निर्णय नं. ९२१५ - परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।५।२।२
०६८-CI-१३७०
मुद्दा : परमादेश ।
पुनरावेदक/निवेदक : दोलखा जिल्ला, काटाकुटी गा.वि.स., वडा नं.८ घर भै ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं.७ बस्ने शेरबहादुर के.सी.को छोरा नेत्रबहादुर के.सी.
विरूद्ध
प्रत्यर्थी/विपक्षी : भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयसमेत
§ आधिकारिक निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरेर पैठारी गरेको मोटरसाइकललाई सुरू दर्ता भएको अभिलेख फेला नपरेको भन्ने आधारमा मात्र कुनै पनि नागरिकले कानूनबमोजिमको प्रक्रिया पूरा गरी खरिद गरेको आफ्नो सम्पत्तिको दर्ता नामसारी गरी स्वामित्व प्राप्त गर्नबाट रोक लगाउन मिल्ने भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.३)
§ निवेदकबाट मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने मात्र माग गरेको तर आफूलाई असर पर्ने गरी यातायात व्यवस्था विभागबाट भएको निर्णयलाई बदरतर्फ उत्प्रेषणको माग गरेको निवेदनबाट नदेखिएको अवस्थामा परमादेशको आदेश जारी भए पनि यातायात व्यवस्था विभागको निर्णय यथावत् कायमै रही आदेशको औचित्य नै नरहने हुँदा विपक्षी झिकाउने आदेश गर्दा लिइएको आधारसँग सहमत हुन नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक/निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता कुमारप्रसाद आचार्य
प्रत्यर्थी/विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने :-
मा.न्या.श्री डा.कुलरत्न भुर्तेल
मा.न्या.श्री सुष्मालता माथेमा
आदेश
न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, पाटनको मिति २०६८।११।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम निवेदक नेत्रबहादुर के.सी.को तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ ।
मैले चाइनामा २००६।२।२२ मा निर्मित भै २००६।४।२१ मा चाइनिज एम्बेसीले नेपाल ल्याएको च्यासिस नं.AAA JKKV 660000725 इन्जिन नं.JI16/F MJ-2/06A 101935 को Jailing Brand को चाइनिज मोटरसाइकल चाइनिज एम्बेसीबाट 8-Dec 2010 मा नेपाली रूपैयाँ १०,०००। (दश हजार) मा सम्पूर्ण प्रक्रिया पूरा गरी लिएको थिएँ । सो एम्बेसीले दिएको पत्र लिई मिति २०६७।११।१७ मा परराष्ट्र मन्त्रालय गएँ । परराष्ट्र मन्त्रालयले भन्सार विभाग, त्रिपुरेश्वरलाई भन्सार महसुल लिई ३५ दिनभित्र भन्सार बुझी जानकारी गराउन आदेश जारी भयो । विभागले तातोपानी भन्सार कार्यालयमा पत्राचार गरी तातोपानी भन्सार कार्यालयले मिति २०६८।२।८ मा च.नं.१०११ मार्फत जवाफमा उक्त मोटरसाइकलको उक्त समयको प्रज्ञापन आसीकुडा सिस्टम अनुसार नष्ट गरी सकिएकाले प्रज्ञापनपत्र पठाउन नसकिने जवाफ पठायो ।
भन्सार विभागको प्रक्रिया पूरा गरी मैले मिति २०६८।६।१० मा प्रज्ञापनपत्र नं.९२०३ र.नं.१८७४३०४ मार्फत ने.रू.२३,३७७। भन्सार महसुल बुझाएको छु । तर यातायात व्यवस्था विभागबाट यातायात व्यवस्था कार्यालय, मोटरसाइकल बागमतीमा दर्ता रेकर्ड खोज्न लगाउने, रेकर्ड प्राप्त भएमा फाइलको अन्तिम कारवाही गर्न मिल्ने र सुरू दर्ताको रेकर्ड प्राप्त नभएमा यस प्रकृतिका सवारी साधन नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत हुन जाने हुँदा दर्ता गर्न नमिल्ने भनी निवेदकलाई जानकारी दिन उपयुक्त हुने भन्ने निर्णय गरी मन्त्रालयले मिति २०६८।८।१५ मा च.नं.७८१ बाट थप जानकारी दिइयो । यसरी मैले कानूनबमोजिम खरिद गरी भन्सार महसुलसमेत तिरी सकेपछि पनि दर्ता गरी ब्लु बुक र नम्बर दिने कार्यलाई रोक लगाई ब्लु बुक र नम्बर नदिने कार्य गरी विपक्षीहरूले अन्याय गरेकाले विपक्षीहरूका नाउँमा उल्लिखित मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत व्यहोराको नेत्रबहादुर के.सी.को पुनरावेदन अदालत, पाटनमा परेको निवेदन ।
यसमा के कसो भएको हो निवेदन मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूको नाउँमा म्याद सूचना जारी गरी नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।९।२० को आदेश ।
निवेदकबाट नामसारी दर्ता माग भएको मोटरसाइकलको सुरू दर्ताको रेकर्ड नभएकोमा के गर्ने भनी यातायात व्यवस्था कार्यालय, मोटरसाइकल बागमतीबाट निर्देशन माग भएको र सो फाइलमा चिनिया दूतावासबाट कागजपत्र आगलागी भै नष्ट भएको भनी पत्रसाथ पेस गरेकोमा आर्थिक ऐन, २०६८ को अनुसूची-१ को १२(१) को (ख) मा रिकन्डिसन प्रयोग भै सकेको वा नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६ भित्र नपर्ने सवारी वा ढुवानीका साधनहरू पैठारी गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था भएको हुँदा निवेदकको मोटरसाइकलको विधिवत् सुरू दर्ता भएको अभिलेख नदेखिएको र मोटरसाइकल पुरानो भएकाले यस विभागबाट दर्ता गर्न नमिल्ने भनी यातायात व्यवस्था कार्यालय, बागमतीलाई निर्देशन दिएको हुँदा सो निर्देशन कानूनसम्मत रहेकोले रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको यातायत व्यवस्था विभाग र श्रम तथा यातायात व्यवस्था मन्त्रालयको एकै मिलानको छुट्टाछुट्टै लिखित जवाफ ।
यातायात व्यवस्था विभागको निर्देशनबमोजिम निवेदकलाई जानकारी दिइएकाले रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको विभागसँग एकै मिलानको यातायात व्यवस्था कार्यालय, बागमतीको लिखित जवाफ ।
निवेदकले चाइनिज दूतावासबाट खरिद गरी भन्सार महसुल बुझाएको अवस्थामा समेत मोटरसाइकलको नामसारी एवम् ब्लु बुक प्राप्त गर्न परमादेशको आदेश जारी गरिपाउन माग गरेको देखिन्छ । प्रस्तुत सन्दर्भमा परमादेशको आदेश जारी भएको अवस्थामा श्रम तथा यातायात व्यवस्था मन्त्रालयको मिति २०६८।८।२२ को पत्रद्वारा जानकारी गराइएको निर्णय खारेज गरी पाउन निवेदकको माग नरहेकाले सो निर्णय यथावत्् कायम नै रहिरहने हुँदा निवेदकको मागबमोजिम परमादेशको आदेश जारी गर्न मिलेन । निवेदन खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।११।३ को फैसला ।
चाइनिज एम्बेसीबाट मोटरसाइकल खरिद गरी सम्पूर्ण कानूनबमोजिमको प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयको आदेशबमोजिम भन्सार महसुलसमेत बुझाइसकेको अवस्थामा स्वत: उक्त मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर दिनुपर्नेमा यातायात व्यवस्था कार्यालयले अनावश्यक बखेडा झिकी कथित नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत छ भनी उक्त मोटरसाइकल दर्ता नामसारीमा रोक लगाएको कुरा स्वीकार हुँदाहुँदै श्रम तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय बदरको माग नगरेको भन्ने आधारमा रिट निवेदन खारेज गरेको फैसलाले मैले बुझाएको भन्सार महसुलसमेत डुब्ने भएकाले पुनरावेदन अदालत, पाटनको त्रुटिपूर्ण फैसला उल्टी गरी मैले खरिद गरी लिएको उक्त मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदक नेत्रबहादुर के.सी.को तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा निवेदकले खरिद गरेको मोटरसाइकल सवारी तथा यातायात मापदण्ड, २०५६ विपरीत छ भन्ने कुनै ठोस परीक्षण प्रतिवेदनसमेत विपक्षीले पेस गर्न नसकेको अवस्थामा रिट निवेदन खारेज गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।११।३ मा भएको फैसला त्रुटिपूर्ण देखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने व्यहोराको यस अदालतबाट मिति २०७०।७।२८ मा भएको आदेश ।
नेपाल प्रदूषण मापदण्ड, २०५६ अनुरूप भएका सवारी साधनको मात्र सम्बन्धित अधिकार प्राप्त निकायबाट दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराउने हो । सवारी दर्ता गर्ने प्रयोजनका लागि आवश्यक पर्ने प्रमाणित कागजातको अभावमा र नेपाल प्रदूषण मापदण्ड, २०५६ अनुरूप नभएका मोटरसाइकलहरू दर्ता गर्न नमिल्ने र सवारी साधनको दर्ता गर्ने ब्लु बुक दिनेलगायतको काम यातायात व्यवस्था विभाग र अन्तर्गतका कार्यालयबाट हुने हुँदा बिनाआधार र कारण यस मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको प्रस्तुत पुनरावेदनपत्र खारेजभागी हुँदा खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लिखित जवाफ ।
निवेदकले चिनिया दूतावासका कर्मचारीबाट खरिद गरेको मोटरसाइकल यस कार्यालयबाट दर्ता नामसारी नभएउपर पुनरावेदन अदालत, ललितपुरमा २०६८ साल पौष १८ गते दायर गरेको रिट निवेदन मिति २०६८।११।३ मा खारेज भएको फैसलाउपर सम्मानित सर्वोच्च अदालतमा परमादेशसमेतको रिट माग गरेकोमा यस कार्यालयबाट २०६९।२।२९ मा लिखित जवाफ पेस गरिएको हुँदा उक्त लिखित जवाफको प्रकरण नं.२ मा उल्लिखित अवस्था विद्यमान नहुँदा निजले यस कार्यालयसमेतलाई विपक्षी बनाइरहनुपर्ने होइन । अत: विपक्षीको निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको यातायात व्यवस्था कार्यालय, मोटरसाइकल बागमतीका तर्फबाट परेको लिखित जवाफ ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू मिसिलसमेत अध्ययन गरियो । पुनरावेदक निवेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कुमारप्रसाद आचार्यले मेरो पक्षले चाइनिज एम्बेसीबाट कानूनबमोजिम मोटरसाइकल खरिद गरेको र परराष्ट्र मन्त्रालयको आदेशअनुसार भन्सार विभागमा भन्सार महसुलसमेत दाखिल गरिसकेपछि मात्र नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत हुने हुँदा दर्ता गर्न नमिल्ने भनी गैरकानूनी निर्णय भएको अवस्थामा रिट निवेदन खारेज हुने गरी भएको पुनरावेदन अदातल, पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी निवेदन मागबमोजिम उक्त मोटरसाइकल दर्ता गरी ब्लु बुक दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत व्यहोराको बहस गर्नुभयो । प्रत्यर्थी विपक्षी यातायात व्यवस्था विभागसमेतका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राम घिमिरेले उक्त मोटरसाइकलको सुरू दर्ता रेकर्ड फेला नपरेको र यसरी सुरू दर्ता रेकर्ड फेला प्राप्त नभएको अवस्थामा उक्त मोटरसाइकल नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत हुने हुँदा दर्ता नामसारी गर्न नमिल्ने भएकाले पुनरावेदन अदालतको फैसला कायम हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस गर्नुभयो ।
दुबै पक्षका विद्वान् कानून व्यवसायीहरूको बहससमेत सुनी सुरू मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको मिति २०६८।११।३ को फैसला मिलेको छ छैन निवेदक नेत्रबहादुर के.सी.को पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, Jailing Brand को चाइनिज मोटरसाइकल चाइनिज एम्बेसीबाट 8-Dec 2010 मा खरिद गरी परराष्ट्र मन्त्रालयको आदेशअनुसार भन्सार विभागमा भन्सार महसुलसमेत दाखिल गरिसकेपछि उक्त मोटरसाइकलको सुरू दर्ताको रेकर्ड प्राप्त नभएकाले नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत हुन जाने हुँदा दर्ता गर्न नमिल्ने भनी दर्ता गरी ब्लु बुक र नम्बर दिने कार्य नगरेकाले उक्त मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भनी परमादेशको आदेश जारी गरिपाउँ भन्ने मुख्य निवेदन मागदावी भएकोमा निवेदकको मोटरसाइकलको विधिवत् सुरू दर्ता भएको अभिलेख नदेखिएको र मोटरसाइकल पुरानो हुँदा यस विभागबाट दर्ता गर्न नमिल्ने भनी यातायात व्यवस्था कार्यालय, बागमतीलाई निर्देशन दिएको हुँदा सो निर्देशन कानूनसम्मत रहेकोले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षीहरूको लिखित जवाफ परेकोमा पुनरावेदन अदालत, पाटनबाट रिट निवेदन खारेज गर्ने गरी भएको निर्णयउपर निवेदक नेत्रबहादुर के.सी.को तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो ।
३. निवेदकले चाइनिज एम्बेसीबाट Jailing Brand को मोटरसाइकल खरिद गरी परराष्ट्र मन्त्रालयको आदेशानुसार भन्सार विभागमा मोटरसाइकलको लाग्ने भन्सार महसुल मिति २०६८।६।१० मा बुझाएको रसिद मिसिल संलग्न रसिदको प्रतिलिपिबाट देखिएबाट निवेदकले चाइनिज एम्बेसीबाट उक्त मोटरसाइकल खरिद गरेको कुरामा विवाद देखिएन । यसरी निवेदकले मोटरसाइकल चाइनिज एम्बेसीबाट खरिद गरी लिएको देखिँदा उक्त मोटरसाइकल आधिकारिक निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरेर नै पैठारी गरेको मान्नुपर्ने
हुन्छ । आधिकारिक निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरेर पैठारी गरेको मोटरसाइकललाई सुरू दर्ता भएको अभिलेख फेला नपरेको भन्ने आधारमा मात्र कुनै पनि नागरिकले कानूनबमोजिमको प्रक्रिया पूरा गरी खरिद गरेको आफ्नो सम्पत्तिको दर्ता नामसारी गरी स्वामित्व प्राप्त गर्नबाट रोक लगाउन मिल्ने भनी अर्थ गर्न मिल्दैन । तर सुरू दर्ताको रेकर्ड प्राप्त नभएमा यस प्रकृतिको सवारी साधन नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत हुन जाने हुँदा दर्ता गर्न नमिल्ने भनी श्रम तथा यातायात व्यवस्था विभागबाट मिति २०६८।७।६ मा भएको निर्णयलाई बदर गर्नेतर्फ निवेदकको निवेदन मागदावी नरही केवल मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिन परमादेशको आदेश जारी गरिपाउँ भन्ने मात्र मागदावी रहेको देखिन्छ ।
४. यसरी निवेदकबाट मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने मात्र माग गरेको तर आफूलाई असर पर्ने गरी यातायात व्यवस्था विभागबाट मिति २०६८।७।६ मा भएको निर्णयलाई बदरतर्फ उत्प्रेषणको माग गरेको निवेदनबाट नदेखिएको अवस्थामा परमादेशको आदेश जारी भए पनि यातायात व्यवस्था विभागको मिति २०६८।७।६ को निर्णय यथावत् कायमै रही आदेशको औचित्य नै नरहने हुँदा यस अदालतबाट विपक्षी झिकाउने आदेश गर्दा लिइएको आधारसँग सहमत हुन सकिएन ।
५. अत: माथि विवेचित आधार प्रमाणबाट रिट निवेदन खारेज हुने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।११।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । निवेदक नेत्रबहादुर के.सी.को पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इति संवत् २०७१ साल भदौ २ गते रोज २ शुभम् ।
इजलास अधिकृत :- मनोज श्रेष्ठ