निर्णय नं. १८०० - बाली

निर्णय नं. १८०० ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको दे.पु.नं. ३९८
फैसला भएको मिति : २०४०।१०।२२।१ मा
पुनरावेदक/प्रतिवादी : ल.पु.जि.न.पं.वडा नं.१४ बस्ने हिराकाजीको मु.स.गर्ने वेखाराज तण्डुकार
विरूद्ध
विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.१५ नघल टोल बस्ने हिरारत्न शाक्य भिक्षू
मुद्दा : बाली
(१) बीचमा बाली खाने व्यक्तिको हक भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ (४) क, ले समाप्त गरिसकेको ।
(प्रकरण नं. १३)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल
फैसला
न्या.हरगोविन्द सिंह प्रधान
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१।१२ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : नरेन्द्रकुमारीसँग ७ सालमा पास गरी लिई कैलास बद्रीनाथ मूर्तिका गूठी मोहियानी लगतमा दर्ता भएको विपक्षीलाई कमाउन दिएको कबुलीयत अनुसार ०२० सालको बाली बुझाई सकेको सो लिखत पास सम्बन्धी मुद्दा चली सो मैले लिखत बदर गरी फैसला भएको र फेरी जग्गा तेरो मेरो मुद्दा चली सो किनारा नभई २ जनालाई वाली दिन मिल्दैन दुबैजनाले बाली लेउ भन्छ भनी बाली मलाई नदिएको र तेरो मेरो मुद्दाका अन्तिम फैसला भएको १ वर्ष पछि ०२१ सालदेखि २०२५ साल तक वर्ष ५ को कबुलीयत बमोजिम बाली नदिएमा नालेश गर्न आएको छु । जम्मा वर्ष ५ को बाली बिगो रु.६६४।५० र २१ सालको बाली देखिन मेरा हस्तेबाली तिरेको रसिद समेत दिलाई पाउँ भन्ने वादी ।
३. नरेन्द्रकुमारीसँग मैले मोही भई अघि देखि कमाई आएको २१ सालको नापीले समेत मलाई मोही लेखाई अस्थायी निस्सा पाएको छु । जग्गावाला मोहीको बीचका मानिसले बाली खान पाउने अधिकार हुँदैन जग्गावालाहरू ठमेलका राणाहरू हुन २१ साल सम्मको बाली तहसिलमा काम गर्ने चौ.भैरजंग शाहलाई बाली बुझाई आएको छु । वादी दावी सबै झुठ्ठा हो अघिदेखि जग्गा कमाई बाली बुझाई रसिद लिएको छु भन्ने प्रतिवादी ।
४. भू.सं.ऐन, २०२१ को दफा २५(१) को प्रतिबन्धात्मक वाक्यांशले जग्गावाला र मोहीका बीचमा रही वाली खान पाउने अधिकार समाप्त भइसकेको देखिनाले त्यस्तो बालीमा हक अधिकार नभएको वादीको वाली भराई पाउँ भन्ने दावी नलाग्ने हुँदा खारेज हुने ठहर्छ भन्ने शुरू जिल्ला अदालतको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. वादीले जुन जग्गाको बाली दिलाई मेरो हस्तेबाली तिरेको रसिद समेत दिलाई पाउँ भन्ने दावी लिई फिराद गरेको हुन सो जग्गा गूठी अधिनस्थको नदेखिएको जग्गावाला र मोहीका बीचको अन्य व्यक्ति देखिन आएकोले त्यस्तो हक नै नभएको जग्गाको बाली दिलाई पाउँ भनी वादीले गरेको दावा नपुग्ने ठहराई शुरू जिल्ला अदालतले खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने वा.अं.अ.को फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको निवेदन परी मध्यमाञ्चल क्षेत्रीय अ.को सिंगलबेञ्चबाट ०३४।४।१३।५ मा अनुमति प्राप्त भएको रहेछ ।
८. वादीले बालीमा दावी गरेको जग्गा गूठी संस्थानको श्रेस्तामा दर्ता भएको नदेखिएको भनी गूठी संस्थान गूठी लगत जाँच कार्यालयका मिति ०२८।४।१३ का पत्रबाट देखिनाले यो जग्गा गूठी अधिनस्थ भएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को प्रतिबन्धात्मक वाक्यांशले जग्गावाला र मोहीको बीचमा बसी मोहीबाट बाली खाने व्यक्तिको हक समाप्त गरेको हुँदा वादी दावी खारेज हुन्छ भनी शुरू ल.पु.जि.अ.ले प्रस्तुत मुद्दा खारेज गरेकोलाई वा.अं.अ.ले पनि सदर गरेको देखिन आयो । जग्गाको आयस्ताबाट गूठीको पूजा पर्व इत्यादि दान पत्र लिखत बमोजिम काम चलाई बाँकी रहेको शेष कसर वासलाभी सम्म राजगूठीमा बुझाउने गरी वा गूठी चलाउनेले नै शेष खाने गरी गूठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै सरकारी गूठी लगतमा गूठी दर्ता गराई वा दर्ता गराउनुपर्ने गरी त्यस्तो गूठीको जग्गाको श्री ५ को सरकारमा बुझाउनुपर्ने मालपोत वा तिरो बुझाउनु नपर्ने गराई र गुठियारले नै गूठी चलाउन पाउने गरी छुट्याएको गूठीलाई छुट गूठी सम्झिनुपर्ने भन्ने गूठी संस्थान ऐन, २०३३ को दफा २ खण्ड (ङ) मा व्यवस्था भइरहेको देखिनाले प्रस्तुत वादी दावी खारेज गरेको शुरूको निर्णय सदर ठहराएको वा.अं.अ.को फैसला नमिलेकोले बदर हुन्छ । कानुनबमोजिम वा.अं.अ.ले इन्साफ गरी दिनु भनी तारेखमा रहेका पक्ष र विपक्षीलाई तारेख तोकी मिसिल वा.अं.अ.मा पठाई दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।१।१२।६ को फैसला ।
९. उक्त इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा विवादको जग्गालाई जि.अ.र वा.अं.अ.ले वादी दावीलाई खारेज गर्ने गरी फैसला गरेकोमा म.क्षे.अ.ले गूठी संस्थान ऐन, २०३३ को दफा २ खण्ड (ङ) मा भएको छुट गूठीको परिभाषा सम्म उल्लेख गरी निर्णय गरेकोले प्रस्तुत विवादको जग्गा छुट गूठीको भएको सम्बन्धमा कुनै सबूत पेश दाखिल भएको देखिन्न तसर्थ सो ऐनको त्रुटि गरी शुरू र बा.अं.अ.को निर्णयलाई समेत बदर गर्ने गरेको म.क्षे.अ.को फैसलामा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि देखिएको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनेबञ्चको ०३८।९।२।६ को आदेश ।
१०. दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा तारेखमा रहेका पुनरावेदक प्रतिवादी बेखारत्न तण्डुकार विपक्षीवादीका वा. नरहरि घिमिरेलाई रोहवरमा राखी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालको बहस समेत सुनियो ।
११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ त्यसको निर्णय दिनुपरेको छ ।
१२. यसमा निर्णयतर्फ विचार गर्दा विवादित बाली भराई मेरो हस्तेवारी तिरेको रसिद समेत दिलाई पाउँ भनी वादीले दावी लिएको देखिन्छ जुन जग्गाको बाली पाउँ भनी वादीले भनेको छ सो जग्गाको जग्गावाला ठमेलका राणाहरू हुन म त्यसको मोही हुँ र ०२१ साल सम्मको बाली तहसीलमा काम गर्ने चौ.भैरजंग शाहलाई बुझाई आएको छु वादी जग्गावाला र म बीचका मान्छे भएकोले बाली खान पाउने अधिकार छैन भन्ने प्रतिवादीको जिकिर देखिन्छ विवादित जग्गा छुट गूठी हो कि भन्नलाई गूठी संस्थान ऐन, २०३३ को दफा २(ङ) तर्फ हेर्दा छुट्टै गूठी भन्नाले आयस्ताबाट गूठीको पूजा पर्व इत्यादिमा दानपत्र लिखत बमोजिमको काम चलाई बाँकी रहेको गूठीको शेषसर वा सलामी सम्म राजगूठीमा बुझाउने गरी वा गूठी चलाउनेले नै शेष खाने गरी गूठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै सरकारी गूठी लगतमा गूठी दर्ता गराई वा दर्ता गराउनुपर्ने गरी त्यस्तो गूठीको जग्गाको श्री ५ को सरकारमा बुझाउनुपर्ने मालपोत वा तिरो बुझाउन नपर्ने गराई र गूठीको दर्ता गुठियारले नै गूठी चलाउन पाउने गरी छुट पाएको गूठीलाई सम्झनु पर्दछ” भन्ने देखिनाले छुट गूठी भन्न मिल्ने अवस्था रहेन । बद्रीनाथ पशुपति सदाब्रत गूठी तहसील कार्यालयको मिति २०२९।५।१४।३ को पत्रबाट विवादित जग्गा कैलाश बद्रीनाथ प्रभृति गूठी बद्री नरसिंह राणाले खडा गरी गूठी लगत नम्बर १३१ नं.मा दर्ता भई हिराकाजी मोही भई कमाई आएको भन्ने र गूठी संस्थानको मिति ०२८।४।१२ को पत्रबाट सो जग्गा राजगूठीमा दर्ता नरहेको भन्ने देखिन्छ । यस्तो अवस्थामा गूठी संस्थान ऐन, २०३३ को दफा २६ पनि लाग्न सक्ने देखिँदैन ।
१३. विवादित जग्गा राजीनामाबाट कैलास बद्रीनाथ प्रभृति सदावर्त गूठी तहसीलमा दर्ता भई भोग तिरो गरी आएको देखिन्छ । प्रतिवादी हिराकाजीले कबुलीयत गरी लिए पनि कैलास बद्रीनाथ प्रभृति सदावर्त गूठीमा नै तिरो बुझाई आएको रसिदबाट देखिँदा वादीले विवादित मोहियानी जग्गा खरीद गरी लिए पनि सो जग्गा प्रतिवादी हिराकाजी तण्डुकारलाई कमाई दिई बीचमा बाली खाने गरेको देखिन्छ । यस्ता बीचमा बाली खाने व्यक्तिको हक भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५(४) क, ले समाप्त गरिसकेको हुँदा वादीको हक समाप्त भइसकेको मान्नुपर्ने देखिँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले खारेज गर्नुपर्नेमा इन्साफ गर्नु भनी बागमती अञ्चल अदालतमा मिसिल पठाई दिनु भनी गरेको फैसला गल्ती देखिँदा बदर हुने ठहर्छ शुरू ललितपुर जिल्ला अदालतको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ सदर हुन्छ । तपसीलका कलममा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी वेखाराज तण्डुकार के यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.६।५० (छ रूपैयाँ पचास पैसा) कानुनको रीत पुर्याई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु......................................................................................................................१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु..........................................................................................................................२
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४० साल माघ २२ गते रोज १ शुभम् ।