निर्णय नं. ६२७५ - धर्मपुत्र लिखत बदर

निर्णय नं. ६२७५ ने.का.प.२०५३ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
संवत २०५१ सालको दे.पु.नं. ......... २०९५
फैसला मितिः २०५३।१।१८।३
मुद्दाःधर्मपुत्र लिखत बदर ।
पुनरावेदक
वादीः का.जि.का.न.पा.वडा नं. २३ ओम वहाल वस्ने वर्ष २४ को ऐश्वर्य राम भक्त माथेमा ।
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.वडा नं.२८ नःघल बस्ने सुरेश राम राजभण्डारी समेत जम्मा ४ जना ।
§ स्थानिय निकायलाई पनि सम्वन्धित वडा वासीहरुका विषयमा सहीकुराको जानकारी हुने र राख्नु पर्ने भन्ने मनसायवाट विधायिककाले साक्षी राख्नु पर्ने भन्ने व्यवस्था गरेको पाईन्छ । त्यस्ता साक्षीमा वस्ने भनि तोकिएका व्यक्तिहरु कार्यालय संग सम्वन्धित हुंदा निजहरुले कहि कतै लेखि दिएको प्रमाणिात गरि दिएको व्यहोरालाई अन्यथा प्रमाणिात नभएसम्म सही र तथ्य परक नै मान्नु पर्ने ।
(प्र.नं.१४)
§ धर्मपुत्रको १ नं. ले धर्मपुत्र लिन वस्न पहिलो क्रममा एकै भुडीका सन्तान रहने भन्नेमा अन्यथा भन्न मिलेन । एकै भुडीका सन्तान सिताराम र जयरामकमा एक एक छोरा भएकोले धर्मपुत्रको १२ नं. ले धर्मपुत्र दिन राख्न नमिल्ने प्रष्ट भई सकेको छ भने एकै भुडढीका सन्तामा पनि दाजु परशुरामको मृत्यु भई सकेतापनि निजको श्रमिती चन्द्र भुवनेश्वरी जिवितै रहेकी र निजहरुका तर्फवाट ६ जना छोराहरु तथा सितारामका छोरा विष्णु समेत उजुर नपरेको स्थितिमा यी धर्मपुत्र राख्ने भाईको नाती नाताका व्यक्तिलाई प्रस्तुत धर्म पुत्र बदर गराई मैले धर्मपुत्र पाउनु पर्ने भन्ने समेतका जिकिर लिई अदालत प्रवेश गर्न कानूनले सहयोग गरेको छ भनि भन्न सकिने अवस्था देखिदैन ।
(प्र.नं.१४)
§ धर्मपुत्र दिने व्यक्तिको माथि उल्लेख गरिएका नजिकका अन्य हकवाला रहेको र निजहरुले दावी लिन नआएको अवस्थामा यी पुनरावेदक वादीको हकदैया श्रृजना हुने अवस्था देखिन आएन।
(प्र.नं.१४)
पुनरावेदक वादी तर्फबाटः
विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विद्धान अधिवक्ता श्री मधुकृष्ण श्रेष्ठ ।
प्रत्यर्थी तर्फवाटः
विद्धान अधिवक्ता श्री पन्नामान तुलाधर
विद्धान अधिवक्ता श्री हरिहर दाहाल
अबलम्वित नजीरः
फैसला
न्या.कृष्ण कुमार वर्माः तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(४) वमोजिम अनुमति प्रदान नगर्ने आदेश उपर ऐ.ऐनकोदफा १३(५) वमोजिम यस अदालतमा अनुमतिको लागि परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. हामी पुस्तावारीको क्रममा एक वाजेका सन्तानमा रहेका छौं । स्वर्गिय माहिला वाजे वलराम भक्त माथेमाले निजको जेठी छोरी रमादेवीको छोरा सुरजरामलाई धर्म पुत्रको लिखत गरी दिएको कुरा नक्कल मिति २०४३।२।४।१ मा मालपोत कार्यालय काठमाडौंवाट सारी हेर्दा थाहा पाएं । उक्त लिखत मिति ०३९ आषढ ३० गते रोज ४ मा पारित गरेको रहेछ सो लिखत सत्य तथ्य्मा प्रमाणिात नभएको र धर्मपुत्रको १ नं. को रित नपुर्याई गरेको छ । धर्मपुत्र राख्न क्रमलाई धर्मपुत्रको १ नं. मा व्याख्या गरेको छ । यस धर्मपुत्रको लिखतले सो क्रम नाघेको छ । धर्मपुत्र राख्ने मृतक वलराम भक्त जन्मेको एकै भुडीका सन्तान र एक वाजेका सन्तान हुंदा हुंदै छोरीको छोरालाई धर्मपुत्र राखेको क्रम विपरित भएको हुंदा मेरा हकमा आघत भएको छ । एकै भुडीका सन्तान छंदा छंदै विपक्षी धर्मपुत्र कायम हुन पाउने होइन । यस अतिरिक्त नजिकको सन्तान क्रमको मंजुरी लिन पर्नेमा सो कुनै प्रकृया पनि अपनाएको छैन । तसर्थ उक्त धर्मपुत्र लिखत क्रमवद्ध र रित नपुगेको हुंदा अपुताली खाने नियतले कहिल्यै सेवामा नलागेको विपक्षी सुरजले धर्म पुत्र हैसियत कायम गराउन खोजेको, विपक्षी रमा देवी समेतवाट दिएको धर्मपुत्रको लिखत ऐनले राख्न नहुने छोरीको छोरालाई धर्मपुत्र राखेको मिति ०३९।३।३० को लिखत बदर गरी मेरो हक कायम गरी पाउं भन्ने समेत व्यहोराको ऐश्वर्यराम भक्त माथेमाको फिराद दावी ।
३. वलराम भक्त माथेमाको जेठी श्रीमती तर्फको जेठी छोरी रमा देवीको जेठे छोरी म सुरज राम हो भन्ने कुरा विपक्षले मानेकै छ । मलाई निज वाजे वलराम भक्तले २०३९।३।३० मा राखेको धर्मपुत्र २०४३।२।४ मा थाहा पाएको भन्ने कुरा गलत हो । विपक्षको वाजे सिता राम भक्त र मलाई धर्मपुत्र राख्ने वलराम भक्त माथेमाको पिता नारायण भक्त माथेमाले वनाउनु भएको पचली पारी ल.पु.न.पं. वडा नं. २ मा राजघाट वनाई त्यहां देव देवता स्थापना गरी मन्दिर समेत निर्माण गरी सो मन्दिरमा वि.सं. २०४० सालमा टांसिएको शिलापत्र अनुसार निजले सोही मितिमा थाहा पाइसकेको हुंदा धर्मपुत्रको १३ नं. ले २ वर्ष नाघी ससकेको हुंदा यो फिराद खारेज गरी पाउं । धर्मपुत्रको १ नं. ले उल्लेख गरेको क्रम भित्र छोरीको छोरा पनि रहेको छ । म सुरज राम छोरीको छोरा हुं । १ नं. भित्रका विपक्ष वाहेक अरु व्यक्तिले धर्मपुत्र लिखत बदर गराई पाउं भनि उजुर गरेको छैन । विपक्षीको वावु विष्णुराम भक्तलाई धर्मपुत्र लिन दिन नहुने भएको शुरजरामलाई धर्म पुत्र लिएको हो । निज विष्णुराम भक्तको पनि छोरा यी विपक्षीलाई धर्मपुत्र राख्ने लिने प्रश्नै उठदैन र विपक्षीको वावु जिवित छंदा छंदै विपक्ष संग मंजुर लिनु पर्दछ भन्ने कुरा धर्मपुत्रको ऐनवाट कतै व्यवस्था देखिदैन । धर्मपुत्र राख्ने वलराम भक्त माथेमा जिवित हुंदा विपक्षले उजुर गर्न नसकेको समेतवाट पनि यसरी झुठ्ठा कुराहरु अजमाई मलाई दूःख दिएको हुंदा भुठृा दावी गरेमा विपक्षलाई नै सजाय गरी झुठ्ठा दावीवाट फुर्सद गराई पाउं भन्ने समेत व्यहोराको सुरज रामभक्त माथेमाको प्रतिउत्तर ।
४. सो धर्मपुत्र कानूनको रित पुर्याई राखे वसेको हुंदा कानूनले पास गर्न हुने ठहर्याई अड्डाले पास गरेको हो । त्यस्तोमा हामी साक्षी वस्नू पर्ने हुनाले वसेका हौं । धर्मपुत्रको १ नं. भित्र विपक्षी पर्न आउदैन । म र मेरो छोरा र नाती हुंदा हुंदै छोरीको छोरालाई धर्मपुत्र राखेकोले बदर गराई पाउं भनि धर्मपुत्र राख्ने व्यक्ति जिवित हुंदा उजुर गरि विपक्षको वावु वाजेले बदर गराउन सकेको छैन भने यो हकै नपुग्ने व्यक्तिले धर्मपुत्र राख्ने व्यक्ति परलोक भएपछि उजुर गरेको यो फिराद अ.वं. ८२ नं. वमोजिम नलाग्ने हुंदा खारेज गरी पाउं । हाम्रो छोरा सुरज राम भक्तलाई धर्मपुत्र राखेको कुरा यो विपक्षीलाई र विपक्षको वावु विष्णुराम भक्त र वाजे सिताराम भक्तलाई मौकैमा थाहा थियो । । ल.पु.राज तिर्थ (राजघाट) मा टांसिएको शिलापत्रले समेत पुष्टी गरेको छ । धर्मपुत्रको ०३९।३।३० को लिखत बदर हुन नसकेको हुंदा भुठ्ठा दावी गरी मुद्दा लगाउने विपक्षलाई नै सजाय गरी झुठ्ठा दावीवाट फुर्सद गराई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी रमादेवी राजभण्डारी र निर्मलशशी राजभण्डारीको संयुक्त प्रतिउत्तर जिकिर ।
५. धर्मपुत्रको लिखत गरि दिंदा कानूनले शिश्चित गरेको विधि प्रकृया पुरा गरि लिनु दिनु पर्दछ । धर्मपुत्रको १ नं. ले कस्तो क्रमबाट धर्मपुत्र राख्ने भन्ने व्यवस्था गरेको छ । तर प्रस्तुत मेरा पति वलराम भक्त माथेमाले मिति २०३९।३।३० मा परित गरी दिनु भएको धर्मपुत्रको लिखत धर्मपुत्रको १ नं. विपरित रहन गएको छ । मलाई दूःख दिनको लागि यो धर्मपुत्रको लिखत खडा गरिएको हो । मिति २०३९।३।३० को लिखतमा मेरो कुनै पनि संलग्नता नहुनुको साथै मैले यस भन्दा अघि दायर गरेको म वादी विपक्षी प्रतिवादी सुरजराम राजभण्डारी समेत भएको धर्मपुत्र लिखत बदर मुद्दामा लिएको दावी अनुरुप होस भन्ने समेत व्यहोराको प्रतिवादी श्रीमती दूर्गादेवी भन्ने शुभद्रा माथेमाको प्रतिउत्तर जिकिर ।
६. यस्मा जलले धर्मपुत्र लिनु पर्छ भनेर अदालतले मान्नु पर्ने हो सो मानिसै मरी सकेकोमा निजको आफ्नो धर्मपुत्र हुन पाउने हक एउटा अपूर्ण हक भएको हुंदा त्यस्तो कार्य बदर गर्न नमिल्ने अपूर्ण हकलाई कार्यान्वयन गर्न गरेको फैसला प्रयोजनहिन हुने हुंदा अपूर्ण हकलाई स्थापित गर्न नमिलने हुंदा प्रस्तुत मुद्दा अ.वं. १८० नं. वमोजिम खारेज हुन्छ भन्ने समेत व्यहोराको शुरु काठमा०डौं जिल्ला अदालतको मिति २०४५।३।२८।३ को फैसला ।
७. उपरोक्त मुद्दामा काठमाण्डौं जिल्ला अदालत वाट मलाई गरेको फैसलामा चित्त नवुझेकोले पुनरावेदन गरेको छु, का.जि.अ.को उक्त फैसला बदर गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी ऐश्वर्य राम भक्त माथेमाको तत्कालिन वागमति अंचल अदालतमा परेको पुनरावेदन ।
८. यस्मा नाताको क्रम अनुसार धर्मपुत्र राख्ने प्राथमिकता क्रम निर्धारण गरिएका पुस्ताका व्यक्तिहरुका जिवन कालमा नै ती भन्दा तल्लो पुस्ताका यी वादीले गरेको उजुर दावी हकदैयाको अभावमा खारेज गर्ने गरेको शुरुको निर्णयमा चित्त वुझेन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरुवाट खारेज गर्ने गरी गरेको निर्णय मुनासिव ठहर्छ भन्ने समेत व्यहोराको तत्कालिन वागमती अंचल अदालतको मिति २०४५।११।१७।३ को फैसला ।
९. वागमती अंचल अदालतले मेरो सम्पुर्ण दावा जिकिर पुग्न नसक्नेभनि लेखिएको दफा दफाका विवरण प्रमाण विपरित शुरुको इन्साफ मनासिव ठहराई गरेको फैसला गंभिर कानूनी त्रुटि हुंदा सो समेत बदर गराई माग्न पुनरावेदनको अनुमती माग्न यो निवेदन प्रस्तुत गरेको छु, अनुमति पाई इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी ऐश्वर्यराम भक्त माथेमाको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतमा परेको निवेदन ।
१०. धर्मपुत्र राख्नेको भाई भतिजाहरुले दावी गर्न नसकी भाई भतिजाहरु जिवीत छंदै नातीको नालेश पर्न आएको नमिलेकै देखियो । तसर्थ शुरु जिल्ला अदालतले खारेज हुने ठहर्याएकोलाई सदर गरेको वागमती अंचल अदालतको फैसलामा कानुनी त्रुटि देखिंदा निवेदक वादीको माग वमोजिम पुनरावेदनको अनुमती प्रदान गर्न मिलेन भन्ने समेत व्यहोराको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको एक न्यायाधीशको इजलाशको मिति २०४६।१०।१०।३ को आदेश ।
११. निवेदक न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३ (५) (ख) (ग) अन्तर्गत पुनरावेदनको अनुमती पाउंन निवेदन गर्दछु, निवेदनमा व्यक्त गरिएका तथ्य प्रमाण एवं कानुनी सिद्धान्तलाई मध्ये नजर राखी अनुमति पाउन निवेदन गरेकोमा अनुमति प्रदान नगरेको म.क्षे.अ.को आदेश उपर अनुमति पाई इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी ऐश्वर्यराम भक्त माथेमाको यस अदालतमा परेको निवेदन ।
१२. यस्मा शुरु जिल्ला अदालतले वादी दावी खारेज गर्ने इन्साफ मनासिब ठहर्याएको वागमति अंचल अदालतको फैसला उपर अनुमति प्रदान नगरेको म.क्षे.अ.को मिति २०४६।१०।१० को आदेशमा धर्मपुत्रको १ नं. को व्याख्यात्मक त्रुटि देखिनुका साथै ने.का.प.२०५० अंक २ नि.नं. ४६९३ पृष्ठ ७७ मा प्रकाशित नजिर एवं न्याय प्रशासन सुधार (संसोधन सहित) ऐन २०३१ को दफा १३(५) को खण्ड (ख) र (ग) को त्रुटि विद्यमान हुंदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।२।१८।४ को आदेश ।
१३. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसल अध्ययन गरियो पुनरावेदक वादी ऐश्वर्य राम भक्त तर्फवाट रहनु भएका विद्धान वरिष्ट अधिवक्ता श्रीकृष्ण प्रसाद भण्डारीले धर्मपुत्रको कानूनमा उल्लेखित नाताका मानिसले धर्मपुत्र राख्न मन्जूर गरि लिखत गरी नदिएको अवस्थामा स्थानिय निकायका सदस्य वा प्रतिनिधि साक्षी राखी अरुलाई धर्मपुत्र लिखत गरि दिन सकिने व्यवस्था छ । प्रस्तुत विवादित धर्मपुत्रको लिखतमा यो रित पुगेको छैन। वडा समितिले सिफारिस सम्म गरिदिएको छ सो लाई साक्षी भनि मान्न मिल्दैन एकै वाजेका अन्य सन्तानलाई सोधिएको भन्न निजहरुको मन्जुरी वेमन्जूरीको लिखत लिइएको छैन वडा अध्यक्षले हकवाला दाजु भाइलाई नवुझि र निजहरुको कुरा नवुझि सिफारिस गरेको मिल्दैन भनि तथा पुनरावेदक वादीकै तर्फवाटै उपस्थित विद्धान अधिवक्ता श्री मधुकृष्ण श्रेष्ठले मुलुकी ऐन धर्मपुत्रको महलको १ नं. ले कस्तो कस्तो व्यक्ति कस्तो रित पुर्याई धर्मपुत्र रहन सक्दछ भन्ने व्यवस्था गरेको छ, र सो ऐनमा भएको व्यवस्था अनुसार धर्मपुत्र दिनु पर्ने व्यक्तिले धर्मपुत्र राख्न स्वीकृत नदिए सो को लिखत लिनु पर्ने र लिखत नदिएमा सम्वन्धित गाउं विकास समिति वा नगरपालिकाको वडाको सिफरिस सम्म गराइएको छ, यसलाई साक्षी मान्नु मिल्ने नहुंदा लिखत धर्मपुत्रको कानून विपरित छ, धर्मपुत्र राख्नेले राख्न पाउने संग माग्न आएको छैन, धर्मपुत्र राख्ने वलरामको मृत्युपछि मात्र धर्मपुत्र राखको थाहा पाएको हो भन्ने कुरा वादीका साक्षी नन्दराज समेतको वकपत्रवाट पनि देखिन आएकोले एकै हांगोका सन्तान छंदा छंदै छोरालाई धर्मपुत्र राखी लिखत गरेको वेरितको साथसाथै ने.का.प.२०५० अंक २ पृष्ठ ७७ मा प्रकाशित सिद्धान्तको समेत विपरित शुरु जिल्ला अदालतको फैसला सदर गरेको तत्कालिन वागमती अंचल अदालतको फैसला हुंदा उक्त फैसला बदर गरी वादी दावी वमोजिम कथित २०३९।३।३० को धर्मपुत्रको लिखत बदर गरी पाउं भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थि प्रतिवादी सुरज राम राजभण्डारीको तर्फवाट विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले धर्मपुत्र राख्ने शन्दर्भमा धर्मपुत्रको १ नं.ले धर्मपुत्र बस्नेका वावु आमा संग माग्दा नदिए स्थानिय निकायलाई साक्षी राख्ने व्यवस्था गरेको हो यदि सो भएको छैन भने प्रस्तुत मुद्दामा एकै हांगाका विष्णु राम आउनु पर्यो ऐश्वर्यराज आउन मिल्ने होइन । विष्णु राम आएका छैनन । भाइको नाती जस्को मंजुरीको कुनै औचित्य नै छैन यिनीहरुको फिराद गर्ने हक दैया नै नभएकोले फिराद खारेज गर्ने गरेको फैसला मिलेकै छ । झुठ्ठा नहोस भनेर स्थानिय निकायका सदस्य वा प्रतिनिधि साक्षी राख्नु पर्ने गरेको हो, यसै व्यवस्थालाई ध्यानमा राखी वडा समितिले सिफारिस दिएकै छ । सोही आधारमा लिखत पास भएको छ, धर्मपुत्र राख्ने वलरामको मृत्यु भई सक्यो, मृत्यु पश्चातको कार्य यी धर्मपुत्रले नै गरेका हुन तसर्थ ०४३ सालमा मात्र थाहा पाएको भन्ने कथन पनि झुठ्ठा छ, सन्तानको अर्थमा दर्शन्तान पनि हो वा होइन सो पनि विचारणीय छ, हद म्याद समेत नाघी फिराद परेकोले खारेज गरेको मिलैकै छ भनि र प्रत्यर्थी निर्मलशशी र रमादेवीका तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री पन्नामान तुलाधरले यस्मा धर्मपुत्र लिखत बदर गराउन पाउने एकै हांगाको सिताराम र विष्णु रामलाई मात्र उक्त लिखत बदर माग गर्न पाउने अधिकार छ यी वादीलाई अधिकार नभै प्रस्तुत फिराद हकदैया बिहिन छ, धर्मपुत्रको १ नं. ले तोकेको क्रमानुसारका व्यक्तिहरुसंग मंजुर लिएन भन्नलाई पनि ती व्यक्तिहरु आफै आउनु पर्दछ, यस्मा त्यस्ता व्यक्तिमा सिताराम र विष्णु राम पदर्छन् र ती हकदैया रहेका व्यक्तिहरुले फिराद नगरी चुप लागि वसेका छन् । अर्को तर्फ धर्मपुत्र लिखत बदर गराउन धर्मपुत्रको १३ नं. ले थाहा पाएको मितिले २ वर्ष भित्र नालेस गर्नुपर्दछ, यहां २०३९।३।३० मा पारित लिखत बदर गराउन धर्मपुत्र राख्ने वलरामको मृत्यु पश्चात ०४३ सालमा पर्न आएको छ, वलरामको स्वास्थ्योपचार देखि लिएर ०४२ सालमा मृत्युपश्चात निजको काज कृया समेत सुरजरामले धर्मपुत्रको हैसियतले गरेको थाहा पाउंदा पाउंदै समयमा थाहा भएन भन्न मिल्ने होइन, २०४० सालको शिलापत्रको व्यहोराले पनि वादीले सो कुरा पहिले नै थाहा पाइ सकेको छन, धर्मपुत्रको लिखतको कार्य, उद्देश्य पुरा भै सकेको छ, यस्तो अवस्थामा बदर गर्नु पर्ने अवस्था छैन, वादीमा धर्म पुत्र मलाई राखी पाउं भन्ने दावी छैन बदरको मात्र माग छ, बदर गरेर मृतकको चाहना अनुरुपको कार्य खाली राख्न मिल्ने होइन, तसर्थ यी वादीको धर्मपुत्र लिखत बदरमा नालेस गर्ने हकदैया नै नभएको हुंदा वादी दावी लाग्ने स्थिति छैन भनि मुख्य वहस जिकिर प्रस्तुत गर्नु भयो । त्यस्तै प्रत्यर्थी दूर्गा देवीभन्ने सुभद्रा माथेमाको तर्फवाट रहनु भएका विद्धान अधिवक्ता श्री हरिहर दाहालले धर्मपुत्र लिखत गैर कानुनी रुपमा राखिएको छ, एका भुडीका सन्तानमा धर्मपुत्र राख्ने माग गरेको प्रमाण आएको छैन, धर्मपुत्रको १ नं. को व्यवस्था विपरित तयार गरिएको लिखत गैर कानुनी हुंदा बदर भएमा मलाई समेत मंजुर छ भनि प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१४. आज निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा दूवैथरका कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको वहस जिकिर तथा मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा निम्न विषयमा न्याय निरोपण गर्नु पर्ने देखिन आयो ।
(क) विवादित धर्मपुत्रको लिखत रित पुर्वकको छ छैन ?
(ख) पुनरावेदक वादीले औल्याएको ने.का.प. २०५० अंक २ पृष्ठ ७७ मा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने हो वा होइन ?
(ग) प्रस्तुत विषयमा फिराद गर्ने वादीको हकदैया छ छैन, र
(३) विवादित लिखत बदर हुनु पर्ने हो होइन ?
(क) यस्मा सर्वप्रथम पहिलो (क) प्रश्न तर्फ विचार गर्दा मुलूकी ऐन धर्मपुत्रको महलको १ नं. मा धर्मपुत्र राख्दा आफु जन्मेको एकै भुडीका सन्तानमा त्यस्तो सन्तान पनि नभए एक वाजेका सन्तानमा, एक वाजेका सन्तान पनि नभए छोरीहरुको छोरामा छोरीहरुको छोरा पनि नभए जिजु वाजेका सन्तानमा, त्यस्तो सन्तान पनि नभए दिदी वहिनीका छोरामा, दिदी वहिनीको छोरा पनि नभएआफ्नो गोत्रका दाजु भाइका छोरामा राख्नु पर्छ । त्यस्ता नातेदार भएसम्म अूरु गोत्रका मानिस धर्मपुत्र राख्नु हुदैन सो क्रमानुसार अघिल्लो हुनेलाई धर्मपुत्र राख्नको निमित्त माग्दा दिएन भने सोही व्यहोराको लिखत लिई र लिखत पनि दिएन भने सम्वन्धित गाउं विकास समिति वा नगरपालिकाको सदस्या वा प्रतिनिधिलाई साक्षी राखी क्रमानुसार उस पछिकोलाई धर्मपुत्र राख्नु पर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत विवादमा मुल पुरुष सरदार हरिभक्त माथेमाका कान्छी श्रीमती पटिृका छोरा नारायण भक्त तर्फका माहिलो छोरा वलराम भक्त माथेमाको जेठी श्रीमतीको छोरी रमा देवी तर्फका जेठा छोरा निज वलराम भक्तको धर्मपुत्र रहेको देखिन आयो । जहां सम्म पुनरावेदक वादीले धर्मपुत्रको १ नं. अनुसारको क्रमका परशुराम, सिताराम, जयराम, समेतका एका भुडीका नाताका व्यक्तिहरुसंग धर्मपुत्र राख्न माग नगरेको भन्ने प्रश्न छ त्यसतर्फ हेर्दा सिताराम र जयरामका क्रमसः विष्णुराम र विजयराम एक एक जना मात्र छोरा रहेका र धर्मपुत्रको १२ नं.ले धर्मपुत्र राख्न हक पुग्ने भएपनि एउटा छोरा मात्र भएका अरु छोरा सन्तान नभएकोले सो छोरालाई धर्मपुत्र दिन र राख्नेले पनि राख्न हुंदैन दिए लिए बदर हुन्छ भन्ने व्यवस्था रहेकोले निजहरुसंग धर्मपुत्र राख्न माग गर्नु पर्ने अवस्था नै आएन भने अर्का परसुराम स्वर्गै भई सकेकोमा निजको पत्नी अर्थात धर्मपुत्र लिनेको भाउजु नाताकी श्रीमति चन्द्र भुवनेश्वरी संग निजहरुका छोरा मध्येवाट धर्मपुत्र दिन माग गर्दा दिन इन्सार गरेकोले छोरीका छोलाई धर्मपुत्र राखेको भन्ने पारित धर्मपुत्रको व्यहोरावाट पनि देखिन आएको छ । क्रमानुसारका धर्मपुत्र दिन हक अधिकार भएका व्यक्ति संग धर्मपुत्र राख्न माग नगरेको भए प्रस्तुत धर्मपुत्रको लिखत रित पुर्वक छैन, क्रम नाघी भएको छ भनि बदर वातिल गराउन निज चन्द्र भुवनेश्वरी अदालतमा जानु पर्नेमा गएको अवस्था पनि छैन । हक वालासंग माग गर्दा नदिएएकोले भनि धर्मपुत्र राख्ने विष्णुराम भक्त तत्कालिन काठमाण्डौं नगर पंचायत वडा नं. २३ मा गई सोही व्यहोराको निवेदन दिई सोही व्यहोराको निवेदन दिई सोही आधारमा प्रस्तुत विवादीत धर्मपुत्रको लिखत पास गरी दिन वडा अध्यक्ष तथा सचिवको समेत हस्ताक्षर सहितको सिफारिस मालपोत कार्यालयलाई लेखि दिएको आधारमा प्रस्तुत लिखत पास भएको व्यहोरा साविक मध्यमान्चल क्षेत्रीय अदालतमा रहेको मिति २३।३।०३९ को सिफारिसपत्रको प्रमाणीत प्रतिलिपी समेतवाट देखिन आएको छ । साक्षी राख्नु भन्नूको तात्पर्य उसको पनि जानकारीमा आवोस र तथ्यकुरा
प्रकाशमा आवोस भन्ने नै हो । स्थानिय निकायलाई पनि सम्वन्धित वडा वासीहरुका विषयमा सहीकुराको जानकारी हुने र राख्नु पर्ने भन्ने मनसायवाट विधायिककाले साक्षी राख्नु पर्ने भन्ने व्यवस्था गरेको पाईन्छ । त्यस्ता साक्षीमा वस्ने भनि तोकिएका व्यक्तिहरु कार्यालय संग सम्वन्धित हुंदा निजहरुले कहि कतै लेखि दिएको प्रमाणित गरि दिएको व्यहोरालाई अन्यथा प्रमाणित नभएसम्म सही र तथ्य परक नै मान्नु पर्ने हुंदा प्रस्तुत विवादित विषयमा गाउं विकास
समिति वा नगरपालिकाको सदस्य वा प्रतिनिधिको उपस्थिति नै नरहेको भनि मान्नु पर्ने अवस्था देखिन आएन । प्रस्तुत लिखित वेरितको छ भन्ने वादी दावी र पुनरावेदक वादी दावी र पुनरावेदक वादीको तर्फवाट रहनु भएका विद्धान कानून व्यवसायीहरुको वहस जिकिर संग यो इजलास सहमत हुन सकेन ।
(ख) अव पुनरावेदक वादीले ने.का.प. २०५० अंक २ पृष्ठ ७७ मा प्रकाशित सिद्धान्त यस मुद्दामा आकृष्ट हुने हो होइन ? त्यसतर्फ हेर्दा प्रस्तुत नजिरको विषय वस्तूमा एकै भुडीका सन्तान भाईको छोराहरु छंदा छंदै निजहरुको मंजुरी वेगर पनातीलाई धर्मपुत्रको लिखत गरी दिएको र उक्त धर्मपुत्रको लिखत गरी दिने प्रतिवादी कृष्ण नारायण कोजु समेतले उक्त धर्मपुत्र भुmक्याई गराएको भनि बदर गराउन स्वयंले जालसाजी समेतको मुद्दा दर्ता गराएको अवस्था भएवाट र हक वाला क्रमानुसार अघि पर्ने भाईका छोराहरुको उजुरी परेका अवस्था उक्त उल्लेखित पुनरावेदक, प्रतिवादी पुनलक्ष्मी कोजु समेत विरुद्ध प्रत्यर्थि वादी दूगू नारायण कोजु समेत भएको धर्मपुत्र बदर मुद्दाको अवस्था रहेको र प्रस्तुत मुद्दामा दाजु भाईका छोराहरुको फिराद नपरी भाईका छोराको छोरा अर्थात भाइको नाती अर्थात धर्मपुत्र लिने वलराम भक्तको भाई सिताराम भक्तको छोरा विष्णु रामको छोरा ऐश्वर्य रामको फिराद दावी भै उल्लेखित नजिरमा भएको विादसंग प्रस्तुत विवाद शान्दर्भिक नभै फरक देखिंदा उक्त नजिरका वर्खिलाप फैसला भएको छ भन्ने कानून व्यवसायीहरुको जिकिर र झगडीया झिकाउने इजलास संगको राय संग यो इजलास सहमत हुन सकेन उक्त उल्लेखित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन ।
(ग) यस प्रश्न तर्फ हेर्दा पुनरावेदक वादी ऐश्वर्य राम भक्त माथेमा धर्मपुत्र लिने वलराम भक्त माथेमाको भाई सिताराम भक्त माथेमाको छोरा भन्नेमा विवाद देखिदेन । एकै भुडीका अर्थात नारायण भक्तको ४ छोरा परशुराम, वलराम, सिताराम, जयराम भन्नेमा पनि विवाद छैन । परशुरामका नारायण, मेहेश, द्धारिका, वद्री श्रीराम सोभेस समेतका ६ भाई छोरा र सिताराम र जयरामका क्रमसः विष्णु र विजय राम एक एक मात्र छोरा रहेकोमा पनि विवाद छैन । धर्मपुत्रको १ नं. ले धर्मपुत्र लिन वस्न पहिलो क्रममा एकै भुडीका सन्तान रहने भन्नेमा अन्यथा भन्न मिलेन । एकै भुडीका सन्तान सिताराम र जयरामकमा एक एक छोरा भएकोले धर्मपुत्रको १२ नं. ले धर्मपुत्र दिन राख्न नमिल्ने प्रष्ट भई सकेको छ भने एकै भुडढीका सन्तामा पनि दाजु परशुरामको मृत्यु भई सकेतापनि निजको श्रमिती चन्द्र भुवनेश्वरी जिवितै रहेकी र निजहरुका तर्फवाट ६ जना छोराहरु तथा सितारामका छोरा विष्णु समेत उजुर नपरेको स्थितिमा यी धर्मपुत्र राख्ने भाईको नाती नाताका व्यक्तिलाई प्रस्तुत धर्म पुत्र बदर गराई मैले धर्मपुत्र पाउनु पर्ने भन्ने समेतका जिकिर लिई अदालत प्रवेश गर्न कानूनले सहयोग गरेको छ भनि भन्न सकिने अवस्था देखिदैन । धर्मपुत्र दिने व्यक्तिको माथि उल्लेख गरिएका नजिकका अन्य हकवाला रहेको र निजहरुले दावी लिन नआएको अवस्थामा यी पुनरावेदक वादीको हकदैया श्रृजना हुने अवस्था देखिन आएन ।
(३) यस सम्वन्धमा फिराद गर्ने हकदैया नभएको भन्ने प्रकरण (ग) मा गरिएको विवेचनावाट प्रष्ट भइसकेको छ ।
१५. तसर्थ माथि प्रकरण प्रकरणमा विवेचना गरिएको आधारमा समेतवाट पुनरावेदक वादीको फिराद दावी खारेज गर्ने गरेको शुरु काठमाण्डौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको तत्कालिन वागमति अंचल अदालतको मिति २०४५।११।१७।३ को फैसला र अनुमति प्रदान नगर्ने गरेको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको आदेश समेत मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादीको जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केशव प्रसाद उपाध्याय
इति सम्वत ०५३ साल वैशाख १८ गते रोज ३ शुभम्