निर्णय नं. ६२७९ - अंश दपोट ।

निर्णय नं. ६२७९ ने.का.प.२०५३ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
संवत २०५१ सालको दे.वि.नं. ......... १५६,१५७
फैसला मितिः २०५३।८।५।४
मुद्दाः अंश दपोट ।
विन्तिपत्रवाला
प्रतिवादीः नारायणी अंचल मकवानपुर जिल्ला हे.न.पा. वा.नं.४ वस्ने शेर वहादुर श्रेष्ठ समेत जम्मा २ ।
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ.वस्ने गोपाल बहादुर श्रेष्ठ समेत जम्मा २ ।
§ विर्ता उन्मूलन ऐन, २०१६ ले विर्ता उन्मुलन गरी (क) विर्ताको जग्गा मोहीको नाममा दर्ता हुने व्यवस्था गरे अनुरुप प्र.मिथिला देवीका नाउंमा उक्त जग्गा दर्ता भएको देखिन आउंछ । विर्ता उन्मुलन ऐन, २०१६ लागु भएको वखत प्रतिवादी मिथिला देवी श्रेष्ठ ६ वर्ष की नावालिका रहेको कुरा निजको प्रतिउत्रर पत्रमा उल्लेखित उमेरवाट देखिन आएकोले निज प्र.मिथिला देवीले आफ्नो ज्ञान, शीप वा प्रयासवाट विवादको जग्गा आर्जन गरेको भन्ने देखिन नआउने ।
(प्र.नं.१५)
§ प्रतिवादी मिथिला देवीको स्व. आर्जनको नदेखिएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ वमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने हुन आउंछ ।
(प्र.नं.१५)
विन्तिपत्रवाला तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री वासुदेव शर्मा र श्री गणेश प्रसाद खरेल ।
विपक्षी तर्फवाटःविद्धान अधिवक्ता श्री श्याम प्रसाद खरेल
अबलम्वित नजीरः
फैसला
न्या.कृष्णजंग रायमाझीः तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर इन्साफ मिलेको देखिन नआए इन्साफ जांच गरि दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारवाट हुकुम प्रमाङी भै म.क्षे.अ.वाट भएको फैसला उपर इन्साफ जांचका लागि निस्सा भएको उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः
२. विपक्षी शेर वहादुरसंग अंश मुद्दा परी चार भागको १ भाग अंश पाउने ठहरी मकवानपुर जिल्ला अदालतवाट मिति ०३८।२।१३ मा नारायणी अंचल अदालतवाट मिति ०३९।१।२२ मा अन्तिम फैसला भएको छ । उक्त मुद्दामा विपक्षीले तायदाती दिंदा शेर वहादुरको छोरी मिथिला देवीको नाउंमा रहेको साविक कि.नं. २५ हाल कि.नं. ८५, ८८, ८९८७, १०८१, १०८६, १०८७ का कित्ता जग्गाहरु दपोट गरेकोले अंशवण्डाको २७ नं. वमोजिम दपोट कायम गरि एकलौटी मलाई दिलाई पाउं भन्ने समेत व्यहोराको गोपाल वहादुर श्रेष्ठको फिराद दावी ।
३. फिराद दावी झुठृा हो । फिराद दावीका जग्गा कित्ताहरु साविक कि.नं. २५ को मेरो एकलौटी हक भोगको हो । उक्त जग्गाको प्रमाण पुर्जा मैले अदालतको फैसला वमोजिम प्राप्त गरेकी छु । पिताले मेरो नाउंमा खरिद गरी दिनु भएको पनि होइन । मेरा आफुखुस गर्न पाउने सम्पत्ति हुंदा फिराद दावा खारेवज गरिपाउं भन्ने समेत व्यहोराको प्र.मिथिला देवीको प्रतिउत्तर पत्र।
४. दावी बमोजिम दपोट गरेको छैन, स्त्री अंश धनको १ नं. अन्तर्गत पर्ने कन्याको आर्जनको जग्गा म शेर वहादुरले तायदातीमा दिन नमिल्ने भएवाट तायदातीमा उल्लेख नगरेको हुं, फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको शेर वहादुरको प्रतिउत्तर पत्र ।
५. दावीको जग्गा प्रतिवादी मिथिला देवीको एकलौटी सम्पत्ति देखिएबाट वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको मकवानपुर जिल्ला अदालतको फैसला ।
६. शुरु जिल्ला अदालतवाट वादी दावी नपुग्ने ठहर गरी भएको फैसलामा चित्त वुझेन, वादी दावी वमोजिम गरि पाउं भन्ने समेत व्यहोराको वादीको नारायणी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
७. अंश दापोट गरेको भनी वादी दावी लिन पाउने अवस्था नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर गरेको मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको हुने ठहर्छ भन्ने समेत व्यहोराको तत्कालिन नारायणी अंचल अदालतको मिति ०४५।३।११ को फैसला ।
८. शुरु मकवानपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको नारायणी अंचल अदालतको फैसलामा न्या.प्र.सु.ऐन २०३१ को दफा १३(४) को खण्ड (ख) (ग) (३) (ङ) का अवस्था विद्यमान हुंदा पुनरावेदनको अनुमती प्रदान भई इन्साफ पाउं भन्ने समेत व्यहोराको वादीको तत्कालिन म.क्षे.अ.मा परेको निवेदन ।
९. विवादीत जग्गा (क) विर्ताको जग्गा भै मोहीका नाउंमा दर्ता भए अनुसार मिथिला देवीका नाउंमा उक्त जग्गा आएको देखिन्छ । स्त्री अंश धनको १ नं. वमोजिम हुनलाई कन्या, सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जन गर्नु पर्ने भन्ने कानूनी व्यवस्था भै रहेको र मिथिला देवी सगोलमा रहेको अवस्थामा उक्त जग्गा निजको नाउंमा भएको दर्ता देखिंदा मिथिला देवीको स्व आर्जनको जग्गा भन्ने प्रमाण प्रतिवादी पक्षले पुर्याउन सकेको देखिएन ।यस्तो स्थितिमा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको सदर गरेको नारायणी अंचल अदालतको फैसलामा न्या.प्र.सु.(संसोधन सहित) ऐन, ०३१ को दफा १३(४) (३) अन्तर्गतको प्रमाण मुल्याकंन सम्वन्धी त्रुटि विद्यमान रहेको पाइएकोले पुनरावेदनको लागी अनुमति प्रदान गरिएको छ । नियम वमोजिम गरी पेश गर्नु भन्ने मध्यमान्चल क्षेत्रीय अदालत एक न्यायाधीशको इजलासवाट भएको मिति ०४५।१२।२ को आदेश ।
१०. नारायणी अंचल अदालतवाट अंश मुद्दा फैसला हुंदा वादी गोपाल वहादुर श्रेष्ठका छोरा र छोरीका नाउंमा कि.नं. २६ र २७ समेतका जग्गाहरुवाट प्रतिवादी शेर वहादुरले ४ भागको १ भाग अंश पाएकोले सोही सरह दर्ता साविक कि.नं. २५ छोरी मिथिला देवीको दर्ताको जग्गा प्रतिवादी शेर वहादुरले तायदातीमा उल्लेख नगरेको र प्रतिउत्तर जिकिर वमोजिम स्त्री अंश धनको भनी प्रमाणद्वारा पुष्टी गर्न सकेको समेत नदेखिंदा विवादित जग्गा वादी दावी वमोजिम अंश दपोट ठहर्याउनु पर्नेमा शुरु मकवानपुर जिल्लाले दपोट नठहर्ने भनी गरेको फैसलालाई नारायणी अंचल अदालतले सदर गरेको फैसला त्रुटिपुर्ण हुंदा दुवै फैसला उल्टी भई वादी दावी वमोजिम दपोट गरेको ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको २०४६।८।१२ को फैसला ।
११. जिल्ला अंचलको फैसला उल्टी गरेको म.क्षे.अ.को फैसला अंश वण्डाको २०,२१,२२,२३ र २७ प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि विद्यमान भएकोले श्री स.अ.वाट इन्साफ जांच गरि दिनु भन्ने हु.प्र.वक्स भै न्याय पाउं भन्ने समेत व्यहोराको शेर वहादुर श्रेष्ठका हकमा र आफ्नो हकमा समेत मिथिला देवी श्रेष्ठले श्री ५ महाराजाधिराज सरकार जुनाफमा चढाएको मिति ०४६।१०।२ को र मिति ०४७।३।१४ को विन्तिपत्र ।
१२. यसमा वादीलाई मेकर्ण विक्रमको क विर्ता भई मोहीका नाताले कि.नं. २४,२५ मिथिला र राधिकाका नाउंमा दर्ता हुन आएको कुरा वादीलाई थाहा जनक भइ रहेको देखिन्छ । यस्तोमा अंश दपोट गरेको भनी म.क्षे.अ.वाट ठहर फैसला गरेको इन्साफ जांच्दा मिलेको देखिन नआएकोले छलफलमा विपक्षीलाई झिकाइ नियम वमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको २०५१।८।१६ को छुटृा छुट्टै आदेश ।
१३. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा विन्तीपत्रवाला प्रतिवादीका तर्फवाट उपस्थित हुनु भएका विद्धान वरिष्ठ अधिवक्ता द्वय श्री वासुदेव ढूंगाना र श्री गणेशराज शर्माले अंश मुद्दामा तायदाती दिंदा हाम्रो पक्ष शेर वहादुरको छोरी मिथिलाको नाउंमा रहेको विवादको जग्गा स्त्री अंश धनको १ नं. ले वण्डा नलाग्ने हुंदा तायदातीमा नदिएको स्थिति छ, विवादको सम्पत्ति पुर्खौली सम्पत्ति नभएकोले वण्डा नलाग्ने भै तायदातीमा नखूलाएकोमा दपोट हुने अवस्था हुदैन, त्यसैगरी विवादको सम्पत्ति मिथिलाको नाउंमा रहेको तथ्य वादीलाई अघि देखि नै थाहा भएको देखिएको छ, दपोट नै ठहरिएको अवस्थामा पनि मिथिला शेर वहादुरको छोरी भएकोले अन्य प्रतिवादीको हकमा समेत दपोट ठहराउन मिल्दैन, अतः मध्यमान्चल क्षेत्रिय अदालतको इन्साफ नमिलेकाले उल्टी गरी पाउं भनी र विपक्षी वादीका तर्फवाट उपस्थित विद्धान अधिवक्रा श्री श्याम प्रसाद खरेलले मिथिला ०१६ सालमा ६ वर्षको मात्र भएको प्रतिउत्तर समेतवाट देखिएकोले नावालिखको नाउंको जग्गा स्त्री अंश धनको १ नं. अनुरुप वण्डा नलाग्ने अवस्थाको भन्न मिल्दैन, ०१८ साल चैत्र मसान्त मानो छुटिृएको मिति अंश मुद्दामा कायम भएकोले सो पछिको व्यवहार मेरो पक्षलाई थाहा हुने कुरा भएन, विवादको कि.नं. २५ को जग्गा मिथिलाको नाममा रहेको वादीलाई थाहा भएकोले वण्डा लाग्ने सम्पत्ति भए वादीले तायदातीमा दिन सक्नु पर्थ्यो भनी अर्थ गर्न मिल्दैन, अंश मुद्दामा अन्य प्रतिवादीहरु समेतले संयुक्त रुपमा तायदाती दिएको र विवादको सम्पत्तिको तायदाती नदिएको हुंदा प्र.मिथिला प्र.शेर बहादुरको छोरी भए पनि सवै प्रतिवादीहरुले दपोट गरेको देखिएको छ अतः मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ कानून र न्याय संगत भएकोले कायमै राखी पाउं भनी वहस प्रस्तुत गर्नुभयो ।
१४. तत्कालिन मध्यमान्चल क्षेत्रिय अदालतको फैसला उपर इन्साफ मिलको देखिन नआए इन्साफ जांच गरीदिनु भन्ने श्री ५ महाराजाधिराज सरकारवाट हुकुम प्रमाङी भै यस अदालतवाट इन्साफ जांचका लागि निस्सा भएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गर्दा तत्कालिन मध्यमान्चल क्षेत्रिय अदालतको इन्साफ मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. यसमा अंश लाग्ने जग्गा अंश मुद्दामा तायदाती नदिई आफ्नो छोरी मिथिलाको नाउंमा साविक कि.नं. २५ को जग्गा राखी लुकाई दवाई खाएको हुंदा अंश वण्डाको २० नं. वमोजिम दपोट कायम गरी एकलौटी मलाई दिलाई निजको नाउंको दर्ता बदर गरी मेरा नाउंमा दर्ता गराई चलन समेत चलाई पाउं भन्ने वादीको मुख्य दावी भएकोमा छोरी मिथिला देवी श्रेष्ठले मोहीको हैसियतले भोग चलन गरी आएकीमा विर्ता उन्मूलन ऐन, २०१६ को कानूनी व्यवस्था पश्चात् निजको नाउंमा दर्ता हुन आएको जग्गा स्त्री अंश धनको १ नं. भित्र पर्ने सम्पत्ति भएकाले अंशियारका अंश भाग लाग्ने जग्गा अंश मुद्दामा तायदाती नदिई छोरीको नाममा लूकाई दवाई खाएको भन्ने फिराद दावा झुठृा हो भन्ने प्रतिवादी शेर वहादुरको प्रतिवाद रहेको देखिन्छ । सर्व प्रथम विवादको प्रतिवादी मिथिलाको नाउंमा रहेको साविक कि.नं. २५ को जग्गा वण्डा लाग्ने सम्पत्ति हो होइन तथा तायदातीमा दिन पर्ने सम्पत्ति हो, होइन भन्ने तर्फ विचार गर्दा साविक कि.नं. २५ को जग्गा मे.क.कर्ण विक्रम शाह जग्गावाला र मोही मिथिला देवी श्रेष्ठ भै (क) विर्तामा रहेको कुरा पेश भएको विर्ता विवरणवाट देखिन्छ । विर्ता उन्मुलन ऐन, २०१६ ले विर्ता उन्मूलन गरी (क) विर्ताको जग्गा मोहीको नाममा दर्ता हुने व्यवस्था गरे अनुरुप प्र.मिथिला देवीका नाउंमा उक्त जग्गा दर्ता भएको देखिन आउंछ । विर्ता उन्मुलन ऐन, २०१६ लागु भएको वखत प्रतिवादी मिथिला देवी श्रेष्ठ ६ वर्ष की नावालिका रहेको कुरा निजको प्रतिउत्तर पत्रमा उल्लेखित उमेरवाट देखिन आएकोले निज प्र.मिथिला देवीले आफ्नो ज्ञान, शीप वा प्रयासवाट विवादको जग्गा आर्जन गरेको भन्ने देखिन आउंदैन । यथास्थितिमा विवादित जग्गामा प्र.मिथिला देवी श्रेष्ठले स्त्री अंश धनको १ नं. को व्यवस्था अनुरुप आफ्नो आर्जनको आफुखूस गर्न पाउने सम्पत्ति मान्न मिल्ने देखिएन । यसरी प्रतिवादी मिथिला देवीको स्व आर्जनका नदेखिएको अवस्थामा प्रमाण ऐन, २०३१ का दफा ६ वमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने हुन आउंछ । त्यसैगरी अंश मुद्दाको फैसलाको तपसिल खण्डमा उल्लेखित तायदाती विवरण वाट वादीले प्रतिवादीहरुले भन्दा अघि मिति २०३७।६।३ मा तायदाती विवरण पेश गर्दा मिथिला देवी श्रेष्ठका नाउंमा (क) विर्तामा रहेको सरहको छोरा ध्रूव वहादुर श्रेष्ठ र छोरी विद्या देवी श्रेष्ठको नाउंको (क) विर्ताको जग्गा तायदातीमा उल्लेख गरेको र सो जग्गाहरु समेत वण्डा लागेको देखिन्छ । यसरी वादीका छोरा र छोरीका नाउंमा रहेको (क) विर्ताको जग्गा वादीले अंश मुद्दामा तायदाती दिंदा खूलाएको र यी जग्गाहरु वण्डा समेत लागेको देखिन आएको अवस्थामा सोही अनुरुपको प्रतिवादी शेर वहादुर श्रेष्ठको छोरी मिथिला देवी श्रेष्ठको नाउंमा रहेको (क) विर्ताको उक्त कि.नं. २५ को जग्गा वण्डा नलाग्ने सम्पत्ति हो भन्न सक्ने देखिएन । अन्य कुरामा मानो छुटृीएको मिति २०१८ साल चैत्र मसान्त कायम भएकोले सो भन्दा अघि सगोलमा रहेका प्रतिवादी शेर बहादुर श्रेष्ठको छोरी मिथिला श्रेष्ठको नाउंमा रहेको वण्डा गर्नु पर्ने विवादको कि.नं. २५ को जग्गा तायदातीमा उल्लेख गर्नु पर्ने नै देखिन आयो ।
१६. अव विवादको जग्गा दपोट गरेको हो होइन र वादीले के कति जग्गा पाउने हो भन्ने तर्फ विचार गर्दा वण्डा गर्नुपर्ने विवादको कि.नं. २५ को जग्गा प्रतिवादीहरुवाट मिति २०३७।९।१२ मा तायदाती पेश गर्दा उल्लेख गरेको नदेखिएकोले वण्डा लाग्ने सो सम्पत्ति एकलौटी खाने नियतबाट तायदातीमा नदिई दवाई छुपाई दपोट गरेको देखियो । अंश वण्डाको २७ नं. मा दवाए छपाएको छैन भनी कागज गरिसकेपछि दवाए छपाएको ठहर्यो भने त्यो धनमाल दवाउनेले पाउदैन, नदवाउने अरु अंशियारले ऐन वमोजिम अंश गरी खान पाउंछन् भन्ने व्यवस्था भएको र अंश मुद्दामा अंशियार देखिई प्रतिवादीरहेका शेर वहादुर, भक्त वहादुर, गणेश वहादुर मध्ये प्रतिवादी शेर वहादुरलाई मात्र प्रतिवादी वनाई प्रस्तुत मुद्दाको फिराद वादीले दिएको देखिंदा वादीले दावी नै नलिएका अंश मुद्दामा प्रतिवादीहरु भक्त वहादुर, र गणेश वहादुरले प्रस्तुत मुद्दामा दवाई छुपाई दपोट गरेको ठहराउन नमिली प्रतिवादी शेर व.श्रेष्ठले सम्म वण्डा गर्नुपर्ने विवादको कि.नं.२५ को जग्गा तायदातीमा नदिई दवाई छुपाई दपोट गरेको देखियो । अंश मुद्दाका अन्य प्रतिवादीहरु भक्त व. र गणेश बहादुर उपर दपोटमा वादीको दावी नै नभएकोले विवादको सम्पत्ति अंश वण्डाको २७ नं. ले ३ वण्डा लाग्ने अवस्थाको हुंदा विवादको कि.नं. २५ को सम्पुर्ण जग्गा वादीले पाउने देखिन आएन । तसर्थ विवादको कि.नं. २५ को ३ भागको एकभाग वादीले पाउनेमा दपोट ठहराई कि.नं. २५ को सम्पुर्ण जग्गा वादीले पाउने गरेको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठर्हछ । वादीले विवादको कि.नं. २५ को घ भागको एक भाग सम्म पाउने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी भै कि.नं. २५ को ३ भागको एक भाग सम्म वादीले पाउने ठहरेकाले तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।८।१२ को फैसलाले राखेको तपसिलको दफा १(एक) को लगत कटृा गर्नु भनी र वादी गोपाल वहादुर श्रेष्ठले साविक कि.नं. २५ को जग्गावाट हाल सर्भे हुंदा हे.न.पा. वार्ड नं. ५ को कि.नं. ८५ जग्गा विगाहा ०-८-४.१/२ को मुल्य रु.१०० पर्ने कित्ता १, कि.नं. ८८ को जग्गा ०-६-६.१/२ को मुख्य रु. ७५। पर्ने कित्ता १, कि.नं. ८९ को जग्गा ०-९-१८ को मुल्य रु. ११०। पर्ने कित्ता १, कि.नं. ८७ को जग्गा १-८-७.१/२ को मुल्य रु.५००। पर्ने कित्ता १,कि.नं. १०८१ को जग्गा ०-१-८.१/२ को मुल्य रु.५०। को कित्ता १, कि.नं. १०८६ को जग्गा ०-१६-१३.१/२ को मुल्य रु. ३००। पर्ने कित्ता १, कि.नं. १०८७ को जग्गा ०-४-१६ को मुल्य रु.२००। पर्ने कित्ता १ समेत को जग्गाहरु ३ भाग लगाई एक भाग छुटृर्याई मेरा नाउंमा दर्ता गराई चलन समेत चलाई पाउं भनी कानूनका म्याद भित्र दरखास्त गरेमा साविक कि.नं. २५ हाल सर्भेवाट कायम भएका उक्त कि.नं. का जग्गाहरु असल कमसल मिलाई ३ भाग लगाई छुट्यार्ई पाउने वादीवाट सयकडा अढाईका दरले दस्तुर लिई वादीले पाउने एक भाग कानून वमोजिम छुट्याई चलन समेत चलाई दिनु र यसरी वादीको भागमा पर्न आएको जग्गा निज वादीको नाउंमा दर्ता गरिदिनु भनी सम्वन्धित कार्यालयमा लेखि पठाईदिनु भनी शुरु मकवानपुर जिल्ला अदालतमा लेखि पठाई दिनु...१
माथि इन्साफ खण्डमा लेखिए वमोजिम हुने ठहरेकाले तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४६।८।१२ को फैसलाले प्रतिवादीहरुवाट वादीलाई कोर्ट फि भराउन राखेको लगत कटृा गरी वादीले शुरु जिल्ला अदालतमा राखेको कोर्ट फि रु. ८६।७५ मध्ये कोर्ट फि रु. २८।९१ नारायणी अंचल अदालतमा राखेको कोर्ट फि रु.१३।२५ मध्ये कोर्ट फि रु. ४।४१ र मध्यमान्चल क्षेत्रीय अदालतमा राखेको कोर्ट फि रु. १३।२५ मध्ये कोर्ट फि रु.४।४१ समेत जम्मा कोर्ट फि रु. ३७।७३ प्रतिवादीहरुवाट भरी पाउने हुंदा उक्त कोर्ट फि प्रतिवादीहरुवाट भराई पाउं भनीवादी गोपाल वहादुर श्रेष्ठले कानूनका म्याद भित्र दरखास्त गरेमा प्रतिवादीवाट यस अदालतमा दाखिल भै धरौटी रहेको कोर्टफि रु. ११३।२५ वाट उक्त कोर्ट फि रु. ३७।७३ निज वादीलाई कानून वमोजिम भराई दिनु भनी शुरु मकवानपुर जिल्ला अदालतमा लेखि पठाई दिनु.............. २
माथि इन्साफ खण्डमा लेखिए वमोजिम हुने ठहरेकाले यस अदालतवाट इन्साफ जांच गर्नका लागि निस्सा भए पश्चात मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाले प्रतिवादीहरुवाट वादीले भरी पाउने गरेको कोर्ट फि. रु. ११३।२५ प्रतिवादीहरुले दाखिल गरी धरौटी रहेको देखिंदा तपसिलको दफा २ वमोजिम वादीले प्रतिवादीहरुवाट भराई पाउने भएको कोर्ट फि ३७।७३ कटृा गरि वांकी रहन आउने धरौटी कोर्टफि रु.७५।५२ फिर्ता पाउंभनी प्रतिवादीहरु शेर वहादुर श्रेष्ठ र मिथिला देवी श्रेष्ठले कानूनका म्याद भित्र दरखास्त गरेमा निजहरुलाई कानून वमोजिम फिर्ता दिनु भनी र यस अदालतवाट इन्साफ जांच गर्नका लागि निस्सा भए पश्चात प्रतिवादीहरुले यस अदालतमा दाखिल गरेको कोर्टफि रु.८।६७ मध्ये कोर्ट फि रु. २।८९ वादी गोपाल वहादुर श्रेष्ठवाट भराई पाउं भनि वादीको यसै सरहदको जेथा देखाई कानूनका म्याद भित्र प्रतिवादीहरुले दरखास्त गरेमा कानून वमोजिम भराई दिनु भनी शुरु मकवानपुर जिल्ला अदालतमा लेखि पठाई दिनु........३
मिसिल नियमानुसार गरी वुझाई दिनु.........४
उक्त रायमा म सहमत छु ।
न्या.राजेन्द्रराज नाख्वा ।
इति संवत २०५३ साल मंसिर ५ गते रोजे ४ शुभम ।