निर्णय नं. १७५८ - ज्यान

निर्णय नं. १७५८ ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको फौ.पु.नं. ३१९, फा.सा.नं. ८६
फैसला भएको मिति : २०४०।९।२४।१ मा
पुनरावेदक/वादी : सार्की सेर्पाको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : सि.पा.जि.कुनचक गा.पं.वार्ड नं.९ भरुवा पारी घर भई दोलखा जिल्ला कारागारमा थुनामा रहेको विष्णुबहादुर खत्री
मुद्दा : ज्यान
(१) वारदात स्थलमा ज्वारीकोट भएकोले अनुमान र शंकाको आधारमा मारेको भन्ने स्थिति हुँदैन । एकअर्काको ज्वारीकोट सट्टापट्टा हुनसक्ने सम्भावना नभएको भन्न नसकिने । (प्रकरण नं. २३)
पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।१३ को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी र साधक निकासाको लागि समेत पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :
२. वि.गु.गा.पं.वडा नं.७ ठिमसिं भन्ने जंगलमा नमालुम कहाँको अपरिचित मानिसको लास रहेछ खुकुरीको चोट लागेको लासको १ हात फरकमा एउटा दाप भएको खुकुरी र एउटा दापबाट झिकिएको खुकुरी समेत देखिएकोले दरखास्त गर्न आएको छु कानुनबमोजिम होस् भन्ने ०३४।१२।१३ को सार्की सेर्पाको दरखास्त ।
३. वि.गु.गा.पं.वडा नं.७ बाह्रविसे जाने बाटो देखि उत्तर पूर्वका बीच सुकेको ढलेको रुखको बीचमा अपरिचित लोग्ने मानिसको लास भएको हातको पाँचै औंला हतियारले काटिएको कान्छी औंला र चोर औला पूरै छिनेको बाँकी औंला बाँया हातको पाँचैवटा काटिएको र टाउकाको सम्पूर्ण भाग चकनाचुर पारी हतियारले काटिएको दुबै कान काटिएको लासको शिर देखि १ हात फरकमा काठको बिँड भएको धारा दोब्रेको रगत लागेको नयाँ खुकुरी र सो खुकुरी देखि अं. ४ हात फरक दाप जडान नयाँ खुकुरी भेटिएको खुकुरी झिकी हेर्दा रगत लागेको देखिएको पुरानो अछार्नाे सुतीको कमिज, टेर्लिङको कमिज समेत ३ वटा कमिज रगतै रगत लागेको भेटिएको र अरू कपडाहरू ज्वारीकोट समेत भेटिएको, पकेट खोली हेर्दा चौतारा अस्पतालको पुरानो च्यातिएको विष्णुबहादुर नाम भएको ०३३।८।१३ को उपचार पूर्जि भेटिएको भन्ने समेत व्यहोराको लासप्रकृति मुचुल्का ।
४. घटनास्थलमा प्रहरी अधिकृतबाट अनुसन्धान हुँदा लास रहेको वरीपरी कपडा र खुकुरी देखिँदा कहीँ जान लागेको लाहुरे हुनुपर्छ सो मानिसलाई मार्ने को हो ? थाहा छैन, उक्त खुकुरी हाम्रो गाउँमा बनेको होइन बाटो हिँड्ने मानिसलाई कसैले काटेको हुनुपर्छ भन्ने समेत व्यहोराको मुचुल्का ।
५. घटनास्थलमा भेटिएको कागजातमा लेखिएको मानिस बुझ्न जि.प्र.जि.का.सिं.पा. चौतरालाई पत्र लेख्दा मानिस उपस्थित गराएको ।
६. जि.प्र.नि.का.चरीकोटबाट बोलाएको छ भनी जि.प्र.नि.का.चौताराबाट मौखिक भनेको हुँदा हाजिर हुनआएको छु । लासप्रकृति मुचुल्का, बरामद भइआएको चिज देखाउँदा देखेँ बरामदी माल मध्ये नाइलनको सेतो कमिज मेरो हो दिलबहादुरले लगाएको हेरी पहिचान गरेँ मृतक छोरा दिलबहादुर हो । काठको दाप भएको खुकुरी हाम्रो सिं.पा. जिल्लामा बनाएको हो । मेरो छोरा दिलबहादुर अधिकारी भाँडाहरूको व्यापारी काम गरी बेची आउँथ्यो तर ०३४ साल बैशाख देखि घर नआई खोजी गर्दा पत्ता लगाउन सकिँन । ०३३ साल फाल्गुणमा मृतक छोरा दिलबहादुर र विष्णुबहादुर खत्री भाँडा बिक्री गरी हिँड्ने गरेको थियो हिसाब किताब नमिलेकोले केही भनाभन भई छुट्टै हिँड्ने गरेको थिएँ । चौतारा अस्पतालमा विष्णुबहादुरले उपचार गरेको कागज यो वारदात भएको ठाउँमा भेटिएको र सो कागजबाट मेरो छोरालाई विष्णुबहादुर समेत भई कर्तव्य गरी मारेमा शंका लाग्छ निजलाई पक्राउ गरी खुलाई पाउँ भन्ने समेत मृतकको बाबु पदमबहादुर अधिकारीको प्रहरीमा भएको कागज ।
७. दिलबहादुर अधिकारीको रेडियो राजीनामा र टेलरिङको कमिज, झोला समेत देखाएको दिलबहादुरको हो निज ०३४ साल बैशाख महीना देखि हराएको थियो झोला पहिचानबाट निजलाई कर्तव्य पारी मारेको रहेछ भन्ने विश्वास लाग्छ, चौतारा अस्पतालबाट दिएको औषधि लिएको पूर्जि मेरै नाममा मैले लिएको पूर्जि हो दिलबहादुरले मार्ग महीनामा फुपूको घरमा जान्छु तिम्रो जुवारीकोट देउ भनेबाट मैले दिएको थिएँ अस्पतालको पूर्जि मेरो जुवारीकोटमा थियो त्यसकारण सो पूर्जि घटना भएको ठाउँमा भेटिएको हो भन्ने मलाई लाग्छ निजलाई मैले मारे मराएको छैन भन्ने समेत विष्णुबहादुर खत्रीको कागज ।
८. मेरो टाउको पछाडि भुँडी खोपडा माथि, र टुपी देखि माथि हतियारको चोट जस्तो खत समेत छ भनी निज विष्णुबहादुरले जि.प्र.नि.का.मा गरेको ततिम्बा कागज ।
९. मृतकको जेठा बाबु नरबहादुरको ठाडो कागज गराउँदा विष्णुबहादुरले अस्पतालबाट औषधी खाई लिएको पूर्जि घटनास्थलमा भेटिएकोले विष्णुबहादुरले मारे मराएको म यकीन भन्न सक्तिन निजका नाउँको पत्र कसरी घटनास्थलमा पाए निजै जानुन् भन्ने व्यहोराको कागज ।
१०. घटनास्थलमा फेला परेका सबूत प्रमाणको आधारबाट र अभियुक्तहरूको आङ, जिउ, शरीरको टाउको पछाडि र अगाडिको भागमा ठाउँ–ठाउँमा हतियार हानेको चोटपटक लागेको खत समेत भएबाट मृतक दिलबहादुर र अभियुक्त विष्णुबहादुर २ जनाको सो घटनास्थलमा भिडन्त भई खुकुरी प्रहार गरी मृत्यु भएपछि निज अभियुक्त विष्णुबहादुर भागी गएको छ भन्ने स्पष्ट प्रमाणबाट नै प्रमाणित सिद्ध हुनआएको हुँदा अभियुक्तले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको दफा १३ को देहाय बमोजिम कसूर गरेको देखिनाले सोही ऐन अनुसारको सजाय माग गरेका छौं भन्ने समेत व्यहोरोको प्रहरी प्रतिवेदन ।
११. घटनास्थलमा फेला परेको नेपाली झोला ललितपुरमा किनेको हो । मेरो टेरलिनको कमिज निजैको हो अरू कमिजहरू कस्को हो थाहा छैन चौतारा अस्पतालको मिति ०३३।८।१३ को टिकट मेरो नाउँको हो । घटनास्थलमा फेला परेको कालो ज्वारीकोट मेरै हो फुपूको घर काठमाडौं कुमारी चोक जान्छु तिम्रो ज्वारीकोट देउ भनी निजले भनेकोले दिएको थिएँ चौतारा अस्पतालको औषधिको पूर्जि सोही ज्वारीकोटमा नै थियो त्यसो हुँदा घटनास्थलमा फेला परेको हो निजको पुरानो ज्वारीकोट मैले लिएको थिएँ च्यातिइसक्यो । रेडियो लाइसेन्स, राजीनामा, हिसाबको कागज, कालो रङको प्लास्टीक कभर भएको डायरी, त्रिचन्द्र कलेजको व्याग समेत कस्को हो विश्वकर्मा भाँडा भण्डारको खाली बील थान ३ मलाई र दिलबहादुरलाई धरौट लिई साहूले दिएको हो म र निज दिलबहादुर भाँडा व्यापार गथ्र्यौ । ०३४।१।११ सम्म सँगै काम गरेको हो म विरामी भएकोले व्यापारमा छुट्टिएको हो त्यसपछि निजसँग मेरो भेट भएको छैन र कुनै रिसइवी पनि छैन । घटनास्थलमा फेला परेको खुकुरी कस्को हो निजलाई खुकुरी प्रहार गरी मारे मराएको समेत होइन भन्ने समेत व्यहोराको विष्णुबहादुरको अदालतमा भएको बयान ।
१२. प्र.विष्णुबहादुर कसूर गरेमा इन्कार रहेता पनि घटनास्थलमा फेला परेको ज्वारीकोट चौतारा अस्पतालको पूर्जि टिकट आफ्नो भएमा सावित भएकोले बुझ्दै जाँदा ठहरेबमोजिम मर्ने गरी पूर्पक्ष निमित्त थुनामा राख्नु भन्ने समेत ०३५।३।१५ को आदेश ।
१३. प्र.विष्णुबहादुरले ज्वारीकोट र अस्पतालको पूर्जि मेरो हो भनेकाले निज उपर शंका लाग्छ भन्ने समेत व्यहोराको रिजी सेर्पा समेत सरजमीनका व्यक्तिहरूको एकै मिलानको बकपत्र ।
१४. ज्वारीकोट र अस्पतालको बील समेत मेरै हो भनी प्र.विष्णुबहादुरले भनेको हुँदा मृतक दिलबहादुरलाई निजैले मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको च्याड्डा सेर्पा समेतको बकपत्र ।
१५. मृतकलाई प्र.विष्णुबहादुरले मारेको हामीलाई थाहा छैन भन्ने समेत व्यहोराको दोर्जे छिरिङ समेत र विष्णुबहादुरले कर्तव्य गरी मारेमा शंका लाग्दैन भन्ने समेत व्यहोराको विष्णुबहादुरको साक्षी कृष्णबहादुर ठकुरीसमेतको बकपत्र ।
१६. अभियुक्तले आफूखुसी प्रहरीमा गरेको कागज र अदालतमा गरेको बयान आपसमा बाझिन गएकोले निजको ज्वारीकोट सट्टापट्टा गरेको भन्ने भनाई विश्वासनीय देखिँदैन । साथै ज्वारीकोट सट्टापट्टा गरे तापनि आफ्नो कागजहरू नझिकी सट्टापट्टा गर्नुपर्ने औचित्य देखिँदैन। ०३४।१।११ सम्म सँगसँगै काम गरेको त्यसपछि भेट भएन भन्ने बयान छ । प्रहरीमा गरेको कागजमा ०३३ साल माघमा सट्टापट्टा गरेको मान्ने हो भने भेट हुँदा कागजपत्र माग्नुपर्ने प्रहरी प्रतिवेदन दावीमा अभियुक्तको शिरमा रहेको हतियारको चोटबाट परेको घा खतहरूबाट मृतक र अभियुक्तको बीच खुकुरीले भिडन्त भएको स्थिति देखाएअनुसार घटनास्थलमा बरामद भएको दुईटा खुकुरी र कपडामा रगत लागेको भेटिएको सरजमीनका मानिसले अदालतमा आई बकपत्र गर्दा अभियुक्तले मारेमा विश्वास लाग्छ भनी बकेको प्रतिवादीको साक्षीहरूले मारेको होइन भनी किटानी भन्न नसकेकोबाट इन्कारी बयानलाई पुष्टी हुन नसकेकोले विष्णुबहादुरले मृतक दिलबहादुरलाई प्रहरी प्रतिवेदन दावी अनुसार कर्तव्य गरी मारेको ठहरेकोले ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहराई गरेको दोलखा जिल्ला अदालतको ०३७।८।९ को जाहेरी फैसला ।
१७. उक्त फैसलामा चित्त बुझेन सो फैसला बदर गरिपाउँ भन्ने समेत प्रतिवादी विष्णुबहादुर खत्रीको पुनरावेदन ।
१८. पहिले मृतक र अभियुक्त सँगै व्यापार गरेको सन्दर्भमा ज्वारीकोट साटासाट हुनसक्ने सम्भावना नभएको भन्न नमिल्ने र शंकाको सुविधा अभियुक्तले पाउने हुँदा अपराध गरेको ठोस प्रमाणको अभावमा प्रविादीले सफाई पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ.डिभिजनबेञ्चको ०३८।५।१३ को फैसला ।
१९. उक्त फैसलामा चित्त बुझेन प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनुपर्दछ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।
२०. पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले घटनास्थल र लास प्रकृति मुचुल्काबाट दुई व्यक्तिका बीच भिडन्त भई हतियार हानाहान हुँदा मृतकको मृत्यु भएको देखिन्छ । घटनास्थलमा फेला परेको ज्वारीकोटमा प्र.विष्णुबहादुरको चौतारा अस्पतालको उपचार पूर्जि समेत देखिन्छ । सो ज्वारीकोटमा रगत समेत लागेको र हिसाव गरेका कागज च्यातिएका टुक्रा समेतबाट भाँडा व्यापारको हिसाबमा झगडा परी कागज च्याताच्यात भई सोही रिसबाट हतियार प्रयोग गरी मृतक दिलबहादुरलाई मारी सो रगत लागेको ज्वारीकोट छोडी भागेको भन्ने परिस्थिति अन्य प्रमाणबाट प्रष्ट देखिनाले निज प्र.विष्णुबहादुरलाई सफाई दिएको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
२१. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव वा बेमनासिव के रहेछ सो कुराको निर्णय दिनुपरेको छ ।
२२. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी विष्णुबहादुर खत्री मर्ने दिलबहादुरको बाबु पदमबहादुरले दिलबहादुर हो भनी तथ्य साथ लेखी दिनसकेको पाइन्न । जाहेरवाला सार्कीे सेर्पा तथा सरजमीनका व्यक्तिहरूले समेत मर्ने दिलबहादुरलाई यी प्रतिवादी विष्णुबहादुरले कर्तव्य गरी मारेको हो भनी किटान साथ लेखी दिनसकेको देखिन्न । जाहेरी दरखास्तमा प्रतिवादी विष्णुबहादुरको नाम सम्म पनि उल्लेख भएको पाइन्न ।
२३. वारदात स्थलमा भएको ज्वारीकोट प्रतिवादी विष्णुबहादुरको भएकोले अनुमान र शंकाको आधारमा दिलबहादुरलाई प्रतिवादी विष्णुबहादुर खत्रीले मारेको भन्ने स्थिति हुँदैन । मृतक र अभियुक्त अघिसँगै भाँडा व्यापार गरेको अवस्थामा एकअर्काको ज्वारीकोट सट्टापट्टा हुनसक्ने सम्भावना नभएको भन्न सकिँदैन । तथ्ययुक्त ठोस सबूत प्रमाणको अभावमा अनुमानको आधारमा मात्र दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा प्रतिवादीले पाउने हुँदा प्रतिवादी विष्णुबहादुर खत्रीले सफाई पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन तहबाट प्रतिवादी विष्णुबहादुर खत्रीले सफाई पाउने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिव ठहरी निर्णय भएकोले साधकको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल पौष २४ गते रोज १ शुभम् ।