदेश ।

            यसमा विशेषज्ञलाई प्रमाण ऐन, २०३१ को दफा ५२ को प्रयोजनका लागि बकपत्र गराउन लेखी पठाएको मिति २०६८।११।१६ को काठमाडौं जिल्ला अदालतबाट प्राप्त मिसिल संलग्न पत्र हेर्दा विशेषज्ञको नाममा जारी भएको म्यादमा विशेषज्ञ बकपत्रका लागि उपस्थित हुनु नभएको भनी लेखी आएको देखिँदा, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुर जिल्लामा रहेकाले ललितपुर जिल्ला अदालतमार्फत विशेषज्ञलाई बकपत्र गराउँदा सुविधाजनक हुने भएकाले ललितपुर जिल्ला अदालतमा बन्द सवाल जारी गरी पठाउनु । साथै विशेषज्ञलाई जिरह गर्न चाहेमा जिरहका लागि ललितपुर जिल्ला अदालतमा आफ्नो कानून व्यवसायी पठाउनु भनी थुनामा रहेका प्रतिवादीहरूलाई निजहरू थुनामा रहेको कारागार कार्यालय, दार्चुलामा जनाउ दिनु र वादी पक्ष पुनरावेदन सरकारी वकिल कार्यालय, महेन्द्रनगरलाई पनि सोको जानकारी दिई विशेषज्ञको बकपत्र सम्पन्न भई आएपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।१२।१५ को पुनरावेदन अदालत, महेन्द्रनगरको आदेश ।

            प्राप्त नमुनालाई मारफोलोजीको आधार र सूक्ष्मदर्शी यन्त्रको सहायताबाट अधिकारीक ज्ञात नमुनासँग तुलना गरेर राय दिएको हुँ । उक्त राय सत्य तथ्य ठीक छ । गैंडाको खाग असली रहेको अवस्थामा त्यसलाई पहिचान गर्ने हामीसँग प्रविधि छ तर अन्य वस्तुहरूबाट बनेको अवस्थामा के कुन वस्तुबाट बनेको हो भनी पहिचान गर्ने प्रविधि हालसम्म मेरो प्रयोगशालामा उपलब्ध छैन भन्नेसमेत व्यहोराको विशेषज्ञको बकपत्र मिसिल सामेल रहेको ।

            यसमा प्रतिवादी दानसिंह चैसिर आफूले सञ्चालन गरेको हिमालय होटलको कोठामा गैंडाको खाग बरामद भएको तथ्यमा अर्का प्रतिवादी नैन सिंह ठगुन्नाले हिमालय होटलको कोठामा आफू बसेको र सोही  कोठामा रहेको आफ्नो झोलामा खाग बरामद भएको तथ्यमा, अर्का  प्रतिवादी प्रकाश बुढाले आफूले गैंडाको खाग ओसार पसार गरेको तथ्यलाई स्वीकार गरी अनुसन्धान अधिकृत र मुद्दा हेर्ने वन अधिकृतको इजलासमा समेत स्वीकार गरी बयान गरेको अवस्था देखिँदा यी प्रतिवादीउपर लगाएको आरोपको निर्विवादरूपमा पुष्टि भएको अवस्था देखिन्छ । अर्को सह प्रतिवादी प्रेमबहादुर पालले गरेको बयानमा आफूउपरको आरोपमा इन्कार रही बयान गरेको भए पनि सह प्रतिवादी प्रकाश बुढाले आफू कसुरमा साबित भई यी प्रतिवादी प्रेमबहादुर पाललाई पोल गरी आफूले ओसार पसार गरेको गैंडाको खाग यी प्रतिवादी प्रेमबहादुर पाललाई दिएको हो भनी अनुसन्धान अधिकृतसमक्षको बयानमा र मुद्दा हेर्ने अधिकारी वन अधिकृतको इजलासमा गरेको बयानमा समेत साबित भई तथ्ययुक्तरूपमा व्यहोरा खुलाई बयान गरेको देखिन्छ । मिसिल संलग्न प्रतिवादी प्रकाश बुढा र दानसिंह चैसिरको बयान हेर्दा यी प्रतिवादीहरू एक अर्काका बीचमा चिनजान एवम्‍  सम्पर्क भएको र यिनीहरूले एक अर्काको सहयोग र सम्पर्कबाट प्रस्तुत गैंडाको खाग ओसार पसार गरेको अवस्था देखिन्छ । दानसिंह चैसिरले मुद्दा हेर्ने अधिकारी वन अधिकृतको इजलासमा गरेको ततिम्बा बयानमा प्रतिवादी प्रकाश बुढालाई सनाखत गरिदिएको देखिन्छ । प्रतिवादी दानसिंह चैसिरले प्रकाश बुढाको वतन खुलाई दिएको देखिन्छ र सोही नाम वतनको आधारमा प्रहरीले प्रकाश बुढालाई पक्राउ गरी दाखिल गरेको अवस्था देखिन्छ । त्यस्तै प्रकाश बुढाले मुद्दा हेर्ने अधिकारीसमक्षसमेत गरेको बयानको सवाल ४ को जवाफमा मैले ल्याएको गैंडाको खाग दार्चुला खलङ्गा कारागार नजिक रहेको प्रेम पालको घरमा निजलाई नै दिएको थिएँ । म दानसिंह चैसिरको लजमा बस्दा बखत उसलाई पनि जानकारी गराएको थिएँ भन्नेसमेत तथ्यगत कुराहरू उल्लेख गरी बयान गरेको देखिन्छ ।

            अतः प्रतिवादीहरू दानसिंह चैसिर, नैन सिंह ठगुन्ना, प्रकाश बुढा र प्रेमबहादुर पाललाई बिना इजाजत एकसिङे् गैंडाको खाग ओसार पसार गर्यो भन्ने मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा १९ विपरीत दफा २६ बमोजिमको कसुर अपराध गरेकाले निजहरूलाई सोही ऐनको दफा २६()बमोजिम जनही ५००००।- जरिवाना  र १० वर्ष कैद हुने ठहर्याई वन कार्यालय, दार्चुलाबाट मिति २०६८।३।३० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ  भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, महेन्द्रनगरको माननीय मुख्य न्यायाधीश दुर्गाप्रसाद उप्रेतीको मिति २०६९।८।२५ को

राय ।

            यसमा बरामद वस्तु खाग जस्तो थियो । नक्कली हो भन्दथे भनी लजको मालिक प्रतिवादी दानसिंह चैसिरको बयान रहेको । मुद्दा हेर्ने निकाय जिल्ला वन कार्यालय, दार्चुलाले सुदूर पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालय धनगढीमार्फत वैज्ञानिक परीक्षणको लागि पठाउँदा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको मिति २०६७।११।१७ को परीक्षण प्रतिवेदनमा "शङ्कित गैंडाको खाग भनिएको वस्तु गैंडाका खाग होइन" भनी किटानी गरी लेखी आएको पाइन्छ । विशेषज्ञले अदालतमा बकपत्र गर्दा मिति२०६७।११।१७ मा आफूले प्रतिवेदन दिएको कुरा स्वीकार्दै Morphology को आधार र सूक्ष्मदर्शी यन्त्रको सहायताबाट आधिकारिक ज्ञात नमुनासँग तुलना गरी राय दिएको हुँ भनी विशेषज्ञले किटानी बकपत्र गरिदिएको पाइन्छ । वादी नेपाल सरकारले अभियोगपत्रमा बरामद भएको वस्तु गैंडाको खाग हो भन्दै अभियोगपत्र दर्ता गरे तापनि प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम सो कुरा प्रमाणित गर्न कुनै तथ्ययुक्त सबुद प्रमाण प्रस्तुत गर्न सकेको पाइँदैन । साथै मिसिल संलग्न अन्य सबुद प्रमाणबाट पनि प्रतिवादीहरू कसुरदार हुन् भनी वस्तुनिष्ठ शङ्कारहित ठोस प्रमाणको अभावमा प्रतिवादीहरूलाई कसुरदार ठहराउन फौजदारी न्यायको सिद्धान्त अनुसार न्यायोचित नहुँदा प्रतिवादी पुनरावेदक दानसिंह चैसिर-नैनसिंह ठगुन्ना- , प्रकाश बुढा-, प्रेमबहादुर पाल-१ ले आरोपित कसुरबाट सफाइ पाउने

ठहर्छ । सुरू जिल्ला वन कार्यालयले प्रतिवादीहरूलाई कसुरदार ठहराई जनही १० वर्ष कैद र रू. ५००००।- जरिवाना गर्ने गरी गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । माननीय मुख्य न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेतीज्यूले प्रतिवादीहरूलाई कसुरदार ठहराई सुरू जिल्ला वन कार्यालय, दार्चुलाबाट भएको फैसला सदर गर्नुभएको रायसँग सहमत हुन नसकिएकाले निर्णयार्थ तेस्रो इजलासमा पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, महेन्द्रनगरका माननीय न्यायाधीश सलाहुद्दीन अख्तर सिद्धिकीको मिति २०६९।८।२५ को राय ।

            यसमा प्रस्तुत मुद्दामा यस अदालतका माननीय मुख्य न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती र माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्धिकीको संयुक्त राय बाझी फैसला भै न्याय प्रशासन ऐन, २०४८ को दफा ८() बमोजिम तेस्रो माननीय न्यायाधीशसमक्ष पेस गर्नु पर्ने प्रस्तुत मुद्दा यस अदालतको सरकारवादी फौजदारी दायरीमा दर्ता गरी नियमानुसार इजलाससमक्ष पेस गर्नु भनी निमित्त रजिस्ट्रार मिति २०६९।११।४ मा भएको आदेश ।

            गैंडाको खाग होइन भनी कुनै पनि प्रतिवादीले जिकिर नै नलिएको र खाग परीक्षण

गर्न पठाउने भनी अनुसन्धान अधिकारी तथा मुद्दा हेर्ने अधिकारी जिल्ला वन अधिकृतबाट कुनै आदेश नै नभई जिल्ला वन कार्यालय, दार्चुलाबाट बरामद गैंडाको खाग भनिएको वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाई सोको प्रतिवेदन मिसिल सामेल रहेको देखिन्छ । प्रतिवादीहरू ६ जनाउपर विभिन्न मितिमा गरी अभियोगपत्र दायर भएकोमा सुरू जिल्ला वन कार्यालय, दार्चुलाबाट मिति २०६८।३।३० मा फैसला हुँदा फैसलाको प्रतिवादीको महलमा प्रतिवादी भूपेन्द्र शाही र पेमा लामालाई प्रतिवादी नै कायम नगरेको, फैसलाको ठहर खण्डमा अभियोग मागदावीबमोजिमको कसुर ठहर गरी सजाय गरेकोमा तपसिल खण्डमा निजहरूको हकमा मुलतवी मुद्दा दायर गर्नु भन्ने उल्लेखन भई स्पष्टता नभएको, प्रतिवादीद्वय भूपेन्द्र शाही र पेमा लामालाई सुनवाइको मौका नदिएको समेतको आधारमा जिल्ला वन कार्यालय, दार्चुलाको फैसला सदर गर्ने माननीय मुख्य न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती र सुरू फैसला उल्टी गरी प्रकाश बुढासमेत ४ जनालाई सफाइ दिने माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्धिकीको मिति २०६९।८।२५ को रायसित सहमत हुन सकिएन ।

            यसर्थ सुरू जिल्ला वन कार्यालय, दार्चुलाबाट मिति २०६८।३।३० मा भएको फैसलामा कार्यविधिगतलगायतको त्रुटि देखिँदा उक्त फैसला बदर गरिदिएको छ । अब जो जे कार्यविधिगत प्रक्रियाहरू पूरा गर्नुपर्ने गरी प्रतिवादी भूपेन्द्र शाही र पेमा लामाको हकमा समेत यकिन रूपमा ठहर गरी पुनः कारवाही किनारा गर्नु भनी थुनामा रहेका प्रतिवादीहरूलाई फैसलाको जानकारी दिई प्रस्तुत मुद्दाको सुरू मिसिल जिल्ला वन कार्यालय, दार्चुलामा पठाईदिने ठहर्छ । यसरी कार्यविधिगत प्रक्रियाहरू मौकामा नै सम्पन्न नगरेको कारणले प्रतिवादीहरू अनिर्णयको बन्दी भइ पुनः लामो समयसम्म कारागारमा बस्नुपर्ने बाध्यता भएकाले त्यसरी मुद्दाको कार्यविधि पूरा नगरी कारवाही किनारा गर्ने सम्बन्धित वन अधिकृतलाई सचेत गराउनुपर्नेसमेत देखिँदा सम्बन्धित मन्त्रालयमा लेखी पठाई दिने भनी यो छुट्टै राय पेस गरेको छु । न्याय प्रशासन ऐन, २०४८ को दफा ८ को ४ र पुनरावेदन अदालत निमयावली, २०४८ को नियम ११ बमोजिम प्रस्तुत मुद्दाको मिसिल निर्णयार्थ सर्वोच्च अदालतमा पठाईदिनु भन्ने पुनरावेदन अदालत, महेन्द्रनगरका माननीय मुख्य न्यायाधीश श्री देवन्द्रगोपाल श्रेष्ठको एकल इजलासबाट २०७०।२।६ मा भएको फैसला ।  

            यसमा पुनरावेदक प्रतिवादीतर्फका कानून व्यवसायीलाई र विपक्षी वादी नेपाल सरकारतर्फबाट महान्यायाधिवक्ताको कार्यालयसमेतलाई आजको मितिले १५ दिनभित्र लिखित बहसनोट पेसगर्न लगाई लिखित बहसनोट पेस हुन आएपछि सोको ७ दिनपछि निर्णय सुनाउनको लागि पेसी तोकी सोको जानकारी पक्षहरूलाई दिई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।३।१० को आदेश ।

            यसमा दुबै पक्षतर्फबाट बहसनोट प्रस्तुत भई मिसिल सामेल रहेको ।

            नियमबमोजिम आजको दैनिक मुद्दा पेसीसूचीमा चढी न्याय प्रशासन ऐन, २०४८ को दफा ४ बमोजिम निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन अदालत, महेन्द्रनगरबाट विभिन्न मितिमा भएको फैसलाहरू सहितका मिसिल कागजातहरू अध्ययन गरी प्रतिवादी तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री टीकाराम भट्टराईले प्रस्तुत मुद्दामा बरामदी दशी तथा मुद्दाको मुख्य जरिया एकसिङे् गैंडाको खाग भनिएको वस्तु नै गैंडाको असली खाग हो भन्ने परीक्षणबाट पुष्टि नभइरहेको स्थितिमा प्रतिवादीहरूलाई सजाय गरेको पुनरावेदन अदालतको फैसला अन्याय तथा त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भनी र विपक्षी वादी नेपाल सरकारतर्फबाट उपस्थित विद्वान्उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेलले सुरूमा बरामद हुँदा गैंडाको असली खाग बरामद भएको र प्रतिवादीहरूले मौकामा नक्कली खाग हो भनी जिकिर लिन नसकेको अवस्थामा हाल आएर नक्कली खाग हो भनी सफाइ दिन मिल्ने अवस्था नहुँदा माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेतीको राय सदर कायम गरिपाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनी पुनरावेदन अदालत, महेन्द्रनगरका माननीय न्यायाधीशहरूको अलग अलग राय भएउपर सोही अदालतका माननीय मुख्य न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठले मिति २०७०।२।६ मा गर्नुभएको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

            . निर्णयतर्फ विचार गर्दा बरामदी दशी गैंडाको खाग सक्कली हो कि होइन र प्रतिवादीहरूलाई हदैसम्म सजाय हुनुपर्ने हो कि होइन भन्ने नै मुख्य प्रश्न रहेको देखियो ।

            . यसमा प्रतिवादीहरूमध्ये दानसिंह चैसिरले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान हेर्दा स.. ८ मा "एक ठेकेदार जसको नाम प्रकाश हो ऊ ३।४ वर्ष पहिले मेरो होटलमा लगभग १६ दिन बसेर गयो । पछि ऊ आएन र १।२ वर्षपछि झोला खोलेर हेर्दा केही कपडा र गैंडाको खाग जस्तो थियो" भनेको र सोही बयानको स.. १३ मा "वास्तविक तस्कर प्रकाश हो" भनेको देखिन्छ । त्यस्तै गरी निजले वन अधिकृतसमक्ष गरेको बयानको स.. ५ होटल कोठाको स्टिलको दराजबाट खाग बरामद भएको थियो भनेका छन् भने सोही बकपत्रको स.. ७ मा "खाग बरामद भएको झोला उसैको हो उनको झोला खोली हेर्दा केही कपडा र खाग भेटियो । त्यो खाग प्रकाश भन्ने ठेकेदारले ल्याएको हो" भन्ने उल्लेख गरेको देखिएबाट सो बरामदी गैंडाको खाग आफूले सञ्चालन गरेको होटल कोठाबाट बरामद भएको र सह अभियुक्त प्रकाश बुढासँग पहिलेदेखिको पुरानो चिनजानको व्यक्तिभएको नाताले निज प्रकाश बुढाले नै सो झोला दानसिंह चैसिरलाई दिएको भन्ने देखिन आउँछ । निज दानसिंह चैसिरले नै बयानको क्रममा खुलाई दिएको प्रतिवादी प्रकाश बुढाको वतनको आधारमा निज प्रतिवादी प्रकाश बुढा गिरफ्तार भएको देखिन्छ भने निज दानसिंहले वन अधिकृतसमक्ष गरेको ततिम्बा बयानको स..३ मा "प्रकाशले नै झोला राख्न दिए, रूपैयाँपछि दिन्छ भन्ने विश्वास गरेर झोला राखेको हुँ" भनेको र सोही बयानको स..४ मा" झोलापछि खोली हेर्दा त्यसमा खाग भेटिएको त्यसपछि कुनै निकायमा जानकारी नगराएर म गल्ती गरेको छु"समेत भनेको देखिएबाट प्रतिवादी दानसिंह चैसिर र प्रकाश बुढाबीच पुरानो चिनजान र सम्बन्ध कायम रहेको तथ्यलाई थप पुष्टि गरिरहेको देखिन्छ ।

            . त्यस्तै गरी प्रकाश बुढाले गरेको बयानहरूमध्ये निमित्त जिल्ला वन अधिकृतसमक्ष गरेको बयान हेर्दा  "मैले प्रेम पाल भन्ने यही मान्छेसँग महेन्द्रनगरमा भएको सल्लाह अनुसार खाग ल्याएर यसैलाई दिएको हुँ" भनेको छ भने, निजले निमित्त वन अधिकृतसमक्ष पुनः मिति ०६७।३।३१ मा गरेको ततिम्बा बयानको स.. १ हेर्दा "दानसिंह चैसिरलाई" यो राखी दे भनी म वैतडी गैहालें" भनी लेखाई दिएको देखिएबाट दानसिंह चैसिर र प्रकाश बुढाले गरेको बयानबीच एक आपसमा तादात्म्यता रहेको देखिँदा पुरानो चिनजान भएको कारणले नै निज दुबैको मिलोमतोबाट गैंडाको खागको अवैध व्यापार गर्ने मनसायले दानसिंह चैसिरको दार्चुला स्थित होटलमा लुकाई राखेको अवस्थामा खाग बरामद भएको अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा विद्यमान प्रचलित कानून हेर्दा राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा २६को उपदफा () मा " गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गर्ने गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको विना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय हुनेछ" भन्ने व्यवस्था रहेको पाइन्छ । जुन प्रस्तुत मुद्दाको वारदातसँग सम्बन्ध रहेको देखिन्छ ।

            . प्रतिवादीमध्ये नैनसिंह ठगुन्नाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान हेर्दा स.. ५ मा "खाग वास्तवमा मेरो होइन" भनेको स.. ८ मा "मेरो पनि झोला भएकाले मैले मेरो झोला हो भनेको, पछि त्यसैमा खाग भेटियो सो बारे मलाई थाहा छैन" भनेका छन्भने निजले वन अधिकृतसमक्ष गरेको बयानको स.. ५ मा. "खाग बरामद हुँदाका बखत म पनि सोही कोठामा थिएँ । सोही कारण पक्राउ परे" भनेको देखिन्छ । त्यस्तै गरी प्रकाश बुढाले वन अधिकृतसमक्ष गरेको बयान हेर्दा स. .९ मा. "म नैनसिंह ठगुन्नालाई चिन्दिन तर त्यो लजमा बस्दा एक जना प्रहरी जस्तो व्यक्तिले मलाई गाली गर्यो कान समातेर उठबस् गरायो" भनेको र नैनसिंह ठगुन्ना सेनामा कार्यरत रहेको व्यक्ति भन्ने देखिएको अवस्थामा निजको भनाइ अनुसार त्यो प्रहरी जस्तो देखिएको व्यक्ति भनी नैनसिंहलाई नै सङ्केत गरेको प्रष्ट हुन्छ । यसप्रकार प्रतिवादीहरूमध्ये प्रकाश बुढाले निज प्रतिवादी नैनसिंह ठगुन्नालाई चिन्दिन भनेको, खाग दानसिंहलाई राख्न दिई आफू बैतडीतर्फ गएको भनेको र निज प्रतिवादी नैनसिंह ठगुन्ना बसेको कोठाबाट खाग बरामदसम्म भएको अवस्थामा निज प्रतिवादी नैनसिंहले तस्करी गर्ने आसयले कोठामा गैंडाको खाग राखेको हो भन्ने तथ्य शङ्कारहित तवरले स्थापित हुन सकेको देखिँदैन । त्यस्तैगरी प्रतिवादीमध्येका प्रेमबहादुर पालको हकमा हेर्दा प्रकाश बुढाले खाग प्रेमबहादुर पाललाई नै दिएको हुँ सम्म भनेको देखिन्छ भने प्रेमबहादुर पालले अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारी (वन अधिकारी) समक्षसमेत गरेको बयानमा प्रकाश बुढालाई चिन्दै नचिनेको तथा खागसम्बन्धी कुनै काम कारोबार नगरेको भनी इन्कार रही बयान गरेको र निजबाट कुनै दशी पनि बरामद हुन नसकेको अवस्था हुँदा प्रतिवादी मध्ये सहअभियुक्त प्रकाश बुढाको एकलौटी पोल बाहेक सो पोलालाई पुष्टि गर्ने अन्य दशी तथा सबुद प्रमाणको अभाव हुँदा गैंडाको खाग तस्करीजस्तो सङ्गीन मुद्दामा निज प्रतिवादीहरू नैनसिंह ठगुन्ना र प्रेम बहादुर पाललाई कसुरदार ठहर्याउन न्यायोचित हुने देखिन आएन ।

            . अन्य प्रतिवादीहरू भूपेन्द्र शाही र पेमा लामाको हकमा मिसिल संलग्न प्रतिवादीहरूको बयान हेर्दा प्रतिवादीहरूमध्ये प्रकाश बुढाले मात्र अनुसन्धान अधिकारीसमक्ष गरेको बयानबाट भूपेन्द्र शाही र पेमा लामासँग कञ्चनपुरमा खागका सम्बन्धमा कुरा भएको भन्नेसम्म उल्लेख गरेको देखिन्छ भने वन अधिकृतसमक्ष गरेको बयानमा भूपेन्द्र शाहीसँग खाग बुझी दार्चुला ल्याएको भन्ने सम्म उल्लेख गरी पेमा लामाको नाम उल्लेख गरेको देखिँदैन । वादी पक्षको दावीबमोजिम सबै प्रतिवादीहरूको बीच एक आपसमा यदि अन्तर सम्बन्ध र सूत्रबद्ध कार्य (Chain of conduct) रहेको भए फरार भनिएका भूपेन्द्र शाहीलगायत पेमा लामासमेतको नाम अन्य प्रतिवादीहरूबाट पनि उल्लेख हुनुपर्ने थियो । तर प्रकाश बुढाले कञ्चनपुर, महेन्द्रनगरमा निज प्रतिवादीहरूसँग खाग सम्बन्धमा सल्लाह भएको र भूपेन्द्र शाहीसँग खाग बुझेको भन्ने एकलौटी पोल गरेको बाहेक निजहरूको समेत संलग्नता रहेको देखिने अन्य थप कुनै आधार प्रमाण रहेको मिसिलबाट देखिँदैन । साथै निज प्रतिवादीहरू हालसम्म पनि पक्राउ परेका अवस्था नहुँदा निज प्रतिवादीहरू कहाँ छन्भन्नेसम्म पनि सुरू अनुसन्धान अधिकारी र मुद्दा हेर्ने निकायले यकिन गर्न नसकी बिनाआधार र कारण मुद्दा दायरसम्म गरेको देखिएकाले निजहरूको हकमा कसुर स्थापित हुन सक्ने अवस्था नहुँदा निज प्रतिवादीहरू भूपेन्द्र शाही र पेमा लामाले आरोपित कसुरको दायित्वबाट उन्मुक्ति पाउने नै देखिन आयो ।

            . दशीको रूपमा बरामदी गैंडाको खाग गैंडाको सक्कली खाग होइन भनी विशेषज्ञले दिएको राय सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा संलग्न प्रतिवादीहरूमध्ये निजहरूको परस्पर बयान र संलग्नताको आधारमा हेर्दा मुख्य आरोपी देखिएका प्रकाश बुढा र दानसिंह चैसिरले बरामदी खागलाई मौकामा सक्कली होइन भनी जिकिर लिन सकेको पाइँदैन । आफूले प्राप्त गरको सो सामानलाई अनुपम वस्तुको रूपमा स्वीकार गरी अन्तिम अवस्थासम्म ओसार पसार र कारोबारको प्रयास गरेको देखिन्छ । नैनसिंह ठगुन्ना बसेको कोठा र निजको झोलाबाट खाग बरामद भएको भन्ने बरामदी मुचुल्का

देखिन्छ । तर सो आधारमा निजकै झोलाबाट बरामद भएको मान्ने हो भने पनि प्रकाश बुढा स्वयम्‍‍को बयानबाट निज ( प्रकाश बुढा) ले नक्कली खाग हो भनी प्रेमबहादुर पालले भनेको हुँदा बोक्न डर लागी दानसिंह चैसिरलाई राख्न दिइ आफू बैतडीतर्फ गएको भनेको र दानसिंह चैसिरले पनि प्रकाश बुढाले राख्न दिई निज बैतडी मालिकार्जुनतर्फ गएकोले धेरै समयपश्चात आफूले खोली हेर्दा त्यसमा गैंडाको खाग भेटिएको भनेबाट नैनसिंह ठगुन्नासँग बाटै खाग बरामद भएको मान्न सकिने अवस्था नदेखिएको र प्रकाश बुढाले वन अधिकृतसमक्ष बयानको क्रममा प्रेमबहादुर पालले नक्कली हो भनेको भन्ने प्रसङ्गसम्म उल्लेख गरे तापनि सो बरामदी खागलाई नक्कली हो भनी सजायबाट उन्मुक्ति पाउँन मौकामा जिकिर लिन सकेको पाइँदैन । पछि खागको परीक्षण हुँदा खाग नक्कली हो भनिए तापनि विशेषज्ञको बन्द सवालबाट भएको बकपत्र हेर्दा निजलाई जिरह हुन सकेको अवस्था नदेखिएको र गैंडाको खाग नक्कली हो कि ? भन्ने बयानको क्रममा प्रश्न उठेपछि मुद्दा हेर्ने अधिकारी वन अधिकृतको इजलासबाट जाँच गर्न पठाउने विधिवत्कुनै आदेश नभई प्रतिवादीहरू स्वयम्‍‍ले जाँच गराइ पाउँ भन्ने निवेदनको आधारमा बीचैबाट जाँच गर्न पठाएको देखिन्छ । प्रतिवादीहरूले गैंडाको खाग सक्कली खागको रूपमा अवैध कारोबारको कार्य गरेको परिप्रेक्ष्यमा पछि आएर एउटा निवेदनको भरमा जाँच गराउने माग गरेको देखिँदा त्यसमा विवन्धनको सिद्धान्तसमेत आकर्षित हुन सक्ने अवस्था हुँदा, सो जाँच परीक्षणलाई विवादरहित रूपमा स्वीकार गर्न सकिने अवस्था देखिएन । तथापि प्रतिवादीहरूमध्ये दानसिंह र प्रकाश बुढाको बयान र एक अर्काप्रतिको पोल तथा निज प्रतिवादी प्रकाश बुढाले बरामदी दशी नक्कली भनिएको भन्नेसम्मको उब्जिएको प्रसङ्ग र प्रस्तुत मुद्दाको रोहमा निज प्रतिवादीहरूको संलग्नता तथा आबद्धताको मात्रा र बरामदी दशीको अवस्थासमेतलाई मध्यनजर गर्दा, प्रतिवादीहरूमध्ये दानसिंह चैसिर र प्रकाश बुढालाई अभियोग दावीबमोजिम हदैसम्म सजाय गर्दा चर्को पर्न जाने देखिँदा पुनरावेदन अदालत, महेन्द्रनगरका माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेतीले उल्लिखित प्रतिवादीहरूको अतिरिक्त प्रेमबहादुर पाल र नैनसिंह ठगुन्नासमेतका प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम हदैसम्म सजाय गर्ने ठहर्याएको र उल्लिखित सबै प्रतिवादीहरूलाई अभियोग दावीबाट पूर्ण सफाइ दिने ठहर्याएको सोही अदालतका माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्दिकीको राय तथा सुरू जिल्ला वन कार्यालयको मिति २०६८।३।३० को निर्णय बदर गरी पुनः निर्णयको लागि पठाउने ठहर्याइ सोही अदालतका मुख्य न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठबाट मिति २०७०।२।६ मा भएको फैसलासमेत मिलेको नदेखिँदा पुनरावेदन अदालतका तीनैजना माननीय न्यायाधीशहरूको रायसँग सहमत हुन सकिएन ।

            . अतः पुनरावेदन अदालत, महेन्द्रनगरका तीनैजना माननीय न्यायाधीशहरूको राय केही उल्टी हुने ठहर्छ । सो ठहर्नाले प्रतिवादीमध्येका प्रकाश बुढा र दानसिंह चैसिरलाई राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा २६() बमोजिम ५ वर्ष मात्र कैद हुने र अन्य प्रतिवादीहरू नैनसिंह ठगुन्ना, प्रेमबहादुर पाल र पेट बोलीबाट देखिएका भूपेन्द्र शाही र पेमा लामाले समेत अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीहरूमध्ये प्रकाश बुढा र दानसिंह चैसिरको हकमा कैद सजाय ५ वर्ष मात्र कायम भएकाले दानसिंह चैसिर मिति ०६६।५।५ देखि र प्रतिवादी प्रकाश बुढा मिति ०६६।५।२८  देखि हिरासत तथा थुनामा रहेको र सो मितिले क्रमशः ०७१।५।४ र ०७१।५।२७ मा ५ वर्ष कैद अवधि पूरा हुने देखिँदा अन्य मुद्दाबाट थुनामा बस्नुपर्ने नभए कैद अवधि भुक्तान भएको मितिबाट कैद लगत कट्टा गरी थुनामुक्त गरिदिनु भनी सम्बन्धित कारागार शाखामा लेखी पठाइदिनू ------------

सफाइ पाएका अन्य प्रतिवादीहरू नैन सिंह ठगुन्ना ०६६।५।५ र प्रेमबहादुर पाल मिति ०६७।३।३१देखि थुनामा तथा हिरासतमा रहेको देखिँदा थुनामुक्त गरीदिन र प्रतिवादीहरू भूपेन्द्र शाही र पेमा लामाको हकमा निजहरू मुद्दाको पुर्पक्षदेखि नै हिरासतमा रहेको नदेखिए तापनि निजहरूको हकमा फैसलाबमोजिम सम्बन्धित जिल्ला वन कार्यालयबाट कैद लगत कसिएको भए सोसमेत कट्टा गर्न लेखी पठाइदिनू ------

प्रस्तुत फैसलाको जानकारी प्रतिवादीहरूलाई दिई मिसिल नियमानुसार गरी बुझाइदिनू -----------

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इति संवत्२०७१ साल साउन १८ गते रोज १ शुभम् ।

इजलास अधिकृत : बसन्तजंग थापा

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु