शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६०१ - बाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ ।

भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक:

ने.का.प.२०६८, अङ्क-०४, निर्णय नं. ८६०१

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

संवत् २०६७ सालको CI- ०२७१

फैसला मितिः २०६८।१।७।४

मुद्दाः बाबुको अंश छुट्याई वकसपत्रबमोजिम

चलन समेत गरिपाऊँ 

पुनरावेदक वादीः भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं. ४ बस्ने सनमाला तामाङ्‌ समेत

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः भक्तपुर जिल्ला, चांगु गा.वि.स. वडा नं. ४ बस्ने सुकुलक्ष्मी तामाङ्‌ समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री पद्मराज भट्ट

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री देवेन्द्रगोपाल श्रेष्ठ

मा.न्या.श्री ठाकुरप्रसाद शर्मा

 

§  बकसपत्र पाएको र भोग स्वामित्वमा चलन गरेको कुरामा अंशियाराले अन्यथा भनी म्यादभित्र नालेस उजूर नगरेको अवस्थामा बकसपत्रको लिखतमा हक नभएको भन्न नमिल्ने 

§  विवाहित छोरीहरू भए पनि बकसपत्र प्राप्त गर्दाकै अवस्थामा दाताकै घरमा रही बृद्ध पिताको सेवा पालनतालन गरेको र पिताको मृत्युपश्चात् पनि निरन्तररुपमा दान बकस पाएको सोही घरमा बसी भोगचलन गरी आएको परिप्रेक्ष्यमा भोगै गर्न नपाएको अवस्थामा २ बर्षभित्र भोग र चलनका लागि नालिस दिनुपर्ने भन्ने दानबकसको ५ नं. को व्यवस्थित हदम्याद आकर्षित हुन्छ भन्न नमिल्ने 

§  बकसपत्रका घर र जग्गाको क्षेत्रफलतर्फ यकीन गर्ने प्रयोजनका लागि फिराद गर्नु स्वाभाविकै भएको र यस्तो स्थितिमा बकसपत्रको लिखतको वैधतामाथि प्रश्न उठाउन पाइने दान बकसको ५ नं. दफाको हदम्याद आकर्षित हुन्छ भन्न कानून र न्यायको रोहमा उपयुक्त नहुने 

(प्रकरण नं.२)

 

पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ताद्वय रामबहादुर गौतम तथा कुष्माखर सापकोटा

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भीमप्रसाद ढकाल

अवलम्बित नजीरः सर्वोच्च अदालत निर्णय संग्रह २०६३, भाग १२, पृष्ठ २३२

सम्बद्ध कानूनः

§  मुलुकी ऐन, दानबकसको ५ नं.

 

फैसला

            न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्‍याई पाऊँ भनी निवेदन परी यस अदालतका अनुमतीले पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

जिजुबाजे पूर्ण सिंका एकमात्र छोरा पोत सि. भै पोते सिंकातर्फबाट छोराहरू क्रमशः जेठा बुद्धिलाल, माहिला मोतिलाल र कान्छा जीतलाल तामाङ्‌ भई जेठा बुद्धिलालका तर्फबाट ३ छोरा क्रमशः वलबहादुर, दलबहादुर र तलकबहादुर तामाङ्‌ हुन् । माहिला मोतिलालका तर्फबाट दुई छोराहरू कुवेर तामाङ्‌ र कान्छा तामाङ्‌ हुन् । त्यस्तै कान्छा जीतलाल तर्फबाट जगबहादुर र भवे तामाङ्‌ हुन् । कुवेर तामाङ्‌को तर्फबाट छोराहरू क्रमशः कुलबहादुर, मैते र चेतबहादुर तामाङ्‌ हुन् । कान्छा तामाङ्‌को तर्फबाट छोरीहरू हामी फिरादीको मात्र जायजन्म भई छोराहरू छैनन् । जिजुवाजे पूर्ण सिं जिजुबज्यै, पोते सिं तथा बज्यैको अगाडि नै मृत्यु भई मोतिलाल २०३६ र श्रीमती नानी तामाङ्‌ २०३५ सालमा बुद्धिलाल २०२८ सालमा र उहाँको श्रीमती अगाडि नै कालगतिले मृत्यु भइसकेको छ । त्यस्तै जीतलालको २०६० र श्रीमती पातली तामाङ्‌को २०६३ र छोराहरू जगतबहादुर र कुवेरको २०५६ सालमा नै मृत्यु भइसकेको छ । त्यस्तै बुद्धिलालका छोराहरू जगतबहादुर २०५१ सालमा र तलकबहादुर २०१० सालमा अविवाहित अवस्था भै मृत्यु भैसकेको छ भन्ने हाम्रा बाबु कान्छा तामाङ्‌को २०६१ सालमा मृत्यु भएको हो । यसरी बाजे, बज्यै समेत परलोक भई बाबु कान्छा, कुबेर, जगतबहादुर भन्ने दलबहादुर, दलबहादुर तलकबहादुर जगतबहादुर र भवे तामाङ्‌ मुख्य अंशियार भई तलकबहादुर निसन्तान अवस्था भै मृत्यु भएको र अन्य अंशियारको हक खाने अंशियारहरू भएकाले ६ भागको १ भाग मेरो बाबुको तर्फबाट हक खाने हामी फिरादी भएकोमा विवाद छैन । हालसम्म अंशियारहरू बीचमा बण्डा नभएको र एकासगोल कै रहँदाका अवस्थामा बाबुलाई अन्य अंशियारहरूको हेरचार नगरेको हुँदा पहिलादेखि नै बाबुको हेरचाह र औषधि उपचारलगायत लालनपालन हामी फिरादीहरूले गरेको हुँदा बाबुले २०६१।४।२५ गते मालपोत कार्यालय भक्तपुरबाट र.नं. ६५० बाट फिरादीहरूलाई शे.व. गरी सम्पूर्ण सम्पत्ति अष्टलोह गरी शेषपछि खानु भनी पास गरी विपक्षीहरूको जिम्मामा हुँदा हामीले विपक्षीलाई उक्त शे.व. बमोजिम हाम्रो समेत हक लाग्ने सम्पत्ति छुट्याई दिनु भनी भन्दा तेरो हक छैन भनी जवर्जस्ती गरी शे.व.कै बेवास्ता गरेको हुँदा अंशबण्डाको १।२ र ३ नं. बमोजिम बण्डा लाग्ने सम्पत्ति विपक्षीबाट अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती माग्न लगाई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बाबु समेतका अंशियारबीच ६ भागको १ भाग अंश मेरो बाबुको छुट्याई शे.व. बमोजिम हामी फिरादीको भाग दिलाई अड्डैबाट चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको फिराद दावी 

बाबुको अंश छुट्याई मात्र विवाहित छोरीले फिराद दिन अ.वं. ८२ नं. को हकदैया आवश्यक पर्ने साथै दान वकसको १ नं. को कानूनी व्यवस्था अङ्गाली फिराद दिंदा ऐ ५ नं. बमोजिमको २ बर्षे हदम्याद हुनुपर्नेमा प्रस्तुत मुद्दामा मिति २०६१।४।२५ मा फिरादीका पिताको परलोकपश्चात् २ बर्षे समय व्यतीत भइसकेपछि परेको प्रस्तुत शीर्षकको फिरादको औचित्य समाप्त भैसकेको छ । प्रस्तुत मुद्दामा लिएको कानूनी दफा अंश मुद्दामा बाहेक अन्य मुद्दामा लागू हुँदैन । विपक्षीका पिताको नाउँमा कुनै जग्गा जमिन नभएको, आफ्नो जीवनकालमा अंश हक कायमतर्फ कुनै कामकारवाही नगरेको तथा प्रस्तुत मुद्दा विपक्षीले हक सकार गर्न पाउने अवस्थाको नभएको समेत कारणबाट नजीर सिद्धान्तको विपरीत हुँदा परलोक भई सकेका अंशियारसँग मानो छुट्टिएको मिति कायम गर्नुपर्ने अंशबण्डा गर्नुपर्ने भन्ने कुरा भ्रामक परिकल्पना बाहेक केही होइन सो आधारमा समेत विपक्षीको फिराद खारेजभागी हुँदा खारेज गरिपाऊँ । मुद्दाको सम्बद्ध पक्षको सन्दर्भमा फिराद दावी ठहर गर्नुपर्ने देखिएमा पनि हामी प्रतिवादीमध्ये फुलबहादुर चेतबहादुर मैते तामाङ्‌ समेतले सम्बन्धित जग्गा धनीको जग्गा हदवन्दीमा परी हामीहरूका पिता कुवेर तामाङ्‌ले मोहिका हैसियतले प्राप्त गरेका जग्गाहरू भ.पु.जि.चागुँ गा.वि.स.वडा नं. ४(ख) कि.नं. १७१, २०४ र २०६ का जग्गा अन्य कसैलाई अंशबण्डा लाग्ने होइन । साथै भ.पु.जि., चाँगु गा.वि.स. वडा नं. ४(ख) कि.नं. ४७५ लगायतका अन्य सम्पूर्ण जग्गाहरू हालसम्म दर्ता नभई रहेको अवस्थामा दान बकसको १ नं. बमोजिम विपक्षीका पिताको हक पुगेको रहेछ भन्ने अनुमान गर्नसम्म पनि नसकिने अवस्थामा फिरादी दावीको औचित्य नहुँदा फिराद खारेजभागी छ खारेज गरिपाऊँ भने समेतको प्रतिवादी सुकुलक्ष्मी फूलबहादुर, मैते, भवे, बलबहादुर र चेतबहादुर तामाङ्‌को संयुक्त प्रतिउत्तरपत्र 

यसमा आदेशानुसार माग भएका दर्ता स्रेस्ता उत्तार, शे.व. लिखतको प्रमाणित प्रतिलिपि फिल्डबुक उत्तार १ नं. लगत उतार र २ नं. अनुसूचीलगायत जवाफ सम्बन्धित कार्यालयबाट प्राप्त भई मिसिल सामेल रहेका 

कानूनले निर्धारण गरेको हदम्यादभित्र प्रस्तुत फिराद पर्न आएको नदेखिँदा वादीहरूको फिराद अ.वं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६५।२।२६।१ को फैसला 

शे.व. को लिखत अन्यथा प्रमाणित नभएसम्म लिखतको कानूनी अस्तित्व यथावत् रहने नै हुँदा कानूनतः मान्य लिखतको आधारमा परेको फिरादमा तथ्यमा प्रवेश गरी दावी पुग्ने नपुग्ने इन्साफ गर्नुपर्नेमा हदम्यादभित्र फिराद नपरेको भनी फिराद खारेज हुने ठहराई भएको शुरु फैसला बदर गरी हाम्रो फिराद दावी बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदनपत्र 

यसमा पुनरावेदक वादीहरूले आफ्नो पिता कान्छा तामाङ्‌बाट हेरबिचार औषधोउपचार खान लाउन र मृत्युपश्चात् काजक्रिया पिण्डपानी गर्न मेरो भएभरको सगोलसमेतका चल अचल श्री सम्पत्ति अष्टलोह गैर आदि सम्पत्ति खानु भनी मिति २०६१।४।२५ मा शेषपछिको बकसपत्र प्राप्त गरेको देखिंदा वादीहरूको पिताको सगोलको सम्पत्तिमा उक्त शेषपछिको वकसपत्रबाट वादीहरूको हक हुने नहुने विवेचना नै नगरी वादी दावी खारेज गर्ने गरेको शुरु फैसला फरक पर्न सक्ने देखिंदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६६।१।१० को आदेश 

मुलुकी ऐन अंशबण्डाको १(क) नं.बमोजिम निजहरूले आफ्नो पिताको भागको अंश पाऊँ भनी दावी लिन पाउने देखिएन । अव जहाँसम्म वादीहरूले पिताबाट पाएको शेषपछिको बकसपत्रको आधारमा पिताको भागको सम्पत्तिमा अंशमा दावी लिएको भन्ने पुनरावेदन जिकीर छ त्यसतर्फ विचार गर्दा मुलुकी ऐन दान बकसको ५ नं. मा आफूले दानबकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले दुई बर्षभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । वादीहरूले आफ्ना पिता कान्छा तामाङ्‌बाट मिति २०६१।४।२५ मा शेषपछिको बकसपत्रको लिखत पारित गराई लिए पछि निज कान्छा तामाङ्‌को मृत्यु मिति २०६१।५।१ मा भएको भन्ने कुराको पुष्टि वादीहरूले फिराद पत्र साथ पेश गरेका मिति २०६४।३।२८ को मृत्यु दर्ताको प्रमाण पत्रको छाया प्रतिबाट देखिन्छ । यसरी वादीहरूका पिता कान्छा तामाङ्‌को मृत्यु २०६१।५।१ मा भएको तथ्य निर्विवाद रुपले पुष्टि भएकोमा मुलुकी ऐन, दानबकसको ५ नं. बमोजिम आफ्नो हक पुगेका उक्त मितिबाट दुई बर्षभित्र नालिस दिनु पर्नेमा वादीको फिराद सो हदम्याद नघाई मिति २०६४।४।२८ मा मात्र दायर भएको देखिंदा शुरु भक्तपुर जिल्ला अदालतको फैसला बदर गरिपाऊँ भन्ने पुनरावेदन जिकीर र यस अदालतबाट प्रत्यर्थी झिकाउने गरी मिति २०६६।१।१०।५ मा भएको आदेश ब्यहोरासित सहमत हुन सकिएन । पुनरावेदक वादीतर्फका विद्वान कानून व्यवसायीले उल्लेख गर्नुभएको २०५६ सालको कानून पत्रिकाको नि.नं. ६७२९ को सन्दर्भमा हेर्दा उक्त नजीरमा शेषपछिको बकसपत्र दिने दाताको नाममा सम्पत्ति रहेको देखिन्छ भने प्रस्तुत मुद्दाको दाताको नाममा कुनै पनि सम्पत्ति रहे भएको नदेखिएकोले उपरोक्त नजीर आकर्षित हुने अवस्था देखिएन 

अतः माथि उल्लिखित विवेचनाका आधारमा वादीहरूलाई अंशतर्फ नालेस गर्ने हकदैया समेत नभएको र पुनरावेदक वादीहरूको फिराद हदम्यादभित्र समेतको नदेखिंदा हदम्यादभित्र फिराद पर्न आएको नदेखिएकोले वादीहरूको फिराद अ.व. १८० नं. बमोजिम खारेज हुने ठहराई शुरु भक्तपुर जिल्ला अदालतबाट मिति २०६५।२।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६६।७।२३ मा भएको फैसला 

शेषपछिको लिखतबमोजिम हामीहरूले भोगचलन गरी आएको सम्पत्ति सगोलको भएको र शेषपछिको बकसपत्रको सम्पत्ति दाताको मृत्युपश्चात् भोग गरिरहेको सम्पत्तिलाई भोग नगरेको भनी दान बकसको ५ नं. को म्यादभित्र नआएको भन्न मिल्दैन । भोग भएको कुराले मुद्दा गर्न तत्काल आवश्यकता नपरेको र यस्तै समान तथ्य भएको मुद्दामा यस सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट स.अ. को निर्णय सँग्रह भाग १२ को पृष्ठ २३२ संवत् २०३५ सालको दे.पु.नं. १७ को मिति २०३५।१२।७।३ मा भएको फैसलामा शेषपछिको बकसपत्र दिन कानूनले कुनै वाधा नदिएको र सो बमोजिम शेषपछिको बकसपत्र पाई वादी आफूले बकस पाएको सम्पत्ति बकस दिने बावुको शेषपछि भोग गर्न जानु स्वाभाविकै हुन्छ । सो बमोजिम बकस दिनेको शेषपछि वादीले विवादको घरमा भोग गरेको देखिएकोमा दान बकसको ५ नं. बमोजिम २ बर्षभित्र उजूर नपरेको भनी खारेज गरेको मिल्ने देखिदैन भनी फैसला भएको हुँदा उक्त नजीरलाई आत्मसात गरी दोहर्‍याई हेर्ने निस्सा प्रदान गरी न्याय पाऊँ भनी वादीका तर्फबाट यस अदालतमा परेको निवेदन 

यसमा निवेदक वादीहरूले मिति २०६१।४।२५ मा शेषपछिको बकसपत्र प्राप्त गरेकोमा विवाद छैन । दाताको मृत्युपछि वादीहरूले उक्त शेषपछिको बकसपत्रबमोजिम पाउने जग्गामध्येबाट भोग गरिरहेको जिकीर लिएको देखिएको र उक्त बकसपत्रबमोजिम जग्गा छट्टाई पाउन माग गरी फिराद दायर गरी सोको आधारमा विवादित जग्गा रोक्का भएको समेत देखिन्छ । वादीले शेषपछिको बकसपत्र पाउँदा दाताको अष्टलोह समेत सम्पूर्ण हकको बकस पाएको भई त्यस्तो सम्पत्ति के कति हो भन्ने कुराको विवरण प्राप्त नभएसम्म हक पुग्ने सम्पत्तिको स्थिति प्रष्ट हुनै नसक्ने हुँदा भोग गरेको भनी दावी लिएको सम्पत्ति समेतमा इन्साफ हुने रोहमा सबूद बुझी छानबीन नै नगरी दावी नै खारेज गर्ने गरेको शुरुको खारेज फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मुलुकी ऐन, अ.वं. १८४, १८४क र १८५ नं. प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा वादी दिलमाया महर्जन प्रतिवादी दशबहादुर महर्जन भएको घरबाट उठाई चलन चलाई पाऊँ भन्ने मुद्दामा यस अदालतबाट मिति २०३५।१२।७ मा भएको निर्णयको प्रतिकूल समेत देखियो भन्दै दोहर्‍याई हेर्ने निस्सा यस अदालतबाट मिति २०६७।५।१७ मा प्रदान भएको 

नियमबमोजिम आजको दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत पुनरावेदन संलग्न प्रेषित मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय रामबहादुर गौतम तथा कुष्माखर सापकोटाले बकसपत्रको लिखतले वादीले दाताको भागको घर जग्गा पाएकोमा विवाद नभएको र अष्टलोह बकसपत्रभित्रको घरमा नै वादीहरूको बसोवास हुँदा स्वतः हक स्थापित भएको कुरामा दान बकसको ५ नं. को हदम्याद लगाई खारेज गर्ने ठहर भएका जिल्ला एवं पुनरावेदन अदालतको फैसला बदर गरी बकसपत्रबमोजिम जग्गा र घर यकीन गरियोस् भनी तथा विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भीमप्रसाद ढकालले बकसपत्रको ५ नं. को सीमाभित्र बकसअनुसारका जग्गा छुट्टाउन नालेस नपरेको स्थितिमा फिराद नै खारेज गर्ने ठहर गरेको शुरु एवं पुनरावेदन अदालतको फैसला मिलेको नै हुँदा सदर गरियोस भनी प्रस्तुत गर्नुभएको बहस सुनियो 

पिता कान्छा तामाङ्‌ले हामी वादी छोरीहरूलाई मिति २०६१।४।२५ गते सम्पूर्ण सम्पत्ति अष्टलोह गरी शेषपछिको बकसपत्र पारित गरी दिएकोले उक्त लिखतबमोजिम विपक्षीहरूबाट समेत सम्पत्ति दाखिल गर्न लगाई ६ भागको १ भाग बाबुको हकको हामीलाई दिलाई पाऊँ भन्ने वादी दावी तथा विवाहित छोरीलाई अंश माग गर्न हकदैया नभएको र बकसपत्रको हकमा मुलुकी ऐन, दानबकसको ५ नं. को म्याद नघाई फिराद आएको हुँदा खारेज गरिपाऊँ भनी प्रतिउत्तर जिकीर रहेकोमा, हदम्यादको आधार र कारणले फिराद खारेज गर्ने ठहर गरेको शुरु फैसला सदर गरेको पुनराबेदन अदालत पाटनको फैसलाउपर दोहर्‍याई हेरिपाऊँ भन्ने निवेदन परी बकसपत्रको लिखतमा विवाद नभएको र बकसपत्र भएको घरमा नै वादीहरूको बसोबास हुँदा स्वतः हक स्थापित भएको कुरामा मुलुकी ऐन, दान बकसको ५ नं. को हदम्याद लगाई खारेज गरेको पुनराबेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने आधारमा यस अदालतको आदेशबाट निवेदन पुनरावेदनमा दर्ता भएको देखियो 

उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदन एवं शुरु अदालतबाट मुलुकी ऐन, दानबकसको ५ नं. बमोजिम परिभाषित हदम्यादभित्र फिराद दर्ता नभएको आधारमा खारेज गर्ने ठहर भएका शुरु एबं पुनराबेदन अदालतका फैसला मिले, नमिलेको के रहेछ भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने विषय हुन आयो 

२. यसमा निर्णयतर्फ विचार गर्दा वादीहरूले दाताको सम्पूर्ण सम्पत्तिको अष्टलोह बकसपत्र पाएको तथ्यलाई प्रतिवादीहरूले अन्यथा भन्न सकेका छैनन् । वादीहरू अबिछिन्न रुपमा बकसपत्रअन्तर्गतको घरमा बसोवास गरेको कुरामा पनि प्रतिवादी तर्फबाट अन्यथा भनी जिकीर लिन सकेको पाइदैन । बकसपत्रअनुसारको सम्पत्ति वादीले भोग गरेको कुरामा विवाद नभएको स्थितिमा वादीहरूको भोगले निजहरूको स्वामित्वमा प्रश्न उठाउने ठाउँ देखिन आउँदैन भने अर्कोतर्फ कानूनबमोजिम दाताको सम्पूर्ण सम्पत्ति नै प्राप्त भएको बकसपत्रको घर जग्गा दाताका अंशियारबीच यकीन वाँडफाँड नभएका कारणले आफ्नो हकको सम्पत्ति स्पष्ट रुपमा यकीन गर्न वादीहरूलाई अप्ठारो परी त्यही वाँडफाँडका लागि सम्म वादीहरूको फिराद गर्नुको उद्देश्य देखिन आउँछ । यस्तो तथ्यगत स्थिति भएको प्रस्तुत विषयमा मुलुकी ऐन, दानबकसको ५ नं. को हदम्यादसम्बन्धी कानूनी व्यवस्था सान्दर्भिक हुने हो, होइन सो सम्बन्धमा विचार गरी हेर्दा उक्त ५ नं. मा आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई बर्षभित्र नालिस नदिए लाग्न सक्तैन भनी उल्लेख गरेको पाइयो । मूल रुपमा उक्त कानूनी व्यवस्थाको अध्ययन गर्दा बकसपत्र पाउने र बकसपत्र दिने व्यक्तिका हकदारहरूका सम्बन्धमा बकसपत्र पाएको र दिएको सम्पत्तिको हक सम्बन्धमा विवाद भए दुबै पक्षबाट एक अर्कोउपर नालिस दिने सम्बन्धमा २ बर्षको हदम्यादको व्यवस्था गरेको देखिन्छ । यसमा यी वादीहरूले आफ्ना पिताबाट शेषपछिको बकसपत्र पाई उक्त बकसपत्रअन्तर्गत कै घरमा वसोवास गरेको पाइन्छ । बकसपत्र पाएको र भोग स्वामित्वमा चलन गरेको कुरामा प्रतिवादीहरू अंशियाराले अन्यथा भनी वादीहरू उपर म्यादभित्र नालेस उजूर नगरेबाट बकसपत्रको लिखतमा वादीहरूको हक नभएको भन्न मिल्ने देखिदैन । दानबकसको उक्त कानूनी व्यवस्थाले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले २ बर्षभित्र नालिस दिनुपर्ने भन्ने उल्लेख गरेको सन्दर्भमा हेर्दा वादीहरू विवाहित छोरीहरू भए पनि बकसपत्र प्राप्त गर्दा कै अवस्थामा दाता पिता कै घरमा रही बृद्ध पिताको सेवा पालनतालन गरेको र पिताको मृत्युपश्चात पनि निरन्तररुपमा दान बकस पाएको सोही घरमा बसी भोगचलन गरी आएको परिप्रेक्ष्यमा भोगै गर्न नपाएको अवस्थामा २ बर्षभित्र भोग र चलनका लागि नालिस दिनुपर्ने भन्ने दानबकसको ५ नं. को व्यवस्थित हदम्यादलाई प्रस्तुत तथ्यमा आकर्षित हुन्छ भन्न मिल्ने देखिन आउँदैन । बकसपत्रका घर र जग्गाको क्षेत्रफल तर्फ यकीन गर्ने प्रयोजनका लागि वादीहरूले फिराद गर्नु स्वाभाविकै भएको र यस्तो स्थितिमा बकसपत्रको लिखतको वैधतामाथि प्रश्न उठाउन पाइने दान बकसको माथि उल्लिखित ५ नं. दफाको हदम्याद आकर्षित हुन्छ भन्न कानून र न्यायको रोहमा उपयुक्त हुने देखिदैन 

३. त्यसै गरी दिलमाया महर्जन विरुद्ध दशबहादुर महर्जन समेत (सर्वोच्च अदालत निर्णय सँग्रह भाग १२ पृष्ठ २३२) भएको २०३५ सालको दे.पु.नं. १७ को घरबाट उठाई चलन चलाई पाऊँ भन्ने मुद्दामा यस अदालतको फूलबेञ्चबाट बकस दिनेको शेषपछि वादीले विवादको घरमा भोग गरेको र हक भोग भएको देखिएकोमा दान बकसको ५ नं. बमोजिम २ बर्षभित्र उजूर नपरेको भनी खारेज गर्न मिल्ने देखिदैन भनी नजीर सिद्धान्त स्थापित भएको र उक्त मुद्दा र प्रस्तुत मुद्दाको तथ्यमा एकरुपता रहेको देखिँदा उक्त नजीर समेतका आधारमा शुरु एवं पुनरावेदन अदालतको हदम्यादको कारणबाट फिराद नै खारेज गर्ने गरेको फैसला मिलेको रहेछ भन्न मिलेन 

४. अतः उल्लिखित आधार तथा कारणबाट हदम्यादको कारण दर्शाई फिराद खारेज गर्ने ठहर गरेको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६५।२।२६ को फैसला सदर गर्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६६।७।२३ को फैसला नमिलेको हुँदा बदर उल्टी भै अव वादीले दावी लिएको सम्पत्ति समेतमा इन्साफको रोहमा सबूद बुझी पुनः इन्साफ गर्नु भनी उपस्थित पक्षलाई शुरु भक्तपुर जिल्ला अदालतको तारेख तोकी मिसिल समेत शुरु भक्तपुर जिल्ला अदालतमा पठाइदिने ठहर्छ । अरु तपसीलबमोजिम गर्नु

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६५।२।२६ एवं पुनरावेदन अदालतको मिति २०६६।७।२३ को फैसला बदर उल्टी भै पुनः इन्साफका लागि मिसिल समेत शुरुमा पठाइ दिने ठहर भएको हुँदा उपस्थित पक्ष विपक्षलाई शुरु भक्तपुर जिल्ला अदालतको तारेख तोकी मिसिल शुरु अदालतमा पठाइदिनू

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू –––––

उक्त रायमा सहमत छु 

न्या.प्रा.डा.भरतबहादुर कार्की

इति संवत् २०६८ साल बैशाख ७ गते रोज ४ शुभम्

इजलास अधिकृतः कपिलमणि गौतम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु