निर्णय नं. ९२१३ - लागु औषध सेतो हेरोइन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
फैसला मिति : २०७१।५।११।४
०६८-CR-१०६७
मुद्दा : लागु औषध सेतो हेरोइन ।
पुनरावेदक/प्रतिवादी : इरानको मसाद भन्ने ठाउँको स्ट्रिट नं. १६, घर नं. २५७ घर भै ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा डेरा गरी बस्ने हाल कारगार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका मोहमद फैज
विरूद्ध
प्रत्यर्थी/वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार
§ कसैबाट कुनै लागु पदार्थ फेला परेमा निजले सो पदार्थ कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेस गर्नुपर्ने, पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने व्यवस्था गरी प्रमाणको भार प्रतिवादीमा राखेको देखिने ।
§ औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागु औषध बरामद भएको छ, निजले सो लागु औषध कानूनबमोजिम प्राप्त गर्न वा राख्न पाउने हो भनी तथ्ययुक्तरूपमा प्रमाणित गर्न नसकेमा सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था नहुने ।
§ उल्लिखित कानूनी व्यवस्था अनुसार आफू निर्दोष रहेको प्रमाण पुर्याउने भार प्रतिवादीमा नै निहित रहेकोमा सो अनुसार यी पुनरावेदक प्रतिवादीले तथ्ययुक्त प्रमाण प्रस्तुत गरी आफू निर्दोष रहेको कुरा प्रमाणित गर्न सकेको नपाइने ।
(प्रकरण नं. ४)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्रुतिकुमारी रेग्मी
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४, १२, १४ ।
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री भीमकुमार ओझा
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी
मा.न्या.श्री टंकबहादुर मोक्तान
फैसला
न्या.देवेन्द्रगोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :
जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा चोकबाट चौधरी ग्रुपको अफिसतर्फ जाने सानो कच्ची गल्लीदेखि पूर्व ऐ.ऐ.मा रहेको नाति महर्जनको ४ चारतले घरदेखि पश्चिम, ऐ. मा रहेको बीर महर्जनको ४ तले घरदेखि दक्षिण, ऐ. मा रहेको ढुङ्गेधारा जाने बाटोदेखि उत्तर यति चार किल्लाभित्र रहेको कान्छा महर्जनको ४ तले, दक्षिण मोहडा भएको घरको तेस्रो तलामा रहेको २ वटा कोठामा प्रवेश गरी खानतलासी गर्दा सुत्ने कोठामा रहेको काठको दराजमाथि रहेको रातो रङ्गको सिनथेटिक सुट्केस रहेकोमा सो सुट्केस खोली हेर्दा भित्र ४५० ग्राम सेतो हेरोइन र ५ हजार अमेरिकी डलर फेला परेको भन्नेसमेत व्यहोराको खानतलासी मुचुल्का ।
मिति २०६६।८।२६ गतेका दिन इरानी नागरिक मोहमद फैजको जिल्ला ललितपुर, उपमहानगरपालिका वडा नं. २ मा रहेको डेरा खानतलासी गर्दा कोठामा रहेको सुट्केसबाट ४५० ग्राम सेतो हेरोइन र ५ हजार अमेरिकी डलर बरामद गरेको उक्त बरामद लागु औषध जर्मन नागरिक एलेन भन्नेले मलाई राख्न दिएकाले मैले कोठामा राखेको हुँ । सो राखेको लागु औषध नै प्रहरीले बरामद गरेको हो । बरामद भएको ५ हजार अमेरिकी डलर मलाई मेरो बहिनी ज्वाइँ मोहमद फैजले इरानबाट पठाइदिएका हुन् । सो लागु औषध एलेन भन्नेले के कहाँबाट ल्याएका हुन् मलाई थाहा छैन भन्नेसमेत व्यहोराको अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी मोहमद फैजले गरेको बयान कागज ।
परीक्षणको लागि पठाइएको नमुनामा लागु औषध हेरोइन पाइएको छ भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको मिति २०६६।९।२८ गतेको पत्रसाथ प्राप्त परीक्षण प्रतिवेदन ।
मिति २०६६।८।२६ गतेका दिन मेरो छोराको घरमा डेरा गरी बस्ने विदेशी नागरिक मोहमद फैजको कोठा प्रहरीले खानतलासी गर्दा अवैध लागु औषध सेतो हेरोइन ४५० ग्राम र ५ हजार अमेरिकी डलर बरामद भएको हो । निज मोहमद फैजलाई म तथा मेरो छोराले लागु औषध कारोबार गर्नको लागि कोठा भाडामा दिएको होइन । निजले लागु औषधको कारोबार गर्ने गरेको कुरा म तथा मेरो छोरासमेतलाई थाहा थिएन । प्रहरी टोलीले निजको कोठाबाट अवैध लागु औषध सेतो हेरोइन र अमेरिकी डलर बरामद गरेपश्चात थाहा भयो कि निज मोहमद फैज लागु औषध कारोबार गर्ने रहेछन, त्यस्तो अवैध लागु औषधको कारोबार गर्ने व्यक्तिलाई कानूनबमोजिम हदैसम्मको कारवाही गरिनुपर्छ भन्नेसमेत व्यहोराको रत्नबहादुर महर्जनले गरेको घटना विवरण कागज ।
मिति २०६६।८।२६ गतेका दिन प्रहरीले प्रतिवादी मोहमद फैजको डेरा कोठाबाट अवैध लागु औषध सेतो हेरोइन ४५० ग्राम र ५ हजार अमेरिकी डलर बरामद गरेको हो, निज मोहमद फैज लागु औषधको कारोबारमा संलग्न रहेछन्, निजलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको हरिबहादुर खड्कासमेतले गरेको एकै मिलानको कागज ।
प्रतिवादी मोहमद फैजको कोठाबाट निषेधित लागु औषध सेतो हेरोइन ४५० ग्राम र ५ हजार अमेरिकी डलर बरामद भएको भन्ने बरामदी मुचुल्कासमेतका मिसिल संलग्न प्रमाणबाट निज प्रतिवादी लागु औषधको कारोबारमा संलग्न रहेको तथ्य पुष्टि हुन आएकोले निज प्रतिवादीको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ), (ङ), (च) र (छ) समेतको कसुर अपराधमा ऐ. ऐनको दफा १४(१) को खण्ड (छ) को देहाय (३) बमोजिम सजायको माग दावी सहितको अभियोगपत्र ।
मैले लागु औषध के हो भन्ने कुरा मैले अहिलेसम्म देखेको पनि छैन, सेवन पनि
गर्दिन । करिब १ महिनाअगाडि मेरो चिनेको साथीले आफूलाई विश्वासमा पारी मेरो कोठामा २ दिनपछाडि आउँछु भनी उसले छोडी गएको सुट्केस प्रहरीले बरामद गरी लगेको हो । सो मेरो होइन । भिसाको लागि बहिनी ज्वाइँले इरानबाट पठाइदिएको अमेरिकी डलर रू.५०००।- मेरो कोठाबाट पुलिसले लिई गएको हो । मैले अभियोग मागदावीबमोजिम कुनै पनि कसुर गरेको नहुँदा सजाय नभई सफाइ पाउनुपर्छसमेत भनी प्रतिवादी मोहमद फैजले अदालतसमक्ष गरेको बयान ।
आदेशबमोजिम वादीका साक्षी, प्रतिवेदक प्र.नि.जनार्दन जि.सि., बरामदी मुचुल्काका मानिस नवराज थपलिया, रमेश राई, बुझिएका मानिस भीमबहादुर लिम्बु, प्रेमबहादुर लिम्बुसमेतले अदालतमा आई गरिदिएको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादी मोहमद फैजको कोठामा रहेको निजको सुट्केसबाट लागु औषध सेतो हेरोइन ४५० ग्राम बरामद भएको, उक्त बरामद भएको लागु औषध आफूबाट बरामद भएको होइन भनी पुष्टि गर्ने दायित्व यी प्रतिवादीको भएकोमा मिसिल संलग्न प्रमाणबाट सो पुष्टि गर्न नसकेको अवस्थासमेतबाट प्रतिवादी मोहमद फैजले आरोपित कसुर गरेको ठहर्छ । निजलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को खण्ड (छ) को देहाय ३बमोजिम १५ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवानासमेत हुने ठहर्छ भन्ने व्यहोराको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।८।२९ को फैसला ।
जावेद इकवालसमेत प्रतिवादी भएको लागु औषध मुद्दामा मलाई लागु औषध नियन्त्रण कार्यान्वयन इकाईका कर्मचारीबाट ठमेलमा समाती मलाईसमेत प्रतिवादी बनाई अनुसन्धान गरिरहेको बखत म आफैँले देखाएको म बस्ने गरेको कोठामा फेला परेको सुट्केसबाट बरामद भएको लागु औषध र सो सुट्केससमेत मेरो नभई मेरो जर्मन साथी एलेनको हो भनी अधिकारप्राप्त तथा अदालतसमेतमा भएको सत्य साँचो व्यहोराको बयान गर्दागर्दै लागु औषध (नियन्त्रण) ऐन, २०३३ को भावनाविपरीत न्यायिक विवेक प्रयोग नगरी आरोपित कसुर गरेको ठहर गरी सजाय गरेको सुरू फैसला त्रुटिपूर्ण छ । उक्त सुट्केसमा लागु औषध छ भन्ने पूर्व जानकारी भएको भए, लागु औषधमा मेरो संलग्नता भएको भए मैले मेरो कोठा देखाउने अवस्था नै हुँदैन । तसर्थ सुरू फैसला बदर गरी झुट्ठा अभियोग दावीबाट सफाइ पाउँ भन्ने व्यहोराको मिति २०६७।१२।१५ मा पुनरावेदन अदालत, पाटनमा परेको प्रतिवादीको पुनरावेदन ।
अभियोग मागदावी अनुसार पुनरावेदक प्रतिवादी मोहमद फैज (इरानी नागरिक) लाई कसुरदार ठहर्याई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को खण्ड (छ) को देहाय (३)बमोजिम कैद वर्ष १५ (पन्ध्र) र रू. ५,००,०००।- (पाँचलाख) जरिवाना हुने ठहर्याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।८।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।२।१० को फैसला ।
पुनरावेदन अदालत, पाटनले गरेको फैसलामा चित्त बुझेन । बरामद भएको लागु औषध मेरो स्वामित्वको नभई साथीले २ दिनका लागि राखी दिनु पछि म लिएर जान्छु भनी अनुरोध गरेबमोजिम मैले राखी दिएको अवस्थामा बरामद भएको । उक्त सामान बरामद गर्दा तयार भएको बरामदी मुचुल्का गर्ने अनुसन्धान अधिकृतको बकपत्र व्यहोरा मेरो विरूद्ध आकर्षित हुन सक्ने अवस्था छैन । उक्त सामान मैले स्वेच्छाले बिक्री वितरण गर्ने उद्देश्यका साथ सञ्चय गरी राखेको भन्ने कुरा प्रमाणित हुने तथ्ययुक्त प्रमाणहरू पनि वादी पक्षले पेस गर्न सकेको छैन । यसरी म निर्दोष रहेको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भैरहेकोमा मलाई कसुरदार ठहर गरी सजाय गरेको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मोहमद फैजको यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री श्रुतिकुमारी रेग्मीले मेरो पक्षको कोठाबाट लागु औषध बरामद भए पनि सो लागु औषध निजको होइन, साथीले राख्न दिएको सुट्केसबाट बरामद भएको अवस्था हुँदा निजले अभियोग दावीबाट सफाइ पाउनुपर्दछ भनी बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम कानून व्यवसायीको बहस सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी सुरू जिल्ला अदालतले प्रतिवादीलाई कसुरदार ठहर गरी सजाय गर्ने गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के रहेछ, पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी मोहमद फैजको डेराकोठाबाट लागु औषध सेतो हेरोइन ४५० ग्राम बरामद भएको र सो कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ)(ङ)(च) र (छ) बमोजिमको कसुर अपराध हुँदा निजउपर सोही ऐनको दफा १४(१) को खण्ड (छ) को देहाय (३) बमोजिमको सजायको दावी लिई अभियोगपत्र दायर भएकोमा अभियोग दावीबमोजिमको कसुर कायम गरी निज प्रतिवादीलाई कैद वर्ष १५ र रू.५ लाख जरिवाना हुने ठहर्याई सुरू ललितपुर जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालत, पाटनबाट सदर भएको र सो फैसलाउपर यी प्रतिवादी मोहमद फैजको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. मिसिल अध्ययन गरी हेर्दा, यी पुनरावेदक प्रतिवादी इरानी नागरिक रहेका र निजले भाडामा लिएको जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपामा रहेको कान्छा महर्जनको घरको कोठामा रहेको सुट्केसबाट ४५० ग्राम सेतो हेरोइन र रू.५ हजार अमेरिकी डलर बरामद भएको भन्ने बरामदी मुचुल्काबाट देखिन्छ । निज प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा उक्त बरामदी लागु औषध सेतो हेरोइन मलाई मेरो साथी जर्मन नागरिक एलेन भन्नेले १/२ दिनमा लिएर जान्छु भनी राख्न दिएकाले मैले राखिदिएको हुँ, बरामद, भएको सुट्केस मेरो आफ्नै हो भनी बयान गरेको देखिन्छ । उक्त बरामद भएको भनिएको लागु औषध हेरोइन हो भनी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनबाट देखिएको छ । निजले अदालतमा बयान गर्दा पनि जर्मन नागरिक एलेन भन्नेले २ दिनपछि आउँछु, यो ब्याग राखिदिनु भनी साँचो लगाई छाडेको ब्याग नै प्रहरीले बरामद गरी लिएर गएको हो, उक्त लागु औषध सेतो हेरोइन मेरो होइन भनी बरामदी व्यहोरा स्वीकार गरी सो बरामद लागु औषध तेस्रो व्यक्ति को हो भनी जिकिरसम्म लिएको देखिन्छ ।
४. अब उक्त बरामदी लागु औषध आफ्नो नभएको, जर्मन साथीले २ दिनपछि लिन आउँछु भनी राख्न दिएकाले राखिदिएकोसम्म हो, आफूले राखिदिएको उक्त वस्तु लागु औषध नै हो भन्ने कुरा थाहा नभएको हुँदा आफू निर्दोष रहेकोले सफाइ पाउनुपर्दछ भनी यी प्रतिवादीले यस अदालतमा लिएको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, यी पुनरावेदक प्रतिवादीले दावीको लागु औषध हेरोइन आफ्नो डेरा कोठाबाट बरामद भएको कुरा अनुसन्धान र अदालतमा समेत बयान गर्दा स्वीकार गरी उक्त बरामदी लागु औषध आफ्नो नभई साथीले राख्न दिएकाले राखिदिएको भनी जिकिरसम्म लिएको देखिन्छ । निजको अदालतसमक्षको बयानबाट नै निजको कोठाबाट लागु औषध बरामद भएको देखिन आएको र सो कुराको पुष्टि उल्लिखित बरामदी मुचुल्का तयार गर्ने प्रहरी निरीक्षक जनार्दन जि.सि. ले बरामदी व्यहोरालाई समर्थन हुने गरी अदालतमा उपस्थित भै गरिदिएको बकपत्रबाटसमेत हुन आएको देखिन्छ । अब जहाँसम्म उक्त बरामद भएको लागु औषध मेरो नभई साथीको हो भन्ने जिकिर छ तत्सम्बन्धमा विचार गर्दा, जुन साथीको लागु औषध हो भनिएको छ सो व्यक्तिको यकिन पहिचान नै निजले दिन नसक्नुका साथै लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा कुनै व्यक्तिको साथमा
कुने लागु औषध भएको फेला परेमा ... त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेस गर्नुपर्नेछ । त्यस्तो प्रमाण पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ भन्ने कानूनी व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्था अनुसार कसैबाट कुनै लागु पदार्थ फेला परेमा निजले सो पदार्थ कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेस गर्नुपर्ने, पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने व्यवस्था गरी प्रमाणको भार प्रतिवादीमा राखेको देखिन्छ । लागु औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागु औषध बरामद भएको छ, निजले सो लागु औषध कानूनबमोजिम प्राप्त गर्न वा राख्न पाउने हो भनी तथ्ययुक्तरूपमा प्रमाणित गर्न नसकेमा सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था हुँदैन । यसरी उल्लिखित कानूनी व्यवस्था अनुसार आफू निर्दोष रहेको प्रमाण पुर्याउने भार प्रतिवादीमा नै निहित रहेकोमा सो अनुसार यी पुनरावेदक प्रतिवादीले तथ्ययुक्त प्रमाण प्रस्तुत गरी आफू निर्दोष रहेको कुरा प्रमाणित गर्नसकेको पाइएन ।
५. अतः माथि प्रकरणप्रकरणमा उल्लेख भएबमोजिम दावीको लागु औषध आफूबाट बरामद भएको कुरा यी पुनरावेदक प्रतिवादीले स्वीकार गरेका र सो लागु औषध निजले कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण प्रस्तुत गरी आफ्नो निर्दोषिता प्रमाणित गर्न नसकेको हुँदा सुरू ललितपुर जिल्ला अदालतले कसुरको मात्रा र परिमाणसमेतलाई दृष्टिगत गरी अभियोग दावीबमोजिम कसुर कायम गरी यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्नेगरेको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८।२।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई नियमानुसार मिसिल बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.गोविन्दकुमार उपाध्याय
इति संवत् २०७१ साल भदौ ११गते रोज ४ शुभम् ।
इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली