निर्णय नं. १७९२ - करकाप

निर्णय नं. १७९२ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको फौ.पु.नं. ३०९
फैसला भएको मिति : २०४०।१०।१८।४ मा
पुनरावेदक/प्रतिवादी : काठमाडौं खिचापोखरी बस्ने वर्ष ४५ को रतनलाल कनौडिया
विरूद्ध
विपक्षी/वादी : का.न.पं.चावहिल बस्ने आफूलाई रेणु कनौडिया भनी लेख्ने रेणु अधिकारी
मुद्दा : करकाप
(१) अंश मानाचामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएको भनी करकाप मुद्दाको छुटै मिसिल खडा गरी कारवाही गरेको कानुन अनुरूप भनी भन्न मिलेन, बिन्तिपत्रमा दावी नभएको कुरामा अदालतबाटै विवाद सृजना गराई कारवाही गर्ने अधिकार अदालतलाई नहुने ।
(प्रकरण नं. २०)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवली र विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षीवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय
फैसला
न्या.पृथ्वीबहादुर सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. मलाई महान्यायाधिवक्ताको कार्यालयका का.मु.वरिष्ठ सरकारी अधिवक्ता रतनलाल कनौडियाले आफ्नो कोठामा टाइप गर्न बोलाई मैले इन्कार गर्दागर्दै जवरजस्ती समाई करणी गरेबाट गर्भ रहन गई सो कुरा निजलाई भन्दा गर्भ फ्याँक्न औषधि दिएको तर गर्भ नगई सो कुरा गुपचुप राख्न लगाई सुत्केरी बिदा लिन नदिई १७।२।०३३ देखि १५ दिनको घर बिदा दिँदा लिई प्रसूति गृहमा भर्ना भई छोरी पैदा भएपछि न्वारान पनि निजैले गराउनु भएको हो, सो कुरा वि.प्र.वि.ले थाहा पाई बयान गराएको कुरा रतनलाल कनौडियाले थाहा पाई ०३३।२।२१ का दिन दिउँसो अफिसबाट मलाई दिउँसो निजको घरमा लगी वि.प्र.मा मैले गरेको बयान झुठ्ठा हो, मेरो लोग्ने रतनलाल कनौडिया होइन, अर्कै छ भनी ३ थान कागजमा मैले इन्कार गर्दा पनि सहिछाप गराउनु भएको कुरा वि.प्र.वि.मा ०३३।३।२३ गते बयान दिई आएपछि महान्यायाधिवक्ताज्यूलाई मौखिक अनुरोध गरी कुनै कारवाही नभएको र वि.प्र.वि.बाट समेत निज रतनलाल कनौडियालाई बचाउने प्रयास भएकोले निज रतनलाल कनौडिया उपर कानुनी कारवाही भई मलाई मानो चामल तथा अंश दिलाई दिनु भन्ने समेत सम्बन्धित अदालत तथा मन्त्रालय समेतका नाउँमा हुकुम प्रमांगी पाउँ भनी रेणु कनौडियाले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विशेष जाहेरी विभाग मार्फत बिन्तिपत्र चढाएकोमा व्यहोरा साँचो भए त्यस अञ्चल अदालतबाट ठाडै बुझी कानुनबमोजिम गरी मुद्दा चाँडो छिनी नतिजा जाहेर गर्नु भनी हुकुम प्रमांगी बक्स भई बागमती अञ्चल अदालतमा मुद्दा पठाइएको रहेछ ।
३. विशेष प्रहरीमा बयान गरी सकेपछि पर्सिपल्ट तिमीलाई घर र बच्चा हेर्ने मानिस बन्दोबस्त गरी दिएको छ, मेरो घर खिचापोखरीमा आउँ सबै देखाई दिन्छु भनी निजको घरमा जाँदा निजको घरमा २ तल्ला माथि कोठामा लगी तँलाई ज्यान र जागिरको आशा भए कागज गर् भनी निजले पहिले नै तयार पारेको कागज मलाई लेखाई लिएपछि म आफ्नो कार्यालयमा फर्की आएँ विपक्षीले गराएको कागजमा बच्चा विपक्षीको होइन, अरूकै बच्चा हो । लोग्ने ६ महीना अघि भारततर्फ जानुभएको हो भन्ने समेत उल्लेख गरेको सबै व्यहोरा राम्रो याद भएन सो कागज निजले महान्यायाधिवक्ताको कार्यालयमा दर्ता गराए छन् । मैले भोलिपल्ट नै विशेष प्रहरीमा उक्त बमोजिम कागज गराएको कुराको प्रतिवेदन दिएँ । सुत्केरी हुँदा सम्म विपक्षीले मलाई पटक–पटक गरी रु.२००। सम्म दिएको थियो । विशेष प्रहरीमा बयान भएपछि निजले दिन छाड्यो । मैले सं.प्रधानमन्त्री र माननीय मन्त्रीज्यू कहाँ छुट्टाछुट्टै निवेदन दिएको छु । अंश माना चामल मुद्दा देवानी हुँदा करकाप गरी कागज गराएतर्फ यसैबाट दावी लिन नमिल्ने भनी अदालतबाट भनिएको हुँदा त्यसतर्फ छुट्टै आजै बयान गराई बक्स भई आएको हुकुम प्रमांगी बमोजिम कारवाही गरी सो कागज बदर गरिपाउँ भन्ने समेत रेणु कनौडियाको बयान ।
४. विपक्षीले करकाप गरी कागज गराएको कुरा माना चामल तर्फको बयानमा खुलाई दिइसकेको छु । विपक्षीले ०३३।३।२१ मा दिनको अन्दाजी १२.३० बजेतिर डर धाक देखाई लेख्न लगाई गराएको एकै व्यहोराको ३ थान फुलिस्केप साइजको देशी सेतो कागज थियो । सो कागजहरूमा मलाई शिर पुच्छार पानामा र केरिएको ठाउँमा समेत सही गराइएको थियो । सो ठाउँमा म र विपक्षी मात्र थियौं । जो बुझ्नुपर्ने बुझी मलाई करकापसित गराएको कागज बदर गरिपाउँ भन्ने समेत ०३३।४।१३।४ मा करकापतर्फ रेणु कनौडियाले गरेको बयान ।
५. निवेदकको सनाखत बयानबाट करकाप भनी दावी लिई बयान गरेकोले बक्स भएको बिन्तिपत्रको प्रतिलिपि र आजै अंशमाना चामल दिएको बयानको प्रतिलिपि समेत राखी छुट्टै मिसिल खडा गरी दायरीमा दर्ता गर्नु र निवेदकलाई यो मुद्दामा पनि तारिखमा राखी विपक्षी बनाएको प्रतिवादीलाई म्याद दिई झिकाउनु भन्ने समेत ०३३।४।१३।४ को वा.अं.अ.को आदेश ।
६. वादीले एउटै बिन्तिपत्र दिएको र त्यसमा व्यहोराको हु.प्र.बक्स भई आएकोमा फरक व्यहोरा पारी पठाएको म्यादको आधारबाट करकापतर्फ कारवाही चलाउन यस अदालतको अधिकारक्षेत्र प्राप्त हुनआएको भन्न मिल्दैन । बिन्तिपत्रमा करकापसँग गराएको कागज बदर गरिपाउँ भन्ने दावी नभएकोले बक्स भई आएको हु.प्र.वर्खिलाप हुँदा यो नालेश खारेज गरिपाउँ । बिन्तिपत्रमा व्यहोरा साँचो भए भन्ने शर्त राखी हु.प्र.बक्स भई आएकोले सो ३ थान कागज निज वादीले आफ्नै हस्ताक्षरले नै लेखी कार्यालयमा दिएको, अदालतले कानुनी व्यवस्था बमोजिम वादीलाई श्री ५ को सरकारको मुद्दा चलाउन स्वीकृति दिएको वादीबाट दाखिल गराई हेरी करकापतर्फ कारवाही चलाउन पर्नेमा त्यसतर्फ केही नगरेकोले भइरहेको कानुनी व्यवस्था विपरीत करकापतर्फ बयान गराई कारवाही चलाएकोले नालेश खारेज गरिपाउँ भने समेत ०३३।७।२०।६ मा रतनलाल कनौडियाले गरेको बयान ।
७. करकापसँग कागज गराए भन्ने वा वादी दावी हुँदा प्रतिवादीसँग कुनै कागज भए दाखिल गर्नु भनी तारेख तोक्ने र वादी बयानमा महान्यायाधिवक्ता कार्यालयमा दर्ता गरेको छ भनेको कागज झिकाई दाखिल गराई वादीलाई सनाखत गराउने भन्ने बागमती अञ्चल अदालतको आदेश।
८. वादीलाई करकापसँग कागज गराएको छैन । वादीले भनेको कागज म सँग रहने प्रश्नै नआउनेमा यस्तो व्यहोरा लेखाई मलाई त्यो तारिख तोकिएको मिलेन । आवश्यक परे उक्त कागज महान्यायाधिवक्ताको कार्यालयबाट झिकी बुझी पाउँ भन्ने समेत रतनलाल कनौडियाको निवदेन ।
९. पत्रमा उल्लेख भएबमोजिम ०३३।७।२१ मा दर्ता नभई ०३३।३।२१ मा द.नं.१८६६८ मा दर्ता भएको सक्कलै पत्र सिलबन्दी गरी महान्यायाधिवक्ताको कार्यालयबाट पठाएको रहेछ ।
१०. मलाई भारतीय केटोले स्वास्नी राखी निजको करणी विर्यबाट एक छोरी पाएको छु । श्रीमान भारत जानुभएको छ । विदामा बसेको बेला नचिनेको पुलिस डेरामा आई जवरजस्ती डर त्रास देखाई छोरी, रतनलालको करणी विर्यबाट जन्मेको निजले मलाई स्वास्नी बनाई राखेको इत्यादि गलत कुराको कागज गराए । रतनलालसँग मेरो अनुचित सम्बन्ध छैन । उक्त कारवाही बदर गर्न सबै सम्बन्धित ठाउँमा लेखी पठाउन अनुरोध छ भनी महान्यायाधिवक्ताज्यूले सम्बोधन गरी लेखिएको वादीलाई करकापसँग गराइएको भनेको कागज ।
११. करकाप गराएको कागज बदर गरी रतनलाललाई सजाय गरिपाउँ भन्ने समेत वादी रेणुको २०३३।८।२९ को बयान ।
१२. वादीको व्यहोरा झुठ्ठा छ । अरू सबै कुरा बयानमा खुलाई सकेको छु भन्ने समेत प्र.रतनलालको २०३४।२।२१ मा भएको बयान ।
१३. वादीले दिएको बिन्तिपत्रमा माना चामल अंश दिलाई दिनु भन्ने हु.प्र.पाउँ भन्ने मुख्य दावी लिई पेटबोलीमा करकापसँग कागज गराएको भन्ने सम्म उल्लेख भएको देखिन्छ । करकापतर्फ किटानी दावी नभएको र अन्य माना चामल तथा अंश मुद्दामा ठहरे बमोजिम हुने नै हुँदा अधिकारक्षेत्र नभएको कार्यालयमा दिएको निवेदन निष्प्रयोजन तथा प्रभावशुन्य हुँदा वादी दावी खारेज हुने ठहर्छ र उक्त कागज प्रमाणशुन्य घोषित गरिन्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुवै थरको पुनरावेदन ।
१५. वादीले श्री ५ महाराजाधिराजमा दिएको बिन्तिपत्रमा करकापतर्फ किटानी दावी नलिएको र हुकुम प्रमांगीमा पनि करकापतर्फ कारवाही गर्नुभन्ने उल्लेख नभएकोमा हु.प्र.को आधार लिई करकापतर्फ ठाडो कारवाही गरी करकाप भनेको निवेदन प्रभाव शुन्य घोषित गरेको वा.अं.अ.को निर्णय मिलेको नदेखिँदा प्रस्तुत मुद्दा डिभिजनबेञ्चमा पेश गर्नुभन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको २०३४।९।१२ को आदेश ।
१६. वादीले महान्यायाधिवक्ताको कार्यालयमा चढाएको निवेदन करकापसँग गराइएको हो भन्ने दावीमा सो लिखत विवादको विषय हो । कार्यालय विवादको विषय होइन । बिन्तिपत्रमा मूल दावी अंश माना चामलको छ । अञ्चल अदालतबाट करकापतर्फ छुट्टै बयान गराइएको छ । अंश माना चामल र करकाप मुद्दासँग चलेकोमा साथै किनारा गर्नुपर्नेमा अरू मुद्दा कायम राखी करकाप मुद्दामात्र किनारा गरेको मिलेन । खारेजी निर्णय गरी सकेपछि विवादित लिखतलाई निष्प्रयोजन, प्रभाव शुन्य भनेको वा.अं.अ.को निर्णय नमिलेको हुँदा बदर गरिएको छ । अब कानुनबमोजिम कारवाही र किनारा गर्नु भनी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको २०३५।५।७।४ को फैसला ।
१७. उक्त फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी रतनलाल कनौडियाको निवेदन परेकोमा बक्स भई अएको हु.प्र.बमोजिम अंश माना चामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएकोले छुट्टै मिसिल खडा गरी कारवाही गरेको देखिन्छ । बिन्तिपत्रमा करकापतर्फ किटानी दावी नभएकोमा बयानबाट दावी लिएको भनी छुट्टै मुद्दा खडा गरी कारवाही गरेको त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।१।७ को आदेश ।
१८. पुनरावेदक प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री सुधानाथ पन्तले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा करकापमा कारवाही गरिपाउँ भन्ने किटानी उल्लेख छैन । पेटबोलीमा कागज गराएको सम्म उल्लेख छ । तीन थान कागजमा सही गराएको भन्ने जिकिर छ जबकी वादी आफैंले सो कागज लेखेको छ । यस्तो अवस्थामा करकापमा छुट्टै कारवाही चलाउने नै नमिल्ने हुँदा कारवाही गरेको त्रुटिपूर्ण छ भन्ने समेत र वादी रेणुको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गोविन्दकुमार र उपाध्यायले बिन्तिपत्रमा लेखिएको व्यहोरा साँचो छ । बिन्तिपत्र कुनै कानुनी व्यवसायीले लेखेको नहुँदा अधुरो भए पनि वादीले अञ्चल अदालतमा बयान गर्दा समेत करकापमा किटानी साथ बयान गरेको छ । यस्तो अवस्थामा करकाप मुद्दा चल्न नसक्ने होइन । अंश माना चामल र यो करकाप मुद्दा एकै लगाउको हुँदा साथै निर्णय गरिनुपर्नेमा प्रस्तुत मुद्दालाई स्वतन्त्र रूपले निर्णय गरेको त्रुटिपूर्ण छ भन्ने समेत प्रस्तुत गर्नुभयो ।
१९. प्रस्तुत मुद्दामा माध्याञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।
२०. यसमा निर्णयतर्फ विचार गर्दा वादी रेणु अधिकारीले श्री ५ महाराजाधिराजका हजूरमा मिति २०३३।४।४ मा दिएको बिन्तिपत्रमा व्यहोरा साँचो भए ठाडै बुझी कानुनबमोजिम गरी मुद्दा चाँडो छिनी नतिजा जाहेर गर्नुभन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतका नाउँमा बक्स भई आएको हु.प्र.बमोजिम बागमती अञ्चल अदालतबाट अंश माना चामल मुद्दामा ०३३।४।१३ मा बयान गराउँदा रेणु अधिकारीले करकापतर्फ पनि दावी लिई बयान गरेको भनी सोही मितिमा करकापतर्फ पनि बयान गराई छुट्टै मिसिल खडा गरी प्रस्तुत मुद्दाको कारवाही चलेको देखिन्छ । उक्त बिन्तिपत्रको व्यहोरा हेर्दा विषयमा अंश माना चामल दिलाई पाउँ भन्ने उल्लेख गरी पेटबोलीमा मिति ०३३।३।२१ मा प्र.रतनलाल कनौडियाले जवरजस्ती करकापसँग कागज गराएको भन्ने सम्म उल्लेख गरी निष्कर्षमा अंश माना चामल दिलाई दिनु भन्ने हु.प्र.बक्स पाउँ भन्ने उल्लेख भएको पाइन्छ । वादी रेणु अधिकारीले मिति ०३३।४।१३ मा अञ्चल अदालतमा बयान गर्दा करकापसँग गराएको भनी दावी लिएको ०३३।३।२१ को महान्यायाधिवक्तालाई सम्बोधन गरी लेखेको निवेदन प्रमाणमा लिन मिल्ने हो होइन भन्ने सम्बन्धमा अंश माना चामल मुद्दाबाट नै विचार हुने हुँदा त्यसतर्फ बोली रहनुपरेन । वादी रेणु अधिकारीले दिएको बिन्तिपत्रमा करकापतर्फ कारवाही गरिपाउँ भनी किटानी साथ दावी लिएको देखिँदैन । यसरी बिन्तिपत्रमा दावी नै नलिएको कुरालाई अंश मानाचामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएको भनी करकाप मुद्दाको छुट्टै मिसिल खडा गरी कारवाही गरेको कानुन अनुरूप भनी भन्न मिलेन । बिन्तिपत्रमा दावी नभएको कुरामा अदालतबाटै विवाद सिर्जना गराई कारवाही गर्ने अधिकार अञ्चल अदालतलाई नहुँदा, नभएको अधिकारक्षेत्र ग्रहण गरी दावी नभएको कुरामा कारवाई नै चल्न नसक्नेमा करकापतर्फ कारवाई उठाई बागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको दुबै फैसलाहरू गल्ती हुँदा बदर भई प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल माघ १८ गते रोज ४ शुभम् ।