निर्णय नं. ८७३४ - ज्यान मार्ने उद्योग

ने.का.प. २०६८, अङ्क १२
निर्णय नं.८७३४
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री सुशीला कार्की
फौजदारी पुनरावेदन नं.–०६४–CR– ०६३७
फैसला मितिः२०६८।२।३१।३
मुद्दाः– ज्यान मार्ने उद्योग ।
पुनरावेदक वादीः रामविलास प्रसाद कुशवाहको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः सर्लाही जिल्ला, छटौल गा.वि.स. वडा नं. ७ बस्ने राजीनन सहनी समेत
शुरु फैसला गर्ने :–
मा.न्या.श्री देवराम पौडेल
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री विष्णुप्रसाद ढकाल
मा.न्या.श्री राजेन्द्रराज पन्त
§ कुटपीटको वारदात र ज्यान मार्ने उद्योगको वारदात नितान्त फरक अवस्थाका कसूर हुन् । कुटपीटको वारदातमा सामान्य घाइते बनाउनेसम्मको मनसाय भए पनि ज्यानै लिने गरी प्रहार गर्ने इच्छानिहित रहेको हुँदैन र त्यस्तो परिणामको अपेक्षा पनि गरिएको हुँदैन, जुन ज्यान मार्ने उद्योगमा अन्तर्निहित रहने ।
§ सामान्य कुटपीटको वारदातमा सामान्य हतियारको प्रयोग गरी पीडितलाई शारीरिक चोट पुर्याई घाइतेसम्म पार्ने उद्देश्यले सो क्रिया गरिएको हुन्छ भने ज्यान मार्ने उद्योगमा पीडितको ज्यानै लिने उद्देश्यले हतियारको प्रयोग गरिएको हुन्छ । यसरी कुटपीट र ज्यान मार्ने उद्योगको वारदातमा उल्लिखित कुराहरूको अलावा नियत र मनसाय तत्व प्रमुख रुपमा विचारणीय हुने ।
(प्रकरण नं.६)
§ ज्यान मार्ने उद्योगमा ज्यान मार्ने मनसाय थियो वा थिएन भन्ने कुरा पीडितउपरको प्रहारको पद्धति र हतियार प्रयोग गरिएको भए सो हतियारको प्रकृति र त्यसको प्रयोगको अवस्थाबाट पहिचान गर्न सकिने ।
§ वारदातमा धार नभएको र धार भएको हतियार तथा गोली फायर हुने हतियारको प्रयोग र पद्धतिको अवस्था समान हुँदैन । धार नभएको वा भएको हतियार कुन हदसम्म कहाँ प्रहार गर्ने भन्ने प्रहारकर्ताले अनुभव गर्न सक्छ । पीडितलाई सामान्य घाउ चोट पार्ने वा प्रहार घातक बनाउने भन्ने कुरा प्रहारकर्ताको इच्छामा निर्भर गर्दछ । प्रहार घातक र ज्यान मार्न सक्ने किसिमको छ भने त्यस अवस्थामा ज्यान मार्ने उद्योगको कसूर हुन वारदातको अवस्था र प्रकृतिअनुसार तेस्रो पक्षको उपस्थिति आवश्यक हुन सक्ने अवस्था पनि रहन जान्छ । तर गोली फायर गर्ने हतियारको प्रयोगको अवस्था भने अन्य हतियार प्रयोगको अवस्था जस्तो हुँदैन । गोली प्रहार गर्दा प्रहारकर्ताले चाहेको हदसम्म गोलीको असरलाई सीमित गर्न नसक्ने ।
§ कुनै मानिसलाई ताकेर गोली प्रहार गरिएको छ भने त्यो निश्चित रुपले सो मानिसको ज्यानै मार्नका लागि प्रहार गरिएको भनी स्वाभाविक निष्कर्षमा पुग्न सकिने ।
§ बन्दूकको गोली प्रहार सामान्य शारीरिक क्षतिको लागि वा कुटपीटबाट पर्न सक्ने जस्तो चोट पुर्याउनका लागि हुँदैन । ज्यान मार्ने नै नियतले गोली प्रहार गरिएको भए पनि निशाना गलत भएमा वा पीडितको तत्कालको छलछाम वा आफूलाई बचाउन शरीरलाई गतिशील तुल्याएर होस् वा हान्ने मानिसको निशाना छल्न अन्य उपाय गरेर होस, प्रहारकर्ताको प्रहार सही ठाउँमा लाग्न नसकी पीडित मर्न नसकेको हुन्छ वा घाइते भए पनि तत्काल प्राप्त उपचारको कारण मर्न नपाएको हुन सक्छ । यी कुराहरू कुटपीट र ज्यान मार्ने उद्योगको कसूर कायम गर्ने सन्दर्भमा न्यायिक विश्लेषण र प्रमाण मूल्याङ्कनको विषय हुने ।
(प्रकरण नं.७)
§ ज्यान सम्बन्धी अपराधमा ज्यान मार्ने उद्योगको कसूरमा अक्सर तेस्रो पक्षको उपस्थितिलाई गम्भीरताका साथ हेरिने गरिन्छ । तर सवै अवस्थामा तेस्रो पक्षको उपस्थिति समान रुपमा रहन नसक्ने ।
§ बन्दूकबाट गोली फायर गर्न लागेको पीडकलाई सो फायर गर्न रोक्न नसक्ने अवस्थामा सो गोलीलाई छल्नु बाहेक त्यसबाट बच्न अन्य हस्तक्षेपको विकल्प रहन सक्ने अवस्था नरहने हुँदा ताकेर गोली फायर गरेको अवस्थामा मृत्यु नभएकै कारण मार्ने मनसाय राखेको थिएन भन्नु न्यायसंगत र तर्कपूर्ण नहुने ।
(प्रकरण नं.८)
पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी
प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता जगदेव चौधरी
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ ज्यान सम्बन्धी महलको १ र १५ नं.
§ अ.बं. १९० नं.
§ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ:–
मिति २०५८।३।२ को १९.४५ बजेको समयमा सेखौना ८ बस्ने रामविलाल प्र. कुशवाहालाई जग्गासम्बन्धी विषयका कारण मिति २०५८।३।२ गते राति अं. ७.४५ बजे गाउँकै उपेन्द्र महतो कोइरीले औषधि माग गरेपछि चकलेट मागेकाले बट्टा खोली चकलेट दिन लाग्दा विपक्षी मध्येका राजीनन सहनीले मेरो हात समाएका र उपेन्द्र महतोले थ्री फिफ्टी लिई मेरो छातीमा ताकी हान्दा गोली छली लडेकोमा बाँया खुट्टाको घुँडा मुनि गोली लाग्यो । तत्कालै राजीननले थ्री फिफ्टीले हान्दा बायाँ तीघ्रामा गोली लाग्यो र रामएकवालले हान्दा टाउकोको बायाँतिर कानमाथि लागी गएको हो । थ्री फिफ्टी चलेको आवाज सुनि गाउँघरका मानिसहरू आउँदा विपक्षीहरू भागी गए । भागिरहेको अवस्थामा पाँच जनालाई देखें । तीनजना नजिकमा आई फायर गरेकाले चिनें, अन्य दुई जनालाई चिन्न सकिन । प्रतिवादीहरूले ज्यान सम्बन्धी महलको १ र १५ नं. को अपराध गरेकोले सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
मिति २०५८।३।२ का दिन १९.४५ बजेको समयमा जग्गा सम्बन्धी रिसइवीका कारण सेखौना ८ बस्ने रामविलास प्रसाद कुशवाहालाई ऐ. बस्ने उपेन्द्र महतो समेतका व्यक्तिहरूले गोली हानि सख्त घाइते पारेको घटनास्थलमा रगतका चिन्ह दाग देखिएको, रगत जमेको, घटनास्थलमा फायर भएको गोलीको शिशा १ फेला परी बरामद भएको भन्ने घटनास्थल मुचुल्का ।
जिल्ला सर्लाही सेखौना ८ बस्ने रामविलास प्रसाद कुशवाहाको शरीरमा गन शट इञ्जूरीको विभिन्न नाप साइजको चोट रहेको भन्ने घाउ जाँच केश फारम ।
जिल्ला सर्लाही, सेखौना ८ बस्ने रामविलास प्रसाद कुशवाहा र ऐ. बस्ने उपेन्द्र महतोको बीचमा पहिलेदेखि जग्गाको आली तास्ने विषयमा पहिल्यैदेखि रिसइवि भई एकआपसमा दुश्मनी हुँदा निज रामविलास प्रसाद कुशवाहाको ज्यान मारी दिनु पर्यो भनी उपेन्द्र महतोले साथी रामएकवाल कापडलाई नगद रु. ५०,०००।– दिएका हुन् । सो घटना घटाउन लालबाबु रायले नलकटुवा, मैले तथा उपेन्द्र महतोले थ्री फिफ्टी, रामएकवाल कापडले थ्री फिफ्टी एवं विगन साहले बाँसको लाठी लिई गएका हौं । रामविलास प्रसाद कुशवाहालाई मैले, उपेन्द्र महतो र रामएकवाल कापडले गोली हानेको हो भन्ने समेत व्यहोराको प्रतिवादी राजीनन सहनीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
प्रतिवादी राजीनन सहनीको बयानबाट पोल परेका सेखौना ८ बस्ने उपेन्द्र महतो, सिसौट ४ बस्ने रामएकवाल कापड, ऐ. बस्ने विगन साह तेली र लालबाबु रायको घर खानतलासी गर्दा र अवैध हातहतियार तथा गोली फेला नपरेको भन्ने घर खान तलासी मुचुल्का ।
मिति २०५८।३।२ गते १९.४५ बजेको समयमा सेखौना ८ बस्ने रामविलास प्रसाद कुशवाहालाई निजको औषधि पसलमा उपेन्द्र महतो, रामएकवाल कापड र राजीनन सहनी जना तीनले हतियारद्वारा गोली प्रहार गरेको हो । उक्त वारदातमा विगन साह र मसमेत संलग्न रहेका थियौं भन्ने समेत व्यहोराको प्रतिवादी लालबाबु रायले अधिकारप्राप्त अधिकारीका समक्ष गरेको बयान कागज ।
सेखौना ८ बस्ने रामविलास प्रसाद कुशवाहा र ऐ. बस्ने उपेन्द्र महतोको बीचमा जग्गासम्बन्धी रिसइवी रहेकोमा मिति २०५८।३।२ गते १९.४५ बजेको समयमा निजको औषधि पसलमा प्रतिवादीहरू उपेन्द्र महतो, रामएकवाल कापड, राजीनन सहनी, विगन साह तेली र लालबाबु राय समेतका व्यक्तिहरूले रामविलास प्रसाद कुशवाहाको ज्यान मारी दिने उद्देश्य र मनसायले अवैध हतियारद्वारा गोली प्रहार गरेको हो । समयमा अन्य मानिसहरूको उपस्थिति र औषधि उपचारले गर्दा निज रामविलास प्रसाद कुशवाहाको ज्यान मर्नबाट बाँचेको हो । अपराधकर्मीहरू गाउँ घरमा रहँदा बस्दा समेत खराब चालचलन गतिविधिका व्यक्तिहरू हुन् भन्नेसमेत व्यहोराको सीयाराम महतो, विश्वनाथ महतो, शिवशंकर प्रसाद महतो, विलट महतोले गरिदिएको पृथक–पृथक कागज ।
घाइते रामविलास प्रसाद कुशवाहालाई गोली हानि उपचार गराएको केश फारम तथा एक्सरे प्लेट समेत मिसिल संलग्न रहेको ।
मिसिल संलग्न सबूद प्रमाणबाट उल्लिखित प्रतिवादीहरूले रामविलास प्रसाद कुशवाहाको ज्यान मार्ने उद्देश्य र मनसायले जोखिमी हतियारद्वारा गोली हानि सख्त घाइते पारी ज्यान मार्ने उदेश्यको साथ वारदात गरेको पुष्टि भई प्रमाणित हुन आएको देखिँदा प्रतिवादीहरू राजीनन सहनी, लालबाबु राय, उपेन्द्र महतो, रामएकवाल कापड र विगन साह तेली जना पाँचले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १५ नं. को कसूर अपराध गरेकोले ऐ. ऐनको महल १५ नं. बमोजिम सजाय हुन माग दावी लिएको छ । फरार प्रतिवादीहरूका हकमा सम्मानीत अदालतबाट म्याद जारी गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र ।
जाहेरी दरखास्त पढी सुनाउँदा सुनी पाऊँ । रामविलास प्रसाद कुशवाहालाई कुटपीट गरी ज्यान मार्ने उद्योग गरे गराएको छैन । उपेन्द्र, रामएकवाल, राजीनन सहनीले कुटपीट गरे नगरेको मलाई थाहा छैन । निजहरूलाई म चिन्दिन । घटना मुचुल्कादेखि सोअनुसार जाहेरवालालाई ज्यान मार्ने उद्देश्य गरे नगरेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी लालबाबु रायले अदालतमा गरेको बयान ।
मलाई प्रहरीले तयार पारेको कागजमा कुटपीट गरी बयान गराई सहिछाप समेत गराएका हुन् । मैले जाहेरवालालाई बन्दूक हानि कुटपीट गरी ज्यान मार्ने उद्योग गरेको होइन । मसँग बन्दुक पनि छैन । पड्काउन पनि आउँदैन भन्ने समेत व्यहोराको प्रतिवादी राजीनन सहनीले अदालतमा गरेको बयान ।
उक्त मिति समयमा म आफ्नै घरमा मेरो खुट्टा फुलेर हिँड्न नसक्ने गरी विमारी परी सुतेको थिएँ । घटनास्थलमा गोलीको आवाज मैले सुनेको थिएँ । म उठ्न नसक्ने गरी विरामी परेकोले जान सकिन । जाहेरवालाको परिवार र म पनि पहिले एमालेको सदस्य थियौं । एमाले विभाजनपछि म माले पार्टी लागें । जाहेरवालाको दाजु एमालेको तर्फबाट गा.वि.स.को. उपाध्यक्ष थिए । म मसालमा गएपछि निजले मलाई समेत फसाउने मनसायले मउपर जाहेरी दिएका हुन् । अभियोग दावी सुनें । मउपर झुठा अभियोग लगाइएको हो । मैले सजाय पाउनु पर्ने होइन, म बेकसूर हुँ । मलाई फसाएको हो । तसर्थ झुठा अभियोगदावीबाट फुर्सत पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी उपेन्द्र महतो कोहरीले अदालतमा गरेको बयान ।
मिति २०५८।३।१ गते भारतमा विवाहमा गै मिति २०५८।३।९ गते मात्र घर फर्की आएको थिएँ । जाहेरवालाको घा जाँच केश फारम र नील डाम सम्बन्धमा मलाई थाहा छैन । साथै निजलाई कसले कुटपीट गरेका थिए, सो समेत थाहा छैन । दशीको सामान देखाउँदा देखें सुने । उक्त सामान मेरो होइन । कसको हो मलाई थाहा छैन । अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विगन साह तेलीले अदालतमा गरेको बयान ।
घटनास्थलमा जाँदा एक फायर गरी प्रहरी आएको हल्लाको डरले माओवादीहरू भागी गएका हुन् भनी जाहेरवाला लगायतका सवैले भन्दै थिए । जाहेरवालालाई एक फायर हान्दा सोही फायरबाट निजको बायाँ साइडमा खुट्टा, तीघ्रा र टाउकोमा कानमाथि गोली लागेको थियो र निज होशमै बोली राखेको थियो । जाहेरवाला र कागज गर्ने मानिसहरू एउटै गुटका मानिस भएकोले मौकामा माओवादी आएको भनिएकोमा पछि निज उपेन्द्र उपचार गराउन भारततिर गैसकेपछि निजहरूले झूठा उजूर पोल गरेका हुन् भन्ने प्रतिवादी उपेन्द्र महतोको साक्षी रामकिशोर महतो कोहरीले गरेको बकपत्र ।
जाहेरवालालाई विगन साहले कुटपीट गरी गोली समेत चलाएको होइन र ज्यान मार्ने उद्योग गरेको पनि होइन छैन । विगन साह घर गाउँमा नभै मिति २०५८।३।१ गतेको दिन विगन साहको सादुको छोराको विवाह भएकोले सो निम्तामा भारतको खाड खोपराहा गई ऐ. ६ गते मात्र आफ्नो घरमा फर्किआएको हो भन्ने समेत व्यहोराको प्रतिवादी विगन साहको साक्षी उवाई साहू र हुदेव साहूले गरेको बकपत्र ।
घटना वारदात भएको समयमा निज प्रतिवादी उपेन्द्र आफ्नो घरमा थला परी सुतिरहेका थिए । पाटापाटीको रिसइवीले झूठा जाल रचेका हुन् र किटानी जाहेरी दिएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी उपेन्द्र महतोको साक्षी जोगिन्द्र महतोले अदालतमा आई गरेको बकपत्र ।
उक्त मिति समयमा प्रतिवादी लालबाबु मेरै गाउँ घरमा थियो । सोही ठाउँमा भेट भएका थियौं । निज मिति २०५८।२।२८ गते आई मिति २०५८।३।४ गते मात्र आफ्नो घर फर्की गएका हुन् । उक्त वारदात मिति समयका दिन मेरा गाउँ घरमा भएको हुनाले निजले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज तथा पोल उजूरी सम्पूर्ण झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी लालबाबु रायको साक्षीहरू अच्छेलाल रायले तथा सोही व्यहोरा मिलान हुने गरी गगनदेव भण्डारीले बकेको बकपत्र ।
जाहेरवालालाई गोली हानि घाइते अवस्थामा मैले देखेको थिएँ । बायाँ खुट्टा, टाउको समेतमा लागेको थियो । प्रतिवादी राजीनन सहनीले निज जाहेरवालालाई गोली हानेको होइन भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने शिवशंकर प्रसाद महतोले गरेको बकपत्र ।
म पसलमा थिएँ । जाहेरवाला रामविलास औषधि पसलमा थिए । गोली फाएर भएपछि म दौड्दै घटनास्थलमा आउँदा मैले चिन्हेको मानिसहरू उपेन्द्र महतो, रामएकवाल कापड, राजेन्द्र सहनी तीनजना प्रतिवादीहरू दुई तीन मीटर फरकमा पछाडिबाट भाग्न लाग्दा देखेको हुँ । माओवादी हुन् भन्ने कुरा मैले सुनेको थिएन भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने सीयाराम महतोले गरेको बकपत्र ।
जाहेरीमा लेखेको व्यहोरा साँचो हो । घटना हुनुभन्दा अगावै मेरो पसलमा म थिएँ । प्रतिवादीहरू उपेन्द्र महतो, राजीनन सहनी, रामएकवाल कापड आई उपेन्द्रले मसँग औषधि माग्दा औषधि दिएँ । सोपश्चात् चकलेट मागेकाले चकलेट दिन खोज्दा प्रतिवादी राजीनन सहनीले हात समाएकाले हात छुट्याउन खोज्दा प्रतिवादी उपेन्द्र महतोले थ्री फिफ्टीले मेरो छातीमा गोली प्रहार गर्दा मैले छल्न खोज्दा मेरो बायाँ खुट्टामा गोली लागेको थियो । त्यसपछि प्रतिवादी राजीनन सहनीले गोली प्रहार गर्दा मेरो बायाँ खुट्टाको तीघ्रामा लाग्यो । त्यसपछि रामएकवाल कापडले गोली प्रहार गर्दा मेरो टाउकोको बायाँतिर लागी म घाइते भएको थिएँ । जाहेरी दरखास्तको व्यहोरा साँचो हो भन्ने समेत व्यहोराको जाहेरवाला रामविलास प्रसाद कुशवाहाले गरेको बकपत्र ।
घटना भएपछि घटना स्थलमा पुगेको थिएँ । जाहेरवालाको तीघ्रामा गोली लागेको थियो । राजीनन सहनीलाई उक्त घटनास्थलमा मैले कहीं कतै पनि देखिन । निजलाई भाग्दै गएको समेत देखिन भन्ने समेत व्यहोराको अ.बं. ११५ नं.बमोजिम बुझिएका विश्वनाथ महतोले गरेको बकपत्र ।
कसले गोली हान्यो, चिनिन देखिन । पछाडि भाग्दै गरेको देखें । रामविलासले राजीनन सहनी, उपेन्द्र महतो, रामएकवाल कापडले गोली हानेको थियो भनी व्यहोरा लेखी देखाएको थियो । अनुसन्धानको क्रममा गरेको कागजमा उपेन्द्र महतो, राजीनन सहनीको नाममात्र सुनेको देखेको छैन भनी लेखाएको थिएँ । सो बाहेक अरु लेखाएको थिएन भन्ने समेत व्यहोराको अ.बं ११५ नं. बमोजिम बुझिएका विलट महतो कोइरीले गरेको बकपत्र ।
प्रमाणबाट ज्यान मार्ने उद्योगको कसूर कायम हुने नभई सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपीटमा परिणत हुने ठहर्छ भन्ने सर्लाही जिल्ला अदालतबाट मिति २०५९।६।१३ मा भएको फैसला ।
शुरु जिल्ला अदालतले प्रस्तुत वारदातलाई कुटपीटको वारदात कायम गरी निर्णय गरेको उपर चित्त नुबझाई अभियोग माग दावीबमोजिम नै सजाय गरिपाऊँ भनी वादीको तर्फबाट पुनरावेदन अदालतमा पुनरावेदन परेको ।
राजीनन सहनी, लालबाबु रायले बयान गर्दा प्रतिवादी उपेन्द्र महतोले जाहेरवालालाई मार्न रु. ५०,०००।– रामएकवाल कापडलाई दिई योजनामुताविक ज्यान मार्न गोली प्रहार गरेको भन्ने उल्लेख गरेको, गोली बरामद भएको अवस्था र कुटपीटमा परिणत गर्दा अ.बं. १९० नं. बमोजिम मुलतवी राख्ने गरेको फैसला आफैंमा विरोधाभाषपूर्ण देखिएकोले छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६०।२।२० मा भएको आदेश ।
पीडितलाई नै मार्न पर्नेसम्मको रिसइवी रहेको भन्ने मिसिल संलग्न कागज प्रमाणबाट देखिन नआएको अवस्थामा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपीटमा परिणत हुने ठहर्याई सर्लाही जिल्ला अदालतबाट मिति २०५९।६।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०६१।१०।१८।२ को फैसला ।
कसैले कसैलाई गोली प्रहार गर्ने कार्य तर्साउने वा धम्काउने प्रयोजनले मात्र पनि गरेका हुन् भन्ने अवस्था छैन । गोली प्रहार गर्ने कार्य एकपटक मात्र नभई तीनपटक भएको छ । उक्त गोली प्रहारबाट जाहेरवालाको मर्मस्थानमा नलागी अन्यत्र लागेको कारणले मात्र निजको ज्यान जोगिन गएको देखिन्छ । पीडितको अवस्था सामान्य रहेको भन्ने घा जाँचबाट नदेखिई कडा भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीमध्येका एकजना व्यक्तिसँग पूर्व रिसइवि रहेको छैन भनी भनेकै आधारमा वारदात ज्यान मार्ने उद्योगको नदेखिएको भन्नु तर्कपूर्ण हुँदैन । बन्दूकबाट तीन–तीन प्रहार गरेपश्चात स्वतः मानिस मर्छ भन्ने अनुमान गरी गोलीको आवाज सुनी गाउँलेहरू घटनास्थलमा आउँदा प्रतिवादीहरू वारदातपश्चात भागी गएको तथ्य सीयाराम महतो समेतले गरेको बकपत्रबाट स्थापित भएको छ । शुरु फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसलामा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७, ज्यान सम्बन्धी महलको १५ नं. को गम्भीर कानूनी त्रुटि हुनुको साथै सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएको हुँदा प्रस्तुत मुद्दामा दोहोर्याई हेरी पाउने निस्सा प्रदान भई उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदनपत्र ।
यसमा, जाहेरवाला घाइते रामविलास प्रसाद कुशवाहाको घा जाँच केश फाराम हेर्दा Gun Shot Injury भन्ने उल्लेख भई देब्रे खुट्टा तथा तीघ्रामा गोलीले छेडेको घाउ तथा टाउकोको बाँयापट्टि २१/२” ,१/३” ,१/४” साइजको घा चोटसमेत देखिन्छ । घाइते स्वयम्ले प्रतिवादीहरू उपर किटानी जाहेरी दिई अदालतमा आई बकपत्र गर्दा समेत यी प्रतिवादी राजीनन सहनी समेतले ज्यान मार्ने उद्देश्यले आफूमाथि गोली प्रहार गरेको भनी स्पष्ट किटान गरी दिएको अवस्था छ । घटनाका प्रत्यक्षदर्शी सीयाराम महतो समेतका साक्षीहरूले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरू उपर स्पष्ट किटानी गरी दिएको देखिन्छ । प्रतिवादीले यी जाहेरवालामाथि ज्यान मार्ने उद्देश्यले गोली जस्तो घातक हतियार प्रहार गरेको तथ्य स्थापित भइरहेको यस्तो अवस्थामा प्रस्तुत मुद्दा कुटपीटतर्फ परिणत गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०६१।१०।१८ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा १० र ५४ तथा अ.बं. १८४क नं.को ब्याख्यामा गम्भीर त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतबाट मिति २०६४।११।२।२४ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदीले र प्रतिवादी उपेन्द्र महतोको तर्फबाट विद्वान अधिवक्ता जगदेव चौधरीले गर्नु भएको बहस सुनियो ।
विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदीले प्रतिवादीहरूले हानेको गोली पीडितको टाउको, तीघ्रा र खुट्टामा लागेको छ । प्रतिवादीहरूले गोली हानेको भन्ने तथ्य जाहेरवाला तथा सीयाराम समेतका प्रत्यक्षदर्शीहरूको बकपत्र र घा जाँच केश फारामबाट स्थापित र प्रमाणित भएको छ । तीन–तीनपटक गोली हानेको अवस्था हुँदा ज्यान मार्ने मनसाय रहेको तथ्य स्थापित हुन्छ । ताकेर गोली हानेको अवस्थामा कुटपीट गरेको भन्न मिल्दैन । जाहेरवाला र प्रतिवादीबीच जग्गा सम्बन्धी झगडा रहेकोले मार्ने नियतले गोली हानेको भएपछि मरेको नमरेको भन्ने प्रश्न नै आउँदैन । कुटपीटमा परिणत गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतलको फैसला मिलेको छैन । सो फैसला उल्टी गरी प्रतिवादीहरूलाई दावीबमोजिम सजाय हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
प्रत्यर्थी उपेन्द्र महतो तर्फका विद्वान अधिवक्ता जगदेव चौधरीले प्रस्तुत वारदातमा ज्यान मार्ने उद्योगको तत्वको विद्यमानता छैन । तेस्रो पक्षको उपस्थितिको कारणले ज्यान गर्न नपाएको भन्ने छैन । पीडितलाई भुत्ते हतियारको चोट पनि छ । प्रत्यक्ष गोली लागेको भन्ने घा जाँच केश फारामबाट देखिँदैन । कुटपीटमा परिणत गरेको फैसलाउपर पुनरावेदन नगरेको भन्ने आधारमा ज्यान मार्ने उद्योग ठहराउन मिल्दैन । घाइतेलाई गोली नभै छर्रासम्म लागेको हुनसक्ने जस्तो दुविधायुक्त अवस्था देखिएको हुँदा पुनरावेदन अदालतको फैसलालाई अन्यथा गर्नुपर्ने अवस्था छैन भन्ने समेत गर्नु भएको बहस सुनियो ।
दुवै पक्षको तर्फबाट प्रस्तुत भएको बहस सुनी मिसिलबाट देखिएको तथ्यलाई दृष्टिगत गरी हेर्दा शुरु जिल्ला अदालतले ज्यान मार्ने उद्योगको दावी लिइएकोमा कुटपीटमा परिणत गर्ने गरेको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
इन्साफतर्फ विचार गर्दा, मिति २०५८।३।२ गते १९.४५ बजेको समयमा प्रतिवादीहरू लालबाबु राय, राजीनन सहनी (मिसिलबाट राजेन्द्र सहनी भन्ने समेत देखिएको), उपेन्द्र महतो, रामएकवाल कापड र विगन साह तेली समेतले जाहेरवाला रामविलास प्रसाद कुशवाहाको ज्यान मार्ने उद्देश्य र मनसायले गोली हानि सख्त घाइते पारी ज्यान मार्ने उद्योगको वारदात गरेको पुष्टि भई प्रमाणित हुन आएको भनी प्रतिवादीहरू राजीनन सहनी, लालबाबु राय, उपेन्द्र महतो, रामएकवाल कापड र विगन साह तेलीलाई ज्यान सम्बन्धी महलको १ र १५ नं. को कसूरमा ऐ.को १५ नं.बमोजिम सजाय गरी पाउन अभियोगपत्रमा दावी लिएको देखियो । शुरु जिल्ला अदालतले फरार रहेका प्रतिवादी रामएकवाल कापडको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवीमा राखी अन्य प्रतिवादीहरूको हकमा प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको १५ नं.को परिभाषाभित्र नपर्ने भनी सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपीटमा परिणत गर्ने गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको पाइयो । पुनरावेदन अदालतको फैसलाउपर मुद्दा दोहोर्याई हेरिपाऊँ भनी परेको वादीको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेश भएको अवस्था छ ।
यसमा फरार रहेका प्रतिवादी रामएकवाल कापडको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी रहेकोले निजको हकमा यहाँ बोलिरहन परेन । अन्य प्रतिवादीहरूको हकमा विचार गर्दा मिति २०५८।३।२ गते राति अं. ७.४५ बजे गाउँकै उपेन्द्र महतो कोइरीले औषधि माग गरेपछि चकलेट मागेकाले बट्टा खोली चकलेट दिन लाग्दा विपक्षी मध्येका राजीनन सहनीले मेरो हात समाएका र फर्की हेर्दा विपक्षी उपेन्द्र महतोले थ्री फिफ्टी लिई छातीमा ताकी हान्दा गोली छली लडेकोमा बाँया खुट्टाको घुँडामुनि गोली लाग्यो, तत्कालै राजीननले थ्री फिफ्टीले हान्दा बायाँ तीघ्रामा गोली लाग्यो र लगतै रामएकवालले हान्दा टाउकोको बायाँतिर कानमाथि लागि गएको हो । थ्री फिफ्टी चलेको आवाज सुनी गाउँघरका मानिसहरू आउँदा विपक्षीहरू भागी गए । भागिरहेको अवस्थामा पाँच जनामध्ये तीनजना नजिकमा आई फायर गरेकाले चिनें, अन्य दुई जनालाई चिन्न नसकेको भन्ने समेत व्यहोरा उल्लेख गर्दै परेको जाहेरी दरखास्तबाट कारवाही प्रारम्भ भएको रहेछ । जाहेरवालाको बकपत्र हेर्दा जाहेरी दरखास्तमा उल्लेख भएको व्यहोराअनुरूप खेतको रिसइविबाट प्रतिवादी उपेन्द्र महतोले राजीनन सहनी र रामएकवाल कापडलाई बोलाई ल्याई थ्री फिफ्टी लिई बाँया खुट्टाको तिघ्रामा र टाउकोको बायाँ साइडमा समेत गोली हानि ज्यान मार्ने उद्योग गरे गर्न लगाएको भन्ने समेत उल्लेख गरेको पाइयो ।
घटनास्थलमा जाहेरवालाको पसलभित्र पश्चिम साइडमा गोली फायरबाट ५” ईञ्च लामो ६” ईञ्च चौडाइको कटघेराको भित्तामा बारको माटो भत्किएको, कटघेराभित्र भुईंमा रगत जमेको, यत्रतत्र रगतको टाटा रहेको, कटघेरा अगाडि भूईंमा एक ईञ्च एक प्वाइन्ट लामो एक ईञ्च गोलाइको तामाको टुप्पामाथि कालो भएको गोली थान–१ बरामद भएको भन्ने मिति २०५८।३।३ को घटनास्थल मुचुल्काबाट देखिन्छ । त्यस्तै सर्लाही अस्पताल मलंगवाले जाहेरवालाको घाउ जाँच गर्दा बायाँ खुट्टामा, बायाँ तीघ्रामा विभिन्न नाप साइजको घाउहरू र बायाँ Scalp मा दरफरिएको (Laceraterd) घाउ देखिएको र ती घाउहरू गोली फायरबाट भएको भन्ने घा जाँच केश फारामबाट देखिन्छ । वि.पी. कोइराला स्मारक क्यान्सर अस्पतालको सन् २००१, जुन २४ को प्रतिवेदनबाट पनि उल्लिखित तीनवटै ठाउँका घाउँहरू गोली लागी भएको (Gun shot wound) भन्ने देखियो । यसबाट जोहरवाला रामविलास प्रसाद कुशवाहा गोली लागी घाइते भएको भन्ने तथ्य स्थापित भएको देखिन आउँछ । निजलाई गोली लागेको तथ्यमा प्रतिवादीहरूले विवाद उठाएको अवस्था समेत छैन ।
अब गोली प्रहार गरी प्रत्यर्थी प्रतिवादीहरूले जाहेरवालालाई घाइते पारेका हुन् वा होइनन् ? घाइते पारेको भए सो कुटपीटसम्म थियो वा ज्यान मार्ने उद्योगको कसूर थियो भन्ने प्रश्नको निरुपण गर्नुपर्ने देखियो ।
२. सर्वप्रथम प्रतिवादीहरूले जाहेरवालालाई ज्यान मार्ने उद्देश्यले घाइते पारेका हुन् वा होइनन् भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा माथि उल्लेख गरेअनुरूप जाहेरवालाले जाहेरी दरखास्तमा यी प्रतिवादीहरू उपेन्द्र महतो र राजीनन सहनी समेतले गोली हानेको भन्ने उल्लेख गरेको र सोहीबमोजिम अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादी लालबाबु राय यादवले मौकामा बयान गर्दा मिति २०५८।३।२ गते साँझ रामएकवालले लकडी किनेको छ, टायर गाडामा लोड गर्नु पर्यो भनी अनुरोध गरेकाले रामएकवाल कापड, राजीनन सहनी, उपेन्द्र महतो कोइरी, विगन साह तेली समेतसँगै गई बरमथान भन्ने स्थानमा रामएकवालले कामको बाँडफाँड गर्दा जाहेरवालाको ज्यान मार्ने योजना भएको कुरा थाहा भएको, घटना घटाउन जादिन भनी इन्कार गर्दा रामएकवाल र राजीननले गोली हानि मारी दिन्छौ भनी धम्की दिएकाले निजहरूको साथ लागी गएको, रामएकवालले नलकटुवा बन्दूक–१, सोको गोली र थ्री फिफ्टी बन्दूकसमेत २ नाल लिएका र सोमध्ये नलकुटवा बन्दूक मलाई अवस्थाअनुसार प्रयोग गर्नु भनी दिएका, उपेन्द्र महतोले थ्री फिफ्टी र विगन साहले बाँसको लाठी लिई जाहेरवालाको घर पसलमा गएको, आफू र साथी विगन साह केही वर घरको आड गरी लुकी बसेको र साथीहरू रामएकवाल कापड, उपेन्द्र महतो र राजीनन सहनी निजको पसल कठघेरामा गई गोली प्रहार गरेका थिए । फेरि गोली फायर गर्दा स्थानीय व्यक्तिहरू आउन लागेको देखी भागी फरार भएको, बन्दूक रामएकवालले सुरक्षित राख्नु पर्छ भनी माग गरेकाले दिएको भन्ने समेत उल्लेख गरेको देखियो ।
३. अर्का प्रतिवादी राजीनन सहनीले मौकाको बयानमा जाहेरवाला र उपेन्द्र महतोको जग्गाको आली तास्ने विषयमा पहिल्यैदेखि झगडा भई पटक–पटक गाउँघरमा पञ्चायती बस्दा पनि समस्या समाधान नभएकोले जाहेरवाला रामविलास प्रसादको ज्यान मारी लिनुपर्छ भनी उपेन्द्र महतोले म लगायत रामएकवाल कापड केवटसँग भन्दा रुपैयाँ नपाई नजाने भनेकाले २०५८।३।२ गते विहान रु.५०,०००।– साथी रामएकवाललाई दिएको, अन्य साथीहरूको समेत सहयोग लिनुपर्ने महसूस गरी विगन साह, लालबाबु राय, रामएकवाल कापड केवट, उपेन्द्र महतो कोइरी समेत सिसौट गा.वि.स. अन्तर्गत बरमथानमा भेला जम्मा भई योजना बनाई लालबाबुले नलकटुवा–१, मैले तथा उपेन्द्र महतोले थ्री फिफ्टी र रामएकवालले थ्री फिफ्टी एवम् विगन साहले बाँसको लाठी लिई रातको १९.४५ बजे रामविलास प्रसाद कुशवाहको दोकान औषधि पसलमा पुगेको, उपेन्द्र महतोले टाउको दुखेको औषधि माग गरेकाले रामविलास प्रसादले औषधि झिक्न औषधि हेर्दै गर्दा निजलाई मैले समाती तान्न लाग्दा उपेन्द्र महतोले एक्कासी गोली प्रहार गरे, त्यसपछि मैले मारी दिने उद्देश्यले थ्री फिफ्टीबाट एक फायर गर्दा घाइते हुन पुगे, आवेशमा आई साथी रामएकवालले पनि एक फायर गर्दा रक्ताम्य भएको, गोली फायरको आवाज सुनी स्थानीय व्यक्ति आउन लागेको देखी पक्कै पनि मरेको हुनुपर्छ, बाँच्न सक्दैन भनी भागी फरार भएको भन्ने उल्लेख गरेको देखिन्छ ।
४. अभियोजन पक्षले प्रमाणको रुपमा प्रस्तुत गरेका जाहेरवाला बाहेकका अन्य व्यक्तिहरूको बकपत्र हेर्दा सीयाराम महतोले चिन्हेको मानिसहरू उपेन्द्र महतो, रामएकवाल कापड र राजेन्द्र सहनी जाहेरवालाको किराना पसलमा हुल भई आई जाहेरवालामाथि एक एक राउण्ड गोली फायर गरी गाउँ घरका मानिस आउँदा सवैजना भागी गएका, गोली फायर भएपछि दौड्दै घटनास्थलमा आउँदा २/३ मीटर फरक पछाडिबाट निज प्रतिवादीहरू भाग्न लाग्दा देखेको भन्ने समेत बकपत्रमा उल्लेख गरेको देखियो । अर्का साक्षी विलट महतो कोइरीले बकपत्र गर्दा कसले गोली हानेको भन्ने नदेखे पनि यी प्रतिवादीहरूलाई पछाडिबाट भाग्दै गर्दा देखेको भन्ने समेत बकपत्र गरेको देखिन्छ । बुझिएका अर्का साक्षी शिवशंकर प्रसाद महतोले मौकामा घटना सम्बन्धमा रामविलासले राजेन्द्र सहनी, उपेन्द्र र रामएकवाल कापडको नाम चर्चा गर्दा सुनेको, रामविलासलाई गोली लागी घाइते अवस्थामा देखेको भन्ने समेत उल्लेख गरेको पाइन्छ । यसबाट यी प्रतिवादीहरू राजीनन सहनी र उपेन्द्र महतोले नै जाहेरवालालाई गोली हानेको भन्ने तथ्य जाहेरवालाको बकपत्र, प्रत्यक्षदर्शी सीयाराम महतोको बकपत्र, विलट महतोको बकपत्र, शिवशंकर प्रसाद महतोको बकपत्र समेतबाट स्थापित भएको पाइयो । यिनै प्रतिवादीहरूले आफूलाई तीन गोली हानेको भन्ने जाहेरवालाको भनाई छ भने गोली लागी घाइते भएको तथ्य निजको घा जाँच केश फाराम तथा अस्पतालको प्रतिवेदनबाट पनि समर्थित भइरहेको छ । प्रतिवादीहरू राजीनन सहनी र उपेन्द्र महतो कोइरीले अदालतमा इन्कारी बयान गरेको भए पनि सो बयान अन्य तथ्यगत प्रमाणबाट पुष्टि भएको छैन । आफूले गरेको कसूरबापत हुन सक्ने सजायबाट बच्न झुट्ठा बयान दिएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिन आयो ।
५. अब यी प्रतिवादीहरू उपेन्द्र महतो र राजीनन सहनीले जाहेरवालालाई गोली हानी घाइते बनाएको तथ्य स्थापित हुन आएपछि निज प्रतिवादीहरूको सो क्रिया कुटपीटसम्म थियो वा ज्यान मार्ने उद्योगको कसूर थियो भन्ने दोस्रो प्रश्नको निरुपण गर्नुपर्ने हुन आयो ।
६. जाहेरवालालाई प्रतिवादीहरूले तीनपटकसम्म गोली हानेको भन्ने तथ्य जाहेरवालाको जाहेरी दरखास्त, निजको बकपत्र र अस्पतालको जाँच प्रतिवेदनबाट समेत देखिएको छ । प्रतिवादीहरूले जाहेरवालालाई गोली हानेको कार्यलाई ज्यान मार्ने नियतले गरेको हुनाले ज्यान मार्ने उद्योग गरेको भन्ने अभियोग दावी भए पनि त्यसलाई शुरु तथा पुनरावेदन अदालतले कुटपीटको वारदात मानेको अवस्था छ । कुटपीटको वारदात र ज्यान मार्ने उद्योगको वारदात नितान्त फरक अवस्थाका कसूर हुन् । कुटपीटको वारदातमा सामान्य घाइते बनाउनेसम्मको मनसाय भए पनि ज्यानै लिने गरी प्रहार गर्ने इच्छा निहित रहेको हुँदैन र त्यस्तो परिणामको अपेक्षा पनि गरिएको हुँदैन जुन ज्यान मार्ने उद्योगमा अन्तर्निहित रहेको हुन्छ । अर्कोतर्फ ज्यानमार्ने उद्योग र कुटपीटको वारदातमा हतियारको प्रयोग गरिएको रहेछ भने प्रयोग गरिने हतियारको प्रकृति, हतियार प्रयोगको पद्धतिबीच पनि भिन्नता रहने गर्दछ । सामान्य कुटपीटको वारदातमा सामान्य हतियारको प्रयोग गरी पीडितलाई शारीरिक चोट पुर्याई घाइतेसम्म पार्ने उद्देश्यले सो क्रिया गरिएको हुन्छ भने ज्यान मार्ने उद्योगमा पीडितको ज्यानै लिने उद्देश्यले हतियारको प्रयोग गरिएको हुन्छ । यसरी कुटपीट र ज्यान मार्ने उद्योगको वारदातमा उल्लिखित कुराहरूको अलावा नियत र मनसाय तत्व प्रमुख रुपमा विचारणीय हुन्छ । कर्तव्य ज्यान मुद्दामा निहित आवश्यक तत्वहरू (ज्यान मार्ने मनसाय, योजना, तयारी र ज्यान मार्ने क्रिया गर्न अग्रसरता) ज्यानमार्ने उद्योगमा समान रुपमा रहे पनि ज्यान मार्ने उद्योगमा विविध कारणले प्रहारकर्ताले चाहेको वा इच्छाएको परिणाम प्राप्त भएको हुँदैन । अर्थात ज्यान मर्न पाएको हुँदैन ।
७. ज्यान मार्ने उद्योगमा प्रतिवादीको पीडितको ज्यान मार्ने मनसाय थियो वा थिएन भन्ने कुरा पीडितउपरको प्रहारको पद्धति र हतियार प्रयोग गरिएको भए सो हतियारको प्रकृति र त्यसको प्रयोगको अवस्थाबाट पहिचान गर्न सकिन्छ । वारदातमा धार नभएको र धार भएको हतियार तथा गोली फायर हुने हतियारको प्रयोग र पद्धतिको अवस्था समान हुँदैन । धार नभएको वा भएको हतियार कुन हदसम्म कहाँ प्रहार गर्ने भन्ने प्रहारकर्ताले अनुभव गर्न सक्छ । पीडितलाई सामान्य घाउ चोट पार्ने वा प्रहार घातक बनाउने भन्ने कुरा प्रहारकर्ताको इच्छामा निर्भर गर्दछ । प्रहार घातक र ज्यान मार्न सक्ने किसिमको छ भने त्यस अवस्थामा ज्यान मार्ने उद्योगको कसूर हुन वारदातको अवस्था र प्रकृतिअनुसार तेस्रो पक्षको उपस्थिति आवश्यक हुन सक्ने अवस्था पनि रहन जान्छ । तर गोली फायर गर्ने हतियारको प्रयोगको अवस्था भने अन्य हतियार प्रयोगको अवस्था जस्तो हुँदैन । गोली प्रहार गर्दा प्रहारकर्ताले चाहेको हदसम्म गोलीको असरलाई सीमित गर्न सक्ने हुँदैन । कुनै मानिसलाई ताकेर गोली प्रहार गरिएको छ भने त्यो निश्चित रुपले सो मानिसको ज्यानै मार्नका लागि सो प्रहार गरिएको भनी स्वाभाविक निष्कर्षमा पुग्न सकिने हुन्छ । किनभने बन्दूकको गोली प्रहार सामान्य शारीरिक क्षतिको लागि वा कुटपीटबाट पर्न सक्ने जस्तो चोट पुर्याउनका लागि हुँदैन । ज्यान मार्ने नै नियतले गोली प्रहार गरिएको भए पनि निशाना गलत भएमा वा पीडितको तत्कालको छलछाम वा आफूलाई बचाउन शरीरलाई गतिशील तुल्याएर होस वा हान्ने मानिसको निशाना छल्न अन्य उपाय गरेर होस, प्रहारकर्ताको प्रहार सही ठाउँमा लाग्न नसकी पीडित मर्न नसकेको हुन्छ वा घाइते भए पनि तत्काल प्राप्त उपचारको कारण मर्न नपाएको हुन सक्छ । यी कुराहरू कुटपीट र ज्यान मार्ने उद्योगको कसूर कायम गर्ने सन्दर्भमा न्यायिक विश्लेषण र प्रमाण मूल्याङ्कनका कुराहरू हुन् ।
८. ज्यान सम्बन्धी अपराधमा ज्यान मार्ने उद्योगको कसूरमा अक्सर तेस्रो पक्षको उपस्थितिलाई गम्भीरताका साथ हेरिने गरिन्छ । तर सवै अवस्थामा तेस्रो पक्षको उपस्थिति समान रुपमा रहन सक्तैन । ज्यान मार्न अग्रसर रहेको अवस्थामा जोखिमी प्रकृतिको धारिलो हतियारको प्रहार वा सामान्य हात हतियारको निर्घात प्रहारलाई अन्य व्यक्तिको हस्तक्षेपले प्रहारकर्ताको उद्देश्य विफल पार्न सक्छ । तर कुनै व्यक्तिलाई ताकी गरिएको गोली फायरमा सो फायरलाई पीडितले छल्नु वा आफूलाई बचाउने प्रयास गरेको कारण ताकेको ठाउँमा गोली नलाग्नु वा गोली लागे पनि मर्मस्थानमा नलागी ज्यान नमरेको वा तत्काल प्राप्त उपचारको कारण जस्ता कुराहरूबाट पीडितको मृत्यु हुने अवस्था हुँदैन । अन्यथा बन्दूकबाट गोली फायर गर्न लागेको पीडकलाई सो फायर गर्न रोक्न नसक्ने अवस्थामा सो गोलीलाई छल्नु बाहेक त्यसबाट बच्न अन्य हस्तक्षेपको विकल्प रहन सक्ने अवस्था नरहने हुँदा ताकेर गोली फायर गरेको अवस्थामा मृत्यु नभएकै कारण पीडकले पीडितलाई मार्ने मनसाय राखेको थिएन भन्नु न्यायसंगत र तर्कपूर्ण हुँदैन ।
९. प्रस्तुत वारदातमा प्रत्यर्थी प्रतिवादीहरूले रातको समयमा दोकान घरमा एक्लै रहेका प्रतिवादीलाई बन्दूक जस्तो जोखिमी हतियारको चाँजोपाँजो मिलाई आवश्यक तयारीसाथ गई तीनपटक गोली फायर गरी घाइते बनाएको अवस्था छ । गोली हान्न लाग्दा सो छल्ने कोसिस गरेको भए पनि गोली लागेको भन्ने जाहेरवालाको कथन रहेको र त्यसलाई घा जाँच केश फारामले पुष्टि गरेको छ । गोलीको आवाज सुनेपछि वारदातस्थलमा आउँदा प्रतिवादीहरू राजीनन सहनी र उपेन्द्र महतोसमेतलाई भागेको देखेको भन्ने प्रत्यक्षदर्शी सीयाराम महतो समेतको भनाई छ । प्रतिवादी उपेन्द्र महतो र राजीनन सहनीसमेतका प्रतिवादीहरू बाहेक अन्य व्यक्तिले जाहेरवालालाई गोली हानेको भन्ने तथ्य मिसिलबाट देखिएको छैन । प्रतिवादीहरूको पनि त्यस्तो भनाई छैन ।
१०. यिनै प्रतिवादीहरू राजीनन सहनी र उपेन्द्र महतो कोइरीले जाहेरवालालाई गोली हानि घाइते बनाएको भन्ने तथ्य पुष्टि भइसकेको कुरा माथिका प्रकरणहरूमा विवेचना गरिसकिएको छ । यस्तो स्थितिमा तेस्रो पक्षको उपस्थिति नदेखिएको वा प्रतिवादीहरूको आपराधिक नियतको पुष्ट्याँई गर्ने थप प्रमाण फेला नपरेको भन्ने आधारमा गोली हान्ने राजीनन सहनी र उपेन्द्र महतोलाई बेकसूर ठहर गर्नु कानूनसंगत हुँदैन । उपेन्द्र महतो कोइरी र राजीनन सहनीले योजनाबद्ध ढंगले जाहेरवाला रामविलास प्रसाद कुशवाहालाई बन्दूक फायर गरी ज्यान मार्ने उद्योग गरेको देखिन्छ । यस घटनालाई कुटपीटको वारदातको रुपमा हेर्न मिल्ने वा कुटपीटतर्फ परिणत गर्ने आधार छैन ।
११. अब प्रतिवादीहरू लालबाबु राय र विगन साहको सम्बन्धमा विचार गर्दा जाहेरी दरखास्तमा र अदालतमा बकपत्र गर्दा समेत जाहेरवालाले उपेन्द्र महतो कोइरी, राजीनन सहनी र रामएकवालले बन्दूकबाट गोली फायर गरेका हुन् र तिनीहरूलाई चिनेको भन्ने समेत उल्लेख गरेको पाइन्छ । लालबाबु र विगन साहले पनि फायर गरेको भनी स्वयम् पीडितले पनि स्पष्टसँग भन्न सकेको छैन । प्रतिवादीहरू हुलमा आएकोले उपरोक्त दुईजना पनि थिए भन्ने एउटा अनुमानको आधारमा लालबाबु राय र विगन साहउपर अभियोगपत्र दायर गरिएको पाइन्छ । यी दुइजनाले जाहेरवालालाई बन्दूकले फायर गरेका हुन् वा अन्य व्यहोराले कुटपीट गरेका हुन् भनी न कोही प्रत्यक्षदर्शी साक्षी छ न त सो कुरा पुष्टि गर्ने गराउने अन्य कुनै प्रमाण प्रस्तुत गरिएको छ । यसर्थ यी दुइजनाको हकमा गरिएको माग दावी प्रमाणित हुन सकेको देखिएन ।
१२. अतः माथि विवेचना गरिएबमोजिम फरार रहेका प्रतिवादी रामएकवाल रायको हकमा अ.बं. १९० नं.बमोजिम मुलतवी राखी प्रत्यर्थी प्रतिवादीहरू उपेन्द्र महतो र राजीनन सहनीले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहर्याई ज्यान मार्ने उद्योगको कसूरमा संलग्न नदेखिएका प्रतिवादीहरू विगन साह तेली र लालबाबु राय यादवलाई सफाइ दिनुपर्नेमा फरार रहेका प्रतिवादीको हकमा मुल्तवी राखी अन्य प्रतिवादीहरूको हकमा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपीटको वारदातमा परिणत गर्ने ठहर्याएको शुरु सर्लाही जिल्ला अदालतको मिति २०५९।६।१३ को फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०६१।१०।१८ को फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भै प्रत्यर्थी प्रतिवादीहरू उपेन्द्र महतो र राजीनन सहनीले अभियोग दावीबमोजिम ज्यान मार्ने उद्योगको कसूर गरेको ठहरी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम जनही कैद वर्ष ५ (पाँच) हुन्छ । प्रतिवादीहरू विगन साह तेली र लालबाबु राय यादवले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । अरु तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहरखण्डमा लेखिएबमोजिम प्रत्यर्थी प्रतिवादीहरू उपेन्द्र महतो र राजीनन सहनीले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहरी निजहरूलाई जनही ५ वर्ष कैद हुने ठहर भएकाले देहायबमोजिम लगतकसी असूलउपर गर्नु भनी सर्लाही जिल्ला अदालतमा लेखी पठाउनू –१
(क) प्रतिवादी सर्लाही जिल्ला, सेखौना गा.वि.स. वडा नं. ८ बस्ने लक्ष्मी महतोको छोरा उपेन्द्र महतो कोइरीलाई कैद वर्ष ५। ––––– १
(ख) प्रतिवादी सर्लाही जिल्ला छटौल गा.वि.स. वडा नं. ७ बस्ने राजीनन सहनीलाई कैद वर्ष ५ हुनेमा निज प्रतिवादीको मिति २०६१।८।१३ मा मृत्यु भैसकेको मिसिल संलग्न मृत्यु दर्ताको प्रतिलिपिबाट देखिँदा मुलुकी ऐन, दण्ड सजायको ३ नं. बमोजिम कैद माफ हुने भएकोले लगत कितावमा सोही व्यहोरा जनाई लगत कट्टा गर्नू–––– १
प्रतिवादी उपेन्द्र महतो र महान्यायाधिवक्ताको कार्यालयलाई प्रस्तुत फैसलाको जनाउ दिनू ......... १
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ..... १
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६८ साल जेठ ३१ गते रोज ३ शुभम् ..
इजलास अधिकृतः दीपककुमार दाहाल