निर्णय नं. १७६० - चलन चलाई पाउँ

निर्णय नं. १७६० ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको दे.पु.नं. ४७८
फैसला भएको मिति : २०४०।९।४।२ मा
पुनरावेदक/प्रतिवादी : भ.पु.जि.बालकुमारी गा.पं.वार्ड नं.६ दुई पोखरी बस्ने चन्द्रकुमार साहू श्रेष्ठ
विरूद्ध
विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.२९ बस्ने बद्रीलक्ष्मी जोशी
मुद्दा : चलन चलाई पाउँ
(१) अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने भन्ने कुराको निर्णय भई नसक्दै मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक नदेखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्वत
१. पुनरावेदनको अनुमति पाउँ भन्ने चलन चलाई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको ०३८।६।२८।४ को निर्णय दोहर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको मुद्दा ०३९।९।१३।३ का फुलबेञ्चमा बहुमतको रायको आदेशानुसार अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : विपक्षी इन्द्रकुमारीले मसँग रु.१७,००० कर्जा लिई पूर्व मूलबाटो पश्चिम सागल देखि विश्वनाथको घर उत्तर विपक्षी चन्द्रकुमारीको घर दक्षिण तिर्थरामको घर यति ४ किल्ला भित्रको मेरो हकभोगको स्ववासी भ.पु.जि.ठिमी दुई पोखरी टोलको पूर्व मोहडा उत्तर दक्षिण लङको दुई कबले चार नाले चार तल्ले पक्की झिगटी घर सो घरले चर्चेको लगापात समेत २०३२।८।२९।२ फार्छे लेखी दिएको २०३३।३।१ का दिन अन्दाजी १ बजे निजले चलन गर भनी घर छाडी दिएको निजको भिन्न भएको भाइ चन्द्रकुमारले मेरो अंश भागको घर हो छाडी दिन भनी छाडी नदिएकोले चलन चलाई पाउँ भन्ने फिरादपत्र ।
३. वादीलाई बिक्री गरेको घर सदर गरी वादी दावाबाट अलग फुर्सत गरिपाउँ भन्ने समेत इन्द्रकुमारको प्रतिउत्तर अंश मुद्दाबाट बण्डा हुने घर बण्डा भएको छैन, त्यो नाप चार किल्लाको पनि छैन भन्ने इन्द्रकुमारको कुन घर के हेरी रु.१७,०००। मा लिएको प्रतीत पर्ने कुरा नभई इन्द्रकुमार र यो वादी मिली झुठ्ठा लिखत खडा गरी यो झुठ्ठा नालेस गर्न आएको हो । त्यसमा पनि कुनै घर यसरी मुद्दा परी रहेकै छ छुट्टिई छिनिएको पनि छैन भने त्यस्तो स्थितिमा निजहरू मिली कसरी बीच बीचै जुनसुकै किसिमले लिनुदिनु गरेको भए पनि सदर हुनसक्ने कुरो समेत होइन लिखत लेखाइकै बखत आवश्यक परे बयान गर्ने छु भन्ने समेत चन्द्रकुमारको प्रतिउत्तरपत्र ।
४. मेरो आमाले मलाई बकसपत्र दिएको घर पूर्वपट्टि र बाबु चन्द्रकुमार समेतको बण्डा लाउने घर पश्चिमपट्टि जोडिएको थियो आमाको हकको घर मलाई बकसपत्र २०३२।३।१६ मा आमा कान्छीमायाले लेखी दिएको छ । इन्द्रकुमारले बद्रीलक्ष्मीलाई लेखी दिएको मेरो घरको दक्षिणपट्टिको आधा भाग समेत परेको छ भन्ने बुझिएको सूर्यलक्ष्मीले गरेको बयान ।
५. मैले दाइजो पेवाबाट करीव ३० वर्ष अघि लिएको घर छोडी सूर्यलक्ष्मीलाई बकसपत्र गरी दिएको वादी दावीको किल्ला भित्र सो बकसपत्र दिएको घर आधी समेत पर्दछ भन्ने बुझिएको कान्छी श्रेष्ठको बयान ।
६. दाजु भाइका बीचमा बण्डा छुट्टी नसकेको अवस्थामा वादीको दावीको घर उसको भागको पर्ने हो सो कुराको निश्चित नहुँदै प्र.इन्द्रकुमारले मात्र बेचेको सदर हुन नसक्ने हुनाले चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेत भ.पु.जि.अ.को फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी बद्रीलक्ष्मीको पुनरावेदन ।
८. बण्डापत्र खडा हुनु अगावै वादी दावीको घर बिक्री भएकोले त्यस्तो घर बिक्री भएतर्फ आफ्नो हक जतिको लिखत बदर गराउन लेनदेन व्यवहारको १० नं.बमोजिम प्र.चन्द्रकुमार आउनुपर्ने स्थिति छ । वा.अं.अ.को फैसलाबमोजिम आधा घरमा इन्द्रकुमारको हक पुग्ने नै देखिँदा वादी दावी नपुग्ने ठहर्याई सम्पूर्ण लिखत कपाली ठहर्याएको शुरूको इन्साफ मिलेको नदेखिँदा अ.बं.२०२ नं.बमोजिम झगडीया झिकाउनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिङलबेञ्चको आदेश ।
९. प्रतिवादी चन्द्रकुमारको सम्म अंशियार प्र.इन्द्रकुमारले वादीलाई घर बिक्री गर्दा उत्तर साँधमा चनकुमार भनी लेखेको र बागमती अञ्चल अदालतबाट आधा आधा अंश पाउने ठहरी फैसला भएपछि अंशबण्डा नछुट्टिदै अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बिक्री गरेको देखानाले सो फार्छे गरी दिने कार्यबाट प्रतिवादी चन्द्रकुमारको हक गएको भए ऐनका म्याद भित्र उजूर गरी आफ्नो हक जति बदर गराउनुपर्ने सो गराएको नदेखिनाले आधा अंश पाउने अंशियारले आफ्नो हक बिक्री गरेको लिखतको कानुनी मान्यता लोप नहुने हुनाले लिखत बमोजिमको थैलीमा वादीको कपालीमा उजूर परेका बखत ठहरे बमोजिम हुने हुँदा वादी दावी नपुग्ने ठहर्छ भन्ने भ.पु. जि.अ.को फैसला कानुन प्रतिकूल देखिनाले बदर हुने ठहर्छ । फार्छे लिखत अनुसारको वादी दावा बमोजिमको घर वादीले प्र.चन्द्रकुमारबाट चलन समेत पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।१।९।३ को फैसला ।
१०. पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी चन्द्रकुमार श्रेष्ठले दिएको निवेदनमा क्षेत्रीय अदालतको निर्णयमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएको नदेखिएकोले प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने यस अदालत डिभिजनबेञ्चको ०३८।६।२८।४ को आदेश ।
११. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३८।६।२८।४ को निर्णय दोहर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा चन्द्रकुमार साहू श्रेष्ठले चढाएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएकोमा हुकुम प्रमांगी बमोजिम गर्न फुलबेञ्चको लगतमा दर्ता गरी पेश गर्नुभन्ने समेत सम्माननीय प्रधान न्यायाधीशज्यूको ०३९।५।२०।१ को आदेश ।
१२. आफ्नो हक जतिमा बदर गराउन फिराद गर्नुपर्ने भन्ने तर्क लिँदै वादी दावी बमोजिमको घर चलन पाउने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१।९।३ को निर्णयमा अंशबण्डाको २८ नं.तथा लेनदेन व्यवहारको १० नं.को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको समेत हुँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत ०३९।९।१३।३ मा फुलबेञ्चको बहुमत रायको आदेश ।
१३. पुनरावेदनको वारेस पूर्णहरि विपक्षी बद्रीलक्ष्मीलाई रोहवरमा राखी पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलालाई गर्नुभएको बहस समेत सुनियो ।
१४. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के रहेछ भनी निर्णय दिनुपर्ने हुनआएको छ ।
१५. यसमा वादीले इन्द्रकुमारसँग गराई लिएको लिखत सम्पत्ति समेतमा इन्द्रकुमार, चन्द्रकुमार बीच परेको अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने अर्थात इन्द्रकुमारको नै हक हुन्छ भन्ने कुराको निर्णय भई नसक्दै इन्द्रकुमारले मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक देखिँदैन । इन्द्रकुमार र चन्द्रकुमारको बीचमा विवाद परी रहेको सम्पत्ति सो राजीनामाको खरीद गरी लिने बद्रीलक्ष्मीले सो राजीनामाको आधारबाट चलन चलाई पाउँ भन्ने दावी पुग्न सक्ने भनी भ.पु.जि.अ.ले गरेको इन्साफ मनासिव हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३८।१।९।३ को फैसला उल्टी हुने ठहर्छ । तपसीलका कलममा तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी इन्द्रकुमार श्रेष्ठके माथि इन्साफ खण्डमा लेखिएबमोजिम क्षेत्रीय अदालतको फैसला उल्टो भएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१।९।३ को फैसलाले वादीलाई भराउने गरेको रु.३९६।७५ भराउन पर्दैन भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु...............................१
पुनरावेदक प्र.चन्द्रकुमार श्रेष्ठले यसअदालतमा पुनरावेदन गर्दा मिति ०३९।१०।१० मा राखेको कोर्टफी रु.३९६।७५ फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु.........२
मिसिल नियमबमोजिम बुझाई दिनु......................................................................................................................................................३
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४० साल पौष ४ गते रोज २ शुभम् ।