निर्णय नं. १७६१ - कर्तव्य ज्यान

निर्णय नं. १७६१ ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३९ सालको फौ.पु.नं. २४७
सम्वत् २०३९ सालको फौ.पु.नं. ४५०
सम्वत् २०४० सालको फौ.सा.नं. १५५
फैसला भएको मिति : २०४०।९।२५।२ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार साखा धनकुटामा थुनिई बस्ने हर्कबहादुर लिम्बू समेत
विरूद्ध
विपक्षी/वादी : रामबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार र
पुनरावेदक/वादी : रामबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि.संखुवासभा सिद्धि पोखरी गा.पं.वार्ड नं.९ बस्ने धनकुमारी लिम्बू
मुद्दा : कर्तव्य ज्यान
(१) ज्यान मार्ने कुराको कुनै योजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै उठेको रिसबाट कुटपिट गर्दा मरेको ज्यानसम्बन्धीको १३(३) बमोजिमको माग दावी भए तापनि प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव देखिने ।
(प्रकरण नं. २३)
प्रतिवादीहरूतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल
वादीहरूतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।११।२९।६ को फैसला उपर प्रतिवादी हर्कबहादुर लिम्बू समेतको र वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेको र साधक सदरको निमित्त समेत प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : ०३४।१०।४ गते मेरो छोराको विवाहमा ज्वाइँ सुकबहादुर आएका थिए रातको ३ बजेको समयमा बाजाबाज गरी निज सुकबहादुरलाई कुचुके भन्ने लिम्बूले खुकुरीले हानी इन्द्रबहादुरले लात्तीले हानी मारे समाउन खोज्दा भागेकोले लास जाँच गरिपाउँ भन्ने रामबहादुर लिम्बूको जाहेरी दर्खास्त ।
३. भाइ तेजबहादुरको विवाहमा म र लोग्ने सुकबहादुर आएका थियौं मेरो काखको सानो नानी लिई रातमा सुतेँ । झगडा भएको थाहा भएन । बिहान मात्र लोग्नेलाई कुचुके लिम्बू, इन्द्रबहादुर लिम्बू, कुचुकेको भाइ कन्छा कुचुकेको बहिनी ज्वाइँ समेत भएर कुटे अरे भन्ने सुनेँ अलि–अलि सास छँदै ल्याई पुर्याए ऐ ५ गते राति अं.९ बजे प्राण गयो कसको प्रहारबाट मरे भन्ने सुकबहादुरको श्रीमती मतिमायाको कागज ।
४. भाइ तेजबहादुरको विवाहमा मानिस भेला भई धान नाच्न लागिरहेका थिए ज्वाइँ सुकबहादुर पनि गएका रहेछन् । जाहेरीमा परेका २ जना र अरू २ जना रहेछन् । बाजाबाज गरी लाठी समेतले हानेपछि सुकबहादुरलाई खोज्दा जंगलमा बेहोस अवस्थामा फेला पारी घरमा ल्याई ऐ ५ गते रात मरे भन्ने डम्बरबहादुर लिम्बू मोतिमाया लिम्बूनी समेतले प्रहरीमा गरेको कागज ।
५. ०३४।१०।४ गते जाहेरवालाको छोराको विवाहमा आएका थियौ राति ३ बजे झगडा भएको सुनेँ कुचुके लिम्बू कुचुकेकै भाइ निजको बहिनी ज्वाइँ र इन्द्रबहादुर लिम्बू समेत भई केटीको निहँुमा झगडा हुँदा भाइ सुकबहादुरलाई कुटेपछि भाइलाई खोज्दा नभेटाएकोले घरमा गए कि भनी घर गए घरमा भेटिन दिउँसो भेटिएकोले हेर्न जाँदा मर्ने बाँच्ने दोसाँध भएको थियो हेरी घर आएँ राति ९ बजे प्राण गएछ भन्ने सन्चमायाको कागज ।
६. माघ ४ गते विवाहमा म पनि गएको थिए राति धान नाचिरहेको बखत नाम नजानेको केटीसँग सुकबहादुर चल्न थालेछन् चल्दा केटीको नाकको ढुंग्री झरेछ । किन यसो गर्छस् भनी कुचुकेनीको भाइ कान्छो निजको बहिनी ज्वाइँ र इन्द्रबहादुर समेतले सुकबहादुरलाई कुटपिट गरेको मैले देखेको हुँ । भोलिपल्ट ५ गते राति अं. ९ बजे सुकबहादुर मरेको छन् भन्ने बृखमाया लिम्बूनीको कागज ।
७. ०३४।१०।४ गते रामबहादुरको छोराको विवाहमा आएको थिए रातमा धान नाची रहेको थियो । कुचुके र निजको भाइ इन्द्रबहादुर निजको बहिनी ज्वाइँले सुकबहादुरलाई लाठी प्रहार गरेको देखेको हुँ भन्ने लोकबहादुर जिमीको कागज ।
८. कुचुके लिम्बू इन्द्रबहादुर निजको बहिनी ज्वाइँले सुकबहादुरलाई कुटपिट गरी ऐ ५ गते सुकबहादुरको प्राण गएको हो भन्ने ०३५।२।१९ गतेको सरजमीन मुचुल्का ।
९. ०३४।१०।४ गतेको रात कुचुके निजको भाइ कान्छा निजको बहिनी ज्वाइँ हर्कबहादुर जिमी र इन्द्रबहादुरले मृतक सुकबहादुरलाई लाठीले हिर्काएकोबाट ऐ ५ गते राति ९ बजे मरेको हुँदा र अभियुक्तहरू फेला नपरेकोले ज्यानसम्बन्धीको १३ नं.को देहाय ३ अनुसार सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।
१०. ०३४।९।२ गते म मेरो घरबाट ताप्लेजुङ जिल्ला नुसलोक भन्ने ठाउँमा दाजु नाता पर्ने हुँदा ऐ ४ गते पुगी दार्जिलिङ गई लाम्बेको घरमा गोठालो काम गरी बसी घरबाट आउनु भन्ने चिठ्ठी आएको हुँदा ऐ माघ २५ गते घरमा आई पुगेँ । बुझ्दा सुकबहादुरलाई इन्द्रबहादुर कुचुकेले कुटपिट गर्दा मरे भन्ने सुनेँ मलाई पोल गर्ने नरबहादुर समेतसँग मेरो दाजु कुचुकेसँग रिसइवी परेकोले मलाई पोलेको हो भन्ने धनकुमार लिम्बूले ०३५।११।१६ गतेमा अदालतमा गरेको बयान ।
११. ०३२ साल माघ महीनामा सिक्किम गई कुल्ली काम गरी बसेको थिएँ ०३६।३।२६ गते बाबु मरेको खबर पाई ०३६।४।१३ गते घर आई पुगेपछि सुकबहादुर मरेको ज्यान मुद्दामा पोलेको छ भनेकोले हाजिर हुनआएको छु । सुकबहादुर आफैं मरेको हो वा कसले मारेको हो जान्दिन । मैले कर्तव्य गरेको होइन भन्ने हर्कबहादुरको ०३६।४।२० को बयान ।
१२. सुकबहादुर मेरो भिनाजु हुन रामबहादुरको छोराको विवाहमा गई धान नाचेको हेरिरहेको थिएँ । नाम जान्दिन २ जना लिम्बूले लौरोले कुटेको देखेँ सुकबहादुर निजहरूले कुटेको पिरबाट मरेको हुन भन्ने वृखमाया लिम्बूको बयान ।
१३. ०३४।१०।४ गते विवाहमा म पनि गएको थिएँ । सुकबहादुरलाई कुचुकेले लाठीले टाउकोमा हिर्कायो र हल्लाखल्ला भयो कुट्ने र कुटाई खाने भागेर कता गए थाहा भएन भोलिपल्ट घरमा ल्याएछन् ऐ ५ गते बेलुका कुटेको पिरबाट सुकबहादुर मरेको हो भन्ने मोतिलाल लिम्बूको बयान।
१४. धान नाचेको अवस्था प्र.धनबहादुर कर्णबहादुर, इन्द्रबहादुर पनि थिए । सुकबहादुरलाई कुचुकेले टाउकोमा हिर्कायो कुचुके भागे पनि अरू समेतले खेद्दै गए, कुटे कुटेनन् थाहा भएन केहीबेर पछि कुचुके, इन्द्रबहादुर, धनकुमार, हर्कबहादुर आए । सुकबहादुर आएन । सुकबहादुर कुटाईकै तासिरबाट मरेको हो भन्ने लोकबहादुरको बयान ।
१५. प्रहरीमा गरेको कागज धुने राजीखुसीले गरेको हुँ त्यही व्यहोरा लेखिएको ठीक छ भन्ने संचमाया मर्नेको श्रीमती ऐकमाया लिम्बूनी समेतको बयान ।
१६. मृतक सुकबहादुरलाई प्रतिवादीहरूले कुटपिट गरेको पिरबाट मरेको देखिँदा प्र.धनकुमार, प्र.हर्कबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने र फरार रहेका कुचुके लिम्बू, इन्द्रबहादुर लिम्बूको हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी रहने ठहर्छ भन्ने समेत संखुवासभा जिल्ला अदालतको ०३७।६।७।३ को फैसला ।
१७. उक्त इन्साफमा चित्त बुझेन भन्ने धनकुमार हर्कबहादुर लिम्बूको पुनरावेदन ।
१८. शुरूले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजाय गरेको मिलेन अ.बं.२ नं.बमोजिम पू.क्षे.स.अ. कार्यालयलाई सूचना दिई नियम बमोजिम गर्नुभन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।१०।४ को आदेश ।
१९. मुद्दाको मिसिल संलग्न कागजात हेर्दा प्रति वादीहरू मध्ये इन्द्रबहादुर, कुचुके लिम्बूका हकमा शुरूको फैसलाबाट मुलतवी रहेकोले निजहरूको हकमा हाल विचार गरी रहन नपर्ने र बाँकी हर्कबहादुर र धनकुमारका सम्बन्धमा हेर्दा जाहेरी दरखास्तबाट इन्द्रबहादुर र कुचुके लिम्बूको प्रहारबाट सुकबहादुर मरेको भन्ने भएको, मौकामा देख्ने भन्ने वेखमाया तथा लोकबहादुर समेतको प्रहरीमा गरेको बयानबाट हर्कबहादुर, धनबहादुर समेतले कुटपिट गरेको भन्ने भएको र प्रहरीमा गरेको सो बयानलाई समर्थन गरी अदालतमा बयान गरेको देखिन्छ । हर्कबहादुर धनबहादुरले आफू वारदातस्थलमा नरही अन्यत्र रहेको भन्ने जिकिर लिए तापनि निजकै साक्षीहरूको बकपत्र समेतबाट सो पुष्टी हुनसकेको देखिएन । वृषमाया समेतको बयानबाट निजहरू घटनास्थलमा नै रहेको देखियो । अब वारदात प्रकृतितर्फ विचार गरी हेर्दा धाननाच हुँदाको अवस्थामा केटीको कुरामा कुटपिट भएको भन्ने देखिएको र मिसिलबाट प्रतिवादीहरूले ज्यान मार्नुपर्ने कुनै रिसइवी योजना तथा तयारी भएको भन्ने देखिन आउँदैन । धाननाच भइरहेको अवस्था मृतक सुकबहादुरले वृखनारायणको छोरीलाई चलाएकोमा तत्कालै लाठी प्रहार गरी कुटपिट भएको कारणबाट मर्न गएको देखिन आयो । तसर्थ ज्यान मार्ने कुराको कुनै पूर्व योजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै कुटपिट गर्दा मरेकोमा ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजाय गर्दा चर्को पर्न जाने देखियो । ज्यानसम्बन्धीको १४ नं.बमोजिमको अवस्थाको देखिएकोले समेत प्र.हर्कबहादुर, धनकुमारलाई सोही अनुसार १० वर्ष कैदको सजाय हुन्छ । पुरै सफाई पाउनुपर्छ भन्ने पुनरावेदक हर्कबहादुर लिम्बू समेतको पुनरावेदन जिकिर पुग्न सक्तैन । ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको शुरूको इन्साफ केही उल्टी हुने ठहर्छ । साधक सदरको लागि सर्वोच्च अदालतमा पठाउनु भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।११।२९।६ को फैसला ।
२०. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी हर्कबहादुर लिम्बू समेतको र वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परेको र साधक सदरको निमित्त आएको रहेछ ।
२१. दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूको तर्फबाट वैतनिक अधिवक्ता श्री कक्ष मल्लको र वादी श्री ५ को सरकारको तर्फबाट खटिई आउनु भएका सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो ।
२२. प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के रहेछ भनी निर्णय दिनुपर्ने हुनआएको छ ।
२३. यसमा वारदात प्रकृतितर्फ विचार गरी हेर्दा रामबहादुर लिम्बूको छोराको विवाहमा धाननाच हुँदाको अवस्थामा केटीको कुरामा कुटपिट भएको भन्ने देखिएको र पुनरावेदक प्रतिवादी हर्कबहादुर लिम्बू र धनकुमार लिम्बूले आफू वारदात स्थलमा नरही अन्यत्र रहेको भन्ने जिकिर लिए तापनि निजकै साक्षीहरूको बकपत्र समेतबाट सो पुष्टी हुनआएको देखिन्न । धाननाच भइरहेको अवस्था मृतक सुकबहादुरले वृषनारायणको छोरीलाई चलाएकोमा तत्कालै लाठा प्रहार गरी कुटपिट भएको कारणबाट मर्न गएको देखिन आएकोले ज्यान मार्ने कुराको कुनै पूर्वयोजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै उठेको रिसबाट कुटपिट गर्दा सुकबहादुर मरेकोमा ज्यानसम्बन्धीको १३(३) बमोजिमको माग दावी भए तापनि प्रतिवादी हर्कबहादुर र धनकुमारलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । साधकको लगत कट्टा गरी दिनु र मिसिल नियमबमोजिम बुझाई दिनु ।
उत्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४० साल पौष २५ गते रोज २ शुभम् ।