शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७२५ - कर्तव्यज्यान

भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२

ने.का.प. २०६८,           अङ्क १२

निर्य नं. ८७२६

 

सर्वच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

फौ.पु.नं. ०६५–CR–०१६७

फैसला मितिः २०६८।९।५

मुद्दा : कर्तव्य ज्यान 

 

पुनरावेदक वादीः डिलबहादुर सुनारको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः रुपन्देही जिल्ला, सेमलर गा.वि.स. वार्ड नं.४ बस्ने मनकुमारी नेपाली समेत

 

शुरु फैसला गर्ने :

मा.न्या.श्री हरिप्रताप के.सी.

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री जगदीश शर्मा पौडेल

मा.न्या.श्री शारदाप्रसाद घिमिरे

 

§  अभियोगमा कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी वैज्ञानिक परीक्षणले स्थापित गरेको तथ्यभन्दा बाहिर गएर मौखिक कथनका भरमा कसैलाई दोषी किटान गर्न नमिल्ने 

(प्रकरण नं.५)

§  कसैले कसैलाई हत्या गरेको भनिएको अवस्थामा हत्या भएको भनिएका व्यक्तिको शव नै सबैभन्दा ठूलो प्रमाणका रुपमा रहन्छ । शव फेला परेको अवस्थामा मृत्यु अघि (Post Mortem) र मृत्यु पछि (Ante mortem) का घाउ चोटहरू र अवस्था समेतको परीक्षण गर्न सकिने र त्यसले मृतकको मृत्युको कारणका बारेमा यथार्थ जानकारी प्राप्त हुने अवस्था रहन्छ । शव फेला पर्न नसकेको अवस्थामा हत्याको अभियोग लागेका व्यक्तिले के कसरी र कहिले हत्या गरेको हो भन्ने तथ्य अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्ने दायित्व वादी पक्षले वहन गर्नुपर्ने 

(प्रकरण नं.७)

§  कुनै व्यक्ति विशेषको अप्रमाणित कथनलाई नै सर्वोत्तम प्रमाण मानेर अनुसन्धान कार्यलाई त्यत्तिमै सीमित राख्ने हो भने सत्य कहिल्यै उदघाटित नहुने अवस्थाको सिर्जना हुन जाने 

§  सुनी थाहा पाएको भन्ने जस्ता अत्यन्त कमजोर प्रमाणलाई आधार बनाएर अन्य प्रमाणको खोजी नगर्ने हो भने अनुसन्धानको कुनै अर्थ रहँदैन र त्यसले अपराध र अपराधीका बारेमा सत्य तथ्यको खुलासा गर्न पनि नसकिने 

(प्रकरण नं.८)

§  कसैलाई दोषी ठहर्‍याउन वयानलगायतका मौखिक प्रमाणबाहेकका अन्य स्वतन्त्र प्रमाणहरूको सृंखला जोडिनु पर्दछ र प्रमाणहरूको मालाकार कडीबाट त्यस्तो वयान व्यहोरा समर्थित नहुँदासम्म साविती वयानले कुनै प्रामाणिक महत्व राख्दैन भन्ने कुरालाई अनुसन्धान र अभियोजन पक्षले बुझ्नु जरुरी हुने 

(प्रकरण नं.९)

§  कुनै व्यक्ति हराएकै आधारमा निजको हत्या भएको निष्कर्ष निकाल्दा भोलि त्यो व्यक्ति जीवितै समाजमा फर्केर आयो भने समस्त न्याय नै कलंकित हुन पुग्दछ । नौ जना अपराधी छुटे पनि एकजना निरपराधी पनि सजायको भागी नहोस् तथा शंकाको लाभ अभियुक्तले पाउँछ भन्ने मान्यताको अनुयायी कानूनी प्रणालीमा शवको प्रत्यक्षीकरण बिना कर्तव्य ज्यानको अभियोगमा कसैलाई सजाय गर्दा अत्यन्त सतर्कता अपनाउन पर्ने 

§  पानीमा बगाइएको र आगोले डढाइएको जस्ता विषम परिस्थितिमा लास फेला नपर्न पनि सक्दछन् । लाशको अवशेष समेत लोप गराउने अभियुक्तको भगीरथ प्रयत्न पनि हुन सक्दछ । तर यस्ता क्रियाकलाप भएको वादीले पुष्टि गर्न सक्नुपर्ने 

(प्रकरण नं.१०)

§  सावितीमा अभिव्यक्त तथ्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन त आवश्यक छ नै, ती स्वाभाविक र मानव आचरण अनुकूल पनि देखिनु पर्ने 

(प्रकरण नं.११)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

            न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१३ को फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

            मिति २०६२।८।२८ गते मेरो भाई चन्द्रबहादुर सुनार घरबाट निस्की हिँडेको, घरमा फर्की नआएकोले खोजतलास गर्दै रहेको अवस्थामा खड्कबहादुर नेपाली र मनकुमारी नेपालीले भाईलाई कर्तव्य गरी मारी मल्खादमा गाडेका छन्भ भन्ने कुरा खुल्न आएको हुँदा निजहरूलाई समेत दाखिला गरेको छु, कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको डिलबहादुर सुनारको जाहेरी दरखास्त 

            २०६२ सालको मंसिर महिनाको अन्तिम हप्तातिर चन्द्रबहादुर सुनार मेरो घरमा आई खाटमा सुतेका थिए । खड्कबहादुर नेपाली र मनकुमारी नेपाली घरबाहिर गएका थिए । राति आई खड्कबहादुर नेपालीले चन्द्रबहादुर सुनारलाई समाई मलाई जेल हाल्ने यही हो भन्दै कुटपीट गर्न थाले । मनकुमारी नेपालीले पनि कुटपीट गर्ने र यसलाई मार् भन्दै रहिन्, लतार्दै आँगनमा लगी कुटपीट गरे । मैले नपिट भन्दा ज्यान मारी दिन्छौं भनी धम्काए । निज चन्द्रबहादुर सुनारलाई कुटपीट गरी मारी मल्खादमा लगी गाडेका हुन् भन्ने समेत व्यहोराको बसन्ती नेपालीको कागज 

            २०६२ साल मंसिर महिनाको अन्तिम हप्तामा हो, चन्द्रबहादुर सुनार ससुरा खड्कबहादुर नेपालीको घरमा आई सुतेका थिए । बसन्ती नेपाली घरमा थिइन् । खड्कबहादुर नेपाली र मनकुमारी नेपाली गाउँमा गएका थिए । निजहरू राति आई चन्द्रबहादुर सुनारलाई कुटपीट गरी आँगनमा ल्याए । खड्कबहादुर नेपालीले यसले गर्दा म जेलमा परेको हुँ भन्ने र मनकुमारी नेपालीले यसलाई मार्ने हो भन्दै लात्ताले हान्ने गरिन् । खड्कबहादुर नेपालीले लौराले हाने, मैले नपिट्नुहोस् भन्दा धम्क्याए । घाँटी च्यापी मारी मल्खादमा लगी गाडे । कसैलाई भनेमा ज्यान मारी दिन्छौँ भनेकाले भनिन भन्ने समेत व्यहोराको सुकमाया नेपालीको कागज 

            २०४२ सालमा सेमलार गा.वि.स.का उपप्रधानपञ्च ओमप्रसाद भुसाललाई कर्तव्य गरी मार्नमा मेरो पनि संलग्नता रहेको भनी चन्द्रबहादुर सुनारले पोल गरेकाले म थुनामा परी २०५३ सालमा छुटो । निज चन्द्रबहादुर सुनारलाई फेला पारे ज्यान मार्ने समेतको दावा राखेको थिएँ । मिति २०६२।८।२८ गते मनकुमारी नेपाली र म खेतमा गयौँ, बेलुका घरमा फर्किने क्रममा थकाई लागेकोले रक्सी किनी श्रीमती र मैले खायौं । श्रीमतीलाई खाना पकाउन अगाडि पठाएँ । म पछि घरमा जाँदा चन्द्रबहादुर सुनारलाई खाटमा सुतेको देखो । मेरो शत्रु आज घरमा आएछ भनी कुटपीट गर्दै आँगनमा ल्याएँ, बुहारीहरूले नलड्नुहोस् भन्दै थिए । लौरो र ढुंगाले हानी मारे पछि मल्खादमा लगी गाडेको हुँ । श्रीमतीले कुटपीट गरेकी हैनन्, पिटसम्म भनेकी हुन् । पछि मल्खादमा हड्डी उठाई घरदेखि पूर्वपटिृ रहेको खोल्सामा लगी गाडेको हुँ भन्ने समेत व्यहोराको खड्कबहादुर नेपालीको वयान कागज 

            मिति २०६२।८।२८ गते श्रीमान खड्कबहादुर नेपाली र म भई खेतमा गई दिनमा काम गरी बेलुका घरमा फर्किने क्रममा थकाई लागेकोले एक पाउ रक्सी मैले खाएँ । श्रीमानले पनि रक्सी खानुभयो । म अगाडि घरमा आएँ, खाटमा चन्द्रबहादुर सुनार सुतेको देखी कहाँबाट आएको भनी भन्दा झैझगडा भई निजले मलाई ठेल्दिँदा आँगनमा पल्टी बायाँ गालामा चोट लाग्यो । श्रीमान खड्कबहादुर नेपाली आई चन्द्रबहादुर सुनारलाई लतार्दै आँगनमा लगी कुटपीट गर्न थाले । मैले पिट भनो, श्रीमानले कुटपीट गरी मारे । चन्द्रबहादुर सुनारको लाशलाई श्रीमानले मल्खादमा लगी गाडेका रहेछन् । मैले कुटपीट गरेकी हैन, बचनसम्म दिएकी हुँ भन्ने समेत व्यहोराको मनकुमारी नेपालीको वयान 

            जिल्ला रुपन्देही, सेमलार गा.वि.स. वडा नं. ४ केदाली गाउँ स्थित पूर्व खड्कबहादुर नेपालीको आवादी खेत, पश्चिम सरस्वती भुसालको घर, उत्तर दलबहादुर नेपालीको घर, दक्षिण चन्द्रबहादुर क्षेत्रीको घर यति चारकिल्लाभित्र रहेको उत्तर मोहडाको पालीसहितको प्रतिवादी खडकबहादुर नेपालीको घर, सो घरको उत्तरतर्फ रहेको आँगनमा मिति २०६२।८।२८ गते खड्कबहादुर नेपालीले चन्द्रबहादुर सुनारलाई कर्तव्य गरी मारेको स्थान, घरको पालीको पूर्वतर्फ वारदातमा प्रयोग गरेको ढुंगा थान १ फेला परेको, सो घरको पूर्व १५ फीटमा फुसले छाएको घर रहेको, सो घरको पूर्वतर्फको बलेनी तल गोबर फाल्ने मल्खाद रहेको, सोही मल्खादमा मृतक चन्द्रबहादुर सुनारलाई प्रतिवादी खड्कबहादुर नेपालीले गाडेको स्थान, उक्त स्थानदेखि १५० मीटर पूर्व खोल्सा रहेको, सो खोल्साको पश्चिम किनारमा मृतकका अस्थिपञ्जरहरू वगरमा यत्रतत्र छरालिएको अवस्थामा फेला परेका, उक्त हड्डीमध्ये मानिसको टाउको जस्तो खोपडी थान, नली हाड थान३ र करङ्ग थान१ समेत बरामद गरी बाँकी हाडखोर मृतकको आफन्तलाई सतगतका लागि जिम्मा लगाइएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लास प्रकृति मुचुल्का 

            मिति २०६२।८।२८ गते मेरो बाबु चन्द्रबहादुर सुनार प्रतिवादी खड्कबहादुर नेपालीको घरमा आएको अवस्थामा खड्कबहादुर नेपाली र मनकुमारी नेपाली मिली कुटपीट गरी मारी मल्खादमा गाडेका हुन् भन्ने थाहा पाएको हुँ भन्ने समेत व्यहोराको सुनील सुनारले गरेको कागज 

            घटनास्थलबाट बरामद भएको ढुंगाले चन्द्रबहादुर सुनारलाई हानी मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी खड्कबहादुर नेपालीको सनाखत कागज 

            मिति २०६२।८।२८ गते राति खड्कबहादुर नेपाली र मनकुमारी नेपालीले आफ्नै घरमा चन्द्रबहादुर सुनारलाई पूर्व रिसइवीको कारण कुटपीट गरी कर्तव्य गरी मारी मल्खादमा गाडेका हुन् । उक्त कुरा २०६३ साल जेठ महिनामा खुल्न आएको हो भन्ने समेत व्यहोराको सावित्री पोखरेलले गरेको कागज 

            प्रतिवादी खड्कबहादुर नेपाली (सार्की) र मनकुमारी नेपाली (सार्की) ले जाहेरवालाको भाई चन्द्रबहादुर सुनारलाई कर्तव्य गरी मारेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम सजाय हुन मागदावीसहितको अभियोग पत्र 

            जाहेरीबमोजिम चन्द्रबहादुर सुनारलाई मेरो लोग्ने खड्कबहादुर र मैले मारेको होइन । कसले कर्तव्य गरी मारे, सो मलाई थाहा छैन । मैले कसैलाई नमारेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी मनकुमारी नेपालीले अदालतसमक्ष गरेको वयान 

            जाहेरीबमोजिम मैले चन्द्रबहादुरलाई मारेको होइन । दाजु तिलबहादुर र चन्द्रबहादुरका बीचमा जग्गासम्बन्धी झगडा थियो । के कसरी मरे मलाई थाहा भएन । जाहेरी झूठा हो, अभियोग दावीबमोजिम मैले कसैलाई नमारेकाले सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी खड्कबहादुर नेपालीले अदालतसमक्ष गरेको वयान 

            अदालतको आदेशअनुसार जाहेरवाला डिलबहादुर सुनार, प्रहरीमा कागज गर्ने गौतम सापकोटा तथा प्रतिवादीका साक्षी कृष्णबहादुर नेपाली समेतको बकपत्र भई मिसिल सामेल रहेको 

            प्रतिवादीहरूले अदालतमा वयान गर्दा आरोपित कसूरमा इन्कार रही वयान गरे पनि अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा कसूरमा सावित रहेका छन् । जाहेरवाला र बुझिएका गौतम सापकोटाले अदालतमा आई वकपत्र गर्दा मृतकलाई मारेको कुरा तत्काल प्रतिवादीले स्वीकार गरेको हुँदा प्रहरीमा बुझाएको हो भनी लेखाएका छन् । तसर्थ, पूर्व रिसइवीका कारण प्रतिवादी खड्कबहादुरले मृतकलाई लाठी ढुङ्गाले हानी कर्तव्य गरी मारेको देखिँदा प्रतिवादी खड्कबहादुरलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी मनकुमारी नेपालीको हकमा विचार गर्दा निजको चोटले मृतकको मृत्यु भएको नदेखिएता पनि वारदातस्थलमा उपस्थित रही मृतकका जीउमा हात हाली मार भनी वचन दिएको देखिँदा निजलाई ज्यान सम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०६४।२।६ को फैसला 

            प्रस्तुत मुद्दामा मृतक भनिएका व्यक्ति चन्द्रबहादुर जीवितै छन् वा मृत्यु भएको हो पुष्टि हुन सकेको छैन । वादी पक्षले बरामद गरेको भनिएको अस्थिपंञ्जर र टाउको मान्छेकै हो भनी प्रमाणित हुन सकेको छैन । अर्कोतर्फ ती हाडखोर मृतक चन्द्रबहादुरकै हुन् भन्ने कुरा पनि कहिँ कतैबाट देखिएको छैन । प्रस्तुत मुद्दाको उठान गर्ने बसन्ती र सुकमाया नेपालीले अदालतमा उपस्थित भै मौकाको कागजलाई प्रमाणित गर्न बकपत्र नगरेसम्म प्रमाण ऐन, २०३१ को दफा १८ ले उक्त कागज प्रमाणमा लिन मिल्दैन । जाहेरवाला र गौतम सापकोटाले अदालतमा वकपत्र गर्दा सोही बसन्ती र सुकमायाको कागजलाई आधार मानी बकपत्र गरेका छन् । त्यसकारण निजहरूको भनाई हामीहरूका विरुद्ध प्रमाणमा लाग्नै सक्तैन । यस स्थितिमा ज्यान जस्तो फौजदारी अपराधमा कसूरदार ठहराई भएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी झूठा दावीबाट सफाई दिलाई पाउँ भन्ने प्रतिवादी मनकुमारी नेपाली र खड्कबहादुर नेपालीको संयुक्त पुनरावेदन पत्र 

            जाहेरवालाले जाहेरी दरखास्तमा बुझ्दै जाँदाभन्ने बोली पारी प्रतिवादीहरूलाई शंकाको आधारमा पोलसम्म गरेका देखिएको, मृतकको लास बरामद नभएको र सनाखत पनि हुन नसकेको, बरामदी मुचुल्कामा उल्लेख गरिएका केही हड्डी अस्थिपञ्जर आदि मानिसकै हुन् वा अन्य कुनै जनावरका हुन् भन्ने परीक्षण नगरिनुका साथै सो बरामदी वस्तुहरू मृतक चन्द्रबहादुरकै हुन् भनी यकीन नभएको, वारदात देख्ने भनेका बसन्ती नेपाली र सुकमाया नेपालीलाई वादी पक्षले बकपत्रको लागि अदालतमा उपस्थित गराउन नसकेको र शुरु अदालतले अ.वं. ११५ नं. को प्रक्रियाअनुसार झिकाउँदा पनि निजहरू साक्षी परीक्षणका लागि उपस्थित हुन नसकेको यस्तो स्थितिमा अनुसन्धान अधिकारीले आफ्नो अधीनमा राखी गराइएको मौकाको ठाडो कागजको आधार र शंकाको भरमा मात्र कसूरदार ठहराई गरेको शुरुको फैसलामा फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलका लागि विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश 

            विश्वासको आधारमा जाहेरी दरखास्त परेको देखिनु, अदालतमा वयान गर्दा डरत्रासको कारणले अनुसन्धान अधिकारीसमक्ष त्यस्तो व्यहोरामा सहिछाप गरेको हुँ, मृतकलाई हामीले कर्तव्य गरी मारेको होइन भनी प्रतिवादीहरू दुवैजना आरोपित कसूरमा पूर्ण रुपमा इन्कार भएको देखिनु, बरामद भएका हड्डी अस्थिपञ्जर मृतकको हो होइन भन्ने तर्फ जाँच नभएकोले मृतकको हो भनी यकीन गर्न मिल्ने अवस्था नहुनु, वारदातमा मौजुद प्रत्यक्ष व्यक्तिहरू अदालतमा उपस्थित भै आफ्नो मौकाको व्यहोरालाई समर्थन गरी वकपत्र गर्न नसकेबाट निजहरूको मौकाको भनाई व्यहोरा प्रमाणको लागि योग्य नहुनु, भेटिएको हड्डी १६३० वर्ष उमेरको देखिने भनी विशेषज्ञबाट राय प्रतिवेदन प्राप्त भएकोले ४६ वर्षका मृतकको भनी भन्न मिल्ने नदेखिनु समेतका आधार प्रमाणहरूले प्रतिवादीहरू आरोपित कसूरमा कसूरदार हुन् भनी भन्न मिल्ने देखिन  आएन । गम्भीर प्रकृतिको यस्तो फौजदारी मुद्दामा आरोपित कसूर प्रत्यक्ष शंकारहित ठोस प्रमाणहरूद्वारा पुष्टि भएको   हुनुपर्छ । प्रस्तुत मिसिलका सन्दर्भमा प्रतिवादीहरूले आरोपित कसूर गरेको भनी भन्नलाई प्रत्यक्ष शंकारहित ठोस प्रमाणको अभाव हुँदा शंका र विश्वासकै भरमा कसूरदार ठहर गर्न मिल्दैन । प्रतिवादी खड्गबहादुर नेपाली र मनकुमारी नेपालीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१३ को फैसला 

            अधिकारप्राप्त अधिकारीसमक्ष भएको प्रतिवादीहरूको साविती वयान, प्रतिवादीले देखाएको ठाउँबाट वरामद भएका हड्डीहरू र मौकामा कागज गर्ने सुकमाया नेपाली र वसन्ती नेपालीको कागज व्यहोरा समेतका घटना सृंखला समेतबाट प्रतिवादीहरूले नै चन्द्रबहादुर सुनारको हत्या गरेको भन्ने यकीन भएको हुँदा प्रतिवादीहरूलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी शुरु फैसला सदर गरी पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र 

            यसमा प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा सावित भएको र सो साविती वयानमा उल्लेख भएअनुसार मृतकलाई हानेको ढुंगा प्रतिवादी स्वयंले देखाएको र मलखादको खाल्डोबाट लाशको अस्थिपञ्जर वरामद भएको, आफ्नो मलखादको खाल्डोबाट वरामद भएको अस्थिपञ्जर मृतकको होइन भनी प्रतिवादीले जिकीर समेत लिन नसकेको यस अवस्थामा प्रमाणको मूल्याङ्कन नगरी अस्थिपञ्जर लाशको अनुमानित उमेरसम्म नमिलेको भन्ने आधारमा प्रतिवादीहरूलाई सफाई दिने ठहर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला नमिली फरक पर्नसक्ने देखिँदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६७।७।३० को   आदेश 

            नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सुनुवाईका सिलसिलामा नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष कसूरमा साविती रहेको र मलखादमा अस्थिपञ्जर समेत फेला परेको अवस्थामा सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी हुनुपर्दछ भनी गर्नु भएको वहस समेत सुनियो । मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा मिति २०६२।८।२८ मा चन्द्रबहादुर सुनार घरबाट निस्केकोमा फर्की नआएकोले खोजतलास गर्दा प्रतिवादीहरू खड्कबहादुर नेपाली र मनकुमारी नेपालीले मारी मलखादमा गाडेको भन्ने खुल्न आएको हुँदा कानूनबमोजिम गरी पाऊँ भनी मिति २०६३।२।२० मा जाहेरी परेकोमा प्रतिवादीहरूले अदालतसमक्ष कसूरमा इन्कार रही वयान गरेको देखिन्छ । शुरु अदालतबाट प्रतिवादीमध्येका खड्कबहादुरको हकमा ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र अर्का प्रतिवादी मनकुमारी नेपालीको हकमा ज्यान सम्बन्धीको १३(४) बमोजिम जन्मकैद हुने ठहरी फैसला भएको पाइन्छ । पुनरावेदन अदालतबाट प्रत्यक्ष शंकारहित ठोस प्रमाणको अभाव रहेको भन्ने आधारमा प्रतिवादीहरूलाई सफाइ दिने गरी फैसला भएको देखिन्छ । सो फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन परी पेश हुँदा मौकाको साविती र मलखादको खाल्डोबाट वरामद भएको लाशको अस्थिपञ्जर र सो अस्थिपञ्जर मृतकको होइन भनी प्रतिवादीले जिकीर लिन नसकेको अवस्था समेतलाई आधार बनाएर प्रत्यर्थी झिकाउने आदेश भएको रहेछ 

            उल्लिखित तथ्यगत अवस्था समेतलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा परीक्षण गरिएका मानव अस्थिपञ्जर चन्द्रबहादुर सुनारकै हुन् भनी प्रत्यक्ष शंकारहित तबरले पुष्टि हुन नसकेको भन्ने आधारमा प्रतिवादीहरूलाई सफाइ दिने गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन्छ 

            २. निर्णयतर्फ विचार गर्दा प्रथमतः वारदात भएको लामो समयपछि जाहेरी परेको अवस्था र प्रत्यर्थी झिकाउने आदेशमा उल्लेख भएजस्तो प्रतिवादीको घर नजिकको मलखादको खाल्डोबाट लाशको अस्थिपञ्जर बरामद भएको नभई प्रतिवादी खड्कबहादुर नेपालीको घरभन्दा करीब १५० मीटर पूर्वतर्फको खोल्साबाट वरामद भएका हड्डीहरू मृतक भनिएका चन्द्रबहादुर सुनारको हो वा होइन भन्ने सम्बन्धमा नै स्पष्ट हुनु जरुरी देखिन्छ । जाहेरी व्यहोरालाई हेर्दा मृतक चन्द्रबहादुरका दाजु डिलबहादुर सुनारले जाहेरी दिएको र सो जाहेरीमा आफ्ना भाई मिति २०६२।८।२८ तिर घरबाट निस्की हिँडेकोमा घरमा फर्की नआएको, खोजतलास गर्दै रहेकोमा खड्कबहादुर नेपाली र मनकुमारी नेपालीले कर्तव्य गरी मारी मलखादमा गाडेको भन्ने कुरा खुल्न आएको भनी उल्लेख गरेको देखिन्छ । त्यसरी एकातर्फ निज चन्द्रबहादुर हराएको भनिएको मिति नै यकीन हुन सकेको देखिँदैन भने अर्कोतर्फ मिति २०६२।८।२८ मा भएको भनिएको घटनाका सम्बन्धमा मिति २०६३।२।२० मा अर्थात् करीब ६ महिनापछि मात्र जाहेरी परेको अवस्था छ । मृतक चन्द्रबहादुर सुनारलाई प्रहार गरिएको भनिएको ढुंगामा मृतकको रगत लागेको वा अन्य कुनै प्रमाण भेटिएको भन्ने पनि छैन, गाउँमा यत्रतत्र पाइने खालको ढुंगा बरामद हुँदैमा त्यसलाई घटनासँग जोडेर हेर्न मिल्ने अवस्था रहँदैन । चन्द्रबहादुरलाई मारी मलखादमा गाडेको र लास गलिसकेपछि हड्डीहरू खोल्सामा फालेको भनी प्रतिवादीमध्येका खड्कबहादुरको वयानका आधारमा खोजी गर्दा खोल्साको वगरमा यत्रतत्र छरलिएको अवस्थामा मानिसको टाउको जस्तो खोपडी थान १, नली हाड थान ३ र करङ्ग थान १ समेतका हड्डीहरू फेला परेको भन्ने घटनास्थल तथा लाशजाँच मुचुल्काबाट देखिएको छ । त्यसरी बरामद भएका मानव हड्डीहरू वैज्ञानिक परीक्षणको लागि पठाइएकोमा Kathmandu Autopsy Center/ Department of Forensic Medicine मा गरिएको परीक्षणका आधारमा देहायको राय पेश हुन आएको देखिन्छ :

  • The skeletal remains are of human origin,
  • They are more likely from male person,
  • Age of the person from skull and the other long bones is in between 16-30 yrs.,
  • Corelation with past history of trauma in deceased left leg is necessary for confirmation of positive identification as there is evidence of healed fracture in left leg below knee joint.

            ३. उल्लिखित रायलाई आधार बनाउँदा वरामद भएका हड्डी मानव अंगका हड्डीहरू भएको कुरामा विवाद देखिँदैन । तर वैज्ञानिक परीक्षणले ती हड्डी १६ वर्षदेखि ३० वर्ष उमेरबीचको व्यक्तिको हड्डी भन्ने देखाएको छ । जबकि मृतक भनिएका चन्द्रबहादुर सुनारको उमेर करीब ४६ वर्ष रहेको भन्ने कुरा जाहेरी दरखास्तमा उल्लेख गरिएको छ । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयानमा मलखादमा शब गाडेको भनी उल्लेख गरेको भए पनि केही मानव हड्डीहरू प्रतिवादीको मलखादबाट बरामद भएको नभई प्रतिवादीको घरभन्दा करीब १५० मीटर पूर्वमा अवस्थित खोल्साको बगरबाट बरामद भएको भन्ने देखिन्छ । अभियोग पत्रमा प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको वयान र अनुसन्धानका सिलसिलामा कागज गरिदिने बसन्ती नेपाली र सुकमाया नेपालीको कथनलाई नै मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको छ । तर, घटनाको प्रत्यक्षदर्शी भनिएका बसन्ती र सुकमायालाई अदालतसमक्ष उपस्थित गराई अनुसन्धानका क्रममा गरिएको कागजलाई पुनर्पुष्टि गराउन सकेको पाईँदैन । घटनास्थलको अवस्थितिका सम्बन्धमा विचार गर्दा जाहेरवाला डिलबहादुर, मृतक भनिएका चन्द्रबहादुर र प्रतिवादीहरू सबै सेमलर गा.वि.स. वार्ड नं ४ स्थित केदली गाउँका वासिन्दा भएको कुरामा पनि विवाद छैन । घटनास्थल तथा लास प्रकृति मुचुल्काअनुसार प्रतिवादी खड्कबहादुर नेपालीको घरको पूर्वतर्फ निजकै आवादी खेत, पश्चिमतर्फ सरस्वती भुसालको घर, उत्तरतर्फ दलबहादुर नेपालीको घर र दक्षिणतर्फ चन्द्रबहादुर क्षेत्रीको घर रहेको भन्ने देखिन्छ । त्यसरी एउटै गाउँभित्र विभिन्न व्यक्तिहरूको घरको बीचमा अवस्थित रहेको एउटा घरको मलखादमा मानव लास गाडेर राखी लास सडेगलेपछि हड्डीहरू मात्र झिकी खोल्सामा फालिएको भन्ने कथन आफैँमा विश्वसनीय र प्रतीतलायक देखिँदैन । किनभने मलखादमा मानव लास गाडिएको अवस्थामा त्यसको कुहिने प्रक्रिया, त्यसबाट निस्कने गन्ध र त्यसको प्रभाव समेतलाई त्यति लामो समयसम्म लुकाएर राख्न सकिने अवस्था रहँदैन 

            ४. अनुसन्धानका क्रममा कागज गर्ने गौतम सापकोटाले अदालतसमक्ष वकपत्र गर्दा सासू बुहारी अर्थात् मनकुमारी र बसन्ती नेपालीबीच झगडा भएपछि बुहारीले मृत्युको कुरा बाहिर ल्याएकोले थाहा भएको भनी उल्लेख गरेको व्यहोराले घटनालाई पुष्टि गर्नुको सटृा सासू बुहारी बीचमा भएको झगडा र रिसइवीको कारणबाट सासू ससुरालाई दोषी देखाउन खोजेको हो कि भन्ने आशंकाको स्थितिलाई उजागर गर्दछ । निज गौतम सापकोटा घटनाका प्रत्यक्षदर्शी पनि होइनन् । निजले आफ्नो कथनको स्रोतका रुपमा वसन्ती नेपालीलाई देखाएका छन् । निजको कथनलाई पुष्टि गर्ने अन्य वस्तुनिष्ठ प्रमाणको अभावमा अदालतसमक्ष परीक्षण नै हुन नपाएकी बसन्ती नेपालीले भनेको भन्ने आधारमा त्यस्तो बकपत्रलाई नै प्रमाण मानेर दोषी ठहर गर्न मिल्ने पनि हुँदैन 

            ५. प्रतिवादीहरू अनुसन्धान अधिकारीसमक्ष सावित रहे पनि अदालतसमक्ष इन्कारी वयान गरेको देखिन्छ । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयानकै आधारमा मलखादमा लास गाडिएको भनिए पनि त्यसरी लास गाडिएको ठाउँको वस्तुस्थिति र सो स्थानमा फेला पर्न सक्ने मानव लाशका अंशहरू वा त्यससम्बन्धी ठोस प्रमाणहरूको खोजी गरेको पनि पाईंदैन । त्यसरी वैज्ञानिक रुपबाटै पुष्टि हुने प्रकृतिका प्रमाणहरू जुटाउनुको सटृा प्रतिवादीहरूको साविती वयानलाई मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको देखिएको छ । त्यसबाट पनि खोल्सामा फालिएको भनी बगरमा यत्रतत्र छरलिएको अवस्थामा फेला परेका भनिएका मानव हड्डीहरू मृतक चन्द्रबहादुरकै हुन् भन्ने तथ्य स्थापित हुन सक्दैन । साथै ती हड्डीहरू प्रतिवादीहरूको मलखादबाट झिकी फालिएका हुन् भन्ने तथ्यलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थित गराउन सकेको अवस्था पनि देखिँदैन । कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अभियोगमा वैज्ञानिक परीक्षणले स्थापित गरेको तथ्यभन्दा बाहिर गएर मौखिक कथनका भरमा कसैलाई दोषी किटान गर्न मिल्ने पनि हुँदैन 

६. प्रस्तुत मुद्दामा मृतक भनिएका चन्द्रबहादुर सुनारको शव फेला परेको अवस्था छैन । प्रतिवादीको घर नजिकको खोल्सामा भेटिएका केही मानव हड्डीलाई नै चन्द्रबहादुरको मृत शरीरको हड्डीका रुपमा अनुमान गरी अभियोग लगाइएको देखिन्छ । त्यसरी चन्द्रबहादुर हराएको र केही मानव हड्डी फेला परेको अवस्थालाई नै चन्द्रबहादुरको मृत्यु भएको कुराको प्रमाणका रुपमा ग्रहण गरिएकै कारणले गर्दा हराएका चन्द्रबहादुरको खोजी गर्ने तर्फ कुनै प्रयत्न नै नभएको अवस्था छ । कुनै व्यक्ति हराउँदैमा निजको मृत्यु नै भएको मान्न सकिँदैन । चन्द्रबहादुर सुनार २०६२।८।२८ तिर देखि हराएको भन्ने देखिएको छ, तर निज हराए पछि लामो समयसम्म निजको खोजी गरिएको भन्ने देखिँदैन । निजको खोजीको सिलसिलामा प्रतिवादीले कर्तव्य गरी निजलाई मारेको तथ्य खुलासा भएको भन्ने पनि प्रस्तुत मुद्दाको समग्र अध्ययनबाट देखिँदैन 

७. चन्द्रबहादुर हराएको भनिएको मिति भन्दा करीब छ महिनापछि प्रतिवादीकै बुहारी बसन्ती नेपालीले चन्द्रबहादुरको हत्या आफ्ना सासू ससुराले गरेको भनी बताएको भन्ने आधारमा चन्द्रबहादुरका दाजु डिलबहादुरले दिएको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । त्यसरी हराएका व्यक्तिको खोजी पनि नगरिएको, निजको शव पनि फेला नपरेको र केबल केही मानव हड्डी फेला परेकोलाई चन्द्रबहादुरको शव फेला परे सरह मानी अनुसन्धानलाई अत्यन्त सीमित पारिएको देखिन्छ । कसैले कसैलाई हत्या गरेको भनिएको अवस्थामा हत्या भएको भनिएका व्यक्तिको शव नै सबैभन्दा ठूलो प्रमाणका रुपमा रहन्छ । शव फेला परेको अवस्थामा मृत्यु अघि (Post Mortem) र मृत्यु पछि (Ante mortem) का घाउ चोटहरू र अवस्था समेतको परीक्षण गर्न सकिने र त्यसले मृतकको मृत्युको कारणका बारेमा यथार्थ जानकारी प्राप्त हुने अवस्था रहन्छ । शव फेला पर्न नसकेको अवस्थामा हत्याको अभियोग लागेका व्यक्तिले के कसरी र कहिले हत्या गरेको हो भन्ने तथ्य अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्ने दायित्व वादी पक्षले वहन गर्नै पर्दछ, जुन प्रस्तुत मुद्दामा हुन सकेको छैन 

८. प्रत्यक्षदर्शी बाहेकका कुनै व्यक्ति विशेषको अप्रमाणित कथनलाई नै सर्वोत्तम प्रमाण मानेर अनुसन्धान कार्यलाई त्यत्तिमै सीमित राख्ने हो भने सत्य कहिल्यै उदघाटित नहुने अवस्थाको सिर्जना हुन जान्छ । कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको अभियोगको अनुसन्धान पक्ष पनि उत्तिकै गम्भीरतापूर्वक गरिनु पर्दछ । त्यो जिम्मेवारी व्यक्ति विशेषले वहन गर्न नसक्ने भएकै कारणबाट यस्ता अभियोगको अनुसन्धानको जिम्मेवारी सरकारको प्रमुख सुरक्षा संयन्त्रका रुपमा रहेको प्रहरीलाई प्रदान गरिएको हो । सुनी थाहा पाएको भन्ने जस्ता अत्यन्त कमजोर प्रमाणलाई आधार बनाएर अन्य प्रमाणको खोजी नगर्ने हो भने अनुसन्धानको कुनै अर्थ रहँदैन र त्यसले अपराध र अपराधीका बारेमा सत्य तथ्यको खुलासा गर्न पनि सक्दैन । अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन, अभियोग पुष्टि गर्ने खालका प्रमाणहरूको संकलन पनि उत्तिकै महत्वपूर्ण  हुन्छ । कर्तव्य ज्यानको अभियोग लगाउने तर शवको अस्तित्व देखाउन पनि नसक्ने र अन्य प्रमाणहरूबाट हराएका व्यक्तिको हत्या प्रतिवादीले नै गरेको भनी पुष्टि गर्ने ढंगले प्रमाणहरू जुटाउन पनि नसक्ने अवस्थाले प्रस्तुत अभियोगलाई केबल अनुमानमा आधारित बनाएको छ । तर, कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा अनुमानका भरमा कसैलाई दोषी ठहर्‍याउन मिल्दैन 

९. हराएका व्यक्तिलाई अनुमानका भरमा मृत मानेर अभियोग लगाउँदा त्यस्ता व्यक्ति जीवितै भेटिन पनि सक्दछन् भन्ने कुराको हेक्का राखिनु पर्दछ । यस्तो अवस्थामा मृत्यु भएको वा जीवितै रहेको दुवै सम्भावना रहँदा रहँदै मृत्यु भएको निष्कर्षमा पुग्नका लागि अन्य बलिया प्रमाणहरूको खोजी अपरिहार्य हुन आउँछ । प्रस्तुत मुद्दाका सन्दर्भमा फेला परेको भनिएका केही मानव हड्डीहरू चन्द्रबहादुर सुनारकै हो भनी पुष्टि हुन सकेको छैन । वादी पक्षबाट चन्द्रबहादुरको हत्या प्रतिवादीहरूले गरेको भनी जे जस्ता कथनलाई आधार बनाइएको छ, ती कथनलाई न्यायिक प्रक्रिया पूरा गरेर प्रमाणको स्वरुप ग्रहण गर्न सकेको पनि पाईंदैन । अनुसन्धानका सिलसिलामा प्रतिवादीहरूलाई सावित गराउनुलाई नै अनुसन्धानको पूर्णता मान्ने प्रवृत्तिले गर्दा हराएका चन्द्रबहादुर सुनारको वास्तविक अवस्थाका बारेमा र फेला परेका मानव हड्डीका बारेमा यथार्थ उदघाटित हुनै पाएन । फलतः त्यति गम्भीर विषयवस्तु रहस्यको गर्भमा बिलाउन पुगे । साविती वयान हुँदैमा कसैलाई दोषी ठहर गर्न सकिँदैन भन्ने कुराको हेक्का वादी पक्षले राखेको पाइएन । कसैलाई दोषी ठहर्‍याउन वयानलगायतका मौखिक प्रमाणबाहेकका अन्य स्वतन्त्र प्रमाणहरूको सृंखला जोडिनु पर्दछ र प्रमाणहरूको मालाकार कडीबाट त्यस्तो वयान व्यहोरा समर्थित नहुँदासम्म साविती वयानले कुनै प्रामाणिक महत्व राख्दैन भन्ने कुरालाई अनुसन्धान र अभियोजन पक्षले बुझ्नु जरुरी हुन्छ । त्यसैले भनिन्छWithout first showing independent corroboration that a crime happened, the prosecution may not introduce evidence of the defendant's statement.  तर प्रस्तुत मुद्दामा चन्द्रबहादुर सुनार हराएको, खोल्सामा केही मानव हड्डी फेला परेको र चन्द्रबहादुर सुनार हराएको करीब छ महिनापछि चन्द्रबहादुरको हत्या भैसकेको भनी कसैले अभिव्यक्ति दिएको जस्ता कुरालाई आधार बनाएर तिनै कुरालाई प्रतिवादीको वयान व्यहोरामा समावेश गरी त्यसैलाई साविती वयानको संज्ञा दिई अभियोग लगाइएको छ र अभियोजनका सिलसिलामा पनि त्यसैको पुनरावृत्ति गर्ने बाहेक थप प्रमाण प्रस्तुत गरिएको छैन । शव नै फेला नपरेको अवस्थामा प्रत्यक्षदर्शी बाहेकका अन्य व्यक्तिको कथनलाई आधार बनाएर हराएका व्यक्तिको मृत्यु नै भएको छ र फेला परेका मानव हड्डी हराएका चन्द्रबहादुरकै मृत शरीरका हड्डी हुन् र निज चन्द्रबहादुरलाई यी प्रतिवादीलै नै हत्या गरेका हुन् भन्ने निष्कर्षमा पुग्न सक्ने स्थिति देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा १८ ले तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित कानूनबमोजिम तयार भएका लिखतमा उल्लेख भएका कुराका सम्बन्धमा सो कुरा व्यक्त गर्ने व्यक्तिलाई साक्षीको रुपमा अदालतमा उपस्थित गराएर बयान गराएमा त्यसले प्रामाणिक महत्व ग्रहण गर्ने भनी स्पष्ट कानूनी व्यवस्था गरेको सन्दर्भमा पनि अनुसन्धान र अभियोजन पक्षले अनुसन्धान अधिकारीसमक्षको प्रतिवादीकै साविती वयानलाई मात्र आधार बनाउन नहुने, त्यससम्बन्धी थप भौतिक प्रमाणहरू जुटाउनु पर्ने भन्ने नै देखिन्छ । तर, त्यस्ता प्रमाणहरूको अभाव देखिएबाट श्रुतानुश्रुत प्रमाणको भरमा प्रतिवादीहरूउपरको अभियोग स्थापित हुन सक्ने देखिएन 

१०. Corpus Delicti सम्बन्धी सिद्धान्तले पनि मृत भनिएका व्यक्तिको शव फेला नपर्दासम्म कसैलाई दोषी ठहर गर्न नहुने (not to convict until the dead body has been found)  मान्यता ग्रहण गरेको पाइन्छ । कर्तव्य ज्यान मुद्दामा कसैलाई दोषी ठहर्‍याई सजाय गर्नु पूर्व कोही व्यक्ति मरेको कुरा स्थापित हुनै पर्दछ भन्ने नै यस सिद्धान्तको मूल दर्शन हो । शव फेला पर्नु र त्यसको वैज्ञानिक परीक्षणबाट कर्तव्य भएको पुष्टि हुनुबाट न्यायकर्ताका लागि निष्कर्ष निकाल्न सहज हुन्छ । कुनै व्यक्ति हराएकै आधारमा निजको हत्या भएको निष्कर्ष निकाल्दा भोलि त्यो व्यक्ति जीवितै समाजमा फर्केर आयो भने समस्त न्याय नै कलंकित हुन पुग्दछ । नौ जना अपराधी छुटे पनि एकजना निरपराधी पनि सजायको भागी नहोस् तथा शंकाको लाभ अभियुक्तले पाउँछ भन्ने मान्यताको अनुयायी कानूनी प्रणालीमा शवको प्रत्यक्षीकरण बिना कर्तव्य ज्यानको अभियोगमा कसैलाई सजाय गर्दा अत्यन्त सतर्कता अपनाउन पर्ने हुन्छ । पानीमा बगाइएको र आगोले डढाइएको जस्ता विषम परिस्थितिमा लास फेला नपर्न पनि सक्दछन् । लाशको अवशेष समेत लोप गराउने अभियुक्तको भगीरथ प्रयत्न पनि हुन सक्दछ । तर यस्ता क्रियाकलाप भएको वादीले पुष्टि गर्न सक्नु पर्दछ । यी सब कारणबाट Corpus Delicti सम्बन्धी सिद्धान्तलाई निरपेक्ष रुपमा ग्रहण गर्न नसकिने भएपनि प्रस्तुत मुद्दामा संकलन गरिएका अन्य प्रमाणहरूका आधारमा समेत हराएका भनिएका चन्द्रबहादुरको हत्या यी प्रतिवादीहरूले नै गरेको भन्ने स्थापित हुन सकेको छैन । यस स्थितिमा मौकाको साविती, प्रतिवादी स्वयंले मृतकलाई हानेको भनी देखाएको ढुंगा र मलखादको खाल्डोबाट वरामद भएको लाशको अस्थिपञ्जर र सो अस्थिपञ्जर मृतकको होइन भनी प्रतिवादीले जिकीर लिन नसकेको भनी आधार बनाइएको यस अदालतको प्रत्यर्थी झिकाउने आदेशसँग पनि सहमत हुन सकिएन 

११. यति मात्र नभई अधिकारप्राप्त अधिकारीसमक्षको सावितीलाई नै मूल आधार बनाइएको अभियोगपत्रमा कतिपय प्रश्नहरू अनुत्तरित छन् । मृतक भनिएको व्यक्तिकै पोलका कारणबाट प्रतिवादीमध्ये खड्कबहादुर नेपाली २०४२ सालदेखि २०५३ सालसम्म थुनामा परेका छन् । अब, त्यही पोलकर्ता हराएको चन्द्रबहादुर घटनाका दिन प्रतिवादीको घरको खाटमा गएर सुतेको भन्ने सावितीको अंशलाई मानवीय स्वभावका दृष्टिकोणबाट सहजै विश्वास गर्न कठिन पर्दछ । घटनास्थल मुचुल्काबाट वारदात भएको भनिएको स्थान वरिपरि नजिकै विभिन्न व्यक्तिका घरहरू छन् । मानिसलाई कुटी कुटी मार्ने, मार्न आदेश दिने र नपिट्न आग्रह गर्ने जस्ता कार्यहरू भएको भनी त्यसलाई नै अभियोगको आधार बनाइएको छ । तर त्यति धेरै क्रियाहरू हुँदा समेत छिमेकीले थाह पाएको अवस्था छैन । यसर्थ पनि प्रतिवादीहरूको साविती वयानमा उल्लेख भएका कुराहरू स्वाभाविकताको कसीमा खरो उत्रन सकेका छैनन् । सावितीमा अभिव्यक्त तथ्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन त आवश्यक छ नै, ती स्वाभाविक र मानव आचरण अनुकूल पनि देखिनु पर्दछ । जुन प्रस्तुत मुद्दाका समग्र तथ्यबाट देखिन सकेको छैन 

            १२. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा खोल्साको बगरबाट बरामद भएका मानव हड्डीहरू चन्द्रबहादुर सुनारको मृतक शरीरका अवशेष हुन् भन्ने तथ्य वस्तुनिष्ठ रुपमा पुष्टि हुन नसकेको, ती हड्डीहरू प्रतिवादीकै मलखादबाट झिकी खोल्सामा फालिएका हुन् भन्ने तथ्य वादी पक्षले स्थापित गराउन नसकेको र लास गाडिएको भनी उल्लेख भएको मलखादको वस्तुस्थिति र त्यहाँको रसायनिक परीक्षण समेत नगरिएको अवस्थामा २०६२ साल मंसिर २८ गते तिर घरबाट हिँडेको र फर्की नआएका भनिएका चन्द्रबहादुर सुनारको हत्या भएको हो र सो हत्या यिनै प्रतिवादीहरूले गरेका हुन् भनी अनुमान गरी निजहरूलाई दोषी मान्न मिल्ने अवस्था नदेखिँदा निज प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत, बुटवलको मिति २०६५।२।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू 

 

उक्त रायमा म सहमत छु । 

 

प्र.न्या.खिलराज रेग्मी

 

इति संवत् २०६८ साल पुस ५ गते रोज ३ शुभम् ..

इजलास अधिकृतः उमेश कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु